राष्ट्रपतिको निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं, फागुन २८ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भोलि फागुन २९ गते मंगलबार निर्वाचन हुँदैछ ।

उक्त निर्वाचनका लागि जनशक्ति र मतपत्रको व्यवस्थापन तथा आवश्यक सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा मंगलबार बिहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिस्पर्धामा हुनुहुन्छ ।

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता कायम गरिएको छ ।

संघीय संसद्का सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । संघीय संसद् सदस्यका लागि ७९ मतभार रहेको सेतो पृष्ठभूमिमा हरियो तथा प्रदेसभा सदस्यका लागि सेतो पृष्ठभूमि रहेका रातो रङको ४८ मतभार रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

कूल ५२ हजार ५०० मतभार कायम रहेको यो निर्वाचनमा २६ हजार २५१ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुने कानूनी व्यवस्था रहेको छ । मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि राष्ट्रपति पदका लागि हुन लागेको यो तेस्रो निर्वाचन हो ।

राष्ट्रपति मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने तथा पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने व्यवस्था छ ।

राष्ट्रपतिबाट सम्पादन गरिने जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिश र सम्मतिबाट हुने संवैधानिक व्यवस्था छ ।

निर्वाचनको मतगणना मंगलबार बेलुकासम्ममा आउने प्रवक्ता ढकालले जानकारी दिनुभयो । उक्त निर्वाचनका लागि आयोगमा १५ र निर्वाचन अधिकृतको कार्यालयमा पनि सोही संख्याको हाराहारीमा जनशक्ति परिचालन गरेको छ । आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध पनि गरेको छ ।

बंगला विमान दुर्घटना, घाइतेलाई अस्पताल पुर्याइँदै

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा सोमबार दिउँसो १४ः२० बजे आगो लाग्दा घाइते भएका यात्रुको उद्धार भइरहेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट काठमाडौँ आएको उक्त विमानमा लागेको आगो निभाउन अहिले नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले आगो निभाउने कार्य गरिरहेका छन् । धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानमा के कति यात्रु थिए भन्ने जानकारी आउन बाँकी छ । उद्धार गरिएका यात्रुलाई नजिकको अस्पतालहरुमा पठाइएको बुझिएको छ । रासस

राधामाथि कुटपिट गर्नेलार्इ कडा कारबाही हुनुपर्छ भन्दै संयुक्त विद्यार्थी संगठनद्वारा विरोध

कैलाली । बोक्सीको आरोपमा राधा चौधरी कुट्नेलाई कडा कारबाही हुनुपर्ने भन्दै कैलालीका विद्यार्थी संगठनले विरोध जनाएका छन् । विरोधस्वरुप आइतबार संगठनले नारा जुलुससहित ईलाका प्रसाशन र ईलाका प्रहरी कार्यालय कैलाली सुख्खड लगायत बजार परिक्रमा तथा नाराबाजी गर्दै कोणसभा गरेको थियो । कोणसभामा बोल्दै विद्यार्थी नेताले राधामाथि अमानविय व्यवहार गर्नेलाई कडा कारबाहि हुनुपर्ने माग गरे । पिडितलाई न्याय दिलाउनका लागि विद्यार्थी संगठनले पूर्ण सहयोग गर्ने कोणसभामा बोल्ने बक्ताले आश्वासन दिए । कोणसभामा अखिल क्रान्तिकारी कन्द्रिय अनुगमन तथा मुल्यांकन आयोग सचिब रमेश भट्टरार्इ, अनेरास्ववियू कैलाली बहुुमखी क्याम्पसका अध्यक्ष चुडामणी भट्टलगायत विद्यार्थी नेताले संवोधन गरेका थिए । कोणसभाको संचालन अखिल क्रान्तिकारी विद्यार्थी संगठनका कैलाली अध्यक्ष डम्बर भट्टरार्इले गरेका थिए । विरोध सभामा विद्यार्थी, स्थानीय तथा विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । पीडित राधाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । राधालाई कुटपिट गर्ने तिन जना प्रहरीले पक्राउ गरेर थप अनुसन्धान थालेको छ ।

म्याग्दीमा ‘आमासँग प्रहरी’ कार्यक्रम सुरु

म्याग्दी, फागुन २८ । सामाजिक विकृति, विसंगति र अपराध न्यूनीकरण गरी सुरक्षित समाज निर्माणका लागि भन्दै म्याग्दीमा ‘आमासँग प्रहरी’ कार्यक्रम सुरु गरिएको छ । १ सय ८औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसर पारेर जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘आमासँग प्रहरी’ कार्यक्रम सुरु गरेको हो । सिविन नेपाल म्याग्दी र संगम म्याग्दीको समन्वयमा म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरबाट कार्यक्रम सुरु गरिएको हो । सामाजिक सुरक्षा, अपराध नियन्त्रण र रोकथाम, समाजमा भएका आपराधिक घटनाको अनुसन्धान गरी अपराधीलाई सजाय र पीडितलाई न्याय दिलाउन कार्यक्रम गर्न लागिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वसुन्धरा खड्काले बताए ।

भुकम्पले विद्यालय भवन भत्काएपछि विद्यार्थी टहरामा बसेर पढ्न बाध्य

ताप्लेजुङ, फागुन २८ । वि.स.२०७२ साल वैशाखमा गएको भूकम्पले भत्काएको भवन पुनर्निर्माण नहुँदा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी टहरामा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयको एउटा भवन पूर्णरुपमा भत्किएपछि कक्षा ५ सम्मका बालबालिकालाई बाँसको टहरामा राखेर पठनपाठन गराइँदै आएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई भने जीर्ण बनेको भवनमा डरत्रासका साथ राखेर पढाइने गरेको छ । भवन पुनर्निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँग आग्रह गर्दा पनि कसैले वास्ता नगर्दा समस्या भएको विद्यालयका निमित्त प्रधानाध्यापक भीमबहादुर विश्वकर्माले बताए । जिल्ला शिक्षा कार्यालयको भौतिक सुविधा विस्तार कार्यक्रमअन्तर्गतको भवनसमेत निर्माणाधीन अवस्थामा छ । गत असार मसान्तमै सकिने गरि एक वर्षअघि निर्माण सम्झौता भए पनि हालसम्म भवन निर्माणको काम सकिएको छैन । चालू आर्थिक वर्षमा गाउँपालिकाले विद्यालय भवन मर्मतका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । तर सो रकमले मात्र काम सम्पन्न गर्न नसकिने स्थानीयले बताएका छन् । जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले भने विद्यालयको भवन निर्माणका लागि पहल भइरहेको बताए ।

एकल महिलालाई सन्तान हुर्काउनै सकस

काठमाडौं, फागुन २८ । मंगलसैन नगरपालिका–५ की ३० वर्षीया कोकिला सुनार गिट्टी कुटेर परिवार पाल्छिन् । उनले २६ वर्षको उमेरमा पति गुमाइन् । ४ छोराछोरीको जिम्मेवारी उनकै काँधमा छ । गिट्टी नकुटेको दिन घरमा चुलो जल्दैन । जेठो छोरो ८ वर्षको हुँदा उनको जीवनमा ठूलो संकट आइलाग्यो । पतिको अल्पायुमै मृत्यु भयो । त्यसपछि जीवनयापन गर्न कोकिलालाई निकै सकस भएको छ । छोराछोरीको पालनपोषण गर्न बिहानै काम खोज्न निस्कन्छिन् । ‘अरूले जे खायो, त्यही खाऊँ भन्छन्, अरूले जे लगायो, त्यही चाहियो भन्छन्,’ उनले भनिन्, ‘छोराछोरीले भनेअनुसार पुर्‍याउनुत मेरा लागि सपनाजस्तै हो । बिहानबेलुकाको गुजारा चलाउनैमुस्किल छ ।’ एकल महिलालाई समाजले फरक दृष्टिले हेर्छ । व्यवहार गर्छ । साँझ घर पुग्दा कहाँ पुगेर आइस् भनेर छिमेकीले अनेक शंका गर्ने उनले बताइन् । ‘गाउँलेलाई मेरो अवस्थाबारे थाहा हुँदाहुँदै पनि मैले काम गर्ने वातावरण पाएकी छैन । म छोराछोरी पाल्न संघर्ष गरूँ कि बाँच्नका लागि समाजसँग लडिरहूँ,’ उनले भावुक हुँदै भनिन् । छोराछोरी दसैंतिहार आउँदा नयाँ लुगा चाहियो भन्छन् । उनी पुर्‍याउन सक्दिनन् । कापीकलमकै जोहो गर्नगाह्रो छ उनलाई । ‘कान्छो छोरो जम्मिएको ७ दिनपछि मैले ढुंगा बोक्ने काम सुरु गरेँ । अहिलेसम्म यही काम गर्दै छु,’ उनले सुनाइन् । ४ छोराछोरी मंगलसैनस्थित षोडसा माविमा पढ्छन् । उनले अहिलेसम्म नयाँ पोसाक किनेर छोराछोरीलाई स्कुल पठाउन सकेकी छैनन् । अरूले दिएका पुराना लुगाले गुजारा चलेको छ । ‘नयाँ पोसाक लगाएर स्कुल जाने छोराछोरीको रहर कहिल्यै पूरा हुन सकेन,’ उनले भनिन् । -कान्तिपुर दैनिकमा छ ।

आर्सनल र टोटनह्याम हट्सपर विजयी, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै

काठमाडौं, फागुन २८ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । गएराति भएको खेलमा लिग तालिकाको तेस्रो स्थानमा रहेको टोटनह्यामले बर्नमाउथलाई ४-१ ले हरायो । टोटनह्यामका लागि हिउङ मिन सनले दुई गोल गर्दा डेले अली र सर्जी औरीएरले एक एक गोल थपे । बर्नमाउथका जुनियर स्टानिस्लासले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले वाट्फोर्डलाई ३-० ले हरायो । आर्सनलका लागि खोद्रान मुस्ताफी, पिएरे एमरिक औबामायङ्ग र हेन्रीक कख्तरीयानले एक–एक गोल गरे । प्रिमियर लिग फुटबलमा आज राति म्यान्चेस्टर सिटीले स्टोक सिटीसँग खेल्नेछ । लिगको अंक तालिकामा २९ खेलबाट ७८ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै छ । एक खेल बढी खेलेको म्यानचेस्टर युनाईटेड ६५ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक छ । ६० अंकको साथ लिभरपुल चौथो तथा ५६ अंकसहित चेल्सी पाँचौ स्थानमा सेमटिएको छ ।

ठेलामा चाट बेच्ने रामबहादुर कसरी बने ‘भोलेबाबा’ ? दुई ‘पारवती’को के हो रहस्य !

कैलाली, फागुन २८ । ‘भोलेबाबा’ भनिएका रामबहादुर चौधरीको घरमा दिनहुँ दुई तीनसय बिरामी आँगनमा निको हुने आशाले आइराख्थे । त्यसैले उनको आँगन भरिभराउ हुन्थ्यो । अन्तर्राष्ट्रिय नारी दिवसका दिन फागुन २४ गते पनि तीनचार सय मानिको भीड जम्मा थियो । त्रिशूलले कोरेको ‘लक्ष्मण रेखा’ भित्र भोलेबाबा, उनका ‘पारवती’ र उनले बोलाएका मान्छेबाहेक जान निषेध थियो । बिहान ७ बजेतिर गोरुको गोबर फाल्न लागेका बेला भोलेबाबाका सहयोगी पाँच महिलाले करिब एक किलोमिटर बाटोमा राधा चौधरीलाई घिसार्दै यो आँगनमा ल्याइपुर्याए । भीडको बीचमा राखी बोक्सी भएको आरोप लगाउँदै भोलेबाबा र दुईतीन युवतीले निरन्तर कुटपिट गरिरहे । राधा चौधरीको टोलका बासिन्दालाई यो घटनाबारे थाहा थिएन । करिब १२ बजेतिर भोलेबाबाकी सहयोगी पारवती किस्मती चौधरीसहित १५ जना आएर राधाकै टोलमा घर भएका बालक चौधरीलाई पनि बोक्सा हो भन्दै लगे । बालक चौधरीलाई लगेको देखेपछि त्यस टोलका चार युवा भोलेबाबाको आँगनमा पुगे । उनीहरुले राधालाई बर्बर ढंगले कुटपिट गरेको देखे । ‘पहिले हामीलाई थाहा भएन, बालक चौधरी लगेपछि जाँदा बेहोस भएर भुईमा ढलेकी राधालाई उफ्री उफ्री लात्ताले हानिरहेका थिए । हामीले उद्धार गरेका हौं,’ १८ वर्षीय दीपक सापकोटाले भने, ‘हामी त्यहाँ नपुगेको भए राधा उनीहरुको कुटपिटबाट मर्ने थिइन् ।’ दीपकसहित खुसीराम चौधरी, सुजन चौधरी र समिर चौधरीले राधालाई उद्धार गरेका हुन् । पूजा गर्ने बहानामा यौन दुर्व्यवहार भोलेबाबाले आफ्ना सहयोगी युवतीको सहयोगले १८–१९ वर्षका युवतीलाई आश्रममा बोलाई यौन दुर्व्यवहार गर्ने गरेको स्थानीयले बताएका छन् । पुजाआजाका बहानामा युवतीलाई बोलाएर भूत लागेको, बोक्सी लागेको भन्दै झारफुक गर्ने बहानामा समवेदनशील अंग समात्ने, चुम्ने गरेको स्थानीय नरेश कुँवरले बताए । ‘आफ्ना सहयोगी किस्मती चौधरी र स्मारिका चौधरी पठाएर युवतीलाई पुजाआजा गर्न बोलाउँथे । अनि चामल फुकेजस्तो गरेर समवेदनशील अंग समात्ने, रुमालले दुवैको टाउको ढाकेर चुम्बन गर्ने गर्थे,’ उनले भने, ‘उनले एकपटक बोक्सी भएको भनेर चामल खुवाएपछि १५ दिनसम्म लगातार युवतीलाई आश्रममा आउन बाध्य पारिन्थ्यो ।’ को हुन् रामबहादुर ? कक्षा ११ सम्म पढेका २३ वर्षीय रामबहादुर चौधरी माघ २३ गतेसम्म गाउँमै ठेलामा चाट बेच्थे । माघ २४ गते सपनामा शिव आएर मलाई सामान जुटाएर काम गर्न भनेका छन् भनेर फलामको त्रिशुल बनाउन लगाए । आँगनमा शिवको फोटो राखेर आफूलाई भोलेबाबा भन्दै रोग निको पार्ने दावी पनि गर्न थाले । भोलेबाबाले सबै रोग निको पार्छन् भनी सहयोगीमार्फत प्रचार गराए । किस्मती चौधरी र स्मारिका चौधरी उनी भोलेबाबा बनेपछि आश्रममा ‘पारवती’ भएर बस्न आएका हुन् । –नागरिक दैनिकबाट

आयोगद्वारा राजनीतिक दलका प्रतिनिधिसँग छलफल

काठमाडौं, फागुन २७ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीका क्रममा राजनीतिक दलका प्रतिनिधिसँग अन्तक्र्रिया तथा छलफल गरेको छ । आयोगमा आज भएको छलफलमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाललगायत प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेताको उपस्थिति थियो । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले देशको सर्वोच्च पद राष्ट्रपतिको निर्वाचन त्रुटिरहित तवरले सम्पन्न गर्ने सन्दर्भमा सबै राजनीतिक दलसँग सहयोगका लागि आग्रह गर्नुभयो । निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालको उपस्थिति रहेको उक्त कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले राष्ट्रपति निर्वाचनसम्बन्धी कानूनी व्यवस्था, गर्नुपर्ने व्यवस्थापकीय पक्ष, मतदान गर्ने सही तरिका तथा मतगणनासम्बन्धी विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

मुख्यमन्त्री शंकर पोखरेललाई दुई तिहाई बढीको विश्वासको मत

बुटवल, फागुन २७ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुटवलस्थित प्रदेश सभामा आइतबार भएको मतदानमा मुख्यमन्त्री पोखरेलको पक्षमा ६६ मत परेको छ भने विपक्षमा कांग्रेसका १८ जना सांसदलेमात्रै भोट हालेका छन् । मुख्यमन्त्री पोखरेलको पक्षमा परेको यो मत तीन चौथाईभन्दा बढी हो । विश्वासको मत लिनुअघि संसदमा बोल्दै मुख्यमन्त्री पोखरेलले मानव सूचकांकका दृष्टिले चौथो स्थानमा रहेको प्रदेशलाई पहिलो स्थानमा ल्याउने चुनौती रहेको बताए । मुख्यमन्त्रीलाई माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

साइकलमा च्याउ बेच्ने बाबुराम कसरी भए कार चढ्ने

चितवन, फागुन २७ । चितवनको कालिका नगरपालिका वडा नं ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती शुरु गर्नुभएको थियो । विसं २०५६ मा च्याउ खेती शुरु गर्नुभएका केसी अहिले छ कट्ठामा च्याउ लगाउनुहुन्छ । साइकलमा च्याउ डुलाउनुहुन्थ्यो, अहिले गाडीमा हिँड्नुहुन्छ । च्याउ बेचेरै जग्गा समेत जोड्नुभयो । कन्ने र गोब्रे च्याउ लगाउँदै आउनुभएका उहाँ दैनिक औसत १०० किलो च्याउ उत्पादन गर्नुहुन्छ । ‘यहीँ हो विदेश, यहीँ छ कमाइ,’ केसीले भन्नुभयो – ‘मेहनत गरे जुन पेशाबाट पनि कमाइ हुन्छ ।’ कहिलेकाहीँ दिनमा ४०० केजीसम्म उत्पादन हुन्छ । विसं २०५६ मा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले जंगलमा मानवीय चाप घटाउन गाउँका स्थानीयवासीलाई आयआर्जनका लागि च्याउखेती तालीम दिएको थियो । वन्यजन्तु संरक्षण गर्नु यसको मुख्य उद्देश्य थियो । शुरुमा केसीसहित १० जनाले तालीम लिएका थिए । त्यो बेला ग्रामीण कृषक समूह गठन गरेर च्याउ खेती शुरु भएको केसी सम्झनुहुन्छ । उक्त समूहमा अहिले मासिक ३०० बचत गर्नुहुन्छ उहाँ । सामान्य खेती किसानी गरेर जीविका चलाउन उहाँलाई पहिले निक्कै समस्या थियो । त्यो बेलाको खेती पनि वन्यजन्तुले खाइदिन्थ्यो । अहिले आफ्नो जीवन फेरिएको छ भन्नुहुन्छ केसी । च्याउबाट खर्च कटाएर मासिक रु १ लाख न्यूनतम कमाई हुने उहाँको भनाइ छ । उहाँले प्रतिकिलो रु १२० मा थोकमा च्याउ बेच्नुहुन्छ । बजारमा खुद्रा मूल्य प्रतिकिलो रु २०० देखि २५० सम्म पर्छ । विगतमा भारतमा मजदुरी गरेको अनुभव केसीसँग छ । त्यसपछि नेपाल आएर जग्गा नापीमा समेत काम गर्नुभयो उहाँले । ‘जब च्याउ खेती शुरु भयो दुःखका दिन गए,’ केसीले भन्नुभयो – अहिलेको पेशाबाट निक्कै आनन्दित छु ।’ उहाँले खेती शुरु गरेदेखि पछि फर्कनु परेको छैन । झुप्रोबाट खेती शुरु गर्नुभएका उहाँको अहिले च्याउका ६ वटा ठूला घर छन् । विस्तार गर्दै उहाँले अहिले ६ कट्ठामा च्याउ खेती गरिरहनुभएको छ । उहाँलाई पत्नी सीता केसीले सघाउनुहुन्छ । ‘उहाँले बजार हेर्नुहुन्छ, यहाँको व्यवस्थापन म स्वयं गर्छु,’ सीताले भन्नुभयो । च्याउको मौसमका बेला १२÷१५ जनासम्म कामदार राख्ने गरिन्छ । अहिले व्यावसायिक च्याउ खेतीका सफल किसानको रुपमा केसी परिवार छन् । च्याउ बेचेर गाडी, मोटरसाइकल सहित रु ५० लाखमा ३ कट्ठा जग्गा समेत जोडिसक्नुभएको छ । विसं २०५६ मा जब राष्ट्रिय प्रकृति संरक्षण कोषबाट तालीम लिएपछि उहाँले तीन प्याकेट च्याउको बीऊ र रु १० हजार बराबरको सामग्री पाउनुभएको थियो । झुप्रोमा च्याउ खेती गर्दा पहिलो पटक ३५ किलोग्राम उत्पादन भयो । ‘त्यो बेलाको खुशीको सीमा नै भएन,’ केसीले भन्नुभयो । विस्तारै उहाँले खेती बढाउन थाल्नुभयो । शुरुमा उहाँसँग एउटा साइकल मात्र थियो । त्यही साइकलमा उहाँले उत्पादित च्याउ बोकेर गाउँ शहर डुलाउनुहुन्थ्यो । बुटबल र हेटौँडासम्म साइकलमा च्याउ लगेर बेचेको अनुभव उहाँसँग छ । नारायणगढसम्म साइकलमा जाने, साइकलसहित च्याउ गाडीमा राख्ने, बुटबल पुगेपछि झार्ने अनि साइकलमा डुलाउने । केही वर्ष यसरी बिताउनुभयो उहाँले । साइकलको सहारामा च्याउ बेचेर कमाएको पैसाले उहाँले खेती विस्तार गर्नुभयो । ‘मैले साइकलमा १० वर्ष च्याउ बेचें,’ केसी भन्नुहुन्छ – त्यो साइकल अझै माया लागेर झुण्ड्याएर राखेको छु ।’ च्याउ घरभित्रै सिलिंगमा साइकल खिया लागेको अबस्थामा अझै झुण्डिएको छ । कमाइ बढेपछि उहाँले साइकल छाडेर मोटरसाइकल किन्नुभयो । त्यसमै राखेर च्याउ बेच्नुभयो । अहिले उहाँ कारमा च्याउ लैजानुहुन्छ । पहिले साइकलमा गाउँगाउँ डुलाउने उहाँलाई अब त्यसरी दुःख गर्नुपर्दैन । घरमै लिन आउँछन् । नभए थोक पसलमा लगेर छाड्नुहुन्छ । सरकारी सहयोग भने अहिलेसम्म एक रुपैयाँ पनि नपाएको गुनासो केसीको छ । अहिले केसी च्याउको बीऊसमेत उत्पादन गर्नुहुन्छ । उहाँलाई १२÷ १४ हजार प्याकेट बीऊ लाग्छ । अरु बाँकी उत्पादित बीऊ बेच्नुहुन्छ । विभिन्न स्थानबाट बीऊ लिन उहाँकहाँ आउने गरेको शुरुको सहयोगी संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउनुहुन्छ । लागत अनुसारको मूल्य नपाउँदा भने उहाँ अलि दुःखी हुनुहुन्छ । शुरुमा च्याउ खेती गर्दा जति मूल्य थियो, अहिले पनि त्यही मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उहाँले दुःखेसो गर्नुभयो । तैपनि अहिले यो पेशामा उहाँ सन्तुष्ट हुनुहुन्छ । च्याउखेती सिकेर उहाँले सीप समेत बाँड्नुभयो । अहिले एकसय जनालाई च्याउ खेत गर्ने सीप सिकाइसकेको केसी बताउनुहुन्छ । जिल्लाकै च्याउ खेतीका नमूना किसानको रुपमा उहाँ परिचित हुनुहुन्छ ।

कांग्रेस रचनात्मक प्रतिपक्षको भूमिकामा रहन्छ : विजयकुमार

काठमाडौ, फागुन २७ । नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छादारले प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेर देश विकास गरौँ भन्नुभएको छ आग्रह सकारात्मक छ तर लोकतन्त्रलाई मजबुत र परिस्कृत बनाउन बलियो प्रतिपक्ष आवश्यक भएकाले कांग्रेस सोही भूमिकामा रहने बताए । संसदमा सम्बोधन गर्दै नेता गच्छादारले प्रधानमन्त्री ओलीले सबै दल मिलेर देश निर्माण गरौँ भन्नु सकारात्मक भए पनि संसदमा प्रतिपक्षी दलको आवश्यकता रहने भएकाले आफूहरु प्रतिपक्षीको बेन्चमा बस्ने स्पष्ट पारे । “प्रधानमन्त्रीले विकासको प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मिलेर देश विकास गरौँ भन्नुभएको छ । यो सकारात्मक हो । तर प्रतिपक्षी दलबिनाको संसदको कल्पना गर्न सकिदैन ।” उनले भने । प्रतिपक्षले पनि विश्वासका मत दिनुपर्छ भन्नुलाई सकारात्मक रुपमा लिएका गच्छादारले प्रतिपक्ष विना संसदको कल्पना गर्न नसकिने बताए । प्रधानमन्त्री ओलीले संसदमा व्यक्त गरेका योजना कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने विषयमा कांग्रेसले वाच डगको रुपमा हेर्ने बताए ।

तीन राप्रपाबीच एकता हुँदैं

काठमाडौं, फागुन २७ । राप्रपा, राष्ट्रिय प्रजातान्त्रिक पार्टी र एकीकृत राप्रपाबीच एकीकरणको प्रक्रियामा अघि बढेको छ । एकीकरणका लागि दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको राप्रपा प्रजातान्त्रिकका एक नेताले बताए । पार्टी विभाजनपछि भएको चुनावमा नराम्रो पराजय बेहोरेका तीनै दल एक भएर अघि बढ्न सैद्धान्तिक रुपमा सहमत छन् । तर एकीकरणको प्रकृया र ढाँचाबारे थप छलफल आवश्यक रहेको नेताहरुले बताएका छन् । राप्रपाबाट विजयी प्रतिनिधिसभाका एक मात्र सांसद राजेन्द्र लिङदेनले एक न एक दिन मिल्नै पर्ने भएका कारण एकीकरणको चरण तर्फ अघि बढ्ने बताउनुभयो । पार्टी फुट्दा निर्वाचनमा नराम्रो पराजय भोग्नुपरेका तितो यथार्थका कारण राष्ट्रिय राजनीतिमा बलियो पकड बनाउनका लागि मिल्नुको विकल्प नभएको लिङदेनले बताउनुभयो । एकीकरण प्रक्रियाबारे प्रकाशचन्द्र लोहनीले भने केही बताउन चाहनुभएन । गत साउनमा राप्रपा विभाजन भएर ३ वटा पार्टी बनेको थियो ।

बीस वर्ष पुराना सवारी साधन जफत गरिने

काठमाडौँ । सरकारले आगामी चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी हटाउन गरेको निर्णय यातायात व्यवसायीले नमान्ने भएका छन् । यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले “जनताको सेवा रोक” भन्न नसकिने जनाएको छ । रासससँग कुरा गर्दै महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले फलामको आयु तोक्ने सरकारको निर्णय गलत भएको बताउनुभयो । “सरकारले सरोकार भएका निकायसँग छलफल नै नगरी एकतर्फी रुपमा यो निर्णय गरेकाले जनताको सेवा रोकिँदैन, चैत १ गतेपछि पनि २० वर्ष पुराना सवारी सडकमा गुड्छन्”, उहाँले भन्नुभयो । यातायात व्यवस्था विभागले भने २० वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको छ । यही फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारीधनीलाई अनुरोध गरिएको महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो । दुवै नम्बर बुझाउनेले कवाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् । “चैत १ गतेदेखि २० वर्ष पुराना सवारी सडकमा गुडे जफत गरी सरकारले ‘रुट इजाजत’ दिँदैन, निर्णय कार्यान्वयन गर्न चैत १ गतेदेखि विभाग सडकमा उत्रन्छ”, उहाँले भन्नुभयो । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको छ । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटी सवारीको प्रदूषण जाँचपास राम्रोसँग भए २० वर्ष पुरानालाई हटाउनु नपर्ने बताउनुहुन्छ । “प्रदूषण जाँचपास गर्नेलाई रु २००–३०० सम्म घुस खुवाए हरियो स्टिकर पाइन्छ, सवारीको जाँच नै गर्दैनन्, जाँच पास गर्न घुस खुवाउन तयार हुनेले सवारी नलिई गए पनि हरियो स्टिकर लिएर फर्कन सक्छ, प्रदूषण बढ्नुको कारण यो हो, समस्या समाधानका लागि अनुगमन हुनु जरुरी छ”, उहाँले भन्नुभयो । उपत्यका बाहिर जाने सवारीको अवस्था जाँच गरेर मात्र जान पाउने व्यवस्था गरिए दुर्घटना पनि कम हुने सर्वोच्च महासंघको भनाइ छ । यी दुवै व्यवस्था सही ढंगले कार्यान्वयन गरिए २० वर्ष पुराना सवारी हटाउनै नपर्ने अध्यक्ष शिवाकोटीको जिकिर छ । उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउन गरिएको निर्णय पूर्णरुपमा कार्यान्वयन नहुँदा प्रदूषण बढेको यातायात क्षेत्रको विकृतिका विरुद्धमा अभियान सञ्चालन गरिरहनुभएका भक्तपुरका रामबहादुर थापाले सुनाउनुभयो । मन्त्रिपरिषद्ले विसं २०७१ भदौ २६ गते दुई वर्षभित्र २० वर्ष पुराना सवारी साधन गुड्न नदिने निर्णय गरेको थियो । यातायात व्यवसायीले निर्णयको विरोध गरेपछि राजपत्रमा सूचना प्रकाशन गर्न ढिलाइ भयो । विसं २०७१ फागुन १८ गते मात्र २० वर्ष पुराना सवारी विस्थापनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन भएको थियो । अहिले पनि व्यवसायीलाई दुई दशक पुराना सवारी साधन हटाउँदा अर्को सवारी साधन ल्याउन पाउने निर्णय गरेर यातायातमा निश्चित व्यक्तिको एकाधिकार (सिण्डिकेट) कायम गर्न खोजेको अभियानकर्मी थापाको भनाइ छ । गत वर्ष उपत्यकाबाट नहटेका २० वर्ष पुराना सवारी पनि फागुन मसान्तसम्म हटाइनुपर्ने विभागले जनाएको छ । विभागका पहिलेका १४ अञ्चल कार्यालयमध्ये आजसम्म वाग्मती र महाकालीमा मात्र थोरै २० वर्ष पुराना सवारीको ‘इञ्जिन नं’ र ‘चेसिस नं’ बुझाइएको छ । यातायात व्यवस्था कार्यालय वाग्मतीमा ३५ र महाकालीमा १०० सवारीको ‘इञ्जिन नं’ र ‘चेसिस नं’ प्राप्त भएको महानिर्देशक भट्टराईले राससलाई जानकारी दिनुभयो । विभागले दुई दशक पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० छन् । ब्याट्रीबाट चल्ने सवारी साधन भने ३० वर्षसम्म चल्न सक्ने निर्णय मन्त्रिपरिषद्ले गरी गत असोजमै नेपाल राजपत्रमा सूचना प्रकाशन भइसकेको महानिर्देशक भट्टराईले बताउनुभयो । हाल देशभर पाँच हजार ५०० वटा २० वर्ष पुराना सवारी साधन गुडिरहेको तथ्यांक विभागसँग छ । रासस

दलित महिलाको सक्रियतामा नमूना बस्ती बन्दै

लहान । केही वर्ष अघिसम्म समस्यै-समस्याबाट थलिएको सिरहाको कर्जन्हा नगरपालिका ९ को दलित बस्ती अहिले भने नमूना बनेको छ । गाउँका दलित महिलाहरु संगठितरुपमै आयआर्जनको कार्यमा सक्रिय भएपछि दलित बस्तीको पहिचान नै फेरिएको छ । अरुको कुरा काट्न मै समय बिताउँदै आएका दलित बस्तीका महिलाहरु सामाजिक सुधारको कार्यमा जुटेपछि दलित पुरुषहरु मात्रै होइन अन्य समुदायका महिला र पुरुषहरु पनि उहाँहरुलाई सघाउन थालेका छन् । केही वर्षअघिसम्म घरेलु हिंसा हुँदा समेत चुप लागेर बस्ने ती बस्तीका महिलाहरु त्यसविरुद्ध अभियान नै चलाएर लागेपछि अहिले घरेलु हिंसासँगै बालविवाहमा समेत उल्लेख्य कमी आएको स्थानीय बासिन्दाको भनाइ छ । समग्र विकास सेवा केन्द्र लहानको पहलमा २०७३ जेठ महिनामा रामसीता सामाजिक परिवारमा आबद्ध गाउँका दलित महिलाले बस्तीका बालबालिकाहरुका लागि विद्यालय भर्ना अभियान चलाएर यो वर्ष मात्रै २० जना दलित बालबालिकाहरुलाई विद्यालय भर्ना गराएको स्थानीय महिला सरिता सदाले बताउनुहुन्छ । यसका साथै सामाजिक परिवारकै सदस्यहरुको पहलमा दलित समुदायका २४ जनाले नागरिकता प्राप्त गरेका छन् । उमेर पुगेकादेखि ४५ वर्ष सम्मका व्यक्तिहरुले समेत विभिन्न कारण नागरिकता बनाउन सकेका थिएनन् । सामाजिक परिवारका सदस्य समेत रहेका सरिता भन्नुहुन्छ – “हामीले सक्रियतापूर्वक पहल गर्दा २४ जनाले नागरिकता प्राप्त गरेका हुन् ।” यस्तै समाजिक परिवारकै पहलमा दलित बस्तीका ९ जना बालबालिकाहरुलाई जन्मदर्ता बनाएर दिनाका साथै १० जोडीको विवाह दर्ताका लागि समेत पहल गरेको सरिताको भनाइ छ । सामाजिक परिवारकै सहयोगमा गाउँकै चौकमा एउटा चौतारा समेत निर्माण गरिएको छ । तत्कालीन गाविस कार्यालयबाट बजेट माग गरेर बस्तीमै सार्वजनिक भवन समेत बनाइएको स्थानीयवासी जितनी महराले जानकारी दिनुभयो । राज्यबाट प्राप्त हुने अधिकारबारे बोल्न नसक्ने व्यक्तिहरु अहिले सामाजिक परिवारकै माध्यमबाट गाउँमा चेतनामूलक विभिन्न कार्यक्रमहरु सञ्चालनका साथसाथै आफ्ना समस्या निर्धक्क भएर राख्न थालेका छन् । अहिले गाउँका दलित समुदायका व्यक्तिहरु आप्mनो कामकाज आफैं गएर कार्यालयहरुमा गर्न र गराउन समेत थालेका छन् । ती समुदायका व्यक्तिहरु सामाजिक क्षेत्रमा मात्र होइन, आयआर्जनको बाटोमा समेत अग्रसर भएका छन् । गाउँकै महिलाहरुको सक्रियतामा कृषक समूह गठन गरी जिल्ला कृषि कार्यालयबाट बीऊबिजन प्राप्त गर्नुका साथै जिल्ला पशु कार्यालयबाट पनि गोठ सुधारका लागि सामाजिक परिवारका ७ जना सदस्यले रु १५ हजारका दरले रकम प्राप्त गरेर बाख्रापालन र गाइपालन गरिरहेका छन् । बस्तीका २१ जना दलित र नौ जना पिछडा वर्गका गरी ३० जना सदस्य आबद्ध रामसीता सामाजिकका सदस्यले शुरुमा मासिक रु ५० का दरले र अहिले मासिक रु १०० का दरले बचतसमेत गर्दैआएको समग्र विकास सेवा केन्द्रका उत्प्रेरक मञ्जुकुमारी महतो बताउनुहुन्छ । सदस्यहरुले मासिक रुपमा गरेको बचत रकम रु ८५ हजार पुगेको छ । उत्प्रेरक महतो भन्नुहुन्छ – “बचत भएको रकम सामाजिक परिवारकै सदस्यहरुमा ऋण लगानी गर्ने गरेका छन् ।” यसले दलित महिलाहरुमा बचतसँगै ऋण लिने बानीको समेत विकास भएको महतोको बुझाइ छ । पछिल्लो समय दलित महिलाहरुमा आएको परिवर्तन सराहनीय रहेको छ । स्थानीय अगुवा श्याम कुमार महतोले यहाँका दलित बस्तीका महिलाको चेतना स्तरबाट अन्य ठाउँका महिलाले अनुसरण गरे छिट्टै सामाजिक रुपान्तरण हुने विश्वास व्यक्त गर्नुहुन्छ । रासस

काठमाडौँ उपत्यकामा हल्का वर्षा

काठमाडौँ । स्थानीय वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकाका कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले देशका पूर्वी, मध्य र पश्चिम पोखरापूर्वको भेगमा बदली तथा पोखरादेखि पश्चिम, सुदूरपश्चिम र तराई क्षेत्रमा मौसम सामान्य छ । आज पनि दिउँसोपख मध्य र पूर्वी पहाडी क्षेत्रमा मेघ गर्जनसहित हल्का वर्षा हुने मौसमविद् कँडेलको भनाइ छ । पूर्वमनसुनको याम भएका कारण स्थानीय वायुको प्रभावले मेघ गर्जनसहित छोटो अवधिको वर्षात् गराउँछ । सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २६.६ र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ। रासस