ईयूको प्रतिवेदनप्रति चुपचाप छ माओवादी ?

काठमाडौं – नेपालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनप्रति प्रश्न चिन्ह खडा गर्दै युरोपेली युनियन (ईयू)ले सार्वजनिक गरेको निर्वाचन प्रतिवेदनप्रति सत्तारुढ दल नेकपा माओवादी केन्द्र मौन देखिएको छ ।

जब कि यसको सर्वत्र विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाट नै उक्त प्रतिवेदनमाथि आपत्ति जनाउँदै त्यसलाई सच्याउन आग्रह गरेका थिए ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विज्ञप्तिमार्फत उक्त प्रतिवेदन सच्याउन आग्रह गरेको छ ।

प्रतिवेदनले नेपालको संविधानका प्रावधानका लागि ठाडो चुनौती दिएको उल्लेख गरेको छ ।

धेरै नागरिक पक्षले समेत यसको विरोध गरिरहेका छन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । तर माअाेवादी केन्द्रका नेताहरुले स‌सदमा यसकाे विराेध गरेका छन् ।

मकै किसानको प्रश्नः अब ऋण कसरी तिर्ने ?

काठमाडौं, चैत्र १७ । प्रदेश नं २ का जिल्लाहरूमा यस वर्ष लगाइएको मकैका घोगामा दाना नलागेपछि मर्कामा परेको किसानहरूले बताएका छन्। सयौँ बिघा जग्गामा लगाइएको मकैका घोगामा दाना नलागेपछि लगानी पनि उठ्न नसक्ने देखिएकोले उनीहरूले उचित क्षतिपूर्तिको माग गरेका छन्। पर्सा, बारा, रौतहट, सर्लाही लगायत जिल्लाका किसानले लगाएको उन्नत जातको मकैको घोगामा दाना नलागेपछि उनीहरू चिन्तित बनेका हुन्। हेर्दा मकैको बोट र घोगा राम्रो देखिए पनि दाना नलागेको किसानहरू बताउँछन्। कार्तिकभन्दा पहिले लगाइएको मकैका घोगामा दाना नलागेपछि किसानहरूले बोट नै उखेलेर फाल्नुपरेको सर्लाहीका वरिष्ठ कृषि विकास अधिकृत काशीराज हमालले बताए। उनले भने, ‘धेरै किसानले हिउँदे मकैका घोगामा दाना नलागेको बताएका छन्। दाना नलागेपछि बाली नै काटेर फाल्नुपर्ने अवस्था आएको छ।’ प्रत्येक वर्ष सरकारले जानकारी दिए अनुसारकै सूचीकृत बीउ लगाउने गरेकोमा यस वर्ष पनि सिफारिश गरिएकै बीउ रोपेको किसानहरू बताउँछन्। सरकारले बीउ बेच्ने जथाभावी अनुमति दिएका कारण नोक्सानी बेहोर्नुपरेको किसानहरूको आरोप छ। ऋण लिए रोपेको मकैका घोगामा दाना नलागेपछि आर्थिक संकटमा परेको बताउँदै बारा सिमराका किसान ऋषि सापकोटा आफू उचित राहतको आशामा बसेको बताउँछन्। उनी भन्छन्, ‘ऋण लिएर बाली लगाइयो, अब ऋण चाहिँ कसरी तिर्ने होलारु सरकारबाट केही सहयोग पाइन्छ कि भन्ने आशा छ।’ बारामा १३ हजार ६ सय हेक्टरमा मकै खेती गरिएको जिल्ला कृषि विकास कार्यालय बाराले जनाएको छ। जिल्ला कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साह किसानहरूले बाली बिमा गराउने बानी बसाले क्षतिपर्ति पाउनुका साथै उनीहरूलाई क्षतिका कारण तनाव पनि नहुने बताउँछन्। उनी भन्छन्, ‘यस्तै समस्या आउन सक्ने भएर सरकारले बाली बिमाको व्यवस्था गरेको छ। किसानहरूले बाली बिमा गराए ७५ प्रतिशत क्षति सरकारले बेहोरिदिन्छ।’ मौसमको प्रतिकूलताका कारण मकै बालीमा समस्या देखिएको कृषि प्राविधिकहरूले बताएका छन्। मकैमा दाना नलागेपछि किसानहरूले भोग्नुपरेको समस्या समाधानका लागि प्रदेश सरकार लागि परेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द साहले भने, ‘केन्द्रबाट आएको टोली निरीक्षण गरेर फर्किसकेको छ। किसानहरूलाई उचित क्षतिपूर्ति दिलाउन हामी पहल गर्छौँ ।’ किसानहरूले सिफारिश गरिएका उन्नत जातका मकैबा बीउ रोपेको बताए पनि बारामा ४ हजार हेक्टरभन्दा बढी क्षेत्रफलको मकै खेती नष्ट भएको जनाइएको छ। त्यस्तै सर्लाहीमा ११ हजार २८० हेक्टरमा मकै खेती गरीएकोमा ५० देखि ५५ प्रतिशतसम्म बाली नष्ट भएको जिल्ला कृषि विकास कार्यालय सर्लाहीले जनाएको छ। बाँकी जिल्लाहरूमा पनि मकैमा दाना नलागेपछि लाखौँ रुपैयाँ बराबरको क्षति भएको अधिकारीहरूले बताएका छन् । बीबीसी

असिनाले करोडौंको क्षति

पर्वत,  चैत १७ । केही दिनदेखि लगातार परेको असिना पानीका कारण पर्वतमा करोडौं रुपैयाँ मूल्य बराबरको तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ । जिल्लाका तरकारी र खाद्यान्न उत्पादन पकेट क्षेत्रमा बाक्लो असिना परेका कारण ठूलो क्षति भएको हो । गएको मंगलबारदेखि दैनिकजसो असिना पानी र हावाहुरी चलिरहेको छ । जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत बाँसखर्क, धाइिङ, शालिजा, लेखफाँट र नाङलीवाङमा परेको असिनाले रु दुई करोड भन्दा बढी मूल्य बराबरको तरकारी तथा गहुँबाली नष्ट भएको गाउँपालिकाले जनाएको छ । उक्त क्षेत्र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत तरकारीको पकेट क्षेत्र हो । यो गाउँपालिकाका सयौं कृषक बेमौसमी तरकारी खेतीमा आकर्षित छन् । यता फलेवास नगरपालिका– ९ भँगरा, वडा नं ८ ठानामौला, वडा नं २ थापाठाना, वडा नं ३ शंकरपोखरी र वडा नं ४ मुडिकुवामा परेको असिनापानीले गहुँ, भर्खरै उम्रिएको मकैलगायत कृषकले व्यावसायिक रुपमा लगाएको तरकारीबाली नष्ट गरेको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । हिउँदभरिको खडेरीका कारण खेतीबारी फस्टाउन नसकेको अवस्थामा असिना पानीले नष्ट गरेपछि कृषक निराश बनेका छन् । कृषकले क्षतिको मूल्यांकन गरी राहतको व्यवस्था र बाली बीमा कार्यक्रम कार्यान्वयनको माग समेत गरेका छन् । जिल्लाको मोदी, महाशिला, पैंँयू र कुश्मा नगरपालिकामा पनि असिनाले तकारी र अन्नबालीमा सामान्य क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पर्वतमा मगलबारदेखि लगातार रुपमा पानीसँगै असिना पनि परिरहेको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले जिल्लाका अधिकांश भागमा परेको असिनाले ठूलो क्षति पु¥याएको जनाएको छ । अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताउँदै उनीहरुलाई आवश्यक राहत प्रदान गर्नका लागि स्थानीय तहसँग पहल गरिने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । विशेषगरी गहुँबाली थन्क्याउने बेलामा परेको असिनाले ठूलो क्षति बनाएको छ भने व्यावसायिक रुपमा तरकारीखेती गरेकालाई धेरै नोक्सानी परेको छ । जिल्लामा कृषि बीमा कार्यक्रममा धेरै कृषक नआइसकेकाले उनीहरुको राहतका लागि सम्बन्धित स्थानीय तहले ध्यान दिनुपर्ने वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

दैनिक हजार कमाइ गर्दै कैदीबन्दी

उदयपुर, चैत १७ । जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन् । केही वर्षदेखियता आएर बाँसको मानिस बस्ने मुढा बनेर कमाइ गर्न थालेका जिल्ला कारागार शाखाका कैदीबन्दीमध्ये १४ जना कैदीले अहिले ढाका टोपी बुन्ने सीप सिकेर अहिले दैनिक रु एक हजार कमाइ गर्न थालेको कारागार शाखा उदयपुरले जनाएको छ । जिल्ला कारागारमा ढाकाको टोपी बन्नका लागि प्रशिक्षकका रुपमा मोरङ कारागारबाट दुई जना कैदी मुस्ताङ राई र कुवेर तिम्सिनालाई सरुवा गरेर ल्याएपछि कारागारको १४ जना कैदीले अहिले ढाकाटोपी बुन्ने सीप सिकेर टोपी बुन्ने र बिक्री कार्य शुरु गरेको कारागार शाखा उदयपुरका प्रमुख मुकुन्द ढकाल बताउनुभयो । जानेर वा नजानेर गरेका गल्तीको प्रायश्चित गर्न र कानूनले तोकेबमोजिम सुधार हुन र गर्नका लागि कारागारमा केही कैदीबन्दीले बन्दी जीवन बिताउँदै आएको कारागार प्रमुख ढकाल बताउनुहुन्छ । भोलि जेलबाट मुक्त भएपछि पनि कारागारमा सिकेको सीप सिकेर शान्तिपूर्ण जीवनयापन गर्न सकुन् भनेर यो टोपी बुन्ने प्रशिक्षक ल्याएर व्यापक टोपी बुन्ने व्यवसाय शुरु गरिएको कारागार प्रमुख ढकालले बताउनुभयो । कारागारका ढाकाटोपी बन्न प्रशिक्षण दिने एक कैदी प्रशिक्षक कुवेर तिम्मिसना भन्नुहुन्छ, “अहिले १४ जनाले टोपी बन्ने कार्यमा सहभागी भएका छन्, एक जनाले एक दिनमा एउटा टोपी सजिलै बुन्न सक्छ ।” एउटा टोपीको कमाइ दिनको रु ७०० देखि एक हजारसम्म हुने गरेको पनि तिम्सिना बताउनुहुन्छ । अर्का प्रशिक्षक मुस्ताङ राईका अनुसार राम्रो डबल बुट्टे टोपी पनि बुन्ने गरेको र यस्तो टोपी बुन्न दुईदेखि तीन दिनसम्म समय लाग्ने र यस्तो टोपीको मूल्य तीन हजारसम्ममा बिक्री गर्नेसमेत राईले बताएका छन् ।

दुई परीक्षा निरीक्षक निष्कासित

राजविराज, चैत १७ । माध्यामिक शिक्षा परीक्षा (एसइई) को अन्तिम दिन आज दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ । जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको नेतृत्वमा खटिएको अनुगमन टोलीले सप्तरीको सदरमुकाम राजविराजस्थित हेपिल्याण्ड उच्च मावि परीक्षा केन्द्र र मोडेल स्कुल परीक्षा केन्द्रबाट दुईजना निरीक्षकलाई निष्कासन गरेको जिशिअ पाण्डेले जानकारी दिनुभयो । परीक्षामा मर्यादा विपरित कार्य गरी लापर्वाही र चिट चोराएको आरोपमा हेपिल्याण्डबाट राजदेव साह र मोडेल स्कुलबाट जीवन यादवलाई निष्कासन गरिएको जिशिअ पाण्डेले बताउनुभयो । यसैबीच हालसम्म अरु परीक्षा केन्द्रमा शान्त र मर्यादित रुपमा परीक्षा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय, सप्तरीले जनाएको छ । यसवर्ष सप्तरीमा नियमित तर्फ आठ हजार ५१४ र एक्ज्याम्टेडतर्फ एक हजार १३ गरी कूल नौ हजार ५९७ विद्यार्थी परीक्षामा सहभागी रहेका छन् । ७७ सामुदायिक, ४४ निजी र एक खुला गरी कूल १२२ विद्यालयका विद्यार्थीको लागि ३६ वटा परीक्षा केन्द्र तोकिएको थियो ।

यो साताको राशीफल

मेष कसैको प्रस्तावमा आलटाल गर्नाले एक–अर्काबीच दूरी बढ्ने सम्भावना छ । मंगलबारपछिका दिनमा भाग्यले साथ दिन थाल्नुका साथै रोकिएका काममा सफलता हात लाग्नेछ । सामाजिक क्षेत्रमा युवा अभियानको नेतृत्व गर्ने अवसर पाइएला । साताको अन्त्यमा शुभ तथा पूण्य कार्यमा समय खर्चनुपर्नेछ । वृष  कर्मचारी वर्गले समय एवं सेवा तथा कार्यशैलीमा विशेष ध्यान पुर्‍याउनुहोला । नयाँ स्थान तथा क्षेत्रमा पदासिन हुने अवसर जुट्नेछ । नयाँ कार्यक्षेत्र सम्हाल्न ढिलाइ नगर्नुमै आफ्नो कल्याण छ । गुलाबी रंग तथा दक्षिणतर्फको यात्रा फलदायक छन् । वादविवादबाट टाढै रहनुहोला । मिथुन  भ्रमण खानपान तथा फेसनमा राम्रै धन खर्च हुनेछ । योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । नगद सापटी लिएका साथीहरूले समयमै रकम फिर्ता नगर्दा आर्थिक समस्या आइलाग्न सक्छ । कार्यक्षेत्रमा देखाइने उत्ताउलोपनका कारण विवादित भइनेछ, संयम अपनाउनुहोला । कर्कट  खानपानको फेरबदलका कारण शारीरिक दुर्बलता देखा पर्न सक्छ । प्रशंसा गर्नेहरू भित्रभित्रै डाह गर्न थाल्नेछन । संयम एवं बोलीको मधुरताले बिग्रन लागेको सम्बन्धमा मल्हम लगाउन सहयोग गर्नेछन् । छोटो समयमै घनिष्ठ हुन खोज्नेहरूसँग टाढा रहनुमै आफ्नो हित छ । सिंह  आर्थिक पक्ष सबल रहनेछ भने मानसिक तनाव उत्साहमा परिणत होला । साँझ तथा बिहानीको समयमा योग, ध्यान एवं भ्रमण गर्न सके शारीरिक ऊर्जा प्राप्त हुनेछ । साझेदारबीच व्यवसायिक विवाद देखा पर्दा, अभिभावकको सुझावले महत्वपुर्ण भूमिका खेल्नेछ । साताको अन्त्यमा दोषारोपण गर्नेहरूले समेत प्रशंसा गर्नेछन् । कन्या  प्रियजनसँगको आक्रोशित व्यवहारले आपसी दूरी बढाउनेछ । संयम एवं धैर्यता कायम राख्नुहोला । नजिकका नातेदारले आफ्ना भनाइ तथा व्यवहार नसच्याउँदा तिक्तता बढ्नेछ । व्यवहारिक कठिनाइहरूमा ठूला–बडाबाट सुझाव लिए फाइदै हुनेछ । तुला  निमन्त्रणमा ढिलो गरी उपस्थित हुँदा साथीभाइहरू चिढिन सक्छन्, समयको ख्याल गर्नुहोला । नयाँ काममा हात हाल्नुपूर्व प्रियजनको सुझाव लिने प्रयत्न गर्नु उपयुक्त हुन्छ । विशिष्ट व्यक्तिको सुझावले सकारात्मक परिणाम दिलाउनेछ । साताको अन्त्यमा स्वास्थ्यप्रति ध्यान दिनुपर्नेछ । वृश्चिक  आफन्तलाई वचन दिँदा विचार पुर्‍याउनुहोला । काममा अपेक्षित सफलता हासिल गर्न विशेष प्रयत्न गर्नुपर्नेछ । खर्च वृद्धि हुनसक्छ, धनको जोहो गर्न विशेष ध्यान पुर्‍याउनुहोला । सामाजिक क्षेत्रमा गरिएका कार्यले विपक्षीहरूको षड्यन्त्रलाई निस्तेज तुल्याउनेछ । भोजन तथा दैनिक जीवनचर्यामा अनुशासित रहनुहोला । धनु  कसैको साथ खोज्नु आफ्नो हितमा हुनेछैन । साथीभाइसँग बाहिरी गफगाफमा अल्भिँmदा व्यापार–व्यवसाय समेत चौपट हुन सक्छ । शनिदेवको विशेष आराधना गर्नुहोला । छोटो समयमै निकट हुन खोज्नेहरूसँग सावधानी अपनाउनुहोला । पहेलो रंग प्रयोग गर्दा कतिपय काम सहजै फत्ते हुनेछन् । दु्रत गतिमा सवारी साधन चलाउँदा विपत्ति आइलाग्न सक्छ । मकर  प्रलोभन देखाउनेहरूसँग सचेत रहनुहोला । रचनात्मक कार्य गर्न सके अरूको मन जित्न सकिनेछ । काम सम्पन्न गर्ने सिलसिलामा विवाद भए पनि मेहनत खेर जानेछैन । प्रतिफल हात पार्न प्रशस्त प्रयत्न गर्नुपर्ला । वैदेशिक रोजगारी प्राप्त गर्न अझै केही समय कुर्नुपर्नेछ । कुम्भ  परिवारका सदस्यहरूसँग आर्थिक लेनदेनलाई लिएर विवाद हुन सक्छ, कम बोल्नुमै आफ्नो कल्याण छ । विदेश भ्रमण सार्थक बनाउन थप खर्च गर्नुपर्ला । यात्राका क्रममा भेटिएका मित्रले अनुचित फाइदा उठाउने प्रयास गर्न सक्छन् । दु्रत गतिमा सवारी साधन चलाउँदा विपत् आइलाग्न सक्छ । मीन  अपरिचित व्यक्तिप्रति विश्वास गर्नाले आर्थिक नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ । अनुभव नभएको व्यवसायमा मुनाफा दिलाउन प्रेमिकाले खुलेरै सहयोग गर्नेछिन् । व्यवसायका क्रममा विभिन्न स्थानको भ्रमण गर्नुपर्ने हुन सक्छ । विकट क्षेत्रको यात्रामा विशेष सावधानी अपनाउनुहोला ।

बाटो निर्माणले ४ सय घर धुरिमा पानीको हाहाकार

बागलुङ, चैत्र १७ । बागलुङ जिल्लाको पश्चिमी बडिगाड गाउँपालिकामा खानेपानीको समस्या परेको छ । गाउँपालिका वडा न ६ र ७ का स्थानीय बासिन्दाले प्रयोग गर्दै आएको खानेपानीको आपुर्ति बन्द हुँदा स्थानीयहरुमा समस्या परेको छ । गाँव माझखर्क असारे हुँदै सैरेनी जोड्ने मोटर बाटो निर्माण गर्ने त्रममा खानेपानीको पाईप पुटेपछि स्थानीयहरुलाई समस्या परेको हो । मोटर बाटो निर्माण समितिका सचिव खगेन्द्र बुढाका अनुसार मोटर बाटो निर्माण कार्य त्रिब्र रुपमा भएकाले केही दिन अझ‌ै पानीको आपुर्ति बन्द हुने बताएका छन । पानीको आपुर्ति नहुदा बडिगाड गाउँपालिका वडा न ६ घ्वाङ ७ को डाडागाउ गैरागाऊ गावँ छाँपका ४ सय घर धुरीमा पानीको यति बेला चरम अभाव बढेको हो । गर्मी याम सुरु भएपछि पानीको मुहान पनि सुक्दै गएकाले कुवाको पानी पनि सुकेपछि थप स्थानीय मारमा परेका छन । स्थानीयहरुले प्रयोग गर्दै आएको पानी बन्द हुदा नुहाउन,कपडा धुन र पशुचौपाया पानी दिनमा समस्या परेको स्थानीयहरुको गुनासो छ। स्थानीय पानी मिस्तिरीका अनुसार भोली खानेपानीको पाईपको व्यवस्था गरि पुटेका ठाउँबाट पानी ल्याउने बताए ।

जीवित देवताको गोप्य भविष्यवाणी हुने जात्रा शुरु

नुवाकोट, चैत १७ । यहाँ ‘सिन्दूरे जात्रा’को रौनक छाएको छ । जीवित देवता तथा भैरवीदेवी मन्दिरका पुजारी (धामी) हरिमानसिंह डंगोल र उहाँकी जीवनसंगिनी (धमिनी) लाई पुज्ने र मुलुकमा आगामी वर्षमा के हुन्छ भनी गोप्य भविष्यवाणी गर्ने धार्मिक एवं सांस्कृतिक परम्परानुसार शुक्रबारदेखि जात्रा शुरु भएको हो । स्थानीयवासीको सहयोगमा नेपाली सेना श्रीनाथ गण देवीघाटले शुक्रबार राति बूढीदेवीको स्थल र भैरवीदेवी मन्दिर परिसरमा लिंगो उठाएको छ । ‘भैरवी वर्षबन्धन’ अन्तर्गत लिंगो उठाइएसँगै विदुर नगरपालिका–२ मा अवस्थित भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको टोली आज अपराह्न विदुर–५ देवीघाटस्थित जालपादेवी मन्दिरमा प्रस्थान गर्ने नुवाकोट दरबार मौला अमालका द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । “भैरवीदेवी मन्दिर र देवीघाटमा रहेको जालपादेवी मन्दिरलाई दिदीबहिनीबीचको सम्बन्धका रुपमा हरेक वर्ष यो अवसरमा भेट गराइन्छ”, शाहीले भन्नुभयो “जीवित देवताका रुपमा पुजिने धामीले आगामी वर्ष राष्ट्रमा के हुन्छ भन्ने गोप्य भविष्यवाणी गर्ने र त्यो राष्ट्रप्रमुखसमक्ष पठाइने भएकाले यसको राष्ट्रिय महत्व छ ।” फागुपूर्णिमादेखि शुरु भएर वैशाख शुक्ल दशमीसम्म विभिन्न धार्मिक परम्पराका साथ मनाइने सो जात्रा नुवाकोटको सबैभन्दा लामो मानिन्छ । यस वर्ष सिन्दूरे जात्राको मुख्य रौनक आज साँझ धामी हरिमानसिंह डंगोल र धमिनी ज्ञानुदेवी देवीघाटतर्फ प्रस्थान गरेपछि शुरु भई आइतबार धामी देवीघाटमा रहुञ्जेल र सोमबार नुवाकोटको देवीस्थानसम्म रहनेछ । सोमबार भैरवीदेवी मन्दिर परिसरस्थित महिषासूरमर्दिनी मन्दिर अगाडि सिन्दूर खेलिसकेपछि पनि विभिन्न पूजाविधि कायम रहँदै थप एक सातासम्म जात्राको विभिन्न चरण कायम रहने छ । यस वर्षको सिन्दूरे जात्रा यही चैत २७ गतेसम्म चल्ने छ ।

बाइसधारा मेलामा घुइँचो

काठमाडौं, चैत १७ । बालाजुस्थित प्राचीन धार्मिक तीर्थस्थल बाइसधारामा आज ‘बाइसधारा मेला’ लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यहाँ बाइसधारा मेला लाग्छ । काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा आजको दिन स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ । जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्धले आई बसेको मानिन्छ । हाल शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने दुई हजार १२८ मिटर अग्लो जामाचो हाल लामो पदयात्राका लागि प्रख्यात छ जहाँ अनेक खालका वनस्पति पाइन्छ । हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको आस्था केन्द्रका रूपमा रहेको बालाजु क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले पनि उदाहरणीय छ । उक्त स्थानमा आज नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधी हटेर सुख प्राप्त हुने, पारिवारिक समृद्धि कायम हुने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । नेपाल संवत् ८७५९विसं १८१२तिर० मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ ढुंगेधारा स्थापना गराएकामा पछि विसं १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुंगेधारा स्थापना गरेपछि सो स्थान बाइसधाराको नामले चिनिन गएको हो । ‘स्वयम्भू पुराण’मा उल्लेख भएअनुसार कुनै समयमा चीनबाट महामञ्जुश्री बोधिसत्व केशिनी र उपकेशिनी देवीसहित पञ्चशील पर्वत पार गरेर नेपाल आएका थिए । त्यतिबेला उनले नगरकोटमा बसी उपत्यकाको पानी कसरी निकास गरी पठाउने भनेर सोचेका थिए । पछि यहाँको पानी सुकेपछि विपस्सी बुद्धले कमलका फूल रोपेर ‘ॐ नमोरत्नत्रयाय’ भनी मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरूपको उत्पत्ति हुन गएको सांसद वसन्त मानन्धर बताउनुहुन्छ ।

लहानमा टिपरको ठक्करबाट मृत्यु

लहान, १७ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गए राति उपचारको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको स १ क १७९ नंको टिपरले स ६ प २८९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३० वर्षीय सञ्जय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते यादवको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । सोही दुर्घटनामा परी गम्भीर घाइते अमितको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

खड्काको निधनप्रति देउबाले गरे शोक प्रकट

काठमाडौँ, चैत १६। शुक्रवार साँझ नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका कांग्रेस नेताको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउबाले शोक प्रकट गरेका छन्। फेसबुक मार्फत  शोक सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘उहाँको निधनले मुलुकले एउटा जिम्मेवार र अनुभवी नेता गुमाएको छ।’ २०४८ सालपछि गृह, जलस्रोतलगायतका शक्तिशाली मन्त्रालयको नेतृत्व गरेका खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै ६ वर्षअघि डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ बिगो र त्यति नै जरिवाना गरेको थियो। कैद भुक्तान गरेर निस्किएका खड्का त्यसपछि पुन: कांग्रेसको राजनीतिमा फर्किएका थिए। १३ औं महाधिवेशनमा खड्का लोकप्रिय मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थिए। फागुन ४ गते राति हृदयाघात भएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका खड्कालाई फागुन ६ गते उपचारका लागि एपोलो लगिएको थियो। सुरुमा अवस्था सामान्य रहे पनि विस्तारै छाती र टाउकोमा समस्या देखिएको थियो भने मृगौलाले काम गर्न छाडेको थियो। खड्काको ३० महिनाअघि एपोलोमै मृगौला प्रत्यारोपण गरिएका खड्काको स्वास्थ्य जटिल भएपछि कांग्रेसले रमेश लेखक, शंकर भण्डारीलगायतका नेतालाई स्वास्थ्य अवस्था बुझ्न दिल्ली पठाएको थियो। बिहीबारमात्रै स्वदेश फर्किएका ती नेताले कांग्रेस केन्द्रीय समितिको शुक्रबारको बैठकमा स्वास्थ्य अवस्थाबारे रिपोर्टिङ गरेका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले खड्काको पार्थिव शरीर नेपाल ल्याउनेबारे पार्टीले परिवारजनसँग सल्लाह गरिरहेको बताए। शर्माले कांग्रेसले एउटा टोली शनिबार नै दिल्ली पठाउने बताएका छन्।   खड्काको स्वास्थ्य जटिल बनेको जानकारी पाएपछि गृहजिल्ला दाङमा शुभेच्छुक कार्यकर्ताहरूले मन्दिरमा पूजाआजासमेत गर्दै आएका थिए ।  

नेपाल सरकारले भारतलाई दियो पुल बनाउन अनुमति

दार्चुला । नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमा नदीका रुपमा रहेको महाकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई एक महिनापछि अनुमति दिएको छ । भारतीय पक्षले माग गरेको ठाउँमा तीन वटा पुल लगाउन आज नेपाल सरकार गृह मन्त्रालयबाट अनुमति प्राप्त भएको प्रजिअ जनार्दन गौतमले जानकारी दिनुभयो । भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्रमा पर्ने ब्यास गाउँपालिका–२ को नजांग, लखनपुर र छाङकङरे खोलामा अस्थायी काठेपुल लगाउन नेपाल सरकारसँग अनुमति माग गरेको थियो । कैलाश मानसरोवर जाने तीर्थयात्री तथा सौका समुदायको हुने बसाइँसराइलाई मध्यनजर गर्दै केही समयका लागि मात्रै अनुमति दिएको प्रजिअ गौतमले जानकारी दिनुभयो । यसअघि भारतीय पक्षले नेपालको सहमति बिना नै ब्यास गाउँपालिका–२ को ताम्पाक, नजांग, घाटीबोगड, मल्लो घाटीबोगड र वडा नं १ को छाङकाङरे र बुदी खेलामा अस्थायी काठेपुल लगाएर भारत पट्टि निर्माण भइरहेको सडकमा काम गर्ने मजदुरलाई आवतजावत गराइरहेको थियो भने नेपाली भूमिमा डेढ किमी कच्ची सडक र झण्डै दुई किमी बाटोसमेत निर्माण गरेको थियो । रासस

नेपालमा पहिलो पटक भेन्डिङ उपकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र प्लाष्टिकजन्य वस्तु प्रयोग गर्दै हुनुहुन्छ ? भेन्डिङ उपकरणमा फोहर राख्नुस् पैसा लिनुस् । प्लाष्टिकजन्य वस्तु प्रयोग गरेपछि निस्कने फोहर वस्तुलाई थप व्यवस्थापन र पुनः प्रयोग गर्नका लागि भेन्डिङ उपकरणको उपयोगसंगै नयाँ अवधारणाका साथ कामपा अघि बढ्न लागेको हो । पछिल्लो समय प्लाष्टिकजन्य फोहरबाट शहर प्रदूषित भएकाले आगामी दिनदेखि त्यसलाई नियन्त्रण गर्न निश्चित स्थानमा फोहर संकलन गर्ने भाँडो राखी शहरलाई व्यवस्थित गर्न लागिएको कामपाका निजी साझेदारी एकाइ प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भेन्डिङ उपकरण त्यो हो जुन निश्चित स्थानमा राखिन्छ र त्यसमा नागरिकले प्लाष्टिकजन्य फोहर राखेर आफ्नो परिचय खुलाएपछि सामग्रीको अनुपातका आधारमा सोही व्यक्तिको मोबाइलमा ब्यालेन्स प्लस हुन्छ ।” उक्त उपकरणलाई एटिएम प्रयोग गरे जसरी प्रयोग गर्न सकिन्छ । उक्त उपकरणको प्रयोगबाट शहर सफा हुनाका साथै सर्वसाधारणले फोहर निश्चित स्थानमा राखेबापत केही रकम पाउनेछन् । त्यसरी जम्मा गरिएको फोहरलाई पुनः प्रयोग गरिनेछ । भेन्डिङ उपकरण पुनः प्रयोग गर्न सकिने प्लाष्टिकजन्य फोहर संकलन गर्ने भाँडो हो जस्मा पानी, कोक, चिजबल, चाउचाउको प्याकेटलाई राख्न सकिन्छ जुन प्लाष्टिक पुनः प्रयोग गर्न सकिन्छ । यस किसिमको अभ्यास अन्तर्राष्ट्रियस्तरमा लामो समयदेखि प्रयोगमा आइसकेको भए पनि नेपालमा भने पहिलो हो । शुरुवात्को समय भएकाले हाल अन्तर्राष्ट्रिय विमानस्थल, न्यूरोड, दरबारमार्गलगायत मानिसको बढी आवतजावत हुने सात स्थानमा यस्ता उपकरण राखिने योजना कामपाको छ । रासस

३२ जिल्लाका १७७ वनमा आगलागी

काठमाडौँ । गर्मीयाम शुरु भएसँग मुलुकका ३२ जिल्लाको १७७ वनमा आगलागी भएको छ । वन विभागका अनुसार अर्घाखाँची, बारा, भोजपुर, चितवन, दाङ, धादिङ, धनकुटा, धनुषा, डोटी, दोलखा, डडेलधुरा, गोरखा, जुम्ला, काभ्रे, कपिलबस्तु, महोत्तरी, नवलपरासी, ओखलढुंगा, पाँचथर, पर्सा, रौतहट, रसुवा, सिन्धुली, सोलुखुम्बु, सुनसरी, सप्तरी, सर्लाही, सिरहा, सुर्खेत, तनहुँ, तेह्रथुम र उदयपुरका वनमा आगलागी भएका हुन् । विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारीले हिउँद यामसँगै हावाहुरी र गर्मीले धेरै वनमा आगलागी हुने गरेको जानकारी दिनुभयो । “देशभर कति हेक्टरमा आगलागी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ,”, उहाँले भन्नुभयो । गत आर्थिक वर्षमा विभिन्न जिल्लाका तीन लाख ५० हजार हेक्टरमा आगलागी भएको थियो । रासस

आगलागीमा तीन लाख क्षति

लहान । सिरहाको बरियारपट्टि गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा करीब रु तीन लाख बराबरको क्षति भएको छ । बरियारपट्टि–१ निवासी योगेन्द्र यादवका घरबाट सल्केको आगो फैलिएर उहाँका दुई घर, घरमा रहेको रु २५ हजार, फर्निचर, खाद्यान्नलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आधा घण्टाभित्र आगो नियन्त्रणमा लिइएकाले थप दुर्घटना हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् । रासस

दिउँसो १ बजे राष्ट्रियसभामा बैठक बस्दै

काठमाडौं । मंगलबार दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग सम्वन्धी अध्यादेश पेश हुने कार्यसूची रहेको संसद सचिवालयका सह–प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । दुवै आयोगको गत फागुनमा समयावधी सकिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश मार्फत एक वर्षको म्याद थप गरेको थियो । यसैबीच, प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति बैठक पनि मंगलबार बस्दै छ । बैठकले प्रतिनिधि सभा मातहत रहने समितिको नाम, संख्या लगायतबारे छलफल गर्नेछ । यी बिषयमा राजनीतिक दलको समेत सहमति आवश्यक रहेकाले सबै पक्षसँग घनिभूत छलफल आवश्यक रहेको समितिले जनाएको छ ।