नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौं । कमजोर व्याटिङ प्रदर्शन गरेको नेपालले एसीसी प्रिमियर कप टी २० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । 

नेपालका आठ खेलाडीले दोहोरो अंक जोड्न नसकेको खेलमा २० ओभर खेल्दा नौ विकेट गुमाएर नेपालले ११९ रन बनाउन सक्यो ।  

नेपालका लागि सन्दिप जोराले ५० रन बनाए भने गुल्सन झाले २० रन तथा करण केसीले १७ रनको योगदान गर्दा अन्य खेलाडीले विर्सनलायक प्रदर्शन गरे । 

यूएईविरुद्ध ब्याटिङमा नेपालको खराब सुरुआत

काठमाडौं । एसीसी इमर्जिङ कपको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले पहिलो पावर प्लेको समाप्तिमा दुई विकेट गुमाएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले पहिलो ब्याटिङ पावर प्ले (६ ओभर)समाप्त हुँदा दुवै ओपनरलाई गुमाएको हो। नेपालले आसिफ सेखलाई आठ रनमा गुमाउँदा कुशल भुर्तेल गोल्डेन डकभए । जारी खेलको ६ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ३० रन बनाएको छ । हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेल चार र सन्दीप जोरा १६ रनमा खेलिरहेका छन् ।

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईसँग टस हारेर पहिले ब्याटिङमा नेपाल

काठमाडौं।  आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन् ।  आज पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यस खेलमा युएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ, जसमा पछिल्लो खेल खेलेका प्रतिश जिसीको ठाउमा सोमपाल कामी प्लेइङ ११ मा रहेका छन् ।    नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन् । यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र युएईबीच अहिलेसम्म टी २० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ ।  त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल आजै अपराह्न ४ः१५ बजेदेखि शुरु हुने छ । यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् । 

सुनको मूल्यमा फेरि रेकर्ड, तोलामा ७०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।  यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुनको यसअघिको उच्च मूल्य प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँ थियो । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला एक हजार ७२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा करोबार भएको थियो ।  

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु भएका तीनमध्ये दुईजनाको सनाखत

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटनामा परी मृत्यु भएका तीनमध्ये दुई जनाको सनाखत भएको छ । दुर्घटनामा परी निधन हुनेमा दोलखाको भीमेश्वर नगरपालिकाका शिव श्रेष्ठ र सोही ठाउँका मानबहादुर थामी रहेका छन् । मृतक एकको भने सनाखत हुन बाँकी छ । दोलखाबाट जन्ती बोकेर आएको बा४ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, धारावतीमा शुक्रबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । सिन्धुपाल्चोकका विभिन्न अस्पताल एवं स्वास्थ्य केन्द्रमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज सुशासन समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।

गण्डकीको प्रदेशसभा बैठक बस्दै, कांग्रेस र राप्रपाले बहिष्कार गर्ने तयारी

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा आज दिउसो ३ बजेदेखि आरम्भ हुनेगरि बैठक आह्वान गरेका हुन् । गत चैत २५ मा मुख्यमन्त्रीमा एमालेका नेता खगराजअधिकारी नियुक्त भएका छन् । बहुमतसहित मुख्यमन्त्रीमा दाबि गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।  उनको नियुक्तिको विषयमा कांग्रेसले हालेको मुद्दामा सर्वोच्च अदालतले बैशाख १० गते पूर्ण सुनुवाई गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चको अन्तिम फैसलापछि मात्र उनको सरकारको भविष्य तय हुने भएको छ। तर मुख्यमन्त्री अधिकारीले भने सर्वोच्चको सुनुवाई अघि नै विश्वासको मत लिने तयारीमा लागेपछि यसको कांग्रेसले विरोध गर्दै आएको छ । विश्वासको मत लिने गरि बैठक बोलाइएको भएपनि अहिलेसम्म मुख्यमन्त्री अधिकारीले आजको बैठकमा विश्वासको मत लिने बारे प्रदेश सभालाई जानकारी नदिएको बुझिएको छ। अर्को तर्फ नेपाली कांग्रेसले भने प्रदेश सभाको बैठक बोलाइएकोप्रति आपत्ति जनाउदै गैरसंवैधानिक भनेको छ। कांग्रेस र राप्रपाले आजको बैठक बहिष्कार गर्ने तयारी गरेको बताइएको छ ।

इरानले नष्ट गरिदियो इजरायलको ड्रोन

तेहरान ।इरानस्थित इस्फाहानको आकाशमा देखिएका तीनवटा ड्रोनहरू इरानको वायु रक्षा प्रणालीले नष्ट गरिदिएको रोयटर्सले जनाएको छ । इरानको आकाशमा त्यहाँको समय अनुसार १२ः३० बजे ड्रोनहरू देखिएको तर इरानले तुरुन्तै नष्ट गरिदिएको इरानी सरकारी टिभीले जनाएको छ । यसअघि, अर्धआधिकारिक फार्स समाचार एजेन्सीले इस्फाहानको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विस्फोटको आवाज सुनिएको बताएको थियो। इस्फहान प्रान्तमा ठूलो एयर बेस, एक प्रमुख मिसाइल उत्पादन परिसर र धेरै आणविक साइटहरू रहेका छन्।

सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना  : तीनजनाको मृत्यु, ५२ घाइते

चौतारा । सिन्धुपाल्चोकको पिस्कर–५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५, धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उनले बताए । उनका अनुसार, बस भीरमा खसेकाले उद्धारमा केही समस्या भएको छ । रासस

उत्तरी इजरायलमा भुलवस साइरन अलर्ट

काठमाडौं । इजरायली सेनाले उत्तरी इजरायलमा गल्तीबस अलर्ट साइरन सक्रिय बनाएको बताएको छ ।इजरायली आक्रमण लगत्तै उत्तरी इजरायलमा साइरन अलर्ट गरिएको थियो ।

उत्तरी इजरायलमा साइरन अलर्ट

काठमाडौं । इजरायली सेनाले उत्तरी इजरायलमा अलर्ट साइरन सक्रिय बनाएको छ।इजरायली आक्रमणसँगै इरानले पनि आक्रमण गर्न सक्ने भएको कारण नागरिकलाई सुरक्षा सचेतता अपनाउनका लागि साइरन अलर्ट गरिएको हो ।

इरानको आकाशमा विस्फोटको आवाज

काठमाडौं । इरानको सरकारी टिभीले ‘मिनी(ड्रोन’ लाई निशाना बनाएर हवाई प्रतिरक्षाका कारण विस्फोट भएको बताएको छ । इरानका सञ्चारमाध्यमका अनुसार इरानका धेरै क्षेत्रहरूमा अहिले कडा आवाजहरु सुनिएको छ । ती आवाज मिनी ड्रोनहरूको सामना गर्न सक्रिय गरिएको वायु रक्षाको कारण भएको विस्फोट हो । 

इजरायलद्धारा इरानमा मिसाइल प्रहार

काठमाडौं । इजरायलले इरानमा मिसाइल गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । इजरायलको प्रहार लगत्तै इरानको वायु रक्षा प्रणाली सक्रिय पारेको  छ ।इरानी समाचार एजेन्सीहरुका अनुसार इरानले आफ्नो वायु रक्षा प्रणाली प्रायजसो प्रान्तहरूमा सक्रिय बनाएको छ। इरानको इशफान क्षेत्रमा थुप्रै विस्फोटका घटना भएको जनाइएको छ। इरानका विदेशमन्त्री होसेन अमीर अब्दुल्लाहले सीएनएनसँगको एक अन्तर्वार्तामा इजरायलले कुनै सैनिक गतिविधि गरेमा यसको प्रतिक्रिया तत्काल र व्यापक रूपमा पाउने चेतावनी शुक्रबार दिएलगत्तै इरानमा विस्फोटका घटना सुनिएको जनाइएको छ । बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातानाहूले इजरायलले आफ्नै हिसाबले निर्णय लिने बताएका थिए । इरानको राष्ट्रिय टीभीकाअनुसार इरानबाट अरू देशमा जाने केही उडान समेत तत्काल रद्द गरिएका छन् । कम्तीमा आठ उडान इरानी आकाशबाट अन्यत्र मोडिएको जनाइएको छ ।

नेपाली सेनाले माग्यो दुई हजार ६१५ पदमा दरखास्त

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो ।  सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो ।  नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।  जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ । 

नेपाल टेलिकमले माग्यो नवौँदेखि जुनियर टेक्निसियनसम्म आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै टेलिकमले १२९ रिक्त पदमा आवेदन माग गरेको हो ।  नवौँदेखि तेस्रो तहसम्मका लागि आवेदन माग गरिएको छ । उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।  वैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने सूचनामा उल्लेख छ ।     

एसीसी प्रिमियर कप : आज सेमिफाइनलमा यूएई र नेपाल भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईबीच खेल हुँदैछ । समूह ‘ए’को विजेता नेपाल र समूह ‘बी’को उपविजेता यूएईबीच पहिलो सेमिफाइनलमा भिड्न लागेको छ। यूएई र नेपाल पुरानै प्रतिद्वन्द्वी हुन्। यो खेल शुक्रबार(आज) बिहान ११ः४५ मा सुरु हुँदैछ। नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको हो। अघिल्लो शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो। तेस्रो खेलमा हङकङमाथि आठ विकेटको शानदार जित दर्ता गरेको नेपालले अन्तिम खेलमा साउदीलाई ६ विकेटले हराएको थियो । सेमिफाइनलको दोस्रो भिडन्त आयोजक ओमान र हङकङ बिच हुँदैछ। ओमान समूह ‘बी’को विजेता हो भने हङकङ समूह ‘ए’को उपविजेता हो। यो खेल दिउँसो ४ः१५ बजे सुरु हुँदैछ। ओमानले समूह चरणका चारै खेल जितेर अपराजित रहदै समूह ‘बी’को विजेता बनेको भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।