टेम्पोको हकमा विशेष निर्णय गरिदिन मुख्यमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, फागुन २९ । २० वर्ष पुराना सवारी विस्थापित गर्दा बिगतका नजिर हेरेर मात्रै निर्णय लिने ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ।

चैत्र १ गतेबाट २० बर्षे सवारी बिस्थापित गर्ने सरकारको निर्णयको सन्दर्भमा आज ३ नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेललाई ध्यानाकर्षण पत्र बुझाउन काठमाडौ पुगेको टोलिको पत्र बुझ्दै मुख्यमन्त्री पौडेलले व्यवसायीलाई राहत दिएर मात्रै टेम्पो विस्थापित गर्ने आशय व्यक्त गर्नुभएको छ । ‘बिगतका अरु ठाउँका नजिर हेरेर मात्रै निर्णय गर्छु’, पौडेलले भन्नुभयो, ‘व्यवसायीलाई मर्का पर्ने काम गर्दिन ।

समय अनुसार व्यवसायी पनि चल्नुपर्ने बताउदै मुख्यमन्त्री पौडेलले आपसी समझदारीमा बसेर व्यवसायीको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

२० बर्षे सवारी बिस्थापित गर्दा टेम्पोको हकमा विशेष निर्णय गरिदिन माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघका बर्गिय संयोजक प्रदिपराज गिरि को नेतृत्वमा गएको टेम्पो तथा मझौला यातायात व्यवसायी सघको टोलीले आज मुख्यमन्त्री डोरमणी पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाउदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघका बर्गिय संयोजक प्रदिपराज गिरिले प्राविधिक हिसाबले बलियो रहेको टेम्पो सरकारले हचुवा को भरमा हटाउन नहुने बताउनुभयो ।

टेम्पोले जिल्ला को आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुराएको, जिल्लाबासीलाई सहज रुपमा घर दैलो सेवा दिएको स्मरण गराउदै बर्गिय संयोजक गिरिले टेम्पो बिस्थापित गर्दा सयौं व्यवसायीको रोजीरोटि खोसिने बताउनुभयो ।

काठमाडौबाट बिक्रम टेम्पो हटाउदा राज्यले व्यवसायी लाई नया सवारी खरिद गर्दा ९९ प्रतिसत भन्सार छुट दिएको गिरिले मुख्यमन्त्री लाई जानकारी गराउनुभयो ।

टेम्पोले इन्धनको बचत गरेको, सयौं व्यवसायीलाई स्वरोजगार बनाएको र करोडौंको लगानी सुरक्षीत गरेको टेम्पो तथा मझौला यातायात व्यवसायी सघका वरिष्ठ उपाध्यक्ष रन्जना बर्तौलाले बताउनुभयो ।

केन्द्रिय राजधानी काठमाडौ रहनु भएका मुख्यमन्त्री पौडेलाई काठमाडौको सानेपामा एक कार्यक्रमका बिच टोलिले ध्यानाकर्षण पत्र बुझाएको हो ।

चैत्र ०१ गते अर्थात् दुई दिन पछि राज्यले २० बर्षे सवारी विस्थापित गर्ने निर्णय गरेको छ । २० बर्षे सवारी विस्थापित गर्दा टेम्पो को हकमा विशेष निर्णय गर्नको लागि मुख्यमन्त्री लाई ध्यानाकर्षण पत्र बुझाएको टेम्पो तथा मझौला यातायात व्यवसायी सघका महासचिव लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो ।

संघीयतामा नयाँ आर्थिक दृष्टिकोण

काठमाडौं, फागुन २९ । संघीयता कार्यान्वयनसँगै नयाँ दृष्टिकोणका साथ देशको अर्थतन्त्र सञ्चालन हुनुपर्ने आवश्यकता दुईलाख भन्दा बढी नेपालीले औँल्याएका छन् । विश्व बैंकको नेपालस्थित कार्यालयले नेपाल संघीयतामा प्रवेश गरेको सन्दर्भमा सातवटै प्रदेशमा दुईलाख भन्दा बढी नेपालीसँग गरेको परामर्शमा त्यस्तो सुझाव प्राप्त भएको हो । द्रुत आर्थिक वृद्धि र गरिबी घटाउने गतिविधिमा कमी, शक्तिको असन्तुलन र अवसरको असमानताले स्रोतमा क्षीण सामथ्र्य, सामाजिक सुरक्षा एवं कल्याणकारी कार्यक्रमका उपलब्धि प्राकृतिक विपत्तिका कारण जोखिममा परेकालगायत विषय समेटेर उक्त बैंकले आज एक प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थसचिव शंकरप्रसाद अधिकारीले सार्वजनिक गर्नुभएको उक्त प्रतिवेदनमा राजनीतिक समावेशिताको प्रवद्र्धन, बढीभन्दा बढी रोजगारीका अवसर सृजनाका निम्ति निजी क्षेत्रको लगानीमा बढोत्तरी, प्राकृतिक स्रोत र साधनको अधिकाधिक उपायोग, हरेक नेपालीले मानव पूँजी निर्माण र त्यसको उपयोग गर्न पाउनुपर्ने अवस्थाको विकासमा जोड दिइएको छ । सार्वजनिक संस्थानले संघीयताको विस्तार तथा प्रवद्र्धनमा सघाउनुपर्ने, विधिको शासन प्रवद्र्धन र जवाफदेहिता, सडक, बिजुलीजस्ता भौतिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी प्रोत्साहन, प्रत्यक्ष वैदेशिक लगानी आकर्षण, बजारीकरणमा बढावा र कृषि उत्पादनलाई बजारसम्मको पहुँच निर्माण, तराईमा बाह्रै महिना सिँचाइको व्यवस्था, गुणस्तरीय शिक्षा, ग्रामीण भेगका महिलाको पुँजी र ऋणमा पहुँच विस्तारका साथै साना तथा मझौला उद्योगको विकासलाई प्रतिवेदनले उच्च प्राथमिकता दिएको छ ।

पुनर्गठित मन्त्रालयले साइनबोर्ड परिवर्तन

काठमाडौँ । पुनर्गठित मन्त्रालयले आफ्नो नामअनुसारको साइनबोर्ड राख्न थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालले ३१ वटा मन्त्रालयलाई समेटेर १८ वटा मन्त्रालय बनाएपछि पुनर्गठित मन्त्रालयहरूले साइनबोर्ड परिवर्तन गर्न थालेका हुन् । हालै जारी भएको नेपाल सरकारको कार्यविभाजन नियमावली, २०७४ अनुसार सम्बद्ध मन्त्रालयका काम कर्तव्य र अधिकारसमेत विभाजन गरिसकेपछि पुनर्गठित मन्त्रालयले सोही बमोजिम आफ्नो नाम राख्न थालेको कार्यालयका सहसचिव डिल्लीराम शर्माले बताउनुभयो । अहिले जलस्रोत तथा ऊर्जा, खानेपानी तथा शहरी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयले नाम परिवर्तन गरिसकेका छन् । यस्तै संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नामसमेत परिवर्तन गरिसकिएको छ । पुनर्गठित मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाहेक अन्य १२ मन्त्रालयले नाम परिवर्तन गर्नुपर्ने हुन्छ । रासस

जसलाई बिरामीले कुरिरहेका थिए ….

चितवन । सोमबार सांँझ वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा आउंँछन् र शल्यक्रिया गर्छन् भन्ने पर्खाइमा एक बिरामी कुरिरहेका थिए । बिहीबार भरतपुरको एलाइभ अस्पतालमा भर्ना हुनुभएका पर्वतका ६५ वर्षीय पीताम्बर सापकोटा अकस्मात थापा जहाज दुर्घटनामा निधन भएको थाहा पाएपछि छांँगाबाट खसेजस्तो हुनुभयो । उहांँमात्र होइन अन्य धेरै बिरामी पनि उहांँको पर्खाइमा थिए । डा थापासंँग टाउकाको शल्यक्रिया गरेर रोगको उपचार गर्ने सापकोटाको चाहना अहिले सपना मात्रै भएको छ । टाउकोमा रगत जमेका कारण उहांँको दायांँ हात चलेको छैन । डा थापाले टाउकाको दायांँ भागमा रगत जमेको र आफू फर्किएपछि शल्यक्रिया गर्ने जनाएकाले सापकोटा उक्त अस्पतालमा भर्ना हुनुभएको हो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा थापाबाटै शल्यक्रियाको पर्खाइमा तीनजना बिरामी अहिले पनि शय्यामै छन् । अस्पतालको न्यूरो विभागमा आइतबार र बिहीबार शल्यक्रिया हुन्छ । अन्य दिनमा २० देखि ४० बिरामी उपचारका लागि आउंँछन् । भरतपुरको चितवन अस्पतालका बिरामी पनि उहांँको पर्खाइमा थिए । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूरो युनिटमा थापा प्रमुख हुनुहुन्थ्यो । उहांँसँगै डा बेन्जु लक्ष्मी प्रधानले पनि शल्यक्रिया गर्नुहुन्थ्यो । प्रधानले भन्नुभयो, “मैले एक्लै शल्यक्रिया गरेकी छैन, उहांँ आएपछि शल्यक्रिया गर्न तीनजना बिरामी शय्यामै छन् ।” उहाँका अनुसार ढाकामा भएको न्यूरो सर्जरीसम्बन्धी सम्मेलनमा सहभागी हुन डा। थापा गएको मंगलबार यहांँबाट काठमाडौँ जानुभएको थियो । उहांँले विगत छ वर्षदेखि डा थापासंँगै काम गर्दै आउनुभएको छ । न्यूरो विभागमा उहांँहरु दुईजना मात्र हुनुहुन्थ्यो तर आफूले एक्लै शल्यक्रिया नगरेकाले अब ती बिरामीलाई के गर्ने अहिल्यै भन्न नसक्ने प्रधानले बताउनुभयो । टाउकामा ठूला ट्युमर देखिए दिनमा एउटा र सानो भए तीन वटासम्म शल्यक्रिया गर्ने गरेको प्रधानको भनाइ छ । क्यान्सर अस्पतालमा थापाले २०५८ सालबाट काम गर्दै आउनुभएको थियो । राजधानी बाहिर केही वर्षअघिसम्म न्यूरो सर्जन उहांँमात्र हुनुहुन्थ्यो । त्यसैले जिल्लाका सरकारी र निजी अस्पतालमा न्यूरो सर्जरी उहांँले मात्रै गर्नुहुन्थ्यो । चितवन अस्पताल प्रालिका कार्यकारी अध्यक्ष चूडामणि घिमिरेका अनुसार डा थापा शनिबार फर्कने भनेर आइतबार बिरामी बोलाइएको थियो । उहांँले भ्याएका बेला दैनिक २० बिरामी हेर्ने गरिन्थ्यो तर उहांँको फोन नलागेपछि बिरामी फर्किएको घिमिरेले बताउनुभयो । डा थापाले पछिल्लो समय शल्यक्रिया निजी अस्पताल एलाइभमा पनि गर्दै आउनुभएको थियो । उक्त अस्पतालका प्रमुख डा प्रमोद लामिछानेका अनुसार विगत सात वर्षदेखि थापाले त्यहांँका बिरामीको पनि शल्यक्रिया गर्दै आउनुभएको थियो । डा लामिछानेले भन्नुभयो, “बिरामी आउंँदा डा थापा मध्यरातमा पनि अस्पताल आएर शल्यक्रिया गर्नुहुन्थ्यो ।” अर्थोपेडिक सर्जनसमेत रहनुभएका लामिछानेले टाउकोको ट्युमर शल्यक्रियाका लागि उहांँ देशकै एक नम्बर भएको दाबी गर्नुभयो । थापाकै प्रयोगका लागि उक्त अस्पतालले रु ६० लाख खर्च गरेर उपकरण खरिद गरेको थियो । लामिछानेका अनुसार क्यान्सरको उपचारका लागि सरकारी अस्पताल आएका बिरामीलाई कहिल्यै पनि निजी अस्पतालमा ल्याउन हुँदैन भन्ने मान्यता राख्नुहुने डा थापाले यहांँका मेडिकल कलेज र अन्य निजी अस्पतालमा गएर बिरामी हेर्ने र शल्यक्रिया गर्नेसमेत गर्नुहुन्थ्यो । कुनै अस्पतालका बिरामीमा न्यूरोसम्बन्धी समस्या देखिएमा अन्य चिकित्सकले थापासंँग राय सुझाव लिने गरेका थिए । थापाले काठमाडौँको अल्का अस्पतालमा पनि बिरामी हेर्ने र शल्यक्रिया गर्ने गर्नुहुन्थ्यो । देशको मध्यभागमा दुर्घटना बढी हुने हुंँदा थापाको जिल्लामा माग र महत्व बढी थियो । विमान दुर्घटनामा देशले गुमाएको एक प्रतिभाशाली न्युरो सर्जन गोल्ड मेडलिस्ट थापा कहिल्यै पनि दोस्रो नभएको उहांँका समकक्षीहरु बताउंँछन् । काभ्रेको कुशादेवी–३ मा २०२४ माघ ४ मा जन्मिनुभएका थापा विगत लामो समयदेखि चितवनमा बसोबास गर्दै आउनुभएको थियो । थापा सानैदेखि मेधावी विद्यार्थी भएको बताइन्छ । प्रवेशिका र प्रमाणपत्र तह पहिलो श्रेणीमा उत्तीर्ण गर्नुभएका थापा २०५१ सालको एमबिबिएस ‘टपर’ बिद्यार्थी हुनुका साथै बंगलादेशको ढाकास्थित बंगबन्धु शेखमुजिव विश्वविद्यालयमा विदेशी विद्यार्थीको कोटाबाट एमएस परीक्षामा पास गर्ने पहिलो र आफ्नो ब्याचका ‘गोल्ड मेडलिस्ट’ पनि हुनुहुन्थ्यो । चिकित्सा क्षेत्रबाहेक थापा साहित्य क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँका दुई कविता संग्रह ‘डाक्टरी कविता’ ९२०६१० र ‘डाक्टरका कविता’ ९२०६९० तथा निबन्ध संग्रह ‘चिरफार’ ९२०७०० प्रकाशित छन् । रासस

स्काभेटरको दुर्घटना हुँदा दुई कर्मचारीको घटनास्थलमै मृत्यु

धनकुटा । धरानबाट स्काभेटर लिएर धनकुटा आउँदै गरेको ट्रक दुर्घटनामा परेर आज दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । साँगुरीगढी गाउँपालिका–९ कोशी राजमार्गस्थित घण्टेमा ना५ख १९३६ नंं को ट्रक सडकमा पल्टिँदा सडक विभागका दुई कर्मचारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिनुभयो । मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका– ७ का रामजीत राई र सोही ठाउँका कावीरबहादुर राई रहेका छन् । ट्रक चालक रामेछाप मन्थली नगरपालिका– ७ का ४५ वर्षीय देवकुमार लामा, सहचालक मकवानपुरका २० वर्षीय समन तामाङ, बागमती गाउँपालिकाका राजेश घिमिरे र घादिङका रमेश भण्डारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । रासस

चरेशसहित दुर्इजना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसरले पाँच किलोग्राम चरेशसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गले आज लाजिम्पाटस्थित द इम्पेरियल क्याफेमा जाँच गर्दा रोल्पाका विजय घर्तीमगर र म्याग्दीका सुमन रोक्कामगरलाई पाँच केजी चरेशसहित पक्राउ गरेको हो । भारतको रक्सौल र अन्य नाकाबाट काठमाडौँ भित्रिएको लागुपदार्थ होटल तथा रेष्टुरेन्टमा बेचबिखन हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उक्त परिणाममा चरेश बरामद गरेको हो । परिसरले पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । रासस

लाजिम्पाटबाट ५ किलो चरेस सहित २ जना पक्राउ

काठमाडौं, फागुन २९ । महानगरीय प्रहरी बृत्त दरबार मार्गको प्रहरी टोलीले पाँच केजी लागु औषध (चरेश) सहित दुई जना युवालाई पक्राउ गरेको छ । सादा पोशाकमा दरबार मार्ग बृत्तबाट खटिएको प्रहरी टोलीले काठमाडौं–२, लाजिम्पाटबाट चरेशसहित दुई जनालाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा तालावाङ–५, रोल्पा घर भई नवलपरासी गैंडाकोट बस्ने वर्ष ३२ का विजय घर्तिमगर र बाबियाचौर–४, म्याग्दी घर भई पोखरा नदीपुर बस्ने वर्ष ३० का सुमन रोका मगर रहेका छन् । उनीहरुलाई सोमबार साँझ ७.३० बजे चरेश बिक्री गरिरहेको बेला लाजिम्पाटको द इम्पोरियल क्याफे एण्ड रेष्टुरेष्टबाट पक्राउ गरिएको हो । पक्राउ गरिएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको दरबार मार्गका प्रहरी प्रमूख डिएसपी दान बहादुर मल्लले जानकारी दिए ।

पुवाखोलमा नयाँ प्रबिधिबाट निर्माणाधिन पुल अन्तिम चरणमा

इलाम, फागुन २९ । मेची राजमार्ग अन्तर्गत इलाम पुवाखोलामा निर्माणाधिन पुल अन्तिम चरमा पुगेको छ । फुटपाथ सहित दुई लाइन गाडी कुद्न सक्ने पुलको काम ९८ प्रतिशत पुरा भएको हो । इलाम सडक डिभिजन कार्यालय इलाम मार्फत निर्माणाधिन यस पुल पूर्वी क्षेत्रकै नयाँ प्रविधिबाट तयार गरिएको हो । मेची राजमार्गले पुर्वी पहाडी जिल्लाहरुलाई तराइ जोड्न पुलको काम गरिरहेको छ । यस सडकले दैनिक उपभोग्य वस्तु घरघरमा लैजान र उत्पादित वस्तु सहज रुपमा वजारसम्म लैजान मद्धत गरेको छ । यस राजमार्गमा पर्ने धेरै स्थानहरुमा पुराना पुल जिर्ण भएका छन् । यहाँ समेत भएको पुल पुरानो भएका कारण नयाँ पुल निर्माण गरिएको डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुबकुमार झाले जानकारी दिए । निर्माणाधिन पुल (प्रिस्टे«स कन्क्रिट) प्रविधिबाट निर्माण भएको जनाइएको छ । यस प्रविधिबाट निर्माण गरिएको पुल नेपालमा कमै रहेको इन्जिनियर झाले वताए । ‘अव सवबेस र पेन्टिङको मात्र काम बाँकी छ,’ झा ले भने । उक्त पुल निर्माणका लागि ४ करोड १३ लाख ९० हजार दुई सय ९५ रुपैयाँ को लागतमा २०७१ असार २७ गते ठेक्का सम्झौता भएको थियो । एलिट कन्ट्रसनले काम गरिरहेको छ । ठेक्का सम्झौता लिएको ३ बर्षमा सक्नुपर्ने भएपनि नयाँ प्रबिधि भएकाले सामाग्रिको अभावका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जानकारी दिएको छ । उक्त पुलको लम्वाई ४१ मिटर छ भने चौडाइ ११ मिटर रहेको छ । यस प्रबिधिबाट निर्माण भएको पुलको आयु लामो हुने प्राविधिकहरुको छ । सडकसँगै यस सडक डिभिजन कार्यालय इलामले राष्ट्रिय र क्षेत्रिय राजमार्ग गरि ३९१ किलोमिटर सडक निर्माण, पुननिर्माण र मर्मत गर्ने जिम्मा पाएको छ । राष्ट्रिय राजमार्ग अन्तर्गत मेची राजमार्ग झापा र इलामको सिमा रोङ गाउँपालिका स्थित (च्यान डाँडा) जोरकलशबाट पाँचथर हुँदै ताप्लेजुङको सुकेटारसम्म २२१ किलो मिटर हेर्ने जिम्मा समेत पाएको डिभिजन प्रमुख खड्गलाल श्रेष्ठले वताए ।

गाउँमा डोजर पुगेपछि अबिर जात्रा

काठमाडौं, फागुन २९ । कर्णाली करिडोर हुँदै नेपाली सेनाले सडक नानीकोटको घाटपारी चौरसम्म पुर्याएपछि पलाता गाउँपालिकाले गाउँमा सडक खन्न कर्णाली नदी तारेर डोजर थिर्पु पुर्याएको छ । कान्तिपुरका अनुसार डोजर गाउँ पुगेपछि स्थानीयले अबिर जात्रा गरेर खुसियाली मनाएका छन् । गाउँमा पहिलोपटक डोजर पुगेपछि खुसी हुँदै स्थानीय कमला बमले पलातावासीको सडक सपना पूरा हुन थालेको बताइन् । उनले गाउँमै डोजर आएपछि थिर्पुबाट धौलागोह र खिन पुग्ने सडक खन्न पनि सहज हुने बताइन् । गाउँपालिकाले सर्वे गरेको सडक (मुनाल मार्ग) निर्माण सुरु गरेपछि थिर्पु गाउँ सडकसँग जोडिएको वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बमले बताए । उनले गाउँमा डोजर पुगेको खुसीयालीमा रातभर गाउँलेले नाचगान गरेको सुनाए ।

मकवानपुरमा बलात्कारीलाई ६ बर्ष कैद सजाय

काठमाडौं, फागुन २९ । मकवानपुर जिल्ला अदालतले बालिकालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई ६ बर्ष कैद सजाय तोकेको छ । जिल्ला न्यायाधीश स्वीकृत पराजुलीको सोमबार कसेको इजलासले काठमाडौं सँगा घर भएका २६ बर्षका दिनेश अधिकारीलाई कैद सजाय तोकेको समाचार आजको कान्तिपुरको पृष्ठ ८ मा छापिएको छ । समाचारमा लेखिएको छ, १५ बर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै १५ हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । अभियुक्तले बालिकालाई २०७३ मंसिर २४ गते हेटौंडास्थित एक होटलमा बलात्कार गरेका थिए ।

रेलमार्ग अध्ययन गर्न भारतीय टोली आएन

बाँके, फागुन २९ । रुपैडियादेखि कोहलपुरसम्मको रेलमार्ग निर्माण अध्ययनका लागि आउने भनिएको भारतीय रेल विभागका कर्मचारी सोमबार साँझसम्म नेपालगन्ज आएका छैनन् । भारतीय रेल विभागका कर्मचारीले जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्र पठाएर १२ मार्चका दिन रेलमार्ग अध्ययनका लागि नेपालगन्ज आउने जानकारी गराएका थिए । तर, सोमबार अपराह्न ५ बजेसम्म पनि भारतीय टोली नेपालगन्ज नआएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं अध्ययन टोलीका फोकलपर्सन गणेश शाहीले जानकारी दिए । आजको नयाँ पत्रिकाको पृष्ठ ३ मा यो खबर छापिएको छ । उनका अनुसार भारतीय रेल विभागका कर्मचारीले पत्राचार गरी सोमबारका दिन बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीसँग परामर्श गर्न समय माग गरेका थिए ।

नेपाली महिलालाई अमेरिकाको लोभ देखाएर लेबनान लगिदैं

काठमाडौं, फागुन २९ । आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्‍याउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन् । लेबनान पुग्ने नेपाली महिला कामदारले भनेजस्तो सजिलो काम नपाउने मात्र होइन, चरम यातनासमेत भोग्ने गरेको बताइन्छ । लेबनानसमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार अवैध रुपमा त्यहाँ पुग्ने नेपाली कामदारलाई स्वदेश फर्कन पनि सजिलो छैन । अध्यागमन शुल्क बुझाएर मात्र पनि फर्किन सकिदैंन, लामो कागजी भन्झट पुरा गरेर चर्को शुल्क बुझाउनुपर्छ । लेबनान अमेरिकी प्रभाव रहेको मुलुक भएको र त्यहाँ नेपाली शान्ति सेना खटिएको भन्दै मानव तस्करले कामदार लैजाने गरेका छन् । –कान्तिपुर दैनिकबाट

जसले नेपालमा युएस बंगला विमान भित्र्याए, दुर्घटनामा अस्ताए उनी पनि

काठमाडौं, फागुन २९ । दुई वर्षअघि नेपालमा युएस–बंगला एयरलाइन्सको उडान सुरु गराउँदा शंकर पौडेल निकै उत्साही थिए । बंगलादेश हुँदै नेपाललाई अमेरिकासम्मको हवाई रुटमा जोड्न पाएकोमा उनी गर्व गर्थे । पौडेलको नमस्ते ट्राभल कम्पनी नै युएस–बंगला एयरलाइन्सको जनरल सेल्स एजेन्ट थियो । तर, नेपालमा युएस–बंगला भित्र्याउने पौडेलले सोही जहाज दुर्घटनामा परी ज्यान गुमाउनु पर्‍यो । ‘जसले युएस–बंगला नेपालमा ल्याए, उनै सोही विमान दुर्घटनामा बिते,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पौडेलका साथी भरतराज आचार्यले भने । –नयाँ पत्रिका दैनिकबाट

बाँच्छु भन्ने सोचेको थिइनँ : सहरिन अहमद

काठमाडौं, फागुन २९ । मेरो नाम सहरिन अहमद। म बंगालदेशकी नागरिक हुँ । म २९ बर्षकी भएँ । नेपाल घुम्ने रहर सानैदेखि थियो । सोमबार १२ ः ३० बजे म एकजना साथीसँग ढाका विमानस्थलबाट काठमाडौंँका लागि उडेँ । हाम्रो योजना काठमाडौं र पोखरा घुम्ने थियो । काठमाडौं विमानस्थलमा २ः ३० बजेतिर जाज ल्यान्ड गर्ने तयारीमा थियो । पहिलोपटक ल्यान्ड गर्न नसकेको महसुस गरेँ । दोस्रोपटक ल्यान्ड भयो । ल्यान्ड गर्नुअघि जहाजको पखेटा केही कोल्टे परेको जस्तो महसुस भयो । दुर्घटनाबारे पाईलटले केही जानकारी दिएका थिएनन् । अचानज सबै कुरा भयो । जहाजमा आगो लाग्यो । धुवाँको मुस्लो भित्र छिर्यो । जहाजभित्र अल्लाहा अल्लाहा को आजाव आयो, म होसमै थिएँ । सबैजना अत्तालिएका िथए ।, आजको नागरिकमा यो खबर छ ।

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि गोली प्रहार

कैलालीमा घटेको बोक्सी काण्डमा विवादित बनेका  घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको  छ ।  सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।   चैधरिको अहिले स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । र, अहिले उपचारका लागि अन्यत्र लाने तयारी भइरहेको जनाइएको छ ।

ठगी गर्ने २६ व्यवसायीमाथि मुद्दा दायर

काठमाडौं, फागुन २८ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षमा उपभोक्ता हितविपरीत काममा सहभागी २६ व्यवसायीलाई मुद्दा दायर गर्ने भएको छ । विभागले यहाँ आज पत्रकार सम्मेलन गरी सबै क्षेत्रमा तीन हजार ५६० व्यावसायिक संस्थाको अनुगमन गरिएकाम गलत गरेको पाएपछि तिनलाई कारबाही गर्न लागिएको बताएको छ । विभागले अन्यलाई पनि नवीकरण गर्न, विज्ञापनपाटी राख्न, म्याद नाघेका सामग्री बिक्रीवितरण नगर्न र व्यवसाय दर्ता नगर्न निर्देशन दिएको छ । यसैबीच विभागले आगामी चैत १ गते अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाउने भएको छ । अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मूल समारोह समितिका संयोजक कुमारप्रसाद दाहालका अनुसार दिवस मनाउने क्रममा काठमाडौँ उपत्यकाका लगनखेल, माइतीघर, भृकृटीमण्डप, बालाजु, चाबहिल, महारागञ्ज, मैतीदेवी, बानेश्वर, कलंकी, सुन्धारा र कोटेश्वरमा उपभोक्ता जागरण कार्यक्रम गरिएको छ । संयोजक दाहालले उपभोक्तालाई सचेत भएर सामग्री उपभोग गर्न आग्रह गर्नुभयो । केही समयअघि चाडबाडका समयमा मात्र बजार अनुगमन गर्दै आएको विभागले पछिल्लो समय नियमित रुपमा गर्दै आएको छ ।