सरकारद्वारा शीतलहर पीडितलाई कम्बल वितरण

राजविराज, पुस २६ । विगत एक सातादेखि चिसो र शीतलहरबाट प्रभावित सप्तरीका शीतलहर पीडितलाई स्थानीय प्रशासनले कम्बल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले आज जनाएको छ ।

अत्यधिक चिसोका कारण सप्तरीमा कठ्याङ्ग्रिएर दुई बालबालिकासहित २० जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले जाडोबाट जोगिनका लागि कम्बल तथा राहतका सामग्री वितरण कार्य शुरु गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको नेतृत्वमा गठित टोलीले तीनवटा स्थानीय निकाय हनुमानगनगर कंकालनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र महदेवा गाउँपालिको २०० अति विपन्न र दलित बस्तीमा रेडक्रसको सहयोगमा कम्बल वितरण गरेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।

जिल्लाको महदेवा गाउँपालिका–१ पकरीको दलित बस्तीमा ५५, तिलाठी कोइलाडी–७ को मंसापुरको मरिक टोलमा १३ र वडा नं ८ तोपाका दलित बस्तीका ४३ र हनुमाननगर कंकालनी–११ इनरुवाको ६० घरपरिवारमा जाडोबाट जोगिन न्यानो कपडा तथा कम्बल वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी हनुमानगर कंकालनी नगरपालिका–१३ गोवरगढाका ४५ जना दलित बस्तीका असहाय, गरिब र विपन्न घरपरिवारलाई कम्बल वितरण गरेको नगरप्रमुख शैलेश साहले बताउनुभयो ।

सो टोलीमा हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख शैलेश साह, तिलाठी कोइलाडीका प्रमुख शतिश सिँह, सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादव, प्रहरी नायब उपरीक्षक ध्रुव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सप्तरी सह–सचिव चन्दन यादव, रेडक्रस सप्तरी रिमु चौधरी, सप्तरी युथ नेपालका विष्णु यादवलगायतको सहभागिता रहेको थियो ।

लुम्बिनीमा पर्यटकको संख्या बढ्यो

भैरहवा, पुस २६ । अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीमा आाउने पर्यटकको संख्यामा बृद्धि भएको छ । विश्वमाझ बुद्ध जन्मस्थल लुम्बिनीको महत्व बढिरहेको बेला सन् २०१६ को तुलनामा सन् २०१७ मा बाह्य पर्यटकको आगमनमा आंशिक बृद्धि भएको हो । लुम्बिनी विकास कोषको सूचना शाखाले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार सन् २०१६ मा कुल एक लाख ३६ हजार दुई सय ५३ जना विदेशी पर्यटक लुम्बिनी भित्रिएकोमा सन् २०१७ मा एक लाख ४५ हजार सात सय ९७ जना विदेशी पर्यटक आएका थिए । गत बर्षको तुलनामा यस बर्ष करिब सात प्रतिशतले पर्यटक आवागमनमा बृद्धि भएको सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए । यसैगरी आन्तरिक पर्यटकको सूचीमा पर्ने भारतीय पर्यटक सन् २०१६ मा एकलाख ३४ हजार दुई सय ६९ जनामात्र लुम्बिनी अवलोकन गरेकोमा सन् २०१७ मा एक लाख ५५ हजार चार सय ४४ जना भारतीय नागरिकले लुम्बिनी दर्शन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा करिब १५ दशमलव ७७ प्रतिशत पर्यटक बृद्धि भएको तथ्यांकमा उल्लेख छ । त्यस्तै आन्तरिक पर्यटककै सूचीमा रहेको नेपाली पर्यटक पनि सन् २०१६ मा १० लाख १५ हजार एक सय ५८ जना लुम्बिनी पुगेका थिए । सन् २०१७ मा भने १२ लाख ५१ हजार तीन सय ४६ जना नेपाली पर्यटक लुम्बिनी भित्रिएको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा करिब २३ दशमलव २७ प्रतिशत नेपाली पर्यटक बृद्धि भएको सूचना अधिकृत बस्नेतले जानकारी दिए । सन् २०१७ मा श्रीलंकाका ५६ हजार दुई सय जना, थाईल्याण्डका २१ हजार नौ सय २६ जना, चीनका १६ हजार तीन सय २९ जना, म्यानमार १५ हजार दुई सय ८४ जना पर्यटक लुम्बिनी आएका थिए ।

डा‍‍‍. केसीलाई तत्काल रिहाई गर्न चिकित्सक संघको माग

काठमाडौं, पुस २५ । नेपाल चिकित्सक संघले प्राडा. गोविन्द केसीलाई अस्पताल परिसरभित्रबाटै प्रहरीले हिरासतमा लिएको घटना प्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल रिहाईको माग गरेको छ । आफ्नो आजीवन सदस्य एवं त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. केसीलाई पक्राउ गरेको घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको संघका महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । संघको विज्ञप्तीमा भनिएको छ, ‘डा केसीले सत्याग्रहको माध्यमबाट चिकित्साशिक्षा तथा स्वास्थ्य क्षेत्रमा सर्वसाधारणहरुको सहज पहुाच, गुणस्तरीयता र जनसरोकारका विषयमा उल्लेखनिय प्रगति हासिल गराउन सफल भएको बताउादै अस्पताल परिसरभित्रबाटै यस प्रकारको गिरफ्तारीप्रति नेपाल चिकित्सक संघ दुखित भएको छ ।’

चीनले ४ तले दरबार हाइस्कूल बनाउने, नक्सा तत्काल पारित गर्न अनुरोध

काठमाडौं, नेपालको ऐतिहासिक स्कूलका रुपमा परिचित दरबार हाइस्कूल निर्माण कार्य थालनी गर्न चीन सरकारले सरकारसमक्ष अनुरोध गरेको छ । चिनियाँ दूतावासको टोलीले शिक्षा मन्त्रालयका पदाधिकारीसँग स्कूलको नक्सा तत्काल पारित गरि काम शुरु गर्ने वातावरण बनाउन आग्रह गरेको थियो । दरबार हाईस्कूलको नक्सा पुरातत्व विभागले फाइनल गरेको र पहिलाकै शैलीमा बनाउनु पर्ने बताएको छ । चीनले तयार गरेका डिजाइनअनुसार भने विद्यालय ४ तल्लाको हुनेछ। १२६ वर्षअघि यूरोपेली शैलीमा निर्माण भएको यो विद्यालयलाई रेट्रोफिट गरी बचाउनु पर्ने सम्पदाविद्हरूको माग रहेको छ।

सेवाग्राहीले समयमै सेवा पाउन थाले

ललितपुर, पुस २५ । यातायात व्यवस्था विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयमा चालक अनुमतिपत्र बनाउन पुग्ने सेवाग्राहीले सजिलै र समयमै सेवा पाउन थालेका छन् । सेवाग्राहीले आधा/एक घण्टामा नै सेवा पाएर फर्कन सक्ने कार्यालयका प्रमुख तेजनारायण यादवले बताउनुभयो । कार्यालयले प्रणालीमा गरेको सुधार, उपत्यकाका अरु तीन ठाउँमा सेवा शुरु तथा देशका अरु अञ्चल कार्यालयमा समेत स्मार्ट कार्ड शुरु हुँदा सेवाग्राहीले चाँडो सेवा पाउन थालेको उनको भनाइ छ । पहिले दैनिक ८०० जनाले चालक प्रमाणपत्रको फाराम भर्ने गरेका थिए । अहिले उक्त संख्या दुई पांग्रे र तीन पांग्रे दुवैमा २००/३०० को हाराहारीमा छ । उहाँले भन्नुभयो, “अहिले चाप कम भएकाले सेवाग्राहीलाई हामीले समयमै सेवा दिन सकेका छौँ र गुनासो पनि छैन ।” दुई महिना अघिसम्म कार्यालय समय १० बजेबाट शुरु भए पनि सेवाग्राही बिहान ४–५ बजेबाट नै लाममा बस्ने गरेका थिए । अहिले कार्यालय समयमा मात्र सेवाग्राही आउन थालेका छन् । उहाँले भन्नुभयो, “फाराम भर्न र लिखित परीक्षा दिन सेवाग्राहीले दिनभर बस्नुपर्ने अवस्था अहिले छैन ।” प्रविधि सुधारमा ध्यान दिएका कारण सेवाग्राहीले चाँडो सेवा पाएको यादवको भनाइ छ ।

मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु

नुवाकोट, पुस २५ । आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको कुटपिटबाट मङ्गलबार मृत्यु भएको छ। विदुर नगरपालिका–२ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षका सिग्देलको काम गर्नसँगै आएका छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटबाट मृत्यु भएको प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो । आइतबार राति दुई जनाबीच विवाद उत्पन्न हुँदा रोकाले सिग्देललाई लात्तीले प्रहार गरी मुटुमा चोट पुर्याएकाले नुवाकोटमा उपचार हुन नसकेपछि सोमबार साँझ काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा उनको मङ्गलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कामदारहरुले आलोपालो गरी खाना पकाउने गरेकोमा सिग्देलले बनाएको खाना ‘मीठो नभएको’ भन्ने विषयमा विवाद उत्पन्न हुँदा कुटपिट भएको थियो ।

माइनस १४ डिग्री सेल्सियस तापक्रम भएको मनाङमा खोलाको पानी नै जम्यो

मनाङ, पुस २५ । हिमाली जिल्ला मनाङको तापक्रम माइनस १४ डिग्री सेल्सियससम्म झरेपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ । अत्यधिक चिसोका कारण गंगापूर्ण तालका साथै स्थानीय खोलानालाको पानी बरफ बनेको छ । पिउने पानीका मुहानहरु जमेका छन् । धाराको पानीसमेत जमेकाले पिउने पानीको अभाव हुन थालेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । अरु भन्दा ठूलो भएकाले मर्स्याङ्दी नदी भने जमेको छैन । धारामा पानी जमेकाले पानी आउन छाडेको र पानी थाप्नका लागि पाइप तताउनुपर्ने अवस्था आएको स्थानीयले बताएका छन् । सदरमुकाम चामेमा दिउँसोको समय घाम लागे पनि चिसो भने अत्यधिक छ । स्थानीयबासी घरबाट बाहिर निस्कन सकेका छैनन् । घरभित्रै आगो तापेर बस्ने गरका छन् । चिसो अत्यधिक बढेपछि जिल्लाका अधिकांश व्यक्तिले गाउँ छाडेका छन् । जाडो छल्न धेरैजसो पोखरा, काठमाडौंलगायतका स्थानमा झरेका छन् । जाडोका कारण सेवाग्राही नआउँदा सरकारी कार्यालय पनि सुनसान बनेका छन् ।

माअाेवादी-एमाले एकता संयोजन समितिको बैठक दिउँसाे ३ बजे

काठमाडौं, पुस २५ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक बस्दैछ । अाज ३ बजे बस्ने तय भएकाे एक नेताले जानकारी दिए । आगामी सरकारको नेतृत्व गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकीकृत बामपन्थी पार्टीको सहअध्यक्ष रहनेछन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी हाइकमान्डको कार्यकारी पदमा रहने सहमति बनेको छ । यस्तो सहमति ओली र प्रचण्डबीचको वैठकमा भएको छ । यसले एकता संयोजन समितिको वैठक डाक्न सहज भएको छ । एकतापछि दुबै पार्टीको मुख्य नेतृत्वको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा एकता संयोजन समितिको बैठक समेत बस्न सकेको थिएन । बैंकक जानुअघि ओलीले प्रचण्डसँग गोप्यरूपमा गरेको सहमतिबारे माओवादी स्रोतले भन्यो,‘विवादरहित नेतृत्वका लागि यस्तो सहमतिको खाका तयार भएको छ । यहि खाकाको आधारमा एकता संयोजन समितिले अन्य प्राविधिक कामको टुंगो लगाउनेछ ।’ बामपन्थी एकीकरणमा प्रभावकारी चासो भारतीय पक्षको पनि रहेका कारणले यस्तो सहमति बनेको हो । भारतीय पक्षले ओलीले अध्यक्ष नछाडे प्रचण्डलाई प्रधानमन्त्रीमा अघि बढाउनका लागि सुझाव दिएको थियो । तर, ओली कुनै पनि हालतमा प्रधानमन्त्री बन्ने भएपछि प्रचण्डले पार्टीको नेतृत्व पाउने पक्का भएको छ । प्रचण्डको नेतृत्वलाई एमालेका अन्य नेताले पनि स्वीकार गर्ने भएपछि ओली यो निष्कर्शमा पुगेका हुन् । यस्तो सैद्धान्तिक सहमति बामपन्थी गठबन्धन बन्नु अघि नै भएको थियो । बामपन्थी गठबन्धन घोषणापूर्व नै प्रचण्डले प्रधानमन्त्री भन्दा पार्टी कमान्डमा आफ्नो रूची देखाएका थिए । उक्त रूची सम्बोधन गर्नका लागि नै ओलीले गठबन्धनमा सहमति जनाएका थिए । आइतबार राती ओलीनिवासमा बालकोटमा भएको भेटमा प्रचण्डसँग ओलीले यस्तो समझदारीमा अघि बढ्ने बताएका थिए । तर, उनले प्रधानमन्त्री पदका लागि अन्य विकल्पमा नजानका लागि आग्रह समेत गरेका थिए । प्रचण्डले चाहेको बेलामा आफू प्रधानमन्त्री बन्नसक्ने अवस्था रहेपनि तत्काल पद भन्दा बामपन्थी ध्रुवीकरण र एकतालाई प्रभावकारी प्रयोग गर्न उद्दत रहेको बताउँदै आएका थिए । प्रचण्ड एकीकृत कम्युनिष्ट पार्टीको उपल्लो घेराको हाईकमाण्ड गर्नका लागि पहिलेदेखि नै उद्दत छन् । ‘प्रचण्डले कम्युनिष्ट पार्टीलाई बलियो बनाउन सक्ने आधारमा छलफल भएरै गठबन्धन र एकताका लागि दुई दल अघि बढेका हुन् ।’, स्रोतले भन्यो,‘प्रचण्ड अध्यक्ष हुनेमा अब शंका छैन ।’

दाउन्ने पाँचवटा गाडी ठोक्किदा एक जनाको मृत्यु, सातजना घाइते

नवलपरासी, पुस २५ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु३त ४५०० नम्बरको ट्र्याक्टरलाई ना४ख ६६९० नम्बरको ट्रकले ठक्कर दिँदा ट्र्याक्टरमा सवार सातजना घाइते भएका हुन् । दुर्घटनामा विनयी त्रिवेणी–२ निवासी ५० वर्षीया भगवती कार्कीको उपचारको क्रममा निधन भएको दुम्किवास प्रहरीले जनाएको छ । ट्रक र ट्र्याक्टर ठोक्किएपछि सोही सवारी साधनमा ना३ख ५९३६ ट्रक, लु३च ५३२२ नम्बरको जिप र ना६ख ५४२९ नम्बरको ट्रक पनि ठक्कर खाएका थिए । दुर्घटनामा परी विनयी त्रिवेणी–२ ज्यामिरे निवासी ४५ वर्षीय उदय रोकाया, ४० वर्षीया मीना रोकाया, ५० वर्षीय विष्णु रेग्मी, ४० वर्षीया ज्ञानु तामाङ, ५५ वर्षीया यशोदा ढकाल, ४५ वर्षीया तुलसी परियार र ३८ वर्षीय जितकुमार पौडेल घाइते भएका छन् । घाँसदाउरा गरेर ट्र्याक्टरमा दुम्किवासतर्फ फर्कदै गरेका महिला तथा पुरुष दुर्घटनामा परेका हुन् ।

भारतसँगको सन्धि पुनरावलोकन गर्न आवश्यक : प्रचण्ड

काठमाडौं, पुस २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारतबीच विगतमा भएका सन्धि–सम्झौतालाई नयाँ आधारमा पुनरावलोकन गर्न आवश्यक रहेको बताएका छन् । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको नेपाली प्रतिनिधिमन्डलसँग पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार भएको भेटमा अध्यक्ष दाहालले सम्झौता पुनरावलोकन गर्ने दिशामा आवश्यक भूमिका खेल्न समूह सदस्यहरुलाई आग्रह गरेका उनका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए । पूर्वप्रधानमन्त्री दाहालले भने–‘विगतमा नेपाल–भारतबीच भएका धेरै सन्धि–सम्झौता असमान छन्, त्यसलाई पुनरावलोकन गर्नुपर्छ ।’ नेता दाहालले विगतमा सबै राजनीतिक दल मिल्दा राष्ट्रिय एकता र स्वाभिमान बलियो बन्ने गरेको स्मरण गर्दै नयाँ सरकार गठनपछि नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने बताए । भेटमा समूहका तर्फबाट डा. भेषबहादुर थापा, नीलाम्बर आचार्यलगायतको सहभागिता थियो ।

शरीर जोडिएका शिशुको ‘सफल शल्यक्रिया’

काठमाडौं, पुस २४ । शरीरको तल्लो भाग जोडिएका दुई प्यालेस्टिनी जुम्ल्याहा शिशुको प्राण जोगाउन र शरीर छुट्याउन गरिएको शल्यक्रिया सफल भएको चिकित्सकहरूले बताएका छन्। फराह र हनीन नाम गरेका ती बालिकाहरूको रियादस्थित किङ् अब्दुल्लाह बाल अस्पतालमा शल्यक्रिया गरिएको हो। जोडिएको शरीरमा दुई खुट्टा मात्रै भएपनि मुटु र फोक्सो भने छुट्टाछुट्टै थिए।तिनको पेट र शरीरको तल्लो भाग जोडिएको थियो। उनीहरूका पितालाई चिकित्सकहरूले गाजापट्टीमै रहे ती शिशुको ज्यान जोखिममा पर्न सक्ने बताएपछि उनीहरूलाई उपचारका लागि साउदी अरेबिया लगिएको थियो। साउदी प्रेस एजेन्सीले प्रसारित गरेको विज्ञप्तिमा उनीहरूको शल्यक्रिया सफल भएको उल्लेख गरिएको छ। जटिल नौ चरणमा गरिएको शल्यक्रियामा उनीहरूको आन्द्रा, कलेजो र कटि छुट्याइएको थियो। साउदी सञ्चारमाध्यमका अनुसार उनीहरूलाई स्थलमार्गबाट जोर्डन हुँदै विमान चढाएर डिसेम्बरमा साउदी अरेबिया पुर्‍याइएको थियो। जटिल प्रकृतिको त्यस्तो शल्यक्रिया गर्ने सुविधा गाजामा उपलब्ध थिएन। नाकाबन्दी, निरन्तरको सशस्त्र द्वन्द्व, प्यालेस्टाइनको राजनीतिक विभाजन र बजेट कटौतीका कारणले त्यहाँको स्वास्थ्यसेवाको गुणस्तर खस्किएको संयुक्त राष्ट्रसङ्घले बताउने गरेको छ। त्यहाँ आधार बनाएर बसेका लडाकुहरूको आक्रमणबाट जोगिन विगत एक दशकदेखि इजरेल र इजिप्टले गाजालाई स्थल र समुद्रबाट नाकाबन्दी गरेका छन्। बीबीसी

आयोगको समावधि थप्ने वा पुनःगठन गर्ने भन्नेमा सरकार अलमलमा

काठमाडौ‌, पुस २४ । द्वन्द्वकालीन घटनाको किनारा लगाउन गठित दुई आयोगको अवधि थप्ने वा पुनःगठन गर्ने विषयमा यतिबेला बहस चलेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समय आगामी माघ २७ गतेबाट सकिँदैछ । दुई आयोगले काम नसकेको हुनाले सरकारले शुक्रबार अध्यादेशमार्फत एक वर्ष म्याद गर्ने निर्णय गरेको छ । सो निर्णयसँगै दुई आयोगको म्याद थप्ने, म्याद थप्न पुनःविचार गर्ने वा पुनःगठन भन्ने विषयमा बहस चलेको हो । सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको १० वर्ष बितिसक्दा पनि पीडितले न्यायको अनुभूति गर्न पाएका छैनन् । द्वन्द्वकालीन मुद्दा हेर्न सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग २०७१ माघ २७ गते गठन ग¥यो । द्वन्द्वकालीन घटनाको सत्यतथ्य खोजी गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिन संविधानअनुसार दुई वर्षका लागि दुई आयोग गठन गरेको थियो । विश्व वकालत मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले भन्नुभयो, “दुई आयोगको अवधि थप्नुको कुनै औचित्य छैन, तीन वर्षको लामो अवधि पूरा गरेपनि पीडितहरूको पक्षमा कुनै पनि परिणाम दिन सकेनन् ।” दुई आयोगले पीडितहरूको आँसुमा रमाउने काम भएको र द्वन्द्व पीडितको नाममा राज्यको तर्फबाट ठूलो स्रोत साधन र समयको बर्बाद मात्र भएको उहाँको भनाइ छ । संविधानले परिकल्पना नै नगरेको विषयलाई सरकारले अध्यादेशमार्फत दुई आयोगको अवधि थप्नु संविधानको मर्म र भावनाविपरीत रहेको वरिष्ठ अधिवक्ता त्रिपाठीको बुझाइ छ । जवाफदेहीता निगरानी समितिका संयोजक चरण प्रसाईलाई पनि आयोगको म्याद थप्नुको कुनै औचित्य नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “आयोगले पीडितको मन जित्ने गरी काम गर्न सकेन, बरु योग्य व्यक्ति राखेर पुनःगठन गर्न सकिन्छ, काम नै नहेरी सरकारले अध्यादेशमार्फत अवधि थप्नुको औचित्य छैन् ।” आयोगले कुनै उल्लेखनीय काम नै नगरी तीन वर्ष बिताएको हुँदा एक वर्ष अवधि थप गर्दा पनि द्वन्द्वकालीन घटनाको सत्य, तथ्य पत्ता लगाएर बाहिर ल्याउने कुनै विश्वास नभएको उहाँको ठम्याइ छ । अधिवक्ता र मानवअधिकारकर्मी मात्र होइन, द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीलाई आयोगको एकतर्फीरुपमा एक वर्ष अवधि थप्नु औचित्यहीन लागेको बताउनुभयो । अधिकारीले भन्नुभयो, “आयोगको कामको कुनै मूल्याङ्कन नै नगरी सरकारले अवधि थप्ने निर्णय गर्नु पीडितको भावनाविपरीत छ, अहिलेकै अवस्थामा आयोगको अवधि थपे पीडितहरू आन्दोलनमा उत्रिन्छौँ ।” सरकारले पीडितको आवाज नसुनेमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगको कामको मूल्याङ्कन गरेर मात्र एक वर्ष अवधि थप्न आग्रह गर्ने चौतारीको तयारी छ । चौतारीको पनि आयोगमा यही पदाधिकारीभन्दा पनि पुनःगठन गर्नुपर्ने भन्ने माग छ । संविधानअनुसार आयोगको दुई वर्ष र एक वर्ष अवधि थप्न सकिने व्यवस्था रहेको थियो । तर संविधानले अवधि थप्न सक्ने परिकल्पना गरेको छैन भने दुई आयोगले काम पूरा गर्न सकेको छैन । सरकारले पनि अहिलेकै दुई आयोगलाई काम पूरा गर्न अध्यादेशमार्फत एक वर्ष अवधि थप्ने निर्णय गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा न्याय पाउने आशामा दुई हजार ८८८ पीडितले आयोगमा उजुरी दर्ता गराएका छन् भने सत्य निरुपण तथा मेलमिलाप आयोगमा ५८ हजार ५२ उजुरी दर्ता भएका छन् । दुई आयोगले समयमा काम सम्पन्न गर्न नसक्नुमा सरकारको पनि कमजोरी छ । सर्वोच्च अदालतले २०७१ फागुन १४ गते गरेको फैसलाअनुसार ऐन बनेको छैन् । सरकारले दुई आयोगको ऐन संशोधन गरेको छैन् । ऐन संशोधन नगरी एक वर्ष अवधि थप्दा पनि काम हुनेमा अधिकारकर्मी र पीडितले प्रश्न खडा गरेको अवस्था छ । दुई आयोगमार्फत सत्यतथ्य पत्ता लगाउने काम हुँदै गर्दा द्वन्द्वपीडितलाई राज्यले दुईपटक गरी रु पाँच÷पाँच लाख राहतस्वरुप रकम उपलब्ध गराइसकेको छ । तर सत्यतथ्य पत्ता लगाएर पीडितले न्याय पाउने आशा बाँकी नै छ । रासस

मेलम्ची खानेपानीमा बेथिती : २६ करोड अतिरिक्त भुक्तानी !

काठमाडौं, पुस २४ । उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाले टनेल सुरुङ निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ । सम्झौताअनुसारको काम सम्पन्न नहुँदै ईटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी सिएमसी लाई आयोजनाले यो रकम भुक्तानी दिएको हो । यो आयोजना निर्माण ठेक्का सिएमसीले पाउको छ ।, नागरिक दैनिकमा खबर छ ।

यी हुन् सिंहदरबारको छतमा हुर्किरहेका बालक !

काठमाडौं, पुस २४ । सिंहदरबार परिसरभित्र युवा तथा खेलकुद मन्त्रालयको भवन । तयसको छतमा जस्ता र कपडाले बारेर बनाईएको सानो कटेरो । १४ पुसमा ४ महिना टेकेका दीपसागर राई पछिल्लो एक महिनादेखि त्यही कटेरोमै छन् । सिंहदरबारभित्रको एउटा मन्त्रालयको छतमा सिंगो दिन बिताउने बालक को होलान् ? चासो सबैको हुन सक्छ । यसको पछि लुकेको बाध्यताको कथा सुन्दा जो कोहिको मन भने छुन्छ । मन्त्रालयमा ७ बर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत रश्मी राईका छोरा हुन् दीपसागर । जो आमो छातीमा टाँसिएर हरेक दिन मुलुकको प्रशासनि मुख्यालय पुग्छन् । त्यसपछि आमा दिनभर कार्यालयको काममा व्यस्त हुन्छिन् भने दीपसागर छतको एउटा कुनामा ओल्टो कोल्टो गरिरहन्छन् । पुको कठ्याँग्रिदो चिसोमा पनि छोरालाई छतमा राख्नु रश्मीको रहर भने होइन । छोरा जन्मेपछिद उनी २ महिना विदा बसिन् । त्यसपछि पनि कार्यालय नजाँदा करारको जागिर जाने डरले उनी दुईमहिने नाबालक च्यापेर मन्त्रालय जान थालिन् । त्यसयता हरेक दिन विहान करिव ९ बजे उनी अनामनगरस्थित डेराबाट छोरा र उनलाई चाहिने एक झोला सरसामान बाकेर मन्त्रालय धाउँछिन् ।, -कान्तिपुरबाट

प्रसूति गराउँदा शिशुको हातै भाँचिएपछि…

काठमाडौं, पुस २४ । नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीले एक महिलाको प्रसूति गराउने क्रममा शिशुको हातै भाँचिदिएका छन्। मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीया तारा आछामीको प्रसूति गराउने क्रममा स्वास्थ्यकर्मीले शिशुको हात भाँचिदिएका हुन्। तारालाई प्रसूति व्यथा लागेपछि गत पुस ९ गते अस्पताल भर्ना भएकी थिइन्। १० गते शिशु जन्मिए पनि बच्चाको हात भाँचिएपछि अस्पतालले त्यसलाई सार्वजनिक नगर्न आफूलाई दबाब दिएको ताराका ससुरा धनलाल सार्कीले बताए। ताराले दोस्रो सन्तानका रुपमा छोरा जन्माएकी छन्। उनको पहिलो सन्तान पाँच वर्षकै छोरा छन्। ताराका पति चन्द्र आछामी पाँच महिनाअघि वैदेशिक रोजगारीमा गएका छन्। ‘जन्मिएको बच्चाको हात भाँचिएको पाइएपछि अस्पतालसँग हामीले गुनासो राख्यौं,’ धनलालले भने, ‘आमा र बच्चाको उपचार सबै गरिदिने भन्दै अस्पतालले त्यसलाई सार्वजनिक नगर्न दबाब दिएका कारण हामीले पनि तत्काल यो कुरा बाहिर ल्याउन सकेनौं।’ अन्नपुर्ण पोष्टमा खबर छ ।

अनिश्चितकालिन रुपन्देही बन्द फिर्ता

बुटवल । युवा व्यवसायी वसन्त पौडेल (बलु) को हत्याको विरोधमा दुई दिनदेखिको रुपन्देही बन्द आइवार बेलुकीबाट फिर्ता भएको छ । नेकपा (एमाले) निकट युवा संघ तथा अनेरास्ववियूले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै शनिबारदेखि अनिश्चितकालीन रुपन्देही बन्दको आह्वान गरेका थिए । पीडित पक्ष, आन्दोलकारी संगठन र स्थानीय प्रशासनसहितको सर्वपक्षीय छलफलमा छबुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको युवा संघ रुपन्देहीका अध्यक्ष नहकुल शाही र अनेरास्ववियू रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तिमा जिल्ला प्रशासन र राजनीतिक दललगायत सम्बद्ध पक्षसँग भएको वार्ता र संवाद सकारात्मक भएको सन्दर्भमा हाललाई बन्दसहित सबै आन्दोलनका कार्यक्रम स्थगन गरिएको जनाइएको छ । अपराधीलाई अविलम्ब पक्राउ, स्व दुर्गा तिवारी र स्व वसन्त पौडेललाई शहिद घोषणा, राहत र सुरक्षा संरचनाको थपलगायत सहमति कार्यान्वयन गर्ने आश्वासन दिइएको छ । व्यवसायी पौडेलको शुक्रबार बिहान करिब ११ बजे देवदह–२ ढेकाबारमा आफ्नै फर्निचर उद्योगमा बसिरहेका बेला गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुईजनाले उनीमाथि गोली प्रहार गरेका थिए । घटना लगत्तै यसअघि सोही स्थानमै हत्या भएका युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य आरोपी मनोज पुनले स्थानीयलाई टेलिफोन गरी हत्याको जिम्मा लिएका थिए । संवेदनशील घटना भन्दै प्रहरीले अनुसन्धानका लागि केन्दीय अनुसन्धान तथा र संघीय इकाइ कार्यालय भैरहवाबाट छुट्छाछुट्टै टोली बनाएर अनुसन्धान थालेको छ । टोलीले एक साताभित्र घटनाबारे अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्ने छ । रासस