कृषि अनुदानमा भ्रष्टचार : ८ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
उनीहरुलाई कृषि निर्देशनालय गण्डकी प्रदेशबाट प्राप्त अनुदान रकममा भ्रष्टाचार गरेको अभियोग लागेको छ।आयोगले निमित्त कार्यालय प्रमुख पोखरेलविरुद्ध रु २८ लाख, ३७ हजार दुई सय १७ बराबरको बिगो दाबी गरेको छ।
यसैगरी,कृषि इन्जिनीयर विश्वनाथ पौडेल, कृषि विकास अर्थविज्ञ भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने तिमिल्सिना, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ र गल्याङ नगरपालिका–३ का श्रीप्रसाद श्रेष्ठविरुद्ध पनि रु २८ लाख ३७ हजार दुई सय १७ बराबरको बिगो दाबी गरिएको छ।
शेयर बजारमा ९ अंकको वृद्धि
काठमाडौं । शेयर बजारमा ९ अंकको वृद्धि भएको छ । उतार चढावका बीच नेप्से ९ दशमलव १९ अंकले बढेर २०३६ मा पुगेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये दश वटा उपसमूह बढेका छन् भने तीन वटा उपसमूहको सूचक घटेको छ । मंगलबार फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २ दशमलव ७९ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको सूचक २ दशमलव ४२ प्रतिशत र निर्जीवन बीमा उपसमूहको सूचक १ प्रतिशतले बढेका छन् । मंगलबार ९७ लाख ८९ हजार कित्ता शेयर ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । नेपाल फाइनान्स, जानकी फाइनान्स र पोखरा फाइएनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । तर विन नेपाल लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने महुली लघुवित्, सबैको लघुवित्त र समता लघुवित्तको शेयर मूल्य पनि ४ प्रतिशतभन्दा धेरै घटेको छ । कारोबार रकमका आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक १८ करोड ८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले हान्यो पानीको फोहोरा, राप्रपाको भिड तितरबितर
काठमाडौं । राप्रपाको प्रदर्शन निषेधित क्षेत्र तोड्दै सिंहरदबारको मूलगेटतर्फ अघि बढेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। पानीको फोहोरापछि प्रदर्शनकारीको भिड तितरबितर भएको छ। राप्रपाले व्यवस्था परिवर्तनको माग गर्दै मंगलबार काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गरेको थियो। त्यसक्रममा भद्रकालीबाट सिंहदरबारतर्फ जुलुस लम्केपछि प्रहरीले पानीको फोहोरा हानेको हो। राप्रपाको प्रदर्शनका कारण मंगलबार काठमाडौं उपत्यकाको सवारी साधन आवागमन प्रभावित भएको छ । प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने,ढंग्गा हान्न लगाउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।
४७ पछिका सबै कान्ड छानबिन गर्न रास्वपाको प्रस्ताव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले ०४७ साल पछिका बालुवाटारदेखि अन्य सबै कान्डको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्न प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसले रवि लामिछानेको सहकारी ठगीमा संलग्नताका विषयमा संसदीय छानबिन समिति गठनका लागि राखेको माग पूरा नभएर संसद् अवरोध गरेपछि डा. वाग्लेले बाहिर निस्किएर पत्रकारहरुमार्फत कांग्रेसलाई यस्तो जवाफ दिएका हुन् ।
सिंहदरबारअगाडिको सडक बन्द
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई मध्यनजर गरेर काठमाडौंको सिंहदरबारअगाडिको सडकमा आवतजावत बन्द गरिएको छ । मंगलबार दिउँसो उक्त सडक बन्द गरिएको हो । सो सडक भएर गुड्न लागेका सवारीसाधनलाई अन्यत्र पठाइएको छ । त्यहाँको बाटो बन्द गरिँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । राप्रपाले आज बृहत् प्रदर्शनको आयोजना गरेको छ । प्रदर्शनलाई मध्यनगर गरी ठूला संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिनिधिसभामा कांग्रेसको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित गरेका हुन् । बैठकमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने माग गरेको थियो । कांग्रेसकी सचेतक सुशीला थिङले बोलेपछि सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झालाई बोल्न समय दिएका थिए । कांग्रेसका सांसदले अवरोध गरेपछि सत्ता पक्षका सांसद पनि उभिएका थिए । उनीहरूले बोल्न दिनका लागि माग गरेका थिए । सभामुखले सदन सुचारु गर्न पटक-पटक आग्रह गरेका थिए ।
यूएईमा श्रीमान् श्रीमती विवाद : भवनबाट खस्दा श्रीमतीको मृत्यु, श्रीमान् फरार
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा एक नेपाली महिलाको मृत्यु भएको छ। अर्घाखाँची घर भएकी श्रीमती राधा न्यौपाने र कैलाली घर भएका श्रीमान् नेत्रप्रसाद न्यौपानेबीच विवाद हुँदा यूएईको अजमानस्थित चाइना मलको भवनबाट खसेर उनको मृत्यु भएको बताइएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)नेपाल एसोसिएसनका अध्यक्ष विकास शाहीले घटनाको पुष्टि गर्दै थप बुझ्ने काम भइरहेको बताए।केही दिनअघि दुई जनाबिच विवाद भएको र सोही क्रममा भवनबाट खसेर उनको मृत्यु भएको बताइएको छ। घटनापछि श्रीमान न्यौपाने फरार भएका छन्। नेत्रले राधासँग दोस्रो बिहे गरेको र पहिलो बिहे उनले गुपचुप राखेको थापा पाएपछि मदिरा पिएको बेला उनीहरुबीच विवाद भएको बताइएको छ। विवादकै क्रममा नेत्रले धकेल्दा यो घटना भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै संघले जनाएको छ। मलबाट खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ । उनको शव स्थानीय अस्पतालमा राखिएको छ । उनीहरु दुबै जनाको यूएईमा रेसिडेन्ट कार्ड भएको र यूएईमा काम गर्दै बस्दै आएको खुलेको छ । यसबारे दूतावासमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
पौडी खेल्ने क्रममा आँधीखोलामा किशोर बेपत्ता
पोखरा । स्याङ्जाको आँधीखोलामा १ जना बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा गल्याङ नगरपालिका २ गराङ्दि घर भएका १४ वर्षीय किशोर युनिक राना बेपत्ता भएका हुन् । मंगलवार बिहान ७ जना साथीहरू पौडी खेल्न गएका थिए । राना खेल्दा खेल्दै बेपत्ता भएका हुन् । उनी बेपत्ता भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
सुन प्रतितोला एक लाख ३६ हजार ३०० रुपैयाँ
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेर कारोबार भएको हो । छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आज प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
राष्ट्रपति पौडेल सप्तरीमा, छिन्नमस्ताको पूजा गर्ने
राजविराज । राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन् ।सप्तरीमा उनी छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुनेछन्। राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए। राष्ट्रपति पौडेलको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए ।
विष्णुदेवीलाई राष्ट्रियसभा उपाध्यक्षको उमेदवार बनाउने कांग्रेसको निर्णय
काठमाडौं । कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्ष उमेदवार बनाउने भएको छ । आज बसेको संसदीय दलको बैठकले पुडासैनीलाई निर्णय गरेको हो । माघमा भएको राष्ट्रियसभा निर्वाचन महिला क्लस्टरका सात जनामध्ये वाग्मती प्रदेशबाट पुडासैनी निर्वाचित भएकी हुन् । २०३३ सालमा पद्मकन्या क्याम्पसमा पढ्दादेखि नै उनी राजनीतिमा सक्रिय भएकी थिइन् । २०४९ सालमा काठमाडौंको तत्कालीन भद्रबास गाविसको अध्यक्षमा पनि निर्वाचित भएकी उनी ७३ वर्षकी भइन् ।
आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिदै
काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको आयोगले त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको हो। आगामी वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१)मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि इलाम-२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए।
कर्णालीको मुख्यमन्त्रीमा गठबन्धनका यामलाल कँडेलले दाबी पेश गर्दै
काठमाडौँ । कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद मंगलबार सकिँदै छ । सत्ता गठबन्धनबाट एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन् । तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए। पहिले नै कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनमा सहमति भइसकेको छ। एमाले संसदीय दलका नेता कँडेलले माओवादी केन्द्रको समर्थनमा सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् । ४० सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सांसद छन् । त्यसैगरी नेपाली काँग्रेसका १४, राप्रपा र स्वतन्त्रबाट १र१ जना सांसद रहेका छन् ।
राष्ट्रियसभा उपाध्यक्षमा मनोनयन दर्ता आज
काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ। त्यसका लागि मंगलबार संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको हो। संसद् भवनको ल्होत्से हलमा मनोनयन दर्ताका लागि स्थान तोकिएको छ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला र फरक–फरक दलको हुनुपर्ने व्यवस्था छ । जसअनुसार राष्ट्रिय सभाको अध्यक्षमा पुरुष निर्वाचित भइसकेकाले अब उपाध्यक्षमा महिलाले मात्रै उम्मेदवारी दिन पाउनेछन् । राष्ट्रिय सभामा हाल ५८ सदस्य छन् । जसमा नेकपा माओवादी केन्द्रका १७, नेपाली काँग्रेसका १६, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एकरएक तथा दुई जना मनोनीत सदस्य रहेका छन् । सत्ता गठबन्धन दलले गठबन्धन गरेर एउटा मात्रै उम्मेदवार उठाउने सहमति गरेपनि अहिले एमाले र एकीकृत समाजवादी दुवैले दाबी गरिरहेका छन् ।यद्यपी सत्ता गठबन्धनबाट एमालेकी उम्मेदवार बिमला आचार्य उपाध्यक्षको उम्मेदवार बन्ने करिब टुंग्गो लागेको छ । राष्ट्रिय सभामा गठबन्धन दलको मत ३७ छ । मंगलबार दर्ता भएको मनोनयन बुधबार निर्णयार्थ पेश हुनेछ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ समय र कार्यसूची
काठमाडौं । तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक बस्दैछ । बैठकमा राष्ट्रियसभाबाट पारित भएका संकल्प प्रस्तावहरूको बारेमा सम्बन्धित प्रस्तावकहरूसँग छलफल हुनेछ । त्यस्तै, बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको कार्य क्षेत्रका विषयमा विज्ञहरुरूसँग छलफल हुनेछ । त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।
प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्दै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ ।बैठक प्रतिनिधिसभा बैठक बस्नु अघि बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ । बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएपछि उनीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।हिजो सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले पुरानै अडान कायम राखेको छ । आज पनि प्रतिनिधिसभा बैठक बस्दै छ । आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तय गर्न बैठक बालाइएको नेताहरुले छन् ।

