चीन-नेपाल द्विपक्षीय आर्थिक सम्बन्ध हिमालय जस्तै अटल :  मन्त्री भण्डारी

काठमाडौँ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा आजदेखि सुरु १७औँ नेपाल चीन (तिब्बत)आर्थिक तथा व्यापार मेलाको उद्घाटन समारोहमा उनले भने, “चीनको स्वशासित क्षेत्र तिब्बतबीचको सांस्कृतिक सम्बन्धलाई हिमालयको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रा व्यवसायीका कारण द्विपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमालय जस्तै अटल बनाएको छ ।”

नेपाल र चीन इतिहासको लामो कालखण्डदेखि नै नजिकको व्यावसायिक सहयात्री रहेको उल्लेख गदै मन्त्री भण्डारीले उच्च हिमालय र कठीन भौगोलिक अवस्थिति नेपाल–चीन व्यापारमा कहिले पनि बाधाका रुपमा नरहेको बताए । उनले भने, “हाम्रा पुर्खाहरुले यी बाधाहरुलाई हिमालय वारपार द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने अवसरका रुपमा लिए त्यस कठीन समयमा जतिबेला यातायातका आधुनिक साधन उपलब्ध थिएनन् ।” 

नेपाल र चीन सदैव सुख दुःखमा साथ दिने अनन्य मित्रका रुपमा रहेका चर्चा गर्दै मन्त्री भण्डारीले चीनको स्थायित्व, एकता र समृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको उल्लेख गर्नुभयो । नेपाल सदैव एक चीन नीतिको समर्थक रहँदै आएको उल्लेख गर्दै उनले भने, “चीनको एकता र अखण्डतालाई मन, वचन र कर्मले प्रतिबद्ध रहेको यस अवसरमा उल्लेख गर्न चाहन्छु ।”

रेलवे सञ्जालबाट चीनको मूख्यभूमि चीन र तिब्बत जोडिएको उल्लेख गर्दैै मन्त्री भण्डारीले त्यहाँ बढिरहेको आर्थिक गतिविधि र प्रगतिबाट रेलवे नेटर्वकले भविष्यमा हिमालयलाई पार गर्ने विश्वास व्यक्त गरे। 

उनले चीनसँग नेपालको व्यापारघाटा बढ्दै गइरहेको सन्र्दभमा त्यहाँको बजारलाई हेरी चिनियाँ लगानी औद्योगिक उत्पादनको विकास र विस्तार गर्न सकिने तथा यसबाट द्विपक्षीय व्यापारमा अभिवृद्धि हुँदै नेपालको निर्यात मुख्य भूमि चीन र तिब्बतमा बढ्न सक्नेमा आशा व्यक्त गरे। 

व्यापार मेला दुई देशबीच व्यापार प्रवद्र्धन गर्ने महत्वपूर्ण औजारका रुपमा रहने उल्लेख गर्दै उनले भने, “म आशा गर्दछु कि यसप्रकारका व्यापार मेलाले पनि हामी दुई छिमेकी देशबीच व्यापार वृद्धि गर्न सहयोगी हुनेछ र व्यापारी समुदायलाई नयाँ क्रेता, नयाँ बजार र नयाँ व्यापार गन्तव्य पहिल्याउन फाइदायोग्य हुनेछ ।”  

कार्यक्रममा तिब्बत सरकारका उपप्रमुख लान फुकुआनले नेपाल र तिब्बतबीचको व्यापारिक सम्बन्धमा जोड दिए। उनले दुई देशका व्यावसायीबीचमा असल व्यापारिक सम्बन्ध बनाएर आयात तथा निर्यातमा सहकार्य गर्नुपर्ने बताए।

वाणिज्य मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले निर्यात व्यवस्थित गर्नसके दुई देशबीचको व्यापार सम्बन्धले गति लिने विश्वास व्यक्त गरे । उनले चीनसँगको नेपालको व्यापार घाटा कम गर्न चिनियाँ लगानीकर्तालाई निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योग यहाँ स्थापना गर्न आग्रह गरे।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले यसअघि नेपाल र चीन (तिब्बत) बीचको १९९० को समझदारी पत्र बमोजिम नेपाल र चीन (तिब्बत)बीच आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने उद्देश्यले नेपाल तिब्बत आर्थिक तथा व्यापार मेलाको आलोपालो रुपमा मेला लगाइँदै आएको बताए।

उनले शून्य भन्सार दरको सहुलियत व्यवस्थाबाट नेपाली निर्यातकर्ताले यस मेलाको अवसर पारेर चीनमा आफ्ना वस्तु निर्यात गर्ने महत्वपूर्ण अवसरका रुपमा यस मेलालाई उपयोग गर्ने र आफ्नो व्यापार प्रवद्र्धन गर्न तिब्बतमा रहेका व्यापारिक समुदायसँग फलदायी कारोबार गर्ने विश्वास व्यक्त गरे।  


आजदेखि सुरु भएको मेला यही वैशाख २२ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ५० चिनियाँ र १५ नेपाली व्यापारिक कक्ष राखिएका छन् । नेपाली कक्षहरुमा नेपालबाट चीन निर्यात हुने करिब ४० प्रकारका निर्यातयोग्य वस्तु राखिएका छन् । 

गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर रिटमा आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइका लागी पेशी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज भट्टलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका हुन् । सोमबार मुख्यमन्त्री खगराज अधिकारी तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्दै छन् । अधिकारीका तर्फबाट बहस सकिएपछि रिट निवेदकको तर्फबाट जवाफी बहस हुने वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जानकारी दिए ।

आगलागी घटनाप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले दाङको राजपुर गाउँपालिका ७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेकी छिन्। हाडबासमा आइतबार आगलागी हुँदा २४ घर र १० वटा गोठ जलेका थिए । घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री शर्माले यो पीडाको क्षणमा घरबारविहीन पीडित परिवारको राहत र पुनर्स्थापनाका लागि जुट्न सबैलाई आह्वान समेत गरिन् । गर्मीयाम सुरु भएसँगै आगलागी र डढेलोका घटनाहरु बढिरहेको, दिनहुँ जनधनको क्षति भइरहेको छ र नागरिकका घर, पशुपंक्षी लगायतका निजी सम्पत्ति, अन्नबालीसहित वन जङ्गल र जैविक विविधतामा क्षति पुगिरहेको उल्लेख गर्दै उहाँले एक प्रेस नोटमार्फत सबै पक्षलाई गम्भीर हुन पनि आग्रह गरिन् । नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाटै आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिइसकेको जानकारी गराउँदै मन्त्री शर्माले क्षति न्यूनीकरणमा सुरक्षाकर्मीसहित तिनै तहका सरकारले गम्भीतापूर्वक काम गरिरहेको बताइन् । आगलागी र डढेलो मानवीय कमजोरीबाट सिर्जित विपत् भएकाले यसबाट बच्न उच्च सतर्कता र सावधानीको विकल्प नभएको स्पष्ट गर्दै उनले आगलागी तथा डढेलोको जोखिम कायमै रहेकाले उच्च सतर्कता र सावधानी अपनाउँदै क्षति न्यूनीकरणमा जुट्न सबैमा अनुरोध गरिन्। आगलागी र डढेलोबाट थप क्षति हुन नदिन सचेतनामूलक अभियान सञ्चालनका लागि पनि उहाँले आम सञ्चारका माध्यमसहित सबैलाई आग्रह गरिन् ।

‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ स्विम वेयर को विजयी धोषणा फाइनल बुधबार

काठमाडौं । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को स्विम वेयर राउन्डको नतिजा घोषणा गरिएको छ । मंगलबार पर्वतको कुश्मास्थित हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा यी ट्यालेन्ट राउण्ड दुई सबटाइटल राउन्ड सम्पन्न गरिएको थियो। हार्नेस परिसरमा सुरुमा स्विम वेयर राउन्ड आयोजना गरिएको थियो। जहाँ अन्तिम २९ प्रतिस्पर्धीले क्याटवक गरे। उत्कृष्ट सात जना घोषणा गरिएको नतिजामा महिला तर्फ अदिती श्रेष्ठ, आयुश्नोभा ढुंगाना, मोनिका अधिकारी, सजिना खनाल, सस्कृति भट्ट, समिका शेरचर र श्रद्घा अधिकारी रहेकाछन् भने पुरुष तर्फ अर्विन गुरुग, मनिष श्रेष्ठ, मिलन भट्टराई, धिरोज काजी बस्नेत र क्षितिज श्रेष्ठ रहेकाछन् । नेशनल डाइरेक्टर सन्तोष उपाध्याय मिस सुप्रानेशनल २०२३ समा पराजुली मिस ग्लोब २०२३ रोशनी चन्द मिस्टर इन्टरनेशल २०२२ मानस राई, स्टाइलिस स्मित तामाङ सहित उज्वल के जोशी यस राउन्डको निर्णायक थिए। सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले पहिलोपटक उपत्यकाबाहिर कुश्मामा कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए।  हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टसहित स्थानीय सरकारवालाको सहयोगले सब टाइटल राउन्ड सफलतापुर्वक सकिएको भन्दै आभार व्यक्त गरे। कार्यक्रममा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीलगायतका स्थानीय वरिष्ठ व्यक्तिहरुको उपस्थिति थियो। त्यसैगरि सोही दिन, तीनघण्टासम्म चलेको ट्यालेन्ट राउन्डको नतिजाको घोषणा भने सोहीदिन गरिएको थियो यद्यपि, ट्यालेन्ट राउन्डबाट महिलातर्फ शीर्ष ५ र पुरुषतर्फ शीर्ष ३ प्रतियोगीहरुको नाम घोषणा गरिएको थियो। महिलातर्फ प्रिया उपाध्याय, श्रृयंका थापा, अदिती श्रेष्ठ, प्रियशा देवकोटा र रजिता पराजुली टप ५ पाँचभित्र परे। पुरुषतर्फ भने सन्देश सिटौला, विप्लवराज नागनहर र मनिश श्रेष्ठ उत्कृष्ट तीनभित्र छनोट भए।   यस राउन्डको जजको रूपमा राज शाह, राजु केसी, शिशिर वाग्ले, समा पराजुली, दिक्पल कार्की र अभिषेक मोहन्टी रहेका थिए। सबटाइटल राउन्डको विजेता भने फिनालेमा घोषणा गरिने आयोजकले जनाएको छ। यसपछि आउँदो सोमबार टप मोडल राउन्ड र एलिगेन्स राउन्ड ललितपुरको गोदावरी भिलेज रिर्सोटमा  गरिनेछ। प्रतियोगिताको फिनाले भने वैशाख १९ बुधबारका दिनमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ।  फिनाले राष्ट्रिय टेलिभिजन इमेज च्यानलबाट प्रसारण हुनेछ। फिनालेमा विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्परका साथै मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने छ।

नारायणी नदी तटबन्धको मेयर दाहालद्वारा अनुगमन

चितवन । नारायणी तटबन्धनको कार्य प्रगतिबारे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहितको टोलीले निरीक्षण गरेको छ ।तटबन्धको पहिलो चरणको २० किलोमिटर मध्ये ८ किलोमिटरको काम सम्पन्न भइसकेको छ । यो कुल कामको ४० दशमलव ९९ प्रतिशत हो । वर्षातको समय नजिक आएसँगै प्रमुख दाहालले तटबन्धनको निरीक्षणमा सक्रियता देखाइन् ।आयोजनाका अनुसार अहिले ५ वटा प्याकेजको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम तीब्र रुपमा अघि बढेको छ । निरीक्षणका क्रममा प्रमुख दाहालले तटबन्धनको कार्य प्रगतिकोबारे  जानकारी लिनु भएको थियो । तटबन्धनका लागि अहिले केही  स्थानमा बिग बोल्डर (ठुलो चट्टान) झार्ने कार्य भइरहेको छ । यस्तै गोलाघाट क्षेत्रमा ड्याम बनाउने काम तीब्र रुपमा अघि बढेको छ। निरीक्षण पश्चात संचारकर्मीसँग कुराकानी गर्दै प्रमुख दाहालले समग्रमा कामको प्रगति सन्तोषजनक रहेको बताइन् ।अहिले अधिकांश विकास निर्माणको काममा ढिला सुस्ती भइरहे पनि तटबन्धनको काम सन्तोषजनक रहेको उनको भनाइ थियो ।   पहिलो चरणमा अति जोखिम रहेको २० किमीमा तटबन्धनको काम भइरहेकाले यसपछि प्राथमिकताका आधारमा तटबन्धको काम अगाडि बढ्ने उनले जानकारी दिइन्। तटिय क्षेत्रमा बसोबास गर्ने  जनतालाई धेरै नै जोखिम भएकाले नारायणी नदी व्यवस्थापन आयोजनाको सहकार्यमा डिपिआर निर्माण गरेको उल्लेख गरिन्। तटबन्धनको कार्यले जनताका जग्गाहरु सुरक्षित हुँदै गएको छ भने नदी उकासबाट निस्किएका जग्गालाई महानगरले संरक्षण गर्ने प्रमुख दाहालले बताइन्। तटबन्धको कार्यले निरन्ता दिदै गएपछि भरतपुरका लागि ठुलो उपलब्धी हुने उनको भनाइ थियो । नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहर साहका अनुसार चितवनतर्फ ४० दशमलव ९९ र नवलपरासी तर्फ १९ दशमलव ०३ प्रतिशत काम सम्पन्न भइसकेको छ । तटबन्ध निर्माणमा आवश्यक पर्ने जग्गा प्राप्तीको लागि मुआब्जाको प्रावधान नरहेको कारण निशुल्क जग्गा प्राप्तीमा बाधा हुने गरेको प्रमुख साहले बताए। गुरुयोजना अनुसार बजेट विनियोजन नहुदाँ लक्ष्य समय सीमाभित्र आयोजना सम्पन्न गर्न नकिनेको उल्लेख गरे।तटबन्धको रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म झण्डै ५ किलोमिटर १ अर्ब १५ करोडको ठेक्का सम्झौता भएको हो । यसको काम ४० प्रतिशत काम पुरा भएको निर्माण कम्पनीले जनाएको छ । ।दोस्रो प्याकेज ५ किलोमिटरकै गाजीपुरदेखि हिरापुरसम्म ४८ करोडको ठेक्का सम्झौता भएको छ । यो काम अहिले अन्तिम चरणमा पुगेको छ । सिसैदेखि बलुवासम्म झण्डै ५ किलोमिटर ३७ करोडको ठेक्का सम्झौता भएको छ । यो काम पनि ४० प्रतिशत भइसकेको छ । बलुवादेखि गोलाघाटसम्म २६ करोडमा ठेक्का सम्झौता भएको छ । करिब ४ हजार हेक्टर जग्गा नारायणी नदी उकासबाट आउने छ भने करिब १ लाख जनता लाभान्वित हुनेछन् ।  

इलाममा थपियो मतगणना स्थल, अब तीन स्थानमाबाट गनिने

इलाम । मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ। मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न तीन स्थानमा मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि दुई स्थानमा गणना भइरहेको थियो । अहिलेसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ। अहिले माङसेबुङको गणना जारी छ। अझै तीन पालिकाको मतगणना गर्न बाँकी छ। तीन स्थानमा मतगणना गर्दा थप सहज हुने भएकाले गणना स्थल थप्न लागिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। गत शनिबार सम्पन्न उपनिर्वाचनको आइतबार दिउँसो १ बजेबाट मतगणना सुरु गरिएको हो ।

नेपाललाई वेस्टइन्डिज ए ले दियो १६१ रनको लक्ष्य

काठमाडौं । वेस्टइन्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रनमा नट आउट रहे । म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे । तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चाल्र्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए । त्यसपछि कुनै पनि समय वेस्टइन्डिजले आक्रामक क्रिकेट खेल्न सकेन । वेस्टइन्डिजको कमजोरीको फाइदा उठाउँदै नेपालले लगातार स्पिनर लगाएको थियो । रोश्टन चेश, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो ।

बझाङमा मतगणना सुरु

धनगढी । बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो । शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो ।

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी (रासस)। जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।            लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु१च ४३२० नम्बरको जिप गए राति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिए । दुर्घटनामा सत्यवति–५ का ३१ वर्षीय कृष्ण थापा, वडा नं ४ का ३५ वर्षीय यसबहादुर बुढाथोकी, ४० वर्षीय खेमु श्रीस, ६० वर्षीय दुर्गाबहादुर राना, ३१ वर्षीय भूपेन्द्रदेव खप्तरी थापा, ५३ वर्षीय पदमबहादुर बुढाथोकी, ३१ वर्षीय भरत बुढाथोकी, २६ वर्षीय मिलन राना, २६ वर्षीय ठगबहादुर बुढाथोकी, ३४ वर्षीय घनश्याम बुढाथोकी, ५६ वर्षीय चीनबहादुर राना र चालक २९ वर्षीय शङ्कर विक घाइते भएको प्रहरी नायब उपरीक्षक पोख्रलले बताए । घाइते चार जनाको पाल्पा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।     

बागलुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरातर्फ आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५, हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गस्थित सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्री घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ यात्री सवार रहेका प्रहरीले जनाएको छ । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका निम्ति लगिएको र  दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले बताए । “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्‍याइएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ । थप विवरण आउन बाँकी छ,” शर्माले भने । तनहुँबाट रिजर्भका निम्ति बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्कने क्रममा साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो । रासस

पोर्चुगलको समुद्रमा बेपत्ता भएका नेपाली युवकको शव फेला

लिस्बन (पोर्चुगल) । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव फेला परेको छ। धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीले बताएको मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष  प्रबल भट्टराईले जानकारी दिए । शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो । अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए । उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो । परिवारको आग्रहमा दुवैजनाको शव नेपाल पठाउन लागिएको र यसका लागि कागजीलगायत आवश्यक प्रक्रियाको तयारी भइरहेको गैरआवासीय नेपाली संघ पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन उपसमितिकी संयोजक दीपा काफ्लेले जानकारी दिइन् ।   वैदेशिक रोजगारीको सिलसिलामा चार महिनाअघि क्रोसिया आएका टेकबहादुर एक महिनाअघि मात्रै पोर्चुगल आएका थिए । धनबहादुर फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए ।  नाताले काकाभतिज पर्ने दुवैजना लिस्बन नजिकैको मोन्तिजोमा सँगै बस्दै आएका थिए । अहिले यी दुवैको शव लिस्बनस्थित साओ जोसे अस्पतलामा राखिएको छ । रासस 

पोखरामा एशिया कप ट्रायथलन : इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

पोखरा । पोखरामा आजदेखी सुरु भएको एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जितेका छन्। यसैगरी, महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर च्याम्पियन बने। ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड भएको थियो । पुरुषतर्फ च्याम्पियन इसमाइलले निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गरे। अष्ट्रेलियाका ब्रुक्किन हेनरीले ५७ मिनेट १० सेकेण्डमा पूरा गरी द्वितीय र जापानका मिट्सुहो मोचीजुकील ५७ मिनेट २५ सेकेण्डमा पूरा गरी तृतीय भए। महिलातर्फ च्याम्पियन इड्डाले निर्धारित दूरी पार गर्न एक घण्टा छ मिनेट समय लगाए। यसैगरी उपविजेता गुआमका मानामी लिजिमाले एक घण्टा ४२ सेकेण्डमा र तृतीय हुन सफल उज्वेकिस्तानका एलिना खाकीमोवाले एक घण्टा चार मिनेटमा पार गरे । दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा पुरुष तथा महिला दुबैतर्फ भारतीय खेलाडीले बर्चस्व राखेका हुन् । पुरुषतर्फ भारतका मुरलीधर नैरले  एक घण्टा दुई मिनेट तीन सेकेण्डमा तोकिएको दूरी पार गरी उपाधि जिते। यसैगरी, कौसिक विनयले एक घण्टा तीन मिनेट २६ सेकेण्ड लगाउँदै उपविजेता बन्नुभयो । नेपालका विपन खत्कत्वाले एक घण्टा पाँच मिनेट २५ सेकेण्ड समय लगाउदै तृतीय हुन सफल भए। महिलातर्फ भारतका मान्सी मोहितिले निर्धारित दूरी एक घण्टा सात मिनेट ५१ सेकेण्डमा पूरा गरी विजेता बने । नेपालका श्रेवी महर्जनले एक घन्टा ११ मिनेट ४५ सेकेण्डको पूरा गर उपविजेता बन्दा नेपालकै शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल भए। यसैगरी राष्ट्रिय च्याम्पियनसिपमा विपन खत्कत्वाले एक घन्टा पाँच मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गरी च्याम्पियन बने। प्रविन थारुले एक घन्टा छ मिनेट २० सेकेण्डमा पार गरी द्धितीय र मुकेश थारुले एक घण्टा १५ मिनेट ११ सेकेण्डको समय लगाउँदै तृतीय हुन सफल भए। महिलातर्फ एक घन्टा ११ मिनेट ४५ सेकेण्डको समयमा दूरी पार गर्दै श्रेवि महर्जन च्याम्पियन बने। शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पार गरी द्धितीय र ज्ञानु कुमारी चौधरीले एक घण्टा २१ मिनेट ५७ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल भए। यसैगरी जुनियर साउथ एसिया च्याम्पियनसिपमा पुरुषतर्फ भारतका साइ केडी च्याम्पियन बने। भारतकै कृषिभ पटेल द्धितीय र नेपालका यजु महर्जन तृतीय भए।  महिला जुनियरतर्फ नेपालका श्रेवी महर्जन विजेता बन्दा भारतका दुर्विशा पवार द्धितीय र प्रेरणा श्रवण कुमार तृतीय भए। नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा सञ्चालन भएको च्याम्पियनसिपमा विभिन्न १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासडो, महासचिव एन्टोनियो आरामानी, नेपाल ट्रायथलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक कोइराला, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, ट्रायथलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा, महासचिव युवराज सुनुवार, केन्द्रीय सदस्य अनिता रानाभाट स्थानीय व्यवस्थापन समितिका संयोजक डिल्लीराज सुवेदी (शिशिर)लगायतले पुरस्कार तथा मेडल वितरण गरे। प्रतियोगिता अन्तर्गत आइतबार दुआथलन च्याम्पियनसिप हुने आयोजकले जनाएको छ । 

आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पाँचबुँदे पार्टी एकतापत्रमा हस्ताक्षर भएको छ । दुवै पार्टीबीच भएको एकताको आधारपत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको बुझाइ, जनजीविकाका सवाल तथा शोषित, दमित र उत्पीडित वर्ग एवं समुदायका हकहितको विषयमा सँगसँगै जान सकिने धरातल स्पष्ट रहेको उल्लेख छ । नेपालको अग्रगामी आन्दोलनमा गुणात्मक विकासको अपरिहार्यता जस्ता महत्त्वपूर्ण क्षेत्रमा आधारभूत बुझाइ एवम् दृष्टिकोणमा एकरूपता विद्यमान रहेको निचोडमा पुगेको एकता आधारपत्रमा उल्लेख छ । विद्यमान दलीय शासन प्रणाली, दलभित्र ठूला दलको भूमिका र वर्तमान बुझाइमा पनि दुई दलको एउटै दृष्टिकोण रहेको जनाउँदै जनताको शासन कायम गर्न देशभक्त, प्रगतिशील अग्रगामी शक्ति एकजुट भई अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेको सहमतिपत्रमा उल्लेख छ । सहमतिपत्रमा पार्टी एकतापश्चात् प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने उल्लेख छ । अग्रगामी सोच–विचारका लोकप्रिय व्यक्ति, समूह, संगठन र शक्तिबीच योजनाबद्ध वार्ता, संवाद र सहकार्यमार्फत निकट भविष्यमा थप बृहत् ध्रुवीकरण एवं एकतालाई नयाँ उचाइमा पुर्‍याउन संकल्पित रहने पनि सहमतिपत्रमार्फत जानकारी दिइएको छ । रासस

लगानी सम्मेलनलक्षित अध्यादेशको विरोधमा कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन संशोधनप्रति विरोध जनाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै अध्यादेशप्रति ‘घोर निन्दा र भर्त्सना’ गरेका हुन्‌ । सरकारले भोलि र पर्सी (वैशाख १६ र १७ गते) गर्न लागेको तेस्रो लगानी सम्मेलनअघि अध्यादेशमार्फत विभिन्न ९ वटा कानून संशोधन गरेको थियो । सरकारको सोही कदमलाई लिएर कांग्रेस सचेतक लेखकले विज्ञप्तिमार्फत विरोध जनाएका हुन्‌ । ‘संघीय संसदको गत अधिवेशनमा कानून निर्माण गर्ने पर्याप्त समय र अवसर हुँदाहुँदै सरकारले सहकारी पिडित लगायत देशमा विद्यमान तमाम समस्याहरु समाधान गर्नुको साटो अप्रत्यासित र असमयमा संघीय संसदको अधिवेशन अन्त्य गर्‍यो,’ लेखकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लेखकद्वारा जारी विज्ञप्ति

लगानीमैत्री वातावरण बनाउन कानुनमा सुधार आवश्यक : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं। पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन संशोधन र नयाँ कानुन आवश्यक रहेको बताएका छन्। आइतबारदेखि यहाँ सुरु हुन लागेको दुई दिने लगानी सम्मेलनको पूर्वसन्ध्यामा कुरा गर्दै उनले भने, ‘सबै कानुन बनाउन सकिएको छैन, आवश्यक बाँकी कानुन बनाउनुपर्छ। ठूला आयोजना सञ्चालनमा लागि लगानी बोर्डको क्षमता बढाउनुपर्ने छ। एकद्वार प्रणालीलाई साँच्चै व्यवहारमा लागू गर्नुपर्छ।’ सम्मेलनका लागि सरकारको झन्डै एक दर्जन कानुन अध्यादेशमार्फत संशोधन गरेको काम सकारात्मक भएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा खतिवडाले अरू धेरै कानुन खासगरी ऐन र केही नियम संशोधन गर्दै जानुपर्ने सुझाव दिए। ‘कतिपय ऐन नै नयाँ ड्राफ्ट गर्नुपर्ने भएको छ। संसद्मा गएका ऐनहरू पास गर्नुपर्नेछ। सार्वजनिक निजी साझेदारीमा वैदेशिक लगानी ल्याउने हो भने सार्वजनिक खरिद ऐन लागू हुन्छ त्यहाँ त्यसै गरी निजी सार्वजनिक साझेदारीका ऐनका कतिपय प्रावधान मिलाउनुपर्ने होला,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका डा खतिवडाले भने। विदेशी लगानीको बौद्धिक सम्पत्तिलाई सुरक्षित गर्नुपर्ने कानुन ल्याउनुपर्ने सुझाव दिँदै उनले भने, ‘विदेशी विनिमय ऐन अलि कठोर छ, अहिले त्यसलाई अलि खुकुलो पार्नुपर्ने होला। कम्पनी ऐनमा कतिपय कुरा थप्नुपर्नेछ। विद्युत् ऐनमा परिमार्जनको खाँचो छ।’ सम्मेलनको तयारीलाई सामान्य रुपमा लिनुपर्ने उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा खतिवडाले सम्मेलनको तयारी उत्कृष्ट पनि हैन र तयारी नै नपुगेको पनि हैन भने। वर्तमान सरकार आएको दुई महिना पूरा नभएको भन्दै उनले बीचमा सरकार परिवर्तनको हल्लाले पनि तयारी प्रभावित भएको उल्लेख गरे। लगानीयोग्य आयोजनाहरूलाई तयारी अवस्थामा राखेर लगानी बोर्डलाई सहयोग गर्ने कुरामा सरकार र निजी क्षेत्रको सहयोग तथा सहकार्य आवश्यक रहेकामा पूर्वअर्थमन्त्री डा खतिवडाले जोड दिए। प्रदर्शनमा राखिएका डेढ सय जति आयोजनामध्ये कम्तीमा पनि दर्जन जति आयोजना सम्झौताको चरणमा तथा सम्झदारीको चरणमा जाँदा पनि राम्रै हुने उनको भनाइ थियो। ‘खासगरी नेपाली र विदेशीको संयुक्त लगानीमा आयोजनाहरू सञ्चालन गर्ने भनेर समझदारी हुन्छन्। त्यसपछि सम्मेलन सम्पन्न भयो भनेर ठूलो समारोहको अन्त्यपछिको बेहाल जस्तो नहोस्। जो जोसँग सम्झदारी र सम्झौता भएको उनीहरूसँग निरन्तर ‘फलोअप’ होस्। निरन्तर संवादमा रहनुपर्‍यो,’ उनले सुझाव दिए। लगानीका लागि भौतिक सुरक्षा पहिलो र महत्त्वपूर्ण विषय भएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा खतिवडाले मुनाफा हुने किसिमको आर्थिक वातावरण, कर र वित्तीय प्रणाली पश्चगामी हुँदैनन् भन्ने सुनिश्चितता गर्नुपर्ने सुझाव दिए। उनले भने, ‘यी कुरा सम्मेलनमा पक्कै प्रतिबद्धता व्यक्त गर्छौं, यी कुरालाई कार्यान्वयन गरेर देखाउनुपर्छ। हामी गर्ने छौं भनेर उधारो कुरा गरेर फेरि अर्को लगानी सम्मेलन अगाडिसम्म केही नगर्ने स्थिति हुनु हुँदैन।’

बाल अधिकार परिषद्को संरचनागत सुधार्न मन्त्री चौधरीको निर्देशन

ललितपुर। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि निर्देशन दिएकी छन्। मन्त्री नियुक्त भएर आएपछि पहिलो बैठकको अध्यक्षता गर्दै परिषद्का अध्यक्ष समेत रहनुभएका मन्त्री चौधरीले त्यस्तो निर्देशन दिएकी हुन्। बाल अधिकारको क्षेत्रमा काम गर्ने सरकारको विशिष्टिकृत निकाय राष्ट्रिय बाल अधिकार परिषद् भएको कारणले यसको शासकीय सुधार, यसले समाजमा प्रभाव पार्ने नीति, योजना र कार्यक्रममा बाल अधिकार केन्द्रित हुने हिसाबले काम गर्न परिषद्लाई मन्त्रीले निर्देशन दिइन्। बैठकले बालगृह, बाल सुधार गृहका विषयमा जति पनि समस्या देखिएका छन्। त्यो समस्याहरूका बारेमा छानबिन गर्ने, संस्थालाई सबलीकरण बनाउने विषयमा बैठकले निर्णय गरेको छ। यस्तै बैठकले परिषद्को पदाधिकारीको जिम्मेवारीमा केही हेरफेर समेत गरेको छ। जसअनुसार समन्वय लगायतका कामको जिम्मेवारी परिषद्का उपाध्यक्ष र प्रशासनिक तथा आर्थिक कामको जिम्मेवारी सदस्य सचिवले गर्ने गरी निर्णय गरेको हो। सदस्य सचिवबारे केही प्रश्नहरू उठेको भन्दै उनले नियमावलीमा जे अधिकार दिइएको छ त्यो भन्दा बाहिर गएर काम गर्दा प्रश्न उठेको बताइन्। राज्यका हरेक निकायमा बसेका व्यक्तिहरूले ऐन, कानूनलाई अक्षरशः पालना गर्नुपर्ने उनको भनाई थियो। मन्त्री चौधरीले सडक बालबालिका मुक्त बनाउने, बाल अधिकारका क्षेत्रमा सरकारको बलियो उपस्थिति रहने गरी योजनाबद्ध रूपमा काम गर्नका लागि अगाडि बढ्न निर्देशन दिँदै सिस्टमेटिक हिसाबले यो संरचनालाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्लाइन्। ‘अब सडकमा बालबालिका देखिनुहुँदैन। अबका दिनमा सडकमा बालबालिका नभेटिने गरी परिषद्ले काम गर्नुपर्छ’, उनले भनिन, ‘यो विषयमा हामी काम गरौँ। यदि सडकमा बालबालिका भेटिइहाल्यो भने हामीसँग बालगृह, बाल संगठनहरू छन्। त्यसकारण हाम्रो कमिटमेन्ट पनि नयाँ परिमार्जनको कुरामा हुनुपर्छ। अब सडकमा बालबालिका भेटिनु हुँदैन।’ देशभरि सन्देश जाने हिसाबले बालबालिकाका लागि के(कस्ता काम गर्ने रु कसरी काम गर्ने रु विषयमा योजना बाहिर ल्याउने निर्णय गरेको छ।त्यस क्रममा मन्त्री चौधरीले बालबालिका सम्बन्धी ऐन, कानून, सेवा सुविधा, अदालतका फैसला लगायतका विषय समेटिएको बडापत्र निर्माण गर्न समेत निर्देशन दिइन्। मन्त्री चौधरीले परिषद् अन्तर्गत रहेको उपसमितिलाई जिम्मा दिएर बडापत्र तयार गरी यस सम्बन्धी निकाय तथा स्थानीय तहसम्म पुग्ने गरी बडापत्र जारी गर्न निर्देशन दिएकी हुन्। बैठकमा मन्त्रालयका सचिव दिनेश भट्टराईले ओएनएमका लागि प्राइमरी डकुमेन्ट बनाएर मन्त्रालयले यसको थप कारबाही गर्नुपर्ने बताए। बालगृह र अस्थायी संरक्षण सेवा केन्द्रका विषयमा जति पनि सवालहरू उठेका छन्। ती उठेका सवालहरूमा मन्त्रालयले आवश्यक नीतिगत निर्णय गर्ने मन्त्रालयका सचिव दिनेश भट्टराईले त्यस क्रममा बताएका थिए।