यी हुन् अठार पुरुषबीच एक्ली महिला उम्मेदवार

खोटाङ, कात्तिक १४ । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ । जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो ।

विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद बन्नुभएकी बजिमय नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन् ।

बजिमयसँगै काँग्रेस, नेकपा (एमाले) – नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, नेकपा (माले), राप्रपा (प्रजातान्त्रिक), एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), राष्ट्रिय जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १९ जना उम्मेदवार रहेका छन् ।

विभिन्न औपचारिक कार्यक्रममा महिलाको अधिकार र सहभागिताका पक्षमा चर्को भाषण गर्ने दलले निर्वाचनमा उठाउने क्रममा भने महिलालाई उपेक्षा गरेका छन् ।

निर्वाचनमा जिल्लाबाट प्रतिनिधि सभाका लागि १० र प्रदेश सभाका लागि नौजनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काँग्रेस निकट महिला संगठनबाट २०३६ सालदेखि राजनीति शुरु गरेकी बजिमय महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला विभागको केन्द्रीय सदस्यलगायतको भूमिका निर्वाह गरिसकेकी छिन् ।

उम्मेदवारी हालेसँगै चुनावी अभियानमा होमिनुभएकी बजिमयको आगामी निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार विशाल भट्टराईसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधि सभा सदस्यमा बजिमयले टिकट पाए पनि प्रदेश सभामा कुनै पनि दलले महिला नेत्रीलाई दिएका छैनन् ।

दलको भरपर्दो खम्बाका रुपमा काम गरिरहेका बेलामा अवसर आउँदा भने पाखा लगाइएपछि महिला नेत्रीहरु असन्तुष्ट बनेका छन् ।

प्रदेश सभामा दुई र प्रतिनिधि सभामा एक क्षेत्र रहेको जिल्लामा सबै राजनीतिक दलले आ–आफ्नो चुनावी अभियान शुरु गरिसकेका छन् ।

चुनावी अभियानमा होमिएका दलहरु अहिले गाउँ–गाउँमा पुगेर आफ्नो पक्षमा मतदाता तान्ने कसरतमा रहेका छन् ।

वाम गठबन्धन लोकतान्त्रिकभन्दा ७ हजार मतले म्याग्दीमा अगाडि

म्याग्दी, कात्तिक १३ । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरू तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधि सभाको एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एमाले र माओवादी तथा नेपाली काँग्रेस र राप्रपाले तालमेल गरेपछि कडा चुनावी प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधि सभाका लागि एमाले माओवादीका साझा उम्मेदवार भूपेन्द्रबहादुर थापा र काँग्रेस राप्रपाको प्रजातान्त्रिक गठबन्धनको तर्फबाट काँग्रेसका खम्बिर गर्बुजा चुनावी मैदानमा छन । प्रदेश सभाको क्षेत्र नं १ मा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता विनोद केसी र प्रजातान्त्रिक गठबन्धनका राप्रपाका केन्द्रीय सदस्य भीमप्रसाद गौचन उम्मेदवार बनेका छन । प्रदेश सभाको क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेकी नरदेवी पुन र प्रजातान्त्रिक गठबन्धनबाट काँग्रेसका अमलाल फगामी चुनावी मैदानमा उत्रिएका छन । एमालेकी पुन पूर्व राज्यमन्त्री हुनु । तीन सिटका लागि १२ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा वाम र लोकतान्त्रिक गठबन्धनबीच हुने देखिएको छ । प्रतिनिधि सभामा वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका एमालेका वैकल्पिक केन्द्रीय सदस्य थापा जिविसको पूर्व उपसभापति हुनु । जिल्लाभर मतदाता संख्या ७५ हजार ५३८ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले १६ हजार ९८२, राप्रपाले ६६०, एमालेले १८ हजार ९३८ र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले पाँच हजार ७०७ मत ल्याएका थिए । नेपाली काँग्रेस म्याग्दीका सभापतिसमेत रहेका उम्मेदवार गर्बुजा विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नवराज शर्मासँग तीन हजार ४४६ मत अन्तरले पराजित भएका थिए । बेनी नगरपालिका–१ रत्नेचौरका थापा राष्ट्रिय राजनीतिमा पुग्न सफल जिल्लाका सीमित नेता मध्येमा पर्छन भने रघुगंगा गाउँपालिका–४ दग्नामका गर्बुजा बेलायती सैनिकबाट अवकाशपछि राजनीतिमा सक्रिय छन । । गत वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जिल्लामा रहेका ४५ वटा वडाका अध्यक्षका उम्मेदवारले पाएका मतलाई आधार बनाउँदा म्याग्दीमा वाम गठबन्धन प्रजातान्त्रिकभन्दा सात हजार मतले अगाडि छ । एमाले माओवादी आफ्नो जनमत सुरक्षित गराउन र काँग्रेस र राप्रपाका मतदातालाई आकर्षित गर्ने कसरतमा जुटेका छन् । स्थानीय तह निर्वाचनमा ७१ हजार ४६३ जना मतदाता रहेकामा आसन्न निर्वाचनका लागि चार हजार ७५ मतदाता थपिएर जिल्लाभर मतदाता संख्या ७५ हजार ५३८ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले १६ हजार ९८२, राप्रपाले ६६०, एमालेले १८ हजार ९३८ र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले पाँच हजार ७०७ मत ल्याएका थिए । बेनी नगरपालिकाको प्रमुख, रघुगंगा, अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र मालिका गाउँपालिकाको अध्यक्ष जितेको काँग्रेसले विगतको तुलनामा संगठन बलियो भएको र जनमत बढेकाले आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने उम्मेदवार गर्बुजाले बताए । स्थानीय तह निर्वाचनमा काँग्रेससँग तालमेल गरेको माओवादीसँग यसपालि आफ्नो तालमेल र बलियो संगठन भएकाले चुनाव प्रचारलाई व्यवस्थित गरे वाम गठबन्धनको बिरासत जोगिने एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । रासस

गुल्मीकाे बीरवासमा १३ जना यात्रु बोकेको माइक्रो वस भिरबाट खस्याे

गुल्मी, कात्तिक १३ । गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ बीरवास नजिक यात्रुबाहक माइक्रो वस दुर्घटना भएको छ । वुटवलबाट तम्घासकाका लागि छुटेको बा४ख ५५०१ नंम्बर माइक्रो भिरबाट तल खसेर दुर्घटना भएको तर त्यसबारेमा थप विवरण आउन बाँकी रहेको गुल्मी जिल्ला प्रहरी कार्यालयका असई शीबनारायण यावदले एभरेष्ट दैनिकलाई बताए । माइक्रोमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका बताइएको छ । उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

कम्युनिष्टहरुले कांग्रेसलाई सिध्याउन लागें : सञ्चारमन्त्री बस्नेत

भक्तपुर, कात्तिक १३ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले एक दलीय तानाशाह अन्त्यका लागि लोकतन्त्रवादी एक ठाउँमा संगठित हुनुपर्ने बताए । भक्तपुरमा नेपाली काँग्रेसका पूर्व सभापति रामबहादुर ठकुरीद्वारा लिखित आत्मवृतान्त ‘नलेखिएका इतिहास’ पुस्तकको आज लोकार्पण गर्दै उनले लोकतन्त्रको रक्षा, एकदलीय तानाशाह र अलोकतान्त्रिक गठबन्धनविरुद्ध सबै लोकतन्त्रवादीलाई एक ठाउँमा आउन आग्रह गरेका हुन । वाम गठबन्धनका नाममा नेपाली काँग्रेसलाई सिध्याउन खोज्ने दलसँग काँग्रेस विचलित नहुने उल्लेख गर्दै मन्त्री बस्नेतले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरे । उनले मुलुकको विकासमा नेपाली काँग्रेसले खेलेको भूमिकाको नेपाली जनताले उच्च मूल्यांकन गर्ने समय आएको बताए । कार्यक्रममा पूर्व उद्योग राज्यमन्त्री कञ्चन वादे श्रेष्ठ, पूर्व सांसद रामेश्वरप्रसाद ढुंगेल, पार्टी जिल्ला सभापति दुर्लभ थापालगायतले नेता रामबहादुर ठकुरीले प्रजातन्त्र स्थापनामा खेलेको भूमिका र योगदानको चर्चा गरे । रासस

निर्वाचन सार्ने हर्कत भए देश धरापमा पर्छ: अध्यक्ष यादव

विराटनगर, कात्तिक १३ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सार्ने हर्कत भए त्यो राजनीतिक रुपमा महाअपराध हुने बताएका छन् । विराटनगरमा आइतबार सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले कुनै पनि बहानामा चुनाव रोक्न वा सार्न मिल्दैन भने । अफसेट प्रेसको युगमा चारदिनमा अलग–अलग मतपत्र छाप्न सकिने भन्दै यादवले चुनाव रोक्नु भनेको मुलुकलाई धरापमा पार्नु हो भने ।

भाइको हत्या आरोपी किशोरीद्वारा प्रहरी हिरासतमा आत्महत्या

काठमाडौं, कात्तिक १२ । सिरहाको कर्जन्हा–२ मा भाइको हत्याको अरोपमा पक्राउ परेकी किशोरीले आत्महत्या गरेकी छन । १६ वर्षीया प्रियंका यादवले प्रहरी चौकीमै आत्महत्या गरेकी हुन । आफ्नो अवैध यौन सम्बन्ध लुकाउन ठूलोबुबाका छोरा भवेश यादवको कात्तिक ३ गते हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैया प्रहरीले पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । तर, मिर्चैयामा थुनुवा राख्ने ठाउँ नभएपछि इलाका प्रहरी कार्यालय बिष्णुपुर लगिएको थियो । साँझ ५ बजेतिर प्रहरीको अनुमतिमा चौकीकै बाथरुममा नुहाउन छिरेकी उनले सलको पासो लगाएर आत्महत्या गरेको बिष्णुपुर प्रहरी चौकीले पुष्टि गरेको छ । महिला थुनुवा कक्ष भित्रै बाथरुम रहेको र गर्मी भएको भन्दै नुहाउन भनेर छिरेकी यादव केहिबेर पछि नै चलेको नसुनिएपछि बाथरुमको माथिबाट हेर्दा मृत्यु भइसकेको पाइएको सिरहाका एसपी शेकर कोइरालाले जानकारी दिए । कात्तिक १ गते भैंसी चराउन गएकी प्रियङ्का र सञ्जयको शारीरिक सम्बन्ध देखेका भवेशले ‘घरमा सुनाइदिन्छु’ भनेपछि दुवैले हत्या गर्ने योजना बनाएको प्रहरी नायव उपरीक्षक बज्राचार्यले बताए। हत्या गर्ने योजना मुताविक पर्सिपल्ट कात्तिक ३ गते दुवैले ‘नर्सरीमा मोवाइल र पटाका लुकाएर राखेका छौं, लिन जाऔं’ भन्दै फकाएर वनमारा घारीमा लुकाएर राखेको धारिलो खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीले हत्या गर्न प्रयोग गरेको खुकुरीसहित दुवैलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। बन्दीपुरस्थित अक्सफोर्ड बोर्डिङ स्कूलमा कक्षा ४ मा अध्ययनरत भवेश कात्तिक ३ गते बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा दुई दिनपछि कात्तिक ५ गते अपरान्ह ४ बजे शव भेटिएको हो। हत्यामा संलग्न रहेकी प्रियङ्का बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माविमा कक्षा ८ मा पढ्दै थिइन्।

सीताराम विवाह महोत्सव मङ्सिर २ देखि

जनकपुरधाम, कात्तिक १२ । आगामी मंसिर २ देखि ८ गतेसम्म यहाँ सीताराम विवाह महोत्सव मनाइने भएको छ । गोस्वामी तुलसीदासले ‘रामायण’मा वर्णन गर्नु भएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखेको शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र रामले तीन टुक्रा पारेपछि मंसिर शुक्लपञ्चमीका दिन राम र सीताको विवाह भएको थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीरबाट नभए पनि अदृश्य रूपमा नै हुने विश्वासले हर्षाेल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुुने गरेका छन् । मिथिलामा दुलहा पक्षलाई अयोध्यावासी र दुलही पक्षलाई मिथिलावासी मान्ने चलन छ । सीतारामको प्रतीकात्मक विवाह मैथिल संस्कृतिअनुसार गर्ने परम्परा छ । जानकी मन्दिरका सहमहन्त रामरोशन दासका अनुसार महोत्सवमा मङ्सिर २ गते जनकपुर दर्शन, ३ गते फूलबारी लीला ,४ गते धनुषयज्ञ, ५ गते तिलकोत्सव, ६ गते मटकोर, ७ गते शुभविवाह र ८ गते रामकलेवाको कार्यक्रम छ ।

बस र टिप्पर ठोक्किँदा २६ घाइते

चितवन, कात्तिक १२ । यात्रुवाहक बस र टिप्पर आज बिहान ९ः१५ बजे ठोकिँदा २६ जना घाइते भएका छन् । नारायणगढबाट गोरखा जाँदै गरेको ना ५ ख ८६९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.३.ख ९०१२ नंको टिप्पर भरतपुर महानगरपालिका–१ रामनगर जंगलमा ठोकिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार घाइतेको चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये सात जना गम्भीर घाइते छन् । घाइतेमा बसका चालक र यात्रु छन् । ट्रिपर चालक फरार रहेको र उनको खोजी भइरहेको शर्माले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको करार सेवा परीक्षामा अनियमितता

काठमाडौं, कात्तिक १२ ।  कर्णालाी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको करार सेवाका कर्मचारीका लागि लिईएको परीक्षामा चरम अनियमितता देखिएको छ । असोज २१ गते लिईएको परिक्षा केन्द्रीय कार्यालय जुम्लामा हुने गरोखापत्रमा सुचना प्रकाशित भए पनि काठमाडौंको सम्पर्क कार्यालमा समेत परीक्षा लिईएको पाईएको हो । अनेरास्ववियु जुम्लाका पुर्वअध्यक्ष लोकेन्द्रराज गिरीले प्रतिष्ठान पदाधिारीले परीक्षा अमर्यादित रुपमा सञ्चालित गरिएको अरोप लगाए ।

काठमाडौं र ललितपुर महानगरका एक दर्जन कार्यालय कर्मचारी विहीन

काठमाडौं, कात्तिक १२ ।  कार्यालयमा हाजिर भएको झन्डै दुई महिना बितिसक्दा दुई महानगरपालिकाका शिक्षाका उपसचिव कार्यालय विहीन भएका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाका उपसचिवलगायत एक दर्जन कर्मचारी कार्यालय विहीन बनेका छन् । दुवै महानगरपालिकामा मेयरलाई पटक पटक जानकारी गराउँदा पनि कार्यालय उपलब्ध नगराएपछि ती कर्मचारी काम विहीन बनेका हुन् । स्थानीय सरकारले शिक्षाका २१ प्रकारका काम गर्ने अधिकारसहित गत असारमा दुई महानगरमा उपसचिव खटाएको थियो ।

‘निर्वाचन लाेकतन्त्र र साम्यवादी शासनमध्ये एक रोज्ने अवसर’

काठमाडौ‌, कात्तिक ११ । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले प्रतिनिधि र प्रदेशसभा निर्वाचन लोकतान्त्रिक एवं साम्यवादी शासन व्यवस्थामध्ये कुन उपयुक्त हो भनी छान्ने अवसर भएको बताएकी छन । गोकर्णेश्वर नगरपालिका–५ मा स्थापना भएको पृथ्वीनगर टोल सुधार समितिको शिनबार उद्घाटन गर्दै मन्त्री बस्नेतले उदार र अधिनायकवादी शासन व्यवस्थामध्ये जनताको रोजाइ कुन हो भनी हेर्ने समय आएको बताइन । निर्वाचन अघि कम्युनिष्ट पार्टीले वाम गठबन्धन बनाएर अधिनायकवादी व्यवस्था ल्याउने उद्घोष गरेपछि यस्तो माहोल बनेको उनको भनाइ थियो । “सहकारी विभागले कृषि र बहुउद्देश्यीय सहकारीलाई अनुदान दिन निवेदन आह्वान गरेको छ, कृषि एवं विविध क्षेत्रमा काम गर्ने सहकारीलाई सहयोग गर्ने नीतिबमोजिम निवेदन आह्वान गरिएको हो, युवा स्वरोजगार कोषले पनि बेरोजगार युवाका लागि सहकारीमार्फत रु दुई लाख व्यवसायका लागि प्रदान गर्छं”– मन्त्री बस्नेतले भनिन । पूर्व सांसद रामेश्वर फुयाँलले कवाडी भनी फालिएका वस्तुलाई बिक्री गरी विकास निर्माणका काममा लगाउनुपर्ने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता कृष्ण केसी, नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिका सभापति श्रीकृष्ण ज्योति, वडा नं ६ का अध्यक्ष रमेश अर्याललगायतले टोलटोलको विकास निर्माणमा समितिले योगदान गर्नुपर्नेमा जोड दिए । रासस

म्याङलुङ सडक ६ महिनापछि सञ्चालनमा

तेह्रथुम, कात्तिक ११ । वर्षाले अवरुद्ध तेह्रथुमको पूर्वी संक्रान्ति–म्याङलुङ सडक खण्ड छ महिनापछि सञ्चालनमा आएको छ । सवारीसाधन सञ्चालनमा आएपछि आठराई क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम आवतजावतमा सहज भएको छ । वर्षाका कारण सडकको विभिन्न खण्डमा पहिरो र खाल्डाखुल्डी भएका कारण सवारी साधन सञ्चालनमा गत जेठ महिनाबाट समस्या भएको थियो । सडक अवरुद्ध हुँदा आठराईवासी सात जिल्ला घुमेर यातायातका साधनबाट सदरमुकामको यात्रा गर्न बाध्य थिए । जिल्लाका स्थानीय तहले आ–आफ्ना क्षेत्रका सडक खुलाउन सडक मर्मतमा खर्च गरेको जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले बताए । चाडबाडका बेला यात्रुलाई आवतजावतका लागि सहज होस् भनेर सडक मर्मत गरिए पनि अहिले मात्र संक्रान्ति–म्याङलुङ सडक सञ्चालनमा आएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताए । वर्षाले अवरुद्ध ६८ किलोमिटर आठराई संक्रान्ति–म्याङलुङ सडक सञ्चालनमा आएपछि साना सवारीसाधन समेत आवतजावत गर्नसक्ने सुनसरी यातायत संघ आठराईका प्रमुख बद्री सेढार्इंले बताए । अहिले म्याङलुङ–वसन्तपुर, म्याङलुङ– पोक्लाबाङ, सिधुवा–शुक्रबारे, म्याङलुङ सम्दु, जिरिखिम्ती– मोराहाङ, संक्रान्ति–खाम्लालुङ, सक्रान्ति–थोक्लुङ, औँशीडाँडा–थोक्लुङ सडक सञ्चालन भएका छन् ।

बत्तीसपुतलीमा ‘नेपालमै पहिलोपटक’ इ–पूजाको प्रारम्भ

काठमाडौं, कात्तिक ११ । बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा नेपालमा नै पहिलोपटक इ–पूजाको प्रारम्भ गरिएको छ । श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संवद्र्धन समितिले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषदका पूर्वाअध्यक्ष खिलराज रेग्मीले इ–पूजाको शुभारम्भ गर्दै देशमा नै पहिलोपटक इ–पूजाको सुरुआत गरेर मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपेको बताए । पूर्वमन्त्री शंकरप्रसाद कोइरालाले प्रविधिमार्फत् मन्दिर विश्वभर छरिएर रहेका भक्तजनसम्म पुगेको र मन्दिरबाट पुनःनिर्माण र व्यवस्थापनको पाठ अरूले सिक्नसक्ने बताए । मन्दिर सम्वद्र्धन समितिका सदस्यसचिव डा. गोविन्द टण्डनले अनलाइनबाट भुक्तानी गरी रु ५०१ देखि रु एक लाख ११ हजार १११ सम्मको पूजा गर्नसक्ने व्यवस्था गरिएको बताए । केही महिनामै अनलाइनमार्फत् प्रत्यक्षरुपमा पूजा गरेको दृश्यसमेत देखाउन तयारी गरिएको उनले जानकारी दिए । मन्दिरको वेबसाइट www.ramepuja.org मा गएर पूजाका लागि फाराम भर्नसकिने बताइएको छ । इ–पूजा व्यवस्थापनको जिम्मेवारी नेपारिका टेक्नोलोजी प्रालिलाई दिइएको छ । सो अवसरमा प्रालिका दुर्गा फुयाँल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशवध्वज राणालगायतले सांस्कृतिक गतिविधिलाई आधुनिक प्रविधिसँग जोडिनुपर्ने धारणा राखे ।

अर्का धर्मगुरुको कर्तूत : अभिनेत्रीसँगकाे आपत्तिजनक अवस्थाको भिडियो सार्वजनिक

काठमाडौं, कात्तिक ११ । धर्मगुरुको भेष धरी कामलीला गर्ने स्वामीहरूको कर्तूत आजकल भटाभट सार्वनजिक भइरहेका छन् । भारतको कर्नाटकमा एक कथित स्वामीको आपत्तिजनक अवस्थाको भिडियो सार्वजनिक भएको छ । समाचारहरूमा आएअनुसार, स्वामीले मठभित्रै एक महिलासँग सम्बन्ध बनाइरहेका थिए । त्यहाँ उपस्थित कुनै एक मानिसले यसको भिडियो बनाएर लीक गरिदिएको थियो । स्वामीको नाम नन्जेश्वर हो र उससँग भएकी महिला एक अभिनेत्री हुन् । भिडियो कहिले खिचिएको थाहा हुन सकेको छैन तर यस मामिलामा आरोपित स्वामीलाई प्रहरीले पक्राउ गरेको छ । दयानन्द उर्फ नन्जेश्वर स्वामीले मठलाई दिइएको जमीनको दुरुपयोग गरेको समेत आरोप छ । यी स्वामीको नाम यसअघि पनि महिलाहरूसँग जोडिएकाृ बताइएको छ । नन्जेश्वर स्वामी पर्वतराज शिवाचार्यका छोरा हुन् । शिवाचार्य चाहिँ कर्नाटकको मदेवनपुरा मठका अध्यक्ष हुन् । सन् २०११ मा नन्जेश्वर स्वामी दयानन्द मठका अध्यक्ष बन्न चाहन्थे तर यसका लागि समर्थन पाएनन् ।

यसकारण जिल्लामै रोकिए मनाङी वासिन्दा

लमजुङ,कात्तिक ११ । विगतका बर्ष हिमाली जिल्ला मनाण्का बासिन्दा यो मौसममा जाडो छल्न बेसी झर्ने सुरसारमा लाग्थे । तर यस बर्ष उनीहरु गाउँमै छन् । आजको कान्तिपुरमा खबर छ । पोखरालगायत स्थानमा बस्दै आएकाहरुसमेत गाउँ फर्कदै छन् । चुनाव नसकिएसम्म सहर नझर्न उम्मेदवारले मतदातालाई आग्रह गरेका छन् । मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङ मंसिर १० को चुनावपछि मात्रै काठमाडौं जाने बताउँछन् । उनले भने, -नेताहरु गाउँ आएका छन् । -चुनावसम्म बस्नुपर्यो । -अब भोट हालेर मात्रै झर्नुपर्ला

झापा घटनापछि गृहमन्त्रालयले निकाल्यो विज्ञप्ति (पूर्णपाठ)

काठमाडौं, कात्तिक ११ । झापाको अर्जुनधाराका बालक हत्यापछि आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा शुक्रबार थप एक जनाको मृत्यु भएपछि सरकारले चार सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक चिरिञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशन हरिहर पौडेल सदस्य छन् । असोज १४ गते हराएका अर्जुनधारा ११ का बालक ११ वर्षीय लक्ष्मण शिवाकोटी मृत भेटिएपछि घटनाको छानविन गर्न माग गर्दै शुक्रबार वर्तामोडामा प्रदर्शन भएको थियो । प्रदर्शन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाउँदा अर्जुनधारा नपा ५ का वर्ष ३० का नरेश थापाको मृत्यु भएको थियो । थापाको मृत्युपछि प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । घटनापछि शुक्रबार दिउँसो १ः ३० बजेबाट लगाइएको कफ्र्यू अनिश्चित समयका लागि लगाइएको छ । गृहमन्त्रालयकाअनुसार प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ६ सर्वसाधारणसहित नेपाल प्रहरीतर्फ २७ जना र सशस्त्र प्रहरीका सात सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेको बीएनसी र मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गृहले शुक्रबार भएको घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ । गृह मन्त्रालयकाे  विज्ञप्ति