नवलपरासीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

नवलपरासी, कात्तिक १६ । पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्ता पुर्व कावासोती नगरपालिकामा सवारीसाधन दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–८ बस्ने वर्ष २६ का बलराम अधिकारी रहेको इलाका प्रहरी कार्यालय, कावासोतीले जानकारी दिएको छ ।

कावासोति नगरपालिकाको फलफूल चोकदेखि एक किलोमिटर पूर्वतर्फको महेन्द्र राजमार्गमा गएराति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ क २७२७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ३८ प ९३६० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कावासोतीले जनाएको छ ।

प्रदेश नं ७ मा चालु आवमा स्वास्थ्यका ३१ नयाँ भवन बन्दै

बैतडी, कात्तिक १५ ।  बैतडीसहित प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा चालु आर्थिक वर्षमा स्वास्थ्यका ३१ वटा नयाँ भवन निर्माण हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले देशभर २५८ नयाँ भवन निर्माणका लागि स्वीकृति दिएसँगै सुदूरपश्चिममा ३१ वटा स्वास्थ्यका नयाँ भवन निर्माण हुने भएका हुन् । सुदूरपश्चिममा बन्ने ३१ वटा नयाँ भवनमध्ये १५ वटा बैतडीमा बन्ने जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए  । बैतडीमा चालु आवमा शंकरपुर स्वास्थ्य चौकी, डिलाशैनी स्वास्थ्य चौकी, विजयपुर स्वास्थ्य चौकी, दशरथचन्द स्वास्थ्य चौकी, वसन्तपुर स्वास्थ्य चौकी, थालाकाँडा स्वास्थ्य चौकी, जोशीबुंगा स्वास्थ्य चौकी, न्वादेउ स्वास्थ्य चौकी, देहीमाण्डौं स्वास्थ्य चौकीका नयाँ भवन निर्माण हुनेछन् । यसैगरी, न्वाली स्वास्थ्य चौकी, हाडाकोट स्वास्थ्य चौकी, उदयदेव स्वास्थ्य चौकी, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, हटैराज स्वास्थ्य चौकी र जिल्ला अस्पतालको स्टाफ क्वाटरको नयाँ भवन बन्नेछन् । गत आवमा बैतडीमा १२ वटा स्वास्थ्य चौकीका भवन निर्माण कार्य शुरु गरिएका थिए । योसँगै बैतडीमा रहेका ६८ वटा स्वास्थ्य संस्थामध्ये ३८ स्वास्थ्य संस्थामा नयाँ भवन बन्ने भएका छन् । बाँकी रहेका ३० स्वास्थ्य संस्थाका भवन पनि आगामी वर्षमा नयाँ भवन निर्माणका लागि आग्रह गरिने डा अवस्थीले बताए । सुदूरपश्चिमका अन्य जिल्लामा १७ वटा नयाँ भवन बन्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चालु आवमा दार्चुलाको खण्डेश्वरी स्वास्थ्य चौकी, देथला स्वास्थ्य चौकी र गोकुलेश्वर अस्पतालको नयाँ भवन निर्माण कार्य शुरु हुनेछ । यस्तै, कैलालीको टीकापुर अस्पतालमा स्टाफ क्वाटर, नर्सिङ क्वाटर र तालीम कक्ष नयाँ बन्नेछ भने डोटीको गुगडा र धिर्कामाण्डौं स्वास्थ्य चौकीमा पनि नयाँ भवन बन्नेछ । यसैगरी, डोटीकै सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ स्टाफ क्वाटर बन्नेछ । बझाङको पीपलकोट स्वास्थ्य चौकी र लुयटा स्वास्थ्य चौकीमा नयाँ भवन बन्नेछ भने अछामको कुस्कोट स्वास्थ्य, नवठाना बर्थिङ युनिट, बन्नातोली स्वास्थ्य चौकीमा नयाँ भवन बन्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै, कञ्चनपुरको जिमुवा स्वास्थ्य चौकी र बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन बन्नेछ । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा बनेका तथा बन्ने नयाँ स्वास्थ्य भवन निर्माणले स्वास्थ्य सेवा सहज हुने विश्वास गरिएको छ । बैतडीमा ३८ स्वास्थ्य संस्थाका नयाँ भवन  बैतडीमा आव २०७० सालदेखि चालु आवसम्ममा ३८ वटा स्वास्थ्य संस्थाका नयाँ भवन निर्माण हुने भएका छन् । गत आवसम्म २३ वटा भवनको निर्माण कार्य शुरु भएकोमा चालु आवमा १५ वटा भवन निर्माणका लागि स्वीकृति आएको छ । ६८ वटा स्वास्थ्य संस्थामध्ये अब ३० वटाको मात्रै नयाँ भवन बन्न बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा अवस्थीले बताए  । नयाँ भवन निर्माणका लागि स्वास्थ्य संस्थाको नाममा जमिन अनिवार्य हुनुपर्छ । कम्तीमा पाँच रोपनी जमिन आफ्नो नाममा भएको स्वास्थ्य संस्थाका भवन निर्माणका लागि पहल गर्न सकिने डा अवस्थीले जानकारी दिनुभयो । स्वास्थ्य संस्था भौतिकरुपमा सबल हुँदा सेवा पनि गुणस्तरीय दिन सकिने भएकाले भौतिक सुविधा पनि आवश्यक रहेको उनले बताए । सुपवासीको स्वास्थ्यमा पहुँच पुग्दै  पछिल्लो समय सुदूरपश्चिम अर्थात् प्रदेश नं ७ का नागरिकको पनि स्वास्थ्यमा पहुँच पुग्न थालेको छ । पछिल्ला तीन वर्षयता सुदूरपश्चिमका जिल्लामा स्वास्थ्य सूचकांकमा उत्कृष्ट हुँदै आएका छन् । भौगोलिकरुपले विकट र अन्य सूचकांकका हिसाबले पछि रहेको सुदूरपश्चिम स्वास्थ्य क्षेत्रमा भने अघि देखिँदै आएको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवामा उत्कृष्ट जिल्लाको नाम सार्वजनिक गर्दा सुदूरपश्चिमका चार जिल्ला उत्कृष्ट १० भित्र परेका छन् । आव २०७३÷०७४ मा उत्कृष्ट स्वास्थ्य सेवा दिने दोस्रो नम्बरमा सुदूरपश्चिमकै अछाम परेको छ । ८८ दशमलव ३९ अंक लिएर अछाम दोस्रो बनेको हो । यस्तै, दार्चुला पाँचौँ स्थानमा छ भने गत वर्ष तेसं्रो नम्बरमा रहेको बैतडी यो वर्ष भने छैटौँ नम्बरमा परेको छ । अघिल्लो वर्ष ९० दशमलव ४ अंक पाएको बैतडीले यस वर्ष भने ८४ दशमलव ७३ अंक मात्र पाएको छ । आव २०६७÷६८ मा बैतडी ६८ औँ नम्बरमा रहेको थियो । बझाङ पनि देशभरिमा १० औँ नम्बरमा रहँदै उत्कृष्ट १० भित्र पर्न सफल भएको छ । सुदूरपश्चिमले स्वास्थ्य क्षेत्रमा नियमित प्रगतिको फड्को मारिरहेकोे जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा अवस्थीले बताए  । उनले भने “स्वास्थ्यको क्षेत्रमा ३५ वटा सूचकभित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भजाँच, क्षयरोग, बेरुजु फछ्र्योट, क्षेत्रीय स्वास्थ्यले दिएको अंक र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा मूल्यांकन गरिएको हो ।”

काठमाडौं उच्च जोखिममा रहेकाे रिपोर्ट सार्वजनिक

काठमाडौं, कात्तिक १५ ।  प्राकृतिक विपत्तिका कारण एसिया प्रशान्त क्षेत्रमा १ खर्ब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ । एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग  युएन ईस्क्यापले गरेको अध्ययनअनुसार ४६ बर्षमा एसिया प्रशान्त क्षेत्रमा प्राकृतिक विपत्तिले मात्रै १ खर्ब ३ अर्ब अमेरिकी डलर क्षति भएको हो ।, कारोबारमा खबर छ ।

जाडोमा सिजी ब्राण्डका सामाग्रीहरु उपयोगी

काठमाडौँ, कार्तिक १४ ।  नजिकिदो जाडोलाई मध्यनजर गरि सि.जी. ब्राण्डले जाडोमा न्यानोपनको आभास दिन विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । अब घर होस् या अफिस तपाईहरुले आफुलाई न्यानो पारि सजिलै सँग आफ्नो कामगर्न सक्नु हुनेछ । सि.जी. ले हालै विभिन्न मोडलका ग्यास गिजर, रुम हिटर, हटपट, इलेक्ट्रिक केत्तल, वाटर हिटर, वाटर डिस्पेन्सर, फ्यान हिट आदि जस्ता सामाग्रीहरु नेपाली बजारमा ल्याएको छ । अब तपाईहरुले यी सामाग्रीहरु प्रयोग गरी ढुक्कसँग आफ्नो जीवनशैली सजिलैसँग अघि बढाउन सक्नुहुने छ । त्यसैले आजै सिजीका जाडो महिनाका सामाग्रीहरु घर ल्याउनुहोस् ।

नेपाल र अष्ट्रियाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ, कार्तिक १४ । नेपाल र अष्ट्रियाको आर्थिक सम्बन्धको सवलीकरण तथा विकासलाई महत्व दिन नेपाल उद्योग वाणिज्य महासंघ र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरबीच द्विपक्षीय सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । उद्योगमन्त्री सुनिलबहादुर थापाको उपस्थितिमा महासंघका अध्यक्ष भवानी राणा र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले उक्त सम्झौतापत्रमा हस्तारक्षर गरे । सम्झौतामा द्विपक्षीय व्यापार, लगानीका अवसर तथा औद्योगिक सहकार्य, प्रविधिमा सहकार्य विस्तारका लागि तेस्रो मुलुकमा पनि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । दुई संस्थाबीच सन् १९९३ मा भएको सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । विभिन्न आठ बुँदामा भएको सहमतिमा दुवै पक्षको चासो र हितलाई विस्तार गर्न सहजीकरण गर्दै अघि बढ्ने, व्यापारी प्रतिनिधि आदानप्रदान गर्ने, साझा विषयलाई आदानप्रदान गर्नेजस्ता विषय उल्लेख गरिएको छ । सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री थापाले अष्ट्रिया र नेपालबीच भएको औैद्योगिक ज्ञान, सिप तथा प्रविधिलाई आदानप्रदान गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रहसमेत गरे । मन्त्री थापाले दुई देशबीचको सम्बन्धलाई विस्तार गर्नका लागि द्विपक्षीय उच्च भ्रमण हुनुपर्नेमा जोड र्दिए । उनले केबुलकार अष्ट्रियाको प्रविधि विश्वकै उदाहरणीय भएको उल्लेख गरे । राष्ट्रिय योजना आयोगका सदस्य डा.सिके पौडेल र उद्योग सचिव यामकुमारी खतिवडाले राजनीतिक तथा नीतिगतरुपमा पनि नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको भन्दै कृषि, ऊर्जा तथा सेवा क्षेत्रमा लगानी गर्न आग्रह गरे । नेपालका लागि अष्ट्रियाका राजदूत ब्रिजीट ओपिङ्गरले आफ्नो मुलुकका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गरेर फाइदा लिन आग्रह गरिएको जानकारी दिँदै आगामी दिनमा दुई देशबीचको व्यापारिक सम्बन्ध अझ प्रगाढ भएर जाने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालमा संविधान जारी भई कार्यान्वयनको चरणमा शान्तिपूर्ण तवरले निर्वाचन भइरहेको उल्लेख गर्दै भने, “राजनीतिक स्थायित्व र दोस्रो पुस्ताको नीतिगत सुधारबाट नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको छ ।” अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले लगानीका लागि नेपाल उपयुक्त अवसर भएकाले त्यसको अवसर लिन आफ्नो देशका उद्योगी आतुर रहेको उल्लेख गर्दै लगानीलाई आगामी दिनमा थप विस्तार गर्ने बताए । नेपालमा लगानीको अवसर खोज्ने क्रममा अष्ट्रियन इकोनोमिक च्याम्बरका प्रतिनिधि तथा त्यहाँका उद्योगी नेपाल भ्रमणमा रहेका छन् ।

हिरासतभित्र यस्तो घटना घट्यो: हत्या कि अात्महत्या छानविन सुरु

सिरहा, कार्तिक १४ । सिरहामा प्रहरी हिरासतमा बालिकाले झुण्डिए आत्महत्या गरेको घटनाले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । घटना सुनेपछि आयोगको जनकपुर कार्यालयबाट आइतबार नै खटिएको मानव अधिकार अधिकृतलाई बिष्णुपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक शिव नारायण यादवले घटना विबरण बताउन इन्कार गरेपछि घटनालाई आयोगले अनुसन्धान गर्ने भएको छ । विष्णुपुर प्रहरी प्रमुख यादवलाई सोही ठाउँमा खटिएका जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले घटना विबरण नभन्न आदेश दिएको खुल्न आएको छ । घटनाको प्रारम्भिक अध्ययन गर्न आयोगको मानव अधिकार अधिकृत दिप यादव आइतबार राती ८ बजे इलाका प्रहरी कार्यालय विष्णुपुर पुगेका थिए । आयोगको टोलीले सोमबार घटनाबारे मृत शरिर, इलाका प्रहरी कार्यालय विष्णुपुर कार्यालयको हिरासत अनुगमन गरेको छ । हिरासत अनुगमन पछि आयोगको अधिकृतले सोमबार प्रहरी नायब निरीक्षक यादवलाई वयान दिनभन्दा सोमबारसमेत बयान दिन मानेनन् । उनले मानवअधिकार अधिकृत समक्ष कुनै पनि हालतमा लिखित बयान नदिने अडान मै बसे । प्रहरी नायब निरीक्षक शिब नारायण यादवले आफ्नै कार्यालय भित्र भएको घटनाबारे नया पत्रिकालाई समेत बताउन चाहेनन् । बालिकालाई यातना पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको बालिकाको मृत शरिरको पैताला र पिठ्युमा लठ्ठीको डाम जस्तो देखिएको छ । बालिकालाई अनुसन्धानको क्रममा पिठ्युमा विद्युतीय यातना दिइएको जस्तो देखिन्छ । १६ वर्षीया बालिका प्रियङ्का यादवलाई गत कार्तिक ११ देखि इलाका प्रहरी कार्यालय विष्णुपुरमै राखेर अनुसन्धान गरिएको थियो । जिल्ला अदालत सिरहाले प्रहरीलाई अनुसन्धानको लागि कार्तिक १२ गते ५ दिनको लागि म्याद थप गरेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय विष्णपुरमा करिब ४ः३० बजे महिला हिरासत भित्रै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको थियो । बालक अझै प्रहरी हिरासतमै हत्याको आरोपमा पक्राउ परेका बालक संजय साह इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमै रहेको पाइएको छ । १४ वर्षीय बालक साहलाई प्रहरी नायब उपरीक्षक गजु सिद्धि बज्रचार्यले बयस्क थुनुवासंगै बालकलाई राखेर अनुसन्धान गरिरहेको पाइएको छ । तर, आयोगको मानव अधिकृतसँग कुराकानी गर्न बालकलाई हिरासतबाट बाहिर निकालिएको थियो । महिला हिरासतमा खैनी र चुरोट बालिकाले आत्महत्या गरेको भनिएको इलाका प्रहरी कार्यालय विष्णुपरको महिला हिरासत कोठामा लुकाएर राखिएको अवस्था खैनीको प्याकेट र चुरोट फेला परेको छ । महिला राख्ने हिरासतमा पर्खालमा टासिएको भगवानको पोस्टर भित्र खैनीको प्याकेट र चुरोट पाइएको हो ।

एउटै मोटरसाइकलको नेपाली र भारतीय सवारी धनी प्रमाणपत्र

रौतहट, कार्तिक १४ । प्रहरीले एउटै मोटरसाइकलको नेपाली र भारतीय दुई सवारीधनी प्रमाणपत्र बरामद गरेको छ । बिआर ३० एफ ओ ७०८ नं लेखिएको प्लाटिना मोटरसाइकलका दुई सवारीधनी प्रमाणपत्र इलाका प्रहरी कार्यालय कटहरियाले बरामद गरेको हो । उक्त मोटरसाइकल स्थानीय मोटरसाइकल मिस्त्री मेराजुल मियाँसँग रु ४० हजारमा एक महिनाअघि खरिद गरेको भन्दै भारत पूर्वी चम्पारण ढाका घर भएका महमद हसमुद्दिन अन्सारीका नामको सवारीधनी प्रमाणपत्र देवाही गोनाही नगरपालिका–५ टिकुलिया टोलका चेतन यादवले प्रहरी समक्ष बुझाएका छन् । अर्कातर्फ गुुजरा नगरपालिका हरिहरपुुर टोलका रामचन्द्र साहले इञ्जिन नं र चेचीस नंका आधारमा उक्त मोटरसाइकल नेपाली नं ना ३८ प ५०८६ रहेको र यादवले भारतीय नं लेखेको भन्दै आफ्नो नाममा दर्ता रहेको नारायणी अञ्चल यातायात कार्यालय वीरगञ्जबाट प्राप्त सवारीधनी प्रमाणपत्र प्रहरीमा बुझाएर दाबी गरेका छन् । एक महिनाअघि दशैँ ताका हरिहरपुर बजारबाट उक्त मोटरसाइकल चोरी भएको भन्दै साहले यसअघि नै प्रहरीमा जाहेरी दिएको बताएका छन् । इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख प्रहरी नायब निरीक्षक दीपेन्द्र यादवले दुुई वटै सवारीधनी प्रमाणपत्रको जाँच गराएपछि वास्तविकता आउने बताए । अर्का अभियुक्त मोटरसाइकल मिस्त्री मिया फरार रहेकाले उसको खोजी भइरहेको छ । मिस्त्री मिया यसअघि पनि दुई मोटरसाइकल विवादमा परिसकेको स्थानीय समाजसेवी तावारख मियाले जानकारी दिए । मिस्त्री मियासँगै जिल्लामा मोटरसाइकल चोरको एउटा गिरोह सक्रिय रहेको छ । गिरोहले जिल्लाका विभिन्न स्थानबाट पटक पटक मोटरसाइकल चोरिहेको स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामकुमार दानीले उक्त घटनाबारे गम्भीरताका साथ अनुसन्धान भइरहेको बताए ।

बेवारिसे बालिकालाई परिवारको जिम्मा

दाङ, कात्तिक १४ । असहाय बाल विकास नेपाल, दाङमा राखिएकी एक बेवारिसे बालिका परिवारलाई जिम्मा लगाइएको छ । बालिकाका परिवारलाई सोमबार जिम्मा लगाइएको हो । इलाका प्रहरी कार्यालय खिलतपुरले बेवारिसे अवस्थामा भेटृाएपछि ती बालिकालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको जिम्मा लगाएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय, तुलसीपुरले ती बालिकाको पालन पोषण तथा शिक्षादीक्षाका लागि यही कात्तिक ६ गते दाङको बिजौरीमा रहेको असहाय बाल विकास नेपालमा जिम्मा लगाएको थियो । बबई गाउँपालिका–६ बगाले घर भएकी बालिका लीलावती राणालाई इलाका प्रहरी कार्यालय तुलसीपुर, असहाय बाल विकास नेपाल र न्यू सिपिसीको रोहबरमा परिवारलाई जिम्मा लगाइएको हो । इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्ट, असहाय बाल विकास नेपाल, बिजौरीका अध्यक्ष विष्णु चौधरी, न्यू सिपिसीका अध्यक्ष नवराज लामिछाने, तुलसीपुर उपमहानगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीलगायतको रोहबरमा उनका बुबा पले रानालाई जिम्मा लगाइएको असहाय बाल विकास नेपालले जनाएको छ ।

विज्ञान पार्क अध्ययन टोली कोलकातामा

दमक, कात्तिक १४ । विज्ञान सामग्री र त्यसको उपयोगितासम्बन्धी अध्ययन गर्न झापाको दमक नगरपालिकाको एक टोली भारतको कोलकाता पुगेको छ । दमक–१० स्थित सिंहदेवी माध्यमिक विद्यालयको जग्गामा निर्माणाधीन विज्ञान पार्कलाई पूर्णता दिन एक टोली अध्ययनका लागि भारतको कोलकाता पुगेको हो। अध्ययन टोलीमा दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओली, कार्यकारी अधिकृत युवराज दाहाल, दमक–१० का वडाध्यक्ष बोधराज न्यौपानेसहित विज्ञान शिक्षक तथा प्राविधिकहरु रहनुभएको छ । नगरपालिकाको सहयोगमा दुई वर्षअघिदेखि निर्माण शुरु गरिएको सो विज्ञान पार्कमा शुरुवात् ताका घेरावाराका केही काम सम्पन्न भइसकेका छन् । दमक नगरपालिकाका उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले भारतमा पुगेको टोलीले त्यहाँ रहेका विज्ञानपार्कहरुको स्थलगत अवलोकन तथा अध्ययन गर्ने जानकारी दिनुभयो । उपप्रमुख अधिकारीले छिमेकी मुलुकमा अन्तर्राष्ट्रियस्तरमा निर्माण भएका विज्ञान पार्कको स्थलगतरुपमा अध्ययन तथा अनुगमन गरी सोहीअनुरुपका संरचना तथा पूर्वाधार निर्माण गर्न सघाउ पुग्ने बताउनुभयो ।

‘पर्यटन नगरी, समृद्ध गोदावरी’

साहिला तामाङ ललितपुर, कात्तिक १४ । काठमाडौँबाट १५ किलोमिटर दक्षिणी भेगमा अवस्थित गोदावरी नगरपालिकालाई आगामी पाँच वर्षभित्र ‘पर्यटन नगरी, समृद्ध गोदावरी’ को रुपमा विकसित गरिने भएको छ । भौगोलिकरुपले नगरका ८, ९, १२, १३ र १४ नं वडा काठमाडौँ, महानगरपालिकासँग तथा वडा नं १ र २ महालक्ष्मी नगरपालिकाको सिमानासँग जोडिएका छन् । यसैगरी वडा नं ५, ६ र ७ वाग्मती र कोञ्ज्योसोम गाउँपालिकाको सिमानासँग गाँसिएका छन् । अँग्रेजी अक्षरको सी आकारमा रहेको यस नगरपालिकालाई साँच्चिकै समृद्ध बनाउन नगरका पदाधिकारी, वडाध्यक्ष, समाजसेवी, वुद्धिजीवी, नागरिक समाज, शिक्षाप्रेमीलगायत लागिपरेका छन् । समृद्ध नगर निर्माणमा सर्वप्रथम यहाँका विभिन्न ठाउँलाई पर्यटनमैत्री क्षेत्र बनाउनु कदम चालिने छ । पर्यटन नगरी निर्माणमा यहाँका स्रोत साधनलाई सदुपयोग गरिने लक्ष्य रहेको नगरप्रमुख गजेन्द्र महर्जनले बताए । नगरभित्र पर्यटकीय क्षेत्रको रुपमा विभिन्न स्थान विस्तार गरिने योजना बनाइएको छ । “गोदावरी क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न मजबुत व्यवस्थापन गरिने छ,” उनले भने । पर्यटकीय क्षेत्र विकासका लागि वडा नं ३ मा अवस्थित गोदावरीे, २ मा रहेको विशंखुनारायणको कोटडांडा, ७ मा रहेको सुन्तलीडांडा, १० को भांगावन, ५ को मनकामना मन्दिर, १३ को सन्तानेश्वर, १० को बज्रबाराही मन्दिर तथा ६ नं वडामा पर्ने टीकाभैरव मन्दिरलगायतका क्षेत्रमा गुरुयोजना लागू गरिने नगरप्रमुख महर्जन बताउँछन् । “पर्यटकीय नगर बनाउन गोदावरी नगरपालिका–६ स्थित सुन्तलीडाँडामा काठमाडौँको मनमोहक दृश्य देखिने गरी भ्यूटावरको निर्माण गरिने छ,” उनले भने । वडा नं १० स्थित भाङ्गावन तथा काठमाडौँ उपत्यकाको दृश्यावलोकनका लागि वडा नं २ विशंखुनारायणस्थित कोटडाँडामा समेत भ्यूटावरको निर्माण गरिने लक्ष्य रहेको नगरप्रमुख मजर्हन बताउँछन् । गोदावरी क्षेत्रमा पर्ने वनस्पति उद्यानलाई थप व्यवस्थित बनाउँदै पर्यटक आकर्षणको केन्द्र बिन्दुको रुपमा विस्तार गरिने छ । यहाँको प्राकृतिक स्रोत साधनलाई व्यवस्थित गर्दै लैजाने योजना छ । पर्यटक आकर्षित गर्न सुन्तलीडाँडा तथा कोटडाँडामा होमस्टेको अवधारणा ल्याइने महर्जनले बताए । सो क्षेत्रमा नयाँ निर्माण हुने संरचना पर्यटनमैत्री हुनेछन् । मिर्मिरे उज्यालोमा चियाको चुस्कीसँगै काठमाडौँको मनमोहक दृश्यलाई क्यामरामा कैद गर्न सकिने छ । यहाँबाट हिमालको समेत तस्वीर लिन सकिने छ । पर्यटन क्षेत्रको विकासले नै आम नागरिकको जीवनस्तरमा परिवर्तन आउन सक्ने महर्जन बताउँछन् । झररुवासीस्थित सन्तानेश्वर मन्दिरको पर्यटकीय एवं धार्मिक दृष्टिकोणले विकास गर्दै लैजाने नगर उपप्रमुख मुना अधिकारीले बताए । पर्यटकलाई आकर्षित गर्न मिनी मोनोरेलको अवधारणा ल्याउन सकिने उनी बताउँछन् । सो मन्दिरमा पूजाआजा गर्नाले निःसन्तानले सन्तान प्राप्त गर्ने जनविश्वास रहेको छ । गोदावरी नगरपालिका– ५ का वडाध्यक्ष मिलन सिलवाल यहाँ स्थापना गरिएको मनकामना मन्दिरलाई थप व्यवस्थित बनाएर पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न सकिने बताउँछन् । उपत्यकाबाट नजिकै रहेको उक्त मन्दिरमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन बढ्ने उनी बताउँछन् । यहाँ अवस्थित ऐतिहासिक तिलेश्वर मन्दिरको संरक्षण र सम्वद्र्धन गर्नसकेमा पर्यटन नगरका रुपमा विकास गर्न सकिने उहाँँले विश्वास व्यक्त गरे । सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई सहज बनाउन आवश्यक गृहकार्य गरिरहेको सिलवालले बताए । सिंगो नगरलाई समृद्ध तुल्याउन नगरप्रमुख तथा उपप्रमुखको मात्र जिम्मेवारी नभई वडाध्यक्षको पनि रहेको वडा नं का वडाध्यक्ष भास्कर थापा बताउँछन् । उहाँले समृद्ध नगर निर्माणमा समग्र नगरवासीले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । समृद्ध नगर बनाउन कृषि, पर्यटन, पशुपालन, उद्योगलगायतका क्षेत्रको समेत विकास गरिनुपर्ने उनको भनाइ छ ।

निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु

चितवन, कात्तिक १४ । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु गरिएको बताएको छ। यहाँ आज पत्रकारसँग कुरा गर्दै मन्त्री पाण्डेले निकुञ्जभित्र पर्ने सडक छेउमा रहेका रुख काट्ने काम शुरु गरिएको बताउँदै भने, “सडकमा आवागमन गर्न असहज बनेका रुखमा टाँचा लगाइएको छ । ती रुखहरु काट्ने काम शुरु भएको हो ।” भरतपुरबाट माडी जाने क्रममा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आठ किमी सडक पर्छ । यससँगै माडीवासीका लागि निकुञ्ज यात्रा गर्दा लाग्ने शुल्क नलिने वातावरण तय गर्नका लागि अन्तिम गृहकार्य भइरहेको बताइएको छ । उनले भने, “जिल्ला सदरमुकामबाट घर जानका लागि पनि कर तिर्नुपर्ने बाध्यता माडीवासीमा छ । यसको अन्त्य चाँडै हुन्छ ।” अहिले माडीवासीले भरतपुरबाट माडी जानका लागि मोटरसाइकल, बयलगाडा र टाँगाको रु १० कर तिर्दै आएका छन् भने बस, कार, जीप, ट्र्याक्टर, लरीलगायत पाँच टनसम्मका सवारी साधनले रु ५० शुल्क तिर्ने गरेका छन् । फरक प्रसंगमा मन्त्री पाण्डेले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू चितवन क्षेत्र नं ३ बाट उम्मेदवार हुने बताए । यसअघि विजयी भएको क्षेत्र भएकाले पनि आफू सोही क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको उनको भनाइ थियो । यसअघि उहाँ चितवन क्षेत्र नं ५ बाट विजयी हुनुभएको थियो । सो क्षेत्र अहिले क्षेत्र नं ३ मा पर्छ । वाम गठबन्धनबाट सोही क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी घोषणा गरिसकेको छ । सोही क्षेत्रमा दाहालकै प्रतिष्पर्धामा लोकतान्त्रिक गठबन्धनबाट पाण्डे उम्मेदवार हुन लागेको हो ।

शहरी विकास र खानेपानीसम्बन्धी आयोजनाको प्रगति उत्साहजनक

काठमाडौँ, कात्तिक १४ । एशियाली विकास बैंक (एडिबी) को आर्थिक एवं प्राविधिक सहयोगमा नेपालमा सञ्चालित आयोजनामध्ये शहरी विकास र खानेपानीसम्बन्धी आयोजनाको प्रगति उत्साहजनक देखिएको छ । एडिबीले हवाई यातायात, ऊर्जा, शहरी विकास एवं खानेपानी, सडक पूर्वाधार र शिक्षा गरी पाँच क्षेत्रका १९ आयोजनामा दुई अर्ब ३० करोड डलर लगानी गर्दैछ । यो लगानी हालसम्मकै उच्च लगानी हो । ती पाँच क्षेत्रका अतिरिक्त भूकम्पले क्षति पु¥याएका संरचनाको पुनःनिर्माणमा समेत उसको आर्थिक सहयोग रहेको छ । एडिबीद्वारा सञ्चालित आयोजनाको समीक्षा गर्न आज यहाँ आयोजित कार्यक्रममा हवाई यातायात सुधारसम्बन्धी दुई आयोजनाका प्रगति भने सुुस्त नै रहेको जनाइएको छ । ती आयोजनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थल सुधार तथा विस्तार छन् । यसैगरी पछिल्लो समय मेलम्ची खानेपानी आयोजना र यससित सम्बन्धित काठमाडाँै उपत्यका खानेपानी वितरण योजनाको प्रगति सुस्त देखिएको बैंकले जनाएको छ । ती पाँच क्षेत्रका ३५ आयोजनाका समग्र कार्यप्रगति राम्रो रहेको जनाइएको छ । समीक्षा बैठकमा अर्थ, शहरी विकास, संघीय मामिला तथा स्थानीय विकास र ऊर्जा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ अधिकृत तथा आयोजना प्रमुखको सहभागिता छ । बैठकमा अर्थसचिव शंकर अधिकारीले संघीय संरचनानुसार वित्त व्यवस्थापनमा मन्त्रालयले गृहकार्य गरिरहेको र विकास आयोजनामा वित्त पारदर्शिता र सुशासनमा प्राथमिकता दिएको बताउनुभयो । एडिबीका उपनिर्देशक दिवेश शरणले प्रगति कम देखिएका आयोजनाका प्रगतिमा सुधार ल्याउन नेपाल सरकारलाई आग्रह गर्दै बैंकले आगामी दिनमा नेपालको पूर्वाधार विकासमा सहयोग जारी राख्ने जानकारी दिनुभयो । एडिबीका नेपालका देशीय निर्देशक मुखतोर खामुडखानोभ र कार्यक्रम प्रमुख सारोश खानले आयोजनाका विविध पक्षमाथि जानकारी दिनुभएको थियो ।

ज्येष्ठ नागरिकलाई कम्बल

जुम्ला, कात्तिक १४ । यहाँका ११० ज्येष्ठ नागरिकलाई सोमबार कोरियाली कम्बल वितरण गरिएको छ । चन्दननाथ नगरपालिकाका १०० र नगरपालिका बाहिरका १० ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो । नगरपालिका, जिल्ला समन्वय समिति (जिसस) र महिला तथा बालबालिकाका कार्यालयको सहयोगमा कम्बल वितरण गरिएको ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले जानकारी दिए । जिससका प्रमुख लालबहादुर सार्की र नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले संयुक्त रुपमा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको थियो ।

हरिवोधनी एकादशीः के छ यसको महत्व ?

काठमाडौं, कार्तिक १४ । आज मंगलबार हरिबोधनी एकादशी, यस एकादशीलाई अरु एकादशीभन्दा विशेष रुपले मान्ने गरिन्छ ।हरिबोधिनी एकादशी, वर्षमा पर्ने चौबीस वटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो। त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ। आषाढ शुक्ल पक्षको एकादशी लाई हरिशयनी एकादशी भनिन्छ । यस दिनदेखि भगवान विष्णु ४ महिना सम्म शयन गर्ने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो ।आषाढ शुक्ल पक्षको एकादशीको दिन सुतेर आजको दिन विष्णु उठ्ने भएकाले आजको एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन्। हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन्। यस अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्रमा मेला लाग्दछ।बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ। माहाभारत ग्रन्थका अनुसार कहिले पनि भोको बस्न नसक्ने भीमसेनले पनि यस दिन व्रत गरेको मानिन्छ । अरु दिनमा उपवास गर्न नसके पनि एकादशीको दिन व्रत गर्नु भनेर हिन्दुधर्म शास्त्रहरुमा वर्णन गरिएको छ । मानिस भएर जन्मेपछि एकादशीको व्रत अनिवार्य रुपमा गर्नुपर्छ । यदी सबै एकादशीमा व्रत बस्न अनुकुल हुँदैन भने हरिबोधनी एकादशीको दिन अनिवार्य रुपमा व्रत बस्नुपर्दछ भनेर शास्त्रहरुमा वर्णन गरिएको छ । हरिशयनी एकादशी (असार शुक्ल एकादशी) का दिन आ–आफ्ना घरमा रोपिएका तुलसीलाई पूजाआजा गरी मठ सिङ्गारेर विधिपूर्वक विवाह गराउने गरिन्छ भने गाउँ घरमा श्रद्धालु भक्तहरू ब्राह्मणद्वारा द्वादशीदेखि पञ्चमीसम्म होम यज्ञ गराई एकादशी ब्रतको उद्यापन गर्ने गर्छन्। हिन्दूहरू तुलसी, पिपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा मान्छन्। चिकित्सकहरूकाअनुसार तुलसीमा ८९ रोग निको गर्ने क्षमता छ। यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वका छन्। यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडा(वान्ता पनि रोक्ने कार्य गर्दछ। एजेन्सी

सामाजिक संजालको दूरुपयोग कारण मानव बेचविखनका घटना बढ्दै

लोकेश धामी कैलाली, कार्तिक १४ । सामाजिक सञ्जालको दुरुपयोगका कारण कैलालीमा मानव बेचविखनका घटना बढिरहेको तथ्यांकले देखाएको छ । फेसबुक, ट्वीटरलगायतका सामाजिक संजालको सदुपयोग भन्दा पनि दुरुपयोग बढ्न थालेपछि यस्ता घटनामा वृद्धि भइरहेका हुन् । विभिन्न सामाजिक संजाल तथा संचारका साधनको दूरुपयोगका कारण मानव बेचविखनका घटना बढिरहेकाले चेतना विस्तारमा जोड दिनुपर्ने मानवअधिकारकर्मी भगवती हमालले बताए । सामाजिक सञ्जालको दूरुपयोगका अलवा बेरोजगारी, देखासिकी लगायत पनि मानव बेचविखन बढाउने कारक तत्व बनेका छन् । अहिले छिमेकी मुलुक भारत बाहेक कुबेत, तान्जेनिया, दुबई, साउदी अरब, केन्या, चीन, बंगलादेश लगायतका राष्ट्र पनि मानव बेचविखनका ट्रान्जिट प्वाइन्ट बन्दै गएको विभिन्न संघसंस्थाको तथ्यांकले देखाउँछ । कैलालीको त्रिनगर भन्सार नाकाबाट गत आव २०७३–०७४ मा ८६ जना र ३ जना भारतबाट उद्धार गरिएका थिए । चालु आव २०७४–०७५ को ३ महिनामा मात्रै २५ जना त्रिनगर नाकाबाट र ४ जना भारतबाट उद्धार गरिएका माइती नेपाल धनगढी शाखाका संयोजक शिवचरण चौधरीले जानकारी दिए । उच्च महात्वकांक्षा तथा पश्चिमी संस्कृतिको प्रभावका कारण पनि मानव बेचविखनका घटनाहरु बढिरहेका छन् । पछिल्लो समय बालिका बढी बेचविखनको जोखिममा परेका छन् । दलालहरुले सजिलो तरिकाले फकाउन सक्ने भएकाले बालिका बेचविखनको खतरामा परेका हुन् । दलालहरुले पनि महिलालाई सीमा कटाउने तरिकामा परिर्वतन गरेकाले बेचविखन कार्य रोक्न चुनौति बनेको छ । तथापी, सबैले हातेमालो गर्दै मानव बेचविखनका घटना न्यूनीकरण गर्न सक्रिय हुनुपर्ने सर्वसाधारणको भनाई छ । राज्यले पनि मानव बेचविखन गर्ने व्यक्तिलाई कडा सजाय तथा बनाएका कानूहरुको कार्यान्वयन गर्न सकेमा यस्ता घटनामा कमी अउन सक्ने सरोकारवालाको भनाई छ । अहिले बालिका पनि बेचविखनको जोखिममा परेकाले विद्यालयस्तरदेखि नै सचेतनामा जोड दिनुपर्ने आवश्यकता महसुस गरिएको छ । साथै, स्वयं अभिभाकले पनि आफ्ना छोराछोरीका नियमित क्रियाकलापमा निगरानी राख्नु पर्ने सरोकारवालको भनाई छ ।

परराष्ट्र सचिव बैरागी — संरासं अधिकारी भेट

काठमाडौँ,  कात्तिक १४ । न्यूयोर्कको भ्रमणमा रहनुभएका परराष्ट्र सचिव शंकरदास बैरागीले न्यूयोर्कमा संयुक्त राष्ट्र संघका अधिकारीहरुसँग भेट गरेका छन् । न्यूयोर्कस्थित नेपाली स्थायी नियोगद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार राष्ट्र संघको राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यानसँगको भेटमा बैरागीले नेपाल र राष्ट्र संघबीचको सम्बन्धका विविध पक्षमा विचार आदानप्रदान गरे । उनले आर्थिक तथा सामाजिक मामिलासम्बन्धी उपमहासचिव लिउ झेनमिनसँग पनि भेट गरी आपसी सम्बन्धबारे कुराकानी गरे । सचिव बैरागीले संरासंको महासभाको ७२औँ अधिवेशनको चौथो कमिटीमा नेपालको तर्फबाट शान्ति स्थापनार्थ समग्र पक्षको बृहत् समीक्षासम्बन्धी वक्तव्य दिए ।  बक्तव्यमा सचिव बैरागीले विश्व शान्ति र सुरक्षामा नेपालको योगदानबारे प्रकाश पार्दैै शान्तिरक्षकलाई अधिकारको स्पष्टता, पर्याप्त स्रोत र सुरक्षाको आवश्यकतामा जोड दिए ।