पाशुपत क्षेत्र आसपासमा यस्तो छ सवारी रुट र पार्किङ
काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास दर्शनार्थीहरूको भीडभाड हुने भएकाले सवारी साधनलाई डाइभर्सन गरिएको छ।
गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
त्यसैगरी मालवाहक सवारी साधनहरूलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिएको छ।
गौशाला क्षेत्रमा शिवरात्रिका दिन शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले सबैलाई आग्रहसमेत गरेका छन्।
उनका अनुसार महाशिवरात्रि मेलाको ट्राफिक व्यवस्थापन गर्नको लागि ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ। प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाइभर्सन ड्यूटी लगायतमा ट्राफिक प्रहरी परिचालन गरिने छ।

पशुपति दर्शनमार्ग
आवश्यकता अनुसार डाइभर्सन गरिने स्थानहरु
चाबहिलबाट गौशालातर्फ ।
पुरानो बानेश्वरबाट गौशालातर्फ ।
ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।
सिफल चौरबाट जयबागेश्वरीतर्फ ।
लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
तिलगंगाबाट गौशालातर्फ ।
मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।
जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।
सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।
मालबाहक सवारी साधनलाई गरिने डाइभर्सन
कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडीबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने ।
कोटेश्वर तिनकुने हुँदै पशुपति वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने ।
महाराजगंज, चाबहिल हुँदै पशुपति वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।
पार्किङ्गको व्यवस्थापन गरिएका स्थानहरु
बौद्ध, साँखु, सुन्दरीजलतर्फबाट आउने व्यक्तिहरुका लागि गुह्येश्वरी भन्दा माथि यातायात कार्यालय सँगै रहेको जग्गामा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ ।
सिफल चौर (दर्शानार्थीहरुको)
कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु)
वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु)
गुह्येश्वरी पारि (तीर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)
तेस्रो रोजवड आर्ट्स एग्जीबिशन २०८० सम्पन्न
काठमाडौं । रोजवड स्कुलद्वारा आयोजित तेस्रो रोजवड आर्ट्स एग्जीबिशन २०८० सम्पन्न भएको छ । काठमाडौंको बुद्धनगरमा रहेको रोजवड स्कुलले नेपाल आर्ट काउन्सिल बबरमहलमा आयोजना गरेको रोजवड आर्ट्स एक्जिविशन २०८० भव्यरुपमा सम्पन्न भएको हो । फाल्गुन २० देखि २४ गतेसम्म चलेको प्रदर्शनीमा कलाकारहरु , विदेशीहरु र अभिभावकहरुले अवलोकन गरेका थिए । प्रदर्शनीमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले बनाएको कलाहरु प्रदर्शनमा राखिएको थियो । मण्डला लिप्पन आर्ट , अफ्रिकन आर्ट र हस्तकला सम्बन्धी कला समेटिएको प्रदर्शनी बिहान १० बजेदेखि साँझ ४ बजे सम्म पाँच दिन चलेको थियो । आर्ट्स शिक्षिका पुष्पान्जली थापा लगायत अन्य दुई शिक्षकले विद्यार्थीहरुलाई लामो समयदेखी रोजवडमा आर्ट सिकाइरहेका छन् ।
बेनोज अधिकारीलाई सम्झँदै अखिल(क्रान्तिकारी)को टोली मोरङको बाघझोडामा
मोरङ।अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष जीपी मैनाली सहितको टोली सहिद बेनोजलाई सम्झँदै मोरङको बाघझोडा पुगेको छ । अखिल क्रान्तिकारीको तत्कालीन उपाध्यक्ष बेनोज अधिकारी स्मृति दिवसको दिन पारेर उपाध्यक्ष मैनाली सहितको टोली बिहिबार अधिकारीको हत्या भएको स्थाल मोरङको बाघझोडा पुगेको हो । टोलीमा क्रान्तिकारीका पूर्व उपाध्यक्ष तथा सुनसरी माओवादी केन्द्रका नेता मदन चुडालसहित क्रान्तिकारीको स्थानीय नेतृत्व सहभागी थियो । टोलीले बेनोज हत्या गरिएको सुन्दरहरैंचा स्थित जंगल सहित ,सुकुना बहमुखी क्याम्पस अगाडी निर्मित शहिद बेनोज गेट पुगेको क्रान्तिकारीका नेता उमेश सेन्चुरीले जानकारी दिए। क्रान्तिकारीका तत्तकालीन उपाध्यक्ष अधिकारीलाई २०५८ फागुन २४ गते आजकै दिन त्यसबेलाको राज्य सत्ताले गिरफ्ता गरी चरम यातना दिएर मोरङको खोर्साने माथि बाघझोडामा निर्ममता पूर्वक हत्या गरेको थियो ।
साफ यू–१६ च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद पराजय
काठमाडौं ।साफ यू–१६ च्याम्पियनसिपको फाइनल प्रवेश खेलमा भारतसँग नेपालको लज्जास्पद पराजय भएको छ ।बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा भारतले नेपाललाई १०–० गोल अन्तरले हराएको हो । नेपालमाथि एकतर्फी जित निकाल्दै भारतले उपाधिका लागि बंगलादेशसँग खेल्ने भएको हो भारतको जितमा गुरलीन कौर र पर्ल फनान्डेजले समान दुई दुई गोल गरे । अनिता डुंगडुंग, अनुष्का कुमारी, बोनिफिलिया शुलाल, गुरुनान्ज कौर र रेहन्नाले समान एक गोल गरे । मिन माया श्रेष्ठको एक आत्मघाति गोल भारतले उपहार पाएको थियो । अनिता डुंगडुंगले खेलको दोस्रो मिनेटमा भारतलाई अग्रता दिलाएकी थिईन् । पर्ल फर्नान्डेजले खेलको १४ औं मिनेटमा भारतको अग्रता दोब्बर बनाईन् । अनुष्का कुमारीले २२ औं मिनेटमा भारतका लागि तेस्रो गोल गरिन् । बोनिफिलिया सुलालले भारतका लागि चौथों गोल गरिन् । गुरलीन कौरले ३२ औं मिनेटमा भारतका लागि पाँचौं गोल गर्दा पर्ल फर्नान्डेजले ४३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेकी थिईन् । पहिलो हाफमै भारतले खेलमा ६–० को अग्रता बनाएको थियो । दोस्रो हाफको पहिलो मिनेटमै मिन मायाको आत्मघाति गोलमा भारत ७–० ले अघि बढ्यो । गुरनाज कौरले ५८ औं मिनेटमा भारतका लागि आठौं गोल गरिन् । गुरलिन कौरले ७७ औं मिनेटमा भारतका लागि नवौं गोल गर्दा रिहन्नाले ७९ औं मिनेटमा गोल गर्दै भारतलाई १०–० को जित दिलाएकी थिईन् । भारतले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । भारत र बंगलादेशले समान ६ अंक जोडेर लिग चरणमा शीर्ष दुई भित्र अटाएका छन् । समूह चरणको अन्तिम खेलमा बंगलादेशले भुटानसँग खेल्नेछ ।
त्रिदेशीय शृंखला खेल्ने नेपाली क्रिकेट टोलीलाई सदस्य सचिव घिसिङले गरे बिदाइ
काठमाडौं । नेपाल क्रिकेट क्रिकेट संघ (क्यान)ले हङकङमा हुने त्रिदेशीय शृंखला खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ । बिहीबार काठमाडौंमा राखेप सदस्य–सचिव टंकलाल घिसिङलगायत क्यान पदाधिकारीहरूले नेपाली टोलीको बिदाइ गरेका हुन् । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिदेशीय टी–२० आई सिरिज हुनेछ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले उक्त खेलका लागि तयारी राम्रो भएको र युवा खेलाडीका लागि अवसर पनि भएको बताए । उनले हालै भएको खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै खेल प्रदर्शन गर्ने बताए । त्यस्तै, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि स्वदेशमा भएका खेलहरूका आधारमा कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताए । त्रिदेशीय शृंखलामा फागुन २७ मा नेपाल र हङकङबीच खेल हुनेछ भने नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ ।
रेशमलाई निर्वाचन आयोगले दिएन अध्यक्षको मान्यता
काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले अध्यक्षको मान्यता पाउन गरेको निवेदन अस्वीकार गरेको छ । पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदनमाथि बिहीबार आयोगले निर्णय गर्दै चौधरी ऐन, नियमावली र पार्टीकै विधान अनुसार पनि अध्यक्ष बन्न अयोग्य रहेको भन्दै अस्वीकार गरेको हो । आयोगले अदालतका फैसला, पार्टीकै विधान र अन्य कानुन र नजिरहरू समेतको आधारमा उक्त निर्णय गरेको जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐन र अदालतका फैसलाहरूले समेत फौजदारी कसुरमा परेका व्यक्ति पार्टीको सदस्य समेत हुन अयोग्य रहने व्यवस्था गरेकोले त्यस्तो व्यक्तिलाई अध्यक्षको रुपमा अद्यावधिक गर्न नसक्ने नमिल्ने आयोगको निर्णयमा उल्लेख छ । राष्ट्रपतिबाट पाएको माफी बाँकी कैद सजायका लागि मात्रै रहेको तर यो माफीले कसुरबाट चाहिँ उन्मुक्ति नमिल्ने आयोगको निर्णयको आशय छ । २०८० जेठ २ मा सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदमा रहेका उनले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट माफी पाएका थिए ।
तीन दिन मात्रै चलेर अन्त्य भयो गण्डकी संसद् अधिवेशन
पोखरा । गण्डकीको प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयलाई पठाएका छन् । फागुन १६ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन ३ दिन मात्रै चलेको छ । राजनीतिक समीकरण फेरिएपछि संसद अधिवेशन अन्त्य गर्नुलाई फरक हिसाबले हेरिएको छ ।
समीकरण परिवर्तन नेपालको आन्तरिक मामिला : भारत
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन्। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरे। ‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो’, उनले भने, ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु।’ प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए। श्रीवास्तवले नेपाल–भारत सम्बन्ध मौलिक रहेको चर्चा गर्दै उनले विगतमा जस्तै असल सम्बन्ध कायम रहने विश्वास पनि व्यक्त गरे। आपसी विश्वासका साथ सहयोग र लगानीका काम निरन्तर गर्ने उनको प्रतिबद्धता थियो।
अर्थमा वर्षमान नियुक्तिपछिको पहिलो कारोबार शेयर बजार सकारात्मक
काठमाडौं । नयाँ गठबन्धनको नयाँ अर्थमन्त्री नियुक्तिपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। गठबन्धनको बुधबार बसेको बैठकले वर्षमान पुनलाई अर्थमन्त्रीमा नियुक्त गरेको थियो। राजनीतिक अन्यौलताका बीच उतारचढाव भइरहेको नेप्से, अर्थमन्त्रीको नियुक्तिसँगै सम्हालिएको हो। बिहीबार नेप्से परिसूचक १३.५१ अंक बढेर २०३०.५५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंक बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४७ हजार ६९९ पटकको कारोबारमा ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन एक कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो। त्यस्तै, यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य सर्वाधिक ६.२१ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको करिब साढे १६ करोडको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब साढे १३ करोडको शेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो।
उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन् सङले शिष्टाचार भेट गरेका छन् । बिहीबार दिउँसो मन्त्रालयमा पुगेर राजदूत छन्ले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिए । यसअघि बिहीबार बिहानै भारतका राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेका थिए ।
नयाँ गठबन्धन निरन्तर जान्छ : सांसद पौडेल
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन निरन्तर अगाडि जाने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै उनले वर्तमान गठबन्धनलाई कसैले पनि तोड्न नसक्ने बताए । “यो गठबन्धन बाँकी चार वर्ष निरन्तर जान्छ, कसैले तोड्न सक्दैन । हिजो तोडेर गल्ती भयो, मुलुकले स्थायित्व प्राप्त गर्न सकेन”, सांसद पौडेलले भने, “मुलुकलाई स्थायित्व दिन फेरि गठबन्धन गरेका छौँ ।” वर्तमान गठबन्धनमा लामो राजनीतिक अनुभव प्राप्त गरेका तथा आलोचक भएर सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउँदै आएका दल सहभागी रहेको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले तीव्र गतिका साथ काम गर्ने विश्वास व्यक्त गरे । “वर्तमान सरकार कानुन निर्माण तथा मुलुकले भोग्दै आएको समस्या समाधान गर्न सक्षम हुनेछ”, सांसद पौडेलले भने, “राष्ट्र निर्माण गर्ने जिम्मेवारी दलहरुको काँधमा छ, मुलुकको समृद्धि तथा साझा मुद्दामा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्छ ।” रासस
दावा छिरिङलाई नागरिकता दिलाउने अधिकृत अर्याल पक्राउ
काठमाडौं । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई नागरिकता दिलाउने एक अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेमा कार्यरत रामचन्द्र अर्याललाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको हो । उनी हाल वागमती प्रदेशसभा सचिवालय हेटौँडामा छैटौँ तहका अधिकृतका रूपमा कार्यरत छन् । उनलाई हेटौँडाबाटै पक्राउ गरिएको काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । गएको साउनमा ६० किलो सुन तस्करीको आरोपमा पक्राउ परेका दावाले काभ्रेबाट नागरिकता लिएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो । दावाले निमा तामाङका नामबाट ०७४ पुस २० गते नागरिकता लिएका थिए । अधिकृत अर्यालसँगको मिलोमतोमा नागरिकता लिएको खुलेपछि उनी पक्राउ परेका हुन् । दावाले नागरिकता लिँदा सनाखत गर्ने अर्का अधिकृत अझै फरार छन् ।
जसपाका तीन मन्त्रीले आज शपथ लिदै
काठमाडौं । जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ। पार्टीको बिहीबार बिहान बसेको कार्यकारिणी समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो। एमाले-माओवादी-रास्वपा र जसपा मिलेर बनेको नयाँ गठबन्धन सरकारमा अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी हुने भएका हुन्। यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या, नवलकिशोर शाह वन तथा वातावरण, स्वास्थ्य राज्यमन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय भएको जसपाका एक नेताले बताए। यी मन्त्रीहरुले आज शपथ लिदैछन् । समय प्रतिनिधिसभाको बैठक कति लम्बिनेछ सो अनुसार तय हुनेछ । गत सोमबार नयाँ सत्ता गठबन्धन बनेसँगै बिहीबार पुनर्गठन भएको मन्त्रिपरिषदमा जसपासँगै सरकारमा सहभागी हुने दलको संख्या पाँच पुगेको छ।
कांग्रेसमा बेचैनी र छटपटी देखियो : एमाले
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नयाँ सत्ता समीकरणलाई सहज र स्वभाविक परिघटनाका रुपमा लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधका क्रममा छटपटी र बेचैनीले कहीँ नपुर्याउने बताउँदै संविधान सम्बत भएका गतिविधिलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका हुन्।नयाँ सत्ता गठबन्धन निर्माणपछि पहिलोपटक बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आसन फेरिएपछि सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसबीच घोचपेच भएको हो। ‘यो तहको पीडा, छटपटी, आक्रोश व्यक्त गर्न आवश्यक थिएन। यसलाई सहज र स्वाभाविक रुपमा लिनका लागि, संवैधानिक पहलका रुपमा लिन आग्रह गर्न चाहन्छु,’ पौडेलको भनाई थियो। आगामी निर्वाचनम यस्तै परिदृश्य नदोहोरिने भन्दै उनले जनताको विश्वास जित्न सक्नेगरी अघि बढ्नुपर्ने बताए। ‘छटपटी र बेचैनीले कहिँ पुर्याउँदैन। यो अभ्यासलाई सहज र सामान्य रुपमा लिऔँ,’ उनले भने।
यही व्यवस्थामा पनि बहुमत आउन सक्छ : पौडेल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै संबैधानिक व्यवस्थाबाट पनि कुनै एक दलको बहुमत आउन सक्ने बताएका छन् । प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले एउटै पार्टीको बहुमत आउन कठिन भएपनि असम्भव नरहेको बताए । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकको भनाई प्रति लक्षित गर्दै पौडेलले भने, ‘हेर्दै जानुहोला, आगामी दिनमा बहुमत आउनेछ ।’ नेपाली काङ्ग्रेसले नयाँ गठबन्धन बनेको प्रति चाहिने भन्दा बढि बेचैनी देखाएको भन्दै उनले धेरै नआत्तालिन सुझाब पनि दिए । उनले भने–‘कि संविधानमा नै काङ्ग्रेस भन्दा बाहिर अर्को गठबन्धन नहुने लेख्नुप¥यो, होइन भने यो संविधानसम्मत विकल्प हो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।’ नेता पौडेलले चार दलको बीचमा भएको आठ बुँदे सहमतिपछि काङ्ग्रेसले प्रधानमन्त्रीको पद किस्तीमा राखेर बाँड्दै हिडेर छटपटी र बेचैनी देखाएको आरोप लगाए । इतिहास कहिल्यै पनि सेलरोटी जस्तो नघुम्ने भन्दै उनले अहिले सुरु भएको सहयात्राले प्रतिनिधिसभाको यो कार्यकाल पुरा गर्ने बताए । उनले यो सरकार दुर्घटनामा परोस् भनेर सपना नदेख्न पनि आग्रह गरे ।
रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताएका छन्। संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कुटनीतिक दबाब बढाइएको स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने र युक्रेनी सेनाले बन्धक बनाएका नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीसँग संवाद भइरहेको जानकारी गराए। “पछिल्लो समयमा क्षतिपूर्ति र विमा रकम नेपाली राजदुतावासको खातामा जम्मा गरी कन्सुलर सेवा विभागमार्फत् पीडित परिवारलाई उपलब्ध गराउन रूस सरकार सहमत भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अध्ययन छात्रवृति तथा पेशा व्यवसायमा संलग्नबाहेकका नागरिकले रूस यात्रा गर्नु परे ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ ।”

