काँग्रेस सभापति देउवाद्वारा होलीको शुभकामना

काठमाडौं, फागुन १७ । नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवाले पहाड र तराईमा खेलिने होली पर्वका अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा धार्मिक र सांस्कृतिक होली पर्वले अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने भएकाले नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको उल्लेख छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम् सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटातर्फ लैजान सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

नियम मिच्ने आठसय सवारी साधन नियन्त्रणमा

काठमाडौं, फागुन १७ । ट्राफिक प्रहरीले होलीको अवसरमा नियम उल्लंघन गरी चलाएका आठ सय छवटा सवारी साधन नियन्त्रणमा लिएको बताएको छ । त्यसैगरी जबर्जस्ती रङ दल्ने र लोला हान्ने दुईसय ७५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। होलीको अवसरमा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्नेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। त्यसैगरी, प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लंघन गरी चलाएका सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

धनगढीमा कुकुर शाखा

धनगढी, फागुन १७ । कानून विपरीतका अवाञ्छित एवं आपराधिक काम कसैले गरिरहनुभएको छ भने सावधान रहनुहोला । किनकि अपराधको अनुसन्धान गरी अपराधी पत्ता लगाउन प्रदेश नं ७ को राजधानी धनगढीमा पहिलो पटक आजबाट तालीम प्राप्त कुकुर शाखा ‘डग केनेल’ सञ्चालनमा ल्याइएको छ । सो शाखामा व्यवस्था गरिएका चारवटा तालीम प्राप्त कुकुर अबदेखि अपराध अनुसन्धानमा प्रयोग गर्न लागिएको छ । संघीय प्रहरी एकाइ कार्यालय धनगढीको परिसरमा सञ्चालनमा आएको नवनिर्मित कुकुर शाखा भवनको आज प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले उद्घाटन गर्नुभयो । छ वटा कुकुरको बासस्थानसहित नौवटा कोठा रहेको उक्त एक तले कुकुर शाखा भवन रु ५९ लाख २१ हजारको लागतमा निर्माण भएको हो । विष्फोटक पदार्थ कसले र कहाँ राखिएको छ भन्ने पत्ता लगाउन कुकुर शाखामा जर्मन सेफर्ड जातको पोथी कुकुरको व्यवस्था गरिएको छ । यसको बोलाउने नाम ‘झुपा’ राखिएको छ । बोलाउने नाम ‘फुच्चे’ रहेको ल्याकाडोर जातको भाले कुकुर लागूऔषधको अनुसन्धान गर्नमा प्रयोग हुन लागेको छ । यस्तै, बोलाउने नाम ‘तुफान’ रहेको जर्मन सेफर्ड जातको अर्को पोथी कुकुर ‘ट्र्याकर’ (बाटो देखाउने) काममा प्रयोग हुन लागेको छ भने ‘राजा’ बोलाउने नाम दिइएको ल्याब्राडोर जातको भाले कुकुर पनि विष्फोटक पदार्थको अनुसन्धान गर्न प्रयोग हुन लागेको छ । कुकुर शाखामा यी तालीम प्राप्त कुकुरको व्यवस्था भएबाट प्रदेश नं ७ मा बेलाबखत हुने आपराधिक घटनाको अनुसन्धान गरी अपराध नियन्त्रणमा टेवा पुग्ने प्रहरी अधिकारीहरु बताउँछन् । “सल्यानमा दुई वर्षअघि आमाछोरीसहित महिलालाई बलात्कारपछि हत्या गरिएको घटनामा नेपालगञ्जबाट मगाइएको तालीमप्राप्त ‘भुन्टी’ कुकुरले घटनाको दुई दिनपछि अपराधी पत्ता लगाएको थियो,” प्रदेश नं ७ का प्रहरी अतिरिक्त महानिरीक्षक नेपालले भन्नुभयो, “लागूऔषधको कारोबारी, चोरी डकैती गर्ने, हत्यारा पत्ता लगाउने, भिआइपीहरुको सुरक्षा प्रबन्धलगायतका कामका लागि तालीमप्राप्त कुकुर निकै सहयोगी देखिएका छन् ।” प्रदेश नं ७ मा अन्य घटनाका तुलनामा लागुऔषध कारोबारीका घटना बढ्दै गएको पाइएको छ । भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै लागुऔषधको कारोबार गर्नेहरु बढ्दै गए पनि यसको कारोबार पूर्णरुपमा रोकथाम हुन सकिरहेको छैन । कुकुर शाखाका प्रमुख प्रहरी सहायक निरीक्षक मदन गुरुङ कुकुरले आफूसँग रहेको सुँघ्न सक्ने र सुन्न सक्ने क्षमताका आधारमा अपराधी पत्ता लगाउने गरेको बताउनुहुन्छ । घरपरिवारको सुरक्षाका लागि निकै आज्ञाकारी मानिने कुकुरको हिन्दू परम्पराअनुसार तिहार पर्वका बेला माला र टीका लगाएर ‘कुकुर तिहार’ समेत मनाइन्छ । विगत १६ वर्षदेखि तालीम प्राप्त कुकुरको प्रयोग गरी अपराध अनुसन्धानमा संलग्न रहँदै आउनुभएका गुरुङले भन्नुभयो, “मानिसको भन्दा कुकुरमा सुँघ्न सक्ने क्षमता ५० गुणा, सुन्न सक्ने क्षमता २० गुणा र देख्न सक्ने क्षमता छ गुण बढी हुने हुँदा तालीमप्राप्त कुकुरको प्रयोगमार्फत अपराधी पत्ता लगाउन सहज हुने गरेको छ ।” यी कुकुरलाई अपराधी पत्ता लगाउने काममा प्रयोग गर्नुअघि शुरुमा ४५ दिने आज्ञाकारी तालीम दिएर दक्ष बनाइन्छ । त्यसपछि विषयगत तालीम दिनुपर्ने हुन्छ । एउटा कुकुरलाई आफ्नो क्षेत्रमा दक्ष बनाउन दुई वर्षभन्दा बढी समय लाग्ने गरेको अनुभव गुरुङले सुनाउनुभयो । ‘ट्र्याकर‘ ९बाटो देखाएर अपराधीसम्म पुग्ने काम०मा प्रयोग गरिने कुकुरलाई तीन महिने तालीम दिनुपर्ने हुन्छ । ‘ब्लड हण्ड’ जातको कुकुरमा अन्य जातका कुकुरको तुलनामा बढी सुँघ्ने र सुन्ने क्षमता हुन्छ । नेपालमा यो जातको कुकुर पहिलो पटक अमेरिकाबाट भित्र्याएर हाल तालीम दिने काम भइरहेको बताइको छ ।

माओवादी नेता टोपबहादुरलाई पितृशोक

काठमाडौं, फागुन १७ । पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ । रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा बुधबार राति (गएराति) निधन भएको छ । सन्धिखर्क–९, अर्घाको खाडमा रहेको आफ्नै निवासमा रायमाझीको निधन भएको हो । रायमाझीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

सिरिया नरसंहारको विरोधमा र्याली

सप्तरी, फागुन १७ । सिरियामा भएको नरसंहारको विरोधमा बुधबार राजविराजमा ¥याली तथा मैनबत्ती प्रज्वलन गरिएको छ । राजविराज नगर बाल सञ्जाल र सप्तरी युथ नेपालले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा बालबालिका तथा युवाले जिल्ला खानेपानी कार्यालयदेखि नगर परिक्रमा गरी स्थानीयवासी गजेन्द्रचौकमा मैनबत्ती प्रज्वलन गरेको छ । बालबालिका मार्न पाइँदैन, हत्याहिंसा बन्द गर, सिरिया हिंसाविरुद्ध आवाज उठाऔँ लगायतका नारा लेखिएका ब्यानर र पोष्टर लिई नगरको परिक्रमा गरिएको थियो । सिरिया आतंकमा ज्यान गुमाएका १५० बालबालिकासहित ५०० भन्दा बढी सिरियाली नागरिकको मृत्यु भएको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो । कार्यक्रममा क्लिन काठमाडौँका संयोजक केपी खनाल, राजविराज नगरपालिकाका उप–प्रमुख साधना झा, राजविराज नगर बाल सञ्जालका अध्यक्ष मो जकाउल्ला र सप्तरी युथ नेपालका विष्णु यादवले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यौन, महिला र रंग लक्षित गीत गाउँदै भक्तपुरमा फागु

भक्तपुर, फागुन १७ । फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने पर्व हो । तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसंग बेग्लै रहेको छ । भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा भीमसेनको लिंगको प्रतीक तीन हात लामो र तीस इन्च गोलाकारको लिंग आकारको काठ प्रदर्शनसँगै शुरु हुने फागुपर्वलाई विशेषगरी यौनरस युक्त र महिलालाई लक्षित गरी गीत गाउने तथा व्यङ्ग्य गर्ने चाडका रुपमा बेग्लै रौनक र तरिकाले मनाइने गरिन्छ । लिंगसँगै यौन समागमको दृश्य झल्कने गरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिंग प्रवेश गराइएको हुन्छ भने यस दृश्यलाई भीमसेन र द्रौपदीको यौन समागमका रुपमा लिइन्छ । भक्तपुरमा बिहानैदेखि टोलटोलबाट परम्परागत बाँसुरी बाजा, धिमेबाजा बजाउँदैं गीत संगीतसहित महिला–पुरुष एकअर्कालाई जिस्काउँदै नाचगानसहित फागु पर्व मनाउने गर्दछन् । होलीका नेवारी परम्परागत लोकभाका र गीतसंगीत पनि महिला र यौनसँग सम्बन्धित रहेका छन् । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फूलहरु फुल्न थालेसँगै मानिसको मन मस्तिष्क समेतमा एक खालको तरंग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविद्हरुको भनाइ रहेको छ । होलीया मेला, मय्जू मस्युला १ अविर भचाः नः, तये मज्युला १ ‘होलीको बेला मायालाई थाहा छैन र, अबिर अलिकति पनि राख्नु हुन्न र रु’ अर्थको योे गीत नेवारी समाजमा फागु पर्वको चर्चित र सर्वाधिक लोकप्रिय गीत हो । नेवारी समुदायमा लोकप्रिय र प्रख्यात यस गीतले फागु अर्थात् होली पर्व महिला लक्षित चाडका रुपमा व्याख्या गर्दछ । त्यसैगरी झ्या दकंः तुँकंः मा, व हे ल्यासे जित मा, व ल्यासे मदेकः जा हे मनया अर्थात् ‘झ्याल भरी तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्न’ भन्ने बोलले पनि होली विशेषगरी महिला लक्षित चाड पर्व भएको पुष्टि हुन्छ । “सत्रौँ शताब्दीदेखी नै कृषि पेशामा संलग्न उपत्यकावासी वसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र मानिस फुर्सदमा मनोरञ्जनतर्फ आकर्षित हुने तर तत्कालीन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौनरसयुक्त संगीत गुञ्जने गरेको हो,” संस्कृतिकर्मी ओम धौभडेल भन्नुहुन्छ । फागुमा यौन भावयुक्त गीत गाउने प्रचलन भए पनि फागु पर्व अश्लील पर्व भने नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “फागुलाई नितान्त सांस्कृतिक, विशुद्ध मनोरञ्जनपूर्ण र जीवन्त संस्कृतिका रुपमा लिनु पर्दछ ।” फागु पर्वले मानिसमा विद्यमान भेदभावको अन्त्यको सन्देश दिने उल्लेख गर्दै संस्कृतिकर्मी धौभडेलले केटाकेटी, युवायुवती, सबै जातजाति फागुको रंगमा रंगिने र सबैले खुशीको रंग साटासाट गर्ने भएकाले यो चाड समावेशी चाडसमेत भएको बताउनुभयो । यसैगरी, अर्का संस्कृतिविद् एवम् इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले प्राचीनकालमा समाज पुरुष प्रधानका रुपमा विकास भएसँगै महिलालाई शृंगारको प्रतीकका रुपमा लिने र महिलालाई यौन चाहना पूरा गर्ने साधनका रुपमा लिने प्रवृत्ति विकास भएकाले फागुमा महिला लक्षित गीतसंगीत गुञ्जने गरेको बताउनुहुन्छ । भक्तपुरको तचपालमा गाडिने चीरसँगै भीमसेन र द्रौपदीको यौन समागमको प्रतीकस्वरुप काठको लिंग र बीचमा प्वाल परेको रातो कपडा प्रदर्शनमा राखिनुले पनि होली महिला र यौन केन्द्रित पर्व भएको पुष्टि हुने श्रेष्ठ बताउनुहुन्छ । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैभित्र हराउने पर्व तथा तनमन रंगाउने पर्वका रुपमा प्रचलित फागु पर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरुले आ–आफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकआपसमा अबिर दलेर टोल–छिमेक परिक्रमा गर्ने परम्परा समेत रहेको छ । युगौँदेखि मनाइँदै आएको हर्ष र उल्लासको पर्व फागुलाई अहिलेका युवापुस्ताले पर्वको महत्व बुझ्न नसक्दा समाजमा फागु पर्व सामाजिक विकृतिका रुपमा देखिन थालेको छ । उमेर, लिंग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रंगी–विरंगी रंग एकआपसमा लगाएर वातावरणलाई नै रंगमय बनाई बडो हर्सोल्लासका साथ मनाइने फागु पर्वलाई युवापिँढीले गर्ने उच्छृंखल क्रियाकलापका कारण यो पर्व त्रासको पर्वका रुपमा परिणत भएको संस्कृतिकर्मी धौभडेलले बताउनुभयो । “मदिरा सेवन गरेर छाडा शब्द प्रयोग गर्ने, जबर्जस्ती अरूलाई अबिर दल्ने र लोला हान्ने प्रवृत्तिले फागु त्रासको पर्वका रुपमा विकास भएको छ,” उहाँले भन्नुभयोे । शास्त्र अनुसार हिरण्यकश्यपु नामका राक्षसको छोरा प्रल्हाद असाध्यै विष्णुभक्त थिए । उनको विष्णुभक्तिले सारा राक्षसी साम्राज्य नै हल्लिन थालेपछि प्रल्हादलाई मार्न हिरण्यकश्यपुले अनेक हतकण्डा अपनाउँछन् । तर प्रल्हादलाई केही हुँदैन । हिरण्यकश्यपुकी बहिनी होलिकालाई उनको तपस्याबाट प्रशन्न भएर अग्निदेवले आगोले छुन नसक्ने वरदान दिएका थिए । यस्तैमा एक दिन हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई प्रयोग गरी विष्णुभक्त छोरा प्रल्हादलाई अग्निमा दहन गर्ने योजना बनाउँछन् । सो योजनाअनुसार होलिका प्रल्हादलाई काखमा राखी अग्निमा बस्दछिन् तर प्रल्हादको सच्चा भक्तिले गर्दा होलिकाको जलेर मृत्यु भएको तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको खुशियालीमा होली पर्व मनाउन थालिएको कथन रहेको पाइन्छ । भक्तपुरमा फागु पूर्णिमाका दिन साँझपख सो लिंगलाई एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिंग बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुति पनि रहेको पाइन्छ । रासस

मर्यादितरुपमा होली मनाउन चार धर्मगुरुको अपिल

नेपालगन्ज, फागुन १७ यहाँका धर्मगुरुहरुले होली पर्व मर्यादित र शान्तिपूर्णरुपमा मनाउन अपिल गर्नुभएको छ । बाँके जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बुधबार भएको छलफलपछि हिन्दू धर्म गुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना मन्सुर मन्जरी र मौलाना अब्दुल जव्बार र सिख धर्मगुरु राजेन्द्रसिंह सरदारले यस्तो अपिल गर्नुभएको हो । आज र भोलि दुई दिन जिल्लामा मनाइने होली पर्वलाई दृष्टिगत गरी धार्मिक गुरुहरुसँग छलफल गरिएको थियो । प्रजिअ रमेशकुमार केसीको नेतृत्वमा भएको छलफलमा होली पर्वलाई धार्मिक तथा सामाजिक सद्भावयुक्त बनाउने सन्दर्भमा छलफल भएको थियो । बैठकमा विशेषतः बाँके जिल्लामा मनाइने होली पर्व शुक्रबार परेको र शुक्रबार नै मुस्लिम धर्मावलम्बीको नमाज पढ्ने दिन भएकाले उच्च सतर्कता अपनाउनुपर्ने विषयमा छलफल गरिएको थियो । यसैबीच, बुधबार बसेको बाँके जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सम्पूर्ण शान्ति सुरक्षा अवस्थाको समीक्षासमेत गरेको छ । प्रजिअ केसीको अध्यक्षतामा बसेको बैठकमा आज र भोलि मनाइने होलीमा कुनै व्यवधान आउन नदिन अपनाउनुपर्ने सुरक्षा रणनीति पनि तय गरेको प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा जिल्लाका सबै सुरक्षा अंगका प्रमुखको उपस्थिति थियो ।

पोषण संवेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं, फागुन १७ । सहभागितात्मक कृषि व्यवसाय तथा साना कृषकलाई बजारसँग जोड्ने, कृषि बजारलाई पोषण संवेदनशील बनाउने र पोषण संवेदनशील कृषिसम्बन्धी अभ्यासलाई दिगोपना दिने निष्कर्षसहित पहाडी क्षेत्रमा पोषण संवेदनशील कृषिसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा नेपाल र भारतमा कार्यरत सेवा प्रदायकहरुले पशुमा आधारित कृषि प्रणाली, ग्रामीण सेवा प्रदायकहरुको अन्तर्राष्ट्रिय पहाडी कृषि पारस्थितिकीय प्रणाली कार्यगत सञ्जालमार्फत ग्रामीण क्षेत्रका महिलाको पोषण, स्वास्थ्य तथा आम्दानी अवस्था सुधार गर्न भएका पहलका साथै मानव पोषण सुधारका लागि माटोको अवस्था सुधार्नु पर्ने पक्षका साथै संरक्षित खेतीपातीका बारेमा पनि जोड दिइएको छ । सम्मेलनका सहभागी कार्यपत्र प्रस्तोताहरुले स्वास्थ्य तथा पोषण क्षेत्रमा कार्यरत सेवा प्रदायकले सो कार्यक्रमले गर्दा पोषण र कृषिलाई हेर्ने आफ्नो धारणामा परिवर्तन आएको महसुस भएको विचार व्यक्त गरेका थिए । उनीहरुले ग्रामीण क्षेत्रका जनताको पोषण सुधारका लागि कृषिको भूमिका झन महत्वपूर्ण भएको र आगामी दिनमा पोषण तथा स्वास्थ्य सुधारका लागि कृषिलाई पनि सँगसँगै अगाडि लैजाने धारणा राखेका थिए । पहाडी क्षेत्रका समुदायको पोषण सुधारका लागि माटोका उर्वराशक्ति सुधारमा पनि उत्तिकै ध्यान दिनुपर्ने पक्षमा शत्रमा सहभागी सेवा प्रदायकको भनाइ छ । सम्मेलन समापनका क्रममा पूर्व सचिव आत्माराम पाण्डेले बृहत्स्तरमा प्रभाव ल्याउनका लागि पोषण संवेदनशील कृषि अभ्यासको स्थानीयकरण गरिनुपर्नेमा जोड दिनुभयो । हेल्भेटास स्विस इन्टरकोअपरेशन नेपालका राष्ट्रिय निर्देशक डा भरतकुमार पोखरेलले खाद्य विविधता र पोषण एक अर्कामा सम्बन्धित भएकाले पोषणलाई एकीकृत रुपमा व्याख्या गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । पोषणको अवस्था सुधार गर्नका लागि उक्त क्षेत्रमा कार्यरत सेवा प्रदायकहरु सामूहिक रुपमा समन्वयात्मक ढंगले अगाडि बढ्न सकिने उहाँको भनाइ थियो । सोही संस्थाका अन्तर्राष्ट्रिय कार्यक्रम सल्लाहकर्ता डा जेन कार्टरले स्थानीयस्तरमा ग्रामीण समुदायको पोषण सुधार गर्न स–साना प्रयासको महत्वपूर्ण योगदान हुने र झन प्रभावकारी हुने पक्षमाथि प्रकाश पार्नुभएको थियो । उहाँले पोषण मानव संस्कृतिसँग सम्बन्धित भएको र पोषण संवेदनशील कृषि शहरी कृषि प्रणालीमा पनि समाहित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आइफोम अर्गेनिक्स इन्टरनेशनल, जर्मनीका कार्यकारी निर्देशक मार्कस आर्वेञ्जले पहाडी क्षेत्रका ग्रामीण समुदायको कुपोषणको अवस्था सुधार गर्न कृषिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । हेल्भेटास, एफआइबिएल र आइएफओएम अर्गान्स इन्टरनेशनलले आयोजना गरेको दुईदिने सो सम्मेलनमा नेपालसहित पाकिस्तान, भारत, पेरु, इथियोपिया, कीर्गिस्तान, जर्मनी, स्विजरल्याण्ड र हल्याण्डका गरी करिब १५० विज्ञको सभागिता थियो । यसअघि यस किसिमको सम्मेलन सन् २०१६ मा पाकिस्तानमा आयोजना गरिएको थियो ।

आठ वर्षीय बालिका बलात्कृत

पर्सा, फागुन १७ । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ । घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् । बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिकाको वडा नं ५ निचुटनाको पोखरी नजिकैको खेतमा मुर्छित अवस्थामा फेला परेपछि घटनाबारे जानकारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । बालिकालाई बुधबारै साँझ उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा भर्ना गराइएको नायब उपरीक्षक लिम्बूले बताउनुभयो । बालिकाको शरीरको विभिन्न स्थानमा घाउ लागेको तथा उनको गोप्य अंगमा समेत गहिरो घाउ भएको फेला परेपछि आवश्यक प्रमाण संकलन गरी गएराति नै उनको उपक्षेत्रीय अस्पतालमा सल्यक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासमेत रहनुभएका नायब उपरीक्षक लिम्बूले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट टोली पटेर्वासुगौली गाउँपालिकामा खटाइएको प्रवक्ता लिम्बूले बताउनुभयो । अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्यस्थिति गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

मक्का मदिना जाने हजयात्रीलाई विशेष खोप लगाउने तयारी

काठमाडौं, फागुन १६ । सन् २०१८ मा साउदी अरबको मक्का मदिना जाने हजयात्रीलाई सरकारले विशेष खोप लगाइदिने भएको छ । १५ सय हजयात्रीलाई विभिन्न सरुवारोगविरुद्धको खोप दिने भएको हो । आजको नयाँ पत्रिकामा खबर छ । ‘मुस्लिम समुदायबाट विश्वका लाखौँ सहभागी हुने भएकाले विभिन्न रोग संक्रमण हुन सक्छ,’ नेपाल हज समितिका अध्यक्ष मोहमद सोयले भने, ‘जोखिमबाट जोगिन त्यहाँ जाने १५ सय नेपालीलाई सरुवारोगविरुद्धको खोप दिन लागिएको हो ।’ मक्का मदिना हज ५४ दिनसम्म चल्छ । सोयदका अनुसार १६ देखि २२ साउनभित्र अरब पुगिसक्नुपर्नेछ । ४ देखि ९ भदौसम्म मक्का मदिनामा २४सै घन्टा हज गरिने उनले बताए । गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिको सचिवालयले हजमा सहभागी हुने १५ सयलाई विशेष खोप दिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो । त्यहाँ सरुवारोगको जोखिम भएकाले आफ्ना नागरिकलाई खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूलाई मेनेन्जाइटिस, पोलियो, भाइरल फ्लु र इन्फ्लुन्जाविरुद्धको खोप लगाइने भएको हो । नेपाल हज समितिले पनि खोपका लागि मन्त्रालयलाई पत्र काटिसकेको छ । ‘संक्रमणको जोखिम न्यूनीकरण गर्न खोप नलगाई जान प्रतिबन्ध छ, उसले पत्रमा भनेको छ, ‘त्यसैले आगामी वर्ष १५ देखि २१ साउनसम्म सबै यात्रीलाई अनिवार्य खोप लगाउन अनुरोध गरिन्छ ।’

मासिक ४० हजारदेखि ४० लाख रुपैयाँसम्म तलव लिएर नेपालमा जागिर खाँदै विदेशीहरु

काठमाडौं, फागुन १६ । पछिल्लो समय ‘रेमिटेन्स’ र ‘वैदेशिक रोजगार’ नेपालको पहिचान बनेको छ । नबनोस् पनि किन ? दैनिक डेढ हजार नेपाली वैदेशिक रोजगारको सिलसिलामा मलेसिया तथा खाडी राष्ट्र पुग्छन् । उनीहरुले पठाएको पैसा (रेमिटेन्स) ले नै देश चलेको छ । तर धेरैलाई थाहा छैन, जसरी नेपाली राजगारीको सिलसिलामा विदेशिन्छन्, त्यसरी नै केही विदेशीलाई नेपालले पनि आकर्षित गर्ने गरेको छ । सुन्दा आश्चर्य लाग्न सक्छ, रोजगारका लागि नेपालीहरु धमाधम विदेशिरहेका बेला रोजगार खोज्दै नेपाल आउने विदेशीको संख्या पनि बढ्दो छ । श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीको संख्या यो वर्ष ह्वात्तै वृद्धि भएको छ । ‘श्रम स्वीकृति लिएर नेपालमा काम गर्ने विदेशीको संख्या बढ्दो छ,’ श्रम विभागका निर्देशक वरुणकुमार झाले भने, ‘विना श्रम स्वीकृति अवैध तरिकाले कोही विदेशीले पनि यहाँ काम नगरुन् भनेर सबैलाई श्रम कानूनको दायरामा ल्याउने प्रयासमा हामी छौं ।’ श्रम विभागको तथ्यांकअनुसार २०७४ वैशाख १ गतेदेखि माघ मसान्तसम्म २ हजार ३ सय ७० विदेशीले श्रम स्वीकृति लिएका छन् । यो संख्या नेपालमा काम गर्ने भारतीयबाहेक हो । थोरै अवधिमा यतिधेरै विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएको यो पहिलोपटक हो । मासिक २० हजार कमाउन नेपाली युवा मलेसिया तथा खाडी मुलुकमा भौतारिरहँदा नेपालमा काम गर्ने विदेशीले भने मासिक ४० हजार रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गर्छन् । नेपालमा सबैभन्दा कम तलव बुझ्ने विदेशी कामदारमा जलविद्युत परियोजनामा काम गर्ने चिनियाँ छन् । बढी पारिश्रमिक बुझ्नेमा अमेरिकी तथा युरोपेली छन् । अमेरिकी तथा युरोपेली सहयोगमा नेपालमा सञ्चालित संस्थामा का मगर्ने ती मुलुकका नागरिकले ४० लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गर्छन् । –नागरिक दैनिकबाट

कान्तिपुरमाथि लगाइएको मानहानी मुद्दाप्रति चौतारीको आपत्ति

काठमाडौं, फागुन १५ । प्रेस चौतारी नेपालले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको विषयमा प्रकाशित समाचारलाई लिएर कान्तिपुर दैनिकमाथि चलिरेको मानहानीको मुद्दाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । चौतारीका महासचिव राजेश राईले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली आम सञ्चारकर्मी र आम सञ्चार माध्यमको संघर्षको जगमा बनेको नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको हुँदा सञ्चारमाध्यममा कुनै सामग्री प्रकाशन तथा प्रसारण गर्नु उसको सबैधानिक अधिकार भएको उल्लेख छ । प्रधानन्यायाधीश पराजुली आफंै मुद्दाको पक्ष भएको मामिलामा समाचार लेख्दा अपहेलनामा कारबाही चलाउनुले प्रतिशोधको भावना लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको हो रु भन्ने प्रश्न स्वतः उठेको विज्ञप्तिमा छ । प्रधानन्यायाधीश पराजुलीले आफैंसँग सम्बन्धित मुद्दा आफैंले हेरेपछि सम्मानित अदालतबाट स्वतन्त्र न्यायिक निरोपण हुनेमा स्वभाविक आंशका उत्पन्न भएको चौतारीको ठहर छ, विज्ञप्तिमा भनिएको छ– “जुनसुकै सञ्चारमाध्यमले पनि समाचार प्रकाशन र प्रसारण गर्दा संविधान र प्रेस जगतले अबलम्बन गर्दै आइरहेका नीति, नियम, मूल्य–मान्यता र आर्दशलाई पालना गर्नुपर्छ भन्नेमा चौतारी दृढ रहेको छ ।”

प्रहरी प्रतिवेदनको नाममा युएई जाँदा कामदारमाथि चार हजार भार

काठमाडौं, फागुन १५ । संयुक्त अरब इमिरेट्स (युएई) को नेपालस्थित दूतावासले रोजगारीमा जाने नेपाली कामदारको प्रहरी प्रतिवेदन प्रमाणीकरण गरेको नाममा प्रतिकामदार रु चार हजार तीन सय रकम थप लिने गरेको छ । गत माघ २२ गतेदेखि युएईले त्यहाँ रोजगारीका लागि जाने कामदारले अनिवार्य प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने नियम ल्याएकामा प्रमाणीकरणका नाममा थप रकम लिँदा कामदार मर्कामा परेका छन् । वर्षमा सरदर ५० हजार नेपाली रोजगारीका लागि युएईमा जाने गरेका छन् । यो आर्थिक भार थपिएपछि ती नेपाली कामदारमाथि रु २१ करोड ५० लाख रकम व्ययभार बढेको छ । यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले पनि युएई जाने कामदारबाट थप रकम आर्थिक भार पार्न खोजिएको भन्दै आपत्ति जनाएको छ । संघका अध्यक्ष रोहन गुरुङले आज जारी गर्नुभएको विज्ञप्तिमा नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत रहेको प्रहरीले सिफारिश गरी उपलब्ध गराएको प्रहरी प्रतिवेदनलाई परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरद्वारा प्रमाणीकरण गरिसकेपश्चात् दूतावासबाट थप प्रमाणीकरण गर्न आवश्यक नरहेको उल्लेख छ । उहाँले भन्नुभयो, “नेपाल सरकारको प्रहरी प्रशासन र कन्सुलेर सेवा विभागले प्रमाणित गरेको प्रतिवेदन स्वतः आफैंमा प्रमाणित प्रतिवेदन हो । युएई दूतावासले कुन आधारमा त्यो जाँच गर्नसक्छ ?” उहाँले यसअघि मलेसिया जाँदा भिएलएन, ओएससी, आइएससी, माईग्राम, बायोमेट्रिकका नाममा कामदारमाथि रु १७ हजार थप आर्थिक भार थोपरिए जस्तै अहिले युएईमा पनि थप आर्थिक भार पार्न खोजिएको बताउनुभयो । सो शुल्कका विषयमा श्रम तथा रोजगार मन्त्रालय मौन देखिनु खेदपूर्ण रहेको उहाँको भनाइ छ । नेपाली श्रमिकलाई आर्थिक भार पार्ने गरी अनावश्यक शुल्क लिने दूतावाससँग त्यस्ता शुल्कहरु नलिनका लागि पहल गर्न सरकारसँग संघले आग्रह गरेको छ ।

जाली नोटको विगविगी, छ जना पक्राउ

काठमाडौं, फागुन १५ । प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न गिरोहका पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न आएका दुई व्यक्तिका साथबाट रु पाँच सयको नक्कली नोट भोटिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा थप चारजना पक्राउ परेका हुन् । धनुषा शर्षा नगरपालिका–९ घर भई हाल ललितपुर नख्खीपोट बस्ने धिरजबहादुर श्रीनेत ठकुरी र भोजपुर खावा–९ घर भई हाल नख्खीपोट बस्ने निगम राईले गत फागुन १२ गते कार्की फामेर्सीमा औषधि खरिद गरी रु पाँच सयको नोट दिएकामा औषधि पसलले शंका लागि प्रहरीलाई खबर गरेपछि सो गिरोहबारे खुलेको हो । औषधि पसलेले खबर गरेलगत्तै पुगेको महानगरीय प्रहरी वृत्त, कालीमाटीको प्रहरी टोलीले ठकुरी र राईलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ठकुरीको साथबाट रु ५०० दरको थप दुई थान नोट बरामद गरेको थियो । उनीहरुसँग प्रारम्भिक सोधपुछ गर्दा सो नक्कली नोट ललितपुर गोदावरी नगरपालिका–४ घर भई हाल ललितपुरको ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी बस्ने मनोज केसीबाट लिएको बताएपश्चात् फागुन १३ गते वर्कसपबाट केसीलाई प्रहरीले पक्राउ गरेको थियो । केसीको शरीर तलासी गर्दा उनसको साथबाट समेत एक थान रु ५०० को नक्कली नोट बरामद भएपश्चात् सोधपुछ गर्दा उनले सो नोट सोलुखुम्बु, तिम्ला घर भई हाल काठमाडौँ, कपन बस्ने भेषकुमार थापा मगरबाट लिएको बताएपछि मगरलाई समेत प्रहरीले पक्राउ गरेको थियो । मगरका साथबाट २१ थान पाँच सयको नक्कली नोट बरामद भएपछि आफूलाई रामेछाप, नागदह घर भई हाल गोठाटार बस्ने नेमा तामाङको साथबाट रु एक हजारको नक्कली नोट बरामद भएको थियो । तामाङले आफूले सो रकम आशीष माझीलाई पनि दिएको माझीलाई पक्राउ गर्दा उनको साथबाट समेत रु ५०० को नक्कली नोट बरामद भएको थियो । अनुसन्धानका क्रममा ती नक्कली नोटहरु नेमा तामाङले वीरजगन्जबाट ल्याएको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई काठमाडौँ जिल्ला अदालतबाट खोटाचलन शीर्षक मुद्दामा मुद्दा अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।

एमाले सांसद शाहीद्वारा राजीनामा फिर्ता

काठमाडौं, फागुन १५। प्रदेश सरकार गठन गर्दा आफूमाथि अन्याय भएको भन्दै राजीनामा दिएका कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले राजीनामा फिर्ता लिने भएका छन्। सरकार गठनका क्रममा केही कमजोरी भएको स्वीकार गर्दै पार्टीले राजीनामा फिर्ता लिन पत्र काटेपछि शाहीले राजीनामा फिर्ता लिने बताएका हुन्। शाहीको राजीनामाको बिषयमा पार्टी स्थायी समितिमा छलफल भएपछि एमालेले कमजोरी भएको भन्दै राजीनामा फिर्ता लिन पत्र काटेको थियो। पत्रमा उनलाई भविश्यमा उचित जिम्मेवारी दिने समेत आश्वासन दिएको छ। प्रदेश सरकारमा मन्त्री छनोट गर्दा आर्थिक चलखेलका आधारमा गरेको आरोप लगाउदैँ शाहीले प्रदेशसभा सदस्यबाट पार्टी सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए। ‘पार्टीको विधिविधान मिचेर प्रदेश सरकार गठन गरिएको भनेर राजीनामा गरेको थिए,’ शाहीले भने, ‘पार्टीले त्यसमा गल्ती भएको स्वीकार गर्दै राजीनामा फिर्ता लिन भनेको छ। म पार्टीको निर्देशन मान्छु। राजीनामा फिर्ता गर्छु।’ एबीसी टिभीबाट

मंगलबार सुन्दरीजलकै सर्वसाधारणले पानी नपाएपछि खानेपानी र वडा कार्यालयमा घेराउ

काठमाडौँ । काठमाडौँ उपत्यकाकै सबभन्दा बढी पानीको स्रोत सुन्दरीजल क्षेत्रकै धारामा डेढ महिनादेखि पानी नझरेपछि स्थानीयवासी महिलाले आज खानेपानी र वडा कार्यालय घेराउ गरेका छन् । यस क्षेत्रका धारामा माघ लागेदेखि नै पानी खसेको छैन । पानीको स्रोत भएका क्षेत्रमै पानी खोज्न हिँड्नुपरेको जनाउँदै स्थानीय महिलाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका सुन्दरीजल प्रशोधन केन्द्र र गोकर्णेश्वर नगरपालिका वडा नं १ कार्यालय घेराउ गरे । पटक पटक खानेपानी कार्यालयमा खबर गर्दा पनि पानीको मुहान क्षेत्रमा खानेपानी नआएपछि घेराउ गर्न बाध्य हुनुपरेको स्थानीयवासी पुष्पा पोखरेलले बताईन्। “अन्तका मानिसले सुन्दरीजलमा त पानीको दुःख नहोला नि भन्छन्, तर यहीँका धारामा डेढ महिनादेखि पानी आएको छैन, प्रत्येक दिन ढुंगेधारामा पानी लिन जानुपर्छ, ढुंगेधारा थोरै भएकाले एक गाग्री पानीका लागि दैनिक तीन घण्टाको लाम बस्न बाध्य हुनुपरेको छ”, उनले भनिन् । पानी प्रशोधन केन्द्र कार्यालय सुन्दरीजलले भने एक दिन बिराएर सुन्दरीजल क्षेत्रमा पानी वितरण गरिएको जिकिर गरेको छ । कार्यालय प्रमुख वसन्त पाल वाग्मतीमा पानी सुके पनि मुहान क्षेत्रमा एक दिन नदिइए अर्को दिन पानी पठाइने गरिएको बताउछन् । “जनघनत्व कम भएका बेला दुई इञ्चको पाइपमा यस क्षेत्रमा पानी वितरण गरिएको थियो, अहिले घर बढेका छन्, पानी वितरण गर्ने पाइप बढाइएको छैन, कार्यालयले एक दिन बिराएर पानी वितरण गर्दा पनि सानो पाइपका कारण कतै पानी जाने र कतै नजाने समस्या छ”, उनले भने। सुन्दरीजल प्रशोधन केन्द्रमा हाल ४५ लाख लि पानी प्रशोधन गरी माथिदेखि नै वितरण हुन्छ । दुई करोड ५५ लाख लि पानी भने सुन्दरीजलबाट महाँकालचौर ल्याई प्रशोधन गरेर वितरण गरिन्छ । वाग्मती नदीको स्रोतबाट हाल दैनिक तीन करोड लि पानी वितरण भइरहेको कार्यालय प्रमुख पालले जानकारी दिए। । वर्षायाममा भने यहाँबाट दैनिक पाँच करोड लि पानी वितरण गरिन्छ । यो उपत्यकामै धेरै पानीको स्रोत भएको क्षेत्र हो । वडाध्यक्ष राम मानन्धर डेढ महिनादेखि मुहान क्षेत्रकै धारामा पानी नआएको समस्या लिएर स्थानीय महिला आएपछि खानेपानी कार्यालयमै लगेर कार्यालय प्रमुखसँग छलफल गरिएको बताउछन् । “सुन्दरीजल क्षेत्रको केही भागका धारामा गोकर्णमा ‘गेटभल्भ’ बन्द नगरी पानी आउँदैन, मुहान क्षेत्रमा २४सै घण्टा पानी आउने गरी व्यवस्था गर्न खानेपानी कार्यालयमा माग गरिएको छ, मेलम्चीको पानी प्रशोधनका लागि पनि यही प्रशोधन केन्द्र निर्माण भएकाले मेलम्चीको पानी यहाँ पनि वितरणको व्यवस्था मिलाउन पत्राचार गरिएको छ”, उनले भने। मुहान क्षेत्रकै धारामा पानी आउने व्यवस्था नगरे मेलम्चीको पानी आएपछि प्रशोधन केन्द्रबाट वितरणमा अवरोध गर्ने चेतावनी स्थानीयवासीले दिँदै आएका छन् । गोकर्णेश्वर नगरपालिकाका वडा नं २, ४, ५, ६, ७, ८ र ९ का धारामा पनि पानी आउँदैन । नगरपालिकाका नयाँपाटी, गोकर्ण, अत्तरखेल, बेसीगाउँ, जोरपाटी र नयाँबस्ती क्षेत्रमा पनि पानी नआएको दुई महिनाभन्दा बढी भएको स्थानीयवासीको गुनासो छ । नगर प्रमुख सन्तोष चालिसे मुहान क्षेत्रका वडामा पानी आउने व्यवस्था नभए मेलम्चीको पानी रोक्न बाध्य हुनुपर्ने चेतावनी सरकारका सम्बन्धित निकायलाई दिइएको बताउछन्। । पानी आउनुभन्दा वर्षौंअघिदेखि गरिएको अनुरोध कार्यान्वयन नभई पानी रोक्दा हुने क्षतिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने उनको भनाइ छ ।