चेपाङहरुले घडेरी पाउँदा खुशीको कुनै सीमा नै छैन

चितवन । बाँदर लड्ने ठाडो भिरमा खोपेर बनाइएको घर । वर्षांैदेखि बस्दै आएपनि २०७२ सालको विनाशकारी गोरखा भूकम्पले त्यही पूरै घर भत्कायो ।

अन्यत्र जाने विकल्प नभएपछि विकट काउलेस्थित हेप्चेकको पखेरोमै दुःखजिलो गरेर ओत लाग्ने झुप्रो घर बनाएर बसेको तीन वर्ष भएको छ । हावाहुरी र मेघ गर्जंदा गाउँले डराएरै बस्थे ।

‘डरैडरमा बित्यो,’ तुलबहादुर चेपाङ मुहार उज्यालो पार्दै भन्नुहुन्छ, “अब घडेरी पायौं, खुसी भा छ सर ।” सरकारले नजिकै रहेको दुम्किम भन्ने गाउँमा घडेरी उपलब्ध गराएपछि यहाँका चेपाङहरुमा खुशीको सीमा छैन् ।

विसं २०७२ वैशाख १२ गतेको ‘गोरखा विनाशकारी भूकम्प’ आउदा सोही गाउँकी उजेलीमाया चेपाङले जंगलबाट ल्याएको घाँस बिसाउन मात्रै के भ्याउनुभएको थियो, एक्कासि जमिन हल्लियो । डाँडो फनफनी घुमेको महसुस भयो । आँखै अगाडि क्षणभरमै आफ्नो ओत लाग्ने घर ध्वस्त भयो । उनी जस्तै हेप्चेकका बुद्धबहादुर चेपाङको घर पनि त्यसैगरी क्षणभरमै ध्वस्त भयो ।

‘जमिन नै कमजोर भयो, डाँडो नै चर्केको थियो, तुलबहादुरले भन्नुभयो, “अझै पनि झरि, बादल हुँदा डरलाग्छ बस्दैन ।” जब गड्याङगुडुङ हुन्छ उक्त गाउँका बासिन्दा अहिले पनि त्रासमै छन् । यो तीन वर्ष यस्तै गरेर बिताए ।

भूकम्पपछिको महिनौंसम्मको रात उनीहरु घरमा बसेनन् । नजिकैको दुम्किममा गएर बास बसेको अनुभव उजेलीमायालाई छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको विज्ञ समूहले हेम्चेकको स्थलगत अध्ययन गर्दा सो क्षेत्र जोखिम भनेर बस्ती सार्ने निर्णय गरेको थियो । सामान्यतयाः ३० डिग्रीभन्दा बढी ठाडो जग्गामा बस्न मिल्दैन ।

उनीहरुको गाउँ छङ्गाछुर भिर देखिन्छ । विगतमा ठूलो प्रयास गर्दा पनि बस्ती सर्न नसकेका उनीहरुका लागि खुसीको परिणाम मिल्यो । नजिकै रहेको सुरक्षित स्थान दुम्किममा पीडितमध्ये आठ घरले जग्गा प्राप्त गरेका छन् ।

जोखिममा रहेका ११ घरमध्ये एक घर सम्पर्कमा आएको छैन । भूकम्पपीडित कालु चेपाङ र बोमबहादुर चेपाङले नजिकै घुर्केस भन्ने स्थानमा जग्गा खोजेका छन् । अन्य होमबहादुर चेपाङ, रामबहादुर चेपाङ, तुलबहादुर चेपाङ, बलवान चेपाङ, थाकु चेपाङ, बुद्धबहादुर चेपाङ, भगवान चेपाङ र उजेली चेपाङको परिवार दुम्किममा स्थानान्तरण हुने भएका छन् ।

उनीहरुका लागि पुनःनिर्माण प्राधिकरणले प्रतिघडेरी अधिकतम रु दुई लाख दिन्छ । घर निर्माणका लागि सरकारबाट रु तीन लाख आउँछ । आगामी असार मसान्तसम्ममा उनीहरुले जग तयार गरे भने दोस्रो किस्ताबापतको रकम पाउँछन् ।

स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै दुम्किममा आइपुगेका उनीहरुलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका प्रमुख पुष्कर पोखरेलले जग्गा पक्का भएको खबर सुनाउँदा उनीहरु हर्षित भए । घर पाउने पक्का भएपछि भूकम्पपीडित तुलबहादुरले हर्षित हुँदै भन्नुभयो, “अब छिट्टै घर बनाउने र बस्ने हो ”

चितवनको विकट क्षेत्र इच्छाकामना गाउँपालिका–२ हेच्चेकको जोखिम क्षेत्रका आठ घर भूकम्पपीडितले सुरक्षित स्थानमा जग्गा प्राप्त गरेपछि बिहीबारदेखि जग्गाधनी पूर्जाका लागि उनीहरुले प्रक्रिया शुरु गरिसकेका छन् ।

चितवनको राप्ती नगरपालिकाको एसिखाई र तापाङका १३ घरलाई स्थानान्तरणका लागि जग्गा उपलब्ध गराइसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका शाखा प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।

उनीहरुले जग्गाधनी पूर्जासमेत प्राप्त गरिसेका छन् । पूजालिंँदै स्थानीयवासी विविमाया चेपाङले भन्नुभयो, “घर बनाएर बस्ने हो सर खशी भा छ ।” यता इच्छाकामना–४ तीनघरेका पाँच घर पीडितलाई लेवाटारमा जग्गा उपलब्ध गराइएको छ ।

जिल्लाका अन्य क्षेत्रमा स्थानान्तरणका लागि आवश्यक प्रक्रिया चलिरहेको छ । इच्छाकामनाका अन्य धेरै पीडित राहत लिने प्रक्रियामै रहेको गाउँपालिकाको भूकम्प पुनःनिर्माणका स्रोत व्यक्ति राजन घिमिरेले बताउनुभयो ।

जिल्लामा जोखिम क्षेत्र पहिचान भएका कूल १०२ घर स्थानान्तरण गर्नुपर्नेमा अहिलेसम्म ३५ घरका लागि पैसा आएको छ । २१ घरले जग्गाका लागि रकम प्राप्त गरिसकेको र अन्यको प्रक्रियामा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

इच्छाकामना गाउँपालिकाका ८३, राप्ती नगरपालिकाका १८ र कालिका नगरपालिकाका एक घर स्थानान्तरण गर्नुपर्नेछ । चितवनमा सात हजार ३३५ बढी भूकम्पपीडित भए पनि घर निर्माणको किस्ता वितरणको काम इच्छाकामना गाउँपालिकाबाहेक अन्य नगर र महानगरमा सुस्त छ । रासस

दुलही जस्तै चिटिक्क सभागृह, प्रधानमन्त्री मोदीको अभिनन्दनको तयारी पूरा

काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नगरवासीका तर्फबाट अभिनन्दन गरिने स्थल राष्ट्रिय सभागृह चिटिक्क पारेर सिङ्गारिएको छ । सधैँ सार्वजनिक यातायातका साधन खचाखच रहने प्रदर्शनी मार्गमा अहिले अत्यन्तै कम संख्यामा सवारीसाधन चलेका छन् । सभागृहको प्रवेशद्वारमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो राखिएको छ । सभागृहमा पनि रंग लगाइएको छ भने फूलको साजसज्जा त्यत्तिकै आकर्षक छ । यी सबै दृश्य हेर्दा लाग्छ यो हिजोको सभागृह होइन । त्यसैगरी, स्वागतद्वारको दायाँबायाँ प्रशस्तै संख्यामा नेपाल र भारतका झण्डा टाँगिएको छ । सभागृह मात्र होइन मोदीको स्वागतका लागि उहाँ नेपाल रहँदाको समयमा आउने र जाने सबै स्थान सफा र व्यवस्थित नै रहेको छ । सडकको छेउछाउमा रंग लगाउने, झण्डा राख्ने, स्वागतद्वार निर्माण गर्ने काम पनि सँगै सकिएको छ । विमानस्थल, गौशाला, त्रिपुरेश्वर, जमल, नयाँ बानेश्वर, कोटेश्वर, हायात होटलको आसपासलगायत प्रधानमन्त्रीले आवत जावत गर्ने स्थानमा साजसज्जाको काम पनि सकिएको छ । दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री आज नेपाल आउन लाग्नुभएको छ । प्रधानमन्त्री मोदीको स्वागतका लागि कामपाका तर्फबाट कुनै कसर बाँकी राखिएको छैन, कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । अभिनन्दनको सबै तयारी सकियो प्रधानमन्त्री नरेन्द्र मोदीका लागि नागरिक अभिनन्दन गर्नका लागि सबै तयारी पूरा भएको कामपाले जानकारी दिएको छ । भ्रमणका लागि आज नेपाल आउनुहुने प्रधानमन्त्री आज पहिलो दिन प्रदेश नं २ को जनकपुर र काठमाडौँ तथा दोस्रो दिन मुक्तिनाथको दर्शन तथा जोमसोमको भ्रमण गर्नुहुनेछ । त्यसपछि काठमाडौँ फर्केपछि उहाँ भारतीय राजदूतले आयोजना गर्ने दिवा भोजमा सहभागी भई अपराह्न कामपाले आयोजना गर्ने नागरिक अभिनन्दनमा सहभागी हुने कार्यतालिका रहेको छ । आचार्यले भन्नुभयो, “सबै तयारी पूरा भएको छ, प्रधानमन्त्रीको स्वागतका लागि हामी आतुर छौँ ।” प्रधानमन्त्री २ः४५ बजे सभागृहमा पुग्ने भएपनि कामपाले अन्य अतिथि तथा पाहुनालाई दुई बजेभित्रै हलमा राखिसक्ने समयतालिका रहेको छ । ५३२ सिट क्षमता भएको सभागृहको हलमा ५५० जनासम्म हुनसक्ने कामपाले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री दुईदिने राजकीय भ्रमणमा नेपाल आउनलाग्नुभएको हो । उक्त कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री, सांसद्, कामपाका जनप्रतिनिधि, कामपाका उच्च पदका कर्मचारी र कूटनीतिक नियोगका प्रमुखको सहभागिता हुनेछ । कामपाका प्रमुख शाक्यले नागरिकका तर्फबाट नागरिक अभिनन्दन र महानगरका तर्फबाट कलात्मक साँचो हस्तान्तरणसँगै उपहार दिने तयारी रहेको छ । उपहार के दिने भन्ने बारे अहिलेसम्म टुङ्गो लागेको छैन । साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने हो ।

बलात्कारको चार दिनमा नै गर्भ रहेको पाइएपछि

रौतहट, वैशाख २७ । चन्द्रनिगाहपुरमा बैशाख २० गते बलात्कारको सिकार भएकी किशोरीमा घटनाको चार दिनपछि स्वास्थ्य परीक्षण गराउँदा गर्भ रहेको पाइएपछि प्रहरी समेत आश्चर्यमा परेको छ । सर्लाही हरिवन-११ का मुकेश दास र रिजवान अन्सारीले बलात्कार गरेको भन्दै किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा किटानी जाहेरी दिएका थिए । त्यसअघि नै प्रहरीले दुबैजनालाई पक्राउ गरिसकेको थियो । बलात्कारको जाहेरीपछि ईलाका प्रहरीले किशोरीको स्वास्थ्य परीक्षण गराइएको थियो । त्यस क्रममा गर्भवती भएको रिपोर्ट आएको डिएसपी शान्तिराज कोइरालाले बताए । ‘हामीले किशोरीलाई यसअघि कसैसित यौन सम्पर्क भएको थियो कि थिएन भनेर सोध्यौ,’ उनले भने, ‘कसैसित थिएन । थाहा भएन । भन्ने जवाफ दिएपछि आश्चर्यमा परेका छौं ।’ चिकित्सकले गर्भवती भएको बताएपछि प्रहरीले किशोरीलाई पटक पटक सोधपुछ गरेको थियो । सिन्धुलीबाट हरिवन बजारस्थित दिदीको घरमा आएकी किशोरी साँझ घर फर्कने क्रममा बसपार्कमा दुई युवकले भेटेर घर पुर्‍याइदिने भन्दै रौतहट ल्याएर बलात्कर गरेको प्रहरीसमक्ष बयान दिएकी छिन् । किशोरीलाई उद्धृत गर्दै प्रहरीले भन्यो, ‘मोबाइल किनिदिने भन्दै झुक्याएर ल्याएका रहेछन् । शकिद पार्कमा गलत हर्कत हुन थालेपछि प्रहरीलाई खबर गरको हो । पक्राउ परेका युवकले बा२५प १३७८ नम्बरको मोटरसाइकलमा ल्याएर पार्कभित्र लगेका थिए । चन्द्रपुरमा दासले आफूलाई एक पटक जबरजस्ती यौन सम्पर्क गरेको किशोरीले प्रहरीसमक्ष बताएकी छिन् । पक्राउ परेकाहरुले बलात्कार नगरेको दाबी गर्दै आएको प्रहरीले जनाएको छ । घटना अनुसन्धान भइरहेको प्रहरीले जनायो । पक्राउ परेका दुबैलाई करणीमा मुद्दा चलाइएको छ ।   कान्तिपुरबाट  

आइतबार उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, वैशाख २७ । सरकारले आगामी आइतबार (वैशाख ३० गते)काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुने भएकोले सरकारले उपत्यकामा बिदा दिने भएको हो। उपत्यकाबाहेक अन्यत्र भने बिदा नहुने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जनाएका  छन् । सरकारले १४ चैत ०७४ मा नेपाल राजपत्रमा निकालेको सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रालगायत चार वटा जात्रा लाग्ने दिन काठमाडौं उपत्यकामा बिदा दिने उल्लेख गरेको छ। सरकारले १०४ दिन बिदा कटौती गर्दै ८९ दिन बिदा दिने निर्णय गरेको भए पनि जात्रा लाग्ने चार दिन भने बिदा कटौती गरेको थिएन।

काम नसकिँदा विद्युत् खेर जाँदै

पाँचथर । थपिएको समयमा पनि काबेली करिडोर विद्युत् प्रसारण लाइनको काम नसकिँदा उत्पादन भएको विद्युत् खेर जाने अवस्थामा पुगेको छ । प्रसारण लाइनको काम समयमा नसकिँदा १५ मेगावाट क्षमताको हेवा ‘ए’ जलविद्युत् आयोजनाको ३३ केबिएबाट पाँच मेगावाट मात्र केन्द्रीय प्रसारणमा जडान हुँदैछ । यही प्रसारणबाट २२ मेगावाटको तल्लो हेवा, २५ मेगावाटको काबेली बी–१ तथा १० मेगावाटको इवा खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । उत्पादन गरेर विद्युत् प्रसारण लाइनमा हाल्ने अवस्था नरहेको तल्लो हेवा जलविद्युत् आयोजनाको माउण्टेड हाइड्रोपावर कम्पनीका अध्यक्ष सीताराम तिम्सिनाले बताउनुभयो । आयोजनाको काम अन्तिम चरणमा छ । करिडोरको थपिएको काम २०७५ वैशाख १० गते सकिएको छ । फागुनमा विद्युत् प्रसारण लाइन काबेली करिडोरको अनुगमनमा आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार कम्पनीलाई थपिएको समयसिमामा जसरी पनि काम सक्न निर्देशन दिनुभएको थियो । दोस्रो पटक थपिएको म्यादमा पनि काम सकिएको छैन । पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ र इलाममा उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न १३२ केबिए प्रसारण लाइनअन्तर्गत इलामको सोयाकदेखि पाँचथरको अमरपुरसम्मको काममा ढिलाइ भएको हो । आर्थिक वर्ष २०६६÷६७ देखि करिडोरको काम शुरु भएको थियो । आव २०७१÷७२ भित्र सक्ने शुरुवाती योजना थियो । दोस्रो पटक थपिएको म्यादमा पनि काम नसकिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताउनुभयो । भारतीय ठेकेदार कम्पनीले राम्रोसँग काम नगर्दा तथा निर्माण क्षेत्रमा भएको समस्या सुुल्झाउन नसक्दा थपिएको समयमा काम नसकिएको हो । इलामको सिद्धिथुम्का र चमैतामा स्थानीयवासीको अवरोध कायमै छ । प्रसारणलाइन रु एक अर्ब ३० करोडमा ठेक्का लगाइएको थियो । रासस

प्रदेश नं ७ लाई देशकै नमूना बनाउँछु : सभामुख थापा

बझाङ । भेटघाटका लागि गृहजिल्ला बझाङ पुग्नुभएका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बझाङ शाखाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सभामुख थापाले जनतामुखी बजेट ल्याइने बताउनुभयो । “गाउँको विकास भए मात्र देशको विकास हुन्छ । हिजो सिहंदरबारको मुख ताकेर बसेका जनतालाई अहिले गाउँगाउँमा अधिकार दिइएको छ । विकास अल्पकालीन हैन दीर्घकालीन हुनुपर्छ,” उहाँले भन्नुभयो । सभामुख थापाले भन्नुभयो, “जेठको पहिलो साता बजेट अधिवेशन हुँदैछ, पश्चिम सेती, अपर सेतीलगायत युवालाई आत्मानिर्भर हुने खालका योजना ल्याउन पहल गर्नेछु ।” बझाङको विकासका लागि ग्रामीण भेगमा बनेका सडकको स्तरोन्नति, केन्द्रीय प्रसारणलाइन जोड्ने चैनपुर ताक्लोकोट सडकखण्डको सुरुङमार्ग हिउँ जम्ने ठाउँमा निर्माण गर्ने र सदरमुकाम चैनपुरलाई नमूना सदरमुकाम बनाउन बजेट विनियोजन गर्ने उहाँको भनाइ छ । साइपाल गाउँपालिकाबाट हुने जडीबुटीको अवैध चोरी–निकासी रोक्न स्थानीय सरकारले पहल गर्नुपर्ने थापाले बताउनुभयो । विकासका लागि तेरो मेरो हैन हामी सबैको हो भन्ने भावना सबैमा जाग्नु आवश्यक रहेको उहाँको भनाइ थियो । रासस

डोल्पाका दुई वडालाई पूर्ण खोप घोषणा

। यहाँको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने वडा नं १ र २ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । नगरका दुई वडामा भएका ८१ जना बालबालिकाले जन्मदेखि दुई वर्षसम्म लगाउनुपर्ने ११ प्रकारका खोप पूरा गरेका आधारमा पूर्ण खोप वडा घोषणा गरिएको स्थास्थ्य चौकी त्रिपुराकोटका प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । पूर्ण खोप वडा घोषणासँगै दिगोपना पनि आवश्यक भएको स्वास्थ्य चौकी प्रमुख तुलबहादुर श्रेष्ठले बताउनुभयो । सरकारको खोप तालिकाअनुसार कुनै पनि गाउँ क्षेत्र भित्रका दुई वर्षसम्मका बालबालिकालाई जन्मदेखि दुई वर्षसम्म ११ वटा खोप पूरा गरेपछि मात्रै पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गर्न मिल्ने प्रावधान छ । त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा आयोजित कार्यक्रममा नगर प्रमुख ओमबहादुर बुढाले अहिले पूर्ण खोप घोषणा गरेर मात्रै नहुने र यसलाई निरन्तर रुपमा सर्वसाधारणको घर–घरमा पुगेर खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नगरका विभिन्न विद्यालयका अध्ययनरत विद्यार्थीले जनस्वास्थ्य शिक्षासम्बन्धी चेतना फैलाउने नृत्य, सडक नाटक र कविता प्रस्तुत गरेका थिए । साबिकको त्रिपुराकोट गाविसका नौ वडाका नौ जना स्वास्थ्य स्वयम्सेविकालाई सम्मानितसमेत गरिएको थियो । रासस

म्याग्दीको मराङ सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ सडक सञ्जालमा जोडिएको छ । मालिका गाउँपालिका–७ को अर्कलादेखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेँसीमा पु¥याइएको हो । गाउँपालिका र जिल्ला समन्वय समितिद्वारा सञ्चालित अर्कला–बेँसी सडक आयोजनाअन्तर्गत बेँसीसम्म सडक मार्ग पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले बताउनुभयो । दुई ठाउँमा करीब २०० मिटर पहाडी मार्ग खोल्न बाँकी भए पनि तीन ठाउँमा डाइभर्सन बनाएर बेँसीसम्म जिप, ट्याक्सी, मोटरसाइकल, माइक्रोबस, ट्र्याक्टर चल्न सक्नेगरी सडक पु¥याइएको अध्यक्ष पुनले बताउनुभयो । आगामी असार महिनाभित्र बाँकी रहेको चट्टानी पहाडमा बाटो बनाइसक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको उहाँको भनाइ थियो । विसं २०७० मा अर्गला पुगेको सडकलाई थप तीन किलोमिटर विस्तार गरेर बेँसीसम्म पु¥याइएको छ । सडक सञ्जालमा जोडिएपछि आवतजावत गर्न, बिरामीलाई अस्पताल पु¥याउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी तथा गाउँमा उत्पादन भएको कृषिजन्य वस्तुको निकासीमा सहज भएको वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । “बेँसीबाट हिँडेर अर्कला पुग्न भिर, खोल्सा र जंगलको बाटो एक घण्टाभन्दा धेरै पैदल हिँड्नुपथ्र्याे” वडाध्यक्ष सुवेदीले भन्नुभयो, “अहिले दश मिनेमै पुगिन्छ । ढुवानी भाडा घटेको छ । स्थानीयवासीलाई आवतजावतमा सुविधा पुगेको छ ।” उक्त सडकबाट धौलागिरि गाउँपालिकाको मराङ, मल्कवाङ र रघुगंगा गाउँपालिकाको कुइनेखानी गाउँका ६०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । आयोजनाका प्राविधिक कृष्ण रायका अनुसार पछिल्लो चार वर्षयता उक्त सडक निर्माणमा रु तीन करोडभन्दा बढी खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा धौलागिरि गाउँपालिकाले रु ९० लाख र जिल्ला समन्वय समितिले कृषि सडक आयोजनाअन्तर्गत रु ७५ लाख विनियोजन गरेका छन् । गत वर्ष जिल्ला समन्वय समितिले दुई वटा शीर्षकमा रु एक करोड, विसं २०७३ मा रु साठी लाख र विसं २०७२ मा रु १५ लाख विनियोजन गरेको थियो । सडक डिभिजन कार्यालयले करीब ४० मिटर पहाड फुटाएर मार्ग खोल्न गत वर्ष करीब रु डेढ करोडमा शुरु गरेको काम यस वर्ष योजनाले निरन्तरता नपाएपछि रोकिएको छ । चट्टानी पहाडयुक्त कठिन भूगोलमा सडक निर्माण गर्दा धेरै समय र लगानी भएको प्राविधिक रायले बताउनुभयो । अक्करे भिर छिचोलेर गाउँमा सडक र गाडी आउँदा खुशीले गद्गद भएको बेँसीका चूडामणि सुवेदीले बताउनुभयो । धौलागिरि गाउँपालिकाका अध्यक्ष रेशम छन्त्यालले मार्गमात्र खोलिएको सडकको विस्तार, स्तरोन्नति, मोटरेबल पुल निर्माणका साथै मराङका अन्य बस्ती, मल्कवाङसम्म सडक विस्तार गर्न प्राथमिकता दिइने बताउनुभयो । रासस

अख्तियार हेटौँडा कार्यालयमा एक हजार ५७ उजुरी

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक हजार ५७ उजुरी परेका छन् । कार्यालयले आज यहाँ आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यालयमा परेका उजुरीमध्ये ३९८ वटा उजुरी फछ्र्यौट भइसकेको सो अवसरमा जानकारी दिइयो । ६६१ उजुरी फछ्र्याैट हुन बाँकी रहेका छन् । कार्यालयका प्रमुख श्यामराज अधिकारीका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी धनुषामा १७९ वटा उजुरी परेकामा ५७ वटाको फछ्र्यौट भइसकेका छन् । सबैभन्दा कम काठमाडौँ, रसुवा, धादिङ र रामेछापमा रहेको छ । जहाँ एक÷एक वटा उजुरी परेका छन् । कार्यालयले हेर्ने १९ जिल्लामा महोत्तरीमा १६७, सर्लाही १५०, सिन्धुली ३४, दोलखा दुई, सिन्धुपालचोक दुई र काभ्रे दुई वटा उजुरी परेका छन् । यस्तै मकवानपुर ५७, रौतहट १५९, बारा १५५, पर्सा ११४ र चितवनमा ३२ वटा उजुरी परेको तथ्याङ्कले देखाएको छ । मन्त्रालय मातहतका कार्यालय हेर्ने हो भने सबैभन्दा बढी शिक्षा मन्त्रालय अन्तर्गतका कार्यालयको ४०३ वटा उजुरी परेका छन् भने सबैभन्दा कम खेलकूद, निर्वाचन आयोग र वाणिज्य मन्त्रालय अन्तर्गतका एक÷एक वटा उजुरी रहेका छन् । गृह मन्त्रालय अन्तर्गतका १५, सिँचाइ मन्त्रालयअन्तर्गत २९, ऊर्जा मन्त्रालय अन्तर्गतका नौ, अर्थ मन्त्रालय अन्तर्गतका दुई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका कार्यालका १८ वटा उजुरी रहेका छन् । यसैगरी शहरी विकासमा १३, वन तथा भूसंरक्षण मन्त्रालयका कार्यालयको ४१, कृषि विकासमा २७, भूमिसुधार तथा व्यवस्था मन्त्रालय मातहतका कार्यालयका ४० महिला, बालबालिका तथा समाज कल्याण कार्यालयको दुई, संघीय मामिला तथा स्थानीय विकासअन्तर्गत ३७९, स्वास्थ्य तथा जनसंख्या अन्तर्गतका ४९, उद्योग अन्तर्गतका १५, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका दुई, खानेपानी तथा सरसफाइ अन्तर्गतका ६ र पशुपक्षी मन्त्रालय अन्तर्गतका चार वटा उजुरी परेका छन् । कार्यालयले चालु आर्थिक वर्षमा चार वटा स्टिङ अपरेशन गरेको सो अवसरमा जानकारी दिइएको थियो । सो क्रममा जिल्ला शिक्षा कार्यालय रौतहटका सब–इन्जिनियर ललनकुमार सिंह, जिल्ला अस्पताल गौर रौतहटका हेल्थ असिस्टेन्ट अधिकृत प्रवीनकुमार झा, ट्राफिक प्रहरी जवान मोतीकुमार श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरण कलैया बाराका इञ्जिनियर रतनेशकुमार चौधरीलाई घूससहित पक्राउ गरिएको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा रु ४५ लाख २७ हजार २३० असुल उपर गरिएको छ । अहिले कार्यालयमा विस्तृत अनुसन्धानअन्तर्गत ११० वटा उजुरी परेकामा ९५ वटा फछ्र्यौट भएको उहाँले बताउनुभयो । सो अवसरमा कार्यालयका शाखा अधिकृत विकास विकले भ्रष्टाचार नियन्त्रणमा आयोगका भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

मापदण्डविपरीत बालगृह सञ्चालन

रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिकामा मापदण्ड विपरीत बालगृह सञ्चाल भइरहेको छ । नगरपालिका–१ बागबजारमा ‘नरसिङ हिमालय अनाथ’ नामको बालगृह न्यूनतम मापदण्ड पनि पुरा नगरेर सञ्चालन भइरहेको हो । बालगृह सञ्चालका लागि न्युनतम मापदण्ड पनि पुरा नगरेको जिल्ला बाल अधिकार अधिकृत मानबीर ओलीले बताउनुभयो । मापदण्ड पुरा गरेर बालगृह सञ्चालन गर्न मुसिकोट नगरपालिकाले पटक–पटक निर्देशन दिंदा पनि अटेर गरेको उहाँको भनाइ छ । बालगृह सञ्चालनका लागि दर्ता नै नगरेको आधारभुत भौतिक पूर्वाधार नभएको, बालबालिकालाई खुवाइने खाना गुणस्तरीय नभएको, सरसफाई तथा बसाइको राम्रो व्यवस्था नभएको उहाँको भनाइ थियो । साथै बालगृह कसरी सञ्चालन भएको छ र यसको आयस्रोत के हो ? भन्नेसमेत नखुलेको मुसिकोट नगरपालिकाकी उप–प्रमुख प्रेमकुमारी सुनार केसीले बताउनुभयो । बालगृह संञ्चालक बिवेक बुढाले आफुहरुले दिएको निर्देशनलाई पनि अटेर गरेकाले कानुनी कार्बाही गरिने अधिकृत ओलीले बताउनुभयो । बालगृहमा अहिले ३३ बालबालिका छन् । बालगृहमा आमाबाबु नभएका टुहुरा बालबालिकालाई राख्नुपर्ने कानूनी व्यवस्था भएपनि २९ ती बालबालिकाका आमाबाबु रहेको उहाँले जानकारी दिनुभयो । बालगृह सञ्चालकले यो भन्दा केहि वर्ष पहिले रुकुम पूर्वको तकसेरामा पनि मापदण्ड पुरा नगरी सञ्चालित बालगृहबाट बालबालिका जिल्ला बाहिर लैजाँदै गर्दा केहि बर्ष पहिले प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस

सन्नी लियोनीको एप, के के छ यसमा ?

करियरको शुरुवात पोर्न मुभीबाट गरेर लामो समय त्यसै क्षेत्रमा सक्रिय रहेर केही वर्षअघि मात्र बलिउड प्रवेश गरेकी सन्नी त्यसयता लगातार व्यस्त छिन् । सन्नी लियोनी अभिनयका साथै प्रोडक्सन र ब्रान्डमा समेत काम गर्छिन् । सन्नीले केही समयअघि आफ्नो सौन्दर्यसम्बन्धी ब्रान्ड ‘स्टारस्ट्रक’ बजारमा ल्याएकी थिइन्, जसको पहिलो चरणको उत्पादन बजारमा आइसकेको छ । यसबाहेक सन्नी एप निर्माणको अर्को तयारीमा जुटेकी छिन् । अत्याधुनिक उक्त एपलाई सन्नी चाँडै बजारमा पठाउने तयारीमा छिन् । यो नयाँ एपमा प्रयोगकर्ताहरूले कसरी आकर्षक देखिन सकिन्छ भनेर आफूलाई एपमा दाँज्न सक्नेछन् । सन्नीले भनेकी छिन्– उनले यो एपका लागि लामो तयारी गरेकी थिइन् । श्रृंगार प्रसाधन खरिद गर्ने क्रममा हामी सधैं भ्रममा रहन्छौं, सन्नीले भन्छिन्— यो एपमा हाम्रो स्किनमा कुन कलर राम्रो देखिन्छ, कुन लिपिस्टिक खरिद गर्नु उपयुक्त हुन्छ जस्ता धेरै कुरा हेर्न सकिनेछ । युवतीहरूका लागि यो एप निकै उपयोगी हुने अनुमान गरिएको छ । हाल सन्नी एक तमिल चलचित्रमा काम गरिरहेकी छिन्, जसमा उनले राजकुमारीको भूमिका निर्वाह गरेको बताइएको छ ।

रातो मत्स्येन्द्रनाथको रथ आज जाउलाखेल लगिँदै

ललितपुर । लगनखेलको थटिटोलमा रहेको रातो मत्स्येन्द्रनाथको रथलाई आज जाउलाखेल लगिँदैछ । रथलाई आजै जाउलाखेल पुर्याएपछि चौथो दिन ९आइतबार० भोटो जात्रा हुने ज्योतिषहरूको भनाइ छ । मत्स्येन्द्रनाथ जाउलाखेल पुगेपछि मात्रै भोटो जात्रा हुने दिनको टुङ्गो लाग्ने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केही समस्या आइपरेन र रथ आजै पु¥याउन सकियो भने भोटो जात्रा आइतबार हुनेछ ।” रथ पुगेको दिनका हिसाबले चौथो दिनमा भोटो देखाइने परम्परा छ । यस वर्ष अघिल्ला वर्षहरुभन्दा पहिले नै रथलाई जाउलाखेल लग्न लागिएको, सबै कुरा राम्रो भएको र साइत चाँडो निस्केकाले वैशाख महिनामा नै भोटो जात्रा हुन लागेको हो । उहाँ भन्नुहुन्छ, “कुनै–कुनै वर्षमा लामो समयसम्म साइत आउँदैनथ्यो यो वर्ष चाँडो निस्कियो । कारणबस रथ आज साँझ पुगेन भने जुन दिन पुग्छ त्यसको चौथो दिन भोटो जात्रा हुनेछ । विगतका कतिपय वर्षमा रथ ढल्कँदा जाउलाखेल नपुगी बीचमा रोकिएको थियो । उहाँ भन्नुहुन्छ, “हुन त नगरको भित्री भागमा भन्दा बाटो ठूलो छ तैपनि जाउलाखेल नपुगी भन्न सकिँदैन ।” आगामी जेठ २ गतेबाट महिनाभर मलमास छ । मलमास अवधिभर रथ तान्नु शुभ मानिँदैन । मत्स्येन्द्रनाथको पुल्चोकबाट गाबहाल–मंगलबजार हुँदै लगनखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भनिन्छ । त्यस्तै, थटिटोलबाट जाउलाखेलसम्मको यात्रालाई सप्तग्राम जात्रा पनि भनिन्छ । यसलाई सात गाउँको जात्रासमेत भनिन्छ । उहाँ भन्नुहुन्छ, “यसलाई नगरभन्दा बाहिरी भेगका बासिन्दाको जात्रा पनि मानिन्छ ।” पहिले थानकोट, कीर्तिपुरलगायतका स्थानका बासिन्दा रथ तान्न आउने गर्थे । मत्स्येन्द्रनाथको जात्राका बेला भोटो प्रदर्शन गरिने परम्परा छ । सरकारले भोटो जात्राका दिनमा सार्वजनिक बिदासमेत दिँदै आएको छ । कथनअनुसार नागराजा कर्कोटककी श्रीमतीलाई आँखाको रोग लागेपछि उपचारका लागि नागले एक किसानलाई बोलाए । नागले जसरी भए पनि आफ्नी श्रीमतीको रोग निको पार्नै पर्ने नपारे अनिष्ट हुने बताएपछि वैद्य सङ्कटमा परे । किसानले नागकी श्रीमतीको रोग नै पत्ता लगाउन नसकेपछि हात माड्दै बसिरहे । हात माडेका हुनाले यसबाट मयल निस्कियो । उनले त्यही मयललाई औषधि भनेर नागलाई दिए । त्यो औषधिको प्रयोगपछि नागकी श्रीमतीको रोग निको भयो । रोग निको पारिदिएपछि नागराजाले खुशी हुँदै आफूले लगाइराखेको रत्नजडित भोटो किसानलाई दिए । किसानले सधैँ नै त्यो भोटो लगाएर हिँड्थे । एक दिन किसानले खेतमा भोटो फुकालेर काम गर्दा एउटा भूतले भोटो चोरेर लगेछ । केही समयपछि भएको एक जात्रामा भूत र किसान पनि आएका रहेछन् । जात्रामा भूतले त्योे भोटो लगाएर आएको थियो । भोटो देखेपछि किसान र भूतबीच भोटोको स्वामित्वबारे भएको विवादले झगडाको रुप लियो । केही गरी पनि झगडा साम्य नभएपछि निर्णयका लागि उनीहरु मत्स्येन्द्रनाथकहाँ पुगे । मत्स्येन्द्रनाथले जसले प्रमाण ल्याउनसक्छ उसैलाई दिने भत्रे निर्णय गरे । तर दुवैले प्रमाण जुटाउन नसकेपछि भोटो मत्स्येन्द्रनाथले नै राखे । उहाँ भन्नुहुन्छ, “त्यसैबेला देखि प्रत्येक वर्ष यो कसको भोटो हो रु प्रमाण सहित उपस्थित होउन भन्ने उद्देश्यले चारैतर्फ भोटो देखाउने चलन चल्दै आएको हो ।” मत्स्येन्द्रनाथको महास्नानबाट शुरु हुने जात्रा भोटो देखाएसँगै टुङ्गिन्छ । मत्स्येन्द्रनाथलाई महिला र पुरुष दुवै रुपमा मानिने भएकाले हिन्दू धार्मिक परम्पराअनुसार ब्राह्मणबाट महिला र पुरुषलाई गरिने दशकर्म गरिन्छ । बौद्ध धर्मअनुसारका सबै कर्म बज्राचार्यले गर्छन् । विधिवत् रुपमा दश कर्म सकिएपछि मात्रै रथारोहण गराई रथयात्रा शुरु हुन्छ । पुल्चोकबाट गाबहाल, गाबहालबाट मंगलबजार, मंगलबजारबाट लगनखेलसम्म त्रिलोक भ्रमण सकिएपछि रातो मत्स्येन्द्रनाथको जाउलाखेल भ्रमण हुने गरेको छ । यसलाई दक्षिणागमनसमेत भनिन्छ । जोशी भन्नुहुन्छ, “मत्स्येन्द्रनाथ दक्षिणायन हुँदा बुंगमती र उत्तराणायन हुँदा पाटन बस्नुहुन्छ ।” जाउलाखेल पुगेको चौथो दिन पनि भोटो जात्रा देखाइन्छ । त्यही साँझमा खटमा राखेर मत्स्येन्द्रनाथलाई बुुङ्मती नै फर्काइन्छ । रासस

चौध करोडको लगानीमा ह्याचरी

झापा । ब्रोइलर जातको कुखुराका चल्ला उत्पादन गर्ने उद्देश्यले ह्याचरी सञ्चालनमा आएको छ । मेची अञ्चलमै पहिलो पटक रु १४ करोडको लगानीमा ‘भाटभटेनी इन्टरनेशनल ह्याचरी प्रालि’ सञ्चालनमा आएको हो । चारजनाको संयुक्त लगानीमा ह्याचरी सञ्चालनमा ल्याइएको सञ्चालक भरत ओडारीले जानकारी दिनुभयो । झापासहित इलाम, तेह्रथुम, ताप्लेजुङ, मोरङ, सुनसरीलगायत जिल्लाका किसानलाई लक्ष्य गरी ह्याचरी सञ्चालनमा ल्याइएको हो । बिर्तामोड–२ स्थित वीर अमरसिंह माविको चार बिगाह दुई कट्ठा जग्गा भाडामा लिएर फार्म सञ्चालन गरिएको छ । त्यहाँदेखि करीब ३०० मिटर टाढा कनकाई–८ मा ह्याचरीको आफ्नै स्वामित्वमा रहेको एक बिगाह ११ कट्ठा जग्गामा चल्ला उत्पादन गर्ने मेसिनसहितको भौतिक संरचना तयार गरिएको अर्का सञ्चालक तारा प्रसाईंले बताउनुभयो। “विद्यालयको जग्गा रु ८० हजार वार्षिक भाडा बुझाउने गरी २१ वर्षका लागि लिजमा लिका छौँ,” उहाँले भन्नुभयो । तीन–तीन वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको छ । हाल यहाँबाट हप्तामा ११ हजार कुखुराका चल्ला उत्पादन हुँदै आएको छ । ह्याचरी पूर्णरुपमा सञ्चालमा आएपछि हप्तामा ६० हजार चल्ला उत्पादन गर्न सकिने अर्का सञ्चालक निर्जा सिवाकोटीले बताउनुभयो । क्षमता विस्तारका लागि थप तीन बिगाह १७ कट्ठा जग्गा खरिद गरिएको छ । हाल अण्डा पार्ने ‘प्यारेन्स’ कुखुराको एक दिने चल्ला मलेसियाबाट आयात हुने गरेको छ । ‘कब ५००’ जातको उक्त कुखुराको चल्ला ह्याचरीसम्म ल्याउन करीब साढे छ डलर खर्च हुने सञ्चालक सिवाकोटी बताउनुहुन्छ । हाल ह्याचरीमा चार हजार अण्डा पार्ने प्यारेन्स कुखुरा रहेका छन् । कुखुराले नियमित रुपमा ७५ हप्तासम्म अण्डा पार्छ । ह्याचरीबाट प्रतिवटा चल्ला रु ५० मा बिक्री गरिँदै आएको छ । अरुतिर भने ‘कब ४००’ जातको कुखुराको चल्ला पाइन्छ । कुखुराका लागि चाहिने दाना सञ्चालक आफैँले उत्पादन गर्दै आएका छन् । दानाका लागि मकै प्रयोग गरिँदै आएको छ । ह्याचरी सञ्चालमा आएसँगै यहाँका ५० जनाले रोजगारीसमेत पाएका छन् । रासस

पर्यटन क्षेत्रको सुधारका लागि विज्ञ समूह गठन

काठमाडौँ । पर्यटन क्षेत्रको समग्र सुधारको कार्ययोजनासहितका रणनीतिक महत्वका विषयवस्तुमा सुझाव दिन सरकारले ३५ सदस्यीय पर्यटन क्षेत्रका विज्ञ (थिङ ट्याङ्क ग्रुप) समूह गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकासमा विभिन्न क्षेत्रमा आबद्ध भई विज्ञता हासिल गरेका व्यक्तिको ज्ञान, सीप, दक्षता र अनुभव उपयोग गर्ने उद्देश्यले सो समूह गठन गरेको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा रहने उक्त समूहमा मन्त्रालयका सचिव तथा पर्यटन सम्बद्ध सहसचिवहरु पनि रहनेछन् । विज्ञ समूहले पर्यटन क्षेत्रको विषयगत सुधारका विषयमा केन्द्रित भएर राय सुझाव दिने मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो । उहाँले पर्यटन क्षेत्रमा गरिनुपर्ने कामको प्राथमिकीकरण निर्धाणर गरी त्यसअनुसारको योजना र कार्यक्रम बनाउन एक÷दुई दिनभित्रै विज्ञ समूहको बैठक बस्ने बताउनुभयो । नेपालको पर्यटन क्षेत्र सुधारका लागि आवश्यकताअनुसार सो समूहले सुझाव प्रदान गर्नेछ । विज्ञ समूहले पर्यटन मन्त्रीलाई पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधारका लागि राय-परामर्श दिनेछ भने सरकारबाट समय समयमा गठन हुने विभिन्न कार्यदलमा विज्ञहरुका रुपमा सेवा प्रदान गर्ने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञ समूहमा मनोनयन भएका सदस्यहरुमा अर्जुन शर्मा, अनिल चित्रकार, कुन्दनमणि दीक्षित, डा गंगाप्रसाद अकेला, चन्द्रप्रसाद ढकाल, छाया शर्मा, छेवाङ लामा, ज्योति अधिकारी, दीपेन्द्रपुरुष ढकाल, प्रदीपराज पाण्डे, प्रचण्डमान श्रेष्ठ, वसन्त मित्र, वासु त्रिपाठी, विजय अमात्य र मदन आचार्य हुनुहुन्छ । त्यसैगरी, महेन्द्रसिंह थापा, याङ्किला शेर्पा, योगेन्द्र शाक्य, रविजंग पाण्डे, राज ज्ञवाली, रोशन थापा, लाक्पासोनाम शेर्पा, शिव ढकाल, सञ्जय चौधरी, सिर्जना राणा, सुमन पाण्डे, सुरेशमान श्रेष्ठ, सुनिल शाक्य, सुबोध राणा, तेजबहादुर ढकाल, सीताराम सापकोटा हुनुहुन्छ । संस्थागततर्फ ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), होटल एशोसिएसन अफ नेपाल (हान), नेपाल पर्वतारोहण संघ र प्यासिफिक एशिया ट्राभल एशोसिएसन, पाटा नेपाल च्याप्टरका अध्यक्षहरु विज्ञ समितिमा रहने मन्त्रालयले जनाएको छ । काभ्रेमा विमानस्थल टुंगो लगाउन समिति गठन काभ्रेपलाञ्चोकमा विमानस्थल बनाउनका लागि उपयुक्त स्थान छनोट गर्न सरकारले इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप नियन्त्रण गर्न काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले केहीदिनअघि उक्त समिति गठन गर्नुभएको हो । समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशकद्वय वदास भोछिभोया र बाबुराम पौड्याल, उपनिर्देशकहरु सुवर्ण उपाध्याय र सीताराम भण्डारी रहनुभएको छ । समितिको सदस्य सचिवमा प्राधिकरणकै नलविक्रम थापा हुनुहुन्छ । मन्त्री अधिकारीले हालै बनेपा नगरपालिकाको नागीडाँडा, धुलीखेल नगरपालिकाको चिसापानी ठूलीचौर र देवीस्थान ठूलीचौरकोे स्थलगत भ्रमणका क्रममा उपयुक्त विकल्पसहितको सुझाव दिन समिति गठन गर्ने बताउनुभएको थियो । उक्त समितिलाई ती तीन ठाउँ वा अन्य उपयुक्त ठाउँको अध्ययन गरी १५ दिनभित्र सुझाव पेश गर्नुपर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । रासस

अवैध लागूऔषधसहित राजधानीबाट पाँच जना पक्राउ

काठमाडौं, वैशाख २४ । काठमाडौं महानगरपालिका–१७ बालाजु बस्ने १७ वर्षीय बिश्व सेनलाई लागूऔषध नाइट्राभेट ट्याब्लेट १५ सय थानसहित सोमबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ चेकप्वाइन्टमा पोखराबाट काठमाडौं आउँदै गरेको बा१६च २२०३ नम्बरको गाडी जाँच गर्ने क्रममा सेनले झोलामा लुकाईछिपाई ल्याएको उक्त लागूऔषध फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । यसैगरी काठमाडौं महानगरपालिका–१६ बनस्थलीबाट नुवाकोट बिदुर नगरपालिका–१३ कल्याणपुरका २४ वर्षीय धनबहादुर तामाङलाई करीब १ केजी चरेश जस्तो देखिने लागूऔषधसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी, भक्तपुरको ब्यासी बस्ने १८ वर्षीय थुनिस बासुकला र भक्तपुर उपमहानगरपालिका–१० महालक्ष्मीस्थान बस्ने १८ वर्षीय मुकेश गोपीलाई लागूऔषध चरेश ३ ग्रामसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी र चोरी सम्बन्धी मुद्धाको महानगरीय प्रहरी परिसर भक्तपुरमा रहेका थुनुवा सुजन हेङगजुलाई भेट्न आएका थुनिस र मुकेशलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट उक्त लागूऔषध बरामद भएको प्रहरीले बताएको छ । ललितपुर महानगरपालिका लगनखेल चोकबाट काठमाडौं डल्लु बस्ने २४ वर्षीय सविन शाहीलाई १० ग्राम लागूऔषध चरेश, नाइट्रोभेट क्याप्सुल १० थान, नगद १४ हजार ८ सय ४६ नेपाली रुपैयाँ, ३ सय १० भारतीय रुपैयाँ र मोबाईल १ थान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दाताको भरमा २२ शिक्षकलाई तलब

सुरुङ्गा, वैशाख २३ । कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी अभाव भएर दरबन्दी कटौती होला भन्ने चिन्ता छ तर, कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयलाई आएका विद्यार्थीलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ । कनकाई मावि सुरुङ्गामा नेपाली माध्यमका अलावा विगत आठ वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन हुँदैआएको छ । यसप्रति आकर्षित भएर त्यस क्षेत्रका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेपछि विद्यार्थी व्यवस्थापनमा समस्या भएको हो । विद्यालयको क्षमता एक हजार ५०० भए पनि हाल दुई हजारभन्दा बढी विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । क्षमताभन्दा बढी विद्यार्थी भएर विद्यालयले विद्यार्थी थेग्न नसक्दा विगतका वर्षदेखि नै प्रवेश परीक्षा लिन थालेको छ । सुरुङ्गामा रहेका नाम चलेका निजी विद्यालय पशुपति, हरिकुल, प्यारागन, देवकोटा, झापा मेरिगोल्डलगायतमा अध्ययनरत विद्यार्थी ती विद्यालय छाडेर सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन् । निजी विद्यालयबाट मात्रै यो वर्ष झण्डै ३०० विद्यार्थी आएका छन् । यो शैक्षिकसत्रका लागि कनकाई माविमा भर्ना हुन ३०० भन्दा बढीले प्रवेश परीक्षा दिएकामा १९५ जना मात्र उत्तीर्ण भएको विद्यालय स्रोतले जनाएको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप लागिरहेका बेला कनकाई माविमा भने विद्यार्थी थेग्न नसकेर विद्यालय प्रशासनलाई समस्या भएको विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद तिम्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विद्यालयमा विद्यार्थीको चाप अधिक रहेकाले वर्ग विभाजन गर्नुपरेको छ ।” विद्यार्थीको चापका कारण खानेपानी र शौचालयको समस्या चर्केको छ । विज्ञान समूहका कक्षाबाहेक कक्षा ११ र कक्षा १२ का कक्षाहरु बिहानीसत्रमा सञ्चालित छन् । बाँकी एक हजार ७०० भन्दा बढी विद्यार्थीको दिवासत्रमै पठनपाठन हुने भएकाले बसाइ व्यवस्थापन, खानेपानी र शौचालयको समस्या बढ्दै गएको छ । कनकाई माविमा कक्षा ८ मा मात्रै २०० जना विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई चार वटा वर्गमा राखेर पठनपाठन गराइँदै आइएको छ । त्यस्तै कक्षा ९ मा छ वटा वर्ग छन् भने कक्षा १० मा पाँच वटा वर्ग बनाएर विद्यार्थीलाई राखिएको छ । प्रत्येक वर्गमा ५० भन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । तल्लो कक्षाको तुलनामा माथिल्लो कक्षामा विद्यार्थीको चाप अधिक रहेकाले पठनपाठनमा समस्या रहेको विद्यालयका अर्का सहायक प्रधानाध्यापक कर्णबहादुर डाँगीले बताउनुभयो । कनकाई माविमा ४२ जनाको दरबन्दी छ । दरबन्दीमा रहेका शिक्षकबाट मात्र विद्यालय सञ्चालनमा समस्या भएपछि निजी दरबन्दीमा २२ जना शिक्षकलाई राखिएको छ । शिक्षकलाई तलब खुवाउन समस्या भएर पटक–पटक सरकारको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमले बताउनुभयो । विसं २०१५ मा स्थापित कनकाई मावि त्यस क्षेत्रको पुरानो विद्यालय हो । उक्त विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन शुरु भएपछि विद्यार्थीसँगै अभिभावकको समेत चहलपहल बढेको छ । कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट र ६ देखि १२ कक्षासम्म नेपाली र अंग्रेजी माध्यमका अलग–अलग वर्गमा पठनपाठन भएपछि अभिभावकको रुचि सामुदायिक विद्यालयतर्फ गएको हो । शिक्षकलाई तलब खुवाउन दाताको भर विद्यालयको आन्तरिक स्रोतबाट राखिएका २२ जना शिक्षकलाई तलब खुवाउन अहिले विद्यालय प्रशासनलाई धौ–धौ छ । विद्यालयको जग्गाबाट रु २१ हजार आम्दानी भए पनि मालपोत नै रु एक लाखभन्दा बढी तिर्नुपरेपछि विद्यालय प्रशासनलाई समस्या छ । त्यसका अलवा विद्यालयको अन्य कुनै स्रोत नभएकाले शिक्षकलाई तलब खुवाउन दाताको भर पर्नुको विकल्प नरहेको विद्यालयका प्रधानाध्यापक निर्मलकुमार खतिवडाले बताउनुभयो । विद्यार्थीका अभिभावकबाट सहयोग जुटाएर शिक्षकलाई तलब खुवाउनुपर्ने अवस्था हुँदा पनि सम्बन्धित निकायले विद्यालयलाई नहेरेको बताइएको छ । कनकाई माविको विद्यालय हाताभित्र छ बिगाह १५ कट्ठा जमिन छ भने बाहिर विद्यालयको नाममा ५२ बिगाह जमिन भए पनि लाभ लिन सकिएको छैन । विद्यालयको नाममा रहेको धेरैजसो जग्गा नदी किनारमा छ, जहाँ बर्खे बाली लगाउन समस्या छ । लिजमा लिएकाहरुले हिउँदे बालीका रुपमा खरबुजा, काँक्रा लगाउने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले विद्यालयको जग्गाबाट प्राप्त आम्दानीभन्दा बढी मालपोत, राजश्व तिर्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने र यसका लागि कनकाई नगरपालिका, नागरिक समाज र जग्गा कमाउनेहरुले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । नमूना विद्यालयको चर्चामा कनकाई झापाका साविककै सात वटा निर्वाचन क्षेत्रमा एक–एक वटा र बिर्तामोड नगरपालिकामा रहेको महेन्द्ररत्न मावि अनारमनीलाई नमूना विद्यालय बनाउन शिक्षा मन्त्रालयले प्रस्ताव गरेको छ । प्रस्तावसहित शिक्षा मन्त्रालयले बजेट खाका अर्थमन्त्रालय पठाएको छ । शिक्षा मन्त्रालयले उनीहरुबाट भौतिक, प्रशासनिक, व्यवस्थापकीय र सुशासनसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना पनि माग गरिसकेको छ । मन्त्रालयको मागसँगै भौतिक नक्साङ्कनसहितको कार्ययोजना मन्त्रालयलाई बुझाइएको छ, जसमा कनकाई मावि पनि समावेश छ । नमूना विद्यालयको चर्चासँगै निकट भविष्यमा शैक्षिक गुणस्तर अझ सुध्रने अपेक्षाले अभिभावकको रुची सामुदायिक विद्यालयप्रति बढेको बताइन्छ । नमूना विद्यालयका लागि कनकाई माविले रु एक अर्ब ३१ करोडको योजना पेश गरेको विद्यालयका आधारभूत इञ्चार्ज खेमराज भट्टराईले बताउनुभयो । शिक्षकका छोराछोरी पनि कनकाई मै कनकाई माविका शिक्षकहरु स्वयंले आफ्ना नानीहरुलाई आफैँ अध्यापन गर्ने विद्यालयमा भर्ना गरेका छन् । यो क्रम केही वर्षअघिदेखि नै शुरु भएको हो । अंग्रेजी माध्यममा पठनपाठन शुरु भएपछि सोही विद्यालयबाट विगतमा शिक्षक तीर्थराज खरेल, चन्द्रप्रसाद पोखरेल, शारदा पाठक, गोपीकृष्ण भट्टराई, चन्द्रप्रसाद शिवाकोटी र जिवेन्द्र घिमिरेका छोराछोरीले एसएलसी उत्तीर्ण गरिसकेका छन् । हाल सहायक प्रधानाध्यापक डाँगी, शिक्षकहरु तीर्थराज खरेल, चन्द्रप्रसाद पोखरेल, जानुका चम्लागाईका नानीहरु र शिक्षक विक्रम बानियाँकी बहिनी अध्ययनरत छन् । शिक्षक र अभिभावकको विद्यालयप्रति यति धेरै आकर्षण हुँदा पनि कतिपयमा शैक्षिक गुणस्तरमा शंका रहेको पाइन्छ । यसमा व्यवस्थापन समितिका पदाधिकारीहरु पनि छन् । निजी स्रोतका शिक्षकका आफ्नै समस्या कनकाई माध्यमिक विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षक आफूहरु समस्यामा रहेको बताउँछन् । निम्न माध्यमिक तहमा नियुक्त भएर पनि मावि तहमा अध्यापन गराइरहेको र योग्यता पुगेर पनि सेवा सुविधामा विद्यालयले नहेरेको अंग्रेजी माध्यमतर्फ सामाजिक विषयका शिक्षक राजेन्द्र खनालले बताउनुभयो । समान कामका लागि सेवा सुविधामा विभेद हुन नहुने उहाँहरुको भनाइ छ ।