चरेससहित दुर्इ जना पक्राउ

रोल्पा । माडीगाउँपालिका– २ घर्तीगाउँबाट आइतबार बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागुऔषध बरामद गरेको बताइएको छ । चरेश भेटिएको ठाउँ इलाका प्रहरी कार्यालय घर्ती गाउँदेखि १० मिनेटको दूरीमा छ ।

थवाङ गाउँपालिका– ३ मिरुलका २२ वर्षीय शेरबहादुर बुढा र २२ वर्षीय प्रश्न बुढा मगरले शंकास्पद काम गरेको आशंकामा आज बिहान ३ः३० बजे छापा मार्दा लुकार्इ राखिएको ५० किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

एघार विमानस्थलको कमाइमात्रै करोडमाथि

काठमाडौँ । देशभर सञ्चालनमा रहेका कुल २९ विमानस्थलमध्ये ११ वटा विमानस्थलको मात्रै कमाइ रु एक करोडभन्दा माथि छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ वटा विमानस्थलको कमाइ कम हुँदा सञ्चालन खर्च चलाउन समेत नपुग्ने अवस्थामा रहेको छ । सरकार र राजनीतिक दलले मुलुकका विभिन्न स्थानमा नयाँ विमानस्थल खोल्ने तयारी गरिरहेका बेला सञ्चालनमा रहेका विमानस्थलको कमाइ नै कमजोर देखिएको हो । सञ्चालनमा नै रहेका विमानस्थलको कमाइ न्यून हुँदा सरकारलाई ती विमानस्थल सेतो हात्तीका रुपमा पालिराख्नुपर्ने बाध्यता आइलागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमाइले नै अधिकांश विमानस्थल सञ्चालन गर्नुपर्ने र अन्य कामसमेत गर्नुपर्ने अवस्था देखिएको छ । प्राधिकरणले सार्वजनिक गरेको सन् २०१७ को प्रतिवेदनका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रु छ अर्ब ६२ करोड ८१ लाख २० हजार ६४ आम्दानी गरेको छ । चन्द्रगढी विमानस्थलले रु दुई करोड १९ लाख ६० हजार कमाइ गरेको छ । यस्तै विराटनगर विमानस्थलले रु पाँच करोड ६४ लाख ७७ हजार ७९७, तेन्जिङ हिलारी विमानस्थलले रु एक करोड ८६ लाख ९८ हजार ५७६, सिमराले रु एक करोड २३ लाख ३९ हजार २३२, भरतपुर विमानस्थलले रु दुई करोड, ३८ लाख १४ हजार १४ हजार ८८, पोखरा विमानस्थलले रु ६ करोड ३९ लाख १९ हजार ५०७, गौतमबुद्ध विमानस्थलले रु तीन करोड ७३ लाख ५१ हजार ७०६ कमाइ गरेका छन् । प्राधिकरणका अनुसार नेपालगञ्ज विमानस्थलले रु चार करोड ५६ लाख ९६ हजार २३९, सिमीकोटले रु एक करोड, ५४ हजार ११४, धनगढी विमानस्थलले रु एक करोड २१ लाख ११ हजार कमाइ गरेका छन् । प्राधिकरणका अनुसार थामखर्क विमानस्थलले रु १४ हजार ३४६ मात्रै कमाइ गरेको छ । चितवनको मेघौली विमानस्थलले रु २१ हजार ९७७ कमाइ गरेको छ । लामो समयदेखि व्यस्त मानिने जुम्ला विमानस्थलको कमाइ पनि रु आठ लाख ७६ हजार ८१० मात्रै कमाइ गरेको छ । भोजपुर विमानस्थलले रु १२ लाख कमाइ गर्दा लामीडाँडा विमानस्थलले भने रु ८६ हजारमात्रै आम्दानी गरेको छ । व्यस्त रहने जनकपुर विमानस्थलको कमाइसमेत रु ६१ लाखमा सीमित भएको छ । रामेछाप विमानस्थलको रु पाँच लाख ४० हजार ४६१, तुम्लिङ्टार विमानस्थलको रु २२ लाख २० हजार ५३३, रुम्जाटारले रु एक लाख २८ हजार ११७ मात्रै आम्दानी छ । मनाङको विमानस्थलले रु एक लाख २४ हजार ८५४, सुर्खेत रु ४८ लाख ९५ हजार ४६३, रुकुम सल्ले रु एक लाख ४३ लाख ७४१, रुकुम चौरजहारी रु एक लाख ११ लाख १०६, डोल्पा रु चार ८० हजार ३०८, बाजुरा विमानस्थलको रु छ लाख १७ हजार ८९८ कमाइ छ । रारा विमानस्थलले रु १७ लाख ३६ हजार ८२ कमाइ गर्दा फाप्लु विमानस्थलले रु २६ लाख ९० हजार आम्दानी गरेको छ । प्राधिकरणले गत पुसको अन्तिम सातादेखि दाङको टरिगाउँ विमानस्थल सञ्चालनमा ल्याएको छ । निकट भविष्यमा नै बागलुङको बलेवा विमानस्थल पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । सप्तरीको राजविराजमा रहेको विमानस्थल पनि सञ्चालनमा ल्याउने तयारीमा छ । यस्तै प्रदेश नं ७ को कञ्चनपुर, बैतडीको गोकुलेश्वर विमानस्थल पनि सञ्चालनमा ल्याइने तयारीमा छ । कालीकोट, ओखलढुंगाको खिजी चण्डेश्वरी, गुल्मीको सिमीचौर, इलामको सुकीलुम्बा, अछामको कमलबजार, अर्घाखाँची र लम्जुङमा समेत विमानस्थल निर्माणमा रहेका र निकट भविष्यमा नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । कालीकोट विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भई गत वर्ष नै परीक्षण उडानसमेत भइसकेको छ । अरु विमानस्थल निर्माणको क्रममा छन् । सञ्चालनमा रहेकामध्ये २९ वटा विमानस्थल कालोपत्र छन् । लामीडाँडा, थामखर्क, राजविराज, डोटी दिपायल, बैतडी र साँफेबगर विमानस्थल कालोपत्र गर्ने क्रम जारी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले अन्तर्राष्ट्रिय विमानस्थल र अरु केही विमानस्थलमात्रै सञ्चालन नाफामा रहेको र धेरैजसो विमानस्थल घाटाको व्यापार गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय विमानस्थलको कमाइले मात्रै अरु विमानस्थल सञ्चालन गर्नुपरेको छ । त्यसले आर्थिक रुपमा समेत असन्तुलन कायम गरेको छ ।” विमानस्थल निर्माणको माग बढ्दै गएको र सञ्चालनमा समेत घाटा व्यहोर्नुपरेपछि प्राधिकरण पनि के गर्ने भन्ने मेसो पाउन सकेको छैन । राजनीतिक दबाबका आधारमा निर्माण हुने र सञ्चालन गर्नुपर्ने बाध्यतालाई प्राधिकरणले नकार्न सकेको छैन । प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले पूँजीगत लगानीका आधारमा सञ्चालनमा रहेका धेरै विमानस्थलले नाफा कमाउने सम्भावना नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय विमानस्थल सामाजिक उत्तरदायित्वका हिसाबले मात्रै चलिरहेका छन् । नाफाभन्दा पनि सेवामूलक ढंगले मात्रै चलिरहेका छन् ।” सरकारले जनतालाई सेवा दिने लक्ष्यका साथ सञ्चालनमा ल्याएका विमानस्थलको दायित्वसमेत प्राधिकरणको काँधमा रहेको उहाँको भनाइ छ । हाल पोखरा, गौतमबुद्ध विमानस्थल निर्माणका क्रममा छ ।

महोत्सवमा ज्योति मगरलार्इ निषेध

कास्की । कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले प्रादेशिक औद्योगिक व्यापार मेलामा लोकदोहोरी गायिका ज्योति मगरलाई प्रवेश गर्न नदिने भएको छ । ज्योति मगरको गतिविधिले नेपाली लोकसंस्कृतिमै विकृति ल्यायो भन्दै आयोजकले निषेध गर्ने निर्णय गरेको बताइएको छ । लेखनाथ डाँडाको नाकमा भोलिदेखि २२ गतेसम्म हुने १४ औं संस्करणको महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले ज्योति मगरलाई निषेध गरेको बताए । मेलाले लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास एवम् समृद्धि हुने विश्वास र उद्देश्यका साथ महोत्सव आयोजना गरिएको भन्दै बिकृती फैलाउने कलाकारलाई निषेध गरेको आयोजकले बताएका छन् । आयोजकका अनुसार महोत्सवका आकर्षणमा औद्योगिक व्यापार मेला अवलोकनका साथै विभिन्न परिकारको स्वादमा रमाउँदै हस्तकलाका समान, स्थानीय रुपमा उत्पादन, राष्ट्रिय कलाकारका मनोरञ्जनात्मक प्रस्तुती रहने छन्।

डुबेर एकैघरका दुईजनाको मृत्यु

तुलसीपुर । पौडी खेल्ने क्रममा आज अपरान्ह तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्क नजिक रहेको पातुखोलामा डुबेर एकैघरका दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश साप्पकोटाले दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–११ हिउल्चाका लोकेन्द्र कवरका १२ वर्षीय छोरा राजकुमार कवर र १० वर्षीय कुमार कवर छन् । उनीहरू आजमात्रै सल्यानबाट दाङ आएका थिए ।

डुबेर एकैघरका दुईजनाको मृत्यु

तुलसीपुर, दाङ, १० माघ (रासस) ः पौडी खेल्ने क्रममा आज अपरान्ह तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्क नजिक रहेको पातुखोलामा डुबेर एकैघरका दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश साप्पकोटाले दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–११ हिउल्चाका लोकेन्द्र कवरका १२ वर्षीय छोरा राजकुमार कवर र १० वर्षीय कुमार कवर छन् । उनीहरू आजमात्रै सल्यानबाट दाङ आएका थिए ।

महानगरका १६ स्थानमा सिसी क्यामेरा जडान

काठमाडाैं । काठमाडौँ महानगरपालिका वडा नं १० का विभिन्न स्थानमा आजदेखि सिसी क्यामेरा प्रयोगमा ल्याइएको छ । आज यहाँ आयोजित एक कार्यक्रमकाबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गर्नुभएको हो । वडा कार्यालय रहेको स्थानको एक किलोमिटर वरपर १६ स्थानमा क्यामेरा जडान गरिएको हो । कामपाको वडा नं १० मैतीदेवी सेतोपुलदेखि शङ्खमुलसम्मलाई लिइन्छ भने वडा कार्यालय रत्नराज्य विद्यालय नजिक रहेको छ । सो अवसरमा कामपाका प्रमुख शाक्यले सुरक्षाको दृष्टिकोणले सिसी क्यामेरा अत्यन्तै आवश्यक रहेको भन्दै निकट भविश्यमै कामपाको सबै स्थानमा क्यामेरा जडान गर्ने बताउनुभयो । एक महिनाअघि जडान गरी केहीलाई परीक्षणका रुपमा राख्दा अत्यन्तै उपयोगी पाइएपछि आजदेखि पूर्ण रुपमा प्रयोगमा ल्याइएको उक्त वडाका वडाध्यक्ष रामकुमार केसीले जानकारी दिनुभयो । वडाध्यक्ष केसीले वडाका चार स्थानमा निःशुल्क वाइफाईको पनि व्यवस्था गरिएको र अन्य केही स्थानमा पनि राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । सिसी क्यामरा जडानपछि विशेषगरी रातिको समयमा घट्ने विभिन्न किसिमका चोरी, सडक दुर्घटना, महिलामाथि हुने नकारात्मक व्यवहार जस्ता घटनामा कमी आउने विश्वास वडा कार्यालयले लिएको छ । यस्ता घटनामा कमी आए अन्य स्थानमा पनि सिसी क्यामेरा जडान गरिने बताइएको छ ।

हिमपातका कारण राजमार्ग अवरुद्ध

हेटौँडा । त्रिभुवन राजपथको दामन र सिमञ्ज्याङमा आज दिउँसो पानीसँगै बाक्लो हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको छ । अहिले पनि सो स्थानमा हिउँ परिरहेको र अहिले बाटोमा दुई फिट हिउँ जमेकाले हेटौ‌डाबाट काठमाडौ आउँदै गरेका र काठमाडौँबाट हेटौँडा जाँदै गरेका सवारीसाधन दामन र सिमभञ्ज्याङमै रोकिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । यसैबीच, राजमार्गमा रहेको हिउँ हटाउन हेटौँडाबाट प्रविधिज्ञसहित नून र बालुवा त्यतसर्फ पठाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभयो । मौसममा सुधार आए राति ११ बजेसम्म यातायात सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

निर्वाचनसँगै मुलुकले विकासको मुहार फेर्छ : नेताहरु

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले निर्वाचनसँगै मुलुकले विकासको मुहार फेर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता नारायणप्रसाद साउदले संविधानबमोजिम निर्वाचन हुँदै गएकाले अब मुलुकले विकासको मुहार फेर्ने बताउनुभयो । पूर्वमन्त्री साउदले संविधानमा भएका कुरालाई लागू गर्दै जाँदा क्रमशः संविधान कार्यान्वयन हुँदै जाने उल्लेख गर्नुभयो । उहाँले जनताले दिएको जनादेशअनुसार काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने स्पष्ट पार्नुभयो । नेकपा एमालेका नेता शेरधन राईले निर्वाचनले क्रमशः राजनीतिक एजेण्डा सकिँदै गएकाले अब विकास र समृद्धिको एजेण्डालाई राजनीतिक दलले पछ्याउने बताउनुभयो । उहाँले पार्टी एकताबारे नीतिगत र वैचारिक विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच छलफल भइरहेको जानकारी गराउँदै चाँडै नै पार्टी एकता हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले मुलुकलाई आर्थिक विकासमा लैजानका लागि संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । “संविधानमा धेरै कुरा छुटेका छन् त्यसलाई समावेश गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो । नेता यादवले प्रदेश नं २ मा राजपा र मधेशी जनअधिकार फोरम नेपालबीचको सरकार बन्ने भन्दै मुख्यमन्त्री कसलाई बनाउने भन्ने बारेमा दुई पार्टीमा छलफल भइरहेको स्पष्ट पार्नुभयो ।

भूपू सैनिक सम्मेलन माघ दोस्रो सातादेखि

काठमाडौं । १० माघ नेपाली सेनाले प्रदेश नं १, २ र ३ अन्तर्गतका विभिन्न जिल्लामा यस वर्षको भूपू सैनिक सम्मेलन यही माघको दोस्रो सातादेखि गर्ने भएको छ । सम्मेलनको क्रममा भूपू सैनिक र बहालवाला सैनिकका परिवारजनलाई लक्षित गरी बृहत् स्वास्थ्य शिविर सञ्चालन हुनका साथै भूपू सैनिक परिचयपत्र र निवृत्तिभरण कार्ड वितरण एवं कानूनी परामर्श सेवा प्रदान गरिने नेपाली सेनाले जानकारी दिएको छ । लघुवित्त कार्यक्रमका ऋणीलाई चेक हस्तान्तरण, सर्वोत्कृष्ट लघुवित्त व्यवसायीलाई पुरस्कार, ज्येष्ठ भूपू सैनिक तथा एकल महिलाको सम्मान तथा बहालवाला र भूपू सैनिकका अशक्त आश्रितलाई सम्मेलनका अवसरमा ह्विलचियर प्रदान गरिनेछ । प्रत्येक दुई वर्षमा हुने उक्त सम्मेलनको प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गर्नुहुनेछ । सम्मेलनमा सैनिक नेतृत्वबाट भूपू सैनिकका पीरमर्का र गुनासो सुनेर कल्याणकारी सेवालाई समयानुकूल बनाउन कोसिस गर्ने परम्परा रहिआएको छ । नेपाली सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको संयोजकत्वमा आयोजित सम्मेलनमा भूपूका अतिरिक्त पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिला, आश्रित र बहालवाला सैनिकका परिवारका सदस्यको सहभागिता रहनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकले नेपाली सेनाको कल्याणकारी बोर्डको सहकार्यमा भूपू सैनिक र तिनका आश्रितलाई सहुलियत ब्याजदरमा लघुवित्त कार्यक्रमका लागि ऋण प्रदान गर्दै आएको छ । उक्त कार्यक्रमबाट धेरै भूपू सैनिक लाभान्वित भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मुलुकमा भूपू सैनिकको संख्या करिब ६८ हजार छ । विश्वशान्ति स्थापनाका लागि द्वन्द्वरत मुलुकमा खटिएका शान्ति सैनिकले प्राप्त गर्ने भत्ताबाट कटौती भएको रकमबाट सञ्चालित सैनिक कल्याणकारी कोषमा हाल करिब रु ४० अर्ब रकम रहेको छ । उक्त रकमको ब्याजबाट नेपाली सेनाले भूपू सैनिकलगायतका हितकारीलाई विभिन्न सहयोग र राहतका कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । सम्मेलनका क्रममा भूपू सैनिकबाट परेड प्रस्तुत गर्नुका साथै आ–आफ्नो क्षेत्रको वेशभूषा झल्कने सांस्कृतिक कार्यक्रम र गीत संगीत प्रस्तुत हुनेछ । प्रदेश नं ३ को सिन्धुलीको ठूलीटार ब्यारेकमा माघ १७ र १८ गते आयोजना हुने सम्मेलनमा सिन्धुली, रामेछाप र दोलखामा बसोबास गरी सोही क्षेत्रको बैंकबाट निवृत्तिभरणको रकम बुझिरहेका भूपू सैनिक तथा परिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिको सहभागिता रहने छ । चितवनको भरतपुर ब्यारेकमा माघ २० र २१ गते हुने सम्मेलनमा चितवन र मकवानपुरका तथा नुवाकोटको त्रिशूली ब्यारेकमा २२ र २३ गते आयोजना हुने सम्मेलनमा धादिङ, नुवाकोट र रसुवामा रहे बसेका भूपूको सहभागिता हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रदेश नं २ को मध्य पूर्वी पृतना मातहतको धनुषास्थित महेन्द्रनगर ब्यारेकमा फागुन १० र ११ गते हुने सम्मेलनमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा बसोबास गर्ने भूपू सैनिकको सहभागिता रहने छ । त्यस्तै, प्रदेश नं १ को पूर्वी पृतनाअन्तर्गत सुनसरीस्थित इटहरी ब्यारेकमा फागुनको २४ र २५ गते हुने सम्मेलनमा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर र ताप्लेजुङ तथा धनकुटाको हिले ब्यारेकमा फागुन २५ र २६ गते आयोजना हुने सम्मेलनमा धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका भूपू सैनिकको सहभागिता रहने छ । उदयपुरको भुल्चे ब्यारेकमा फागुन २६ र २७ गते उक्त सम्मेलन हुने नेपाली सेनाले जनाएको छ ।

खाद्यान्नको गुणस्तर परीक्षण गरिने

काठमाडौँ । नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने योजना बनाएको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका विभागीय प्रमुख शंकर सापकोटाले जानकारी दिनुभयो । भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण सम्पन्न भइसकेको छ भने दूतावासले सो भवन दुई महिनाअघि संस्थानलाई हस्तान्तरण गरिसकेको छ । सो भवन रु पाँच करोडको लागतमा निर्माण गरिएको हो । हालसम्म खाद्यान्नको गुणस्तर परीक्षण गर्ने काम खाद्य प्रविधि तथा गुणनियन्त्रण विभाग एक्लैले गर्दै आएको छ । खाद्य संस्थानमा बन्ने उक्त खाद्य प्रयोगशालाले सरकारबाट अख्तियारी प्राप्त भएमा माछा, मासु, पाउरोटी र अन्य खाद्य सामग्री परीक्षण गर्ने तथा सार्वजनिक सरोकारका विषय हेर्ने योजना बनाइरहेको सापकोटाले बताउनुभयो । मेसिन, जनशक्ति तथा प्रविधिको व्यवस्थापन कार्य बाँकी नै रहेको छ र उक्त व्यवस्था यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । आपूर्ति मन्त्रालयको नीति र निर्देशनअनुसार प्रयोगशालाको व्यवस्थापन तथा कार्यसम्पादन हुनेछ । संस्थानले यसवर्ष दुई लाख ७६ हजार क्विन्टल चामल खरिद गर्ने लक्ष्य लिएको छ । हालसम्म ७० हजार क्विन्टल चामल खरिद गरिसकेको कार्यालयले जनाएको छ । यसवर्ष जापानबाट ५१ हजार क्विन्टल चामल प्राप्त हुने र दुर्गम तथा अत्यावश्यक स्थानमा पठाउने योजना संस्थानले गरिरहेको सापकोटाको भनाइ छ ।

प्रधानमन्त्री देउवाले गरे स्काउट संरक्षकको दीक्षा ग्रहण

काठमाडौं, माघ १० । प्रधानमन्त्री शेरबहादुर देउवाले स्काउट दीक्षा ग्रहण गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार आयोजित एक समारोहकाबीच प्रधानमन्त्री देउवाले नेपाल स्काउटको संरक्षकको दीक्षा लिएका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरुप स्काउट प्रतिज्ञा स्व वाचन गरी दीक्षा ग्रहण गरेका थिए । नेपाल स्काउट ऐन, २०५० बमोजिम नेपाल स्काउटको संरक्षकको रुपमा प्रधानमन्त्री रहने व्यवस्था छ । दीक्षा ग्रहण पछि प्रधानमन्त्री देउवाले स्काउटले एक स्वयंसेवी संस्थाको रुपमा असल कार्य गरी रहेको बताए । स्काउटले निस्वार्थ काम गरेको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने “यस संस्थाको विकास भएमा युवाहरुको सर्वाङ्गीण विकासमा महत्वपूर्ण हुने र दश लाख स्वयंसेवी परिचालन गर्न सरकारले लिएको लक्ष्य सजिलै पूरा हुनेछ” । प्रधानमन्त्रीको दीक्षा कार्यक्रममा नेपाल स्काउटका प्रमुख स्काउट समेत रहेका युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, युवातथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव महेश दाहाल सहित नेपाल स्काउटका राष्ट्रिय संयोजक चन्दन कौशिक, वर्तमान तथा पूर्व पदाधिकारीहरु एवं वरिष्ठ स्काउट सदस्य र कर्मचारीहरु उपस्थित थिए । विसं २००९ सालमा नेपालमा यस संस्थाको स्थापनागरिएको थियो । हाल नेपाल स्काउटमा ६० हजारको संख्यामा सदस्य रहेका छन् । युवा तथा विद्यार्थीहरुलाई आत्मनिर्भर, आत्मसक्षम, नैतिकवान, चरित्रवानएवम् अनुशासितबनाई समाज र राष्ट्रको समुन्नतविकासमा योगदानदिनसक्ने नागरिक तयार गर्ने उद्देश्यले नेपाल स्काउट अगाडी बढि रहेको कुरा राष्ट्रिय संयोजक कौशिकले बताए । सन् १९०७ मा बेलायती नागरिक लर्ड वेडेन पावेलले स्काउट नामक स्वयंसेवी संस्थाको शुरुवात गरेका थिए । हाल विश्वका २ सय भन्दा बढी देशमा यसको सञ्जाल फैलिएको छ भने विश्वभर ५ करोडको हाराहारीमा सदस्यहरु रहेका छन् ।

कृषिप्रधान देशमा ३० प्रतिशत माछा भारतबाट आयात हुनु दुःखद्

कैलाली । कैलालीमा अहिले पनि ठूलो संख्यामा माछा आयात हुने गरेको छ । जिल्ला माछामा आत्मनिर्भर नहुँदा भारतबाट ठूलो मात्रामा माछा आयात हुने गरेको हो । सरकारले माछा पालक कृषकलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याउन नसक्दा कृषकको आकर्षण पनि यसतर्फ खासै बढ्न सकेको छैन । जसले गर्दा, अहिले पनि माछाको लागि भारतकै भर पर्नु परिरहेको छ। निजीस्तरबाट हृयाचरी वृद्धि नहुनु, दाना तथा प्रविधि अभावलगायत कारणले गर्दा अझै पनि भारतबाट यस क्षेत्रमा ठूलो संख्यामा माछा आयात भइरहेका हो । प्रदेश नं.७ मा सबैभन्दा बढी कैलाली–कञ्चनपुरमा माछा उत्पादन हुन्छ । तर, यी दुई जिल्लामा उत्पादन भएको माछा यो प्रदेशका लागि पर्याप्त छैन । अहिले कैलाली–कञ्चनपुरमा निजी तथा सरकारी गरी जम्मा ६ वटामात्रै हृयाचरी छन् । यति थोरै संख्यामा हृयाचरी हुँदा ठूलो संख्यामा भारतबाट यस क्षेत्रमा माछा आयात भइरहेको छ । अहिले कैलालीमा ५० प्रतिशत मत्स्य विकास केन्द्रले र २५ प्रतिशत माछा निजीस्तरबाट उत्पादन भइरहेको छ । अझै बाँकी २५ प्रतिशत माछा भारतबाट आयात भइरहेको मत्स्य विकास केन्द्र कैलालीका मत्स्य विकास अधिकृत सूर्यबहादुर शाहीले बताए । अहिले केन्द्रले हृयाचलिङ, फिङ्गरलिङ र फ्राइ साइजका माछाका भुरा उत्पादन गरिरहेको छ । उभोक्ता तथा व्यापारीको मागअनुसार भने भुरा उत्पादन हुन सकिएको छैन । सरकारले माछापालन गर्ने किसानलाई दिने अनुदान न्यून हुँदा यो क्षेत्रका लागि पर्याप्त माछा उत्पादन गर्न नसकिएको हो । माछामा आत्म निर्भर हुनका लागि दक्ष जनशक्ति, कृषकलाई पर्याप्त अनुदान तथा आधुनिक प्रविधि हुन आवश्यक रहेको मत्स्य विकास अधिकृत शाहीको भनाई छ । कैलालीको गोदावरी नगरपालिकास्थित मत्स्य विकास केन्द्रले यस क्षेत्रका लागि माछाका भूरा उत्पादन गर्दै आएपनि उपभोक्ताको माग धान्न सकेको छैन । जसले गर्दा, यहाँका व्यवसायी तथा उपभोक्ताले भारतबाट आयातित माछामा भर पर्नुपरेको छ ।

OMG ! कीर्तिमान राख्न भन्दै पढाइ छाडेर पर्वतारोहण

सोलुखुम्बुको फोर्चे गाउँका २१ वर्षीय फुरा ग्याल्जेन शेर्पाले सगरमाथा चढ्न थालेको पाँच वर्ष भयो। कक्षा सात पढ्दा पढ्दै उनको ध्यान विद्यालयको पढाइमा भन्दा हिमाल चढेर कीर्तिमान कायम गर्नेतर्फ थियो। “सानैदेखि हिमाल चढ्ने रहर थियो। बुवा र गाउँका ठूला मानिसहरू हिमाल चढेको भनेर फुर्तीसाथ फर्कन्थे। अनि म पनि पढाइ छोडेर त्यतैतिर लागेँ,” उनले भने। पढाइ छोडेर हिमाल चढ्ने यो किशोर हुटहुटी उनको मात्रै होइन। हुटहुटी फोर्चे गाउँका अधिकांश युवाहरू आधारभूत र प्राथमिक तहको पढाइ सकेर आरोहणमा जाने गरेका छन्। फोर्चेका ८५ घरधुरीका ७० भन्दा बढीले आफैँ हिमाल आरोहण गर्ने वा आरोहण गर्ने विदेशीको सहयोगीको काम गर्ने गर्छन्। त्यसरी आरोहणमा काम गर्न विद्यालय छोडेर जाने अधिकांश किशोरहरू छन्। १६ वर्ष कहिले पुगौंला र नागरिकता लिउँला भन्ने ध्याउन्नमा उनीहरू हुन्छन्। नागरिकता नलिइ आरोहणमा जान नपाइने नियम छ। फोर्चेका युवा आरोही ङवाङ तेन्जी शेर्पाले पर्वतारोहणमा आफ्नो आकर्षण हुनुको कारणबारे भने, “शेर्पालाई जहाँ पनि हिमाल चढ्ने भनेर चिनिन्छ। हिमालमा जस्तो आम्दानी अरूमा हुँदैन। त्यही भएर ९ कक्षा पढ्दापढ्दै म ६ हजार फिट माथिसम्म गएँ। १७ वर्षको उमेर पुगेदेखि म नियमित रूपमा सगरमाथा क्षेत्रमा गइरहेको छु।” पेशा फोर्चे गाउँका युवाहरूलाई विद्यालय पुग्नका लागि चार घण्टा पैदल यात्रा गर्नुपर्छ। उनीहरूको घरबाट नजिकै रहेको विद्यालय भनेको खुम्जङ माध्यमिक विद्यालय हो। पहिले पहिले विद्यालयसम्मको पहुँच सहज नहुँदा अघिल्लो पुस्ताले थप शिक्षा पाउन सकेनन्। अहिलेको पुस्तालाई विद्यालय जान टाढा भए पनि उनीहरूसँग विकल्प छ। तर उनीहरूलाई पढाइ सक्न भन्दा आरोहणमा गएर कीर्तिमानी राख्ने आकांक्षा नै धेरै छ भन्छन् गाउँका बुढापाका पनि। संकेत पाका आरोही मिङमार शेर्पाले भने, “हाम्रो जमानामा पढ्न पाइएन। बोल्न त अङ्ग्रेजी नेपाली सबै आउँछ तर लेख्न आउँदैन। त्यही भएर हामी अहिलेका युवाहरूलाई चाहिँ पहिला पढेर अनि आरोहणमा जाउ भन्छौं। उनीहरू मान्दैनन्।” युवाहरू आरोहणमा आकर्षित भइरहँदा उनीहरूको आकांक्षा पूरा गर्न थप सहयोगी गाउँमै खुलेको खुम्बु क्लाईम्विङ सेन्टर भएको छ। उक्त सेन्टरले आरोहणसम्बन्धी तालिम दिन्छ। गाउँघरमै आरोहण तालिम खुलेपछि स्वभाविक रुपमा बढी जसो युवाहरूले तालिम लिएका र त्यही पेशा गर्न थालेका छन्। यसलाई केहीले आफ्नो गाउँको सानका रूमा लिएका छन् त केहीले शिक्षा क्षेत्रमा उनीहरू पछि पर्ने संकेतका रुपमा हेर्ने गरेका छन् ।बीबीसी  

सिमसारका चरामा उतारचढाव : छ प्रजातिका चरा हराए

चितवन । चितवन चराका लागि मुख्य वासस्थान हो । चरा पर्यटनका लागि आकर्षक गन्तव्य मानिन्छ, चितवनलाई । तर यहाँ चराको प्रजातिमा उतारचढाव छ । यो वर्ष चरा अनुगमन गर्दा एकाएक छ प्रजातिका चरा हराए । सबै हाँस प्रजातिका छन् । सिमसारमा बस्ने सिन्दूरे हाँस, फुर्के, हरिहाँस, सुनचुरी, सोइरोपुच्छ्रे र स्वेताखिभौं हाँस फेला परेन । “यी चराले लेउ खान्छन्, विषादीले लेउमा असर गरेको हुनसक्छ, चराविज्ञ टीका गिरी भन्नुहुन्छ, “खोला नदी प्रदूषित भएकाले अन्तै गएको हुनसक्छ ।” उत्तरबाट दक्षिण जाने यी चरा चितवन नाघेर दक्षिण गएको अनुमान उहाँको छ । हालैको अनुगमनमा चितवन निकुञ्ज पूर्वको सिमसारमा आश्रित कूल ४८ प्रजातिका चरा भेटिए । संख्याका हिसाबले हेर्दा सिमसार क्षेत्रमा पाइने चरा ११ हजार ७९१ वटा फेला परे । बर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष सरस्वती सेढाइ घना बस्ती जल प्रदूषण, विषादीको प्रयोग, जलवायु परिवर्तनलगायत कारणले चरालाई असर गरिरहेको दाबी गर्नुहुन्छ । “चरा बचाउनुपर्छ भन्ने चेतना कम छ, चेतनामूलक कार्यक्रम ल्याउनुपर्ने देखिन्छ” सेढाइले भन्नुभयो, पारिस्थितिक प्रणालीलाई कायम राख्न त चराको पनि महत्वपूर्ण भूमिका हुन्छ नि ।” अहिलेको अनुगमनमा सिलसिले र चखेवा मात्रै बढेको पाइन्छ । २०७३ सालमा अनुगमनमा चितवनमा ५४ प्रजातिका चरा भेटिएका थिए । त्यो बेला सिमसार क्षेत्रभरि गरेर कूल १० हजार ३२ चरा अभिलेख गरिएको थियो । २०७२ सालमा पानीमा आश्रित चरा ५० प्रजातिका थिए । उक्त समयमा कूल ११ हजार २६० वटा चरा फेला परेका छन् । २०७१ सालको तथ्यांकमा ४७ प्रजातिका चरा फेला परेका थिए । संख्या घटबढभन्दा पनि प्रजाति नै हराउनु ठूलो संकट हो । यो समयमा जाडो छल्न चरा नेपाल आउने गर्छन् । बाहिरबाट झण्डै १५० प्रजातिका चरा जाडो छल्न आउने गरेका छन् । जसमा हाँस प्रजाति मात्रै २२ भन्दा बढीका हुन्छन् । त्यसैले यही समयमा चराको अनुगमन हुन्छ । बसाइँ सरेर आउने १५० मध्ये जल क्षेत्रमा बस्ने ५० भन्दा बढी प्रजाति छन् । सगरमाथा नाघेर चरा नेपाल आएका छन् । पछिल्लो चार वर्षको तथ्यांक हेर्दा चरामा उतारचढाव देखिन्छ । चार वर्षदेखि बढ्दो क्रममा रहेको चरा यसपालि ह्वात्तै घटेर पुरानै अवस्थामा पुग्यो । अहिलेको अवस्थाले त्यती नराम्रो नभइसके पनि संकेत भने नराम्रो गरेको बताउनुहुन्छ, सोसाइटीका पूर्वअध्यक्ष तथा चराविज्ञ वासु विडारी । मुख्य गरी नदीमा ढल हाल्ने, प्रदूषणलगायत कारणले समस्या परेको उहाँको ठम्याइ छ । प्रकृतिसँगै चराको वासस्थान विनास तथा जलवायु परिवर्तनका कारण चराको अवस्थामा वार्षिक उतारचढाव आइरहेको छ । पक्षीविद् संघ नेपालका अध्यक्ष डा हेमसागर बराल पनि चरामा उतारचढाव भइरहेको बताउनुहुन्छ । घट्दो क्रमलाई कसरी रोक्ने भन्नेमा सरकारी ध्यान पुग्न नसकेको उहाँको तर्क छ । उहाँका अनुसार वासस्थान विनास, आहारा प्रजातिमा विभिन्न समस्यालगायत कारणले चरा संरक्षणमा चुनौती थपिँदो छ । चितवनमा पाइने चरामध्ये करिब ६० प्रतिशत जल क्षेत्र र निकुञ्ज आसपासमा भेटिन्छन् । नेपालमा ८८७ प्रजातिका चरा पाइनेमध्ये अधिकांश चितवनमा पाइन्छ । पछिल्लो तथ्यांकअनुसार चितवनमा ६३३ प्रजातिका चरा छन् । चराको संरक्षण र अनुसन्धानमा भने नेपालमा खासै काम हुन नसकेको भन्दै चरा विज्ञको गुनासो छ । यसपालि निर्वाचित सांसदलाई पनि चरा अनुगमनको प्रतिवेदन बुझाउने योजना चरा विज्ञको छ ।

महोत्तरीमा २४ दिनपछि झलमल्ल घाम, हुम्लामा व्यापक हिउँपात

काठमाडौं। महोत्तरी जिल्लामा २४ दिनपछि एकाबिहानै झलमल्ल घाम देखिएपछि उत्साह छाएको छ ।गत पुस १७ गतेदेखि लगातार बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहिरहने क्रम पछिल्ला दुईरतीन दिनयता मध्याह्नपछि घाम देखिएर घट्दै गएपनि एकाबिहानै पारिलो घाम भने २४औँ दिनमा आज देखिँदा जिल्लाका गाउँनगर बस्तीमा खुशी र उत्साह छाएको हो । तराईको मिथिला क्षेत्रमा श्रीपञ्चमी पनि भनिने माघशुक्ल पञ्चमीका दिन मनाइने वसन्तपञ्चमी पर्व जाडो घट्दै गएर न्यानो बढ्ने पर्वका रुपमा मानिने गरिन्छ । यसपालि वसन्तपञ्चमी मनाइएसँगै मध्याह्नतिर पारिलो घाम देखिँदा जाडो घट्दै गएर दुई दिनपछि आज एकाबिहानै पारिलो घाम देखिएपछि अब चैं न्यानो बढ्ने आश जागेको बर्दिवास–९ पशुपतिनगरका ७५ वर्षीय नथुनी महतोले बताए । “अब चैं हुस्सु र स्याँठ बिदा भएकै हो”, महतोले भने, “वसन्तपञ्चमी उत्सव भनेकै जाडो बिदा भएर पारिलो घाम लाग्दै जाने हो, अब बिहानैदेखि झलमल्ल घाम देखिनेछ ।” आज एकाबिहानै झलमल्ल पारिलो घाम लागेपछि वृद्धवृद्धा घाम ताप्न घरबाहिर निस्केका छन् । “कि कहैछि बौवा, करिब एक महिना से झोपडीभितर जकडल छली” ९के भन्छन् बाबु, करिब एक महिनादेखि झुप्रोभित्रै जकडिएर बसेकी थिएँ०, आँगनमा घाम तापिरहेकी भङ्गाहा नगरपालिका–४ रामनगर बस्तीकी ८० वर्षीया मोहवती खातुनले लट्टा परेको कपाल कन्याउँदै भने “आब जियके आस जागल, आई नहैबे करब” ९अब बल्ल बाँच्ने आश जाग्यो, आज चैँ नुहाउँछु० । एकाबिहानै पारिलो घाम देखिएपछि गोठका गाई–वस्तु पनि ड्वा–ड्वा कराउँदै आफ्ना धनीलाई बाहिर सार्न सङ्केत गरिरहेका छन् । “हुस्सु फाटेर आकाश सफा देखिएकाले यी वस्तुले गोठभित्रैबाट बुझे”, बर्दिवास–१३, बिजलपुरा भेडियर बस्तीका पशुपालक किसान पशु बस्तुको भाषा बुझेको भावमा भने “भण्डै महिना दिनपछि बल्ल आज गाई–वस्तु फुकाएर चरनमा लान पाइने भइयो ।” लामो समयपछि झलमल्ल घाम देखिएलगत्तै नदी, धारा, कुवा र इनार वरिपरि लुगा धुने र नुहाउनेको भीड नै देखिएको छ । लुगा धुने पेशाका धोबी पनि अब चैं लुगा धोएर सुकाउन पाउने आशले पानीघाटमा लुगा धुन थालेका देखिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हुस्सु फाटेर झलमल्ल घाम देखिएपनि मध्य र दक्षिणी क्षेत्रमा भने अझै अँध्यारो राम्ररी हटेको छैन । “आकाश त उघ्रँदैछ”, जिल्लाको सुदुर दक्षिण–पूर्वी क्षेत्रको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले टेलिफोनमा भने “स्याँठ चल्न रोकिएर घामको किरण देखिएकाले अब अँध्यारो फाट्दै जाने आश जागेको छ ।” जिल्लाका पाका उमेरका वृद्धवृद्धा भने वसन्तपञ्चमी उत्सव मनाई सकिएकाले अब सबैतिर मौसम सफा हुँदै जाने बताउँछन् । गोरखाः उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ । मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक भवीराज गुरुङले आज बिहान ४ बजे हिउँ पर्न शुरु भएको बताए । घर पाउने आशमा टहरोमा बसेका लाप्राकका भूकम्प प्रभावितको जनजीवन कष्टकर भएको छ । “हिमपातपछि विद्यालय सञ्चालनमा समस्या छ”, उनले भने “हिउँ परिरहेको छ । एक फिट जति हिउँ जमिसक्यो ।” यो वर्ष पहिलो पटक आज हिमपात भएको हो । टहरोमा बसेका बासिन्दा हिमपातपछि चिसो बढ्ने चिन्तामा छन् भने खेती राम्रो हुने भन्दै केही भने खुशी पनि छन् । गुप्सीपाखामा अस्थायी टहरोमा बसेका भूकम्प प्रभावित त्यहाँ गैरआवासीय नेपाली संघले घर निर्माण शुरु गरेपछि रिनजुलुङको जंगलमा टहरो बनाएर बस्दै आएका छन् । लाप्राकीहरु अधिकांश भने पुरानै गाउँमा उनीहरुले मर्मत गरेकै घरमा बसेका छन् । पुरानो गाउँमा पनि हिमपात भएको स्थानीयवासी तुले गुरुङले बताए । हिमपातपछि बारपाक–लाप्राक कच्ची सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि यो सडकमा ट्र्याक्टर, बोलेरो जिप गुड्न सक्दैन । हिउँ परेपछि खानेपानीको समस्या आइलाग्छ । केहीले हिउँ तताएर पानी पिउने गर्छन् । घाम लागेपछि मात्रै मुलको पानी बग्छ । टहरोभित्र आगो तापेर भूकम्प प्रभावितहरु बसेका छन् । रसुवाः बिहानैदेखि परेको पानीसँगै जिल्लाका उच्च हिमाली भागमा हिमपात शुरु भएको छ । चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार त्यस क्षेत्रका साथै गोसाइँकुण्ड, लाङटाङ, नाकथली लगायतका स्थानमा हिमपात भइरहको छ । गत वर्ष भने फागुनमा मात्र हिमपात भएको र यस वर्ष माघको दोस्रो साताबाटै हिमपात र पानी परेपछि हिउँदे बाली राम्रो हुनेमा स्थानीयवासी उत्साहित भएका छन् । हुम्लाः गएरातिदेखि परेको वर्षासँगै जिल्लाका उत्तरी भेगका अधिकांश गाउँमा बाक्लो हिमपात भएको छ । जिल्लाको सिमीकोट विमानस्थलमा हिमपात भएपछि हवाई सेवा बन्द भएको छ । हिमपातसँगै चिसो अत्यधिक बढेको छ । ज्येष्ठ नागरिक र बालबालिकाका साथै रुघाखोकी, निमोनियाँका बिरामी चिसोबाट थप मर्कामा परेका छन् । भारी हिमपातसँगै लिली, मुचु, फुङगाल, हेक्पा, स्याडामा खर्कमा राखिएका चौँरी, झोवालाई घर गोठमा ल्याइएको छ । जिल्लामा हिमपात भएपछि स्थानीय किसान भने हर्षित भएका छन्, अहिलेको हिमपातले स्याउ लगायतका बालीनालीलाई सकारात्मक प्रभाव पर्ने कृषिविद्हरुले जनाएका छन् । रासस

एक वृद्ध पाँच दिनदेखि बेपत्ता

कपिलवस्तु । यहाँ एक वृद्ध पाँच दिनदेखि बेपत्ता भएका छन् । कपिलबस्तु नगरपालिका–१ छोट्की तौलिहवा निवासी ६५ वर्षीय रामसुभग बानियाँ गत माघ ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । घरमा कसैलाई केही नभनी शुक्रबार मध्यान्न आफ्नै घरबाट निस्किनुभएका बानियाँ आजसम्म पनि घर नफर्केपछि आफन्तले सोमबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । बानियाँको मानसिक सन्तुलन गुमेको र औषधिसमेत सेवन गर्ने गरेको उहाँकी श्रीमती आरतीले बताउनुभयो । खोजी गरिदिनका लागि परिवारले सबैसँग अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले खोजीकार्य जारी रहेको बताएको छ ।