गण्डकीमा माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकीमा माओवादी केन्द्रले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको हो । 

आज बसेको पार्टी संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

यसअघि मंगलबार मुख्यमन्त्री पाण्डेले माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीलाई हटाएका थिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै ३० दिनभित्र मुख्यमन्त्रीले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिनुपर्ने हुन्छ ।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा जानेबारे निर्णय लिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी सचिव जीवनराम श्रेष्ठ जानकारी दिएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष माधव नेपाललाई  उनकै निवासमा पुगेर सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । जवाफमा नेपालले सल्लाह गर्ने बताएका थिए ।  प्रचण्ड ओलीको प्रस्तावमा सकारात्मक रहेका नेपालले आजको बैठक मार्फत सरकारमा सहभागी हुनेबारे निर्णय लिनेछन् ।

गजुरी दुर्घटनामा हताहतको प्रभावकारी उद्धार र उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशुली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दुखी तुल्याएको बताएका छन् ।  प्रधानमन्त्रीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले सामाजिक सञ्जाल फेस्बुकमा एउटा स्टाटस लेख्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै उद्दार र उपचारको काम व्यवस्थित र प्रभावकारी तुल्याउन प्रशासन संयन्त्रलाई निर्देशिन समेत दिएका छन् । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली नदीमा खस्दा उक्त हताहत भएको हो ।  घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २०  जनाको टोली खटिएको छ ।   

त्रिशूलीमा बस खस्यो : ६ जनाको मृत्य, ३७ जनाको जिवितै उद्धार

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ। ३७ जनाको जिवितै उद्धार गरिएको छ।  अझै केही हराइरहेको आशंका सहित प्रहरीले खोजी कार्य जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गाडीमा ४५ यात्रुको चलान बनाएको पाइएको छ।  धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली नदीमा खस्दा उक्त हताहत भएको हो।  सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २०  जनाको टोली खटिएको छ।   

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागलगायत पहाडी भू–भागमा आंशिक बदली रहीेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा पनि हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

बारामा बस दुर्घटना : २ बालबालिकासहित १७ जना घाइते

हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित अमलेखगञ्ज तीन नम्बर पुलमा भएको दुर्घटनामा १७ जना घाइते भएका छन् । आज साँझपख भएको दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइपुर्याँइएको छ । दुर्घटनामा २ बालबालिका, १२ जना महिला र ३ पुरुष घाइते भएको खुलेको छ। उनीहरूको परिचय खुलिसकेको छैन् ।   अमलेखगञ्ज तीन नम्बर पुलबाट ना ६ ख ९०३० नम्बरको बस खोलामा खसेको थियो । दुर्घटनाको कारण खुलिसकेको छैन् । उक्त बस धनगढीबाट विराटनगर जाँदै थियो । 

मनाङमा हिमपहिरो : तल्लो र माथिल्लो मनाङ जोड्ने सडक अवरुद्ध

मनाङ। मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा हिमपहिरो गएको छ।आइतबार राति परेको हिमपातले सोमबार हिमपहिरो जाँदा तल्लो मनाङ र माथिल्लो मनाङ जाने सडक अवरुद्ध भएको छ । ठुलो हिमपहिरो गएकाले उपकरण अभावमा सोमबार हिमपहिरो पन्छाउन नसकिएको जिल्ला प्रशासन कार्यालयल मनाङले जनाएको छ । ७५ देखि १०० मिटरसम्म लामो हिमपहिरो पन्छाउने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ। हिमपहिरोले सडक अवरुद्ध भएपछि पर्यटक समस्यामा परेका छन् । 

सत्ता गठबन्धनको बैठक सुरु‚ टुंग्गिएला मन्त्रालयको भागबन्डा !

काठमाडौं । नयाँ गठबन्धन बनेपछि मन्त्रालय भागबन्डा गर्न दलहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलहरूको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड‚ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली‚ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव छन् । उनीहरूबाहेक दोस्रो तहका नेताहरू पनि बैठकमा सहभागी छन् ।

सत्ता गठबन्धनलाई बामदेवको समर्थन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले सोमबार निर्माण भएको नयाँ सत्ता गठबन्धनको समर्थन जनाएका छन्। उनले आज विज्ञप्ति प्रकाशन गरी अहिलेको नयाँ सत्ता गठबन्धनले सही राजनीतिक दिशा लिएको भन्दै समर्थन गरेका हुन् । सोमबार नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको नयाँ सत्ता समीकरण बनेको छ । नेता गौतमले २०७७ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्नु एउटा भूल थियो भन्ने कुरा नयाँ सत्ता समीकरणले पुष्टि गरेको पनि सो विज्ञप्तिमा उल्लेख गरे।  उनले यो सत्ता समीकरणबाट सत्तास्वाद लिन जे पनि गर्ने प्रवृत्तिको अन्त्य हुने र अब वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुसी भएर सामेल हुने अपेक्षा गरिएको पनि विज्ञप्तिमा जनाए। एमालेका पूर्वउपाध्यक्ष नेता गौतम नेकपा विभाजनपछि कुनै पार्टीमा संलग्न नरही बाम एकताको अभियानमा लागेका हुन् । उनी अहिले राष्ट्रियसभाका सदस्य रहेका छन् ।

नेप्से ७० अंकले घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ७०.३१ अंकले घटेको छ। नेप्से ३.३८ प्रतिशतले घटेर २००७.६९ को विन्दुमा झरेको छ।  यस दिन ३१६ धितोपत्रका एक करोड १४ लाख ७६ हजार ५९९ कित्ता सेयर चार अर्ब ११ करोड ३६ लाख ७६ हजार ७५८ रुपैयाँमा किनबेच भयो। १३ उपसमूहमध्ये म्युचुअल फन्डको समूहगत सूचक ०.६६ प्रतिशतले बढ्यो। १२ वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ८.७३ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

एमाले प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

काठमाडौं । नेकपा (एमाले)ले महेश बर्तौलालाई प्रमुख सचेतक बनाएको छ । सचेतक रहेका उनलाई प्रमुख सचेतकमा बढुवा गरिएको एमाले स्रोतले जानकारी गराएको छ । सचेतकमा सुनिता बराललाई चयन गरिएको छ । प्रमुख सचेतक यसअघि  पदम गिरी थिए । उनी नयाँ गठबन्धन सरकारमा मन्त्री बनेपछि बर्तौलालाई प्रमुख सचेतक बनाइएको हो । उनको बढुवा भएपछि रिक्त स्थानमा बराललाई सचेतकमा नियुक्त गरिएको स्रोतले जानकारी गरायो ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे माओवादीतर्फका मन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माअ‍ोवादी केन्द्र)का तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीहरू बर्खास्त गरेका छन्। उनले माओवादीतर्फका मन्त्रीहरूले जिम्मेवारी लिएका उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय आफ्नै मातहतमा राखेका छन्। मुख्यमन्त्री शाहले जिम्मेवारी हेरफेरको पत्र प्रदेश प्रमुखसमक्ष पठाइसकेका छन्। सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका तर्फबाट झपटबहादुर साउद सामाजिक विकास र रमेश सिंह धामी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र गीतादेवी माल उद्योग राज्यमन्त्री थिए। यी तीनैजनालाई बर्खास्त गरिएको हो।

कुशल मल्लले एकै ओभरमा लिए दुई विकेट, तोडे ८३ रनको साझेदारी

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई कुशल मल्लले एकै ओभरमा दुई विकेट लिएका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ‘डोडलाई कुशलले ८.१ ओभरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए ।  ओ‘डोडले डच टिमका लागि २२ रन बनाए । सोही ओभरको पाँचौँ बलमा विस्फोटक ब्याटिङ गरेका अर्का ओपनर माइकल लेभिटलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए । लेभिटले २९ बलमा ६ चौका र तीन छक्कासहित ५४ रन बनाए ।  लेभिट र ओ‘डोडले पहिलो विकेटका लागि ८.५ ओभरमा ८३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । जारी खेलको नौ ओभर समाप्त हुँदा नेदरल्यान्ड्सले दुई विकेट गुमाएर ८४ रन बनाएको छ ।  त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।

नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा घरेलु टोली नेपालले नेदरल्यान्ड्ससामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रनको योगफल खडा गर्‍यो । 

त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनल जारी : नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा नेपाल

काठमाडौं । नेपालले त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय गरेका छन् । उनले पाहुना टिमलाई फिल्डिङमा बोलाए । फाइनलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । यसअघिका दुई भेटमा नेपाल र नेदरल्यान्ड्सले समान एक जित निकालेका छन् । तालिकामा नेदरल्यान्ड्स शीर्ष, नेपाल दोस्रोमा रहँदै फाइनलमा स्थान बनाएका थिए । नामिबिया पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

बसको ठक्करबाट ९ वर्षका बालकको मृत्यु

चितवन । चितवनमा बसको ठक्करबाट जेब्रा क्रसिङमा हिँडिरहेका ९ वर्षीय बालकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका ७ माछापुच्छ्रे चोकमा ना ४ ख ५८१५ नम्बरको बसले जेब्रा क्रसिङमा हिडिँरहेका सोही ठाउँका बिक्रम पौडेलका ९ वर्षीय छोरा आरुषलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। घटनालगत्तै स्थानीय घटनास्थलमा जम्मा भएका थिए। उनीहरूलाई प्रहरीले सम्झाएर घर पठाएपछि बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनास्थल र छोराको शव देखेपछि बुवा बिक्रम बेहोस भएका छन। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ। शवलाई पोष्टमार्टमका लागि भरतपुरको सरकारी अस्पतालमा राखिएको छ भने बस र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छ। माडी नगरपालिका–८ बस्ने बस चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो ।