त्रिभुवन विमानस्थल २४ सै घण्टा संचालन गर्ने मन्त्री रवीन्द्र अधिकारीको उद्घोष

काठमाडौं, चैत ११। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गराउने उद्घोष गरेका छन् ।

मन्त्री अधिकारीले रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै हाल नेपाली आकाशमा विद्यमान एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर सञ्चालन अवधि थपिने बताएका हुन् ।

‘सिङ्गल रनवे भए पनि विमानस्थल २४ घण्टा नै सञ्चालन गर्न सकिन्छ । संसारमा प्रयोग भएका सबैखाले प्रविधिको प्रयोग गरेर यसलाई व्यवस्थापन गर्न सकिन्छ । विगतमा समय थप्न सकिदैन भन्नेहरुले पनि अहिल तीन घण्टा थप्न सकिन्छ भनिसके । प्रयास गरियो भने २४ घण्टा पनि सकिन्छ’ उनले भने ‘मुम्बइमा एउटा रनवे भएको विमानस्थल २४ घण्टा चल्छ भने यहाँ किन चल्दैन ?’

मन्त्री अधिकारीले सञ्चालन अवधि बढाएपछि अहिले भइरहेको एयर ट्राफिकको समस्या कम हुने दाबी गरे ।

विमानस्थल सञ्चालन अवधि बढेसँगै सहरको चहलपहल पनि बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने उनको भनाइ छ ।

‘काठमाडौलाई पनि १८ घण्टा जागा बनाउँछु । भविष्यमा २४ सै घण्टा काठमाण्डौ खुला हुन्छ’ उनले भने ।

 

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा भक्तजनको भीड

काठमाडौँ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन आज बिहानैदेखि देशभरका राममन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड लागेको छ । बत्तीसपुतलीस्थित श्रीराम मन्दिर, पशुपतिस्थित राममन्दिर, जनकपुरधामलगायत देशभरका राममन्दिरमा भक्तजनको भीड लागेको हो । त्रेतायुगमा चैत्र शुक्ल नवमीका दिन मध्याह्न अयोध्याका राजा दशरथ र महारानी कौशल्यादेवीको ज्येष्ठ पुत्रका रुपमा श्रीरामचन्द्रको जन्म भएको थियो । धर्मशास्त्रअनुसार भगवान विष्णुले जब पृथ्वीमा पाप बढदै जान्छ तब धर्मको रक्षाका लागि अबतार लिन्छु भनेकाले धर्मकै रक्षाका लागि भगवान् विष्णुको सातौँ अवतारका रुपमा श्रीरामचन्द्रको जन्म भएको विश्वास गरिन्छ । बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको छ । बेलुकीसम्म पाँच लाखभन्दा बढीले मन्दिरमा दर्शन गर्न सक्ने अनुमानमा पूजा व्यवस्थापन गरिएको श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संरक्षण समितिका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो । विसं १९२८ मा श्री ३ जंगबहादुर राणाका जेठान कमाण्डिङ कर्णेल सनकसिंह टण्डनले यो मन्दिर निर्माण गर्नुभएको हो । त्यसबेला भारतको लखनउमा भएको सैनिक विद्रोह नियन्त्रणका लागि श्री ३ जंगबहादुरको नेतृत्वमा कमाण्डिङ कर्णेल टण्डनसहितको समूहलाई सफलता मिल्यो । भारतमा अंग्रेज सरकार थियो । अंग्रेजले नेपाल सरकारलाई विद्रोह नियन्त्रणका लागि सघाएकामा नेपाललाई ठूलो धनराशि उपहारस्वरुप दियो । श्री ५ सुरेन्द्र वीरविक्रम शाहले कमाण्डिङ कर्णेल टण्डनलाई पनि केही रकम दिएकाले त्यो रकमले श्रीरामचन्द्र मन्दिर बत्तीस पुतलीका नाममा ३७४ रोपनी आठ आना एक पैसा जग्गा गुठीका लागि व्यवस्था गरिएकामा त्यसमध्ये कमाण्डिङ कर्णेल टण्डन आफैले ८१ रोपनी जग्गा निजी सम्पत्तिबाट गुठी राखेको संस्कृतिविद्समेत रहनुभएका डा टण्डनले बताउनुभयो । मन्दिर स्थापना हुनुअघि पुरानो बानेश्वरको उचाइमा रहेको यो स्थानमा गाई चराइन्थ्यो । गाई चराउने गोठाला भने अग्लो स्थानमा बस्थे । त्यहाँ बसेपछि ती गोठालाले गौचरनमा आएका मानिसलाई आइपरेको अन्यायबारे परामर्श दिन थाले । गोठाला त्यो ठाउँमा बसेर न्यायाधीश झैँ न्याय दिन थालेपछि त्यहाँ सबैको ध्यान आकृष्ट भयो । खनेर हेर्दा ढिस्को मुनी तीन घ्याम्पा असर्फी फेला पर्यो । असर्फीले श्रीरामचन्द्र, सीता, लक्ष्मण, भरत, शत्रुघ्नको शालिग्राम शिलाको मूर्तिसहित सत्तल निर्माण गरियो । बाँकी असर्फीले अर्घाखाँचीको बल्कोटमा सत्तल निर्माण गरियो । कमाण्डिङ कर्णेल टण्डनले अर्घाखाँची र गुल्मीमा परशुरामेश्वर र इन्द्रेश्वर मन्दिरसहितं सत्तल निर्माण गरी १३ हजार रोपनी गुठी जग्गा राखेर पश्चिम नेपालकै दर्शनीयस्थल बनाउनुभयो । विसं २०४८ अघि भने यो मन्दिर जीर्ण थियो । स्थानीयवासीले जीर्णोद्धार एवं संरक्षण समिति गठन गरी मन्दिर क्षेत्रलाई आकर्षकस्थलका रुपमा विकास गरेको स्थानीयवासी सन्तोष नेपालले जानकारी दिनुभयो । कमाण्डिङ कर्णेल टण्डनले लखनउमा देखेको आधारमा निर्माण गरिएको राजकीय गुम्बज शैलीको मन्दिर नेपालकै पहिलो हो । यो शैलीको मन्दिर अहिलेसम्म अर्को नबनेको संस्कृतिविद् टण्डनको भनाइ छ । यो ठाउँको नाम बत्तीसपुतली रहनुमा पनि एउटा किंवदन्ती छ । किंवदन्तीअनुसार राजा विक्रमादित्यको दरबारमा न्यायका पक्षमा काम हुञ्जेल बत्तीस वटा पुतली बस्थे । विक्रमादित्यको दरबारमा जब अन्याय पक्षधरको बोलवाला हुन छाडेकाले ती बत्तीसपुतली उडेर आई पुरानोबानेश्वरको थुम्कोमा बसेकैले गोठालाले न्यायका पक्षमा वकालत गर्न थालेको स्थानीयवासीको विश्वास छ । श्रीरामचन्द्र मन्दिर नेपालमै विद्युतीय प्रणालीबाट पूजा गराउने पहिलो मन्दिर बनेको छ । मन्दिरमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले २०७४ कात्तिक ११ गते इ–पूजा शुभारम्भ गर्नुभएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त यो मन्दिर स्थानीयवासीको सक्रियतामा दाताको सहयोग जुटाएर एक वर्षमै पुनःनिर्माण गरियो । भूकम्पले भत्किएको सम्पदा सरकारी सहयोग नलिई निर्माण हुनेमा श्रीरामचन्द्र मन्दिर नै पहिलो भएको समितिले जनाएको छ । मन्दिर छिर्नेबित्तिकै शरीरमा एकप्रकारको ऊर्जा प्राप्त हुने विश्वासमा भारतीय साधु सन्तसमेत पछिल्लो समयमा यहाँ आउन थालेकाले यस मन्दिरको आकर्षण बढ्ेको स्थानीय शिव पोखरेलले बताउनुभयो । रासस

रामजानकी मन्दिरमा रामनवमीको जन्मोत्सव अायोजना

जनकपुरधाम । मर्यादा पुरुषोत्तम रामको जन्मजयन्तीका अवसरमा आज यहाँ रामनवमी महोत्सव आयोजना गरिएको छ । रामको प्रेमभूमि र ससुराली र सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा आयोजित महोत्सवमा नेपाल र भारतका साधुसन्तको सहभागिता उल्लेख्य छ । सो परिसरमा श्रद्धालुद्वारा भजन, कीर्तनका साथै मिथिलाञ्चलमा जन्मसंस्कारमा गाइने गीतले महोत्सव रामको वास्तविक जन्मोत्सवझैं अनुभूति भइरहेको छ । त्रेतायुगमा चैतशुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रमा उल्लेख छ । सोही दिनलाई रामनवमी भनिन्छ । अयोध्याका राजा दशरथपुत्र राम सूर्यवंशी क्षत्रीय राजकूलका ६१ औँं पुस्ताका मानिन्छन् । ‘राम शब्द रम्’ धातुबाट बनेको हो जसको अर्थ क्रीडा, खेल र आनन्द हो । विद्वान्हरूले यसलाई विभिन्न प्रकारले अर्थ लगाए पनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने जुन क्षमता छ, त्यसैबाट उनको नाम राम भएको मानिन्छ । राम परब्रह्मा, परम तप र परम तारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँको नामसमेत राम राखेको पाइन्छ । महर्षि वैदिक विश्वविद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजारभन्दा अधिक शहरको नाम पत्ता लागेको छ । धार्मिक ग्र्रन्थमा शिवको रामभक्ति तथा हनुमान– नारद– अत्रि– अनुसूया– भरत– शवरी आदिको रामभक्ति एवं उपासना अद्वितीय भएको उल्लेख छ । कल्याणस्वरूप र सत्यस्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायक हुन् । जसले रामनवमी व्रत गर्छ, त्यसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भन्ने शास्त्रमा वर्णन छ । विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषोत्तम हुन् भन्ने उनको राज्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणास्रोत मानिन्छ । आज पनि सुशासन, सुव्यवस्था आदि लोककल्याण्कारी आदर्श व्यवस्थाका लागि शास्त्रीय गुणलाई एउटै शब्दमा पूर्ण अभिव्यक्ति दिन रामराज्य शब्दलाई पूर्ण मानिएको छ । देशभक्ति, पितृभक्ति, मातृभक्ति, भातृप्रेम, प्रजावत्सलता, सरलता, सहिष्णुता, धार्मिकता, नैतिकता, क्षमाशीलता र वीरताका उदाहरण दिँदा पनि रामलाई नै सम्झिने गरिएको छ । रासस

चैतेदशैं-रामनवमी : त्रिशूलीदेवीको मन्दिरमा भक्तजनहरुको भीड

गौशाला । चैते दशैँ र रामनवमीका अवसरमा अाइतबार महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूलीदेवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । प्रत्येक वर्ष असोज र चैतको दशैँका बेला गरी दुई पटक मात्रै खोलिने गरेको सो मन्दिर आज एकाबिहानै चैतेदशैँ र रामनवमीका अवसरमा देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । त्रिशूल धारण गरेकी त्रिशूलीदेवी भवानीको मन्दिर अरु बेला खोलिँदैन भने उनको प्रतिमा वर्षभरी कसैले हेर्न वा छुन पाउँदैनन् । असोज र चैतको दशैँमा पुजारीले उनको विशेष पूजाआजा गर्ने, सर्वसाधारणले दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था छ । जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूलीदेवीको मन्दिर महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतका सीतामढी र मधुवनी जिल्लामा निकै प्रख्यात छ । ती ठाउँबाट त्रिशूलीदेवी मन्दिरमा दर्शनका लागि हजाराँैं भक्तजन आउने गरेका छन् । त्रिशूली मन्दिरमा दर्शन गर्नाले भाकल गरेको कुरा पूरा हुने जनविश्वास छ । रासस

आगलागी हुँदा २५ लाखबराबरको धनजनको क्षति

उदयपुर । चौदण्डी नगरपालिका– १० स्थित हँडियामा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान १० बजेदेखि स्थानीयवासी गणेश निरौलाका घरबाट सल्केको आगोले निरौलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी शुरु हुनेबित्तिकै जिल्ला प्रहरी र प्रहरी चौकी हँडियाको प्रहरी शक्ति आगलागी नियन्त्रणका लागि परिचालन गरिएको छ । त्रियुगा र चौदण्डी नगरपालिकाको दमकलसमेत घटनास्थल पुगेर नियन्त्रण गर्दैछ । अन्य क्षेत्रमा आगो लाग्न नदिन प्रहरी, दमकल र स्थानीयवासी व्यापक परिचालन गरिएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । निरौलाको घर पूर्ण जलेर नष्ट हुँदा रु २५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । रासस

न्याय माग्दै द्वन्द्वपीडित

बागलुङ । गलकोट नगरपालिका–२ नरेठाँटीकी सरस्वती विक छोरीका कारण वैचन भएर हिँड्न थालेको १५ वर्ष बित्यो । बेपत्ता छोरीको खोजीमा भौँतारिनुभएकी विकले न छोरी फेला पार्नुभयो न त न्याय नै । सशस्त्र द्वन्द्वका बेला विसं २०५९ मा तत्कालीन राज्य पक्षबाट विककी ११ वर्षीया छोरी अनिता बेपत्ता पारिएका कारण उनको अवस्था थाहा पाउँ भनी विकले राज्यका विभिन्न निकाय र संघसंस्था गुहार्न थालेको पनि वर्षौं बितिसकेको छ । नवौँ अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसमा भाग लिन सदरमुकाम आउनुभएकी विकले पुरानै माग दोहो¥याउनुभयो, “कि सास चाहियो, कि लाश ।” उहाँले भन्नुभयो, “न्यायका नाममा आश्वासनमात्र दिए, पैसा दिएर घाउमा मलम लाउन खोजे तर न्याय पाइएन । छोरी अनिताको सत्यतथ्य पत्ता नलागेसम्म न्यायका लागि लडिरहन्छु। ” बागलुङ नगरपालिका–७ का श्यामकुमार विक पनि १५ वर्षदेखि बेपत्ता दुई आमा र एक बिहिनीको पखाईमा हुनुहुन्छ । सशस्त्र द्वन्द्वकै क्रममा विककी वर्षीया आमा प्रमिला र गौरी विकसहित १८ वर्षीया बहिनी दिलमाया विकलाई तत्कालीन राज्य पक्षले बेपत्ता पारेको थियो । “द्वन्द्वका दुवै पक्ष अहिले सरकारमा छन् तर द्वन्द्वपीडितको माग अझैसम्म सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो, “राजनीतिक दाउपेचमा पीडितले पाउने न्याय मरेको छ । राहत रकम दिएरमात्र पुग्दैन द्वन्द्वपीडितले न्याय पनि पाउनुपर्छ ।” “चिलले चल्ला लाँदा त कत्रो पीडा हुन्छ”, उहाँले भावपूर्ण मुद्रामा भन्नुभयो, “दुबै आमा र बहिनी नहुँदा घर त्यसै अँध्यारो छ ।” परिवारका तीनैजना सदस्य एकसाथ बेपत्ता भएपछि विकको परिवारमा अहिले पनि शोक र आक्रोश छ । उहाँले पीडितलाई न्याय र पीडकलाई कारबाही नभएसम्म न्यायको लडाइँ लडिरहने उल्लेख गर्नुभयो । सरस्वती र श्याम विकजस्तै जिल्लाका अन्य द्वन्द्वपीडितको अवस्था पनि उस्तै छ । सशस्त्र द्वन्द्वमै १३ वर्षीया छोरा बेपत्ता बनेपछि जैमिनी नगरपालिका–१० का विमल केसी पनि न्यायको खोजीमा संघर्षरत हुनुहुन्छ। न्याय दिलाउन बनेका आयोगले काम गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको न्यायका लागि द्वन्द्वपीडित समाजका जिल्ला अध्यक्ष बद्रीबहादुर केसीले बताउनुभयो । “ सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगले लिएका उजुरीलाई किनारा लगाउनु पर्छ”, उहाँले भन्नुभयो, “ आयोगहरुले राजनीतिक इच्छाशक्तिबाट परिचालित नभई स्वतन्त्र ढंगले पीडितका पक्षमा काम नगरेसम्म र पीडितले न्याय पाउने अवस्था नआउञ्जेल हामी संघर्ष गर्छौं ।” रासस

जनजाति पत्रकार महासंघमा रामधन

खोटाङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङका अध्यक्षमा रामधन राई चयन हुनुभएको छ । गए राति सम्पन्न जिल्ला शाखाको तेस्रो जिल्ला अधिवेशनले एघार सदस्यीय समिति चयन गरेकामा उपाध्यक्षमा सुनिता मगर, सचिवमा लालबहादुर मगर, सहसचिवमा रमिला राई र कोषाध्यक्षमा गोमा राई निर्वाचित हुनुभएको छ । समितिका सल्लाहकारमा डम्बरसिं राई, दमन राई, भीम राई, उजुर राई र विजय राई रहनुभएको छ । महासंघ केन्द्रीय सभासद्मा केदार मगर, सङ्गीता राई र डिएम चाम्लिङ तथा पर्यवेक्षकमा डम्बरसिं राई र भीम राईलाई चयन गरिएको जनाइएको छ । यस्तै प्रदेश सभासद्मा सूर्य तामाङ, चिसाङ शेर्पा, सुनीता मगर र गोमा राई तथा पर्यवेक्षकमा लालबहादुर मगर रहनुभएको छ । महासंघको केन्द्रीय महाधिवेशन यही चैत २३ र २४ गते काठमाडौंँमा हुँदै छ । रासस

‘महिला हिंसामुक्त’ गाउँ घोषणा

सुर्खेत । जुम्लाको हिमा गाउँपालिका–२ को कोइरेली गाउँलाई महिला हिंसामुक्त नमूना गाउँ घोषणा गरिएको छ । गाउँपालिकाको आयोजना तथा कोइरेली गाउँको महिला हिंसामुक्त नमूना गाउँ सञ्चालक समितिको सहजीकरणमा हिंसामुक्त गाउँ घोषणा गरिएको हो । घोषणा कार्यक्रमको उद्घाटन गर्दै हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले महिलाको पहलमा कोइरेली गाउँ महिला हिंसामुक्त नमूना गाउँ बन्नु सबैका लागि राम्रो सन्देश भएको बताउनुभयो । उहाँका अनुसार गाउँ सभाबाट यहाँका महिलाको कार्यबोझ घटाउन कुटानी पिसानी मिल, सिलाइकटाई, हाते होजियारी तालीम र अन्य व्यावसायिक आत्मनिर्भर हुने कार्यक्रममा ध्यान दिएको छ । उक्त नमूना बस्तीका महिलाका लागि गाउँपालिकाले सरसफाइका लागि शौचालय राख्ने बाल्टी, नङ्कट, रुमाल, दाँत माझ्ने ब्रस लगायतका आवश्यक सामग्री उपलब्ध गराएको उहाँले जनाउनुभयो । अधिकारकर्मी लक्ष्मीकन्या बुढाले कोइरेली अब नेपालकै पहिलो महिला हिंसामुक्त नमूना गाउँ बनेको दाबी गर्नुभयो । गाउँमा हुने सबैखाले उत्पीडनबाट यो बस्तीका ३५ घरधुरीका १३० महिलाले हिंसामुक्त गाउँको इतिहास स्थापित गरेको उहाँ बताउनुभयो । “यो कार्य अन्य क्षेत्रमा रहने महिलाका लागि पनि अनुकरणीय हुनेछ,” अधिकारकर्मी बुढाले भन्नुभयो । समानताको समाज निर्माण गर्ने मूल ध्येयले जुम्लाको कोइरेलीबाट थालिएको अभ्यास नेपालका सबै गाउँमा लागू हुनुपर्नेमा उहाँको जोड थियो । मनोविमर्शकर्ता नन्दराज आचार्यले महिला शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ हुन सके मात्र यो कार्यक्रमले औचित्यता पाउने बताउनुभयो । आजको मानव समुदायका लागि मनोविमर्शको पनि त्यत्तिकै आवश्यकता रहेको उहाँको भनाइ थियो । घोषणा कार्यक्रमका अध्यक्ष बास्मती रोकायाले दुर्गम गाउँका पुरुषले सुगमको जस्तो सोच गरिदिएकाले हिंसामुक्त गाउँ बनाउन सकिएको बताउनुभयो । १३० महिला र १४४ पुरुष गरी २७४ जनसंख्या रहेको उक्त बस्तीले रारा पर्यटन महोत्सवमा आउने प्रदेश सरकारका प्रमुखसहितको टोलीलाई स्वागत गर्ने योजना बनाएको जनाइएको छ । रासस

आदिनाथको मूर्तिलाई खटजात्रा गरियो

काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई खटजात्रा गरिएको छ । प्रत्येक वर्ष चैते दशैँका दिन उक्त मूर्तिलाई मन्दिरबाट निकालेर नख्खु दोभानसम्म करीव तीन किलोमिटरको दूरीमा जात्रा गरिन्छ । उक्त जात्रामा सहभागी हुन काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट ठूलो संख्यामा भक्तजनको उपस्थिति छ । उक्त मूर्तिमा शिव र पार्वतीको संयुक्त आकृति देख्न सकिन्छ भने नर र नारीको आदिस्वरुप मूर्तिमा प्रतिबिम्बित भएकाले आदिनाथ भनिएको हो । प्राचीन समयमा चोभारमा रोगब्याधीले स्थानीयवासीलाई समस्या भइरहेको बेलामा उक्त मूर्तिलाई ग्वाला (गाई चराउने)हरुले नख्खु दोभानमा चैते दशैँका दिन फेला पारेपछि चोभार डाँडामा प्रतिस्थापन गरिएको हुँदा गाउँलेले अनिष्टबाट मुक्ति पाएको जनविश्वास रहेको पुजारी सरोज शाक्यले जानकारी दिनुभयो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष आजका दिन मूर्तिलाई खटजात्रा गरिन्छ । असोज शुक्ल पूर्णिमादेखि एक महिना कात्तिक शुक्ल पूर्णिमासम्म उक्त मन्दिरमा आदिनाथको मेला लाग्ने गर्दछ । जात्रामा सहभागी भएमा कुनै पनि रोग नलाग्ने, पारिवारिक सुख, शान्ति भई समृद्धि हुने विश्वास छ । मन्दिरबाट मूर्ति निकाल्नका लागि स्थानीय देवदेवीसँग अनुमति लिन अघिल्लो दिन त्यहाँ क्षमा पूजा गरिएको थियो । रासस

पर्यटकको पर्खाइमा काहुँ धरहरा

पोखरा । पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल हो काहुँ धरहरा । पोखराका समान उचाइका उस्तै दृश्य देखिने सराङकोट, विश्वशान्ति स्तुप जस्ता स्थानमा पर्यटकको ओइरो लाग्ने गरे पनि रमणीय स्थल काहुँ धरहरा अझै पनि पर्यटकको पर्खाइमा रहेको छ । २०२६ सालमा निर्मित काहुँ धरहरा क्षेत्रमा अझै पनि अपेक्षित पर्यटक भित्र्याउन नसकिएको काहुँकोट देउराली तथा धरहरा संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार पोखराको सबैभन्दा नजिक लालीगुँरास फुल्ने यस स्थानमा अवस्थित दुई तल्ले धरहरामा गत वर्ष १२ हजार आन्तरिक तथा बाह्य पर्यटकले टिकट काटेर अवलोकन गरेका थिए । यहाँ विशेषतः शुक्रबार र शनिबार दिउँसोको समयमा बढी पर्यटक आउने गरेका छन् । “पोखरा लेखनाथ महानगरपालिका–२१ मा पर्ने धरहरामा प्रवेशका लागि विद्यार्थी र सर्वसाधारणका लागि रु २० र बाह्य पर्यटकका लागि रु ५० टिकटको व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो, “आवश्यक भौतिक पूर्वाधार तयार भएर पनि सम्बन्धित निकायको उचित ध्यान पुग्न नसक्दा काहुँ धरहराले पर्यटकीय विकासमा फड्को मार्न सकेको छैन ।” समुद्री सतहबाट एक हजार ४४३ मिटरको उचाइमा रहेको काउँकोटमा अवस्थित धरहराबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि लगायतका हिमशृंखलाका साथै सूर्योेदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न सकिन्छ । पोखराको चापापानीबाट लगभग साढे सात किलो मिटर लम्बाइमा रहेको धरहरासम्म पुग्नका लागि सडक विभागबाट रु १२ करोड ९५ लाखको लागतमा एकतर्फी ढलसहित पक्की मोटर बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पांँच दशकअघि निर्माण भएको धरहरा जीर्ण बन्दै गएको हुँदा यसको गुरुयोजना तयार गरी पुनः निर्माण गर्न महानगरमा योजना पेश गरिएको पोखरा–११ का वडा सदस्य मीनबहादुर गुरुङ बताउनुहुन्छ । पाँच तल्ले धरहरा निर्माण गरेर दृश्यावलोकनका लागि दुई वटा दूरदर्शक यन्त्र राखेर आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढाउन सके यस क्षेत्रको समग्र विकासका साथै थप पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने सोचका साथ योजना अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । धारापानी सामुदायिक वन क्षेत्रमा ढकमक्क फुल्ने लालीगुँरासको फूल पर्यटकका लागि थप आकर्षण बनेको उक्त फूल संरक्षणका लागि विभिन्न पहल गरिएको समितिका सदस्य अम्बिका आचार्यले बताउनुभयो । उहाँका अनुसार गत वर्ष सूचनाको व्यवस्था गरी लालीगुराँस टिप्ने चार जनाबाट रु तीन हजार ५०० जरिवानासमेत गरिएको थियो । प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त पर्यटकीय एवम् धार्मिक क्षेत्रसहित स्थानीय बासिन्दालाई खानेपानीको सुविधा पु¥याउने उद्देश्यका साथ नेपाल सरकार खानेपानी संस्थानको रु १३ करोडको लागतमा बृहत् काहुँ खानेपानी योजना शुरु गरिएको खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष खेमराज आचार्यले जानकारी दिनुभयो । २०६८ सालबाट शुरु गरिएको खानेपानी योजनाअन्तर्गत साबिकको अर्मला, सिल्दजुरे र मौजाको संगमस्थल विजयपुरखोलाबाट २२ किलोमिटर पाइप विस्तार गरेर ल्याइएको पानी पर्यटकीयस्थल काहुँकोटका साथै स्थानीय बासिन्दाका लागि एक घर एक धाराको अभियान सञ्चालन गरिएको छ। बाइसे चौविसे राज्यकालमा घले राजाको राज्य रहेको काहुँकोटमा कोट देउराली मन्दिर रहेको र प्रत्येक चैते दशैँमा परापूर्वकालदेखि बोका र राँगाको बलि दिनाका साथै नवरात्रि पाठपूजा गरिनेछ । उक्त स्थानमा धर्मकाया बुद्ध मण्डलासमेत निर्माण गरिने भएको छ । ऐतिहासिक, धार्मिक, एवम् पर्यटकीय महत्व बोकेको सो प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त स्थलका बारेमा प्रचार प्रसार गरी पोखराको थप पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके पर्यटकको एक दिनको बसाइ लम्ब्याउनाका साथ स्थानीय बासिन्दासमेत लाभान्वित हुने यस क्षेत्रसँग सम्बन्धित विज्ञको धारणा रहेको छ । रासस

जंगलमा लागेको डढेलोको कारण कटारी क्षेत्र उच्च जोखिममा

उदयपुर । केही दिनयता देखि निरन्तर रूपमा उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित चुरिया क्षेत्रको बेलस्रोत, खसीबास, रिस्कु क्षेत्रको जंगलमा व्यापक डढेलो लागेर मानव बस्तीतर्फ बढ्न थालेपछि सो क्षेत्रका मानव बस्ती अहिले उच्च जोखिममा परेको छ । अहिले चुरिया जंगल क्षेत्रमा लागेको डढेलो कटारीको बेलस्रोत, खसीबास तथा रिस्कुको मानव बसोबास भएको गाउँतर्फ बढेको कारण डढेलो नियन्त्रण गर्न इलाका वन कटारी र कटारी नगरपालिका आफँै नियन्त्रण गर्न अगाडि बढेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । प्रमुख श्रेष्ठका अनुसार कटारीको रिस्कुस्थित खसीबास क्षेत्रमा डढेलोको कारण जंगल क्षेत्रको आसपासका रहेको झण्डै तीनसय मानब बस्तीका घर उच्च जोखिममा परेपछि गए राति रातभर नै स्थानीयवासीसमेत डढेलो नियन्त्रणमा संलग्न भएको प्रमुख श्रेष्ठले बताउनुभयो । खसीबास र रिस्कु क्षेत्रमा अहिलेसम्म पनि कटारी नगरपालिकाको नेतृत्वमा डढेलो नियन्त्रण कार्य भइरहेको छ । यता कटारीको बेलस्रोत क्षेत्रको जंगलमा समेत भीषण डढेलो लागेर मानव बस्तीतर्फ बढेको कारण यसको नियन्त्रण गर्न स्थानीयवासी जनप्रतिनिधि र सामुुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसमेत परिचालन भएको प्रमुख श्रेष्ठले बताउनुभयो । अहिलेसम्म यस क्षेत्रमा हजार हेक्टर क्षेत्रफल वन क्षेत्र डढेलोको कारण सखाप भइसकेको छ । त्रियुगा नगरपालिका क्षेत्रको हँडिया, जोगिदह लालपता पात्लेबास क्षेत्रको जंगलमा एक हप्तादेखि लागेको डढेलो अझै नियन्त्रण नहुँदा झण्डै दुई हजार हेक्टर क्षेत्रफलको जंगल डढेलोले प्रभावित बनाएको स्थानीयवासीले बताएका छन् भने जिल्ला वन कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन । रासस

सैन्य परीक्षामा १२ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिन पुगेका चार महिलासहित १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । लोकसेवा आयोगद्वारा लिइएको सैन्य पदको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने रत्नराज्य माध्यमिक केन्द्रबाट एक र सिआइटिई कलेज तीनकुनेबाट ११ गरी कुल १२ जना नक्कली परीक्षार्थीलाई शनिबार पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएकोे छ । पक्राउ पर्ने महिला नक्कली परीक्षार्थीमा काठमाडौँ मनमैजुकी कविता श्रेष्ठ, कैलालीकी जानकी माझी, मनिषा विष्ट र दोलखाकी सम्झना मगर रहेकी छिन् । यसैगरी भोजपुरका गोपाल ढकाल, बर्दियाका प्रकाश भण्डारी र गौतम राना, कैैलालीका समिप रोकाय, कास्कीका लोचन वाग्ले, गुल्मीका मोहित भण्डारी, दोलखाका सुदीप कार्की र दिवस कार्कीलाई नक्कली परीक्षार्थीका रुपमा परीक्षामा सामेल रहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश आफन्तको परीक्षा दिन गएका भेटिएको छ भने केहीले भने पैसा लिएर जाँच दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि पौडेलले नक्कली परीक्षार्थीको अभियोगमा पक्राउ परेकालाई कानूनअनुसार कारवाही चलाइने जानकारी दिनुभयो । केही विद्यार्थीले आफूहरुलाई गाडीमा राखेर परीक्षा दिन पठाएको भनी बयान दिएपछि नक्कली परीक्षार्थीको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ । सम्पूर्ण रुपमा लोकसेवाले परीक्षा सञ्चालन गर्ने भएकाले नक्काली परीक्षार्थीको संलग्नताको सूचना प्राप्त भए पनि त्यसबारे अरु कुराको जानकारी नभएको बताएको छ । रासस

सुर्ती, कपडा र डिजेल बरामद

सप्तरी, चैत ११ । खुलेआम भारतबाट नेपाल भित्र्याउँदै गरेको सुर्तीसहित अवैध समान प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ । प्रहरीको विशेष टोलीले चेक जाँचका क्रममा गएराति सप्तरीको तिलाठी कोइलाडी–१ स्थित भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको ४८ थान सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । यस्तै बलानबिहुल गाउँपालिका–४ बाट खटिएको संयुक्त प्रहरीको टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको रु दुई लाख मूल्य बरावरको कपडासमेत पक्राउ गरेको छ । सप्तरीको बोधेबरसाइन नगरपालिकाबाट अवैध रुपमा नेपालबाट भारततर्फ स१त ६३९७ नंको ट्र्याक्टरमा लोड गरी लैजान लागेको एक हजार लिटर डिजल बरामद गरेको छ । ट्र्याक्टर, डिजलसहित सप्तरी बोधेबरसाइन नगरपालिका–९ बस्ने ४३ वर्षीय इन्दल साह र र २७ वर्षीय प्रलादकुमार यादवसमेत पक्राउ परेका छन् । अवैध डिजल, ट्र्याक्टरलगायत बरामद गरेका अवैध समान समेतलाई तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गाई काटेको आरोपमा चार जना पक्राउ

कपिलवस्तु, चैत ११ । यहाँको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीव ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरै मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो तथ्य बाहिर आएको हो । राना पक्राउ परेको एक दिनपछि गाई काट्नमा सहयोग गरेको भन्दै सोही गाउँबाट शनिबार अन्य तीन जनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । शनिबार पक्राउ पर्नेमा कुमारी घर्ती, रामकुमारी घर्ती र कुन्ती थापा रहेको गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख खिमबहादुर घमले जानकारी दिनुभयो । पक्राउ परेकालाई कृष्णनगर प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तयारी अवस्थामा रहन सेनालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, चैत ११ । प्रधानमन्त्री केपी ओलीले मुलुकमा आउन सक्ने जस्तोसुकै चुनौती सामनाका लागि तयार रहन नेपाली सेनालाई निर्देशन दिएका छन् । व्यक्ति र दल उही भए पनि अहिलेको परिस्थिति फरक रहेको भन्दै प्रधानमन्त्रीले सेनालाई सम्भावित चुनौतीप्रति सतर्क गराएका हुन् । राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका ओली शुक्रबार साँझ परिषद् सदस्यहरू रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडासहित सैनिक मुख्यालय पुगेका थिए । टोलीमा सुरक्षा परिषद्का सदस्यसचिव एवं रक्षा सचिव विनोद केसी पनि थिए । मुख्यालयमा सुरक्षा परिषद् सदस्यसमेत रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले टोलीलाई ‘ब्रिफिङ’ गरेका थिए । परराष्ट्र सम्बन्ध र कूटनीतिक मामिला थप बलियो र प्रभावकारी बनाउन राष्ट्रिय सुरक्षा सल्लाहकार युनिट बनाएर अघि बढ्ने अवधारणा अघि सारेका प्रधानमन्त्रीले सेनाको पछिल्लो अवस्थाबारे जानकारी पनि लिए । ‘मुलुकमा आइपर्न सक्ने जस्तोसुकै चुनौती सामना गर्न सक्ने गरी तयार रहनुपर्छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै सेनाले जानकारी दियो, ‘नेपाली सेना आफ्नो मूल्यमान्यतामा कायम रही कर्तव्य पूरा गर्नेमा म पूर्णरूपले विश्वस्त छु ।’ कान्तिपुर दैनिकमा खबर छापिएको छ

कांग्रेसको चुनाव समीक्षा बैठकमा नरहरिदेखि गुरु घिमिरेसम्मले के भने

काठमाडौं, चैत १० । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा नेतृत्वको भूमिकाबारे तीव्र आलोचना भएको छ । निर्वाचनको समीक्षा गर्न शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्यहरुले निर्वाचनमा पार्टीको पराजय नेतृत्वको कमजोरी, संगठनको निष्क्रियता र भ्रातृ संगठनको भूमिकाहीनता नै मुख्य जिम्मेवार रहेको आरोप लगाउनुभयो । उहाँहरुले पार्टी नेतृत्वबाट प्रभावकारी भूमिका खेल्न नसकेकै कारण काँग्रेसले निर्वाचनको परिणाम सोचेअनुरुप हात पार्न नसकेको टिप्पणी गर्नुभयो । बैठकमा सभापति देउवा पक्षधर नेताहरुले पार्टीभित्रका गुटउपगुट, असहयोगको प्रभाव र वाम गठबन्धनको असरले पार्टीलाई निर्वाचनको गणितीय परिणाममा धक्का लागे पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समानुपातिक निर्वाचनको परिणामलाई विश्लेषण गर्दा अहिले नै आत्तिइहाल्नुपर्ने र नेतृत्वबारे नकारात्मक टिप्पणी गर्नुपर्ने स्थिति नरहेको धारणा व्यक्त गर्नुभयो । करीब दुई वर्षपछि पार्टीका बैठकमा उपस्थित भएका कांग्रेसका चर्चित नेता नरहरि आचार्यले आफ्नो स्वास्थ्य भन्दा पार्टीका विषयमा बढी चिन्ता लागेको बताए । विभिन्न कमजोरीका कारण पार्टीले नराम्रो पराजय व्यहोरेको भन्दै कमीकमजोरी सुधारेर अगाडि बढ्नु पर्ने बताए । बैठकमा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी अहिले जुन अवस्थामा छ, यो बेला एकले अर्काप्रति आरोप प्रत्यारोप गर्नेभन्दा पनि कमीकमजोरीलाई सुधारेर अघि बढ्न आवश्यक रहेको दृष्टिकोणबाट सुझाव आएको जानकारी दिनुभयो । अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीको आन्तरिक अवस्था, टिकट वितरणमा विभेद र प्रचार रणनीतिमा कमजोरी तथा विपक्षको आरोपको खण्डन र प्रतिवाद उचित ढंगबाट हुन नसक्दा अहिले नेपाली काँग्रेस कमजोर जस्तो देखिन पुगेको धारणा बैठकमा अधिकांश सदस्यहरुले राख्नुभएको बताउनुभयो । उहाँहरुले पार्टीलाई सबल र सुदृढ बनाउने सन्दर्भमा उठेका प्रश्नका बारेमा सभापति र महामन्त्रीले गम्भीर ढंगले आत्मसात् गरेर एकताबद्ध भई अघि बढ्नुपर्ने सुझाव दिनुभएको उहाँले बताउनुभयो । अर्का केन्द्रीय सदस्य वीरबहादुर बलायरले विगतमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई जुन परिस्थितिबाट गुज्रनुपर्ने अवस्था सिर्जना गरियो, त्यसैको नतिजाका कारण नेपाली काँग्रेसले अहिलेको अवस्था भोग्नुपरेको दृष्टिकोण प्रस्तुत गर्नुभयो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा केन्द्रीय सदस्यहरु हरिप्रसाद नेपाल, नरहरि आचार्य, नवीन्द्रराज जोशी, कल्याण गुरुङ, दिलेन्द्रप्रसाद बडूले आ–आफ्ना धारणा राख्नुभएको थियो । समितिको अर्को बैठक सोमबार बिहान ९ बजे बस्नेछ ।