गुडिरहेको ट्रक र कर्णाली चिसापानीपुलमा भीषण आगलागी

काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भीषण आगलागी भएको छ। पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीबाट पुलको लठ्ठामा आगो सल्केको हो।

सोमबार साढे ४ बजेतिर लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको प्रहरीले बताएको छ।

ट्रकमा दन्केको आगोबाट कर्णाली पुलको लठ्ठामा पनि आगलागी भएको थियो।

प्रधानमन्त्रीले लिखित सहमति गर्नुपर्ने एकीकृत समाजवादीको माग

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेको छ ।  सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले आफ्ना मागहरुमा लिखित सहमति जनाउन प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताए । उनले राष्ट्रिय सभा अध्यक्ष तथा प्रधानमन्त्रीलाई विश्वासको मत दिनका लागि प्रधानमन्त्रीलाई लिखित सहमति जनाउन आग्रह गर्ने निर्णय गरिएको बताए ।  चौधरीले भने, ‘हामीले भनेको केही कुरामा उहाँले लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ। र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ।’

सांसदहरूलाई कांग्रेसले लेख्यो पत्र, पत्रमा के छ ?

काठमाडौं ।नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सबै सांसदहरूका नाममा पत्र पठाएका छन् । आज सोमबार प्रमुख सचेतक रमेश लेखकले सबै सांसदहरूका नाममा पत्र लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको विपक्षमा मतदानका लागि ह्वीप जारी गरेका छन् ।  पत्रमा फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेसले आफ्ना सांसदहरूलाई आग्रह गरेको छ। प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन्। ‘प्रधानमन्त्री दाहाल प्रचण्डले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिएको छ,’ लेखकले ह्वीपमा भनेका छन्।  गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन त्याग्दै २०७९ पुस १० गते बनेको एमालेसहितको नयाँ गठबन्धन बनाएका थिए ।

सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

बागलुङ । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध भएको कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आज (सोमबार) देखि सडक सञ्चालन भएको हो । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा भीषण पहिरो खसेको थियो । सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीका सवारी सञ्चालनमा आएका छन् । पहिरोले बागलुङ–गुल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध थियो । यसअघि फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ५४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । शनिबारदेखि उक्त खण्डमा मालबाहक ट्रक अलपत्र परेका थिए । दुईतर्फी स्काभेटर प्रयोग गरेर चट्टान फोडेपछि सडक सञ्चालनमा आएको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनीयर छकबहादुर गुरुङले बताए ।

अर्थमन्त्री पुन र विश्व बैंकका नेपाल निर्देशक जर्भोसबीच भेटवार्ता

काठमाडौं। अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक नेपालको निर्देशक फारिस हदाद जर्भोसबीच भेटवार्ता भएको छ।  सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।  मन्त्री पुनसँग आइतवार नेपालका लागि बेलायती राजदूत रोब फेन र अमेरिकी राजदूत डिन आर.थम्पसनले पनि मन्त्रालय पुगेर भेटवार्ता गरेका थिए।

भागेका थुनुवालाई समाउन खोज्दा जवानको मृत्यु

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ। ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए। चौधरी कैलालीका वासिन्दा हुन्। जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते महाकाली नगरपालिका वडा नम्बर १ का उमेशसिंह कुँवर पक्राउ परेका थिए। उनीमाथि मुद्दा शाखामा सोधपुछ चलिरहेको थियो। त्यही बेला कुँवर हतकडीसहित प्रहरी कार्यालयबाट भागेका थिए।  भागेका थुनुवा कुँवरलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट हामफालेका थिए। त्यसक्रममा उनी भिरमा पुगेका थिए भने टाउकोमा चोट लागेको थियो।  लडेको केहीबेरमा जवान चौधरीको मृत्यु भएको थियो। शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ। भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको छ।

एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन

बुटवल । रुपन्देहीको तिलोत्तमामा निर्माण शुरु भएको अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन भएको छ । तिलोत्तमा नगरपालिका–१७ पूर्व दरखसवामा गत जेठ २९ गते शिल्यान्यास भएको रंगशालाको पहिलो चरणको काम अन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गरेका हुन् । गुल्मीबाट तिलोत्तमामा बसाई सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइसकेका कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आइटी) सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट सञ्चालन गरेका थिए । उनी आफैँ पनि आइटी इन्जिनियर हुन् ।  कन्सल्टेन्सी व्यवसाय समेत गरिरहेका विनोद कुँवर दम्पत्तिले रुपन्देहीको ४० करोड लगानी गर्ने गरी अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन शुरु गरिएको थियोे । रंगशालाका अन्य पुर्वाधारहरु पांच वर्षभित्र पूरा गर्ने लक्ष्य छ । लगानीकर्ता विनोद कुँवरका अनुसार मैदान निर्माण गर्दा मात्र जग्गाबाहेक ७ करोड खर्च भएको छ । १८ करोडको लगातमा प्याराफिटको काम लगत्तै सुरू हुने उनले बताए ।  ‘रंगशालाका सबै पुर्वाधार ५ वर्षमा पूरा हुनेछ ,हामीले यसलाई चरण–चरणमा बनाउँदै लग्नेछौं र पहिलो वर्षमा ५ हजार दर्शक अट्ने प्याराफिट बन्नेछ’ उनले भने, ‘क्रमशः बढाउँदै ५ वर्षमा २५ हजार क्षमतासहितको रंगशाला पूरा गर्ने योजना छ ।’ क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ब्रान्ड एम्बेसडरको जिम्मा नेपालका चर्चित पूर्वक्रिकेटर शक्ति गौचनले पाएका छन् । क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने छ । उद्घाटनका अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न,खेलाडी उत्पादन गर्न सहज हुने बताए । पुर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आर्थिक राजधानीको रुपमा विकास भएको रुपन्देहीमा निजी क्षेत्रबाट निर्माण भएको रंगशालाले रुपन्देहीमा लगानीमैत्री वातावरण छ भन्ने पुष्टी गरेको र यसले खेल पर्यटनको माध्यमबाट जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने धारणा राखे । सो अवसरमा पुर्व मन्त्री एवं सांसद छविलाल विश्वकर्मा, पुर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट,कांग्रेस नेता एवं संघीय सांसद चन्द्र भण्डारी, सांसद बासुदेव घिमिरे, तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांण, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह लगायतले रंगशाला निर्माणले क्रिकेटको उर्बरभूमि रुपन्देहीलाई क्रिकेट खेलको माध्यमबट विश्वभर चिनाउन थप मद्दत पुगेको बताए । मैदान उद्घाटनका अवसरमा लिजेन्ड्स कप टी–१० क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरी ४ टोलीले सहभागिता जनाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टिमको , एलबी क्षेत्रीले सन् १९९६ टिमको, कलाम अलीले रेस्ट अफ नेपालको र हरिबहादुर थापाले रुपन्देही लेजेन्ड्स टिमको कप्तानी गरेर खेलेका छन् ।

कुटपिटबाट युवकको मृत्यु, एक दम्पतीसहित ५ जना पक्राउ

धनगढी । धनगढीमा छिमेकीको कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिए । उनका अनुसार रानाको हत्या अभियोगमा मिनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ । मृतक राना र उनीमाथि कुटपिट गर्ने चौधरी दम्पती छिमेकी समेत हुन् । राना चौधरीको घरभित्र प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर भएपछि रानालाई स्थानीयले अस्पताल पुर्‍याएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगो लगाए

सर्लाही । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन् ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि दाहालका अनुसार नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसमा स्थानीयले आगो लगाएका हुन्। कविलासी नगरपालिका १० सलेमपुरमा सोमबार बिहान साढे १० बजेतिर उक्त बसले स्थानीय ५० वर्षीय जुगल महतोलाई ठक्कर दिएपछि स्थानीयले आगो लगाएको उनले बताए । ‘प्रहरीले समयमै आगो निभाएकाले बस पूर्णरुपमा जल्न पाएको छैन,’ एसपी दाहालले भने, ‘ठक्कर दिने बसलाई ट्याक्टरको सहायताबाट सडकबाट हटाइएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका महतोको हाल मलंगवामा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भइरहेको एसपी दाहालले बताए । बसका चालक भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। सलेमपुरमा रहेको सशस्त्रको वेस क्याम्प नजिकै घटना भएको हो । 

बसको ठक्करबाट घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु

काठमाडौं । कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ ।  यही फागुन २० गते जुनेली यातायातको प्रदेश ३ ०१ ००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।    उनले भने, “जुनेली यातायातको बसको ठक्करबाट उहाँ गम्भीर घाइते भएर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका उहाँको हिजो उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन् ।” बसका चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान’सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको र खत्रीको मृत्यु भएपछि अब सोहीअनुसारको मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए । 

कृषक प्रोत्साहनका लागि आलु तथा कृषि प्रदर्शनी

गल्याङ । कृषकलाई प्रोत्साहन गर्नका लागि भन्दै स्याङ्जामा आलु तथा कृषि प्रदर्शनी आयोजना गरिएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा स्याङ्जाको गल्याङ नगरपालिका ११ जिमुहामा ‘दोश्रो आलु तथा कृषि   प्रदर्शनी २०८०’ आयोजना गरिएको हो ।  प्रदर्शनीमा आलु तथा कृषिका अन्य विउविजनहरु प्रदर्शनी तथा विक्री गरिएको छ ।  यस्तै, आलुका विभिन्न परिकारहरुका साथै स्थानीय उत्पादनका परिकारहरु पनि विक्री तथा प्रदर्शनीमा राखिएको गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष पुर्णबहादुर रानाभाट ‘अर्जुन’ ले जानकारी दिए । आलु तथा कृषि प्रदर्शनीबाट कृषक र उपभोक्तालाई सिधा फाइदा पुग्ने भएकाले यस्तो महोत्सव गर्न लागिएको उनले स्पष्ट पारे ।  कृषि सामाग्रीहरुको स्टल मात्रै राखिएको प्रदर्शनीमा निशुल्क स्टल तथा निशुल्क प्रबेशको व्यवस्था गरिएको थियो । ‘दोश्रो गल्याङ नगर कृषि प्रदर्शनीको आधार, आलु तथा अन्य बिउमा आत्मनिर्भर’ भन्ने नारा सहित सञ्चालन भएको आलु प्रदर्शनीको शनिबार गण्डकी प्रदेश सांसद महेश भट्टराईले उद्घाटन गरेका थिए । शनिबार सुरु भएको प्रदर्शनी तीन दिन सम्म सञ्चालन भएपछि आज सोमबार समापन हुँदैछ । प्रदर्शनीमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका छन् । गल्याङ चेम्बर अफ कमर्सले यसअघि कृषि महोत्सव तथा कृषि प्रदर्शनीको आयोजना गरेको थियो ।  पाँच सय रोपनीमा सामुहिक उत्पादन  स्याङ्जाको गल्याङ नगरपालिका ११ जिमूहाका ५२ कृषकले करिब ५०० रोपनी जग्गामा सामूहिकरुपमा आलुखेती गरेका छन् । आँधीखोला पानी उपभोक्ता समूह (आक्वा) र जिमुहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध भएका जिमुहा, कर्मचौर, कामलाङ, दिमिक, लल्याङ, बल्पुकलगायतका क्षेत्रका किसानले सामूहिक आलु खेती गरेको गल्याङ चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष रुमलाल कँडेलले बताए । ‘व्यक्तिगत रुपमा भन्दा सामूहिकरुपमा व्यावसाय गर्दा सहज हुने गरेको अनुभव समूहमा आबद्ध किसानहरुको छ’, अध्यक्ष कँडेलले भने, ‘सहकारीमार्फत नै सामूहिक आलु लगाइएको र उत्पादित आलुको बजारीकरण पनि सहकारीमार्फतै गर्ने व्यवस्था मिलाइएको छ ।’ स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलुखेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा अघि बढाउन संस्थामार्फत पहलकदमी थालेको सहकारीका अध्यक्ष कँडेलले बताए । यहाँ जनकदेव, खुमल रातो, खुमल, उज्जल, एमएस ४२ लगायत आलु सामूहिक र व्यक्तिगतरुपमा लगाइएको छ ।  आलुका लागि जिल्लाकै पकेट क्षेत्र मानिने यस ठाउँमा उत्पादन भएको आलु तथा बीउ आलु स्याङ्जासहित भैरहवा, बुटवल, पोखरा, पाल्पा, तनहुँसम्मका स्थानमा बिक्री हुने गरेको छ । आलुलाई लामो समयसम्म राख्नका लागि जिमुहामा नै शित भण्डारको स्थापना पनि गरिएको छ ।

कान्तिराजपथ डेढ महिना बन्द हुने

ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।  ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।  “मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो”, उनले भने ।  ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो । बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ ।  विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौँलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको ईन्जिनियर महर्जनले बताए । सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ ।  कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो ।  टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ ।

फुटको संघारमा पुगेको नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक टीकापुरमा बस्दै

टीकापुर । सुदुरपश्चिम सरकारमा सहभागिताको विषयलाई लिएर फुटको संघारमा पुगेको नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक टीकापुर बस्दैछ ।  नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि ब्यूँतिएको नाउपाको संस्थापक केन्द्रीय समितकोे बैठक टिकापुरमा बस्न लागेको हो । सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा संस्थापक केन्द्रीय समितिको बैठक बस्नेछ । अल्ममतमा रहेको कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा रेशमको जोडबलमा तीन मन्त्री थपिएपछि नाउपाभित्र रेशम र रञ्जिताबीच तीव्र मतभेद देखिएको छ।  पतिपत्नीसमेत रहेका रेशम र रञ्जिताको शक्ति संघर्षका कारण नाउपामा विवाद चुलिएको छ। नाउपा अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता लिन संसदीय दललाई निर्देशन दिएपनि रेशमको निर्देशनमा सुदूरपश्चिमका केही सांसदले रञ्जिताको निर्देशन पालना गरेका छैनन् । समानान्तर अभ्यास गरिरहेका रेशमले मन्त्रीहरुलाई फिर्ता नहुन अर्को निर्देशन दिएपछि नाउपा फुटको संघारमा पुगेको छ।  पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रम र निर्वाचन आयोगको निर्णयलगायत विषयमा केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने बताइएको छ। नाउपामा संस्थापक केन्द्रीय कार्यसमित २१ सदस्यीय छ। टीकापुरमै भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष चयन भएका रेशमलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै श्रेष्ठलाई अध्यक्षमा पुनःस्थापित गरेको थियो। बैठकका लागि अध्यक्ष रञ्जिता, नेता रेशम लगायत केन्द्रीय सदस्य टीकापुरमा जमघट भइरहेका छन्।

पूर्वप्रधानमन्त्री केपी ओलीसँग राजेश हमालले सिनेमा संवाद गर्ने

काठमाडौं । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन्। नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तक्र्रियामध्ये एउटा सेसनमा ओली र राजेशले संवाद गर्ने भएका हुन्।  सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटनको दोस्रो दिन अर्थात् शुक्रबार ११ बजे देखि सुरु भएर १ बजे सकिने आयोजकले जानकारी गराएको छ।  दुईबीचको संवाद राष्ट्रिय सभागृहमा हुनेछ।  चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराएका छन्।  महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्ने छन् भने नम्रता शर्माले चलचित्रमा लैङिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा, गायिका आनी छोइङ डोल्मासँग कुरा गर्नेछिन्। 

राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दैछ । बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । बैठक शनिबार पनि बसेको थियो । तर नेताहरूबिच विवाद हुँदा बैठकमा निर्णायक छलफल हुन सकेको छैन ।  बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नवीन राप्रपा कार्ययोजना लगायतका सन्दर्भमा छलफल भइरहेको छ । बैठकका निष्कर्ष आज )सोमबार) नै सार्वजनिक गरिने राप्रपाले जानकारी दिएको छ ।

नेकपा एस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दैछ ।  बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत र राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा छलफल हुने भएको छ ।