सिद्धिचरण लोकमार्गमा यात्रुको ज्यान जोखिममा

उदयपुर, असोज २० । उदयपुरको कटारी, घुर्मी हुँदै हर्कपुर भएर ओखलढुंगा तथा जयरामघाट हसेली, खोटाङसम्म सञ्चालन हुने सिद्धिचरण लोकमार्ग क्षेत्रमा दशैँको समयको मौका छोपेर यातायात व्यवसायीले सवारीसाधनको माथि छतमा समेत क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले यात्रुको ज्यान जोखिममा पार्न थालेको छ ।

यस क्षेत्रमा सञ्चालन हुने साना तथा ठूला सवारीका साधनले समेत जबर्जस्ती यात्रुलाई गाडीभित्र कोच्ने र छतमाथि समेत राखेर यातायातका साधन सञ्चालन गर्न थालेपछि केही यात्रु बसको छतबाट खसेर गम्भीर घाइते भएका छन् भने कतिपयको जीवन नै जोखिममा पर्न थालेको हर्कपुरका इन्द्रनारायण श्रेष्ठले बताएको छ ।

भिरालो, वनवे कच्ची सडक भएको र त्यसमा पनि गाडीभित्र र माथि छतमा समेत दोब्बर यात्रु राखेर सवारीसाधन सञ्चालन हुने गर्नाले कुनै पनि बेला सवारी दुर्घटना भइहाले धेरै यात्रुको ज्यान जाने अवस्था रहेको खोटाङ तुवाचुङ नगरपालिका–४ का युवराज राई बताए ।

रु पाँचसयदेखि एक हजार सवारी भाडा निर्धारण गरेको ठाउँमा अहिले रु दुई हजारभन्दा बढी सवारी भाडा तिर्नु पर्ने नत्र गाडीबाट सवारी चालकले जबर्जस्ती झारी दिने गरेकोसमेत हर्कपुरकै अर्का यात्री इन्दिरा राईको गुनासो छ ।

करिब एक महिनादेखि यस लोकमार्ग क्षेत्रमा यातायात व्यवसायीले मनपरि सवारी भाडा लिने र बढी यात्रु राखेर सवारीसाधन सञ्चालन गर्ने गरेको भएता पनि अहिलेसम्म सम्बन्धित निकायबाट यसको कुनै कारबाही नभएको कुरा हलेसी च्यास्मीटार उच्चमाविका एक शिक्षक बुद्धराज ढकाल बताए ।

कच्ची सडक र सडकको अवस्था जीर्ण रहेका बेला सवारीका साधनले तलभित्र र माथि छतमा भरी यात्रु राख्नाले कुनै पनि बेला सवारी दुर्घटना भए ठूलै मानवीय क्षतिको अवस्था आउने यात्रु र स्थानीयवासी जनतासमेत बताउँछन् ।

सडकको अवस्थाअनुसार सवारीसाधनले सोही क्षमताअनुसार यात्रु बोक्नु पर्ने भए पनि भित्र र माथि भरी यात्रु बनाएर मात्र सवारी चालकले गाडी चलाउने र महँगो सवारी भाडा लिने यस लोकमार्गको परम्परानै हुन थालेको घुर्मीका स्थानीय लोकबहादुर पुलामी मगर बताए ।

यता सम्बन्धित यातायात व्यवसायी संघले भने मनपरि सवारी भाडा लिने जो कोही सवारी सञ्चालकलाई थाहा पाए तत्काल कारबाही गर्ने बताउने गरेको छ ।

घुर्मीमा अहिले केही समयको लागि अस्थायी ट्राफिक प्रहरी पोष्ट र प्रहरी चौकी रहेको भएता पनि यातायात व्यवसायीले प्रहरीको वास्तै नगरी क्षमताभन्दा बढी यात्रु बोक्ने र सवारी भाडा मनपरि लिने कार्य झनै बढ्दै गएको यस क्षेत्रमा सवार आम यात्रुको गुनासो बढ्दै जान थालेको छ ।

सडक किनाराका ३७ घरधुरीले मुआब्जा बुझे

चितवन, असोज १९ । नारायणगढ–मुग्लिन सडक किनारामा बसोबास गरिरहेका ३७ घरधुरीले मुआब्जा बुझेका छन् । उक्त स्थानमा पहिरोको उच्च जोखिममा परेका ४५ वटा घर स्थानान्तरणको प्रक्रिया अन्तर्गत पहिलो किस्ताको मुआब्जा वितरणको प्रक्रिया थालिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणको मुआब्जा वितरणको काम अन्तिमचरणमा पुगेको छ । उनीहरुलाई दुई किस्तामा गरी मुआब्जा वितरण गरिँदै छ । पहिलो किस्ता मूल्यांकनको ३३ प्रतिशत र दोस्रो किस्तामा ६६ प्रतिशत रकम वितरण गर्ने योजना रहेको छ । अहिलेसम्म ४५ घरमध्ये ३७ घरपरिवारले मुआब्जाबापतको रकम लिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनकाअनुसार हालसम्म रु ३७ लाख ७३ हजार २५ वितरण गरिसकिएको छ । पहिलो चरणको मुआब्जा वितरणका लागि बाँकी रहेका – ८ घरको रु १० लाख ३२ हजार ८४२ पनि तिहार अघि नै वितरण गरिने उनले जानकारी दिए। मुआब्जा निर्धारण समितिले गठन गरेको उपसमितिका संयोजक समेत रहनुभएका शर्माले पहिलो चरणको ३३ प्रतिशत रकम बुझिसकेपछि बाँकी रकम भुक्तानी लिन आउँदा सडक छेउमा रहेको घर टहरा उठाइसकेको प्रमाण लिएर आउनुपर्ने बताए । उनका अनुसार ती घरपरिवारलाई समितिले रु एक करोड ४४ लाख १४ हजार ६०६ मुआब्जा निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ४५ वटा घर, गोठ, शौचालय, पसल लगायतको मुआब्जा १ करोड ४४ लाख १४ हजार ६ सय ६ रुपैयाँ निर्धारण गरिएको छ । विश्व बैंकको सहयोगमा सडक निर्माण भईरहेकाले अहिले भएको संरचना भन्दा स्तरीय संरचना निर्माण गर्न बजेट पुग्ने गरी मुआब्जा निर्धारण गरिएको मुआव्जा निर्धारण उपसमितिका संयोजक शर्माले बताए । यसका अतिरिक्त विस्थापन भत्ता प्रतिघर रु २० हजार, अर्को घर नवन्दा सम्मका लागि भाडा रकम रु १० हजार, हाल व्यवसाय भए अर्को व्यवसाय नथालेसम्मका लागि रु १० हजार र दलित जनजाति भएमा थप रु १० हजार समेत दिईने व्यवस्था छ । त्यसका लागि मात्र रु २० लाख ८० हजार रुपैयाँ बितरण गरिर्दै छ । सडक बिस्तारका क्रममा ठाउँठाउँमा पहिरो खसेको र कतिपय ठाउँमा सडक चौडा बनाउँदा उनीहरुलाई स्थानान्तरण गर्नु परेको हो ।

तरबार लडाउने र नचाउने पर्वको संरक्षणमा जुटे स्थानीय युवा

पाल्पा, असोज २० । रैनादेवी छहरा गाउपालिका– ५, मुझुङ्गको कटौजेपानीका युवाले तरबार लडाउने र नचाउने पर्वको संरक्षणमा जुटेको छ । सेनकाली राजाका पालादेखि तरबार लडाउने र नचाउने परम्परा रहेकोमा पछिल्लो समयमा यो लोप हुँदै गएको थियो । तर यसपाली स्थानीय युवाले ५० थान तरबार बोकेर प्रदर्शनीसमेत गरेका हुन । लोपन्मुख अवस्था रहेको यो पर्व स्थानीय युवाको सक्रियतामा फेरि संरक्षण हुन थालेको स्थानीयबासीले बताएका छन्। कोजाग्रत पूर्णिमामा कालिकादेवीको मन्दिरमा पूजागरी दिउँसो स्थानीय बासिन्दाको पहलमा तरबार लडाउने र अर्को पक्षले ढालले रोक्ने गरी सराय नाच निकालिने गरिन्छ । अघि पञ्चेबाजासहित विशाल ¥यालीपछि तरबार लडाउने युवा, कालिकादेवीको मन्दिरका पूजारीले निकालिएको सराय नाचमा रौनकता ल्याएको हो । आश्विन शुक्ल पूर्णिमाको दिन बिहीबार सराय निकालेर रमाइलो हुने भएपछि पश्चिम पाल्पाका मानिसको त्यहाँ ओइरो लाग्ने गर्छ । मन्दिरमा रोट, कुखुरा, हाँस, बोका, राँगोलगायतको बलि चढाउने चलन छ । पूर्णिमाको अवसरमा समेत वडाले पञ्चबलि चढाउने चलन रहेको मन्दिरका पूजारी जंगबहादुर आलेले बताए । मन्दिरमा बलि चढाएपछि तीन पटक कालीकादेवीको परिक्रममा गरेर सराय निकालिने गरिन्छ । स्थानीय बासिन्दा, युवा, मन्दिरका पूजारीको समेत सक्रियतामा लोपोन्मुख सराय नाच संरक्षणमा लागिपरेका थिए । तरबार बोकेका युवाले वाख्यौ हो भन्दै सरायलाई नाचमा सक्रियता देखाएपछि अझै रौनकता देखिएको स्थानीय बासिन्दा पोषण राना मगरले बताए । सराय नाच निकाल्ने यो चलन झण्डै दुईसय वर्ष अघिदेखि रहेको मन्दिरका पूजारी आलेले जानकारी दिए । मन्दिरबाट निकालेको सरायमा तरबार लडाउने चलन अझै पनि रहेको छ । तरबार नचाउने र लडाएपछि पूजारीले कुभिण्डो काटेर सराय विर्सजन गरिन्छ । त्यसपछि घरघरमा रहेको टीका र जमरासमेत फूलबारीमा फाल्ने चलन रहेको आलेले बताए । रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले कालिकादेवी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । उनले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्दछ भने । इतिहासका जानकार निर्मल श्रेष्ठले सयरा नाचको महत्व झल्काउन सकेको अवस्थामा यो क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुने बताए । सराय अवलोकन लागि यो वर्ष उल्लेखनीय मानिसको उत्साहपूर्ण सहभागिता थियो । यो सराय पश्चिम पाल्पाको ठूलो सराय मेलाका रुपमा अझै निरन्तरता पाएको छ । सरायमा स्थानीय विभिन्न प्रकारका स्वादिलो खानाको स्वाद चाख्न पाइएको थियो । सो अवसरमा मुझुङ्ग पूर्णिमा महोत्सव २०७४ मूलसमितिको आयोजनामा वृहत सांस्कृतिक कार्यक्रम समेत सञ्चालन भएको थियो ।

सुस्तमनस्थिति महिलालाई करणी गर्ने खोज्ने पक्राउ

भीमदत्तनगर, असोज २० । सुस्तमनिस्थिति भएकी एक महिलालाई जबरर्जस्ती करणी गर्न खाज्ने ई–रिक्सा चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ जानकी टोलमा एक ३८ वर्षीया महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने बैतडी घर भई हाल बसपार्कमा डेरा गरी बस्ने २७ वर्षीय गजेन्द्र विष्टलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले अभियुक्त विष्टलाई नियन्त्रणमा लिई आज जबरर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको बताए । उहाँकाअनुसार महिलालाई जबरर्जस्ती गर्न खोज्दा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बस दुर्घटना हुँदा दुईको मृत्यु, ३० घाइते र १० गम्भीर

अर्घाखाँची, असोज २० । अर्घाखाँचीको मालारानी गाउँपालिका– २ सापडाँडामा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको स्थानीयवासी टंक खनालले बताए । घाइतेहरुको उद्धार कार्य जारी रहेको र उनीहरुको उपचारका लागि सन्धिखर्क, तम्घास पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । मालारानी गाउँपालिकाको अर्घातोष डाँडाकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्बरको बस मालारानी–२ सापडाँडामा सडकदेखि १०० मिटर तल खसेपछि दुर्घटना भएको हो ।

दशैँ सकिए लगत्तै काठमाडौंँ भित्रिनेको संख्या बढ्दो

काठमाडौँ, असोज २० । यस वर्षको बडादशैँमा घर गएर फर्कने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार असोज १४ गते विजयादशमीदेखि असोज १९ गते कोजाग्रत पूर्णीमासम्म चार लाख १२ हजार ६८८ यात्रु काठमाडौँ भित्रिसकेका छन् । विजयादशमीमा ३९ हजार ७९८, एकादशी ४९ हजार १०, द्वादशी ६७ हजार ७२५, त्रयोदशी ७६ हजार ७६५, चर्तुदशी ९० हजार १०० र कोजाग्रत पूर्णीमाका दिन ८९ हजार २९० यात्रु भित्रिएका छन् । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता उमेश रञ्जितकारले गत वर्षको तुलनामा यसवर्ष कोजाग्रत पूर्णीमाको दिनसम्म कम यात्रु उपत्यका भित्रिएको बताउनुभयो । “दशमीदेखि पूर्णीमासम्म कम दिन कार्यालय सञ्चालन, दशँै र तिहारको बीचमा स्कुल तथा कलेज बिदा भएका कारण उपत्यका भित्रिने यात्रुको संख्यामा कमी आएको हो,”–प्रवक्ता रञ्जितकारले भन्नुभयो । दशैँ मनाउनका लागि काठमाडौँबाट निजी तथा सार्वजनिक यातायातमा २० लाखको हाराहारीमा यात्रु बाहिरिएका थिए । यस्तै यो वर्ष काठमाडौँ उपत्यकामा दशैँको बेलामा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा समेत कमी आएको छ । गतवर्ष १० जनाले ज्यान गुमाएकामा यो वर्ष चार जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ । ज्यान गुमाउनेमा मञ्जित राउत, प्रमिला बलामी, खिलराज घिमिरे र प्रजन सैजु रहेका छन् । महाशाखाले सो अवधिमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक हजार ९७, बढी भाडा लिई सवारी चलाउने ५३, बढी भाडामा टिकट बेच्ने ९बिचौलिया० ३४, बढी भाडा लिने ट्याक्सी ५०, रुट इजाजतबिना सवारी चलाउने २१ सवारी चालकलाई कारबाही गरेको छ ।

डीआईजी नवराज सिलवाल केहिबेरमा एमाले प्रवेश गर्दै 

काठमाडौं,असोज २० । डीआईजी नवराज सिलवाल नेकपा एमाले प्रवेशको तयारी गरेका छन् । आज काठमाडौंमा विशेष कार्यक्रम गरी उनी नेकपा एमालेमा प्रवेश गर्न लागेको स्रोतले जानकारी दियो । नेपाल प्रहरीको महानिरीक्षकको दौडमा रहेका सिलवाललाई कासमु कीर्ते गरेको आरोप लागेको छ । आफू प्रहरी महानिरीक्षक हुन पाउनुपर्ने जिकीर गर्दै सर्वोच्चमा दिएको निवेदन पनि आफ्नो पक्षमा फैसला नभएपछि उनले डीआईजीबाट राजीनामा दिएका थिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत नभएको प्रहरी स्रोतले जानकारी दिएको छ । अहिले बिहान ११ बजेपछि काठमाडौंको एक पार्टी प्यालेसमा हुने कार्यक्रममा उनी एमालेमा प्रवेश गर्न लागेको स्रोतले जानकारी दियो । यसअघि उनले दशैंको टीका पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट लगाएका थिए ।

अर्घाखाँचीकाे सापडाँडामा बस दुर्घटना हुँदा २ को मृत्यु, ३० घाइते

अर्घाखाँची, असोज २० । अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् । अर्घाखाँचीको डाडाँकटेरीबाट संन्धीखर्कका लागि छुटेको लु १ ख ७७७८ नम्बरको बस खनदहको सापडाँडामा दुर्घटना भएको हो । ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन । अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।

नेपालको पहिलो ब्रान्डको रुपमा वाइवाइ युरोपबाट पनि उत्पादन शुरु

काठमाडौं, असोज २० । चौधरी ग्रुपले युरोपमा पनि वाइवाइ चाउचाउ उत्पादन सुरू गरेको छ। युरोपियन मुलुक सर्वियामा निर्मित वाइवाइको प्लान्टबाट यसअघि नै उत्पादन सुरू भइसकेपनि आजबाट औपचारिकरुपमा उद्घाटन भएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिएका छन्। चौधरीले आफ्नो ट्वीटरमार्फत् बिहीबार औपचारिकरुपमा ‘वाइवाइ युरोप’ सुरू भएको र सर्वियाका राष्ट्रपति अलेक्जान्डर भुचिचले यसको उद्घाटन गरेको बताएका हुन्। नेपालको पहिलो ब्रान्डको रुपमा वाइवाइ युरोपेली राष्ट्रबाट पनि उत्पादन भएको हो। ‘सिजी फुड्स युरोप’ नामबाट सर्वियाको रुमा सहरमा रहेको वाइवाइ प्लान्टबाट व्यवसायिकरुपमा यसको उत्पादन हुन्छ। हाल विश्वभर वर्षमा २ अर्ब २० करोडभन्दा बढी बिक्री भइरहेको वाइवाइले विश्व तयारी चाउचाउ बजारको २.२ प्रतिशत हिस्सा ओगटेको छ। नेपालमा ६ र भारतमा आठ प्लान्टमार्फत उत्पादन भइरहेको वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा ओगटेको छ। चौधरी ग्रुप बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका प्लान्ट स्थापना गर्ने तयारीमा छ । नेपालका एकमात्र ‘फोर्ब्स’ सूचीकृत अर्बपति विनोद चौधरीले विसं २०४१ सालमा थाइल्यान्डबाट वाइवाइ भित्र्याएका हुन्। त्यतिबेलै उनले यसको अन्तराष्ट्रिय ब्रान्ड अधिकार पनि आफूसँगै ल्याएका थिए। यो तीन दशक अवधिमा ललितपुरको भैंसेपाटीबाट सुरु भएको वाइवाइ नवलपरासीको उद्योग ग्राम हुँदै बर्दियासम्म फैलिएको छ। अब पूर्वी क्षेत्रका लागि इटहरीमा छुट्टै प्लान्ट बनाउने उनको तयारी छ। त्यस्तै भारतमा सिक्किम (रम्पो) बाट सुरु भएको वाइवाइ उत्पादन उत्तराखण्ड (रुद्रपुर), आसाम (गुवाहाटी र सिल्चर), बिहार (पूर्णिया) हुँदै आन्द्राप्रदेश (चित्तुर) सम्म पुगिसक्यो। सन् २०२० भित्र एसिया, युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका १० वटा देशमा वाइवाइ उत्पादन सुरु गर्ने योजना बनाएको ग्रुपले सर्बिया लगत्तै साउदी र बंगलादेशबाट पनि उत्पादन सुरु गर्ने भएको छ। त्यसपछि रुस, पोल्यान्ड, इरान, टर्की, मेक्सिको, इजिप्ट र केन्याबाट पनि उत्पादन सुरु गरिने र वाइवाइलाई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित गर्ने चौधरी ग्रुपको योजना छ।

वैद्य माओवादी एक्लै निर्वाचनमा जाने

काठमाडाैँ, असोज २० । नेकपा क्रान्तिकारी माओवादीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक्लै भाग लिने भएको छ । निर्वाचन उपयोग गर्ने नीतिअनुरूप भाग लिन थालेको नेता सिपी गजुुरेलले बताए । गजुरेलको संयोजकत्वमा गठित जनगणतान्त्रिक मोर्चाले कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपासँग तालमेल नगर्ने यसअघि नै निर्णय गरिसकेको छ । तर, क्रान्तिकारी शक्तिसँग भने तालमेल हुन सक्ने माओवादीले जनाएको छ । कुन–कुन जिल्लामा उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको नेता गजुरेलले बताए । मोर्चाले चुनाव चिह्न मुठ्ठी पाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने भएको छ । नेकपाले संसदीय व्यवस्थाको विरोध गर्दै स्थानीय तह निर्वाचन पनि बहिस्कार गरेको थियो ।

२९ महिनासम्म पनि टहरोमै भुकम्पपीडित

काठमाडौं, असोज २० । हाकुका लाक्पा तामाङले गाउँ छाडेको २९ महिना भयो । उनी अहिले उत्तरगया गाउँपालिकास्थित बोगीटारमा बसिरहेका छन् । उनी त्यहाँ कुनै काम विशेषले बसेको भने होईनन् भुकम्पले गाउँमा सुख्खा पहिरो खसेपछि बस्ने ठाउँ नै नपाएपछि ठाउँ खोज्दै जाँदा तामाङ त्यहाँ पुगेका हुन् । गाउँ फर्काउनका लागि सरकारले उचित कदम नचालेकोप्रति तामाङ असन्तुष्ट छन् । उनी-‘भन्छन् सरकारले बिस्थापितलाई अर्कै देशको नागरक टानेको छ, घर मात्र भत्किएकाले किस्ता पाएर घर बनाईसके’ । हामी बस्ने ठाउँ नै नभएकालाई किस्ता पाएर घर बनाईसके । हामी बस्ने ठाउँ नै नभएकालाई न बास न किस्ता । हाकुका छेकु लामा भन्छन् दुई बर्ष अगाडी नेका टहरामा बाँस कुहिएको छ, नयाँ टहरा बनाउँन पैसा छैन ।, नागरिकमा खबर छ ।

लोकतान्त्रिक गठबन्धनकाे कार्यदलको बैठक बस्दै

काठमाडौं, असोज २० । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनको कार्यदल सदस्यको नाम टुंगो लागेको छ । कार्यदलमा कांग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे सदस्य रहेका छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहेका छन् । कार्यदलको बैठक शुक्रबार विहान बस्दैछ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच मंगलबार चुनावी गठबन्धन र पार्टी एकताको पहलका लागि सहमति भएपछि कांग्रेसको नेतृत्वमा ६ दलले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको गठबन्धन बनाउन कार्यदल गठन गरेका हुन् ।

निर्वाचनमा उम्मेदवार बन्न गायकदेखि पत्रकारसम्म आकांक्षी

काठमाडाैँ, असोज २० ।  नेपाली कांग्रेस पर्वतले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारीको दावी गर्ने सबैको नाम केन्द्रमा पठाएको छ । केन्द्रको परिपत्रअनुसार तीनतीन जनाको नाम छनौट गर्न नसकेपछि उम्मेदवारको दावी प्रस्तुत गरेका सबै नाम केन्दमा पठाउन निर्णय गरेको कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले बताए । पर्वत कांग्रेसले दुई दिन ढिला गरी बिहीबार केन्द्रीय समितिलाई उम्मेदवारको  दावी गरेका ६७ जनाकै नाम केन्द्रमा पठाएको छ ।, नागरिकमामा खबर छ ।

मृतकका परिवारलाई ६ करोड ७७ लाख क्षतिपूर्ति

काठमाडाैँ, असोज २० ।  संयुक्त अरब इमिरेट्स (यूएई)मा मृत्यु भएका ९१ जना मृतक नेपाली कामदारका परिवारले ब्लडमनीबापत २२ लाख ५६ हजार दिराम (झन्डै ६ करोड ७७ लाख) क्षतिपूर्ति पाएका छन् । आवुधावीस्थित नेपाली दूतावासका अनुसार मृतकका परिवारले पाएको क्षतिपूर्ति सम्बन्धितले पाउने गरी परराष्ट्र मन्त्रालय पठाइएको छ । परराष्ट्रले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत क्षतिपूर्ति रकम वितरण गर्नेछ । कान्तिपुरमा खबर छ । क्षतिपूर्ति पाउनेमा पाँच बर्षअघि मृत्यु भएका समेत रहेका छन् ।

ल्यान्डफिल साइट पीडितले पाउन थाले क्षतिपूर्ति

काठमाडाैँ, असोज २० ।   काठमाडौं महानगरपालिकाले ओखरपौवा ल्यान्डफिल साइटका पीडित परिवारलाई ५० लाख रुपैयाँ घर भाडा, जग्गा र बाटोको क्षतिपूर्ति पदन शुरु गरेको छ । स्थानीयले राखेको माग पूरा गर्ने सहमतिअनुसार कामपाले क्षतिपूर्तिबापत रकम वितरण गर्न शुरु गरेको  नेपाल समाचारपत्रमा खबर छ । करिब ३ सय घर परिवारको तथ्यांक संकलन गरी क्षतिपूर्तिबापत रकम वितरण गर्न शुरु गरेको हो ।

महेन्द्रनगरबाट सिरियल किलर ठगुन्ना पक्राउ

काठमाडाैँ, असोज २० ।  शृंखलाबद्ध व्यक्ति हत्यामा संलग्न प्रकाशसिंह ठगुन्ना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सिरियल किलर ठगुन्नालाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट पक्राउ गरी बिहीबार काठमाडौं ल्याएको हो । महाशाखाका अनुसार अभियुक्त ठगुन्नमाथि व्यक्ति हत्याको कैयौं उजुरी छन् ।  कान्तिपुरमा खबर छ ।