राष्ट्रपति पौडेलबाट ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको  शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपतिले नेपाल बहुजाती, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्दै ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।


ग्याल्पो ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने राष्ट्रपतिले कामना गरेका छन् ।

नेपालको हिमालीसहित विभिन्न क्षेत्रमा  बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाउँछन् ।


ल्होसार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलिजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।

प्रधानमन्त्रीद्धारा ग्याल्बो ल्होसारको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वी हिमाली क्षेत्र लगायत देशका विभिन्न भू-भागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।  आज एक शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले ग्याल्बो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको बताएका छन् ।  सो अवसरमा प्रधानमन्त्रीले ग्याल्बो ल्होसारले आन्तरिक राष्ट्रियता, आपसी सद्‍भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित, हेर्नुहोस् तालिका

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित गरिएको छ । आइतबार संघीय संसद् सचिवालयले फागुन २९ गतेका लागि तय गरिएको निर्वाचनको तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ । यस्तै, साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ । मंगलबार बिहान ११ः९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइनेछ । हेर्नुहोस् तालिका

पाँचपोखरीमा पाँच दिने आध्यात्मिक पर्यटन यात्रा

काठमाडौं । न्यू भिजन नेपालको आयोजनामा पहिलो पटक आध्यात्मिक पर्यटनको यात्रा सफलता पूर्वक सम्पन्न भएको छ ।नेपालमा आध्यात्मिक पर्यटनलाई प्रर्वद्धन गर्ने उदेश्यले सिन्धुपाल्चोक पाँचपोखरी आध्यिात्मिक यात्रा गरिएकाे न्यू भिजन नेपालले जनाएकाे छ । फागुन २१ गते देखि सुरु गरेको सिन्धुपाल्चोक जिल्लाको थाङ्गपाल गाउँपालिका पाचँपोखरीको यात्रा पाँच दिनमा सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष अशोक भट्टले जानकारी दिएको छ । आयोजकका अनुसार शिवरात्री अवसर पारेर गरिएको पाँच दिनको आध्यात्मिक पर्यटन यात्राले धार्मिक आध्यात्मिक पर्यटन प्रर्वद्धनलाई योगदान पुर्‍याएको  छ ।यात्रा फागुन २६ गते सम्पन्न भएको हो । सिन्धुपाल्चोक पाँचपोखरी थाङ्गपाल गाउँपालिकाले आध्यात्मिक पर्यटन यात्राको टोलिलाई नयाँ कार्यको थालिनी ऐतिहासिक ठाउँबाट गरेको भन्दै प्रशंसा गर्नुका साथै सम्मान समेत  गरेको थियो । 

बिनानतिजा टुंगियो नेपाल र हङकङबीचको खेल

काठमाडौं । वर्षाका कारण त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल बिनानतिजा टुंगिएको छ । हङकङस्थित मिसन रोड मैदानमा आइतबार टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । यसपछिको निरन्तर वर्षाका कारण खेल सम्भव नभएकाले बिनानतिजा टुंगिएको हो ।  त्यसअघि, हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल करिब आधा घण्टा प्रभावित बनेको थियो । आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल, हङकङ र पपुवा न्युगिनी ९पीएनजी० सहभागी छन् । नेपालले अब आउँदो मंगलबार पीएनजीविरुद्ध खेल्नेछ ।

देउवाले बोलाए राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न कार्यसम्पादन बैठक

देउवाले बोलाए राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न कार्यसम्पादन बैठककाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे दलको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।  शनिवार बिहान पनि देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार निर्णय गरेको थियो ।  आगामी २९ गते हुने राष्ट्रियसभा अध्यक्षमा कांग्रेसबाट आनन्द ढुङ्गाना र कमला पन्तको नाम चर्चामा छ ।

राप्रपा केन्द्रीय कार्यालयमै कुटिए नेता मोहन श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयमा कुटाकुट भएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेताहरु बैठकबाट बहिरिदै गर्दा कुटाकुट भएको भिडियो सार्वजनिक भएको छ । राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको हो ।पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो । लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए । भागेर निस्किन खोजेका उनलाई ढोकामै कुटपिट भएको हो। कुटाकुटपछि अध्यक्षल गायतका नेताहरुबिच पार्टी कार्यालयमा छलफल सुरु भएको छ । राप्रपाको केन्द्रीय कार्यासम्पादन समितिको बैठक बसेको थियो ।

राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता सोमबार, निर्वाचन मंगलबार

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार हुने भएको छ । आइतबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार मनोनयन दर्ता गर्ने गरी निर्वाचनको मिति तय गरेको हो । संसद सचिवालयका अनुसार ‘पूर्वनिर्धारित समयमै चुनाव गर्ने निर्णयसहित कार्यसूची तय भएको छ ।’ यसअघि राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ । सोही अनुसार आइतबार दिउँसो १ बजेर ९ मिनेटमा बस्ने बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूची फाइनल गर्नेछ । यसअघि राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएर बिदा भएकाले अधयक्षको निर्वाचन हुन लागेको हो ।

वर्षाले रोकिएको नेपाल र हङकङबीचको खेल पुनः सुचारु

काठमाडौं । वर्षाका कारण रोकिएको त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल पुनः सुरु भएको छ । हङकङस्थित मिसन रोड मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिएको करिब आधा घण्टापछि पुनः सुचारु भएको हो ।  खेलको ६ ओभर सकिँदा हङकङले एक विकेट गुमाएर ४५ रन बनाएको छ । जारी खेलमा नेपालका करण केसीले इनिङको पहिलो बलमै विकेट लिए । 

पहिलो बलमै करणले लिए विकेट

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिल फिल्डिङ गरिरहेको छ । मोङ कोकमा जारी खेलमा घरेलु टोली हङकङको विरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।  टस जितेर फिल्डिङ रोजेको नेपालका लागि पहिलो बलमा नै करण केसीले विकेट लिन सफल भएका हुन् ।  उनले मार्टिन कोर्टजको विकेट गुल्सन झा मार्फत क्याच गराएका हुन् । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ । फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज भने आज आइतबार सुरु भएको हो ।

नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिल फिल्डिङ गर्ने भएको छ । मोङ कोकमा हुने खेलमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ । फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज भने आज आइतबार सुरु हुन लागेको हो ।

सुनको मुल्यमा फेरि रेकर्ड, आइतबार १ हजार बढ्यो

काठमाडौं । सुनको मुल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । विगत ५ दिन देखि सुनले दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा १ हजार रुपैयाँले सुन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा आइतबार १ लाख २६ हजार रुपैयाँ पुगेको छ । हालसम्मकै उच्च मुल्यको रेकर्ड कायम फेरि भएको हो । गत मंगलबार तोलाको १ लाख २३ हजार रुपैयाँ मूल्य कायम भई अघिल्ला सबै रेकर्ड तोडिएको थियो । बुधबार १ लाख २३ हजार ५ सय, बिहीबार र शुक्रबार १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख २६ हजार कायम भएको हो । अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । सो आधारमा नेपालमा पनि  मूल्य समायोजन हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिका वावजुत माग बढ्दै जाँदा मूल्यमा असर परेको हो । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ४७० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

सर्लाहीमा ४ राउण्ड गोलीसहित दुईजना पक्राउ

काठमाडौं । सर्लाही प्रहरीले ४ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । सर्लाही वाग्मती नगरपालिका १० सोल्टी नहर अस्थाई प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीवाट खटिएको साझा पोसाका प्रहरी समेतको  चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा ४ राउण्ड गोली सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीका अनुसार शंकरपुरबाट सोल्टीतर्फ आउँदै गरेको बिआर ३० डव्लु ५८८३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार एक जना व्यक्तिसँग ४ राउण्ड अबैध गोली फेला परेको बताए । पक्राउ पर्नेमा सर्लाही मंलगवा नगरपालिका १ बस्ने वर्ष २१ को पोसन महरा राम र वाग्मती नगरपालिका  ८ बस्ने वर्ष २४ को रंजित राम रहेका छन् ।  

मन्त्री चौधरीको अमेरिका भ्रमण रद्व, सचिवको टोली प्रस्थान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको अमेरिका भ्रमण रद्व भएको छ । भ्रमणका लागि यही फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति दिए पनि मन्त्री चौधरीको भ्रमण  स्थगित भएको हो । सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमनको ६८ ओैं सत्रमा भाग लिन मन्त्री चौधरी जाने कार्यक्रम तय भएको थियो । संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुने बारे अघिल्लो सरकारको मन्त्रालयबाट नै तय भएको थियो । प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने तयारी गरेकोले पनि उनको भ्रमण रोकिएको बताइएको छ । मन्त्रि चौधरीले मन्त्रालयको कामका बारेमा अध्ययन गर्नका लागि पनि भ्रमणमा नजान खोजेको स्रोतले बताएको छ । मन्त्री नजाने भएपछि उक्त कार्यक्रमका लागि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरेको छ ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भक्तपुर। भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुल नजिक भएको दुर्घटनामा मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ का मणिराज घिमिरे रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२(०३२ प ३३१३ नम्बरको मोटरसाइकल शनिबार राति १२ः४३ बजे सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको थियो । मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका(४ घर भई काभ्रेपलान्चोक जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसपाका मन्त्रीहरूले आज शपथ लिदै

काठमाडौंं । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेपछि उनीहरुको सपथ आज हुने भएको हो ।  अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्ने भएका छन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै वर्तमान गठबन्धनको बहुमत सुनिश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारीमा जुटेका छन् ।