महिला दिवसकै दिन बोक्सीको आरोपमा किशोरीमाथि कुटपिट

धनगढी, फागुन २५ । राजधानीमा महिला दिवस मनाइरँदा कैलालीमा बोक्सीको आरोपमा किशोरीलाई मरणासन्‍न हुने गरी कुटपिट गरिएको छ।

कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया किशोरी राधा चौधरीलाई स्थानीय गुरुवा रामवहादुर चौधरीले बोक्सीको आरोपमा कुटपिट गरेका हुन।

आफ्नो पुजाआजाका लागि नआएको निहुँमा वोक्सी भनेर कुटपिट गरिएको स्थानीय वासिन्दाले बताएका छन्। ६ घण्टासम्म कुटपिट हुँदा चौधरी बेहोस भएपछि उनको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ। विहीबार साँझ सम्म पनि उनको होस खुलेको छैन्।

गुरुवा रामप्रसाद चौधरीलाई भने प्रहरीले उपचार खर्च दिने सर्तमा छोडेको छ। ईलाका प्रहरी कार्यालय सुख्खडसँगै घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरी सहित वडा अध्यक्षहरुले घटनालाई ढाकछोप गर्दै मिलाएको आफन्तको आरोप छ।

वोक्सीको आरोपामा कुटपिटको घटनालाई प्रहरी जनप्रतिनिधिले लुकाउन खोजेको बताईएको छ ।

कर्मचारीलाई १२१ प्रतिशतसम्म भत्ता !

काठमाडौं, फागुन २५ । कार्यालयबाट नियमित सम्पादित हुनेभन्दा बढी काम गराउन सरकारले करिब १० हजार कर्मचारीलाई प्रोत्साहन भत्ता दिँदै आएको छ । थोरै कर्मचारीबाट धेरै काम लिने र काम गरेबापत कर्मचारीलाई प्रोत्साहित गर्न सरकारले चालू आर्थिक वर्षमा मात्र प्रोत्साहन भत्ताको नाममा करिब २० करोड खर्च गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । तर त्यस्तो भत्ता खाने कार्यालयको कार्यसम्पादन भने उत्साहजनक छैन । नयाँ पत्रिकाका अनुसार चालू आवमा निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले दैनिक १२१ प्रतिशत भत्ता खाँदै आएका छन् । उनीहरुले चैत दोस्रो हप्तासम्म यही अनुपातमा भत्ता खानेछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले शतप्रतिशत भत्ता खाइरहेका छन् भने ७ माघ अघिसम्म व्यवस्थापिका संसदका कर्मचारीले ८० प्रतिशतसम्म भत्ता खाएका थिए । राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, निजामति किताबखाना, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका कार्यालयले ५० प्रतिशत भत्ता खाँदै आइरहेका छन् । उदेकलाग्दो कुरा त के छ भने भत्ता खाने कार्यालयकै काम सुस्त र बेरुजु धेरै छ ।

२ बिघा ८ कठ्ठा जग्गामा क्याम्पस र महन्थबीच विवाद

जनकपुर, फागुन २५ । जनक हजारी विद्यापीठको अढाई बिघा जमिन रत्नसागर मन्दिरका महन्थ वैकुण्ठदास वैष्णवले फर्जी कागज बनाएर हडप्न खोजेको क्याम्पस प्रशासनले आरोप लगाएको छ । विद्यापीठका प्राचार्य विजय चौधरीले बिहीबार पत्रकार सम्मेलन गरी २०५० देखि क्याम्पसको भोगचलनमा रहेको जनकपुर ८ स्थित सिट नम्बर १३५४/१४ को कित्ता नम्बर ६२ को २ कठ्ठा ११ धुर र सिट नम्बर १३५४/१५ को किता नम्बर १,२, २८ तथा ४९ को २ बिघा ८ कठ्ठा १४ धुर जग्गा महन्थ दासले फर्जी कागज बनाएर बिक्री गर्न खोजेको आरोप लगाए । विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयको आंगीक क्याम्पस हो । साबिक नापीमा गुठी संस्थान अधिनस्त वराही कुटीका नाममा रहेको जमिनसँगै सडक पश्चिमको समेत ६ बिघा ३ कठ्ठा ५ धुर जमिन २०५० जेठ १३ को मन्त्रिपरिषदको निर्णयअनुसार केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई भोगचलन गर्न दिएको थियो । संस्थानले विद्यापीठलाई उपल्बध गराएको सडक पूर्वको अढाई बिघालाई व्यवस्थापनले तारबार गर्नुका साथै सडक छेउको दक्षिणतर्फ भौतिक संरचना पनि निर्माण गरेको छ । उच्च अदालत जनकपुरले निर्माण रोक्न आदेश दिएपछि कलेज प्रशासन हच्किएको थियो । प्राचार्य चौधरीले भने, ‘उच्च अदालतको आदेशपछि बल्ल हामी वास्तविकताको खोजी गर्न थाल्यौं । खोज्दै जाँदा रत्नसागरका महन्थले फर्जी कागजका आधारमा जग्गा आफ्नो नाममा गर्न लगाएका छन्, अनि नक्कली मोही पनि खडा गरेको थाहा पाएँ ।’ जनकपुर उप–महानगरपालिका ८ को दुवैतर्फ पक्की सडक रहेको यो जमिन धुरको १० लाख रुपैयाँमा बिक्री हुन्छ । –कान्तिपुर दैनिकबाट

दोलखामा बैठकमै प्रमुखले कुटे उपप्रमुख

दोलखा, फागुन २५ । केन्द्र विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको अवस्था पुगेको छ । बैठकस्थलमै दोलखाको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन् । आजको अन्नपूर्ण पोस्टको दोस्रो पृष्ठमा खबर छापिएको छ । आफ्नो नेतृत्वको समूहले निर्णयपुस्तिका लिएपछि अध्यक्ष थामी नेतृत्वको समूहले आफूहरुमाथि हातपात गरिएको उपाध्यक्ष पाठकले बताएकी छन् । कालिञ्चोक गाउँपालिकाको केन्द्र सार्ने विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको हो । गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीमै राख्ने वा लापिलाङमा सार्ने भन्ने विषयमा जनप्रतिनिधिबीच विवाद हुँदा अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको स्थिति सिर्जना भएको हो । गाउँसभाको तयारीका लागि अस्थायी केन्द्र सुनखानीमा बिहीबार बसेको बैठकमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षबीच फरक-फरक मत आएको थियो ।

२० हजार कर्मचारी छानविनमा: अटेरी गर्ने राष्ट्रसेवकमा सबैभन्दा धेरै शिक्षक

काठमाडौं, फागुन २५ । सरकारले पटक पटक सम्पत्ति विवरण बुझाउन निर्देशन दिए पनि अझै २० हजार कर्मचारीले उक्त विवरण बुझाएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक बर्ष २०७३/०७४ को सम्पत्ति विवरण बुझाउन पटक-पटक ताकेता गरेको थियो । ४ लाख कर्मचारीमध्ये १९ हजार १ सय ३४ ले अझै त्यस्तो विवरण दिन अटेरी गरेको राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । केन्द्रका अनुसार आव २०७३/०७४ मा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवकमा सबैभन्दा धेरै शिक्षक छन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छापिएको छ । ११ हजार ४ सय ५५ शिक्षकले विवरण नबुझाएको केन्द्रले जनाएको छ । हाल देशभर कार्यरत शिक्षक संख्या ८२ हजार ७ सय २२ शिक्षकको १४ दशमलव २० प्रतिशत हो । यस्तै ४ हजार ५ सय २५ निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने ती कर्मचारीलाई अख्तियारले छानविनको दायरामा ल्याएको केन्द्रले बताएको छ ।

गोही संरक्षणको जिम्मा स्थानीयलाई

चितवन, फागुन २४ । संकटापन्न घडियाल गोही संरक्षणका लागि नदीमा आश्रित समुदायको रोहवरमा हुर्काइएका गोही नदीमा छाड्न थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा हुर्काइएका गोहीहरू हरेक वर्ष विभिन्न दिवस र अन्य समय मिलाएर नदीमा छाडिँंदै आएको छ । आजदेखि तीन दिनसम्म लगातार दैनिक २४ वटाका दरले कसरा नजिकै राप्तीमा गोही छाडिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार आज पहिलो दिन मेघौली क्षेत्रका बोटे, मुसहर र माझी समुदायका व्यक्तिको रोहवरमा गोही छाडिएको हो । केही दिनअघि सौराहा, पटिहानी र जगतपुर क्षेत्रका तीनै जातिको रोहवरमा ४८ गोही कसराबाटै छाडिएको थियो । शुक्रबार र शनिबार पनि तीनै जातिका विभिन्न ठाउँमा बसोबास गर्ने मानिसको रोहवरमा गोही छाडिँदैछ । मध्यवर्ती क्षेत्रको नदी आसपासमा माझी, बोटे, मुसहर जस्ता नदीमा आश्रित जातिको जनसंख्या करीब ३० हजार छ । गत वर्ष जेठमा नवलपरासीको अमलटारी क्षेत्रको शेरीमा ठूलो जालमा परेर एउटा भाले गोही मरेको थियो भने चार पोथी गोहीलाई उद्धार गरिएको थियो । ती समुदायले खानामा गोही प्रयोग नगरे पनि तिनले अवैध रुपमा प्रयोग गर्ने महाजालमा गोही अड्किएर मर्ने गरेका छन् । खड्काका अनुसार निकुञ्ज हुँदै बग्ने नदी आसपास बस्ने तीन सय जनासँग माछा मार्न अनुमतिपत्र रहेको र तिनले हाते जाल मात्र प्रयोग गर्न पाउने भए पनि उनीहरू र अनुमतिपत्र नभएका अन्यले लुकिछिपी महाजाल प्रयोग गरिदिँदा गोही र माछा मर्ने हुँदा जलचरका आहारामा कमी आउने जस्ता समस्या देखिएका छन् । पछिल्लो गणनानुसार राप्ती र नारायणीमा १६६ गोही फेला परेका थिए । सन् २०१७ सम्म राप्तीमा ५६६ र नारायणीमा ३९९ गोही छाडिइसकिएको छ । यस वर्ष ७२ गोही छाडिएको छ भने ४८ वटा छाड्ने तयारी गरिएको छ । विसं २०४९ देखि नदीमा गोही छाड्न थालिएको हो । निकुञ्ज स्थापनासँगै कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरेर नदीका बगरबाट अण्डा संकलन गरी प्रजनन केन्द्रमा बच्चा कोरल्ने र हुर्काउने गरिंँदै आएको छ ।

विश्व कीर्तिमान कायम गर्न रक्तदान

काठमाडौं, फागुन २४ । एकै दिन एकै स्थानमा सबैभन्दा बढी रक्तदान गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्वकीर्तिमान दर्ता गर्ने उद्देश्यले टुँडिखेलमा करीब एक हजारभन्दा बढी रक्तदाता रक्तदानका लागि पुगेका छन् । लायन्स क्लब अफ काठमाडौँको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका मानिस, विद्यालय तथा कलेजका विद्यार्थी तथा युवाको बाक्लो भीड रह्यो । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आयोजित कार्यक्रममा रगत दिन चाहने संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणलाई विभिन्न चरणको परीक्षण पार गर्दै दान गर्नसक्ने व्यवस्था मिलाइएको थियो । जनसंख्या तथा वातावरणमन्त्री लालाबाबु पण्डितले जीवनमा रगतको ठूलो महत्व रहेको हुँदा रक्तदानको प्रचारका लागि कार्यक्रमले सकारात्मक सन्देश दिने विचार व्यक्त गर्नुभयो । आयोजकका अनुसार यसअघि भारतमा करीब ९०० पिन्ट रगत संकलन भएको हुँदा एक हजार पिन्ट रगत संकलन भएमा कीर्तिमान कायम हुनेछ । नेपालस्थित लायन्स क्लबका प्रमुख बालकृष्ण बुर्लाकोटीले आयोजक संस्थालाई प्रमाणपत्र वितरण गरेर कार्यक्रमलाई औपचारिक रुपमा अगाडि बढाइएको थियो । आयोजकले करीब तीन हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको छ । रगत दिन आएका मानिसलाई सहयोगका लागि १० सहयोगी कक्ष स्थापना तथा करीब ५०० स्वयंसेवकलाई खटाइएको कार्यक्रमका संयोजक अखिल श्रेष्ठले जानकारी दिनुभयो । सो कार्यक्रममार्फत गिनिज बुकमा नाम लेखाउन सकिएमा नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय तहमा गौरव प्राप्त हुने लायन्स क्लबका सदस्य सुचिता घिमिरेले विश्वास व्यक्त गर्नुभयो । विसं २०७२ को भूकम्पमा रगतको केही अभाव भएका कारण लायन्स क्लबले नयाँ सडकमा आयोजना गरेको रक्तदान कार्यक्रममा करीब ५०० पिन्ट रगत संकलन गरिएको थियो । बसुन्धरास्थित ग्रीन सिटी हस्पिटलका अध्यक्ष एलबी टण्डनले स्वस्थ मानिसले गरेको रक्तदानका कारण थला परिरहेका बिरामीले जीवन प्राप्त गर्नसक्ने हुँदा यसबारे सन्देश फैलाउन आवश्यक रहेको बताउनुभयो ।

पुरुषलाई प्याड वितरण

काठमाडौं, फागुन २४ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुरुष हुनु भनेको महिला हिंसा गर्नु नभएको बताउनुभएको छ । एक सय आठौँ ‘अन्तर्राष्ट्रिय महिला दिवस २०१८’ का अवसरमा आज यहाँ ‘महिला हिंसाविरुद्ध पुरुष पदयात्रा’को उद्घाटन गर्दै उहाँले महिलामाथि हिंसा गर्ने पुरुष नै नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रजातन्त्र गणतन्त्र पायौंँ, प्रविधिका पछिल्ला सबै सामग्री प्रयोग गरिरहेका छौंँ तर महिलामाथि हुने हिंसा घटेको छैन ।” महिला हिंसाविरुद्ध पुरुषले महिलालाई साथ र सहयोग दिनुपर्ने बताउँदै उहाँले संविधानले दिएको समानताको हकलाई महिलाले भोग्नसक्ने सम्पूर्ण अवसर सिर्जना गरी असमानताको व्यवहारलाई हटाउनुपर्नेमा जोड दिनुभयो । नेपाल वातावरण पत्रकार समूह, फ्रिडम फोरम नेपाललगायत बीसभन्दा बढी संघसंस्थाद्वारा संयुक्त रुपमा आयोजित पदयात्रा भृकुटीमण्डपबाट शुरु भई भद्रकाली मन्दिर, शहीदढोका हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो । पदयात्रामा सहभागी पुरुषलाई महिलाको स्वास्थ्यलगायत महिनावारी स्वच्छतामा अझै जिम्मेवार बनाउन महिलाले महिनावारीमा लगाउने प्याड पनि वितरण गरिएको थियो ।

महिलाको हितका लागि प्रदेश सरकारले कार्यक्रम ल्याउनुपर्ने

विराटनगर, फागुन २४ । एकसय आठौँ अन्तराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले महिलाहरु संवैधानिक हिसाबले नीतिनिर्माण तहमा पुगे पनि समाजमा तिनलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन हुन नसकेकाले त्यसतर्फ महिलावादी संस्थाको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रदेशका उपसभामुख सरस्वती पोखरेलले महिलाको हकहितका लागि प्रदेश सरकारले नीत तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महिलामाथिको विभेद अन्त्य गरी उनीहरुको आर्थिक विकासका लागि महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । सो अवसरमा भानुकला केन्द्र विराटनगरका अध्यक्ष माया पौडेललाई सम्मान गरिएको थियो ।

अंश र वंशमा समान अधिकार आवश्यक : मन्त्री पोखरेल

काठमाडौं, फागुन २४ । रक्षामन्त्री ईश्वर पोखरेलले अंश र वंशमा पुरुषसरह समान अधिकार प्राप्त नभएसम्म महिला माथिको विभेद अन्त्य नहुने बताउनुभएको छ । संकृति सङ्ग्रहालय नेपालले आज यहाँ एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको नेपालका विशिष्ट महिलाको फोटो प्रदर्शनी कार्यक्रममा मन्त्री पोखरेलले उक्त कुरा बताउनुभएको हो । महिलाको विकास र उत्थान आंशिकभन्दा समग्रतामा हुनुपर्ने भन्दै उहाँले हिंसाको विरुद्धमा महिला पुरुषबीच समान बुझाइ हुनुपर्नेमा जोड दिनुभयो । आयोजकलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो, “यसरी निश्चित बिदामा केन्द्रित भएर गरिएको प्रदर्शनीले महिलाको अभिलेख र इतिहासबारे जानकारी दिनका लागि ठूलो भूमिका खेल्छ ।” संकृति सङ्ग्रहालय नेपालका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले समाजमा धेरै महिला छन् केही त्यस्ता महिलाको थप पहिचानको आवश्यक भएकाले आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । आजबाट शुरु भएको प्रदर्शनी आगामी ३० गतेसम्मका लागि रहनेछ । प्रदर्शनीमा नेपालका विभूति हरित तारा भृकुटी, भगवान् बुद्धको जननी माया देवीको फोटो रहेको छ । त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी, समाजसेवी एवं प्रदेश ३ का प्रमुख अनुराधा कोइराला, पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलगायतका देशलाई योगदान गर्ने महिलाको दुई सय फोटो राखिएको छ ।

अनियमित विद्युत् आपूर्तिले उपभोक्ता हैरान

खोटाङ । पटकपटकको विद्युत् आपूर्ति बन्दले खोटाङ र ओखलढुङ्गाका उपभोक्ता हैरान भएका छन् । लामो दूरी, जंगलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जाने गर्दा पटकपटक विद्युत् आपूर्ति बन्द हुन्छ । यो समस्याबाट दुई जिल्लाका हजारौँ सेवाग्राही हैरानीमा परेका हुन् । अहिले ३३ केभी प्रसारण लाइन विद्युत् विस्तार गरिएका दुई जिल्लामा करिब हप्ता दिनसम्म विद्युत् अवरुद्ध हुने गरेको छ । विद्युत् आपूर्ति खुलाउन प्राधिकरणले प्राविधिक टोली तत्कालै पठाए पनि उनीहरु विभिन्न बहानामा फोन सम्पर्क नहुने ठाउँ गएर बस्ने गरेका छन् । दिक्तेलस्थित कार्यालयबाट खटिएका प्राविधिक टोली भत्ताको लोभमा विद्युत् आपूर्ति खुलाउन नचाहने स्रोतको दाबी छ । “कार्यालयबाट आउने प्रविधिज्ञ मासु र रक्सी खाएर बस्छन्,” नाम नभन्ने शर्तमा एक उपभोक्ताले भने, “उनीहरु गाउँमा आएर मोजमस्ती गर्दै बसेपछि अवरुद्ध विद्युत् कसरी खुल्छ ?” दिक्तेल–गाईघाट प्रसारण लाइन लामो दूरी भएकै कारण पटकपटक समस्या आउने गरेको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख नारायणप्रसाद चौधरीले बताउनुभयो । “मौसाममा खराबी आउनासाथ ठाउँ ठाउँमा विद्युत् अवरुद्ध हुने गरेको छ,” उहाँले भन्नुभयो, “पटकपटकको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न लागिपरेको छु ।” जिल्लामा अलि बढी पानी पर्दा, हुँडरी चल्दा र बाढी तथा पहिरो आउँदा विद्युत् अवरुद्ध हुने गरेको छ । वर्षात्को समयमा अवरुद्ध भएको विद्युत् आपूर्ति खुलाउन करिब हप्ता दिन लाग्ने गरेको छ । खोटाङ र ओखलढुंगामा विस्तार गरिएको ३३ केभी विद्युत् प्रसारण लाइनको स्तरोन्नति नगरिएसम्म समस्या रहिरहने उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “पुरानो संरचनामै क्षमता विस्तार गरिएको छ,” उहाँले भन्नुभयो, “यसप्रति समयमै ध्यान नदिइए ठूलो दुर्घटना हुने सम्भावना छ ।” कमजोर संरचना भएकै कारण अवरुद्ध विद्युत् लाइन मर्मत गर्ने क्रममा खोटाङमा मात्रै अहिलेसम्म आधा दर्जनभन्दा बढी प्रविधिज्ञको ज्यान गइसकेको छ । धेरै प्रविधिज्ञ अंगभंग भएर बसेका छन् । वर्षात्को समयमा विद्युत् अवरुद्ध नहोस् भनेर प्रसारण लाइन वरपर रहेको झाडी फाँड्ने गरिएको छ । जंगलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सबस्टेशनमा जोडिएको विद्युत् दुई जिल्लामा विस्तार गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लाको साबिकको ४१ गाविसमा तथा एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगा जिल्लाको सदरमुकाममा मात्र केन्द्रीय लाइनको विस्तार भएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५७ सालमा उद्घाटन गर्नुभएको केन्द्रीय प्रसारण लाइनको विद्युत् अहिलेसम्म सबै पालिकामा विस्तार हुन सकेको छैन । रासस

पचास हजार घर पुनःनिर्माणका लागि भारतले सहयोग गर्ने

काठमाडौँ । भारत सरकारले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनःनिर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ । नेपालको भूकम्पपछिको पुनःनिर्माण प्रक्रियामा शीघ्रता ल्याउन भारत सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र परियोजना सेवाका लागि संयुक्त राष्ट्र संघ कार्यालय (युएनओपिएस) बीच आज साझेदारी सम्झौता– पत्रमा हस्ताक्षर भएको छ। भारत सरकारले यसअघिको सहयोग सम्झौताअन्तर्गत संयुक्त राष्ट्र संघीय एजेन्सीलाई गोरखा र नुवाकोटमा सुरक्षित पुनःनिर्माणका लागि झण्डै रु एक अर्ब ६२ करोड (१६.२ मिलियन डलर) अनुदान प्रदान गर्नेछ । भारत सरकारले उक्त सहयोग युएनडिपी र युएनओपिएससँगको साझेदारीमा गोर्खामा २६ हजार ९१२ भूकम्पपीडित घरधनी र नुवाकोटमा २३ हजार ८८ भूकम्पपीडित घरधनीलाई सामाजिक प्राविधिक सहजीकरणअन्तर्गत क्रमशः प्रदान गर्नेछ । युएनडिपी र युएनओपिएसको सामाजिक प्राविधिक समूहले नेपाल सरकारले भूकम्पपीडितका लागि सहयोग गर्न निर्धारण गरेको मापदण्डबमोजिम भूकम्पपीडित घरधनीका घर पुनःनिर्माणमा सहयोग गर्नेछन् । उनीहरुले निरीक्षण र प्रमाणीकरणको प्रक्रियामार्फत विभिन्न तहका निर्माणका साथै घर अनुदानका अंशमा घरधनीलाई योग्य बनाउन र पहुँच पु¥याउन मार्गदर्शक गर्ने बताइएको छ । साझेदारी सम्झौतामा नेपालस्थित भारतीय राजदूतावास नियोगका उपप्रमुख डा अजय कुमार, युएनडिपीका देशीय प्रमुख रेनौड मेयेर, युएनओपिएस एशिया क्षेत्रका क्षेत्रीय निर्देशक सञ्जय माथुरले हस्ताक्षर गर्नुभएको थियो । हस्ताक्षर समारोहमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल, भारतीय राजदूत मन्जिवसिंह पुरीले उक्त सहयोगले पुनःनिर्माणमा ठूलो राहत पुग्ने विचार व्यक्त गर्नुभएको थियो । रासस

एलजीले आफ्नो ब्राण्डसपको सातौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । एलजीको सिभिल मलमा रहेको आङ्खनो ब्राण्डसपको सातौ वार्षिकोत्सव सम्पन्न भएको छ । यस कार्यक्रममा एलजीले आङ्खनो निष्ठावान ग्राहकहरुलाई आमन्त्रित गरी सो वार्षिकोत्सव मनाएको होे । एलजीले सो ब्राण्डसपबाट सामानबाट सामान खरिदमा विशेष छुट तथा उपहार पनि प्रदान गरेको थियो । यस कार्यक्रममा सहभागी भएका एलजी ब्राण्डसपका ग्राहकहरुले केक काटी भव्यरुपमा वार्षिकोत्सव मनाएका थिए र सो कार्यक्रममा एलजी ब्राण्डसपका व्यवस्थापकले आङ्खना उपस्थित अतिथिहरुसंग एलजी ब्राण्डसपको अन्तरक्रिया गरी प्रतिक्रिया पनि लिएका थिए । एलजीले यस कार्यक्रममा उपस्थित रहेका पाहुनाहरुलाई सानो चिनो भेट स्वरुप दिएको थियो ।    

महिलामाथि हुने अपराधका घटना सार्वजनिक हुने क्रम बढ्यो

चितवन । महिला आफ्नो अधिकारप्रति सचेत बन्दै गएपछि समाजमा महिलामाथि हुने अपराधका घटना सार्वजनिक हुने क्रम बढेर गएको छ । महिला आफ्नो अधिकारका लागि न्याय माग्न प्रहरी र अदालतको ढोका ढक्ढक्याउन सफल हुँदै गएको तथ्यांकले देखाउँछ । जिल्लामा जबर्जस्ती करणीका घटना खुल्ने क्रम बढेर गएको छ । गत आवमा २३ वटा घटना प्रहरीमा दर्ता भएकामा चालु आवको माघ सम्ममा २३ वटा घटना नै दर्ता भइसकेका छन् । गत आवमा जबर्जस्ती करणी उद्योगमा २५ वटा मुद्दा दर्ता भएकामा चालु आवकोे हालसम्म त्यस्ता ११ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलात्कार भएको भनी चिकित्सकले प्रमाणित गरेका मुद्दालाई जबर्जस्ती करणीअन्तर्गत र बलात्कार गर्ने मनसायले गरेका विभिन्न गतिविधिलाई जबर्जस्ती करणी उद्योगअन्तर्गत प्रहरीले मुद्दा दर्ता गर्दछ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गत आवमा बलात्कारका घटनामा संलग्न ३३ पुरुष र दुई महिलालाई पक्राउ गरी कारबाही गरिएको थियो । जबर्जस्ती करणी उद्योगमा २४ जनालाई पक्राउ गरिएको थियो । चालु आवको हालसम्म जबर्जस्ती करणी मुद्दाका २६ र उद्योगका आठ जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । “पीडितमा न्याय माग्नुपर्छ भन्ने भावनाको विकास भएको छ,” उहाँले भन्नुभयो । विगतमा बलात्कारका घटनामा डर, धम्की र प्रलोभनमा पारेर स्थानीय तहमा नै मिलाउने गरेको भए पनि अहिले कानुनी निकायसम्म जानुपर्छ भन्ने भावनाको विकास भएको तथ्यांकले देखाउँछ । महिलामाथि हुने हिंसाका घटनाबाहिर आउने क्रम पनि बढेको छ । गत आवमा घरेलु हिंसाका २५० निवेदन दर्ता भएकामा चालु आवको माघ सम्ममा १७९ वटा निवेदन दर्ता भएको छ । प्रहरीले गत आवमा २०० वटा घरेलु हिंसाको मिलापत्र गराएको थियो भने चालु आवको माघ सम्ममा १४५ वटा मिलापत्र गराएको जनाएको छ । रासस

चितवनमा पहिलो पटक हालसम्मकै ठूलो वैज्ञानिक सम्मेलन

चितवन । अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन आजदेखि सौराहामा शुरु हँुदैछ । सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक सहभागी हुने बताइएको छ । नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको संयुक्त आयोजनामा सम्मेलन शुरु गर्न लागिएको हो । अन्तर्राष्ट्रियस्तरमा र नेपालमा भएका खोज अनुसन्धान एवं उपलब्धि एवं ज्ञान साटासाट गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष अमरप्रसाद यादवले जानकारी दिनुभयो । अध्यक्ष यादवले अन्तर्राष्ट्रियस्तरको अनुपातमा नेपालमा भएका अनुसन्धान कुन उचाइमा छ भन्ने विषयमा समेत छलफल हुने बताउनुभयो । ‘केमेष्ट्री फर सष्टेनेवल डेभलपमेन्ट’ मूलनारा दिइएको सम्मेलन तीन दिनसम्म चल्नेछ । आयोजकका अनुसार सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक र स्वदेशका १०० जना गरी २०० जना वैज्ञानिकको सहभागिता रहनेछ । संसारमा विज्ञान तथा प्रविधिले नै देश विकास, मानिसको जीवनशैली र कार्यक्षमतामा आमूल परिवर्तन ल्याएको भन्दै केन्द्रीय रसायन विभागका प्रमुख प्रा डा केदारनाथ घिमिरेले नेपालमा भएका स्रोत, साधनलाई परिचालन गर्नसके देशको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले यस्ता खोज तथा अनुसन्धानमा नेपाली वैज्ञानिक सक्षम भएको चर्चा गर्दै सरकारको यसतर्फ ध्यान जानु जरुरी रहेको बताउनुभयो । संस्थाका सदस्य मनोजकुमार विष्टले यति ठूलो सम्मेलन पहिलोपटक चितवनमा हुन गइरहेकाले यसले चितवनको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताउनुभयो । सम्मेलनमा स्वदेश र विदेशका वैज्ञानिकबाट १७० वटा कार्यपत्र प्रस्तुत हुनेछन् भने वैज्ञानिकसहित ५० जनाभन्दा बढी रसायन शास्त्रका विद्यार्थीको समेत सहभागिता हुने बताइएको छ । रासस

करिब दुई हजार बौद्ध धर्मावलम्वीले अभिषेक लिए

काठमाडौँ । हिमाली भेगका करिब दुई हजार बौद्ध धर्मावलम्बीले ‘सप्तलोचन श्वेततारा’ को अभिषेक (दीक्षा) लिएका छन् । अभिषेक कार्यक्रममा सहभागी भएमा रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख शान्तिका साथै दीर्घजीवन प्राप्त हुने विश्वास गरिन्छ । नेपाल गेलुक संघले बुधबार बौद्धमा आयोजना गरेको अभिषेकमा विशिष्ट लामा गुरु गोसोक रिन्पोछेले सहभागीलाई मनमा हुने चन्चलतालाई नियन्त्रण गरी सत्कर्ममा लाग्न प्रेरणा प्रदान गर्नुभयो । बौद्ध विद्वान् टीका शेर्पाले लोभलालचबाट मुक्त हुने वैराग्य उत्पादनको शिक्षा, अरुको हितका लागि क्रियाशील रहन बोधिचित्तको शिक्षा र कुनै पनि वस्तुको स्वतन्त्र सत्ता हुँदैन भन्ने श्ून्यताको शिक्षा दिनुभएको थियो । बौद्ध साहित्यमा मानव जीवन दुर्लभ मानिने हुँदा संसारभरका जीव, जीवात्मा तथा प्राणी रक्षाका काम गर्नसकेमा मात्र पुण्य सञ्चय हुने विश्वास गरिएको छ । गेलुक सम्प्रदायका संस्थापक प्रमुख लामा चोङखापालाई मानिन्छ । लामा चोङखापालाई मन्जुश्रीको एक अवतारका रुपमा लिइएको छ । उहाँको जन्म सन् १४ औँ शताब्दीमा तिब्बतको खाम चोङखा भन्ने गाउँमा भएको र तीन वर्ष भएपछि उहाँले शाक्य सम्प्रदायका गुरुसँग मध्यम पञ्चशील ग्रहण गरी धर्मको यात्रा शुरु गर्नुभएको विश्वास छ । बुद्धधर्मसम्बन्धी सुत्र, तन्त्रबारे धेरै वर्ष अध्ययन अनुसन्धान गरी आफ्नो अध्ययनपश्चातको आत्मबोध तथा अनुभवलाई नयाँ सम्प्रदायका रुपमा स्थापित गर्न गादेन महाविहार स्थापना गरेको र नयाँ विधि, अनुशासन कायम गर्न गेलुक सम्प्रदायको स्थापना गर्नुभएको बताइएको छ । उहाँले पुरानो बौद्ध शिक्षा तथा ज्ञानमा आधारित भई नयाँ विधि र शासन अपनाउने क्रान्ति शुरुवात गरेको र धेरै धार्मिक कार्यका माध्यमबाट समाजमा सेवा गरेर ६१ वर्षमा महपरिनिर्वाण प्राप्त गर्नुभएको थियो । यस सम्प्रदायले आस्था प्रकट गर्ने ठूलो तीर्थस्थल लाब्राङ गुम्बा चीनको उत्तर पश्चिमी भागमा अवस्थित छ । त्यसमा तिब्बती बौद्ध धर्म मातहतमा छवटा बौद्ध शास्त्र प्रतिष्ठान हुनुका साथै हालसम्म त्यहाँ तिब्बती बौद्ध धर्मको पूर्ण शिक्षा प्रणालीलाई संरक्षित गरिएको संघका अध्यक्ष यान तेनले बताउनुभयो । त्यस गुम्बामा रहेका वास्तुकला, धार्मिक समारोह, बौद्ध धर्मको कला र तिब्बती शास्त्र आदि भएकाले त्यो स्थानीय तिब्बती जातिका नागरिकको सांस्कृतिक र कलाको केन्द्र पनि मानिन्छ । काठमाडौँ उपत्यकाका १० वटा गेलुक सम्प्रदायका गुम्बा आबद्ध भएको उक्त संघले केही दिन अगाडि राष्ट्रकल्याणको कामना गर्दै विशेष पूजा सम्पन्न गरेको थियो । रासस