चाडपर्वमा हुने गलत प्रवृत्तिहरूलाई निरुत्साहित गरौं : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले परम्परागत तथा मौलिक चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व आफ्नो भएकाले चाडबाडका नाममा हुने गलत प्रवृत्तिहरूलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् ।
फागु पूर्णिमा (होलीपर्व)का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “पछिल्लो समय होलीमा विभिन्न खालका सामाजिक विकृति र विसंगति भित्र्याएको सार्वजनिक टिप्पणी हुने गरेको सन्दर्भमा म सबैलाई एकापसमा साथीहरू र परिवारसँग मात्र अनुशासित भएर रमाइलोसँग होली खेल्न प्रेरित गर्दछु ।”
उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै होलीपर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेका छन् । । “होलीपर्वले आपसी वैमनस्य, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस्”, शुभकामना सन्देशमा भनिएको छ ।
सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होलीपर्वले खराब प्रवृत्तिमाथि असल र सत्यको विजय हुने सन्देश प्रवाह गर्नुका साथै हिमाल, पहाड र तराईमा फरक–फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्दै आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको सन्देशमा उल्लेख छ ।
यस पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एकसूत्रमा बाँध्दै आपसी सद्भाव, प्रेम र भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै आएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होलीपर्वलाई रङहरूको पर्वका रूपमा मनाइन्छ । होलीमा असत्यमाथि सत्यको विजयको खुसीयालीमा हर्ष र उल्लासका साथ एकापसमा अबिर, रङ लगाउने चलन छ ।
सभ्य र मर्यादित भएर होली खेल्न केपी ओलीको आग्रह
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभ्य र मर्यादित भएर होली खेल्न आग्रह गरेका छन्। शनिबार एमाले मधेश सम्पर्क कमिटीको होली विशेष कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले रंगहरूको पर्व होलीलाई उच्छृङखल गतिविधिबिना सभ्य भएर मनाउन आग्रह गरेका हुन्। अध्यक्ष ओलीले होली मनाउँदा अरुको स्वतन्त्रतामाथि खलल नपर्नेगरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्ने उल्लेख गरे। 'होली खेल्दा विचार गरेर खेल्नुपर्ने हुन्छ। अरुमाथि आघात पुर्याउनु हुँदैन। सामाजिक मित्रतामाथि ध्यान दिनुपर्छ। बलजफ्ती रंग लगाउनुहुँदैन। त्यहँ ठूलो अप्रियता हुनसक्छ। अरुको स्वतन्त्रतामाथि खलल नपर्ने गरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्छ। रंग दल्दिँदैमा रमाइलो हुँदैन। दलिमाग्ने मान्छेले पनि रमाइलो मान्नुपर्छ। इच्छाविपरित रमाइलो हुँदैन। इच्छामा मात्रै रमाइलो हुन्छ,' उनले भने, 'लोला हाल्ने र गोला फाल्ने त गर्न नै हुँदैन।' होली सबै पर्वभन्दा पुरानो पर्व बताउँदै अध्यक्ष ओलीले यो पर्वमा रंग लगाउँदा वा गीत गाउँदा छुट्टै खालको उमंग मिल्ने बताए। हरेक चाडपर्वहरू समाज विकाससँग जोडिएको भन्दै देखापरेका विकृति विसंगतिहरूलाई हटाउँदै लैजानुपर्नेमा उनले जोड दिए।
वालिङमा जीप दुर्घटना : ९ जना घाइते
स्याङ्जा । वालिङ नगरपालिका-११ स्थित छत्तिवनमा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। घाइते हुनेमा जीप चालक ४१ वर्षीय ज्ञानप्रसाद पंगेनी, १९ वर्षीया नम्रता खत्री, ३२ वर्षीया सुकमाया सुन्धौली उनका छोरा १३ का संगम सुन्धौली ७७ वर्षीय रनबहादुर मगर, ७५ वर्षीया लाटी मगर, ३६ वर्षीया हुमकला पंगेनी, ३० वर्षीया विन्दु खवास र १७ वर्षीया करिना खवास छन्। घाइते नौमध्ये ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा र अन्य ५ जनालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। वालिङ नगरपालिका(११ छत्तिवनको भित्री सडक खण्डमा वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग २ च ७४७९ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना भएको थियो। जीप सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ।
करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु
दाङ । करेन्ट लागेर दाङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका(३ घण्टदेव चौकका ५५ वर्षीया दिलसरा केसी, उनका श्रीमान ६० वर्षका गोरखबहादुर केसी र ४ वर्षीय नाति कृष्ण केसीको करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युतको तार चुँडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने करेन्ट लागेर घाइते गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासि चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ।
निर्दोष नागरिकको ज्यान जाने गरी मस्कोमा भएको हमलाप्रति दु:ख व्यक्त
काठमाडौं । नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । “नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भत्र्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,” विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ।
एनभीए भलिबल च्याम्पियनसिपमा गण्डकीलाई हराउँदै पुलिस तेस्रो
काठमाडौं । नेपाल पुलिस क्लबले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो बनेको छ । शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले गण्डकीलाई २५–१६, २५–२० र २९–२७ ले हरायो । सेमिफाइनलमा नेपाल पुलिस क्लब शुक्रबार त्रिभुवन आर्मी क्लबसँग ३–२ ले पराजित भएको थियो । गण्डकी टिपटप हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित हुँदै बाहिरिएको थियो । महिलातर्फ शुक्रबार न्यू डायमण्डलाई ३–१ ले हराउँदै एपीएफ तेस्रो बनेको थियो । आज महिला र पुरुष दुबैतर्फ फाइनल खेलहरु हुनेछन् । महिलातर्फ नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबबीच दिउँसो १ बजेपछि हुनेछ । पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले पनि १५–१५ हजार प्राप्त गर्नेछन् ।
नाउपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुबिच भेटवार्ता भएको छ । शनिबार उनीहरुबिच भेटवार्ता भएको हो। भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले नाउपालाई एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् । छलफलमा सहभागी नाउपाका संस्थापक नेता एवम् टीकापुरका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताए। फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको डंगौराले जानकारी दिए। संघमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नाउपाले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई नै समर्थन यथावत् राखेको छ। अल्पमतको प्रदेश सरकारमा नाउपाका ७ सांसदमध्ये ५ जना अहिले मन्त्री छन्। केही दिनअघि रञ्जिताको निर्देशनविपरीत नाउपा सुदूरपश्चिम संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको थियो। नयाँ समीकरणमा बनेको केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टिम बनाउने लगायतका विषयमा छलफल भएको मेयर डंगौराले बताए।
विश्व बैंकका उपाध्यक्षलाई अर्थमन्त्रीको निम्तो
काठमाडौं ।अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा आउन निमन्त्रणा गरेका छन् । बैंकका उपाध्यक्षत्रय रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनसँग बिहीबार राति भएको भर्चुअल बैठकमा अर्थमन्त्री पुन अनन्तले रेजरलाई लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेका थिए । औपचारिक रुपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै मन्त्री पुनले लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रुपमा पनि निम्तो दिएका हुन् ।जवाफमा रेजरले निमन्त्रणाका लागि धन्यवाद दिए । उनले नेपाल र विश्व बैंकबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताए । अर्थमन्त्रीले नेपालले वैदेशिक लगानीसहित निजी क्षेत्रको भूमिका र पुँजी परिचालनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे । लगानी सम्मेलनका लागि आवश्यक कानूनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी उनले दिए । सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको भन्दै विश्व बैंकसहित विकास साझेदार बताउँदै उनले विश्व बैंकसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे । तेश्रो लगानी सम्मेलन आगामी ०८१ वैशाख १६ र १७ गते काठमाडौँमा हुँदैछ ।
पोखराबाट काठमाडौं आउँदै गरेको बस तनहुँमा दुर्घटना
काठमाडौं । तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका ६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाणका अनुसार घाइतेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली छन्। जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उनीहरूको उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए । बसमा २६ यात्रु सवार थिए। बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाणले जानकारी दिए ।
चट्याङ लागेर एक जनाको मृत्यु, ७ जना घाइते
धनगढी । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अरु ७ जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका ६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले चट्याङ लागेर मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएको जानकारी दिए । जिल्ला अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । घाइते सबै जना खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । सिंहको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।
गाजामा युद्धविराम गर्ने अमेरिकी प्रस्तावविरुद्ध रूस र चीनको भिटो
एजेन्सी । द्धन्द्धग्रस्त गाजा क्षेत्रमा युद्धविरामको लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा संयुक्त राज्य अमेरिकाले गरेको प्रस्ताव फेल भएको छ।अमेरिकाको उक्त प्रस्तावमाथि रसिया र चीनले भिटो प्रयोग गरेपछि अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा शुक्रबार गरेको प्रस्ताव पारित हुन नसकेको हो। सो प्रस्तावमा संयुक्त राष्ट्रसंघका ११ सुरक्षा परिषद्का सदस्यहरूले पक्षमा मतदान गरेको भएपनि भिटो शक्ति पाएका स्थायी सदस्यहरू रसिया र चीनले त्यसलाई रोकेका हुन्। संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत गिलाड एर्डनले बन्धकहरूको रिहाइसँग सम्बन्धित प्रस्ताव अस्वीकार गरी सुरक्षा परिषद्ले गरेको निर्णय हमासको निन्दा नगर्ने दाग भएको बताउदै आफुहरुले त्यसलाई कहिल्यै नबिर्सने बताए। यसैबीच, सो प्रस्तावलाई अस्वीकार गर्न लविङ गरेको अल्जेरियाले सुरक्षा परिषद्मा पेश गरिएको सो प्रस्तावमा शान्तिको स्पष्ट सन्देश नभएको र थप प्यालेस्टिनी नागरिकहरूलाई मार्ने अनुमति मात्रै भएकोले सो प्रस्ताव अस्वीकृत भएको बताएको छ। अमेरिकाले यसअघि अल्जेरियाले पेश गरेको युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको थियो।
उपप्रधानमन्त्री श्रेष्ठ चीनको औपचारिक भ्रमणमा जाँदै
काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । उनी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् । उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ ।भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै,भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्कर्नेछन् ।
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८० साल चैत १० गते शनिबार सन् २०२४ मार्च २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा र बिक्री दर १६८ रुपैयाँ ३७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
वाग्मतीसहित चारवटा प्रदेशमा बिहानैदेखि वर्षा
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण केही दिनयता नेपालमा वर्षा हुँदै आएको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भईरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थान, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राती भने देशभर आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। आज सूर्योदय बिहान ६ बजेर ४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १७ मिनेटमा हुनेछ ।
थाइल्यान्ड र म्यान्मार सीमानजिकबाट १३ नेपालीको उद्धार
काठमाडौं । विगत लामो समयदेखि थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरिएको छ । थाइ परराष्ट्र मन्त्रालय, थाइ इमिग्रेसन ब्युरो र नेपाली राजदूतावास यांगोन समेतको समन्वयमा थाइल्यान्ड र म्यान्मार सीमानजिक म्यान्मारको म्यावड्डीमा समस्यामा परेका नेपालीलाई उद्धार गरिएको हो । नेपाली राजदूतावास बैंककले लामो प्रयासपश्चात म्यान्मारको उक्त क्षेत्रबाट उद्धार गरी नेपाल फिर्ता पठाउने कार्य गरिएको जनाइएको छ । "उल्लेखित १३ नेपाली नागरिकहरुलाई मिति २०८०।१२।९ का दिन राजदूतावासले थाइल्यान्डको मेइसोटसम्म कर्मचारी खटाई थाइ–म्यान्मार सीमा पार गराई थाइल्यान्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाइ यात्रामार्फत बैंकक हुंदै आजै नेपाल एयरलाइन्सको उडान नं RA 402 बाट काठमाडौं पठाइएको छ," नेपाली राजदूतावास बैंककले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
योजना आयोगका नवनियुक्त चार सदस्यद्धारा सपथ ग्रहण
काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरुले उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन्। शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरु डा. अरनिको पाण्डे, प्रा. संगीता सिंह, डा.कुशरेन्द्रबहादुर महत र प्रा. शिवराज अधिकारीले उपाध्यक्ष समक्ष सपथ लिएका हुन् । सपथ ग्रहण गरेसँगै चारै जना सदस्यले शुक्रबार नै पदवहाली समेत गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

