प्रहरीका १९ जना डीएसपीहरुको पदस्थापन, कसको जिम्मेवारी कहाँ ?

काठमाडौँ । प्रहरीको जनपदतर्फ इन्स्पेक्टरबाट डीएसपीमा बढुवा नियुक्ति भएका १९ जनालाई पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई पदस्थापन गर्ने निर्णय गरेका हुन् । 

पदस्थापन भएका जनार्दन घिमिरेलाई साइबर ब्युरोमा काज सरुवा गरिएको छ । भिषणबाबु राईलाई अख्तियार र रूपकबहादुर खड्कालाई प्रहरी प्रधान कार्यालय स्थित कानुन शाखामा काज सरुवा गरिएको छ ।

null

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को तयारी तिब्र

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी तीव्र पारेको छ ।महाधिवेशन यही वैशाख ८ र ९ गते लतिपुरको गोदावरी हुने तय गरीएको छ । नेकपाको ७५औँ स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमसहित महाधिवेशन प्रतिनिधि परिषद् बैठक हुन लागेको हो । सो कार्यक्रमका लागि उपमहासचिव विष्णु रिमालका संयोजकत्वमा गठित व्यवस्था समितिले बैठक र छलफल गरेर व्यवस्थापकीय तयारी गरेको छभने पार्टीको सचिवालयले बैठकले सोका लागि साङ्गठनिक, विधान र राजनीतिक प्रतिवेदनसँग सम्बन्धित काम गरिरहेको छ । समितिको पहिलो बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेलले तयारीका काम चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ । व्यवस्थापन समितिमा नेताहरु लालबाबु पण्डित, काशिनाथ अधिकारी, डा राजन भट्टराई, राजेन्द्र गौतम, विनोद श्रेष्ठ, माधव ढुङ्गेल, डा भीष्म अधिकारी, गगन विष्ट, विनोद पाण्डे, लोकबहादुर भण्डारी, अश्गर अली, महेन्द्र श्रेष्ठ र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन् ।

ई.अर्याल र डा. गुरुङ डिआईजीपी विशेष पदमा बढुवा सिफारिस

काठमाडौँ। नेपाल प्रहरीको प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय ई.नवीन्द्र अर्याल र डा.देउती गुरुङ प्रहरी नायव महानिरीक्षक (डिआईजीपी) पदमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले नेपाल प्रहरीको साइबर ब्युरो प्राविधिक सहायता शाखा काठमाडौँमा कार्यरत ई.अर्याल र केनाइन कार्यालय महाराजगञ्जमा कार्यरत डा. गुरुङलाई विशेष पदमा बढुवा सिफारिस गरेको हो।  उनीहरूलाई बढुवा गर्न २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डिआईजीपीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको थियो। पदावधिका कारण अवकाश हुन लागेसँगै विशेष पद सिर्जना गरेर थमौती गरिएको थियो ।

जोशी र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ दुईजनालाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति सचिवालयले उमेर हदका कारण अवकाश भई रिक्त हुने दुई प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि बढुवा गर्न सिफारिस गरेको हो।  बढुवाका लागि सिफारिस हुनेमा उमेशराज जोशी र भिमप्रसाद ढकाल छन्।  यही वैशाख ५ गतेबाट एआईजी सन्दीप भण्डारी र ७ गते मिरा चौधरी उमेर हदका कारण अवकाशमा जाने भएकाले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरिएको हो । 

गण्डकीमा आज सार्वजनिक बिदा

कास्की। गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।  चैत्र शुक्ल अष्टमी ९चैते दसैँ० का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिए। 

यस्तो हुनेछ आजको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । आज बिहान सूर्योदय ५ बजेर ३८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २९ मिनेटमा हुनेछ ।

नागढुङ्गा सुरुङ मार्गमार्फत नेपाल नयाँ युगमा प्रवेश

काठमाडौं। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सोमबार नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री महासेठले सो कुरा बताएका हुन्।  उनले नागढुङ्गा सुरुङमार्ग नेपालको आधुनिक सुरुङमार्ग भए पनि दक्षिण एसियामा सबै भन्दा पहिला सुरुङमार्ग नेपालमा नै निर्माण भएको बताए।उनले हेटौँडामा अहिले पनि सुरक्षित रहेको सुरुङ मार्ग नेपालकै प्रविधिमा बनेको बताए। उनले सरकारले सडक मार्गको समय छोटो बनाउन र यात्रालाई सुरक्षित बनाउनका लागि सुरुङमार्गलाई प्राथमिकता दिएको उल्लेख गरे । उनले नेपाली सेनाले निर्माण गरी रहेको काठमाडौँ तराई द्रुतमार्गमा पनि १० किलोमिटर सुरुङमार्ग निर्माण भइरहेको बताए। उपप्रधानमन्त्री महासेठले सुरुङमार्ग निर्माणको निर्माण यातायातको लागि मात्रै नभएर अन्य विद्युत तथा सिँचाइको लागि पनि प्रयोग हुन थालेको जानकारी दिए। उनले सुनकोशी मरिण ड्राइभर्सन पनि ब्रेक थ्रु हुनको लागि ७ सय मिटर मात्रै बाँकी रहेको बताए। ‘‘नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको छ । यो नेपालको आधुनिक सुरुङमार्ग भएपनि दक्षिण एसियामा सबै भन्दा पहिला सुरुङमार्ग नेपालमा नै निर्माण भएको थियो । हेटौँडामा जुन अहिले पनि सुरक्षित छ । त्यो नेपालकै टेक्नोलोजीमार्फत भएको थियो । सरकारले सडक मार्गको समय छोटो बनाउन र सुरक्षित यात्रा गर्नका लागि सुरुङमार्गलाई प्राथमिकता दिएको छ । नेपाली सेनालाई निर्माण गरी रहेको काठमाडौँ तराई द्रुतमार्गमा पनि ५ किलोमिटरदेखि १० किलोमिटर सुरुङमार्ग निर्माण भइरहेको छ ।,’’ उपप्रधानमन्त्री महासेठले भने, ‘‘सुरुङमार्ग निर्माणको निर्माण यातायातको लागि मात्रै होइन । अन्य कार्यका लागि पनि सुरु भएको छ । सुनकोशी मरिण ड्राइभर्सन पनि ब्रेक थ्रु हुनका लागि सात सय मिटर मात्रै बाँकी छ । सुरुङ मार्ग निर्माणमा एक महिना स्थानीयवासीहरुको कारण बन्द भएको थियो । तर स्थानीयवासीका मागहरू खानेपानी व्यवस्थापन, सडकको व्यवस्था गर भनेर माग्नुपर्ने चिज होइन । यो सरकारले जनतालाई दिने हो । जनताको अधिकार छ । राम्रो बाटोमा हिँड्न पाउँ, शुद्ध पानी खान पाउने अधिकारको व्यवस्थापन नेपाल सरकारले गर्छ । सुरुङ मार्ग निर्माणका स्थानीयवासीले सहयोग गर्नुस् ।’’ उनले सुरुङ मार्ग निर्माणमा एक महिना स्थानीयवासीहरुको कारण बन्द भएको भन्दै सरकारले स्थानीयवासीको मागलाई सम्बोधन गर्ने बताए। उनले स्थानीयवासीका मागहरू खानेपानी व्यवस्थापन,सडकको व्यवस्थापन नेपाल सरकारले गर्ने बताए।

कार्यवाहक अर्थमन्त्रीको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री वर्षमान पुनको अनुपस्थितिमा उनले सम्हाल्दै आएको कार्यभारको जिम्मेवारी श्रेष्ठलाई दिएका हुन्।  अर्थमन्त्री पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् ।  दाङ, गढवा गाउँपालिका ८ कोईलावासबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ८ सय २० ग्रामसहित घोराही उपमहानगरपलिका १३ डुमरगाउँ बस्ने ४१ वर्षीया सुकमाया बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  झापा, कमल गाउँपालिका ५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम र नगद २५ हजार रुपैयाँसहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय हिक्मत धिमाल, २७ वर्षीय सुदिप धिमाल, सोही गाउँपालिका ६ बस्ने २५ वर्षीय न्युसन राई र सोही नगरपालिका ५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । हिक्मतको घरमा लागूऔषध बिक्री हुने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका १२ शान्ति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्रामसहित भारत बिहार राज्य अररिया कर्साकट्टा घर भई हाल मोरङ बिराटनगर महानगरपालिका १७ रानी बस्ने मोहमद ईब्रानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी चालक मोहमदलाई पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका १६  रजतजयन्ती चोकबाट अवैध लागूऔषधसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका २ बस्ने २१ वर्षीय सुगम श्रेष्ठ र मकवानपुर हेटौंडा उपमहानगरपालिका १४ बस्ने २८ वर्षीय दिनेश नेगी रहेका छन् ।  प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुगमलाई नियन्त्रित लागूऔषध फेनारगन ५ एम्पुल, डाइजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल तथा दिनेशलाई अवैध लागूऔषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्रामसहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका ३ जस बहादुर घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका ३ अमैरी बस्ने २२ वर्षीय प्रदिप चौधरी र १९ वर्षीया अस्मिता शाही रहेका छन् । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

युवा संगठन नेपालको पाँचौं सम्मेलनबाट पारित प्रस्ताव सार्वजनिक

काठमाडौं । युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलनबाट पारित समसामयिक प्रस्ताव सार्वजनिक गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सम्मेलनबाट पारित निर्णय सार्वजनिक गरेको हो । युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलन सुदूरपश्चिमको धनगढीमा सम्पन्न भएको थियो । उक्त सम्मेलनले अध्यक्षमा दिनेश सी, उपाध्यक्षमा विश्लेषण सी, महासचिवमा सुभाष सी, सचिवमा अनिल सी कोषाध्यक्षमा जिवनी सी सहित १३३ सदस्यीय कमिटी गठन गरेको थियो ।  सम्मेलनले नेकपाका नेताहरु विप्लव, प्रकाण्ड लगायतमाथि राज्यले लगायको झुठा मुद्दा खारेजीको माग गरेको छ । साथै, युवा संघ नेपालले एमसीसी सम्झौता राष्ट्रघाती रहेको निश्कर्ष निकालेको छ । एमसीसी कार्यान्वयन र सीमा अतिक्रम विरुद्ध संघर्ष गर्ने प्रस्तावसमेत सम्मेलनले पारित गरेको छ ।  युवा संगठन नेपालले १९५० देखिका असमान सन्धिहरु खारेज गर्न माग गरेको छ । साथै, राष्ट्रिय स्वाधिनताको आन्दोलनमा गोलवद्ध हुन समेत युवा संगठन नेपालले आह्वान गरेको छ ।  युवा संघ नेपालले विभिन्न क्षेत्रका खेलकुदलाई विकास गर्न, अवसर र प्रोत्साहन दिन राष्ट्रिय टिमका खेलाडी प्रदेश र स्थानिय टीमका खेलाडीहरुको स्वास्थ्य उपचारको व्यवस्था गर्न तीनै तहका सरकारसँग माग गरेको छ ।  साथै, युवा संघ नेपालको उक्त सम्मेलनले कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण र किसानलाई समयमै मल र बीउ सर्वसुलभ उपलब्ध गर्न सरकारसँग माग गरेको छ । त्यसैगरी,बेरोजगार युवाहरुका लागि रोजगारीको ग्यारेन्टी गर्न, बन्द कलकारखाना सञ्चालन गर्न पनि युवा संगठनले सरकारको ध्यानाकार्षण गराएको छ ।  सम्मेलनले दलाल पुजीवादी व्यवस्थालाई अन्त्य गरि त्यसको ठाउँमा नेपाली विशेषताको समाजवाद स्थापना गर्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा लामवद्ध हुन आह्वान गरेको छ ।  त्यसैगरी, सम्मेलनले भूमीहीन सुकुम्बासी, भूमीहिन दलित, श्रमिकवर्ग र अव्यवस्थित बसोवासी नागरिकहरुको समस्या यथासीघ्र सम्बोधन गर्न समेत सरकारको ध्यानाकार्षण गराएको छ ।  त्यसैगरी, बढ्दो क्रममा रहेको सवारी दुर्घटना, पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार, कमिसन, महंगी कालोवजारी लगायतका विषयमा सम्मेलनमार्फत ध्यानाकार्षण गराइएको छ । युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले आफूहरुले यो देश दलालहरुको हातबाट खोसेर श्रमिक वर्ग र स्वाभिमान युवाहरुको हातमा ल्याउनका लागि संघर्ष गरिरहेको बताए । विगत केही समययता नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था चलिरहेको र यसलाई मिल्काउन आफूहरु लागिरहेको उनले बताए । नेपाली विशेषताको समाजवाद आफूहरुको मूल एजेण्डा रहेको उनले बताए । अहिलेको दलाल पुँजीवादी व्यवस्थाले युवाहरुलाई विदेश लखेटिरहेको उनले बताए । संगठनको पाँच सम्मेलनले यस्ता प्रकारका समस्याका विरुद्ध लड्ने उद्घोष गरेको उनले बताए ।  युवा संगठन नेपालका उपाध्यक्ष विश्लेषण सीले यतिबेला देशमा ठूलो राष्ट्रिय संकट पैदा भएको बताए । विकासको नाममा एमसीसी जस्तो राष्ट्रघाती परियोजना भित्र्याइएको उनको  आरोप छ । उनले अहिले देशमा बाह्य शक्तिहरुको ठूलो हस्तक्षेप सुरु भएको बताए । एमसीसीजस्तो राष्ट्रघाती परियोजनाका विरुद्धमा आफुहरु निरन्तर संघर्षमा नै रहेको उनले बताए । एमसीसी आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए । उपाध्यक्ष विश्लेषणले आफूहरु सीमा अतिक्रमणको विरुद्धमा पनि आफूहरु निरन्तर संघर्षमा नै रहेको बताए ।  साथै, मिटरव्याज, सहकारी र बैंकको चर्को व्याजले वित्तीय क्षेत्रलाई आक्रान्त बनाएको उनले बताए । साथै, विगतका संघर्षबाट प्राप्त उपलब्धीका विरुद्ध केही शक्तिहरु लागिरहेको भन्दै उनले यसका विरुद्ध आफूहरु कफन बाँधेर लागिरहने बताए । ‘यो सबै परिवर्तनलाई संस्थागत गर्नुको विरुद्ध आज भत्काउन खोजिएको छ । विभिन्न नामबाट, विभिन्न उपमा दिँदै भत्काउन खोजिएको छ, अपराधीकरण गर्न  खोजिँदै छ । यसको विरुद्ध कफन बाँधेर लड्न युवा संगठन तयार छ,’– उनले भने ।

रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका ७ घर भई काठमाडौं महानगरपालिका ९ सम्भूमार्ग बस्ने २७ वर्षीय पवन केसी, मुगु खत्याड गाउँपालिका ८ घर भई काठमाडौं कोटेश्वर बस्ने २३ वर्षीय नमराज रावत र भोजपुर टम्केमैयङ गाउँपालिका ३ घर भई ललितपुर ताल्छीखेल बस्ने २६ वर्षीय सङघर्ष राई रहेका छन् ।  पक्राउमध्ये पवनले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ९० हजार रूपैयाँ ठगी गरेको, नमराजले रसिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र सङघर्षले युरोपका देशहरू पठाईदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७४ लाख ९५ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं सम्भूमार्गबाट, नमराजलाई काठमाडौं नयाँ बानेश्वरबाट र सङघर्षलाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । गुल्मी अस्पतालमा उपचारको क्रममा घाइते घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा पनि घाइते भएका छन् । थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

वान एक्स बेटिङ कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं । वान एक्स बेटिङ कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही मलंगवा नगरपालिका ९ बस्ने ३१ वर्षीय संञ्जय कुमार साह, १९ वर्षीय रामजी साह र सोही नगरपालिका १० बस्ने ३० वर्षीय राकेश चौधरी रहेका छन् ।  विश्वमा संचालन हुने विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एपलिकेसन वान एक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने, गराउने कार्य गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने सक्रिय एजेन्टहरू रहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सर्लाहीको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न मोबाइल नम्बरहरूबाट २१ वटा कनेक्ट आइपिएस एकाउन्ट खोली ९८ वटा बैंकका खाताहरू लिंकअप गरी हालसम्म ५७ करोड ४१ लाख ५७ हजार १ सय ४७ रूपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ ।  उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल सेट ९ थान, सिमकार्ड २१ थान, ल्यापटप २ थान, सिपियू १ थान, नगद ६२ हजार रूपैयाँ, विभिन्न सहकारीको पासबुक ११ थान, बैंकको चेकबुक १६ थान र डिपोजिट भौचर ११ थान समेत प्रहरीले बरामद गरेको छ ।  उनीहरूलाई उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता विरुद्धको कसुर) अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । 

पछिल्ला आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएका छन् :  प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएको बताएका छन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको नयाँ समीकरणपछि राजस्व सङ्कलनले आर्थिक सुधारको लय समातेको बताए। “आयातित इन्धन घटाउँदै विद्युतीय गाडीमा प्रोत्साहन, सिमेन्ट निर्यातमा भएको महत्त्वपूर्ण प्रगति, जस्तपाता र स्टिलको निर्यातमा बढोत्तरी, पर्यटक आगमनमा इतिहासकै नयाँ रेकर्ड, उपत्यकाबाहिर हाउजिङ र अपार्टमेन्ट व्यवसायको विस्तारले सकारात्मक सन्देश प्रवाह गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “भारत लगायत तेस्रो मुलुकमा विद्युत् निर्यातको समझदारी र तयारी, सडक पूर्वाधारमा सुरूङमार्गको नयाँ युगमा प्रवेश, रेमिट्यान्समा वृद्धिका कारण बाह्य व्यापारमा सहजता, सूचना–प्रविधिमा अर्बौंको आइटी सेवा निर्यात, स्टार्टअप बिजनेशमा प्रगति लगायतका आर्थिक परिसूचकहरूले हामीलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेशका निम्ति महत्त्वपूर्ण ऊर्जा दिएका छन् ।” प्रधानमन्त्री प्रचण्डले ‘केही हुँदैन’ भन्ने निरासाजनक भाष्य चिर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ मार्गमा ऐक्यबद्धता जाहेर गर्दै राष्ट्रिय उत्साह सिर्जना गर्न अपील गरे। यही वैशाख १६ र १७ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा लगानीका सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा आगामी सम्मेलनले जोड्ने विश्वास व्यक्त गरे।  लगानीको वातावरण बनाउनका लागि सरकारले नीतिगत सुधारका कामहरू भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकासका लागि वैदेशिक लगानीलाई प्रोत्साहन र आकर्षित गर्न आवश्यक रणनीतिका साथ अघि बढ्ने सरकारको तयारी रहेको बताए। नेपाल पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गरिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सुरूङमार्ग निर्माणमा सहयोग गर्दै आएको मित्रराष्ट्र जापान सरकारलाई धन्यवाद व्यक्त गरे। 

नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताएका छन्।  नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक बनौटका आधारमा सुरूङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए। राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “मैले प्रत्यक्ष रूपमा आयोजनाको समस्या समाधान र सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजनाहरूको ‘भर्चुअल मनिटरिङ्ग’ गर्दै आएको छु ।” उनले सुनकोशी मरिन डाइभर्सन सिँचाइ आयोजनाको सुरूङ छिटै ‘ब्रेक–थ्रु’ हुने उल्लेख गरे ।  “निर्माणाधीन कोशी, कर्णाली करिडोरहरूले पहाडी क्षेत्रलाई तथा काठमाडौँ तराइ–मधेश फास्ट ट्रयाकले पहाड मधेशलाई सडक सञ्जालमा जोड्ने मात्र नभएर वस्तु तथा सेवाको लागत घटाउनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी परियोजनाहरूले नेपालको आर्थिक क्षेत्रमा गुणात्मक योगदान गर्नेछ ।” नेपालले पूर्वाधार विकाससँगै औद्योगिक विकासको क्षेत्रमा सँगसँगै अगाडि बढाउनुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै उनले वस्तुको आपूर्ति तथा वितरणमा हुने लागत, इन्धन, समय आदिको लाग्ने खर्च घटाउँदै प्रतिस्पर्धी क्षमता बढाउनुपर्नेमा जोड दिए।  “काठमाडौँबाट नारायणगढ, भैरहवा, वीरगञ्ज, पोखरा विराटनगरलगायतका ठाउँसम्म कम समय र थोरै लागतमा ढुवानी हुनसक्ने द्रूतमार्गहरू बनाउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “पूर्वाधार विकासमा फड्को मार्न यस्तै बृहत् र फराकिलो तथा एकीकृत सोचसहितको राष्ट्रिय पूर्वाधार गुरूयोजना निर्माणलाई प्राथमिकता दिनैपर्छ ।” उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट निजी क्षेत्रलाई उत्साहित बनाउने र नेपालमा ठूला पूर्वाधार विकासमा लगानी आकर्षित गरिने बताए । विश्वव्यापीकरणको उच्चतम लाभ लिँदै नेपालले आधुनिक पूर्वाधार विकासका लागि चाहिने आवश्यक पुँजी र प्रविधिलाई विशेष जोड दिनुपर्ने बताउँदै उनले त्यस कार्यका लागि नीतिगत सुधार र विश्व बजारसँग वित्तीय उपकरणलाई जोड्न पहल गर्नुपर्ने बताए। 

इलाम र बझाङबाहेकका जिल्लामा आजदेखि मतदाता नामावली दर्ता सुरु

काठमाडौं । निर्वाचन आयोगले आज -सोमबार_देखि इलाम र बझाङ बाहेकका जिल्लामा प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता सुरु गरेको छ । आयोगलको २०८० फागुन १३ गते बसेको बैठकले आजदेखि प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता अद्यावधिक कार्य सुरु गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले तोकिए बमोजिम प्रमाण लिई मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको फोटोसहितको मतदाता नामावलीको विवरण मतदाता नामावली ऐन, २०७३ बमोजिम सङ्कलन गर्दै आएको छ । पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाणसहित प्रि–रजिष्ट्रेशन प्रणालीमार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता नामावली सङ्कलनको कार्य साविकमा झैँ प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले गर्ने आयोगले जनाएको छ । कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नामलगायतका विवरणमा रहेको त्रुटि सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा संलग्न प्रमाणको आधारमा निर्वाचन अधिकारीले प्राप्त निवेदनमाथि आवश्यक निर्णय गर्नेछ । तर कुनै मतदाताले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनका लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा निर्वाचन अधिकारीले छानबिन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गर्नेछ । कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाई सरी गएका कारण मतदाता नामावलीबाट नाम हटाउनको लागि निवेदन प्राप्त भएमा नाम हटाउने सम्बन्धमा जिल्ला निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी हटाइएका मतदाताको विवरण मतदाता नामावली ऐन, २०७३ को दफा १८ को उपदफा -३_ बमोजिम अद्यावधिक गर्ने प्रयोजनको लागि प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्थासमेत मिलाउनेछ ।