नोबेल शिक्षण अस्पतालका स्टाफ नर्सको शव शौचालयमा फेला

विराटनगर । विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा किशोरीको शव फेला परेको छ ।विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

डीएसपी दाहालका अनुसार उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको उनले बताए।सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्थिइन् । उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो ।

डेरा बसेको घरको कोठाभित्रको शौचालयमा आज दिउँसो शव फेला परेको हो। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ । उनीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले बताएको छ ।‘शव एट्याच कोठाको शौचालय भित्र भेटिएको छ, हत्या शौचालयमा भएको हो कि कोठामा भन्ने विस्तृत रुपमा खुलेको छैन,’ उनले भने,’ परिवारका सदस्यलाई खबर गरेका छौं, आफन्त आइपुगेपछि थप विषय खुल्छ ।’

हत्यामा संलग्नको खोजी भइरहेको उनले बताए ।उनको हत्यामा प्रमीको शंलग्नता भएको हुनसक्ने प्रहरी स्रोतको दाबी छ ।२१ फागुनमा मोरङको पथरीमा १४ वर्षीय ज्ञानमति राईको हत्या भएको थियो ।उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले प्रेमी बाराको सिमरामा बस्दै आएका मोरङको ग्रामथान गाउँपालिका– ४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरेको थियो।

प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं। सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।  बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल गरिने, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।   बैठकमा आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको छ । 

रामेछापमा आगलागी : १४ घर जले, ६० भन्दा बढी बाख्रा र ६ वटा गाईभैँसी मरे

मन्थली । रामेछाप नगरपालिका-९ को टार सिमन्ती भन्ने ठाउँमा आगलागी हुँदा १४ घर र १२ गोठ जलेरका छन् । आगलागीमा परी ६० भन्दा बढी बाख्रा र छ वटा गाईभैँसी मरेका छन् । नेवार र तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा जङ्गलमा लागेको डढेलोका कारण आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीको खबर प्राप्त हुनासाथ रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली आगो निभाउन घटनास्थल पुगेको थियो । अहिले आगो निभाइएको छ । क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए । आगलागीबाट घरसँगै लत्ताकपडा र खाद्यान्नसहित सम्पूर्ण धनमाल जलेको छ । अग्निपीडितलाई स्थानीय विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको नगर प्रमुख लवश्री न्यौपानेले जानकारी दिए । उनीहरूलाई नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक सङ्घसंस्थाको समन्वयमा राहत सामग्री प्रदान गरिने उनले बताए।

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं र सिरहाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलो १ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका(३ घर भएकी २२ वर्षीया बिनिता तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ३००७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस्तै, सिरहाको औरही गाउँपालिका १ दरैहिया हनुमानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ६९ मिलिग्रामसहित कर्जन्हा नगरपालिका २ बस्ने २७ वर्षीय राजेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।४ प ८२८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित चालक ठाकुरलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

अनलाइनबाट ठग्ने बंगलादेशीसँग नेपाली नागरिकता र राहदानी

विराटनगर । सर्वसाधारणको सम्पूर्ण व्यक्तिगत विवरण लगेर ठग्दै हिँड्ने बंगलादेशी नागरिकसँग नेपाली नागरिकता र राहदानी भेटिएको छ। मोरङ प्रहरीको पक्राउ गरेको बंगलादेशी नागरिकसँग नेपाली नागरिकताको प्रमाणपत्र र त्यसैका आधारमा बनेको राहदानी फेला परेको हो । प्रहरीका अनुसार उनीहरुले गाउँ–गाउँमा गएर पैसा बाँड्दै नेपालीहरुको नागरिकताको फोटो खिच्ने, अन्य कागजातहरुको फोटो खिच्ने र त्यसको बदलामा पैसा दिने अनि त्यही कागजातको फोटोको आधारमा अनलाइन ठगी गर्ने गरेको पाइएको छ। यो समूहले गएको फागुन २८ मा मोरङको सुन्दरहरैंचा –८ स्थित सलकपुरमा स्थानीयबासीलाई भेला गरेर रकम बाँड्दै गरेको थियो। त्यही बेला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । त्यसक्रममा पक्राउ परेकामध्ये एक वंगलादेशी नागरिकसँग नेपालको नागरिकता र राहदानी फेला परेको प्रहरीले जनाएको छ । काडमाडौ नयाँ बजारकी २३ वर्षीया सुनिता खत्रीलाई २९ गते मोरङको सलकपुरबाटै प्रहरीले पक्राउ गरेको थियो। खत्रीको बयानका आधारमा वंगलादेशी नागरिकद्वय ४९ वर्षीय मोहमद महबुर हुसेन र ३७ वर्षीय मोहमद तानवीर हुसेनलाई प्रहरीले पक्रेको हो। तानवीरको साथबाट ‘तानवीर  मिया दर्जी’ नामको नागरिकता र राहदानी फेला परेको हो । २०६३ सालमा रौतहट जिल्लाबाट बनाएको नागरिकता भएकाले वंगलादेशी नागरिककै हो होइन भन्ने थप प्रमाणको खोजीमा लागिएको इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक तेजबहादुर दाहालले बताए । वंगलादेशी नागरिकले नेपाली युवतीको प्रयोग गरी नेपालीहरुको नागरिकताको प्रतिलिपि संकलन गरेर अनलाइन ठगीको कारोबार गरेको प्रहरीको अनुमान छ। उनीहरुले आफूलाई अन्तर्राष्ट्रिय परोपकारी संस्थाको प्रतिनिधि बताउँदै ग्रामीण भेगका बासिन्दालाई रकम दिएर नागरिकताको फोटो खिचेर लगेका थिए। गिरोहले ब्यक्तिगत पहिचानको  परिचयपत्र लिएर दुरुपयोग गरेको प्रहरीले जनाएको छ। उनीहरुले रकम दिएर ३० जना भन्दा बढीको नागरिकताको फोटो खिचेर लगेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले एनसेलको १५ वटा सीमकार्ड पनि फेला पारेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। हङकङमा भएको त्रिकोणात्मक टी २० क्रिकेट खेलेर नेपाली टोली शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। हङकङ, पपुवा न्युगिनी र नेपाल सम्मिलित त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो। समूह चरणमा जित निकाले पनि फाइनलमा पीएनजीसँग स्तब्ध हुँदै उपाधि जित्न असफल भएको थियो। काठमाडौं आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका छन्। आईसीसी टी २० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी २० खेल्नेछ। आयरल्याण्डको ए टिमसँग सिनियर टिमले २ वटा खेल खेल्दा अरू नेपालकै ‘ए’ टिमले ६ वटा म्याच खेल्ने कार्यतालिका छ।

प्यालेस्टाइनी राष्ट्रपति अब्बासद्वारा आर्थिक सल्लाहकारलाई प्रधानमन्त्री नियुक्त

एजेन्सी । प्यालेस्टाइन राष्ट्रपति महमुद अब्बासले आफ्ना आर्थिक सल्लाहकार मोहम्मद मुस्तफालाई प्यालेस्टिनी प्राधिकरणको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। २६ फेब्रुअरीमा मोहम्मद सतेहले राजीनामा दिएपछि यो पद खाली रहेको थियो। सन् २०१४ मा इजरायलको आक्रमणपछि गाजाको पुनर्निर्माणमा मुस्तफाले महत्वपूर्ण भूमिका खेलेका थिए। गाजामा जारी युद्धपछि अमेरिकाले प्यालेस्टिनी प्राधिकरणको भूमिका परिवर्तन गर्ने योजना बनाएको बेला मुस्तफाको नियुक्ति भएको हो। गाजामा युद्ध समाप्त भएपछि हमासको सट्टा प्यालेस्टिनी प्राधिकरणले त्यहाँको सत्ताको जिम्मेवारी लिनुपर्ने अमेरिकी चाहना छ। तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको यो योजनाको कडा विरोध गरिरहेका छन्। अर्कोतर्फ गाजामा इजरायलको आक्रमण अझै रोकिएको छैन। प्यालेस्टिनी प्राधिकरणको प्रमुख राष्ट्रपति हो, जसलाई वेस्ट बैंक र पूर्वी जेरुसेलमका जनताले चुन्छन्। महमूद अब्बास सन् २००५ देखि प्यालेस्टिनी प्राधिकरणको प्रमुख छन्।

माओवादी केन्द्रको स्थायी समितिमा अभियानबारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा पार्टीले सञ्चालन गर्ने अभियानबारे छलफल हुने भएको छ ।  आज (शुक्रबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्न लागेको बैठकमा अभियानका लागि नेताहरुको कार्यविभाजन सहितका विषयमा छलफल हुन लागेको हो । बैठकमा पार्टीको विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीले सन्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, एमाले–रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । यसअघि गत फागुन २८ गते बोलाइएको स्थायी समिति बैठक स्थगित गरिएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालय अगाडि नेविसंघ नेताको आत्मदाह प्रयास !

काठमाडौं । आफूहरुसँग भएको सहमति कार्यन्वयन गर्न पार्टी नेतृत्वलाई दबाब दिनका लागि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका एक कार्यकर्ताले केन्द्रीय कार्यालय अगाडि आत्मदाह प्रयास गरेका छन् ।  नेविसंघको सन्तुष्टपक्षका नेता रामजी बस्नेतले केन्द्रीय कार्यालय अगाडि खुट्टामा आगो लगाउने प्रयास गरेका हुन् । विहीवार भएको सो घटनालाई असन्तुष्ट पक्षका नेताहरुले आत्मदाहको प्रयास भनेका छन् । आन्दोलनका क्रममा करिब १५ जनाको समूह सहभागी भएकामा बस्नेतल आत्मदाहको प्रयास गरेको दावी उनीहरुको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पा, नेपाली कांग्रेस केन्द्रीय सदस्य राजिव ढुङ्गाना र नेपाली कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले असन्तुष्ट पक्षसँग गत भदौ ३ गते गरेको सहमति कार्यन्वयन नभएको भन्दै बस्नेतले यस्तो हर्कत गरेका हुन् । उनले पार्टीका मुख्य सचिवलाई समेत जानकारी गराउँदै बाहिर आएर आगो लगाउन खोजेका थिए । भदौ ३ मा उल्लेख भएको सहमति अनुसार ७ दिन भित्र छुटेका साथीहरुलाई समेटेर मात्र गतिविधि सञ्चालन गर्ने भनिए पनि सो विपरित केन्द्रीय समितिको बैठक बोलाइएको थियो । नेविसंघका नेता योगेन्द्र रावलले सहमति कार्यन्वयनका लागि विद्यार्थी नेताले आफ्नो ज्यान दिनुपर्ने अवस्था सिर्जना भएको भन्दै तत्काल माग सम्बोधन गर्न आग्रह गरे । यस्तो आन्दोलन निरन्तर रुपमा अगाडी बढाइने नेविसंघ नेता प्रवेश ढुङ्गानाले बताए । बस्नेत बयोधा अस्पतालमा उपचारपछि फर्किएका छन् । 

कपनबाट हराएकी युवतीको शव पशुपतिको जंगलमा भेटियो

काठमाडौं । काठमाडौँको पशुपति क्षेत्रको जंगलमा १९ वर्षीया युवतीको शव भेटिएको छ।  पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जंगलमा सिन्धुलीको कमलामाई नगरपालिका १ घर भई हाल कपनमा बस्दै आएकी युवतीको शव भेटिएको प्रहरीले जनाएको छ। गौशाला प्रहरी वृत्तका डीएसपी केशव थेवेले उक्त शव सुस्मिता थापाको भएको जानकारी दिए। उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । डीएसपी थेवेले उनका दाजु आएर शवको सनाखत गरिसकेका र शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको जानकारी दिए । शुक्रबार मर्निङवाकमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थेवेले बताए।  ‘प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको जस्तो देखिएपनि थप अनुसन्धानकै क्रममा रहेको उनको भनाई छ । उनी दुई दिनअघि दाजुलाई भक्तपुरमा रहेका आफन्तकोमा जान्छु भनेर हिँडेको पाइएको प्रहरीले जनाएको छ। 

तीन दिनभित्र होर्डिङ बोर्ड हटाउन चक्रपथ सुधार आयोजनाको निर्देशन

काठमाडौं । सडकमा राखेको होर्डिङ बोर्ड हटाउन काठमाडौं चक्रपथ सुधार आयोजनाले निर्देशन दिएको छ । शुक्रबार सूचना प्रकाशन गरेर स्विकृतिविना सडक सिमाभित्र होर्डिङ बोर्ड राखिएको  भेटिएकोले तीन दिनभित्र हटाउन भनेको हो । सूचनामा भनिएको छ, ‘सुरु मिति २०१२ डिसेम्बर १८ र सक्नु पर्ने मिति २०१५ अप्रिल उल्लेख गरी सडक विभागको पुर्ब स्वीकृतिविना नै सडक सिमा भित्र यो काठमाण्डौ महानगरपालिका मातहत पर्दैन उल्लेख गरी होडिङ बोर्ड राखेको भेटिएको हुँदा उक्त कार्य सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को वर्खिलाप देखिएकोले यो सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र होडिङ्ग बोर्ड राख्ने पक्षले नै हटाइदिनु हुन सूचित गरिएको छ, ।’  केही दिनअघि काठमाडौं महानगरप्रमुख बालेन शाहले सडकमा राखिएको उक्त होर्डिङ बोर्डको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले उक्त होर्डिङ बोर्ड काठमाडौं महानगरपालिकाले नै राखेको बताए । ‘उक्त सडकबारे गुनासो हामीलाई आउन थालेपछि हामीले हाम्रो मातहतमा पर्दैन भनेर सार्वजनिक जानकारीका लागि होर्डिङ बोर्ड राखेका हौं,’ उनले भने । स्थायी संरचना नभई जानकारीका लागि राखिएका कारण होर्डिङ बोर्ड हटाउन आवश्यक नभएको पनि उनले बताए ।

आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

 काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । फिफा विश्व कप र एसियन कप संयुक्त छनोट अन्तर्गत बहराईन विरुद्ध हुने खेलको तयारीका लागि नेपालले आज मलेसियासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे शाह आलमस्थित यूनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल अनौपचारिक रूपमा बन्द स्टेडियममा हुनेछ र दर्शकलाई प्रवेश गराइने छैन । यस्तै खेलको प्रत्यक्ष प्रसारण समेत नहुने एन्फाले जानकारी दिएको छ । यसपटक नेपाली टोलीमा ६ नयाँ खेलाडी समावेश छन् भने भरत खवासले कमब्याक गरेका छन् । आयुष घलान, गोलकिपर दीप कार्कीलगायतका केही खेलाडी बन्द प्रशिक्षणमै सहभागी नभएपछि मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नयाँ खेलाडी समावेश गरेर टिम बनाएका हुन् । अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई ९सन्जित०, विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ पहिलो पटक टिममा परेका हुन् । मलेसियासँग खेलेपछि नेपाली टोली उतैबाट बहराइन जानेछ । नेपाल र बहराइनबीच यही चैत ८ र १३ गते बहराइनमै खेल हुनेछ । होम एण्ड अवेका आधारमा छनोटका खेलहरु हुने गरेपनि दशरथ रंगशाला खेल खेलाउन लायक नभएपछि  नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि बहराइनमा हुन लागेको हो । 

सिन्धुलीको टेलिकम टावरमा कुकर बम विस्फोट

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडामा रहेको नेपाल टेलिकम (एनटिसी) को टावर परिसरमा कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको हो । विस्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । बम विस्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो । टोलीले नेपाल टेलिकमको टावर परिसर भित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईंमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको छ । घटनाको थप अनुसन्धान भइरहेको र विस्फोट गराउने काममा संलग्नहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

आकासे पुलमा १५ करोडको हरियो रङ पोत्दै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो कार्य क्षेत्रभित्रका आकासे पुलमा हरियो रङ पोत्ने भएका छन् । महानगरलाई ‘ब्युटिफिकेसन’ गर्न भन्दै ती आकासे पुलमा हरियो रङ पोत्न थालिएको हो ।आकासे पुलमा हरियो रङ पोत्नुका साथै गमला राखेर फूलैफूलको सहर बनाउन लागेको जनाएको छ । ‘महानगरमा प्रवेश गर्नेबित्तिकै हरियाली, आनन्द महसुस गराउन आकासे पुलमा हरियो रङ लगाएका हौँ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘चालू आर्थिक वर्षभित्रै महानगरभित्रका आकासे पुलमा हरियो रङ पोत्ने, फलामको छडमा विभिन्न किसिमका फूल रोप्ने काम सक्छौँ ।’ बालाजुको आकासे पुलबाट काम थालेको महानगरले अहिले रत्नपार्कको आकासे पुलमा काम गरिरहेको छ । आकासे पुलसँगै सार्वजनिक स्थानका पर्खालमा समेत हरियो रङ पोत्ने महानगरले जनाएको छ । यसले महानगरलाई ब्युटिफिकेसन गर्ने महानगरको भनाई छ । चालू आर्थिक वर्षभित्रै सक्ने गरी काम गरिरहेको महानगरले यसका लागि १५ करोड खर्च गर्ने भएको छ । महानगरले गौरवका योजनाअन्तर्गत मेरो रहर, सुन्दर र हरित सहर शीर्षकमा हरियाली प्रवद्र्धनका लागि, पुलहरूमा हरियाली तथा सजावट कार्यका लागि बजेट छुट्याएको थियो । सर्वसाधारणले महानगरभित्र पसेको अनुभव गर्न सकून भनेर यो काम थालेको प्रवक्ता मानन्धरको भनाइ छ ।

इटालीद्धारा टिकटकलाई ११ मिलियन डलर जरिवाना

रोम ।  इटालीले नाबालिगको सुरक्षा गर्न असफल भएको भन्दै टिकटकलाई ११ मिलियन अमेरिकन डलर जरिवाना गरेको छ ।इटाली कम्पिटसन प्राधिकरणले टिकटकलाई नाबालिग र अन्य कमजोर व्यक्तिहरूको सुरक्षालाई खतरामा पार्ने सामग्रीको फैलावट नियन्त्रण गर्न असफल भएकोमा भन्दै ११ मिलियन जरिवाना गर्ने घोषणा गरेको हो । एन्टिट्रस्ट एजेन्सीका अनुसार चीनको वाइट डान्सको स्वामित्वमा रहेको टिकटकले आफ्नो प्लेटफर्ममा किशोर किशोरीहरूको विशेष कमजोरीहरूलाई ध्यानमा राख्न असफल भएको छ ।वाचडगले गत मार्चमा टिकटकको सामग्री मध्यस्थता अभ्यासहरूमा अनुसन्धानको घोषणा गरेको थियो, त्यसमा टिकटक चुकेको जनाइएको छ । बिहीबार एक विज्ञप्तिमार्फत भिडियो–साझेदारी प्लेटफर्म टिकटकले हानिकारक सामग्रीको फैलावटबाट बच्न र बचाउनका लागि अझै पर्याप्त उपायहरू नलिएको जनाएको छ ।एजिसिएमद्वारा उल्लेख गरिएको हानिकारक सामग्रीको एउटा उदाहरण हो, जसलाई ‘फ्रान्सेली दाग’ प्रवृति भनेर चिनिन्छ, जसमा टिकटक प्रयोगकर्ताहरूले आफ्नो गालामा चिरस्थायी घाउ छोडेको देखाइएको छ । टिकटकका प्रवक्ताले भने जरिवाना गराउने इटालीको घोषणा प्रति असहमति रहेको जनाएका छन् । उनले भने, ‘एजिसिएमको सो निर्णयसँग टिकटक असहमत छ किनभने तथाकथित ‘फ्रान्सेली दाग’ सबन्धी सामग्रीका बारेमा गत वर्ष एजीसीएमको घोषणा अघि नै इटालीमा औसत १ सयवटा दैनिक खोजी गरेको थियो र हामीले धेरै पहिले यस्ता सामग्रीको दृश्यता १८ वर्षमुनिमा प्रतिबन्धित गरिसकेका थियौं।’ टिकटकले केही समय यता देखी युरोपेली नियामकहरूको निगरानीमा रहेको छ र यसअघि पनि उसले सयौं मिलियन डलरको जरिवानाको सामना गरिसकेको छ।युरोपियन युनियनमा टिकटकका गतिविधिहरूको निरीक्षण गर्ने आयरिश डेटा संरक्षण आयोगले गत सेप्टेम्बरमा प्लेटफर्मलाई ३७६ मिलियन युरो जरिवाना तिर्न आदेश दिएको थियो । जरिवाना गर्नु अघि उसको पनि टिकटकले बच्चाहरूको सुरक्षा गर्न असफल भएको जनाएको थियो।  अमेरिन तल्लो सदनले टिकटकका प्रतिबन्ध लगाउने विधयेक पास गरेको  बेला इटालीको यो जरिवाना घोषणा भएको हो । गत बुधवार मात्रै अमेरिकी प्रतिनिधि सभाले पास गरेको विधेयक माथिल्लो सदनले पनि पास गर्यो भने अमेरिकामा ६ महिना भित्र टिकटक प्रतिबन्ध हुन सक्छ।

सहकारीमा नवीनतम प्रविधिको प्रयोग अनिवार्य : सचिव दुवाडी

काठमाडौं ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रमा विकसित प्रविधिको प्रयोग अनिवार्य बन्दै गएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम डिजिटल कन्क्लेभमा बिहिबार बोल्दै उनले भने, ‘मुलुक डिजिटल फ्रेमवर्ककारुपमा अगाडि बढी रहेको छ। हाम्रा अगाडि अवसरको युगका रुपमा आइरहेको प्रविधिको भरपुर प्रयोग गर्नुपर्छ । यसो गर्न सकिएन भने सहकारी हराएर जाने परिस्थिती बन्न सक्छ ।’  सहकारी क्षेत्र अहिले सकसपूर्ण ढंगले अगाडि बढीरहेको बताउँदै उनले बचतकर्ताहरुले नै सहकारीमाथि शंका गरिरहेको बताए। ‘यस्तो वातावरण कसरी बन्यो ? बचतकर्ता सडकदेखि विभागसम्म धर्ना दिइरहेका छन् ।सहकारी क्षेत्रमा देखिएका समस्या कसरी समाधान गर्ने भन्ने बारेमा पनि कन्क्लेभमा छलफल गरेर मार्ग प्रशस्त गर्नुपर्छ’, उनले भने ।  उनले सहकारी क्षेत्रमार्फत ९ खर्बको बचत परिचालन भएकाले यो क्षेत्र अफ्ट्यारोमा पर्दा समग्र अर्थतन्त्रलाई राम्रो बनाउने की नराम्रो बनाउने भन्ने प्रश्न हाम्रा सामु रहेको बताए।सूचना प्रविधिलाई जीवन पद्धतीमा अबलम्वन गर्दै सहकारीले सदस्यको विश्वास जितेर अगाडी बढ्न उनले सुझाए । विकसित सुचना प्रविधिको अधिकतम प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन सकेन सहकारीमा सदस्यको आर्कषण बढेर जाने दुवाडीले बताए । कार्यक्रममा बोल्दै सहकारी विभागका उपरजिष्टार टोलराज उपाध्यायले सहकारीले एटिएम, मोबाईल बैंकिङ जस्ता सेवा सदस्यलाई दिँदा नियामक निकायको स्विकृती लिन आग्रह गरे । विश्वले डिजिटल प्रयोगमा फड्को मारेको भन्दै कार्यक्रममा उनले प्रविधिको प्रयोग गर्दा पहुँच र सुरक्षाको विषयमा सम्वेदनशीलता कायम आवश्यक भएको जनाए ।प्रविधि प्रयोगले क्षेत्रगत तथ्याङ्क संकलन गर्न सहयोग पुग्ने हुँदा राज्यले मागेको बेला वास्तविक तथ्थाङ्क दिन सके सहकारीको महत्व बढेर जाने उनको भनाई छ । यस्ता कार्यक्रमले चेतना र जागरण ल्याउने हुँदा समय समयमा यस्ता कार्यक्रम गर्न आवश्यक रहेको उनको भनाई छ ।   ‘सहकारी क्षेत्रमा विभिन्न प्रकारका सफ्टवेयर प्रयोग भईरहेको छ। जसले गर्दा गुणस्तर कायम गर्न समस्या भएकाले आधारभूत मापदण्ड पूरा गरेको सफ्टवेयर प्रयोगमा ल्याउनुपर्छ । यसमा विभाग लागि परेको छ’, उनले भने ।बचत सुरक्षा र गोपनियता मुख्य रहेको बताउँदै उनले भने, ‘सहकारीलाई सरकारले अर्थतन्त्रको खम्बाको रुपमा लिएको छ  । राज्यले खोजेको डिजिटल सेवा विस्तार नै हो ।  यस्ता सेवा स्तरिकरन गर्दै प्रयोग गर्नु पर्छ ।’