गोवाबाट सम्पर्कविहीन भएकी छोरीको खोजीमा सहयोग गर्न प्रमुख हमालको आग्रह

धनगढी। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी छिन्। 

ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी छोरी हिजोदेखि जोरबा वाईब आस्विन ब्रिजबाट सम्पर्कविहीन भएको प्रमुख हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिए। 

मेयर हमालले ओशो साधक रहेकी छोरी आरतीको खोजीमा सहयोग गरी दिन हुन गोवामा रहेका नेपालीलाई आग्रह गरेका छन् । 

गृहमन्त्री लामिछाने र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मंगलबार गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुई देशबीचको ऐतिहासिक तथा भौगोलिक सम्बन्धका विविध आयामबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ । दुई देशका सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय गरेर सीमापार अपराध नियन्त्रणमा दुवै पक्ष सहमत भएका छन् । राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने अपराध र मानव ओसारपसार नियन्त्रणका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणका लागि सहायता प्रदान, राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्ठकृत तालिम उपलब्ध गराउने स्रोतका लागि भारत तयार रहेको राजदूतको भनाइ थियो ।

माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक बुधबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।  सचिव देवेन्द्र पौडेलका अनुसार उपनिर्वाचनको तयारी, प्रदेशको भागबण्डा लगायत विषयमा छलफल हुनेछ । वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट उम्मेदवारका लागि माओवादी जिल्ला समितिले केन्द्रीय सदस्य धिरेन्द्र शर्मासहित उर्मिला तामाङ, अनिल बराइली, ओम गुरुङको नाम सिफारिस गरेको छ । यसअघि गठबन्धन दलका मुख्य घटक एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

इलाम २ का लागि एकीकृत समाजवादीका ३ उम्मेदवार सिफारिस

काठमाडौं । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र २ को लागि एकीकृत समाजवादीले तीन जना उमेदवारको नाम सिफारिस गरेको छ। जिल्ला सचिवालयले जिल्ला सचिव हरिबाला राई, सचिवालय सदस्य जितबहादुर राई र केन्द्रीय परिषद् सदस्य पूर्णबहादुर बस्नेतको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला सदस्य चेतन अधिकारीले जानकारी दिए। संघीय सत्ता गठबन्धनभित्र एमालेले सुवासचन्द्र नेम्वाङपुत्र सुहाङलाई अगाडि सारिसकेको छ। माओवादीले पनि आफ्ना चार जनाको नाम उमेदवारका लागि सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार सम्म उमेदवार चयन गर्ने बताएको छ ।  भदौ २६ गते संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि रिक्त रहेको इलाम २ मा उपनिर्वाचन हुन लागेको हो। गत वर्षको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काविरुद्ध एक सय १४ मतको अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए ।

इलाम २ का लागि माओवादीबाट ४ जनाको नाम सिफारिस

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको छ । कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको जानकारी दिए । उनले जिल्ला समिति इलामको सिफारिसका आधारमा प्रदेश समितिले चार जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको बताए । इलाम २ मा एमालेले दिबंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार टुंगो लगाइसकेको छ । नेपाली कांग्रेसको प्रदेश समितिले केन्द्रीय समितिमा ७ जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार नाम टुंगो लगाउने जनाएको छ ।

विमानस्थलबाट ५० ग्राम सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । भन्सार छलेर ल्याएको ५० ग्राम सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–११ का २३ वर्षका पुरुषोत्तम शर्मा पक्राउ परेका हुन् । उनको साथबाट ५० ग्राम तौलको सुनको ब्रासलेट बरामद भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शर्मालाई विमानस्थल भन्सार कार्यालय गौचरणमा पठाइएको छ ।

अझै भेटिएनन् कर्णाली पुलबाट हामफालेका युवा

काठमाडौं । कर्णाली पुलबाट हामफालेका एक युवा अझै फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका एक व्यक्ति फेला नपरेका हुन् ।  होलीको दिन हाम फालेका ती व्यक्ति खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको छ । ७ नम्बर वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक (सई) को कमाण्डमा ७ जनाको गोताखोर टोली प्रहरी साढे २ बजे देखि घटनास्थलमा परिचालन भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्दं थापाले जानकारी दिए ।  सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षका लोकेन्द्र शाही अहिलेसम्म पनि वेपत्ता छन् । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार फोटा खिच्न भन्दै युवाहरुको समूह कर्णाली पुलमा पुगेको थियो । तर पछि उनीहरु एक पछि अर्को गर्दै नदीमा हाम फालेका थिए । उनीहरु हाम फालेको भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाइरल भएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । रुपन्देही र मोरङबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  रूपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको गैडहवा गाउँपालिका ८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । रामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस्तै मोरङमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ग्रामथान गाउँपालिका ६ झौवाबनी बस्ने ५५ वर्षीय सन्तलाल धामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धामीले ती महिलालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

हराएका २० वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं । विभिन्न मितिमा हराएका २० वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सोही कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १८ वटा मोटरसाइकल र २ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, बौद्ध, गौशाला, सुन्धारा, माछापोखरी, स्वयम्भू, चापागाउँ, बुङ्गमती लगायतका स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।  चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले आज बुझाइएका २० वटा सहित २ सय ८५ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रूपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सोही कार्यक्रममा जानकारी दिए । चालु आर्थिक वर्षको हालसम्म चोरीका २४ वटा दुईपाङ्ग्रे सवारी साधन सहित संलग्न २९ जनालाई पनि कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।  सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।  

काङ्ग्रेसको गैसस विभाग प्रमुखमा डाक्टर रावल

काठमाडौं । नेपाली काङ्ग्रेसले गैर सरकारी संस्था समन्वय विभागमा प्रमुख तथा सदस्यहरू मनोनयन गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी गैर सरकारी संस्था समन्वय विभागमा प्रमुख र सदस्यहरू मनोनयन गरेका हुन् ।  नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. रणबहादुर रावल प्रमुख सहितका सदस्यहरु मनोनयन गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  मनोनयन भएका सदस्यहरूमा डिल्लीराम गिरी, मोरङ, परमेश्वर महासेठ , धनुषा, सकुन्दराज आर्याल, काठमाडौं, प्रल्हादवावु पन्त, गोरखा र यज्ञश्वर पौडेल, कास्की रहेका छन् । यस्तै अन्य सदस्यहरुमा चूर्णबहादुर चौधरी, दाङ, भैरवबहादुर विष्ट, वर्दिया, तिलकबहादुर मल्ल, मुगु, अम्बीकुमारी थापा, अछाम र उत्तमराज जोशी, कैलाली रहेका छन् । 

मेयर हमलाकी छोरी भारतबाट सम्पर्कविहीन

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छन् । नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी जानकारी गराएका छन् । ओशो साधना आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालले जनाएका छन् ।  छोरी बेपत्ता भएको बारे उनको साथबाट खबर आएको भन्दै नगर प्रमुख हमालले गोवा बस्ने शुभचिन्तक, दाजुभाई र दिदिबहिनीहरुले खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् । मेयर हमालले राखेको स्टाटसः  मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु । साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले मोबाईल न. 9794096014 / 8273538132/ 9389607953 सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।

दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड ए माथि नेपालको जित

काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । यो सँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज पनि जितेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रनमा आउट भए । नेपालका सोमपाल कामी र कुशल मल्लले ३ ३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले १ १ विकेट लिए । त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्रामक इनिङ खेले । नेपालले ओपनर आसिफ शेखलाई ११ रनमा गुमाएको थियो । अर्का ओपनर कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ तथा तेस्रो नम्बरका ब्याटर अनिल शाह १२ रनमा क्याच आउट भए । सन्दीप जोराले १० बलमा १० बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए । कप्तान रोहित पौडेलले २४ बला ५ चौकासहित ३३ रनमा आउट हुँदा विवेक यादव ७ नट आउट रहे । आयरल्यान्ड ए का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । यसपछि नेपालको सिनियर टोली भारतमा त्रिकोणात्मक टी २० सिरिज खेल्न जानेछ ।

नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य

काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी २० अभ्यास खेलमा आयरल्यान्ड  ‘ए’लाई १९९ रनको चुनौती दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनापछि आयरल्याण्ड ‘ए’ लाई १९९ को चुनौती दिएको हो । नेपालका गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाए । चौथो विकेटका लागि गुलशन र रोहित पौडेलले ७१ रनको साझेदारी गरेका थिए । कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्रामक इनिङ खेले । नेपालले ओपनर आसिफ शेखलाई ११ रनमा गुमाएको थियो । अर्का ओपनर कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ तथा तेस्रो नम्बरका ब्याटर अनिल शाह १२ रनमा क्याच आउट भए । सन्दीप जोराले १० बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए । कप्तान रोहित पौडेलले २४ बला ५ चौकासहित ३३ रनमा आउट हुँदा विवेक यादव ७ नट आउट रहे । आयरल्यान्ड ए का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले एक एक विकेट लिए । जवाफी व्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ले दुई ओभरमा विना विकेटको क्षतिमा २४ रन बनाएको छ ।  नेपाल पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । यसपछि नेपालको सिनियर टोली भारतमा त्रिकोणात्मक टी २० सिरिज खेल्न जानेछ । नेपालले बरोडा र गुजरातसँग सिरिज खेल्नेछ । आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’सँग समान तीन टी २० र एकदिवसीय अभ्यास खेलको सिरिज पनि खेल्नेछ ।

आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल  ६ विकेटको क्षतिमा १७४ रन

काठमाडौं। आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।  जारी खेलमा १७ ओभरमा ६ विकेटको क्षतिमा १७४ रन बनाएको छ । मल्लले १२ बलमा ३४ रन बनाएका आउट भएका छन् । अहिले क्रिजमा सन्दीप जोरा र विवेक यादव  क्रिजमा छन् ।

अध्यागमन कर्मचारीलाई गृहमन्त्रीको निर्देशन-  'विदेश जाने श्रमिकलाई अभद्र व्यवहार नहोस्'

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अध्यागमन विभागका कर्मचारीहरूलाई मंगलबार निर्देशन दिँदै विगतका गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन्। कालिकास्थानस्थित अध्यागमन विभागमा पुगेर गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धानिदिने श्रमिकहरूलाई अभद्र व्यवहार नगर्न भनेका हुन्।  ‘रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्नुस्’, उनले भने, ‘सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउनुस्।’ लामिछानेले विदेशीका लागि अध्यायमन देशको मुहार रहेको बताउँदै त्यसमा ख्याल राख्न भनेका छन्। ‘मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन’, उनले भने, ‘अध्यागमन सुधारका योजना ल्याउनुस्। तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ। म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु।’ कर्मचारीवृत्तमा केही खराब मान्छेका कारण इमान्दारले दोष पाउने गरेको उनले बताए। ‘केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेका छन्। खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्छ’, उनले अगाडि भने।  गृहमन्त्रीले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउनु आवश्यक रहेको बताए। ‘अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्छ’, उनले भने, ‘जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती छन्। तर, प्रयास जारी राख्नुपर्छ।’  उनले विगतमा भएका घटनामा आफूले कसैलाई दोष नदिने बताउँदै अब त्यस्ता गल्ती दोहोरिन नहुने उल्लेख गरे।‘हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न। भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुन्न,’ उनले भने, ‘दलीय आवद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला।’  कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए। विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे गृहमन्त्री र सचिवलाई ब्रिफिङ गरेका थिए। 

पराराष्ट्रमन्त्री श्रेष्ठ र विदेशीमन्त्री यीबिच आज भेटवार्ता हुँदै

बेइजिङ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार चिनियाँ विदेशीमन्त्री वाङ यीसँग भेटवार्ता हुने भएको छ।  विदेशमन्त्री वाङ यीको निम्तोमा एक साता लामो भ्रमणका सोमबार बिहान बेइजिङ पुगेका श्रेष्ठले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्न लागेका हुन् ।  विदेशमन्त्री वाङ यीसँगको भेटमा यसअघि नेपालसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा र चीनको विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)परियोजना कार्यान्वयनको विषयमा छलफल हुने बताइएको छ ।नेपालले सन् २०१७ मेमा बीआरआई परियोजनामा हस्ताक्षर गरेपछि नौ वटा परियोजनामा काम गर्ने प्रस्तावमा छलफल गरे पनि हालसम्म कुनै परियोजना अगाडि बढेको छैन ।  यसपटक चीनले नेपालसँग कुनै एक परियोजना सुरुवात गर्ने चाहना राखेको छ । त्यसका लागि परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबिच हुने छलफल पछि प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।   वाङ यीसँगको भेटमा बीआरआई परियोजनाबारेमा बढी छलफल हुनेछ । बेइजिङस्थित नेपाल दूतावासका अनुसार छलफल यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सम्झौताका बुँदाहरूमा समेत छलफल हुनेछ ।    यसअघि, सोमबार परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य वाङ हुनिङसँग भेटवार्ता गरेका थिए । भेटमा गत ६ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा भएका सहमतिपछि भएका प्रगति र चीनको विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ९बीआरआई० परियोजना कार्यान्वयनको विषयमा छलफल गरिएको थियो ।  वाङ चिनियाँ कम्युनिस्ट पार्टीका सात सदस्यीय स्थायी समितिका पाँचौँ नम्बरका सदस्य हुन् । उनी चिनियाँ सरकारको सल्लाह दिने चिनियाँ पिपुल्स पोलिटिकल कन्सल्टेभिक कन्फरेन्स (सीपीपीसीसी)का अध्यक्ष समेत हुन् । चीन र नेपालबिच भएका सहमतिहरूलाई कार्यान्वयन पक्षमा अगाडि बढाउन र नेपालको विकास साझेदारीमा चीनको साथ सहयोग रहने उनले प्रतिबद्धता जनाएका छन् ।