बङ्गलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन्।
विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेको बताए। “चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो पनि सानो उपलब्धि होइन। तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नुछ।”
जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्तराष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोप-२८’ मा नेपालको प्रस्तुतिबाट नेपालले नयाँ सन्देश प्रवाह गरेको बताए।
“हामीले सन्देश दियौँ, अब जलवायु सङ्कटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकारका उपलब्धिहरूको सूची सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन्।”
नेपाल रेडक्रसको महाधिवेशन वैशाखमा
काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले विधान संशोधनका लागि आगामी वैशाखमा महाधिवेशन आयोजना गर्ने भएको छ। यही फागुन २७ देखि २९ सम्म बनेपामा सञ्चालित केन्द्रीय कार्यसमिति बैठकले मौजुदा विधानमा समसामयिक संशोधन गर्न महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। बैठकले संस्थागत र सेवामूलक गतिविधिलाई प्रभावकारी बनाउनका साथै रेडक्रसको रूपान्तरण गर्ने निर्णय गरेको अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले जानकारी दिए। रेडक्रसले सरकारसँगको समन्वयमा सेवामूलक तथा विकासका गतिविधिहरूमार्फत मानवीय कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ। लामो समयसम्म दर्ता नवीकरण हुन नसकेको रेडक्रसलाई नयाँ कार्यसमितिले नवीकरण गरी अद्यावधिक गरेको अध्यक्ष नेपालले जानकारी दिए। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को आर्थिक एवं प्राविविधक सहयोगमा डोटी र कर्णाली भूकम्प प्रतिकार्य लगायतमा सेवामूलक गतिविधिहरू रेडक्रसले निरन्तर सञ्चालन गरिरहेका उनको भनाइ छ।
चैतका लागि बैंकहरूले अझै घटाए ब्याजदर, कुन बैंकको कति ?
काठमाडौं । केही महिना देखि व्याजदर घटाइरहेका धेरैजसो वाणिज्य बैंकहरूले चैत महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ। फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ। प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले व्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका हुन्। एनआईसी एसिया बैंकले मात्रै फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । विभिन्न प्रचारका कारण सो बैंकबाट केही निक्षेप झिकिएपछि बैंकले तरलताको सहज व्यवस्थापन गर्न ब्याजदर बढाएको देखिन्छ। सो बैंकले चैतदेखि लागू गर्नेगरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत छ। माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको थियो । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ। गत साउनदेखि निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि तरलता आवश्यकता अनुसार बैंकहरुले ब्याजदर प्रकाशित गर्न थालेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर छ। राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले बचतको ब्याजदर पनि घट्न जानेछ । कुल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ।
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ। बैठक बिहान १० बजे शंकर हल, बानेश्वरमा बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन्। यसको कार्यसूचीबारे बैठकमा छलफल हुने बताइएको छ। साथै, समितिको बैठकले आगामी १५ दिनको क्यालेन्डर तय गर्नेछ।
मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय : रेशम चौधरी
धनगढी । सत्ता गठबन्धन फेरिएसँगै नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादको भूमरीमा फसेको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक र अध्यक्ष रञ्जिता चौधरीका पति रेशमलाल चौधरीले बुधबार बिहान लामो फेसबुक स्ट्याटस लेखेर अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। यतिबेला नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहाल प्रचण्डको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ छिन्। तर पार्टीका संरक्षकसमेत रहेका रञ्जिताका श्रीमान भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा छन्। रेशम चौधरी आफू र पार्टी अध्यक्ष रन्जीता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको समेत स्पष्ट पारेका छन्। ‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन,’ रेशमलालले लेखेका छन्, ‘आज लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ। तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न। आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन्। मलाई भोट हाल, मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउनेवाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं टण्टै साफ।’ रेशमलालले आफ्नो धारणा विपरीत गए पार्टीबाट कारबाही हुनसक्ने संकेत पनि गरेका छन्। ‘याद रहोस्, केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र कारबाही भोग्नुपर्छ,’ उनले भनेका छन्, ‘सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो सोच्दै हुनुहुन्छ भने तपाईं भ्रममा हुनुहुन्छ। अहिले भन्न सक्दिनँ अहिले केन्द्रीय समितिले स्वतन्त्र भइ निर्णय गरेको हो। अब हरेक निर्णय यसरी नै स्वतन्त्र भइ गर्नुपर्छ।’ रेशमलालले दोहोर्याएर भनेका छन्, ‘कुरा बुझौं, कुनैपनि गठबन्धनका पछाडि नलागौं। नागरिक उन्मुक्ति पार्टी कांग्रेसरकम्युनिस्ट होइन, भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो। त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौं। आफ्नो नीति सिद्धान्त अनुरुप चलौं।’ उनले रञ्जिता र आफूबीच उत्पन्न विवादबारे पनि खोलेका छन्। ‘कुरो रहृयो बुढाबुढीको। म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ रेशमललाले लेखेका छन्, ‘प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नु हुन्न भन्छिन् । अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुई चोटी प्रधानमन्त्री भएकै थिए। हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो, तर हामी रिहा भएनौं नि। अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौं र तिमी पनि मन्त्री भएकि हौ।’ एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो भन्ने उनको भनाइ छ। निर्वाचन आयोगले आफूलाई मान्यता नदिएको बारेपनि उनको आक्रोश छ। ‘जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ। तर मैले सबैको सदुपयोगीका लागि विधान लेखेको हुँ, दुरुपयोगका लागि होइन,’ रेशमललाले भनेका छन्, ‘अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ। सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधान भन्दा माथि हुन्छ। सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो, तर जनता जनार्दन हुन् । यसका बारेमा अदालतले केही दिनमा अवश्य न्याय देला।’ आफ्ना कारण लाखौं जनताको मन दुखेको आफूलाई अनुभूत भएको उनको भनाइ छ। ‘त्यसकारण म क्षमा चाहन्छु। तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन,’ उनले लेखेका छन्, ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ। रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन। मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो।’
प्रधानमन्त्री प्रचण्डद्धारा रमजान पर्वको शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इस्लाम धर्मावलम्बीहरू रमजान रोजा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्वी लगायत सो पर्व मनाउने सम्पूर्ण समुदायलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डद्धारा जारी शुभकामना सन्देशमा रमदान पर्व व्रत अर्थात् रोजामात्र नभई मानवता, सहयोगी भावना र सद्भाव जस्ता पवित्रताका अभ्यासहरूको संयोजन पनि भएको उल्लेख छ । रमदानमा महिनाभर दान दिने, गरिब र असहायलाई सेवा गर्ने समेत गरिन्छ। यस पर्वले मानिसलाई सत्मार्गमा डो¥याउन, विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आएको छ उनले भनेका छन् । मंगलबारदेखि सुरू भएको रमजान रोजा पर्व इस्लाम धर्मावलम्बीहरूले सूर्यको उदय र अस्तको बीचमा निराहार व्रत बसी एक महिनासम्म मनाउने गर्दछन् महिनाभरिमा आत्म सन्तुलन, आत्मविश्वास तथा मानवीय तृष्णालाई सीमित गरेर भक्तिभावतर्फ केन्द्रित हुने गर्दछन्। प्रधानमन्त्री प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक रूपले विविधतायुक्त राष्ट्र भएकाले यस्ता चाडपर्व, धर्म र संस्कारले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता प्रवर्धन गर्दै राष्ट्रिय एकता र राष्ट्र हितलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताएका छन्। वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य साकार पार्न र मौलिक पहिचानको संरक्षणमार्फत आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिवद्ध रहेको शुभकामना सन्देशमा उनले भनेका छन्। प्रधानमन्त्री प्रचण्डले रमजान पर्वले मुलुकको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहिष्णुता, सहकार्य र राष्ट्रिय एकतालाई थप मजबुत पार्दै राष्ट्रको समृद्धि र विकासमा एकताबद्ध हुन थप प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन् ।
त्रिदेशीय ट्वान्टी–२० शृंखला : उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दै छन् । खेल बिहान पौने ११: ४५ बजे सुरू हुनेछ । यससघि पहिलो खेलमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण बिनानतिजा अंब बाढेर टुंगिएको थियो । मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो । पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । लिग चरणको खेल सकिँदा नेपालले तीन अंक र पीएनजीले दुई अंक जोड्दा हङकङले एक अंक जोड्यो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन केपी ओलीको निर्देशन
‘अर्जुनले चरोको आँखो मात्र देखेजस्तो सरकार मात्र देख्ने, अरू केही नदेख्नेहरू छन् । उनीहरूको अल्पमतको सरकार बन्यो भने देश कता जान्छ ? त्यसैले मनको कुनामा कुनै चित्तदुखाइ नराखी दिल खोलेर विश्वासको मत दिन्छौँ ।’
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक प्रदीप यादवले फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने बताए । बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिको ह्विप
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलकी नेता रञ्जिता चौधरीले सांसदलाई ह्विप जारी गरेको जानकारी दिइन् । उनले केन्दसँगको समीकरण अनुसार नै प्रदेशमा पनि अघि बढिने बताइन् ।
बैंकर न्यौपानेसहित ११ जनालाई ५ दिन थप हिरासतमा राख्न अनुमति
काठमाडौं । कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ । उच्च अदालत, पाटनले पक्राउ परेका ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होविन्द्र बोगटीले बताए । सीआईबीले १५ माघमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो । उनीहरुले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रपैयाँ बराबरको कर्जा प्रवाह गरेको अनुसन्धानबाट देखिएको थियो । यो धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी भएको एसपी बोगटी बताउँछन् । यस विषयमा प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान गरिरहेको छ ।
परराष्ट्रमन्त्री श्रेष्ठ र स्विट्जरल्याण्डका राजदूत मेउलीबीच शिष्टाचार भेट
काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालस्थित स्विट्जरल्याण्डको राजदूत डेनियल मेउलीबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा दुई देशको आपसी सम्बन्धका साथै द्धिपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।
सुनको सिक्री नदिएको भन्दै विहे रद्द गरेको आरोपमा बेहुला सहित ८ जना पक्राउ
विरगंज । दाइजोमा सुनको सिक्री नभएको भन्दै विवाह अस्वीकार गरेको आरोपमा प्रहरीले पर्साको वीरगन्जबाट बेहुला सहित केही जन्तीलाई पक्राउ गरेको छ। बेहुलीसँग मण्डपमा बसिसकेपछि दाइजोको विषयमा निहुँ खोज्दै विवाह गर्न अस्वीकार गरेको आरोपमा बेहुलासहित केही व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी कुमार बिक्रम थापाले जानकारी दिए। बाराको कलैया उपमहानगरपालिका ४ सिनेमा चोक निवासी उमेश साहका छोरा बच्चालाल साहसहितका केही व्यक्तिलाई पक्राउ गरिएको उनले बताए। बच्चालाल बेहुला हुन्। ‘पीडित (बेहुली) पक्ष जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । पक्राउ पर्ने बच्चालाल (बेहुला) वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारी भएको बेहुली पक्षले बताएका छन्। साह सोमबार साँझ बेहुली लिन वीरगन्ज महानगरपालिका–२४ रामगढवा निवासी सुखल साहको घर पुगेका थिए। केही दिनअघि मात्रै सुखलकी २४ वर्षीया छोरी रमिताको बच्चालालसँग विवाहको टुंगो लागेको थियो। सोमबार राति मण्डपमा बसिसकेपछि उनले दाइजोमा सिक्री नपाएको भन्दै विवाह गर्न अस्वीकार गरेपछि दुई पक्षबीच विवाद भएको थियो। त्यसक्रममा बेहुली पक्षले खबर गरेपछि पुगेको प्रहरीले बेहुला, उनका दाइ, भिनाजुसहितलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेको सबै विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। जन्तीले खाना खाइसकेपछि मण्डपमा विवाहको विधिको तयारी भइरहँदा बेहुला सुनको सिक्री नभएको भन्दैमण्डपबाट उठेका थिए। उनी त्यसरी उठ्दा बेहुली पक्षका आफन्तले रोक्ने प्रयास गरेपछि उनले विवाह गर्न अस्वीकार गरेको आरोप छ। बेहुलाले यसअघि केटी पक्षबाट दाइजोको रुपमा १२ लाख नगद, ३ लाख २५ हजारको मोटरसाइकल, ७५ हजारको ल्यापटप र एउटा सुनको औंठी लिइसकेका बेहुली पक्षको दाबी छ। दुबै परिवारबीच पहिल्यै दाइजोको विषय टुंगो लागेपछि विवाहको लागि तयार भएको थिए। तर, मण्डपमा बसिसकेपछि बेहुलाले थप दाइजो खोजेपछि विवाद सुरु भएको बेहुली पक्षको आरोप छ। प्रहरीले घटनाको विषयमा अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाही अघि बढाइने जनाएको छ।
‘उपहार’ को ‘खाडीमा भेटौंला’ सार्वजनिक
काठमाडौं । गत शुक्रबार देखि रिलिज भएकोे फिल्म ‘उपहार’ को ‘खाडीमा भेटांैला’ गीत ओएसआर डिजिटलमार्फत मंगलबार सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । गीतको भिडियोमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्त फिचर्ड छन् । ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्म यतिबेला देशभरका हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ । रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन, अनुपम गौतमको भीएफएक्स, रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।
स्रोत नखुलेको रकमसहित पाँच जना पक्राउ
बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका ४ गणेशपुरस्थित संतोषी दङगाली होटलबाट स्रोत नखुलेको नगद ५७ लाख २८ हजार ७ सय नेपाली रूपैयाँ र ११ लाख भारतीय रूपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १६ बस्ने ३५ वर्षीय रोहित क्षेत्री, उक्त होटल संचालक दाङ तुलसिपुर उपमहानगरपालिका ९ बस्ने ४३ वर्षीय कृष्ण बहादुर विक र भारत बहराइज बस्ने ४१ वर्षीय राहुल जैसवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले होटल जाँच गर्ने क्रममा होटलको कोठामा झोलामा राखिएको उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी, नेपालगंज उपमहानगरपालिका २ पुष्पलाल चोकस्थित कालिका न्यू कर्णाली होटलबाट श्रोत नखुलेको नगद ३४ लाख नेपाली रूपैयाँ र ४ लाख ४० हजार भारतीय रूपैयाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका(१६ बस्ने ५० वर्षीय सलिम जोलाह र उनकै छोरा २८ वर्षीय आसिप जोलाह रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

