प्रतिनिधिसभाको शिक्षा समिति सभापतिमा नेकपा एसका थापा चयन
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापा चयन भएका छन् । सिंहदरबारस्थित समितिमा राखिएको सभापतिको निर्वाचनमा थापाको मात्र उम्मेदवारी परेको थियो ।
उनको उम्मेदवारीमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल प्रस्तावक र एमाले सांसद दीपा शर्मा समर्थक रहेको र अन्य कुनै पनि उम्मेदवारी नपरेकोले निर्विरोध निर्वाचित भएको समितिकी सचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन् ।
समिति सभापति थापाले आजै सभामुख समक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । यसअघि यो समितिमा नेकपा एसकै तर्फबाट भानुभक्त जोशी सभापति रहेका थिए । जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि रिक्त रहेको सभापति पदमा फेरी नेकपा एसकै सांसद थापाले अवसर पाएका हुन् ।
सभापतिमा निर्वाचित भएका थापाले शिक्षा क्षेत्रलाई कसरी सुधार ल्याउन सकिन्छ भन्ने कुरामा जोड दिने बताउँदै शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउन लागिपर्ने बताए ।
यस्तै त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्ने र शिक्षामा उपलब्धिमूलक काम गरेर मात्रै आफू बिदा हुने उनले बताए ।
अहङ्कार हटाएर विनम्र बन्न कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई अहङ्कार हटाएर विनम्र बन्न निर्देशन दिएका छन् । बुधबार एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता कार्यकर्तामा अहङ्कार बढेको आभास पाएको भन्दै अहङ्कार हटाएर विनम्रता हासिल गर्न निर्देशन दिएका हुन् । ‘अहङ्कार हटाउनुस् । विनम्रता हासिल गर्नुस्’, अध्यक्ष ओलीले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘हरेक दिनको तपाईँसँग नोट हुनुपर्छ कि आज मैले के गरेँ ?, हरेक दिन के गर्दै हुनुहुन्छ योजना हुनुपर्छ । यति समयभित्र यी सदस्य र कमिटी बनाउँछु । योजनाबद्ध काम गर्नुभएन भने केही हुँदैन ।’ अध्यक्ष ओलीले कतिपय पार्टी कमिटीमा आफूले आलोपालो जस्ता कुरा सुनेको भन्दै त्यस्तो कुरा विचारहीन मान्छेले मात्रै गर्ने बताए । ‘अहिले मेरो, मेरोपछि तपाईँको पालो, धारामा पानी थाप्ने र दसैँमा चिनी किन्न लाइनमा बसेको होर आलोपालो ?’, ओलीले प्रश्न गर्दै भने, ‘नेतृत्व गर्ने कुरा योग्यता क्षमता, सक्रियता र बुझाइमा भर पर्छ ।’ अध्यक्ष ओलीले मानिस असफल हुँदै गएपछि फ्रस्टेसनमा जाने बताए । उनले भने, ‘एक जना आफूलाई कम्युनिस्ट भन्ने पुराना नेता छन् । मोहनविक्रम सिंह नाम हो उहाँको । अहिले उहाँ कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटीपिटी रोएर उधुम छ बुढाको ।’ सिंह अहिले पनि कांग्रेस आएको भए आफ्नी श्रीमतीलाई राष्ट्रिय सभामा मनोनीत गर्थ्यो भनेर सम्झिँदै ग्वाग्वा रोहिरहेको बताए । ‘त्यसरी पनि पतन हुँदो रहेछ मान्छे । निराश, हतोत्साही भएपछि मान्छे कहाँबाट के टिप्न पाइन्छ त्यतिभएपनि टिप्न पुग्छ’, ओलीले एमाले अवसर छोप्ने पार्टी नभएको दाबी समेत गरे ।
एसईईको तयारी पूरा, एउटा परीक्षा केन्द्र जापानमा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ। चैत १५ देखि २७ गतेसम्म हुने परीक्षाका लागि बोर्डले उक्त संख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार यस वर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्। यस वर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए। परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको संख्या घट्न सक्ने उनले बताए। पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौँ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिए। ‘प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइनेछ’, उनले भने। परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको जानकारी दिए। उनका अनुसार आवश्यक बजेट सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ। नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीले यसवर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन्। बोर्डले यस वर्षको परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरेको छ। जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक/एक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइने उनको भनाइ छ। परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । यस वर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको जनाएको छ। विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईईको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने भन्दै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ अंक र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अंक ल्याउनुपर्ने उनले बताए। परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनु पर्नेछ। ३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए। उनका अनुसार विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन्। रासस
पूर्व राजदूतहरूसँग परराष्ट्रमन्त्री श्रेष्ठको छलफल
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न देशका पूर्व राजदूतसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न देशका लागि नेपालका पूर्व राजदूतसँग छलफल गरेका हुन् ।
मानव कल्याणले छैठौं वार्षिकोत्सव काठमाडौंमा मनाउने
काठमाडौं, ७ चैत । मानव कल्याण मित्र मञ्च नेपालले आफ्नो छैठौं स्थापना दिवस काठमाडौंमा मनाउने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चले अगामी चैत ९ गते नयाँ बानेश्वरको इन्द्रेणी बैंक्वटमा छैठौं स्थापना दिवस मनाउने तयारी रहेको जानकारी गराएको हो । प्रतिनिधि सभाकी सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाउन लागिएको मञ्चका संरक्षक पुरुषोत्तम भट्टराईले बताए । संरक्षक भट्टराईले संस्थाले स्थापना कालदेखि नै मानवीय सेवामा काम गरिरहेको बताए । उनले सन् १९९० देखि संस्थाले भारतमा हराएका, बेचिएका, विभिन्न समस्यामा परेका नेपालीलाई उद्धार र संरक्षण गर्दै आएको बताए । मानव कल्याण मित्र मञ्चका दुर्गा प्रसाद अर्यालले संस्थाले लामो समय मानवता, मित्रता र शान्तिको मार्गमा काम गरिरहेको बताए । आफूहरुले नेपालमा २०७५ देखि संस्था स्थापना गरी मानवीय सेवामा योगदान गरिरहेको बताए ।
प्रधानमन्त्री प्रचण्डसँग आइसीसीका अध्यक्ष्यको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए। “नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आइसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।” अध्यक्ष बार्क्ले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने बताए।भेटमा नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको सहभागिता रहेको थियो ।
सबै स्थानीय तहमा दन्त चिकित्सकको दरबन्दी दिन डेन्टल एशोसिएशनको माग
काठमाडौं । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल एशोसिएशनले देशभरका सबै स्थानीय तहका दन्त चिकित्सकहरुको दरबन्दी सिर्जना गर्न सरकारसमक्ष माग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एशोसिशनले सरकारसँग यस्तो माग गरेको हो । मार्च २० तारिखका दिन विश्वभर मुख स्वास्थ्य दिवस बनाइने गरिन्छ । यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा ‘ह्यापी माउथ इज अ ह्यापी बडी’ रहेको छ । एशोसियसनले संसारको ९० प्रतिशत जनसंख्याको आफ्नो जीवनमा एकपटक दाँत किराले खाने, गिजाको समस्या एवं मुखको क्यान्सरको समस्याबाट पीडित हुनसक्ने उल्लेख गरेको छ । मुखको क्यान्सर सुर्ति तथा सुर्तिजन्य पदार्थ र अल्कोहल सेवन गर्नेहरुमा उच्च जोखिम रहने बताइएको छ । विकसित मुलुकहरुमा मुख तथा दन्त उपचारमा कुल स्वास्थ्य बजेटको ५ देखि १० प्रतिशत खर्च हुने भएपनि नेपालमा दन्त उपचारमा न्युन बजेट रहेको भन्दै एशोसिएशनले सरकारको ध्यानाकार्षण गराएको छ । एशोसियशनका अध्यक्ष डा. प्रणय रत्न शाक्यले विश्व मुख स्वाथ्य दिवस संसारभर भव्य रुपमा मनाइने भएपनि नेपालमा भने यसको प्रभाव कम रहेको बताए । मुख स्वास्थ्य दिवसलाई स्थान दिन माग गर्दै आफूहरुले विभिन्न काम गर्दै आएको बताए । कान्ति बाल अस्पतालमा कार्यरत डा. कुम्भराज जोशीले मुख स्वास्थ्य सम्बन्धी समस्या आउँदा धेरै ध्यान नदिइने गरिएको पाइएको बताएका छन् । मुख स्वास्थ्य सम्बन्धी समस्या धेरै भएपनि त्यसको उपचार र समस्या समाधानका लागि हुनुपर्ने पहल नभएको बताए । अहिले वार्षिक रुपमा एक हजारभन्दा बढी दन्त चिकित्सकहरु उत्पादन भइरहँदा पनि सरकारले व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ । जनशक्ति उत्पादन भइरहँदा पनि मुख स्वास्थ्य सम्बन्धी समस्या समाधान हुन बाँकी रहेको बताए । साथै, उनले तत्काल दन्त चिकित्सकहरुको दरबन्दी सिर्जना गर्न पनि सरकारको ध्यानाकार्षण गराए । ‘स्थायनीय सरकारमा पनि दन्त चिकित्सकहरुको दरबन्दी बनाइयोस् । त्यो भन्दा माथिल्ला अस्पतालहरुमा दन्त चिकित्सक र विशेषज्ञ दन्त चिकित्सकहरुको दरबन्दी यथाशीघ्र सञ्चालन गरियोस् भन्ने हाम्रो माग छ,’– उनले भने । एशोसिएशनका महासचिव डा.विश्व प्रकाश ठकुरीले आफूहरुले गरेको जस्ता कार्यक्रम नेपाल सरकारले बजेट विनियोजन गरेरै गर्नुपर्ने बताए । उनले अरु दिवसजस्तै सरकारले आगमी दिनमा सरकारले मनाउन पर्ने भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकार्षण गराए । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो समय नसर्ने प्रकृतिका रोगहरुको भयावह अवस्था आउन सक्ने भएकाले दरबन्दी त्यतातिर केन्द्रीत रहेको बताए । पछिल्लो समय मधुमेह, उच्चरक्तचाप, मृगौला रोग, मुटु रोग हुँदै दाँत तथा मुख सम्बन्धी रोगको प्रकोप बढ्दो रहेको बताए । सबै क्षेत्रमा आवश्यक दरबन्दी सरकारले दिन नसके पनि दाँत तथा मुख स्वास्थ्यका क्षेत्रमा विगतका तुलनामा धेरै काम भइरहेको बताए । डा. बुढाथोकीले स्थानीय तह, प्रदेशस्तरका अस्पतालमा दन्त चिकित्सकहरुको व्यवस्थापनको काम विभागबाट भइरहेको बताए । पुरानो ओरल हेल्थ पोलिसीलाई अब ओरल हेल्थ स्टाटेजीको रुपमा विकसित गरिने पनि उनले बताए । प्रत्येक वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रले पनि अब दाँत तथा मुख स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । अस्पतालहरुले पनि गर्छन । हामीले कमसेकम भएका स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिएर काम गर्न सक्ने बनायौं भने विस्तारै दरबन्दी सिर्जना गर्न हामीलाई सजिलो हुन्छ । अहिले हरेक जिल्लामा रहेका जिल्ला अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल र विशिष्टिकृत अस्पतालहरुमा पनि डेन्टल सर्जन र विशेषज्ञहरुको दरबन्दी राखेको उनले बताए । १५ बडेको अस्पतालमा पनि एक जना दन्त चिकित्सक दिनुपर्छ भन्ने सरकारको धारणा रहेको उनले बताए । ती भन्दा तल्लो तहका अस्पताल र स्वास्थ्य संस्थाहरुमा त्यही भएका जनशक्तिहरुलाई तालिम दिएर काम गरिनुपर्ने बताए । साथै, विभागमा मुख स्वास्थ्य दिवस मनाउने गरी कार्यतालिका रहेको बताए । उनले आफ्नो पेसालाई उच्च र सम्मानित बनाउन दिवस मनाउन आवश्यक रहेको बताए । साथै उनले अब दाँत तथा मुखसम्बन्धी रोगबारे जनचेतना फैलाउने कार्यमा लाग्न दिवस नै कुरेर नबस्न समेत उनले सबै दन्त चिकित्सकहरुलाई आग्रह गरे ।
अत्याधुनिक हतियारसहित पक्राउ परेका प्रसाईका गार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं।सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राखनेर अनुसन्धान गर्न अनुमति दिएको हो । एमाले पार्टीले कारबाही गरेपछि अभियान्ता बनेका झापा निवासी दुर्गा प्रसाईको गार्डको रुपमा काम गर्दै आएका खड्का र धिमाल सोमबार पक्राउ परेका थिए । सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो ।
अवैध लागूऔषधसहित १२ जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन् । विभिन्न स्थानमा खोजतलासको क्रममा प्रहरीले उनीहरुलाइ पक्राउ गरेको हो । मोरङको सुन्दरहरैचा नगरपालिका ५ डेरा गरी बस्ने भोजपुर रामप्रसाद गाउँपालिका ४ घर भएका ३६ वर्षीय बिक्रम मगर र सुनसरी ईटहरी उपमहानगरपालिका ४ बस्ने ५२ वर्षीय पदम निरौलालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ७ मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम र लागूऔषध जस्तो देखिने कालो पदार्थ २० ग्राम २ सय ५० मिलिग्रामसहित कैलाली कैलारी गाउँपालिका ५ पवेरा बस्ने २१ वर्षीय बिजय चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । झापाको बाह्रदशी गाउँपालिका २ बिरिङ पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ७ सय ४० मिलिग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा गाउँपालिका(४ बस्ने २३ वर्षीय अलागिर हक, २६ वर्षीय मो। हुसेन र २१ वर्षीय मन्जिर रुलहक रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले शरणामतिबाट खाडिगाउँतर्फ जाँदै गरेको मे ७ प १०२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी झापाको गौरादह नगरपालिका १ डेरा गरी बस्ने २८ वर्षीय बिशाल सुब्बा समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३५ वर्षीय राजकुमार ताजपुरियालाई २ ग्राम ४ सय ०० मिलिग्राम र २८ वर्षीय कुमार तामाङलाई २ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र २५ ग्राम गाँजासहित पक्राउ गरेको छ । ईलामको ईलाम नगरपालिका ७ टुडिखेल बस्ने ३० वर्षीय राकेश पाँचकोटी र उनकै श्रीमती २९ वर्षीया निमादेवी शेर्पालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ मिलिग्राम र नगद १३ हजार रूपैयासहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका ३ बसुन्धारास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ, बाग्लुङ नगरपालिका १४ घर भई काठमाडौं टोखा नगरपालिका ५ बस्ने ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ । बुधबार बिहान ११ बजेबाट नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरु भएको हो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी, कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी छ । त्यसमा विभिन्न पार्टीका सांसदहरुले धारणा राखिरहेका छन् । बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
खुसी मुलुकमा भारतभन्दा नेपाल ३३ स्थान माथि
काठमाडौं । वर्ल्ड ह्याप्पीनेस रिपोर्टले १४३ वटा खुशी मुलकको सूची सार्बजनिक गरेको छ । रिपोर्टमा फिनल्यान्डलाई फेरि विश्वको सबैभन्दा खुसी मुलुक मानेको छ। ७ वर्षदेखि लगातार फिनल्यान्ड यो स्थानमा छ। खुसी मुलुकहरुको सूचीको नेपाल ९३ औँ स्थानमा छ। छिमेकी भारत नेपाल भन्दा ३३ स्थान तल झर्दै १२६ औँ स्थानमा छ । यस्तै, उत्तरी छिमेकी चीन ६० औँ स्थानमा रहेको छ । सूचीमा रहेका १४३ मुलुकमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा रहेको छ। शीर्ष १० स्थानमा क्रमशः फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड, स्विडेन, इजरायल, नेदरल्यान्ड्स, नर्वे, लक्जम्बर्ग, स्विट्जरल्यान्ड र अस्ट्रेलिया रहेका छन्। खुशी मुलुकमा कुवेत १३ औँ र बेलायत २० औँ स्थानमा छन्।
आयरल्यान्डसँग र टी– २० सिरिज खेल्ने नेपालको टोली घोषणा
काठमाडौं । नेपालले घरेलु मैदानमा आयरल्यान्ड वोल्भससँग दुई टी २० र भारतमा खेल्ने त्रिकोणात्मक टी २० सिरिजको लागि नेपाली टोली घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा पछिल्लोपटक हङकङ भ्रमणमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर आकाश चन्दलाई समेटिएको छ । हङकङ भ्रमणमा नरहेका विकेटकिपर अनिलकुमार शाह पनि नेपालको टोलीमा छन् । नेपालले सोमबार र मंगलबार आयरल्यान्ड ‘ए’ सँग टी २० खेल्नेछ । त्यसपछि नेपाल भारतमा जानेछ । फ्रेन्डसिप कपमा नेपाल, गुजरात र बरोडाबीच त्रिकोणात्मक टी २० आई सिरिज हुनेछ । नेपालले पहिलो खेल चैत्र १८ गुजरातसँग खेल्नेछ । दोस्रो खेल चैत्र २० मा बरोडासँग खेल्नेछ । चैत्र २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ हुनेछ । सिरिजमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपाली टोली रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।
सप्तकोसीमा डुंगाबाट गाँजा तस्करीः १६४ केजी गाँजा बरामद
काठमाडौं । सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको १ सय ६४ किलो गाँजा बरामद गरेको छ । बुधबार बिहान १ः३५ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तोकोशी नदीको किनारमाबाट गाँजा बरामद गरेको हो । ५/६ जना व्यक्तिहरुले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको सुरक्षा बेस क्याम्प चतराले जनाएको छ । रातको समय भएकोले डुंगा लिई ब्यक्तिहरु फरार भएको र उक्त गाँजा बरामद गरी थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४ गणबाट फाल्गुन १ गते देखि अहिलेसम्म १ एम्बुलेन्ससहित ५६४.४७५ किलो गाँजा बरामद भएको छ ।
शिक्षामा राज्यले लगानी बढाउनुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठको जोड
काठमाडौं। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको १८औँ ‘नेशनल एजुकेसन अवार्ड’ कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम नै बिग्रने भएकाले शिक्षाका भौतिक पूर्वाधार तथा प्रविधि विकास र सामयसापेक्ष पाठ्यक्रम तर्जुमाका लागि लाग्नुपर्ने बताए। उनले गुणस्तरीय शिक्षाका लागि क्षमतावान् शिक्षक राखिनुपर्ने र शिक्षकलाई मर्यादा, प्रतिष्ठाका साथै सुविधा दिनुपर्ने बताउँदै शिक्षालयमा शिक्षालयहरूमा योग,ध्यानको अभ्यास सँगसँगै गराउन सुझाव दिए । उनले भने, “शिक्षा बाँच्नका लागि होइन, जीवनका लागि हो भन्ने मान्यता विकास गर्न आवश्यक छ ।” कार्यक्रममा शिक्षा क्षेत्रका योगदानकर्ता, सेवी, विज्ञ, विद्यालय सञ्चालक, कर्मचारी र शिक्षा पत्रकारलाई सम्मान गरिएको थियो । मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा नन्दबहादुर सिंह, चितवनको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा कमल पोखरेल, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झा, ग्यालेक्सी पब्लिक स्कुलका संस्थापक गीता राणा, ज्ञानोदय बालबबाटिकाका संस्थापक इन्दिरा याक्थुङगा, सिन्धुपाल्चोकको मेलम्ची ध्याङ माविका प्रधानाध्यापक पूर्णबहहादुर गौतम, काठमाडौँको नीलबाराही माविका प्रधानाध्यापक डा जानुका नेपाल, तनहुँको महेश विद्याश्रम, पृथ्वी माविका सहयोगी राजेन्द्रप्रसाद धिमाललाई सम्मान गरिएको थियो । यसैगरी, रु १० हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार ‘जुपिटर मिडिया’का सुनिल आचार्य र रेडियो कान्तिपुरका पार्वता चौधरीलाई प्रदान गरिएको थियोभने शिक्षालय मासिकका प्रधानसम्पादक श्याम तण्डुकारले शिक्षासेवीहरूको योगदानलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताए। सम्मान र पुरस्कार चयनका लागि शिक्षा सेवाका उपसचिव गेहनाथ गौतम, शिक्षा पत्रकार प्रकाश सिलवाल, अभियन्ता बिके श्रेष्ठ रहेको निर्णायक समिति र शिक्षाकर्मीहरू दिपीका थापा र रामहरि सिलवाल रहेको स्रोत व्यक्ति समूह गठन गरिएको थियो ।
मोरङको बेलबारीमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
विराटनगर ।मोरङको बेलबारी – १ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बुको मंगलबार राति १ बजे हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ।प्रहरीका अनुसारश्रीमतीको हत्या गरेपछि श्रीमान् बहादुरले पनि घाँटीमा धारिलो हतियारले रेटेका थिए । उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा श्रीमान् बम बहादुरको पनि मृत्यु भएको छ। घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गर्दै आएको छ।

