एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित
सिमकोट । नेकपा (एमाले) हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १० औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो भने गए राति नै मतगणना गरिएको थियो । अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत थिए । उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल नै विजयी भएको छ ।
निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीका अनुसार प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भएका छन् । अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको शाहीले जानकारी दिए ।
बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५, नागबेलीस्थित बहुमूल्य बोधिचित्त ९बुद्धचित्त०को रुख काटेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त समूहले गएको बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो । फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष तीन करोड रुपैयाँमा बिक्री गर्न बैना गरिएको तामाङले बताइन् । उनका अनुसार, बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झन्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो। मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरिएको हो । प्रभातलाई शनिबार काठमाडौंको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ। अरू दुईजनाको म्याद थप गरी थप अनुसन्धान थालिनेछ । प्रहरीका अनुसार, ठाकुरानीको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजंग गणले निष्क्रिय पारेको थियो । घटनामा संलग्न अरू व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठजनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएकी छन् । उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो । रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुन सक्ने प्रहरीको अनुमान छ । बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्त्व छ । रासस
विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किए
काठमाडौँ। नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए। सोमबार बिहान उनी माओवादी केन्द्रमा फर्किएका हुन्।
विश्वदीपले छाडे बाबुराम
काठमाडौँ । युवा नेता विश्वदीप पाण्डेले पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) परित्यागको घोषणा गरेका छन् । पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईसँग लामो समय निकट रहेर काम गरेका पाण्डेले पार्टीको प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पाण्डेले पार्टी छाडेको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु ।’
विधेयकका संशोधनकर्तासँग छलफल गर्दै शिक्षा समिति
काठमाडौं । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ । दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्ने बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ । स्वास्थ्य तथा सूचना प्रविधि समितिको हलमा बस्ने बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
अर्थमन्त्री पुन अमेरिका प्रस्थान
काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन सोमबार बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डीसीका लागि उडेका हुन्। भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भूपालराज शाक्य छन् । तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेट्ने पुनको सचिवालयद्वारा जारी प्रेस नोटमा छ । यस्तै मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी)का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका छ । मन्त्री पुनले जलवायु परिवर्तको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी-२० को मन्त्रीस्तरीय बैठकलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नेछन् । भी–२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न संक्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने निकाय हो । मन्त्री पुन हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुनेछन् । ती बैठकहरुमा मन्त्री पुनले आगामी जुनमा काठमाडौँमा हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठकको तयारी, विश्व बैंकले आगामी ५ वर्षका लागि नेपालमा गर्ने लगानी साझेदारीको प्राथमिकता निर्धारण, संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनासहित पाइपलाइनमा रहेका अन्य आयोजनाको वित्तीय व्यवस्थापनलगायत विषयमा छलफल गर्नेछन्।
देशका केही भू-भागमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । विभागले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागको थोरै स्थान र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्याह्नपछि हावाहुरीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज सूर्योदय बिहान ५ बजेर ३९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २९ मिनेटमा हुनेछ ।
भक्तपुरमा मनाइयो सिन्दुरजात्रा
काठमाडौं। बिस्का जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा सिन्दुरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा बिस्केट जात्रा अन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो । बिस्केट (बिस्काः) जात्राको अवसर पारेर मनाइने ३२ टोलबाट देव देवताका खट बालकुमारी मन्दिरमा ल्याइन्छ । त्यहाँ सबै खट आइपुगेपछि सिन्दुरेजात्रा मनाइन्छ । देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहिआएको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर, फूल छर्केर स्वागत गर्ने प्रचलन छ । जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकआपसमा सिन्दूर (अबिर) दलेर नगर परिक्रमा गर्ने परम्परा छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन छ ।
भारतले उपहार दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस
काठमाडौं । भारतले उपहारस्वरूप नेपालका विभिन्न जिल्लालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस दिएको छ । काठमाडौंस्थित भारतीय दूतावासले आइतबार एक कार्यक्रमको आयोजना गरी ती एम्बुलेन्स र स्कुल बस सम्बन्धित संघ–संस्थालाई हस्तान्तरण गरेको हो । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे । उपहारस्वरूप कुल १०१ सवारीसाधन हस्तान्तरण गरिएको हो । तीमध्ये दुई एम्बुलेन्स भारतीय दूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामै पुगेर जिल्ला प्रमुख अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए । भारतले तीन दशकदेखि आफ्नो स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा एम्बुलेन्स र स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको दूतावासले जनाएको छ । “यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रूपमा रहेको छ,” दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
छुरा प्रहारबाट एक जनाको मृत्यु
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मी नेवारे बस्ने ३१ वर्षीय धनजित राईको छुरा प्रहारबाट मृत्यु भएको छ । सोही ठाउँ बस्ने २६ वर्षीय बिकास राई समेतका ३ जनाले सोही ठाउँस्थित मकै बारीमा धनजितलाई छुरा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गरेर फरार रहेका हरुको जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरी टोलीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका ४ चप्पलकाराखाना चोक बस्ने ५१ वर्षीय बिनय मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा मगर समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ६ सय ३५ रुपैयाँ, जुवा खेल्न प्रयोग गरेको विभिन्न रंगको क्वाईन ७५ थान र १ करोड ७३ लाख ७५ हजार रूपैयाँ बराबरको रकम उल्लेख गरी काटिएका चेक ३० थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । छुट्टाछुट्टै स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उदयपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका ९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । माझीले ती किशोरीलाई गत बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै, कञ्चनपुरमा २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका ८ कलकत्ता बस्ने ४८ वर्षीय भजन रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रानाले ती महिलालाई बुधबार दिउँसो आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
अवैध लागूऔषधसहित २ जना पक्राउ
काठमाडौं । बर्दियाको गुलरीया नगरपालिका ११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ करिब ३ ग्राम ३ सय मिलिग्रामसहित मधुबन नगरपालिका ९ गाँउ नम्बर १२ बस्ने २१ वर्षीय अर्जुन बिकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस्तै, पर्साको वीरगंज महानगरपालिका १६ शंकरअचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८ सय २० मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका १० बस्ने २७ वर्षीय सुजन गोलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनरूवाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
१९ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं । नेपाल सरकारको २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव उपरीक्षकहरूमा निर्मल पनेरू, ऋषिराम घर्तिमगर, दिपक मल्ल, धन बहादुर बोहोरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना ९उपाध्याय०, पुरूषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाय, गुणराज बुढाथोकी, राम प्रसाद तिमल्सिना, भिषणबाबु राई, रूक बहादुर खड्का, रण बहादुर चन्द, राजन लामा र कमल कुमार खड्का रहेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट सम्पादित हुने कामकारवाही थप रचनात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरिएको बताए । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर निरन्तर संगठनको प्रतिष्ठालाई उच्च बनाउन जिम्मेवार रहि खरो रूपमा उत्रिन उनले निर्देशन दिए । नेपाल प्रहरीमा प्रचलनमा रहेका कार्यशैली, अभ्यास, पद्धति, विधि, प्रक्रिया र प्रणालीलाई वैज्ञानिक, पारदर्शी, न्यायोचित र विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता महसुस गरी चिन्तनशील भएर गृहकार्य अघि बढाइएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, “सांगठनिक सुदृढिकरण र तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले संगठनलाई प्रणाली र पद्धतिमा डोर्याउन सबैको रचनात्मक सल्लाह, सुझाव र सहाकार्यको भूमिका रहन्छ ।” उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक निर्मल पनेरूले आपसी समझदारी, इमानदारी र जिम्मेवारी बोधका साथ स्वच्छ तथा व्यवसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।
ट्राफिक प्रहरीको काम सह्रानीयः गृहमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहबीच ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ को उद्घाटन गरेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा आयोजित कार्यक्रममा अभियानको उद्घाटन गरिएको हो । कार्यक्रममा गृहमन्त्री लामिछानेले ट्राफिक व्यवस्थापनमा सम्पूर्ण सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सरकारले ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर ऐन, नियमलाई समयानुकूल परिमार्जित, परिवर्तन तथा नयाँ कायम गर्नका लागि सक्रियताका साथ लागेको जानकारी दिए । दुर्घटना न्यूनीकण गरी नागरिकको ज्यान बचाउनु राज्यको प्राथमिकता रहेको भन्दै उनले बाटो परिक्षण नगरिकन लाईसेन्स दिने परिपाटीले धेरै सवारी दुर्घटनाहरू भएको बताए । यसलाई नियन्त्रण गर्न लाईसेन्स परीक्षाको विद्यमान प्रक्रियामा सुधार गर्नुपर्ने गृहमन्त्री लामिछानेले बताए । उनले सरकारका कामहरूमध्ये ट्राफिक व्यवस्थापन पनि एक महत्वपूर्ण काम रहेको चर्चा गर्दै हाल सम्मको काम सह्रानीय रहेको र आगामी दिनमा समेत ट्राफिक नियमलाई थप कडाईका साथ पालन गर्नगराउन निर्देशन दिए । ट्राफिक प्रहरीलाई छल्नलाई होइन आफू सुरक्षित हुनका लागि गम्भिर तथा सचेत भएर सार्वसाधारणले ट्रफिक नियम तथा लेन अनुशासनको पालना गर्नुपर्नेमा उनले जोड दिए । ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले ट्राफिक प्रहरीको बोली, वचन तथा व्यवहार नरम तर कारबाही कडा हुनुपर्ने बताए । यो विशेष अभियान अन्तर्गत एक हप्तासम्म यात्रुमैत्री विशेष अभियान, पैदल यात्रीसँग १ मिनेट कार्यक्रम, मोटरसाइकल चालकसँग २ मिनेट कार्यक्रम, जिरो ट्राफिक भायोलेशन, किप क्लियर, यात्रुबाहक सवारी साधन परीक्षण, प्रहरी बैंण्ड डिस्प्ले र ट्राफिक एफएममा ट्राफिक सचेतना विशेष सम्वाद कार्यक्रम संचालन गरिने बताइएको छ । कार्यक्रममा गृह सचिव एकनारायण अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका प्रवक्ता सह सचिव नारायण प्रसाद भट्टराई, काठमाडौं जिल्ला प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, विभिन्न विभागका महानिर्देशकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृत तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु, विभिन्न यातायात व्यवसायी संघसंस्थामा आवद्ध प्रतिनिधिहरू, हिसान, प्याव्सन तथा एन प्याव्सनका अध्यक्ष तथा प्रतिनिधिहरु र विद्यार्थी तथा संचारकर्मीहरू एवम् आमनत्रित महानुभावहरूको उपस्थिति रहेको थियो । कार्यक्रम अगाडि सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्याली नेपाल वायुसेवा निगम प्राङ्गण सुन्धाराबाट शुरू भई वीर अस्पताल, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।
सुदूरपश्चिममा कांग्रेस, समाजवादी र नाउपाको अर्को समझदारी
काठमाडौं । सुदूरपश्चिममा प्रदेश सरकार निर्माणको लागि कांग्रेस, समाजवादी र नाउपा रेशम पक्षको अर्को समझदारी बनेको छ । संघीय सरकारको समीकरणले नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने समझदारी गरेपनि सत्ता समीकरणकै दल एकीकृत समाजवादी समेतको संलग्नतामा काङ्ग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षका नेतालाई मुख्यमन्त्री बनाउन अर्को समझदारी बनेको हो । कांग्रेस संससदीय दलका नेता समेत रहेका कामचलाउ प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सहमतिपत्रमा हस्तक्षर गरी मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मण किशोरलाई सार्ने समझदारी बनेको जानकारी दिए । समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेताबिच समझदारी बनेको शाहको भनाई छ । सुदूरपश्चिममा बहुमतको सरकार निर्माण गर्नका लागि २६ सिट आवश्यक हुन्छ । काग्रेसको १८, समाजवादीको ४ नाउपाका रेशम पक्षको ४ गरी २६ पुग्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य रहेका छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ जना सांसद छन् ।

