सुरुङ खन्दा पानीको मुहान सुक्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा खानेपानीको मुहान सुकेको छ ।

बयालिस मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माणका क्रममा नारच्याङको कलधारा टुसरेनी भन्ने ठाउँमा रहेको मुहान सुकेको हो । उक्त ठाउँबाट पाइपमार्फत ल्याएको पानी प्रभा मावि, नेपाली सेनाको क्याम्प र पटार गाउँका बासिन्दाले उपभोग गर्दै आएका थिए ।

मुहान सुकेपछि त्यस क्षेत्रमा खानेपानीको चर्को समस्या भएको वडाध्यक्ष चन्द्रप्रसाद फगामीले बताउनुभयो । पटारमा २७ घरधुरीको बसोबास छ । प्रभा माविमा २५० विद्यार्थी अध्ययनरत् छन् भने क्याम्पमा १०० जना भन्दा बढी सेना बस्दै आएका छन् ।

जलविद्युत् आयोजनालाई वैकल्पिक ठाउँबाट खानेपानीको आपूर्ति मिलाउन आग्रह गरिएको वडाध्यक्ष फगामीले बताउनुभयो । आयोजनाका परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले जमिनभित्र सुरुङ खन्दा बाहिर रहेका मुहानमा असर पर्नु स्वाभाविक भएको बताउँदै खानेपानी अभावको समस्या समाधानका लागि वैकल्पिक व्यवस्था मिलाउन लागिएको बताउनुभयो ।

नजिकैको अर्को मुहानबाट पाइपमार्फत पानी ल्याएर आपूर्ति गराउने र आगामी दिनमा यस्तो समस्या आए कसरी समाधान गर्न सकिन्छ भनेर योजनासमेत बनाइएको इञ्जिनियर खड्काले बताउनुभयो ।

रोवस्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको आयोजनाको दुई हजार २८८ मिटर सुरुङमध्ये अब ७०० मिटरमात्र खन्न बाँकी छ । पानीको मुहान सुक्ने र केही समस्या देखिएपछि भूगर्भविद्को टोलीले गरेको अध्ययनको प्रतिवेदनका आधारमा अघि बढ्ने इञ्जिनियर खड्काले बताउनुभयो ।

विद्युतगृह निर्माणमा ७५ प्रतिशत, बाँधमा ३० प्रतिशत र पाइपलाइनमा ४० प्रतिशत काम सकिएको छ । सन् २०१६ को जुलाई १३ देखि शुरु भएको आयोजना निर्माण कार्य २०१९ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । रासस

शनिबार टुँडिखेलमा घोडेजात्रा मनाइँदै

काठमाडौँ । चैत ३ गते शनिबार चैत कृष्ण औंशीका दिन टुँडिखेलमा अश्वकला प्रदर्शन गरेर घोडेजात्रा पर्व मनाइँदै छ । टुन्ड नामक राक्षसले सहरका बालबालिकालाई दुःख दिएपछि तिनै राक्षसलाई घोडाको टापद्वारा कुल्चाएर राख्ने उद्देश्यका साथ टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाइने गरिन्छ । घोडेजात्राका दिनदेखि सागसब्जी, हरियो लसुनलगायतका तरकारी बेस्वादको हुँदै जाने मान्यता छ । पाटनमा एउटा आँखा नदेख्ने घोडालाई हाहाहुहु गर्र्दै बालकुमारीटोलबाट सहरमा धपाएर यो जात्रा मनाउने प्रचलन छ । जनैपूर्णिमाका ब्राह्मण, तीजका महिला, असारका रोपाहार र घोडेजात्रा मनाइरहेका नेवार समुदायसँग यस दिन जिस्कने फुर्सद हुँदैन भनिन्छ । घोडेजात्रा मनाइरहेका नेवार समुदायलाई कता हौ ? भनी ठट्टा गर्दा म जङ्गबहादुर राणाको घोडा किन्न हिँडेको हुँ भनी धक फुकाएर एक जमानामा भन्ने गरिन्थ्यो भन्ने जनश्रुति छ । कसैले नतिर्ने नियतले सापटी लिँदा घोडेजात्राको भोलिपल्ट तिरौँला भनेर टार्ने गर्छन् भनिन्छ । पाटनको घोडालाई ‘ए कानु ए कानु भन्दै हाहा र हुहु’ गर्दै घाँस नभएको ठाउँमा दौडाउने गरिन्थ्यो तर अचेल सडक बाटोतिरै घोडा दौडाउने गरिन्छ । धादिङ छत्रेदेउराली गाउँपालिका वडा नं. २ का शिवहरि लुइँटेलका अनुसार धादिङको गल्छीमा २०७२ सालसम्म घोडेजात्रा मनाउने गरिएको थियो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले त्रिशूलीमा घोडासहित फाल हालेको संस्मरणमा यो जात्रा त्यहाँ हुने गरेको थियो । उनका अनुसार थानकोटको झ्यालटुङ्पाटीमा पनि पोखरीमा कानु घोडा कुँदाएर यो जात्रा गत २०६८ सालसम्म मनाइने गरिएकोमा यो जात्रा अचेल हुन छाडेको छ । उपत्यकाका तलेजु भवानीका बाहनका रूपमा राखिएका घोडालाई भने जात्रा लाग्दैन । हनुमानढोका दरबार हेरचाह अड्डाका मिठाराम पुडासैनीका अनुसार यी घोडा देवता स्वरूपका भएकाले जात्रा लाग्दैन । यसै दिन टुँडिखेलको चार कुनामा रहेका राणा प्रधानमन्त्री घोडा सवार भएको सालिक अवलोकनसमेत गरिन्छ । यसैदिन सिंहदरबार पश्चिमद्वारतर्फ फर्किएको भद्रकालीमा रहेको मोहनशमशेरको सालिकलाई माल्यार्पणसमेत गर्ने गरिन्छ । घोडेजात्राका दिन जुद्ध वारुण यन्त्र कार्यालय अगाडि रहेको अश्विनीकुमारको पीठमा रिसल्लासहित आएको नेपाली सेनाको क्याभलरि युनिटले एकाबिहानै बोका बलि दिएपछि टुँडिखेलमा घोडेजात्रा सुरु हुन्छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले फेरि ढॉट्यो

कैलाली । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले फेरि यहॉका नागरिकलाई ढॉटेको छ । पटक–पटक मिति तोक्दै जिल्लालाई खुला दिसामुक्त जिल्ला गर्छौं भनेर ढॉट्दै आएको कार्यालयले यसपटक पनि ढाँटेको हो । एक महिनाअघि डिभिजन कार्यालयले फागुनभित्र कैलाली खुला दिसामुक्त हुन्छ भनेर दाबी गरेको थियो । तर, अहिलेको संकेतले चैत महिनामा पनि जिल्ला खुला दिसामुक्त नहुने पक्कापक्की भएको छ । डिभिजनको ढिला सुस्तीका कारण खुला दिसामुक्त गर्ने कार्य पटकपटक सर्दै गएको छ । कार्यालयले सन् २०१७ मै खुला दिसामुक्त गरिसक्ने दाबी गरेको थियो । उक्त मितिमा पनि लक्ष्य पूरा नभएपछि डिभिजन कार्यालयले खुला दिसामुक्त घोषणा हुने भन्दै पटकपटक आश्वासन दिदैं आएको छ । सो कार्यालयले अन्तिम पटक फागुनमा खुला दिसामुक्त हुन्छ भनेर दाबी गरेको थियो । तर, फागुनमा पनि खुला दिसामुक्त हुन सकेन । अझै पनि फेरि डिभिजन प्रमुख नायरायणप्रसाद काफ्लेले चैत महिनाको पहिलो साताभित्रै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अर्को दाबी गरे । उनले अनूमतिका लागि क्षेत्रीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वयलाई पत्र पठाएको लामोसमय हुँदा पनि कुनै प्रतिक्रिया नआएकाले खुला दिसामुक्त घोषणा गर्न ढिलार्इ भएको बताए । हरेक वर्ष खुलादिसा मुक्त अभियानका नाममा लाखौं खर्च भइरहेको छ । गतवर्ष ४० लाख रुपैयाँ र चालू आर्थिक वर्ष २०७४-०७५ मा ४५ लाख रुपैयाँ खर्च भइरहेको डिभिजन कार्यालयका इन्जिनियर दलबहादुर शाहले जानकारी दिए । खुला दिसामुक्त अभियानका नाममा लाखौं रुपैयाँ खर्च भएपनि त्यस अनुसारको कार्य भने भएको छैन । डिभिजन कार्यालयले जिल्लाका अधिकांश स्थानीय तह खुला दिसामुक्त गरेको छ । खुला दिसामुक्त गरिएका ठाउ“मध्ये केही ठाउँमा जथाभावी दिसापिसाब भइरहेका दृश्य देखिन्छन् । अधिकांश स्थानीय तह हचुवाको भरमा खुला दिसामुक्त घोषणा गरिएका छन् । साथै, समग्र जिल्लालाई समयमै खुला दिसामुक्त घोषणा गर्न नसक्दा खानेपानी तथा सरसफाइ डिभीजन कार्यालयको कार्य शैलीप्रति पश्न उठेको छ । प्रदेश ७ का नौं मध्ये सात जिल्ला खुला दिसामुक्त घोषणा भइसकेका छन् । पहाडका अधिकांश जिल्ला खुला दिसामुक्त भएपनि सम्बन्धित निकायको ढिलासुस्तीका कारण कैलाली भने पछाडि परेको जिल्लाबासीको आरोप छ।  

पूर्वमन्त्री डा. महतलाई बोतल हान्ने पक्राउ

नुवाकोट, चैत २ । पूर्व अर्थमन्त्री डा. रामशरण महतमाथि बोतल प्रहार गरी दुर्व्यबहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । शिलान्यास समारोह चलिरहेको समयमा अकस्मात महतलाई पानीले भरिएको बोतल प्रहार गरेर गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई लगत्तै नियन्त्रणमा लिइएको प्रहरी प्रमुख कुँवरले जानकारी दिए । साँझ ६ बजेतिर भएको घटनामा संलग्न रहेका खड्कालाई प्रहरीले पक्राउ गरी राति नै जिल्ला प्रहरी कार्यालय विदुरमा ल्याएको छ । उनलाई जिल्ला प्रशासन कार्यालयमार्फत म्याद थप गरी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

भारतको बाटो गरी कुवेत जान लागेका दुई महिलाको उद्धार

झापा, चैत २ । भारतको दिल्लीबाट कुवेत जान लागेकी दुई नेपाली महिलाको भारतीय एसएसबीले उद्धार गरेको छ। ती दुई महिलालाई ४१ बटालियन एसएसबी कम्पनीको टोलीले भारतको पानीट्यांकीबाट उद्धार गरेको हो। झापाको पूर्वी काकँडभिट्टा नाकाबाट भारत गएका ती महिला पानीट्यांकी पुगी बस चढेर सिलगुढीतर्फ जान लागेका थिए। एसएसबीका असिस्टेण्ड कमाण्डर रानीसहितको नेतृत्वको टोलीले ती महिलालाई बसबाट उद्धार गरेको जनाइएको छ। ती महिलाले सिलगुढीको एनजीपीबाट रेल चढेर दिल्ली पुगी कुवेत जान लागेको बताएका थिए। उद्धार गरिएका दुई महिलालाई इलाका प्रहरी कार्यालय काकँडभिट्टालाई जिम्मा लगाएको एसएसबीले जनाएको छ। यसैगरी भद्रपुर नाकाबाट तीन महिलालाई भारत लैजाने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भद्रपुरबाट गलगलिया नाकाबाट भारततर्फ लैजान लागेका भद्रपुर नगरपालिका–१० का ४५ वर्षीय लीला भट्टराई र बुद्धशान्ति गाउँपालिका–३ का ४५ वर्षीय मिङ्मा शेर्पा पक्राउ परेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसंन्धान अघि बढाएको र उद्धार गरिएका महिला परिवारलाई जिम्मा लगाइसकेको उनले बताए।

‘इन्धन चोर्न’ नपाउँदा ट्यांकरचालक हडतालमा !

काठमाडौं, चैत २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण प्रयास सुरु गरेपछि त्यसलाई असफ बनाउन ट्यांकरचालक हडतालमा उत्रिएका छन् । बीच बाटोमा हुने चुहावट नियन्त्रण गर्न निमगले बुधबारदेखि सेक्युरिटी लकिङ सिस्टम प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको विरोधी गर्दै पुर्वका ट्यांकरचालक बिहीबारदेखि पेट्रोलिम पदार्थ ढुवानी रोकेर हड्तालमा उत्रिएका हुन् ।, आजकोनागरिकमा यो खबर छ ।

वाडादेखि प्रधानमन्त्री कार्यालयसम्मको संरचना फेरिँदै

काठमाडौं, चैत २ । कर्मचारी समोजन नियमावली पास गरेसँगै सरकारले स्थानीय तहमा वडा कार्यालयदेखि संघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्मको संरचना स्थायीरुपमै फेरबदल गर्ने तयारी अघि बढाएको छ । स्थायीरुपमा संगठन तथा व्यवस्थापन ओएनएम सर्भेको काम टु्ग्गाउँन मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय का मुख्यसचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा सचिवहरुको दिनहुँजसो बैठक बस्ने गरेको छ । सकेसम्म चाँडै ओएनएमको काम टुग्यांउँने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

‘आजाद भिसा’ का नाममा तस्करी: कतारमा ४० नेपाली अलपत्र

काठमाडौं, चैत २ ।चाहेजस्तो काम र तलब पाइने भन्दै संगठित दलालले ‘आजाद भिसा’ मार्फत कतार पुर्‍याएका ४० नेपाली कामदार बिचल्लीमा परेका छन् । म्यानपावर र कतारका साना कम्पनीसँग समन्वय गरी दलालले आजाद भिसाका नाममा ४० नेपाली कामदारसँग झन्डै ७० लाखभन्दा बढी ठगी गरेका छन् । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ । पीडित कामदारका अनुसार मिडल अर्विट ओभरसिज, शुभम् ओभरसिज, ब्लुमुन ओभरसिज म्यानपावरले आजाद भिसाका नाममा कामदार पठाई ठगी गरेका हुन् । अलपत्र परेका कामदार कतारको बक्रा, सनैया र साँहनिया क्षेत्रमा खान पनि नपाउने अवस्थामा छन् । ती म्यानपावरले प्रतिकामदार १ लाख ८० हजारदेखि २ लाख ३५ हजार रुपैयाँसम्म ठगी गरेका हुन् । म्यानपावरले कतारस्थित ताज ट्रेडिङ कन्स्ट्रक्टिङ, प्रोजेक्ट सपोर्ट ट्रेड्रिङ, कोमिला कन्स्ट्रक्सन, क्युप्लस ट्रेडिङ र फोल्रा ट्रेडिङ कम्पनीको स्पोन्सरमा पठाएका थिए । कतारस्थित नेपाली दूतावासका अनुसार यी कामदारको भिसा संखुवासभाका आशिष दाहाल र चितवनका कृष्णबहादुर लामालगायतले निकालेका हुन् । के हो ‘आजाद भिसा’ ? कतारी श्रम मन्त्रालयका अनुसार ‘आजाद भिसा’ भन्ने कुनै भिसा नै छैन । कतारमा कामदारका लागि दुई प्रकृतिको व्यक्तिगत (घरेलु कामदार) र संस्थागत (कम्पनी) को मात्रै भिसा हुन्छ । कम्पनीको स्पोन्सरसिपमा निस्कने भिसालाई नै दलालले आफूअनुकूल ‘आजाद भिसा’ को नाम दिने गरेका छन् । दलालले यो भिसामा जानेले स्वतन्त्र भएर इच्छाअनुसार काम गर्न र मनग्य पैसा पाइने भन्दै कामदारलाई प्रलोभन दिई पैसा असुल गर्ने गर्छन् । यस्तो नामका भिसाको कारोबार गर्नेलाई कतार सरकारले मानव तस्करीविरुद्ध अपराधमा मुद्दा चलाउने गरेको छ । पीडित कामदार न्यायका लागि कतारी निकायमा प्रमाणसहित नपुग्दा ती संगठित दलालले फाइदा उठाइरहेका छन् । यही भिसामा जाने भन्दै सर्लाहीका चन्द्रबहादुर भण्डारीले मिडल अर्विट म्यानपावरका सञ्चालकलाई २ लाख ३५ हजार रुपैयाँ बुझाएका थिए । यही भिसामा पुगेका तेह्रथुमका सुमन भण्डारीले भने, ‘१७ सय रियालको काम सजिलो काम पाइन्छ भनेर म्यानपावरले पठाएको थियो । दुई महिना भइसक्यो कामै पाएको छैन ।’ गुमराहमा श्रम स्वीकृति कामदार पठाउन मिडल अर्विट ओभरसिज, शुभम् ओभरसिज, ब्लुमुन ओभरसिज म्यानपावरले वैदेशिक रोजगार विभागबाट सबै प्रक्रिया पूरा गरेर श्रम स्वीकृति निकालेका हुन् । वैदेशिक रोजगार ऐनका अनुसार जुन कम्पनीका लागि श्रम स्वीकृति निकालेको हो, त्यही कम्पनीमा काम गराउनुपर्छ । तर, यी म्यानपावरले त्रिभुवन विमानस्थल कटाउनका लागि श्रम स्वीकृति निकालेका हुन् । ‘हामीलाई कतार पुगेपछि अर्को कम्पनीमा सुरक्षा गार्डको काम दिलाउँछु, त्यसका लागि आशिष दाहालले काम खोजिदिन्छ भनेर पठाएको थियो,’ १ लाख ८० हजार रुपैयाँ बुझाएर कतार पुगेका रसुवाका धर्मसिंह गुरुङले भने, ‘यता आइसकेपछि थाहा पाउँदा त अर्कै रहेछ ।’ राम्रो काम र तलब पाइन्छ भनेर नै आजाद भिसामा आएको पीडित सहदेव गौतमले बताए । ‘खोजी खोजी मन लागेको काम गर्न पाइन्छ भनिएको थियो,’ उनले भने, ‘यता आएपछि थाहा भयो, आजाद भन्ने केही हुँदैन रहेछ । कम्पनीकै भिसा रहेछ । त्यो कम्पनीले अर्कोमा जान अनुमति नदिएसम्म कतै जान नपाइनेरहेछ ।’ पीडितहरूको सम्पर्कमा ती दलाल छैनन् । पीडितसँग समन्वय गरिरहेका बीबी खरालले विभाग र कामदारलाई झुक्काउने म्यानपावरलाई कारबाही गर्नुपर्ने बताए ।

स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीको संख्या १० हजार पुग्याे

काठमाडौं, चैत २ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको जनाएको छ । गत फागुन १३ गतेदेखि अवकाश दिनका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको मन्त्रालयको स्वेच्छिक अवकाश इकाइ शाखाका प्रमुख धर्मराज रोकायाले बताए । जिल्लाबाट विवरण पठाउनुपर्ने भएकाले विवरण संकलनमा समय लागेको उनको भनाइ थियो । प्रमुख रोकायाका अनुसार संकलित विवरणलाई अहिले पहिलेको सक्कल विवरणसँग रुजु गर्ने कार्य भइरहेको छ । उनले इकाइ शाखामा पाँच कर्मचारी भएकाले धेरैको संख्यामा आएको विवरणलाई रुजु गर्न करिब तीन महिना लाग्ने बताए । सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीलाई गत पुस २९ देखि फागुन १३ गतेसम्म स्वेच्छिक अवकाशका लागि निवेदन दिन आग्रह गरेको थियो । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला तथा संघीय संसद् सचिवालयका सचिवद्वय हिमनाथ सुवेदी र वीरेन्द्र कार्की गरी चार सचिवसहित नौ हजार ६५६ कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएको मन्त्रालयका उपसचिव रोकायाले बताए । सरकारले निजामतीसहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाशको योजना ल्याएको हो । मन्त्रालयले ५० वर्ष उमेर पुगेका र बीसवर्षे सेवाअवधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरेको थियो ।

गुण्डा नाईके गणेश लामालाई दश दिन थुनामा राख्न अनुमति

काठमाडौं, चैत २ । गुण्डा नाईके गणेश लामालाई दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको छ । बुधबार राती गौशालास्थित पशुपति भिजनबाट एकथान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका लामालाई दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिए । नेपाली कांग्रेसबाट प्रदेशसभातर्फ काभ्रेबाट चुनाब लडेका लामा पशुपति भिजन स्थित इन्द्रणी क्लबमा जिम गरेर फर्कने क्रममा हतियारसहित पक्राउ परेका थिए । पशुपति भिजनमा गोली चलेको आवाज आएपछि नजिकै जात्राको सुरक्षार्थ खटिएका एक प्रहरी जवानले लामालाई नियन्त्रणमा लिएका थिए । प्रहरी जवानले उनकै साथबाट हतियार फेला परेको भनेपनि लामाले उक्त पेस्तोल आफ्नो नभएको दाबी गरेका छन् । आफुलाई कसैले प्रहार गरेको हतियार खोसेर प्रहरीलाई दिने क्रममा प्रहरीले जबर्जस्त आफैंबाट बरामद गरेको घट्नास्थल मुचुल्का तयार गरेको भन्दै लामाले बरामदी मुचुल्कामा समेत हस्ताक्षर गरेका छैनन् । काठमाडौं प्रहरी प्रवक्ता मोहन थापाका अनुसार सिसिटीभी फुटेजमा लामाकै हातबाट प्रहरीले हतियार बरामद गरेको देखिएको छ । लामा निकट स्रोतका अनुसार इन्द्रेणी क्लबको लकरमा उनले लामो समयदेखि लुकाएर राखेको उक्त अत्याधुनिक पेस्तोल बुधवार साँझ कसैले निहुँ खोजेपछि निकालेर फायर गरेका थिए । लामाले हवाई फायर गर्दै अर्को एक युवालाई लखेट्ने क्रममा प्रहरीले उनको पेस्तोल बरामद गरेको बताईएको छ ।

त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा बिदा

काठमाडौं, चैत १ । त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्द शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ । उहाँको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि गए राति ७५ वर्षका उमेरमा निधन भएको हो । विसं २०५९ मा उपकुलपति हुनुभएका डा शर्माको शव आज काठमाडौँ ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरिएपछि शुक्रबारका लागि बिदा दिइएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वघोषित परीक्षाका कार्यक्रम भने यथावत् रहनेछ ।

आचार्यको ‘खिचडी’ सार्वजनिक

काठमाडौं, चैत १ । पूर्व प्रशासक मदनदेव आचार्यद्वारा लिखित ‘खिचडी’ पुस्तक बिहीबार सार्वजनिक गरिएको छ । पुस्तकमा प्रशासन, राजदरबार, कोइराला परिवार, इन्दिरा गान्धि, अमेरिका, व्यापार, बेलायती महारानी एलिजाबेथ, जापानी राजकुमार अकिहितो, सिनेमा, अस्पताल, अदालत, दूताबास, र परराष्ट्र सम्बन्धी ३२ विषय समेटिएका छन् । पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा लेखक आचार्य, पत्रकार टंक पन्त, घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले संयुक्तरुपमा विमोचन गर्नुभयो । सो अवसरमा पत्रकार पन्तले पुस्तकमा राजनीति र प्रशासन क्षेत्रमा अपारदर्शी विषयका बारेमा प्रकाश पारिएको जानकारी दिनुभयो । घोष्ट राइटिङ नेपालका अध्यक्ष ढकालले पुस्तक पठनीय भएको बताउनुभयो । घोष्टराइटिङ नेपालद्वारा प्रकाशित उक्त पुस्तक ३३४ पृष्ठको छ भने मूल्य रु ३७५ रहेको छ । संस्थाले हालसम्म १५० थरीका पुस्तक प्रकाशन गरीसकेको छ ।

वडाध्यक्षमाथि आक्रमण

खोटाङ, चैत १ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ । गएराति घर फर्कंदै गरेको अवस्थामा उहाँ आक्रमणमा पर्नुभएको हो । आक्रमणपछि भाग्नुभएका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन । आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत रहेको खुलेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको उहाँले बताउनुभयो । घटनास्थलमा वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको छ ।

पहिरोले पुरिएर इन्जिनियरसहित दुई जनाको मृत्यु

रामेछाप, चैत्र १ । रामेछापको गोकुलगंगा गाउँपालिका –१, मूलडाँडामा सडक सर्वे गर्ने क्रममा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही मलगंवा नगरपालिकाका २४ वर्षीय इन्जिनियर शैलेन्द्र यादव र हेल्पर सिन्धुली मेलम्ची नगरपालिका वडा नं ११ का २५ वर्षीय राजु दुलाल रहेका छन । मूलडाँडामा सडक सर्वे गर्ने क्रममा ढिस्कोले पुरिएर दुवै जनाको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लिखु जलविद्युत परियोजना अन्तर्गत गोकुलगंगाको चुचेरवाट वाम्ती हुँदै सडक निमार्ण भइरहेको छ ।

नयाँदिल्लीबाट काठमाडौं गइरहेको बसको ठक्करबाट महेन्द्रनगरमा १ जनाको मृत्यु

महेन्द्रनगर। भारतको नयाँदिल्लीबाट काठमाडौंतिर गइरहेको बसको ठक्करबाट महेन्द्रनगरमा १ जनाको मृत्यु भएको छ । काठमाडौंतिर गइरहेको मञ्जुश्री यातायातको बा४ख २३८९ नम्बर बसको ठक्करबाट दार्चुलाको महाकाली नगपालिका–३ घर भई हाल भीमदत्त नगरपालिका–५ वनखेत बस्ने वीरसिंह महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । उनका अनुसार मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । बस र बस चालक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेका छन् ।

आजदेखि प्रदूषण कम गर्न २० वर्षे पुराना सवारीसाधनमा रोक

काठमाडौँ । बिहीबार चैत १ देखि सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधन चलाउन रोक लगाइएको छ । सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन बन्द गर्ने सरकारी निर्णय प्रभावकारी कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले बिहीबारबाट देशैभर अनुगमन टोली परिचालन गरेको छ । विभागका अनुसार देशभर २७ वटा समूह निर्माण गरी अनुगमन थालिएको छ । बिहीबार काठमाडौँमा बिहान ९ बजेदेखि र काठमाडौँ बाहिर बिहान ७ बजेदेखि अनुगमन गरिने छ । २० वर्ष पुराना सवारीसाधन चलाएको पाइएमा तत्काल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइने विभागका महानिर्देशन रूपनारायण भट्टराईले जानकारी दिए । महानिर्देशक भट्टराईले भन्नुभयो, २० वर्ष पुराना गाडी चलाएको पाइएमा तत्काल गाडी नियन्त्रणमा लिइन्छ, सवारीधनीलाई करचुक्ता गर्न लगाइन्छ र सो गाडीलाई पत्रु बनाइन्छ, पुनः प्रयोग गर्न नमिल्ने बनाइन्छ । अनुगमनका लागि विभागले आफ्ना कर्मचारी सहित ट्राफिक प्रहरी र मिडियालाई अनुगमन समूहमा राखेको छ । तर यातायात व्यवसायीले भने सरकारी निर्णय मान्य नहुने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बुधबार केन्द्रीय समितिको बैठकमा २० वर्ष पुराना गाडी चलाउन व्यवसायीलाई निर्देशन दिएको छ । चल्न नसक्ने सवारीसाधनलाई आफूहरू हटाउन तयार रहेको तर एकतर्फी सरकारी निर्णय मान्य नहुने महासङ्घले जनाएको छ । महासंघका महासचिव सरोज सिटौलाले भने, काम नलाग्ने गाडी हामी हटाउँछौँ तर वर्ष तोकिनु भएन कुनै गाडी १० वर्षमै काम नलाग्ने हुन्छ, कुनै गाडी २०–३० वर्ष चल्छ त्यसकारणले यो मापदण्ड वैज्ञानिक र व्यवहारिक भएन । सवारीसाधनको चेकजाँच वैज्ञानिक तरिकाले गरेर गाडीको अवस्था हेरेर मात्र हटाउनुपर्ने महासचिव सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, केन्द्रीय कमिटिको बैठकबाट निर्णय गरेर हामी गाडी चलाउन निर्देशन दिइसक्यौँ, हामीसँग सल्लाह नै नगरी निर्णय गरियो एकतर्फी निर्णय हामी मान्दैनौँ । २०७३ फागुनदेखि काठमाडौँबाट हटाइएका २० वर्ष पुराना सवारीसाधन उपत्यका बाहिरका रुटमा सञ्चालन भएपछि विभागले देशभर रोक लगाउने भएको हो । चैतमा २० वर्ष पुगेका गाडीलाई विभागले कुनै पनि रुटमा चल्ने इजजात रोक्नेछ । पुराना सवारीको नामसारी रोकिने र बिक्री वितरणमा पनि प्रतिवन्ध लगाइने विभागले जनाएको छ । महानिर्देशक भट्टराईले भन्नुभयो, २० वर्ष पुराना गाडी कुनै पनि हालतमा चल्न दिँदैनौ, यसले दुर्घटना र वातावरणमा ठूलो असर गरेको छ, सामान्यता नेपालको सन्दर्भमा गाडीको आयु २० वर्ष हुने गरेको छ । २० वर्ष पुगेको सार्वजनिक सवारीसाधन हटाउँदा व्यवसायीलाई कुनै असर नगर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, सार्वजनिक सवारीको हकमा सिधा हिसाब गर्दा पनि १२ वर्षको अवधिमा लगानी उठिसकेको हुन्छ, बाँकी आठ वर्ष त नाफा कमाइसकेको हुन्छ, यसमा व्यवसायी नमान्नु पर्ने कुनै कारण छैन नमाने कारबाही गर्छौँ । देशभर झण्डै १० हजारको सङ्ख्यामा २० वर्ष पुराना सवारीसाधन रहेको विभागले जनाएको छ । हाल विभागले नयाँ सवारीसाधन दर्ता गर्दा पनि २० वर्ष आयु तोक्नेगरेको छ । पुराना गाडीले यात्रु बोक्न निकै जोखिम हुने र वातावरण प्रदूषण पनि हुने हुँदा निषेध गरिएको हो । साथै सहरी सुन्दरतालाई पनि ध्यानमा राखिएको विभागले जनाएको छ । पुराना गाडी नियन्त्रण नगर्दा मर्मतसम्भार गरेर चलाउने गरेको र दुर्घटना हुने विभागको दाबी छ । गाेरखापत्रबाट साभार