मुलुकका यी स्थानमा ठूलो हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले यसबाट बच्न सतर्क रहन विभागले अनुरोध गरेको छ ।
आज बिहान पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।
काठमाडौंमा भने आइतबारसम्म वर्षाको सम्भावना रहेको छैन् । शनिबार र आइतबार दिउँसो पनि बदली हुने भएपनि वर्षाको सम्भावना भने छैन् ।
विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित दुई जना पक्राउ पक्राउ परेका छन् । छुट्टाछुट्टै स्थानमा प्रहरीले खोजतलासको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । महोत्तरीको बर्दिबास नगरपालिका १ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम १ सय ९० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार ३० रूपैयाँसहित सिन्धुली कमलामाई नगरपालिका(७ बस्ने २७ वर्षीय निसाज सुनुवारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिवास र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले बा ७७ प ५८५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक निसाजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बारा, पचरौता नगरपालिका ४ ईनर्वाबाट अबैध लागूऔषध गाँजा करिब २ सय ३० किलोसहित रौतहट फतुवा बिजयपुर नगरपालिका(४ टेग्राहा बस्ने २३ वर्षीय चन्दन पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले शंकास्पद रूपमा ४ वटा जुटको बोरा बोकी हिँडिरहेको अवस्थामा पासवानलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सोही ठाउँस्थित बाटोको कलभर्ट मुनि लुकाएको गाँजा लिन बोरा लिएर आएको खुल्न आएपश्चात उनलाई उक्त गाँजासहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
कोसी प्रदेशसभामा परिमार्जित संकल्प प्रस्ताव पेस, के छ प्रस्तावमा ?
विराटनगर ।कोसी प्रदेशसभाको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पुरानो संकल्प प्रस्तावलाई परिमार्जन गरेर प्रस्ताव पेस गरेका छन्। बिहीबार बसेको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले संकल्प प्रस्ताव पेस गरेका हुन्। सभामुख अमरबहादुर बिष्टले आफ्नो भनाइ राख्दै सभामा संकल्प प्रस्ताव पेस गर्न भण्डारीलाई समय दिएका थिए । सो भन्दा अगाडि बिष्टले प्रदेश प्रमुखबाट मन्त्री परिषद्को जिम्मेवारी हेरफेर र प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलको नियुक्तिबारे सदनलाई जानकारी गराए। बैठकमा एमाले प्रमुख सचेतक भण्डारीले सरकालाई दिएको समर्थन फिर्ता भइसकेको भन्दै मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताए । एमाले प्रमुख सचेतक भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित प्रस्ताव सदनमा पेस भएको हो । परिमार्जित संकल्प प्रस्तावमा ‘चैत २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ । मुख्यमन्त्रीलाई दिएको समर्थन बहुमत सांसदले फिर्ता लिइसकेको अवस्थामा सरकारको नियमित कार्यबाहेक दीर्घकालीन महत्वका कुनै निर्णय नगर्ननगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस् भन्ने समेत सो प्रस्तावमा उल्लेख छ ।
घट्यो नेप्से, १३ वटै उपसमूह राताम्य
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १९.५६ अंकले घटेको छ । नेप्से ०.९८ प्रतिशतले घटेर १९७२.१४ विन्दुमा झरेको छ । आज ३१५ धितोपत्रको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर दुई अर्ब नौ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँमा किनबेच भइरहेको छ । यस दिन १३ वटै उपसमूहको समूहगत सूचक घटेको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमूहको समूहगत सूचक सर्वाधिक १.७२ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ७.९४ प्रतिशतले बढेको छ । रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ।
नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरेकी छिन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमको पाँचौं केन्द्रीय अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले पछिल्लो समय कर्मचारीहरुमा त्रासको मनोविज्ञान देखिएकाले यसलाई हटाउनुपर्ने बताइन्। ‘विभिन्न नियमनकारी निकायहरुले निगरानी बढाएको कारण देखाउँदै पछिल्लो समय कर्मचारीले गर्नैपर्ने काममा पनि डराउने गरेको देखिएको छ’– मन्त्री शर्माले भनिन्– ‘तपाइ कर्मचारीले नडराएर नविराएर उच्च मनोबलका साथ काम गर्नुपर्छ, कसैले पनि गल्ती गरिएन र कानुनको परिधिभित्र रहेर काम गरियो भने कुनै समस्या आउँदैन।’ गल्ती गर्ने हो भने राजनीतिक वा प्रशासनिक जुनसुकै क्षेत्रमा रहेका व्यक्ति कुनै पनि बेला सजायको भागिदार बन्नुपर्ने उल्लेख गर्दै उनले गल्ती नगर्नेहरु डराउन नपर्ने बताइन्। ‘बेइमानी नगरौं, बदमासी नगरौं तर कानुनको परिधिभित्र रहेर काम गर्न नडराऔं’– मन्त्री शर्माले दोहोर्याइन्– ‘हामीलाई कतै सोधपुछ हुन्छ कि भन्ने बहानामा कर्मचारीले काम नगर्ने हो भने सुशासन र सेवा प्रवाह झन् कमजोर हुने भएकाले म सबै कर्मचारी साथीहरुलाई कानुनको परिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्न चाहन्छु ।’ अहिले नेपालमा कर्मचारीको सेवा सुविधा न्यून नै रहेको उल्लेख गर्दै उनले मुलुकको आर्थिक उन्नतिसँगै सेवा सुविधा पनि बढ्दै जाने भएकाले हरेक कर्मचारीले देश बनाउँछु र म पनि बन्छु भन्ने भावनाका साथ अघि बढ्नुपर्ने बताइन्। सफा नियतका साथ काम गर्ने हो भने राजनीतिक, प्रशासनिक वा अन्य कुनै पनि क्षेत्रमा समस्या नआउने मन्त्री शर्माले स्पष्ट गरिन् । सरकार डिजिटल नेपाल निर्माणको अभियानमा जुटेको उल्लेख गर्दै उनले डिजिटल नेपाल निर्माणको महत्वपूर्ण डिजिटल पूर्वाधार दूरसञ्चार भएकाले देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्याउन अनिवार्य रहेको बताइन्। ‘हामीले चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटमा सबै वडा केन्द्रसम्म इन्टरनेट सेवा पुर्याउने भनेका छौं तर अहिले पनि कतिपय पालिकामै सेवा नपुगेको गुनासो आइरहेको छ’– मन्त्री शर्माले भनिन् ‘यो डिजिटल डिभाइडको अवस्था अन्त्य गर्न नेपाल टेलिकमले अघि सारेका परियोजनाहरु जतिसक्यो चाँडो पूरा गर्न आग्रह गर्न चाहन्छु ।’ नेपाल टेलिकमका कर्मचारीहरुले आफ्नो पेशागत हितका साथै कम्पनीको उन्नति र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँको सुझाव थियो । आज दूरसञ्चार बजारमा पुराना सेवाहरुको खपत घटेकाले नेपाल टेलिकमले उच्च प्रविधि र गुणस्तरीय सेवासहितको द्रूत गतिको इन्टरनेट सेवालाई आकर्षक बजार व्यवस्थापनका साथ अघि बढाउनुपर्ने उनले स्पष्ट पारिन्। कर्मचारी संगठनका साथै टेलिकमका प्रादेशिक तथा जिल्ला कार्यालयबीच काममा प्रतिष्पर्धा गराउन व्यवस्थापन पक्षलाई आग्रह गर्दै मन्त्री शर्माले सेवा वृद्धि गरेर ब्यापार बढाउने र देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्याएर डिजिटल नेपाल निर्माणको अभियानमा नेतृत्व लिनुपर्ने बताइन्। देशका सबै ठाउँमा सहजरुपमा गुणस्तरीय इन्टरनेट सेवा दिने हो भने लाखौं युवाहरु नेपालभित्रै बसेर सेवा निर्यात गर्न सक्षम हुने र यसबाट ठूलो मात्रामा बैदेशिक मुद्रा भित्रने भएकाले मुलुकको समृद्धिका लागि अब धेरै भन्दा धेरै डिजिटल पूर्वाधारको विकास गरेर जानुपर्ने उनले बताइन्।
कोशी प्रदेशसभामा संकल्प प्रस्ताव टेवल पास नहुँदै राजीनामा दिन मुख्यमन्त्रीलाई सुझाव
विराटनगर । नेकपा एमाले र माओवादीले कोशी प्रदेससभा सचिवालयामा पेस भएको संकल्प प्रस्ताव प्रदेशसभामा टेवल गरेका छन्। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभा समक्ष पेश गरेका हुन।उनले प्रदेशसभामा संकल्प प्रस्ताव पेश गर्दै संसदको सर्वोच्चता देखाउन संकल्प प्रस्ताव पेश भएको बताए। संकल्प प्रस्ताव पास हुँदा पनि मुख्यमन्त्रीले मार्ग प्रशस्त नगरे, संसदको विशेष अधिकार हनन भए अदालत जस्तो न्यायिक क्षेत्रमा पनि प्रवेश गर्ने भएकाले पहिले नै राजीनामा दिन उपयुक्त हुने बताए । उनले सरकारलाई विशेष निर्देशन गर्नका लागि संकल्प प्रस्तावमार्फत सन्देश दिन संसदको अधिवेशन आह्वान भएको उल्लेख गरे। उनले असोज २७ गते एमालेका ३९ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र असोज १ गते विश्वासको मत दिएको तर परिस्थितिले उनलाई समर्थन र विश्वासको मत दिन नसकेको बताए। एमाले र माओवादीले दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेको बताए। उनले भने, ‘संसदीय सर्वोच्चतामा अल्पमतमा परेपछि सरकारमा बस्न मिल्दैन उहा अल्पमतमा परेपछि सरकारको प्रमुख हुन मिल्दैन।’ उनले मुख्यमन्त्रीलाई अल्पमतमा परेको देखाउन यो अधिवेशनको आह्वान भएको बताए। उनले अल्पमतमा परेको देखेपछि यो सभा चलेको बेलै राजीनामा दिनु हुन्छ भन्ने आशा लिएको बताए।
मधेशमा माओवादीका २ र समाजवादीका १ मन्त्री थपिदै
जनकपुरधाम । मधेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक जना गरी ३ जना मन्त्री नियुक्त गर्न लागेका हुन् । उनीहरुको आजै शपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको छ । ११ मन्त्रालय रहेको मधेश सरकारमा मुख्यमन्त्री सहित जनता समाजवादी पार्टीको ४, एमालेको ४, एकीकृत र माओवादी केन्द्रको १÷१ मन्त्रालय छन् । माओवादी केन्द्रले उद्योग तथा पर्यटनमन्त्री सुनिता साहलाई फिर्ता बोलाएर २ जना मन्त्री नियुक्त गर्न लागेको हो । मुख्यमन्त्रीसँग जनमतले छाडेको श्रम तथा यातायात र लोकतान्त्रिक समाजवादी पार्टीले छाडेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन बाँकी छ ।
२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ
नारायणगढ। चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ। बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो। नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतु तामाङले नदीमा मानवीय चाप घटाउनुपर्ने बताए। वातावरण र प्रकृति संरक्षण हामी सबैको दायित्व हो भन्दै उनले नदी प्रदूषण रोक्न एकताबद्ध हुनुपर्नेमा जोड दिए। मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको वन्यजन्तु सप्ताहमा सरोकारवालाको उल्लेख्य सहभागिता नहुनु दुःखद भएको बताए। वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले निकुञ्ज आसपासका नदीमा मानव बस्ती वृद्धिका कारण जलचर सङ्कटमा परेका बताए। सफाइका निम्ति चित्रसेन मध्यवर्ती सामुदायिक वन, सौराहा लेडी जेसीज, लियो क्लब अफ चितवन सौराहा, मैनहा युवा क्लबलले सहयोग गरेका थिए। सप्ताहअन्तर्गत आज वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना ¥याली, सप्ताहको अन्तिम दिन भोलि वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयमा छलफल र संरक्षणमा योगदान गरेकालाई सम्मान गर्ने कार्यक्रम छ। मृगकुञ्जको अगुवाइमा जारी वन्यजन्तु सप्ताहमा स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोषसहित सामुदायिक वन, सौराहाको पर्यटनसँग सम्बन्धित सङ्घसंस्था गरी २६ वटा सङ्घसंस्था संलग्न छन्।रासस
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल
काठमाडौं । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली, त्यहाँ राजेशपायल राई’ भन्दा फरक नपर्ला । ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल राई नपुगेको र सांगीतिक कार्यक्रम नगरेको देश सायदै होला । नेपालीहरु विश्वको कुना–कुनासम्म पुगेका छन्, जहाँ–जहाँ राजेशपायलले कार्यक्रम गरिसकेका छन् । यसैक्रममा नेपाली सांगीतिक क्षेत्रका यी ‘मेगास्टार’ अप्रिल अर्थात शुक्रबार इराकमा प्रस्तुत हुँदैछन् । हङकङ, मकाउ हुँदै इराक पुगेका राजेशपायलले भने, ‘संसारका अधिकांश देशमा सांगीतिक कार्यक्रम गरिसकेको छु । तर, इराकमा पहिलोपटक प्रस्तुत हुन लागेको हुँ ।’ इराकको विमानस्थल टेक्दा राजेशपायललाई त्यहाँ रहेका नेपालीले भव्य स्वागत गरेका थिए । गायक राजेशपायलले इराकको कुर्दिस्तानमा कार्यक्रम गर्न लागेका हुन् । जहाँ, इराकी आतंककारी समूह ‘अन्सर अल सुन्ना’ले २०६१ भदौ १५ मा १२ जना नेपालीको हत्या गरेका थियो । १२ जना नेपालीको हत्यापछि पनि इराकमा रोजगारीको क्रममा थुप्रै नेपाली इराक पुगेका छन् । उनीहरुकै अनुरोधमा सांगीतिक प्रस्तुती दिन राजेशपायल त्यहाँ पुगेका हुन् । इराकमा पनि आफ्ना नयाँ पुराना गरी डेढ दर्जन गीत प्रस्तुत गर्ने उनले बताए । राजेशपायल आफ्ना नयाँ तथा पुराना गीतबाट सदावहार चर्चामा रहँदै आएका छन् । उनका फ्यान तथा शुभचिन्तक संसारभर छन् । उनी कन्सर्ट सर्वाधिक रुचाइने नेपाली कलाकार पनि हुन् । त्यसैले पनि उनी बाह्रै मास देश–विदेशको कार्यक्रममा व्यस्त हुँदै आएका छन् । राजेशपायलले भने, ‘अमेरिकामा १७औँ पटक कार्यक्रम गरिसकेँ, तर इराकमा पहिलोपटक गर्दैछ, यो मेरो लागि पक्कै स्मरणीय हुनेछ र दर्शकलाई पनि अविस्मरणीय तुल्याउने प्रयास गर्नेछु ।’
बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी
काठमाडौं । बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको छ । हर्बल प्रालिमा आज बिहान ७ बजेतिर आगलागी भएको हो । हर्बल प्रालिको परिसरभित्र संकलन गरिराखेको सल्लोको खोटोबाट आगो सल्किएको अनुमान गरिएको छ । आगलागी नियन्त्रणका लागि नेपाल र भारतका गरी ११ ओटा दमकलको प्रयोग गरिएको छ । अहिले पनि आगो निभाउने प्रयास जारी छ । आगलागीबाट भएको क्षतिको विवरण आएको छैन ।
डा. शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत
काठमाडौं । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई बिहीबार राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शाक्यलाई मन्त्रिपरिषद् बैठकले मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभाका तीन सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा २०७५ पुस १६ गते शाक्य इजरायलका लागि राजदूत नियुक्त भएकी थिइन्। मनोनीत कोटामा यसअघि एमालेकै विमला राई पौडेल थिइन् । उनको ६ वर्षे कार्यकाल फागुन २० गते पूरा भएको थियो ।
सल्यान बस दुर्घटना : उपचारका क्रममा एकजनाको मृत्यु
दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए । दाङबाट पूर्वीरुकुममतर्फ जाँदै गरेको रा१ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बाघचौर नगरपालिका–२, ठिनबाङ्ग खोलाको पुलबाट खसेको थियो । विक सो दुर्घटनाग्रस्त बसका बसधनी हुन् । बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते चारलाई कोहलपुर अस्पताल पठाइएको थियो । अरु घाइतेको दाङमा उपचार भइरहेको छ । सो दुर्घटनामा परी गम्भीर घाइते रहेका तीनजना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् । रासस
जनकपुरमा नौ महिनाको शिशुसँगै जल्दै गरेकी महिलाको शव प्रहरीले नियन्त्रणमा लियो
काठमाडौं । जनकपुरमा जलिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ । प्रहरीले धनुषाको पुलचोकमा रहेको रेल्वे लिक नजिक जलिरहेको एक महिलाको शव फेला पारेको हो । शव महोत्तरीको मनरा शिसवा नगरपालिका–२ कि २३ वर्षीया प्रियंका महतोको रहेको खुलेको धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए । बुधबार राति शव जलिरहेको देखेपछि प्रहरीले शव नियन्त्रणमा लिएको हो । महिला जलेको ठाउँमा पेट्रोलको बोतल पनि फेला परेको छ। प्रहरीले उनी आफैँले पेट्रोल छर्केर आत्मदाह गरेको हो वा अन्य कसैले जलाएर भागेको हो भन्नेबारे अनुसन्धान सुरु गरेको एसपी तिवारीले बताए । महिलासँगै नौ महिनाको बालकको पनि जलेल मृत्यु भएको छ । प्रियंका महोत्तरीबाट रामनवमीमा जनकपुरको राममन्दिर दर्शनका लागि जान्छु भनेर हिँडेको खुलेको प्रहरीले जनाएको छ । घरमा श्रीमानसँग उनको झगडा भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ३८ हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर तोलाको १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
सङ्घीय संसद्को वेबसाइट ह्याक ! लेखियो -‘ह्वाट इज चाइना नोथिङ’
काठमाडौं ।सङ्घीय संसद्को वेबसाइट ह्याक गरी अनाधिकृत पोस्ट गरेको पाइएको छ। बिहीबार सङ्घीय संसद्को वेबसाइट ह्याक गरी अनाधिकृत पोस्ट गरिएको हो। वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन् । फोटोमा लेखिएको छ– ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’ । तर अहिले उक्त सामाग्री हटाइएको छ । अहिले वेबसाइट सङ्घीय संसद् सचिवालयकै नियन्त्रणमै रहेको छ । वेबसाइट ह्याकरबाट बचाउन आइटी टिमले काम गरिरहेको बताइएको छ ।
पोखरामा जिप र माइक्रोबस ठोक्कियो, ८ चिनियाँ नागरिक घाइते
पोखरा । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोक तर्फ जाँदै गरेको हाइस माइक्रोबस आज बिहान ४ः४० बजे राष्ट्र बैंक चोकमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकहरुमध्ये ८ जना घाइते भएका हुन् ।घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ स्कार्पियो चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने ४३ वर्षीय राज कुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक बस्ने ४१ वर्षीय तुल बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार स्कार्पियोमा चालकमात्र थिए। दुर्घटनामा पार्किङमा रोकिराखेको बा २१ प ११५२ नम्बरको स्कुटर र श्याम सुन्दर बरालको घरमा रहेको मनि चेन्जरको सटर र वालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

