नेप्से २.७३ अंकले घट्यो
काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक ०.१३ प्रतिशतले घटेको छ । बिहीबार नेप्से २.७३ अंकले घटेर २००४.०५को विन्दुमा पुगेको हो ।
नेप्से परिसूचक पछिल्लो तीन दिन लगातार झिनो अंकले घेटेको हो ।
आज ३०२ धितोपत्रको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँमा किनबेच भएको छ ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले राजीनामा दिने
काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । पार्टीले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने भएपछि उनले राजीनामा दिन लागेका हुन् । नयाँ गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको समर्थन जुटाएका छन् । चौधरीले बिहीबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने स्रोतले बताएको छ ।
सुनको मूल्य अहिलेसम्मकै उच्च
काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार मात्रै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार कायम भई हालसम्मै उच्च मूल्यमा कारोबार भएको थियो । बुधबार प्रतितोला एक हजार रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँ कायम भएको छ । साथै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १६ सय ५० रुपैयाँ कायम भएको छ ।
सचेत बनाएर छाडियो राजेश पायल राईलाई
काठमाडौं । गायक राजेश पायल राई लाई प्रहरीले सचेत बनाएर छाडेको छ । मादक पदार्थ पिएर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर आज (बिहीबार) बिहान छाडेको हो । आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा गायक राईसहितलाई रिहा गरिएको बानेश्वर प्रहरी वृत्तले जानकारी दिएको छ । मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीले गायक राईसहितलाई अनामनगर क्षेत्रबाट गएराति पक्राउ गरेको थियो । रिहा भए लगत्तै गायक राईले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरूको इटहरी । भोलि भेट्ने हामी । चैत्र २३ योयो, दर्शन नमस्ते ।’
वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे श्रीमतीको हत्या
झापा । झापाको बाह्रदशी १ मा आज बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ बर्सिया ममसरी राजवंशीको हत्या गरेका हुन् । घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएका थिए । श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने आशङ्का गरिएको छ । मृतक दिव्य ज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध थिइन् ।
राजेशपायल राईसहितका कलाकारले मदिरा पिएर होहल्ला गरेपछि...
काठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दियो । तीन कलाकारबाहेक उनीहरूसँगै अन्य पाँचजना पनि पक्राउ परेका छन् ।
यस्तो रहनेछ आजको मौसम, यी ठाउँमा हुनेछ वर्षा
काठमाडौं ।हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । विभागले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान साथै कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले आज राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
एनआरएनएलाई सर्वोचले २०७८ माघ १ को अवस्थामा फर्किइदियो
काठमाडौं। सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई २०७८ माघ १ को अवस्थामा फर्किइदिएको छ । सर्वोच्च अदालतले एनआरएनएको त्यसपछिको गतिविधिलाई अवैध हुने फैसला गरेको हो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलाससले बुधबार फैसला सुनाउँदै संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ०७८ माघ १ मा सम्पन्न ८१ औँ बैठकले गरेको उच्चस्तरीय समितिलाई यथावत राख्दै संघको मर्म र उद्देश्य अनुरुप संघको सदस्यता, महाधिवेशन प्रतिनिधि छनौट, निर्वाचन वा अधिवेशन आयोजना गर्न उपयुक्त हुने ठहर गरेको हो ।
सबै स्थानीय तहमा अस्पताल बनाउन एमालेको माग
काठमाडौं । नेकपा एमालेले ७ सय ५३ वटै स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा प्रबद्र्धन गर्नका लागि ५, १० र १५ शैयाको अस्पताल निर्माण गर्न माग गरेको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले उपप्रधान तथा स्वास्थ्यमन्त्रि उपेन्द्र यादवलाई ध्यानाकर्षणपत्र बुझाउदै ओली सरकारको कार्यकालमा शिलान्यास भएका ३ सय ९६ स्थानीय निकायको आधारभुत अस्पताललाई पुर्णता दिन आग्रह गरेको हो । विभागका प्रमुख एवं एमाले स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले मन्त्री यादवलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा स्वास्थ्य विमा कार्यक्रमलाई पुर्ण रुपमा सञ्चालन गर्न उपचार कार्यविधि, औषधि आपुर्ति सहजता, सेवा सुनिश्चितता र स्वास्थ्य पहिचान, समयमा सेवा शुल्क भुक्तानीका लागि तत्काल पहल गर्न र अनावश्यक जटिलता हटाउन आग्रह गरिएको छ । सरकारी संस्थामा नियमसंगत ढंगले कार्यरत कर्मचारीलाई हटाएर विषय नै नमिल्ने पदाधिकारीलाई प्रमुख बनाउने, थप जिम्मेवारी दिने जस्ता निवर्तमान मन्त्रीले प्रशासनीक अराजकताले गुणस्तर घट्ने नभै कर्मचारीको मनोबल घट्ने काम भएकोले यस्तो कार्यलाई तत्काल सच्याउन पनि ध्यानाकर्षण गरिएको छ । ध्यानाकर्षणपत्र बुझ्दै उपप्रधनमन्त्री यादवले यी विषयलाई आफुले कार्यान्वयन गर्ने प्रतिबद्वता जनाए । उनले भने, ‘मेरो कार्यकालमा सक्षमलाई अवसर दिएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सक्दो भुमिका खोल्नेछु ।’ ध्यानाकर्षण पत्रमा स्वास्थ्य सेवामा बाझिएका कानुनहरूको तत्काल संशोधनको व्यवस्था गर्नुपर्ने, सामाजिक स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तत्काल कानुनसम्मत वोर्डका पदाधिकारीहरूको पदपूर्ति गर्दै संगठन व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्य सेवामा सुशासनको प्रत्याभूति दिन तत्काल स्वास्थ्य जनशक्तिको उचित व्यवस्थापन गर्र्नुपर्ने , आस्थाको आधारमा गरिएको जथाभावी सरुवा, बर्खास्ती र नियुक्ति तत्काल सच्याएर कर्मचारीको मनोबल उच्च राखी काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने, कर्मचारीहरूलाई आफ्नो सेवा र समूहमा काम गर्ने वातावरण गराई सुशासनको प्रत्याभूति दिलाउनुपर्ने उल्लेख छ । यस्तै, अस्पतालहरूमा अपरेशन, डाइलाईसीस लगायतका सेवाहरू सर्बसुलभ बनाउन यथाशीघ्र पहल गर्नुपर्ने र नेपालको संविधान अनुसार स्वास्थ्य सेवाको पुनर्संरचना र प्रभावकारी कार्यान्वयन गर्न तयार गरिएका रोग रोकथाम तथा नियन्त्रण केन्द्र, प्रत्यायन प्राधिकरण जस्ता राष्ट्रिय संरचनाको निर्माण गर्नुपर्ने, स्वास्थ्य प्रतिष्ठान सम्बन्धी छाता ऐन लगायतका कार्यहरू यथाशीघ्र पारित गराई सबै प्रदेशहरूमा बनाउने भनिएका स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम शुरु गर्न पहल गर्नुपर्ने, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्थालाई भरपर्दो यस सम्बन्धी कानुनको कडाईसाथ कार्यन्वयन गर्नुपर्ने, द्रुतदरमा बढ्दै गरेको ज्येष्ठ नागरिकको सक्रिय र स्वस्थ जीवनका लागि तीन खम्बे कार्य नीति (सहभागिता, सुरक्षा र उचित स्वास्थ्य सेवा) अबलम्बन गरिनुपर्ने उल्लेख छ । सबै अस्पतालको सेवाको एकीकृत जानकारी गराउने प्रविधि (सफ्टवेयर) बनाइ सेवा र सुविधाको पारदर्शिता गराउने, चिकित्सक, स्वास्थ्य लगायत युवा जनशक्तिको विदेश पलायन रोक्न तत्काल विशेष कार्यक्रम ल्याइनुपर्ने । तीब्ररूपमा बढिरहेको आत्महत्या नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको नेतृत्वमा बहुपक्षीय समन्वय संयन्त्र बनाई आत्महत्या दर न्यूनीकरण गर्नका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने, दिन प्रतिदिन तीब्ररूपमा बढिरहेको सडक दुर्घटनाबाट भएको मानवीय क्षति र अङ्गभङ्गलाई कम गर्नका लागि राजमार्गको रणनैतिक क्षेत्रहरूमा ट्रमा सेन्टर स्थापना गर्दै नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको नेतृत्वमा वहुपक्षीय समन्वय संयन्त्र बनाई तत्काल कार्य प्रारम्भ गर्ने विषय ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते
दाङ । दाङमा दुईवटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुईजनाको अवस्था गम्भीर रहेको जानकारी दिए । गम्भीर रुपमा घाइते हुनेमा गढवा गाउँपालिका–२ का लक्ष्मण थारू र राप्ती गाउँपालिका–२ लालमटियाका ७८ वर्षीय चन्द्र कमल थापा छन् । थारू दुर्घटनामा परेको एक बसका चालक हुन । लमही अस्पतालमा सामान्य उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । लमही नगरपालिका– ३ वनगाउँमा दुईवटा बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । लमही अस्पतालमा सामान्य घाइतेको उपचार भइरहेको छ । बुटवलबाट सुर्खेत जाँदै गरेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किएका हुन् ।
आज पनि झिनो अंकले घट्यो नेप्से
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक ओरालो लागेको छ । हिजो (मंगलबार)१.८५ अंकले घटेको नेप्से आज ३.४३ अंकले घटेर २००६.७८ को बिन्दुमा पुगेको छ । ३२२ धितोपत्रको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये १० वटाको समूहगत सूचक घटेको छ । तीनवटाको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । गुरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ४।४० प्रतिशतले घटेको छ ।
गृह मन्त्रालयद्वारा ९ जना उपसचिवहरूको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयद्वारा जारी सूचना अनुसार बुधबारको निर्णयअनुसार द्वितीय श्रेणीका उपसचिवहरूको पदस्थापन, सरुवा र काजमा खटाइएको हो । हेर्नुहोस् को कहाँ ?
भरतपुर भ्रमण वर्षको प्रभाव भरतपुरका होटलहरु भरिभराउ, व्यवसायी उत्साहित
चितवन । यतिबेला भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ महाअभियान चलिरहेको छ । देशका शिर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो । भ्रमण वर्षले यहाँका व्यवसायमा विस्तारै सकारात्मक प्रभाव देखिन थालेको छ । भरतपुरको राप्ती तटिय क्षेत्रसँग जोडिएका ठुला होटलहरुमा यति बेला पर्यटक खचाखच व्यवसायीहरु बताँउछन् । पर्यटकहरु भरिभराउ भएपछि अन्य ठाँउमा रिफर तथा वेटिङमा राख्नु परेको एक व्यवसायीले बताए। भ्रमण वर्षको अवसरमा आन्तरिक पर्यटक आउने क्रममा दोब्बरले बढेको छ भने सार्क राष्ट्रबाट आउनेको संख्या पनि राम्रो रहेको कसरा होटल व्यवसायी संघका अध्यक्ष सञ्जिव दास श्रेष्ठले जानकारी दिए। सन् २०१८ अर्थात् कोभिड अगाडिको समयमा आउने पर्यटकको संख्या अहिले देखिन थालेको छ । मार्च महिनामा ६ वर्षपछि पहिलो पटक ठुलो संख्यामा पर्यटक यहाँका होटलहरुमा आएका छन् । भरतपुरका तटिय क्षेत्रमा जोडिएर ११ वटा ठुला र ५० वटा साना होटलहरु छन् । चितवन राष्ट्रिय निकुञ्ज र राप्तीसँगै जोडिएकाले वाईल्ड टुरिजमका लागि विदेशी पर्यटक यहाँ आउने गर्दछन् । भरतपुरमा सार्क राष्ट्र बाहेका देशबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै छ । केही वर्षदेखि पर्यकीय गतिविधि बढ्दै गएको यो क्षेत्रमा ठूला, साना होटलमा गरेर ५ सय पर्यटकलाई राख्न सक्ने क्षमता छ। बाराही, सेराई, सारङ्ग, नारायणी सफारी, इन द वाईल्ड, कसरा रिर्सोट, रिभर बैंक, सोल्टी वेस्टर्न, जङ्गल भिल्ला, अन्नपूर्ण ९जगतपुर लज०, टाईगर ल्याण्ड यहाँका प्रमुख होटलहरु हुन् । हात्ती सफारी, जङगल सफारी, बोटिङ, जङगल वाक, विभिन्न जातिको संस्कृति प्रस्तुतीहरु तथा पर्यटन सम्बन्धी धेरै गतिविधिहरु यहाँ आउने पर्यटकले गर्न सक्छन् । कसरा पर्यटन व्यवसायी समितिका सचिव एवम् सोल्टी वेस्टर्नका म्यानेजर केशव ढकालले भरतपुरमा रुम फुल भएपछि विदेशी पर्यटकलाई पोखरा गएर यहाँ आउन आग्रह गरेको बताए । बुकिङ विना आउने दर्जन बढी पर्यटकलाई अन्य ठाँउमा पठाउनुपरेको उनले बताए । मार्च महिनामा सोल्टीमा सार्क राष्ट्रबाहेकका देशबाट ७६० जना, सार्कबाट ९६ र आन्तरिक १२० जना पर्यटकलाई सेवा दिएको उनले बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले भ्रमण वर्ष आयोना गर्न खोजेको उदेश्य पुरा हुँदै गईरहेको बताईन् ।यो अभियान एक वर्षसम्म मात्र होईन सधैका लागि हुने गरी भरतपुरको ब्राण्ड स्थापित गरिने उल्लेख गरिन ।भरतपुरको गोलाघाटदेखि पहिटानीसम्म रहेका होटलसँगै यहाँका वस्तीहरुमा १०० वटा होमस्टेहरु खुलेका छन् । भ्रमण वर्षको सन्दर्भमा थोरै लगानीमा गुणस्तरीय सेवा दिने गरी खुलेको होमस्टेहरुमा पर्यटक आउने क्रम जारी रहेको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिए। भ्रमण वर्षको अवसरमा यहाँका होटलहरुले २५देखि ३० प्रतिशतसम्म छुटसहितको प्याकेजको घोषणा पनि गरेका छन् ।भरतपुर महानगरपालिकाले मेघौली, पटिहानी, देवघाट, ज्ञानेवर ब्लक, चौकी डाँडा, नारायणी सि बिच मोडललाई प्रमुख ७ पर्यटकीय गन्तव्यमा राखेको छ । यसबाहेक ३५ वटा स्थानलाई पर्यटकीय गन्तव्यमा समावेश गरेको छ । भ्रमण वर्षको अवसरमा सञ्चालनमा आएको पाटेबाघ हेर्ने सुविधासहित वन्यजन्तु उद्धार केन्द्रमा पर्यटकको घुइचो छ । निकुञ्जका अनुसार दैनिक २ हजार जना बाघ अवलोकनका लागि आएपनि सबैलाई देखाउन सकिएको छैन । यस्तै शीतकालिन दरबारको रुपमा रहेको ऐतिहासिक दियालो बंगला वैशाख १५ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गर्न लागिएको छ ।
फुटको संघार नाउपा : सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई सांसद पदबाटै हटाउन पत्राचार
काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम सरकारमा संलग्न रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाटै हटाउन प्रदेश सभालाई पत्राचार गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जवाफ पनि नदिएकाले सांसदबाट हटाउने निर्णय गरिएको जानकारी दिइन् । गिरी नाउपाकी समानुपातिक सांसद हुन् । सरकार धरापमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाकी गिरीलाई भूमिसुधार राज्यमन्त्री बनाएका छन् । नाउपा रेशम चौधरी र रञ्जिता श्रेष्ठको विवादका कारण फुटको संघारमा छ । यही विवादको एक अंशको रुपमा गिरीलाई सांसद पदबाटै हटाउने पत्राचार भएको हो ।
वार्षिक सार्वजनिक बिदा दिने देशको सूचीमा नेपाल प्रथम
काठमाडौं । वार्षिक रुपमा सार्वजनिक बिदा दिने देशमा नेपाल सबैभन्दा अगाडि परेको छ । विश्व तथ्याङ्कका अनुसार नेपालमा वार्षिक ३५ वटा विदा दिइन्छ । त्यसैगरी, सबैभन्दा बढि सार्वजनिक बिदा हुने दोस्रो नम्बरमा म्यानमार रहेको छ । म्यानमारमा वार्षिक ३२ वटा बिदा दिइन्छ । तेस्तै इरानमा २६, श्रीलंकामा २५, बंगलादेशमा २२, इजिप्टमा २२, कम्बोडियामा २१, भारतमा २१ वटा वार्षिक बिदा दिइन्छ । यस्तो छ देश अनुसार सार्वजनिक बिदाको संख्या 🇳🇵 नेपाल: ३५ 🇲🇲 म्यानमार: ३२ 🇮🇷 इरान: २६ 🇱🇰 श्रीलंका: २५ 🇧🇩 बंगलादेश: २२ 🇪🇬 इजिप्ट: २२ 🇰🇭 कम्बोडिया: २१ 🇮🇳 भारत: २१ अर्जेन्टिना : १९ 🇱🇧 लेबनान: १९ 🇨🇴 कोलम्बिया: १८ 🇵🇭 फिलिपिन्स: १८ 🇮🇸 आइसल्याण्ड: १६ 🇮🇩 इन्डोनेसिया: १६ 🇯🇵 जापान: १६ 🇵🇰 पाकिस्तान: १६ 🇰🇿 काजाकिस्तान: १६ 🇹🇭 थाइल्याण्ड: १६ 🇦🇹 अस्ट्रिया: १४ 🇨🇱 चिली: १४ 🇩🇰 डेनमार्क: १४ 🇳🇴 नर्वे: १४ 🇰🇷 दक्षिण कोरिया: १४ 🇹🇷 टर्की: १४ 🇻🇪 भेनेजुएला: १४ 🇨🇿 चेकिया: १३ 🇫🇮 फिनल्याण्ड: १३ 🇵🇱 पोल्याण्ड: १३ 🇪🇸 स्पेन: १३ 🇮🇹 इटाली: १२ 🇸🇪 स्विडेन: १२ 🇺🇦 युक्रेन: १२ 🇨🇳 चीन: ११ 🇫🇷 फ्रान्स: ११ 🇳🇱 नेदरल्याण्ड्स: ११ 🇷🇺 रूस: ११ 🇿🇦 दक्षिण अफ्रिका: ११ 🇺🇸 संयुक्त राज्य अमेरिका: ११ 🇦🇺 अष्ट्रेलिया: १०-१३ 🇩🇪 जर्मनी: १०-१३ 🇨🇦 क्यानाडा: १०-१३ 🇧🇪 बेल्जियम: १० 🇪🇪 इस्टोनिया: १० 🇮🇪 आयरल्याण्ड: १० 🇧🇷 ब्राजिल: ९-१२ 🇹🇼 ताइवान: ९ 🇬🇧 UK: ८-१० 🇲🇽 मेक्सिको: ८
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
मोरङ । विराटनगर महानगरपालिका १२ स्थित ५३ वर्षीय वेद निधी दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहाल समेत १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ४ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

