काठमाडौँ महानगरले वैशाख महिना भर यी रोगको निःशुल्क परीक्षण गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ। कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर  सञ्चालन गर्ने भएको हो। महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ। 

वडा नं ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नं २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नं ३, महाराजगञ्जमा ११ र १२ गते, वडा नं २६, लैनचौरमा १४ गते, वडा नं २०, भीमसेनस्थानमा १६ गते, वडा नं २१, यंगालमा १७ गते, वडा नं २३, ओमबहालमा १८ गते र वडा नं १५, स्वयम्भूमा २० र २१ गते शिविर हुने मिति तोकिएको छ । 

रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते, वडा नं २, लाजिम्पाटमा २४ गते, वडा नं २४, मखनमा २५ गते, वडा नं २२, टेबहालमा २६ गते, वडा नं १८, नरदेवीमा २७ गते, वडा नं १९, कङ्केश्वरीमा २८ गते, वडा नं ३२, पाल्पाकोट (छाप्रे), कोटेश्वरमा ३० र ३१ गते  सर्वसाधारणले सेवा लिन पाउनेछन्। 

शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ । 

आज काठमाडौंका यी स्थानमा ६ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका बालाजुलगायत विभिन्न क्षेत्रमा आज बिहान ८ देखि दिउँसो २ बजेसम्म विजुली जाने जनाएको छ । विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार)लाई नयाँ कन्डक्टरले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा शनिबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुने भएको जानकारी दिएको हो । विद्युत कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल रहेका छन् । यस्तै, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भन्याङ, ठुलो भ¥याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र बालाजु सब स्टेसन पछाडिको तरकारी बजारमा विद्युत अवरुद्ध हुने भएको हो ।

एसीसी प्रिमियर कपः साउदीसँग भिड्दै नेपाल

काठमाडौं । नेपाल एक खेल अगाडि नै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगिसकेको छ । आज बुधबार नेपालले समूहचरणको अन्तिम खेलमा साउदी अरबसँग प्रतिपर्धा गर्दैछ ।  लगातार तीन खेलमा विजयी भएर ६ अंक जोडेको नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूहचरणको अन्तिम खेल बुधबार बिहान ११ः४५ बजे सुरु हुँदैछ । शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो। तेस्रो खेलमा हङकङमाथि नेपालले आठ विकेटको शानदार जित दर्ता गरेको हो। नेपालको समूह विजेता बन्दै सेमिफाइनल खेल्न लक्ष्य छ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख ५ गते बुधबार सन् २०२४ अप्रिल १७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् आजको विनिमय दर 

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। अहिले कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो  देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ। राती भने देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३० मिनेटमा हुनेछ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

धनुषा। मधेश प्रदेश सरकारले मङ्गलबार मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका (लोसपा) वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानअनुसार कार्य जिम्मेवारी र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।   पुनर्गठित मन्त्रिपरिषदमा मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालयको कार्य जिम्मेवारी सम्हालेका छन् । भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, अर्थमन्त्रीमा सञ्जयकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा गोविन्दबहादुर न्यौपाने, खेलकुद तथा समाज कल्याणमन्त्रीमा सुरीताकुमारी साह, गृह तथा सञ्चारमन्त्रीमा राजकुमार लेखी, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा सिंगासन सा कलवार, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शत्रुधन सिंह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा सुनिता यादव, ऊर्जा सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा शेखअबुलकलाम आजाद, उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा रहबर अन्सारी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा केशव राय रहेका छन् । यसअघि २०८० चैत १० गते १४ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद् रहेको थियो भने अहिले १३ सदस्यीय रहेको छ । लोसपाले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने सार्वजनिक भएपछि सो पार्टीबाट मन्त्री बन्नु भएका कुर्मीलाई मात्र हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको आङ्कलन गरिएको छ । 

उपत्यकाका १४२ वटा ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित १४२ वटा ड्राइभिङ्ग इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीले छापा मारेको छ । छापा मारेर ट्रायल सेन्टरमा प्रयोग गरिएका सवारी साधनका शंकास्पद कागजात बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। प्रशिक्षार्थीलाई सिकाउन प्रयोग गरिएका २१ वटा गाडी प्रहरीको अनुसन्धानको दायरामा आएको छ । ती गाडीहरूमध्ये १६ वटाको कागजात फेला परेको छ। ५ वटा गाडीको ब्लुबुक नवीकरण नभएको भेटिएको छ। ट्रायल सेन्टर र ड्राइभिङ्ग इन्स्टिच्युटमा भेटिएका २० वटा मोटरसाइकल र ७ वटा स्कुटर अनुसन्धानको दायरामा आएको छ । १५ वटा मोटरसाइकल नवीकरण फेला भएको र ५ वटाको कागजात नभएको अवस्थामा भेटिएको एसपी रेग्मीले जानकारी दिए । इन्स्टिच्युट सञ्चालकहरूले ३ वटा स्कुटरको कागजात देखाउन सकेका छैनन् । ४ वटा स्कुटर नवीकरण नगरेको अवस्थामा भेटिएको छ । शंकास्पद कागजातबारे अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए। 

एक खेल नखेल्दै नेपाल समूह विजेता

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा नेपाल एक खेल नखेल्दै समूह विजेता बनेको छ ।  मंगलबार साउदी अरेविया कतारसँग १५ रनले पराजित भएसँगै नेपाल समूह विजेता बनेको हो । कतारको जितले बुधबार साउदी अरेबियासँग खेल्नुअघि नै नेपाल समूह ए बाट विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । समूह ए मा नेपालबाहेक अन्य कुनैपनि टोलीले ६ अंक बनाएका छैनन् ।  अब नेपालले सेमिफाइनल खेल युएईसँग खेल्ने सम्भावना बढेको छ । समूह ए बाट अन्य सबै चार टोलीको नै सेमिफाइनल खेल्ने अंक गणीतिय सम्भावना बराबर बनेको छ । चार मध्ये एउटा टोली ४ अंकका साथ नेटरनरेटमा माथि रहँदै सेमिफाइनल खेल्नेछ । नेपाल भने सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । समूह बी मा सोमबार ओमानले युएईमाथि ९ विकेटको जित हात पारेको थियो । यो नजिताले अब ओमान समूह बी को विजेता र युएई उपविजेताको रुपमा सेमिफाइनल खेल्ने सम्भावना छ । समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कुवेत ३ खेलमध्ये २ मा जित र एउटामा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ । बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अंक विहीन हुँदै पुछारमा पुगेका छन् । बुधबार ओमानले कुवेत र युएईले कम्बोडियासँग खेल्दैछन् । कमजोर प्रतिस्पर्धी भएका कारण ओमान र युएई दुबै विजयी हुने सम्भावना छ । त्यसैले नेपाल र युएई सेमिफाइनलमा भिड्ने सम्भावना बढेको हो । सेमिफाइनल शुक्रबार हुनेछ भने तेस्रो स्थानको खेल शनिबार र फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिता विजेताले टी २० एसिया कप खेल्न पाउनेछ भने शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

रहेनन् साहित्यकार प्रकट पगेनी  ‘शिव’

पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी  ‘शिव’ को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका पङ्गेनीको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो । कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात उनको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियान पनि चलाइएको थियो ।  आर्थिक अवस्था कमजोर भएपछि साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन गरिएको थियो । प्रकटका कविता, गजलका किताबहरु प्रकाशित छन् । उनले लेखेका  ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीतहरु निकै चर्चित छन् । 

मधेशका वनमन्त्री कुर्मीले दिए राजीनामा

जनकपुर । मधेश प्रदेशका वनमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । कुर्मीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा दिएका हुन् । कुर्मी लोकतान्त्रिक समाजवादी पार्टीबाट वनमन्त्री बनेका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदैछन् । लोसपाले उनलाई विश्वासको मत नदिने बताएको छ ।

महालेखापरीक्षकको कार्यालयलाई संघीयता अनुरुप पुनर्संरचना गर्छौं : राया

काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको कार्यालयलाई संघीय शासन प्रणाली अनुरुप पुनर्संरचना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मंगलबार संसदीय सुनवाई समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक रायाले आफ्नो भावी कार्ययोजना प्रश्तुत गर्दै सो कुरा बताए। रायाले लेखा संपरीक्षणको कामलाई सहज बनाउन, पारदर्शी बनाउन र कम खर्चिलो बनाउन पनि महालेखापरीक्षकको कार्यालय संगठन संघीय ढाँचा अनुरुप अघि बढाउन आवश्यक रहेकाले आफूले सो कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए उनले सार्वजनिक लेखा परीक्षणलाई गुणस्तरीय, जवाफदेही र निष्पक्ष बनाई नीतिगत आधारहरु तय गर्ने र लेखा परीक्षणका लागि विद्यमान रणनीतिक योजनाको कार्यान्वयनमा जोड दिने पनि बताए। वित्तीय अनुशासन पालना गर्न, गराउन सरोकारवाला सबै पक्षसँग अन्तरक्रिया, समन्वय, सहकार्य र सम्बन्ध विस्तार गर्ने, पूर्व महालेखापरीक्षक एवं पूर्व कर्मचारीहरुसँग अनुभवको आदानप्रदान तथा सुधारका विभिन्न पक्षहरुमाथि निरन्तर छलफल चलाउने र प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने पनि प्रस्तावित महालेखापरीक्षक रायाको कार्ययोजना रहेको छ । प्रस्तावित महालेखापरीक्षक रायाले गुणस्तरीय लेखापरीक्षण प्रतिवेदन तयार पार्दा पनि विज्ञहरुसँग परामर्श लिएर अघि बढ्ने पनि बताए।

मधेस प्रदेशसभामा जनमत पार्टीको अवरोध

काठमाडौं । मधेस प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । जनमत पार्टीले नाराबाजी गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।  मंगलबारको बैठक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको थियो । सप्तरीको राजविराजमा मधेस कृषि विश्व विद्यालयको शिलान्यासका क्रममा भएको घटनाको जवाफ माग गर्दै जनमत पार्टीले बैठक अवरोध गरेको हो । माघ ८ गते सप्तरीको राजविराजमा मधेस कृषि विश्व विद्यालयको शिलान्यास कार्यक्रममा क्याबिनेट मन्त्रीसहित सांसदमाथि भएको घटना छानबिन हुनुपर्ने माग जनमतले राखेको छ । सो कार्यक्रममा भएको झडपमा महेश यादवलगायत तीन सांसद प्रहरीको बल प्रयोगबाट घाइते भएका थिए ।  

बस दुर्घटनामा अछामका एक युवकको मृत्यु

मंगलसेन। भारतको पुना (पुणे)बाट नेपालको धनगढी आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । पुणेबाट बसमा घर आउन लागेका कमबलजार नगरपालिका–२ बजुडाका ४० वर्षीय लालबहादुर खड्काको निधन भएको हो । बसमा सवार रहेका २३ जना घाइते भएका र उनीहरुको पुणेको मालीगाउँका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइतेहरुको विवरण खुल्न सकेको छैन । धनगढी आउँदै गरेको यात्रुवाहक बस भारतको नासिकस्थित मालीगाउँमा सोमबार बिहान करिब ९ बजे दुर्घटना भएको थियो । आइतबार पुणेबाट सुदूरपश्चिमका यात्रु ल्याएर आएको उक्त बसमा एकसय १० जना यात्रु रहेको र अर्को सवारी साधनभन्दा अगाडि जाने बेलामा दुर्घटना भएको बताइएको छ ।

‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी सुरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर आइतबारबाट ‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी सुरु भएको छ । प्रतिष्ठानको आयोजनामा भएको सो प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक समारोहका बीच उद्घाटन गरे । कार्यक्रममा कुलपति हार्तम्छालीले प्रतिष्ठानले प्रदर्शनीमार्फत दुई फरक विषयलाई समेट्न खोजेको बताए । उनले ‘हिमालयको रहस्य’ प्रदर्शनीमार्फत नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भिर असरलाई उजागर गर्न खोजेको जनाए । उनले ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ का राष्ट्रिय ललितकला पुरस्कार विजेताहरूलाई हौसला प्रदान गर्न गरिएको जानकारी गराए । कुलपति हार्तम्छालीले उनले भने, ‘वातावरण परिवर्तनले हिमालमा परेको प्रभावलाई कलाकारले कलामार्फत कलात्मक रुपले प्रस्तुत गर्नुभएको छ । हिमाल बचाउने अभियानमा कलाकारको पनि विशिष्ट भूमिका रहनुपर्छ भन्ने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको हो ।’ उनले कलामार्फत हिमालमाथि भइरहेको दोहनलाई प्रस्तुत गरिएको विचार व्यक्त गरे ।  कुलपति हार्तम्छालीले नेपालको मौलिक पहिचानसँगै पर्यटनमार्फत सांस्कृतिक अर्थ–समृद्धि मात्रै होइन हिमवत्खण्ड साथै विश्व वातावरण र जैविक विविधताको सार सन्तुलनको मुख्य आधार पनि हिमालय रहेको जिकिर गरे । उनले मानवको प्रकृतिसँग सम्बन्ध, विरासतदेखि आधुनिक समय तथा भविष्यसम्मको सन्तुलन, नियमितता र शान्तिपूर्ण जीवनमोक्षका साथै पुस्ता हस्तान्तरणार्थ जगाधारको बिम्बसार पनि हिमाललाई नै मान्न सकिने झलकहरू कलाकारका चित्रकलामा विभिन्न रेखा, आकार र रङको ढङ्गहरूले देखाउने प्रयास गरिएको जनाए । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले हिमाल जीवन र जगतसँग जोडिएको विषय भएको बताए । उनले हिमाल भए पानी हुने र पानी भए जीवन हुने भन्दै जलवायु परिवर्तनले नेपाललगायतका पर्वतीय देशहरूमा परेको असरलाई गम्भिर रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । उपकुलपति लामाले भने, ‘हिमाल बचाउन यसका बारेमा सबैले आ–आफ्नो ठाउबाट सचेत ढंगले लाग्नु पर्दछ । कलाकारले चित्रमार्फत यो अभियानलाई उजागर गर्ने कोसिस गरेका छन् ।’  प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रदर्शनीमा जलवायु परिवर्तनले पारेको प्रभाव र कालोपत्थर बन्दै गइरहेका हिमालका विषयलाई कलाकारले कलात्मक रुपमा उधिनेको धारणा राखे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ औँ जलवायु परिवर्तनसम्बन्धी  ‘कोप २८’ सम्मेलनमार्फत उठाएको एजेन्डालगायतका विविध विषय कलामा समेटिएको बताए । सदस्य सचिव थुम्केलीले प्राणीजगतको जीवनसँग हिमाल जोडिएकाले पछिल्लो समय जलवायु परिवर्तनले यसमा पारेको गम्भिर असरबारे सम्बद्ध सबै सचेत हुनेपर्ने विचार व्यक्त गरे । उनले भने, ‘हिमाल बचाउन विश्वको ध्यान आकृष्ट गर्न कला प्रदर्शनी गरिएको हो ।’ ‘हिमालयको रहस्य’ प्रदर्शनीमा अनिता भट्टराई, एन्जिला जोशी, अर्पिता पराजुली, अरुणा हिङमाङ, बिआर श्रेष्ठ, भिमकुमार श्रेष्ठ, भिम सुब्बा तामाङ, बिक्कुकुमार थापा, विनोदकुमार गुप्ता, विपना महर्जन, दामोदर बराल, डिबी भण्डारी, देवेन्द्र थुम्केली, दिनेश थापा मगर, दिनेश्वर महतो, दिपेश नेपाली, गजेन्द्रमान श्रेष्ठ, गणेश लामा, गौरवरत्न बज्राचार्य तुलाधर, गौतमरत्न बज्राचार्य तुलाधर, इन्दु पन्त, जुजुकाजी श्रेष्ठ, ज्योति खड्का श्रेष्ठ, केशव राज खनाल, किशोर नकर्मी, किशोर रानाभाट, कृष्ण लामा, लालकाजी लामा, लिलाधर के.सी., महेश आचार्य, माइला दोङ, मोहन शिवाकोटी, नरबहादुर बि.के., नारदमणि हार्तम्छाली, नेमबहादुर तामाङ, ओमप्रकाश गुरुङ, प्रदिप अधिकारी, प्रकाश मिजार, प्रमिला बज्राचार्य, प्रितम थापा, रविन्द्र मानन्धर, राजप्रकाशमान तुलाधर, राजन महर्जन, राजकुमार राना मगर, रामबहादुर ठाडा, रमेशनाथ खनाल, रिनु श्रेष्ठ, रोशन खत्री, रूवी महर्जन, रुद्रबहादुर पुन, रूपक राई, रुशा बज्राचार्य, सम्झना राजभण्डारी, संगी श्रेष्ठ, संजय वान्तवा, सरुना देवी महर्जन, सौरगंगा दर्शनधारी, श्रेया हाडा श्रेष्ठ, सिकन्दर चौधरी, सुवास ‘क्षितिज’ श्रेष्ठ, सुदन श्रेष्ठ, सुमन श्रेष्ठ, सुरक्षा वाग्ले, सुरेम देशार, सुश्मा श्रेष्ठ, सुस्मिता कुँवर, क्षितेन शेर्पा, छिरिङ फोन्जो गुरुङ, उसिना महर्जन लगायतका कलाकार सहभागी छन् । यस्तै, ‘सिर्जनावृत्ति’ कला प्रदर्शनीमा उद्धव रिमाल (समसामयिक चित्रकला), विनय रिमाल (प्रतिस्थापन कला), रिसिता खत्री (समसामयिक मूर्तिकला), नम्रता सिंह (लोककला) र राजप्रकाश मान तुलाधर (परम्परागत चित्रकला) ले सहभागिता जनाएका छन् । ‘हिमालयको रहस्य’ प्रदर्शनीको संयोजन कलाकार केशव राज खनाल र क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदीप शाक्यले गरेका छन् ।  ‘कोप २८’ अर्थात २८औँ विश्व जलवायु सम्मेलन २०२३ नोभेम्बर ३० देखि १२ डिसेम्बरसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न भएको थियो । संयुक्त राष्ट्र सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए । सम्मेलनबाट फर्किएपश्चात् प्रधानमन्त्रीले विमानस्थलमा पत्रकारसँग जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप २८’  प्रभावकारी भएको  र नेपालले यस पटक आफ्ना एजेन्डा प्रभावकारी र वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरिएको बताएका थिए । यस्तै, उनले जलवायु परिवर्तनको असर भोगेको नेपालले त्यसबापतको क्षतिपूर्ति पाउनुपर्ने र त्यसको प्राथमिकता प्राप्त देशको सूचीमा नेपाललाई समावेश गरिएको जानकारी संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिया गुटेरसले आफूलाई गराएको बताएका थिए । यस सम्मेलनमा नेपालले आफ्नो अधिकारको बारेमा प्रष्ट रूपमा आफ्नो धारणा राखेको थियो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरस २०८० कार्तिक १२ गते नेपालको चारदिने भ्रमणका लागि आएका थिए । यसक्रममा उनले सगरमाथा आधार शिविर, अन्नपूर्ण बेसक्याम्पलगायतका क्षेत्रको भ्रमण गर्दै नेपाललगायतका देशको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गम्भीर असर गरेको बताएका थिए । उनले भनेका थिए, ‘अहिले म हिमालको काखमा छु, यहाँ व्यापक रूपमा हिमालहरू पग्लिएका छन् ।’ महासचिव गुटेरसको नेपाल भ्रमणले विश्वमञ्चमा नेपाललगायतका देशको हिमाली क्षेत्रमा परेको असर र प्रभावबारे आवाज प्रभावकारी रूपमा उठेको थियो । यसअघि वि.सं २०६६ मंसिर १९ गते सगरमाथा क्षेत्रको आधार शिविरमा औपचारिक रूपमा मन्त्रिपरिषद् बैठक गरेर १० बुँदे घोषणापत्र जारी गर्दै नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरका बारेमा विश्वको ध्यानाकर्षण गरेको थियो । यस बैठकपश्चात् (मङ्सिर २२ गते–पुस ३ गते सम्म) डेनमार्कको कोपनहेगनमा सम्पन्न ‘कोप १५’ मा नेपाललगायतका पर्वतीय देशका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको विषयलाई औपचारिक रूपमा उठाएको थियो । माथि उल्लेख गरिएका विविध विषयलाई उठान गरेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले वैशाख २ गतेबाट ७ गतेसम्म ‘हिमालयको रहस्य’ चित्रकला प्रदर्शनी गरेको जनाएको छ । कलाकारले आफ्ना कलाकृतिमार्फत जलवायु परिवर्तन र यसले नेपालका हिमालमा पारेको असरलाई उठाएका छन् । वैशाख ७ गतेसम्म चल्ने यस प्रदर्शनीमा ६९ कलाकारका कलाकृति समावेश गरिएको छ ।  

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा श्रीकान्त खतिवडा नियुक्त भएका छन् । तनहुँका एमालेनिकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् । उनी गत चैत २७ गतेकै मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त भएका थिए । मुख्यमन्त्री खगराजले सदस्यमा माओवादी कोटाबाट फेरि पनि सुवास अधिकारीलाई नै नियुक्त गरेका छन् । सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य पदमा नियुक्त भएका हुन् ।

प्रज्ञा स्मृति प्रतिष्ठानले बागमती प्रदेश पालिकास्तरीय भलिबल प्रतियोगिता गर्ने

काठमाडौं । बागमती प्रदेश पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही बैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना हुने भएको हो । प्रतियोगिताको सह-आयोजककमा ललितपुर जिल्ला खेलकुद विकास समिति रहेकाे छ । प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको आयोजक कमिटीकी संयोजक डोल्मा माया गोलेले जानकारी दिइन्। प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा हुने छ। प्रतियोगितामा बागमती प्रदेशमा रहेका ११९ पालिकाका ८० भन्दा बढी टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ । यस प्रतियोगिता नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने आयोजकको अपेक्षा गरिएको छ ।