अन्नपूर्ण गाउँपालिकाका दुर्इ वडाका बासिन्दाबीच भएको सीमा विवाद समाधान

म्याग्दी, कात्तिक २० । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुईवटा वडाका बासिन्दाबीचको वनको सीमा विवाद समाधान भएको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवा र वडा नं २ भुरुङ तातोपानीका बासिन्दाबीच दुवै वडाको सीमा क्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका विषयमा विवाद रहँदै आएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जिल्ला वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाको सहजीकरणमा दुई वटै वडाका जनप्रतिनिधि तथा बासिन्दाको शनिबार ठूलोबगरमा भएको भेलाले विवादलाई सहमतिमा टुङ्ग्याएको हो ।

विसं २०४६÷४७ मा गाविस विभाजन हुँदा दोवाका बासिन्दाले उपभोग गर्दै आएको वन क्षेत्र प्राविधिक त्रुटिका कारण भुरुङ तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर दुवै गाउँका बासिन्दाबीच तीव्र विवाद रहेको थियो ।

नक्सामा जे भए पनि भोगचलन गर्दै आएको सिमानाअनुसार नयाँ नक्सा तयार पार्न प्रक्रिया अघि बढाउने र सीमा क्षेत्रको जंगल दुवै गाउँका उपभोक्ताले आफूलाई जहाँ पायक पर्छ त्यही उपभोग गर्ने सहमति भएको सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो ।

भेलामा दोवा र भुरुङ तातोपानीका वडाध्यक्ष दिलीप गर्बुजा, ओमप्रकाश फगामी, गाउँपालिकाका कार्यकारी अधिकृत अच्युत दाहाल, वडा सदस्य, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र स्थानीयवासीबीच सीमा विवाद समाधानको उपायका विषयमा छलफल भएको थियो ।

दुर्घटनामा मृत्यु भएका परिवारलाई सहयोग

दमक, कात्तिक २० । मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका झापाको शिवसतासी नगरपालिका–२ मंगलबारेका अनिल लिम्बूको परिवारलाई दक्षिण कोरियामा कार्यरत प्रवासीले आर्थिक सहयोग उपलब्ध गराएका छन् । कोरियामा बस्दै आएका नेपालीबाट संकलित रु ६७ हजारमा १३ हजार थप गरी रु ८० हजार रकम पीडित लिम्बूको बुबा टीकाराम लिम्बूलाई हस्तान्तरण गरिएको रिभर साइड फाउण्डेसनका अध्यक्ष सञ्जीव चापागाईंले जानकारी दिए । रोजगारीका लागि इपिएस प्रणालीबाट दक्षिण कोरिया जान लागेका २२ वर्षीय लिम्बूको एक साताअघि दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएको थियो । चापागार्इंका अनुसार आर्थिक अवस्था कमजोर भएका लिम्बूको परिवारलाई राहत पुर्याउन कोरियामा बस्दै आउनुभएका पासाङ शेर्पाको संयोजकत्वमा अभियान संकलन गरिएको थियो । यसअघि दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूको उपचारमा सहयोग जुटाउन स्थानीय बासिन्दाले अनिल लिम्बू बचाउ अभियान सञ्चालन गरी करिब रु सात लाख बढी रकम संकलन गरिएको अभियानका सचिव नेत्र मावोले जानकारी दिए । डुबेर शिशुको मृत्यु यसैगरी आफ्नै घर नजिकै रहेको पैनीमा खेल्ने क्रममा डुबेर झापाको मेचीनगरमा गएराति एक शिशुको मृत्यु भएको छ । मेची नगरपालिका वडा नं–७ सतिघट्टा बस्ने पदम निरौलाको १७ महिनाको छोरा प्रनिष निरौलाको आइतबार साँझ पैनीमा डुबेर मृत्यु भएको प्रहरी चौकी सतिघट्टाले जनाएको छ । डुबेर बेहोस अवस्थामा भेटिएका बालकको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

चारकिलो गाँजासहित युवक पक्राउ

लहान,  कात्तिक २० । प्रहरीको गस्ती टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१३ भालटारबाट लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध चार किलो गाँजासहित सिरहाको भगवानपुर गाउँपालिका–३ निवासी ३८ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो । आइतबार साँझ यादवलाई चेक गर्दा साइकलको पछाडि झोलामा प्लाष्टिकले बेरी ल्याएको अवस्थामा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री देउवाले लखेटेका राउटेलाई उपराष्ट्रपतिका छाेरा पुनकाे सहयाेग !

काठमाडौं, कात्तिक २० ।  चिसो बढ्दै गएपछि कम्बल माग्न आएका राउटेलाई प्रधानमन्त्रीले भेट्न अस्विकार गरेपछि निराश बनेका राउटेको समूहलाई माओवादी केन्द्रका दुई युवा नेताले सहयोग गरेका छन् । केही दिनअघि ठूलो आशा लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न आएका राउटेलाई उनले ‘राउटे न साउने भेट्दिन’ भन्दै भेट्न अस्वीकार गरेका थिए । सो कुरा थाहा पाएपछि माओवादी केन्द्रका युवा नेता टासी लाक्पा शेर्पा र विद्यार्थी नेता दीपेश पुनले उनीहरुलाई प्रत्येक घर दुई वटा ब्ल्यांकेट उपलब्ध गराएका हुन् । दीपेश पुन उपराष्ट्रपति नन्दबहादुर पुनका छाेरा हुन् । प्रधानमन्त्रीले व्यवास्था गरेपछि आफूहरुले प्रतिघर परिवार २ को दरले ४० घरलाई ब्ल्यांकेट उपलब्ध गराएको शेर्पाले जानकारी दिए । साथै उनीहरुले राउटेलाई काठमाण्डु आउने–जाने भाडासमेत उपलब्ध गराएका छन् । यसअघि पनि राउटे राजाको छोरा बिरामी हुँदा यी दुईले काठमाण्डु ल्याएर उपचार गरेका थिए । अखिल क्रान्तिकारीका उपाध्यक्षसमेत रहेका पुनले यसअघि प्रचण्ड सरकारका पालामा राउटेलाई सहयोग गरेको र सोही आश पोकेर उनीहरु यहाँसमम आएको बताए । साथै उनले पनि बेलाबेलामा सक्दो सहयोग गर्दै आएका छन् ।

बाबुरामलाई अर्को झड्का, समानुपातिक उम्मेदवारसहित दुई दर्जन नेता एमाले प्रवेश

डोटी, कात्तिक १९ । नयाँ शक्ति पार्टी नेपाल डोटीका समानुपातिक उम्मेदवार टीकासिंह नेपालीसहितको समूह नेकपा एमालेमा प्रवेश गरेका छन् । डोटीबाट प्रतिनिधि सभामा समानुपातिक सदस्यका उम्मेदवार टीकासिंह नेपालीको नेतृत्वमा दुई दर्जन नेता तथा कार्यकर्ता आइतबार एमालेमा प्रवेश गरेका हुन । एमालेको पार्टी कार्यालय सिलगढीमा आयोजित कार्यक्रममा नेपालीलाई एमाले बैकल्पिक केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका उम्मेदवार प्रेमबहादुर आले मगरले स्वागत गरेका थिए । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले बर्तमान समयमा राष्ट्रको विकास र सम्बृद्धि लगायतका कार्यभार पुरा गर्न नेतृत्व प्रदान गर्न नसक्ने भएका कारण आफू कम्युनिष्ट पार्टीमा फर्केको नेपालीले बताए । एमाले पृष्ठभूमि भएका नेपाली पुनः एमालेमै प्रबेश गरेका हुन

साना दलका उम्मेदवार किन जमानत नै जोगाउन सक्दैनन ?

कैलाली, कात्तिक १९ । कैलालीमा संविधान सभादेखि स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा अधिकांश साना दलहरुका उम्मेदवारले जमानत नै जोगाउन नसकेका उदाहरण प्रशस्त छन् । तर पनि उनीहरु निरन्तर चुनावमा भाग भने लिइरहेका छन् । चुनावको नतिजा अघिसम्म साना दलहरुको मोहोल रामै देखिए पनि परिणाम भने त्यस्तो आउदैन । अहिलेसम्म कैलालीमा कांग्रेस, एमाले र माओवादीकै दबदबा छ । चुनावमा धरौटि नै सुरक्षित गर्न नसक्नुको मुख्य कारण ठूला दलका जसरी चुनावमा पैसा खर्च गर्न नसक्नु रहेको साना दलहरुको आरोप छ । ठूला दलहरुले चुनावमा निकै खर्च गर्ने भएकाले अधिकांश साना दलहरुले जित्न नसकेको तथा जमानत नै जोगाउन नसकेको साना दलहरुले आरोप लगाएका हुन् । अहिलेसम्मका धेरै जसो चुनाव ठूला दलहरुले मतदातालाई भोज भतेर तथा पैसा दिनुको मुख्य कारण नै साना दलहरुले चुनाव हार्नु रहेको प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय जनमोर्चा कैलालीबाट निर्वाचन क्षेत्र नं.–४ बाट उम्मेदवारी दिएका लक्षिराम आचार्य बताए । अधिकांश साना दलका उम्मेदवारले चुनावमा आफ्नो जमानत नै जोगाउन सक्दैनन् । तर पनि निरन्तर चुनावमा भाग लिइरहेका छन् । यसका पछाडी थुप्रै कारण देखिन्छन् । यसैको एक एक उदाहरण हो, ठूला दलहरुसंग साना दलले पैसाको बार्गेनिङ गर्नु । साना दलहरु पनि यो आरोप स्वीर्काछन् । यहि गलत प्रवृतिका कारण साना दलहरुले चुनाव हार्नु तथा धरौटी जोगाउन नसक्नु रहेको नया शक्ति नेपालबाट निर्वाचन क्षेत्र नं.–५ प्रतिनिधि सभाका उम्मेदवार नृपबहादुर बोहराले बताए । कतिपय साना दलहरुले भने पार्टिको स्पष्ट ऐजण्डा नहुनु, पार्टिभित्र एकता नहुनु तथा कार्यक्रताको संख्याको कमी हुनुका कारण चुनावमा हार्नु परि रहेको बताएका छन् । चुनावका बेला मतदाता पनि एजेण्डा भन्दा पनि खर्च गर्न सक्ने पार्टीलाई बढि प्राथमिता दिने भएका कारण जमानत नै सुरक्षित गर्न मुस्कील भइरहेको राप्रपाका गंगाराम रानाले बताए । आगामी मंसिरमा हुने चुनावमा पनि साना दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । अब मतदाता पनि शिक्षीत भइसकेकाले पार्टि भन्दा पनि पात्रलाई चिनेर भोट दिने साना दलहरुको दाबी छ ।

चिच्याएर वर माग्ने तीनदिने मेला सकियो

पाल्पा, कात्तिक १९ । पाल्पाको सत्यवतीमा चिच्चाएर वर माग्ने तीन दिने धार्मिक मेला सकिएको छ । बिहीबारबाट शुरु भएको धार्मिक मेला शनिबार सकिएको हो । सत्यवती मन्दिरको किनारमा ताल रहेकाले भक्तजनले तालको वरीपरी घुम्दै चिच्याएर वरदान माग्ने गर्दछन् । सत्यवती मन्दिर नजिकै तालमा कात्तिक शुल्क चर्तुदर्शीको दिन सत्यवती बजैलाई सम्झेर बासको लिङ्गो गाडी चिच्चाएर बरदान माग्ने र अर्काे दिन बिहान उज्यालो नहुदै पूर्णिमाका दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचालन रहँदै आएको छ । सत्यवती बजै कान नसुन्ने बहिरी भएकाले चिच्चाएर वरदान माग्नु परेको बुढापाकाको भनाई रहेको छ । सत्यवती बजैसँग चिच्चाएर मागेको वर पुरा हुने भन्दै निकै टाढाटाढाबाट भक्तजन मन्दिरमा आउने गरेका छन् । सत्यवती बजैसँग रातमा मात्र चिच्चाएर वरदान माग्ने प्रचलनलाई आजकल दिउँसोमा पनि माग्ने गरिएको छ । भक्तजनले मागेका कुराहरु सत्यवती बजैले पूरा गरिदिने जनविश्वासका आधारमा राँगा, कुखुरा, हाँस, बोकाको बली दिने र त्यतिकै जंगलमा छाडिदिने प्रचलन रहँदै आएको छ । मन्दिरमा चिच्याएर वरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत बाग्लुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट भक्तजनको ओइरो नै लागेको थियो । सिद्धार्थ राजमार्ग तानसेन बुटवल सडक खण्डको झुम्सा पानीमिलबाट करिब एक घण्टाको उकालो पैदल दूरी पारगरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ । पहिले राति मात्र दर्शन गर्ने प्रचलन परिमार्जन हुँदै आजकल दिउँसो राति दुवै समयमा पूजाआजा गर्ने र वर माग्ने प्रचलन शुरु भएको हो ।

कञ्चनपुरमा हात्तीको बथानले दुई घर भत्कायो

कञ्चनपुर, कात्तिक १९ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर गएराति जंगली हात्तीको बथानले भत्काएको छ । हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो । घरभित्र राखेको अन्न खानुका साथै लगाउने, ओढ्ने विछ्याउने कपडा सबै हात्तीको बथानले च्यातचुत पारेर नोक्सान पुर्‍याएको छ । घरभित्र सुतेका बासिन्दाले भागेर ज्यान जोगाएका छन् । दीपककी श्रीमतीले हात्तीले घर भत्काउन थालेपछि दुधेबालकसहित खाटमुनि लुकेर ज्यान जोगाएको बताइन् । हात्तीको बथानलाई होहल्ला र साइरन बजाएर स्थानीय बासिन्दाले भगाउन थालेपछि घरभित्रबाट निस्केर सुरक्षित स्थान पुगेको उनले बताइन् । घर भत्काएर अन्न र लत्ताकपडामा नोक्सानी गरेपछि दुवै परिवारको विजोग भएको छ । स्थानीय बासिन्दाको घरको आँगनमा राखिएका धानसहितको पराल र एक विघा खेतमा लगाइएको ऊखु बालीसमेत हात्तीको बथानले खाएर नोक्सानी गरेको स्थानीय दान सिंह डगौराले बताए । राति ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानलाई स्थानीय बासिन्दाले राति ३ बजेपछि मात्रै धपाउन सकेका थिए । रातभर होहल्ला गर्दा, आगो बालेर तर्साउँदा र साइरन बजाउँदासमेत नभागेपछि तीन वटा हवाई फायर गरेपछि मात्र हात्तीको बथान पुनः निकुञ्जतर्फ लागेको टिकुराम डगौराले बताए । ‘हात्तीकै कारण रातभर जाग्राम बस्नुपरेको छ,’ उनले भने । उनका अनुसार निकुञ्जबाट बस्तीमा छावासहितको २२ को संख्यामा हात्तीको बथान रहेको थियो । यस अघि नगरपालिकाकै गर्जमुनीका स्थानीय बासिन्दाको घर हात्तीको बथानले भत्काएको थियो ।

जनयुद्धका घाईते जग प्रशाद शर्मा ‘अपार’ दाङ क्षेत्र नं‍‍. ३ ‘१’ का साझा उम्मेदवार

दिपक बोहरा/ तुलसीपुर, कात्तिक १९ । तीन दशक देखी राजनीतिक यात्रामा रहेका जगप्रशाद शर्मा ‘अपार’ अहिले दाङ क्षेत्र नं। ३ को ‘क’ बाट प्रदेशको उम्मेदवार बनेका छन् । राजनीतिमा स्वच्छ छबि बनाएका तुलसीपुर उपमहानगरपालिका १२ क्याम्पस रोड निबासी अपार बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । सादा जीवन, उच्च बिचार, सरल, कुसल संगठक ,राजनीतिक नेतृत्वका बिश्वास पात्र रहेका अपार बिगत तीन दशक देखी पार्टीको राजनीतिमा क्रियाशिल हुँदै आएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका अपार बिद्यार्थी कालदेखी नै भुमिगत हुनु पर्ने बाध्यता रह्यो । जसले गर्दा उनी उच्च शिक्षा हाँसिल गर्नबाट बञ्चित भए । २०४३ देखी बिद्यार्थी राजनीति शुरु गरेका अपार सानै उमेरमा भुमिगत भए । २०४६ सालमा उनले जनआनदोलनमा सक्रिय सहभागी भए । २०४७ सालमा पार्टीको सदस्यता प्राप्त गरेका उनले २०४९ देखी ०५१ सम्म ग्रामिण बर्ग संघर्षको नेतृत्व गरे । २०५२ साल फागुण १ गते देखी शुरु भएको जनयुद्धको पहलकर्ताका रुपमा उनी थिए । २०५३ सालमा पार्टीको रुकुम जिल्ला कमिटि सदस्य भएका उनी सोही बर्ष देशकै पहिलो एम्बुसको नेतृत्व गरे । युद्धकै क्रममा २०५५ सालमा उनी घाईते भए । उनलाई आँखामा छर्रा गोली लाग्यो । आँखाको उपचारकै क्रममा थिए, तर उनले हिम्मत हारेनन्, उनी घाईते हुँदा पनि नियमित लडि रहे । सोही बर्ष उनले पार्टीको क्षेत्रीय व्युरो सदस्यको जिम्मेवारी सम्हाले । उनी २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्बाचित भएका थिए । उनी पार्टी भित्रै निकै त्याग, तपस्या गरेका नेताको रुपमा चिनिन्छन् । आन्दोलनकै क्रममा उनले देशका बिभिन्न क्षेत्रको नेतृत्व गर्दै आए । पार्टीकै नेतृत्वका लागि उनलाई कहिले पुर्ब त , कहिले पश्चिम खटाईयो । उनले ईमन्दारीपुर्बक जिम्मेवारी सम्हाले । राजतन्त्रको अन्त्य गर्न, संघीय गणतन्त्रको स्थापन गर्न र देशको सम्बद्धिका लागि थालिएको १० बर्षे जनयुद्धको बिभिन्न तह र तप्काको नेतृत्वका लागि देशका बिभन्न क्षेत्रमा नेतृत्वका लागि खटाईयो । २०६७ देखी उनले दाङलगायत पश्चिम नेपालको पार्टीको नेतृत्व तहको जिम्मेवारी निर्बाह गर्दै आएका छन् । उनी २०४६ देखी ०५५ सम्म रुकुममा, २०५६ देखी ५८ सम्म प्रबासमा, २०५९ देखी ६६ सम्म पुर्बी नेपालमा नेतृत्वका लागि खटाईएको थियो । पार्टीको बिभिन्न आन्दोलनको नृेतृत्व गर्दै आएका उनले निकै दुःख, कष्ठ पनि झेल्नु प¥यो । उनी २०५१ सालमा डोल्पा हिरासतमा ८ दिन र २०५५ सालमा लखनउमा तीन दिन जेलमा बस्नु प¥यो । पार्टीको हरेक तह र तप्कामा संघर्ष गर्दै आएका उनी अहिले समाजबाद आधार तयार गर्न चुनाबी लडाईमा छन् । उनले समाजबादको आधार तयार पार्ने, ७० बर्ष देखीको अस्थाई सरकारलाई अन्त्य गरी स्थायी सरकार निर्माण गर्ने, संघीयता कार्यान्वयन गर्ने तथा दाङलाई प्रादेशीक राजधानी बनाउने मुख्य एजेण्डा अघि सारेका छन् ।

तस्करी मुद्दा लागेपछी भोटेकोसी गाउँपालिका अध्यक्ष पौडेल फरार

काठमाडौं, कात्तिक १९ ।  प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पौडेल फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ परेका सात र फरार चारलाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । अाजको नयाँ पत्रिकामा खबर छ-पक्राउ परेकामध्ये एकजना पुर्पक्षका लागि जेल चलान भएका छन् भने ६ जना धरौटीमा छुटेका छन् । गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेललाई सुन तस्करी मुद्दा लागेपछी फरार तस्करीमा संलग्न मुख्य नाइके चारैजना फरार छन् । सुनको लगानीकर्ता भोटेकोसी गाउँपालिकाका अध्यक्ष पौडेल भएको प्रहरी निष्कर्ष छ । त्यस्तै, न्युरोड क्षेत्रमा बसेर सुन र हुन्डीको कारोबार गर्ने रमेश खड्का, सुन्दर खड्का र कृष्ण खड्काविरुद्ध समेत प्रहरीले मुद्दा दायर गरेको छ । १४ किलो सुन शेर्पाको टोखास्थित डेराबाट तथा एक किलो धनुषाबाट बरामद भएको थियो । उनीहरूबाट भक्सवागन कार, ६ सय अमेरिकी डलर पनि बरामद गरेको थियो । पक्राउ परेका पेम्बा दोर्जे तस्करीका मुख्य सहयोगी हुन् । सो सुन एक चिनियाँको भएको र आफूले केही पैसा लिएर ओसारपसार एवं बिक्री मात्र गर्दै आएको बताएका छन् । पक्राउ परेका अन्य चारजना नेपालका विभिन्न सुन पसलदेखि भारतसम्म पुर्‍याएर तस्करीको सुन बिक्री गर्ने व्यक्तिहरू भएको प्रहरीले जनाएको छ । पेम्बा दोर्जेले आफ्नै कन्टेनरमा राखेर सो सुन रसुवा हुँदै काठमाडौं ल्याएका थिए । आफूले दुईपटक चीनबाट सुन ल्याएको उनले बताएका छन् । सम्पत्ति शुद्धीकरणमा अनुसन्धान तस्करीमा संलग्न सबैमाथि सिआइबीले सम्पत्ति शुद्धीकरणमा मुद्दामा अनुसन्धान अघि बढाएको छ । सुन तस्करीबाट अकुत पैसा कमाएको आशंकामा छानबिन सुरु गरिएको सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्कीले बताए । धरौटीमा छुटेकालाई हिरासतमै राखेर प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान मुद्दामा अनुसन्धान अघि बढाएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर सिआइबीले अनुसन्धान अघि बढाएको हो । बरामद सुन १५ केजी, बिगोदाबी २२ केजीको प्रहरीले १४ भदौमा रसुवाको केरुङ नाकाबाट भित्रिएको १५ किलो सुनसहित सातजनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये सिन्धुपाल्चोक भोटेकोसी घर भई टोखा बस्ने पेम्बा दोर्जे शेर्पा जेल चलान भएका छन् । प्रहरीले उनलाई पाँच वर्ष कैद र १० करोड ४६ लाख रुपैयाँ जरिवाना दाबी गरी मुद्दा दायर गरेको थियो । पक्राउ परेका भक्तपुरका दीपेन्द्र थापा, बानेश्वरका सरोज थापा, काभ्रेका विष्णु गौतम, भक्तपुरका राजेन्द्र खत्री, रविन खत्री र धनुषाका दीपककुमार साहलाई धरौटीमा छाड्ने आदेश दिएको हो । अनुसन्धानका क्रममा उनीहरूले २२ किलो सुन तस्करी गरेको खुलेको थियो । त्यसकारण प्रहरीले १५ किलो बरामद भए पनि २२ किलो सुन बराबरकै बिगो दाबी गरेको छ ।

महानगरका मेयरमाथि दोषैदोष: वैठक बस्न सकेन

काठमाडौं, कात्तिक १९ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अधिकांश वडाध्यक्षसहित कार्यपालिका सदस्यहरुले विरोध गरेका छन् । प्रमुख महर्जन निरङकुश तबरले चलेको भन्दै १४ जना वडाध्यक्षसहित ८ जना नगर कार्यपालिकाका सदस्यहरुले विरोध गरेका हुन् । विरोधका कारण शुक्रबार तय गरिएको महानगरपालिकाको वैठक स्थगित गरिएको नेपाल समाचारपत्रमा खबर छ ।

‘लोकतन्त्रको सुनिश्चितताका लागि वाम गठबन्धन’

भक्तपुर, कात्तिक १८ . संविधान कार्यान्वयन र देशको समृद्धिका लागि आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धन बनेको भक्तपुरबाट उम्मेदवारी दिएका वाम उम्मेदवारहरुले बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ का उम्मेदवारहरुले यस्तो बताउनु भएको हो । कार्यक्रममा पूर्वमन्त्री एवं एमालेका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएका महेश बस्नेतले देशमा संविधान कार्यान्वयन गरी स्थिर सरकार गठन गर्दै देशको समृद्धिका लागि वामगठबन्धन बनेको बताउनुभयो । विपक्षीले आफूविरुद्ध गर्ने आलोचनादेखि नडराउने बताउँदै उहाँले विपक्षीसँग सौहार्द रुपमा चुनाव लडेर विजय हासिल गर्ने दाबी गर्नुभयो । आफू छोटो समयका लागि मन्त्री हुँदा भक्तपुरमा पाँच अर्बको विकास बजेट ल्याएर ४८ वटा सडकदेखि हनुमन्ते र मनोहरा करिडोरको काम भइरहेको, मेलम्चीको पानी ट्याङ्की बनिरहेको दाबी गर्दै उहाँले आफू भक्तपुरको मुहान फेर्न तयार रहेको बताउनुभयो । भक्तपुर क्षेत्र नं १ प्रदेश क बाट उम्मेदवार हुनुभएका माओवादी केन्द्रका जिल्ला ईन्चार्ज देवीप्रसाद ढकालले लोकतन्त्रको सुनिश्चितताका लागि वाम गठबन्धन बनेको बताउनुभयो । निर्वाचनपछि प्रदेश कानून बनाएर संविधान कार्यान्वयन गर्न र स्थायी सरकार गठन गरेर विकासको गतिलाई तिब्र पार्ने आफ्नो उद्देश्य रहेको उहाँको भनाइ थियो । कार्यक्रममा क्षेत्र नं २ प्रदेश  क का एमालेका उम्मेदवार शशीजंङ्ग थापा र प्रदेश नं ख बाट एमालेका उम्मेदवार राजेन्द्रमान श्रेष्ठले एमालेको जीतले नै देशको समृद्धि हुने विचार व्यक्त गर्नुभयो । यता क्षेत्र नं १ को प्रतिनिधिसभामा वाम गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका मिलन सुवाल, सोही क्षेत्रको प्रदेश नं २ ख भक्तपुरका उम्मेदवार रोमन शिलाकारले वाम गठबन्धनलाई जनताको साथ रहने विश्वास व्यक्त गर्नुभयो । एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै भेला यसैबीच, प्रतिनिधि र प्रदेशसभाको आसन्न निर्वाचनमा एकताबद्ध भएर जाने लक्ष्यका साथ गठन भएको वाम गठबन्धन भक्तपुरमा टुट्ने अवस्थामा पुगेको छ । उम्मेदवारको विवादपछि आज एमाले र माओवादी केन्द्रले जिल्लामा छुट्टाछुट्टै भेला गरेका छन् । भक्तपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ क मा माओवादी केन्द्र र एमालेको छुट्टाछुट्टै उम्मेदवारी परेपछि दुई पार्टीबिच विवाद चुलिएको हो । यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका जिल्ला संयोजक डिपी ढकालको उम्मेदवारी परेको छ भने एमालेको तर्फबाट एमाले जिल्ला सचिव हरिशरण लामिछानेको उम्मेदवारी परेको छ । आज सूर्यविनायकमा एमाले समर्थित युवा संघ नेपाल र अनेरास्ववियु, भक्तपुरले आयोजना गरेको संयुक्त विस्तारित भेलामा यस क्षेत्रको उम्मेदवारको रुपमा लामिछानेलाई अगाडि सार्दै प्रचारमा जुटेको थियो । आजै, यता माओवादी केन्द्रले पनि सूर्यविनायकमै कार्यकर्ता भेला गरेर भक्तपुरमा वाम एकतामा संकट आएको र एमालेले उम्मेदवारी फिर्ता नलिए वाम एकता तोडेर अगाडि बढ्ने गरी तयारी रहने बताइएको छ । एमाले सम्बद्व युवा संघ नेपाल र अनेरास्ववियुले गरेको कार्यक्रमको बारेमा जानकारी दिँदै युवा संघ नेपालका भक्तपुर अध्यक्ष दीपक दाहालले एमालेको आधिकारिक उम्मेदवार हरिशरण लामिछाने भएकाले उहाँको प्रचारमा युवा जुटेको बताउनुभयो । अनेरास्ववियूका जिल्ला अध्यक्ष जयराम बास्तोलाले एमालेको उम्मेदवारले मात्रै चुनाव जित्ने निश्चित भएकाले लामिछानेलाई अगाडि सारेको बताउँदै उहाँ नै उम्मेदवार भएको बताउनुभयो । यता वाम गठबन्धनका रुपमा रहेको माओवादी केन्द्रका उम्मेदवार ढकालले भने आफू गठबन्धनको उम्मेदवार भएकाले कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने बताउनुभयो । एमाले र माओवादी केन्द्रका उच्च नेताहरूको बैठकले भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि र प्रदेशसभाको दुईवटै प्रदेश माओवादी केन्द्रको भागमा र क्षेत्र नं २ को प्रतिनिधि र प्रदेशसभा एमालेको भागमा परेकाले यसलाई कायम राख्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुरमा वाम गठबन्धन संकटमा परेको बताउँदै भोलि लामिछानेले उम्मेदवारी फिर्ता नलिए गठबन्धन तोडेर माओवादी केन्द्र अगाडि बढ्ने बताउनुभयो ।

पार्टी एकता नभए राजीनामा : अधिकारी

धादिङ, कात्तिक १८ । क्षेत्र नं २ को प्रदेशसभा (क) का वाम गठबन्धनका उम्मेदवार डा रामकुमार अधिकारीले वाम तालमेलका कारण आफू उम्मेदवार भएकाले नेकपा एमाले र नेकपा ण्माओवादी केन्द्र पार्टी एकीकरण नभए आफूले चुनाव जितेर राजीनामा दिने बताएका छन । सदरमुकाम धादिङबेंसीमा माक्र्सवाद अध्ययन प्रतिष्ठानले शनिबार आयोजना गरेको कम्युनिष्ट एकता र आसन्न निर्वाचनबारे विचारगोष्ठीमा डा अधिकारीले आफू एमाले र माओवादी केन्द्र दुवैको उम्मेदवार भएकाले कहीँ कतैबाट पार्टी एकता नभएमा आफूले जितेर प्रदेशसभा सदस्यबाटै राजीनामा दिएर स्वतन्त्र नागरिक भएर बस्ने प्रतिबद्धता गरे । एमाले पोलिटब्यूरो सदस्य डा गंगालाल तुलाधरले समाजवादको बाटोमा पुग्न वाम गठबन्धनको अपरिहार्यता भएको बताए । माओवादी केन्द्रका केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले कम्युनिष्ट पार्टी एकताले जनतालाई सकारात्मक सन्देश दिएको बताए ।

नगरपालिकामा निःशुल्क इन्टरनेट

धादिङ, कात्तिक १८ । नीलकण्ठ नगरपालिकाअन्तर्गतको १४ वटा वडा कार्यालय नगरपालिकाको कार्यालय र नगरपालिकाअन्तर्गत निर्माण गरिने चारवटा पार्कसमेत गरी २० स्थानमा आगामी पाँच वर्षका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नीलकण्ठ नगरपालिकाको पहिरो बैठकबाट नीलकण्ठ नगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेकाले त्यसको पूर्वाधारका लागि माइक्रोसफ्ट इनोमेशन सेन्टरसँगको साझेदारीमा उक्त सेवा उपलब्ध गराउन लागेको हो । शुक्रबार एक समारोहका बीच नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र माइक्रोसफ्ट इनोमेशन सेन्टरका राष्ट्रिय निर्देशक वीरलोचन तुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गरे । इन्टरनेट सेवा क्षेत्रका विज्ञ बाबुराम आचार्य, राष्ट्रिय निर्देशक तुलाधर, कार्यकारी अधिकृत जगन्नाथ लामिछानेलगायतका वक्ताले २१औँ सताब्दीको विज्ञान र प्रविधिको युगमा जुनसुकै काममा पनि इन्टरनेट सेवा आवश्यक भइसकेको सान्दर्भिकतामाथि प्रकाश पारे । प्रमुख भीमप्रसाद ढुंगानाले आफूले प्रतिबद्धता जनाएको काम पूरा गर्न पाएकामा खुशी व्यक्त गर्दै चाँडै नै सार्वजनिक पार्कको निर्माण गरी नगरपालिकाभित्रको १४ वटै वडामा पक्की बाटो निर्माण गर्ने कामको शुरुवात समेत गरिसकेको बताए ।

६७ वर्षको उमेरमा गीत रेकर्ड गराउन दौडधुप

काठमाडौं, कात्तिक १८ । अनामनगरको गल्ली छिचोल्दै म्युजिक बैंक आइपुगिन् विमला लामा थिङ । प्लास्टिकको बैजनी चप्पल ढोकाबाहिर खोलेर ६७ वर्षीया उनी स्टुडियोभित्र पसिन्– गीत रेकर्ड गराउन । विमला ती गायिका हुन्, जसको सपना १६ पटकसम्म रेडियो नेपालको स्वर परीक्षामा ‘असफल’ हुँदा समेत मरेन । ‘मेरो गीत आज रेकर्ड होला त बाबु ?’ रेकर्डिङमा व्यस्त कृष्ण पुनलाई कुप्रो ज्यानले नमस्कार टक्र्याउँदै प्रश्न गरिन् । कृष्णको हाउभाउले शुभ बताइरहेको थियो । उनी सोफामा बसिन् । एकछिन सुस्ताइन् अनि घडी हेरिन् । त्यसपछि झोलाबाट सीडीका पोका र कागजका टुक्रा निकालिन् । ‘गीत रेकर्ड गराउन पैसा कहाँबाट ल्याउनुहुन्छ नि आमा ?’ कृष्णले विमलालाई सोधे । उनले पुलुक्क हेरिन् । एकछिन चुपचाप बसिन् । ‘महिनाको एक हजार एकल महिलाको भत्ता आउँछ । त्यही जम्मा गरेर रेकर्ड गर्छु,’ विमलाको भनाइ मार्मिक थियो । उनको भनाइले स्टुडियोमा सन्नाटा छायो । उनी भने गीतका पानाहरू मिलाउन व्यस्त थिइन् । विमला बाँचिरहेको यो उमेरमा कोही आँगनको डिलमा बसेर नाति÷नातिनी खेलाउँदै होलान्। कोही कौसीमा बुढेसकाल गन्दै होलान् । कोही वृद्धाश्रममा बसेर अन्तिमपटक सन्तानको मुख हेर्न पदचाप पर्खिरहेका पनि होलान् । उनी भने राजधानीका रेकर्डिङ स्टुडियो धाइरहेकी छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

वेलायतको प्रधानमन्त्री हुनु पर्ने मान्छे–भण्डारी

गुल्मी, कात्तिक १७ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार चन्द्र भण्डारीले आफु वेलायतको प्रधानमन्त्री हुनु पर्ने खालको नेता भएको दावी गरेका छन् । ‘गुल्मी क्षेत्र नम्वर २ को सांसद भएको कार्यकालमा गरेको विकास हेर्ने हो भने आफू बेलायतको प्रधानमन्त्री हुनु पर्ने हो ।’ प्रेस युनियन गुल्मीले आयोजना गरेको कार्यक्रममा भण्डारीले भने, ‘यति विकास गर्दा पनि तपाई पत्रकारले लेखी दिनु हुन्न भने मेरो भन्नु केहि छैन् ।’ गुल्मी क्षेत्र नं. २ बाट वाम गठबन्धनका तर्फबाट एमाले सचिव प्रदिप ज्ञवाली उम्मेदवारी बनेका छन । ज्ञवाली र भण्डारीबीच यसअघिदेखि नै तीब्र प्रतिस्पर्धा हुने गरेको थियो । तर अहिले वाम गठबन्धनले गर्दा भण्डारीलाई निकै गाह्रो हुने देखिएको छ । वाम गठबन्धनपछि देशभर राजनीतिक ध्रुबीकरण तीब्र रुपमा अघि बढिरहेको छ ।