लागुपदार्थ कारोवारी र ज्यान मार्ने अभियुक्त पक्राउ

जनकपुरधाम, कात्तिक १७ । लागुपदार्थ बेचबिखन गर्ने एक भारतीयलाई धनुषा जिल्ला प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले भारतीय सीमाबाट नेपालतर्फ ठूलो मात्रामा लागुपदार्थ ल्याउँदै गरेका भारत मधुवनी जिल्ला हरलाखी ग्राम पञ्चायत इटहर्वा वडा नं १ का २४ वर्षीय अन्सारूल राइनलाई पक्राउ गरी यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो । प्रहरी नायब उपरीक्षक प्रवीण धितालका अनुसार धनुषा जिल्ला धनौजी–४ बाट राइनलाई प्रतिबन्धित नाइट्रोभेट नामक ५०० पत्ता लागुपदार्थसहित पक्राउ गरिएको हो ।

त्यस्तै तराई राष्ट्र जनतान्त्रिक पार्टीका सैन्य कमान्डर बताउने कमला नगरपालिका वडा नं ७ का ३२ वर्षीय विजय यादवलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले सीमा नजिक जाँच गर्ने क्रममा यादवलाई पक्राउ गरेको बताइएको छ । यादव सिरहाको मिर्चैयामा माओवादी नेता लालु खानलाई गोली हानी घाइते बनाएको ज्यान मार्ने उद्योग तथा संगठित अपराधमा संलग्न रहेको जनाइएको छ ।

कार्यालयका अनुसार छ महिनामा सो भूमिगत समूहका चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला ठाडीझिजा गाविस वडा नं ४ का ३५ वर्षीय प्रमोद ठाकुर तथा कमला नगरपालिका वडा नं २४ वर्षीय विष्णुदेव सहनी, वडा नं ७ का ३६ वर्षीय दीपकुमार महतो र २० वर्षीय छोटकन ठाकुर छन् । रासस

समानुपातिकतर्फको बन्दसूची सार्वजनिक आज : आयोग

काठमाडौं, कात्तिक १७ । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फ बुझाएको बन्दसूची निर्वाचन आयोगले आज सार्वजनिक गर्ने भएको छ । आज सार्वजनिक गरिएका सूचीमध्येबाट प्रदेश र प्रतिनिधिसभाका समानुपातिक तर्फका ३३० जना सदस्य निर्वाचित हुनेछन् । गत असोज २९ गते दलहरुले बुझाएको सूचीका त्रुटी सच्याउँदै निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार अपरान्ह ५ बजेभित्र सूची सार्वजनिक गर्ने आयोगले जनाएको छ । समानुपातिकतर्फ आयोगमा प्रतिनिधिसभा तर्फ ४९ र प्रदेश सभातर्फ ५५ दलले बन्दसूची बुझाएका थिए । धेरै दलले बुझाएको बन्दसूचीमा प्राविधिक भएपछि आयोगले सुर्धान कार्तिक १२ गतेसम्मको म्याद दिएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र सातै प्रदेशसभाका लागि २ सय २० जना सदस्य चुनिनेछन् ।

प्रभावशाली नेता लख्खाभाई वाम गठबन्धनमा प्रवेश गरेपछि राप्रपाको यस्तो अपिल

बैतडी, कात्तिक १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले केही व्यक्तिले पार्टी छाडेर जाँदैमा पार्टीलाई कुनै असर नपर्ने जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले केही व्यक्तिले गरेको हर्कतले पार्टी कति पनि विचलित नभएको जनाएको छ । आयातीत र स्वार्थी व्यक्ति कुनै पनि पार्टीमा धेरै दिन नटिक्ने भएकाले राप्रपालाई कुनै नोक्सान नभएको विज्ञप्तिमा जनाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुखमै संस्थापक नेताहरु र युवा नेताहरुले पार्टी परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेपछि राप्रपा बैतडीले कुचोले बढार्नुपर्ने फोहोर हावाले उडाएर लगेको टिप्पणी गरेको छ । पार्टीका पूर्वअध्यक्षलगायत एक दर्जन संस्थापक नेताले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको एक हप्तापछि बुधबार मात्रै राप्रपाका सुदूरपश्चिम सहसंयोजक पुष्करराज जोशी ‘लख्खाभाइ’ लगायतका कार्यकर्ताले राप्रपा त्यागेर वाम गठबन्धनमा प्रवेश गरेका थिए । त्यसको भोलिपल्टै बिहीबार राप्रपाले प्रेस विज्ञप्ति निकाल्दै आफ्नो पार्टी मुद्दाको हिसाबले बलियो रहेको र कट्टर राष्ट्रवादी नेताहरु पार्टीमा रहेकाले पार्टी कुनै हिसाबले पनि कमजोर नभएको दाबी गरेको छ । राप्रपाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेससंग गठबन्धन भएअनुसार लोकतान्त्रिक शक्तिलाई जिताउन अपिल गरेको छ । कांग्रेससंग तालमेल गरेपछि प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा राप्रपाले नेता गणेशबहादुर चन्दलाई उम्मेदवार बनाएको छ । ‘बैतडी जिल्लामा राष्ट्रवादी र स्वच्छ छवि भएको पार्टी राप्रपा मात्रै रहेकाले हिन्दू राष्ट्र जोगाउन लोकतान्त्रिक गठबन्धनलाई सघाउन अनुरोध गर्दछौँ’– जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ । बैतडीमा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँगे्रसका नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ भने प्रदेशसभाका लागि बैतडी ‘क’ मा नेपाली काँग्रेसका हरिमोहन भण्डारी र ‘ख’ मा राप्रपाका गणेशबहादुर चन्द चुनावी मैदानमा रहेका छन् । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन हुने भएको छ ।

फिल्ममा नायकले आफ्नो मोबाइल नम्बर प्रयोग गरेको भन्दै रिक्सा चालकद्वारा मुद्दा

ढाका, कात्तिक १७ । बंगलादेशमा एक रिक्सा चालकले त्यहाँका चर्चित नायकविरुद्ध मुद्दा दायर गरेका छन् । एउटा फिल्ममा ती नायकले प्रयोग गरेको मोबाइल नम्बर आफ्नो रहेको भन्दै एक रिक्सा चालकले मुद्दा दायर गरेका हुन् । बंगलादेशका अभिनेता शाकिब खानले एउटा फिल्ममा प्रयोग गरेको मोबाइल नम्बर रिक्सा चालक इजाजुल मियाँको हो । फिल्ममा उक्त मोबाइल नम्बर सार्वजनिक भएपछि कयौं युवतीले उक्त नम्बर नायक शाकिब कै रहेको ठानेर फोन गर्ने गरेको रिक्सा चालक इजाजुलको भनाइ छ । ‘फिल्ममा मेरो मोबाइल नम्बर प्रयोग गरिएपछि मलाई सारै तनाव भएको छ, दिनहुँ अनावश्यक फोन आइरहन्छ,’ उनले भने । इजाजुलले नायक शाकिबसँग क्षतिपूर्ति रकमको मागसमेत गरेका छन् । उनका अनुसार पाँच दिनभित्र पाँच सयभन्दा बढीले फोन गरेका छन् । रिक्सा चालक इजाजुलको मोबाइल नम्बर गत जुनमा प्रदर्शित एक चलचित्र प्रयोग गरिएको थियो । सो चलचित्रका निर्माता तथा निर्देशक नायक शाकिब स्वयं हुन् । फिल्मको एउटा दृष्यमा नायकले आफ्नी प्रेमिकालाई आफ्नो मोबाइल नम्बर भन्दै एउटा नम्बर भन्छन् । त्यो नम्बर संयोगवस रिक्सा चालक इजाजुलको हो । ‘मलाई दैनिक फोन आउन थाल्यो, अधिकांश कल नायक शाकिबका महिला प्रशंसकको आउने गरेको छ,’ उनले भने, ‘म तपाईको फ्यान हुँ, म तपाईसँग दुई मिनेट कुरा गर्न सक्छु ? भनेर फोन गर्छन्,’ उनले भने । इजाजुलका अनुसार उनी आफ्नो मोबाइल नम्बर परिवर्तन गर्न समेत सक्दैनन् । किनकि उनका ग्राहकले समेत सोही नम्बरमा फोन गर्दै आएका छन् । सुरुमा अदालतले मुद्दा दायर गर्न समेत मानेको थिएन । तर जब इजाजुलको समस्याबारे राम्ररी अवगत गराइयो, अदालतले मुद्दा दायर गरेको छ । (एजेन्सी)

कोलकाता बन्दरगाहबाट सामान छुटाउनै कठिन

काठमाडौं, कात्तिक १७ । नेपालका तेस्रो मुलुकबाट आयात गरिएका व्यापारिक सामान कोलकाता बन्दरगाहबाट ल्याउन मुस्किल पर्न थालेको छ । बन्दरगाह अस्तव्यस्त हुँदा सामान निकाल्न कठिन भएको आयातकर्ताको गुनासो छ । बाहिरबाट आएका कन्टेनरले सामान पुर्‍याएर समयमा बन्दरगाह फर्कन नसक्दा सिपिङ कम्पनीलाई बढी विलम्ब शुल्क तिर्नुपर्ने भएको छ । भारतको कोलकाता बन्दरगाहको व्यवस्थापनको कमजोरीका कारण आयातकर्ताले प्रतिकन्टेनर झन्डै डेढ लाख रुपैयाँ थप खर्चिनुपरेको आयातकर्ताको दाबी छ । आयातकर्ताले सामान नेपाल भित्र्याउन पनि सकिरहेका छैनन् । गत असोजदेखि आएका अधिकांश कन्टेनर अझै कोलकाता बन्दरगाहमै थन्किएका छन् । कन्टेनर बन्दरगाहमा आएदेखि सिपिङ कम्पनीले बिलम्ब शुल्क जोड्न थाल्छन् । कन्टेनर गन्तव्यमा पुगेर बन्दरगाहसम्म फर्किनका लागि औसतमा १५ देखि २१ दिनसम्म ‘फ्रि’ समय हुन्छ । आयातकर्ताका अनुसार सिपिङ कम्पनीले उपलब्ध गराएको फ्रि समय कोलकाता बन्दरगाहबाट कन्टेनर जाँचपास गराउनैमा लाग्न थालेको छ । –कान्तिपुर दैनिकबाट

प्रमुख निर्वाचन आयुक्तबाट सबैप्रति धन्यावाद ज्ञापन

काठमाडौं, कातिक १६ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादलले दोस्रो चरणअन्तर्गत आगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि राजनीतिक दलको उल्लासपूर्ण सहभागितामा उम्मेदवारी मनोनयन दर्ता भएकोमा खुशी प्रकट गर्दै सवैप्रति धन्यवाद ज्ञापन गरेका छन । पत्रकारसँग कुराकानी गर्दै उनले उम्मेदवारी दर्तामा देखिएको मीत्रभाव र उत्साहलाई निर्वाचन आचारसंहिता पालनामा पनि कायम राख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिए ।

टेलिफोन नै सरकारी जागिर जस्तो, १० देखि ४ सम्ममा मात्र

जाजरकोट, कार्तिक १६ । जाजरकोटका नगरपालिका र गाउँपालिकामा टेलिफोन सेवा प्रभावकारी नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । बिहान १० बजे टेलिफोन टावर आउने र ४ बजे टावर जाने हुँदा त्यसपछिका समय फोन सञ्चालन नहुने स्थानीयवासीको गुनासो छ । जिल्लाका त्रिवेणी नलगाड नगरपालिका, वारेकाट गाउँपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र कुशेगाउँपालिकामा टेलिफोन टावरमा समस्या हुँदै आएको हो । टावर सञ्चालन गर्नका लागि राखिएका सौर्य उर्जाले प्रभावकारी काम नगर्दा दैनिक घाम लागेपछि मात्र टावर सञ्चालनमा आउने गरेको हो । टावरमा राखिएका सौर्य उर्जा वर्षौ पुराना भएको र मर्मत पनि नहुँदा टावर सञ्चालनमा कठिनाइ भएपछि स्थानीयवासीले पटक पटक नेपाल टेलिकमलाई जानकारी गराए पनि सुनुवाइ नभएको आरोप लगाएका छन् । काम परेको समयमा टावर नहुँदा दैनिक काम गर्न समस्या भएको त्रिवेणी नलगाड नपा ८ का हरिबहादुर खत्रीले बताए ।

उपत्यकामा जथाभावी सवारी चलाउन नपाइने

काठमाडौँ, कात्तिक १६ । काठमाडौँ उपत्यकामा अबदेखि जथाभावी रुपमा सवारी चलाउन नपाइने भएको छ । उपत्यकामा हुने सडक दुर्घटना कम गर्न तीव्रगतिमा गुड्ने सवारीसाधन सडकको बीच भागबाट र सर्वसाधारण बोक्ने सवारी सडकको बाहिरी भागबाट हिँड्नुपर्ने भएको छ । जथाभावी ढंगले सवारी चलाउँदा दुर्घटना बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार भक्तपुरदेखि काठमाडौँ आउने सवारीसाधनलाई प्रशिक्षण दिएको हो । ‘पहिला तपाईं अनि म’, ‘हर्न नबजाउँ’, ‘सडकको दाँया भागबाट मात्र ओभरटेक गर्नुहोस्’, ‘मोटरसाइकल, साइकल, ट्रक, मिनीट्रक बाँया भागमा मात्र’ नारासहितका विभिन्न प्लेकार्ड प्रदर्शन गरी महाशाखाले सवारी चालक र यात्रुलाई जनचेतना प्रदान गरेको हो। महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकामा वार्षिक हुने दुर्घटनामध्ये ४२ प्रतिशत व्यक्ति पैदलयात्रु पर्ने गरेको भन्दै उक्त दुर्घटनामा कमी ल्याउन यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । ‘सभ्य र अनुशासित भएर सवारी चलाउँदा दुर्घटना ह्वात्तै घट्छ,’– प्रमुख खनालले भने । उहाँले आगामी दिनमा काठमाडौँ तथा ललितपुरका विभिन्न भागमा यस्तो कार्यक्रम सञ्चालन गर्ने बताए ।

पृथ्वीनारायणको शालिक पुनःस्थापनाको माग राख्दै अनशन

पोखरा, कात्तिक १६ । पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक  पुनःस्थापना गर्न माग राख्दै बुधबारदेखि पोखरालेखनाथ महानगरपालिका कार्यालयको मूलद्वारमा रिले अनशन शुरु गरिएको छ । पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना संघर्ष समितिको अगुवाइमा शुरु गरिएको रिले अनशन मंसिर २० गतेसम्म रहने र मागको सुनुवाइ नभएमा त्यसपछि कडा आन्दोलनका कार्यक्रम अघि बढाउने संघर्ष समितिका संयोजक शंकर खरालले बताए । पहिलो चरणअन्तर्गत बुधबार डा दिलबहादुर क्षेत्री, पदमबहादुर कार्की, पूर्व सभासद् कृष्णकुमारी परियार, रामप्रसाद वस्ताकोटी, डिलबहादुर अधिकारी, पूजा शाह, टंकनाथ बराल, रुकु परियार र कृत्तिका परियार रिले अनशन बसेको छ । अनशन शुरु गर्न आयोजित कार्यक्रममा पूर्व सभासद् तथा उद्योगपति सूर्यबहादुर केसीले पूर्ववत् पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक रहेको स्थानमा महानगरपालिकाले शहीद लखन थापाको शालिक पुनः राख्नु गलत भएको बताए । संघर्ष समितिका सदस्य डा.दिलबहादुर क्षेत्रीले पृथ्वीनारायण शाहसँग तुलना गर्ने कुनै विभूति नभएको बताउँदै पृथ्वीचोकमा पूर्ववत् पृथ्वीनारायणकै शालिक राख्नुपर्ने उल्लेख गरे । दोस्रो जनआन्दोलनमा आन्दोलनकारीले पृथ्वीनारायण शाहको शालिक तोडफोड गरेपछि उक्त चोकमा मगर संघले शहीद लखन थापाको शालिक निर्माण गरेको थियो । सडकको ट्राफिक व्यवस्थापनमा कठिनाइ र सडक साँगुरो भएपछि पोखरा लेखनाथ महानगरपालिकाले गत असोज ९ गते लखन थापाको शालिक हटाएकोमा पुनः नगरपालिकाबाट बजेट विनियोजन भई लखन थापाको शालिक निर्माण भइरहेको छ । शालिक हटाएकै भोलिपल्ट असोज १० गते मगर समुदायको दबाबपछि जिल्ला प्रशासन कार्यालय, कास्की र पोखरा लेखनाथ महानगरपालिकाबाट उक्त स्थानमा पुनः लखन थापाको शालिक निर्माण गर्ने निर्णय गरिएको थियो ।

भक्का व्यापार आम्दानीको भरपर्दो स्रोत

झापा, कात्तिक १६ । जाडो मौसमको शुरुवातसँगै विभिन्न स्थानमा सञ्चालन हुने भक्का व्यापार महिलाका लागि आम्दानीको भरपर्दो स्रोत बनेको छ । कम खर्चमा सञ्चालन गर्न सकिने, ग्राहकले खाजाका रुपमा रुचाउने र आम्दानी मनग्य हुने हुँदा महिलाका लागि सो व्यापार आम्दानीको भरपर्दो माध्यम बनेको हो । विगत ३० वर्षदेखि भक्का व्यापार सञ्चालन गर्दै आउनुभएका अर्जुनधारा–८ की ५८ वर्षीया एकादशी खवासले व्यापारबाट आएको रकम बचत गर्ने र केही घरायसी खर्च गर्ने बताए । उनले दैनिक करिब चार किलो चामलको भक्का बिक्री गर्दै आएको छ । ‘दैनिक रु ७५० देखि रु ९०० सम्म आम्दानी हुन्छ,’ उनले भने । प्रतिवटा भक्का रु.१० मा बिक्री भइरहेको छ । त्यसैगरी, स्थानीयवासी ३५ वर्षीया पुष्पा खवास भक्का व्यापारबाट घरखर्च चलाउन सहज भएको बताउँछ । सत्र–अठार वर्षको उमेरदेखि भक्का व्यापार शुरु गर्नुभएका उनले जागिरका लागि पढाइ नभएपछि उक्त व्यापार गर्नुपरेको बताए । त्यस्तै, स्थानीयवासी ३४ वर्षीया राधिका चौधरी सासूले गर्दै आएको पेशालाई निरन्तरता दिएको बताउँछ । दैनिक औषतमा रु ७०० सम्म आम्दानी हुने गरेको छ । ‘श्रीमानको पैसा बचत गर्छौंँ र मेरो पैसाले घरखर्च चलाउँर्छौं,” उनले भने । जाडो मौसमको शुरुवातसँगै जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने भक्का व्यापार शनिश्चरे बजार क्षेत्रमा मात्र ६–७ स्थानमा सञ्चालन हुँदै आएको छ ।

जलवायु परिवर्तनका असर

काठमाडौँ, कात्तिक १६ । दक्षिण एशियाली क्षेत्रमा जलवायु परिर्वतनका असर बढी देखिएकामा चिन्ता व्यक्त गर्दै यससित जुध्न सामूहिक प्रयत्नको खाँचो औँल्याइएको छ । प्राकृतिक विपद् (भूकम्प, बाढीपहिरो, आगलागी) ले यस क्षेत्रलाई नराम्ररी गाँज्दै गएको र कृषि उत्पादन समेत घट्दै गएकामा विज्ञहरूले चिन्ता व्यक्त गर्दै सार्क देशमा यस वर्षमात्र बाढी र पहिरोले पाँच हजारभन्दा वढीको मृत्यु तथा हजारौँ विस्थापित भएको जनाएका थिए । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० चेम्बर अफ कमर्शद्वारा आज यहाँ आयोजित जलवायु परिवर्तनसम्बन्धी युवा सम्मेलनका सहभागीले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सार्क कार्ययोजनालाई कार्यान्वयनमा ल्याउन आग्रह समेत गरे । सन् २०१० मा भुटानको थिम्पुमा सम्पन्न सार्कको १६ अौँ सम्मेलनले जलवायु परिवर्नतका असरलाई न्यूनीकरण गर्न कार्ययोजनासमेत पारित गरेको थियो । सम्मेलन शुभारम्भ गर्दै युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सरकारले कार्ययोजना तयार गरी लागू गरेको जानकारी दिए । उनले सार्क क्षेत्रमा प्राकृतिक विपद् बढदै गएको चर्चा गर्दै यससित जुध्न सामूहिक प्रयत्न हुनुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा तथा सार्क चेम्बर अफ कमर्शका अध्यक्ष सुरज वैद्यले सार्क क्षेत्रको कृषि उत्पादकत्व वृद्धि गर्न युवावर्गलाई आकर्षित गर्नुपर्छ भने।

तपाईंहरुको आजको गोप्य कुरा थाहा पाउनहोस्

कार्तिक १६,  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा पाइने विभिन्न अवसरले मन प्रसन्न रहनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । स्वास्थ्यमा समस्या आउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । मनग्य धनलाभ हुनेछ । प्रयासहरु सकारात्मक रहनेछन । घरायसी काममा झमेला आउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शत्रुहरु सजिलै पराजित हुनेछन । काममा केहि चुनौतिहरुको सामना गर्नुपर्नेछ । साझेदारी काममा सफलता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गुरुको सहयोग मिल्नेछ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ । साथीभाईसँग मनमुटाब हुन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । साथीको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । घरायसी काममा झमेला आउने छ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका अधुरा काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । स्वास्थ्यमा साली समस्या आउनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्त र साथीभाइको सहयोग प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । नयाँ सवारी साधन किन्ने मौका मिल्नेछ। धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । बिश्वास गरेकाले साथ दिनेछन । परिवारको सहयोग मिल्नेछ । मन प्रसन्न रहनेछ । मकर (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ब्यापार व्यवसाय फाइदा हुनेछ । अध्ययन अध्यापनमा राम्रो प्रगति हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । बिनाकारण विवाद बढ्ने देखिन्छ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उद्योग र व्यापारमा विशेष फाइदा हुने छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सानै प्रयाशले ठुलो काममा सफलता मिल्नेछ ।

१७ किलो अवैध सुनसहित पक्राउ

लमजुङ, कार्तिक १६ । लमजुङको खुदीबाट १७ किलो अवैध सुनसहित एकजना पक्राउ परेका छन् । मनाङको नासोङ गाउँपालिका निवासी पासाङ गुरुङ १७ किलोग्राम अवैध सुनसहित पक्राउ परेका हुन् । मनाङबाट लमजुङ आउने क्रममा गुरुङलाई लमजुङको खुदीमा चेकजाँच गर्ने क्रममा १७ किलो अवैध सुनसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी पदमबहादुर विष्टका अनुसार पासङको साथबाट एक किलो लेखिएको सुनको १७ थान बिस्कुट बरामद गरिएको छ । डिएसपी बिष्टले बरामद सुनको परीक्षण र जोख्ने काम भइरहेको बताउनुभयो । १७ किलो अवैध सुनसहित पक्राउ खुदीबाट पक्राउ परेका गुरुङसँगको प्रारम्भिक बयानले सुन तस्करीका लागि तिब्बतसँग जोडिएको गोरखाको लार्केपास नाका प्रयोग भएको खुलेको छ । ‘गुरुङले यो सुन गोरखाको लार्केपास नाकाबाट भित्र्याएको बयान दिएका छन्’, डिएसपी विष्टले भने– ‘त्यहाँबाट यो सुन मनाङ लगेको पाइयो, त्यसपछि लमजुङको बेँसीसहर ट्रान्जिट हुँदै पोखरा लान खोजेको सुरुवाती अनुसन्धानबाट खुलेको छ ।’

मानव बेचविखनको बढ्दो घटनालार्इ अझै कम गर्न सकिएन

लोकेश धामी कैलाली, कार्तिक १६ । कैलालीमा जति पनि मानव बेचबिखन घटना हुने गरेका छन् । ती सबै सेटिङमा हुने गरेको पाइएको छ । ‘समाजदेखि भएर सीमा नाका हुदैँ तेश्रो मुुलुुकसम्म सबै ठाउँमा मानव बेचविखन गर्ने सञ्जाल रहेको हुन्छ’ माइती नेपाल धनगढीका कार्यक्रम संयोजक शिवचरण चौधरीले भने– ‘त्यो समूहबाट नै मानव बेचबिखन हुने गरेको छ’ मानव बेचबिखन पहिले भारतमा बढी हुने गरेको भएपनि पछिल्लो समय वैदेशिक रोजगारका नाममा खाडी मुलुकमा हुने गरेको पाइएको छ । संयोजक चौधरीका अनुसार साउदी अरब, कुवेत, दुबईलगायत मुलुकमा बढी मानव बेचविखन हुने गरेका छन् । पछिल्लो समय श्रम शोषण, यौन व्यापार, सर्कसमा काम गर्न, मसाज गर्न, कलकारखाना काम गर्न, लागूऔषध लगायत प्रयोजनका लागि मानव बेचविखन हुने गरेको छ । मानव बेचबिखनमा काम गर्ने विभिन्न संस्थाका अनुसार अनाथ बालबालिका होटल रेष्टुरेण्टका काम गर्ने महिला र हाड नाता करणीबाट पीडितहरु बेचबिखनमा पर्ने गरेका छन् । बेचविखन गर्ने समूह स्थानीय तह, सीमा नाका हुदैँ तेश्रो मलक पुर्याउने गरेका छन् । माइती नेपालको तथ्याकं अनुसार नेपालमा वार्षिक ७ हजार मानिस बेचबिखनमा पर्ने गरेका छन् । बेचविखनमा ७ वर्ष उमेर समूहदेखि २४ वर्ष उमेर समूहका व्यक्तिहरु पर्ने गरेका हुन। कैलालीमा खुल्ला सीमानाको फाइदा लिदै बेचविखन गर्ने समुह झनै सक्रिय हुने गरेको पाइएको छ । बाह्य मानव बेचबिखन भन्दा पनि बढी आन्तरिक बेचविखन बढी हुने गरेको छ। पछिल्लो समय स्थानीय दलालबाट नै बढी बेचविखन हुने गरेको छ । घर परिवार तथा आफन्तबाट नै बढी बेचविखन हुुने गरेको हो । बेचविखनका घटना बढ्दै कैलालीमा मानव बेचबिखनका घटना हरेक वर्ष बढी नै रहेका छन् । माइती नेपाल धनगढीका अनुसार अघिल्लो आर्थिक वर्षमा सीमा नाकाबाट ८६ जनाको उद्धार गरेको थियो भने भारतबाट ३ जनाको उद्धार गरेको हो । यस्तै चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा मात्र सीमा नाकाबाट २५ जनाको उद्धार गरेको छ । भारतबाट ४ जनाको उद्धार गरेको हो । बेचविखन रोक्नमा चुनौती मानव बेचविखनमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुबीच समन्वयको अभाव हुँदा बेचबिखन घटना न्यूनीकरण गर्न चुुनौती थपी दिएको छ । समयमा नै सुुचना प्राप्त नहुँदा पनि न्यूनीकरण गर्न समस्या थपिदिएको हो । बेचविखनका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुमा दक्ष जनशक्ति नहुनु, लैगिंक विभेद, घरेलु हिंसा र धार्मिक तथा सामाजिक कुरीतिहरुले पनि बेचविखन रोक्नमा चुनौती देखिएको हो । न्यूूनीकरणमा परिवार नै बढी जिम्मेवार पछिल्लो समय जति पनि मानव बेचविखनका घटना हुने गरेका छन् । त्यसका घरपरिवार तथा आफन्तको कमजोरीका कारण नै हुने गरेका छन् । न्यूनीकरणका लागि सबैभन्दा बढी परिवारको भूमिका हुने गरेको सरोकारवालाहरुको सुझाव दिएका छन । परिवार सक्रिय भएमा न्यूनीकरण गर्नमा कुनै समस्या नहुने पञ्चोदय उच्च मावि धनगढीका शिक्षक हेमालाल जैशीको भनाइ रहेको छ । आमाबुबाले आफ्ना सन्तानको ख्याल राखेमा न्यूनीकरण गर्न सकिने उनको धारणा छ । विद्यालयस्तरमा मानव बेचविखन न्यूनीकरणका लागि अभियान थालनी गर्नुपर्ने दुर्गा माध्यामीक विद्यालय भन्सारका शिक्षक खगेन्द्र अवस्थीको भनाइ रहेको छ । उनले व्यक्ति नै सबै भन्दा पहिले सजग रहनुपर्ने उल्लेख गरे । बेचविखनमा भएका नीति कार्यान्वयन भएमा न्यूनीकरण गर्नमा कुनै समस्या नहुने हुनको तर्क रहेको छ । पछिल्लो सयम सामाजिक सन्जाल पनि मानव बेचखिन गर्ने भाइरल बनिरहेको छ । बेचबिखनमा पर्ने बढी महिला रहेको पाइएको छ । मावब बेचबिखन रोक्नका लागि समाजमा विभिन्न बाल क्लबदेखि महिला समूह पनि बढी सक्रिय हुनुपर्ने सहभागीहरुको सल्लाह रहेको थियो । बेचबिखनमा पर्ने साथीहरुको लहैलहैमा लागेर बढी लाग्ने गरेको भेटिएको छ । अन्तक्र्रिया अष्ट्रेलिया एडको आर्थिक सहयोग र माइती नेपाल धनगढीको आयोजनामा भएको हो । अन्तर्क्रियामा कैलालीका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षकहरुको सहभागिता रहेको थियो ।

बैतडीका २३ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैतडी, कात्तिक १६ । बैतडीमा पाँच वर्षमुनिका २३ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार बैतडी जिल्लाभरि रहेका ६ महिनादेखि ५९ महिनासम्मका २३ हजार ९७७ बालबालिकालाई बिहीबार (आज) र शुक्रबार (भोलि) भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन लागिएको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि एक वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । बच्चाको पेटमा जुका परेपछि रक्तअल्पता हुनुका साथै कुपोषण हुने र भिटामिन ‘ए’ को कमीले बच्चाले आँखा नदेख्ने भई रतन्धो हुने भएकाले उक्त रोगहरुबाट बचाउनका लागि बच्चालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन लागेको हो । बैतडीमा यसका लागि जिल्लाभरिका ८३१ महिला स्वयमंसेविका परिचालन गरिने भएको छ । महिला स्वयंसेविकाले प्रत्येक स्थानीय तहका वडाका टोलमा तोकिएका केन्द्रबाट औषधि खुवाउने जनाइएको छ । नजिकैको वडा कार्यालय वा भिटामिन ‘ए’ खुवाउने केन्द्र वा महिला स्वयंसेविकासँग सम्पर्क राखी भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन जिल्ला स्वास्थ्य कार्यालय, बैतडीले अनुरोध गरेको छ । सरकारले वर्षको दुईपटक खुवाउँदै आएको भिटामिन ‘ए’ यसवर्ष कात्तिक २ र ३ गते दीपावली पर्न गएको हुँदा कात्तिक १६ र १७ मा भिटामिन ‘ए’ खुवाइन लागिएको हो । हरेक ६/६ महिनामा अर्थात् वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै आएको छ ।

तेह्रथुममा असिनाले धानबाली नष्ट, लाखौँको क्षति

तेह्रथुम, कात्तिक १६ । जिल्लाको छथर क्षेत्रमा थन्क्याउन लागेको धानबाली असिनाले नष्ट गरेको छ । कृषकले भित्र्याउन लागेको धानबालीमा क्षति हुँदा लाखौँ बराबरको नोक्सान भएको छ । सोमबार साँझ परेको असिनाले धानबाली चुट्दा रु १० लाखभन्दा बढीको क्षति भएको कृषकले बताएका छन् । जिल्लाका जिरीखिम्ती, अम्फुवा र छथर गाउँपालिकामा असिनाले लाखौँ बराबरको क्षति भएको कृषक लोकबहादुर अधिकारीले बताए । म्याङलुङ नगरपालिकाको जिरीखिम्ती, अम्फुवा र छथर गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेका १०० भन्दा बढी कृषकको धानबालीमा क्षति भएको थियो । वर्ष दिनको कमाइ थन्क्याउन नपाउँदै असिनाले चुटेपछि कृषक चिन्तित बनेका छन् । करिब ३०० रोपनीमा रहेको खेतमा पाकेको धानमा क्षति भएको छ । खेतमा उब्जाएको अन्नले परिवार धान्दै आएका यामबहादुर कटुवाल भन्छन्, ‘वर्ष दिनको कमाइ असिनाले लग्यो, परिवारलाई धान्न कठिन हुने भयो ।’ कृषकले खेतमा काटेर राखेको धान थन्क्याउन नपाइ असिनाले लगेको छ । खेतमा धान काटेर राखेरको थियो एक्कासि असिना पानी आयो, केहीदिनमा थन्क्याउने तयारीमा थियौँ, क्षणभरमै माटोमा धान मिल्यो, कृषक तेजबहादुर अधिकारीले दुखेसो गरे । कृषकको धानबालीमा क्षति हुँदा लगानी माटोमा मिल्नुका साथै वर्ष दिनको कमाइ गुमाएका छन् । यसरी वर्ष दिनको कमाइ माटोमा मिल्दा किसान चिन्तित बनेको अधिकारीले बताए । असिनाले धानखेतीमा क्षति पुर्‍याउँदा खाद्य संकट हुनसक्ने कृषि कार्यालय, तेह्रथुमले जनाएको छ ।