गुजरातविरुद्ध जीतका लागि नेपाललाई ९९ रनको चुनौति

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातविरुद्ध नेपालले जीतका लागि ९९ रनको चुनौति पाएको छ । टस हारेर व्याटिङ गरेको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो । 
गुजरातलाई सस्तैमा समेट्न गुल्शन झाले घातक बलिङ गर्दै चार विकेट लिए । आफ्नो चार ओभरमा २२ रन खर्चिएर चार विकेट लिदा गुजरात दबावमा परेको थियो । यस्तै करण केसीले पनि गुजरातलाई दबाबमा राख्न तीन विकेटको योगदान गरे । ३ दशमलब २ ओभर बलिङ गरेका करणले पनि २२ रन खर्चिएका थिए । 

यस्तै, सोमपाल कामीले एक विकट लिए ।

नेपाल, गुजरात र बरोडाबीच आजबाट सुरु भएको त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ ।

सौन्दर्यविद् रश्मिला सम्मानित

काठमाडौं। रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा वरिष्ठ सौन्दर्यविद्  रश्मिला श्रेष्ठ सम्मानित भएकी छिन्। काठमाडौंमा आयोजित उक्त विशेष कार्यक्रममा माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ सौन्दर्यविद् श्रेष्ठलाई  सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरे । ’श्रेष्ठले डेड दशकभन्दा लामो समयदेखि काठमाडौंमा ‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर’ सञ्चालन गर्दै आएकी छिन् ।सौन्दर्यको क्षेत्रमार्फत श्रम तथा आर्थिक रुपमा मुलुकलाई सेवा पु¥याउँदै आएकी श्रेष्ठको योगदानको कदरस्वरुप ‘सम्मान गरिएको कार्यक्रममा जानकारी गराइएको थियो। वरिष्ठ सौन्दर्यविद् श्रेष्ठले काठमाडौं मलमा दुई वटा, बिजी मल र बुद्ध मलमा एक एक वटा आउटलेट सञ्चालन गर्दै आएकी छिन् ।श्रेष्ठले करीव १ सय जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी समेत दिएकी छिन् । उनले सौन्दर्यको क्षेत्रमा सिक्न चाहनेलाई पनि प्रशिक्षण दिँदै आएकी छिन् ।‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर’ले अन्तर्राष्ट्रियस्तरकै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । कलाकार, व्यवसायी, सर्वसाधारण, खेलाडीलगायतको पहिलो रोजाइमा रश्मिलाज् फेसियल हाउस पर्दै आएको छ ।

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट स्रोत नखुलेको नगद १८ लाख ५० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका ११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु २ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक उनी बाट उक्त नगद सहित पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धानको क्रममा उक्त रकम रूपन्देही तिलोत्तमा नगरपालिका ११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाडौं पुर्‍याइदिनू भनी श्रेष्ठलाई दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले न्यौपानेलाई समेत नियन्त्रणमा लिएको  जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

अवैध लागूऔषधसहित ८ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ परेका छन् । चेकजाँचको क्रममा प्रहरीले विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको हो ।       सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ भुताहा शिरबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोसहित सोही ठाउँ बस्ने २४ वर्षीय विच बहादुर वाईवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले ४ जना व्यक्तिहरुले उक्त गाँजा बोरामा बोकी ल्याउँदै गरेको अवस्थामा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । फरार भएका अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।  सिन्धुलीकै कमलामाई नगरपालिका ९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्रामसहित रामेछाप दोरम्बा गाउँपालिका २ बस्ने २० वर्षीय सुबोध श्रेष्ठ समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बा प्र ०१–०२८ च ३६१२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका ४ रोहिणी पुलबाट अवैध लागूऔषध हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम ९ सय मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोहिणी गाउँपालिका २ बस्ने २० वर्षीय अजित हरिजन र १९  वर्षीय काजु चमार रहेका छन् । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी मोरङको सुनवर्षी नगरपालिका ८ हरिसचन्द्रगडीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित सोही नगरपालिका ६ पटियापाडा बस्ने २० वर्षीया सुलेखा राजबंशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले प्र.नं.१–०२ –००३ ह ७०१५ नम्बरको सिटीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस्तै, सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ११ नहरबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेन्द्र यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु

रामेछाप । मौसम खुलेपछि मन्थली–लुक्ला उडान फेरि सुरु भएको छ । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा प्रतिकूल मौसमका कारण विमान उडाइएको थिएन । लुक्लामा प्रतिकूल मौसमका कारण सीता, तारा र समिट एयरका विमान मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ थिए । सो अवधिमा निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत सोलुकै सुर्केमा पुर्‍याइएको थियो । सडकमार्गबाट सोलुको फाप्लुसम्म लैजाने गरिएको थियो । आइतबार (आज) बिहान ६ बजेदेखि मौसम खुलेका कारण उडान सुरु भएको तारा एयर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले जानकारी दिए । मौसम खुलेपछि बिहानैदेखि काठमाडौंबाट सडकमार्ग हुँदै विदेशी पर्यटक मन्थली ल्याउने क्रम जारी छ । लुक्लाको मौसमले साथ दिएसम्म आज दिनभर विमान आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईंले जानकारी दिए ।

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार रेकर्ड ब्रेक गरेको सुनचाँदीको मुल्य आइतबार पनि त्यही मुल्यमा कारोबार भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज दिन चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि गत शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

जीप दुर्घटना हुँदा पाँचजना घाइते

काठमाडौं । दैलेखको गैरागाउँमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।  महाबु गाउँपालिका–२, ऐराडीदेखि दैलेख सदरमुकाम जाँदै गरेको कर्णाली प्रदेश ००१ च ०३२१ नम्बरको जीप आज (आइतबार) बिहान दुर्घटनामा परेको थियो ।  दुर्घटनामा चालकसहित पाँचजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

अर्थमन्त्रीको सल्लाहकारमा प्रा.डा.सूर्यबहादुर थापा नियुक्त

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा.सूर्यबहादुर थापा नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।उनी त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका अर्थशास्त्रका प्राध्यापक हुन् । आगामी आर्थिक वर्षको बजेट निर्माणको संघारमा रहेका अर्थमन्त्री पुनले नयाँ टिम बनाएका छन्। यसअघि अर्थमन्त्रालयका महत्वपूर्ण दुई विभाग भन्सार विभागमा ढुन्डीराज निरौला र आन्तरिक राजस्व विभागमा शिवलाल तिवारीलाई जिम्मेवारी दिएका छन्। बजेट मशाशाखा, राजस्व महाशाखा लगायतका शाखाहरूको जिम्मेवारी पनि हेरफेर गरेका छन्।

बागलुङमा ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन

काठमाडौं । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ।  नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो । बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक खाता खोलेर नगरले कार्यक्रम शुभारम्भ गरेको हो । प्रभु बैंकसँग सम्झौता गरी २०८० असारपछि जन्मिएका छोरीको नाममा खोलिएको खातामा नगरपालिकाको तर्फबाट रु पाँच हजार २० वर्षसम्म मुद्दती खातामा जम्मा गरिने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। नगरप्रमुख श्रेष्ठले छोरीको जन्मपश्चात् उनको नाममा नगरपालिकाले पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा अभिभावकले पनि रकम थप गर्न पाउनेगरी नगरकी छोरी कार्यक्रम अगाडि बढाएको बताए ।  नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीय रूपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेको छ । नगरका छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुने र छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरित हुने उनको भनाई छ ।

माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको अध्यक्षमा उर्मिला माझी निर्वाचित

काठमाडौं । माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मकवानपुरको वागमती गाउँपालिकामा शनिवार सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा उर्मिला माझी निर्वाचित भएकी छिन् ।  प्रतिनधिसभा सदस्य समेत रहेकी उर्मिला माझी यस अघि मोर्चाकी महासचिव थिइन्। मोर्चाको दोश्रो राष्ट्रिय सम्मेलनबाट माझी सर्वसम्मतले अध्यक्ष चयन भएकी हुन् । सम्मेलनबाट उर्मिला माझीको नेतृत्वमा ५५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । मोर्चाको महासचिवमा लक्ष्मी माझी चयन भएकी छिन् । उनी यस अघि मोर्चाको केन्द्रीय सचिवालय सदस्य र वागमती गाउँपालिका कार्यपालिका सदस्य रहेकी थिइन् । त्यसैगरी मोर्चाको उपाध्यक्षमा शोभाकुमारी माझी, गोपीलाल माझी र दिपक माझी चयन भएका छन्। नेपाल सरकारका उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न राष्ट्रिय सम्मेलनमा पुर्व सभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती विशेष अतिथिको रूपमा उपस्थिति रहेको थियो भने स्थायी समिति सदस्इ सत्य पहाडि, राष्ट्रिय सभा सदस्य तथा माओवादी नेता शुरेश आलेमगर, बागमती प्रदेश सभा सदस्य प्रेम पुलामी, पुर्व सांसद वुद्विमान माझी,  गाउँपालिका अध्यक्ष सर्केश घलान लगायतको विशेष उपस्थिति रहेको थियो ।  उद्घाटन सत्र र बन्द सत्र गरी दुई भागमा सम्पन्न सम्मेलनले माझी पहिचानसहितकोे स्वायत्त क्षेत्र घोष्णा गर्न पहल गर्ने तथा माझी जातीको प्रमूख चाड लदी पर्वलाई राष्ट्रिय पर्वको रुपमा सूचिकृत गर्नको लागि पहल गर्ने निर्णय भएको अध्यक्ष माझीले बताइन् । उनले माझी समुदयको हक हित र अधिकार मात्रै होइन सबै उत्पीडित जाती क्षेत्र र समुदायको पक्षमा मोर्चालाई शशक्त ढंगले अगाडि बढाइने बताइन् । उनले अन्य दलमा रहनुभएका माझी समुदायर्र्ला पनि पहिचान र अधिकारको एजेण्डाको जननी माओवादी केन्द्र र माझी राष्ट्रिय मुक्तिमोर्चामा समाहित गर्ने अभियानमा आफू लाग्ने बताइन् ।

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्कर दिदा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी महिलाको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षकी लक्ष्मी तामाङ रहेको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

संवैधानिक परिषद्को बैठक बालुवाटारमा जारी

काठमाडौं । संवैधानिक परिषदको बैठक जारी छ । बैठक परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बालुवाटारमा बसिरहेको हो ।  आजको बैठकमा रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल हुने बताइएको थियो । प्रधानमन्त्री प्रचण्डले यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पटक पटक छलफल गरेका थिए। संवैधानिक परिषद्‌को बैठकमा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सहभागी छन् ।

टी-२० सिरिज : नेपाल गुजरातसँग खेल्दै, यस्तो छ टिम नामावली

काठमाडौं  । त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आजको खेल नेपाल र भारतको स्टेट टोली गुजरातबीच हुनेछ। खेल नेपाली समय अनुसार दिउसो २ः४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । बरोडा र गुजरात दुबैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका छन् । त्यसैले खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। गुजरातको कप्तानी उमांग कुमार र नेपालको रोहित पौडेलले कप्तानीमा खेल हुनेछ। नेपालको कुशल भुर्तेल, दीपेन्द्र सिंह ऎरि र कुशल मल्ल प्रमुख हतियार हुन्। डेथ ओभरमा अभिनाश बोहराको प्रदर्शन राम्रो छैन। त्यो सुधारको आवश्यक देखिन्छ।विवेक यादव, सन्दिप जोरा र प्रतिश जिसि जस्ता युवा खेलाडीलाई मौका दिएर हेर्न सक्छ । दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द । गुजरातको टोली : उमांग पटेल (कप्तान), अर्यान देशाई, जयविर पारमार, शेन पटेल, हिमांग पटेल, तेजास पटेल, प्रियस पटेल, स्मित पटेल, ऋषि पटेल, जयमित पटेल, जय मलुसार, युवराज जाला, सारल प्रजापति, धरुशान्त सोनि र हर्ष देशाई ।

आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने छन् : प्रधानमन्त्री प्रचण्ड

ब्रसेल्स। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन्। शनिवार साँझ माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भई रहेको छ । “ प्रधानमन्त्रीले भने । उनले गैर आवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी २ गते अदालतको फैसला पछि निर्णय गरिने बताए।  हाल देखिएको तीन फरक नेतृत्वको एनआरएनएलाई एक ठाउँमा राखी सहमति प्रयत्न गर्ने कथंकदाचित सहमति नभए सरकारले गठन गरेको छानबिन समितिले दिई सकेको प्रतिवेदन अनुसार केही दिनभित्रै टुङ्गोमा पुग्ने बताए। प्रधानमन्त्रीले विभिन्न मुलुकमा रहेको राहदानी समस्या हल गर्न परराष्ट्र मन्त्रालयमा सधैँका लागि घुम्ती  स्थायी संयन्त्र बनाइएको र बढी समस्या भएका ठाउँमा कन्सुलर नियुक्ति गर्ने बताए। प्रधानमन्त्रीले अर्को एक प्रसङ्ग उल्लेख गर्दै सरकारले तिन करोड रूपियाँ तलका आयोजना ,परियोजना सङ्घीय सरकारले नभै प्रदेश सरकारले निर्णय लिन सक्ने गरी अगाडी जाने तयारी भैसकेको बताए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले प्रवासमा अब पार्टी र मोर्चा फरक फरक बन्ने  बताइन्। 

संवैधानिक परिषदको बैठक आज आह्वान

काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दैछ । परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् । आजको बैठकमा रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पटक पटक छलफल गरेका छन् । प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने प्रावधान छ।

प्रतिनिधिसभा बैठक ११ बजे बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आजको बैठकमा सभामुखले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आइएसए०को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।अर्थमन्त्रीले भन्सार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।