तनावका कारण दुर्घटना बढ्दै !

काठमाडौं, कात्तिक ११ । पहिला मदिरा सडकको अवस्थाका कारण बढी दुर्घटना हुने उपत्यकामा पछिल्लो समयमा दुर्घटनाको कारकमा परिवर्तन देखिएको छ ।

पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटनम बढी हुने गरेको छ । यो कुरामा न प्रहरीलाई हेक्का छ, न चालकलाई नै ।

मस्तसँग हाँकिरहेको सवारीसाधन बिनाकारण ठोक्किन पुग्छ । सडकमा उभिएका ट्राफिक प्रहरीले कारण केलाउँदा यिनैमध्ये कुनै देखिन्छ ।

‘बाटो, गाडी सबै ठिक हुन्छन्, त्यस्तो बेला सडक छेउको बिजुलीको खम्बामा ठोक्किएका हुन्छन्,’ ललितपुर ट्राफिक परिसरका प्रहरी निरीक्षक सीताराम हाछेथुले भने ।

‘देखिने खास कारण विनै दुर्घटना भएका हुन्छन्, सोध्दा एक्कासी अँध्यारो देखेँ भन्छन्,’ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले भने ।

‘यसबारे मनस्थितिको अध्ययन भएको छैन, तर मानसिक तनाव या उच्च रक्तचापको कारणले दुर्घटना भएको देखिन्छ,’ उनले भने । -नागरिक दैनिकबाट

सरकारले स्थानीय तहमा पठाएका १५ सय मध्ये पाँच सय कर्मचारीको सरुवा फिर्ता

काठमाडौं,कात्तिक १० । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा पठाएका १५ सयमध्ये झन्डै पाँच सय कर्मचारीको सरुवा फिर्ता गरिएको छ । फिर्ता गरिएकामध्ये करिब २ सय ५० जना सोर्सफोर्स लगाउनेहरु छन् भने बाँकी बिरामी, अपांग तथा समस्यामा परेका कर्मचारी रहेको मन्त्रालयले जनाएको छ । मन्त्री, सांसद्, विभिनन दलका नेता, टे«ड युनियनका नेतालगायत भीआईपीहरुको उच्च दबाबमा सरुवा भईसकेका कर्मचारीको सरुवा फिर्ता गरिएको हो ।

उदाउँदो सूर्यलाई अर्घ दिंदै छठ पर्व समापन

काठमाडौं, कात्तिक १० । उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्वको समापन गरिएको छ । मिथिलाञ्चलको महान् पर्व छठ आज विहान उदाउँदो सूर्यलार्य अघ्र्य दिएर समापन गरिएको हो । छठको मूख्य दिन हिजो काठमाडौंसहित तराईका विभिन्न जिल्लामा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै षष्ठी माताको पूजा गरी धुमधामका साथ मनाइयो । त्यसपछि पनि भक्तजनहरु रातभर जाग्राम बसी पूजा आराधना गर्दै आज विहान उदाउँदो सूर्यलार्य अघ्र्य दिएर आ–आफ्ना घर फर्किएका हुन् । छठको तेस्रो तथा मूख्य दिन अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिन श्रद्धालु भक्तजनहरु नदी, तलाउ, पोखरीमा भेला भएका थिए । तराईसहित देशका विभिन्न जिल्लामा झकिझकाउसँग सिंगारिएका नदी तथा तलाउ किनारामा जम्मा भएका भक्तजनले श्रद्धापूर्वक सूर्य र षष्ठी माताको उपासना गर्दै पूजा गरे । जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा छठ मनाउन ब्रतालुको घुईंचो लागेको थियो । वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझमका साथ यो पर्व मनाइयो । नवलपरासीमा पनि उसैगरी धुमधामसँग मनाईयो । परासीसंँगै उनवच, त्रिवेणी, नवलपुर क्षेत्रलगायतका नदी र तालहरुमा पनि पूजाआजा गरिएको छ । सप्तरीको कोशी ब्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, बीरेन्द्रबजार, सीतापुर, महुली, रुपनी, बर्साइन, पातो, कल्याणपुर, कडरबोना, मानराजा, सखडा, सदरमुकाम राजविराजसहितका स्थानहरुमा पनि उत्तिकै उल्लासले यो पर्व मनाईदै छ । कोशी ब्यारेजमा भारतको पूर्णिया, फारबीसगञ्ज, राजपुरसहित स्थानबाट छठ मनाउन ब्रतालु ओइरिएका छन् । विराटनगरमा पनि विभिन्न नदी, तलाउ, पोखरीमा भेला भएर यो पूर्व मनाइयो । झापाको मेची नदी किनारमा नेपाल भारत दुबै देशका श्रद्धालु भेला भएर पूजा आराधना गरेका थिए । यता, सिन्धुली जिल्लाका केही स्थानमा छठ मधेशी र पहाडिया समुदाय एकापसमा मिलेर मनाएका छन् ।

घुस लिदैं गरेको अवस्थामा फेला परेका तीन ट्राफिक प्रहरी निलम्बित

काठमाडौं, कात्तिक १० । चालकहरुसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधबार निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा चुणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बास्तोला छन् । तीनैजना रंगेहात घुससहित पक्राउ परेका हुन् । थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनालले महाशाखामा सादा पोशाकमा छड्के पठाएका थिए । त्यस क्रममा चालकसँग लिएको घुस रकमसहित उनीहरु पक्राउ परेका थिए । महाशाखाले निलम्बन गरी उनीहरुमाथि कारवाही अघि बढाएको छ । यो घटनापछि नागढुंगा र थानकोट प्रभागमा कार्यरत सबै ट्राफिक प्रहरीलाई महाशाखाले तानेको छ । इन्चार्जसहित नागढुंगामा कार्यरत १६ र थानकोटमा कार्यरत १५ जनालाई महाशाखामा सरुवा गरिएको हो । –नयाँ पत्रिका दैनिकबाट

मनसुन रोकिंदासमेत भरिएन कुलेखानी

काठमाडौं, कात्तिक १० । मुलुककै विद्युतको ‘ब्याकअप’ का रुपमा रहेको कुलेखानी जलाशय यस वर्ष भरिएको छैन । यस वर्षको मनसुन बन्द भए पनि कुलेखानी जलाशय भने भरिएन । गत वर्ष पनि यस्तै स्थिति थियो । कुलेखानी जलाशयमा १ हजार ५ सय २२.१६ सेन्टिमिटरमात्र पानीको सहत रहेको छ । विद्युत आपूर्तिको ‘पिकआवर’ मा प्राधिकरणले कुलेखानी सञ्चालन गर्दै आएको छ । मकवानपुरको तल्लो भागमा वर्षायाममा व्यापक रुपमा वर्षा भएर बस्ती डुबान र पहिराले घरहरु नै बगायो तर कुलेखानीको जलाधार क्षेत्रमा खासै पानी नपरेकाले पनि जलाशय नभरिएको हो । –कान्तिपुर दैनिकबाट

फेसबुकमा सेयर र लाइकमा शुल्क लाग्ने

काठमाडौं, कात्तिक १० । फेसबुकले लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ। उक्त नियम अनुसार थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ। फेसबुकले अहिले परीक्षण गरिरहेको यो नियम कार्यान्वयनमा आएपछि फेसबुकमा कुनै पनि समाचारले पाउने लाइक तथा सेयरका मात्राअनुसार फेसबुक कम्पनीलाई शुल्क तिर्नुपर्ने हुन्छ। फेसबुकको उक्त नियमले साना मिडियाहरू प्रत्यक्ष प्रभावित हुनेछन् । बजार विस्तार यथेष्ट मात्रामा हुन नसकेका मिडियाहरू यस नियमले बन्द नै हुने अवस्थामा पुग्न सक्ने सामाजिक सञ्जाल विश्लेषकहरुको भनाइ छ। फेसबुकको यो नियम अहिले स्लोभाकिया, सर्विया, श्रीलङ्कालगायतका मुलुकमा परीक्षण भइरहेको छ। फेसबुक कम्पनीका अनुसार मानिसहरूले अरूको पोष्टलाई लाइक तथा सेयर परिपाटीका वृद्धि भएका कारण यस्तो नियम ल्याउन लागिएको हो। यस्तो नियम परीक्षणका लागि ल्याउन लागिएको समेत कम्पनीले बताएको छ। सामाजिक सञ्जाल फेसबुकबाट हुने बौद्धिक चोरीलाई नियन्त्रण गर्नका लागि फेसबुक कम्पनीले यस्तो नियम ल्याउन लागेको दाबी गरेको छ। लाइक तथा सेयरको मात्राका आधारमा शुल्क तिर्न नसक्ने प्रकाशक कम्पनीहरू यस नियमले अप्ठ्यारोमा पर्नेछन्। बजफिडजस्ता फेसबुकबाट अडियन्स आउने समाचार पोट्रलहरु यो नियमका कारण धरासायी हुने दाबी गरिएको छ।एजेन्सी

बृहत् वाम ध्रुवीकरण अभियानमा समाहित हुन आग्रह

काठमाडौं, कात्तिक ९ । नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय परिषद्का वरिष्ठ सदस्यद्वय डा भरत लामिछाने र ठाकुरप्रसाद चापागाईँलगायतले बृहत् वाम ध्रुवीकरण अभियानमा समाहित हुने निर्णय गरेका छन । नयाँ शक्तिमा रहेका सबै नेता तथा कार्यकताई बृहत् वाम एकतामा सहभागी हुन आग्रह गर्दै उनीहरुले नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए । डा लामिछाने र चापागार्इंले ‘सनकको भरमा राजनीति नचल्ने’ भएकाले लोकतान्त्रिक गठबन्धन परित्याग गरी वाम ध्रुवीकरण अभियानमा सामेल हुन डा बाबुराम भट्टराईलगायतलाई समेत आग्रह गरे । बृहत् वाम एकता अभियानबाट बाहिरिएर डा भट्टराईले इतिहासको आवश्यकतालाई सम्मान गर्न नसकेको समेत उनीहरुले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

भोली पनि छठको सार्वजनिक विदा

सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सरकारले थप एक दिन भोली सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हो । छठ पर्वको अवसरमा सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । यसअघि छठ पर्वमा सरकारले एक दिन मात्रै बिदा दिंदै आएको थियो ।

छठ पर्वका लागि भोलि पनि सार्वजनक विदा

काठमाडौं, कात्तिक ९ । सरकारले छठ पर्वका अवसरमा भोलि (शुक्रबार) पनि सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले थप एक दिन भोलि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हो । छठ पर्वको अवसरमा सरकारले आज पनि सार्वजनिक बिदा दिएको थियो । यसअघि छठ पर्वमा सरकारले एक दिन मात्रै बिदा दिने प्रचलन थियो ।

आजदेखि मुस्लिम धार्मिक प्रवचन कार्यक्रम सुरु

बाँके, असोज ९ । विश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजना नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको मुस्लिम धार्मिक प्रवचन कार्यक्रम आज बिहीबारदेखि सञ्चालन हुने भएको छ । विश्वमा बढ्दै गइरहेको बेरोजगारी अमानवीयता र अशान्ति विरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन, शान्ति कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी, केन्द्रीय सदस्य अब्दुल हबीब अत्तारीले कार्यक्रमलाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय धार्मिक कार्यक्रमका संयोजक सैयद रिहान अत्तारीले बताए । भारत, बंगलादेश, पाकिस्तानका साथै ८ वटा देशका मुस्लिमहरुको धार्मिक प्रवचन कार्यक्रममा सहभागिता रहने दाउते इस्लामी नेपालका अध्यक्ष रमजान मियाले बताए । मियाअनुसार ४ दिनसम्म चल्ने धार्मिक प्रवचनका लागि सम्पूर्ण तयारी पूरा भएको बताउँदै बाहिरी देशबाट आउने धार्मिक गुरुहरुका लागि स्थानीय प्रशासनले सुरक्षा प्रदान गरेको बताए । हजारौको संख्यामा भारतबाट दाउते इस्लामीका सदस्यहरु भारतीय प्रहरीको कडा चेकजाँच पश्चात मंगलबार नेपालगञ्ज आइपुगेको छन् । आज बिहिबार १ बजेदेखि धार्मिक प्रवचन सुरु हुँदै छ । उक्त धार्मिक प्रचवन इस्लामिक धार्मिक मदनी च्यानल पाकिस्तानबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

नेपाली खानालाई विश्वव्यापीकरण गर्ने तयारी

काठमाडौं, कात्तिक ९ । विश्वको ८० भन्दा बढी मुलुकमा फैलिएका नेपाली र तिनले सञ्चालन गर्ने नेपाली रेस्टुराँमार्फत रैथाने नेपाली खानालाई विश्वव्यापीकरण गरिने भएको छ । होटल संघ नेपाल (हान) लगायतका संस्थाहरुको पहलमा यो अभियान थालिने भएको हो । हानका अनुसार, हिमाल, पहाड, उपत्यका तथा तराईका मौलिक खानाको विस्तृत अभिलेख ३ महिनाभित्र तयार गर्न एउटा कार्यदल बनाइएको छ । कार्यदलले संकलन गरेको अभिलेखमध्येबाट २० मौलिक नेपाली खानालाई आवश्यकताअनुसार परिष्कृत गरेर विस्तृत विवरण तयार पारिने भएको छ । आवश्यक सामाग्री, पकाउने विधिसमेत राखेर पुस्तक बनाई ग्लोवल वेबसाइट, एपलगायतका सामाजिक सूचना सञ्जालमार्फत सार्वजनिक गरिनेछ । छनोट गरिएका २० मौलिक नेपाली खानालाई नेपाल पर्यटन बोर्ड, नेपाली नियोगहरु लगायतका सरोकारवाला संघसंस्थाको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा प्रचार र प्रवर्द्धन गरिने पनि हानले जनाएको छ । –कान्तिपुर दैनिकबाट

छठ पर्व, तराई-मधेसमा हर्षोल्लास (फोटोफिचर)

वीरगन्ज, कात्तिक ९ । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ पर्व बिहीबार सूर्य भगवान र छठी माताको पूजा आरधना गरी मनाइदै छ। कात्तिक शुक्ल पक्षको चौठी तिथीदेखि विधिीवत रुपमा सुरु हुने छठ पूजा सप्तमी तिथिसम्म चार दिन मनाइन्छ। मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छठ पूजाको दोश्रो दिन पन्चमी अर्थात् बुधबारका दिनदेखि ब्रतालुले निर्जला ब्रत सुरु गरेका छन्। छठको दोश्रो दिन पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ। खरना परेको बुधबार ब्रतालु गाईको गोबरले लिपपोत गरी चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बसेका थिए। बुधबार साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुँको रोटी प्रसादका रुपमा पकाएका थिए। उक्त प्रसाद अर्थात् रसीआव रोटी चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुहरुले प्रसाद ग्रहण गरेर बुधबार साँझदेखि निर्जला ब्रत सुरु गरेका हुन्।  खरनाको भोलि पल्ट अर्थात् बिहिबार परेको षष्ठी तिथिको दिन छठ पर्वको मुख्य दिन हो। यस दिनलाई सँझिया घाटे भनिन्छ। ब्रतालु बिहीबार दिउँसो नुहाइ धुवाइ गरी चोखो वस्त्र पहिरेर छठ पूजाका लागि नदी, पोखरी, ताल इत्यादि जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन्। छठीघाटमा चोखो माटोले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर ब्रतालुले छठी माता र सुर्य भगवानसँग जोडिएका पारम्परिक गीत गाउँछन्। त्यसपछि बिहीबार साँझ पख अस्ताउदै गरेका सूर्य भगवान र छठी मातालाई ब्रतालुले जलशायमा पसी बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अक्षता, पातसहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ (पूजा ) दिन्छन्। सूर्य अस्तपछि ब्रतालुहरु छठी माताको पारम्परिक गीत गाँउदै आ-आफनो घर फर्किन्छन्। षष्ठीको भोलि पल्ट सप्तमी तिथिका दिन अर्थात् शुक्रबार बिहान झिमिसेमै ब्रतालु फेरि नुहाई धुवाइ गरी चोखो भइ पुजन सामाग्री र प्रसाद लिएर सूर्य नउदाउदै छठ घाटमा पुग्छन्। सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरुले श्रीमान्, छोरा-छोरी र परिवारका सदस्यहरुको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको लागि छठी मातासंग अनुनय विनय गर्छन्। सप्तमी तिथिका दिन बिहान सूर्य उदाउनु भन्दा पहिले नै ब्रतालुहरु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद , फलफुल लिएर छठघाटको जलशायमा पस्छन् र सुर्य उदाउने क्रममा उनीहरुले सूर्य र छठीमातालाइ अर्घ दिन्छन्। सूर्यलाइ अर्घ दिएपछि छठघाटमै ब्रतालु महिलाले एक अर्काको नाकको टुप्पादेखि सिउँदो सम्ममा सिन्दुर लगाई दिन्छन्। त्यसपछि उनीहरु आ आफनो घर फर्किन्छन्। उदाउदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ। तेश्रो दिन ‘सँझिया घाट’ अर्थात् साँझमा व्रतालूहरु खोला, नदी, तलाउ अथवा जलासयमा आधा पानीमा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिनेगर्दछन् । अनि चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनु अघि नै छठ घाटमा पुगीसकि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ । तिहारमा बाँकी भएका पटका, फूलझरि अनि झिरझिरेहरुले छठघाट उज्यालो हुन्छ भने छठी माताको भजन किर्तन अनि संगीतले उक्त ठाँउको रौनक अद्वितिय हुन्छ । यसरी छठपूजाको क्रममाा बज्ने अथवा सामूहिक रूपमा गाइने पारम्परीक गीतसङ्गीतमा भोजपूरी भाषाको महत्वपूर्ण स्थान र योगदान रहेको पाइन्छ ।  बिसं २०७४ साल कार्तिक ९ गते दशै अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ।वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानीक रहेका हुन्छन् । छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्म देखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्यसंगको मानवको सहअस्तित्व छठसंग सांस्कृतिक पृष्ठभूमि जोडिएको छ । विहान उठ्ने बित्तिकै उदाउने सूर्य, झ्यालका कुनाकाप्चावाट छिर्ने तिनका प्रकाश, वोटविरुवालाई हुर्काउने सूर्य, बादल श्रृजनागर्ने सूर्य, न्यानो दिने सूर्य लगायत यस पृथ्वीमा सूर्यको भूमिका, मानव अनि सूर्यबिचको अन्योन्याश्रित सम्बन्धलाई हजार जिब्रोभएका शेष नागले पनि ब्याख्या गर्न शायद् सक्दैनन् होला । तिहारको समापनसंगै छठपर्वको हर्षेल्लाषमय वातावरणले सकल नेपालीभूमी पुलकित भएको छ । षष्ठी तिथिका दिन मनाईने भएकोले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ  । तराईक्षेत्र केन्द्रित मनाईने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलीत हुँदैआएको छ । सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तिबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलार्इ दूधको अर्घ्य दिएर यो चाड मनाईन्छ । छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनकालागि छिमेकीहरुले दिएका प्रसादहरु जस्तै केराका घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन छ । यसरी ल्याईएका फलफूलहरुलाई छठको अन्तिम दिन विहानै अर्घ्यस्वरुव उदाँउदो सूर्यलाई देखाएपछि प्रसादस्वरुप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पुर्ण होस भनेर भाकल राखेका हुन्छन र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चलि आएको छ । छठ विशुद्धरुपमा एउटा धार्मीक आस्थाको पर्व हो र यसमा जनावर काटमार गर्ने या जीव बली भाकल गर्ने चलन छैन । चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन अरबा अथवा ७३घढसनहार्इ खाय७३घढस, दोश्रो दिनलाई “खर्ना” भनिन्छ, तेश्रो दिनलाई “सँझिया अर्घ्य” छठ भनिन्छ किनभने कार्तिक शुक्ल चतुर्थीबाट शुरुभएको यो पर्वको तेश्रो दिन छठ अर्थात षष्ठी हो अनि अन्तिम दिनलाई “विहनीया अर्घ्य” पारण भनिन्छ । अरबाको दिन गाँउका युवाहरु मिलेर छठ मनाईने नदि या ताल या पोखरीको किनार तथा सडक सफागर्ने, घाँसहरु खुर्किने र पानीलाई सफगर्ने चलन छ । तराईतिर यसरी पोखरी सफा गर्दा तिहारमा द्वारकारुपमा गाडिएको केराका थम्वाहरु जम्मा गरेर तिनलाई बाँसले उनेर एकप्रकारको पानीमा नडुब्ने नाँउ बनाईन्छ, केराको थम्वापानीमा नडुब्ने भएकाले यस नाँउमा चढेर, लठ्ठिले खियाँउदै पोखरीको पानी सफा गर्ने गरिन्छ । तेश्रो दिन “सँझिया घाट”अर्थात् साँझमा व्रतालूहरु खोला, नदी, तलाउ अथवा जलासयमा आधा पानीमा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिनेगर्दछन् । अनि चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनु अघि नै छठ घाटमा पुगीसकि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ । तिहारमा बाँकी भएका पटका, फूलझरि अनि झिरझिरेहरुले छठघाट उज्यालो हुन्छ भने छठी माताको भजन किर्तन अनि संगीतले उक्त ठाँउको रौनक अद्वितिय हुन्छ । यसरी छठपूजाको क्रममाा बज्ने अथवा सामूहिक रूपमा गाइने पारम्परीक गीतसङ्गीतमा भोजपूरी भाषाको महत्वपूर्ण स्थान र योगदान रहेको पाइन्छ । छठ मन्त्र ः एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् । महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।। एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च । किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।। आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं । पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।। छठको व्रत लिनेहरुले नुहाएर शुद्ध भएर बसि एक छाकमात्रै खानु पर्दछ । गाईको गोबर र माटोले लिपेर घरको एक स्थानमा खिर पुरी पकाइन्छ । त्यसैगरी अरुवा चामलमा पानी र गंगाजल छर्केर घरको एउटा ठाउँलाई शुद्ध पारिन्छ । व्रतालुले केराको पात माथि खिरपुरी फलफुल राखेर कोठालाई बन्द गरी पूजा गर्दछन्, पूजा सकिएपछि प्रसाद बाँड्दछन् । छठको तेस्रो दिन घरको आँगन लिपपोत गरिन्छ भने घिउ, सख्खर, चिनी, नरिवल, ल्वाङ, सुकमेल, छोहडा, सोंप लगायत मसलाजन्य वस्तुहरु मिसाएर तयार पारिएको छठ विशेष परिकार ठेकुवा, चामलको पिठोको भुसुवा र फलफूल लगायतका सामग्रीहरु आँगनमा सजाइन्छ । छठको पूजागर्दा उँखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठकुवा, फलफुल, वतासाजन्य मिठाई जस्ता सामाग्रीहरु आवश्यक पर्दछ । ति खाद्यवस्तुहरुलाई साँझपख बाँसको चोयाले बुनेको छैंटीमा सजाएर खोला, नदी र तलाउका किनारमा लगिन्छ । यसरी विविध सामाग्रीयूक्त प्रसादले सजिएको छैंटीलार्इ श्रद्धापूर्वक जो कोहीले पनि आफ्नो टाउकोमा बोकेर घाटसम्म लैजाने चलन रहेको छ । विधिपूर्वक सजाइएको जलाशय किनारमा लगिएका सामग्रीहरु फिजाएर राखिन्छ र पानीमा पसेर एक एक सामाग्रिलार्इ बाँसको चोयाले बनेको अर्को पारम्परीक सामाग्री सुपलीमा राखेर डुबुल्की मार्दै व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट विहान पनि सोहि अनुरूप जलाशयमा डुबुल्की मारेर उदाउँदो सुर्यलाई अर्घ्य चढाइन्छ । छठको ब्रत बस्नेले एक महिना अघिदेखि नै लसुन प्याजका साथै मांसाहारी आनीबानी बन्द गर्नुपर्दछ । जनकपुरको गंगासागर, धनुसागर, बिरगंजको बिन्दबासीनी, काठमाडौको रानीपोखरी, कुपण्डोल बाग्मती, बोक्सीदह लगायत तराई अनि मध्यपहाडी भेकका अधिकांश् जलाशयहरु छठ का उपलक्ष्यमा बिशेष सजाइएका छन् । छठ संगै चाडपर्वका लावालस्करहरु केही महिना मत्थर हुन्छन् , अब धानवाली काट्ने, दाउनी गर्ने अनि अन्न भित्राउने भ्याइनभ्याई हुन्छ । नयाँ धानका चिउराहरु कुटाउने चलन पनि छठमा रहेको छ, यसरी नयाँ अन्न लाई पनि छठको प्रसादी रुपमा चढाउने चलन हुन्छ । महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठको व्रतको प्रभावस्वरुप भएको जनउक्ति छ भने द्रोपतीले पनि छठको व्रत लिएको कुरा पनि उल्लेखीत छ । प्रकृती र सभ्यताको अनुपम उदाहरण छठ पर्वको हामीसबैलाई शुभकामना । हामी सम्पूर्ण मानवहरु सूर्यको जाज्वल्यमान उपस्थिती र सूर्यदेवको हामीप्रतिको कृपाकालागी सदासर्वदा अनुग्रहित छौ । छठी माईका बिभिन्न भजन अनि किर्तनहरु बजाएर जलाशय वरपर गाडिएका केराका थम्बा अनि झिलमीलहरु ले उदाँउदो र अस्ताँउदो सूर्य लाई अर्घ दिँदा प्रकृती र मानव बिचको गहिरो अन्र्तसम्बन्ध लाई सनातन सस्कारले शदियौं देखि पूर्नपरिभाषीत गरिरहेको भान हुन्छ । यसबर्ष पनि अन्य बर्षहरु झैं पानी अनि सूर्य दुबै ले हामीमाथि कल्याण बक्सिउन्, यिनै पानीवाट उडेर जाने बाफहरु र बादलहरु ले धर्तीका अवयवहरु भिजाइरहुन्, हरियाली भइरहोस् । जलचर थलचर सबैको कल्याण होस् । प्राणीमा प्राण होस् अनि धर्मको जय होस् । छठी माताले सबैको जय गरून् । -हाम्राे पात्राेबाट

विनाप्रतिश्पर्धा तामाकोसी तेस्रोको लाइसेन्स टीबीआई कम्पनीलाई

काठमाडौं, कात्तिक ९ । राजनीतिक दलका ध्यान आमनिर्वाचनमा केन्द्रित भएका बेला ऊर्जा मन्त्रालयले सम्पूर्ण अध्ययन भइसकेको ६५० मेगावाटको तामाकोसी तेस्रो (अर्ध जलाशययुक्त) आयोजना बिनाप्रतिस्पर्धा रातारात एउटा कम्पनीलाई सुटुक्क दिएको छ । लगानी बोर्डले प्रतिस्पर्धामार्फत आयोजना विकास गराउने तयारी गरिरहेको अवस्थाबीच ऊर्जा मन्त्रालयले टीबीआई होल्डिङ कम्पनीलाई ऊर्जामन्त्री महेन्द्रबहादुर शाही बिनाविभागीय मन्त्रीमा रूपान्तरण भएपछि सर्वेक्षण अनुमति पत्र (लाइसेन्स) दिएको हो । नर्वेको एसएन पावरले वातावरणीय प्रभाव मूल्यांकनसमेत तयार गरी अध्ययन पूरा गरेको तामाकोसी तेस्रोबाट ०७२ पुस २८ गते हात झिकेपछि यो आयोजना लगानी बोर्ड मातहतमा आएको थियो । लगानी बोर्ड ऐनले ५ सय मेगावाट भन्दामाथिका जलविद्युत् आयोजनाको बन्दोबस्ती बोर्डले गर्ने प्रावधान छ । लगानी बोर्डले प्रतिस्पर्धामार्फत यो आयोजना निर्माण गर्न आवश्यक प्रक्रिया र कागजात तयारी गरिरहेको र ‘मोडालिटी सम्बन्धी ऊर्जा मन्त्रालयको राय परामर्शका लागि पत्राचार गरेको बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले बताए । उनले बोर्डको पत्रको कुनै औपचारिक चासो नदिएको मन्त्रालयले बुधबार एकाएक टीबीआई होल्डिङलाई लाइसेन्स दिइएको बोधार्थ आफूकहाँ प्राप्त भएको बताए । उनका अनुसार गत माघमा बोर्डले काठमाडौंमा आयोजना गरेको लगानी सम्मेलनपछि तामाकोसी तेस्रोमा लगानी गर्न विभिन्न अन्तर्राष्ट्रिय ख्यातिप्राप्त १० वटा कम्पनीले प्रस्ताव गरेका थिए । बुधबार मात्रै जापानकै कान्साई भन्ने कम्पनीले समेत यो आयोजनामा चासो देखाएको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

पेट्रोल पम्पमा छापा

बारा, कात्तिक ८ । जिल्ला प्रशासनको कार्यालय बाराको टोलीले आज जितपुरस्थित बिन्दा स्टोर्समा छापामारेको छ । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुरमा रहेको पेट्रोलपम्पमा प्रशासनको टोलीले छापामारी तेलको नमुनाहरु सङकलन गरेको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले जिल्ला प्रशासन कार्यालयमा मिसावटयुक्त तेलहरु बिक्री भइरहेको उजुरीको आधारमा छापा मारिएको बताए ।

जुवाखालबाट १२ जना पक्राउ

भक्तपुर, कात्तिक ८ । अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोल खड्का गाउँस्थित विशाल खड्काले सञ्चालन गरेको किराना पसलभित्र अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ३४ वर्षीय विशााल खड्का, ४० वर्षीय वासुदेव खड्का, ४९ वर्षीय रघुनाथ खड्का, ४० वर्षीय हरि खड्का र ३० वर्षीय ज्ञानेन्द्र खड्का रहेका छन् । त्यसैगरी काभ्रे बनेपा नपा–१ का ४८ वर्षीय किरण थापा, ३७ वर्षीय सुन्दर जिसी, ३२ वर्षीय राजन थापा, २७ वर्षीय गोकर्ण कार्की, ४८ वर्षीय सहदेव थापा, ४० वर्षीय राधाकृष्ण महत र ५० वर्षीय अंकुर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट गएको प्रहरी टोलीले जुवातास खालबाट रु.एक लाख बीस हजार चार सय नगद समेत बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए ।रासस

सर्पको बिगबिगी बढेपछि स्थानीय त्रसित

कञ्चनपुर, कात्तिक ८ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा चार दिनदेखि विषालु सर्पको बिगबिगी बढेको छ । लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको गाउँपालिकाका सव इञ्जिनियर तेजबहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार कात्तिक २ गते लक्ष्मी पूजाको दिन गाउँपालिका–२ गौरीटोल निवासी २५ वर्षीया शारदा थापाको सर्पको टोकाइले ज्यान गएको छ । यसैगरी, वडा नं २ कै २३ वर्षीय सेतु बुढा सर्पको टोकाइले अस्पताल भर्ना भएका छन् । उनको भारतको खटिमामा उपचार भइरहेको छ । सर्पको बिगबिगी बढेपछि पूरै गाउँ भयभित हुँदै आएको छ । अझै निरन्तर ठाउँठाउँमा विषालु सर्प देखिने क्रम जारी रहेको छ । बेल्डाँडीमा रहेको स्वास्थ्य चौकीमा सर्पदंशको औषधि एन्टीस्नेक भेनम नहुँदा उपचारका लागि सदरमुकाम महेन्द्रनगर वा धनगढी लैजानुपर्ने बाध्यताले गर्दा पनि सर्पदंश बिरामीले अकालमै ज्यान गुमाउनुपरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । गाउँलेले यथाशीघ्र सर्पदंश उपचारका लागि एन्टीस्नेक भेनम औषधिको व्यवस्था गरी दिन माग गरेका छन् ।