हजुरआमासँगै सुतेकी ४ वर्षीया बालिका बलात्कृत !

काठमाडौं, फागुन १० । पुनर्वास नगरपालिकाको (ख) गाउँमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

प्रहरीले बलात्कार आरोपमा पुनर्वास नगरपालिका–८ (क) गाउँका ३६ वर्षीय भीमबहादुर श्रीमाललाई पक्राउ गरेको छ ।

कृष्णपुर नगरपालिका–४ मौरीफाँटामा १३ वर्षीया किशोरी बलात्कृत भएको ६ दिन नबित्दै फेरि अर्को बलात्कारको घटना सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् ।

पुनर्वासमा हजुरआमासँगै सुतेकी बालिकालाई युवकले बाहिर लगेर बलात्कार गरी फेरि सोही ठाउँमा छाडेर गएको प्रहरीले जनाएको छ ।

श्रीमाललाई प्रहरीले मंगलबार पुनर्वास नगरपालिका–९ (ख) गाउँबाट पक्राउ गरेको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले बताए । ‘घटनाको दोस्रो दिन पीडकले नै पीडितका आफन्तलाई धम्काएपछि घटना बाहिर आएको हो,’ उनले भने, ‘बालिकाका आफन्तले श्रीमाललाई राति घरबाट बाहिर निस्किरहेको अवस्थामा देखेपछि संलग्नता खुलेको हो ।’, कान्तिपुरमा खबर छ ।

कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमितिकाे अाकस्मिक बैठक

काठमाडौँ, फागुन ९ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार(फागुन १०)गते बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा नयाँ सरकारले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि गरेको सिफारिसलाई संशोधन गरी नयाँ नाम सिफारिस गरेको सम्बन्धमासमेत छलफल हुने बताईएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले मंगलबार सिफारिश गरेको निर्णयानुसार नै राष्ट्रियसभा सदस्यमा तीन जनालाई मनोनयन गर्नुभएको थियो ।

मुख्यमन्त्री भट्टका आवास निजी घरमा

कैलाली, फागुन ९ । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टका लागि धनगढी उपमहानगरपालिका वडा नं ४ स्थित उत्तरबेहडीमा रहेको निजी घरमा आवास राख्ने निर्णय भएको छ । उत्तरवेहडीस्थित कैलाली मोडल स्कूल नजिक पूर्वप्रहरी नायब उपरीक्षक योगेन्द्र थापाको घरमा मुख्यमन्त्रीको आवास राख्ने निर्णय गरिएको प्रदेश कार्यालय व्यवस्थापन समितिका सदस्य सचिव रवीन्द्र बोहराले बताउनुभयो । मुख्यमन्त्री भट्टको आवासको टुङ्गो लागिसकेकाले अन्य मन्त्रीका लागि पनि आवासको खोजी भइरहेको बताइएको छ ।

सहलगानीका तीन खानेपानी आयोजना सम्पन्न

काठमाडौँ । खानेपानी तथा ढल निकास विभागअन्तर्गत सञ्चालित सहलगानीका एकाउन्न वटा आयोजनामध्ये तीन वटा आयोजना पुरा भएको छ । रु १० करोडभन्दा बढी लागतमा निर्माण भएका रुपन्देहीस्थित शंकरनगर खानेपानी आयोजना, आनन्दवन शंकरनगर खानेपानी आयोजना तथा चेपेखोला पालुङ्टार खानेपानी आयोजना पुरा भएको हो । विभागका सहसचिव एवं सहलगानी आयोजना शाखाका प्रमुख विद्यानाथ भट्टराईले ती आयोजनामा ७० प्रतिशत सरकार र ३० प्रतिशत उपभोक्ताको लगानी भएको जानकारी दिनुभयो । “अठ्ठाइस जिल्लामा ४८ योजना निर्माण हुने क्रममा रहेकामा २३ वटाको काम हुँदै, १० वटा शुरु हुने क्रममा रहेको र बाँकी १५ वटा अध्ययनको अन्तिमचरणमा छ,”– उहाँले भन्नुभयो । ती आयोजनामध्ये ११ वटा यो वर्षसक्ने विभागले जनाएको छ । आर्थिक वर्ष २०६९÷७० बाट सहलगानीका खानेपानी आयोजना सञ्चालन भएकामा तीन वर्षभित्र सबै आयोजना सम्पन्न हुने गरी काम भइरहेको बताइएको छ । ती आयोजनामा उपभोक्ताले १० प्रतिशत रकम तिनुपर्ने २० प्रतिशत बराबरको जनश्रम ब्यहोर्नुपर्ने भएकाले सो आयोजना भरपर्दो हुँदै गएको विभागले जनाएको छ ।

छुरा प्रहार गर्ने दुई हत्यारा पक्राउ

झापा । अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । मंगलबार राति अर्जुनधारा–११ स्थित बस पार्कको सिर्जना होटल अगाडि आपसी विवादमा संग्रौलामाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट संग्रौलाको दाहिने छातीमा गम्भीर चोट लागेकाले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । छुरा प्रहार पछि फरार रहेका उनीहरूलाई आज बिहान पक्राउ गरी ज्यान मार्ने उद्योगमा कारबाही अघि बढाइएको प्रहरी निरीक्षक विष्टको भनाइ छ ।

होटल मजदुर हेमरोन मृत अवस्थामा फेला

इलाम । इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सागर हेमरोन नाम गरेका व्यक्ति बिब्ल्याँटेको पेट्रोल पम्पअगाडि मृत अवस्थामा फेला परेका हुन् । मिठाइ पसलमा काम गर्ने उनी आज बिहान करिब ९ बजे मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । झापा गौरीगञ्ज घर भएका हेमरोन एक महिनाअघिदेखि उक्त पसलमा काम गर्दै आएको जिल्ला पहरी कार्यालय इलामले जानकारी दिएको छ । प्रहरी इन्सपेक्टर रामेश्वर पण्डितका अनुसार घटनाका विषयमा अनुसन्धान भइरहेको छ । हेमरोनको शव परीक्षणका लागि जिल्ला अस्पताल इलाम ल्याइने जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

सात महिनामा ४३ अर्बको इन्धन आयात

पर्सा । चालु आव २०७४-७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्यबराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ । आव २०७३-७४ को साउनदेखि माघसम्मको सात महिनामा वीरगञ्ज नाका भएर रु ३३ अर्ब १० करोड ६६ लाख मूल्यको पाँच लाख ५५ हजार २५६ किलोलिटर इन्धन र एक लाख २४६ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको थियो । गत वर्षको तुलनामा चालू आवमा रु १० अर्ब १५ करोड ३२ लाख मूल्यको एक लाख २३ हजार १५५ किलोलिटर इन्धन र २२ हजार ६९३ मेट्रिक टन खाना पकाउने ग्यास बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो । भारतको रक्सौल, बरौनी डिपोबाट आयात गरिएको पेट्रोलियम पदार्थ र मथुरा, हल्दियालगायत स्थानबाट आयात गरिएको खाना पकाउने ग्यासबाट भन्सार कार्यालयले चालू आवको सात महिनामा रु नौ अर्ब ५९ करोड १२ लाख राजस्व संकलन गरेको छ ।

पुनःनिर्माणको प्रगति दिन सूचना प्रणाली सार्वजनिक

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणमा स्थलगत रुपमा खटिने इञ्जिनियरले मोबाइल एपमार्फत् प्रगति विवरण भर्न सक्ने प्रणालीको विकास गरेको छ । एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा प्राधिकरणले आयोजना अनुगमन सूचना प्रणाली निर्माण गरी आज सार्वजनिक गरेको हो । यो प्रणालीमा भूकम्प प्रभावित ३२ जिल्लास्थित स्थानीय तहका वडामा पुनःनिर्माणमा लागेका इञ्जिनियरले तथ्यांक राख्न सक्नेछन् । यसका लागि इञ्जिनियरलाई ‘युजर नेम’ र ‘पासवर्ड’ उपलब्ध गराइनेछ । कार्यस्थलबाट इञ्जिनियरले राखेको सूचनालाई सम्पादन भने प्राधिकरणको केन्द्रले मात्र गर्न सक्नेछ । प्रणाली सार्वजनिक गर्नुहुँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा विनियोजन गरिएको खर्चको सदुपयोग कसरी भइरहेको छ र प्रगति कति भएको छ भन्ने थाहा पाउन सहयोग मिल्ने बताउनुभयो । “पुनःनिर्माणलाई पारदर्शी, जवाफदेही र सुशासनयुक्त बनाउन यो प्रणालीले सहयोग गर्नेछ, इञ्जिनियरले कार्यस्थलबाट ‘अपलोड’ गरेको सूचना केन्द्रीय प्रणालीमा आउँछ, यसपछि कहाँको पुनःनिर्माणको अवस्था के छ भनी अनुगमन गरेर सम्बन्धित ठाउँमा आवश्यक सुधार गरिन्छ, यसले पुनःनिर्माण छिटो गर्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ”–उहाँले भन्नुभयो । यो प्रणालीमा सूचना राख्नका लागि इञ्जिनियरलाई तालीम दिने तयारी गरिएको प्राधिकरणले जनाएको छ । प्रणालीमा निजी आवास, सरकारी भवन, पुरातात्विक सम्पदा, विद्यालय, स्वास्थ्य संस्थालगायत सबै किसिमका संरचना पुनःनिर्माणको तथ्यांक समावेश गरिनेछ । कार्यक्रममा प्राधिकराणका सचिव मधुसुदन अधिकारीले जिल्ला समन्वय समितिको सचिवालयले जिल्ला भरको खर्च र प्रगति विवरण प्रणालीमा राख्ने जानकारी दिनुभयो । पुनःनिर्माणसम्बन्धी ठेक्का पट्टाको विवरण पनि जिल्ला सचिवालय र केन्द्रले नै राख्नेछन् । प्रणाली सार्वजनिक कार्यक्रममा बैंकका देशीय निर्देशक मुख्तर खामुदखानोभले पुनःनिर्माणको अनुगमनका लागि उपयुक्त विधि भएको बताउनुभयो । “पुनःनिर्माणको प्रगति र अन्य सम्बन्धित सूचना कार्यस्थलबाट छिटो पाउन सकिन्छ, यसले आयोजना कार्यान्वयनमा ठूलो परिवर्तन ल्याउने विश्वास गरिएको छ”–उहाँले भन्नुभयो । यो प्रणालीबाट सूचना आउन थालेपछि सेवा सुविधा थोरै पुगेका स्थानमा बढाउन सकिने जनाइएको छ । प्राधिकरणका सहायक प्रवक्ता डा भीष्मकुमार भुसालले प्राधिकरणले प्रगति विवरण बुझाउने सबै निकायमा प्रणालीबाट सूचना दिने व्यवस्था गरिएको बताउनुभयो । “सञ्चारकर्मी र नागरिकले पनि हेर्नसक्ने गरी खुला प्रणालीको पनि विकास गरिने छ, यसको विकास गरेपछि विश्वका जुनसुकै कुनामा बसेका नेपालीले पुनःनिर्माणमा भएको प्रगति र खर्च विवरण थाहा पाउन सक्नेछन्”–उहाँले भन्नुभयो । पुनःनिर्माणमा संलग्न विकास साझेदार, तिनले खर्च गर्ने बजेटलगायत सूचना पनि यो प्रणालीबाट सार्वजनिक हुनेछ । प्राधिकरणको स्थापनासँगै यो प्रणालीको विकास शुरु गरिएको सहायक प्रवक्ता भुसालले सुनाउनुभयो । एक लाख घर बने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि दोस्रो र तेस्रो किस्ता दाबी गर्ने सेवाग्राहीको संख्या बढेको प्राधिकरणले जनाएको छ । हालसम्म एक लाख निजी आवास पुनःनिर्माण भइसकेका छन् । सवा तीन लाख घर पुनःनिर्माण शुरु भएको छ । सात लाख ६७ हजार लाभग्राही प्रमाणीकरण भएकामा एक लाखले अनुदान सम्झौता गरेका छैनन् । आवास पुनःनिर्माणका लागि जग्गा नभएका र अन्यत्र आवास भएका लाभग्राही अनुदान सम्झौता गर्न नआएको उहाँले बताउनुभयो । अर्को निजी आवास भई अनुदान सम्झौता गरेका केही लाभग्राहीले अनुदान रकम फिर्ता गर्न थालेका छन् । बढीमा साढे छ लाख घर बन्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रवक्ता भुसालले बताउनुभयो । दाता सम्मेलनमा पुनःनिर्माणका लागि रु चार खर्ब १० अर्ब सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएकामा हालसम्म रु तीन खर्ब ३६ अर्बको सम्झौता भइसकेको छ । पुनःनिर्माणका लागि आवश्यकपर्ने थप बजेट जुटाउन आगामी आर्थिक वर्षको शुरुमै अर्को दाता सम्मेलन गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

प्रदेश नं ३ लाई जस्तो सुकै सहयोग गर्न अष्ट्रेलियन तयार छ : राजदूत बड

हेटौंडा । केन्द्रीय राजधानीसहितको प्रदेश नम्बर ३ लाई समृद्ध र विकसित बनाउन आवश्यक पर्ने सबै किसिमको सहयोग गर्न अष्ट्रेलियन तयार रहेका नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले जनाएका छन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा भएको भेटवार्तामा अष्ट्रेलिया र प्रदेश नम्बर ३ बीच सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ । मुख्यमन्त्री पौडेलले अष्ट्रेलियाले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा गर्दै केन्द्रीय सरकारले देशका प्रत्येक स्थानीय तहमा प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि प्राविधिक शिक्षालय स्थापना गर्न अष्ट्रेलिया सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । उक्त अवसरमा राजदूत बडले संघीय नेपालको पहिलो मुख्यमन्त्री बन्न सफल भएकोमा पौडेललाई बधाई दिए । भेटमा प्रदेश नम्बर ३ का मुख्य सचिव रेश्मीराज पाण्डेको पनि सहभागिता रहेको थियो ।

दोहनीमा ईपू चार सयदेखि मानव बसोबास पाइयो

कपिलवस्तु । कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास शुरु भएको पाइएको छ । पुरातत्व विभागको व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले उत्खनन गर्दा पाएका पुरातात्विक सामग्रीको अनुसन्धानपछि सो तथ्य प्रकाशमा आएको हो । उत्खननमा भेटिएका माटोका भाँडा तथा सामग्रीका टुक्रा तथा मूर्तिको वैज्ञानिक परीक्षणका आधारमा चारसय वर्ष अघि यहाँ मानिसको बसोबास भएको अनुमान गरिएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवाभन्दा करिब चार किलोमिटर पूर्वतर्फ तथा लुम्बिनीबाट करिब २० किलोमिटर पश्चिमतर्फको यस क्षेत्र स्थानीय कुदान, अरौँराकोट तथा तिलौराकोट र लुम्बिनी भ्रमण गर्ने तीर्थालुका साथै कर्मचारी, व्यापारी आवतजावत गर्दा विश्रामस्थलको रुपमा प्रयोग हुँदै आएको छ । विभागको अनुरोधमा सन् २०१६ मा बेलायतको दुरहाम विश्वविद्यालयले भौगोलिक सर्भेक्षण गरी जमिनको सतहभित्र पूर्ण सुरक्षित ५०÷५० मिटरको चारै कोणमा गोलाकार बुर्जा भेटेकोे थियो । अहिले बेलायतको कला र मानविकी अध्ययन परिषद्को आर्थिक सहयोगमा उत्खनन तथा अन्वेषण हुँदै आएको छ । उक्त स्थानमा प्राचीन समयदेखि नै मानव सभ्यताको विकास भएको प्रमाण प्राप्त भएपछि पुरातात्विकस्थलको वर्तमान प्रयोग, मूल्य, मान्यता तथा यस क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाबारे स्थानीयलाई जानकारी गराउन परामर्श गरिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो । यस स्थानको उत्खननमा संलग्न समूहले तिलौराकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत गराउन विभिन्न मुलुकका विज्ञहरूको सहयोगमा थप अनुसन्धान हुँदै आएको छ । यही फागुन ११ गते उक्त समूहले यहाँ गरेको खोज तथा अनुसन्धानका क्रममा थप नयाँ तथ्य बाहिर आउनसक्ने बताइएको छ । सोही समूहले स्थानीय कुदान, निगलिहवा, सिसहनिया, दोहनी, सगरहवा क्षेत्रमा समेत उक्त टोलीले सर्भेक्षण गरिसकेको छ । यसअघि सोही टोलीले सन् २०११ देखि तीन वर्षसम्म लुम्बिनी क्षेत्रमा अनुसन्धान गरी प्राचीन लुम्बिनी ग्रामको नयाँ इतिहासका साथै लुम्बिनीबारे धेरै तथ्य प्रकाशमा ल्याएको पुरातत्वविद् कोशप्रसाद आचार्यले बताउनुभयो । विज्ञ आचार्यका अनुसार त्यहाँ पाइएका तथ्यका आधारमा विश्व परिवेशमा कपिलवस्तुको सभ्यता अगाडि र संस्कृति उत्कृष्ट रहेको बुझ्न सकिन्छ । पाँचाँै शताब्दीमा चिनियाँयात्री फासियान र सातौँ शताब्दीमा ह्वेसाङले यसक्षेत्रमा गरेका यात्रा तथा यात्राका आधारमा तयार भएका विवरणले यहाँको खोज र अनुसन्धानलाई केही सहज बनाएको छ । हाल प्रदेश नं ५ मा पर्ने कपिलवस्तु नेपालको पश्चिमी भेगमा पर्ने एउटा जिल्ला हो । कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले कपिलवस्तु संस्कृतिक तथा पुरातात्विक हिसाबले उत्तिकै महत्वपूर्ण मानिए पनि त्यति प्रचारप्रसार हुन नसकेका कारण ओझेलमा परेको बताउनुभयो ।

नेपाल चीन जोड्ने रेल्वे लाइनको प्रारम्भिक खाका तयार

काठमाडौ‌। चीन–नेपाल जोड्ने रेल्वे लाइनको प्रस्तावको प्रारम्भिक खाका तयार भइसकेको सरकारी अधिकारीहरुले बताएका छन् । चीन नेपाल जोड्ने रेल योजना अगाडि बढाउन चीनले चासो देखाइरहेको बेला उक्त प्रस्तावको प्रारम्भिक खाका बनिसकेको नेपाली अधिकारीहरूले बताएका छन्। केपी ओली यसअघि प्रधानमन्त्री भएको बेला चीनसंग भएको चर्चित पारवहन तथा अन्तरदेशीय रेलवे निर्माण सम्झौताबीचमा ओझेलमा परे पनि त्यसलाई पुनस् ब्युत्याउन लागिएको प्रधानमन्त्री निकट एमालेका नेताले बताएका छन्। केरुङ हुँदै काठमाण्डू, पोखरा र लुम्बिनीसम्म विस्तार गरिने भनिएको उक्त परियोजनाको लागि पौने तीन खर्ब रूपैयाँ लाग्न सक्ने अनुमान चिनियाँ अध्ययनले देखाएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार चीनलाई रेल निर्माणको प्रस्ताव दिन मन्त्रालय प्राविधिक रूपमा तयारी अवस्थामा छ। केरुङबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म पुर्‍याउने भनिएको उक्त परियोजनाको ठोस प्रस्ताव दिन चीनले भनिरहेको बताइएको बेला उक्त परियोजनाको लगानी कसले र कुन विधिमा गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताइएको छ।  

छिनछिनमै किशोरीहरु बलात्कृत हुँदै !

यौनका भोकाहरु कतिसम्म निर्लज्ज हुन थाले भने कहिले काठमाडौंको दरबारमार्गमा कहिले इटहरी, कहिले नेपालगञ्जमा पात्र फरक प्रवृत्ति उही बनेर प्रकट हुँदैछन् । फेरि पनि जबरजस्त युवतीको देह लुटियो, होटर दरबार, नेपालगञ्जमा । जब पशुभन्दा तल्लो तहमा ओर्लिए, तब १४ वर्षीय किशोरी निर्मम ढंगले लुटिइन्। पुष्पलालचोकभित्र रहेको उक्त होटलमा भएको भनिएको बलातकारको यथार्थ यस्तो छ– माघ २४ गते २० वर्षीया चाँदनी (नाम परिवर्तन)को जन्मदिन थियो । त्यस अवसरमा भएको जमघटमा उनका साथी सुरेन्द्र र अर्का युवक पुगेका थिए। त्यहीं चाँदनीसँग सल्लाह गरे २५ गते फेरि भेट्ने । पाँच दिनपछिको भेटमा चाँदनीसँग अर्की १४ वर्षीया युवतीको आग्रह बमोजिम उनीहरु कोहलपुर बजार पुगे । कोहलपुरको खाजा पानी राम्रो नहुने भन्दै फेरि नेपालगञ्ज फर्किए । सीधै पुष्पलाल चोकस्थित दरबार होटल पुगेको छ । २०९ र २१० नम्बरको कोठा बुक गरे । २१० नम्बरको कोठामा मदिरासहित खाजा खाए । कोलाहाल मच्चाउँदै खाजा खाएका उनीहरुमध्ये साँझ साढे आठ बजे २०९ नम्बरको कोठामा चाँदनी र सुरेन्द्र छिरे । बाहिर निस्कने क्रममा उनले २१० नम्बरको कोठालाई बाहिरबाट लक गरिदिए । २०९ माजबरजस्ती गर्न खोज्दा ती चाँदनीले मानिनन् र त्यहाँबाट भागिन् । २१० नम्बरको कोठाको लक खोलेर हेर्दा १४ वर्षीय बालिका बलात्कृत भइसकेकी थिइन् ।  

साझाको अपांगतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’

ललितपुर । लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूतिगृह, वीरअस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म होचो बस गुड्ने छ । यस बसमा ज्येष्ठ नागरिक सजिलै चढ्न र झर्न सक्नेछन् । अपांगता भएका व्यक्तिलाई पनि बसमा चढ्नका लागि अरुको सहयोगको आवश्यकता पर्ने छैन । बसमा सवार बालबालिका, गर्भवती महिला वा अशक्तलाई आवतजावत गर्न हैरान हुनुपर्ने छैन । अस्पतालमा जानका लागि होस् वा अन्य ठाउँमा जानका लागि ज्येष्ठ नागरिक अपांग, अशक्तले कसरी पुग्ने भन्ने चिन्ता गर्नुपर्ने छैन । झट्ट सुन्दा नपत्याउँदो लागे पनि केही महिनापछिको काठमाडौँ उपत्यकाको दृष्य हुनेछ यो । साझा यातायातले गत साता होचो (सेमि लो फ्लोर) बस भित्र्याइसकेको छ । नेपालमा पहिलोपटक अपांग र अशक्तमैत्री बस गुड्न लागेको हो । बस अर्काे महिनाबाट सञ्चालनमा ल्याउन लागिएको साझा यातायातले जनाएको छ । बस अहिले दर्ताको प्रक्रियामा रहेको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “दर्ता सकिएपछि रुटको काम हुनेछ ।” करोडभन्दा बढी मूल्यको यो गाडी साझाले झण्डै रु ३५ लाखमा भित्र्याएको हो । बसको क्षमता ४१ जना रहेको छ । साझाले बोलपत्रमार्फत बस खरिद गरेको हो । भारतीय कम्पनी अशोक लेल्याण्डले सहुलियत दरमा बस किनेको पाण्डेय बताउनुहुन्छ । रुट छान्दा साझाले लक्षित वर्गलाई सजिलो पर्ने र बस पनि गुड्न सक्ने कुरामा ध्यान दिएको छ । होचो बस हुनाले खाल्डाखुल्डी सडकमा गुड्न नसक्ने पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “लगनखेलबाट बाँसबारीसम्म सडक तुलनात्मक रुपमा राम्रो छ ।” बसमा एउटा मात्रै खुड्किला हुन्छ जसले गर्दा अपांगता भएका व्यक्ति सजिलै उक्लन र ओर्लन सक्छन् । त्यो एउटा स्टेप पनि सजिलै फोल्ड गर्न मिल्छ । ह्विलचेयर सजिलै उक्लन र ओर्लन सक्ने साझाले जनाएको छ । साझाका अरु बसमा जस्तै यसमा पनि ७० वर्ष कटेका ज्येष्ठ नागरिकले निःशुल्करुपमा यात्रा गर्न पाउने उहाँ बताउनुहुन्छ । क र ख वर्गका अपांग र पाँच वर्षका बालबालिकाले निःशुल्करुपमा यात्रा गर्न पाउँछन् । उहाँ भन्नुहुन्छ, “महँगोमा खरिद गरेको भए पनि बसमा लक्षित वर्गमध्ये निःशुल्क चढ्ने यात्रु धेरै छन् ।” साझाले उपत्यकाभित्र चल्ने र बाहिरका लागि गरेर २९ वटा नयाँ बस ल्याउन लागेको छ । यी बसमा सिटी बस र डिलक्स दुवै छन् । अहिले साझाका ४६ वटा बस सञ्चालनमा छन् । ४४ वटा बस अहिले काठमाडौँ उपत्यकामा र दुई वटा बस काठमाडौँदेखि बागलुङसम्म गुडिरहेका छन् । काठमाडौँ उपत्यका र उपत्यका बाहिर दुवैतिर साझाको माग छ । साझा अहिले स्थानीय निकाय र सरकारी लगानी सबैभन्दा बढी भएको यातायात सेवा भएको छ । यसमा काठमाडौँ महानगरपालिकाले रु १५ लाख र ललितपुर महानगरपालिकाले रु एक करोडको शेयर खरिद गरेका छन् । उपत्यकाका अन्य नगरपालिका पनि साझासँग सहकार्य गर्न इच्छुक रहेको बताइएको छ ।

वाम एकता सफल भए लगत्तै धेरैले सम्झिए प्रकाशलाई

कपिलवस्तु, फागुन ९ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति ११ बजेसम्म चलेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सात बूँदे सहमति गरेको करीब आधा घण्टामा नै अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले तत्कालिन प्रधानमन्त्रीका स्वकीय सचिव स्वर्गीय प्रकाश दाहाललाई सम्झिएका छन् । उनले फेसबुकमा पोस्ट गर्दै भनेका छन्, “तपाईको योगदान र मेहनत मिसिएको वाम एकता सफल भएको यो ऐतिहासिक दिन तर तपाई विणाको यो क्षण म शब्दमा व्यक्त गर्न सक्दिन दाई ।”

फागुन चौथो साता माछा महोत्सव हुने

काठमाडौं, फागुन ९ । ‘मत्स्यपालनको विकास, समृद्ध राष्ट्रको आधार, स्वदेशी माछा खाऔँ, स्वस्थ रहौँ’ नाराका साथ नेपाल मत्स्य व्यवसायी संघ बाराले यही फागुन २५ देखि २७ गतेसम्म कोल्हवी नगरपालिका–१ कोल्हवीबजारमा दोस्रो ‘माछा महोत्सव’ गर्ने भएको छ । यसअघि वि.सं. ०७३ माघमा कलैयामा प्रथम माछा महोत्सव एवं कृषि मेला आयोजना गरिएको थियो ।

नेपालको धागो आयातमा टर्कीले भन्सार छुट रोक्ने

रुपन्देही, फागुन ९ । पूर्वी युरोपेली मुलुक टर्कीले नेपालबाट आयात गर्दै आएको धागोमा भन्सार छुट सुविधा रोक्ने संकेत गरेको छ । नेपालबाट हुँदै आएको ठूलो परिमाणको निर्यातमाथि नै टर्कीले शंका व्यक्त गरेको छ । नेपालले वार्षिक करिब आठ अर्ब रुपैयाँको धागो टर्की निर्यात गर्छ । भन्सार छुट सुविधा रोक्ने संकेत गरेसँगै धागोको निकासी प्रभावित हुने जोखिम बढेको छ । करिब एक महिनाअघि नेपालबाट निकासी हुने धागोमा भन्सार छुट सुविधा दिने कि नदिने भनेर अध्ययन नै थालेको छ । टर्कीले नेपालको धागो आयातमा भन्सार छुट सुविधा रोकिसकेको दाबी केही सरकारी अधिकारीहरुको छ । १७ हजार मेट्रिक टन निर्यात टर्की नेपालको धागो निकासीको प्रमुख मुलुकमध्ये एक हो । पछिल्लो समय आयात अत्यधिक बढेपछि नेपालकै उत्पादन आएको हो कि होइन भन्नेमा शंका गरेका हुन्, टर्कीका सरकारी निकायहरुले । वाणिज्य मन्त्रालयका अनुसार १० महिनायता मात्र टर्कीमा करिब १७ हजार मेट्रिक टन धागो निर्यात भएको छ । जबकि, अघिल्लो वर्ष यस्तो निकासी करिब १० हजार मेट्रिक टन थियो । नेपाली धागोका कारण आन्तरिक उत्पादनले बजार नपाउने अवस्था आएपछि टर्कीले आयात कटौतीका लागि कर सुविधा हटाउन खोजेको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका अधिकारीहरु बताउँछन् । त्यसका लागि ‘एन्टी–डम्पिङ’जस्तै ‘एन्टी–सर्कम्भेन्सन ड्युटी’ लगाउने संकेत गरेको छ । भन्सार विभागका एक उच्च अधिकारीका अनुसार विश्व व्यापार संगठन (डब्लुटीओ)को सदस्य बनेका मुलुकहरुले आन्तरिक उत्पादनको संरक्षणका लागि उक्त बन्देज लगाउन सक्छन् । नेपालले मलेसिया, इन्डोनेसियालगायत मुलुकबाट आयात गरी त्यही धागो आफ्नो मुलुकमा निर्यात गरेको आरोप टर्कीले लगाएको छ । यसबाट भन्सार छुटको दुरुपयोग भएको टर्कीको शंका देखिन्छ । अल्पविकसित मुलुकको आर्थिक विकासका लागि निर्यात प्रबद्र्धन गर्न दिइने जीएसपी (जेनरलाइज्ड सिस्टम अफ प्रिफरेन्स) सुविधाअन्तर्गत् टर्कीले नेपालबाट आयात गर्ने धागोमा भन्सार छुट प्रदान गर्छ । उक्त सुविधाअन्तर्गत् टर्कीले धागो निकासीमा लाग्ने करिब चार दशमलव दुई प्रतिशत भन्सार छुट दिँदै आएको छ । अल्पविकसित मुलुकलाई जीएसपी सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाइसकेकाले टर्कीले यस्तो सुविधा रोक्न नसके पनि अन्यखाले कर लगाएर नेपाली धागो आयातलाई प्रभावित पार्ने चेष्टा टर्कीले गरेको अधिकारीहरु बताउँछन् । भन्सार छुट सुविधा रोक्ने तयारी गरेसँगै नेपालले त्यसको प्रतिरक्षाको प्रयास गरेको छ । नेपाली धागो निकासीमा कुनै कैफियत नरहेको र सुविधा कायम राख्ने सम्बन्धमा आग्रह गर्न चाँडै नै वाणिज्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरु टर्की जाने तयारीमा छन् ।