आठ जना पत्रकारहरु पक्राउ

मंसिर ५ । रुपन्देहीबाट प्रकाशित हुने गर्जन पोष्ट साप्ताहिक पत्रिकाका सम्पादक पत्रकार प्रकाश डुम्रेलाई आज दिउँसो रुपन्देहीबाट गिरफ्तार गरिएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनबाटै पत्रकार डुम्रेलाई पक्राउ गरिएको हो । क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय समिति सदस्य तथा लुम्बिनी अञ्चल संयोजक र नेपाल पत्रकार महासंघ रुपन्देही जिल्ला शाखाका कार्यसमिति सदस्य रहेका पत्रकार डुम्रेको गिरफ्तारी प्रेसमाथि सरकारले गरिरहेको श्रृङ्खलाबद्ध हस्तक्षेपको पछिल्लो कडी हो ।

त्यसैगरी हिजो सोमबार मात्र कालिकोटबाट प्रकाशित हुने हुने जनप्रभात साप्ताहिक पत्रिकाका समाचार प्रमुख जगदिशनाथ योगीलाई सदरमुकाम मान्ममा रहेको पत्रिकाको कार्यालयबाटै पक्राउ गरिएको छ ।

सोही पत्रिकाका प्रकाशक सम्पादक कालीबहादुर महतारालाई पनि केही दिन अघि कार्तिक २९ गते सदरमुकाम मान्मबाटै गिरफ्तार गरिएको थियो ।

त्यस्तै मंसिर ३ गते आइतबार नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनका बारेमा रिपोर्टिङका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेका मध्यान्ह दैनिकका पत्रकार दिपेश शाहीलाई अस्पताल परिसरबाटै पक्राउ गरिएको छ ।

त्यसैगरी काठमाडौंबाट प्रकाशित हुने हाम्रो जलजला मासिकका सम्पादक खेम थपलियालाई बागबजारमा रहेकोे प्रगतिशील लेखक संघको कार्यालयमा आयोजित कार्यक्रम स्थलबाटै पक्राउ गरिएको छ । काठमाडौंबाटै प्रकाशित हुने नेवारी पत्रिका निहिगु ज्वजोलोप्पा पत्रिकाका सम्पादक जितेन्द्र महर्जनलाई किर्तिपुरस्थित घरबाटै पक्राउ गरिएको छ ।

त्यस्तै ‘प्यूठान भिजन’ मासिक पत्रिकाका सम्पादक जायेश्वर आचार्य र कार्यकारी सम्पादक पदमप्रसाद पोख्रेललाई पनि गिरफ्तार गरेर हिरासतमा राखिएको छ ।

साथै अन्य थुप्रै पत्रकारहरुलाई गिरफ्तार गर्ने प्रयत्न गरिएको सूचना हामीलाई प्राप्त भएको छ । प्रहरीले गिरफ्तार गर्नुपर्ने पत्रकारहरुको सूची बनाएर ती पत्रकारका घर, कार्यालय तथा अन्य स्थानमा पनि खोजी गर्ने, पत्रकारका घरपरिवारका अन्य सदस्यलाई सोधपुछ गरेर मानसिक यातना दिने कार्य पनि तीब्र पारेको छ । हामी सरकार र नेपाल प्रहरीका विभिन्न निकायबाट भइरहेको यसखालका निरङ्कुश र अमानवीय कार्यको घोर भत्र्सना एवं निन्दा गर्दछौं र पक्राउ गरिएका ८ जना पत्रकारहरुलाई तत्काल रिहा गर्न माग गर्दछौं ।

नेपालको मौजुदा संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको छ ।

त्यसैगरी कुनै पनि राजनैतिक आस्था विचार अंगाल्न पाउने स्वतन्त्रतालाई पनि मौलिक अधिकारका रुपमा व्यवस्था गरिएको छ । तर, वर्तमान सरकार संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारको ठाडै उल्लंघन गर्दै संविधानलाई कागजी खोस्टामा सीमित गरिरहेको यसबाट प्रष्ट हुन्छ ।

पत्रकारले लेख्ने समाचारबाट त्रसित भई थुनामा राख्ने सरकारको यस प्रवृतिप्रति हामी सम्पूर्ण नेपाल पत्रकार महासंघसहित सम्पूर्ण संघ संस्था, पत्रकार र सञ्चारमाध्यामलाई आवाज उठाउन आग्रह गर्दछु ।

साथै विना कारण गिरफ्तार गरी जेलमा राखिएका पत्रकारको रिहाई तथा उनीहरुको अवस्थाबारे जानकारी लिन राष्ट्रिय मानवअधिकार आयोगसहितका मानवअधिकारवादी संघ संस्थालाई आग्रह गर्दछौं ।

बुवाको किरियामा बसेका ‘विप्लब’ समूहका जिल्ला इन्चार्ज पक्राउ

बैतडी, मंसिर ५ । बुवाको किरियामा बसेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा बैतडीका जिल्ला इञ्चार्ज बासुदेव जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका ३ रुद्रेश्वरवाट पक्राउ गरेको हो । विभिन्न जिल्लामा विप्लव समुहले उचछृंखल गतिबिधी गरेर नागरिकलाई त्रास तथा चुनाव भाडिने भन्दै जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिए । बुवाको निधन भएको ११ दिनमा किरिया बसेका जोशीलाइ प्रहरीले माथीको आदेश भन्दै नियन्त्रणमा लिएकाले परिवारले आपत्ति जनाएका छन् । प्रहरीले यसअघि पनि बैतडीमा विप्लवका ६ जना नेता कार्यकर्तालाई पक्राउ गरि सार्वजनिक मुद्दा चलाएको छ ।

मेरुदण्ड पिडित सुरेन्द्र  बम्जनको सहयाेगार्थ युएईमा बृहत सास्कृतिक कार्यक्रम हुँदै

युएई , मंसिर ५ । प्रगतिशील कलाकार सघ युएईको आयोजनामा हुन लागेको बृहत सास्कृतिक कार्यक्रममा भाग लिन नेपालबाट जनबादि गायक नबिन खड्का र चलचित्र निर्देशक तथा नायक अमिर दोङ आउदो १३ तारीख युएईमा सहभागी हुँदै छन् । ५ बर्ष देखि मेरुदण्डको उपचार नपाइ अपाङ्ग जिबन बिताउदै आयका सिन्धुलीका सुरेन्द्र कुमार बम्जनको उपचारमा आर्थिक सहयोग पुर्याउने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको जानकारी कार्यक्रम ब्यबस्थापक तथा सम्योजक सुरेन्द्र थिङले दिए ।  आफ्नो सम्पुर्ण जायजेथा बेचेर उपचार गर्दा समेत ठिक हुन नसके पछी उनि हाल ह्विल चियरको सहायतामा जिबन बिताउदै आएका छन ।  नेपालका विभिन्न अस्पतालमा उपचार गराउदा समेत ठिक नभएको र आफ्नो सबै जायजेथा सकिय पछी केहि समय अघि सुरेन्द्रले गाउ बिकास समितिको कार्यलय मार्फत देश बिदेशमा रहेका नेपाली माझ सहयोगको अपिल समेत गरेका थिए । चर्चित कलाकारहरको साथमा दुबईको काल्टर्न टावर होटलमा डिसेम्बर १५ तारीख हुन लागेको बृहत सांस्कृतिक कार्यक्रममा तामाङ कथानाक चलचित्र “डेन्बा माया” को पनि च्यारटी सो गरिने आयोजकले बताएका छन । कार्यक्रममा युएईमा क्रियासिल बिभिन्न संघ संस्थाका प्रतिनिधि ब्यबसायी, बुद्धिजिबी, पत्रकार,स्थानीय कलाकार लगायत युएईमा कार्यरत हजारौं नेपालीको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन ।  

कांग्रेसका नेता विमलेन्द्र निधि अस्पताल भर्ना

काठमाडौं, मंसिर ५ । छातीमा समस्या देखिएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि सोमबार राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन् । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छातीरोग विशेषज्ञ डा.सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ । चिकित्सकले उनलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए । निधि सोमबार अपराह्न ४ः३० बजे अस्पताल पुगेका थिए । जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि उनी सोमबार नै काठमाडौं आएका थिए । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता निधि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् ।

विचल्लीमा परेका वालवालिकालाई ईजरायलबाट सहयोग

प्रेम सुनार गुल्मी, मंसिर ४ । केहि हप्ताअघि ओझेलका खवरमा वावु आमा विहिन अर्घाखाँचीका तिन वालवालिकाको विचल्लीको कथा प्रशारण भए पछि ईजरायलमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग पठाएका छन् । रुपन्देहीको रुद्रपुर गाउँपालिका वडा नम्वर ५ गर्गरे घर भई ईजरायलमा कार्यरत रितु पौड्यालको सक्रियतामा त्यहाँ स्थित प्रवासी नेपाली समाज ईजरायका सवै सदस्यहरुले जनही सहयोग संकलन गरी ३५ हजार रुपैयाँ मोरङ्गका गतिला पोखरेका तीन नाति नातिनालाई पठाएका हुन् । उक्त रकम क्यानन् ईन्टरनेशनल एजेकेशन, ट्रफिकचोक वुटवलका सञ्चालक वसन्त शर्मा मार्फत पठाईएको हो । ईजरायलमा रहेकी रितु पौड्यालले ति वालवालिकाको विचल्ली सम्वन्धि ओझेलका खवर युट्युवमा हेरेर आफुले आँशु थाम्न नसकेको बताईन् । त्यहाँबाट फोन गरेर उनले भनिन– ‘यहाँको यस प्रवासी समाजका सवै पदाधिकारी र सदस्यहरुसंग कुरा राखेर सवैले सहर्ष स्वीकार गर्दै सहयोग संकलन गरेर उक्त रकम पठाएका हौं । पौड्याल र त्यहाँको प्रवासी समाजले यस अघि पनि विपदमा परेका थुप्रै नेपालीहरुलाई सहयोग गर्दै आएका छन् । मोरङ्गका ति वालिवालिकाका वावु आर्थिक भारको तनावमा परेर आत्मा अत्या गरेका थिए भने आमाले छाडेर दोश्रो विवाह गरे पछि विचल्लीमा परेका हुन् । उनिहरुको उमेर दुई वर्ष देखि ८ वर्ष सम्मको रहेको छ ।

गुल्मीमा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ घाइते

गुल्मी, कात्तिक ३० । गुल्मीमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । अरु १३ जना घाइते भएका छन् । बुधबार राति मलामी गएर तम्घास फर्किँदै गरेका मानिस चढेको लु १ ज १५२१ नम्बरको जिप रेसुङ्गा नगरपालिका–४ अर्खलेमा दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तुको वाडगंगा नगरपालिकाका ५५ वर्षका रुद्रबहादुर डेगाको ज्यान गएको जिल्ला प्रहरी ट्राफिक कार्यालय गुल्मीका हवल्दार देवीप्रसाद पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेको पाल्पामा उपचार भइरहेको छ ।  अरु ७ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उकालोमा ब्रेक फेलभई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि गम्भीर घाइते छन् ।

धनगढीबाट पेस्तोलसहित एक युवक पक्राउ

कैलाली, कात्तिक ३० । कैलालीको धनगढी उपमहानगरपालिकाबाट पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा क्षेत्रीय निर्वाचन सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी रहेका बेला प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ७, बोरिङ नजिकबाट धनगढी ८ बस्ने २२ वर्षीय राकेश चौधरीलाई बुधबार राती साढे ९ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट एक थान पेस्तोल बरामद भएको छ । वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाको टोलीले चौधरीलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको थापाले बताए । चुनावमा उम्मेदवारलाई लक्षित गर्दै आक्रमण भइरहेको बेला सुरक्षा सतर्कता बढाइएको छ ।

त्रिभुवन विमानस्थलमा यात्रुका लगेज फोरेर सामान चोरी गर्ने लोडर पक्राउ

काठमाडौं, कात्तिक ३० । त्रिभुवन विमानस्थलमा यात्रुका लगेज फोरेर सामान चोरी गर्ने नेपाल एयरलाइन्सका लोडर ‘लोडर’ पक्राउ परेका छन् । नेपाल एयरलाइन्स अन्तर्गत सुनगाभा सप्लायर्सका कर्मचारी विमल केसी, विक्रम लामा र विर्खराज विक पक्राउ परेका हुन् । ओमन एयरमा सामान लोड गर्न गएका बेला उनीहरुले यात्रुको लगेज फोरेको प्रहरीले जनाएको छ । उनीहरुलाई अनुसन्धानका लागि प्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

बालाचतुर्दशी : अाज राति पशुपतिमा बत्ती बालिदैँ

काठमाडौँ, ३० कात्तिक (रासस) ः पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा आज बेलुकी दिवंगत पितृको नाममा बत्ती बालिन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा दिवंगत पितृका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्छन् । चतुर्दशीका दिन बिहान शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनको बिहीबार बिहानैदेखि पशुपतिमा भीड लाग्छ । आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, उमाकुण्ड, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम धानका १०० बीउ छर्ने शास्त्री प्रमाण भएकाले शतबीज भनिएको बताउनुहुन्छ । “शतबीजको अर्थ सत्बीज अर्थात् राम्रो बीउ वा सप्तबीज भन्ने अर्थमा पनि लगाउन थालिएको छ, शास्त्रीयरुपमा यो सही होइन, यसै वर्ष दिवंगत भई वर्षान्त नभएकाले बत्ती बाल्ने शतबीज छर्नु पनि हुँदैन भन्ने शास्त्रीय प्रमाण छ”– उहाँले भन्नुभयो । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ । वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृग आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती पनि छ । यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुद्र्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको र सो गिदीसँगै च्युरा खाँदा झन मीठो भएकाले त्यसै बेलादेखि उनी मुद्र्दाको गिदी खान पल्किए । त्यसपछि मानिसको गिदी खाने कार्य तथा लामा लामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एक जना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत उसलाई मार्न लगाएको किंवदन्ती पनि छ । आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएकाले मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि छर्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् डा गौतमले जानकारी दिनुभयो ।

बस भाडा नै नउब्रिएछि किन जाने भोट हाल्न

चरिकोट, कात्तिक २९ । न्यानो कपडा बोकेर विक्रीका लागि बजार चहार्दै गर्दा कालीकोट जिल्ला तिलागुभा नगरपालिका–१ का ३५ वर्षीय वीरबहादुर बुढा सदरमुकाम चरिकोटमा भेटिनुभयो । तपार्इंले बोकेको के हो? भन्दा उहाँले जवाफ दिनुभयो, “यो झिल्के हो ।” त्यसको विक्री मूल्य सोध्दा रू दुई हजार ५०० पर्छ भन्दै गफिन खाज्नुभयोे । उहाँजस्तै कालीकोटबाटै आउँनुभएका उहाँका दाजु नरिलाल बुढा र काकासहित परिवारका चारजना जाडोको समयमा आवश्यक पर्ने सामान बिक्रीका लागि गाउँ र टोलमा घुमिरहेको बुढाले बताउनुभयो । दैनिकीबारे सोध्दा उहाँले भन्नुभयो, हामी दोलखा आएको धेरै भयो, पैसा कमाइन्छ कि भनेर हामीले पनि सामान किनेर बेच्न ल्याएका हौँ तर खासै बिक्री भएको छैन । बुढाले जाडोमा प्रयोगमा आउने सामान डुलाउँदा पनि बिक्री हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । “हामी सामान्य होटलमा बसेका छाँैं १० दिनको एक हजार रुपैयाँ तिर्छौ ।” बुढालाई व्यापार भए चुनावमा घर गई भोट हाल्ने रहर पनि छ तर सामान थुप्रै मात्रामा बिक्री हुन बाँकी छ , “यो निर्वाचनमा भोट हाल्न जाने की नजाने दोधारमा थियौँ हामी चारैजना,” उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “गाउँ नजाने भइयो।” उहाँलाई जिल्लामा निर्वाचनमा कोको उठेका छन् भन्ने पनि थाहा छ रे । बुढा भन्नुहुन्छ्, हाम्रो जिल्ला कालीकोटमा नेपाली काँग्रेसबाट भुपेन्द्रजंग शाही, नेकपा (माओवादी केन्द्र)बाट उज्ज्वल रावत, नेकपा (एमाले)बाट कुर्म शाही उम्मेदवार भएका छन् तर कुनै उम्मेदवारले पनि भोट माग्न आएका छैनन् हाम्रो दुःख हामीसँगै छ । भोट हालेर के हुन्छ र ? यो पटक मोटर भाडा नै नहुने भएपछि भोट हाल्न नजाने बुढाको भनाइ छ । बुढा निरासिँदै भन्नुहुन्छ, “नेताले विकास गर्दे र हाम्रो जिल्लाको विकास भए हाम्रा छोराछोरी तथा नातीनातिनीलाई राम्रो हुने थियो तर अहिले जिल्लाको विकास भन्दा आफ्नै परिवार र नातागोताको मात्रै विकास गर्छन् नेताले । ” दुर्गम कालीकोटबाट यहाँ हरेक वर्ष ज्याकेट, सिरक, ओछ््याउने, बिछ््याउना, तन्नाजस्ता कपडाका सामग्री बोकेर जुम्ला, कालीकोट लगायतका व्यापारी यहाँ आउँछन् । उहाँ जस्तै कालीकोटके अर्का व्यापारी लक्ष्मी अधिकारी भन्नुहुन्छ, “हाम्रो परिवार चुनावले पालिदैन, हामो जीविका पनि छ, नेतालाई भोटको चिन्ता, हामी गरिबलाई नोटको चिन्ता, त्यसैले हामीलाई चुनाव भन्दा हाम्रो परिवार पाल्न सकस छ, हामी सायद भोट हाल्न कालिकोट जाँदैनाँै।” उहाँ भन्नुहुन्छ, “नेता चुनावको समयमा अनेकथरी गरिदिने आश्वासन त दिन्छन् तर निर्वाचन सकिएपछि केही पनि गर्दैनन् त्यसैले किन भोट हाल्न जानु ।”

अब विद्युत महसुल ‘आईएमई पे’ द्वारा गर्न सकिने

हेमन्त भण्डारी काठमाडौं, कार्तिक २९ । विद्युत् महसुल बापतको रकम अबदेखि ‘आर्ईएमई पे’ बाट भुक्तान गर्न सकिने भएको छ । देश–विदेशमा रहने सबैले यस्तो सेवामार्फत विद्युत् महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाईएको छ । नेपाल बिद्युत प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा शुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्न थालिएको हो । यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छ भने सेवाग्राहीहरूको समय पनि बचत गर्नेछ । नेपाल विद्युत प्राधिकरणले अहिले उपत्यकाभित्रका सबै शाखाहरुको महसुल संकलन अनलाइन पद्वतीबाट गर्न सुरु गरिसकेको छ । प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ्ग गर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेट मार्फत नेपाल बिद्युत प्राधिकरणको अनलाइन बिल भुक्तान सेवा लिन सकिन्छ भने ‘आईएमई पे डाउनलोड गरेका सेवाग्राहीहरूले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सकिने व्यवस्था मिलाईएको छ । मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तान गर्ने व्यवस्था आइएमई पे ले ‘पे पोइन्ट’ को सहकार्यमा गरेको हो ।

बाजुराका मतदाताको माग, ‘स्वतन्त्र मतदान गर्न पाऊँ’

प्रेम रौले बाजुरा,  कात्तिक २९ । बाजुरामा विगतका चुनावमा आफूहरुले स्वतन्त्ररुपमा आफ्नो मत खसाउन नपाएको भन्दै यस पटकको निर्वाचनमा आफ्नो मत आफैँ हाल्न पाउनुपर्ने माग राजनीतिक दलहरुसँग गर्न थालेका छन् । जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनका कार्यकर्ताले मतदान केन्द्रमा पहुँच भए कब्जा गर्ने र मतपत्र खोस्ने गरेकाले यो पटकको मत आफैँले हाल्न पाउनुपर्ने जोड दिन थालेका छन्। जुन राजनीतिक दलको बर्चश्व जहाँ छ, त्यहीँ मतदान केन्द्र कब्जा गर्दै आफ्नो पार्टीलाई जिताउन खोज्ने प्रवृत्ति अन्त्य गर्न दलका उम्मेदवारसँग आग्रह गर्न थालेको मतदाताले बताएका छन् । जिल्लाको विकट क्षेत्रमा रहेको गौमुल गाउँपालिकाका मतदाताले स्वतन्त्ररुपमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गरिदिन अनुरोध गरेका छन् । दलीय राजनीतिक प्रभावका कारण गौमुलको वडा नं १ अम्लीसमा धेरैले आफ्नो मताधिकार प्रयोग गर्नै नपाएको भन्दै स्थानीय युवाले आफ्नो अमूल्य मत आफैँले दान गर्न पाउनुपर्नेमा जोड दिएका छन् । मतदान गर्न आएका वृद्धवृद्धा र सोझा मतदातालाई फकाएर तपाई मत हाल्न जान्नुहुन्न तपाईकै रोजेको ठाउँमा हामी मतदान गरी दिन्छौँ भनेर फकाउने र भित्र गएर आफू अनुकूल पार्टीको चिह्नमा मतदान गर्ने गरेको उहाँहरुले बताउनुभयो । वडाध्यक्षका उम्मेदवार जयराम रोकायाले रासससँग भन्नुभयो, गत स्थानीय तहको निर्वाचनमा ३०० भन्दा बढी मतको अपेक्षा गरेका थियौँ, मतदान गर्दा ११४ मत आउँदा छक्क परेका छौँ, किन मत कम भएछ भनी खोज्दै जाँदा प्रायजसोको मत अर्को व्यक्तिले हालि दिएको थाहा भयो । मतदान केन्द्र कब्जा हुँदैन, तर मतदाता नामावली अनुसार मतदान नभएको रोकायाको भनाइ रहेको छ । त्यस्तै, आफ्नो मत आफैँ खसाल्न नपाउने जिल्लाका धेरै मतदान केन्द्र छन् । “एमालेको पकडमा भएका मतदान केन्द्र एमाले र काँग्रेसको भएकामा काँग्रेसले मतदान केन्द्र कब्जा गर्दै आएका छन् । त्यहाँ दलका प्रतिनिधिले मतदान गर्छन्, वास्तविक मतदाता भने टुलटुलु हेरेर फर्किन्छौँ,” गौमुलका एक वृद्ध मतदाताले बताउनुभयो । बाजुराका ७० मतदान केन्द्रमध्ये ३३ वटा मतदान केन्द्र अतिसंवेदनशील छन् । तीमध्ये धेरै ठाउँ राजनीतिक कारणले अतिसंवेदनशील छन् । राजनीतिक आस्थाकै आधारमा कर्मचारी खटाइने हुँदा कर्मचारीका कारण पनि स्वतन्त्र मतदानमा अप्ठेरो परेको स्थानीयले बताउने गरेका छन् । दल निकटका कर्मचारीले दलको इसारामा काम गर्छन्, कसरी स्वच्छ वातावरणमा मतदान हुन्छ रु स्थानीय तह निर्वाचनका एक पर्यवेक्षकले बताउनुभयो । शान्तिपूर्ण निर्वाचनमा सघाउन नेपाली काँगे्रस, बाजुराले गाउँगाउँमा स्वयंसेवक परिचालन गरी आफ्नो अमूल्य मत खेरजान नदिन मतदाता शिक्षालाई पनि उत्तिकै जोड दिएको छ । मतदाताले आफ्नो मत आफैँले दान गर्न दिनुपर्ने वातावरण मिलाउन निर्वाचन अधिकारीलगायत सम्बद्ध पक्षसँग माग गरेका छन् । जिल्लामा अहिले चुनावी अभियानलाई नेपाली काँग्रेस र वाम गठबन्धनले तीव्रता दिँदै आएका छन् । दुवै दलका उम्मेदवार कतै खेतबारीमा हलो जोत्दै मत माग्दै आएका छन् भने कतै कुटो कोदालोको काम गर्दै मत माग्ने गरेको पाइएको छ।  

प्रहरीद्वारा अवैध मदिरा बरामद

मेलम्ची,  कात्तिक २९ ।  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारबाट प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । मंगलबार साँझ सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जरा, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीसहितको संयुक्त टोलीले नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको हो। मेलम्ची बजार क्षेत्रमा रहेका विभिन्न होटलमा बिक्री वितरणका लागि लुकाइछिपाइ राखिएको एक हजार ५०० लिटर घरेलु मदिरा बरामदपश्चात स्थानीय समाजसेवी, पत्रकारसहितको टोलीले नष्ट गरेको हो । मदिरा बरामदपश्चात एकपटकलाई सचेत गराएर छाडिएको र आगामी दिनमा सोही कार्य दोहो¥याएमा कडा कारबाही गर्ने चेतावनी दिइएको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए । यसअघि पनि पटकपटक बजार क्षेत्रका विभिन्न स्थानमा र ओसारपसारको लागि लैजाँदै गरेको मदिरासहित मदिरा बनाउन प्रयोग हुने मर्चा प्रहरी कार्यालय मेलम्चीले बरामद गरेको थियो ।

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

चितवन, कात्तिक २९ । पूर्वी चितवनको कालिका नगरपालिका–२ स्थित लंकालाइनमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । आज बिहान करिब १ः३० बजेको समयमा तीनजना सवार ना ४६ प ९३४० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । लंकालाइनबाट भरतपुरतर्फ जानेक्रममा भएको सो दुर्घटनामा परी मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ का ३१ वर्षीय विवेक दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । सो मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका २५ वर्षीय दुखिराम दराई र कालिका नगरपालिका–३ का ३१ वर्षीय अविनास महतो घाइते भएका छन् । उनीहरुको अहिले कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको छ । उनीहरुले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको अनुमान प्रहरीले गरेको छ ।

जिसस महोत्तरीको निर्वाचन आज हुँदै

गौशाला, कात्तिक २९ । जिल्ला समन्वय समिति, महोत्तरीको निर्वाचन आज हुने भएको छ । जिल्लास्थित मुख्य निर्वाचनको कार्यालयका अनुसार जिसस महोत्तरीको निर्वाचन आज दिउँसो १ बजेदेखि ३ बजेसम्म हुने कार्यक्रम रहेको छ । नौ सदस्यीय समिति बनाउन जिसस महोत्तरीमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस महोत्तरीको अध्यक्ष पदमा राजपा नेपालबाट सुरेश सिंह, नेपाली काँग्रेसबाट कालिकान्त झा र नेकपा माओवादी केन्द्रबाट सूर्यनारायण साह गरी तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, खुल्ला सदस्यमा आठजना, महिला सदस्यमा पाँचजना र दलित वा अल्पसंख्यकबाट तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । महोत्तरी जिसस निर्वाचनमा नौ पदका लागि १० नगरपालिका र पाँच गाउँपालिकाका गरी जम्मा ३० जना मतदाताले भोट खसाल्नेछन् ।

नक्कली सरकारी छाप बनाउने बंगलादेशी पक्राउ

काठमाडौँ, कात्तिक २९ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिषासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न भएको आरोपमा डेभिड लुइस सान्तनालाई कात्तिक २४ गते कामनपा–२६ मित्रनगरबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । प्रहरीले सान्तनासँग मुहमद मसुद राना नामको बंगाली राहदानी, डेभिड लुइस सान्तना नामको रिपब्लिक अफ ट्रिनिडाड एण्ड टोबागोको राहदानी, नेपाल अध्यागमन कार्यालय अराइभल–डिपार्चरको रवर स्टाम्प, बंगलादेशी राजदूतावास, काठमाडौँको रबर स्टाम्पलगायतका सामग्रीसहित बरामद गरेको छ । सान्तनालाई काठमाडौँ जिल्ला अदालतबाट सरकारी छाप दस्तखत तथा कीर्ते अपराध मुद्दामा म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।