छुट्टाछुट्टै घटनामा ६ जना मृत फेला

काठमाडौं। देशका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै घटनामा ६ जना मृत भेटिएका छन् । प्रहरीले धादिङ, बाजुरा, चितवन, काठमाडौं, खोटाङ र रुकुम पश्चिममा भएको घटनामा छ जनाको मृत्यु भएको हो ।
धादिङको ज्वालामुखी गाउँपालिका–४ बडडाडा बस्ने ३० वर्षीय रामशरण भुजेल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ स्थित कर्णाली नदीमा बुढीनन्दा नगरपालिका–४ घोडाकोट बस्ने ५९ वर्षीय बिस्न धामी सोमबार मृत अवस्थामा फेला परेका छन् । 

चितवनको भरतपुर महानगरपालिका ३ बेलचोक डेरा गरी बस्ने नवलपरासी हुप्सेकोट गाउँपालिका(२ गुहेरी घर भएका २५ वर्षीय चुन बहादुर मस्र्याङ्गी मगर आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौँ महानगरपालिका–६ नयाँबस्ती विपुल स्कुल चोकस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 

खोटाङ, साकेला गाउँपालिका(२ रतन्छा बस्ने २९ वर्षीय जामुन दर्जी सोही गाउँपालिका ४ स्थित मखुवा खोलामा सोमबार  मृत अवस्थामा फेला परेका छन् । 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० बरानेटी बस्ने ६२ वर्षीय तेज बहादुर पुन सोही ठाउँस्थित जङ्गलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय सभामा दाहाललाई विजयी गराउन पाँच दलको अपिल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा नयाँ सत्ता समिकरणका लागि सहयात्रा गरेका दलहरुका साझा उम्मेदवार नारायण दाहाललाई एकताबद्ध भएर विजयी गराउन पाँच दलले अपिल गरेका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूको बैठकले दाहाललाई विजयी गराउन अपिल गरेका हुन् ।  बैठकपछि पत्रकारहरुसँग माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने, ‘राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा गठबन्धन दलहरू एकताबद्ध भएर मत दिन अपिल गरेको छ । राष्ट्रिय  कार्यभार पुरा गर्न हामीले राष्ट्रिय सभालाई सही ढंगले सञ्चालन गर्न साझा उम्मेदवार दिएका छौँ । त्यसलाई समर्थन गरेर विजयी गराउन भनेर अपिल गरिएको हो ।’ बैठकमा माओवादीका अध्यक्ष प्रचण्डसहित एमालेका अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा राष्ट्रिय सभा संसदीय दलका नेता मृग्रेन्द्र यादवले आ–आफ्ना धारणा राखेका थिए । उनले यो सरकार खालि सरकार बनाउनका निम्ति मात्रै पुनर्गठन नगरिएको पनि बताए । श्रेष्ठले यो सरकार निश्चित उद्देश्यका साथ पुनर्गठन गरिएको भन्दै सामाजिक आर्थिक रूपान्तरण र समृद्धिका विन्दुमा पुर्‍याउने सरकारको कार्यभार भएको बताए । उनले भने, ‘त्यो कार्यभार यसअघिको सरकार मार्फत पुरा गर्न सकिएन । त्यही उद्देश्यलाई केन्द्रविन्दुमा राखेर यो सरकार पुनर्गठन गरिएको हो ।’ उनले पाँच दलबिच लिखित सहमति भइसकेकाले कुनै समस्या  नभएको दावी गरे । 

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुई समितिको बैठक आज बस्दैछ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र महिला तथा सामाजिक समितिको बैठक बस्दैछ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, महिला तथा सामाजिक समितिको बैठक मध्याह्न १२ बजे बस्दैछ । आजको बैठकमा बालसुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रालयहरूले गरिरहेका काम कारबाहीका बारेमा छलफल गर्ने जनाइएको छ ।

त्रिकोणात्मक टि-२० सिरिज : पिएनजीलाई हराउँदै नेपाल फाइनल प्रवेश

काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत मंगलबार भएको खेलमा नेपालले पिएनजीविरुद्ध ८६ रनको जित निकालेको छ। यो जितसँगै नेपाल फाइनल प्रवेश गरेको छ । हङकङको मोङ कोक मैदानमा सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १९९ रनको लक्ष्य भेट्न नसक्दा पिएनजी १६ ओभरमा सबै विकेट गुमाउँदै ८६ रनले पराजित भएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १९८ रन बनाएको थियो। नेपालले पिएनजीलाई १६.१ ओभरमा ११३ रनमै समेटेको हो। नेपालको जितका लागि कुशल भुर्तेलले मात्र १२ रन दिएर चार ओभरमा ४ विकेट लिए। प्रतिश जिसीले २ विकेट लिए। गुल्सन झा र आकाश चन्दले एकएक विकेट लिए। पहिला ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक बनाए। भुर्तेलले ३३ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका हुन्। भुर्तेल ३९ बल खेल्दै ५९ रनमा आउट भए। जोराले २१ बल खेल्दै तीन चौका र तीन छक्काको मद्तमा अर्धशतक बनाए। २६ बल खेलेका जोरा चार छक्का र तीन चौका प्रहार गर्दै ५६ रन बनाएर आउट भए। नेपालका लागि अर्का ओपनर विनोद भण्डारीले २२ बल खेल्दै २७ रन जोडे। लोकेस बमले ६ बलमा १४ रन बनाए। विवेक यादव चार बलमा १९ रन हान्दै नटआउट रहे भने गुल्सन झाले नटआउट १२ बलमा १५ रन बनाए। चार बल खेलको कप्तान रोहित पौडेल एक रनमा आउट हुँदा आरिफ सेख ७ बल खेल्दै चार रन बनाएर आउट भए। पिएनजीका असाद भालाले २ विकेट लिँदा नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १/१ विकेट लिए।

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ । बैठकमा वर्तमान तथा पूर्व पदाधिकारीहरुलाई बोलाइएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको रुपमा सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ । सत्ताबाट बाहिरिएपछि कांग्रेस सभापति देउवाले पार्टीभित्र र सरकारमा नगएका दलहरुबीचको छलफललाई तिव्रता दिँदै आएका छन् ।

सत्ता गठबन्धनले सांसदहरूको अभिमुखिकरण कार्यक्रम गर्दै

काठमाडौँ ।राष्ट्रियसभा अध्यक्षको निर्वाचनको सन्दर्भमा सत्ता गठबन्धनले सांसदहरुको अभिमुखिकरण कार्यक्रम गर्न लागेको छ ।माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका नारायण दाहाललाई समर्थन गरेका सांसदहरूलाई आज प्रशिक्षण दिने कार्यक्रम रहेको हो । संसद भवन नयाँ बानेश्वरमा ९ः३० बजे हुने अभिमुखिकरण कार्यक्रमा सत्ता गठबन्धनका राष्ट्रिय सभाका सांसदहरु प्रशिक्षणमा सहभागी हुने छन् ।

कुसल र सन्दीपको अर्धशतकमा नेपालले पिएनजीलाई दियो १९९ रनको चुनौती

काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत मंगलबार भएको खेलमा नेपालले पिएनजीलाई १९९ रनको चुनौती दिएको छ । हङकङको मोङ कोक मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १९८ रन बनाएको हो । नेपालका लागि ओपनर कुसल भुर्तेल र सन्दीप जोराले अर्धशतक बनाए । भुर्तेलले ३३ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । भुर्तेल ३९ बल खेल्दै ५९ रनमा आउट भए । जोराले २१ बल खेल्दै तीन चौका र तीन छक्काको मद्तमा अर्धशतक बनाए । २६ बल खेलेका जोरा चार छक्का र तीन चौका प्रहार गर्दै ५६ रन बनाएर आउट भए । नेपालका लागि अर्का ओपनर विनोद भण्डारीले २२ बल खेल्दै २७ रन जोडे । लोकस बमले ६ बलमा १४ रन बनाए । विवेक यादवले चार बलमा १९ रन हान्दै नटआउट रहे भने गुल्सन झाले नटआउट १२ बल मा १५ रन बनाए । चार बल खेलको कप्तान रोहित पौडेल एक रनमा आउट हुँदा आरिफ सेख ७ बल खेल्दै चार रन बनाएर आउट भए । अब केही बेरमा पिएनजीले जवाफी ब्याटिङ गर्नेछ ।

कर्णाली पुलमा आवागमन बन्द, आगलागीको क्षतिबारे प्राविधिक परिक्षण गरिदै

अत्तरिया । हिजो भएको आगलागीबाट आंशिकरूपमा क्षति पुगेपछि कर्णाली पुलमा सवारीसाधनको आवागमन बन्द गरिएको छ । प्राविधिकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४  ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ । कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ । कर्णालीको पुलमा गुड्दै गरेको अवस्थामा सोमबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासि आगलागी भएको थियो ।लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो चार घण्टापछि राति ९ बजे पूर्णरूपमा नियन्त्रणमा लिएको थियो । आइतबार अपराह्न वीरगञ्जबाट एक हजार एक सय कार्टुन लाइटर लिएर हिँडेको ट्रक हिजो अपराह्न कर्णाली पुलमा पुगेको थियो । आगलागी हुने क्रममा ट्रकमा चालक जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय सहचालक धिरज जोशी रहेका थिए । दुवै जना सकुशल प्रहरीको नियन्त्रणमा छन् । आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताए । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट एक करोड १५ लाख ६८ हजारबराबरको ट्रकमा रहेको लाइटर जलेको छ । ट्रकसमेत पूर्णरूपमा जलेको छ । चालक जोशीले कपिलवस्तुबाट ताप्लेजुङमा सिइ हाइड्रो कन्ट्रक्सनको सामान ढुवानीबापत बुझेको नगद ५७ हजार पनि जलेको बताए । नगद र सामान गरी एक करोड १६ लाख २५ हजारबराबरको क्षति भएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । एसियाकै नमूना पुलका रूपमा रहेको कर्णाली पुल पर्यटनको गन्तव्यस्थलका रूपमा समेत रहेको छ । एक खम्बाको सहायताले मात्र रहेको पुल हेर्न देश तथा छिमेकी मुलुक भारतबाट पर्यटक आउने गरेका लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष लवबहादुर शाहीले बताए ।

त्रिकोणात्मक टि-२० सिरिज : पिएनजीविरुद्ध सुरुमा नेपालको ब्याटिङ

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टि-२० सिरिजको आजको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ। टस जितेर पिएनजीले नेपाललाई ब्याटिङको निम्तो दियो। हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत पिएनजीविरुद्ध नेपालका ओपनर कुसल भुर्तेलले अर्धशतक बनाएका छन्। ३३ बल खेल्दै उनले चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । १३ औं ओभरको समाप्तिमा नेपालले तीन विकेटको क्षतिमा ९७ रन बनाएको छ ।९.३ ओभरमा नेपालले तेस्रो विकेटको रुपमा आरिफ सेखलाई गुमाएको हो। उनले ७ बल खेल्दै सात रन मात्र जोडे। सुरुको पाँच ओभर राम्रो ब्याटिङ गरेको नेपालले पछिल्लो तीन ओभरमा तीन विकेट नै गुमाएको हो। ओपनर बिनोद भण्डारी २२ बलमा २७ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेल एक रन बनाएर आउट भए। पौडेलले चार बल मात्र खेले। आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका छन्। आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले आठ ओभरमा दुई विकेको क्षतिमा ६५ रन बनाउँदा दोस्रो पटक पानी परेपछि खेल रद्द गरिएको थियो। खेल रद्द भएसँगै नेपाल र हङकङले एक एक अङ्क बाँडेका हुन्।  हङकङ भ्रमणमा पुगेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ।यो सिरिज बुधबारसम्म चल्नेछ।

राष्ट्रियसभाको बैठक बस्दै, नयाँ अध्यक्ष चयन हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ः०९ बजेका लागि बैठक बोलाइएको छ ।  आजको बैठकले राष्ट्रियसभा अध्यक्ष चयन गर्दै छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो ।  अध्यक्षका लागि उमेदवारी दर्ता भइसकेको छ ।  सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले उमेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले पनि उमेदवारी दर्ता गराएको छ । कांग्रेस सांसद युवराज शर्माले उमेदवारी दर्ता गराएका छन् ।    

राष्ट्रियसभा अध्यक्ष बन्दै नारायण दाहाल, यस्तो छ अंक गणित

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने निर्वाचन कार्यतालिका छ । निर्वाचन प्रक्रियाअन्तर्गत हिजो उमेदवारी दर्ता भएको थियो । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले उमेदवारी दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माले उमेदवारी दर्ता गराएका छन् ।        राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेको प्रतिनिधित्व गरेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । सत्तासाझेदार अर्को दल रास्वपाको राष्ट्रियसभामा उपस्थिति छैन । राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेसका १६ सांसद छन् । लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम छन् । गौतमले कता भोट हाल्छन्, खुलाएका छैनन् । हिसाबअनुसार, ३९ सांसद भएको सत्ता गठबन्धनले राष्ट्रियसभा अध्यक्षको चुनाव जित्दै छ । गठबन्धनबाट उमेदवार बनेका दाहाल राष्ट्रियसभा अध्यक्ष बन्दै छन् ।   

सुदूरपश्चिम र कर्णालीका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिमका मुख्यमन्त्रीको सत्ता जोगाउने कसरत, रेशमका मात्रै पाँच मन्त्री

धनगढी । सत्ता जोगाउने कसरतमा रहेका सुदूरपश्चिममा कांग्रेस नेतृत्वको प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज (सोमबार) पुनः मन्त्री थपेका छन्। उनले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई विनाविभागीय मन्त्री नियुक्त गरेर आजै शपथ खुवाएका छन् । यससँगै सात जना प्रदेश सांसद रहेको नागरिक उन्मुक्ति पार्टीबाट एक जना राज्यमन्त्रीसहित पाँच जना मन्त्री सरकारमा सहभागी भएका छन् ।  मुख्यमन्त्रीसहित सात मन्त्रालय रहेको सुदूरपश्चिममा कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन जना छन् । अब यहाँको सरकारमा मुख्यमन्त्रीसहित सात जना मन्त्री र एक जना राज्यमन्त्री भएका छन् । यसअघिका सत्ता साझेदारहरु माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा छन् ।  पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले शुक्रबार कांग्रेस सरकारमा सामेल भएका आफ्नो दलका सांसदलाई तत्काल फिर्ता हुन निर्देशन गरेकी थिइन् । तर अध्यक्ष श्रेष्ठको निर्देशन कार्यान्वयन हुन सकेको छैन् । सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई सघाउन पार्टीका संरक्षण रेशमलाल चौधरी सक्रिय छन् । विवाद उत्पन्न भएपछि अध्यक्ष श्रेष्ठले सोमबार केन्द्रीय कमिटीको बैठकसमेत बोलाएकी भएपनि बैठक बस्न सकेको छैन ।

सरकारले गठन गर्यो पाँच क्याविनेट समिति

काठमाडौँ । सरकराले पाँच ओटा क्याविनेट समिति गठन गरेको छ । सरकारका कामकारवाही प्रभावकारी बनाउन यस्तो समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।  उनका अनुसार प्रधानमन्त्रीले नेतृत्व गर्नेगरी राजनितिक समति, उपप्रधान तथा भौतिक पुर्वधार मन्त्रीले नेतृत्व गर्नेगरी आर्थिक पुर्वधार समिति, गृह मन्त्रीले समन्वय गर्नेगरी विधेयक समिति गथन गरिएको छ ।  त्यस्तै, उपप्रधान तथा परराष्ट्र मन्त्रीले प्रशासन समितिको समन्वय गर्नेछन् भने उपप्रधान तथा स्वास्थ्य मन्त्रीले समाजिक समितिको समन्वय गर्नेछन् । 

दूरगामी महत्त्वका निर्णय नगर्न गण्डकी सरकारलाई माओवादीको आग्रह

काठमाडौँ । नेकपा मा‌ओवादी केन्द्रले सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दूरगामी निर्णय नगर्न आग्रह गरेको छ । माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ । सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकार काम चलाउ सरकारमा परिणत भएको भन्दै दीर्घकालीन असर पर्ने निर्णय नगर्न आग्रह गरेको माओवादी संसदीय दलका प्रमुख सचेतक कुसुम बुढा पुनले जानकारी दिइन् । बैठकले तीन बुँदे निर्णय गर्दै कामचलाउ सरकार भइसकेको अवस्थामा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न र त्यस्ता कुनै पनि काम कारबाही नगर्न सरकारलाई सचेत गराउने निर्णय गरेको छ । केन्द्रीय गठबन्धनमा फागुन २१ गतेबाट आएको फेरबदलको प्रभाव गण्डकी प्रदेश सरकारको गठबन्धनमा समेत परेको छ ।

गृह सचिवमा एकनारायण अर्याल

काठमाडौं । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।  नयाँ सत्तासमिकरण बनेसँगै मन्त्रिपरिषद्लाई पूर्णता पाएपछिको पहिलो बैठकले तीन जना प्रदेश प्रमुखहरु नयाँ नियुक्त गर्नुका साथै प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालयमा रहेका सचिव एकनाराय अर्याललाई गृह मन्त्रालय पठाएको छ भने गृह सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालय सरुवा गरेको छ ।। आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकार सञ्चालन, विश्वासको मत लिने लगायतको विषयमा केन्द्रीत भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।