काठमाडौं र भक्तपुरमा दुई युवाको शव भेटियो
काठमाडौं । काठमाडौं र भक्तपुरमा दुई युवाको शव भेटिएको छ । बुढानीलकण्ठ नगरपालिका–१३ मा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।
बुढानीलकण्ठको चुनिखेल पोखरी बस्ने ४६ वर्षीय विजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ इटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा पनि एक पुरुषको शव भेटिएको छ ।
सोही इटा भट्टामा काम गर्ने रोल्पाको परिवर्तन गाउँपालिका–४ घर भएका ४० वर्षीय मन बहादुर बुढा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएएको छ ।उनीहरुको मृत्यु स्वभाविक हो कि हत्या हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
एमाले निकट अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ
काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । बमलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले बालाजु क्षेत्रबाट बुधबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बमलाई आपराधिक लाभको कसुरमा पक्राउ गरिएको बताए । अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले जानकारी दिए । मोबाइल नियन्त्रणमा लिएर धम्क्याएको तथा आपराधिक लाभको कसूर गरेको भन्दै बमविरुद्ध उजुरी परेको थियो । प्रहरीका अनुसार धनगढी घर भएकी बम रस्मिला धामीको उजुरीको आधारमा पक्राउ परेकी हुन्। सामाजिक सञ्जालमार्फत रस्मिलाले भनेकी छन्, ‘राजनितिक शक्ति पावरको धाग धम्की लगाउँदै अपराधिक कृयाकलाप गर्दै हिँड्ने राजमती उर्फ रक्षा बमलाई तपोबनबाट ध्यान गर्दै गर्दा पुलिसले पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको जानकारि गराउन चाहन्छु न्यायको लडाइँ जारी छ।’
असिना पानीले ४ करोड बराबरको इँटामा क्षति
परासी । बेमौसमी असिना र पानीका कारण नवलपरासीमा ४ करोड बराबरको इँटामा क्षति पुगेको छ। सोमबार राति परेको असिना पानीका कारण काँचो इँटामा क्षति पुगेको हो। जिल्लामा रहेका १७ उद्योगमध्ये हालः ११ वटामात्र सञ्चालनमा रहेका छन्। नेपाल इँटा उद्योग महासंघका केन्द्रीय सदस्य एंव हरिकृष्ण इँटा उद्योग रामग्रामका सञ्चालक कृष्ण नारायण श्रेष्ठले आर्थिक मन्दीका कारण ६ वटा उद्योग सञ्चालन हुन नसकेर बन्द भएको जानकारी दिए । उनले अहिले सञ्चालनमा रहेका उद्योगमा तयार गर्न राखिएका करिब १ करोड २० लाख बढी काँचो इँटामा क्षति पुर्याएको बताए । उनका अनुसार प्रति काँचो इँटा तयार गर्न ३ देखि ४ रुपैयाँ लाग्ने गरेको छ। जिल्लामा वार्षिक ४ करोड इँटाको माग रहेको उनले जानकारी दिए । उनले भने ‘पहिला ८ देखि ९ करोड इँटाको माग हुने गरेको थियो । आर्थिकमन्दीका कारण अहिले ५० प्रतिशत माग घटेको छ ।’
प्रदेशमा पनि नयाँ समीकरणलाई समर्थन गर्ने नाउपाको निर्णय
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एमाले–माओवादी र रास्वपासहितको नयाँ समीकरणलाई प्रदेशमा पनि समर्थन गर्ने निर्णय गरेको छ । बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ समीकरणलाई समर्थन गर्ने निर्णय गरेको हो । संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहको सरकारमा सत्ता समीकरणलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार २१ जनाको केन्द्रीय सदस्य रहेकोमा आजको बैठकमा १२ जना सहभागी थिए । प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको उनले बताए । नाउपाका संरक्षक रेशमलाल चौधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासको मत दिन ह्ववीप लगाएकी थिइन् । सुदूरपश्चिम प्रदेशमा संरक्षक रेशमलाल चौधरीको जोडबलमा नाउपाका पाँच जना सांसद कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बनेका छन् ।
एक रुपैयाँ उठाएर पाइलट अध्यायन (भिडियो सहित)
काठमाडौं । भरतपुर चितवनमा रिटर्नी सेन्टर नेपालको राष्ट्रिय सम्मेलन चल्दै गर्दा सम्मेलन स्थल बाहिर केहि युवा अकस्मात आए र आफुले ल्याएको ब्यानर भित्तामा टाँगे । व्यानरमा लेखिएको थियो, ‘पाइलट अध्ययनका लागि रु. १/– अभियान’ । सँगै अगाडि टेबुलमा एउटा खुत्रुके आकारको टोकरी राखियो । टोकरीमा लेखिएको थियो ‘1 Rupee campaign for Pilot study’ सेतो सर्ट र कालो पाइन्टमा सजिएका एक किशोर कुर्चीमा बसे । अर्को एक जनाले चाँही कापी र कलमले टिप्न थाले । वरपर रहेकाहरुले टोकरी पैसा राख्न थाले । १०, २०, ५०, १००, ५०० र १००० का नोठहरु मान्छेहरु राखिरहेका थिए । दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर २ का दिपेन्द्र घिसिङलाई पाइलट पढ्न मन लाग्यो तर आर्थिक अवस्था कमजोर । परिवारबाट केही सहयोग होला भन्ने थिएन । दिपेन्द्रले भने, ‘बुवाले पनि अर्कैसँग विहे गर्नुभयो, आमाले पनि अर्कैसँग विहे गर्नुभयो ।’ पाइलट बन्नका लागि परिवारबाट सहयोग नपाउने भएपछि उनी सरकारको आशामा रहे । उनले थपे, ‘तिनै तहको सरकारमा मेरो लक्ष्य पुरा गराउनका लागि पहल गरें तर वर्ष वितेपनि कुनै रेस्पोन्स (प्रतिक्रिया) आएन ।’ पाइलटका लागि ८१ लाख रुपैयाँ खर्च हुने भएपछि उनलाई एउटा जुक्ति लगाए, एक रुपैयाँ उठाउने । पाँच महिना अगाडि उनले यो अभियान सुरु गरे । काठमाडौं, काठमाडौं आसपास, पोखरा र चितवनमा उनी यसरी नै एक रुपैयाँ अभियानमा निस्किए । ‘पाच महिनाको अवधिमा ७६ लाख रुपैयाँ जम्मा भयो । अब एक महिना भित्रमा पाँच लाख पु¥याउनुछ ।’, दिपेन्द्रले सुनाए । ‘एक रुपैयाँ अभियान हुँदै गर्दा एक रुपैयाँ नै कतिले दिएका छन् त ?’ प्रश्न सुनेपछि दिपेन्द्रले भने, ‘चार सय जना जतिले एक रुपैयाँ दिनुभएको छ ।’ कसले कति दिएको भनेर दिपेन्द्रले एक जना सहयोगी सहित नाम र फोन नम्बर टिप्ने गरेका छन् । उनका अनुसार फागुन मसान्तसम्ममा ६ हजार पाँच सय जनाबाट रकम उठेको छ । पाइलट अध्ययनका लागि धेरै दिनेले पाँच लाख सम्म आफुलाईसहयोग गरेको दिपेन्द्रले जानकारी दिए । काठमाडौंमा ग्राउण्ड क्लास पढिरहेका दिपेन्द्र आफु पाइलट बन्नेमा ढुक्क छन् । विद्यालय तहमा दिवा खाजा र सुधारका केही कुरामा बहस भएपनि उच्च शिक्षाका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको दिपेन्द्रको बुझाइ छ । उनी भन्छन्, ‘यो उच्च शिक्षामा सुधार गर्नका लागि विद्रोह पनि हो । भिडियो हेर्नुहाेस् ।
८ महिनामा साढे १ खर्ब लगानी प्रतिबद्धता
काठमाडौं । नेपाल सरकारलाई चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा साढे १ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १ खर्ब ५५ अर्ब रुपैयाँ बराबेका कुल लगानी प्रतिबद्धता (प्रस्ताव) आएको हो । उद्योग विभागले फागुन महिनामा मात्र २ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षको फागुनसम्म १ खर्ब २७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । जस अनुसार यस वर्ष लगानी प्रतिबद्धता गत वर्षको यसै अवधिको तुलनामा वृद्धि भएको छ । यस वर्ष फागुनसम्म वैदेशिक लगानी प्रतिबद्धता २९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत वर्ष फागुन मसान्तसम्म २७ अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको थियो । विभागमा यस वर्ष फागुनसम्म स्वदेशी तथा विदेशी २५८ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ठूला उद्योगको संख्या ३२ छ । मझौला उद्योग २२ र साना उद्योगको दर्ता २०४ रहेको विभागले जानकारी दिएको छ । यस वर्ष दर्ता भएका स्वदेशी उद्योगले १८ हजार १५३ रोजगारी दिन सक्ने उद्योग विभागको तथ्यांकमा उल्लेख छ । यस्तै, विदेशी लगानी तर्फ फागुनसम्म कुल २५३ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगले १३ हजार १६९ रोजगारी सिर्जना गर्न सक्नेछन् । वैदेशिक लगानी फागुन महिनामा मात्र ६ अर्ब ४७ करोड आएको विभागले जनाएको छ ।
अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित छ जना पक्राउ परेका छन् । चितवन र झापाबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । चितवनको ईच्छाकामना गाउँपालिका ७ सिमलडाँडाबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित सोही ठाउँ बस्ने ३० वर्षीया नरमायाँ गुरूङ समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका १ बिचचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय श्याम सुन्दर ठाकुर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बल्खु खोलामा पुरुषको शव भेटियो
काठमाडौं । काठमाडौँको बल्खु खोलामा आज (बुधबार) एक पुरुषको शव फेला परेको छ। सप्तरी राजगढ गाउँपालिका–२ घर भई काठमाडौँ नैकाप फरेस्ट पाखा बस्ने ३२ वर्षका वैभव सिंह मृत अवस्थामा भेटिएका हुन्। चन्द्रागिरि नगरपालिका–१५ नैकापस्थित कीर्तिपुर–चन्द्रागिरि जोड्ने झोलुङ्गे पुल नजिक बल्खु खोलामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ : दुर्लभ पाटे बाघ सहजै देख्न पाइने
चितवन । भरतपुरमा दुर्लभ मानिएको पाटे बाघ सहजै देख्न पाइने भएको छ । बुधबारदेखि भरतपुर ६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा पाटे बाघ नजिकैबाट देख्न पाइने गरी व्यवस्थापन गरिएको छ । बाघलाई केन्द्रको परिसरमा रहेका मचानबाट हेर्न मिल्ने गरी २ वटा पाटे बाघलाई राखिएको छ । थोरै समयमा बाघ हेर्न चाहाने पर्यटकका खुसीको विषय हो । केन्द्रमा उद्धार गरी राखिएको दुई भाले ‘नरभक्षी बाघ’ छन् । केन्द्र भरतपुरको पर्यटनको मुख्य आर्कषण बन्न सक्छ । भरतपुर भ्रमण वर्षको अवसर पारेर महानगरले नयाँ गन्तव्यका रुपमा दियालो बंगला र उद्धार केन्द्र सर्वसाधरणलाई खुला गरिएको हो । टिकौली ढाटबाट बीस हजारी ताल जाने सडक हुँदै करिब ९ किमी दक्षिणतर्फ केन्द्र पर्छ । वन्यजन्तु उद्धार केन्द्रको बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरे। केन्द्रको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरको पर्यटनलाई दिगो बनाउन केन्द्रले सहयोग पुराउने बताए । ‘यो उद्धार केन्द्रले पर्यापर्यटनको विकास गर्न सघाउनेछ । यसको व्यवस्थापनमा महानगरले हातेमालो गर्छ,’ दाहालले भने, ‘निकुञ्जलाई थुनेर राख्दा आहारा व्यवस्थापनमा गाह्रो भइरहेको थियो। अब टिकट शुल्क लिएर पर्यटकलाई हेर्ने व्यवस्था मिलाएपछि त्यो समस्या हुँदैन।’ चितवन निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले समस्याग्रस्त भनेर उद्धार गरिएका दुईवटा बाघहरु यहाँ राखिएको जानकारी दिनुभयो । ती बाघ बाँके राष्ट्रिय निकुञ्ज र चितवनको बेसहर मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो। हाल ८ वर्षको भाले बाघलाई बाँकेको राप्ती पीडित सामुदायिक वनबाट २०७८ साल फागुन १८ गते नियन्त्रणमा लिइएर चितवन ल्याइएको थियो। अर्को भाले बाघलाई २०७७ असोज १२ गते नियन्त्रणमा लिइएको थियो। यो बाघ अहिले अन्दाजी १४ वर्षको छ। यी दुबैलाई मान्छेमाथि आक्रमण गर्न पल्किएपछि समातेर थुनिएको थियो। ‘मान्छेमाथि आक्रमण गरेर समस्या निम्त्याएका बाघहरु नियन्त्रणमा लिएर निकुञ्जका खोरहरुमा थुन्ने गरिएको थियो। तर उनीहरुलाई खुवाएर पाल्न बजेटको समस्या हुँदै आएको थियो,’ तिवारीले भने, ‘निश्चित शुल्क लिएर पर्यटकका लागि खुल्ला गर्दा खानाको समस्या हुँदैन। भरतपुर भ्रमण वर्षका लागि पनि टेवा पुग्छ भनेर यता सारेका हौं।’ चितवन निकुञ्जसँग कसरामा चार र सौराहामा दुईवटा बाघ राख्नसक्ने क्षमता थियो। ‘यो निकुञ्जकामात्रै नभएर आवश्यक पर्दा बाहिरका समस्याग्रस्त बाघ, अन्य वन्यजन्तुको पनि उद्धार गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा, मध्यवर्ती समितिका अध्यक्ष प्रकाश ढुङगनाले मन्तव्य राख्नुभएको थियो ।
वरिष्ठ साहित्यकार सुवेदीको निधन
विराटनगर। वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ। क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो। उनको पार्थिव शरीरलाई बुधबार नै विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिने उनको परिवारले जनाएको छ । भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी साहित्यमा सक्रिय थिए । उनका खोज तथा अनुसन्धानमूलक दर्जनौँ कृति प्रकाशित छन् ।सुवेदीका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन्। सुवेदीका समालोचना सङ्ग्रह विश्वविद्यालयहरूमा पढाइ हुने गरेका छन् । स्वर्गीय सुवेदीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
सकुशल भेटिइन् मेयर गोपाल हमालकी छोरी
काठमाडौं ।भारतको गोवाबाट सम्पर्कविहीन भएकी धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी जेठी छोरी आरती सकुशल भेटिएकी छिन् । ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी छोरी हिजोदेखि जोरबा वाईब आस्विन ब्रिजबाट सम्पर्कविहीन भएको प्रमुख हमालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । मेयर हमालले ओशो साधक रहेकी छोरी आरतीको सबैको खोजीको प्रयासले भेटिएको उनले जानकारी दिए ।
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने
काठमाडौं । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक अर्ब विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको तथा मुसहर, चेपाङलगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्न रकम नभएको अवस्थामा अन्यत्रका विद्यालयलाई पूर्वाधार विकासका निम्ति बजेटको व्यवस्था गर्न सान्दर्भिक नहुने अभिमत प्रकट हुँदै आएको थियो।मन्त्रालयले आगामी आर्थिक वर्षमा ती क्षेत्रको शैक्षिक विकासमा ध्यान दिने शिक्षामन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।
सिजन मिडियाद्धारा राष्ट्रिय समाजसेवा सम्मान प्रदान
काठमाडौं । सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी २३ व्यक्ति र संस्थालाई आज ११ औँ राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड) प्रदान गरेको छ । उनीहरूलाई आज आयोजित कार्यक्रमबीच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना र प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सम्मान प्रदान गरे। राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित हुनेमा एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार केन्द्र (सिविन), मुटुरोग विशेषज्ञ डा कमल शर्मा लम्साल, रक्षा नेपालका संस्थापक मेनुका थापा, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक नारायणकुमार श्रेष्ठ, मानव बेचबिखनविरुद्धका अभियानकर्मी इन्द्रराज भट्टराई, टोपबहादुर मल्ल, संरक्षण अभियन्ता बल्लु गुप्ता, समाजसेवीहरु प्रेमकुमार खत्री, सरु सुवेदी,रोजिना विष्ट, दिनेश उप्रेती, हिमालयन एनिमल ट्रष्टका संस्थापक खगेश्वर शर्मा भट्टराई, डोल्पाली चिकित्सक डा अखण्ड उपाध्याय, व्यावसायिक कृषक यादव ढकाल, सूर्यविनायक नगर अस्पताल, चिकित्सक डा.मनिषा कार्की रहेका छन्। यस्तै, विशेष समाजसेवा सम्मानबाट सम्मानित हुनेमा ललितपुरका समाजसेवी सुलोचना शाक्य, लायन्स इन्टरनेसनलका सेकेण्ड सेञ्चुरी एम्बेसडर अनन्तप्रसाद भेटुवाल, समाजसेवी तथा व्यवसायी लायन मानबहादुर रोका, राष्ट्रिय समाचार समिति (रासस) का शिक्षा पत्रकार प्रकाश सिलवाल, किवानिज क्लब नेपालका डिस्ट्रिक्ट डिभिजन–३ एलटी गभर्नर (इलेक्ट)प्रमिला लामिछाने, मकवानपुरको थाहा इन्भेस्टमेन्ट ग्रुप र काठमाडौँको बागमती सफाइ महाभियानका प्रतिनिधि रहेका छन्। सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत समाज सेवामा ती व्यक्ति र संस्थाले आफ्ना विषयमा दिएको रुपान्तरणकारी योगदानका लागि ती सम्मान दिइएको जानकारी दिए।
ढोलाहिटी हत्या घटनामा संलग्न चार आरोपी सार्वजनिक
काठमाडौं । ललितपुरको ढोलाहिटीमा फागु पूर्णिमाका दिन भएको हत्याको घटनामा संलग्न थप चारजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । होली खेल्ने क्रममा दुई समूहबीच भएको विवादमा ललितपुर महानगरपालिका–२६, ढोलाहिटीमा सुनसरी धरान उपहानगरपालिका–१३, जिरो घर भएका २८ वर्षीय रोवश राई र पाँचथर मिक्लाजुङ गाउँपालिका–६ घर भएका २७ वर्षीय पुजन राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो । पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका–२, सेखुवा घर भई ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने डी पोपिना रेस्टुरेन्टका सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङ साकेला गाउँपालिका–२, रतन्छा घर भई ललितपुर महानगरपालिका–१५, खुमलटार बस्ने डी पोपिनाका सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुर ट्याम्केमयुङ गाउँपालिका–२, अन्नपूर्ण घर भई ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने ३८ वर्षीय विशालहाङ मुकारुङ राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका–११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने २५ वर्षीय छेङ्विहाङ राई रहेका छन् । ललितपुर ढोलाहिटीस्थित डी पोपिना रेस्टुरेन्टमा युवाहरूको समूहबीच विवाद हुँदा रेस्टुरेन्टका सञ्चालक विजय राईसमेतले रेस्टुरेन्टको भान्सामा रहेको चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका पुजनको सुमेरु अस्पतालमा र रेवशको पाटन अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको थियो । प्रहरीले हाल फरार रहेका घटनाका मुख्य प्रतिवादीलाई भगाउनेको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
बाल्टिमोर दुर्घटनामा ६ जनाको मृत्यु भएको अनुमान
ऐजेन्सी । संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा एउटा नदीमाथि बनेको तीन किलोमिटर लामो पुल भत्किदा ६ जनाको मृत्यु भएको अनुमान गरिएको छ । राहत तथा उद्दारमा संलग्न अधिकारीहरुले ६ जना वेपत्ता भएको जनाएका छन्। उनीहरुले कोही पनि जिवित नभेटिने अनुमान समेत उनीहरुले गरेका छन् । हराइरहेका मध्ये दुई जना ग्वाटेमालाका नागरिक रहेको अमेरिकी विदेश मामिला मन्त्रालयले जानकारी दिएको छ । स्थानीय आपत्कालीन सेवाका अनुसार एउटा पानीजहाज पुलान ठोकिएपछि उक्त पुल भत्किएको हो। उक्त घटनामा केही मानिस हताहत हुनुका साथै केही सवारीसाधन नदीमा खसेका थिए । पुलमा पानीजहाजले ठक्कर दिन लागेको कुरा पानी जहाजका पाइलटले स्थानीय ट्राफिकलाई जानकारी दिएका थिए । सो लगत्तै उक्त पुलमा आवागमन बन्द गरिएका कारण ठुलो जनधनको क्षति हुन नपाएको हो । पुल भत्किए लगत्तै पानीमा खसेका दुई जनालाई जिवितै उद्दार गरिएको थियो उद्दार गरिएका मध्ये एक सकुलशल छन् भने अर्काको अवस्था गम्भिर रहेको छ । उनको स्थानीय ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।
संसदका दुई समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्का दुईवटा समितिको बैठक आज बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ। बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

