पूर्वमुख्यसचिव शाक्यको निधन

काठमाडौँ ।पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहनुभएका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षका भएका थिए।

उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए । नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत जिम्मेवारी बहन गरेका थिए ।

स्व.शाक्यका दुई छोरी र दुई छोरा रहेका छन् भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  ।आज २०८१ साल वैशाख ६ गते बुधबार सन् २०२४ अप्रिल १८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ९३ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १४ पैसा र बिक्री दर १६६ रुपैयाँ ८९ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विराटनगरको धार्मिक र्‍यालीमा विवाद हुँदा रानी क्षेत्रमा तनाव

विराटनगर । रामनवमीको सन्दर्भ पारेर हिन्दु धार्मिक संघसंस्थाले विराटनगरमा निकालेको धार्मिक र्‍यालीका क्रममा विवाद भएको छ । विराटनगर महानगरपालिका–१५ का युवाले बृहत् मोटरसाइकल र्‍याली निकाल्ने तयारी गरेपछि अर्को समूहले अवरोध गर्न खोज्दा विराटनगर–१५ स्थित रानीमा तनाव सिर्जना भएको हो । सडक अवरोध हुन खोजेपनि प्रहरीले हस्तक्षेप गरेर अवस्था नियन्त्रणमा लिएको छ ।  विराटनगर–१५ र १७ सिमानामा दुई समूहबीच झडपको अवस्था आएपछि प्रहरीले हवाई फायर गरेको थियो । अवस्था बिग्रन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नेपालमा लगानी बढाउन विश्व बैंकलाई अर्थमन्त्री पुनको आग्रह

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनलाई नेपालमा लगानी बढाउन अपिल गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् ।  गएराति वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा भएको भेटमा मन्त्री पुनले दुवै उपाध्यक्षलाई नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन आग्रह गरे।  आईडालाई नेपालजस्ता विकासोन्मुख देशहरूका लागि भरपर्दो माध्यम बनाउन सकिने भन्दै मन्त्री पुनले पछिल्लो दशकमा दूरसञ्चार, यातायात, स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धी विश्व समुदायले हेर्न लायक भएको उल्लेख गरे । नेपाल सरकार र १६ विकास साझेदारले सन् २०२१ मा संयुक्त रुपमा अनुमोदन गरेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)का लागि रणनीतिक कार्ययोजना समावेश गरिएको काठमाडौँ घोषणापत्रको मार्गनिर्देशनमा अघि बढेको जानकारी उनले दिए ।  उक्त घोषणापत्रको अवधारणाअनुसार आगामी वर्ष पहिलो हरित उत्थान र समावेशी विकास कार्र्यक्रम अन्तर्गतको (ग्रिड डिपीसी) कार्यान्वयन गर्न लागिएको उनको भनाइ थियो ।मन्त्री पुनले १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंकले लगानी गर्न देखाएको तत्परताका लागि प्रशंसा गरे।  विश्व बैंकको पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेनसँग भएको भेटमा मन्त्री पुनले नेपालले पूर्वधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । सरकारका तर्फबाट ऊर्जा, यातायात र शहरी पूर्वाधार केन्द्रित योजनामा जोड दिइएको उनको भनाइ थियो । उनले गत साता मात्र दुई ठूला जलविद्युत आयोजनाहरू माथिल्लो अरुण र दूधकोशीको वित्तिय ढाँचाबारे विश्व बैंकका काठमाडौँस्थित अधिकारीहरुसँग भएको राउण्डटेबल बैठक फलदायी भएको भन्दै उनले छिट्टै वित्तीय व्यवस्थापनको टुंगो लाग्ने आशा व्यक्त गरे।दुवै आयोजना नेपालको नेपालको ‘गेम चेन्जर’ आयोजना रहेको भन्दै उनले ती अयोजनाको विकासले नेपालको ठूला पूर्वधार निर्माण क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

महासचिवको नेतृत्वमा माओवादीको टोली चीन प्रस्थान्

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको नेतृत्वको जम्बो टोली चीन प्रस्थान गरेको छ।  गुरुङको नेतृत्वमा अमृता थापा,परशुराम तामाङ, कमला रोका,अगष्तराज अधिकारी, विकास ढकाल,देवकी कार्की ,जगत बिएस, गीता गहतराज, ईश्वरचन्द्र ज्ञवाली, गायत्री गुरुङ, दिपेन्द्र रोकाया,गणेश शाही र देवेन्द्रकुमार यादव, कृष्णकुमार अधिकारी,ओमनाथ ढुंगाना,प्रतिक कार्की,प्रकाशचन्द्र पाण्डेय,राजन पौडेल,रोशन रिमाल,मणिकुमार साम्पाङ,रुपा महर्जन श्रेष्ठ र सावित्राकुमारी शर्मालगायतका नेताहरु चीन प्रस्थान गरेका हुन् ।  उनीहरु आज बिहान र दिउँसो दुई वटा उडानबाट २० मीनेटको अन्तरमा सिचुआन प्रान्तको छन्तु प्रस्थान गरेका छन् । सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०२ मा पौने १२ बजे १५ जना र १२ः०५ बजे एअर चाइनाको उडान नम्बर सिए ०४३८ मा नौ जना गएका हुन् ।    वैशाख १५ गतेसम्म माओवादी टोली चीनमा रहने छ।  उनीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले निम्तो दिएको हो ।  

ऐन परिमार्जन गरेर अधिकार स्थापित गर्छौं : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऐन, नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, बालबालिका तथा यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापित गरिने बताए। बुधबार इलाम जिल्लामा लघुवित्त वित्तीय संस्थामा क्रियाशील महिला प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताएका हुन्। उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकको पक्षमा काम गर्न केही ऐन, नियमावली परिमार्जन गरेर काम गर्ने तयारी गरेको बताए। मन्त्री चौधरीले आफू महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकहरूको क्षेत्रमा काम गर्ने जिम्मेवारीमा रहेको भन्दै संवेदनशील विषयको नेतृत्व गर्ने जिम्मेवारी रहेको बताए। उनले चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी नीति ल्याउन लागेको बताए। कार्यविधि बनाएर ७५३ वटै स्थानीय तहमार्फत लागू गरिने उनले बताए। त्यस्तै जेलमा परेका बालबालिकाहरूका लागि काम गर्दै आएको मन्त्री चौधरीले बताएका हुन् ।

नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेन

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन।   ओमानको अल अमरात क्रिकेट मैदानमा ११ः४५ बजेदेखि खेल सुरु हुने तय भए पनि वर्षाका कारण पीचमा समस्या आएपछि टस हुन नसकेको हो । गएराति वर्षाले मैदान भिजेको थियो । प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनमा पुगिसकेको छ ।  समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीनवटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो । आजको खेलमा साउदी अरेबिया हराउँदै नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्ने योजनामा छ । साउदी अरेबियाले समान तीन खेलमा एकमा जित तथा दुई खेलमा हार व्यहोरेको छ ।  यसअघि मलेसियासँग १२ रनले पराजित साउदीले हङकङलाई ५५ रनले हराएको थियो । कतारसँग १५ रनले पराजित भएको थियो । रासस

पोल गाडेको ६ वर्षपछि बल्यो बिजुली

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ। नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३र११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र दुखुलगायत आसपासका तीनवटा वडामा विद्युतीकरण गर्न २०७४ सालमा काम सुरु गरेको थियो। विस २०७६ मा पोल गाडिएको थियो । सोही योजनाअनुसार उपल्लो दुखुका ९९ घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको उपल्लो दुखुका बासिन्दा ओमकार रोकाले जानकारी दिए। ‘पोल गाडेको चार वर्षपछि उपल्लो दुखुमा विद्युतीकरणको योजनाले पूूर्णता पाएको छ’, उनले भने, ‘उपल्लो दुखुका ४१ र खुवाङका आठ घरमा गत असोजमा बिजुली बलेको थियो। पोल गाड्ने र तार तान्ने काम सकिएपछि उपल्लो दुखुका थप ५० घरमा यसै सातादेखि बिजुली बल्न थालेको हो।’ बिजुली बलेपछि घरायसी काम गर्न, बालबालिकालाई पढ्न, उद्यम व्यवसाय सञ्चालन गर्न, इन्टरनेट, कम्प्युटर, ल्यापटप चलाउन, टिभी हेर्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न सहज भएको स्थानीयवासी ईश्वरी पुनले बताइन्। दुखुका बासिन्दा रातको समयमा उज्यालोका लागि १४ दशमलव पाँच किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दथे। नियमित र दिउँसो विद्युत् आपूर्ति नहुँदाका समय विकल्पमा सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । नियमित बिजुली आपूर्ति हुन थालेपछि जनजीवन सहज भएको पुनले सुनाइन्। नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले एसियाली विकास बैंकको परियोजना मार्फत संरचना तयार भएपछि विद्युत् वितरण गरिएको जनाएको छ। केन्द्रका इन्जिनियर शिवप्रसाद शर्माले उपल्लो दुखुमा एक सय केभी र खुवाङमा २५ केभीको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति तथा वितरण हुने व्यवस्था मिलाएको बताए। पोल गाड्ने, तार तान्ने, वायरिङ र ट्रान्सफर्मर जडान गर्ने काम सकिएपछि उपल्लो दुखुका सबै घरमा बिजुली बालिएको छ। म्याग्दी वितरण केन्द्र अन्तर्गत २२ हजार विद्युत्का ग्राहक छन्। गत आर्थिक वर्ष २०७९र८० मा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए। मालिका गाउँपालिका–२, ३ र ४ नं वडाका चार सय घरधुरीमा विद्युतीकरणका लागि गत शुक्रबारदेखि ट्रान्सफर्मर चार्ज र मुख्य तथा शाखा लाइनको परीक्षण गर्न थालिएको छ। म्याग्दीमा केन्द्रीय लाइनको विद्युत् नपुगेका दुई हजार दुई सय घरधुरीमा विद्युतीकरण गर्ने उद्देश्यले गत असोजमा २० करोडभन्दा बढी बजेटको ठेक्का सम्झौता भएको थियो।भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् विस्तार गरिने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले जानकारी दिए ।

सुनको मुल्य उच्च विन्दुमा स्थिर, चाँदीको घट्यो

काठमाडौं । मंगलबार उच्च मूल्यमा पुगेको सुनको भाउ बुधबार स्थिर रहेको छ । अघिल्लो दिन कायम मूल्यमै आज पनि सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव न्यून रहेपछि नेपाली बजारमा मूल्य स्थिर राखिएको महासंघले जानकारी दिएको छ ।  चाँदीको मूल्य भने आज घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७५० रुपैयाँ रहेको चाँदी आज १ हजार ७१५ रुपैयाँमा कारोबार भैरहेको छ ।

वामपन्थी शक्ति मिलेर मात्रै विकास र समृद्धिको बाटोमा अग्रसर हुन सकिन्छ : मन्त्री ज्वाला

काठमाडौं। पूर्वमन्त्री प्रकाश ज्वालाले विकास निर्माणसँग जोडिएका कानुन परम्परागत भएकाले तिनमा सामयिक परिवर्तन आवश्यक भएको बताएका छन्। नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव ज्वालाले विगतमा सूचना प्रविधिको उच्चतम प्रयोग नभएको अवस्थालाई ख्याल गरेर बनाइएका सार्वजनिक खरिद ऐनजस्ता कानुन अहिलेका सन्दर्भमा पुरानो भइसकेकाले त्यस्ता कानुनका आधारमा सहज रूपमा काम गर्न नकिने अनुभव सुनाए। लागतभन्दा आधा दरमा बोलपत्र दिँदा पनि कम मूल्यका आधारमा स्वीकृत हुने स्थिति, विभिन्न अन्तरमन्त्रालय समन्वय, रुख कटान, जग्गा प्राप्ति, घरटहरा हटाउने झमेलाले समय बढी व्यतित हुने गरेकाले समन्वय र सहयोग बढाउनुपर्नेमा उनले जोड दिए। उनले समग्रमा आयोजनाका लागि पर्याप्त बजेट नहुने, अनियमितता हुने, कार्यक्रमको निरन्तरता र प्राथमिकतामा हेरफेर हुने समस्या देखिएको बताए। पूर्वमन्त्री ज्वालाले व्यक्तिगत स्वार्थमा नेताहरू केन्द्रित हुने प्रवृत्तिले मुलुकमा विकास, समृद्धि र सुशासनका अपेक्षा पूरा हुन नसक्ने भन्दै वामपन्थी, राष्ट्रवादी र प्रगतिशील शक्ति मिलेर काम गरेमा समाजवादको लक्ष्य पूरा गर्ने क्रममा विकास र समृद्धिको बाटोमा अग्रसर हुन सकिन्छ भन्ने आशा पुनः पलाएको स्थितिमा राजनीतिक स्थिरतामा जोड दिनुपर्ने बताए। विकासका माध्यमबाट समाजवादको बाटोमा अग्रसर हुन वामपन्थी, प्रगतिशील शक्तिहरूको पुनः सहकार्य हुनुलाई सकारात्मक मान्दै उनले संविधानमा उल्लेखित समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पनाबमोजिम आर्थिक, सामाजिक परिवर्तनको अभियानमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन्। नेता ज्वालाले राजनीतिक स्थायित्व र विकासका लागि विद्यमान संघीय प्रणाली र निर्वाचन प्रणालीमा पनि पुनरावलोकन गर्नुपर्छ भन्दै सरकार वा मन्त्री परिवर्तनपिच्छे सचिवहरू परिवर्तन गर्ने, आयोजनाको प्राथमिकीकरण हेरफेर गर्नेजस्ता कार्यले जनअपेक्षाअनुसार परिणाम दिन नसकिने बताए। एकै व्यक्ति कति पटक मन्त्री, सांसद वा जनप्रतिनिधि बन्ने भन्ने सवालमा पनि स्पष्ट भएर संविधान संशोधन गर्नुपर्ने खाँचो उनले औँल्याए। प्रतिनिधिसभा, अर्थ समितिका पूर्वसभापति ज्वालाले बजेट निर्माण गर्दा कसरी उत्पादन क्षेत्रमा लगानी बढाउन सकिन्छ, बढीभन्दा बढी रोजगारीका अवसर कसरी सिर्जना गर्न विधि निर्माणलाई प्राथमिकतामा राखेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने विचार व्यक्त गरे। ‘राजस्व संकलन बढाउने, स्रोतसाधन बढाउने तथा योजना आवश्यकता र प्राथमिकताका आधारमा वर्गीकरण गरिनुपर्ने आवश्यकता छ। विगतमा अगाडि बढाइएका अधुरा योजनालाई सम्पन्न गराउने, मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउने, उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गर्ने र जनतालाई सेवा सुविधा दिने नयाँ योजना छनोट गरी बजेटको सुनिश्चितता गरिनुपर्छ,’ उनले भने। सबै कामको आधार कानुन भएकाले संघीयता कार्यान्वयनसँग सम्बन्धित संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐनलगायत कानुनलाई संसद्बाट जतिसक्दो चाँडो पारित गर्नुपर्ने बताए। -रासस

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन जेठ १० गतेदेखि हुने

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)चितवनको ११ औँ जिल्ला अधिवेशन आगामी जेठ १० देखि गर्ने निर्णय गरिएको छ । जिल्ला कमिटी बैठकले जेठको १०, ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई सहभागी हुन अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् । मूल व्यवस्थापन समितिमा पार्टी जिल्ला कमिटी, पालिका कमिटी एवम् जन संगठनका जिल्ला कमिटी, नगर कमिटी पदाधिकारी र चितवन भूगोलमा कार्यक्षेत्र रहेका प्रदेश र केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु समावेश गरी ४ सय ९९ जना बनाइएको अध्यक्ष न्यौपानेले जानकारी दिए । अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति समेत बनाइएको छ । त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको नेतृत्वमा प्रचारप्रसार उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा अग्रज सम्मान उपसमिति बनाइएको छ । यी लगायत अधिवेशन सम्पन्न गर्न विभिन्न विभागीय समितिहरु समेत बनाइएको छ । २०८० सालसम्म नवीकरण भएका करिब १२ हजार संगठित सदस्यहरुबाट चयन गरेर करिव ७०० जनालाई जिल्ला अधिवेशन प्रतिनिधिका रुपमा सहभागी गराइने अध्यक्ष न्यौपानेले जानकारी दिए । एमालेले प्रत्येक ३र३ वर्षमा जिल्ला अधिवेशन गर्ने गर्दछ । त्यसैगरी जिल्ला कमिटी बैठकले नेकपा एमाले चितवनले सुरु गरेको ‘जनतासँग एमाले अभियान’ लाई बैशाख १० गतेसम्म लम्बाएको छ । फागुन १५ बाट अभियान सुरु भएको थियो । बिस्तारै अधिवेशनको माहोल तात्दै गएको चितवनमा पार्टीलाई सुदृढ गर्न र मिशन ८४ लाई सफल बनाउन मिलेर नेतृत्व चयन गर्नुपर्ने आम कार्यकर्ताले धारणा व्यक्त गरिरहेका छन् । कार्यकर्ताको धारणाभन्दा बाहिर जान नसकिने नेतृत्व तहले बताइरहेका छन् ।

नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको छ। कपिलवस्तुस्थित शिवगढीमा केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो। बैठकले पार्टीको ६ महिनाको समीक्षा, आगामी योजना, पछिल्लो राजनीति, वामपन्थी शक्तिबिच एकता तथा ध्रुवीकरण लगायत विषयमा लिनेछ। बैठकमा महासचिव नेत्रविक्रम चन्दले २० पृष्ठको राजनीतिक दस्ताबेज पेस गरेका छन्।  केन्द्रीय समिति बैठकअघि विप्लवले तीन स्थायी समिति र पोलिटब्युरो समिति बैठक बोलाएका थिए ।

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट पाँच वर्षको कैद सजाय तोकिएका लामा पक्राउ परेका हुन् ।  अदालतको फैसलापछि उनी फरार थिए ।  तत्कालीन पुनरावेदन अदालत पाटनले लामालाई २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो ।  अदालतको यो फैसलापछि पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए। लागुपदार्थ कारोबारमा उच्च अदालत पाटनबाट दोषी ठहर लामा कैद भुक्तान नभएर ‘फरार सूची’ मा थिए।  लामालाई एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले ‘सी’ डिभिजन क्बल संयोजक बनाएर भित्र्याएका थिए। उनी एन्फा छिर्नु ८ वर्षअघिबाटै फरार सूचीमा थिए । लामालाई २०६१ साउन ८ गते काठमाडौँको वनस्थली चोक नजिकबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।  सर्लाही घर भएका लामा काठमाडौँ बस्दै आएका थिए । 

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी

सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो।  बस पल्टिएर सडकभन्दा तल खसेको छ । १ ख २०८५ नम्बरको यात्रुबहाक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै  थियाे । अहिले नेपाल प्रहरी र स्थानीय घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सरकारी भवनमा स्वदेशी काठ प्रयोग गर्न बागमती प्रदेशको प्रस्ताव

हेटौंडा । सरकारी र सामुदायिक भवन निर्माणमा स्वदेशकै काठ प्रयोगका लागि नीतिगत व्यवस्था मिलाउन बागमती प्रदेश सरकारले संघीय सरकारसँग माग गरेको छ । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेलले संघीय सरकारका वन तथा वातावरणमन्त्री नवलकिशोर साहलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वदेशी काठ प्रयोगका लागि नीतिगत व्यवस्था गर्न आग्रह गरेका हुन् । ध्यानाकर्षणपत्रमा नयाँ बन्ने सरकारी कार्यलय र सरकारी अनुदानबाट बन्ने सामुदायिक भवनमा युपिभिसी प्रयोगमा रोक लगाउनुपर्ने उल्लेख छ । पोखरेलले २० चैतमा पदभार ग्रहण गर्दै पहिलो निर्णय नै युपिभिसी तथा आयातित काठको प्रयोग रोक्न स्वदेशी काठको प्रयोग अनिवार्यताका लागि नीतिगत व्यवस्था गर्ने निणर्य गरेका थिए । मलेसियालगायतका देशबाट आयात भएका कमजोर काठ बिक्री भएको तर स्वदेशी काठ बिक्री नभएर कुहिने अवस्थामा रहेको भन्दै मन्त्री पोख्रेलले चिन्ता व्यक्त गरेका छन् । वनमन्त्री साहलाई मन्त्री पोख्रेल, प्रदेश वन मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले भेटेर १८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्रमा राष्ट्रिय वन क्षेत्रको एकीकृत रणनीतिक योजना यथाशीघ्र तयार गर्ने, वन ऐन २०७६ को दफा ६२ उपदफा २ अनुसार वन अपराध नियन्त्रण, मुद्दा तहकिकात तथा दायरीको लागि अनुसन्धान अधिकृत सम्बन्धि नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने, सबै प्रदेशमा वन व्यवस्थापनका कार्यक्रमहरुमा एकरुपता ल्याउन दीगो वन व्यवस्थापनका राष्ट्रिय मापदण्ड तयार गरी लागू गर्न भनिएको छ ।