चिनीमा भन्सार बढाउने प्रस्ताव

काठमाडौं, कात्तिक २४ । कृषि मन्त्रालयले विदेशबाट आयात हुने चिनीमा लाग्दै आएको भन्सारदर बृद्धि गर्न अर्थ मन्त्रालयलाई प्रस्ताव पेश गरेको छ ।

यद्यपि, अर्थले मूल्य बढ्न सक्ने भन्दै एक साता बित्दा पनि सो प्रस्तावबारे कुनै प्रक्रिया अघि बढाएको छैन । तर, उद्योगी र उखु किसान अनुकुल हुने गरी भन्सार बृद्धिको प्रस्ताव गरिएको कृषि मन्त्रालयले दाबी गरेको छ ।

सचिवस्तरको निर्णयले चिनीको भन्सार शुल्क कम्तीमा ५० प्रतिशत पुर्‍याउनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरिएको मन्त्रालयका सहसचिव सुरेशबाबु तिवारीले जानकारी दिए । अहिले आयातित चिनीमा १५ प्रतिशत भन्सार महसुल कायम गरिएको छ । –नयाँ पत्रिका दैनिकबाट

पुरानै मूल्यमा धान बिक्री गर्नुपर्दा कृषकहरु आक्रोशित

लोकेश धामी कैलाली, कार्तिक २३ । नेपाल खाद्य संस्थानले पुरानै मूल्यमा धानको मूल्य निर्धारण गरेको भन्दै कैलालीका किसान आक्रोशित बनेका छन् । ढिला गरी भएको धानको मूल्य पनि पुरानै रेटमा निर्धारण हुँदा किसानहरु आक्रोशित बनेका हुन् । अधिकांश किसानले धान बिक्री गरिसकेपछि धानको मूल्य निर्धारण भएको छ । दिनहुँ मंहगी बढिरहेको भएपनि गतवर्षकै मूल्यमा संस्थानले धान खरिद गर्न लागेपछि किसानहरु व्यापारीलाई धान विक्री गर्नुपर्ने बाध्यतामा परेका छन् । अधिकांश किसानले धान बिक्री गरिसकेको र त्यसैमाथि ढिला गरी भएको धानको मूल्य निर्धारणले किसानहरुलाई कुनै फाइदा नपुगेको उनीहरुको गुनासो छ । धान काटेर गहुँ लगाउने बेलासम्म संस्थानले मूल्य निर्धारण नगर्दा अधिकांश किसानले व्यापारीसँग धान बिक्री गरिसकेका छन् । त्यसैमाथि यसवर्ष नेपाल खाद्य संस्थानले गतवर्षकै मूल्य निर्धारण गरेपछि किसानहरु आक्रोशित बनेका छन् । मंगलबार मात्रै संस्थानले धानको मूल्य निर्धारण गरेको छ । महँगी आकाशिएको भएपनि संस्थानले गत वर्षकै दरमा धान खरिद गर्दा मेहनत अनुसारको मूल्य नपाएको धनगढी उपमहानगरपालिका–५ हसनपुरका किसान लोकराज भट्टले गुनासो गरे । नेपाल खाद्य संस्थानले यो वर्ष पनि गतवर्षको जस्तै धान प्रतिक्विन्टल १९ सय ५० रुपैयाँ निर्धारण गरेको छ । गतवर्ष शुरुमा १९ सय ५० भएपनि पछि भने २१ सय रुपैयाँमा खरिद गरेको थियो । बजारमा महंगी बढ्ने आँकलनलाई मध्यनजर गर्दै गतवर्षकै दरमा चामल खरिद गरिहरेको नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीका निमिक्त प्रमुख गंगादत्त पन्तले बताए । गतवर्ष संस्थानले ५० हजार क्वीन्टल चामल धान खरिद गरेको थियो भने यो वर्ष ४५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखेको छ । कैलालीको मोहनपुर, टिकापुर सत्ती र भजनीबाट संस्थानले धान खरिद गरिरहेको छ ।

प्रहरीको निगरानीमा त्रिभुवन विमानस्थलका प्रमुख

काठमाडौं, कात्तिक २३ ।  विदेश भ्रमणमा निस्किँदा सधैँ विशिष्ट अतिथि भिआईपी ले प्रयोग गर्ने बाटोबाट जाने गरेका त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक जिएम वेवानन्द उपाध्याय गत शनिबार अमेरिका जान सामान्य यात्रुकै बाटोमा लाम लागे । प्रहरीको विशेष टोली भने भिआईपी कक्षतिर उनको प्रतीक्षामा थियो । उनी भिआईपी बाटोको सट्टा सामान्य यात्रुको बाटोमा गएको सुचना आलगत्तै भिआईपी बाटोमा मोडिए । प्रहरीले विमानस्थलका जिएम उपाध्यालाई लामबाट निकाल्यो र उनको साथमा रहेको सुटकेस जाँच गर्यो ।, नागरिक दैनिकमा खबर छ ।

एक सय जोडीले बेलुनमा हावामा उडेर विवाह गरी बनाए विश्व रेकर्ड

काठमाडौं, कात्तिक २२ । चीनको हुबेई प्रान्तको वुहानमा एक सय नयाँ जोडीले विवाहको अनौठो इतिहास रच्न सफल भएका छन । विश्वमा पहिलो पटक एक सय जोडीले एकै साथ ‘हट एयर बेलुन’ मा हावामा उडेर विवाह गरेका छन । यो विवाहलाई गिनीज बुक अफ वर्ल्ड रेकार्डमा समावेस गरिएको छ । विवाह गर्नु अघि एक सय जोडी बेलुनमा बसेर हावामा उडें । त्यसपछि उनीहरुले विवाहको रीति पुर्याए विवाह गरे । एक जना दुलहीका अनुसार एक सय नयाँ जोडीका साथ हावामा विवाह गर्नु जीवनको सबैभन्दा सम्झन लायक क्षण भएको बताइन । मेरो जीवन साथीले सबैका अगाडि प्रेमका नमूना प्रदर्शन गरे । पायलट जूओ डान ले भने ‘हट एयर बेलुन’ सबै एयरक्राफ्टमध्ये सुरक्षीत मानिन्छ । किनभने यसमा इन्जिन हुदै । यो तातो हावाले चल्छ ।

मताधिकारबाट वञ्चित गरिए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं, कात्तिक २२ । आसन्न मंसिर २१ र १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा निजामती कर्मचारीले आफूहरूलाई मताधिकार गर्नबाट वञ्चित गर्न खोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले संविधानले नै १८ वर्ष पुगेका नागरिकलाई मताधिकार सुनिश्चित गरेको अवस्थामा आफूहरूलाई मतदान गर्नबाट वञ्चित गरिन नहुने तर्क गरे । युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले हरेक निर्वाचनमा कर्मचारीले मताधिकार प्रयोग गर्न पाएको उल्लेख गर्दै आसन्न निर्वाचनमा पनि मताधिकारको प्रयोग गर्न दिइनुपर्ने माग गरे । यसपटकको निर्वाचनमा आफूहरूलाई मतदान गर्नबाट वञ्चित गरिए चुप लागेर नबस्ने उनको चेतावनी छ । “निर्वाचन कार्यालयलाई कर्मचारीलाई मताधिकार प्रयोग गर्न दिनेबारे पटक पटक जानकारी गराएका छौं,” उनले भने– “पाँच लाख कर्मचारीको अधिकार खोस्न पाइँदैन । हाम्रा मागलाई सम्बोधन नगरे आवश्यक पर्दा आन्दोलन गर्छौ ।” यसैगरी, नेपाल निजामती कर्मचारी युनियन (संघ)का कार्यवाहक अध्यक्ष जीतबहादुर मडैले मतदान प्रक्रियामा सहभागी जनाउन लागि आयोगलाई खबरदारी गर्ने बताए । यसैगरी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल र नेपाल मधेशी निजामती कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरीले निर्वाचनमा खटिने कर्मचारीलाई मतदानबाट वञ्चित गरे कठोर निर्णय लिइने बताए ।

नयाँ ढंगबाट तरकारी बजार संचालन गर्ने

बनेपा, कात्तिक २२ । चार वर्षअघि बनेपामा स्थापना भएको तरकारी बजारलाई नयाँ व्यवस्थापनले नयाँ ढङ्गले सञ्चालन गर्ने भएको छ । काभ्रे कृषि बजार मल्टी पर्पोज प्रालिले आज बनेपामा पत्रकार भेटघाटको आयोजना गरी कृषि क्षेत्र र तरकारीका लागि विभिन्न कार्ययोजना सार्वजनिक गरेको छ । नौ रोपनी क्षेत्रफलमा रहेको उक्त तरकारी बजारमा १२३ वटा स्टल रहेका छन । एकचालीस जना शेयर सदस्य रहेको मल्टी पर्पोज प्रालिले तरकारी बजारका लागि रु तीन करोड ५० लाख लगानी गरेको सो प्रालिका अध्यक्ष पूर्णचन्द्र सिग्देलले जानकारी दिए । “तरकारी बजारबाट वार्षिक रु ३० अर्बको कारोबार हुन्छ,” उनले भने । कृषकले उत्पादन गरेको तरकारीको उचित मूल्य सिधै पाउने र बिचौलियालाई विस्थापन गरिने योजना बनाइने उनले बताए । काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला, पनौती, ढुंखर्क, रविओपी, सिपाली, रोशी, मंगलटार, पाँचखाल, मण्डन देउपूर लगायत ठाउँबाट बजारमा दैनिक तरकारी संकलन हुने गर्दछ । संकलित तरकारी स्थानीय बजार हुँदै कालीमाटी, बल्खुलगायत ठाउँमा पुग्ने गरेको छ । कृषि बजारमा दैनिक १० टन तरकारी संकलन हुने गर्छ । काठमाडौंस्थित कालीमाटी बजारको कूल खपतको ११.५३ प्रतिशत तरकारी काभ्रेपलाञ्चोकबाट संकलन हुने गरेको कालीमाटी थोक तथा खुद्रा बजारको आव २०७३–७४ को तथ्यांकमा उल्लेख छ ।

भेटिएको बम निस्क्रिय पारे

पाँचथर, कात्तिक २२ । फिदिम नगरपालिका–२ स्थित पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले आज निष्क्रिय पारेको छ । पल्लोटार जाने बाटोमा (महेश तिम्सिनाको घरअघि) भेटिएको बम सो टोलीले निष्क्रिय पारिएका हो । शंका लागेपछि स्थानीयवासीले आज बिहान ५ः४५ बजे प्रहरीलाई खबर गरेका थिए । प्रहरी र सेनाको टोलीले घरमा प्रयोग गरिने जगमा जोडिएको वस्तु बम भएको पुष्टि गर्दै निष्क्रिय पारेका हुन् ।

ल्याण्डफिल्ड साइडका लागि जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढ्यो

लोकेश धामी कैलाली, कार्तिक २२ । फोहोरमैला व्यवस्थापनका लागि कैलालीको धनगढी उपमहानगरपालिका–३ सरस्वती नगरमा ल्याण्डफिल्ड साइड निर्माण गर्न जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढेको छ । ल्याण्डफिल्ड साइडका लागि करिब ३५ विगाह जग्गाको पहिचान भएपछि जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढेको हो । जसअन्तर्गत अहिले जग्गाको मुल्यांकन लगायतका कार्य अगाडि बढाइएको धनगढी उपमहानगरपालिको जनाएको छ । एडीभीको सहयोगमा क्षेत्रीय विकास परियोजना अन्तर्गत निर्माण हुने ल्याण्डफिल्ड साइडका लागि जग्गा अधिग्रणको कार्य डेढ महिनाभित्र गरी सकिने बताइएको छ । अहिले ल्याण्डफिल्ड साइडका लागि जग्गा पहिचान गरिनुका साथै अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइएको धनगढी उप–महानगरपालिकाका इन्जिनियर दिजराज भट्टले जानकारी दिए । विभिन्न कारणले ढिला हुदै आएको ल्याण्ड फिल्ड साइडको कार्यलाई तिव्रता दिन नगरबासीले आग्रह गरेका छन् । अहिलेसम्म कुनै पनि ठाउमा पनि फोहोर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साइड नबनेकाले यो कार्यले तिव्रता पाउनुपर्ने नगरबासीमो माग छ । झण्डै ६० करोडको लागतमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइड बनेमा फोहोर व्यवस्थापनमा सजिलो हुने धनगढी तारानगरका स्थानीय तारादत्त पनेरुले विश्वास व्यक्त गरे । फोहोर फाल्ने ठाउँको अभावमा उपमहानगरपालिकाले सबै क्षेत्रबाट फोहोर संकलन गर्न सकेको छैन । अहिले उपमहानगरपालिकाले मुख्य बजार तथा शहरी वडाबाट मात्रै फोहोर संकलन गरिरहेको छ । ल्याण्डफिल्ड साइड भएमा फोहोरको बर्गिकरण गरि पुनःप्रयोगकासाथै धेरैले रोजगारी पाउने इन्जिनियर भट्टले बताए ।

मेलम्ची खानेपानीको सुरुङ खन्ने काम अब १२०० मिटर मात्र बाँकी

काठमाडौं, कात्तिक २२ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ । अब करिब १२ सय मिटरमात्रै सुरुङ खन्न बाँकी छ । हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ दिनभित्रै सुरुङ तयार भइसक्नेछ । आगामी १५ पुुसभित्र सुरुङको ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले आगामी १५ पुस आसपासमा सुरुङ खन्ने काम पूरा हुने बताए । ‘अब १२ सय मिटर सुरुङ खन्न बाँकी छ । दैनिक १८ मिटर सरदरमा खन्ने काम भए बाँकी भाग खन्न ६२ दिनमै ब्रेक थ्रु हुन्छ,’ उनले भने । –नयाँ पत्रिका दैनिकबाट

अपराध लुकाउन नाम र धर्म नै परिवर्तन

काठमाडौं, कात्तिक २२ । व्यक्ति हत्याको १० वर्ष पुरानो घटनामा संलग्न भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोकर्णेश्वरबाट एक जनालाई पक्राउ गर्‍यो । बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि आफू उक्त व्यक्ति नभई विजयकुमार श्रीवास्तव भएको नागरिकता पेस गरे । उनले आफू मुस्लिम नभई हिन्दु भएको र बिनाकारण पक्राउ गरिएको दलिल पनि पेस गरे । हुन पनि उनी मुस्लिमको हुलियामा थिएनन् र हिन्दु केटीसँग नै घरजम गरेका थिए । पक्राउ परेको व्यक्तिको तर्क सुनेपछि प्रहरी छक्क पर्‍यो र अनुसन्धानलाई नयाँ ढंगले अघि बढायो । पुरक अनुसन्धानले जे जस्ता तथ्य बाहिर ल्यायो, त्यसले प्रहरीलाई त अचम्म तुल्यायो नै, अपराध कर्म लुकाउन केसम्म गर्न सकिन्छ भन्ने तथ्य पनि बाहिर ल्यायो । बाराको कचर्अवा घर भई अनामनगर डेरा गरी बस्ने बलराम पटुवाको २०६४ असार २० मा गोली हानी हत्या भयो । नक्कली भारतीय नोटको कारोबारमा संलग्न पटुवाको हत्या नक्कली भारुको कारोबारी समूहबाटै भएको प्रहरी अनुसन्धानले निष्कर्ष निकाल्यो । त्यही अनुसन्धानका आधारमा प्रहरीले सर्लाही सिसौतिया घर भएका थापाजी भन्ने लाल मोहम्मद र पर्साको वीरगञ्ज १३ घर भएका पप्पु गुप्तालाई पक्राउ गर्‍यो । उनीहरु अदालतबाट दोषी ठहर भई जेल चलान भए । घटनाको चार वर्षपछि २०६८ मा उक्त घटनाका दोषी अन्य तीनजना पनि पक्राउ परे । बारा प्रस्टोका घर भएका मुन्ना खान, सद्रुल अन्सारी र अल्ताफ हुसेनको नामले चिनिने इन्ताफ हुनेन अन्सारी पनि पक्राउ परी जेल चलान भए । प्रहरीका अनुसार मृतक पटुवासहितको यो समूहले पाकिस्तान र बंगलादेशबाट नक्कली भारतीय रुपैयाँ ल्याइ नेपाल र भारतीय बजारमा चलाउँथे । उक्त घटनामा पक्राउ परी सजाय भुक्तान गरेर छुटेका एकले गत महिनामात्रै प्रहरी परिसरलाई एउटा गोप्य सूचना दिएका थिए । सूचना थियो, ‘पटुवा हत्याको घटनाका योजनाकारमध्ये एक बाहिद खान पनि थिए ।’ खानले आफू विजयकुमार श्रीवास्तव भएको बताउँदै जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट निकालेको नागरिकता पेस गरे । प्रहरीले उक्त नागरिकताको वैधानिकता जाँच गरेपछि रहस्य खुल्यो, उक्त नामको नागरिकता जारी नै भएको छैन । मुस्लिम समुदायका खानले उक्त घटनापछि हिन्दु धर्म मान्ने भन्दै नागरिकता निकालेर हिन्दु केटी नै बिहे गरेका थिए । –कान्तिपुर दैनिकबाट

देउसीभैलोको पैसाले बिजुलीमा जडान

डोल्पा, कात्तिक २१ । यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत प्रहरी चौकीका प्रहरीले आफूले सामूहिकरुपमा तिहारमा खेलेको देउसीभैलोबाट उठेको रकमबाट नगरपालिकाको केन्द्र बगर बजारमा बिजुली बत्ती जडान गरेका छन् । गत आइतबार नगरपालिका केन्द्रको माथिल्लो बगरदेखि ठूली पुलसम्मका बिजुलीका खम्बामा २१ सिएफएल बत्ती जडान गरिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी निरीक्षक रोमहर्ष सिजवालले बताए । “चौकीका प्रहरीहरुले सामूहिक रुपमा तिहारमा देउसी खेल्दा रु सोह्र हजार उठेको थियो, सो रकमबाट तार र सिएफएल बल्ब खरिद गरेर बगर बजारका प्रत्येक पोलमा बत्ती जडान गरेका छौ, बत्ती जडान गरिएपछि शान्ति सुरक्षाका हिसाबमा पनि सघाउ पुग्ने विश्वास छ”, सिजवालले भने ।” जताततै उज्यालो भएपछि नगरका पसल तथा घरमा चोरी हुने सम्भावना पनि कम हुने विश्वास लिइएको छ । त्रिपुरा सुन्दरी नगरपालिकाका महिला तथा प्रहरीले प्रत्येक वर्ष तिहारमा खेलेको देउसीभैलोबाट उठेको रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन् ।

दुई युवतीको उद्धार

कपिलवस्तु, कात्तिक २१ । कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका राजापुर–१ बर्दिया बस्ने ३५ वर्षीय कृष्णप्रसाद रेग्मीमाथि मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेले बताए । केआइ नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले दैलेखका युवतीलाई नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछका क्रममा उद्धार गरिएको हो ।

एप्पल कम्पनीले अर्बौं डलर कर छलेको खुलासा

वासिंटन, कात्तिक २१ । विश्वका शक्तिशाली र धनाढ्यहरुले लुकाएको सम्पत्तिको गोप्य खाताबारे सनसनीपूर्ण खुलासा गर्दै आएको प्याराडाइज पेपरले फेरि अर्को खुलासा गरेको छ । विश्वको सबैभन्दा बढी मुनाफा कमाइरहेको एप्पल कम्पनीले अर्बौं डलर कर छल्न नयाँ गोप्य उपाय अपनाएको प्याराडाइज पेपरले देखाएको हो । चुहावट भएको वित्तीय दस्तावेजअनुसार अमेरिकी कम्पनी एप्पलले सन् २०१३ मा कर छलीका लागि ट्याक्स हेवन अर्थात् अफसोर कम्पनी रहेका देशमा लगानी गरेको खुलेको हो । एप्पलसँग कर नतिरिएको दुई सय ५२ बिलियन अमेरिकी डलर रहेको प्याराडाइज पेपर्सले देखाएको हो । एप्पलले भने आफ्नो नयाँ प्रणालीले आफूहरुको कर रकमलाई कम नगरेको दाबी गरेको छ । प्याराडाइज पेपर्सले सार्वजनिक गरेको दस्तावेजमा बेलायतकी महारानीको निजी सम्पत्तिको विवरण पनि परेपछि सनसनी भएको छ । प्याराडाइज पेपर्ससाग एक करोड ३४ लाख कागजात रहेको बताइएको छ । विश्वभरका एक सयभन्दा बढी सञ्चार संस्थानले यी कागजात सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । गतवर्ष पानामा पेपर्स सार्वजनिक गरेको जर्मन पत्रिका ज्युड डायचे त्साइटुंगले यी कागजात प्राप्त गरेको थियो । यी दस्तावेजको जाँच इन्टरनेशनल कन्सोर्टियम अफ इन्वेस्टिगेटिभ जर्नालिस्ट्स् (आइसिआइजे)ले गरेको हो ।

सफाइका नाममा पाँच अर्ब सकियो, बाग्मतीको हालत उस्तै

काठमाडौं, कात्तिक २१ । बाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचसाथ सफाइ अभियान थालिएको दुई दशकभन्दा बढी समय भएको छ । यसबीचमा यहाँ धेरै पानी बगिसकेको छ र सफाइका नाममा अर्बौं बजेट पनि सकिइसकेको छ । तर प्रगति शुन्य बराबरमै छ । सरकारले ०५२ सालमा बाग्मती सफाइ अभियान थालेको थियो । पहिलो चरणमा गोकर्णदेखि पशुपतिसम्मको क्षेत्रलाई सफा बनाउने कार्यक्रम थियो । यो क्षेत्रमा सफामात्र होइन, नुहाउन मिल्ने जल बगाउने सरकारी योजना थियो । योजनाअनुसार बजेट खर्च भए पनि सरकारी लक्ष्य भने योजनाको किताबमा मात्र सीमित भयो । पछिल्लो अभियानपछि सरकारी कोषबाट बाग्मती सफा बनाउने नाममा पाँच अर्ब रुपैयाँ खर्च भइसकेको छ । निजी क्षेत्र र गैर सरकारी संस्थाले गरेको खर्च यसमा जोडिएको छैन । बागमतीमा हाल हजारभन्दा बढी संघसंस्था आवद्ध भएर काम गर्ने गरेका छन् भने अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति समक्ष प्रस्ताव पेश गर्ने कम्पनी मुस्किलले ५०/६० वटामात्रै रहेको उल्लेख छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

श्रीमान्–श्रीमती नै चुनावी मैदानमा

महोत्तरी, कात्तिक २० । महा्त्तरी जिल्लाको क्षेत्र नं १ मा प्रनिनिधि सभा सदस्यको लागि श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि फोरम राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन् । लक्ष्मी तत्कालीन निगौल गाविसका पूर्व गाविस अध्यक्ष हुन् । उनकी श्रीमती रामकुमारी २०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा उम्मेदवार भई दोस्रो स्थान हासिल गरेकी थिइन । स्थानीय तहको निर्वाचनमा गौशाला नगरपालिकाको नगर प्रमुखमा समेत उन पराजित हुनु भएको थियो ।

कुन ठाउँमा पानीको स्रोत राम्रो हुन्छ ?

ज्यो. बलराम उपाध्याय खकुरेल मानिसलाई जीवनमा पिउन वा अन्य कुनै प्रयोजनका लागि पानीको निकै महत्व हुन्छ । या भनौँ पानीबिना मानिस बाँच्न पनि सक्दैन । त्यसकारण पानी पनि मानिसको जीवनमा निकै महत्वपूर्ण मानिन्छ । यही सत्यलाई वास्तुशास्त्रले पनि स्वीकारेको छ । घर वा आवासमा पानीको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा वास्तुशास्त्रमा वर्णन गरिएको छ । नयाँ घडेरीमा बनाइने एक तले घर वा धेरै तले अपार्टमेन्ट होस् पानीको व्यवस्था त गर्नैपर्छ। यसका साथै विद्यालय, मन्त्रालय वा कुनै पनि मानवीय संरचनामा पानीको आवश्यकता पर्छ नै । यी हरेक संरचना निर्माण गर्नुअघि नै पानीको व्यवस्था कसरी गर्न सकिन्छ भनेर विचार गर्नुपर्छ । वास्तुशास्त्र अनुसार संरचना निर्माण गर्ने जमिनमा बोरिङ्ग, कुवा  वा अन्य श्रोतबाट पानी निस्कन्छ कि निस्कँदैन ? वा कति खनेपछि जमिनको पानी भेटिन्छ भनेर अध्ययन गर्नुपर्छ । अनि पानीको स्वाद कस्तो छ, कस्तो गन्ध आएको छ भन्ने कुरा पत्ता लगाएर पानीको सहज व्यवस्थापन कसरी गर्ने भन्ने कुरा वास्तुशास्त्रमा बताइएको छ । कुनै पनि संरचनाको पूर्व दक्षिण दिशा, दक्षिण पश्चिम दिशा र पश्चिम उत्तर दिशामा पानीको ट्याँकी, कुवा वा पानीको श्रोत राख्नुहुँदैन । पानी ट्यांकी वा पानीको श्रोतको लागि पूर्व उत्तर अर्थात् इशान दिशालाई उपयुक्त र सही दिशा मानिएको छ । यदी इशानमा पानीको लागि ठाउँ मिलाउन नसक्ने अवस्थामा उत्तर र पूर्व दिशालाई पनि पानीको श्रोतका लागि प्रयोग गर्न सकिन्छ । आग्नेय कोण र दक्षिण दिशामा कहिले पनि पानीको कुनै पनि श्रोत बनाउनु राम्रो मानिँदैन । पश्चिम दिशालाई जलका मालिक वरुणको स्थान मानिने भएकाले पानीको लागि पश्चिम दिशा पनि प्रयोग गर्न सकिन्छ । कुनै पनि संरचनाको बिचको भागलाई ब्रह्म स्थान मानिने भएकाले घर वा संरचनाको मध्य भागमा कुनै पनि कुरा राख्नु वा पानीको श्रोत बनाउनुलाई वास्तुशास्त्रमा निषेध गरिएको छ । मध्य भागमा कहिले पनि खाल्डो बनाउनु हुँदैन । बोरिङ्ग, कुवा इनार आदि पानीको श्रोतहरु निर्माण गर्नको लागि माघ, फागुन, मंसिर, जेठ, कार्तिक र वैशाख महिना राम्रो हुने कुरा वास्तु शास्त्रमा बताइएको छ । बृहत् संहिता ग्रन्थका अनुसार चन्द्रमासँग पानीको सम्बन्ध हुने भएकाले चन्द्रमाको अवस्था अनुसार द्वितीया, अष्टमी, पञ्चमी, एकादशी तथा चतुर्दशी तिथिमा कुवा, इनार आदि खन्नु अशुभ  मानिन्छ । यी बाहेकका दिन मा शुभ मुहुर्त हेरेर खन्नु राम्रो हुने शास्त्रीय मान्यता रहेको छ ।