विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने
काठमाडौं । संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्न लागिएको हो ।
संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।
बैठकमा प्रतिनिधिसभाबाट उत्पति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
त्यस्तै, राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी दुवै सदनमा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।
प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै कुटपिट
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको छ । कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ । बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको थियो । बैठकमा आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए । नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मङ्सिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल हो : मन्त्री शर्मा
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल भएको बताएकी छिन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले छायाँकन स्थल र कथावस्तु दुबै हिसाबले नेपाल चलचित्रका लागि महत्वपूर्ण स्थल भएको बताइन्। ‘हिमाल, पहाड र तराईको भौगोलिक विविधिताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसाबले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायाँकनका लागि महत्वपूर्ण स्थल हो’– मन्त्री शर्माले भनिन्– ‘यहाँका रमणीय प्राकृतिक सम्पदाको सामीप्यतामा गरिने छायांकन मात्र होइन, कहिल्यै पराधिन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास तथा सामाजिक सांस्कृतिक सम्पदाको अखण्ड विरासत चलचित्रका लागि महत्वपूर्ण कथावस्तु पनि हुन् ।’ मानव जातिका दुःखका कारण र यसको समाधानको विधि पत्ता लगाएर विश्वलाई सुख र शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल नेपाल बहुभाषिक, बहुसाँस्कृतिक र बहुजातीय मुलुक रहेको औल्याउँदै उनले नेपाली संस्कृतिको अभिन्न अंगको रुपमा रहेका मूर्त र अमूर्त सबै सम्पदाहरु चलचित्रका महत्वपूर्ण कथावस्तु र छायांकनका लागि मनोरम स्थल रहेको बताइन्। नेपाली चलचित्रले यहाँको सामाजिक, साँस्कृतिक, आर्थिक समुन्नति तथा आपसी सद्भाव कायम गर्न ठूलो योगदान दिंदै आएको उललेख गर्दै मन्त्री शर्माले थपिन्– ‘नेपाली चलचित्र क्षेत्रलाई मर्यादित, व्यावसायिक बनाउन र मौलिक एवं स्तरीय नेपाली चलचित्र निर्माणमा अभिप्रेरित गर्न तथा यसको बजारीकरणमा समयसापेक्ष विकास गर्दै लैजान सबैको उत्तिकै योगदान र सकारात्मक भूमिका अपरिहार्य रहन्छ ।’ अब नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिंदै मन्त्री शर्माले उच्चतम प्रविधिको प्रयोग गरेर गुणस्तरीय चलचित्र बनाउने र विश्व बजारमा नेपाली चलचित्रलाई विस्तार गर्ने दुबै काम महत्वपूर्ण भएको बताइन्। ‘नेपाली चलचित्रको विश्वब्यापी बजारीकरणले एकातिर चलचित्र क्षेत्रको आर्थिक उनन्नयनमा टेवा पुग्नेछ भने अर्कोतिर पूर्वीय संस्कृतिको प्रवर्धन र विस्तारमा सहयोग पुग्नेछ’– मन्त्री शर्माले भनिन्– ‘सूचना प्रविधिका कारण सिर्जित विश्वब्यापीकरणले नेपालजस्ता प्राचीन मुलुकहरुको मौलिक संस्कृति लोप हुने खतरा बढ्दै गएको छ । त्यसो हुन नदिन हाम्रा मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा धेरैभन्दा धेरै चलचित्र निर्माण गर्ने र त्यसको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकता छ ।’ सरकारले नेपाली चलचित्र क्षेत्रलाई थप रचनात्मक र सिर्जनशील बनाउन सहयोग पुग्ने गरी स्टोरी बैंक स्थापना र ऐतिहासिक चलचित्र तथा वृत्तचित्र निमाणलाई प्रोत्साहन, काभ्रेमा चलचित्र छायाङ्कन स्टुडियो र दोलखा चलचित्र नगरी आयोजना, बाल चलचित्र महोत्सव जस्ता कार्यक्रम अघि सारेको जानकारी दिंदै उनले यो वर्षदेखि चलचित्रको माध्यमबाट सामाजिक सांस्कृतिकरुपान्तरणमा योगदान पुर्याउने चलचित्रकर्मीहरुलाई सम्मानको कार्यक्रम पनि थालिएको बताइन् । सरोकारवालासँगको परामर्शमा चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन परिमार्जनमा सरकारले गृहकार्य सुरु गरेको जानकारी दिंदै मन्त्री शर्माले यस क्षेत्रा आउने नीति र कानुनमा विरोध र समर्थन मात्रै भन्दा रचनात्मक सुझाव पनि विज्ञ र सरोकारवालाहरुलाई आग्रह गरिन्। महोत्सव चैत ५ गतेसम्म चल्ने छ ।
२०८० विन्दुमा झर्यो नेप्से परिसूचक
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से परिसूचक २७.८४ अंकले घटेको छ। यसदिन नेप्से १.३२ प्रतिशतले घटेर २०८०.८७ विन्दुमा बन्द भएको छ। बिहीबारको बजारमा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रूपैयाँको सेयर कारोबार भएको छ । गत कारोबार दिन अर्थात् बुधबार ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रूपैयाँको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३० करोड रूपैयाँ कमी आएको हो । यस दिन ३०३ वटा धितोपत्रको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच भएको हो। बिहीबार ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९६ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज नेपाल लघुवित्त र मानुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ। नेपाल लघुवित्तको प्रतिकित्ता मूल्य एक हजार १५६ रूपैयाँ ५० पैसा कायम भएको छ। यस्तै, मानुषी लघुवित्तको प्रतिकित्ता मूल्य ८७४ रूपैयाँ ५० पैसा पुगेको छ। स्वाभिमान लघुवित्तको मूल्य सर्वाधिक ६.०२ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ९६६ रूपैयाँ २० मा झरेको छ। यस्तै, जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ५.६६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २५० रूपैयाँ कायम भएको छ। बिहीबार अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता १८७ रूपैयाँ ९० पैसामा ५० करोड ८९ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.३४ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५५४ रूपैयाँ २० पैसामा २४ करोड ४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यस दिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशतले घटेको छ।
धनकुटामा आगलागी, ३ घर जलेर नष्ट
धनकुटा । धनकुटा जिल्लाको उत्तरपानी भन्ने ठाउँमा आगलागी हुँदा ३ घर जलेर नष्ट भएको छ।धनकुटा १० उत्तरपानीमा बिहान १०ः३० बजेदेखि आगो लागेको हो । अहिले आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पाख्रिवासले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन। कमला नेपाल मोक्तानको घरबाट बिहान १०ः३० बजे आगो सल्किएको स्थानीयले बताए । आगलागीले मेहरमान मोक्तानको २ घरमा क्षति पुगेको छ। साथै, उनको किराना पसलमा आगलागीबाट ३० लाख क्षति पुगेको थियो। चुल्होमा बालेको दाउराबाट आगलागी सुरु भएको हुन सक्ने जनाइएको छ।
गृहमन्त्री बनेपछि रबि लामिछानेप्रति कांग्रेसको प्रश्न
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछाने नियुक्त भएपछि सहकारीको अपचलनमा जोडिएका व्यक्ति गृहमन्त्री बनेको भन्दै विषयमा प्रश्न उठाएको छ । यद्यपि रास्वपाका नेताहरुकै नेताहरुले उनी गृहमन्त्री बन्नु अगाडि प्रधानमन्त्रीको अफर गरेको बताउँदै आएका छन् । आजको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीले गृमन्त्री बनाएकोप्रति प्रश्न उठाएको हो ।बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए । सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे । उनले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरे । सांसद पाण्डेले सो विषयमा प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग गरे । तत्पश्चात् सभामुख घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले यसबारे ध्यान दिने विश्वास व्यक्त गरे । त्यसैगरी अर्का सांसद सीता मिजारले ‘आरोपित नै कानुन कार्यान्वयनको नेतृत्वमा बस्दा कसरी न्याय निरूपण हुन्छ ?’ भनी प्रश्न गरिन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला प्रशासनमा उजुरी रहेको भन्दै उनले ‘त्यसको कार्यान्वयन गर्ने मुख्य नेतृत्वमा आरोपी बस्दा कसरी निष्पक्ष न्याय निरूपण हुन्छ ? भनी प्रश्न गरेकी हुन् । न्यायाधीशले समेत स्वार्थ बाझिने मुद्दामा फैसला गर्न नमिल्ने कानुनी प्रावधान रहेको उनले उल्लेख गरिन् । “बहालवाला गृहमन्त्री सहकारी ठगीमा संलग्न भएको भन्दै कास्की जिल्ला प्रशासनमा मुद्दा परेको छ । यसले आम रूपमा गृहमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठेको छ,” उनले बिहीबार प्रतिनिधिसभा बैठकमा भनिन्, “मुलुकमा कानुनी शासन स्थापना गर्ने मुख्य अभिभारा बोकेको गृह प्रशासनको बागडोर सम्हालेको नेतृत्वमाथि नै गम्भीर प्रश्न खडा हुँदा समेत बहालवाला रहिरहनुले प्राकृतिक न्यायको सिद्धान्तको पालना कसरी हुन्छ ? ” उनले ‘गृहमन्त्रीले कसरी नागरिकलाई न्याय दिने ?’ भनी थप प्रश्न गरिन् । “मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १७६ मा भनिएको छ– स्वार्थ बाझिने मुद्दामा न्यायाधीशले संलग्न हुन हुँदैन भनेको,” सांसद मिजारले भनिन्, “गृहमन्त्री पदमा बसिरहने, यसको जिम्मेवारी गृहमन्त्रीले लिने कि नलिने ?”
सुनचाँदीको भाउ फेरी बढ्यो
काठमाडौं । अघिल्लो दिन तोलामा १ हजार रुपैयाँ घटेको सुन बिहीबार फेरि बढेको छ । हिजो प्रतितोला १ लाख २५ हजारमा झरेको सुन आज भने ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । १ लाख २५ हजार ८ सय रुपैयाँमा बिहीबार सुनको कारोबार भइरहेको छ । बिहीबार एकै दिन चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १४६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५१५ रुपैयाँ पुगेको छ ।
लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं । अबैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् । देशका विभिन्न ठाउँबाट चेकजाँचको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । मोरङको बिराटनगर महानगरपालिका १५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९२ मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका १२ बस्ने राजकुमार कामत र २४ वर्षीय आशिष पोदार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १० प ४४७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका ३ बस्ने ३० वर्षीया सुनिता राईलाई अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम, गाँजा ३ किलो ५ सय ग्राम, डिजिटल तराजु २ थान र नगद ५ लाख ३८ हजार २ सय ५० रूपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध र नगद फेला पारी उनलाई पक्राउ गरको हो । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ४ नयाँ ठिमीबाट अवैध लागूऔषध गाँजा २ किलो १५ ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुली लामाचौर गाउँपालिका(७ घर भएकी ३९ वर्षीया सुष्मा तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै आवश्यक सोधपुछको लागि अन्य ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रे, पनौती नगरपालिका ५ नैकिङटार बस्ने ४१ वर्षीय नकुल तिमल्सिनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३८ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं, जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । झापा, दमक नगरपालिका(३ बस्ने ३० वर्षीय दावा तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेलडागीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका ३ रामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित जानकी गाउँपालिका(७ बस्ने २६ वर्षीय राज कुमार चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका १ भरतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय माधब बिष्टलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजा घर संचालक पक्राउ
काठमाडौं । बालिकाहरुलाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौंमा एक जना खाजाघर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ शिबचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका संचालक उदयपुर बेलका नगरपालिका ५ ठेगाना भएका ३८ वर्षीय हिरन राईलाई प्रहरीले पक्राउ गरेको हो । उक्त खाजा घरमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रहेको आरोपमा राईलाई पक्राउ गरेको हो । साथै उक्त स्थानबाट नाबालिका सहित दुई जनालाई प्रहरीले उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ र पाकिस्तानी राजदूत हाश्मीबिच भेटवार्ता
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र पाकिस्तानका राजदूत अब्रर हाश्मीबीच भेटवार्ता भएको छ । भेटमा राजदूत हाश्मीले परराष्ट्रमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका छन् । नवनियुक्त उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठलाई आज सिंहदरवार भेटवार्ता गर्दै राजदूत हाश्मीले बधाई तथा शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरु बिच दुई देशको आपसी हितका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु
काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीहरुको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौं सानो भर्याङ्गका सुजन कार्की, पन्चदेवल विनायक ५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन्। नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरे। मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनको भनाई छ। हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछाने मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए। मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिंदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरुको शव पोष्ट मार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ। शवलाई फरेन्सिक जाँचका लागि पठाइएको र कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर स्थानीय प्रहरीले अनुसन्धान थालेको समाचारमा जनाइएको छ।
पारदर्शिता कायम गर्न सहकारीलाई डिजिटाइजेशनमा लैजानूपर्छ : मन्त्री गिरी
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको बताए । उनले सरकारको नियमन कार्यशैलीमा पनि प्रश्न गरे । सहकारीबाट ऋण लिएर ठूूला ठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियमाक निकाय कहाँ थियो? उनले प्रश्न गरे । सहकारीको नियमन गर्न बसेका निकायहरुले राज्यबाट सुविधा लिने तर यति ठूलो समस्या आउँदा ध्यान नदिनु दुखःद् भएको उनको भनाई छ । सदस्यको बचतबाट ऋण दिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न उनले आग्रह गरे । ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री गिरीले कतिपय ऋणीका कारण सहकारीहरु समस्यामा परेको बताए । सहकारीका सञ्चाललाई थुनेर मात्रै बचत फिर्ता नहुने भन्दै समयमै प्रभावकारी नियमन नहुँदा समस्या आएकाले समाधानको निम्ती पनि समय दिनुपर्ने उनको भनाई । यस्तै, उनले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राखे । ‘सबैलाई जेल पठाएर समस्याको समाधान हुँदैन, यस्तो कार्यले क हामीले ठूलो समस्या भोग्नु पर्ने हुन्छ, बेलैमा सचेत बन्नुपर्छ,’ उनले भने । ‘सहकारी क्षेत्रमा केही व्यक्तिले गलत गर्यो भन्दैमा सबैलाई लज्जित गर्नु हुँदैन, यो अवस्था हुँदा सरकार कहाँ थियो,’ उनले प्रश्न गर्दै भने, ‘ऋण खाने प्राडोमा र ऋण दिने जेलमा छन्, सहकारी र बैंकबाट ऋण लिएर छोराछोरीलाई अमेरिका र अष्ट्रेलिया पठाउने अनि अहिले समस्या आयो भनेर सञ्चालकलाई गाली गर्ने ?’ सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको बताए । प्रविधिमार्फत सदस्यहरुलाई संस्थाको हरेक गतिविधिका बारेमा जानकारी दिन सके विश्वास बढ्ने उनको बुझाई छ । सहकारी नियमनका लागि छुट्टै नियामक निकाय आवश्यक रहेको र राष्ट्र बैंक जस्तै निकाय आवश्यक भैसकेको मन्त्री गिरीले बताए । पारदर्शीताको अभावले केही सहकारीमा समस्या आएकाले प्रविधिमा साक्षत्कार हुँदै सहकारी अगाडी बढ्न उनले सुझाए ।
प्रतिनिधि सभा बैठक जारी (प्रत्यक्ष प्रसारण)
काठमाडौं । प्रतिनिधिसभा बैठक जारी छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे देखि बसिरहेको हो । बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । त्यस्तै ,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० र निर्माणमूखी सामाग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
जनप्रगतिशिल मन्च युरोपको महाधिबेशन बार्सिलोनामा हुँदै
काठमाडौं । यहि मार्च १७ र १८ गते स्पेनको बार्सिलोनामा हुने नेपाली जनप्रगतिशिल मन्च युरोपको ५ औ महाधिबेशनको तयारी तिब्र पारिएको छ । नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) युरोपको ५ औँ महाधिवेशनका लागि युरोपका विभिन्न देशमा तयारी भैरहेको छ । एनपीपीएफ युरोप कमिटीको १५ औँ पूर्ण बैठकले मार्च १७ र १८ गते स्पेनको बार्सिलोनामा ५ औ महाधिबेशनको गर्ने निर्णय गरेको थियो । यो अधिवेशनले एनपीपीएफ युरोपको नयाँ नेतृत्व निर्वाचित गर्नेछ । अधिवेशनमा युरोपका डेढ दर्जनभन्दा बढी देशबाट एनपीपीएफका प्रतिनिधीहरु सहभागी हुनेछन् । भेलामा विचार र नीतिमाथि तथा परदेशमा नेपालीहरुले भोगेका समस्या बारेमा पनि छलफल गर्ने बताइएको छ । अधिवेशन तयारीका लागि विभिन्न समितिहरु गठन भएको छ । सन् २००५ मा एनपीपीएफ युरोपको स्थापना भएको थियो । युरोपका डेढ दर्जन बढी देशमा एनपीपीएफका राष्ट्रिय समिति सक्रिय छन् ।
अमेरिकमा टिकटक प्रतिबन्ध लगाउने विधेयक पास
काठमाडौं ।अमेरिकन हाउस अफ रिप्रेजेन्टेटिभले टिकटक प्रतिबन्ध लगाउने विधेयक पास गरेको छ। चिनियाँ नागरिकको स्वामित्वमा रहेको टिकटक एप अमेरिकालाई नबेचे देशभर प्रतिबन्ध लगाउने सो विधयेकमा उल्लेख छ । चिनियाँको स्वामित्वमा रहेको टिकटक अमेरिकाका लागि सुरक्षा चुनौती भएको भन्दै बुधबार अमेरिकी हाउसले यस्तो विधेयक पास गरेको हो।द न्यूयोर्क टाइम्सका अनुसार सो विधेयक अब सिनेटमा जानेछ।उक्त विधेयक सिनेटले पास गर्ने नगर्ने निर्णय लिनेछ । अमेरिकामा विधयेक कानुन बनेर कार्यान्वयनमा जान पहिले दुबै सदन हाउस र सिनेटले पास भएर विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने हुन्छ। राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो विधेयक कानुन बन्नेछ। राष्ट्रपति जो बाइडेनले कंग्रेस (दुबै सदन) ले यो विधेयक पास गरेमा आफूले हस्ताक्षर गर्ने बताएका छन्। चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमा अहिले १५ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू रहेका छन्।
उदयपुरका माओवादी नेता अनिलको निधन
विराटनगर । नेकपा माओवादी केन्द्रका जनयुद्धकालिन पुराना नेता भीमबहादुर अधिकारी अनिलको निधन भएको छ । लामो समयदेखि उपचाररत उनको क्यानसर रोगका कारण निधन भएको माओवादी उदयपुरका नेता विवश कटुवालले जानकारी दिए ।

