तीन अर्बको आयोजना सञ्चालन

कञ्चनपुर । भीमदत्त नगरपालिकामा रु तीन अर्बको क्षेत्रीय शहरी विकास आयोजना सञ्चालानमा आएको छ ।

शहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बंैकको ऋण सहयोगमा आयोजना सञ्चालन गरिएको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरलाई व्यवस्थित र पूर्वाधार सम्पन्न शहर बनाउन आयोजना सञ्चालन गरिएको बताउनुभयो । भीमदत्तलाई व्यवस्थित शहरसँगै प्रदेश नं ७ को उत्कृष्ट नमूना शहर बनाउन कार्यक्रम अगाडि बढाइएको उहाँको भनाइ छ ।

“भीमदत्तलाई नमूना शहर बनाउन २० वर्षे योजना बनाएका छौँ,” उहाँले भन्नुभयो । पाँच वर्षे आयोजनाले भीमदत्तको पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । फोहरमैला व्यवस्थापन केन्द्र, ढलसहितको नमूना सडक र फोहर पानी प्रशोधन केन्द्र निर्माण आयोजनाको प्रमुख प्राथमिकतामा छन् ।

आयोजनाअन्तर्गत निर्माण हुने दुई लेनको ३६ किलोमिटर कालोपत्र सडकको सर्भे गरिएको छ । फोहरमैला व्यवस्थापनका लागि जग्गाको खोजी गरिएको छ । भीमदत्त नगरपालिकाका इञ्जिनियर हिमालयसिंह ऐरले रु एक अर्ब ७० करोड लगानीमा ढलसहितको दुई लेनको नमूना सडक निर्माण हुने बताउनुभयो । फोहरमैला र फोहर पानी प्रशोधन केन्द्र निर्माणका लागि आयोजनाअन्तर्गत कार्य अगाडि बढाइने योजना रहेको उहाँले बताउनुभयो । रासस

दोस्रो किस्ता नपाउँदा भूकम्पपीडित समस्यामा

पर्वत । बिहादी–३ रानीपानीका ज्ञानप्रसाद पराजुलीको तीन तले कच्ची घर २०७२ को भूकम्पले छियाछिया पारेको छ । त्यही घरको अगाडि बाँसका खपेटाले बारेर जस्ताले छाएको टहरोमा ज्ञानप्रसादको परिवार बस्न थालेको तीन वर्ष पुग्दैछ । भूकम्पलगत्तै उहाँले पूर्ण क्षतिको कार्ड र रु ३० हजार राहत पाउनुभयो । पराजुली सरकारले आवास पुनःनिर्माण अनुदान दिने सुनेपछि खुशी हुनुभयो । गत वर्ष पूर्ण क्षति भएका पीडितको आवेदन संकलन गर्दै बैंकका कर्मचारी गाउँ पुग्दा उहाँको आवास अनुदान पाउने सूचीमा नाम भेट्टिएन । सोही ठाउँका मीना आचार्य, तेजबहादुर दर्जी, सरस्वती आचार्यलगायत १८ परिवारको अवस्था उस्तै दयनीय छ । दिनभर मेलापात नगरे साँझ चुलो बाल्न नसक्ने अवस्थाका तेजबहादुर कतै हारगुहार गर्न जान सक्दैनन् । “सरकारी अनुदान पनि टाँठाबाठालाई मात्रै रहेछ,” उहाँले भन्नुभयो । रानीपानीका एउटै टोलका १८ परिवार अनुदानबाट वञ्चित छन् । रानीपानी भूकम्पबाट सबैभन्दा धेरै क्षति भएको गाउँ हो । रानीपानीका वडाध्यक्ष रणबहादुर आलेका अनुसार यहाँका ५७९ मध्ये ५०० भन्दा बढी घर पूर्ण रुपमा क्षति भएको छ । आवास अनुदान पाउने सूचीमा ३६१ परिवारको नाम मात्रै छ । “बस्नै नमिल्ने घरधुरी धेरै छुटेका छन्,” आलेले भन्नुभयो । सोही वडाको टहरामा बस्दैआएका १०० भन्दा बढी परिवार अनुदान पाउने सूचीमा नपरेको उहाँको भनाइ छ । बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालका अनुसार ६ वटा वडाका ६०० भन्दा बढी घर पूर्ण रुपमा क्षति भएके छ । उनीहरुको नाम राहत पाउने सूचीमा परेको छैन । “छुटेका परिवारको लगत संकलन गरेर पठाएका छौँ,” भुसालले भन्नुभयो, “एक वर्ष हुन लाग्यो । कुनै प्रतिक्रिया आएको छैन । प्राधिकरणको काम गर्ने शैलीले हामी दिक्क भएका छौँ ।” पूर्ण क्षतिको सूचीमा परेर घर निर्माण गरिसकेका भूकम्पपीडित दोस्रो किस्ता नपाउँदा अन्यौलमा छन् । गाउँपालिकामा अहिलेसम्म पुनःनिर्माण प्राधिकरणका प्राविधिक पुगेका छैनन् । प्राधिकरणले दुई महिनाअघि नै तीनजना प्राविधिक पठाएको भए पनि गाउँमा अझै नआएको गाउँपालिकाका अध्यक्ष भुसालले बताउनुभयो । प्राविधिक नआउँदा बनेका घरको मापदण्ड परीक्षण गर्न र नयाँले घर बनाउन नसकेका उहाँले बताउनुभयो । जिल्लास्थित भूकम्पपीडित आवास अनुदान स्रोतव्यक्ति तुलसीराम शर्मा प्राधिकरणले प्राविधिक पठाए पनि भत्किएका घरको लगत भर्ने फारम नपठाएको बताउनुहुन्छ । रासस

आगलागीबाट एकको मृत्यु

चौतारा । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित स्वाँरा गाँउमा आगलागीबाट एक युवकको मृत्यु भएको छ । गएराति ९ बजेतिर भएको आगलागीमा स्थानीय रेशम सार्कीको मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । भूकम्पपछि संस्थाले बनाई दिएको अस्थायी टहरोमा एक्लै सुतिरहेको अवस्थामा आगलागी भएको थियो । मृतक धूम्रपान गर्ने भएकाले चुरोटको ठुटोबाट आगो सल्किएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका–११ चेहेरेस्थित सुनकोशी नदीमा करिब ५० वर्षीय एक पुरुषको बेवारिसे शव आज बिहान फेला परेको छ । सोबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । रासस

डुम र चमार बस्तीमा खाद्यान्न र कपडा वितरण

पोखरा । समाजका असहाय एवं विपन्न बालबालिकाको क्षेत्रमा क्रियाशील रेन्बो चिल्ड्रेन होम नेपाल पोखराद्वारा बारा जिल्लाको महागडीमाई नगरपालिका–३ र ४ का डुम तथा चमार बस्तीमा मङ्गलबार खाद्यान्न तथा कपडा वितरण गरिएको छ । पोखराबाट खाद्यान्न, लत्ता कपडासहित गएको एक टोलीले सो स्थानका ७५ घरका ३५० जना परिवारलाई तीन लाख पचास हजार मूल्यबराबरको सामग्री वितरण गरिएको रेन्बो चिल्ड्रेन होम नेपालका निर्देशक गोमा ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त वस्तीका प्रतिपरिवार ३० केजी चामल, दुई केजी केराउ, दुई केजी चना, एक लिटर खाने तेल, एक केजी नूनसहित महिला, पुरुष र बच्चाका लागि कपडा वितरण गरिएको थियो । कार्यक्रममा महागडीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानुले खाद्यान्न तथा लत्ताकपडा वितरण गर्दै पिछडिएका वर्गको उत्थानका लागि रोजगारी सिर्जना गरी उनीहरुलाई आत्मनिर्भर बनाउनेतर्पm नगरपालिकाले तयारी गरिरहेको जानकारी दिनुभयो । बारा मेडिकल कलेजका डा लक्ष्मी थापाले स्वास्थ्य सेवामा पहुँच नपुगेका समाजका विपन्न वर्गका परिवारका लागि निःशुल्क स्वास्थ्य शिविरमार्पmत सुविधा पु¥याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । विसं २०६५ मा स्थापना भई सञ्चालनमा आएको रेन्बो चिल्ड्रेन होम नेपालले यसअघि मुलुकका विभिन्न जिल्लामा विपन्न बस्तीमा खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामग्री वितरण गरिसकेको छ । स्वदेशी तथा विदेशी दाताको सहयोगमा सञ्चालित सो संस्थाले सञ्चालन गरेको चिल्ड्रेन होममा हाल ४२ जना आवासीय रुपमा र ४६ जनालाई घरघरमा मासिक रुपमा दुई हजार पाँच सयदेखि रु छ हजारसम्म पठनपाठनमा सहयोग पु¥याउँदै आएको संस्थाका सहसंयोजक खेम लामिछानेले जानकारी दिनुभयो । रासस

नहर, कुलो र मुहान निर्माण योजना

नेपालगञ्ज । यस वर्षको बाढीले भत्काएको र बगाएको बाँके जिल्ला राप्तीसोनारी गाउँपालिकाको नहर, मुहान र कुलो निर्माण हुने भएको छ । सो गाउँपालिका वडा नं २ मा बाढीले भत्काएका र बगाएका खोरियाका दुई, मदुई, माथेबास, परवा तटबन्ध तथा दुई कुलो र मुहान बनाइने बताइएको छ । सो गाउँपालिका वडा नं २ कार्यालयका अध्यक्ष मदनकुमार ओलीका अनुसार सेभ द चिल्ड्रेन र बाँके युनेस्को क्लबसंँगको सहकार्यमा सो काम हुन लागेको हो । नहर, कुलो र मुहान निर्माणका लागि रु ७६ लाख १० हजार बजेट बिनियोजन गरिएको छ भने छ महिनाभित्र काम सम्पन्न गर्ने समयावधि निर्धारण गरिएको छ । योजना सञ्चालनका लागि गठित आठ उपभोक्ता समितिसंँग सम्झौताका सबै प्रक्रिया पूरा भइसकेको र केही दिनभित्रै काम शुरु गरिने वडाध्यक्ष ओलीले बताउनुभयो । यसवर्षको बाढीबाट त्यस वडाका करीव एक हजार १०० घरधुरी प्रभावित भएका थिए । सोका निर्माणपछि किसानको खेतबारी र घर सुरक्षित हुने बताइएको छ । रासस

महानगरका भित्री भागमा आगलागीको जोखिम

ललितपुर । ललितपुर महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा रहेका छन् । नगरका भित्रि भागमा दमकल जानसक्ने बाटो नभएकाले आगलागीको जोखिममा रहेका हुन् । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ । गाडी जाने ठाउँसम्म दमकल लगेर त्यहाँबाट उता पाइप तानेर लानुपर्ने नगरप्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । आगलागी भएको ठाउँभन्दा गाडी टाढा हुँदा दमकलले कम काम गर्छ । उहाँ भन्नुहुन्छ, “जति नजिकबाट हान्यो त्यति तीव्रगतिमा पानी हान्छ।” बाटोबाट टाढा हुँदा पाइप मिलाएर घटनास्थलसम्म पुग्न समय लाग्ने उहाँ बताउनुहुन्छ । आगलागी भएको ठाउँबाट सडक टाढा हुँदा दमकलको पाइप पुग्न समय लाग्छ । घरहरुको माथिबाट पाइप व्यवस्थित गरेर लैजाँदासम्म धेरै क्षति भइसक्ने प्रमुख महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दमकल उतिबेला नै पुगेपनि सडक नजिकका घरभन्दा टाढाका घरमा बढी क्षति हुन्छ ।” टोल–टोलमा पानीे ट्याङकीमा पानी जम्मा गरेर राख्ने र फायर मेसिन राख्न सके जोखिम कम गर्न सकिने उहाँ बताउनुहुन्छ । केही वर्षपहिले नागबहालमा जापानी संस्थाको सहयोगमा ट्याङकीको निर्माण र स्थानीयवासीलाई तालिम दिइएको थियो । उहाँ भन्नुहुन्छ, “हिउँदमा जहिलेसुकै जोखिम भएकाले हामी आफैँले यस्तो तयारी गर्न सके क्षति कम गर्न सकिन्छ ।” नगरका अधिकांश ठाउँमा चोकहरुको भित्र परम्परागतरुपमा बस्ती बसेकाले धेरै घरमा सडकभन्दा घरहरु टाढा छन् । रासस

रमणीय सन्दकपुरः जहाँबाट तीन देशका हिमाल हेरेर मज्जा लिन सकिन्छ

इलाम, फागुन २३ । इलामको सन्दकपुरमा आन्तरिक पर्यटकको भीड लागेको छ । एकै ठाउँबाट तीन देशका हिमाल देख्न सकिने भएकाले यो ठाउँ पर्यटकको रोजाईमा पर्ने गरेको छ । तर प्रचार प्रसार नहुँदा तेस्रो मुलुकका पर्यटक भने अझै पुग्न सकेका छैनन् । जहाँबाट तीन देशका हिमाल मज्जाले देख्न सकिन्छ । सन्दकपुरमा बसेर नेपाल–भारत र भुटानका हिमालका १८० डिग्रीको सोझो सतहमा दुई दर्जन वढि हिमश्रीखंला देख्न सकिन्छ । तर यहाँ पुग्ने बाटो राम्रो नहुँदा सोचे अनुरुपको पर्यटक पुग्न सकेका छैनन् । इलाम सदरमुकामबाट ४५ कि.मी उत्तरको ३ हजार ६ सय ३६ मिटर उचाइको सन्दकपुरबाट सर्वोच्च शिखर सगरमाथादेखि तेस्रो अग्लो कञ्चनजंघा मात्र होइन, सिक्किमको पाण्डिम र भुटानको कुलाकाङ्ग्रीसहित ६० वटा हिमाल देखिन्छ । हिमचुचुरा मात्र होइन सन्दकपुरबाट देखिने सुर्योदय र सुर्यास्तको दृश्यले पनि पर्यटकहरुलाई आर्कषित गर्ने गरेको छ । बिभिन्न देशका हिमश्रृंखला सँगै प्राकृतिक र मनोरञ्जनात्मक दृष्यावलोकनका लागि पर्यटकहरु यहाँ आउने गरेको स्थानीय बालकृृष्ण गुरुङ बताउँछन् । सन्दकपुर पुग्नेमा अधिकांस भारतीय मुलका पर्यटक छन् । त्यो पनि भारतबाट बाटो राम्रो र सहज भएपछि उनिहरुको आवागमन बढेको हो । तर, नेपालतर्फ बाटो राम्रो नहुँदा यहाँबाट सोचेअनुरुपको पर्यटक यहाँसम्म पुग्न सकेका छैनन् । पर्यटकको सुविधाका लागी भनेर दोवाटे र कालपोखरी लगायतका स्थानहरुका होटल र होमस्टे समेत संचालन गरिएको छ । दोवाटे नजिकको २७९० मिटरको उचाइमा रहेको बनमा विश्वमा नै लोपोन्मुख मानिएको रेडपाण्डा (हाव्रे) देख्न सकिन्छ । चौँरी र बिभिन्न प्रजातीका गुराँस हेर्न समेत पर्यटकहरु यहाँ आउने गरेको स्थानीय दावालाक्पा शेर्पा बताउँछन् । यहाँ पुग्ने पर्यटक समेत यस स्थानमा एकपटक सबैजना पुग्नै पर्ने प्रतिकृया दिन्छन् । नेपाल भारत सिमाना भएकाले भारतीय पर्यटकहरुको आगमन उच्च रहने गर्दछ । भारतीय पर्यटकहरुको ट्रेकिङको लागी सिम्ला पछिको उत्कृष्ट गन्तव्य सन्दकपुर रहेको टुर गाइडहरुले बताउने गरेका छन् । इलाम–दार्जिलिङ सीमामा रहेको सन्दकपुरमा नेपालतर्फ व्यवस्थित २–३ वटा होटल छन् । सन्दकपुरको पर्यटन प्रर्वद्धनका लागी भने सरकारी उपस्थिति शून्य छ । भारततर्फ पश्चिम बंगाल सरकार मातहतका आधादर्जन कार्यालयका अतिरिक्त पर्यटकलाई आवासगृह, होटलसमेत छन् । नेपाली भूभागको बाटो समेत चुस्त नभएका कारण अधिकाँश आन्तरिक पर्यटकहरु समेत भारतीय बाटो हुँदै सन्दकपुर सम्म पुग्न बाध्य छन् । माइखोलाको शिर समेत रहेको सन्दकपुरमा बाटो, बिजुली, खानेपानी र सुरक्षा व्यवस्थाको अझै खाँचो देखिन्छ ।

मर्मत संभार र रेखदेख नहुँदा लघु जलविद्युत् आयोजनाहरु धमाधम बन्द

तेह्रथुम, फागुन २३ । मर्मत सम्भार र रेखदेखमा ध्यान नपुग्दा तेह्रथुमका लघु जलविद्युत् आयोजनाहरु धमाधम बन्द हुन थालेका छन् । लघु जलविद्युत् आयोजनाहरु निर्माण गर्दा सरकारी अनुदान पाउने तर मर्मत सम्भार गर्न सहयोग नपाएपछि त्यस्ता आयोजना बन्द हुन थालेका हुन् । त्यसैगरी जिल्लाकै एक मात्र पूर्ण सरकारी लगानीको खोरुङ्गा खोला लघुजलविद्युत् आयोजना समेत पाँच वर्षयता बन्द छ । मेन्छ्यायेम गाउँपालिका–५ स्थित एक सय किलोवाट क्षमताको सो आयोजना मर्मतका लागि सम्बन्धित निकायले ध्यान नपुर्‍याउँदा करोडौं मूल्यका उपकरण कवाडीमा परिणत भएका छन् । जिल्लामा बनेका १६ वटा साना तथा लघु जलविद्युत आयोजना मध्ये १० वटा बढी योजना मर्मत अभावकै कारण बन्द भएका छन् । समुदायमा आधारित जलविद्युत् आयोजनाहरु मर्मत सम्भारमा बजेट अभाव हुनु, सधैं समुदायमा मेल नहुनु, दक्ष जनशक्ति अभाव हुनुलगायत कारणहरुले बन्द भएका हुन् ।

सोलुखुम्बुमा हाइड्रो पावरको टहरामा आगलागी

सोलुखुम्बु, फागुन २३ । माथिल्लो सोलु हाइड्रो पावरको टहरामा आगलागी हुँदा ५८ लाख रुपैयाँ बढीको क्षति भएको छ। सोलुदूधकुण्ड नगरपालिका- ७ मा रहेको उक्त हाइड्रो पावरमा काम गर्ने कामदारहरू बस्ने टहरामा आगलागी भएर क्षति भएको हो। विद्युत सर्ट भई छवटा टहरामा आगलागी भएको थियो। एक सय बढी कामदार बस्ने उक्त टहरामा आगलागी हुँदा ५८ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। आगालागीमा परी सोमबार मात्र तलब बुझेका कामदारहरूको नगद २० लाख रुपैयाँ, २५ थान मोवाइल, एक थान ल्यापटप, खाद्यान्न र भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सोलुदूधकुण्ड नगरपालिकाको दमकल र नेपाल प्रहरीको सक्रियतामा आगो निभाइएको थियो।

नेपाली सेनाद्वारा राईनासकोट गढीको मर्मत

लमजुङ, फागुन २३ । नेपाली सेनाले लमजुङको राईनासकोटमा रहेको ऐतिहासिक गढी मर्मत गरेको छ । जीर्ण अवस्थामा रहेको सो गढीको मर्मत लमजुङस्थित श्रीजंग गणका सेनाले गरेक हुन् । राईनासकोट गढीमा भत्किएको पर्खालको मर्मत तथा सरसफाई गरिएको श्रीजङ गणका गणपती माधव थापाले जानकारी दिए । जीर्ण संरचना मर्मत गर्न ३० जनाको टोली खटाइएको थियो । मर्मतका लागि आवश्यक सामाग्री पनि श्रीजंग गणले नै जुटाएको थियो । केही दिनअघिमात्रै नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले सो गढीको स्थलगत अवलोकन गरेका थिए । ऐतिहासिक गढीका संरचना भत्किएको देखेपछि प्रधानसेनापति क्षेत्रीले मर्मत गर्न श्रीजंग गणलाई निर्देशन दिएका थिए । गोरखाको लिगलिगमा विजय प्राप्त गर्नुअघि राजा द्रव्यशाहको बासस्थान गढी रहेको राईनासकोटको ऐतिहासिक एवं धार्मिक महत्व छ ।

प्रदेश ७ मा अल्पकालीन बजेट ल्याउने तयारी

धनगढी,फागुन २३ । चालु आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहँदा ७ नं प्रदेश सरकारले अल्पकालीन बजेट ल्याउने तयारी गरेको छ । बजेटले कृषि र उत्पादनशील क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न लागेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । सरकार गठन भएपछि सञ्चित कोषको अभावले मन्त्रालयका काम कारबाही प्रभाबित हुन थालेको महसुश गरी अल्पकालीन बजेट ल्याउन लागिएको जनाइएको छ । रु एक अर्ब २० करोड ५० लाख बरावरको हुने बजेट निर्माणका विषयमा विज्ञ कर्मचारीलाई आर्थिक मामिला मन्त्रालयले आवश्यक निर्देशनसमेत दिइसकेको छ । कृषि र उत्पादनशील क्षेत्रबाहेक शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्ने गरी तयार गर्न लागिएको यो अल्पकालीन बजेटले तत्काल जनतालाई सम्बोधन हुने नीति तथा कार्यक्रम बजेटमा समावेश गरिन लागिएको मन्त्रालयले जनाएको छ । कृषि र उत्पादनमूलक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भएकाले यससम्बन्धी आवश्यक तयारी शुरु गरिएको प्रदेश अर्थमन्त्री झपट बोहराले बताउनुभयो । कमजोरी वित्तीय अनुशासन, राजश्व चुहावट, करको साँघुरो दायरा, आम्दानीभन्दा बढी खर्चका कारण प्रदेशको आर्थिक व्यवस्थापन चुनौतीपूर्ण रहेको अवस्थामा पहिलो पटक ल्याउन लागिएको बजेटले आगामी आवमा ल्याइने पूर्ण बजेटलाई निर्दिष्ट गर्ने अर्थमन्त्रीले बताए । “प्रदेश सरकार गठन सँगै खर्चको दायरा निकै बढी हुने देखिएको छ”, मन्त्री बोहराले भन्नुभयो, “खर्चको तुलनामा आयको स्थिति हेर्दा प्रदेश सरकारका लागि वित्तीय व्यवस्थापन चुनौतीपूर्ण देखिने सम्भावना बढेको छ ।” आर्थिक व्यवस्थापनका लागि दीर्घकालीन योजना निर्माण, कठोर आर्थिक अनुशासन, राजश्व चुहावटलाई रोक्ने र करको दायरा फराकिलो बनाएर अगाडि जानुपर्ने उनले बताए । रासस

शल्यक्रियामा लापरबाहीः काउन्सिललाई नै ढाँटे डाक्टरले !

काठमाडौं, फागुन २३ । देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलका चिकित्सकले नेपाल मेडिकल काउन्सिललाई समेत ढाँटेका छन् । काउन्सिलले शल्यक्रियामा संलग्न चिकित्सकलाई बोलाएर सोधपुछ गर्दा उनीहरुले विरामी देब्रे घुँडाका लागि आएको त हो, तर हाम्रो नजरमा दायाँ घुँडामा समस्या देखिएकाले शल्यक्रिया गरेका हौँ, भनेर दावी गरेका थिए । शल्यक्रियामा डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितका संलग्न थिए । चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण अस्प्ताल भर्ना भएकी विन्दु पौडेलको देव्रेका सट्टा दाहिने घुँडाको शल्यक्रिया गरिएको थियो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

ठेकेदारले यसरी चोरी गरेको आरोप

पाल्पा, फागुन २३ । जिल्लाको बाँसटारी झडेवा सडक खण्डअन्तर्गतको खहरे देउगिर सडकको ओटासिल गर्ने ठेकेदारले लाखौं रुपैयाँ पर्ने निर्माण समाग्री चोरी गरेको खबर आजको कारोबारमा छ । निर्माण कम्पनीले कसेनी, रुप्से र चिदीपानीको सिमानामा पर्ने खहरे बगर (हाटबजार) क्षेत्रबाट लाखौं रुपैयाँ पर्ने कच्चा पदार्थ गिट्टी, बालुवा र ढुंगाको चोरी गरेको हो । ठेकेदारले साविकको कसेनी ९ का पहलमानसिंह कुमाल, रुप्से २ का शान्तिदेवी ठाडा, चिदीपानी ९ का हिराबहादुर रेग्मी र तानपा ११ का कृष्ण रानाको जग्गाबाट सडकका लागि आवश्यक गिट्टी र ढुंगाा किनेको उल्लेख छ । तर, ठेकेदारले सबैभन्दा धेरै बाँधवारी र हाटबजार क्षेत्रबाट निर्माण सामाग्री चोरी गरेको पाइएको छ । अन्यत्रबाट निर्माण सामाग्री थुपार्नका लागि साविकको रुप्से गाविसले हाटबजार क्षेत्र प्रयोग गर्न अनुमति दिएको थियो । तर, ठेकेदारले त्यहाँ निर्माण समाग्री थुपार्नुभन्दा सोही स्थानबाट कच्चा पदार्थ चोरी निकासी गर्न सहज बनेको स्थानीय बासिन्दाको भनाइ छ ।

विप्लवनिकट क्रान्तिकारीको चन्दा आतंक

काठमाडौं, फागुन २३ । विप्लव माओवादीनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आफ्नो महाधिवेशनका लागि भन्दै विभिन्न शैक्षिक संस्थाहरूबाट चन्दा असुलेको छ । विद्यालयहरूमा पत्राचार गरी टेलिफोनमार्फत अधिकतम चन्दा दिन दबाब दिने गरेको निजी विद्यालयका सञ्चालकले बताएका छन् । सहयोगका निम्ति भन्दै क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहको हस्ताक्षरमा विद्यालयहरूमा पत्र पठाइएको छ । क्रान्तिकारीको सम्मेलन फागुन २७ बाट ४ दिनसम्म दाङमा हुँदै छ ।आफ्ना माग अटेर गरे विद्यालय बन्द गराउने चेतावनी क्रान्तिकारीले दिने गरेको छ । ‘चन्दा नमागे कम्युनिस्ट नै हुँदैन जस्तो गर्छन्,’ ललितपुरस्थित एक विद्यालयका सञ्चालकले भने, ‘हिजो पनि दिएका थियौं । आज नदिने भन्ने रहेन । आखिर अभिभावकबाट अन्य शुल्क भनेर थप्ने न हो ।’,यो खबर आजको कान्तिपुरमा छ ।

अध्यागमना ‘सेटिङ’ गर्ने तीन कर्मचारी निलम्बित

काठमाडौं, फागुन २३ । भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउन संलग्न भएको आरोपमा नेपाल एअरलाइन्सले आफ्ना तीन कर्मचारीलाई निलम्बन गरेको छ। नेपाल एअरलाइन्सका कर्मचारीहरूको मिलेमतो र आर्थिक सेटिङमा भारतीयलाई प्रस्थान अनुमति दिने विमास्थल अध्यागमन कार्यालयका अधिकृत नइन्द्र पौडेललाई समेत अध्यागमन विभागले फिर्ता बोलाएको छ। पौडेलको अध्यागमनका अन्य कर्मचारीहरूसँगको कोक्सनबारे समेत अनुसन्धान भक्ष्रहेको छ। नेपाल एअरलाइन्सका कर्मचारीहरू विजय अधिकारी, घनश्याम चौधरी र हरि साहु सुनारलाई निलम्बन गरिएको हो। नेपाल एअरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठले भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउने प्रकरणमा संलग्न आफ्ना तीन कर्मचारी निलम्बनमा परेको पुष्टि गरे। अध्यागमन अधिकृत पौडेलले अध्यागमन हधिकृत पौडेलले एअरलाइन्सका कर्मचारीले ‘सेटिङ’ गरेका चार भारतीयको आवश्यक कागजात नहेरी प्रस्थान अनुमति दिएका थिए। दिनहुँझैं अध्यागमनमा सेटिङ हुने गरेको र त्यस्ता सेटिङ गुपचुप हुने गरेको स्रोतले बताएको छ। पौडेलले केही दिनअघि मात्र पनि सेटिङ गरेर भारतीय महिलाहरूलाई हङकङ पठाएका थिए। हकङले भारतीय नागरिकलाई अनअराइभल भिसा दिने र त्यसको फाइदा उठाउँदै भारतीय महिलाहरू कामका लागि नेपालको हवाइमार्ग हुँदै त्यहाँ जाने क्रम बढेको छ।

समस्यामा महिला कैदीबन्दीः आमासँगै छोरी पनि जेलमा

बर्दिया, फागुन २३ । विभिन्न अभियोगमा कारागारमा जीवन बिताइरहेका कैदीबन्दी महिला विभिन्न समस्या भोग्न बाध्य हुने गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ, कारागारभित्र सजाय भुक्तान गरिरहेका तथा मुद्दा खेपिरहेका महिला कैदीबन्दी कानुनी अधिकारबाट बञ्चित हुँदा समस्यामा पर्ने गरेका छन् । १५ जना कैदीबन्दी रहेको बर्दिया कारागारमा एक जना बालिका पनि आमासँगै जेलजिवन बिताइरहेकी छन् । छोरी जन्मेको दुई महिनामै कारागारमा आउनुपरेको बाह्रबर्दिया नगरपालिका ११ निवासी सीता चौधरीले बताइन् । दुई बर्ष अघि गर्भवती हुँदा छोरीसहित आफू पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् । दुर्भाग्यवश एउटी छोरीको निधन भयो । एउटी छोरी र सीता बाँचे । त्यसपछि उनी छोरीसहित कारागारमा कैद भुक्तान गर्न बाध्य भइन् ।