महतोका कार्यकर्ता निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि....
काठमाडौं । भद्रकाली क्षेत्रमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ताले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको छ।
राष्ट्रिय मुक्ति आन्दोलनको उपत्यका विशेष ष्रदेश घोषणापछि भद्रकाली क्षेत्रमा ब्यानरसहित महतोको नेतृत्वमा जनप्रदर्शन गरेको थियो।
त्यसक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन्।
सुहाङले दर्ता गराए उम्मेदवारी
इलाम । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । सुहाङले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । इलाम–२ बाट निर्वाचित सांसद सुवास चन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । सुहाङ दिवङ्गत नेता नेम्वाङका छोरासमेत हुन् । यसपटक नेकपा एमालेलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ । निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेसम्म मनोनयन गर्दा गर्ने समय रहेको छ । त्यसपछि आयोगले उम्मेदवारको मनोनयन पत्र दर्ताको सूची प्रकाशन गर्नेछ ।
ललितपुरको मेटल उद्योगमा आगलागी, एकजनाको मृत्यु
काठमाडौं । ललितपुरको एक मेटल उद्योगमा आगलागी भएको छ ।ललितपुर महानगरपालिका–२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा आज बिहान ६ बजे भएको आगलागीमा एकजनाको जलेर मृत्यु भएको छ । जलेको अवस्थामा एकजना फेला परेको तर पहिचान हुन सकेको छैन । आगो विद्युत् सर्ट भएर लागेको अनुमान गरिएको छ । आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
बोगटीको अभाव महशुस भइरहन्छ : प्रचण्ड
काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महशुस हुने गरेको बताएका छन् । शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवसमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताए। कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘पोष्टबहादुर बोगटी एक जना इमान्दार नेता हुनुहुन्थ्यो, यहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ। उहाँ एक जना सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो।’’ बैठकमा प्रधानमन्त्री प्रचण्डले बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महशुस हुने गरेको स्मरण गरेका थिए। उहाँले भन्नुभयो, ‘‘अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो। पार्टीमा उहाँको अभाव खड्किरहन्छ।’’
सहकारीमा मेरो पनि लगानी डुबेको छ, उठाइदिनेलाई एक–दुई लाख दिन्छु : श्रममन्त्री आर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारीमा आफ्नो पनि पैसा डुबेको बताएका छन् । उनले सो पैसा उठाइउदनेलाई आफुले केही रकम दिने समेत बताएका छन् । उपसभापति अर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक–दुई लाख रुपैयाँसम्म दिने पनि बताए । हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको बताए । उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नुबाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी समेत गरे ।रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले यसै विरोध गरिरहेको उनले आरोप लगाएका छन् । उनले भने, “रास्वपाको उपसभापति डीपी आर्याल पनि सहकारी ठगीमा तपाईंहरुलाई लाग्ला । मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थेँ । मेरो २३ लाख आएपछि उहाँहरुको सचिवालय चलाउन, अध्ययन गर्न दिन्थेँ । मै ठगिएको छु । संस्थामा म सदस्य भएको हो, मैले भनेको छु । म उपाध्यक्ष भएको हो, त्यो अत्यन्त राम्रो उद्देश्यका साथ बनेको सहकारी रहेछ, हाम्रो नयाँ कृषि सहकारी भन्ने । त्यो कोभिडको पछि कृषिमा यति धेरै आयात हुँदो रहेछ, कोभिडमा अध्ययन गरियो ।” उनले अध्ययन गरिसकेपछि त्यो संस्थालाई सञ्चालन गरेर कतै यो देशमा कृषिमा केही परिवर्तन ल्याउन सकिन्छ कि भनेर काम गरेको बताए । “गएर काम गर्नुपर्ला भनेर पैसा लगानी गरियो, एक करोड लगानी गर्ने तयारीमा थिएँ, त्यसको लागि एक किस्ता २३ लाख लगानी गरेँ,” उनले भने, “काम गर्दै जाँदा एक महिनामा त्यहाँका साथीहरु, त्यसको इतिहास हेर्दा, त्यहाँ एक महिनामा अध्ययन गरेँ । संस्था कसरी चलाउने भनेर ७० पेजको प्रपोजल लिएर गएपछि उनीहरुले मलाई नेतृत्व दिन मानेनन् । त्यसपछि पुसको ११ गते राजीनामा गरेर म २३ लाख सकेको दिन फिर्ता गर्नुस् भनेर हिँडेको हुँ, म गएदेखि निस्किएसम्म कुनै कारोबार भएको छैन । अध्ययन गरेर लेख्नुस्, बोल्नुस् । मेरो तर्फबाट त्यो सहकारीमा साधारण सभामा उपाध्यक्ष हुनको लागि एउटा सही छाप भएको छ, त्यो भन्दा बाहेक मलाई केही थाहै छैन ।”
डियुटीमा रहेका ट्राफिकलाई बसले ठोक्यो, घटनास्थलमै मृत्यु
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति डियुटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ । काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अमलेखगञ्ज चोकमा शुक्रबार राति सवा ११ बजे डियुटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसले ठक्कर दिएको बताइएको छ ।पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको छ।
माओवादी केन्द्रबाट राष्ट्रियसभाको मुख्य सचेतकमा गोपी अछामी
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा सत्ता पक्षको मुख्य सचेतकमा गोपीबहादुर सार्की अछामीमा नियुक्त गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा २ (ज) बमोजिम संघीय संसद, राष्ट्रिय सभामा सत्ता पक्षको मुख्य सचेतकमा मनोनित गरेका हुन् ।
काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध
त्रिशूली । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ (नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो । उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहोर विसर्जनमा रोक लगाइएको बताए । आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उनले जानकारी दिए । “फोहोर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिँदैनौँ,” उनले भने । । बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौं र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहर विर्सजन हुने गरेको छ । रासस
पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान, योग्यता कति ?
काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । शनिबार प्रकाशित सूचनाअनुसार इच्छुक व्यक्तिले १२ दिनभित्र आफ्नो आवेदन बुझाउन सक्नेछन् । सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ । सीईओ पदका लागि दरखास्त दिनका लागि इच्छुक व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ । त्यस्तै, उसले स्नातकोत्तर पूरा गरेको तथा पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । दरखास्त पेस गर्दा इच्छुकको उमेर कम्तीमा ३५ वर्ष तथा ६० वर्ष नकाटेको हुनुपर्नेछ । हेर्नुहोस् सूचना
आम जनता पार्टीले आज काठमाडौँमा प्रदर्शन गर्ने
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ। जनप्रदर्शन पश्चात काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने आजपाले जनाएको छ । आजपा उपमहासचिव चन्द्रभुषण साहका अनुसार देशमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको विरुद्धमा जनप्रदर्शन हुन लागेको हो । देशमा व्यापक रुपमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितताको अन्त्य नभएसम्म विकास सम्भव नभएको बताउँदै उनले दलीय भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर भएको बताए । आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहका अनुसार दलतन्त्रको ठेकदारहरूलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्दाहरूको रक्षा गर्न, देशलाई बर्बाद गर्ने नेताहरूबाट जवाफ माग्न, देशलाई आर्थिक सङ्कटबाट बचाउन, काण्डैकाण्डका नाइकेहरूलाई कारवाही गराउन दबाब दिने उद्देश्यले जनप्रदर्शन गर्न लागिएको हो ।
आज उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिदै
काठमाडौं ।आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने समय रहेको छ । उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची आयोगले आजै साँझ ६ बजे प्रकाशित गर्नेछ । यस्तै, आयोगले उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । यसैगरी साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ । निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ मा को को बन्दै छन् उम्मेदवार उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट इलाम–२ मा डम्बर खड्का, एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बु, एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार बन्दै छन् । यस्तै, पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवारका रुपमा डकेन्द्र थेगिम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश चौहान र जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)ले उम्मेदवारी दिँदै छन् । इलाम–२ मा नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङलाई समर्थन गर्ने जनाइसकेको छ । मतदान स्थल र मतदान केन्द्र निर्वाचन आयोगले उपनिर्वाचनका लागि इलाम–२ मा ७९ वटा मतदान स्थल र १४९ मतदान केन्द्र निर्धारण गरेको छ । बझाङ प्रदेश सभा १ मा कोको बन्दै छन् उम्मेदवार नेपाली कांग्रेसले बझाङ प्रदेश सभा १ मा पृथ्वीबहादुर सिंहकै छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ ।त्यसैगरी एमालेबाट जिल्ला अध्यक्ष दमन भण्डारी, माओवादी केन्द्रबाट जनक बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जनता समाजवादी पार्टीबाट पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्री उम्मेवारको रुपमा मैदानमा रहेका छन् । मतदान स्थल र मतदान केन्द्र बझाङ प्रदेश १ मा आयोगले ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकेको छ ।
नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ आजको मौसम
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको कारण बिहान गण्डकी र कर्णाली प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा र बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
बढुवा भएका एसपीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका प्रहरी अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । शुक्रबार प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवँरले बढुवा भएका आठ एसपीलाई प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । बढुवा समितिले १४ चैतमा उनीहरूको बढुवा सिफारिस गरेको थियो । बढुवाबारे कुनै उजुरी नपरेपछि उनीहरूको सिफारिस सदर भएको हो। एसपी बढुवा हुनेहरूमा ढकेन्द्र खतिवडा, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरन्जन भट्ट, राजन लिम्बु र विनोद घिमिरे छन्।
सुनसरीका पाँच पालिकामा कर्फ्यु
काठमाडौं । सुनसरीका पाँच पालिकामा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार सूचना जारी गर्दै कर्फ्यु आदेश जारी गरेको हो । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोसी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी भएको जनाइएको छ । कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ । यहाँका स्थानीय समुदायका दुई पक्षबीच झडप भइ तनावपूर्ण स्थिति सृजना भएपछि शान्ति सुरक्षा कायम गर्न सूचना जारी गरिएको बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषदद्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह
जेनेभा । संयुक्त राष्ट्र मानव अधिकार परिषदले शुक्रबार इजरायललाई हतियार बिक्रीमा रोक लगाउन आग्रह गरेको छ ।खुुलेआम हतियार खरिद विक्रीको परिणाम स्वरुप भएको गाजा युद्धले ३३ हजारभन्दा बढी प्यालेष्टिनीको ज्यान लिएको छ । मारिनेमा अधिकांश सर्वसाधारण नागरिक परेका छन् ।आग्रह स्वीकृत भएमा संयुक्त राष्ट्रसङ्घको शीर्ष अधिकारीक निकायले घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रलाई रक्तपातपूर्ण युद्धको स्थितिलाई रोक्न सफल हुनेछ । मस्यौदाले सम्बन्धित देशहरुलाई इजरायलमा हतियार, तथा अन्य सैन्य उपकरणहरूको बिक्री, हस्तान्तरण रोक्न आह्वान गरेको छ । मस्यौदाको आवश्यकता अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन रोक्नको लागि महत्त्वपूर्ण रहेको परिषद्ले जनाएको छ । मस्यौदाले अन्तर्राष्ट्रिय न्यायिक अदालतले जनवरीमा गाजामा ‘नरसंहारको सम्भावित जोखिमको फैसला गरेको’ कुरामा जोड दिन्छ । अल्बानिया बाहेकका इस्लामिक सहयोग सङ्गठन (ओआईसी) का सदस्यको तर्फबाट पाकिस्तानले अगाडि सारेको मस्यौदा प्रस्तावमा तत्काल युद्धविराम तथा आपतकालीन मानवीय पहुँच र सहयोगका लागि आह्वान गरिएको छ । गत हप्ता संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि युद्धविरामको आह्वान गर्ने प्रस्ताव पारित गरेपछि यस्तो आग्रह आएको हो । तर, युद्धविरामको मागले युद्ध ग्रस्त भूमिमा कुनै असर पारेको छैन । अधिकार परिषद्को मस्यौदा प्रस्तावमा इजरायली सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा रकेट प्रहार गरेकोमा यसको निन्दा गर्दै बाँकी सबै अक्टोबर ७ को आक्रमणमा कब्जामा लिइएका बन्धकहरूको तत्काल रिहाइको माग गर्दछ । प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली नियन्त्रण समाप्त गरी गाजा पट्टीमा नाकाबन्दीलगायतका कार्य तुरुन्तै हटाउन माग गरेको छ । मस्यौदाले नरसंहारका धेरै सन्दर्भहरू हटाउदै यस विषयमा गम्भीर चिन्ता जारी राखेको छ । जसले गाजाभित्र र बाहिर प्यालेस्टिनीहरूको निरन्तर जबरजस्ती स्थानान्तरण रोक्न आग्रह गर्दछ । मस्यौदा प्रस्तावले गाजामा युद्धको विधिका रूपमा नागरिकहरूलाई भोकमरीको बाध्यतामा पारेको भन्दै यसको निन्दा गरेको छ । जहाँ संयुक्त राष्ट्र सङ्घले गाजामा चरम अनिकाल व्याप्त भइसकेको बताउँदै जानाजानी खाना, पानी, बिजुली, इन्धन र दूरसञ्चारलगायत नागरिकहरूको अस्तित्वका लागि बाधा पारी आधारभूत आवश्यक वस्तुहरूबाट वञ्चित गरिएकोमा यसको विरोध गरेको छ । रासस/एएफपी
सुदूरपश्चिममा १० दिनभित्र सरकार बनाउन आह्वान
धनगढी। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले शुक्रबार दिउँसो विज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा १६८ उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि १० दिन भित्र दाबी पेश गर्न आह्वान गरेका छन्। सो धारा अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ। मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले शुक्रबार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख मियाँले बिहीबारदेखि नै राजनीतिक दल, कानुनका विज्ञसँग नयाँ सरकार गठनका लागि आह्वान गर्नका लागि परामर्श लिएर सो आह्वान गरेका हुन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन्। नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ। सङ्घीय सरकार अनुसार गठबन्धन बनाउन आवश्यक संख्या भन्दा बढी ३१ जना प्रदेश सभा सदस्य छन्। सात सदस्य रहेको नागरिक उन्मुक्ती पार्टी आन्तरिक विवादमा फसेकोले नयाँ सरकार बन्न कठिनाइ भइरहेको छ। सङ्घीय सरकारमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी) संग १०/१० जना र नेकपा (एकीकृत समाजवादी)सँग चार जना प्रदेश सभा सदस्य गरेर २४ मात्र रहेका छन्। प्रदेश सभामा नेपाली कांग्रेसका १८, राप्रपा र स्वतन्त्रका १र१ जना प्रदेश सभा सदस्य छन्।

