राष्ट्रियसभाका दुई विषयगत समिति सभापतिले लिए शपथ

काठमाडौं । राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रियसभाअन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ खुवाएका हुन् ।

दुई समितिको सभापतिमा एकमात्रै उमेदवारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए । त्यसअघि सोमबार नै बसेको दुई वटा समिति बैठकले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । 

महरा पक्राउ परेपछि गगन थापाले दिए सरकारलाई धन्यवाद

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तासीन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेको सरकारलाई धन्यवाद दिएका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले महरालाई पक्राउ गरेर आफ्नो अर्काको नभनी काम गरेको बताउँदै सरकारलाई धन्यवाद दिएका हुन् । साथै,महामन्त्री थापाले सहकारी ‘ठग’को आरोपित नै गृह मन्त्रालयमा रहँदा पीडितले कसरी न्याय पाउँछन् भन्दै प्रश्न गरेका छन् । उनले यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा जवाफ दिनुपर्ने बताए । जीबी राईसँग मिलेर पोखराको सूर्यदर्शनसहित अरू सहकारीबाट लामिछानेले पनि बचतकर्ताको रकम हिनामिना गरेको आरोपबारे स्पष्ट पार्नुपर्ने उनले माग गरे । “पोखरा महानगरपालिकाको प्रतिवेदनले नै भन्छ– कसैको धितो छैन, तर पनि एक अर्ब झ्वाम ! यसरी छोड्ने भए यसरी सबैलाई छोड्नुपर्छ,” उनले भने, “धेरै लगानी गोरखा मिडिया नेटवर्कमा भएको छ । सहकारीमा जसले ठगी गरेको छ, मेरो मित्र रवि लामिछाने गृहमन्त्री हुुनुहुन्छ । भोलि प्रधानमन्त्री पनि बन्नुहोला, शुभकामना । तर, अध्ययन फियर होस् । प्रमाण नस्ट नहोस् । अहिले प्रमाण प्रहरीहरूसँग छ । जो मुछिएको छ, उसले आफैँले अनुसन्धान गर्छ भन्ने कसरी विश्वास गर्ने ?” प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिनुपर्नेमा उनले जोड दिए । “यो संसद्, हामीलाई जवाफ चाहिएको छ । प्रधानमन्त्रीको जवाफ चाहिएको छ, रोस्ट्रममा हामीलाई चाहिएको छ,” उनले भने । सरकारले सरकारले सुन प्रक्ररणमा जस्तै काम गर्दै गए सरकारलाई आफूहरूको पूर्ण साथ रहने थापाले बताए ।आफु सदन चलाउन र कानुन निर्माणको काममा सरकारलाई सहयोग र साथ दिन तयार रहेको तर प्रधानमन्त्रीले सहकारी ठगी काण्डमा पनि निष्पक्ष छानविन गर्नेमा आश्वस्त पार्नुपर्ने उनले बताए।

पक्राउ परेका महरालाई ल्याइयो काठमाडौं

काठमाडौं । कपिलवस्तुबाट पक्राउ परेका कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ। सोमबार बिहान पक्राउ परेका महरालाई भैरहवाबाट जहाजमा काठमाडौं ल्याइएको हो। उनलाई अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)मा ल्याइएको हो । ०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप) मार्फत ल्याएको नौ किलो सुन तस्करी प्रकरणमा महराको कनेक्सन देखिएको थियो ।

प्रतिनिधि सभा बैठक जारी (प्रत्यक्ष प्रसारण)

काठमाडौं। सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए)को स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्ने, माननीय उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेक बडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।  यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आ.व. २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथि छलफल जारी रहने कार्यसूची छ ।

भरतपुरकी मेयर रेनु भन्छिन् -'यहि वर्ष भरतपुर घुमौँ'

स्पेन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यही वर्ष भरतपुर घुम्न र आफन्तीलाई पनि घुम्न आग्रह गर्न आह्वान गरेकी छिन् । उनले नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ)स्पेनको महाधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् । महाधिवेशनमा बोल्दै मेयर रेनु दाहालले अंकगणितीय नतिजा जेजस्तो रहेपनि देश माओवादीकै नीतिमा अगाडि बढिरहेको बताइन्। गणतन्त्र, संघियता, समावेशीता लगायतका उपलब्धि जनयुद्धबाटै आएका हुन्, उनले भनिन्, माओवादी, जनयुद्ध भन्न डराउनुपर्दैन,उनले भनिन्, ‘माओवादीकै नेतृत्वमा सरकार छ, जनताले शुशासनको अनुभूति गर्न थालेका छन्, थुप्रै हकअधिकार जनताले पाएका छन्।’ उनले भरतपुर महानगरमा भ्रमण गर्न प्रवासीहरुलाई आव्हान गरेकी छन्। यहि वर्ष भरतपुर घुमौँ, आफन्तीलाई पनि भनौँ, उनले भनिन्, ‘युरोपबाट समेत पर्यटक लैजाने गरि कार्यक्रम र प्रचार गरौँ। राजदूत ढकालले स्पेनबाट कम्तिमा १ लाख पर्यटक नेपाल जाने वातावरण बनाउन पहल भैरहेको बताइन्। वर्षमा कम्तिमा १ लाख पर्यटक स्पेनबाट गएर घुमुन्, भरतपुरमा सक्दो पर्यटक पठाउनेछौँ, उनले भनिन्, मेयर दाहालको नेतृत्वले उज्यालो नेपाल बन्ने महसुस भएको छ, उहाँको जस्तै मिहेनत हरेक पालिकाहरुमा होस्, विकासका एजेन्डामा सबै मिलुन्।’ नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ)स्पेनको अध्यक्षमा पुनः विशाल ढुङ्गाना चयन भएका छन्। चौथो अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। उपाध्यक्षमा केशवराज कँडेल, राजेन्द्र सेढाई, महासचिवमा सूर्यप्रसाद सापकोटा धिरज चयन भएका छन्। यस्तै सचिवमा रामु गैरे, गोविन्द अधिकारी, कोषाध्यक्षमा ज्ञानबहादुर बस्नेत चयन भएका छन्।सदस्यहरुमा उदयराज पाठक, बालकुमार बुढा, विश्वास भट्टराई, विप्लव काफ्ले, कृष्ण पौडेल, नवीन दुलाल, खेमबहादुर भण्डारी, राममणी सिलवाल चयन भएका छन्। कार्यसमितिको पहिलो बैठकले महिला उपाध्यक्ष, महिला सचिव, प्रवक्ता, महिला सदस्यहरु मनोनित गर्नेछ। नयाँ कार्यसमितिलाई भरतपुर महानगरका मेयर रेनु दाहाल, स्पेनस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरेका थिए। यसैबीच बार्सिलोनामा जारी नेपाली जनप्रगतिशील मञ्च युरोपको ५ औँ महाधिवेशनले आज (सोमबार) नयाँ कार्यसमिति चयन गर्दैछ। आइतबार सुरु भएको महाधिवेशनको राति अबेर बन्द शत्र सोमबार गर्ने गरि रोकिएको थियो । बन्दशत्रमा राष्ट्रिय कमिटिका अध्यक्षहरुको संगठनको अवस्था, भावी कार्योजनाबारे प्रतिवेदन प्रस्तुत गर्दैछन्। विधान संशोधन, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि समेत छलफल गर्ने कार्यतालिका रहेको छ।

एक सातापछि कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

धनगढी । गत सोमबार गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भएको चिसापानीमा रहेको कर्णाली पुलमा सवारीसाधन सञ्चालन हुन थालेको छ । कर्णाली पुलमा आज (सोमबार) बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले जानकारी दिए । गत २८ गते विरगञ्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकमाथि एक्कासी आगलागी भएको थियो । ट्रकको आगो पुलमा समेत सल्किएपछि सामान्य क्षति भएको थियो । सडक विभाग र पुल महाशाखाको टोलीले संयुक्त रूपमा पुलको निरीक्षण गर्दै मर्मतसम्भार गरेको थियो ।

कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीले उनलाई कपिलवस्तुबाट आज बिहान पक्राउ गरेको नेपाल प्रहरीका सुचना अधिकारी भीमप्रसाद ढकालले जानकारी दिए । महरा रुपन्देही हुँदै रोल्पा जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुन तस्करी सम्बन्धमा छानविनका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको थियो। आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको छ।सीआईबीले यसअघि महरालाई ९ किलो सुन प्रकरणमा बयान लिएको थियो। पूर्वसभामुख महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको कारण उनीहरू   अनुसन्धानमा तानिएका हुन् ।

म्याग्दीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, नेपानेमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा सवारीधनी एवं चालक अन्दाजी ३७ वर्षीय गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए । सडकदेखि करिब २०० मिटर तल खोचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जीपबाट दुईजनाको शव फेला परेको उनले बताए । “हिजो (आइतबार) राति पोखरेबगरबाट छुटेको जीप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान ८ बजेतिर भीरमा अड्किएको अवस्थामा फेला परेको हो,” उनले भने । प्रहरी नायब उपरीक्षक मदन कुँवरले घारा र भुरुङ तातोपानीबाट प्रहरीको टोली घटनास्थल पुगेर शव संकलन, पहिचान र अनुसन्धान थालेको बताए । 

प्रेमिका नर्सको हत्या गरेर फरार भएका प्रेमी शिवशंकर झुण्डिएको अवस्थामा मृत फेला

विराटनगर । विराटनगरको नोबेल टिचिङ्ग अस्पतालमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न प्रेमी विराटनगरको एक होटलमा मृत फेला परेका छन् । चन्द्रिका कुमारीको हत्या गरी फरार रहेका २२ वर्षीय शिवशंकर दास नोबेल अस्पताल अगाडि रहेको होटल फाइनमा झुण्डिएको अवस्थामा आइतबार राती मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । चन्द्रिका कुमारीको प्रेमी रहेको भनिएका शिवशंकर चन्द्रिका कुमारीको हत्या भएको तीन दिनपछि मृत फेला परेका हुन् । शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ । सिरहाको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर– ४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडिदेखि कोठामा बस्दै आएकी थिइन् । उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठा भित्र बाथरुममा शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो । चन्द्रिका कुमारीको उनकै प्रेमी शिवशंकरले हत्या गरेर फरार भएपछि उनको खोजी कार्यमा प्रहरी लागि परेको थियो । फरार रहेका शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा भेटिएको एसपी कार्कीले बताए । ‘हत्यामा संलग्नको पहिचान भएपछि खोजी कार्यलाई हामीले तिव्र बनाएका थियौँ । हामीले प्राविधिक रुपमा पनि अनुसन्धान गर्दै आएका थियौँ । सोही क्रममा आइतबार दिउँसो विराटनगरको कञ्चनबारीनजिक शिवंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको थियो । ट्रयाक गर्दै खोजी गर्ने क्रममा होटल फाइनमा प्रहरी टोली पुगेको थियो । एउटा होटलको ढोका खुलेन । त्यसपछि ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा शव भेटिएको छ,’ एसपी कार्कीले भने । शिवशंकर र चन्द्रिका कुमारीको चार वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । उनी वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिका कुमारीको सीएमए सिरहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो । ‘चन्द्रिका कुमारीले प्रेममा धोका दिनेभएपछि हत्या गरेको देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको पनि रहेछन् ।’ शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी प्रेमी चन्द्रिका कुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ । प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको थियो ।

एमाले कञ्चनपुरको पार्टी कार्यालयमा तालाबन्दी

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनमा विवाद भएको छ ।  अधिबेशन लम्ब्याएर सहमतिको खाका तयार गरेपछि विवाद भएको हो । नेताहरूले सर्बसम्मत नेतृत्व चयन गर्ने भन्दै पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई आइतबार सामूहिक रूपमा उम्मेदवारी फिर्ता गराएका थिए । अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा गरेको अधिवेशन उद्घाटनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । ओलीको निर्देशनअनुसार अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्षमा जनक अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिव अध्यक्षका आकांक्षी अशोक चन्द र राजीव खड्कालाई बनाउने सहमति भएको थियो । अध्यक्ष मण्डलले आज (सोमबार) पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । चन्दले  प्रतिनिधिको भावनाविपरीत सर्वसम्मतिको नाममा विधि, विधान मिचिएकाले तालाबन्दी गरेको दावी गरे ।  चन्द अघिल्लो अधिबेशनमा सर्वाधिक मत ल्याएर उपसचिवमा निर्वाचित भएका थिए । चन्दलाई उपाध्यक्ष बनाउनुपर्ने माग भएपनि अघिल्लो अधिवेशनमा तल्ला कमिटी सदस्यमा हारेका अवस्थीलाई बनाउन खोजिएको भन्दै विरोध भएको एक नेताले बताए ।

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह गरेको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको हो । ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेको भन्दै विभागले समयमै ऋण भूक्तानी गर्न आग्रह गरेको छ । विभागले जुन सम्झौता र सर्त बमोजिम लिइएको हो सोही बमोजिम रकम फिर्ता गर्न सूचनामा भनेको छ । सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने भ्रम फैलाइएको र सोही अनुसार केहीले ऋण चुक्ता गर्न बहाना गरेको गुनासो आएको भन्दै विभागले तोकिएको समयमा ऋण चुक्ता नगरे कारवाही गर्ने समेत चेतावनी दिएको छ ।

सडक दुर्घटनामा रुपन्देहीको मझगांवा मालपोत कार्यालय प्रमुखको मृत्यु

काठमाडौं। गएराति भैरहवामा कारले मोटरसाइकललाई ठक्कर दिँदा भएको सडक दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख तिलक रावतको मृत्यु भएको छ। भैरहवाबाट लुम्बिनी आउँदै गरेको बा २१ च ७५५३ नंम्बरको कारले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल अगाडि सडकमा ठक्कर दिँदा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  भैरहवा लुम्बिनी सडक खण्डको बेथरीबाट भैरहवातर्फ आउँदै गरेको रावत चढेको मोटरसाइकल र भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको कार विमानस्थल गेट अगाडि सडकमा ठोक्किएका थिए । ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  आज बिहान मधेस र कोसी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्री अर्यालको निर्देशन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न निर्देशन दिएका छन् ।  आज फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)को सुधार गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।  वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो, तर सो प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नुपरेको गुनासो छ।  यसै समस्यालाई समाधान गर्न मन्त्री अर्यालले फेमिस प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिएको जनाइएको छ। मन्त्री अर्यालले संसारको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिए।  'तपाईंहरूले काम गर्न सक्नुहुन्छ भने गर्नुहोस् अन्यथा अन्य विकल्प खोजेर भए पनि एक महिनाभित्रमा एक घण्टामा श्रम स्वीकृति दिन सक्ने गरी फेमिस प्रणालीको सुधार गर्नेछु,' उनले भने।   मन्त्रालयको सूचना प्रविधि परामर्शदाताले विगत एक सातादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको छ। फेमिस प्रणालीको सफ्टवेयरको आपूर्तिकर्ता ई–बिमा कम्पनी हो भने हार्डवेयर आपूर्तिकर्ता दृष्टि टेक कम्पनी हो।  सन् २०१६ मा विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्यांक राख्न, अनलाइन टोकन र श्रम स्वीकृति प्रदान गर्नका लागि सफ्टवेयर खरिद गरेको थियो।

युक्रेनले सार्वजनिक गर्‍यो पाँच नेपाली युद्धबन्दी

काठमाडौं । युक्रेनले गत शुक्रबार पाँच नेपाली र तीन अन्य देशका गरी आठ रूसी युद्धबन्दी सार्वजनिक गरेको छ । युद्धबन्दी सार्वजनिक गर्दै युक्रेनले ग्लोबल साउथ र विश्वका अन्य गरिब मुलुकहरूलाई रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिक जोगाउन समेत आग्रह गरेको छ । युक्रेनले पाँच नेपाली, क्युबा, सोमालिया र सीएरा लियोनका एक–एकजना युद्धबन्दीलाई युक्रेनले सार्वजनिक गरेको हो । युक्रेनको युद्धबन्दी उपचार समन्वय मुख्यालयका प्रतिनिधि पेट्रो यात्सेन्कोले रूसमा आफ्ना नागरिक जानबाट रोक्न सजक हुन आवश्यक रहेको बताए । उनले गरिब देशहरूलाई आफ्ना नागरिक रूसी सेनामा भर्ती हुनबाट रोक्न आग्रह गरेका छन् । उनले भनेका छन्, “न्यून स्तरको आय भएका देशका नागरिकलाई रूसले भर्ती गरिरहेको छ । त्यसलाई रोक्न अझै कडा कदम चाल्न आवश्यक छ ।” गत हप्ता भारतले रूसमा नागरिक पठाउन सक्रिय ठूलो गिरोह पत्ता लगाएको बताएको थियो । नेपालले गत डिसेम्बरमा मस्कोलाई आफ्ना नागरिक रूसी सेनामा भर्ना नगर्न र त्यहाँ कार्यरत नेपाली सैनिकलाई फिर्ता पठाउन आग्रह गरेको थियो ।

दिपेश पुनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशलाई हिरासतमा राख्न अदालतले ६ दिनको म्याद दिएको छ । सहकारी ठगीमा पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतले हिरासतमा राख्ने अनुमति दिएको  अदालतका सूचना अधिकारी अनन्त मरासिनीले जानकारी दिए ।  शुक्रबार काठमाडौंमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा पेस गरेको थियो । बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका पुनलाई शुक्रबार नै प्रहरीले बुटवल पुर्‍याएको थियो । सहकारी ठगी प्रकरणका अनुसन्धान गर्दा पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएको भन्दै पक्राउ गर्न रुपन्देही प्रहरीले काठमाडौं प्रहरीलाई पत्राचार गरेको थियो ।