राष्ट्रियसभा अध्यक्षको उम्मेदवारबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराह्न ५ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिए । 

पदाधिकारी बैठकले आगामी मंगलबार हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि उम्मेदवार छान्ने छ । नयाँ बनेको गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउने सहमति अनुसार माओवादीले उम्मेदवार छान्न लागेको हो ।

माओवादीमा राष्ट्रियसभा अध्यक्षका लागि हाल उपाध्यक्ष रहेकी उर्मिला अर्याल, नारायण दाहाल र झक्कुप्रसाद सुवेदी आकांक्षी रहेका छन् ।कस्लाई उम्मेदवार बनाउने भन्ने निर्णय पदाधिकारी बैठकले लिने हिजो बसेको संसदीय दल बैठकमा सहमति बनेको थियो । सोही अनुसार आज बैठक बोलाइएको हो ।

यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने केही खुलाएको छैन । नयाँ सत्ता समीकरण बन्नु अघि नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बन्ने चर्चा रहेको थियो । तर समीकरण परिवर्तन भएपछि कांग्रेसले कुनै निर्णय गरेको छैन ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता र मंगलबार मतदानको तयारी रहेको छ ।

जसपाका मन्त्रीले आज ११ बजे शपथ लिने

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले आइतबार जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मन्त्री बन्नेहरूको शपथ गराएर मन्त्रीपरिषद् विस्तार गरिने जानकारी दिएका हुन् ।  जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् ।साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार शपथ बिहान ११ बजे राष्ट्रपति कार्यालय सितल निवासमा हुनेछ ।भाेलि थपिने मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराउनेछन् ।  

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ। सिंहदरबारस्थित दलको कार्यालयमा ३ बजेदेखि बैठक बसिरहेको हो। बैठकमा प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक विषयमा जानकारी गराउने र गठबन्धन फेरिएको विषयमा ब्रिफिङ गर्ने कार्यसूची रहेको छ। प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रिय सभा अध्यक्षका विषयमा पनि छलफल हुने बताए। राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते गर्ने तयारी छ। त्यस्तै, राष्ट्रिय सभाबाट विदाइ भएका सांसदहरूलाई दलबाट विदाइ गर्ने कार्यक्रम रहेको पनि पाण्डेले जानकारी दिए। माओवादीका राष्ट्रिय सभाका तीन सदस्यको कार्यकाल फागुन २० मा सकिएको थियो।

मुलुकको विगत र वर्तमानको अवस्था तुलना नै हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका हुन् । मोतीदेवी स्मृति केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरू रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो ? भनी प्रश्न समेत गरे । उनले ३३ प्रतिशत महिलाहरू संसद् र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेश गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको तर्क गरेका हुन् । ओलीले जनताको अवस्थालाई पूर्ण रूपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी पनि आफूहरूको काँधमा रहेको बताए ।अध्यक्ष ओलीले महिलाहरूलाई सशक्तीकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने समेत बताए ।

रातारात अल्पमतको मन्त्री बनेका मन्त्रीहरूलाई सरकारबाट हट्न नागरिक उन्मुक्तिको निर्देशन

धनगढी। सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा रहेको बेला पार्टीलाइ थाहै नदिइकन नागरिक उन्मुक्ति पार्टीबाट तीन जनाले रातारात मन्त्रीको शपथ लिएपछि सो पार्टीभित्र किचलो सुरु भएको छ । सल्लाहै नगरी मन्त्रीको शपथ लिएको भन्दै नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय नेतृत्व प्रदेशस्थित संसदीय दलप्रति रुष्ट बनेको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कमलबहादुर नेतृत्व सरकारबाट हट्न प्रदेश संसदीय दलललाई निर्देशन दिएकी छिन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारलाई दिएको साथ फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले सहयात्री दल नागरिक उन्मुक्ति पार्टीबाट हिजो तीन मन्त्री नियुक्त गर्नुका साथै शपथ समेत खुवाएका थिए ।  नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, सचेतक खुसीराम डङ्गौरा थारु बिना विभागीय मन्त्री र इन्दिरा गिरी भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरिएको छ । कृषि राज्यमन्त्री कैलाश चौधरीलाई फिर्ता बोलाएर चौधरीको ठाउँमा गिरीलाई मन्त्री नियुक्त गरिएको हो । तीनै जना मन्त्रीलाई हिजो रातारात शपथ ग्रहण गराइएको छ । पार्टीसँग सल्लाहबिनै रातारात मन्त्री बनेको भन्दै नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय नेतृत्वले सरकारबाट हट्न निर्देशन दिएको बुझिएको छ । सरकारबाट नहटे कारबाही हुनेसम्मको चेतावनी दिइएको छ । पार्टी अध्यक्षले सरकारबाट हट्नका लागि मौखिक निर्देशन दिएको नवनियुक्त आर्थिक मामिला मन्त्री चौधरीले बताए  मुख्यमन्त्री शाहले मन्त्रीमण्डल विस्तार गरे पनि प्रदेश सरकार अझै पनि अल्पमतमै रहेको छ । ५३ जना प्रदेश सभा सदस्य रहने सुदूरपश्चिममा बहुमत सरकार चलाउन २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । प्रदेश सभामा रहेका कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका सात गरेर सङ्ख्या २५ पुग्ने गरेको छ ।

नेपाल हङकङसित ७३ रनले पराजित

काठमाडौं । मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेटमा नेपाल हङकङसित ७३ रनले पराजित भएको छ । शनिबार हङकङमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर गुमाएर २१२ रन बनाएको थियो । जवाफमा भ्रमणकारी नेपालले १६.४ ओभरमा अलआउट हुनुअघि १३९ रन मात्र बनाउन सक्यो ।  हङकङको जितमा बाबर हायातले विस्फोटक ब्याटिङ गरे । उनले ४९ बलमा १३ छक्का र तीन चौकाको मद्दतमा ११० रन जोडे। राष्ट्रिय टोलीबाट यही खेलमार्फत ट्वान्टी–२० मा ‘डेब्यु’ गरेका नेपालका आकाश चन्दले तीन, आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक एक विकेट लिए । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृंखला खेल्न बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक ट्वान्टी–२० शृंखला सुरु हुँदै छ । नेपालले हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो । त्रिकोणात्मक शृंलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्नेछ । यस्तै, नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुनेछ ।

हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

काठमाडौं । मैत्रीपूर्ण टी–२० आई क्रिकेटमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ ।  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले सबै विकेट गुमाएर २१२ रन बनाएको हो ।  नेपालका आकाश चन्दले तीन, आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक/एक विकेट लिए । 

नेपाल र हङकङले खेल्दैछन् मैत्रीपूर्ण क्रिकेट

काठमाडौं । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।     नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदै छ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।   त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते  हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुनेछ ।  नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।  आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघले जनाएको छ । रासस

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । नेपालको मौसमा हाल पश्चिमी  न्यूनचापीय  प्रणालीको  आंशिक  प्रभाव  छ । सो प्रभाव रहँदा आज बिहान देशका  पहाडी  भू–भागमा  आंशिक  बदली  रहेको छ । बाँकी  भू–भागको  मौसम  मुख्यतया  सफा  छ  । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी,  वाग्मती तथा  गण्डकी  प्रदेशको  पहाडी  भू–भागमा आंशिक  बदली रहनेछ । बाँकी  भू–भागमा  मौसम  मुख्यतया  सफा  रहनेछ ।  कोसी र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको  पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा  मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।   

राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । शुक्रबार महाशिवरात्रिको अवसरमा राष्ट्रपति पौडेलले पशुपतिनाथमा पुगरे दर्शन गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल धर्मपत्नी तथा प्रथम महिला सविता पौडेलले परिवारसहित अपरान्ह पशुपतिनाथ मन्दिर पुगेका थिए । पशुपतिमा उनको परिवारले पशुपतिनाथको पूजाआराधना गर्नका साथै उनले प्रसाद ग्रहणसमेत गरेका थिए । 

शिवरात्री : माउन्टेन फ्लाइटबाट भारतीय पर्यटकलाई कैलाश–मानसरोवर दर्शन

काठमाडौं । नेपालगन्जबाट माउन्टेन फ्लाइटमार्फत भारतीय पर्यटकलाई महाशिवरात्रीको अवसरमा चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरको र्दशन गराइएको छ । उनीहरूलाई जहाजमार्फत हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको आकाशबाट दर्शन गराइएको हो । नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ‘ट्रिप टु टेम्पल्स’सँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय तिर्थयात्रीलाई कैलाश मानसरोवरको दर्शन गराएको हो । माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाललगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ । कोभिडअघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगन्ज रुटबाट मानसरोवर पुग्ने गरेका थिए । कोभिडपछि भारतीय पर्यटकलाई चीनले भिषा नदिँदा यो रुट सुनसान बनेको छ । जसको सिधा असर सो रुटको पर्यटन ब्यवसायमा परेको छ ।  

सिन्धुलीमा गाडी दुर्घटनाः १२ घाइते, २ गम्भीर

दुधौली। सिन्धुलीको दुधौली– १, हप्ते डाँडामा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका इन्स्पेक्टर केशवकुमार कटवालले प्र २–०४–००१ च ००५६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ फिट तल खसेको बताए । त्यसक्रममा बोलेरोमा सवारमध्ये १२ जना घाइते भएकोमा दुई जना गम्भीर रहेको उनले बताए । घाइते हुनेहरुमा महोत्तरीका पवन यादव, ललितादेवी यादव, रामकुमारी महतो, रामएकचाल सिंह, विवाकुमारी सिंह, चन्द्रकुमारी सिंह, निलम यादव छन् । उनीहरुको वर्दिवासमा रहेको जनसेवा अस्पतालमा उपचार भइरहेको छ । घाइते धिरज सिंह, सोभा सिंह, मञ्जु सिंह, अन्जु सिंह र राम अवतार महतोको भने आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको छ । घाइतेमध्ये धिरज सिंह र सोभा सिंहको अवस्था गम्भीर रहेको इन्स्पेक्टर कटुवालले बताए । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भारतीयले नेपालको फोन पेमार्फत क्यूआर भुक्तानी गर्न पाउने

काठमाडौं । नेपालमा आउने भारतीयहरुले क्यूआर कोड मार्फत भुक्तानी गर्न पाउने भएका छन्। भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरुले नेपालको फोन पेको क्यूआर मार्फत भुक्तानी गर्न पाउने भएका हुन्। भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले शुक्रबार युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपाल–भारत क्रसबोर्डर कारोबार सुरू भएको जानकारी गराएका छन्। भारतको मुम्बईमा गएको सेप्टेम्बरमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यूपीआईमार्फत क्रसबोर्डर भुक्तानीमा सहकार्य गर्न एनआईपीएल र फोन पेबीच सहमति भएको थियो । सोही सहमतिअन्तर्गत भारतीय पर्यटक तथा आगन्तुकले नेपालमा क्यूआर कोडमा आधारित पर्सन-टु-मर्चेन्ट (पीटूएम) भुक्तानी सञ्चालनमा ल्याइएको दुई कम्पनीले जनाएका छन्। यससँगै अब यूपीआई प्रयोगकर्ता भारतीयले नेपालका पसल, होटल, रेष्टुराँलगायत फोन पेमा आबद्ध व्यवसायीलाई क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने भएका छन्। तर, नेपालीका लागि भने यस्तो सुविधा भारतमा उपलब्ध छैन। यो परिघटना दुई मुलुकबीचको क्रसबोर्डर कारोबारमा क्रान्तिकारी रुपान्तरण भएको दुई कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ। नेपालको फोन पेसँगको सहकार्यमा क्रसबोर्डर भुक्तानी सुरू हुँदा त्यसले दुई मुलुकबीचको व्यापार तथा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले बताए। क्रसबोर्डर कारोबारका कारण दुई मुलुकबीचको आर्थिक सम्बन्ध, व्यापार तथा पर्यटनलाई उल्लेखनीय रुपमा बढाउने फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले जनाएका छन्।

यूएई जान लागेका ३ महिला विमानस्थलबाट फर्काइए, एजेन्ट पक्राउ

काठमाडौं । भिजिट भिसामा यू ए ई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको जानकारी दिए । उनले शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि फर्काइएको बताए । महिला पठाउने कार्यक्रम संलग्न रहेको अभियोगमा एजेण्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई नियन्त्रणमा लिइएको शर्माले जनाए । उनीहरु बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका थिए । शर्माका अनुसार पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ । प्रहरीले भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोह नै सक्रिय रहेको बताएको छ । सजिलै काम पाइने प्रलोभनमा विदेश लगेर अलपत्र पार्ने गरिएको भेटिएपछि जाँचमा कडाइ गरेको प्रहरीको भनाई छ । रुसी सेनामा जाने नेपालीलाई पनि एजेन्टले भिजिट भिसामा दूबई लगेर त्यहाँबाट मस्को पठाएको अनुसन्धानबाट देखिएको छ ।

काममा सम्झौता हुँदैन, गृहकार्यमा छौं : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।  लामिछानेले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता नहुने लेखेका छन् ।  उनले लेखेका छन्– ‘चेक लिस्टसहित आएका छौँ । कम्प्रोमाइज हुन्न । केही समय होम वर्कमा रहनेछौँ ।’ 

सेनाको योगदान गौरवपूर्ण छ  : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेनाले पु¥याएको योगदान गौरवपूर्ण रहेको बताएका छन् । उनले राष्ट्र र जनताको जीवन रक्षार्थ विभिन्न कालखण्डमा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गर्नुभएका सम्पूर्ण सैनिकप्रति भावपूर्ण श्रद्धाञ्जली  व्यक्त गरे। दुई सय ६१ औँ सेना स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री दाहाल प्रचण्डले नेपाली सेना संविधान र कानुन प्रदत्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै राष्ट्र र जनताको सुरक्षामा निरन्तर समर्पित रहँदै आएको बताए । सन्देशमा उनले भनेका छन्–आगामी दिनमा ऐतिहासिक परिवेश र परिदृश्यहरूको विश्लेषण तथा भविष्यका चुनौतीलाई सूक्ष्म निगरानीगर्दै देश र जनताको रक्षार्थ आफूलाई उभ्याउनेछ भन्ने विश्वास लिएको छु । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय शान्ति, विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, खेलकूद तथा विकास निर्माण, निर्वाचन सुरक्षालगायतका क्षेत्रमा नेपालीसेनाले आर्जन गरेको ख्याति, प्रदर्शन गरेको वीरता र अपनाएको व्यावसायिकता प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ ।