टस हारेर बरोडाविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन ।

गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए ।

नेपालको प्लेइङ ११ 

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा ।

बेन्च ललित राजवंशी, प्रतिश जि।सी, विवेक यादव र आकाश चन्द ।

रवि गृहमन्त्री बनेपछि सहकारी ठगीको छानबिन रोकिएको कांग्रेसको आरोप

काठमाडौँ । प्रतिनिधिसभामा नेपाली कांग्रेसले रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरण राखिएको आरोप लगाएको छ।नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा उठेका सवाललाई संसदीय छानबिन समिति गठन गरेर नै निराकरण गर्नुपर्ने माग राखे। मङ्गलबार प्रतिनिधिसभाको बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख देवराज घिमिरेले यादवलाई बोल्न समय दिएका थिए। सोही समयमा यादवले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेका आरोपमाथि निष्पक्ष छानबिन गरी आफूलाई निर्दोष प्रमाणित गर्न चुनौती दिए। अन्यथा यो दागले जीवनभर लामिछानेलाई नछाड्ने उनको भनाइ थियो । नेपाली कांग्रेसले विगतदेखि नै तथ्य र प्रमाणसहित यस विषयमा कुरा उठाएको स्मरण गराउँदै उनले संसदीय छानबिन समिति गठन आफूहरूको मुख्य माग रहेको बताए। ‘जब सहकारीको पैसा अपचलनमा रवि लामिछानेको नाम जोडिएर आयो, तत्कालीन गृहमन्त्रीले संसदमा आएर छानबिन गर्ने भन्नुभएको थियो,’ उनले भने, ‘गृहमन्त्री र प्रहरीले नै यसबारेमा अनुसन्धान हुने भनेपछि संसदीय छानबिन समिति त्यतिबेला आवश्यक थिएन ।’  तर अहिले आरोपित व्यक्ति नै गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकिएको उनले आरोप लगाए ।

सुदूरपश्चिममा मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सि २२ गते बिहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले आज (मंगलबार) विहान विश्वासको मत लिने प्रस्ताव दर्ता प्रदेशसभा सचिवालयमा गराएका हुन् । लगतै प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले बताए ।

संविधान र कानुन कार्यान्वयनका लागि सञ्चारमाध्यमको जागरण अभियान आवश्यक : मन्त्री शर्मा

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनी व्यवस्थाको कार्यान्वयनका लागि सञ्चारमाध्यमबाट सचेतना र जागरणका अभियानहरु सञ्चालन गर्न आवश्यक रहेको बताकी छिन् ।रेडियो नेपालको ७४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनलाई जनताको जीवन परिवर्तनसँग जोड्न यस्ता अभियान आवश्यक रहेको बताइन्।  ‘तमाम जनक्रान्तिको फलस्वरुप नेपालमा ठूलो राजनीतिक परिवर्तन आएको छ । लोकतन्त्र, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी, समानुपातिक प्रतिनिधित्व आजका हाम्रा ऐतिहासिक उपलब्धि हुन्’– उनले भनिन्– ‘यी उपलब्धिको रक्षा र विकास गर्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको आवश्यकता हो । संविधानको मर्मअनुरुप हामीले धेरै जनपक्षीय र प्रगतिशील कानुन बनाएका छौं तर यसको कार्यान्वयनले तिब्रता लिन सकिरहेको छैन ।’ हरेक क्षेत्रमा अर्थपूर्ण समावेशी सहभागिता, पैत्रिक सम्पत्तिमा छोराछोरीको समान अधिकार, सम्पत्तिमा दम्पत्तिको समान अधिकार, जातीयलगायत विभिन्न खाले सामाजिक छुवाछुतको समूल अन्त्यसहित विभिन्न खाले कुप्रथाबाट नेपाली समाजलाई मुक्त गर्ने सवालमा कानुनमा स्पष्ट व्यवस्था गरेको भए पनि कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताइन्। मन्त्री शर्माले भनिन्– ‘नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि यी महत्वपूर्ण संवैधानिक र कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि घरघरमा सचेतनाको आवश्यकता छ । त्यसका लागि रेडियो नेपालसहित आम सञ्चारका माध्यमहरुको प्रभावकारी अभियान आवश्यक छ ।’ मन्त्री शर्माले विगतका गौरवमय संघर्षहरुको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा वर्तमान सरकार प्रतिबद्ध एवं कृयाशील रहेको स्पष्ट गरिन् । सरकारले सार्वजनिक प्रसारण क्षेत्रको पुनःर्संरचना गर्न खोजिरहेको बताउँदै उहाँले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण विधेयकमाथि प्रतिनिधिसभामा छलफल भइरहेको जानकारी दिइन्।  २००७ सालको क्रान्तिको जगबाट स्थापित नेपाली रेडियो प्रसारण सेवाको जननी रेडियो नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा हरेक कालखण्डको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको साक्षी बन्दै आएको उल्लेख गर्दै मन्त्री शर्माले राष्ट्र र नागरिकका हरेक सवाललाई प्रवाह गरेर रेडियो नेपालले समाजको अग्रगामी रुपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गरकोेमा खुशी व्यक्त गरिन्। तमाम् जनक्रान्तिका उपलब्धिको रक्षा र विकास गर्दै बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न यो संस्थाले अझै विविधतापूर्ण सामग्री उत्पादन र प्रसारण गर्नतिर ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।  आजको प्रतिस्पर्धी युगमा रेडियो नेपालले समय सुहाउँदो नविनतम प्रविधि उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार तथा थप समावेशी र जनपक्षीय कार्यक्रम उत्पादन र प्रसारणमा जोड दिनु आवश्यक रहेको स्पष्ट गर्दै उनले बदलिँदो समय, प्रतिस्पर्धा र राष्ट्रिय दायित्व समेतलाई हेरेर रेडियो नेपालले आफ्ना कार्यक्रम, समाचार तथा प्रसारण सामग्रीहरुलाई अझ सार्वजनिक प्रसारणमुखी बनाउनुपर्ने र त्यसका लागि हरतरहले सघाउने प्रतिबद्धता पनि व्यक्त गरे।

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं । सोमबार उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार भने घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मुल्य प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज सुनको मुल्य ४ सय रुपैयाँ घटेर १ लाख ३१ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी मुल्य भने आज बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १० रुपैयाँ बढेर १ हजार ५४५ रुपैयाँ कायम भएको छ ।

रेडियो नेपालका कार्यक्रमले सबैलाई एकताबद्ध गर्न योगदान पुगिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्रीले रेडियो नेपालले आफूलाई बदलिँदो राजनीतिक परिस्थिति एवम् सामाजिक रूपान्तरणको अभियानमा जनआकांक्षा अनुरूप उभ्याई सकारात्मक सञ्चार सम्प्रेषण गर्न सफल भइरहेको बताए। परिवर्तित सन्दर्भका नीतिगत, कानुनी र व्यवस्थापकीय उपलब्धिहरू केन्द्रीय र प्रादेशिक प्रसारणको माध्यमबाट जनताको घरघरमा पुऱ्याउन रेडियो नेपालले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता र संविधानको मर्म एवम् भावनाअनुरूप रेडियो नेपालले सञ्चालन गरिरहेको कार्यक्रमबाट सिङ्गो देशलाई एकताबद्ध गर्न योगदान पुगिरहेको उल्लेख गरे। सन्देशमा प्रधानमन्त्री प्रचण्डले रेडियो नेपालको संस्थागत, प्रविधिगत, संरचनागत र व्यवस्थापकीय सुधार गरी अन्य प्रसारण संस्थासँग प्रतिस्पर्धी संस्थाका रूपमा स्थापित गर्न सबैले आ–आफ्नो ठाउँबाट पहलकदमी लिन आवश्यक रहेको उल्लेख गरे।

प्रस्तावित महालेखापरीक्षक रायविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले संवैधानिक परिषदबाट महालेखा परीक्षकमा सिफारिस तोयम रायविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले आज एक सार्वजनिक सूचना जारी गर्दै १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन भनेको हो। उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने सूचनामा उल्लेख छ । उजुरी गर्न चाहनेले संघीय संसद सचिवालयको नम्बर ०१–४२००२७७ मा सम्पर्क गर्न सकिने छ भने कार्यालयको इमेलमार्फत पनि उजुरी दिन सकिने जनाइएको छ। हिजो सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको थियो।यसअघि आइतबार बसेको संवैधानिक परिषद बैठकले महालेखापरीक्षकमा तोयम रायलाई सिफारिस गरेको थियो ।

राष्ट्रियसभाका तीन समितिको बैठक बस्दै, यस्तो छ कायसूची

काठमाडौं। सङ्घीय संसद्को राष्ट्रिय सभा अन्तर्गतका तीन विषयगत समितिको बैठक आज बस्दै छ । मंगलबार विकास,आर्थिक मामिला तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, रक्षा मन्त्रालयबाट भए गरेका कामकारबाही र भावी कार्यदिशाबारे समितिमा छलफल गर्दै छ।  यस्तै, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति र समस्या तथा रक्षा मन्त्रालयको समितिसँगको अपेक्षालगायतका विषय समितिले छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।  यस्तै, विकास,आर्थिक मामिला तथा सुशासन समितिले अर्थ मन्त्रालय,राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आगामी बजेट २०८१ निर्माणका सम्बन्धमा पूर्व बजेट निर्माणबारे छलफल गर्दै छ ।  यस्तै, विधायन व्यवस्थापन समितिले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची उल्लेख गरेको छ । 

इलाम -२ मा माओवादीका उम्मेदवार धीरेन्द्र शर्मा

विराटनगर ।सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नं.२ मा धीरेन्द्र शर्मा तिम्सिना ‘रमण’ उम्मेदवार सिफारिस भएका छन्। माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिस गरेको हो।  उम्मेदवारका रूपमा एकल सिफारिस भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताएका छन् । २०७४ सालको चुनावमा उनी क्षेत्र नं.२ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।  हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन्। इलाम–२ मा नेकपा एमालेले स्व। नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू उम्मेदवार छन्।

समाजवादी मोर्चाले आज राष्ट्रिय सभागृहमा बृहत् अन्तरक्रिया गर्दै

काठमाडौँ । माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने भएको छ ।दिउँसो १ बजे राष्ट्रिय सभागृह भृकुटीमण्डपमा अन्तरक्रिया हुने मोर्चाका संयोजक एवम् नेपाल कम्युनिस्ट पार्टीका संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले बताएको छ।  सचिवालयका अनुसार ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे अन्तरक्रिया कार्यक्रम राखिएको हो। कार्यक्रममा एमालेसहित मोर्चाका नेता तथा कार्यकर्ता र समाजवादी विचारमा आबद्ध सबै दलहरूलाई बोलाइएको छ। यसअघि चैत ३ गते गर्ने भनिएको अन्तरक्रिया सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो। मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा रहेका छन्। कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चार वटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । 

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।  बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।  यता उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल र अनुमोदनका लागि बैठकमा प्रस्ताव गर्नेछन् ।  त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

महिला आयोगको सदस्य र समावेशी आयोगको अध्यक्षमा दरखास्त आह्वान

काठमाडौं । संवैधानिक परिषद्ले संवैधानिक निकाय राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगमा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ ।  आज सार्वजनिक सूचना जारी गर्दै परिषद्ले महिला आयोगको सदस्य र समावेशी आयोगमा अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो ।  योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन [email protected] मा पठाउनुपर्नेछ ।  

देशका यी स्थानमा हुनेछ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ ।हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

रेशम भन्छन्– 'धम्कि दिएको छैन, असुरक्षित त हामी छौँ'

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले आज बिहान बसेको केन्द्रीय समिति बैठकमा भएको विवादबारे भ्रामक प्रचार भएको दाबी गरेका छन्। केन्द्रीय समिति सदस्य रमेश विश्वकर्माले आफूलाई चौधरीको निर्देशनमा कुटपिट भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए। सो लगत्तै रेशम चौधरीले पत्रकार सम्मेलन गरी चौधरीले केन्द्रीय कमिटी बैठकमा सरकारमा जाने नजाने विषयमा विवाद भएको तर आफुहरुले कुनै धम्कि नदिएको बताए ।  “यस्तो भ्रामक कुरा बोल्नुनपर्ने । पार्टीको मिटिङमा त अरू साथीहरू पनि थिए । उहाँसँग पत्रकार सम्मेलनमा बस्ने साथी पनि पार्टीको मिटिङमा थिए । नभएको कुरा गर्नुहुँदैन भनेर स्टाटस लेखेको हो,” उनले भने ।“असुरक्षित त हामी छौँ । धम्की दिएर उहाँहरू जानुभएको छ,” उनले भने । 

आयरल्यान्ड ए माथि नेपाल ए को जित

काठमाडौं । तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्यान्ड ए माथि ३ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको २ सय  १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ए ले पूरा ओभर खेल्दै  ७ विकेट गुमाएर २ सय १० रन मात्र बनायो। यससँगै नेपालले तीन खेलको टी-२० सिरिज  २-१ ले गुमाएको छ । नेपाल सुरुवाती दुई खेलमा  २१ रन र ४० रनले पराजित भएको थियो ।अब आयरल्याण्ड ए र नेपाल ए बीच  एकदिवसीय सिरिज पनि हुनेछ ।  

अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणीकरण गरेका छन् । सभामुख देवराज घिमिरेले सोमबार बोलाइएको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाइएको सो पत्र पढेर सुनाए । राष्ट्रपति कार्यालयले पठाएको पत्रमा गत चैत्र १६ गते सो विधेयक राष्ट्रपति पौडेलले संविधान धारा ११३ को उपधारा २ बमोजिम प्रणाणीकरण गरिएको उल्लेख गरिएको छ । पत्रको व्यहोरा पढ्दै सभामुख घिमिरेले भने,  ‘‘राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएको छ । सोको व्यहोरो म पढेर सुनाउन चाहन्छु । सम्माननीय राष्ट्रपतिज्यू श्री रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको देहाय बमोजिमको विधेयकका प्रमाणीकृत प्रति थान १ यसैसाथ संलग्न राखी पठाइएको व्यहोरा अनुरोध गर्दछु । क्रम सङ्ख्या १। विधेयकको नाम अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० । प्रमाणीकरण मिति २०८०/१२/१६ ।’’ सङ्घीय संसद्को दुवै सदनले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रुपमा लागू गर्ने संवैधानिक व्यवस्था छ ।