प्लाष्टिकबाट पेट्रोलियम पदार्थ

झापा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले मङ्गलबार यहाँ प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस नामक यन्त्रबाट प्लाष्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिएको थियो । नाष्टका इन्जिनियर डा रवीन्द्रप्रसाद ढकालले एक किलोग्राम प्लाष्टिकबाट ६०० देखि ७०० मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताउनुभयो । “यसलाई वर्गीकरण गरेर ६० प्रतिशत डिजल तथा २०-२० पेट्रोल र मट्टीतेल छुट्याउन सकिन्छ”, डा ढकालले भन्नुभयो, “नत्र सबै डिजल मात्र पनि बनाउन सकिन्छ ।”

उहाँले कार्यपत्र प्रस्तुत गर्दै प्लाष्टिकलाई नवीकरण गर्न सकिने र नसकिने वर्गीकरण गरेर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताउनुभयो । नवीकरण हुने प्लाष्टिकलाई पुनःनवीकरण गर्ने र नवीकरण नहुने प्लाष्टिकलाई पेट्रोलियम पदार्थ उत्पादन गर्न सुझाव दिनुभयो । यसअघि नाष्टले ३५ नगरपालिकामा सो प्रविधि प्रयोग गरेर देखाइसकेको छ ।

ढकालले अहिले विश्वका ६५ मुलुकमा सो प्रविधि लागू भइसकेको जानकारी दिनुभयो । स्थानीय तहमा सो प्रविधि लागू गर्न रु ४० देखि ५० लाख पर्ने यन्त्र आवश्यक पर्ने बताइएको छ । झापामा फालिएको प्लाष्टिकजन्य फोहरबाट दैनिक २१ हजार लिटरभन्दा बढी उत्पादन गर्न सकिने नाष्टले जनाएको छ ।

नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले जापानी संस्थासँग हातेमालो गरेर नेपालमा सो प्रविधि भित्र्याइएको र यसबाट मुलुक समृद्ध बनाउन योगदान पुग्ने बताउनुभयो । कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्लाष्टिकजन्य फोहरलाई नगरपालिकाले अवसरका रुपमा लिने बताउनुभयो ।

कार्यक्रममा सांसद एलपी साँवा लिम्बू र प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो प्रविधि स्थानीय तहमा प्रयोग गर्न सके फोहर व्यवस्थापनमा ठूलो टेवा पुग्नाका साथै पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने बताउनुभयो । रासस

प्रदेश नं. एक कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा कार्की चयन

काठमाडौँ, चैत ६ । युवा नेता केदार कार्की मंगलबार नेपाली कांग्रेसको प्रदेश नं. १ को संसदीय दलको प्रमुख सचेतकको रूपमा चयन भएका छन् । यसका साथै प्रदेश नम्बर एकको संसदीय दल कार्य समितिले पूर्णता पाएको छ। कार्की सहित कार्यसमितिको उपनेतामा उदयपुरका हिमाल कार्कीलाई चयन गरिएको छ भने सचिव शिवनारायण सिंह, कोषाध्यक्ष लीला सुब्बा, सदस्यहरुमा चुमनारायण तबदार, ओमप्रकाश सरावगी, ज्योती सुब्बा, नवोदिता चौधरी र बिन्दिया कार्की चयन भएका छन् । संसदीय दलको प्रमुख सचेतकका लागि गत फागुन २५ गते नै कांग्रेस संसदीय दलको कार्यालयले पत्र काटे पनि त्यसले मंगलबारमात्र संसद सचिवालयमा औपचारिकता पाएको हो । यसक्रममा प्रतिपक्षी दलका नेता राजीव कोइरालाद्धारा हस्ताक्षरित पत्र सभामुख प्रदीपकुमार भण्डारीलाई जानकारी गराइएको संसदीय दलको नेतामा चयन भएका कार्कीले जानकारी दिए। कोइरालाले कांग्रेस संसदीय दलको विधान २०७४ अन्तर्गत प्रदेश सभा संसदीय दलको सचेतक पदमा कार्कीलाई चयन गरेका हुन्। मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ वाट प्रदेशसभा सदस्यमा निर्वाचित कार्की नेपाल विद्यार्थी संघका केन्द्रीय नेता समेत हुन् । कांग्रेस नेता डा. शेखर कोइराला निकट कार्कीले यसअघि कांग्रेसको संसदीय दलको नेता पदमा समेत उम्मेदवारी दर्ता गराएका थिए। तथापि अन्तिम समय सुनसरीका राजीव कोइरालालाई छोडेका कार्की प्रमुख सचेतक बनेका हुन्।

नेताहरू मन्त्री, एकता प्रतिवेदनमा ढिलाइ

काठमाडौं, चैत ६ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकताको संगठनसम्बन्धी कार्यदलमा रहेका अधिकांश नेताहरू मन्त्रीको जिम्मेवारी पाएपछि अन्तरिम विधान र वैचारिक दृष्टिकोणसम्बन्धी कार्यदलको प्रतिवेदन आउन ढिलाइ भएको छ । पार्टी एकता संयोजन समितिले गठन गरेका ती दुई कार्यदलको आपसी छलफल जारी रहेपनि प्रतिवेदन बुझाउन केही समय लाग्ने देखिएको छ । संगठन कार्यदलको आज गृह मन्त्रालयमा बसेको बैठकले अन्तरिम विधानमा दफाबार छलफल भएको र चाँडै अर्को बैठक बस्ने समझदारी भएको कार्यदलका सदस्य वेदूराम भूषालले जानकारी दिनुभयो । उहाँले सम्भवत आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन पार्टी एकता हुने भएकाले प्रतिवेदनका लागि पर्याप्त समय रहेको बताउनुभयो । दुई दलका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको गत फागुन ७ गतेको बैठकले तय गरेको एकताका प्रारम्भिक सात आधारमा केन्द्रित रहेर १५ दिनभित्र प्रतिवेदन तयार गर्न फागुन १० गते संगठन र वैचारिकसम्बन्धी कार्यदल बनाएको थियो । उक्त अवधि (फागुन २५) भित्र समय अपुग भई यही चैत ५ गतेसम्मको समय बढाइएकामा यो समय पनि गुज्रेको छ । संगठन कार्यदलको संयोजकमा गृहमन्त्री एवं केन्द्रका नेता रामबहादुर थापा र वैचारिक कार्यदलको संयोजकमा एमालेका नेता माधवकुमार नेपाल सदस्य हुनुहुन्छ । केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको संगठन कार्यदलले विधान र संगठनका लागि दुई अलगअलग उपसमिति बनाएर प्रतिवेदनको मस्यैदा तयार गरेको थियो । चुनावी गठबन्धन हुँदै अघि बढेका दुई दलले नयाँ सरकार गठनसँगै एकता प्रक्रियालाई थप अघि बढाएका हुन् । फागुन ७ गतेको एकता संयोजन समितिको बैठकले माक्र्सवाद लेनीनवादको मार्गदर्शक सिद्धान्तका आधारमा एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने लगायत सात बुँदे आधार तय गरेको थियो ।

कांग्रेस प्रमुख सचेतमा खाँड नियुक्त

काठमाडौं, चैत्र ६ । सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेसको प्रमुख सचेतकमा बालकृष्ण खाँणलाई नियुक्त गरेका छन् । खाण पार्टी सभापति देउवाका विश्वास पात्र मानिन्छन्। खाँण प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बनेका हुन्। प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसद छन्। सानुपातिकबाट प्रमुख सचेत बन्ने खाण पहिलो सांसद हुन ।

गृहमन्त्री थापाको विमानस्थलमा छड्के, गलत गर्ने कर्मचारीलार्इ कारबाही गर्ने चेतावनी

काठमाडौं, चैत्र ६ । गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘छडके’ अनुगमन गरेका छन् । मंगलबार आकस्मिक रुपमा विमानस्थलमा गृहमन्त्री पुग्दा धेरै कर्मचारी अनुपस्थित थिए । कार्यालय समयमा अनुपस्थित रहको कर्मचारीप्रति लक्षित गर्दै गृहमन्त्रीले विभागीय कारबाही गर्ने चेतावनी दिए । विमानस्थलको आकस्मिक अनुगमनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै गृहमन्त्रीले भने, ‘राष्ट्रिय सुरक्षा र पहिचानको मुख्य विन्दु भएकाले विमानस्थलको आकस्मिक अनुगमन गरेको हुँ ।’ सो अवसरमा गृहमन्त्री थापाले विमानस्थललाई व्यवस्थित र सुरक्षीत बनाउन नयाँ नीति बनाउन लागिएको पनि जानकारी दिए । उनले अनुगमनका क्रममा विमानस्थललाई व्यवस्थित बनाउन माहतका निकायलाई पनि सचेत गराएको बताए । विमानस्थल अस्तव्यस्त भइरहेको गुनासो आइरहेका बेला मन्त्री थापाले आकस्मिक अनुगमन गरेका हुन् । विमानस्थललाई व्यवस्थित बनाउने गरी ठोस नीति बनाउने सरकारको योजना छ । गहृमन्त्री थापाले मंगलबार बिहान डिल्ली बजारको कारागारको पनि अनुगमन गरेका थिए ।

अपडेट: बस दुर्घटनामा बेपत्ता बृद्धाको शव भेटियो, गम्भीर घाइतेलाई पाल्पा रिफर

बागलुङ, चैत्र ६ । मंगलबार बिहान ढोरपाटन नगरपालिका वडा १ गरगरेमा बस दुर्घटना हुँदा एक बृद्धाको मृत्यु भएको छ, भने १० जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बुटवलबाट बागलुङको बुर्तिबाङ आउदै गरेको लु १ ख ७४३९ नम्बर को रात्री बस दुर्घटना भएको हो । दुर्घटनामा बेपत्ता एक बृद्धाको शव भेटिएको छ । उनको शव दुर्घटनास्थलदेखि करीब दुई सय मिटर तल बडीगाड खोलामा भेटिएको प्रहरीले जनाएको छ । मृतक बृद्धा महिला तमानखोला गाउपालिका ३ की वर्ष ८४ की कुमारी बुढा भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालक सहित १० जना घाइते भएका छन् । घाइते मध्य चितवनको भारतपुर बस्ने ३३ वर्षीय मुस्तेतार अलि र ढोरपाटन ८ का १५ वर्षीया चन्द्रकला विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पाल्पा रिफर गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । बसमा सवार सात जना भने सकुशल रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक कृष्ण रानाले बताउनुभयो । दुर्घटनामा घाइते भएका चालक पाल्पा जिल्ला रिप्तीकोट–५ का ४७ वर्षीय कलबहादुर थापा, उनका २१ वर्षीय छोरा बिमल थापा, बागलुङ तमानखोला २ का १९ वर्षीय केसु घर्ती ढोरपाटन नगरपालिका ८ का ५० वर्षीय नरबहादुर बिक, सोही स्थानका ४५ वर्षीय दुर्गा बहादुर विक, १८ वर्षीय झकास विक, भारत रामपुर रतनपुरा बस्ने ३३ वर्षीय मुस्तेतार अलि घाइते भएका छन् । त्यसैगरी, भारतपुरका २२ वर्षीय युवराज खान, ढोरपाटन ८ का २२ वर्षीय सुभाष विक र ९ वर्षकी आशिका विकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटना के कारणले भयो भन्ने प्रहरी अनुसन्धानबाट खुल्ने बताएको छ।

माओवादी नेता कार्कीसहितको टोलीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, चैत्र ६ । झापाको दमक–चिसापानी–रबि सडक (फाल्गुनन्द मार्ग) निमार्ण सम्पन्न गर्न थप बजेट माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । २५ अघि निर्माण सुरु भएको उक्त सडकमा थप बजेट माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । ०४९ सालमा निर्माण सुरु गरिए पनि केही महिना अघि मात्र ट्रयाक खोलिएको थिये । तर, निर्माण सम्पन्न गर्न बजेट अपुग भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण गर्नु परेको सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी ‘गगन’ले जानकारी दिए। प्रधानमन्त्रीको गृहनगरसमेत भएपछि ओलीले उक्त सडकलाई प्राथमिकतामा पर्ने गरेका छन् । तीन वर्षअघि उनकै पहलमा फाल्गुनन्द मार्ग बहुवर्षे आयोजनामा परेको थियो। फेरि पनि सडक निर्माण सम्पन्न गर्न बजेट पाउने आशामा झापा, इलाम र पाँचथरका स्थानीयसँगै सडक निर्माण उपभोक्ता समितिले प्रधानमन्त्री ओलीलाई मंगलबार सरकारी निवास बालुवाटार पुगेर भेट गरे। प्रतिनिधिमण्डलमा नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्की, प्रतिनिधिसभा सदस्य महेन्द्राकुमारी सुब्बा प्रदेश १ का प्रदेशसभा सदस्य झलकसिंह दर्लामी, कांग्रेस नेता भीष्मराज आङ्देम्बेलगायत नेता थिए । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरीले सडकलाई बाह्रै महिना सञ्चालन गर्न तत्काल एक अर्ब ७५ करोड आवश्यक रहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। ‘दमकदेखि चिसापानीसम्म ट्रयाक ओपन गरिएको ३६ किलोमिटर क्षेत्रभित्र बाह्रैमास सवारी साधन सञ्चालन गर्न तत्काल पक्की ढल, बेस्ट वाल, ग्राभेलिङ, रिटेनिङ वाल जरुरी छ’, उनले भने,‘त्यसका लागि नेपाल सरकारका तर्फबाट चालु आर्थिक वर्षमा छुटाइएको बजेट अत्यन्त न्यून भयो। डिपिआर अनुसारको एक अर्ब ७५ करोड रकम तत्काल थप गरिदिन प्रधानमन्त्री समक्ष आग्रह गर्छौँ।’ प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्दै उक्त सडकका बारेमा आफू जानकार भएकाले बजेट अभाव हुन नदिने बताए । उनले यो सडक आफ्नो पुरानो सपना भएको बताउँदै सपना पूरा गरेरै छाड्ने बताए। उनले भने,‘यो सडक मेरो पुरानो सपना हो। हामी सपना मात्र देख्दैनौँ पूरा पनि गछौँ।’ जादु गरे जस्तै तकत्काल पूरा नभए पनि विस्तारै पुरा हुने बताए। प्रधानमन्त्री ओलीले भने,‘जादु्गरले जादु गरे जस्तै तत्काल त काम सकिँदैन। तर विस्तारै सकिन्छ। कामको प्रगती भइरहेको छ।’ विकासका लागि झापाका राजनीतिक दल एकजुट भएको भन्दै उनले खुसी व्यक्त गरे। उनले भने,‘यता उता हुने भनेको चुनावको बेलामा हो। अरूबेला झापाका राजनीतिक दल विकासमा एक हुन्छन्।’

दुुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्व नवलपरासीको कावासोती नगरपालिका–८ थकाली चोकमा आइतबार भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते मोटरसाइकल चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० निवासी २० वर्षीय रामबहादुर आलेको उपचारका लागि भरतपुर लगिने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । बा२ख ३९२२ नंको माइक्रो र विपरीत दिशाबाट आएको लु३४प ७०८६ नंको मोटरसाइकल एकआपसमा ठोक्ँिकदा सो दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार अन्य एक जना घाइते भएका छन् । यसैबीच कावासोतीको कालीगण्डकी चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको पूर्व ग४प ६५२१ नंको बाइक र विपरीत दिशाबाट आइरहेको लु३५प ६४२८ नंको पल्सर बाइक एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रलोभनमा पारी बेच्न लगेका ६ चेलीको उद्धार

कपिलवस्तु । राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा यहाँको यशोधरा गाउँपालिकास्थित मर्जादपुर सीमा नाकाबाट आइतबार ६ युवतीको उद्धार गरिएको छ । विदेशमा राम्रो जागिर खाने प्रलोभनमा परेर अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका ती युवतीलाई प्रहरीले उद्धार गरेको हो । सुराकीका आधारमा सीमा नाकाबाट कपिलवस्तुकै दुई र अन्य विभिन्न जिल्लाका चार गरी छ जना युवतीको उद्धार गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल मर्जादपुर कपिलवस्तुले जनाएको छ । ती युवतीलाई कपिलवस्तु सदरमुकाम तौलिहवा हुँदै नेपाली सीमा नाका कटाउन लागेको थाहा पाएपछि आइतबार सीमा निगरानीमा खटिएको सशस्त्र प्रहरी बलले युवतीसँगै एक जना बिचौलियालाई पनि नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी निरीक्षक अमृत दुलालले भन्नुभयो, “शंका लागेर सोधपुछका लागि उनीहरूलाई सम्पर्कमा ल्यायौँ । सोधपुछका क्रममा बिचौलियाले राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर सीमा कटाउन लागेको रहेछ ।” बिचौलिया गणेश खत्रीलाई प्रहरी चौकी मर्जादपुरमा बुझाइएको छ । यहाँको मर्यादपुर–खुनुवा सीमा नाकामा महिलासम्बन्धी काम गर्ने कुनै पनि संघसंस्था नहुँदा चेलीबेटी ओसारपसारले प्रश्रय पाइरहेको स्थानीयवासीको भनाइ छ । रासस

नगरपालिकाकै बासिन्दा महाकालीको पानी पिउन बाध्य

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीका स्थानीय बासिन्दा बर्षौंदेखि महाकाली नदीको दूषित पानी पिउदै आइरहेका छन् । गाउँमा खानेपानीको सुविधा नहुँदा आफूहरु महाकालीको दूषित पानी प्रयोग गर्न बाध्य भएको तिरखडेनीका धाना बुडालले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्सातको समयमा महाकालीमा भेल आएको बेलासमेत सोही पानी प्रयोग गर्न बाध्य भएका छौँ ।” तिरखडेनीका करीव ५० घरपरिवारले खानेपानीको चरम समस्या भोगिरहेका छन् । आफूहरुलाई खानेपानीको निकै सकस भएको स्थानीयवासी जयन्ती बुडालले बताउनुभयो । उहाँले भन्नुभयो, “महाकाली किनारका बासिन्दालाई खानेपानीकै समस्याले पिरोलेको हुन्छ ।” महाकालीमा भेल आउँदा खानेपानी भर्न लगेका भाँडाकुँडासमेत नदीले बगाएको स्थानीय बासिन्दाले बताएका छन् । आफूहरु वर्षौंदेखि दूषित पानी प्रयोग गर्दै आइरहेको र अहिलेसम्म कसैले समस्या समाधान नगरेको स्थानीयवासी नारु बोहराले बताउनुभयो । निर्वाचनका बेला सबै राजनीतिक दलले गाउँमा खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि कसैले पनि आफ्ना प्रतिबद्धता पूरा नगरेको स्थानीयवासीको गुनासो छ । महाकाली किनारका तिरखडेनी र सिम्तडीका बासिन्दाले खानेपानीको निकै समस्या भोग्नुपरेको स्थानीय हरिना पन्तले बताउनुभयो । आफूहरुले सरोकारवालासँग पटक पटक आग्रह गरे पनि केही पहल नभएको स्थानीयवासीको गुनासो छ । नगरपालिकाका बासिन्दा भएर पनि आफूहरुलाई नगरवासीको अनुभूति हुन नसकेको महाकाली तटीय क्षेत्रका बासिन्दाले बताएका छन् । दूषित पानी पिउँदा विभिन्न रोगको संक्रमणसमेत देखिने गरेका छन् । रासस

रोल्पाका ५० प्रतिशत महिला घरमै बच्चा जन्माउँछ

रोल्पा । मातृ तथा बाल मृत्युदरमा कमी ल्याउने भन्दै सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि रोल्पामा अझै पनि ५० प्रतिशतभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । गर्भवतीले चार पटक गर्भ जाँच गराउनुपर्नेमा ९० प्रतिशत महिलाले पहिलो जाँच र ४४ प्रतिशत महिलाले मात्र अन्तिम जाँच गराउने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । चार पटकसम्म नियमित गर्भ जाँच नगराउने आमा तथा शिशुमा स्वास्थ्यमा नकारात्मक प्रभाव देखिँदै आएको बताइएको छ । नियमित गर्भ जाँच नगराएकै कारण गत वर्ष जिल्लामा ३५ मृत शिशु जन्मिएको र २८ शिशु जन्मेको एक महिनाभित्रै मरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत डा तेजेन्द्र साउदले जानकारी दिनुभयो । गर्भवती पटक पटक स्वास्थ्य संस्थामा जान लाज मान्ने तथा स्वास्थ्य संस्थामा गएर प्रसुति गराउँदा सुरक्षित भइन्छ भन्ने चेतनाको अभावका कारण ठूलो संख्याका गर्भवतीले घरमै बच्चा जन्माउने गरेको डा साउदले बताउनुभयो । “सानै उमेरमा विवाह गर्ने तथा छिट्टै गर्भवती हँुदा स्वास्थ्य संस्थामा मुख देखाउन लाज मान्छन्”, साउदले भन्नुभयो । जिल्लामा जटिल प्रसूति सेवा पनि सञ्चालनमा रहेको छ । गत वर्ष यो सेवा लिने महिलाको संख्या २५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । भौगोलिक विकटता, गरिबी, चेतनाको अभाव र पारिवारिक बोझका कारण सबै गर्भवती प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसकेको बताइएको छ । सरकारले रोल्पा जिल्लाका साबिकका सबै गाविसमा रहेका स्वास्थ्य संस्थामा प्रसूति गृह सञ्चालनमा ल्याएको छ । रासस

मुग्लिनस्थित त्रिशुली नदीमा यसरी बन्दैछ पुल,

चितवन, चैत ५ । तनहुँ र चितवनको सीमा मुग्लिनस्थित त्रिशुली नदीमा पुल निर्माणको काम तिव्र गतिमा हुन थालेको छ । नयाँ पुल निर्माण गर्न दैनिक २५ जना कामदार खटिएका छन् । बर्खाको समयमा त्रिशुलीमा पानीको बहाव धेरै हुने र पुल निर्माण गर्ने सतह अग्लो स्थानमा भएकाले चाँडै काम सम्पन्न गर्ने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ । २०७१ साल फागुनबाट निर्माण सुरु गरिएको यो पुलको हाल बिम, डभी र फर्मा निर्माणको काम भइरहेको छ । १४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको यो मोटरेवल पुल नेपालकै नमूना हुने निर्माण कम्पनीले जनाएको छ । एलाइट एड्भेन्चर जेभी चितवनले पुल निर्माणको जिम्मा लिएको छ । एलाइट एडभेञ्चर जेभीका प्रबन्धक मोतिलाल शर्माले असार मसान्तसम्ममा काम सम्पन्न गर्ने बताए ।

पर्यटन प्रवर्द्धनका लागि खप्तडमा होमस्टे

अछाम, चैत ५ । धर्तीको स्वर्गका रुपमा परिचित खप्तडको पर्यटन प्रवर्द्धनका लागि होमस्टे संचालन गरिएको छ । साँफेबगर नगरपालिका वडा नम्बर १२, खप्तडको तल्लोतुकामा होमस्टे उदघाटन गरिएको हो । खप्तड क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको बसोबासका लागि खप्तडमा होमस्टे स्थापना गरिएको छ । होमस्टेको अभावमा पर्यटकहरुलाई समस्या हुँदै आएको थियो । एक कार्यक्रमबीच साँफेबगर नगरपालिका उपप्रमुख बिर्मला बुडथापाले होमस्टे उदघाटन गरिन् । आर्थिक सशक्तिकरणका लागि पर्यटन प्रवर्द्धन सँगै ग्रामीण क्षेत्रका समुदायको जीविकोपार्जनमा सहज हुने खप्तड वडा नं.१२का वडा अध्यक्ष प्रकाश रानाले बताए । उनले विगतमा होम स्टे सञ्चालन नहुँदा आन्तरिक तथा वाह्य पर्यटकहरुको बसोबासका लागि समस्या हुने गरेको बताए । होमस्टे सञ्चालन भएपछि खप्तड क्षेत्रका स्थानीयवासिन्दालाई जीवनयापनमा सहन हुने उनको भनाइ छ । उपप्रमुख बुडथापाले साँफेबगर नगरपालिकालाई समृद्ध बनाउने आधार खप्तड क्षेत्र भएको बताईन् । उनले पर्यटकीय क्षेत्र खप्तडमा घुम्न आउने अतिथिहरूलाई आकर्षण गर्ने खालका कार्यमा नगरपालिकाले पनि सहयोग गर्ने बताइन् । खप्तड घुम्न आउने पर्यटकलाई लोभ्याउने खालका स्थानीय परिकार तथा सामाग्री उत्पादन गर्न स्थानीयबासिलाई आग्रह गर्दै उनले खप्तड क्षेत्रको विकासको लागि नगरपालिकाले सहयोग गर्ने बताईन् । खप्तड क्षेत्रमा सडकको पहुँचको लागि नगरपालिका पहल गर्दै आएको उनले बताइन् । साँफेबगर नगरपालिका वडा नं.११ देविस्थानका अध्यक्ष गणेश खड्काले पर्यटकीय क्षेत्र खप्तडको प्रचार प्रसार तथा अतिथि गृहको निरन्तरताको लागि वडाले पनि सहयोग गर्ने बताए । उनले खप्तड आउने पर्यटकहरु संख्या बढाउँदै स्थानीयको जीविकोपार्जन गर्ने कार्यक्रम ल्याउन पहल गर्ने बताए । स्थानीयले भौगोलिक रूपमा टाढा, विकासका हिसाबले पछाडि पारिएको साविकको खप्तड गाविसलाई पहिलो प्राथमिकता राखि बजेट विनियोजन गर्नको लागि सरोकारवालसँग आग्रह गरेका छन् । पर्यटकीय क्षेत्रको सम्भावना भए पनि सडक पहुँच नभएका कारण पर्यटक आवागमन हुन नसकेको खप्तड पर्यटन बोर्डका सदस्य अंग कडायतले बताए । उनले खप्तड पर्यटन बोर्डको गठन भए पनि अस्थिर राजनीतिका कारण काम गर्न नसकेको बताए । पर्यटकीय क्षेत्र खप्तडमा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आवत जावत गर्न र बास बस्न सहज बनाउने उद्देश्यले ५ वटा अतिथि गृह निर्माण गरिएका छन् । एक घरमा ४ जनालाई बास बस्न मिल्ने भवन भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएका छन् । साविकको खप्तड गाविस हुँदै आउने पाहुनालाई कुनै पनि कुराको कमि हुन नदिन विभिन्न समिति समेत गठन गरिएका छन् । अछामको खप्तडको तुकाबाट खप्तड पाटनमा पुग्न करिव ४ घण्टा समय लाग्ने गर्दछ । वडा नं.१२ र एस नेपालको पहलमा साफेबगर नगरपालिकाको समन्वयमा होमस्टे संचालनमा आएको हो ।

बैतडी – काठमाडौ संघिय जनसम्पर्क मञ्च गठन

काठमाडौं, चैत ५ ।  बैतडी – काठमाडौ संघिय जनसम्पर्क मञ्च गठन भएकाे छ । नेकपा ( माओवादी केन्द्र ) ७ न. प्रदेश संघिय जनसम्पर्क मञ्चका उपाध्यक्ष क. टेकराज जोशी ज्यूको प्रमुख अतिथी र काेषाध्यक्ष अजब पाण्डेकाे अध्यक्षतामा बैतडी जिल्लाबाट काठमाडौ आई विभिन्न पेशा व्यवसाय तथा अध्ययन अध्यापन गरि बसेका बैतडीबासीकाे भेलाले जनसम्पर्क मञ्च गठन गरेकाे हाे । राजधानीमा बसेकाे भेलाले ५ जना पदाधिकारी, ४ जना सदस्य गरि जम्मा ९ जनाको कार्यसमिति गठन गरेकाे छ । नवगठित कार्यसमिति  अध्यक्ष :- तारा दत्त भट्ट उपाध्यक्ष :- नबराज भट्ट सचिव :-  बिष्णु जोशी सह-सचिब :- क. अम्मर प्रसाद भट्ट काेषाध्यक्ष :- क. ललिता बिष्ट सदस्य :- क. गोविन्द बहादुर राना सदस्य :- क. केशवराज भट्ट सदस्य :- क. दिपेन्द्र भट्ट सदस्य :- थप १ (एक) जना सदस्य अर्को पुर्ण बैठक बाट मनोनयन गरि यो कमिटीलाई ९ सदस्यीय बनाउने निर्णय गरिएकाे छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल्: पर्ख र हेरको अवस्थामा एडीबी !

काठमाडौं, चैत ५ । राष्ट्रिय गौरवको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सबैभन्दा बढी लगानी गर्दै आएको एसियाली विकास बैंक एडीबी पर्ख र हेरको अवस्थामा पुगेको छ। एडीबीले आयोजनाको काम सन्तोषजनक नभएको भन्दै गत जनवरीदेखि रोकेको पैसा दिन काम गरेर देखाउन नेपाल सरकारसँग नयाँ प्रस्ताव राखेको छ। प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले काम तीव्र गतिमा अगाडि बढाएर देखाउन एडीबीले समय दिएको बताए। उनले भने, ‘अब हामीले गरेको कामका आधारमा एडीबीले भुक्तानीको विषय टुंयाउँछ।’ ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैया“ लगानीमा निर्माणाधीन गौतम बुद्ध विमानस्थलमा एडीबीको ४०।५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान लगानी छ। यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेमलपमेन्टको ३०।५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्ने हो। एडीबीले एक अर्ब ५० करोड भुक्तानी गरिसकेकेको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

मलेसियाली प्रहरीको खोजीमा रहेका को हुन् यी नेपाली युवक !

काठमाडौं, चैत ५ । इन्डोनेसियाली महिलाको हत्या आशंकामा एक नेपाली युवक मलेसियाली प्रहरीको खोजी सूचीमा परेका छन् । सदीप गुरुङ बस्दै आएको अपार्टमेन्ट, जहाँबाट शव बरामद भएको थियो । पेनाङस्थित प्रहरीले २७ वर्षीय सदीप गुरुङको खोजी गरिरहेको छ । त्यहाँको बायान लापास्थित एक फ्याक्ट्रीमा काम गर्दै आएका उनी हाल फरार छन् । सदीपकी प्रेमिका भनिएकी २५ वर्षीया शान्ति रेस्तौली सम्बोलानको हत्या आशंकामा प्रहरीले उनलाई खोजी गरिरहेको स्थानीय संचारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार शान्तिको शव बिहीबार पेनाङको आयर इतामस्थित ग्रिन गार्डेन अपार्टमेन्टको फ्ल्याटको गुरुङ बस्दै आएको कोठामा भेटिएको थियो । शव दराजभित्र ताल्चा लगाएर राखिएको अवस्थामा फेला परेको थियो । शान्तिको हत्या करिब ३ दिनअघि नै भएको आशंका प्रहरीको छ । उक्त फ्ल्याटमा बस्दै आएका अन्य दुई नेपालीले गुरुङको कोठाबाट नराम्रो गन्ध आएको भन्दै गत बिहीबार राति १० बजे प्रहरीलाई खबर गरेका थिए । गुरुङबारे अन्य जानकारी खुलाइएको छैन । –कान्तिपुर दैनिकबाट