सुनको मूल्य एकैदिन तोलामा दुई हजारले बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा दुई हजार रुपैयाँले बढेको छ ।
बिहीबार छापावाल सुन तोलामा एक लाख ३६ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजाबी सुन तोलामा एक लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यसदिन चाँदी तोलामा एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस : विविध कार्यक्रम गरेर मनाइँदै
काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरिएको छ । दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्दैछ । समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन् ।
जीबी राईको हत्या भैसक्यो भनेपछि पक्राउ परे डिल्लीराम खनाल
काठमाडौं । सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । जथाभाबी अन्तर्वार्ता दिएर भ्रम फैलाएको आरोपमा मंगलबार पक्राउ परेका खनाललाई प्रहरीले आज सार्वजनिक गरेको हो । झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय खनाललाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । खनालले जीबी राईको हत्या भएको र हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको अभिव्यक्ति दिएका थिए । उनलाई काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री सोडारी प्रदेशसभामा चार सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता हुन् । प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री छन् । मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गरेको नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिसकेका छन् । मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफैँसँग राखेका छन् । सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई एमालेले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्को दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य हुन सकेको छैन । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११ सदस्यको प्रतिनिधित्व छ । बझाङमा भएको उपनिर्वाचनपछि एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ । रासस
पुतलीसडकमा भ्यानसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–२८ पुतलीसडकमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती प्र०२–०२७ प ८२८० नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय शाहिल देउला छन् ।देउला सवार मोटरसाइकल र बा २१ च ६४४८ नम्बरको पिकअप भ्यान मंगलबार राति पुतलीसडकमा ठोक्किएर दुर्घटना भएको थियो । त्यसपछि गम्भीर घाइते भएका देउलालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
कानुन निर्माणको पूर्णतापछि सञ्चार क्षेत्रको पुनर्संरचना हुनेछ : मन्त्री शर्मा
काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले थालेका कानुन निर्माणले पूर्णता पाएपछि नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना हुने बताएकी छिन्। नेपाल पत्रकार महासंघका पदाधिकारी तथा पूर्व अध्यक्षहरु, सञ्चार सम्बद्ध पेशागत तथा समावेशी संगठनका प्रमुखहरुसँग भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सम्बन्धी अन्तक्र्रियामा उहाँले यस्तो आफूले नीतिगत सुधारमा जोड दिएको बताइन् । ‘मैले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व गरेको एक वर्ष पूरा भइसकेको छ’– उनले भनिन्– ‘यो बीचमा नेपालको आम सञ्चार क्षेत्रलाई व्यवस्थित केही सुधारात्मक काम पनि भएका छन् तर मुख्यगरी हामीले कानुन निर्माणमा जोड दिएका छौं, हामीले थालेका कानुन निर्माण प्रक्रियाले पूर्णता पाएपछि नेपालको आम सञ्चार क्षेत्रको पुनर्संरचना हुने सरकारको विश्वास छ ।’ मिडिया काउन्सिल विधेयक संघीय संसदमा दर्ता भएको, आम सञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको उल्लेख गर्दै उनले विज्ञापन नीति लगायत अन्य नीति तथा कानुन परिमार्जनको क्रममा रहेको जानकारी दिइन्। सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित आधा दर्जन जति कानुन निर्माणको प्रक्रियामा रहेको मन्त्री शर्माले जानकारी दिइन् । नीति, कानुन र संरचनात्मक सुधारबाट अघि बढ्न सुरुमै विज्ञहरुको समिति बनाएर काम थालिएको उल्लेख गर्दै मन्त्री शर्माले विज्ञ र सरोकारवालाहरुको परामर्श लिएपछि मस्यौदा मन्त्रालयको वेबसाइटमा राखेर आम नागरिकको रायसुझाव लिने र त्यसपछि मात्रै बाँकी प्रक्रियामा लैजाने भएकाले विधेयकलाई अन्तिम रुप दिन समय लागेको पनि स्पष्ट पारिन् । ‘विधेयक ल्याउनु मात्रै ठूलो कुरा होइन, विवादरहित बनाएर पारित गर्नुपर्छ भन्नेमा हाम्रो जोड रहेको छ’– उनले भनिन्– ‘विगतमा यस्तै विधेयक आउँदा जुन जुन क्षेत्रमा सरोकारवालाको बिरोध आएको थियो, त्यसलाई सरोकारवालाकै सहमतिमा सच्याएर अघि बढाएका छौं ।’ उहाँले सरकारी स्वामित्वका सञ्चारमाध्यमको पनि समीक्षा जरुरी रहेकाले विज्ञहरुलाई आवश्यक राय सुझाव दिन आग्रह गरिन्। ‘हिजो जुनबेला सरकारी सञ्चारमाध्यम स्थापना भए, त्यतिबेला अन्य सञ्चारमाध्यम थिएनन् र राज्यको लोकतान्त्रिक चरित्र पनि कम थियो’– उनले भनिन्– ‘अहिलेको अवस्थामा सरकारी सञ्चारमाध्यमलाई सार्वजनिक सञ्चारमाध्यमको रुपमा कसरी स्थापित गर्न सकिन्छ, अघि बढाउन आवश्यक छ ।’ उनले अब सञ्चारमाध्यमको संख्यामा मात्र होइन, गुणस्तरमा जोड दिनुपर्ने समय आएकाले विषवस्तुको विविधतालाई ध्यान दिनुपर्ने बताइन् । मन्त्री शर्माले पत्रकारितालाई सँधै सत्ताको प्रतिपक्षको रुपमा लिनुपर्छ भन्ने धारणा पनि सही नभएको बताइन्। ‘सत्ता पक्ष होस् वा जोसुकै होस् मिडियाले खराबीको बिरोध गर्नुपर्छ तर हिजो जनविरोधी र निरंकुश व्यवस्था भएको बेलामा बनाइएको परिभाषा सँधै बोकेर हिड्नुपर्छ भन्ने छैन’–उनले भनिन्– ‘हिजो व्यवस्था र राज्य सञ्चालकको रवैयाविरुद्ध उत्रनु सही थियो तर अहिले नेतृत्वको खराब पक्षको आलोचना गर्नु सही नै भए पनि व्यवस्थाको रक्षाका लागि पत्रकारिता क्षेत्रले ध्यान दिनुपर्छ किनकि यो व्यवस्था परिवर्तनमा पत्रकारहरुको ठूलो भूमिका छ ।’ कार्यक्रममा अगुवा पत्रकारहरुले आगामी आर्थिक वर्षको कार्यक्रममा पत्रकार महासंघको भौतिक संरचनामा सहयोग गर्न, पत्रकार स्वास्थ्य विमा र तोकिएका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्न, मिडिया मर्जलाई प्रोत्साहन गर्न, आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न, पत्रकार आफैले चलाएका स्वरोजगारमूलक मिडियालाई थप सहयोग गर्न, पत्रकारिता संघसंस्था अनुदान बढाउन, शैक्षिक पाठ्यक्रममा मिडिया साक्षरता समावेश गर्न सुझाव दिएका थिए । कार्यक्रममा प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्य, सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, पूर्वअध्यक्षहरु धर्मेन्द्र झा, डा.महेन्द्र बिष्ट, शिव गाउँले, किशोर नेपाल र मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले धारणा राख्नुभएको थियो । त्यस्तै प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस यूनियनका उपाध्यक्ष नकुल अर्याल, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, फोनिजका अध्यक्ष गजुरधन राई, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडी, क्रियाशील पत्रकार महिलाका उपाध्यक्ष रामकला खड्का, लोकतान्त्रिक छापासञ्जालका अध्यक्ष दामोदर दवाडी, अकोराबका अध्यक्ष अर्जुन गिरी, बानका अध्यक्ष कुमार भट्टराई, निर्मला शर्मा, लाल ऐरी, फूलमान बललगायतले सुझाव दिनुभएको थियो । कार्यक्रम सहजीकरण मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले गरेका थिए ।
श्रमसम्बन्धी विवाद स्थानीय तहबाटै समाधान हुनु महत्त्वपूर्ण राजनीतिक उपलब्धि : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवादहरू स्थानीय तहमा नै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले केन्द्र तथा प्रदेशहरूमा श्रम सल्लाहकार परिषद् गठन हुनु, स्थानीय श्रम सम्बन्धी विवादहरू स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा त्रिपक्षीय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनाहरूमा निकै कम भएको बताए । उनले नेपालमा पनि सामाजिक संवादमार्फत श्रमसम्बन्धी समस्याको समाधान गर्ने विषयले थप महत्त्व पाउँदै गएको बताए ।'नेपालको श्रमसम्बन्धी जुन रूपमा विकास भइरहेको छ, त्यसलाई अन्य मुलुकले पनि निकै अभिरुचीका साथ हेर्ने गरेको विभिन्न अन्तर्राष्ट्रिय गोष्ठीमा देख्न सकिन्छ । यो हाम्रा लागि सुखद् अवसर पनि हो । सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रूपमा लिने गरेका छन् । हामीले सुरु गरेका असल अभ्यास र सहकार्यको निरन्तरता र साझा हितका लागि काम गर्ने संस्कृतिको विकास गर्न हामी सबैको प्रतिबद्धताको लागि म आग्रह गर्दछु,' उनले भने । अध्यक्ष ढकालले आगामी दिनमा आउने समस्या समाधानका लागि रोजगारदाता र श्रमिक मिलेर जानुको विकल्प नरहेको जिकिर गरे ।
प्रहरी महानिरीक्षक स्वदेश फिर्ता
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई आज स्वदेश फर्किएका छन् । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरे । हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा अन्तर्राष्ट्रिय सङ्गठित अपराधको खतरा विरुद्ध संयुक्त मोर्चालगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो । प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फरेन्समा प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह समेतको सहभागिता रहेको थियो ।
रास्वपाले बोलायो केन्द्रीय समिति र सचिवालय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । पार्टी बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।
डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु
ललितपुर। ललितपुरको गोदावरी नगरपालिका ४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । सोही नगरपालिका वडा नम्बर ४ कै ५० वर्षीय रमेश पहरीको पनि मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान उनको मृत्यु भएको हो । डढेलो निभाउने क्रममा मंगलबार शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा उपचारको मृत्यु भएको थियो । मंगलबार दिउँसो डढेलो निभाउने क्रममा उनीहरू सख्त घाइते भएका थिए । ललितपुरको गोदावरी नगरपालिका ६ आनन्द वनमा पनि डढेलो फैलिंदा कुष्ठरोग अस्पतालका बिरामीहरुलाई अन्यत्र सारिएको छ ।
रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताएका छन् । आज बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। भेटमा प्रधानमन्त्रीले भने, “राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्त्वपूर्ण छ । नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो । त्यसका निम्ति पर्यटन पूर्वाधारमा राज्यले जोड दिनुपर्दछ । तपाईँहरू निजी क्षेत्र आफैँले यसका निम्ति पहल लिनुभएकामा म खुसी छु । रारामा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।” प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने बताए । उनले भने, “रिसोर्ट निर्माणका निम्ति राज्यले समेत पूर्वाधार विकासमा भूमिका खेल्नेछ । मुख्यतः त्यहाँ पुग्ने सडक निर्माण, विद्युत् प्रसारण, खानेपानीलगायत क्षेत्रमा सरकारका तर्फबाट सहयोग हुनेछ । यो लगानीले नेपालमा पर्यटक भित्र्याउनमात्र सहयोग पुग्ने छैन, आन्तरिक राजश्वसमेत अभिवृद्धि हुनेछ ।” भेटमा रारा होल्डिङ प्रालिका अभिषेकविक्रम शाह र एक्पर्ट ग्रुप अष्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौताबमोजिम निर्धारित समयमा नै काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे। सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रु एक अर्ब १० करोडको लागतमा रारा ताल समीप सुविधासम्पन्न रिसोर्ट निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । रासस
रोशी गाउँपालिकामा आगलागी, पन्ध्र घर नष्ट
धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् । आगलागीबाट १५ घर, १० गोठ र आठवटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो । नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो । वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन् । रासस
बाल पोषण भत्ता सबै जिल्लामा पुर्याउन पहल भइरहेको छ : मन्त्री चौधरी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पाँच वर्ष मुनिका बालबालिकालाई सरकाले दिँदै आएको बाल पोषण भत्ता ७७ वटै जिल्लामा पु¥याउन पहल भइरहेको बताएकी छन् । सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र इन्स्पायर नेपालको आयोजनामा “नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान विषयक नीतिगत बहस” कार्यक्रमलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री चौधरीले हाल २५ जिल्लामा रहेको पोषण भत्ता कार्यक्रम सबै जिल्लामा पुर्याउन पहल भइरहेको जानकारी दिइन् । उनले हाल प्रति महिना रु ५ सय ३२ रुपैंयाका दरले प्रदान गरिँदै आएको भत्ता रकम बढाउने सन्दर्भमा पनि सरकार गम्भीर रहेको बताइन् । प्रतिनिधि सभा अन्तरगतको महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहले समृद्ध नेपाल सुखी नेपालीको आधार स्तभ निर्माण गर्न बालबालिकामा लगानी गर्न आवश्यक रहेको बताए । स्वास्थ्य, शिक्षा तथा प्रविधि समितिका सभापति अम्बर बहादुर थापाले शिक्षा र स्वास्थ्य सबै बालबालिकाको पहुँचमा पु¥याउन बालबालिकमा लगानी आवश्यक रहेकोमा जोड दिँदै यो विषय सदमा उठाउने प्रतिबद्धता व्यक्त गरे । नेकपा एमाले संसदीय दलका सचेतक सुनिता बरालले बालबालिकाका क्षेत्रमा गरिएको लगानी छरिएर रहेकोले यसलाई एकीकृत गरेर लैजानुपर्नेमा जोड दिइन् । बाल अधिकारका लागि संसदीय समूहका संयोजक तथा संघीय सांसद रञ्जुकुमारी झाले आवश्यकता पहिचानका आधारमा सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गर्नुपर्ने र बालबालिकाका निम्ति बढी प्राथमिकता दिनु पर्ने बताइन । संघीय सांसद दयाल बहादुर शाहीले नेपाल सामाजिक सुरक्षा भत्ताको कार्यक्रम निकै पछिल्लो पुस्ताबाट मात्र प्रदान गर्न थालिएको भएपनि यसको प्रभावकारिता उच्च रहेको हुँदा बालबालिकालाई सामाजिक सुरक्षाका दायरामा ल्याउने विषयलाई प्राथमिकताका साथ उठान गर्नु पर्ने बताए । राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयालले बजेटको १५ प्रतिशत भन्दा बढी रकम सामाजिक सुरक्षामा खर्च हुने गरेको जानकारी दिँदै उक्त रकमलाई विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकमा केन्द्रित गरिनु पर्ने बताए । आयोगका कार्यक्रम निर्देशक लोकनाथ भुषालले एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचनाको कार्यान्वयनमा नागरिक समाज र ट्रेड युनियन भूमिकाको बारेमा प्रस्तुतीकरण गरेका थिए । यस्तै सामाजिक सुरक्षा विषय विज्ञ बसन्तराज गौतमले बालबालिकामा लगानीको आवश्यकता, हालको अवस्था र भावि रणनीतिका विषयमा पस्तुती गरेका थिए । कार्यक्रममा नेपाल ट्रेड युनियन कंग्रेसका उप–महासचिव कुलबहादुर खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उप–सचिव रोशनी कार्की, नागरिक समाजको तर्फबाट बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानकी अध्यक्ष मिना शर्मा, गैर सरकारी संस्था महासंघका सचिव भवराज रेग्मी, सेभ द चिल्ड्रेनका गोपाल नेपाली, वल्र्ड भिजनका श्याम अधिकारी, होम नेट तथा इन्स्पायर नेपालका ओम थपलिया लगायतले बालबालिकामा लगानी बढाउनु पर्ने आवश्यकताबारे प्रकाश पारेका थिए । राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष, बम बहादुर बानियाँ, सामाजिक सुरक्षा कोषका निर्देशक कविराज अधिकारी, नेपाल सरकारका विभिन्न निकायका राष्ट्र सेवक कर्मचारीहरू, यूनिसेफका उषा मिश्र, नागरिक संघसङ्गठनका सरोकारवालाहरू, विकास साझेदार संस्थाका प्रतिनिधिहरु, ट्रेड युनियनका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुलगायत सय भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सरोकारवालाहरूले बालबालिका तथा राष्ट्रिय कूल ग्राहस्थ उत्पानमा निकै ठूलो योगदान पु¥याउने अनौपचारिक क्षेत्रमा पेशागत अभिभावकका बालबालिकाका विषयमा राज्यले यथोचित सम्बोधन गर्नुपर्ने तथा उनीहरुलाई सामाजिक सुरक्षाको दायराभित्र समेटी दिगो विकासका निम्ति पहल गर्नुपर्ने बताएका थिए । यसैगरी बाल बजेट कोडको व्यवस्था गर्नुपर्ने, अटिजम भएका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिका, अपाङ्गता भएका बालबालिकाको सन्दर्भ तथा बालमैत्री स्थानीय शासन, पोषणमैत्री स्थानीय शासन, बालबालिका राष्ट्रिय गौरव हुन्, बालबालिका र विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान लगायतका विषयमा जोड दिँदै बालबालिकामा लगानी बढाउन, विद्यालय खाजा कार्यक्रम मा।वि। तहसम्म विस्तार गरी पोषणयुक्त खाजा वितरणको गुणस्तर बढाउनका निम्ति प्रदान गरिदै आएको रकममा वृद्धि गर्न, एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचनाको कार्यान्वयन गर्दै अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षाको दायराभित्र ल्याउनुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रम सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत युनिसेफ नेपालको सहयोग, सेभ द चिल्ड्रेनको बाल संवेदनशील सामाजिक सुरक्षा परियोजना र उइ सोसल मुभमेन्ट (We Social Movement), नेपालमा सामाजिक सुरक्षा र मर्यादित काम परियोजनाको सहयोगमा भएको थियो । सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलका अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डोल्मा तामाङले स्वागत र कार्यक्रम संयोजक राजेन्द्र चौलागाईले सञ्चालन गरेका थिए । सरकारले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम र बजेट निर्माणको अन्तिम तयारी गरिरहेको सन्दर्भमा, सामाजिक सुरक्षाका समग्र विषयहरू, एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचनाको कार्यान्वयन र विशेषत बालबालिकाका सवाल सम्बोधनका लागि आवश्यक नीति, कार्यक्रम र बजेटको सुनिश्चितताको लागि यस नीतिगत बहसको आयोजना गरिएको थियो ।
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल वैशाख १९ गते बुधबार सन् २०२४ मे १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १० पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
यस्तो हुनेछ आजको मौसम
काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कासी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हावाहुरीको सम्भावना छ ।
अर्थतन्त्रमा सकारात्मक प्रभाव: बढ्यो नेपालीको प्रतिव्यक्ति आय
काठमाडौँ । नेपालीको प्रतिव्यक्ति औसत आय बढेको छ ।चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ । गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो ।पर्यटन आवागमनमा देखिएको सकारात्मक प्रभाव लगायतका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो ।

