सालकको खपटासहित तीनजना पक्राउ

धादिङ, कात्तिक ८ । धादिङको आदमघाटमा प्रतिबन्धित सालकको खपटासहित लिएर हिँडिरहेको अवस्थामा तीनजनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिक्रीका लागि गाउँबाट लैजाँदै गर्दा गजुरी गाउँपालिका अन्तर्गत आदमघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका–७ का झंकबहादुर अधिकारी, भीमबहादुर पण्डित र रामजी भुजेल रहेका छन् ।

लोपोन्मुख जनावरको खपटा बोकेको आरोपमा पक्राउ परेकालाई वन्यजन्तु ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

बस पार्किङ गर्न पाउनुपर्ने माग गर्दै कार्यालय घेराउ

कैलाली, कार्तिक १ । कैलालीको धनगढीमा रहेको बसपार्क व्यवस्थित हुनुपर्ने र आफूहरुले बस पार्किङ गर्न पाउनुपर्ने माग गर्दै यहाँका तीन वटा बस व्यवसायी समितिले धनगढी उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् । कर्णाली रिभर, बडिमालिका र कैलाली यातायात व्यवसायी संघले उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । हालको बसपार्कको दुर्दशाले दुर्घटनाको जोखिम निम्त्याउनुका साथै बजार नै अस्तव्यस्त भएको उनीहरुको आरोप छ । व्यवसायीहरुले बसपार्कलाई व्यवस्थित बनाउँदै व्यवसायीहरुले बसपार्क शीघ्र व्यवस्थित हुनुपर्ने माग गरेका छन् । कर्णाली रिभर, बडीमालिका र कैलाली यातायात व्यवसायी संघले बसपार्क व्यवस्थित गर्दै पार्किङ अनुमति दिनुपर्ने माग गरे । उनीहरुले उपमहानगरपालिका र ठेकेदार विच भएको सम्झौता अनुसार काम नभएको आरोपसमेत लगाएका छन् । सम्झौताको पत्रको १९ नं. बुदामा उल्लेख गरेको व्यवस्था लागू नभएकाले त्यसको कार्यान्वन स्वरुप उपमहानरपालिका परिसरमा दबाब मुलक कार्यक्रम गरेको कणाली रिभर यातायात व्यवसायी समिति धनगढीका संयोजक जनक धामीले बताए । उपमहानगरपालिका र ठेकेदारविच भएको सम्झौता कार्यान्वन नभएमा कडा आन्दोलनमा उत्रिने यातायात व्यवसायीले चेतावनी दिएका छन् । हालको बसपार्कले सवारीसाधनको भार थेग्न निकै मुस्किल भइरहेकाले छिटो बसपार्कको सुधार हुनुपर्ने समेत उनीहरुले माग गरेका छन् । अहिलेको बसपार्कमा सबै यातायात व्यवसायी समितिका सवारी साधन नअट्ने भएकाले शिघ्र बसपार्कको स्तरन्नती हुनुपर्ने माग रहेको बडिमालीका यातायात व्यवसायी संघका महासचिव दिलबहादुर खलौलालेृ बताए । एउटा यातायात व्यवसायी समितिले मात्रै एकलौटी बसपार्क चलाएकाले बसपार्कको सुधार गरेर सबै यातायात व्यवसायी समितिले सवारी साधन राख्न पाउनुपर्ने उनको भनाई छ । अहिले सुदूरपश्चिम यातायात व्यवसायी समितिले मात्रै बसपार्क चलाएको छ । यता उपमहानगरपालिका कार्यालयले बसपार्क सुधारका लागि प्रक्रिया अघि बढिरहेको बताएको छ । यही कार्तिक ७ गते बसपार्कको सुधारका लागि बैठक बसेर यो समस्या समाधान हुने उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताए । केही दिनअघि धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा अस्थायी बसपार्क निर्माण गर्ने योजनासहित सिलान्यास पनि गरियो । तर, नेपाली सेनाले निर्माण कार्यमा अवरोध गरेपछि त्यस क्षेत्रमा अस्थायी बसर्पाक बन्ने नबन्ने टुङ्गो लाग्न सकेको छैन । उपमहानगरपालिकाले भने उक्त क्षेत्रमा बन्ने अस्थायी बसपार्कको कार्य छिट्टै अघि बढ्ने उपमहानगरपालिकाका मेयर वडको दाबी छ । यातायात व्यवसायीले पनि सबै समितिले एउटै बसपार्क संचालन गर्न पाउनु पर्ने माग गरेका छन् । त्यसका लागि हालको बसपार्क स्तरन्नती गर्नु पर्नेमा जोड दिएका छन् ।

कुकुर तिहार: नरक चतुर्दशी मनाइयो

काठमाडौँ, कात्तिक १ । यमपञ्चकको दोस्रो दिन आज बिहान अरुणोदय कालमा नरक स्नान गरी यम दीप दान गरियो । कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान सबेरै उठेर नजिकको नदी, पोखरी वा तलाउ गई नरक स्नान गरी तर्पण गरेर यम दीपबाली दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताउनुभयो । कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान नदी, ताल तलाउमा बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यसै कारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । आजै घर घरमा इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर मनाइयो । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कूल परम्पराअनुसार कसैले कुकुरलाई पूजा गरेर मीठो खान दिन्छन् भने कतिपयले मीठो खान दिने गर्छन् । शास्त्रीय रुपमा काग र कुकुरलाई मीठो खान दिने उल्लेख भए पनि पूजा गर्नुपर्ने कुरा नलेखिएको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने विश्वास समेत छ । वैवस्वत् मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ ।

आँधीखोलामा तीन लाख माछाका भुरा छाडियो

स्याङ्जा, कात्तिक १ । गल्याङ नगरपालिकामा पर्ने आँधीखोलामा तीन लाख माछाका भुरा छाडिएको छ । आँधीखोला मत्स्य विकास सहकारी संस्था, मस्त्य कृषि अनुसन्धान परिषद् र नेपाल विद्युत् प्राधिकरणको सहयोगमा माछाका भुरा छाडिएको आँधीखोला मत्स्य विकास सहकारी संस्थाका कार्यबाहक अध्यक्ष छविलाल भुसालले जानकारी दिनुभयो । कालीगण्डकी मत्स्य ह्याचरीद्वारा उत्पादित नेपाल विद्युत् प्राधिकरणको अनुदानमा करिब रु ४५ लाखको लागतमा हाँडे, गर्दी र थ्रेड जातका माछाका भुरा छाडिएको हो । कालीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा पर्ने भएकाले वर्षेनी यस क्षेत्रमा माछाका भुरा अनुदानमा प्राप्त हुँदै आएको छ । कालीगण्डकी मत्स्य ह्याचरी बेल्टारीले वर्षेनी आठ लाखदेखि दश लाख माछाका भुरा उत्पादन गरी परियोजनाको प्रभावित क्षेत्रमा वितरण गर्दै आएको छ । गल्याङ नगरपालिका– ३ र ११ मा पर्ने आँधीखोलामा बुटवल पावर कम्पनीको जलाशयबाटमाथि डेढ लाख र जलाशयभन्दा तल डेढ लाख माछाका भुरा छाडिएको छ । गत वर्ष पनि सोही स्थानमा दुई लाख १० हजार भुरा छाडिएको थियो । आँधीखोलामा करेन्ट लगाएर, विष प्रयोग गरेर र बारुद हालेर माछा मार्ने गरेकाले गल्याङ नगरपालिकाले यस सम्बन्धी छुट्टै नीति बनाउने भएको छ । आँधीखोलाको पर्यावरणीय, जैविक विविधतालाई जोगाइ राख्न जनचेतनामूलक कार्यक्रम तथा यसको संरक्षणका लागि निश्चित संघ संस्थालाई जिम्मा लगाउन सकिने छ ।

लडेर कामदारको मृत्यु

लहान, कात्तिक १ । सिरहाको गोलबजार नगरपालिका–९ स्थित मारुती सिमेन्ट फ्याक्ट्रीमा कार्यरत एक कामदार लडेर मृत्यु भएको छ । विद्युत् मर्मत गर्ने क्रममा लडेर मारुती सिमेन्ट फ्याक्ट्रीमा कार्यरत कामदार मोरङको विराटचोक निवासी २० वर्षीय मनिस चौधरीको मृत्यु भएको हो । विद्युत् मर्मत गर्ने क्रममा लडेर गम्भीर घाइते भएका चौधरीको सिरहाको कर्जन्हास्थित फूलकुमारी मिमोरियल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुमा आगलागी, चारलाख बराबरको नोक्सान

कपिलवस्तु, कात्तिक १ । कपिलवस्तुको यशोधरा गाउँपालिका–४ पोखरभिटवामा आगलागी हुँदा मोहम्मद रसिदको घरगोठ जलेर नष्ट भएको छ । आज बिहान ४ बजेतिर आगलागी भएको थियो । आगोबाट मानवीय क्षति नभएको तर घरमा भएको तीनतोला सुन, २० हजार नगद, पाँच सेट मोबाइल, खाद्यान्न, लत्ताकपडा गरी लगभग रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । मोहम्मदका छोरा कादिर खानका बिहेका लागि ल्याइएका लत्ताकपडा र अन्य भाडा समेत आगलागीमा जलेका हुन् । आगलागीबाट गोठमा रहेको एउटा गोरु मारेको छ भने तीन वटा गोरु घाइते भएका छन् । फुसको छानो भएको गाईवस्तुको गोठमा धुवाँले लामखुट्टे भगाउनको लागि परालमा आगो बालिएको र त्यही आगोबाट आगलागी भएको स्थानीय अनिल मालीले जानकारी दिएका छन् । स्थानीयको प्रयासमा बिहान ८ बजेमात्र आगो नियन्त्रणमा आएको थियो ।

बलात्कार गरेको अारोपमा एक युवक पक्राउ

भोजपुर, कात्तिक १ । बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो । सोही गाउँकी १७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा परिवारले दिएको उजुरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । मंगलबार पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डोटीमा बस दुर्घटना २ जनाको मृत्यु २४ घाइते

डोटी, असोज ३१ । डोटीको जोरायल गाउँपालिका–१ घोरणीमा दुईवटा बस एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार भएको उक्त दुर्घटनामा २५ जना घाइते भएका छन । भने घाइते मध्ये १४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा देहिमान्डौं बैतडीकी ८० वर्षीया द्रौपती भण्डारी र पर्शुराम नगरपालिका–१४ का विक्रम बोहरा रहेको प्रहरीले जनाएको छ । डडेल्धुरा सदरमुकामबाट जोगबुडा जाँदै गरेको उग्रतारा यातायातको ना४ख ६८५६ र महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना५ख ६०८१ नम्बरका बस मंगलबार मध्याह्न १२ बजेतिर ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।

जनता आवासअन्तर्गत मोरङमा सातसय घर

विराटनगर, असोज ३१ । अतिविपन्न परिवारका लागि जनता आवास कार्यक्रमअन्तर्गत मोरङमा सातसय घरको निर्माण कार्य सम्पन्न भएको छ। नेपाल सरकारद्वारा गत आर्थिक वर्षमा आठसय घर निर्माण गर्नुपर्नेमा सातसयको निर्माणकार्य सम्पन्न भएको र एकसय घरको निर्माण कार्य अन्तिमचरणमा पुगेको सहरी विकास तथा भवन निर्माण विकास डिभिजन कार्यालय, विराटनगरले जनाएको छ । प्रत्येक घर निर्माणका लागि रु दुई लाख १४ हजार खर्च गरिएको सो कार्यालयका प्रमुख श्यामकिशोर सिंहले जानकारी गराउनुभयो । खासगरी विपन्न दलित र मुसलमानलाई जनता आवास कार्यक्रममा छनोट गरिएको छ । परिवारको सदस्य, जग्गाको अवस्था, व्यक्तिगत जग्गा, ऐलानी जग्गालगायत विभिन्न प्रकारका निर्धारण गरिएका मापदण्डअन्तर्गत परिवार छनोट गरिएको उहाँले बताउनुभयो । बुधनगर, विराटनगर, जहदा, मझारे, भौंराहा, कटहरि, डाइनिया, आमगाछी, बाहुनी, अमरदह, कोशीहरँैचा, टाँडीलगायतका गाउँका अतिविपन्न परिवारका लागि भवन निर्माण गरिएको बताइएको छ । सोहीअनुरुप सुनसरी जिल्लामा पनि आठसय घर निर्माण कार्य सम्पन्न भइसकेको कार्यालय प्रमुख सिंहले जानकारी गराउनुभयो।

मागभन्दा बढी म्यादी प्रहरीमा तेब्बर अावेदन दर्ता

तनहुँ, असोज ३१ । जिल्ला प्रहरी कार्यालयमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरीका लागि सोमबार अन्तिम दिनसम्म मागभन्दा तेब्बर व्यक्तिले आवेदन दिएका छन् । नौसय म्यादी प्रहरीका लागि दर्खास्त आह्वान गरिएकामा अन्तिम दिनसम्म दुई हजार ७०० जनाले आवेदन दिएका हुन् । अन्तिम दिन बिहान ७ बजेदेखि लाइनमा बसेका युवा–युवतीले साँझ ७ बजेसम्म लाइनमा बसेर फाराम बुझाएका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । कार्यालय समय दिउँसो ५ बजेसम्म भए पनि आएर लाइन बसेका सबैको फाराम लिनका लागि साँझ अबेरसम्म प्रहरी खटाइएको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो । तनहुँबाट करिब ९०० जनाको आवेदन लिन सकिने व्यवस्था रहे पनि बेरोजगारको समस्याका कारण म्यादी प्रहरीमा फाराम भर्ने मानिसको भीड लागेको कार्यालयले जनाएको छ । यसअघि स्थानीय तहको निर्वाचनका लागि तनहुँ जिल्लाबाट ७८८ जनालाई भर्ती गरिएको थियो ।

यस्ताे छ प्रदेश र प्रतिनिधि सभामा मतदान गर्ने सहि तरिका (भिडियाेसहित)

काठमाडौं, असोज ३१ । निर्वाचन अायाेगले अाउँदाे प्रदेश र प्रतिनिधि सभामा मतदान गर्ने सहि तरिकाबारेमतदाताहरुलार्इ मतदाता शिक्षा दिर्इरहेकाे छ । कसरी मत दिँदा मत बदर हुँदैन त ? भिडियाे मै हेराैँ ….. https://www.facebook.com/prakash.dahal.522/videos/1624272767630072/ 

अबदेखि ठमेल सवारीमुक्त क्षेत्र !

काठमाडौं, असोज ३१ । प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई कात्तिक ५ गतेदेखि सवारी साधनमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा अत्यावश्यक सवारी साधनबाहेक ठमेल क्षेत्रमा अरु सवारी साधनलाई प्रवेशमा कडाइ गरिने जानकारी दिइएको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई कडाइ गर्न लागिएको जानकारी दिए । ‘अत्यावश्यक सवारी साधनलाई ठमेलभित्र जान आउनका लागि पासको व्यवस्था गर्न लागेका छौँ,’ प्रमुख खनालले भने । ठमेलभित्र जाने सवारी साधनले त्रिदेवी मार्गबाट मात्र जान पाउने, ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने सवारी साधनलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत राखिने, ठमेलभित्र भएका होटलमा आवश्यकतानुसार सवारी साधनको व्यवस्था गरिने भएको छ । यसैगरी ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । महाशाखा प्रमुख खनालले ठमेलभित्र धेरै धुवाँ निकाल्ने सवारी साधन, हर्न बजाउने सवारी साधन र जथाभावी चलाउने सवारी साधनलाई विशेष निगरानी गरी कडा कारबाही गरिने बताए । उनले सवारी साधनको कडाइसँगै यस क्षेत्रमा हुने आपराधिक घटनामा समेत कमी आउने उल्लेख गरे । सम्मेलनमा कामनपा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालले ठमेललाई व्यवस्थित शहरका रूपमा विकास गर्न महानगरपालिकाले महाशाखासँग मिलेर उक्त अभियान चलाउन लागेको बताए । ठमेल नागरिक समाजका प्रतिनिधि विश्वम्भरलाल प्रधानले ठमेलभित्र ट्राफिक व्यवस्थापनमा कडाइ भए स्थानीयवासी र विदेशी पाहुनालाई हिँडडुलमा सहज हुने बताए । महाशाखाले ठमेल क्षेत्रलाई विश्वकै नमूना शहर बनाउन विभिन्न समिति बनाएर काम शुरु गरेको छ । ठमेल क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १६, १७, २६ र २८ वडा पर्छन् ।

यी हुन् १८ युवतीको जीवन बर्बाद गर्ने युवक

हेर्दा सोझो र सुन्दर देखिने यी युवकको अनुहार मात्र हेरेर यिनलाई मूल्यांकन नगर्नुहोला । हेर्दा सिधासादा देखिने यी युवकले १८ युवतीको जीवन बर्बाद पारिसकेका छन् । यी युवकलाई प्रहरीले गिरफ्तार गरेपछि यस्तो रहस्य खुलेको हो । यी युवक भारतको उत्तर प्रदेश इलाहाबादका हुन् । उनीमाथि फेसबुकमा फरक फरक नामबाट आइडी बनाएर युवतीहरुलाई फसाउने, बलात्कार गर्ने र पछि उनीहरुलाई ब्ल्याकमेल गरेको आरोप छ । पछिल्लो पटक एक सरकारी कर्मचारीकी श्रीमतीलाई फसाएर ब्ल्याकमेल गर्दा उनी पक्राउ परेका हुन् । प्रहरीले उनलाई पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा निकै आश्चर्यजनक तथ्यहरु खुलेका छन् । अहिलेसम्म यी युवकले १८ युवतीलाई फसाइसकेका छन् । तीमध्ये ३ इलाहाबादकै हुन् । यी युवकको वास्तविकता थाहा पाइसकेपछि पनि उनीहरुले बदनामीको डरले चुपचाप बसेका थिए । पछिल्लो समय उनले ब्ल्याकमेल गरेकी जर्ज टाउनकी एक महिलाको उजुरीको आधारमा प्रहरीले उनीविरुद्ध बलात्कार, ब्ल्याकमेलिङ, साइबर क्राइम र जालसाजीको अभियोगमा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएको छ । इलाहाबादका शहनवाज अहमद नामका यी युवक बीएसम्म पढाइ पूरा गरेपछि घरमै बस्थे । शहनाज ७–८ महिना पहिले गुजरात गएका थिए । त्यहाँबाट उनले गुजरातको एक सिमकार्ड लिए । त्यही मोवाइल नम्बरबाट उनले फेसबुकमा अर्पित शर्मा, इशान्त शर्मा र शहनवान नामका आइडी बनाए । त्यसपछि इन्टरनेट र मोवाइलका जानकार शहनवाज मोवाइल एपको माध्यमबाट युवतीहरुलाई फसाउन थाले । अगष्ट २०१७ मा शहनवाजले जर्जटाउनकी एक सरकारी कर्मचारीकी श्रीमतीसँग फेसबुकमा मित्रता गरे । उनले ती महिलालाई आफू विदेशमा व्यवसाय गर्ने र त्यहाँ भारतीय महिलाको आवश्यकता भएको बताए । फेसबुकमा च्याटमा गफ गर्दा गर्दै विस्तारै उनले ती महिलालाई आफ्नो जालमा फसाए । व्यवसायसँग सम्बन्धित कुरा गर्ने बहानामा उनले ती महिलालाई अर्पित शर्मा बनेर भेट्न पार्कमा बोलाए । त्यहाँ ती महिलालाई बलात्कार गरेर अश्लील भिडियो बनाए । त्यसपछि आफ्ना साथीसँग पनि यौन सम्बन्धको लागि दवाव दिइरहेका थिए । ती महिलाले अस्वीकार गरेपछि उनी निकै रिसाए । भिडियो भाइरल गरिदिने र श्रीमानलाई भिडियो पठाइदिने धम्की दिन थाले । त्यसपछि मलाई डराएर उनले भनेको मान्न थालिन् । महिलालाई जब शहनवाजको वास्तविकता थाहा भयो उनी निकै चकित परिन् । उनले एसपी र एसपी क्राइमसँग भेटेर मद्दत मागिन् । साथै प्रहरीमा उनले आफूले न्याय नपाए आत्महत्या गर्ने बताइन् । एसपी क्राइमले जाँचको लागि साइबर सेललाई खटाए । आइपी एड्रेसको सहयोगले शहनवाजलाई केही दिनमै प्रहरीले गिरफ्तार गर्यो । अनुसन्धानमा यो खुलेको छ कि शहनवाज केवल हिन्दू युवतीलाई मात्रै रिक्वेष्ट पठाउँथे । उनको जालमा अहिलेसम्म इलाहाबादका ३ सहित झण्डै १८ युवती फसेका छन् । उनले १८ मध्ये १४ युवतीलाई बलात्कार गरेको स्वीकारेका छन् ।

१६ केजी पटाकासहित चारजना पक्राउ

काठमाडौं, असोज ३१ ।  प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट १६ केजी पटाकासहित चारजनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा –१० स्थित ट्याम्पोपार्क, हेटौंडा–४ स्थित हुप्रचौर र शितलमहल चोकबाट १६ केजी पटाका बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगर –९ बस्ने वर्ष २४ का अशीष साह, हेटौंडा –१ बस्ने २६ वर्षीय किसान बानियाँ, हेटौंडा –४ बस्ने ५५ वर्षीया शशि सिलवाल र मकवानपुरको मनहरी गाउँपालिका –५ बस्ने २७ वर्षीय राम लामिछाने छन् । प्रहरीका अनुसार रकेट, बम, चक्र, फूलझरी पटाका, सानो फूलझरी पटाका, नागिन पटाका, राधेचक्र पटाका तथा अन्य विभिन्न किसिमका पटाकाहरू गरी करिब १६ किलो पटाका बरामद गरिएको छ । तिहार र छठलगायत पर्वमा हुनसक्ने पटाकालगायत विष्फोटक पदार्थ जिल्ला भित्रन नदिन मकवानपुर प्रहरीले नाकामा उच्च सुरक्षा सर्तकता अपनाएको छ । विशेष गरी भारत तथा तराईका जिल्ला हुँदै पटाकालगायत विष्फोटक पदार्थ भित्रने गरेको भन्दै प्रहरीले कुकुर प्रयोग गरी सवारी चेकिङ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले क्षणिक रमाइलोका लागि गरिने यस्ता गतिविधिले आगलागीलगायत दुर्घटना हुने गरेको र पटाका पड्काउँदा निस्किने गन्धले स्वास्थ्यमा समेत नकारात्मक असर पुर्याइरहेको बताए । प्रहरीले रातोमाटे चेकपोष्टमा कुकुर राखेर राजमार्ग चेकिङ गरिरहेको उनले जानकारी दिए । अन्य स्थानमा समेत आवश्यक चेकिङ भइरहेको जानकारी दिँदै एसपी खनालले सभ्य तवरले चाडपर्व मनाउन अनुरोध गरे । पटाका बेच्नसक्ने सम्भावित व्यापारीलाई प्रहरीले विशेष निगरानी राखिरहेको उनले बताए ।

जुवाको खालमा प्रहरीको छापा, साढे २ लाखसहित ७ जना पक्राउ !

काठमाडौं, असोज ३१ । गुल्मी प्रहरीले सदरमुकामको एक जुवाको खालमा छापा मारेको छ । रेसुंगा नगरपालिका ८ खानीगाउँका रमेश श्रीसको घरमा लुकिछिपी जुवा खेलिरहेका सात जनालाई पक्राउ गरेको छ । रेसुंगा नगरपालिका ८ का ३३ वर्षीय तारा श्रीस, ३२ वर्षीय हरिशचन्द्र थापा, ३५ वर्षीय रमेश श्रीस, ३२ वर्षीय लक्ष्मण थापा, ३१ वर्षीय तुल्सी पहराई, धुर्कोट गाउँपालिका ३ का ३० वर्षीय मेयरसिंह बिष्ट र अर्घाखाँची छत्रदेव गाउँपालिका ८ का ३४ वर्षीय छत्र थापा पक्राउ परेको प्रहरी जनाएको छ । जुवाको खालबाट दुई लाख सन्ताउन्न हजार पाच सय सन्तानव्वे रुपैयाँ समेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताए । लुकिछिपि जुवातास खेल्ने खेलाउने गरेको विशेष सुराकीको आधारमा प्रहरी नायव उपरीक्षक थापा सहितको प्रहरी टोलीले श्रीसको घरमा खानतलासी गरेको थियो । पक्राउ परेकाले सवैलाई जुवा ऐनं २०२० अनुसारको कारवाही हुने थापाले बताए ।

तिहारलाई मालाकाे भर पनि भारतकै

काठमाडौं, असोज ३१ । सयपत्री फुलको व्यावसायिक खेती रुपन्देहीमा नहुँदा त्यसका लागि रुपन्देहीबाट बार्षिक करोडौं रुपैयाँ भारततिर जाने गरेको  छ । सयपत्री फुल तिहारमा अत्यधिक प्रयोग हुन्छ भने अन्य समयमा पनि बढी प्रयोग हुने गरेको छ । जिल्लामा उत्पदान हुने सयपत्रीलगात अन्य फुलहरुले यहाँको माग धान्न सकने अवस्था नरँहदा व्यवसायीहरुले बाध्य भएर भारतबाट आयत गर्नु परिरहेको लुम्बिनी फ्लोरिक्लचर एसोसिएनका संस्थापक तथा फ्लोरिकल्चर व्यवसायी रमेश पाण्डेले बताए । तिहारमा लक्ष्मीपुजा, भाईटीकाको दिनअधिक प्रयोजनमा आउने सयपत्री फुलको माला अहिले अन्य समयमा पनि अत्यधि प्रयोग हुँदै आईरहेको छ ।, कारोवारमा  खबर छ ।