सुकुम्वासी बस्तीमा खानेपानी र सरसफाइ कार्यक्रमको प्रभावकारिता

काठमाडौँ, मंसिर २७ । काठमाडौँ र भक्तपुरका विभिन्न छ वटा सुकुम्वासी तथा सोवासी बस्तीमा सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ कार्यक्रम निकै प्रभावकारी भएको मिनर्जी नामक संस्थाले दाबी गरेको छ ।

युनिसेफ नेपालको सहयोगमा मिनर्जीले काठमाडौँका भीममुक्तिश्वर, शान्तिनगर, जागृतिनगर, धौखेल र पाथीभरा तथा भक्तपुरको मनोहरामा गत वैशाखदेखि खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि एवं पूर्वाधार निर्माण गरेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

देशका विभिन्न भेगबाट आई अव्यवस्थित रुपमा बसोबास गर्दै आएका समुदायमा खानेपानी र सरसफाइसम्बन्धी आधारभूत जानकारी र पूर्वाधारको अभावमा अनेक रोगब्याधी, वातावरणीय प्रदूषणको समस्यालाई न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गर्नु परेको मिनर्जीकी कार्यक्रम संयोजक स्वस्ती जोशीले बताउनुभयो।

उहाँका अनुसार ती बस्तीमा खानेपानी शुद्धीकरणका लागि फिल्टर जडान, नमूना शौचालय निर्माण, बायोग्यास प्लाण्ट जडान तथा जनचेतनासम्बधी विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

अन्तरक्रियामा सहभागी वक्ताले राजधानीमा रहेका सुकुम्वासी तथा सो वासी बस्तीमा खानेपानी र सरसफाइको अवस्था अत्यन्त कमजोर रहेकाले यसमा सरकारी र गैरसरकारी संस्थाले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

यौन दुर्व्यवहारको आरोप अस्वीकार

काठमाडाैं, मंसिर २६ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफूलाई राष्ट्रपति ट्रम्पले यौन दुर्व्यवहार गरेको आरोप लगाउने तीन महिलाको राजनीतिक उद्देश्य र उनीहरुले उक्त आरोप लगाएको समयबारे प्रश्न उठाएको छ। राष्ट्रपतिकी प्रवक्ताले ती आरोपविरुद्ध छानबिनका लागि संसदीय जाँच गराइनुपर्ने मागहरु खारेज गरेकी छन्। यसअघि रेचल क्रुक्स, जेसिका लिड्स र समान्था होल्भेले ‍राष्ट्रपति चुनिनु अघि ट्रम्पले आफूहरुलाई अश्लील ढंगले छोएको, जबरजस्ती चुम्बन गरेको र अपमान गरेको आरोप लगाएका छन्। तर,  ह्वाइट हाउसले ती आरोपहरु झुटो भएको बताएको छ। आरोप न्यू योर्क शहरमा पत्रकार सम्मेलन गर्दै ती तीन महिलाले राष्ट्रपति ट्रम्पले आफूहरुलाई यौन दुर्व्यवहार गरेको बताएका हुन्। उक्त पत्रकार सम्मेलन ब्रेभ न्यू फिल्मस् नामक संस्थाले गरेको थियो जसले अघिल्लो महिना ट्रम्प र १६ महिला शीर्षकको डकुमेन्ट्री निर्माण गरेको थियो। ती तीनै महिलाले अघिल्लो वर्षको राष्ट्रपति चुनावभन्दा एक महिनाअघि आफूहरुलाई राष्ट्रपति ट्रम्पले दुर्व्यवहार गरेको बताएका थिए। आफूमाथि भएका दुर्व्यवहारबारे उनीहरुले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा समेत विस्तृत रुपमा बोलेका छन्। त्यस्तो अभियोग लगाउने मध्येकी एक रेचल क्रुक्स भन्छिन्, ‘म हामी अमेरिकीहरुले आफ्ना राजनीतिक मतहरु पर सारेर राष्ट्रपति ट्रम्पलाई गलत व्यवहारका लागि जवाफदेही बनाउनुपर्छ भन्नेमा विश्वस्त छु।’ खण्डन ह्वाइटहाउसकी प्रवक्ताले चाहिँ चुनावी अभियानका क्रममा नै राष्ट्रपति ट्रम्पले ती महिलाहरुका आरोपबारे प्रत्यक्ष रुपमा जवाफ दिइसकेको बताइन्। त्यसपछि चुनावमार्फत ट्रम्प अनुमोदित भएको उल्लेख गर्दै उनले ती आरोपहरु सम्बोधन भइसकेको उल्लेख गरिन्। चुनावी अभियानका क्रममा ट्रम्पले ती आरोप अस्वीकार गर्दै कानूनी उपचार खोज्ने बताएका थिए। तर उनले त्यस सम्बन्धी मुद्दा भन्ने अहिलेसम्म दायर गरेका छैनन्। बिबिसी

बस दुर्घटनामा बेपत्ता तीनको शव भेटियो

मंसिर २६ । यही मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन् । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बेपत्ता भएका सन्धिखर्क– ९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा र गैँंडाकोट नगरपालिका–३ का विकास रेग्मीको शव फेला परेको हो । कार्की र थापाको शव घटनास्थलबाट केही तल तथा रेग्मीको शव मुग्लिनबाट नारायणगढतर्फ कालीखोला किनारमा फेला परेको हो । कार्की र थापासँगै अर्का सनाखत नभएका पुरुषको शव पनि फेला परेको छ । सो घटनामा सात जना बेपत्ता भनिएकामा यसअघि सनाखत गरिएको भनिएका अमरबहादुर शाही नभई नवराज बञ्जाडे रहेको प्रहरीले जनाएको छ । परिवारको निवेदनका आधारमा प्रहरीले बञ्जाडेसहित सात जना बेपत्ता भन्दै आएको थियो । बञ्जाडेका साथमा शाहीको परिचयपत्र भेटिएपछि सोही आधारमा सनाखत भनिए पनि सनाखत भएका व्यक्ति शाही नभएर बञ्जाडे भएको प्रहरीले जनाएको छ । शाही काठमाडौँंमै सकुशल रहेको प्रनाउ ढकालले बताउनुभयो। उहाँका अनुसार परिवारको निवेदनका आधारमा अझै बेपत्ता भएकामा गैँंडाकोट ३ की कोपिला पोखरेल, अर्घाखाँचीकी हुमकला राहु मगर र अर्घाखाँची रौनामैनाका शंकर कुँवर छन् । बेपत्ता भएका अन्यको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीले जानकारी दिनुभयो । सो घटनामा मृतकको संख्या १० पुगेको छ । घटनामा २२ जना घाइते भएका थिए । लु २ ख २९१ नं को उक्त बस काठमाडाँैंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नं को ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूलीमा खसेको थियो ।

प्रतिनिधिसभा सदस्यमा माओवादीबाट निर्वाचित ३६ सांसद, सूचीसहित

काठमाडौं, मंसिर २६ । प्रतिनिधिसभा सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ । कुल १६५ मध्ये १६० स्थानको मत परिणाम सार्वजनिक भईसकेको छ । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रले ३६ स्थानमा जित हात परेको छ । माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाको नामवली यसप्रकार छ : १.कमला रोका, रुकुम पूर्व १ २.पम्फा भुसाल, ललितपुर ३ ३.बीना मगर, कंचनपुर १ ४.प्रभु साह, रौतहट ३ ५.रामेश्वरराय यादव, सर्लाही ३ ६.गौरीशंकर चौधरी, कैलाली ३ ७.सुदन किराती, भोजपुर १ ८.अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक १ ९.सुरेन्द्रकुमार कार्की, झापा १ १०.जनार्दन शर्मा, रुकुम पश्चिम १ ११.दुर्गबहादुर रावत, कालिकोट १ १२.हरिराज अधिकारी, गोरखा १ १३.देवेन्द्र पौडेल, वाग्लुङ २ १४.गिरिराजमणि, पोखरेल, महोत्तरी १ १५.श्यामकुमार, श्रेष्ठ्, रामेछाप १ १६.महेश्वुरजंग, गहतराज (अथक) बाँके १ १७.लेखराज भट्ट, कैलाली ४ १८.हितबहादुर तामाङ, नुवाकोट १ १९.सुरेशचन्द्र दास, सिराहा २ २०.टोपबहादुर रायमाझी, अर्घाखाँची १ २१.देव प्रसाद गुरुङ, लमजुङ १ २२.टेकबहादुर बस्नेत, सल्यान १ २३.शिवकुमार मंडल, केवट मोरंग ५ २४.हरिवोलप्रसाद गजुरेल, सिन्धुली २ २५.अमनलाल मोदी मोरंग ४ २६.गंगाबहादुर तामाङ, काभ्रेपलान्चोक १ २७.वर्षमान पुन, रोल्पा १ २८.हेमकुमार राई, सोलुखुम्बु १ २९.गजेन्द्रबहादुर महत, जुम्ला १ ३०.मातृकाप्रसाद यादव, धनुषा १ ३१.पुष्पकमल दाहाल प्रचण्ड, चितवन ३ ३२.सन्तकुमार थारु, बर्दिया २ ३३.चक्रपाणी खनाल, कपिलवस्तु १ ३४.सुरेशकुमार राई, उदयपुर २ ३५.कृष्णकबहादुर महरा, दाङ २ ३६.शक्तिबहादुर बस्नेत, जाजरकोट ३७.छक्कवहादुर लामा,हुम्ला (स्वतन्त्र, माओवादीबाट  वागी)

चीनसँगको सम्बन्धका कारण राजीनामा

काठमाडौं, मंसिर २६ । चीनसँगको सम्बन्धलाई लिएर प्रश्नहरु उठाइएपछि अष्ट्रेलियाका एक जना प्रभावशाली विपक्षी नेताले सांसद पदबाट राजीनामा दिएका छन्। लेबर पार्टीका नेता श्याम डेस्टयारीलाई चन्दा सहयोग पाए बापत चिनियाँ सरकारी स्वार्थहरुको प्रवर्द्धन गरेको आरोप लागेको थियो। कुनै समय उदाउँदो नेताको रुपमा परिचय बनाएका ३४ वर्षीया नेताले आफ्नो दललाई थप लज्जाको परिस्थितिबाट जोगाउन राजीनामा दिएको बताएका छन्। अघिल्लो हप्ता अष्ट्रेलियाले घरेलु राजनीतिमा विदेशी प्रभाव रोक्न भन्दै देशबाहिरबाट राजनीतिक चन्दा लिन प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। घेराबन्दी श्याम डेस्टयारीले एउटा चिनियाँ व्यापारिक फर्मबाट चन्दा स्वीकार गरेकोमा यसअघि नै माफी मागिसकेका छन् । आफ्नो यात्राको खर्च चिनियाँ सरकारसँग नजिक एउटा कम्पनीलाई बेहोर्न अनुमति दिएपछि डेस्टयारीको आलोचना भएको थियो। आफ्नो पार्टीको नीति विपरित साउथ चाइन सीमा रहेको चीनको दावीलाई समर्थन गरेको देखिएपछि उनको निर्णय क्षमतामा पुनस् प्रश्नहरु उठाइएका थिए। आफ्ना कारण उत्पन्न विवाद अन्त्य गर्न राजीनामा दिन लागेको उनले बताएका छन्।तर उनको राजीनामाले अष्ट्रेलियामा बढ्दो चीनको प्रभाव अन्त्य गर्ने सम्भावना भने देखिँदैन। राजनीतिक दलहरुमा विदेशी चन्दा नियन्त्रणका लागि नयाँ कानूनहरु ल्याउने योजना बनाइएको छ। बिबिसी

कान्छा सांसद बने केसी

म्याग्दी, मंसिर २६ । म्याग्दीका विनोद केसी प्रदेश नं ४ मा प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कम उमेरका सांसद बनेका छन् । प्रदेश नं ४ क मा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका ३३ वर्षीय केसी कान्छा सांसद बनेका हुन् चौध हजार ७०४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका केसीका प्रतिस्पर्धी राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १७५ मत प्राप्त गरे । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र (क) मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो । केसीलाई एमाले र गौचनलाई नेपाली काँग्रेसले समर्थन गरेको थियो । विसं २०४१ असार २४ गते जन्मनुभएका बेनपा–८ निवासी केसी शहिद परिवारका सदस्य छन् । उनका दाजु मदनको द्वन्द्वकालमा तत्कालीन शाही सेनाबाट हत्या भएको थियो । हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य, बेनी नगर कमिटीका उपाध्यक्ष रहनुभएका केसीले दाजु मदनबाट प्रभावित बनेर माओवादी राजनीतिमा सक्रिय भएको बताए । दाजु दिवंगत भएपछि घरव्यवहार धान्नका लागि केसीले विसं २०६० देखि करिब पाँच वर्ष ट्याक्सी चालकका रुपमा काम गरेका थिए । म्याग्दी ट्याक्सी व्यवसायी समितिका संस्थापक अध्यक्ष रहेका केसी यातायात व्यवसायी पनि हुन् । मध्यम वर्गीय परिवारका केसी जिल्ला खेलकुद विकास समितिको पूर्व अध्यक्षसमेत हुन् । प्रदेशसभा सदस्यमा विजयी भएपछि केसीले कसैप्रति पूर्वाग्रह नराखी सबै जिल्लावासीको साझा प्रतिनिधिका रुपमा जनताको समस्या समाधानका लागि काम गर्ने बताए । स्थानीयस्तरमा रोजगारी सिर्जना र स्वरोजगार बन्ने वातावरण बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारबीच पुलको भूमिका निर्वाह गर्ने उल्लेख गरेका केसीले जिल्लाको जलविद्युत्, पर्यटन, वनपैदावार, कृषि क्षेत्रको विकास, समृद्धि र जिल्लावासीको जीवनस्तरमा सुधारमा पहल गर्नेमा जोड दिए । म्याग्दीको प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका भूपेन्द्रबहादुर थापाले २३ हजार ३०३ र प्रदेशसभा क्षेत्र (ख) मा एमालेकी नरदेवी पुन १० हजार ८६८ मत प्राप्त गरी विजयी भएका हुन् ।

विवाह गर्न दर्जनौँ जोडी प्रसिद्ध मन्दिर उग्रतारामा

डडेल्धुरा, मंसिर २६ । हिन्दू परम्पराअनुसार मंसिर महिना विवाह गर्न योग्य महिना भएकाले डडेल्धुरामा रहेको उग्रतारा मन्दिरमा दैनिक दर्जनौँ जोडी भेटिने गर्दछन् । पहिलापहिला छिटफुट रुपमा उग्रतारा मन्दिरमा विवाह गर्न आउने भएता पनि पछिल्लो समयमा भने विवाह गर्ने मानिसको संख्या बढेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साकीले बताउनुभयो । उग्रतारा मन्दिर सबै क्षेत्रका मानिसका लागि पायक ठाउँमा भएकाले पनि विवाह गर्न दुलाहादुलहीका परिवारको मन्जुरीमा हुने गरेको डडेल्धुराका सञ्चारकर्मी टेकराज अवस्थीले जानकारी गराउनुभयो । विवाहको समयमा विभिन्न कारणले गर्दा घरमा भन्दा प्रायजसो मन्दिरमा विवाह गर्नेको संख्या धेरै पाइन्छ । दुई दिने विवाहको प्रचलन हराउँदै गएको अवस्थामा मन्दिरमा विवाह गर्ने मानिस बढेको सर्वसाधारणको बुझाइ रहेको छ । हिन्दू परम्पराका आधारमा एक दिवसीय विवाह गर्दा धेरै विवाहका कर्मकाण्ड पूरा नहुने पुरोहितको भनाइ रहेको छ । एक दिवसीय विवाह गर्दा विवाहका कर्मकाण्ड पुरा नभए पनि मन्दिरमा गर्दा सोसरह मानिने पण्डित लोकराज भट्टले बताउनुभयो । छोटो समयमा विवाह गर्नुपर्दा महत्वपूर्ण कर्मकाण्ड छुट्ने र ग्रहदशाका आधारमा समस्या आउन सक्ने बूढापाका बताउँछन् । एक दिवसीय विवाह कामचलाउ मात्र भएको र सिन्दूर हाल्ने औपचारिकता मात्रै दिने कार्य भइरहेको पण्डित प्रसाद भट्टले जानकारी गराउनुभयो । विवाह सम्पन्न हुञ्जेलसम्म पूरा गर्नुपर्ने मात्र समेत पूरा नहुने विवाह गराउने पण्डितको भनाइ रहेको छ । धर्मका अनुसार रातभर गराएको विवाह नै पवित्र मानिने भएपनि पछिल्लो समयसापेक्षता अनुसार एक दिवसीय विवाहको महत्व बढ्दै गएको युवापुस्ताको भनाइ रहेको छ । समयका आधारमा पनि दुई दिनको विवाह समयलाई एकदिनमा सम्पन्न गर्दा कम खर्चिलो र समय वचत हुने उग्रतारा मन्दिरमा विवाह गरिरहेका कैलाश पनेरुले बताउनुभयो । इष्टमित्र र नातेदारको समय पनि खेर नजाने र सबै कुराले एक दिवसीय विवाह नै उपयुक्त हुने गरेको पनेरुले बताउनुभयो । विवाहपश्चात् सुखद् जीवन बित्नु पर्छ भनेर मन्दिरमा भगवान्लाई साक्षी राखेर विवाह गर्दा कर्मकाण्ड उसै पनि पूरा हुने युवापुस्ताको भनाइ रहेको छ । चिसो मौसमका कारण पनि दुई दिवसीय विवाहभन्दा एक दिनमा नै विवाह सक्दा जन्तीमा जाने मानिसले पनि कष्ट भोग्नु नपर्ने हुन्छ । मंसिर महिना लागेदेखि नै उग्रतारा मन्दिरमा विवाह गर्न दैनिक दर्जन जोडी आउने गरेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । मन्दिर परिसरमा मण्डप निर्माण गरिएका भएता पनि कयाँै दिन मण्डपमा ठाउँ नभएर मन्दिर परिसरभित्र खुला ठाउँमा पनि विवाह गर्दै गरेका जोडी भेटिन्छन् । उग्रतारा मन्दिरमा विवाह गर्न मंसिरजस्तै अन्य महिनामा पनि घुइँचो लाग्ने गर्दछ । मन्दिरमा विवाह गर्दा समय र पैसाका हिसाबले पनि कम खर्चिलो हुने गर्दछ भने उग्रतारा क्षेत्र विकासको कोष पनि वृद्धि हुने गर्दछ । यसरी पछिल्लो समयमा विवाहका लागि उग्रतारा मन्दिर प्रशिद्ध विवाहस्थल बन्दै गइरहेको छ ।

पार्टीको हारबारे रामचन्द्रको यस्तो छ निष्कर्ष

काठमाडौ, मंसिर २६ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले हार व्यहोर्नुको मुख्य जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने बताएका छन् । कांग्रेसले अनुमान नै नगरेको नतिजा आएको भन्दै नेता पौडेलले यसको कारण पत्ता लगाएर पार्टीलाई सुदृढ बनाइने बताए । प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फ पार्टी हारबारे खबरडबलीसँग कुराकानी गर्दै नेता पौडेलले नेतृत्वले पार्टी बनाउने कुरामा भन्दा अन्य कुरामा ध्यान दिएका कारण अप्रत्यासित नतिजा व्यहोर्नु परेको बताए । उनले छिट्टै हारका कारणबारे अध्ययनगरी छलफल सुरु गर्ने समेत बताए । पौडेल तनहुँ १ बाट वाम गठबन्धनका उम्मेदवार रामकुमार श्रेष्ठ किसानसँग फराकिलो मतान्तरले पराजित भएका हुन ।

निर्वाचित भएपछि प्रचण्ड घरदैलो अभियानमा

चितवन, मंसिर २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मंगलबार बिहानदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गरेका छन् । वाम गठबन्धनको सो क्षेत्रको निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदीअनुसार शिवनगरस्थित आफ्नै निवास रहेको महेन्द्र चोकबाट शुरु भएको अभियान फूलबारी, मंगलपुर, विजयनगर, रामपुर चनौली, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेबरनगर, शुक्रनगर हँुदैदै साँझ पार्वतीपुरको लाहुरेचोकमा आएर समापन हुने कार्यक्रम छ । बुधबार सोही क्षेत्रको माडी र भरतपुर महानगरपालिकाका जगतपुर, पटिहानी, गीतानगर, चोकबजार, गौरीगञ्ज हुँदै केन्द्रीय बस ट्रमिनलमा आएर अभियान समापन हँुदैदैछ । संयोजक सुवेदीका अनुसार गाडी नरोकीकनै प्रचण्डले गाडी माथिबाट सबैलाई आभार प्रकट गर्ने कार्यक्रम तय गरिएको छ । मतदातालाई सडकमा नै गाडीमाथिबाट उनले धन्यवाद दिइरहेका छन् । सो क्षेत्रमा समर्थकले फूलमाला र पानीका घडा राखेर प्रचण्डलाई स्वागत गरेका छन् । वाम गठबन्धनको सो क्षेत्रका प्रचार संयोजक सुरेशचन्द्र अधिकारीका अनुसार विजय पदयात्रामा प्रचण्डसँगै सो क्षेत्र (क) प्रदेशबाट निर्वाचित नेकपा एमालेका कृष्ण भूर्तेल र (ख) प्रदेशबाट निर्वाचित नेकपा माओवादी केन्द्रका रामलाल महतो पनि सहभागी छन् । आफू हुर्किबढेको ठाउँमा दाहाल पहिलो पटक निर्वाचन लड्न आउनुभएको हो । प्रचण्डले राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३२३ मतले पराजित गरे । प्रचण्डले ४८ हजार २७६ मत पाउँदा पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरे ।

टाटा मोबाइल र ट्याक्सीको ठक्कर हुँदा एकको मृत्यु

काठमाडौँ, मंसिर २६ । वनस्थली चोकमा भएको सडक दुर्घटनामा पाल्पास्थित सिद्धेश्वर नगरपालिकाका निवासी खिमबहादुर बुढाथोकीको मृत्यु भएको छ । गएराति बा६६प ४८५६ नं को मोटरसाइकल बा८च ९३१ नं को टाटा मोबाइलसँग ठोक्किएर पुनः बा२ज १३७६ नं को ट्याक्सीमा ठोक्किन पुगेपछि गम्भिर घाइते ३२ वर्षीय मोटरसाइकल चालक बुढाथोकीको उपचारका क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार २८ वर्षीया तीलकुमारी राना र १२ वर्षीय बालक सुजन लुङ्गेलीको भने सोही सेन्टरमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दुर्घटनामा संलग्न सवारी साधन र तीनका चालक बालाजुस्थित महानगरीय प्रहरी वृत्तको नियन्त्रणमा छन् ।

आगलागीबाट एक करोडको धनमाल नष्ट

काठमाडौँ, मंसिर २६ । टोखा नगरपालिका–८ बानियाँटारमा राजकुमार राचलको फर्निचर उद्योगमा मङ्गलबार बिहान आगलागी हुँदा रू एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ। बिहान ४ बजे विद्युत् चुहिएर लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा दमकलको सहयोगमा बिहान ८ बजे नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक प्रकाशबहादुर रावतले जानकारी दिनुभयो ।

यी हुन् ‘विरासत जोगाउने हेबीवेट’

इलाम, मंसिर २६ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा पाँचौँपटक विजयी भए । विसं २०४८ र २०५१ सालको निर्वाचनमा उहाँले नेपाली काँग्रेसका तोयानाथ भट्टराईलाई पराजित गर्नुभयो भने विसं २०५६ को निर्वाचनमा नेपाली काँग्रेसका बेनुपराज प्रसाईंसँग पराजित  भएङ्का थिए । संसद् पुनःस्थापना भएपछि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा नेता खनालले काँग्रेसका प्रसाईंलाई र विसं २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यलाई पराजित गरे । विसं २००६ चैत ६ गते इलामको साविक साँखेजुङ–४ मा जन्मनुभएका उनी सञ्चारमन्त्री, कृषि, भूमिसुधार तथा वनमन्त्री हुँदै २०६७ साल माघ २३ गते देशको ३७ औँ प्रधानमन्त्री बन्नुभयो । पन्ध्र वर्षकै किशोर अवस्थामा कम्युनिस्ट आन्दोलनमा होमिनुभएका नेता खनालले २०२१मा विद्यार्थी संगठनको अध्यक्षबाट राजनीतिक यात्रा शुरू गरे । विसं २०२५मा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेपछि नेपाली राजनीतिसंगै शिक्षण पेशामा संलग्न हुनुहुँदा पटक–पटक गरी सात वर्ष जेल जीवन बिताए । झापा विद्रोहपछि २०३१ सालमा गठित क्रान्तिकारीहरूको संगठन कोअर्डिनेशन कमिटी, नेपाल कम्युनिस्ट पार्टी मालेको संस्थापक सदस्य रहनुभएका खनाल सोही पार्टीको महासचिवसमेत भए । विसं २०३७ पछि भूमिगत हुनुभएका उहाँ ११ वर्षपछि २०४६ सालको जनआन्दोलनपछि खुलामञ्चबाट सार्वजनिक भए । विसं २०६५ मा भएको बुटवलको आठौँ महाधिवेशनबाट नेकपा (एमाले)को अध्यक्षमा निर्वाचित हुनुभएका नेता खनाल विसं २०७१ को नवौँ महाधिवेशनबाट पार्टीको वरिष्ठ नेता बन्नुका साथै हालैको प्रतिनिधिसभाको निर्वाचनमा इलाम–१ बाट वाम गठबन्धनबाट उम्मेदवार बनेर ३६ हजार ८०७ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत प्राप्त गरे । यसैगरी प्रतिनिधिसभा सदस्यमा इलाम क्षेत्र नं २ बाट नवनिर्वाचित पूर्वसभामुखसमेत रहनुभएका सुवास नेम्वाङको यो विजय यात्रा चौँथो पटक हो । नेकपा (एमाले) केन्द्रीय सदस्य र कानून विभाग प्रमुखसमेत रहनुभएका उनले २०५६ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका कुलबहादुर गुरुङलाई सोही क्षेत्रबाट पराजित गरे । विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका केशव थापा र २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेसका महासमिति सदस्य भेषराज आचार्यलाई नेता नेम्वाङले पराजित गरे । संविधानसभामा दुईपटक साभाध्यक्षका साथै दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसद्को सभामुख बन्नुभएका नेम्वाङले लामो समय त्यही संसद्को सभामुख भई काम गर्ने अवसर पाए । इलामबाट विसं २०५६ सालको संसदीय निर्वाचनमा विजयी भएपछि उहाँले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भएर काम गरे । विसं २०२९ मा अनेरास्ववियुको तर्फबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएसँगै नेता नेम्वाङ राजनीतिमा निरन्तर क्रियाशील छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लाग्नुभएका उहाँ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभयो । कानून विषयकोे अध्ययन पछि नेपाल ल क्याम्पसमा २०३५ देखि २०५१ सालसम्म प्राध्यापन गरे । इलाम–२ बाट नौ हजार ६५४ मतान्तरले विजयी हुनुभएका नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गरे । प्रदेशसभा–२ (ख) का विजयी सांसद नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण २०५४ सालमा माओवादी पार्टीमा प्रवेश गरे । पार्टीप्रति निरन्तर लगाव र झुकावका कारण उनी २०५८ सालमा पार्टीको राजनीतिक कमिसारसमेत हुनुभयो । विसं २०७० सालमा इलाम क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभएका शर्मा नेपाली काँग्रेसका केशव थापासँग पराजित भए  । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले इलामबाट दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यमा विजयी हासिल गरेको छ ।

टेलिसेन्टर प्रभावकारी भएन

कलैया, मंसिर २६ । बारा जिल्ला हुलाक कार्यालयले सर्वसाधारणलाई सूचना प्रविधिमा पहुँच पु¥याउने उद्देश्यले जिल्लाको तीन ठाउँमा सञ्चालन गरेको टेलिसेन्टर सेवा प्रभावकारी हुन सकेको छैन । कार्यालयका प्रमुख अदालतप्रसाद कुर्मीका अनुसार आवश्यक कर्मचारीसहित सिमरा, निजगढ र अमलेखगञ्ज गरी तीन ठाउँमा टेलिसेन्टर सञ्चालनका लागि फोटोकपी, फ्याक्स, कम्प्युटर, प्रिन्टर, टेलिफोन, इन्टरनेटको व्यवस्था गरिएकामा नगन्य संख्यामा सेवाग्राही सेवा लिन आउने गरेकाले सो सेन्टर प्रभावकारी हुन नसकेको हो ।

सवारी दुर्घटनामा एकजना गम्भीर घाइते

काठमाडौं, मंसिर २६ । राजधानीमा गएराति भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । बालाजुबाट ढुंगेधारा जाँदै गरेको अवस्थामा राति ९ः४५ बजे ट्याक्सीलाई निजी पिकअपले ठक्कर दिएपछि मोटरसाइकलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक युवक घाइते भएका हुन् । प्रहरीका अनुसार पाल्पा घर भएका वर्ष ३० खेमबहादुर बुढाथोकी घाइते भएका हुन् । उनको टाउको र खुट्टामा चोट लागेको तथा बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । बुढाथोकीको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ । योसँगै विगत २४ घण्टामा राजधानीमा २२ वटा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यस्तै विगत २४ घण्टामा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने १,६९५ चालकलाई कारवाही गरेको छ । कारवाहीमा पर्नेहरुमा मापसे गरी सवारी चलाउने ७५ जना छन् भने लेन नियम उल्लंघन गर्नेको संख्या ४११ छ ।

नेपाल र एंगोलाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, मंसिर २३ । अफ्रिकी मुलुक एंगोलासँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र संघका लागि नेपाल र एंगोलाका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र इस्मेल आब्राओ गसपार मार्टिनले हस्ताक्षर गर्नुभयो । राष्ट्र संघको प्रधान कार्यालयमा आज आयोजित समारोहमा दुवै मुलुकका राजदूतले उक्त दस्तावेजमा हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । उक्त नियोगका अनुसार नेपाल र एंगोलाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई दिइएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध १५४ मुलुकसँग विस्तार भएको छ ।

जनार्दन शर्मा सात हजार मतले अगाडी

काठमाडौं, मंसिर २२ । जनार्दन शर्मा सात हजार मतले अगाडी छन् ।