जथाभावी पार्किङ गरिएका बसको साँचो नगरपालिकाद्वारा कब्जा

खोटाङ, चैत १ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलस्थित रत्नपार्कमा जथाभावी पार्किङ गरेर राखेको बसको साँचो नियन्त्रणमा लिएको छ ।

बसपार्क हुँदाहुँदै यातायात व्यवसायीले सडकबीचमै पार्किङ गरेर राखेका छवटा बसको साँचो बुधबार साँझ पार्किङस्थलमै पुगेर नियन्त्रणमा लिइएको हो ।

नगरपालिका प्रवेश गर्ने सबै बस तथा जिप सम्बन्धित बसपार्क तथा जिप पार्कमा लगेर राख्न पटक पटक नगरपालिकाले गरेको अनुरोधलाई अटेर गरेपछि साँचो नियन्त्रणमा लिइएको नगर प्रमुख दीपनारायण रिजालले बताए ।

‘हामीले बसपार्कसम्म पुग्ने सडक पनि बनाएका छौँ,’ उनले भने, ‘विभिन्न बहाना बनाएर सडकमै पार्किङ गर्ने बस तथा जिपलाई कानूनी कारवाही गर्न थालेका हौँ ।’

जिल्लामा सञ्चालित बस जथाभावी पार्किङ गरेर राखेको स्थानीयवासीले दिएको जानकारीका आधारमा नगर प्रमुख रिजाल आफैँ सुरक्षाकर्मीसहित जथाभावी पार्किङ गरेर राखिएको स्थलमा पुगेका थिए । यातायात व्यवसायीले सडक बीचमै पार्किङ गरेर बस तथा जिप राख्दा पैदल यात्रुलाई समेत असर गर्ने गरेको छ ।

यातायात व्यवसायीले भने बसपार्कसम्म पुग्ने सडक राम्रो नभएका कारण बाध्य भएर सडकमै पार्किङ गर्नुपरेको बताएका छन् । ‘नगरपालिकाले गरेको अनुरोधलाई हामीले अटेर गरेका हैनौँ,’ मध्यपहाडी यातायात व्यवसायी संघका खोटाङ प्रमुख धनीराम राईले भने, ‘बसपार्कसम्म पुग्ने सडक राम्रो नभएकै कारण बाध्य भएर सडक बीचमै पार्किङ गरेका हौँ । यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’

सदरमुकाम दिक्तेल नजिक दुईवटा बसपार्क भएपनि यातायात व्यवसायीले उक्त बसपार्कमा नलगी सडकबीचमै बस तथा जिप पार्किङ गर्दै आएका छन् । १० वर्षअघिदेखि यातायात सञ्चालन हुँदै आएको जिल्लामा करिब ३०० को हाराहारीमा बस, जिप, ट्रक र ट्र्याक्टर सञ्चालनमा रहेका छन् । (रासस)

नुवाकोटका ४७ बालुवा उद्योग बन्द गर्न निर्देशन

नुवाकोट, फागुन ३० । यहाँ सञ्चालनमा रहेका बालुवा प्रशोधन उद्योग (फिरफिरे) मापदण्डविपरीत पाइएपछि बन्द गर्न उद्योग विकास शाखाले पत्र काटेको छ । उद्योग विकास शाखाको आयोजनामा आज जिल्ला अनुगमन समितिको संयुक्त टोलीले गरेको अनुगमनमा बेलेकोटगढी नगरपालिकाभित्रका ४७ फिरेफिरे उद्योग सबै बन्द गर्न निर्देशनको पत्र उद्योगीलाई दिइएको शाखाका निर्देशक विजय भट्टराईले जानकारी दिनुभयो । अनुगमनको पहिलो दिन बेलकोटगढी नगरपालिकाअन्तरगत वडा नं। ५, ७ र ९ मा रहेका फिरेफिरेको अनुगमनमा सबै मापदण्डविपरीत पाइएकाले बन्द गराउन उद्योग शाखामार्फत कारबाही सुरु गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताउनुभयो । कच्चा सामाग्री धादिङ जिल्लाको खानी देखाएर यहाँ दर्ता भएपनि कुनैपनि उद्योगले त्यसको पालना नगरेको अनुगमनमा पाइएको छ । जिल्लामा अवैध उत्खनन गरी खानी सञ्चालन गर्ने र बालुवा प्रशोधनपछिको पानी सिधै नदीमा मिसाउने उद्योग मापदण्ड पूरा नगरी सञ्चालन गर्न रोक लगाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले बताउनुभयो । यहाँ रहेका फिरफिरे उद्योग अवैधरुपमा सञ्चालनमा रहेको तथा त्रिशूली लगायतका नदीमा धमिल्याएर प्रदूषण गरेको गुनासोपछि जिल्ला अनुगमन टोलीले संयुक्तरुपमा स्थलगत अनुगमन सुरु गरेको हो ।

सामान्यबाट खटाइएका २३९ कर्मचारी अझै पुगेनन्

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनबाट विभिन्न प्रदेश सरकारमा खटाइएका २३९ कर्मचारी अझै कार्यक्षेत्र पुगेका छैनन् । सातवटै प्रदेशमा प्रदेश सरकार सञ्चालनका लागि गएका २३९ कर्मचारी अझै नगएको मन्त्रालयका उपसचिव सुभद्रा ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकार सञ्चालन हुँदाखेरी नै पठाइएका ती कर्मचारी अटेरी गर्दै अझै प्रदेश कार्यालयमा हाजिर भएका छैनन् । उपसचिव ढुंगेलले सम्बन्धित प्रदेश कार्यालयले हाजिर नहुने कर्मचारीको विवरण पठाए उनीहरूलाई स्पष्टीकरण साधिने बताउनुभयो । सामान्यले प्रदेश सरकारमा केही समयका लागि आन्तरिक व्यवस्थापन गर्न भन्दै एक हजार ६८ कर्मचारी खटाएको थियो । प्रत्येक प्रदेश प्रमुखको कार्यालयमा सचिवको नेतृत्वमा र प्रदेश मन्त्रालयमा सहसचिवको नेतृत्वमा कर्मचारी खटाइएको छ । यसगरी खटाइएका १७ कर्मचारीले भने अझै पत्रसमेत बुझेका छैनन् । प्रदेश कार्यालयका लागि एक हजार ५०५ कर्मचारी आवश्यक भएकाले अपुग कर्मचारी पठाउने तयारी पनि गरिएको उहाँले जानकारी गराउनुभयो । रासस

मापदण्ड विपरित सञ्चालित उद्योगको बिद्युत् लाइन काटियो

धादिङ । मापदण्ड विपरित बालुवा प्रशोधन मेसिन र क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि स्थानीय प्रशासनले ती उद्योगकोे विद्युत् लाइन काटिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीको नेतृत्वमा गएको टोलीले सरकारले निर्धारण गरेको मापदण्ड विपरित प्रारम्भीक वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरी बालुवा उत्खनन र प्रशोधन गर्ने गरेको देखिएपछि ती उद्योगको विद्युत् लाइन काटिएको हो । पृथ्वीराजमार्गको २५ मिटर क्षेत्रभित्र सञ्चालित तथा मापदण्ड नपुगेका उद्योगले नदी धमिलो हुनेगरी प्रदूषण गराएको, धुलो धुवाँले गाउँवेँसी तथा बजारवासीलाई स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याएकाले त्यस्ता उद्योगलाई वैधानिक बाटोमा ल्याउन कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । टोलीले मापदण्ड विपरित राजमार्ग आसपास क्षेत्रमा सञ्चालित ६३ वटा बालुवा प्रशोधन मेसिनमा जोडिएको बत्तीको लाइन काटिएको छ भने २९ वटा क्रसर उद्योगको विद्युत् लाइन पनि काटिएको छ । आठवटा ट्रान्सफरमरबाट जोडिएका क्रसर उद्योग अवैधानिक रुपमा सञ्चालन गर्दै आएकाले यस्ता उद्योगको लाइन पनि काटिएको हो । कर छलेर उद्योग सञ्चालन गर्ने, अत्याधिक रुपमा खानीबाट बालुवा तथा अन्य खानीजन्य सामग्री उत्खनन गर्ने, त्रिुशूली नदीमा ठूला मेसिनको प्रयोगले उत्खनन गर्ने गरिएको तथा सरकारले तोकेको मापदण्ड विपरित सञ्चालित उद्योगलाई कारबाही शुरु गरिएको जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालले बताउनुभयो । रासस

गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् । सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह गरेपनि उक्त कम्पनीले अटेर गरेका हुन् । नेपाल गुणस्तर तथा नापतौल विभागले पुसमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न नलिएका ग्यास उद्योगमाथि कारबाही चलाएपछि दुई महिनाभित्र लिने भनेपनि अहिलेसम्म लिएका छैनन् । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिने संख्यामा बढेको बताउनुहुन्छ । “कारबाही अभियान सञ्चालन गरेपछि तीन ग्यास उद्योगले प्रमाणपत्र चिह्न लिएका छन्, २० वटा कम्पनी लिने चरणमा छन्,” उहाँ भन्नुहुन्छ । सम्पूर्ण ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी विभागले सबै उद्योगसँग आवश्यक कागजात मगाइरहेको उहाँको भनाइ छ। नेपालमा रहेका ५५ ग्यास उद्योगमध्ये हालसम्म मनोज ग्यास उद्योग, वीरगञ्ज, श्रीकृष्ण ग्यास उद्योग, धादिङ, साइबाबा ग्यास उद्योग, धादिङ, नेपाल ग्यास उद्योग, बालाजु, जानकी ग्यास उद्योग, नवलपरासी, मेट्रो ग्यास उद्योग, धादिङ र एनएल ग्यास उद्योग, वीरगञ्जले नेपाल गुणस्तर चिह्न लिएका छन् । गुणस्तर प्रमाणपत्र नलिई सञ्चालन गरेको व्यापक जनगुनासो आएपछि विभागले यही पुसमा विभिन्न ठाउँका १० उद्योगको अनुगमन गरेको थियो । ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न नियमावलीको अनुसूची–२ अनुसार आवश्यक कागजात र प्रक्रिया पूरा गरेपछि मात्र विभागले गुणस्तर प्रमाणपत्र दिने गरेको छ । रासस

छोराको पर्खाइमा १४ सन्तान, जीवित रहेका पनि छोरीमात्र

लिबाङ, रोल्पा । रोल्पा नगरपालिकाकी ६० वर्षीया सुन्तली सुनार १२ सन्तानकी आमा हुनुहुन्छ । १७ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी सुनारले करीब दुई–तीन वर्ष प्रेम चलेपछि २१ वर्षीय युवासँग आजभन्दा ४६ वर्ष पहिले प्रेम विवाह गर्नुभएको थियो । सुनारका अनुसार विवाह भएको एक वर्ष नपुग्दै उहाँको पहिलो सन्तानको जन्म भएको हो । सुन्तलीको कोखबाट २÷३ वर्षको जन्मान्तरमा नौ बहिनी छोरी र तीन भाइ छोरा जन्मिए पनि उहाँको काखमा आठ बहिनी छोरी मात्र जीवित छन् । एक छोरी र तीन भाइ छोरा भने जीवित रहेनन् जसका कारण सुन्तलीले रातदिन यातना सहनुप¥यो । छोरा नपाएको र पाएका छोरा मारेको भन्दै उहाँका श्रीमान्ले मदिरा सेवन गरी रातदिन कुटपिट गर्ने, पेटभरि खानलाउन नदिने तथा घर निकाला गर्ने जस्ता सजाय दिइरहनुभयो । तर पनि सुन्तली जसोतसो जीवित छोरीको मुख हेरेर दिन गुजार्न बाध्य हुनु परेको थियो । उहाँका अनुसार छोराहरु जीवित नरहेपछि छोराको बाबु बन्ने सपना पूरा गर्न सुन्तलीका श्रीमान्ले सौता हालेका थिए । दुर्भाग्य नै भन्नुपर्छ सुन्तलीका श्रीमान्ले दोस्रो विवाह गरेपनि उहाँका श्रीमान्को सपना पूरा हुन सकेन । दोस्रो श्रीमतीबाट पनि दुई बहिनी छोरीहरुको जन्म भयो । कान्छीबाट पनि छोरा नजन्मिएपछि सुन्तलीका श्रीमान्को छोरा जन्माउने सपना सपनामै सीमित रह्यो । कान्छी श्रीमतीले छोरा नपाएपछि सुनारले कान्छी श्रीमतीलाई छुट्टै राखेर पुनः छोरा पाएकी जेठी श्रीमतीसँग बस्दै आउनुभएको छ । जेठीबाट आठ बहिनी र कान्छीबाट दुई बहिनी गरी सुनारका १० बहिनी छोरी जीवितै छन् । सुनारकी छोरीका अनुसार पितृसत्तात्मक सोच र चिन्तनका कारण श्रीमान््ले जे गरे पनि हुने मान्यता कायमै रहेको हँुदा सुनारले दोस्रो बिहे गर्नुभएको थियो र आफूखुशी कान्छी श्रीमतीलाई पन्छाएर जेठी श्रीमतीसँग बस्दै आउनु भएको छ । “मनपर्दा बिहे गर्ने मन नपर्दा छोड्न पाइने कस्तो गजबको हाम्रो परम्परा,” उहाँले भन्नुभयो । हिजोआज यो दम्पती निकै चिन्तित छ । बाचुञ्जेल पाल्न र मर्ने बेलामा चितासम्म पु¥याउन पनि छोरा नै चाहिने मान्यता बोकेको सुनार दम्पतीलाई जीवित छोरीभन्दा मरेका छोराको यादले पिरोल्ने गर्छ । सबै छोरी विवाह गरेर घरघर गइसकेका छन् । उमेरमा सधैँ कुटपिट गरेर यातना दिएकी श्रीमती नै आज सुनारको सहयात्री बनिरहनुभएको छ । सुन्तलीका अनुसार छोरा नभएको भन्दै गाउँलेले हेलाको भावले हेर्न थालेपछि उहाँमा झन् निराशा थपिने गर्छ । बेलाबेला गाउँलेले सुनारको सम्पत्तिमा अपुताली पर्नेभो भनेको सुन्दा सुनार दम्पतीलाई असह्य पीडा हुने गर्छ । “यौटै छोरा बाँचेको भए सौता पनि आउने थिइन र मैले श्रीमान्बाट पनि छोरी पाएका कारण उमेरभर पीडा भोग्नु पर्ने थिएन कि,” उहाँले गुनासो गर्नुभयो । धेरैजसो अभिभावकमा आज पनि छोरा पाउने लालसा घटेको छैन । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा सुत्केरी हुन आएका करीब ७५ प्रतिशत गर्भवती महिलाले छोरा नै जन्माउन चाहेको रासससँग बताए । थबाङ गाउँपलिकाकी २४ वर्षीया रामकुमारी बाँठाका तीन बहिनी छोरी छन् । उहाँ पुनः गर्भवती हुनुभएको छ । आइतबार जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा आफ्नो स्वास्थ्य परीक्षण गराउन आएकी बाँठालाई छोरा नै चाहिएको छ । यस्तै, चिकित्सकले यही फागुन १९ गते सुत्केरी हुने मिति दिएपनि सुत्केरी व्यथा नलागेपछि जिल्ला बाहिरको अस्पतालमा सुत्केरी हुन हिँडेकी एक ४२ वर्षीया युवतीले पनि आफ्नो नाम उल्लेख नगर्ने सर्तमा छोरा नै चाहिएको बताउनुभयो । उहाँका पनि घरमा २१ वर्ष, १५ वर्ष, ८ वर्ष र ४ वर्षका गरी चार बहिनी छोरी छन् । तर पनि उहाँ आफ्नो तथा समाजका लागि भन्दै छोरा जन्माउन चाहनुहुन्छ । “छोराछोरी बराबर भन्छन् तर बराबर हुनै सक्दैन, छोरा भनेको छोरा नै हो त्यसैले छोरा जन्माउन चाहन्छु, तर हेरौँ भाग्य कस्तो छ ? भाग्यमानी छु कि अभागी”, उहाँले भन्नुभयो । यस्तै कारणले गर्दा हाम्रो समाजमा अझै पनि छोरा र छोरीका बीचको विभेद अन्त हुन सकिराखेको छैन । समानताका कुरा नारा र भाषणमा मात्र सीमित बनेका छन् । छोरा नपाए सौता हाल्ने, श्रीमतीलाई कुटपिट गर्ने, खानलाउन नदिने तथा घर निकाला गर्ने परम्परा अझै पनि देख्न र सुन्न पाइन्छ जसका कारण हिंसामुक्त हुन महिला पनि छोरा नै जन्माउन चाहन्छन् । ठूलो संख्याका महिला पछिल्ला दिनमा न्याय खोज्न भन्दै सरोकारवाला निकायमा पुग्ने गरेका छन् । त्यसैले छोरा होस् वा छोरी दुवै जन्मनुमा महिला र पुरुष दुवैको समान जिम्मेवारी रहन्छ भन्ने कुरा सबैलाई बुझाउनु जरुरी देखिन्छ । रासस

बिहे गर्न नमानेपछि कञ्चनपुरमा युवतीमाथि निर्घात कुटपिट

महेन्द्रनगर । आफूसँग बिहे गर्न नमानेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनखेतमा २४ वर्षिय युवति सोनी चन्दमाथि निर्घात कुटपिट गरिएको छ । आज बिहान १० बजे सोनीकै घरमा आएर भीमदत्त नगरपालिका–१० गड्डाचौकीका २७ वर्षिय राकेश चन्दले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट सोनीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । राकेशले सोनीलाई आफूसँग विवाह गर्न दबाब दिँदै आएको जनाइएको छ । राकेशले घरमै आएर औलाहरूले आँखा घोचेको र अनुहारमा उम्लिरहेको घ्यू फालिदिएको सोनीका आफन्तले बताएका छन् । सोनीको महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको गेटा आँखा अस्पताल रेफर गरिएको छ । घरमा रहेकी आमाले छोरीमाथि कुटपिट हुँदा रोक्न खोजेपछि आमामाथि समेत कुटपिट गरिएको जनाइएको छ । घरमा आमा र छोरी मात्रै बस्ने गरेका थिए । सोनीमाथि कुटपिट गर्ने राकेश चन्दको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अब गुड्दैनन् पुराना गाडी

काठमाडौं, फागुन ३० । सरकारले आगामी चैत १ देखि मुलुकभर २० वर्षभन्दा पुराना गाडी चलाउन नदिने भएको छ । पुराना गाडीले प्रदूषण बढाएको भन्दै हटाउने निर्णय लिएको खबर आजको कान्तिपुरमा छापिएको छ । गत वर्ष फागुनमै यस्ता गाडी हटाउने निर्णय भए पनि पूरै कार्यान्वयनमा आउन सकेको थिएन । काठमाडौंबाट विस्थापित गाडी उपत्यकाबाहिर सञ्चालनमा छन् । यातायात व्यवस्था विभागले अब मुलुकभरिबाटै २० वर्ष पुराना गाडी हटाइने जनाएको छ । पहिलो चरणमा गाडी धनीलाई चेसिज, इन्जिन बुझाएर पुराना गाडी ‘पत्रु’ गर्न अनुरोध गरिसकिएको विभागका निर्देशक तुलसीराम पौडेलले बताए । ‘तर, अहिलेसम्म कसैले बुझाएका छैनन्,’ उनले भने, ‘चैत १ देखि ट्राफिक प्रहरीसँग समन्वय गरेर पुराना गाडी नियन्त्रणमा लिन्छौं ।’ मुलुकभरका यातायात कार्यालयलाई पुराना गाडी नियन्त्रणमा लिन निर्देशन दिइसकेको पौडेलले बताए । सामान्यत: गाडीको आयु २० वर्ष मानिने भएकाले विभागले सञ्चालन अनुमति पनि त्यति अवधिलाई नै दिन्छ । बीस वर्ष नाघेका गाडीको यकिन संख्या विभागसँग पनि छैन । ‘५५ सय रहेको अनुमान गरेका छौं,’ निर्देशक पौडेलले भने । प्रदूषण बढाउने, खर्चिलो हुने, दुर्घटना बढाउने भएकाले पुराना गाडी हटाउनुको विकल्प नभएको उनले बताए । उपत्यकालगायत सहरी क्षेत्रमा प्रदूषण मात्रा उच्च छ । उपत्यकामा वायु प्रदूषणको मुख्य कारक सवारीबाट निस्कने धूलो र धूवाँ रहेको वातावरण विज्ञको भनाइ छ । उनीहरूका अनुसार सवारीबाट हुने प्रदूषणमा पनि पुरानाको प्रभाव बढी छ ।

विमानस्थलभित्रै भएको जहाज दुर्घटनाले उब्जाएका सात प्रश्न

काठमाडौं, फागुन ३० । दुर्घटनाले पाइलटको मनस्थिति, काठमाडौंको धावनमार्ग, एटिसीसँगको संवाद र जहाजको अवस्थाबारे प्रश्न १. धावनमार्गसँग पाइलट कति अभ्यस्त थिए ? पाइलटहरूका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक रूपमा विश्वका अन्य विमानस्थलको तुलनामा जोखिमपूर्ण मानिन्छ । खासगरी, अग्ला चुचुरा छिचोलेर उपत्यका प्रवेश गर्नुपर्ने र घना बस्तीको बीचमा छोटो दूरीको धावनमार्गमा जहाज उडान–अवतरण गर्नुपर्ने चुनौती हुन्छ । युएस–बंगला एयरलाइन्सको उडान नम्बर युबिजी २११ (डिएच८डी) जहाजको कमान्ड सम्हालेका पाइलट अबिद सुल्तान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यहाँको धावनमार्गसँग अभ्यस्त थिए । किनभने उनले यसअघि पनि पटक–पटक काठमाडौंको उडान भरिसकेका थिए ।,यो खबर आजको नयाँ पत्रिकामा छ । २. पाइलटको शारीरिक र मानसिक अवस्था विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार अहिले युएस–बंगला र बंगलादेशको नागरिक उड्डयन प्राधिकरणसँग पाइलटको उडान विवरण, अनुभवलगायत सम्पूर्ण विवरण माग गरिएको छ । बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार सुल्तानले दुर्घटनामा ज्यान गुमाउनुअघि पाँच हजार घन्टा जहाज उडाइसकेका थिए । सोमबार दुर्घटनामा परेको जहाज भने १ हजार ७ सय घन्टा उनको कमान्डमा उडेको थियो । बंगलादेशको इन्टरनेट न्युजपेपर बिडिन्युजडटकमका अनुसार सोमबार नै उनी क्यानडाबाट सोही जहाज उडाएर बंगलादेश आएका थिए । त्यसपछि दोस्रो उडानका क्रममा बंगलादेशबाट नेपाल आएको बिडिन्युजको समाचारमा उल्लेख छ । ३. १७ वर्ष पुरानो जहाज यसअघि सामान्य दुर्घटनामा दुर्घटनाग्रस्त यो जहाज क्यानेडियन कम्पनी बम्बाडियरले पहिलोपटक सन् २००१ मा स्क्यान्डानेभियन एयरलाइन्स (एएसए)लाई डेलिभरी गरेको थियो । उक्त कम्पनीले जर्मनीको अउगसबर्ग कम्पनीलाई सन् २००८ मा बेचेको थियो । सो कम्पनीबाट युएस–बंगलाले यो जहाज सन् २०१४ मा किनेको हो । यसअघि यही जहाज बंगलादेशको साइदपुर विमानस्थलमा सामान्य दुर्घटनामा परे पनि मानवीय तथा भौतिक क्षति नभएपछि लगत्तै उडानयोग्य बनेको थियो । ४. धावनमार्गमा खराबी थियो ? विमानस्थलको आलोचनाको अर्को विषय धावनमार्ग पनि हो । वेलावेला पिच उप्कनेदेखि जनावर र चराको आतंक यहाँ सामान्य मानिन्छ । तर, अहिले धावनमार्गमा कुनै समस्या नरहेको विमानस्थल व्यवस्थापन दाबी गर्छ । ‘त्रिभुवन विमानस्थलभित्रको कुनै पनि संरचनाका कारण जहाज दुर्घटनामा परेको देखिँदैन,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘तर, अनुमानको भरमा बोल्नुभन्दा उच्चस्तरीय दुर्घटना जा“च आयोगको प्रतिवेदन कुर्नु राम्रो हुन्छ ।’ ५. एटिसी नै अलमलमा थिए ? युएस–बंगला एयरलाइन्सका उच्च अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार जहाज दुर्घटनामा एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को हात रहेको आरोप लगाइएको छ । एटिसीले समयमा उचित सूचना दिन नसक्दा पाइलट झुक्किएको युएस–बंगला एयरलाइन्सको दाबी छ । तर, त्रिभुवन विमानस्थलका अधिकारीहरूका अनुसार एटिसीले दिएको निर्देशन सही पालना भएको भए पूर्वनिर्धारित समयमै सुरक्षित अवतरण सम्भव थियो । एउटा दिशाबाट अवतरणको अनुमति दिइसकेपछि पनि अर्को दिशातर्फ मोडिनु, आकाशमा छ“दा कुनै इमर्जेन्सी घोषणै नगरी अवतरणका लागि तयार भएपछि एटिसीले थप निर्णय लिने मौका नपाएको महाप्रबन्धक क्षेत्रीले बताए । ६. दुर्घटनाका वेला ड्युटीमा रहेका एटिसी अर्को शाखामा सरुवा यसैबीच, त्रिभुवन विमानस्थल व्यवस्थापनले दुर्घटनाको समय ड्युटीमा रहेका एटिसीको शाखा परिवर्तन गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठगन (आइकाओ)को नियमअनुसार प्रत्यक्ष दुर्घटना देखेका एटिसीलाई केही दिन मानसिक रूपमा कम तनाव हुने शाखामा सारिएको विमानस्थल व्यवस्थापनको भनाइ छ । ‘एटिसी अति दबाबमा काम गर्नुपर्ने पेसा हो,’ महाप्रबन्धक क्षेत्री भन्छन्, ‘त्यसकारण केही दिनका लागि सोमबार एटिसी सम्हालेका कर्मचारीलाई अरू शाखामा पठाएका छौँ ।’ ७. इयूको कालोसूची लम्बिन्छ ? नेपाली आकाशलाई असुरक्षित देखाउँदै सन् २०१३ देखि युरोपेली युनियनले नेपाली वायुसेवालाई प्रतिबन्ध लगाएको छ । एभिएसन सेफ्टी लिस्ट (कालोसूची)मा राखेको युनियनले यसै वर्ष नेपाललाई उक्त सूचीबाट हटाउने अपेक्षा थियो । तर, नेपाली भूमिमा भएका ठूला दुर्घटनापछि अब के हुन्छ भन्ने प्रश्न उठेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक भन्छन्, ‘यो बंगलादेशको नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको जहाज हो, त्यसकारण जा“च आयोगको प्रतिवेदन नआएसम्म अन्तर्राष्ट्रिय निकायले कुनै मूल्यांकन गर्दैनन् ।’

कमजोर सुरक्षा, भद्रगोल उद्धार

काठमाडौं, फागुन ३० । दुर्घटनाको १० मिनेटसम्म दमकल पुगेन, पछि सुरक्षाकर्मी मात्र होइन, सर्वसाधारणले पनि धावनमार्ग पार गरे जहाज धावनमार्ग छाडेर पूर्वी–दक्षिणतर्फको घाँसेमैदानमा जोतियो । जहाजबाट आगो र धुवाँको मुस्लो छुट्यो । त्यसको १० मिनेटपछि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी घटनास्थल पुगे । तर, उद्धार रफ्तारमा हुन सकेन । सुरक्षाकर्मी आपसमा अलमलिरहेका देखिन्थे । उद्धारमा खटिएका नै अलमलमा परेपछि दुर्घटनापछिको परिस्थिति भद्रगोल बन्न पुग्यो । दुर्भाग्यवश ५० यात्रुले ज्यान गुमाए ।,यो खबर आजकोनयाँ पत्रिकामा छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा गार्ड प्रमुख एसएसपी प्रेम चन्द उद्धारमा भद्रगोल भएको स्विकार्न तयार छैनन् । कुनै कसर बाँकी नराखी उद्धार गरिएको उनले बताए । उनी भन्छन्, ‘दुर्घटनालगत्तै सुरक्षाकर्मी उद्धारमा खटिएका हुन् । दमकलले आगो निभायो । अति प्रज्ज्वलनशील पदार्थलाई आगोले टिप्ने डरले विशेष खालको ‘फम’ प्रयोग गरियो, घाइतेलाई विमानस्थलको मूलगेटबाट लैजाँदा समय लाग्ने भएकाले भन्सारतर्फको गेट प्रयोग गरियो ।’ विमानस्थलभित्र हुन सक्ने दुर्घटनाको क्षति न्यूनीकरण गर्न र यात्रुको उद्धार गर्न प्रत्येक वर्ष सुरक्षाकर्मीले काल्पनिक घटनाको रिहल्सन (डेमो) गर्ने गर्छन् । त्यसवेला दुर्घटना भएको दुई मिनेटमै घटनास्थलमा सुरक्षाकर्मी पुगेको र उद्धारमा खटिएको देखाइन्छ । तर, सोमबार भएको दुर्घटनामा रिहल्सनमा गरिएझैँ दुई मिनेटमै सुरक्षाकर्मी घटनास्थल पुगेको देखिएन । न त उद्धार नै छरितो भयो । तर, एसएसपी चन्द भने १० मिनेटभित्र यो सब काम भएको भन्दै काम चुस्त भएको दाबी गर्छन् । विमानस्थलभित्र क्षणभरमै सयौँको भिड विमानस्थलको सुरक्षा अति संवेदनशील मानिन्छ । अत्यावश्यक जाँच गरेपछि मात्रै सर्वसाधारणले विमानस्थलमा प्रवेश पाउँछन् । तर, सोमबार दुर्घटनाग्रस्त जहाज जलेको हेर्न दर्जनौँ सर्वसाधारण घटनास्थलमै पुगे । कतिपय चप्पलसमेत नलगाई घटनास्थलतर्फ हान्निएका देखिन्थ्यो । उनीहरू हात हल्लाउँदै ‘अलिहेसम्म उद्धारका लागि सेना प्रहरी आएको छैन’ भन्दै थिए । यतिसम्म कि रमिता हेर्न केटाकेटीसमेत पुगेका थिए । त्योभन्दा ठूलो भिड विमानस्थलको पूर्वी–दक्षिणतर्फको पेप्सिकोलातिरको गेटमा देखिन्थ्यो । यही गेटबाट सर्वसाधारण विमानस्थलभित्र छिरेका थिए । घटनास्थलमा सर्वसाधारणको भिड बढेपछि गेटमा खटिएका सुरक्षाकर्मीले अरूलाई भने भित्र जान रोकेको थियो । त्यसैले गेटमा भिड बढेको थियो । तर, एसएसपी चन्द विमानस्थलभित्र सर्वसाधारण नछिरेको दाबी गर्छन् । ‘विमानस्थलको कुनै पनि गेटबाट सर्वसाधारण घटनास्थल छिरेका छैनन् । मिडियाकर्मीलाई समेत घटनास्थल छिर्न रोक लगाइएको थियो । टाउजर र हाफपाइन्टमा देखिएका त सिभिलमा खटिएका सुरक्षाकर्मी हुन् । तत्काल उद्धारमा खटिनुपर्ने भयो । त्यसैले उनीहरू जस्तो अवस्था थिए, सोही अवस्थामा उद्धारमा खटाइएको हो,’ चन्दले दाबी गरे । जगेडा सुरक्षाकर्मी छैनन् विमानस्थलमा नियमितबाहेक आकस्मिक सुरक्षामा खटाउन जगेडा सुरक्षाकर्मीको व्यवस्था छैन । त्यसैले सोमबार नियमित सुरक्षामा खटिने २५ सुरक्षाकर्मीलाई दुर्घटनास्थलतर्फ खटाइयो । त्यसपछि मात्रै उद्धारका लागि थप सुरक्षा बल माग गरिएको थियो । एसएसपी चन्दले भने, ‘यहाँ रहेका २० देखि २५ सुरक्षाकर्मी तत्काल दुर्घटनास्थलमा खटाइयो । थप सुरक्षाकर्मी त्यसपछि मागिएको हो । त्यसवेलासम्म सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी पनि घटनास्थल आइसकेका थिए । सबै गरी करिब ३ सयको संख्यामा सुरक्षाकर्मी उद्धारमा खटिएका थिए ।’ विमानस्थलको प्रत्यक्ष सुरक्षा नेपाल प्रहरीको कमान्डमा छ । विमानस्थलभित्रको सम्पूर्ण सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी रहन्छन् । यसका लागि नेपाल प्रहरीको मात्रै ३ सय ७ दरबन्दी छ, कमान्ड डिआइजीले गर्छन् । विमानस्थलको यो नियमति सुरक्षा संयन्त्र हो । यो संयन्त्रमा चौबिसै घन्टा सुरक्षाकर्मी खटिनुपर्छ । त्यसैले यहाँको सुरक्षाकर्मीलाई झिकेर अन्त लैजान सकिँदैन । अत्यावश्यक परे बाहिरैबाट थप सुरक्षाकर्मी माग्नुपर्ने हुन्छ । विमानस्थल सुरक्षामा सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मी पनि हुन्छन् ।

प्रदेश ५ मा फोरमले माग्यो २ मन्त्रालय

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत दिएको संघीय समाजवादी फोरम पनि सरकारमा जाने सम्भावना बढेको र उसले दुई मन्त्रालयमा दावी गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ । फोरम संसदीय दलका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेले प्रदेश ५ मा फोरमले दुई मन्त्रालय माग गर्ने बताए । पाण्डेले पार्टीले केन्द्रमा एमालेसँग छलफल जारी राखेको र केन्द्रसँगै प्रदेश ५ मा पनि सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको बताएका छन् । केन्द्र र प्रदेशमा पार्टी सरकारमा जाने सम्भावना रहेकाले पोखरेललाई विश्वासको मत दिएको उनले बताए । मन्त्रीका धेरै आकांक्षी रहेको र सबै पक्षलाई मिलाउन खोज्दा सरकार गठन भएको झन्डै एक महिनासम्म प्रदेश ५ मा सरकार विस्तार हुन सकेको छैन । ३ फागुनमा मुख्यमन्त्री शंकर पोखरेलसहित तीनसदस्यीय मन्त्रिमण्डल गठन भएको थियो ।

‘हमर बाबुको दिखादो’

काठमाडौं, फागुन ३० । दुर्घटना नभईदिएको भए रासनारायण राय यति बेला कान्टो छोरा अवधेशका साथ श्रीमतीलाई लिएर सर्लाहीको कवितालसीस्थित आफ्ना घरमा पुगिसकेका हुन्थे । जहाँ चार महिनाकी छोरी सोनावनतीलाई काखमा लिएर पुनमदेी सासु ससुरासँगै श्रीमानको स्वागतमा प्रतीक्षामा थिईन् । तर त्यसो हुन सकेन । वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका २३ बर्षीय अवधेशकुमारको राजधानीमा सोमबार भएको विमान दुर्घटनामा जीवन गुमेपछि यो परिवारको खुसीको यात्रा यहीँ रोकिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

विमान दुर्घटनाको अनुसन्धान जहाज निर्माता कम्पनीले पनि गर्ने

काठमाडौं, फागुन ३० । क्यानेडियन कम्पनी बम्बार्डियरले नेपालमा सोमबार भएको यूएस बंगला एयरको जहाज दुर्घटनाको अनुसन्धान गर्ने भएको खबर आजको कारोबारमा छ । बम्बार्डियरले निर्माण गरेको जहाज नेपालसहित पछिल्लो दुई दिनमा दुईपटक दुर्घटनामा परेपछि कम्पनीले नै अध्ययन अनुसन्धान गर्ने भएको हो । यस्तै, बंगलादेशका नगारिक उड्डयनमन्त्रीले पनि जहाज दुर्घटनाका् जाँचबुझमा सघाउने वचन दिएका छन् । आइतबार इरानमा दुर्घटना भएको २४ घण्टा नबित्दै काठमाडौंमास्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सोही कम्पनीबाट उत्पादित जहाज दुर्घटनामा परेपछि अन्तर्राष्ट्रिय जगतमै गम्भीर चासो उत्पन्न भएको छ । गत आइतबार इरानमा टर्किस बिजनेसम्यानको परिवार सवार रहेको निजी जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । यस्तै, काठमाडौंमा सोमबार भएको दुर्घटनामा परेर हालसम्म ५१ जनाको मृत्यु भएका छ।

प्रदेश ५ मा सरकार विस्तारको तयारी

काठमाडौं, फागुन ३० । प्रदेश ५ मा सरकार विस्तारको तयारी भएको छ । मन्त्रीका धेरै आकांक्षी रहेको र सबै पक्षलाई मिलाउन खोज्दा सरकार गठन भएको झन्डै एक महिनासम्म सरकार विस्तार हुन सकेको थिएन । ३ फागुनमा मुख्यमन्त्री शंकर पोखरेलसहित तीनसदस्यीय मन्त्रिमण्डल गठन भएको थियो । अब विस्तार हुने सरकारमा लुम्बिनी क्षेत्रका सांसदलाई मन्त्री बनाउनुपर्ने दबाबसमेत परेको छ । अहिले लुम्बिनी क्षेत्रबाट एकजना मात्र मन्त्री छन् । महिलाको पनि सहभागिता गराउने तयारीमा दलहरू लागेका छन् । राष्ट्रपति चुनावलगत्तै सरकार विस्तार गर्ने गरी तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले बताए । एमाले र माओवादी दुवैका तर्फबाट सरकार विस्तारको तयारी भइरहेको उनले बताए । अब विस्तार हुने सरकारमा लुम्बिनी क्षेत्र र महिलाको सहभागिता हुने गरी तयारी भएको चौधरीको भनाइ छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

तीन दलले बहिष्कार गरे राष्ट्रपति निर्वाचन

काठमाडौं, फागुन ३० । विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । वाम गठबन्धनबाट उम्मेदवार बनेकी भण्डारी संघ र प्रदेश सभाका सांसदको ३९ हजार २ सय ७५ मभार प्रापत गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । नयाँ शक्ति विवेकशिल साझा र नेपाल मजदुर, किसान पार्टीले राष्ट्रपति निर्वाचन बहिष्कार गरेका छन् । मुलुकको संवैधानिक प्रमुख राष्ट्रिय जीवनमा ख्याति कमाएका ब्यक्ति हुनुपर्नेमा एउटा पार्टीभित्र पनि गुटको ब्यबस्थापन गर्ने पद बनाएकाले निर्वाचन बहिष्कार गरेको ती दलको दावी छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

महिला हिंसा रोक्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, फागुन २९ । अन्तरपार्टी महिला सञ्जालले पछिल्लो समय महिलामाथिको हिंसा बढिरहेको भन्दै त्यसलाई रोक्न गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएको छ । सञ्जालको टोलीले आज गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै पर्सामा आठ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना, कैलालीमा युवतीलाई बोक्सीको आरोपमा गरिएको दुव्र्यवहार, धनुषामा बाबुबाट छोरीको हत्यालगायतका घटनाले स्तब्ध बनाएको भन्दै घटनाका दोषीलाई कारबाहीको माग गरेको छ । ज्ञापनपत्रमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई कडा कदम चाल्न आग्रह गरिएको छ । सञ्जालले बलात्कारको घटनामा विद्यमान कानूनलाई संशोधन गरी कडा बनाउनुपर्ने मागसमेत गरिएको छ । ज्ञापनपत्र लिँदै गृहमन्त्री थापाले महिलामाथिको हिंसाबारे मन्त्रालय गम्भीर रहेको भन्दै दोषीलाई उन्मुक्ति नदिइने स्पष्ट पार्नुभयो । उहाँले दोषीलाई कारबाहीका लागि मन्त्रालयले निर्देशन दिइसकेको तथा अधिकांश दोषीलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रियासमेत अगाडि बढाइसकेको जानकारी दिनुभयो । उहाँले महिला हिंसाविरुद्ध मन्त्रालयले शुरु गरेको अभियानमा हातेमालो गरेर अघि बढ्न सञ्जाललाई आग्रह गर्नुभयो । सञ्जालकी उपाध्यक्ष पुष्पा ठाकुरको नेतृत्वमा आएको टोलीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।