मलाई पनि क्यान्सर पीडितको पीडाबोध छ– रेणु दाहाल (फोटो फिचर)

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल आज अकस्मात भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगिन ।

अस्पतालले क्यान्सर बिरामीलाई प्रदान गरिरहेको सेवा, सुविधा र बिरामीको अवस्था तथा भोगाईबारे बुझ्न रेणु अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।

केही दिन अघि मात्रै अस्पतालले आफ्नो १८ औं वार्षिकोत्सव मनाएको थियो ।

वार्षिकोत्सवमा मेयर दाहालले आफ्नो परिवारमा समेत क्यान्सरका कारण दिदीको मृत्यु भएको बताउँदै क्यान्सरसँग भावनात्मक सम्बन्ध भएको बताएकी थिइन ।

दाहालले भरतपुर नगरपालिकाको साधारण सभामा अस्पतालको विकासका लागि योजना र बजेट विनियोजन गर्ने समेत बताईन ।

मुक्तिनाथमा धार्मिक पर्यटकको भीड

मुस्ताङ, असोज १९ । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ । मुक्तिनाथ मन्दिरको दर्शन, पूजापाठ र १०८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन् । मुक्तिनाथमा दर्शन, पुजन र १०८ धारामा स्नान गरेमा आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासले देशका विभिन्न भागबाट पर्यटक यहाँ आउने गरेका हुन् । दशैँको बिदा मनाउन मुस्ताङ आउने आन्तरिक पर्यटकमध्ये अधिकांशको रोजाइमा मुक्तिनाथ पर्ने गरेको छ । कष्टपूर्ण यात्रा गरेर मुक्तिनाथ पुगेपछि सबै दुःख भुलेको र आनन्दको महसुस गरेको ललितपुरकी २९ वर्षीया मीनाकुमारी मानन्धरले बताए । पोखरा–जोमसोम हवाईमार्गका साथै बेनी–जोमसोम–कागबेनी सडकमार्गको प्रयोग गरी मुक्तिनाथ पुग्न सकिन्छ । म्याग्दी सदरमुकाम बेनीदेखि कागबेनीसम्म कच्ची सडकको यात्रा गर्नुपर्छ भने कागबेनीदेखि मुक्तिनाथसम्म १२ किलोमिटर सडक भने केही समयअघि मात्र कालोपत्रे गरिएको छ । दशमीको भोलिपल्टदेखि दैनिक दुई हजारका दरले १० हजारभन्दा बढी धार्मिक पर्यटक मुक्तिनाथ दर्शनका लागि आएको मन्दिरका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । एकहजार रोपनी क्षेत्रफलमा फैलिएको मुक्तिनाथमा नेपालीका साथै भारतीय पर्यटक पनि उत्तिकै संख्यामा आउने गरेका छन् । मुक्तिनाथको ऐतिहासिक महत्व र १०८ धारामा स्नान गर्न जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्यको रुपमा ग्रन्थमा वर्णन गरिएको पुजारी सुवेदीको भनाइ छ । मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम, मार्फा, लेतेलगायत र म्याग्दीका अधिकांश होटलसमेत भरिभराउ भएका छन् ।

अस्पतालले नै खोल्यो फार्मेसी, १० प्रतिशत छूटमा बिरामीलाई बिक्री गरिँदै

तेह्रथुम, १९ असोज जिल्ला अस्पताल, तेह्रथुमले फार्मेसी सेवा सुचारु गरेको छ । अस्पतालमा आउने बिरामीको सुविधालाई ध्यानमा राख्दै फार्मेसी सेवासमेत शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा मुक्तिनारायण साहले बताउनुभयो । फार्मेसी शुरु भएपछि बिरामीलाई निजी क्लिनिकबाट महँगो शुल्क तिरेर औषधि किन्नुपर्ने बाध्यता हटेको छ । अस्पतालभित्रै रहेको फार्मेसीमा सरकारले निःशुल्क दिने ७० सहित अत्यावश्यक १०० भन्दा बढी प्रकारका औषधि उपलब्ध रहेका छन् । निःशुल्क पाउनेबाहेकका औषधि १० प्रतिशत छुटमा २४ सै घण्टा बिरामीलाई उपलब्ध गराइएको डा साहले बताउनुभयो । फार्मेसी सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयले रु दुई लाख ५० हजार बीउ पूँजीका रुपमा खर्च गरेको छ । सोही रकमले अत्यावश्यक औषधि अस्पतालभित्रै उपलब्ध गराउने प्रयत्न गरिएको हो । चालु आर्थिक वर्षमा पनि बजेट थप गरेर अझै व्यवस्थित गर्ने योजना रहेको डा साहले बताउनुभयो ।

यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गरायो

नुवाकोट, असोज १९ । दशैँ पर्वमा अनियमित रुपमा सवारी साधन सञ्चालन गरी यात्रुसँग बढी भाडा असुल गर्ने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । पर्वका समयमा चालकले यात्रुसँग चर्को भाडा असुल गरेको गुनासो चौतर्फी आएपछि आज जिल्लाको विभिन्न स्थानमा जाँच गरी सातवटा सवारी साधनका चालकलाई कारबाही गर्नुका साथै ती सवारी साधनमा यात्रा गर्ने १६५ यात्रुको रु १८ हजार फिर्ता गरिएको उक्त कार्यालयका इञ्चार्ज अर्जुन पौडेलले जानकारी दिए । तोकिएको भन्दा बढी भाडा रकम लिएको भन्दै यात्रुबाट आएको गुनासोका आधारमा सातवटा सवारीसाधनले लिएको बढी भाडा शुल्क रकम सम्बन्धित यात्रुलाई फिर्ता गराएर सवारीसाधनलाई समेत कारबाही गरी रु दश हजार ५०० राजश्व संकलन गरिएको उनले बताए ।

कुवेतबाट एक नेपाली कामदारको उद्धार

नवलपरासी, असोज १९ । वैदेशिक रोजगारीको सिलसिलामा विगत १० वर्षदेखि कुवेतमा रहँदै आएका एक नेपाली कामदारको उद्धार गरिएको छ । कुवेतको विकट ओफ्रा भन्ने ठाउँमा भेंडा चराउने काम गर्दैआएका नवलपरासी बर्दघाट नगरपालिका–१६ निवासी मीनराज भुसाल १० वर्षपछि घर फर्किएको हो । लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेनविक्रम हमालको सहयोगमा भुषाललाई घर फर्काइएको हो । दश वर्ष बितिसक्दा पनि भुसाल घर नफर्केपछि अलपत्र परेको हुनसक्ने आशंका परिवारले गरेपछि समाजले भुसालको उद्धार गरेको हो ।

बाघको आनीबानी पत्ता लगाउन सिसी क्यामेरा जडान

चितवन, असोज १९ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा मान्छे खाने बाघको आनीबानी पत्ता लगाउन दुई वटा उच्चप्रविधिको सिसी क्यामेरा जडान गरिएको छ । बाघको आक्रमणबाट यही असोज १६ गते यहाँ निउरो टिप्न गएकी कुमरोजकी एलिना चौधरीको मृत्यु भएको थियो । मान्छेलाई आक्रमण गर्ने बाघ घाइते, रोगी हो या बच्चासँगै छ भन्नेबारेमा जानकारी लिन यहाँ क्यामेरा ट्र्यापिङ विधिको प्रयोग गरेर सिसी क्यामेरा जडान गरिएको चितवन निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । अवस्था पत्ता लगाएपछि नियन्त्रणमा लिनुपर्ने देखिएमा बाघलाई डाट गरेर नियन्त्रणमा लिइने पाठकको भनाइ छ । स्थानीय समुदायको सहभागितामा चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकको टोलीले कुमरोज वनमा दुई वटा सिसी क्यामेरा जडान गरेको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले जानकारी दिनुभयो । पछिल्लो समयमा गरिएको अध्ययनले पश्चिम चितवनमा एउटै बाघले २० जनालाई आक्रमण गरेको पाइएको छ । सो बाघलाई पनि सिसी क्यामेरा राखेर आनीबानी पत्ता लगाउने प्रयास गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा रहेका १२० बाघमध्ये पाँच प्रतिशत बाघ मात्रै समस्याग्रस्त रहेको अध्ययनमा पाइएको छ । चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकमा गएको आवमा वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् ।

आगलागीबाट करिब चार लाखको क्षति

भक्तपुर, असोज १९ । भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै रहेको खाजा पसलमा आगलागी हुँदा रु तीन लाख ६८ हजार बराबरको धनमाल क्षति भएको छ । उदयपुर लेखगाउँ–२ घर भई हाल रेदिहाङ खाजा पसल सञ्चालन गर्दै आएका कृष्णबहादुर राईको खाजा पसलमा आज बिहान ग्यास सिलिण्डर पड्केर आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । आगलागीबाट रेदिहाङ खाजा पसलमा रहेको पाँच थान ग्यास सिलिण्डर, एक थान फ्रिज, भाँडा वर्तन, बा८५प ४२३८ नंको मोटरसाइकल दुई वटा पानीट्याङ्की जलेर क्षति पुगेको छ । नेपाल प्रहरी, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

कुटपिट र धारिलो हतियार प्रहारबाट मृत्यु

लहान, असोज १९ । कुटपिट र धरिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सिरहा नगरपालिका–२ निवासी ४५ वर्षीय प्रताव रायको भारतको सिलिगुडीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोे छ । गत असोज ९ गते राति ११ बजे रायमाथि धारिलो हतियार प्रहार भएको थियो । टाउकामा धारिलो हतियार र जीउभरि रडले हानेको निलडाम रहेको अवस्थामा उद्धार गरी रायलाई तत्कालै जिल्ला अस्पताल पु¥याइएको थियो । प्राथमिक उपचार पछि थप उपचारका लागि उनलाई विराटनगर पठाइएकामा त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको सिलिगुडी लगिएको प्रहरीले जनाएको छ । सिलिगुडीबाट पनि थप उपचारका लागि दिल्ली लैजान चिकित्सकले सल्लाह दिएकाले लैजाने तयारी गर्न लाग्दा रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो । रायलाई कुटपिट र धारिलो हतियार प्रहार गरेको आरोपमा स्थानीय कुवर यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । घटनामा संलग्न रहेको भनिएका अन्य चार÷पाँचजना फरार रहेको जनाइएको छ ।

छठ पर्व नजिकिँदै जाँदा डोम जातिको व्यवसाय फस्टायो

गौशाला, असोज १९ । मिथिलाञ्चलवासीको महान् पर्व छठ नजिकिँदै जाँदा तराई मधेशमा छठ पर्वलाई लक्षित गर्दै डोम जातिले बाँसको चोयाबाट बनाएका सामग्रीको बजार महोत्तरीमा फस्टाएको छ । कडा मेहनत र लगनसाथ छठ पर्वका लागि बाँसको चोयाबाट ढाकी (ढकिया), सुप, नाङ्लो, टपरी लगायतका बाँसका सामग्री अत्यधिक रुपमा बिक्री भइरहेको छ । उनीहरूले बनाएका यिनै सामग्रीमा छठ पर्वमा धूप, अगरबत्ती, मिठाई र फलफूल राखेर पूजा गरिने चलन छ । डोमले बनाएका बाँसको सामग्री जिल्लाको सदरमुकाम जलेश्वरसहित मटिहानी, गौशाला, रामगोपालपुर, सम्सी, बलवा, औरहीलगायत जिल्लाको विभिन्न बजारमा बिक्री भइरहेको छ । तराई मधेशमा परम्परागत रूपमै हस्तशिल्पकलामा मेहत्तर वा मल्लिक भनेर चिनिने डोम जातिलाई कुशल मानिन्छ । महान् चाड छठ पर्वलगायत अन्य पूजापाठमा अति आवश्यक रहेको बाँसका सामग्रीको माग बढी भएकाले सो पेशा फस्टाउँदै गएको छ । केही वर्षदेखि मिथिलाञ्चलमा मात्रै नभएर देशको राजधानी काठमाडौँ र हेटौँडा, पोखरा लगायतका स्थानमा पनि छठ पर्व मनाउन थालिएकाले यहाँ (महोत्तरी)मा बनाइएका बाँसको सामग्री छठ पर्व मनाइने काठमाडाँै, पोखरा, हेटाँैडा, जनकपुर र विभिन्न भारतीय शहरमा पनि निर्यात हुने गरेको छ । डोम जातिले प्रतिपरिवार खर्च कटाएर छठ पर्वका बेला दुई-तीन लाखसम्म आम्दानी गर्ने गर्दै आएका छन् । यस वर्ष कात्तिक ९ गते मिथिलाञ्चललगायत देशभरि छठ पर्व मनाइने भएको छ ।

नारायणगढ–मुग्लिन सडकको विकल्पको खोजी

चितवन, असोज १९ । बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी गरिएको छ । हाल सो सडकमा दैनिक आठ हजारदेखि १० हजार सवारी साधन आवतजावत गर्ने गर्छन् । आउँदो पाँच वर्षभित्रमा यो संख्या १५ हजार हाराहारी पुग्ने अनुमान छ । हाल विस्तार भइरहेको सडकले पाँच वर्षपछि सवारीको चाप थेग्न नसक्ने देखिएको छ । जसका कारण सो सडकको विकल्पको रुपमा धादिङको मलेखुबाट चितवनको भण्डारा जोड्ने ग्रामीण सडकलाई विस्तार गर्न पहिलो विकल्पका रुपमा अघि सारिएको छ भने दोस्रो विकल्पका रुपमा मुग्लिनबाट देवघाट हुँदै नवलपरासीको गैँडाकोटसम्मलाई लिइएको छ । यी दुवै विकल्पका सडकको विस्तृत डिजाइनका लागि परामर्शदाता छनोट गरिसकिएको सडक विभागको एशियाली विकास बैंक आयोजनाका निर्देशक केशवकुमार शर्माले बताए । यी दुई सडकसँगै अन्य सात वटा सडक र तीन वटा पुलसमेतको डिजाइनका लागि कोरियन परामर्शदाता छनोटमा परेको छ । आउँदो साता कामको सम्झौता गरिने उनले बताए । अन्य सडक र पुलका लागि एक वर्ष छ महिनाको समय तोकिएको भए पनि मलेखुबाट भण्डारासम्मको सडकका लागि भने एक वर्षभित्रमा परामर्शदातालाई प्रतिवेदन बुझाउन भनिएको छ । बाटो खोलिसकेको र सडकमा सवारी कम गुड्ने हुँदा काम गर्न पनि सहज हुने भएकाले छिटो निर्माण गर्न सकिने अनुमान छ । दोस्रो विकल्पका रुपमा लिइएको मुग्लिन–देवघाट–गैँडाकोट सडक पनि चट्टानको फेदमा नदीको तिरैतिर बनाउनु पर्ने हुन्छ । हालको नारायणगढ–मुग्लिन सडकलाई विस्तार गर्न कठिन हुँदा विकल्पका रुपमा मानिएको भए पनि धेरै फराकिलो भने सो सडक बनाउन कठिन देखिएको छ । पश्चिमबाट आउने सवारीलाई सो सडक प्रयोग गरेर, पूर्वबाट आउने सवारीलाई भण्डारा–मलेखु सडक प्रयोग गर्दा सवारी चाप व्यवस्थापन गर्न सकिने अनुमान छ ।

भारतीय पिकअपको ठक्करबाट एकको मृत्यु

झापा, असोज १९ । भारतीय नम्बर प्लेट एस के ०१ जे १७७० पिकअप भ्यानको ठक्करबाट आज बिहानी भ्रमणमा निस्किएका एक व्यक्तिको मृत्यु भएको छ । कमल गाउँपालिका–५ निवासी ४५ वर्षीय खेम चम्लागाईंलाई पश्चिमबाट पूर्व आउँदै गरेको उक्त पिकअपले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले कोल्टीको विद्युत् अवरुद्ध

बाजुरा, असोज १९ । बाजुराको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिका–३ कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत् आयोजना आज बिहानबाट अवरुद्ध भएको छ । विद्युत्को नहरमा पहिरो आएपछि विद्युत् अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् । विद्युत् अवरुद्ध हुँदा नगरपालिकाका–१, २, ३ र ५ वडाका स्थानीयवासीले अँध्यारोमा बस्नुपर्ने भएको छ । पहिरो नरोकिएपछि नहर मर्मत गर्न कठिनाइ भएको स्थानीयवासी धनबहादुर बोहराले बताए । विद्युत्को नहरमा आएको पहिरो रोकिएपछि विद्युत् सञ्चालन गर्न पहल गर्ने नगरप्रमुख पदमकुमार गिरीले बताए ।

जुवाको खालबाट १२ जना पक्राउ

धनकुटा, असोज १९ । धनकुटाको पाख्रिबास नगरपालिकाका दिलबहादुर गुरुङको घरमा जुवाको खालबाट रु तीन लाख ५० हजारसहित १२ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । बुधबार साँझ पाख्रिबास नगरपालिका–४ मा रहेका दिलबहादुरको घरमा जुवा खेली रहेका १२ जना, १६ थान कौडा, तीन बुक ताससहित तीन लाख ५० हजार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताए । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । मितेरी बैंक रहेको सो घरको तीन तलामाथि सुरक्षित स्थान भन्दै दैनिकजसो जुवा खेल्ने गरेको स्थानीयवासीको गुनासो बढिरहेको बेला प्रहरीले गोप्य सूचनाका आधारमा जुवाडे पक्राउ गरेको छ । धनकुटा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा समेत जुवा–तास खेल्न नदिन कडा निगरानी बढाएको प्रहरीले जनाएको छ

पोखरीमा डुबेर किशोरको मृत्यु

राजविराज, असोज १९ । सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दियास्थित दशैँको टीका लगाउन मामाघर गएका एकजना किशोरको बुधबार साँझ पोखरीमा डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका–१२ घर भएका १५ वर्षीय अविनाश चौधरी रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । दशैँको टीका लगाउन अविनास मामाघर आएको बेला सोही गाउँमै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको स्थानीयवासीले जानकारी दिएका छन् । उनलाई पोखरीबाट उद्धार गरी उपचारको लागि सिराहाको लहानस्थित सप्तऋषि अस्पतालमा भर्ना गरेपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

नेपाल टेलिकममा राेजगारीकाे अवशर !!!

काठमाडौं, असोज १९ । नेपाल टेलिकमले बिभिन्न पदमा  दरखास्त अाव्हान गरेकाे छ ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख डा.पोखरेल प्युठानबाट चुनाव लडने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेल प्युठानबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार सिफारिस भएका छन् । कांग्रेस जिल्ला कार्यालय प्युठानले डा. पोखरेलको नाम सर्वसम्मत निर्णयबाट सिफारिस गरेको हो । नयाँ पत्रिकाको अनलाइन संस्करणमा प्रकाशित समाचारमा उल्लेख छ: डा. पोखरेलले आफू प्रतिनिधिसभाको निर्वाचनमा प्युठानबाट उम्मेदवार सिफारिस भएको बताए । उनले भने, ‘म अहिले जन्मथलोमा छु । मेरो नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएको थाहा पाएँ । मेरा लागि यो खुसीको विषय हो । चुनावमा सहभागी हुने कि प्राधिकरणकै सिइओ भएर रहने विषय पार्टी सभापतिको निर्णयमा भर पर्छ । मलाई प्राधिकरणको सिइओ पनि पार्टी सभापतिले नै नियुक्त गरेका हुन् । अव चुनाव लड्न जानुपर्यो भन्ने आदेश आए चुनावमै जान्छु ।’ डा. पोखरेल गत माघमा प्राधिकरणको सिइओमा नियुक्त भएका हुन् । यसअघि उनी कांग्रेसको महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बनेका थिए ।