रामचन्द्र पौडेलका छोरी ज्वाँई माधब खनालको राती पानी सर्केर मृत्यु

चितवन। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरी ज्वाँई माधब खनालको सोमबार राती पानी सर्केर मृत्यु भएको छ।

चितवन पुलचोक निवासी खनालको सोमबार राती घरमै पानी खाने क्रममा सर्केर मृत्यु भएको हो। खनाल प्रेसर र सुगरको भने विरामी रहेका थिए।

पानी सर्केर गाह्रो भएपछि नजिकैको भरतपुर अस्पताल पुर्‍याएपनि उनलाई त्यहाँ चिकित्सकले मृत घोषित गरेका थिए।

४८ बर्षिय खनाल चितवनमा श्रीमती र परिवारका साथ बस्दै आएका थिए। नेपाली काँग्रेसका क्रियाशिल सदस्य बामदेब खनालका छोरा माधवसँग काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरीको विवाह भएको थियो।

ज्वाँईको निधनको खबरपछि पोखरामा पार्टीको काममा गएका रामचन्द्र पौडेल चितवन आउने भएका छन्। मृतक खनालका छोरा विदेशमा अध्यनरत छन्।

छोरा आएपछि मात्र अन्त्यष्ठी गर्ने पारिवारिक स्रोतले जनाएको छ। माघ २४ गते बिहान ९ बजे देबघाटमा खनालको अन्त्यष्ठी गरिने बताइएको छ।

कसरी काम्यो यतिका बेरसम्म यो फुच्चे ? (हेर्नुहोस् भिडियोसहित)

यतिबेला काठमाडौंको एउटा घरमा घटेको अदृस्य घटनाले सामाजिक संजाल तात्तिएको छ। कोही तान्त्रिक शक्ति भनिरहेका छन् त कोही भुतप्रेत वा दु:खी आत्मा रहेको अड्कलबाजी गरिरहेका छन्। यो बिषयले त्यतिबेला तात्तियो जब घटनालाई लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगका संचालक रवि लामिछानेले नियाल्न थाल्यो । यस्ता अदृश्य शक्तिका बारेमा आफुले पनि कहिल्यै बिश्वास नगरेको रवि लामिछाने बताउँछन तर आफैं ती कुरासँग डर लागेको भनेपछि संजाल झनै तात्तिएको छ। के साँचै भूतप्रेत हुन्छन त ? के साँच्चै आत्मा भड्किएर शान्तसँग बसिरहेको घर समाजमा दु:ख दिन आउछन त ? यस्तै-यस्तै डरलाग्दा प्रश्नहरु धेरैको मनमा उब्जिएको छ । यसै सन्दर्भमा हामीले देखाउन लागेको यो भिडियो हेर्नुहोस् । गुरुङ्ग समुदायमा सदियौं प्रचलित अर्घौको यो दृश्य । मान्छे मरेपछि पितृ उद्धारका लागि भनी जसरी ब्राम्हण समुदायले श्राद्ध गर्छ, त्यस्तै गुरुङ समुदायले अर्घौ गरिने प्रचलन छ। हेर्नुहोस् अर्घौं गर्दाको यो दृश्य भिडियोमा-

आगलागीमा रु दश लाख क्षति

नगरकोट । चाँगुनारायण नगरपालिका– २ झौखेलस्थित फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयवासी राजेश मचामसीले सञ्चालन गरेको राजेश फर्निचर उद्योगमा बिहान २.३० बजे विद्युत् चुहिई आगलागी हुँदा काठ, प्लाई, दराज, यन्त्र, रङ, ग्यास सिलिण्डरलगायत सामान जलेर नष्ट भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

पाँचथरमा बाली उपचार तथा माटो परीक्षण शिविर संचालन

पाँचथर, माघ २३ । पाँचथरको फालेलुङमा अलैंची कृषकलाई लक्षित गरेर चार दिने बाली उपचार तथा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । शिविरबाट ४ सय ५८ जना कृषक लाभान्वित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन कार्यान्वयन इकाइ पाँचथरले जनाएको छ । परियोजना र क्षेत्रीय माटो परीक्षण प्रयोगशालाको संयोजनामा शिविर सञ्चालन गरिएको थियो । शिविरमा अलैंचीमा लाग्ने गानो कुहिने, छिर्के, फुर्के, ढुसी रोग लाग्दा गरिने उपचार विधि र अलैंचीलाई विभिन्न रोग किराबाट बचाउन बिषादी समेत वितरण गरिएको थियो ।

१५ वर्ष मै बिहे, १६ वर्षको उमेरमा सम्बन्धबिच्छेद

रोल्पा, माघ २३ । किशोरावस्थामा प्रेम विवाह गरेर करिब तीन महिनामात्र सँगैबसेका एक जोडीले आफूूखुशी आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन् । जिल्ला अदालत, रोल्पाका जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले उनीहरुको सम्बन्धबिच्छेदको फैसला गरेको जिल्ला अदालत रोल्पाका डिट्ठा भीमराज ढकालले सोमबार जानकारी दिए । रोल्पा नगरपालिकास्थित एक सरकारी विद्यालयमा कक्षा ७ मा अध्ययनरत १५ वर्षीया किशोरी र कक्षा ९ मा अध्ययनरत १७ वर्षीय किशोरबीच २०७४ वैशाख २ गते प्रेमविवाह सम्पन्न भएको थियो । आफूखुशी विवाह बन्धनमा बाँधिएको यो जोडी न सफल हुन सक्यो, न त उनीहरुको परिवारमा नै बालविवाहले खुशी दिलाउन सक्यो । १५ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी किशोरीको १६ वर्ष नपुग्दै सम्बन्धबिच्छेद भयो । एकातिर जिल्ला बालविवाह मुक्त घोषणा गर्ने अभियान चलिरहँदा अर्कोतिर छोराछोरी विवाह बन्धनमा बाँधिनुले परिवारमा केही समस्या त निम्त्यायो नै, त्यो भन्दा बढी उनीहरुको भविष्यको चिन्ताले दुबैको घरपरिवारलाई सताइरह्यो । तर पनि छोराछोरीको खुशी नै ठूलो कुरा ठानेर परिवारले लगन जुराइ जातीय परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरेको उनीहरुका अभिभावकको भनाइ छ । दुवैका अभिभावकले छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना देखेर विद्यालय भर्ना गरिदिएका थिए । तर अभिभावकको सपना सपनामै सीमित रह्यो । विवाहले उनीहरुको पढाइलाई मात्र असर गरेन केही दिनमै दुवैको व्यक्तिगत तथा पारिवारिक जीवनमा पनि ठूलो समस्या निम्त्याउँदै गएको परिवारले बताएका छन् । दुवैका आफन्तका अनुसार विवाहपछिका दिनमा सधैँजसो उनीहरुका बीचमा ठाकठुक पर्न थाल्यो, जसका कारण यो जोडीले सँगै जिउने, सँगै मर्ने अनि बाँचुञ्जेल दुःखसुख बराबर बाँड्ने कसम खाएर गरेको बाचा छोटो समयमै टुंगियो । २०७४ साउन २४ गते जिल्ला अदालत रोल्पामा किशोरीले सम्बन्धबिच्छेद गरी पाउँ भनी निवेदन हालिन् । उनको निवेदनमा श्रीमानले खान लगाउन नदिएको, दिनहुँजसो गालीगलौज गर्ने गरेको, विवाह गरेको केही दिनमै श्रीमानले विद्यालय छोडेर आफूलाई विद्यालय छोड्न आग्रह गरेको तथा आफूले पढ्ने इच्छा जाहेर गर्दा कुटपिट गर्ने तथा घर निकाला गर्ने गरेको हुँदा सँगै बस्न नसक्ने कुरा उल्लेख गरिएको छ । यसरी सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएकी उनी गत असारदेखि माइतीमा बस्दै आएकी थिइन् । १६ वर्ष नपुग्दै २०७४ माघ २१ गते जिल्ला अदालत रोल्पाले गरेको फैसलासँगै उनीहरुको जिन्दगीको यात्राले फरक मोड लिइसकेको छ । जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार किशोरकिशोरीले यौटा आदर्शमय जीवनको परिकल्पना गरेर आवेशमा जोडेको सम्बन्ध वास्तविकरुपमा साकार हुँदैन । विवाहको महत्व, परिवेश तथा त्यसले भविष्यमा पु¥याउन सक्ने दूरगामी असरको बारेमा जानकारी नभइकन लहलहैमा प्रेममा पर्ने अनि विवाह गर्ने परिपाटीले केही जान्ने बुझ्ने भएपछि श्रीमानश्रीमती एकलाई अर्को मन नपर्ने हुन थाल्छ जसका कारण उनीहरु सम्बन्धबिच्छेदमा पुग्ने गरेका छन् । वैदेशिक रोगजारीमा जानुपर्ने बाध्यता, अशिक्षा, गरिबी, चेतना अभाव आदिका कारण जिल्लामा ठूलो संख्यामा सम्बन्धबिच्छेदका घटना देखापर्न थालेका छन् । त्यसैले शिक्षाको अवसर तथा जनचेतनामा वृद्धि गर्ने, स्थानीयस्तरमै पेशा व्यवसाय तथा रोजगारीको अवसर सिर्जना गर्ने र पारिवारिक मूल्यमान्यताको सम्बन्धमा नैतिक शिक्षामा जोड दिनसके यस किसिमका घटनामा न्यूनीकरण हुनसक्ने उनको भनाइ छ । पढ्ने, लेख्ने र केही सिक्ने उमेरका बालबालिका विवाह बन्धनमा बाँधिनु र छोटो समयमै सम्बन्धबिच्छेदको अवस्थामा पुग्ने वातावरण सिर्जना हुनाले उनीहरुको बाल मष्तिष्कमा नकारात्मक असर पर्नसक्ने महिला अधिकारकर्मी शारदा गौतमले बताइन् । ती किशोरीजस्तै रोल्पा जिल्लामा कलिलो उमेरमा सम्बन्धबिच्छेद गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ । जिल्ला अदालत रोल्पाको तथ्यांक हेर्ने हो भने पनि सबैभन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा भेटिने गर्छन् । यसरी दर्ता हुन आएका मुद्दामध्ये सबैजसो मुद्दा श्रीमानले मादकपदार्थ सेवन गरी कुटपिट गर्ने, खान लगाउन नदिने, कारणवस माइती जाँदा खोज खबर नगर्ने भएकै कारण सम्बन्धबिच्छेद हुने गरेको जिल्ला अदालत, रोल्पाले जनाएको छ । यस्तै, जिल्ला अदालत, रोल्पाका मुद्दा फाँटका नायब सुब्बा दामोदर दाहालका अनुसार यस आवमा मात्र जिल्ला अदालत रोल्पामा ६७ वटा सम्बन्धबिच्छेदका मुद्दा परेका छन् जसमध्ये ३३ वटा मुद्दा फैसला भइसकेका छन् भने ३४ वटा मुद्दा फैसला हुन बाँकी छन् । यसैगरी गतः आवबाट जिम्मेवारी सरेर आएका ३८ वटा सम्बन्धबिच्छेदका मुद्दामध्ये २७ वटा मुद्दा फैसला भइसकेका छन् भने ११ वटा मुद्दा फैसला हुन बाँकी छन् । विगतका वर्षमा जस्तै यस आवमा पनि जिल्ला अदालत, रोल्पामा अन्य मुद्दाको तुलनामा सम्बन्धबिच्छेदका मुद्दा बढी नै छन् । जिल्ला अदालत रोल्पाका श्रेस्तेदार मनबहादुर विष्टका अनुसार सम्बन्धबिच्छेदका लागि जिल्ला अदालतसम्म आइपुग्ने सबैजसो सेवाग्राही आफन्त वा साथीको साथमा आउने गरेका छन् । यसरी सम्बन्धबिच्छेदका लागि आउने अधिकांश सेवाग्राहीले आफ्ना समस्या व्यक्त गर्न सकिरहेका हुँदैनन् । त्यसैले कानूनी सहायता पाउन नसकेका असहाय, अशक्त, नाबालक, आर्थिकरुपमा विपन्न, थुनुवा मानिस मुद्दाको पक्ष भएकाको मुद्दा दर्ता गर्न र प्रतिरक्षासमेतको काम गरिदिन अदालतले वैतनिक कानून व्यवसायीको व्यवस्था गरेको छ भने यस्ता कानून व्यवसायीलाई सेवा दिएबापत कुनै किसिमको रकम दिनुनपर्ने उनको भनाइ छ ।

एकीकृत बस्ती निर्माणकालागि दश स्थान छनोट

नुवाकोट, माघ २३ । यहाँका तीन ठाउँमा निर्माण गर्न लागिएको एकीकृत बस्तीका लागि प्रारम्भिक चरणमा दश स्थान छनोटमा परेका छन् । एकीकृत बस्ती निर्माणका लागि सम्भावित बस्तीको छनोट गर्न चयन भएको परामर्शदाता कम्पनीले तयार गरेको प्रतिवेदनको आधारमा जिल्लाका सरोकारवाला सम्मिलित सोमबारको बैठकको सुझावको आधारमा छनोट भएका दश स्थानको विस्तृत स्थलगत अध्ययन शुरु गर्न लागिएको हो । विकासका पर्याप्त पूर्वाधार निर्माण गर्न सकिने, ठूलो समूहमा बस्ती बसाल्न सकिने स्थान भएको, आसपास बस्तीलाई समेत पायक पर्ने सम्भावित दश स्थान छनोटमा परेकाले तीनको स्थलगत अध्ययनको आधारमा तीन बस्ती छनोट गर्न लागिएको जिल्ला आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुख विदुर खड्काले जानकारी दिए । विज्ञ तथा परामर्शदाता कम्पनीका अनुसार नेपाल सरकारमार्फत निर्माण गर्न लागिएको एकीकृत बस्तीको लागि जिल्लाको चौघडाको गड्खार, दुईपिपलको कोल्पुटार, रातमाटेको चन्द्रेटारस्थित खाल्टे, शिवपुरीको डुम्रे, कविलासको अप्राहस्थित सहरेटार, ककनीको रातमाटेटार, बुधसिंहको थली, शिखरबेँसीको डिही, मेघाङको देउराली बजार र नर्जामण्डपको बाहुनबेँसी छनोटमा परेका छन् । एकीकृत बस्ती निर्माणका लागि छनोटमा परेका सम्भावित स्थानको डिपीआरका लागि शहरी विकास मन्त्रालयमार्फत परामर्शदाता संस्था गिडा नेपाल र ग्रिड श्रेष्ठको संयुक्त लगानीले जिम्मेवारी पाएको छ ।

नेपालमा सवारी दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउँछन्

काठमाडौं, माघ २३ । नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०/७१ मा एक हजार ७८७ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । त्यस्तै ०७१/७२ मा दुई हजार चारजनाको, ०७२/७३ मा दुई हजार ६ जनाको, ०७३/७४ मा दुई हजार ३८४ जनाको र ०७४/७५ को कात्तिक मसान्तसम्म अर्थात चार महिनामा ८०१ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपाने साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा वर्षेनि हजारौँ मानिसले ज्यान गुमाउने गरेको बताउँछन् । ‘दुर्घटना हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्,’ उनी भन्छन् । आव ०७०/७१ मा आठ हजार ४०६, ०७१/७२ नौ हजार १४५, ०७२/७३ मा १० हजार १३, ०७३/७४ मा १० हजार १७८ र र ०७४/७५ को कात्तिक मसान्तअर्थात चार महिनामा तीन हजार २९ दुर्घटना भएका छन् । सवारीसाधन बढेसँगै दुर्घटना समेत बढ्दै गएको तथ्यांकले देखाउँछ । दुर्घटनामध्ये अधिकांश चालकको लापर्बाहीले हुने गरेको छ । त्यसपछि क्रमशः तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, मादकपदार्थ सेवन र ओभरलोडबाट दुर्घटना भएको तथ्यांकमा उल्लेख छ ।

भारतको अर्को दादागिरी – दशगजामै भारतीय बस्ती र भन्सार कार्यालय

काठमाडौं, माघ २३ । लहानदेखि १८ किमि दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दशगजाभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ । यहाँ दशगजाभित्रै बस्ती बसाइएको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजास्थित सीमाक्षेत्रमा दुवै देशले कुनै पनि भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाइँदैन । दशगजालगत्तै भारतको सिमाना सुरु भएको स्थानमा भारतीय पक्षले प्रवेशद्वार बनाएको छ । प्रवेशद्वार उत्तरतर्फ दशगजाको जग्गा खाली हुनुपर्नेमा त्यहीँ भन्सार कार्यालय र दुई दर्जन बस्ती छन् । जग्गा खाली रहेकाले घर बनाएर बसेको भारत, लौकाहाका सन्तोष साहले बताए । ‘बिहान–बेलुका मजदुरी गरी गुजारा चलाउँछौं,’ उनले भने, ‘दशगजामै कस्टम कार्यालय भएकाले हामीले पनि घर बनाएर बसेका हौं ।’ आफूहरू वर्षाैदेखि त्यहीँ बसिरहेको जनाउँदै उनले सबै गरी १२ वटाजति घर बनेको जानकारी दिए । यहाँ अधिकांश सुकुम्बासीकोबसोबास छ ।, कान्तिपुर दैनिकमा खबर छ ।

महोत्तरीमा कुकुरले टोक्दा एकैदिन १३ जना घाइते

बर्दिबास, माघ २३ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको बजार क्षेत्रमा कुकुरको टोकाइबाट १३ जना घाइते भएका छन् । बर्दिबास–१ को चोकबजार क्षेत्र र बर्दिबास–१४ को हटिया क्षेत्रमा सोमबार एकैदिन कुकुरको टोकाइबाट १३ जना घाइते भएका हुन् । बाटो हिँडिरहेका १३ जनालाई एउटै कुकुरले टोकेको हो । बाटो हिँडिरहेका बेला कुकुरले एक्कासि झम्टेर घाँटीभन्दा माथि टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । कुकुरले टोकेकामध्ये बढीजसो बालबालिका छन् । घाइतेको बर्दिबास अस्पताल, शुभस्वस्तिक अस्पताल र जनसेवा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये आठजनाको घाँटीमा निकै चोट देखिएपछि प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए । कुकुरले धमाधम एकपछि अर्कोलाई टोक्दै गएपछि बर्दिबास बजार क्षेत्रमा त्रास फैलिएको थियो । टोक्ने कुकुरलाई स्थानीयले घेरा हालेर सोमबारै मारेको प्रहरीले जनाएको छ ।

अनलाइन जोखिममा बालबालिका

काठमाडौं, माघ २३ । इन्टरनेटमा अत्यधिक पहुँच बढेसँगै सहरी क्षेत्रका बालबालिका अनलाइन यौन दुव्र्यवहारको उच्च जोखिममा परिरहेका छन् । बालबालिकाले अनलाइनमार्फत अपरिचित व्यक्तिबाट अश्लील फोटोरभिडियो आउने, नग्न तस्बिर माग्ने, अनावश्यक भेट्न बोलाउने, धम्की दिनेजस्ता दुव्र्यवहार खेप्ने गरेका छन् । कामकाजी अभिभावकले बच्चालाई समय दिन नसक्दा मोबाइल, ट्याब र ल्यापटपजस्ता सामग्री किनिदिने गरेका छन् । तिनमा बालबालिकाहरूले गेम खेल्न, च्याट गर्न, गीत सुन्न स्कुलको गृहकार्य गर्न इन्टरनेट चलाउने गरेका छन् । तर ती सामग्रीको सदुपयोग वा दुरुपयोग गरेकोबारे अभिभावकले चासो नदिँदा उनीहरू अनलाइन यौनहिंसाको सिकार बनिरहेको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालको भनाइ छ । बालकल्याण समितिको बाल हेल्पलाइनमार्फत यस आर्थिक वर्षमा मात्रै १७ वटा अनलाइन बाल यौन दुव्र्यवहारका घटना दर्ता भएका छन् । सबै घटनामा बालिका मात्रै पीडित भएको हेल्पलाइन कार्यक्रम अधिकृत सागर भण्डारीले बताए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

पाक-भारतीय सेनाबीच गोली हानाहान, भारतीय सेनाका क्याप्टेन सहित ४ सैनिकको मृत्यु

काठमाडौं, माघ २३ । भारतीय शासित क्षेत्र कश्मिरस्थित लाइन अफ कन्‍ट्रोल (एलओसी) मा तना बढ्दै गएको छ । पाकिस्तान सेनाले राजौरीमा आइतवार राति गरेको गोलाबारीमा चारजना भारतीय सेना मारिएका छन् । यो भिडन्तपछि यस जिल्लाका ४८ स्कुललाई तीन दिनका लागि बन्द गरिएको छ। पाकिस्तानबाट हानिएको एन्टी ट्यांक मिसाइल विस्फोटमा परेर २३ वर्षीय क्याप्टेन कपिल कुन्डुसहित चारजना भारतीइ सेना मारिएका हुन् । यो भिडन्तपछि सोमवार एहतियातन श्रीनगर-मुजफ्फराबाद (पीओके) बस सेवा पनि बन्द गरिएको छ । पाकिस्‍तानी सेनाले आइतवार राजौरीको भिम्बर गली क्षेत्रमा आक्रमण गरेको हो । यो हमलामा हरियाणाको गुडगाउँस्थित रनसिका गाउँका क्याप्टेन कपिल कुन्डु (२३), ग्वालियरका राइफलम्यान राम अवतार (२७), जम्मु-कश्मिरको साम्बाका हवलदार रोशन लाल (४२) र जम्मु-कश्मिरको कठुवा जिल्लाका राइफलम्यान शुभम सिंह (२३) मारिएका हुन् । यो घटनामा अन्य दुई भारतीय सेना पनि घाइते भएका छन् । भारतीय सेनाले पनि पाकिस्तानी सेनाको जवाफ दिइरहेको दाबी गरेको छ ।

सातै प्रदेशमा फोरजी एलटिइ सेवा : टेलिकम

काठमाडौं, माघ २३ । नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर र डाटा सेवा विस्तार एवं सातै प्रदेशमा जीएसएम सेवातर्फ फोरजी एलटिइ कार्य अघि बढाएको छ । टेलिकमको १४औं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सेवा विस्तारबारे जानकारी गराएकी हुन् । सातै प्रदेशमा फोरजी एलटिइ सेवा आफ्नै आर्थिक स्रोत परिचालन गर्नेगरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी कार्य अघि बढाइसकेको टेलिकमले जनाएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको लगानी रहनेगरी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौताअनुसार मध्यपहाडी लोकमार्गको प्रदेश नम्बर–१, २ र ३ खन्डमा अप्टिकल फाइबर र डाटा सेवा विस्तारको कार्य अघि बढाइरहेको प्रबन्ध निर्देशक राजभण्डारीले बताइन् । दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने नेपाल सरकारको नीतिअनुसार डोल्पा, मुगु, बाजुरा, दोलखा, बाग्लुङ, धादिङ र सिन्धुपाल्चोकमा पनि मोबाइल सेवा सन्चालनमा आएको कम्पनीले जनाएको छ । वार्षिकोत्सवमा प्रिपेड सेवाग्राहीका लागि नमस्ते क्रेडिट सेवाको ‘सफ्ट लन्च’ पनि गरिएको छ । यो सेवाबाट सेवाग्राहीले कुरा गर्दागर्दै व्यालेन्स सकिएपनि बिनाब्याज निरन्तर कल गर्नसकिने सुविधा रहेको जनाइएको छ । यो सेवा भने अगामी महिना देखि लागू हुने जनाइएको छ ।

छाउपडी प्रथा उन्मूलन गर्न जुर्मुराए विद्यार्थी संगठन

काठमाडौं-  देशका प्रमुख तीन विद्यार्थी संगठनहरूले छाउपडी प्रथा विरुद्ध दवाबमूलक अभियान संचालन गर्ने भएका छन् । नेकपा एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेसको निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्रको निकट अनेरास्ववियु (क्रान्तिकारी) यस मुद्दामा एक मत भएका छन् । सोमवार काठमाडौँमा एक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेर अनेरास्ववियुका अध्यक्ष नविना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङले यो प्रथा उन्मूलनका लागि सरकारलाई निरन्तर दवाब दिइरहने  बताएका छन्। अनेरास्ववियुकी अध्यक्ष नविना लामाले कतिपय अवस्थामा मान्छेको ज्यानै जाने घट्ना समेत घटिसकेकोमा छाउपडी जस्ता प्रथाको अन्त्य गर्न सामूहिक रूपमा सरकारलाई दवाब  दिनुपर्नेमा बताइन् । त्यस्तै, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सामाजिक विकृतिको रूपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि सबैले मिलेर दवाब अभियान संचालन गर्नुपर्ने बताए। उनले मुलुक नयाँ युगमा प्रवेश गरिरहँदा समेत विकृति र विसंगति  कायमै रहनु आपत्तिजनक भएको पनि बताए। यसै सन्दर्भमा कुरा गर्दै अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले सामाजिक रुपान्तरण विद्यार्थीको पनि जिम्मेवारी भएकाले छाउपडी प्रथा अन्त्यका लागि तीनवटै विद्यार्थी संगठन एक ठाउँमा आएर दवाब अभियान सुरु गरेको बताए। यो प्रथा विशेष गरी प्रदेश नम्बर ६ र ७ का पहाडी समुदायमा मा विद्यमान रहेको छ ।

खुल्यो शिक्षक लाइसेन्स, चैत २४ गते परीक्षा

काठमाडौं, शिक्षक सेवा आयोगले माध्यमिक तहको अस्थायी अध्ययन अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । । शिक्षक सेवा आयोगले प्रकाशन गरेको सूचना अनुसार, लाइसेन्स लिन इच्छुक शिक्षकहरुले फागुन २० सम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तूरका लागि ७ दिनको म्याद समेत थप गरिएको छ । लाइसेन्सको परीक्षा आगामी चैत २४ गते हुने छ । अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी हुन स्नातकोत्तर उतिर्ण हुनुपर्ने र सेवा सुरु गरेको २ वर्षभित्र १० महिने तालिम वा बिएड गरेको हुनुपर्ने शर्त समेत सूचनामा उल्लेख छ । तर पहिले नै तालिम वा वि एड गरेकाले भने प्रक्रिया अनुसार स्थायी लाईसेन्स नै पाउने भएका छन् ।  आयोगले दरखास्त दिन ५ वटा कार्यालयहरु तोकेको छ । जसमा जिल्ला शिक्षा कार्यालय झापा, जिल्ला शिक्षा कार्यालय काठमाण्डौ, जिल्ला शिक्षा कार्यालय कास्की, जिल्ला शिक्षा कार्यालय बाँके, जिल्ला शिक्षा कार्यालय कञ्चनपुर रहेका छन् । परीक्षा संचालन हुने स्थान दरखास्त संकलन केन्द्र रहेको जिल्लामै रहने भएपनि केन्द्र भने पछि तोकिने आयोगले जानएको छ । लिखित परीक्षाको पूर्णाङ्क एक सय र उत्तीर्णाङ्क पचास राखिएको छ । परिक्षमका लागि माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्रकै पाठ्यक्रम लागू हुने आयोगले जनाएको छ । आयोगवाट स्वीकृत अध्यापन अनुमति पत्रको दरखास्त फारामको नमूना र पाठ्यक्रम आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने आगोगले जानकारी दिएको छ ।

पहिरोमा परी दुई जनाको मृत्यु

अछाम । मेल्लेख गाउँपालिका–१ रिसिदह बस्ने ४० वर्षीय मनसिंह धामी र सोही ठाउँ बस्ने ४० वर्षीय हरिदेव धामीको पहिरोमा परेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने नन्द विष्टको घर छाउने ढुंगा निकाल्ने क्रममा आइतबार माथिबाट पहिरो आई पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोमा परेर नन्द विष्टसमेत घाइते भएकाले उपचारका लागि स्थानीय बयलपाटा अस्पतालमा पठाइएको छ। सो घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

ट्राफिक प्रहरी नै इम्बोस्ड नम्बर प्लेटबाट झुक्कियो

काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट राखेर चलेका सवारी साधनदेखि ट्राफिक प्रहरी झुक्किने गरेका छन् । इम्बोस्ड नम्बरप्लेट जडान शुरु भएको नम्बर अंग्रेजीमा लेखिँदा र उक्त नम्बर प्लेटमा ट्राफिक व्यवस्थापन गर्न बानी नपर्दा झुक्किने गरेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा आधारित इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने व्यवस्था गरेको हो । दरबारमार्ग ट्राफिक कार्यालयमा कार्यरत एक प्रहरी जवान इम्बोस्ड नम्बर प्लेटका सवारीसाधनबाट आफू झुक्किने गरेको बताउनुहुन्छ । “नेपाली नम्बर प्लेटका सवारीसाधनको व्यवस्थापन गर्दै आएकामा इम्बोस्ड नम्बरप्लेटका सवारीसाधन आउँदा शुरुशुरुमा कुन सवारीसाधन होला भनेर अन्योल हुँदो रहेछ,”– उहाँ भन्नुहुन्छ । उपत्यकामा इम्बोस्ड नम्बरप्लेटका सवारीसाधन गुड्न थालेपछि सर्वसाधारण मात्र नभई अधिकांश ट्राफिक प्रहरी नै झुक्किने गरेका छन् । इम्बोस्ड नम्बरप्लेटको ज्ञान नहुनु र जडान कार्य शुरु भएकाले अधिकांश ट्राफिक प्रहरी झुक्किने गरेका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल इम्बोस्ड नम्बरको सवारीसाधनलाई व्यवस्थापन गर्नका लागि यातायात कार्यालयसँग समन्वयन गरेर ट्राफिक प्रहरीलाई तालीमको व्यवस्था गर्न लागिएको बताउनुहुन्छ । “नेपालमा इम्बोस्ड नम्बरप्लेटको थालनी भर्खरै भएकाले शुरुमा झुक्किनु स्वभाविक हो, हामी सबै ट्राफिक प्रहरीलाई इम्बोस्ड नम्बरप्लेटबारे चाँडै नै तालीम दिन्छौँ,”– उहाँ भन्नुहुन्छ । सरकारले वाग्मती अञ्चलमा दर्ता भएका चारपांग्रे्रे सवारीसाधनमा अनिवार्यरुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने व्यवस्था गरेपछि अहिले धमाधम इम्बोड नम्बरप्लेट राख्ने काम भइरहेको छ । यातायात व्यवस्था विभागले वाग्मती अञ्चलमा दर्ता भएका सरकारी र संस्थानका सवारीका लागि आगामी चैत मसान्तभित्र र अरु सवारीसाधनलाई २०७५ असार मसान्तसम्म अनिवार्यरुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसपछि क्रमशः अरु सवारीसाधनमा इम्बोस्डप्लेट जडान कार्य गरिनेछ । सरकारले अहिले पाँच प्रकारको इम्बोड नम्बरप्लेटको व्यवस्था गरेको छ । जसमध्ये राष्ट्रपतिको सवारीसाधनलाई निशान छापसहितको नम्बर, सरकारी र संस्थानलाई सेतो प्लेटमा रातो नम्बर, कूटनीतिक सेतो प्लेटमा निलो नम्बर, निजी सेतो प्लेटमा कालो नम्बर र भाडाका सवारीसाधनलाई पहेँलो प्लेटमा कालो नम्बर राख्ने व्यवस्था गरेको छ । यसैगरी इम्बोस्ड नम्बरको शुरुको अक्षर क्रमशः मोटरसाइकलको ‘ए’, कार, जिप डेलीभरी भ्यानको ‘वी’, टेम्पो र अटोरिक्साको ‘सी’, पावर टिलरको ‘डि’, ट्र्याक्टरको ‘इ’ मिनिवसको ‘एफ’, ट्रक बस ‘जी’ गरी राखिएको छ । इम्बोस्ड नम्बर लिनुभन्दा अगाडि यातायात कार्यालयमा अहिलेसम्म बाँकी रहेको सवारी कर बुझाएर मात्र आवेदन दिनुपर्ने हुन्छ । पहिलो चरणमा चारपाँग्रे साना तथा ठूला सवारी धनीले मात्रै इम्बोस्डप्लेटका लागि आवेदन दिन सक्नेछन् । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई हालसम्म एक हजार २०० सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गरिसकिएको बताउनुहुन्छ । “दैनिक १०० देखि १५० सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान भइरहेको छ,”– उहाँ भन्नुहुन्छ । कार्यालयमा हालसम्म इम्बोस्ड नम्बरप्लेट राख्नका लागि करिब चार हजार आवेदन परिसकेको महानिर्देशक भट्टराई बताउनुहुन्छ ।