गण्डकी प्रदेश प्रहरी प्रमुखमा डिआइजी चन्द
गण्डकी प्रदेश प्रहरी प्रमुखमा डिआइजी चन्दकाठमाडौँ । डिआइजी दुर्गा सिंह चन्दको सरुवा गरेको गरिएको छ । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरीको प्रमुख जिम्मेवारी चन्दलाई दिएको हो ।
चन्दले यसअघि पनि बाग्मती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेकी छन् ।गृहले डिआइजी चन्दसँगै ६ एसएसपीको पनि सरुवा गरेको छ ।
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ४ जरुवा पानी नजिक रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लालबन्दी २ स्थित पुर्नवासतर्फबाट जब्दीतर्फ गइरहेको ज ११ प ७५४८ नम्वरको मोटरसाइकल निर्माणाधीन रेल्वे ट्रयाकबाट तल खस्दा चालक लालबन्दी नगरपालिका ३ जब्दी घर भएका ५० वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो। बिहीबार राति मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको र चौधरी लडिरहेको देखेपछि स्थानीय अटो चालकले उनलाई लालबन्दी बजारस्थित मोडेल अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिनुभयो । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।
बिदा स्वीकृत नगराई अनुपस्थित कृषि मन्त्रालयका सहसचिव बर्खास्त
काठमाडौँ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव बर्खास्तीमा परेका छन् । लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहेकोले सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको हो । मन्त्रालयले आज प्रकाशित गरेको सूचनामा भनिएको छ– बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहनु भएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (ख) बमोजिमको कसुरमा सोही ऐन दफा ५९ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३)को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नेपाल सरकारको निर्णयअनुसार सेवाबाट हटाउने निर्णय गरिएको छ ।
नेपाली सेनाले माग्यो दरखास्त
काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो । रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ । नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ । आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।
सुशासन समितिको बैठक बस्दै
काठमाडौं । संघिय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ । संघीय संसद् सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।
यी प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । देशका केही भू–भागमा आज हावाहुरी चल्ने सम्भावना रहेको छ । लुम्बिनी, सुदूरपश्चिम, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा हावाहुरीको सम्भावना रहेको हो । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान साथै कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । विभागले राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने बताएको छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । हावाहुरीको सम्भावना रहेका क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
मेयर कप फुटबलको छनौट खेल शुक्रबार र शनिबार हुने
चितवन। प्रथम अन्तर स्कुल मेयर कप फुटबलको छनौट चरण शुक्रबार र शनिबार हुने भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको पहिलो चरणको खेल तालिका सार्वजनिक भएको हो । प्रतियोगिताका लागि कुल ३९ विद्यालयले नाम दर्ता गराएका छन् । जसमध्ये ९ टोली बाइ पाउँदै लिग चरणका लागि छनौट भइसकेका छन् । तालिका अनुसार छनौट चरणमा ३० टोली सहभागी हुनेछन् । सामुदायिक विद्यालयबाट २४ टोली छनौट चरणमा सहभागी हुनेछन् । जसबाट १२ टोली लिगका लागि छनौट हुने सह-आयोजक चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष एवं खेल संयोजक विजय घलेले जानकारी दिए । संस्थागत विद्यालयबाट सहभागी भएका १५ मध्ये ९ विद्यालय बाइ पाउँदै लिग चरणका लागि छनौट भएका छन् । बाँकी ६ टोलीले पहिलो चरणमा प्रतिस्पर्धा गरेर तीन टोलीले लिगमा स्थान बनाउनेछन् । लिगका लागि सामुदायिक र संस्थागतबाट १२/१२ गरी २४ टोली छनौट हुनेछन् । छनौट चरणका खेलहरु अमर मावि पटिहानी, गौरीगञ्ज चौर र शारदानगर खेल मैदानमा हुनेछ । पहिलो चरण सम्पन्न भएपछि लिगका लागि २४ टोलीको खेल तालिका सार्वजनिक गरिने घलेले बताए । प्रतियोगिता बैशाख अन्तिम सातादेखि सुरु हुनेछ । लिग करिब दुई महिना चल्नेछ । भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला फुटबल संघको सह(आयोजनामा पहिलो पटक अन्तर विद्यालय फुटबल लिग हुन लागेको हो । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।
दुई युवाले छोरी भगाएपछि धनुषामा तनाव : नौं राउण्ड अश्रुग्याँस प्रहार
धनुषा । दुई जोडी युवा–युवती भागेर गएको विषयले चर्को विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त बनेको छ। तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म नौं राउण्ड अश्रुग्याँस प्रहार गरिसकेको छ । करिब दुई साताअघि दुई युवकले दुई जना युवती भगाएर लगेका थिए। ती दुई जोडी अहिलेसम्म पनि नआएपछि छोरी पक्षकाले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाकाले जानकारी दिए । प्रदर्शन नियन्त्रण गर्न गएको प्रहरीको गाडीमा प्रदर्शनकारीले ढुङ्गा हानेर सिसा फुटाई दिएपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नु परेको प्रहरीको भनाई छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । प्रहरीले आफ्नो छोरीहरू खोज्न कुनै पहल नगरको र केटा पक्षले पनि छोरीहरू खोजी नगरेको भन्दै प्रदर्शन भएको हो । पौडेसरका १६ वर्षका दुई जना युवतीलाई हंसपुर नगरपालिका–४ का शाजिद नदाफ र मोफिद नदाफले गत वैशाख ४ भगाएर लगेका हुन् । यसपछि प्रहरीले शाजिद नदाफको बुवा आमा, मोफिद नदाफका काका र युवतीहरु भगाउन सहयोग गर्ने दुई जनासहित ५ जना पक्राउ गरेको छ । केटी पक्षकाले केटा पक्षकालाई अपहरण र शरीर बन्धकमा मुद्दा चलाउन प्रहरीलाई दबाब दिइरहेका छन् । तर प्रहरीले घर विवादको मुद्दा चलाएको केटी पक्षको आरोप छ । मोफिद नदाफका बुवा विदेशमा रहेको र आमा फरार रहेकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । ती दुई जोडी अहिले पनि सम्पर्कमा छैनन्।
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बङ्गलादेशको टोली विजय
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)लाई पराजित गरेको छ। राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले ५–३ गोलले पराजित गरेको हो। खेलमा बङगलादेशको तर्फबाट जाकिर होसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने नेपालबाट सुमन लिम्बुले २ र दीवाकर शेनले एक गोल फर्काए। मैत्रीपूर्ण खेल राष्ट्रिय फोटो पत्रकार समुह नेपालले आयोजना गरेको हो। फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरुसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जानकारी सहित राष्ट्रिय फोटो पत्रकारिता दिवसको सबै फोटोप्रेमीहरुमा समुहका अध्यक्ष प्रदीपराज वन्तले शुभकामना दिए। नारायणगंज क्लबसँगको खेल खेल्नुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए। सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रसंगै मायाको चिनो साटासाट गरिएको थियो। कार्यक्रम सफल बनाउन राष्ट्रिय खेलकुद परिषद् राखेप ,गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारी, प्रिण्टिङ्ग एक्सप्रेस, म नेपाली, गोल्ड स्टार सूज, एन्फा एकेडेमी, नेपाल एरहोस्टेज एकाडमी, हिमाल हस्पिटल, स्वतिश्री गुरुकुल स्कुल र ललितपुर महानगरपालिकाको सहयोग रहेको थियो।
जुम्लाका स्याउ बगैँचा सेताम्मे
जुम्ला । जुम्लाका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचो सेताम्मे भएका हुन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागि फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थलो बनेका छन् । तिला गाउँपालिका–१ का स्याउ किसान महेन्द्र बुढाले स्याउ बगैँचा फुलेर सेताम्मे भएपछि आकर्षक देखिएको बताए । स्याउका बोटमा राम्रोसँग फूल लागेपछि उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको उनको भनाइ छ । जिल्लैभरका स्याउका बगैँचा सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको छ । चैत–वैशाख स्याउका बोटमा फुल लाग्ने याम हो । यो स्याउ भदौसम्म पाकिसक्छ । तिला–१ स्थित रारामा रहेको पातिहल्ला स्याउ बगैँचा समूहका सचिव गोरीकला बुढाले बगैँचालाई आवश्यक मलको उचित प्रयोगदेखि सिँचाइ व्यवस्थापनमा किसान लागेको बताइन् । सामूहिकरूपमा स्याउ बगैँचा गर्दा सम्बन्धित निकायबाट अनुदान लिन सहज भएको उनको भनाइ छ । पातिहल्ला स्याउ बगैँचामा करिब चार हजार स्याउका बिरुवा छन् । अहिलेसम्म दुई हजार बिरुवाले फल दिन थालिसकेका छन् भने एक वर्षभित्र सबै बिरुवाले फल दिने समूहका सचिव रावतको भनाइ छ । जुम्लाका विभिन्न पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायतका काममा किसानलाई चटारो छ । स्याउका बिरुवा फुलेपछि बगैँचामा अधिकांश किसान सिँचाइ व्यवस्थापनमा लागेका छन् । स्याउ फुलेकाले यसवर्ष लटरम्म फल्ने आशा जुम्ली किसानको छ । जिल्लाका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउखेतीमा संलग्न छन् । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउखेती भइरहेको छ । कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले जानकारी जुम्लामा गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको बताए ।
बसको ठक्करबाट एक तीर्थयात्रीको मृत्यु
भरतपुर ।पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक तीर्थयात्रीको मृत्यु भएको छ। राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो। उक्त बसले उनलाई ओर्लने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेजमा उपचारको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले बताए। ठक्कर दिने बस र त्यसका चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–१८ बस्ने वर्ष ४१ क कृष्ण सापकोटालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरिएको उनले जानकारी दिए। रासस
युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा अमेरिकी राष्ट्रपतिद्वारा प्रमाणिकरण
वासिङ्टन । वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार बताएका छन् । युक्रेनका लागि अति आवश्यक सैन्य सहायतालाई अनुमति दिनेसम्बन्धी विधेयकमा बुधबार हस्ताक्षर गरेपछि उनले किएभलाई नयाँ सहयोग पठाउन थाल्ने बताएका हुन् । इजरायल र ताइवानका लागि सहयोग र संयुक्त राज्य अमेरिकामा टिकटकमाथि सम्भावित प्रतिबन्ध लगाउने उपायसहित ९५ अर्ब डलरको प्याकेज पारित भएको छ, जुन महिनौँको ढिलाइपछि आएको हो । यसले युक्रेनी सेनालाई गोलाबारुदको अभाव र युद्धभूमिको असफलताको सामना गर्नुपरेको थियो । “मैले यसै साता प्रतिनिधि सभा र सिनेटले पारित गरेको राष्ट्रिय सुरक्षा प्याकेजमा हस्ताक्षर गरेको छु”, बाइडनले भने, “यससँगै अबको केही घण्टाभित्रै ढुवानी तत्काल सुरु हुने सुनिश्चित भएको छ ।” रुसले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेको युक्रेनलाई कसरी आफ्नो रक्षा गर्न सकिन्छ भन्ने विषयमा सांसदहरूबिच महिनौँ लामो तिक्ततापूर्ण बहसपछि मात्र यो सहायता विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो । गत फेब्रुअरीमा सिनेटले यस्तै प्रकारको सहायता प्याकेज पारित गरेको थियो, तर रिपब्लिकन सभामुख माइक जोनसनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका कट्टरपन्थी सहयोगीहरूको आह्वानलाई ध्यान दिँदै बाइडेनसँग आप्रवासन नीतिमा छुटको माग गरेका थिए । संयुक्त राज्य अमेरिका युक्रेनको एक प्रमुख सैन्य समर्थक रहेको छ, तर अमेरिकी कङ्ग्रेसले लगभग डेढ वर्षसम्म किएभको लागि ठुलो मात्रामा अनुदान स्वीकृत गरेको थिएन र युद्धको वित्तपोषण नोभेम्बरमा हुने राष्ट्रपति चुनावअघि विवादको विषय बनेको छ । मस्कोले पूर्वबाट निरन्तर युक्रेनमाथि दबाब दिइरहेको र आगामी हप्ताहरूमा अग्रपङ्तीमा सेनाको अवस्था खराब हुने अपेक्षा गरिएको समय युक्रेनको सेनाले हतियार र भर्तीको लागि बजेटको गम्भीर अभावको सामना गरिरहेको छ । रासस/एएफपी
उद्योग समितिको बैठक बस्दै, के छ कार्यसूची?
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रमको हालसम्मको प्रगति र कार्यान्वयनको अवस्थाका साथै मन्त्रालयबाट भए गरेका कामकारबाहीका सम्बन्धमा मन्त्रीसँग जानकारी लिने कार्यसूची रहेको छ ।
देशका यी क्षेत्रमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षा भइरहेको छ ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षाको सम्भवाना रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटफुट वर्षादेखि हल्का हिमपातको सम्भावना छ ।लुम्बिनी प्रदेशका केही स्थानका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सफा रहने छ ।आज सूर्योदय बिहान ५ बजेर २९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३४ मिनेटमा हुनेछ ।
पोखरामा ‘एसिया कप ट्रायथोलन’गरिदै, प्रतिस्पर्धामा १५ देशका खेलाडी सहभागी हुने
पोखरा। देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५ गते ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’ हुने भएको छ । खेलकुदको मेगा इभेन्ट रुपमा लिइएको ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’को तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल ट्रायथोलन सङ्घले जनाएको छ। नेपाल ट्रायथोलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथोलन सङ्घको व्यवस्थापनमा पोखराको लेकसाइड क्षेत्रमा च्याम्पियनसिप हुनेछ । च्याम्पियनसिपमा विभिन्न १५ देशका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिए। देवकोटाका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि सहभागी खेलाडी तथा अफिसियलहरु पोखरा आउने क्रम सुरु भइसकेको छ । प्रतियोगितामा नेपाल सहित अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, बङ्गलादेश र उज्वेकिस्तानका खेलाडीले सहभागिता जनाउने छन् । यस वर्ष वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासादो र महासचिव एन्टोनियो आरामानी च्याम्पियनसिपमा सहभागी हुने भएकाले खेलकुद क्षेत्रका लागि ठूलो महत्व रहने उपाध्यक्ष देवकोटाले बताए । देवकोटाले भने,“विगतका कमीकमजोरीहरुलाई सच्चाएर यस वर्ष खेलकुदको मेगा इभेन्टका रुपमा च्याम्पियनसिपको तयारी गरेका छौँ । पहिलो पटक वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्षको उपस्थितिमा प्रतियोगिता हुँदैछ । नेपालको खेलकुद क्षेत्रका लागि यो ठूलो खुशीको कुरा हो । खेलकुद क्षेत्रका लागि यसको पछिसम्म ठूलो महत्व हुनेछ ।” ट्रायथोलनमा स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुनेछ । स्प्रिन्ट विधा अन्तर्गत सुरुआतमा फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ हुनेछ । साइक्लिङको समाप्तिपछि पाँच किलोमिटर दौड हुनेछ । पौडी फेवातालमा हुनेछ । दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुनेछ । पौडी, साइक्लिङ र दौड गरी तीनवटै प्रतिस्पर्धाको समयका आधारमा विजेत चयन हुनेछन् ।प्रतियोगिताले पोखराको अन्तर्राष्ट्रिय क्षेत्रमा थप प्रवद्र्धन तथा खेलकुद विकासमा मद्धत पुग्ने अपेक्षा गरिएको छ । च्याम्पियनसिपको दिनमा पोखराको लेकसाइड क्षेत्रको सडक खाली गराइने भएको छ । सहभागी खेलाडीको सुरक्षालाई मध्यनजर गरी प्रतियोगिताको रुटमा यातायात पूर्ण रुपमा बन्द गरिने नेपाल ट्रायथोलन सङ्घ गण्डकीका अध्यक्ष डिल्लीराज९शिशिर०सुवेदीले बताउनुभयो । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा पर्यटन परिषद्, होटल सङ्घ पोखरा लगायतका विभिन्न सङ्घ संस्थाले समेत अपन्त्व लिएकाले यस वर्ष भव्य हुने अध्यक्ष सुवेदीको भनाई छ । उहाँले भन्नुभयो,“एसिया कप ट्रायथोलन च्याम्पियनसिप पोखराको ब्राण्ड बनेको छ । यस वर्ष सरकारी तथा निजी सङ्घ संस्था पर्यटन क्षेत्र लगायतले स्वामित्व लिएकाले विगतमा भन्दा थप उत्कृष्ट हुने विश्वास लिएका छौँ ।”

