झापाबाट सामूहिक आँखा दान राष्ट्रिय अभियान शुरू

बिर्तामोड, चैत ३ । अप्टीमिष्ट क्लव अफको आयोजनामा सामूहिक आँखा दान राष्ट्रिय अभियान झापाबाट शुरु गरिने भएको छ ।

आँखा जीवन हो भन्ने भनाईलाई आत्मसाथ गर्दै एक जनाको आँखाको नानी दानले दुईजना दृष्टिविहीनले उज्यालो संसार देख्न सक्ने भएकोले झापामा पहिलोपटक कार्यक्रम ल्याइएको अप्टीमिष्ट क्लव अफ झापाका अध्यक्ष खगेन्द्र ओलीले जानकारी दिए ।

आगामी चैत २४ गते झापाको बिर्तामोडमा अभियानको उद्घाटन गरिने बताउँदै अध्यक्ष ओलीले उक्त अभियानलाई सार्थक बनाउन सबैलाई आग्रह समेत गरे । मृत शरीरको आँखामात्र कसैका लागि उपयोगी हुनसक्ने भएको र आँखा दान जस्तो सार्थक दान अरु केही हुन नसक्ने भएको बताउँदै अध्यक्ष ओलीले मरणोपरान्त दान गरिएको उक्त आँखा दृष्टिविहीनलाई प्रत्यारोपण गरिने जानकारी दिए ।

मेची आँखा अस्पताल अनारमनीको प्राविधिक सहयोगमा हुने उक्त कार्यक्रम झापामै पहिलोपटक गरिन लागिएको उनले बताए । आगामी चैत २४ गते बिर्तामोडमा औपचारिक कार्यक्रममार्फत शुरु गरिने उक्त अभियान देशैभर सञ्चालन गरिने उनले बताए ।

मानवको शरीरको महत्वपूर्ण अंगमध्ये आँखा पनि एक भएकोले उज्यालो संसार नदेख्नेहरुलाई उज्यालो संसार देखाउने आफूहरुको कर्तव्य भएकोले उक्त कार्यक्रमको आयोजना गरिएको बताउँदै अध्यक्ष ओलीले आँखा दान गर्नुभन्दा अगाडि आँखा इच्छापत्र फारम भर्नुपर्ने र जसका लागि परिवारको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था भएको समेत जानकारी दिए । उनले अभियानलाई सफल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको जानकारी दिए ।

संस्थाका उपाध्यक्ष निरज ढुंगेलको संयोजकत्वमा आर्थिक उपसमिति, मुकुन्द दाहालको संयोजकत्वमा आँखा दानको इच्छापत्र संकलन उपसमिति राम काफ्लेको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, दिपक मिश्रको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको जानकारी दिए ।

संस्थाले गरीब तथा विपन्न समुदायका निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गराउने बताउँदै संस्थाका अध्यक्ष ओलीले प्रत्येक वर्ष १२ जनाको संस्थाको सम्पूर्ण खर्चमा निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिने जानकारी दिए ।

एक वर्षअघि काठमाडौंमा स्थापना भएको अप्टिमिस्ट नेपाल अन्तर्गत गत माघ १८ गते अप्टिमिस्ट क्लव अफ झापा गठन गरिएको बताउँदै अध्यक्ष ओलीले रक्तदान गरेर संस्थाको औपचारिक शुभारम्भ गरिएको जानकारी दिए ।

खगेन्द्र ओलीको अध्यक्षतामा गठन भएको संस्थाको उपाध्यक्ष निरल ढुंगेल, सचिव राम काफ्ले, सहसचिव राजन नेपाल, कोषाध्यक्ष युवराज मैनाली रहेका छन् । त्यस्तै सदस्यहरुमा माधव लम्साल, गोविन्द सेलवाल, हेमराज श्रेष्ठ, सागर सेलवाल रहेका छन् ।

संस्थाको मुख्य कार्यालय अमेरिकाको सेन्ट लुइसमा रहेको र नेपालमा काठमाडौं, झापा, विराटनगर, लुम्बिनी र पोखरामा कार्यालय रहेको बताइएको छ ।

राेल्पामा पनि बालविवाह न्यूनीकरण अभियान

रोल्पा, चैत ३ । जिल्लामा बढ्दै गएको बालविवाह न्यूनीकरण गर्ने भन्दै रोल्पाका सरोकारवाला चेतनामूलक कार्यक्रममा जुटेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाको अगुवाइमा जिल्लाका अन्य सरकारी तथा गैरसरकारी निकायको सहभागितामा समुदायमा आधारित सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ । जिल्लाका सबै गाउँपालिकामा बालविवाह न्यूनीकरणका लागि सडक नाटक, अन्तक्र्रिया, पोष्टरिङ तथा घरदैलो भेटघाटका माध्यमबाट त्यस्ता कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्लाको माडी, सुवर्णावती, लुंग्री गाउँपालिका र रोल्पा नगरपालिकामा सो कार्यक्रम सञ्चालन गरिसकेको प्रहरीले बाँकी गाउँपालिकामा समेत कार्यक्रम सञ्चालन गर्ने बताएको छ । जिल्लामा हत्या, हिंसा, चोरी डकैतीजस्ता जघन्य अपराध नदेखिए पनि घरेलु हिंसा र जातीय विभेद ब्याप्त रहेको हुँदा यस्ता कुसंस्कारको न्यूनीकरणका लागि आफूहरु लागि परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले बताउनुभयो । प्रहरी कलाकारद्वारा नै सडक नाटकका माध्यमबाट यस्ता विकृति न्यूनीकरणका अभियान सञ्चालन गरेका छौ फुयालले भन्नुभयो । सामाजिक चेतनाको स्तर निकै पछि रहेका कारण देशका अन्य जिल्लाको तुलनामा रोल्पामा यस्ता समस्या देखिएको उहाँले बताउनुभयो । बालविवाह न्यूनीकरणका लागि आफूहरुले पनि पटकपटक अभियान चालेको भए पनि सार्थकता पाउन नसके पनि प्रहरीको अभियानले यसलाई थप सहयोग गर्ने लुग्री गाउँपालिकाका अध्यक्ष दुर्गा खड्काले विश्वास व्यक्त गर्नुभयो । विद्यालयस्तरीय कार्यक्रमका माध्यमबाट सामाजिक विकृति अन्त्य गर्न मद्दत पुग्ने खड्काको भनाइ छ । बालविवाहकै कारण जिल्लामा सम्बन्धबिच्छेद गर्नेको संख्यासमेत थपिँदै जाँदा पारिवारिक बिग्रह बढ्दै गएको खड्काले बताउनुभयो । जिल्लामा किशोरी शिक्षाका माध्यमबाट बालविवाह न्यूनीकरणको अभियान पनि सञ्चालन हुँदै आएको किशोरी शिक्षा सहजकर्ता तीर्था आचार्यले बताउनुभयो । प्रहरी, विभिन्न संघ संस्था र अभियन्ताको साझा प्रयासले बालविवाह न्यूनीकरण हुँदै गएको आचार्यले बताउनुभयो ।

प्रलेस परिसंवाद सम्पन्न

काठमाडौँ, चैत्र २ । प्रगतिशील लेखक संघ केन्द्रीय समितिद्वारा हरेक महिनाको पहिलो शुक्रवार संचालन गरिने ‘प्रेलेस परिसंवाद’को तेह्रौं शृंखलामा अन्तर्गत ‘नेपाली गजलमा प्रगतिवाद’ विषयमा परिचर्चा सम्पन्न्न गरेको छ । नेपाली गजलमा विद्यावारिधि गरेका डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले गजल साहित्यको ऐतिहासिक परम्परा, नेपाली गजलको इतिहास, र नेपाली गजलमा प्रगतिवादको प्रारम्भ, विकास एवं मूल स्रस्टा तथा तिनका मूल प्रवृत्तिको बारेमा आफ्ना दृष्टिकोण प्रस्तुत गरेका थिए । सो परिचर्चामा डा. विन्दु शर्मा, डा. भागवत ढकाल, भुवन निस्तेज, विष्णु थिङ्, आर. एम. डङ्गोल, नारायण निरासी आदिले विमर्शमा भाग लिएका थिए । प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोख्रेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन प्रलेस केन्द्रीय महासचिव आर. एम. डङ्गोलले संचालन गर्नका साथै केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक डा. पुस्करराज भट्टले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रलेस केन्द्रीय उपाध्यक्ष खेम थपलिया,  का. वा. कोषाध्यक्ष कृष्णहरि भट्ट, केन्द्रीय सदस्य गोपीरमण उपाध्याय, राष्ट्रिय परिषद सदस्य पुण्य घिमिरे लगायत तीस बढी स्रस्टाहरूको उपस्थिति रहेको थियो ।

राष्ट्रियसभालाई सहमतिको थलो बनाउँछुः अध्यक्ष

काठमाडौं, चैत २ । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई मर्यादित, एकताबद्ध र सहमतिको थलो बनाउन हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले भन्नुभयो, “मेरा सबै गतिविधि सहमतिका आधारमा अघि बढ्नेछन् । मुलुकको समृद्धि र जनताको अपेक्षा पूरा गर्ने सवालमा सबै एक भएर अघि बढ्नेछौं ।” बौद्धिक समुदायको प्रतिनिधित्व रहने सदनका रुपमा रहेको राष्ट्रियसभाको अपरिहार्यतालाई प्रमाणित गर्न सबैको सहयोग आवश्यक रहेको बताउँदै तिमिल्सिनाले आफू सबै राजनीतिक दलको सहमति र समर्थनमा निर्वाचित भएकामा सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो । मन कुँडिने व्यवहार नहोस्ः प्रतिपक्ष प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभालाई सहमतिका आधारमा अघि बढाउने सन्दर्भमा अध्यक्ष आफ्नो पार्टीका सहयोगमा निर्विरोध निर्वाचित भएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभा दलीय आधारमा होइन सहमतिका आधारमा अघि बढ्न सकोस् । सबै समस्याको गाँठो फुकाउन सक्ने समाधानको थलो बन्न सकोस् । संसद्ले अनास्था गरेका कारण विद्रोहको आवाज उठ्न नपरोस्, यो सदन सहमतिका थलो बन्न सकेमा राजनीति सहज रुपमा अघि बढ्नेछ । प्रतिपक्षको मन कुँडिने व्यवहार कहीँकतैबाट नआओस् ।” सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले नयाँ युगको गन्तव्य यही सदनबाट भएको सन्देश प्रवाह गर्न सक्नुपर्ने बताउँदै मुलुकको विविधतालाई सामाजिक एकतामा सुदृढ तुल्याउने कामलाई ऐन कानून निर्माण गरेर जिम्मेवारी पूरा गर्नुपर्छ भन्नुभयो । एमालेकै दिलकुमारी रावलले जनताको अपेक्षानुसार नै जनताले सम्मानपूर्वक बाँच्न पाउने न्यायपूर्ण कानून बनाउन अध्यक्ष अभिभावक बन्न सक्नुहोस् भनी शुभकामना दिनुभयो । नेकपा ९माओवादी केन्द्र०का कालीबहादुर मल्लले स्थानीय र प्रदेशसभालाई सो सदनसँग जोडेर लैजान आवश्यक रहेको बताउँदै समृद्धिको आन्दोलन राष्ट्रियसभामार्फत अघि बढ्न सकोस् भन्नुभयो । राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठकमा नवनिर्वाचित अध्यक्षलाई दलीय आधारमा सदस्यबाट बधाई तथा शुभकामना दिने कार्यसूची थियो । अध्यक्ष तिमिल्सिना गत फागुन ३० गते माथिल्लो सदनका रुपमा राष्ट्रियसभामा सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित हुनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही चैत ४ गते अपराह्न १ बजे बस्नेछ ।

शपथग्रहणकाे रिपोर्टिङका लागि गएका पत्रकारलाई राष्ट्रपति कार्यालयमा प्रवेश निषेध

काठमाडौं, चैत्र २ । नवनियुक्त मन्त्रीहको शपथ ग्रहण कार्यक्रमको रिपोर्टिङका लागि शीतल निवास पुगेको पत्रकारहरुलाई राष्ट्रिपति कार्यालयले प्रवेशमा रोक लगाएको छ । रिपोर्टिङका लागि शीतल निवास पुगेका पत्रकारहरु राष्ट्रपति कार्यालयको गेट बाहिरै बसिरहेका छन्। शुक्रबार अपरान्ह ४ बजेका लागि एमाले र माओवादी केन्द्रबाट नवनियुक्त मन्त्रीले शपथ लिने कार्यक्रम तय भएपनि आन्तरिक छलफलका कारण अहिलेसम्म शपथ ग्रहण भने हुन सकेको छैन । यसअघि पनि राष्ट्रपति कार्यालयले पत्रकारहरुमाथि भेदभावपूर्ण व्यवहार गरेको थियो । राष्ट्रपति कार्यालयको यस्तै व्यवहारका कारण पत्रकार मैत्री नभएको सञ्चारकर्मीहरुले आरोप लगाउने गरेका छन् ।

लामालाई विनाशर्त रिहा नगरे आन्दोलन गर्ने कांग्रेसको चेतवानी

काठमाडौं, चैत २ । नेपाली काँग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न काँग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ । शुक्रबार रिपाेर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस काभ्रेका सभापति मधु आचार्यले भन्नुभयो, “निर्दोष हाम्रा नेतामाथि झुठो आरोप लगाई प्रहरीले पक्राउ गरेको छ । यो दुःखद् भएको छ । उहाँलाई स–सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु ।” उहाँले लामामाथि गोली प्रहार गरी फरार रहेका दोषीलाई कारवाही गर्न तथा उहाँमाथिको अभियोग खारेज गर्न पनि माग गर्नुभयो ।

बेंसीशहर–चामे सडक अवरुद्ध

बेसीशहर, चैत्र २ । बिहीबार राति अस्निापानीसंगै आएको पहिरोले बेंसीशहर–चामे सडक अवरुद्ध भएको छ । स्थानीयका अनुसार लमजुङको मस्र्याङ्दी गाउँपलिका ४ ताघ्रिङमा पर्ने स्याँगे र शीरचौर बीचमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । हिमाली पारीको जिल्ला मनाङ जाने एकमात्र सडक पहिरोका कारण बन्द भएपछि सवारी आवागमन प्रभावित भएको छ । सवारी साधन पहिरो गएको ठाउँमा रोकिएका छन् । बेंसीशहरदेखि करीब २५ किलोमीटरको दुरीको सडकमा पहिरो खसेको हो । बाटो अवरुद्ध भएपछि यात्रु आवातजावतसंगै खाद्यान्न ढुवानी समेत ठप्प भएको छ ।  

मुख्य न्यायाधिवक्ता डिसीद्वारा शपथ

बुटवल, चैत २ । प्रदेश नं ५ का मुख्य न्यायाधिवक्ता ठाकुर डिसीले शुक्रबार पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखको उपस्थितिमा मुख्य न्यायाधिवक्ता डिसीलाई तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले पद तथा गोपनियताको शपथ गराउनुभएको हो । समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती, कानुन मन्त्री कुलप्रसाद केसीलगायत प्रदेश ५ का उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

सिरहामा ९९३ हेक्टर वनक्षेत्रमा अतिक्रमण

लहान । संक्रमणकालीन राजनीतिक अवस्थाका कारण सिरहाको ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ । जिल्ला वन कार्यालयका प्रमुख सुनिलकुमार सिंहले राजनीतिक संरक्षणको आडमा ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिनुभयो । जिल्लामा रहेको कूल २१ हजार ४४ दशमलव ९ हेक्टर क्षेत्रफल वन क्षेत्रमध्ये ९९३ दशमलव १४ हेक्टर क्षेत्रफल सामुदायिक वनमा एक हजार १९८ वटा घर टहरा निर्माण भएको पाइएको उहाँले बताउनुभयो । अतिक्रणमा परेको सामुदायिक वन खाली गराउन प्रयास गरिए पनि राजनीतिक संरक्षणका कारण हटाउन समस्या भएको गुनासो गर्दै प्रमुख सिंहले राजनीतिक दल र स्थानीय प्रशासनबाट उचित सहयोग प्राप्त भए खाली गराइने बताउनुभयो । लहान नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र कर्जन्हा नगरपालिका अन्तर्गत सामुदायिक वन अतिक्रमण गरी वनक्षेत्रमा पक्की घरसमेत निर्माण भइरहेको छ । राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय प्रशासनका प्रमुखले वन तस्कर र अतिक्रणकारीलाई कुनै संरक्षण नदिने लिखित प्रतिबद्धता व्यक्त गर्दै अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउन सहयोग गर्नेमा जोड दिए । इलाका प्रशासन कार्यालय लहानमा प्रमुख सोमप्रसाद भट्टराईले अतिक्रमणमा परेको सामुदायिक वन क्षेत्रको यकिन गरी तत्काल वन क्षेत्र खाली गराउन प्रशासनको तर्फबाट भरपुर सहयोग गर्ने बताउनुभयो । अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउन र अतिक्रमणकारीलाई कानूनी दायरामा ल्याउन ठोस् कदम चाल्न वन कार्यालयसँग उहाँले आग्रह समेत गर्नुभयो । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपालगायतका राजनीतिक दलका प्रतिनिधिले वन क्षेत्रमा बढ्दो अतिक्रमण र चोरी तस्करी रोक्न आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाएका थिए । रासस

उपसभामुखमा भुसाल र तुम्बाहाङफेको उम्मेदवारी प्रस्तुत

काठमाडौं, चैत २ । प्रतिनिधिसभाको आजको बैठकमा उपसभामुख पदमा दुई सदस्यको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको छ । सो पदमा नेपाली काँग्रेसका पुष्पा भुसाल र नेकपा एमालेका शिवमाया तुम्बाहाङफेको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको हो । भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेपाली काँग्रेसका डिला संग्रौला पन्तले प्रस्ताव प्रस्तुत गर्नुभयो । संग्रौलाले संविधानको सफल कार्यान्वयनका लागि सरकार र प्रतिपक्षबीच सुमधुर सम्बन्ध आवश्यक पर्ने भएकाले काँग्रेसका भुसालले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले सभामुख पदमा कृष्णबहादुर महरालाई काँग्रेसले समर्थन गरेको तथा उपसभामुखमा फरक फरक दलको उम्मेदवार हुनुपर्नेमा एमाले र माओवादी केन्द्र चाँडै एकीकृत हुने भएकाले पनि काँग्रेसको उम्मेदवारी सान्दर्भिक भएको दाबी गर्दै अंक गणितका आधारमा उपसभामुखमा भुसाललाई हराइए सदन अवरोध हुने खतरा बढ्न सक्ने बताउनुभयो । सो प्रस्तावमा काँग्रेसको समर्थन गर्दै देवेन्द्रराज कँडेलले जनताको विश्वासलाई जित्नका लागि सरकार विपक्षी मिलेर जानुपर्ने अवस्थामा मध्यस्थ भूमिका निर्वाह गर्न भुसालको उम्मेदवारी आवश्यक छ भन्नुभयो । तुम्बाहाङफेलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङले प्रस्ताव प्रस्तुत गर्नुभयो । उहाँले विद्यमान राजनीतिक अवस्थामा जनताको जनादेशका आधारमा जानुपर्ने भएकाले तुम्बाहाङफेलाई पार्टीले अघि सारिएको बताउनुभयो । गुरुङको प्रस्तावमा समर्थन गर्दै नेकपा एमालेका रवीन्द्रप्रसाद अधिकारीले तुम्बाहाङफे कानून व्यवसायीका साथै वाम आन्दोलनमा योगदान दिएको व्यक्ति भएको बताउँदै उहाँको नाममा सहमति गर्न आग्रह गर्नुभयो । दुई प्रस्तावमा छलफलपछि उपसभामुखको निर्वाचन हुनेछ । राष्ट्रियसभामा प्रधानमन्त्रीको वक्तव्य यसैबीच राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि प्रतिनिधिसभाको बैठकमा युएस बंगला विमान दुर्घटनाबारे दिनुभएको सार्वजनिक वक्तव्य राष्ट्रियसभाको बैठकमा पनि दिनुभयो ।

बिर्तामोड उद्योग वाणिज्य संघमा रोशन मनोनित

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य सघंको कार्यसमिति सदस्यमा युवा व्यवसायी रोशन प्रसाई मनोनित भएका छन् । वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले प्रसाईंलाई शुक्रबार कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । सिद्धकाली टे«डर्स एण्ड मल्टिपल सप्लायर्सका म्यानेजिङ डाइरेक्टर रहेका प्रसाईंलाई तीनवर्षे कार्यकालका लागि कार्यकारिणी सदस्य पदमा मनोनित गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । मनोनयनपछि बधाई तथा शुभकामना ज्ञापन गर्दै अध्यक्ष भट्टराईले उद्योगी, व्यवसायीको हकहित संरक्षण र प्राप्तीमा प्रसाईंको भूमिका फलदायी हुने विश्वास व्यक्त गरे । संघको कार्यकारिणी सदस्यमा मनोनयनले आफूलाई हर्षित तुल्याएको प्रसाईंले बताएका छन् । आफूले निर्वाह गर्दै आएको भूमिकाको सही मूल्यांकन गरेकोमा अध्यक्ष भट्टराई तथा वाणिज्य संघप्रति प्रसाईंले धन्यवाद समेत ज्ञापन गरेका छन्। उनले संघको कार्यसमितिमा नयाँढंगले सहयोग गरेर जाने र व्यापारीलाई पर्ने समस्यामा राजनीतिबाट माथि उठेर निष्पक्ष र निडर भई अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । ३२ वर्षीय प्रसाईं वीरता जेसीज लगायत आधा दर्जन सामाजिक संस्थामा छन् । त्यस्तै सानो संसार ल्याण्ड एण्ड हाउजिङका प्रबन्धक निर्देशक समेत रहेका प्रसाईं आधा दर्जनबढी व्यवसायिक संस्थामा आबद्ध छन् । डेनमार्क र नर्वेबाट वाणिज्य संकायमा स्नातक गरेका रोशन समाजसेवी तथा धार्मिक व्यक्तित्व डिल्ली प्रसाईंका ज्येष्ठ सुपुत्र हुन् । उनी राउण्ड टेबल बिर्तामोड, नेपाल रेडक्रस सोसाइटीको सदस्य तथा पूर्वेल युवा क्लवको कोषाध्यक्ष हुन् । त्यस्तै हार्डवेयर व्यवसायी संघको सदस्य, प्रोपर्टी डिलर्स एसोसिएसनको सदस्य, सानो संसार कन्ट्रक्सन प्रालिको म्यानेजिङ डाइरेक्टर, टपकोन टेक्निकल सोलुसनको अध्यक्ष, एन्टिना ट्रेड एण्ड टेक्नोलोजीको सञ्चालक, माता पाथिभरा हार्डवेयरको सञ्चालक समेत रहेका छन् । वाणिज्य संघका अध्यक्ष भट्टराईले मनोनित गर्ने दुई सदस्य पदमध्ये यसअघि एजाज अहमद अन्सारीलाई मनोनित गरिसकेका छन् । यो मनोनयसँगै बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमितिले पूर्णता पाएको छ ।  

एनसिसी बैंकमा सिआइबीकाे छापा, १३ कर्मचारी पक्राउ

काठमाडाैं, चैत २ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) को केन्द्रीय कार्यालयका १३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । ब्यूरोले आज बैंकको केन्द्रीय कार्यालय कमलादीमा छापा मारी बैंकमा कार्यरत कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक र एनसिसी बैंक मर्ज हुने क्रममा एपेक्सका उच्च कर्मचारीले कर्जा प्रवाह गर्दा अनियमितता गरेको राष्ट्र बैंकले दिएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

सञ्चय कोषमा व्यक्तिगत रुपमा पनि रकम जम्मा गर्न सकिने

काठमाडौं, चैत २ । कर्मचारी सञ्चय कोषले संस्थागत रुपमा काम नगर्नेलाई समेत व्यक्तिगत रुपमा कोष कट्टीको सुविधा दिने भएको छ । कर्मचारी सञ्चय कोष ऐन, २०१९ को नवौँ संशोधनपछि कोषले अनौपचारिक क्षेत्रमा काम गर्नेलाई पनि कोष कट्टीको सुविधा दिन लागेको हो । कोषले वैदेशिक रोजगारीमा रहेकालाई समेत कोष जम्मा गर्ने सुविधा दिने तयारी गरेको कोषका कार्यवाहक प्रशासकीय प्रमुख दीपक रौनियारले जानकारी दिनुभयो । कोषले कोष वृद्धि गरेर रु सात खर्ब पु¥याउने तयारी गरेको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने, स्वरोजगारमा रहेका तथा व्यक्तिगत रुपमा कुनै व्यापार तथा व्यवसायसमेत गर्नेलाई समेत कोष कट्टा गर्ने सुविधा दिन लागेको हो । सरकारले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रम लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा सो कार्यक्रमलाई समेत कोषमार्फत अगाडि बढाउन दिन आग्रह गरेको छ । कोषमा रकम जम्मा गर्दै आएका सञ्चयकर्तालाई थप सुविधा प्रदान गर्न सेवाको विविधीकरण गर्न लागिएको हो । “सेवालाई विस्तार तथा विविधीकरण गर्ने लक्ष्यका साथ कोषले आफ्ना कार्यक्रम विस्तार गर्न लागिएको हो”, कोषका कार्यवाहक प्रशासकीय अधिकृत रौनियारले भन्नुभयो, “हामी रोजगारीमा रहेका तथा नरहेका सबैलाई समेटेर सेवा विस्तार गर्न लागेका छौँ ।” वैदेशिक रोजगारीमा रहेका युवाले विदेशमा कमाएको रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेकाले वृद्धावस्थामा समेत सहज जीवनयापनका लागि सहयोग गर्ने लक्ष्यका साथ कोषले वैदेशिक रोजगार बचत कोष सञ्चालनमा ल्याउन लागेको हो । वैदेशिक रोजगारमा हालसम्म करिब ५० लाख युवा कार्यरत छन् । उनीहरुले स्वदेश पठाउने विप्रेषण अनौपचारिक क्षेत्रमा बढी खर्च भइरहेको र बचत गर्ने संस्कृतिसमेत नभएकाले नागरिकलाई थप सुविधासमेत दिन लागिएको हो । कोषका विभागीय प्रमुख अर्जुनकुमार गौतमले कोष कट्टी सेवालाई विस्तार गरेर व्यक्तिगत रुपमा पनि कोष कट्टी गर्ने र वैदेशिक रोजगारमा गएकालाई समेत सेवाको दायरामा ल्याउन पहल गरिएको हो । कोषको सञ्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेश भइसकेको छ । सञ्चालक समितिले आवश्यक निर्णय गरेपछि स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइनेछ । नियमावलीसमेत अन्तिम अवस्थामा पुगेको जानकारी दिँदै विभागीय प्रमुख गौतमले रोजगारीमा रहेका, नरहेका तथा वैदेशिक रोजगारीमा रहेका सबैलाई एकमुष्ट रुपमा सेवा दिन लागिएको जानकारी दिनुभयो । कोषले सरकारी निजी एवं संगठित क्षेत्रका कर्मचारीको सञ्चय कोषको व्यवस्थापन गर्दै आएको छ । यस्तै स्वरोजगार र वैदेशिक कामदारका लागि कोष व्यवस्थापन गर्ने, सञ्चयकर्ताका लागि निवृत्तिभरण योजना र अन्य सामाजिक सुरक्षाका योजना सञ्चालन गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ । कोषमा पछिल्लो दिनमा गैरसरकारी संस्था वा संगठित क्षेत्रका कोष कट्टी गर्दै आएको छ । कोषमा हाल सात लाखले कोष कट्टी गर्दै आएका छन् । कोषले विगत ५६ वर्षदेखि कोष कट्टीको सेवा दिँदै आएको छ । कोषले कुनै पनि संगठित संस्थामा न्यूनतम १० जनासम्म कर्मचारी कार्यरत रहेको अवस्थामा कोष कट्टी सेवा दिँदै आएको थियो । कोषमा हाल रु दुई खर्ब ५५ अर्ब २९ करोड रहेको छ । आव २०७३÷७४ को लेखा परीक्षणसमेत गरिसकेको छ । आव २०७२÷७३ मा कोषमा रु दुई अर्ब २४ अर्ब ७० करोड रहेको थियो । यस्तै कोषले कूल रु दुई खर्ब ४९ अर्ब ३३ करोड लगानी गरेको छ । आव २०७२÷७३ मा त्यस्तो लगानी रु दुई खर्ब १८ अर्ब ३६ करोड रहेको थियो । कोषले आव २०७३÷७४ मा रु एक खर्ब ८९ अर्ब खुद मुनाफा गरेको छ । यस्तो मुनाफा २०७२÷७३ मा रु एक खर्ब ५८ अर्ब रहेको थियो । कोषले नागरिक उड्डयन, जलविद्युत्जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको छ ।

किन पक्राउमा त परे एनसिसी बैंकका कर्मचारीहरु ?

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) को केन्द्रीय कार्यालयका १३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । ब्यूरोले आज बैंकको केन्द्रीय कार्यालय कमलादीमा छापा मारी बैंकमा कार्यरत कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक र एनसिसी बैंक मर्ज हुने क्रममा एपेक्सका उच्च कर्मचारीले कर्जा प्रवाह गर्दा अनियमितता गरेको राष्ट्र बैंकले दिएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । रासस

तीनै जिल्लामा कारागार सञ्चालनमा

काठमाडौँ । एक महिनाभित्र नेपालमा तीन कारागार सञ्चालनमा आउने भएका छन् । कारागार व्यवस्थापन विभागले दिएको जानकारी अनुसार सिन्धुपाल्चोक, पाल्पा र डोल्पा कारागार सञ्चालनमा आउन लागेको हो । विभागका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले भूकम्पबाट क्षति पुगेको सिन्धुपाल्चोकको एक हप्ताभित्र र पाल्पा र डोल्पाको नयाँ भवन एक महिनाभित्र सञ्चालनमा आउने जानकारी दिए । विसं २०७२ वैशाखको भूकम्पले भत्किएको सिन्धुपाल्चोक कारागार झण्डै तीन वर्षपछि निर्माण सम्पन्न हुन लागेको हो । ‘कैदीबन्दीको संख्या बढेसँगै कारागारको संख्या थप गर्नुपरेको हो’, उनले भने । भूकम्पले केही कारागार भत्किएको र केही कारागार नयाँ निर्माण हुने चरणमा रहेको उनको भनाइ थियो । नेपालमा हाल ७२ जिल्लामा ७४ कारागार रहेका छन् भने कैदीबन्दीको संख्या १८ हजार ५०० रहेको विभागले जनाएको छ ।

नगर प्रहरीसँग उपकरण अपर्याप्त

ललितपुर । आवश्यक उपकरणका अभावमा नगर प्रहरीले महानगरपालिकाको निर्णय प्रभावकारी कार्यान्वयन गराउन सकिएको छैन् । “नगर प्रहरीसँग अहिले काम गर्न हम्मर र गलबाहेक अरु केही छैन, उनीहरुलाई काम गर्न क्रेन, डोजर, रुख काट्ने मेसिन, ढलान काट्ने मेसिनलगायतका सामग्री आवश्यक छ,” नगर प्रहरी प्रमुख कदमलाल महर्जनल भन्नुहुन्छ, “कहिलेकाहीँ हामीले निर्णय कार्यान्वयन गर्न रुख, घर वा पर्खाल नै भत्काउनुपर्छ ।” त्यस्तै विपत्का समयमा उद्धारका लागिसमेत सामग्री अपर्याप्त छ । नगर प्रहरीले वर्षौंदेखि सामग्री पर्याप्त नहुँदा काममा असहज भएको बताउँदै आएको छ । नगर प्रहरीलाई साना हतियारदेखि ठूला उपकरणसम्म आवश्यक छ । अहिले जनप्रतिनिधि आएकाले सम्बोधन हुने आशा रहेको प्रमुख महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जनशक्ति र आवश्यक सामग्री थप गर्दा हामीले सजिलै काम गर्न पाउँछौँ ।” स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय निकायको सम्पत्तिको सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षा, न्यायिक समितिको निर्णय कार्यान्वयन, बजार व्यवस्थापनलगायत जिम्मेवारी नगर प्रहरीलाई तोकेको छ । रासस