बीस वर्षदेखि ओढारको बास, भोक टार्न खरानी खान्छन् !

काठमाडौं, फागुन ८ । रूपसिंह चेपाङ। उमेर ७६ वर्ष। आफ्नो नाममा जग्गा शून्य। २० वर्षदेखि ओढारवासी।चितवनको राप्ती नगरपालिका- १३, युर्तीस्थित ओढारमा बस्दै आएका एक जना वृद्ध चेपाङको परिचय हो यो।

करिब १० वर्षअघि श्रीमतीको मृत्यु भएपछि उनी एक्ला भए। त्यसपछि सहाराविहीन छन्।

उनी बस्ने ओढारनजिकै छोरीको घर छ। त्यो पनि ‘जनता आवास’ कार्यक्रमले बनाइदिएको। त्यसबाहेक वरिपरि कसैको घर छैन। एक्ला र अशक्त छन् तर छोरीको घरमा बस्न चाहँदैनन्।

खानेकुरा भएको बेला तिनै छोरीले पकाएर ओढारमै लगिदिन्छिन्। नभएको बेला खोकिलामा हात हाल्छन्, भोकै बस्छन्। ‘कसैले ल्याएर दियो भने छोरीले मलाई पनि पकाएर ल्याइदिन्छिन्, नत्र उनीहरू नै भोकै पर्छन्, म बूढोले कहाँबाट पाउनु ? ’ उनले भने।

यसपालि पनि उनले त्यहीं जाडो काटे। न ओढ्ने छ न त आङ छोप्ने एकधरो कपडा। जाडो गएर के गर्नु, फेरि बर्खा लागिहाल्छ। वर्षा सुरु भएपछि पानी रसाउँदै आउँछ, ओढारमा।

शरीर निकै गलिसकेको छ। ओढारबाट निस्केर हिँडडुल गर्न पनि सक्दैनन्। धुनी तापेकै भरमा रात कटाउँछन् उनी। धेरै दिनसम्म केही खान नपाएपछि भोक सहन सक्दैनन्, अनि भोक टार्न त्यही खरानी खान्छन्।, अन्नपुर्ण पोष्टमा खबर छ ।

रारा संरक्षण र पर्यटन प्रवद्र्धनका लागि बृहत रारा महत्सव हुने

मुगु । राराको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँच दिने बृहत रारा पर्यटन महोत्सव हुने भएको छ । मनमोहक राराको दृश्यावलोकन र समग्र कर्णालीको पर्यटन विकासका लागि बृहत रारा पर्यटन महोत्सव हुने रारा पर्यटन विकास समितिका अध्यक्ष एवं रारा बचाउ अभियानका अभियन्ता देविकृष्ण रोकायले बताएका छन । रोकायाका अनुसार राराको संरक्षण र रारा बिकासका आधारहरु तय गर्न बृहत रारा महत्सव गर्न लागिएको हो । पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको मुगु र रारा क्षेत्रको प्रवद्र्धनका लागि सरोकार वाला सबै संग सहकार्य गरेर बैशाख अन्तिम साता रारा महोत्सव गर्न लागेको बताउनु भयो । रोकायाले कर्णाली आफैंमा धार्मिक तथा प्राकृतिक हिसाबले संसारकै पर्यटकीय गन्तव्य रहेको बताए । यस क्षेत्रको प्रचार प्रसारका लागि पर्यटन महोत्सवले प्रभावकारी भूमिका खेल्ने भन्दै राराको चौतर्फी विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे । ‘कर्णाली आफैमा सांस्कृतिक तथा जैविक विविधता भएको क्षेत्र हो । यहाँ आर्थिक स्रोतका लागि पर्यटनसँगै जलविद्युत, कृषि अर्गानिक र वहुमुल्य वडिबुटीको पकेट क्षेत्र हो,’ उनले भने,‘यस क्षेत्रको समृद्धिका लागि रारा महत्सवले सौन्दर्य र पर्यटनमा नयाँ आयम थप्नेछ ।’ ‘अहिले रारा पुग्न हवाई सेवा पनि प्रभावकारी नभएको र कर्णालि राजमार्गको कालो पत्र र स्तर उन्नती नहुदा समस्या छ, तर वैकल्पिक मार्ग तयारी गरिरहेका छौं । अबको केहि वर्ष्भित्र वैकल्पिक मार्ग सम्पन्न हुने छ,’ उनले भने । उनका अनुसार रारालाई अन्तर्रा्ष्ट्रिय तहमा प्रचारका लागि “स्वच्छ सुन्दर हाम्रो रारा, विश्वमा चिनाऔ मिलि जुलि सारा” भन्ने नाराका साथ मुर्मा गाउँलाइ नमुना होमस्टे, मुर्मा टप भ्यु टावरको बृहत योजना अगाडि बडीसेको जानकारी दिए । केबलकार संचालनका लागी २५ रुपैया अभियान संचालन गरिने रोकायाले बताए । महोत्सवमा राराको सुन्दर दृश्यअवलोकन, घोडा, डुंगा र साइकल सयर कर्णालीको बृत्तचित्र प्रर्दशन, स्थानीय उत्पादनको प्रदर्शनी, हिमालयन गाइड्स रारा म्याराथन, विविध सांस्कृतिक झाँकी, खेलकुद कार्यक्रम, राष्ट्रिय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम र स्थानीय मौलिक खाना समेत आकर्षणको रुपमा रहने जनाएइको छ । रारा संरक्षण तथा सम्र्वद्धन महोत्सवका लागि करिब ५ करोड बजेट लाग्ने अनुमान गरिएको छ । तस्वीर : कविराज कार्की

माटोले पुरिएर सासूबुहारीको मृत्यु

संखुवासभा । संखुवासभा जिल्लाको मादी नगरपालिका–४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा आज एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै माटोले पुरिएर मृत्यु भएको छ । करिब ५० वर्षीय टीकादेवी शंकर र २० वर्षीया मनिषा विकको माटोले पुरिएर मृत्यु भएको हो । मृतकको लास चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको भए तापनि चिकित्सक आइनपुगेका कारण शवपरीक्षण हुन नसकेको इलाका प्रहरी कार्यालय, चैनपुरले जनाएको छ ।

धुलो नियन्त्रणको माग गर्दै एक घण्टा चक्का जाम

दाङ, फागुन ७ । अचाक्ली धुलो उडेपछि नियन्त्रणको माग गर्दै यहाँका स्थानीयवासीले धुलो नियन्त्रणको माग गरेका छन् । उनीहरुले त्यसकालागि एक घण्टा चक्का जाम समेत गरेका छन् । तुलसीपुर–घोराही सडकअन्तर्गत तुलसीपुर बजारदेखि हात्तीखौवा चोकसम्म करिब एक किलोमिटर बाटो निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि शुरु हुन सकेको छैन । सडकखण्डको स्तरोन्नतिको नाममा लामो सयमदेखि भत्काइएको सडक कालोपत्र नगर्दा त्यस क्षेत्र धुलाम्मे हुँदा सर्वसाधारणको स्वास्थ्य जोखिममा परेको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीले अविलम्ब सडक कालोपत्र गर्नुपर्ने माग गर्दै आइतबार बिहान १०ः३० देखि ११ः३० बजेसम्म चक्का जाम गरेका हुन् । सडक निर्माण हुन थालेको लामो समयपुग्दा समेत सडक कालोपत्र नहुँदा त्यस क्षेत्रको जनजीवन धुलोका कारण निकै कष्टकर बन्दै गइरहेको तथा व्यापार–व्यवसाय चौपट भएको स्थानीयवासीले बताएका छन् । ‘बालबालिकालाई विद्यालयसम्म पुग्न कठिन छ, घरको भान्सामा समेत धुलो आउने गर्छ, पाँच मिनेटमै शरीरमा धुलोले ढाकेर मानिस नचिनिने हुन्छ,’ स्थानीय वसन्त खड्गीले भने । साथै आन्दोलनको पहिलो दिन भएकाले सांकेतिक विरोधस्वरुप एक घण्टा बन्द गरिएको र सम्बन्धित निकायबाट भरपर्दो निकास नआए सडक अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी स्थानीयवासीले दिएको दिलीप केसीले बताए ।

फरार अपराधी कारागार चलान

चितवन, फागुन ७ । चितवनको भरतपुरस्थित रामनगरको पेट्रोलपम्पका कर्मचारीलाई गोली हानी धनमाल लुटेको घटनामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति कारागार चलान भएका छन् । यसरी कारागार चलान हुनेमा गोरखा जिल्लाको साबिक धावा गाविस घर भई ताप्ले बस्ने ४६ वर्षीय श्याम नेपाली ‘रोकाहा’ रहेको चितवन प्रहरीले जानकारी दिएको छ । उनलाई शुक्रबार गोरखाबाट पक्राउ गरी आइतवार चितवन जिल्ला अदालतमा बुझाइएकोमा अदालतले आइतबार नै कारागार पठाएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । सात वर्षअघि २०६७ सालमा रामनगरमा रहेको जगदम्बा पेट्रोलपम्पका म्यानेजर भरत घिमिरेलाई गोली हानी हत्या गरिएको घटनामा उनी दोषी ठहरिएका थिए । सो क्रममा उनीहरुले पम्पमा भएको धनमालसमेत लगेका थिए । फरार अपराधी खोजी अभियानका क्रममा प्रदेश नं ३ को प्रहरी कार्यालय हेटौँडाको क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय गोरखाको संयुक्त टोलीले उनलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । जिल्ला अदालत चितवनको २०७३ साल असार २७ गतेको फैसलाअनुसार नेपालीलाई ३ वर्ष कैद र रु २० हजार जरिवानाको फैसला सुनाएको थियो ।

छुर्पीको मूल्यमा गिरावट, जापान र अमेरिका निर्यात हुन छाड्यो

इलाम, फागुन ७ । छुर्पीको मूल्यमा गिरावट आएपछि इलामका व्यापारी तथा किसान मारमा परेका छन् । जापान, अमेरिकालगायतका मुलुकमा निकासी हुने गरेको छुर्पीबाट मनग्य आम्दानी गर्दै आएका व्यवसायीहरु मूल्यमा गिरावट आएपछि मारमा परेका हुन् । अमेरिका, जापान जस्ता देशमा कुकुरलाई खुवाउन प्रतिमहिना तीन टन नेपालको छुर्पीको माग हुने गरेको थियो । विगतमा यसको माग धान्न नै धौ–धौ पर्ने गरेका डेरी उद्योगलाई अहिले भने सुक्खा लागेको छ । हिमालय डक च्यु कलेक्सन सेन्टर काठमाडौं र सिल्भर लिंक आइएनसी प्रालि कलेक्सन सेन्टर काठमाडौंले इलामको छुर्पी खरिद गरेर निकासी गर्दै आएका थिए । उनीहरुले केही महिनाअघिसम्म प्रतिकेजी एक हजार रुपैयाँले छुर्पी खरिद गर्ने गरेका थिए । तर अहिले छुर्पीको मूल्य घटेर प्रतिकेजी ७ सय रुपैयाँमा झरेको छ । नेपालको छुर्पी गुणस्तरहीन भएको भन्दै अमेरिका र जापानले लिन आनाकानी गर्न थालेपछि मूल्यमा गिरावट आएको हो । छुर्पी खाएपछि कुकुरको रौं झर्ने, विरामी हुने जस्ता समस्या देखा परेको भन्दै अमेरिका, जापान जस्ता देशले नेपालको छुर्पी लिन नमानेकाले केही समय अघिबाट छुर्पी निकासीमा समस्या आएको व्यापारीहरुको भनाइ छ । बजारीकरणमा प्रतिस्पर्धा भएपछि व्यापारीले गुणस्तरहीन छुर्पीसमेत संकलन गरी निकासी गरेकाले मागमा गिरावट आएकोे इलामका छुर्पी ब्यापारी ईश्वरी अधिकारीले जानकारी दिए । इलाममा ५६५ वटा दुग्द्यजन्य डेरी, चिज उद्योग दर्ता रहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

स्थानीय तहका कानून राजपत्रमा प्रकाशित

बुटवल, फागुन ७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधिलाई तिलोत्तमा राजपत्रमा प्रकाशित गरेको छ । नगर प्रमुख वासुदेव घिमिरेबाट प्रमाणीकरण गरिएका ती ऐन, नियमावली नगरवासीलगायत सम्बद्ध सबैको जानकारीका लागि राजपत्रमा प्रकाशित गरिएको हो । नेपालको संविधान भाग १८ को स्थानीय व्यवस्थापिकाको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा (१) बमोजिम तिलोत्तमा नगरपालिकाले नगरसभाबाट विभिन्न ऐन, नियमावली, निर्देशिका र कार्यविधि पारित गरेको थियो । नगरसभाबाट यसरी पारित ऐन, नियमावली, निर्देशिका, कार्यविधि नगर प्रमुखबाट गत माघ २७ गते प्रमाणीकरण भएकामा त्यसलाई तिलोत्तमा राजपत्रमा प्रकाशित गरिएको नगर कार्यपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । राजपत्रमा प्रकाशित भएसँगै स्थानीय कानून कार्यान्वयनमा आएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए । नगरसभाबाट पारित भएका ऐनहरु नगर प्रमुखले प्रमाणीकरण गरेपछि प्रमुख प्रशासकीय अधिकृतले राजपत्रमा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था छ । तिलोत्तमा राजपत्रमा ‘केही कानून तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन, केही सार्वजनिक लिखत प्रमाणीकरण र प्रकाशन (कार्यविधि) ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, एफएम रेडियो (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि ऐन, सहकारी ऐन, शिक्षा नियमावली’ प्रकाशित गरिएको छ । यस्तै, बजार अनुगमन निर्देशिका, बैठक सञ्चालन कार्यविधि, पदाधिकारीको आचारसंहिता, कार्यसम्पादन नियमावली र नगरसभा सञ्चालन कार्यविधि पनि राजपत्रमा प्रकाशित गरिएको छ । तिलोत्तमा नगरपालिकाले नेपालको संविधान, २०७२ ले दिएको अधिकार क्षेत्रमा रही स्थानीय कानून निर्माण गरिएको जनाएको छ । संविधानको अनुसूची ८ मा स्थानीय तहका २२ वटा एकल अधिकार तोकिएको छ भने अनुसूची ९ मा साझा अधिकारहरुको सूची उल्लेख छ । स्थानीय कानूनका कुनै प्रावधान प्रदेश कानूनसँग बाझिन गएमा त्यस्ता प्रावधान स्वतः प्रदेश कानूनअनुसार हुने नगरपालिकाले जनाएको छ ।

आहार र बासस्थान संकटमा परेपछि हराउन थाले गिद्ध

पाल्पा, फागुन ७ । आहार र बासस्थान व्यवस्थापन नहुँदा हिजोआज गिद्ध हराउन थालेका छन् । प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्धको आहार र बासस्थानमा सम्बन्धित निकायले ध्यान नदिँदा गिद्धको संख्या लोप हुन पुगेको हो । कालीगण्डकी नदीका वारिपारिका किनारमा बासस्थान बनाएर वर्षौंदेखि बसोबास गर्दै आइरहेका गिद्ध अहिले देख्न पनि मुस्किल परेको छ । नदी किनारमा हिजोआज मरेका जीव जनावर जथाभावी फ्याँक्न रोक लगाउनु, अर्कोतर्फ गिद्ध बस्ने सिमलका रूखको संरक्षण नहुँदा गिद्ध लोप हुन पुगेको हो । सिमलका रूख विकास निर्माणका नाममा पछिल्लो समय धमाधम मासिन थालेपछि गिद्धको बासस्थान नै खलबलिन पुगेको रामपुरका स्थानीय समाजसेवी बुद्धिप्रकाश रेग्मीले बताए । ‘कालीगण्डकीका विभिन्न घाटमा प्रशस्तै गिद्ध देखिन्थ्यो, तर अहिले भने एक–दुईवटा पनि भेटृाउन मुस्किल छ,’ उनले भने । आजभन्दा एक दशकअगाडि सम्म कालीगण्डकीको खैरेनीघाट, रामघाट, पुट्टारघाट, बालीघाट लगायतका दर्जनौँ घाटमा प्रशस्त मात्रामा गिद्ध भेटिन्थे । नदी किनारमा मरेका जीवजन्तु, गाईवस्तु फ्याँक्ने गर्नाले पनि गिद्धको ठूलै बथान देखिन्थ्यो । हिजोआज मरेका जीवजन्तु, घरपालुवा जनावर नदी किनारामा जथाभावी फ्याँक्न रोक लगाएपछि गिद्धको संख्या पनि दिनानुदिन घट्दो अवस्थामा रहेको चापाकोट नगरपालिकाका स्थानीयवासी शोभाकान्त पाठक बताउँछन् । नेपाल सरकारले गिद्ध संरक्षणका लागि अभियान ल्याए पनि संरक्षण हुन नसक्दा लोप हुँदै गएका हुन् । पछिल्लो समय यस कालीगण्डकी क्षेत्रमा मात्र नभई देशमै गिद्धको संख्या घट्दो छ । गिद्ध संरक्षणका लागि स्थानीय निकायले विशेष कदम चाल्नुपर्ने उनको सुझाव छ । विश्वमा २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातीका गिद्ध पाइए पनि त्यसमध्ये धेरै गिद्ध आहारको कमी र सिमलका रूखहरुको विनाश गर्दै जाँदा यसको बासस्थान संकटमा परेको छ । नेपालमा सानो, खैरो, डङगुर, सुन, सेतो, राजा, हिमाली, हाडफोर र लामो ठुडे प्रजातिका गिद्ध पाइने गर्दछन् ।

आज प्रजातन्त्र दिवस, टुँडीखेलमा विशेष कार्यक्रम

काठमाडौं, फागुन ७ । जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो । दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक विदा दिएको छ । गणतन्त्र स्थापना दिवस प्रजातन्त्र दिवस मनाउन छाडिए पनि शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले भने सार्वजनिक विदा दिने निर्णय गरेको थियो । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बिहान ९ बजे विशेष कार्यक्रम आयोजना गरिएको छ । एकसय चार वर्षे जहानियाँ राणा शासनविरुद्ध चर्किएको आन्दोलनपछि तत्कालीन शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

स्थानीय तहका लागि ३० नमुना कानुन् तयार

काठमाडौं, फागुन ७ । स्थानीय तह सञ्चालनका लागि सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र ३० वटा नमुना कानुन् बताएको छ । ऐन लागु भईसकेको छ भने नमुना कानुन् पनि अधिकांश स्थानीय तहमा लागु भएका छन् । संघीय तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि ७ सय ५३ वटै स्थानीय तहमा ३० वटा नमुना ऐन, नियमावली, नमुना कार्यविधि पठाएको छ । मन्त्रालयले पठाएको नमुना काुननमध्ये अधिकांश कानुन २ नम्बर प्रदेशबाहे अन्य प्रदेशका स्थानीय तहले लागु गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव तथा संघीय मामिला महाशाखाका छवि रिजालले भने, मन्त्रालयले पठाएको करिव ३० वटा नमुना कानुन् र नमुना कार्यविधि स्थानीय तहले अध्ययन र छलफल गरी त्यसलाई परिमार्जन मसेत गरर लागनु गर्न सक्छन् ।, नागरिकमा खबर छ ।

कांग्रेस संसदीय दलमा देउवासँग भिड्दै सिंह

काठमाडौं, फागुन ७ । नेपाली कांग्रेस संसदीय दलको नोमा सभापति शेरबहादुर देउवा र पुर्वमन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । संसदीय दलको निर्वाचन कहिले हुन्छ भन्ने निश्चित नभए पनि निकट नेताहरुले देउवा र सिंहबीच प्रतिस्पर्धा हुने संकेत गरेका छन् । देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले संसदीय दलको नेता सभापति देउवा आफै बन्ने दावी गरे । सभापति आफै संसदीय दलको नेता हो भन्ने छ, विश्वकर्माले भने उहाँले अर्को कुनै नेतालाई निर्धारण नगरेसम्म सभापति आफै दलको नेता हो ।, नागरिक दैनिकमा खबर छ ।

प्रमुख जिल्ला अधिकारीहरुले दिए आन्दोलनको चेतावनी

काठमाडौं, फागुन ७ । सघीय संरचनामा जिल्ला प्रशासन कार्यालयबारे अहिलेको संविधानले केही परिकल्पना गरेको छैन । संघीय संरचनामा जिल्ला प्रशासन कार्यालय रहने कि नरहने, रहेमा पनि कसको मातहत रहने भन्ने प्रश्न प्रशासन वृत्तमा अहिले निकै चर्चाको विषयम बनेको छ । माघको दोस्रो साता प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला प्रशासन कार्यालय प्रदेशको मातहत राखे आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । यसले गर्दा पनि यो बहसले अझ सघन रुप लिएको पाइन्छ । -नेपाल समाचारपत्रमा खबर छ । संविधानले संघ, प्रदेश र स्थानीय तहलाई मात्रै सरकार वा प्रशासनिक निकाय मानेको छ । साविकका जिल्ला र विषयगत कार्यालयहरुले गर्ने काम संविधानले गाउँपालिका र नगरपालिकालाई दिएको छ । जिल्लामा गाउँपालिका, नगरपालिकासँग समन्वय गर्न जिल्ला समन्वय समिति रहने संविधानमा भनिएको छ । अधिवक्ता सुनीलरञ्जन सिंहले भने, -जिल्ला प्रशासन कार्यालयबारे संविधानले स्पष्टरुपमा केही बोलेको छैन । -संविधानमा नागरिकता, राहदानी र शान्ति सुरक्षा केन्द्रको मातहत रहने भनेको छ । -यही आधारमा अहिलेको जिल्ला प्रशासन कार्यालय रहन्छ कि जस्तो लाग्छ ।

छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान

भक्तपुर । भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगर क्षेत्रका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरेको छ । जथाभावी छाडा छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालीम प्राप्त पशुविज्ञको टोली तथा नगरपालिकाका नौजना कर्मचारीको सहयोगमा कुकुरलाई समातेर बन्ध्याकरण गर्ने तथा रेबिजविरुद्ध खोप लगाइदिने अभियान थालेको हो । अभियानअन्तर्गत समातिएका कुकुरलाई गःपलीस्थित पशु स्वास्थ्य क्लिनिकमा लगेर बन्ध्याकरण गर्ने र खोप लगाउने कार्य भइरहेको अभियानका संयोजक एवं वडा अध्यक्ष राजकृष्ण गोराले जानकारी दिनुभयो । उहाँका अनुसार कुकुरलाई पशु चिकित्सक डा एकता पाण्डे र डा आशिष राई तथा प्राविधिक मुकेश तुल्सी बाख्यो र बुद्धिराम रेग्मीको टोलीले उपचार गर्ने र उपचारपछि समातिएकै स्थानमा छोडिने गरेको छ । यसअघि नगरप्रमुख सुनिल प्रजापतिले सो अभियानको भक्तपुर दरबारस्क्वायरमा स्थलगत अवलोकन गर्दै कुकुरले नगरको रात्रिकालीन सुरक्षाको काम गरे पनि नगरमा अत्यधिक संख्यामा देखिएका कुकुरलाई रेबिज रोगबाट मुक्त गर्न तथा कुकुरको संख्या अनपेक्षित रुपमा बढ्नबाट रोक्न नपाले बन्ध्याकरण तथा खोप अभियान सञ्चालन गरेको प्रष्ट पार्नुभयो । “यो एउटा सकारात्मक पहल हो र यसमा दक्ष पशु चिकित्सक संलग्न छन्”, उहाँले भन्नुभयो, “यो अभियान नगरका सबै वडाका टोलमा सञ्चालन हुनेछ ।” पछिल्लो समय नगरका विभिन्न स्थानमा कुकुरको टोकाइबाट नगरवासी पीडित भएको गुनासो आइरहेको सन्दर्भमा नपाले सञ्चालन गरेको यो अभियान निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ । पशु स्वास्थ्य र मानवीय स्वास्थ्य दुवैलाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएको कार्यक्रम संयोजक गोराले बताउनुभयो । उहाँले रेबिज रोगबारे सर्वसाधारणलाई जनचेतना दिने र खोप लगाइएका कुकुरको पहिचान गर्न सजिलो होस् भनेर चित्रसहितका पर्चा र पोस्टर ठाउँठाउँमा राख्न लागिएको जानकारी दिनुभयो । अभियानमा संलग्न डा पाण्डेले समातिएका कुकुरलाई आधुनिक सुविधासम्पन्न क्लिनिकमा बन्ध्याकरणसहित उपचार गरिने बताउनुभयो । “एउटा कुकुरलाई सामान्य शल्यक्रिया गरेर बन्ध्याकरण गर्न करिब ४५ मिनेट लाग्छ”, उहाँले भन्नुभयो, “खोप र बन्ध्याकरण गरिएका कुकुरलाई सर्वसाधारणले चिन्न सजिलो बनाउन घाँटीमा सुन्तला रङ्गको पेटी बाँध्ने तथा दाहिने कानको थोरै भाग काटिदिने गरेका छौँ ।”

देउवाले छाडे बालुवाटार

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट (निजी निवास सरेका छन् । बिहीबार विहान प्रधानमन्त्री पदबाट देउवाले राजीनामा दिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नै नयाँ प्रधानमन्त्रीमा नियुक्त भए । त्यस लगत्तै शुक्रबार दिउँसो निजी निवास सरेका हुन् । निवर्तमान प्रधानमन्त्री देउवा दिउँसो साढे १२ वजेपछि बालुटारबाट निजी निवास बुढानिलकण्ठतर्फ लागेका उनका स्वकीय सचिव विरेन्द्र थापाले जानकारी दिएका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आएका थिए ।

वृद्धाको हत्या

पाल्पा । बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ । छिमेकी विष्णु खनालले आज बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । हत्यापछि फरार अभियुक्त खनाललाई तानसेन नगरपालिका–६ बर्तुङमा लुकेको अवस्थामा प्रहरीेले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डढेलो नियन्त्रण बाहिर

सल्लेरी । खुम्बु पासाङल्हामु गाउँपालिका–३ को एउटा घरमा आगलागी हुँदा नजिकैको जंगलसम्म फैलिएको छ । जंगलमा फैलिएको आगो अझै नियन्त्रण बाहिर रहेकोे छ । बिहिबार दिउँसो स्थानीय काल्देनवाङ्छु शेर्पाको घरमा आगलागी भएको थियो । आगो घरनजिकै रहेको ठाडोकोशी रेडपाण्डा समुदायिक बनमा सल्किएको थियो । उक्त आगो अहिले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा फैलिएको लुक्ला सामुदायिक प्रहरी सेवाकेन्द्रका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिनुभयो । घरमा लागेको आगो नियन्त्रणमा आए पनि त्यहाँबाट जंगलमा सल्किएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । अहिले स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी तथा पैदलयात्रीले आगो निभाइरहेका छन् । “आगलागीले बस्ती भेट्ने सम्भावना कम भए पनि जंगलमा क्षति पु¥याएको छ,” सेवा केन्द्रका अध्यक्ष शेर्पाले भन्नुभयो । ठाडो कोशीमा लागेको आगो तीन घण्टाको दूरीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको जोर सल्लेसम्म फैलिएको प्रहरी नायब निरीक्षक यादव केसीले बताउनुभयो । उहाँले भन्नुभयो– “नियन्त्रण गर्ने साधन नहुँदा समस्या भएको छ ।” आगलागीबाट शेर्पाको घरमा रहेको सबै सामग्री जलेर नष्ट हुँदा करिब रु डेढ करोड बराबरको क्षति भएको उहाँले बताउनुभयो ।