प्रतिनिधिसभा बैठकमा निजामती सेवा विधेयक प्रस्तुत गरिदै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ ।
बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
त्यस्तै ,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० र निर्माणमूखी सामाग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपतिद्वारा राजदूत पौडेललाई शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति कार्यालय, महाराजगञ्जमा आज आयोजित समारोहमा नवनियुक्त राजदूत पौडेललाई शपथ गराइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।
सुहाङ एमाले कानुन विभागको सदस्य मनोनित
काठमाडौं । नेकपा एमालेले सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधवार नेम्वाङलाई कानुन विभागको सदस्यमा मनोनित गरेका हुन् । फागुन ३ गते बसेको एमाले केन्द्रीय सचिवालयको २७ औं बैठकले नेम्वाङलाई सो पदमा मनोनित गर्ने निर्णय गरेको महासचिव पोखरेल्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सुहाङ एमाले नेता स्वर्गीय सुवास नेम्वाङका पुत्र हुन् ।
एन्फा पदाधिकारीलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको निर्देशन
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरू खेलकुद ऐन विपरीत मलेसिया भ्रमणमो गएको भन्दै कारबाहीका लागि राष्ट्रिय खेलकुद परिषद राखेपलाई निर्देशन दिएको छ। मलेसियाविरुद्ध शुक्रबार हुने मैत्रीपूर्ण खेलको लागि एन्फाले खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७ जना र त्यसबाहेक ९ जनालाई मलेसिया पठाएको छ। खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र प्रशिक्षक प्रवेश कटुवाल, गोलकिपर प्रशिक्षक विनोद डंगोल, टेक्निकल स्टाफ मनिष तिम्सिना, टिम व्यवस्थापक उत्तमराज भण्डारी, फिजियो लोकेन्द्र कुँवर, किट व्यवस्थापक ज्ञानबहादुर राई मलेसिया गएका छन्। यस बाहेक एन्फा उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्र, प्रमुख कार्यकारी अधिकृत सीईओ इन्द्रमान तुलाधर, भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ पनि मलेसिया गएका छन्। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ (झ) मा राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिई अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानुनी व्यवस्था रहेको छ,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा राष्ट्रिय खेलकुद परिषदको च नं. ६२७ मिति २०८०र११र३० को पत्रानुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम लिनुपर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएको हुँदा कानुन बमोजिम कारबाही गरी सो को जानकारी गराउन राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिइएको साथै कानुन बमोजिम राष्ट्रिय खेलकुद परिषदको स्वीकृति पश्चात मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठि, सेमिनार, वा सम्मेलनमा भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्ने व्यवस्थाका लागि गृहमन्त्रालयमा अनुरोध गरिएको छ।’ विश्वकप छनोट अन्तर्गत बहराइनसँग खेल्ने तयारीमा रहेको नेपालले मलेसियासँग उसैको मैदानमा यही मार्च १५ अर्थात चैत २ गते मैत्रीपूर्ण खेल्नेछ । त्यसका लागि खेलाडीसहित एन्फाको टोली मलेसिया प्रस्थान गरिसकेको छ।
पार्टीमा विवाद भएपनि परिवार फुट्दैनः रञ्जिता श्रेष्ठ
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरीसँग वैचारिक मतभेद रहे पनि त्यसको असरले परिवार नफुट्ने बताएकी छिन् । पार्टीमा फरक विचार भएकै कारण आफूहरुको परिवार नफुट्ने उनको दावी छ । दिउँसो संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग रञ्जिताले बिहान रेशमले स्ट्याटस लेख्दा आफूँसँगै रहेको पनि बताइन् । नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए । रञ्जिताले भनिन्, ‘म र रेशमजीले पार्टीगत रुपमा बसेर छलफल गरेका थियौं । पार्टीगत रुपमा उहाँ र मेरो मत फरक फरक भएको हो । तर, परिवार छुट्टै कुरा हो । पार्टी छुट्टै हो । फरक विचारले परिवार फुट्दैन ।’ आफूहरुको पारिवारिक सम्बन्धमा कुनै समस्या नरहेको पनि उनले बताइन् । आफूहरु २५ वर्षदेखि सँगै रहेको भन्दै उनले थपिन्, ‘परिवारका हाम्रो त्यस्तो केही पनि छैन ।’ पार्टीमा फरक–फरक विचार बोकेकाहरु जोडिने भएकाले त्यसको समुचित रुपमा निरुपण हुने रञ्जिताले दावी गरिन् ।
देशभर आगलागी र डढेलो बढ्दै
काठमाडौं । पछिल्लो समय देशभर आगलागी र डढेलोका घटना बढ्दै गएका छन् । देशका विभिन्न स्थानमा गएको २४ घण्टामा १६ स्थानमा आगलागी र ९ स्थानमा डढेलोको घटना भएको छ । घटनामा मानवीय क्षति भने हुन नपाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाजुरा, भोजपुर, पाँचथर, धनकुटा, गोरखा, झापा, सप्तरी, तेह्रथुम, सिराहा, भक्तपुर, मकवानपुर, धनुषा, धादिङ, पाल्पा र इलामका विभिन्न स्थानमा आगलागीका घटना भएका थिए । त्यस्तै पर्वत, कास्की, रामेछाप, तेह्रथुम, सोलुखुम्बु, गुल्मी, धनुषा, धनकुटा र खोटाङका विभिन्न स्थानका जङ्गलमा डढेलो लागेको थियो । आगलागी र डढेलोबाट अनुमानित ५९ लाख ३७ हजार ९ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ । स्थानीय प्रहरी, सशस्त्र प्रहरी, सेना र सर्वसाधारणको प्रयासबाट आगलागी र डढेलो नियन्त्रण गरिएको प्राधिकरणकी प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिइन् ।
नवनियुक्त प्रदेश प्रमुखहरूले शपथ ग्रहण गर्दै
काठमाडौं । नव नियुक्त तीन प्रदेशका प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ लिदैछन् । आज ६ बजे राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिन लागेका हुन् । सरकारले सुमित्रा भण्डारीलाई मधेश प्रदेशमा, डिल्लीराज भट्टलाई गण्डकी प्रदेशमा र नजिर मियाँलाई सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त गरेको थियो । आज तीनै जना प्रदेश प्रमुखहरुले आज राष्ट्रपतिबाट शपथ लिन लागेका हुन् ।
राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचन चैत ४ गते
काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत ४ गते हुने भएको छ । बुधबार राष्ट्रियसभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विषयगत समितिका सभापतिहरूको निर्वाचन आगामी आइतबारका लागि तय गरिएको जानकारी गराए । उनले समिति सभापतिहरूको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्याललाई निर्देशन पनि दिए । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।
सेयरबजारमा ४ अर्ब २४ करोडको कारोबार
काठमाडौं । सेयरबजारमा चार अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सूचक २.४८ अंकले घटे पनि ४ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको हो। बुधबार १ करोड ८ लाख कित्ता सेयर बिक्रीपछि उक्त कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यो सँगै ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको र १६ वटाको उही मूल्यमा कारोबार भएको छ।
मिटरब्याज पीडितलाई गाडीको व्यवस्था गरेर घर पठाइयो
काठमाडौं । सरकारसँग सहमति भएर पनि गाडिभाडा नभएर घर फर्किन नपाएका मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडीको व्यवस्था गरेर घर पठाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयका प्रमोद न्यौपानेका अनुसार, सहमतिपछि पनि घर फर्किन नपाएको थाहा पाएपछि गाडीको व्यवस्था गरेर घर फर्काइएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार ट्राफिक प्रहरीसँग समन्वय गरेर पीडितलाई घर फर्काउन गाडीको व्यवस्था गरिएको जानकारी दिए। त्यसअनुसार ६ वटा गाडीमा पूर्व र पश्चिमका पीडितलाई बुधबार साँझ पठाइएको उनले बताए । मन्त्रालयले मिटरब्याज पीडितसँग सोमबार चार बुँदे सहमति गरेको थियो । योसँगै ४२ दिनपछि मिटरब्याज पीडितको आन्दोलन टुंगिएको थियो । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अनुसार, सहमति भएपछि पैसा भएका पीडितहरु फर्किएका थिए । तर, झण्डै दुई सय जनाजति पैसा नहुँदा घर जान पाएका थिएनन् । सरकारसँग भएको चार बुँदे सहमति अनुसार, पीडितको समस्याबारे जाँच गर्न नयाँ आयोग बन्दैछ । त्यसले तमसुकहरु खारेज गर्न समेत सिफारिस गर्ने सहमतिको बुँदामा उल्लेख छ ।
सीके राउतको प्रस्ताव - 'प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्था गरौं'
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नेपर्ने आवश्यकता औंल्याएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीलाई सांसदहरुले विश्वासको मत कहिले कता कहिले कता हाल्नुपरेको गुनासो गर्दै जनताले विश्वासको मत दिने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्था गर्नुपर्ने बताएका हुन् । प्रतिनिधिसभा बैठकमा उनले निर्वाचनमा गठबन्धन गर्ने प्रवृत्ति वा निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए । “निर्वाचनमा गठबन्धन गर्नु कति घातक छ भने छातीमा छर्रा भएका मान्छेले बर्जुवालाई नै भोट हाल भन्नु र जसको घरमा नै हत्या भएको छ,” राउतले भने, “हत्या गर्नेलाई नै भोट माग्नु कति घातक छ भन्ने देखारहेको छ । कि निर्वाचनमा गठबन्धन रोक्न सक्ने ऐन कानुन ल्याउन सक्नुपर्यो । कि व्यवस्था नै परिवर्तन गर्न सक्नुपर्यो ।” उनले आफ्नो पार्टीले विश्वासको मत नदिने भएपनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गरे ।
वालिङ नगरपालिकाले कृषकलाई दुधमा १० रुपैया अनुदान दिने
वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिकाले कृषकलाइ प्रति लिटर दुधमा १० रुपैया अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर कार्यक्रम तथा गाइ भैसी प्रवद्धन कार्यक्रम अन्तरगत वालिङ नगरपालिका र अकला नमुना कृषि सहकारी संस्था विच सम्झौता भएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए । स्थानीय अकला नमुना कृषि सहकारी संस्थाले उपलब्ध गराएको पास बुकमा भएको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दुधमा १० रुपैया उपलब्ध गराउने उनले जानकारी दिए । सम्झौता अनुसार नमुना कृषि सहकारीले नगरपालिकाको सम्झौता अनुसार दैवि प्रकोपको अवस्थामा बाहेक वार्षिक कम्तीमा ३५० दिन किसानको दुध खरिद गर्नुपर्नेछ । सहकारी संस्थाले हरेका एक महिनामा दुइ पटक संकलित दुधको विवरण वालिङ नगरपालिकालाइ उपलब्ध गराउने छ । दुधको मुल्य नेपाल सरकारले तोकेको फ्याट र एसएनएफ को आधारमा निर्धारण हुनेछ । सम्झौतामा हस्ताक्षर गर्दे नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिकालाइ दुधमा आत्मानिर्भर बनाउन र उत्पादनका आधारमा कृषकलाइ अनुदान दिदा कृषक पनि उत्साहित हुने र युवा पुस्तामा कृषि फर्महरु सञ्चालन गर्न उत्साहित हुने विश्वास व्यक्त गरे । वालिङ नगरपालिकाले गाइ पाल्ने कृषकलाइ अधिकतम ५० हजार रुपैया सम्म सहयोग अनुदान दिने पनि जानकारी उनले दिए । स्वदेशमै बस्ने युवा र विदेशबाट फर्केका युवाहरुको आकर्षणका निम्ती नगरपालिकाले बजार व्यवस्थापनको ग्यारेन्टी संगै औषधि, विमा र सडक व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको नगर उपप्रमुख कविता तिवारी गैह्रेले बताइन् । कृषकहरुको सहजतालाइ मध्यनजर गर्दै दुध संकलन केन्द्र हालको लागि वालिङ नगरपालिका वडा न १२ धनमुढा, वडा न १४ फौदिखोला, वडा न ४ को एलादिमा राख्ने र दुधको उत्पादनको आधारमा संकलन केन्द्र स्थापना गर्ने अकला नमुना कृषि सहकारी संस्थाका अध्यक्ष पुण्य प्रसाद अर्यालले जानकारी दिए । वालिङ नगरपालिका भित्र ७०० घरधुरीले गाइ/भैसी पालेर औषतमा दिनको ५०० लिटर दुध उत्पादन गरि बजारमा बेच्ने नगरपालिकाको पशु सेवा शाखाले अनुमान गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिकाले पनि दुधमा प्रतिलिटर १५ रुपैयाँ कृषकलाई अनुदान दिदै आएको छ ।
वीरेन्द्रनगरको हङकङ बजारमा डोजर चलेपछि व्यवसायीले गरे ढुंगामुढा
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका स्थानीय हङकङबजारमा आज डोजर चलाएको छ । नगरपालिकाले सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरे पनि व्यवसायीहरूले अटेर गरेपछि वीरेन्द्रनगर नगरपालिका–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाएको हो । नगरपालिकाको डोजर आइसकेपछि केही व्यापारीले सामान उठाउन थाले पनि केही व्यापारी भने प्रतिकारमा उत्रिएका छन् । व्यापारीले ढुङ्गा मुढा हानेपछि नगरपालिकाको डोजरको सिसा फुटेको छ । झडपको स्थिति सृजना भएपछि नगरपालिकाको डोजर पछि हटेको छ । सो क्रममा एक कर्मचारीले घाइते भएका छन् । माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो । नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका थिए । यो क्षेत्रमा १२५ जना साना व्यवसायीहरूले व्यापार गरिरहेको छन्।
मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन पूर्वअर्थमन्त्री महतलाई प्रधानमन्त्रीको चुनौती
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौती दिएका छन् । बुधवारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो चुनौति दिएका हुन् । उनले मनपरी पैसा चलाउन नदिएपछि प्रधानमन्त्री प्रचण्ड आफूसँग रिसाएको भन्ने आशयको अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन् । उनले नकारात्मक प्रचार गरेर जनतामा भ्रम नछर्न आग्रह गरे । उनले भने ‘आजमात्रै मैले देखेँ, पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले मेले मनपरी पैसा चलाउन नदिएपछि यस्तो भयो भन्ने आशयको मन्तव्य दिनुभएको छ । म डा. प्रकाशशरण महतलाई यो पुष्टि गर्न चुनौति दिन चाहन्छु । मैले कहाँ कसको लागि पैसा मागेँ । नकारात्मक प्रचार गरेर जनतामा भ्रम नगर्न आग्रह गर्दछु ।’ प्रधानमन्त्रीले आत्मनिर्भरताको व्यवस्थित प्रयास सरकारले गर्ने प्रतिवद्धता जनाए ।
राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिन आवश्यक छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए। “यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,” प्रधानमन्त्री प्रचण्डले भने, “अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ। राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट। उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीवाट। सभामुख हुनुहुन्छ, नेकपा (एमाले)को पृष्ठभूमिबाट। राष्ट्रियसभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट। उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट। सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ।”
संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताए। “सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भने, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ।” संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले कुनै बेला संसदमा उभिएर राजनेता घोषणा गरेको स्मरण गरे।

