काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३ बजे बस्ने

काठमाडौँ ।नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । 

काँग्रेससहितको गठबन्धन टुटेपछि त्यसबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । 

बैठक सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार बैठकमा गठबन्धन भत्किनुका कारणसहित अन्य समसामयिक राजनीतिक विषयमा छलफल तथा समिक्षा हुने कांग्रेसले जनाएको छ । 

साफ यू १६ फुटबलमा भुटानविरुद्व नेपालको जीत

काठमाडौं । १६ वर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा आयोजक नेपालले भुटानलाई ३–० ले पराजित गरेको छ । नेपालले पहिलो हाफमा नै ३ गोल गरेर सहज जीत निकालेको हो । नेपालका लागि १४ औं मिनेटमा पूजा गिरीले गोल गर्दै अग्रता दिलाइन् । उनले पेनाल्टी क्षेत्रबाट गरेको गोलले पोष्टको जाली चुमेको थियो । पहिलो गोलको ४ मिनेटपछि कप्तान भूमिका बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यस्तै खेलको ३१ औं मिनेटमा नेपालका लागि ग्यान्सु डोल्मा लोले फ्रि किकबाट गोल गर्न सफल भईन । डी बक्स बाहिर पाएको फ्रिकिक भुटानकी गोलरक्षक खेल्जाङ् वाङ्मोको हातको टुप्पामा लाग्दै गोल भएको थियो । खेलको ३८ औं मिनेटमा भुटानले पेनाल्टी मार्फत नेपाललाई गोल फर्काउने अवसर पाएपनि नेपालकी गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट बचाउ गरिन् । दोस्रो हाफमा दुवै टिमले मौका बनाए पनि गोल भने हुन सकेन । नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो भने भुटान पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियो । नेपालले अब बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । यस प्रतियोगितको फाइनल खेल शीर्ष २ टिमबीच फागुन २७ गते आइतबार हुनेछ ।

सशस्त्र प्रहरी बलका डीएसपी मृत भेटिए

विराटनगर । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । धनपालथान गाउँपालिका ३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् । बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख पनि हुन् । कार्यालय परिसरमा रहेको क्वाटरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए । ‘बाहिर झ्यालबाट हेर्दा झुण्डिएको देखिन्छ, तर कोठा भित्र प्रहरी टोली प्रवेश गरेको छैन’, उनले भने, ‘परिवारका सदस्यलाई बोलाएका छौं, उहाँहरु आएपछि मात्रै भित्र पस्छौं ।’ बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएको खबर पाएको थियो ।

जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाकः विप्लव

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको टिप्पणी गरेका छन् ।   सोमबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक वृहत् अन्तरक्रियामा महासचिव विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताए ।  उनले संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहबाट जन्मिएको सन्तान भएको बताए । उनले देशमा नायकहरूलाई अपराधीजस्तो र अपराधीहरूलाई नायकजस्तो बनाउने परिस्थिति रहेको पनि बताए । उनले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको दावी गरे । उनले जनयुद्धको प्रतिफल नै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए । उनले भने,‘जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन हो र त्यसको प्रतिफलको रुपमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । त्यसमा जनआन्दोलनको पनि भूमिका छ । तर जो मान्छेहरूले जनयुद्धलाई नकारेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व लिन्छौँ भन्ने सपना देख्छन् नि तिनीहरू सुखानीकै जंगलमा जसरी सुखानीका सहिदहरुलाई समाप्त पार्छु भन्दाखेरी सिद्धिएका थिए नि, ती मान्छेपनि त्यसरी नै समाप्त हुन लायक हुन्छन् । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड छ । दलाल पुँजीवादले कब्जा गर्ने प्रयत्न गर्दैछ । माओवादीहरु, क्रान्तिकारीहरु, कम्युनिस्टहरु, समाजवादीले त्यसलाई स्याहार सम्भार गर्दै हुर्काउने लडाइँमा नेपाल सहभागी छ ।’ महासचिव विप्लवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै त्यो सम्भव नहुने बताए । आफूहरूको लक्ष्य मुलुकलाई साम्यवादसम्म पुर्‍याउने भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर जान नसकिने उनको भनाई छ ।

आज सपथ खाने मन्त्रिहरुको नाम फाइनल गर्न चार दलको बैठक फेरि बस्ने

काठमाडौं । नयाँ गठबन्धनको बैठक सोमबारै फेरि बस्ने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले आजै सानो आकारको नयाँ मन्त्रिपरिषद् गठन गर्ने निर्णय भएको छ । आज दिउँसो ३ बजे बस्ने बैठकले  मन्त्री बनाउने एक एकजनाको नाम फाइनल गर्नेछ । उनका अनुसार, अहिले प्रधानमन्त्री प्रचण्ड नयाँ मन्त्रीको शपथको समय लिन राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेका छन् । वर्तमान सरकारका मन्त्रीलाई हटाइएको जानकारी प्रधानमन्त्रीले राष्ट्रपतिलाई गराउने बताइएको छ ।

संसद बैठक २४ गतेसम्म स्थगित

काठमाडौं । सत्ता गठबन्धनमा फेरबदल आए सँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयले सोमबार बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरेर स्थगित गरेको हो ।  विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सचिवालयले जनाएको छ ।  कांग्रेस नेतृत्वको गठबन्धन तोडेर माओवादी केन्द्रले एमाले लगायतका दलहरूसँग सहकार्य अघि बढाएका छन् । नयाँ गठबन्धनको मन्त्रिपरिषद आजै गठन गर्ने तयारी छ । 

सत्ता गठबन्धन फेरिएसँगै सेयर बजारमा सर्किट ब्रेक

काठमाडौं, २१ फागुन । सत्ता गठबन्धन फेरिए सँगै सेयर बजारमा सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । कारोबार सुरु भएको केही मिनेटमा नै सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

बालुवाटारमा ४ दलको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा ४ दलको बैठक बस्ने भएको छ ।  सोमबार बिहान १०ः३० मा बालुवाटारमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको बैठक बस्न लागेको हो ।  बैठक नयाँ सत्ता समीकरण बनाउने विषयमा केन्द्रीत हुनेछ ।नयाँ समिकरणको तयारी गरेका ४ दलले आ-आफ्नो दलको सचिवालय बैठक सम्पन्न गरी बैठक बस्न लागेका हुन् ।

सुखानी सहिदका परिवारसँग भेट, कम्युनिष्ट एकताको पहल थालेका छौं  : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुखानी सहिदका परिवारसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्रीले सहिद सप्ताहका अवसरमा उनीहरुलाई भेट गरेका हुन् । तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो । आजको भेटमा ती सहिद परिवारका सदस्यहरु विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए । कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउन सुरु गरिएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।’ फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको दिन हो । सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा एक साता सहिद सप्ताह मनाइएको छ ।

माओवादी केन्द्रको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ । समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफल र नयाँ राजनीतिक घटनाक्रमका विषयमा नेताहरुलाई जानकारी गराउने छन् ।  

जाँडरक्सी खानेलाई भव्य कार्यक्रम गरी सम्मान

तानसेन । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाले बिहीबार सुन्दै अचम्म लाग्ने कार्यक्रमको आयोजना गरेको छ । पालिकाले कुलतका कारण सामाजिक रुपमा तिरस्कार हुने गरेकाहरूलाई एकै ठाउँ जम्मा पारेर भव्य कार्यक्रम गरी सम्मान गरेको हो ।  आफ्नो क्षेत्रमा रहेर जाँडरक्सीलगायत कुलतमा फसेका पुरुष तथा महिलाहरुको लगत संकलन गरी उनीहरुलाई एकै ठाउँमा भेला गरेर सम्मान गर्नुका साथै उनीहरुको भविश्य सुधार्ने योजना समेत बनाएको पालिकाले जनाएको छ । रिब्दीकोट गाउँपालिकाले बिहीबार पालिकाको सभाहलमा जम्मा गरेर नियमित जाँडरक्सी खाने सात महिला र ३३ पुरुषलाई सम्मान गरेको हो । पालिकाभरका ६५ जना कुलतमा फसेका व्यक्तिहरुको नामावली तयारी गरेर खबर गरेको भएपनि ४० जना मात्रै उपस्थित भएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए । कार्यक्रममा सहभागीलाई न्यानो र बलियो खालको एकएक जोर ट्रयाकसुट लगाईदिएर माला र खादा पहि¥याएर सम्मान गर्नुका साथै स्वास्थ्य बिमा, उपचार र प्रशिक्षितसमेत गरिएको थियो । विपन्न श्रमिक वर्गको धेरै ठूलो लगानी कुलतमा गएको, कमाएको रकम संरक्षण नहुने मात्रै होइन स्वास्थ्यमा समेत गम्भीर असर परेको, अकालमा धेरैको ज्यान गुमेको कारण जाँडरक्सी खानेलाई होइन जाँडरक्सीलाई तिरस्कार गर्ने उदेश्यले समाजमा परिवर्तन ल्याउन यस्तो कार्यक्रमको थालनी गरेको अध्यक्षले जानकारी दिए । जाँडरक्सी खानेलाई सम्मान गरिएको हो तर जाँडरक्सी खाएको कारणले नगरिएको पालिका अध्यक्षले जानकारी दिए ।  उनका अनुसार  जाँडरक्सीको कुलतबाट बाहिर निकाल्न, स्वास्थ्य चेतना दिन, परिवार र समाजप्रतिको दायित्व बोध गराउन व्यङ्ग्यात्मक रूपमा यो कार्यक्रम गरिएको हो । अब वडागत तहमै परिवारलाई जुटाएर यसलाई निरन्तरता दिने गाउँपालिका अध्यक्षले बताए । सम्मानित हुने ४० जना सबै श्रमिक हुन् । कार्यक्रममा सहभागी धेरैले जाँडरक्सी छाड्ने प्रतिविद्धतासमेत व्यक्त गरेका छन् ।

बालकोटमा एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक जारी छ ।  बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो । बैठकमा टीआरसी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षा

काठमाडौं । देशका विभिन्न ठाउँमा बिहानैबाट वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षा भइरहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।  

गृह मन्त्रालयका १८ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं ।सरकारले गृह मन्त्रालयका १८ उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले आइतबार विभिन्न जिल्लामा कार्यरत १८जना उपसचिवको सरुवा गरेको हो। सरुवा हुनेमा सातजना सहायक प्रमुख जिल्ला अधिकारी, दुईजना जेलर, दुईजना वरिष्ठ अध्यागमन अधिकृत, ६ जना उपसचिव र एक अध्यागमन विभागका निर्देशक छन्। 

शालीनको पोस्टमार्टम : बलात्कार नभई झुन्डिएका कारण मृत्यु भएको पुष्टि

काठमाडौँ ।चितवनको रत्नगर नगरपालिका-१० स्थित शिशु निकेतन माविको छात्राबासमा १४ वर्षीया शालीन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।  त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोस्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरूले आइतबार तयार गरेका छन् । त्यसमा उनको झुन्डिएका कारण मृत्यु भएको स्रोतले जनाएको छ ।  स्रोतका अनुसार बलात्कारको आशंका गरेकाले चिकित्सहरुले शालीनको संवेदनशील अंगको पनि जाँच गरेको तर, पोस्टमार्टम जाँचमा शंकास्पद विषय नदेखिएको बताइएको छ । स्काउटको डोरीमा होस्टेलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो । 

अस्पतालअगाडि प्रदर्शन गर्न खोज्ने पुण्य गौतम र युवराज सफल प्रहरी नियन्त्रणमा

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअगाडि प्रदर्शन गर्न खोजेपछि आइतबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोरखाकी १३ वर्षीया बालिका सालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलित बनेका थिए । झुन्डिएको अवस्थामा पोखरेलको मृत्यु भएको रिपोर्ट अस्पतालले प्रहरी कार्यालयमा पठाएपछि उनीहरुले विरोध गरेका थिए ।  पक्राउ गरेर गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जानकारी गराएको छ । यही फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलभित्र झुन्डिएको अवस्थामा बालिका पोखरेलको शव फेला परेको थियो । बलात्कारपछि उनको हत्या गरिएको परिवारको आरोप छ ।