सरकार निर्धक्क भएर काम गर्छ : प्रधानमन्त्री ओली

का&माडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ । अब सरकार ढुक्कले देशमा विकासको मूल फुटाउने काममा लाग्छ । सरकार दायाँबायाँ अल्मलिने छैन । सबै क्षेत्रले सहयोग गर्नुहोस् ।”

राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित दोस्रो सहकारी महासम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न सरकारले कार्ययोजनाका साथ काम शुरु गरिसकेको जानकारी दिनुभयो ।

अहिलेको मुलुकको अर्थतन्त्र अनुकूल छैन, अप्ठ्यारो अवस्थामा रहेको छ, यस्तो अवस्थालाई सदाका लागि अन्त्य गर्न सरकारको प्राथमिकता रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले आर्थिक सुशासन कायम गर्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “दुई छिमेकीको साथ र सहयोग लिई उनीहरुको विश्वास लिएर सरकारले काम गर्छ, उनीहरुले पनि सरकारसित सहकार्यका लागि तत्परता देखाइरहेका छन् ।” प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताका कुरा गर्दा अधिनायकवाद नआउने स्पष्ट पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र कसैले दिएको उपहार होइन, नेपाली जनताले दुःख गरेर ल्याएको व्यवस्था हो भन्नुभयो ।

मुलुकको आर्थिक समृद्धि हासिल गर्न सहकारी अपरिहार्य भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले सहकारीको विकासका लागि सरकारको ध्यान गएको छ भन्नुभयो ।

दुईदिने सो सम्मेलनमा नेपालसहित दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क), जापान, इण्डानेशियालगायतका देशका सहकारी विज्ञको सहभागिता रहेको छ । दुईदिने सम्मेलनमा सहकारी आन्दोलनका उपलब्धि, सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न सहकारीले खेल्ने भूमिका, सहकारी विकासका लागि आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा छलफल हुनेछ ।

सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले सहकारीको संख्यात्मक वृद्धिका साथमा गुणात्मक विकासको आवश्यकता रहेको उल्लेख गर्दै आगामी दिनमा सहकारीसित भएका पूँजी पर्यटन, कृषि, जलस्रोतलगायतका क्षेत्रमा थप परिचालन गर्न सक्ने वातावरण सरकारले मिलाइदिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक लोकतन्त्रका साथमा आर्थिक लोकतन्त्रलाई पनि सुदृढ बनाउनुपर्छ, सहकारी क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डका रुपमा थप बलियो बनाउनुपर्छ ।”

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सहकारी क्षेत्रलाई अझ सुदृढ बनाउन विनियमावली संशोधनका क्रममा रहेको जानकारी दिँदै सहकारीलाई उत्पादनसित जोड्नुपर्छ भन्नुभयो । उहाँले कृषि क्षेत्रमा सहकारीलाई थप आकर्षण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको चर्चा गर्नुभयो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले गरिबी निवारण गर्ने माध्यमका रुपमा सहकारी क्षेत्रलाई थप प्रवद्र्धन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान उच्च रहेको हुँदा अगामी दिनमा सहकारीलाई बलियो बनाउँदै लानुपर्छ भन्नुभयो ।

सम्मेलन आयोजक संस्थाका अध्यक्ष केशव बडालले छिटो सहकारी विनियमावली ल्याउन माग गर्नुभयो ।

अाफ्नै भतिजा-भतिजीको हत्या गर्ने प्रहरी खोरमा

रोल्पा । बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकको सोमबार साँझ ४ बजे बन्चरो प्रहार गरी हत्या गरेका थिए । घर नजिकै खेलिरहेका बालबालिकाको हत्या गरी भागेका अभियुक्त खर्कबहादुरलाई घटनापछि नुवागाउँको भाँगोबारीबाट पक्राउ गरिएको जिप्रका रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो। काखका दुवै सन्तानको एकैसाथ निधन भएपछि विक दम्पतीको काख रित्तिएको छ । यो दम्पतीसहित यतिबेला पूरै गाउँले शोकमा डुबेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । दाजुभाइका बीचमा व्यक्तिगत रिसइबी भएता पनि खर्कबहादुरको मानसिक अवस्थाका कारण घटना घटेको हुनसक्ने स्थानीयवासीले बताएका छन् । यसैबीच, रोल्पामा आठ किलो चरेससहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा थबाङ–५ रोल्पाकी ३८ वर्षीया रामप्यारी झाँक्री हुन् । रासस

सुर्खेत–काठमाडौं उडान सेवाको परीक्षण सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण सम्पन्न भएको छ । बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको परीक्षण सम्पन्न गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका कार्यालय प्रमुख विनोदकुमार पन्तले जानकारी दिनुभयो । “जहाजले परीक्षण पूरा गरेको छ, त्यसको प्रतिवेदन आउन भने बाँकी छ, तर पनि अब सुर्खेत–काठमाडौँ सिधा हवाई सेवा शुरु हुन्छ”, कार्यालय प्रमुख पन्तले भन्नुभयो । नागरिक उड्डयन कार्यालय सुर्खेतका वरिष्ठ अधिकृत विद्या शाहले एनएआइएन कल साइनको जहाज बिहान ९ः४५ बजे धावन मार्गमा अवतरण गरेको र ११ः०० बजे यहाँबाट उडान भरेको जानकारी दिनुभयो । उहाँका अनुसार सम्भवतः नव वर्ष २०७५ वैशाख १ गतेदेखि बुद्ध एयरको सुर्खेत–काठमाडौँ नियमित उडान शुरु हुनेछ । कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई सेवा नजोडिएको भन्दै यसका लागि प्रदेश सरकारलाई यहाँका नागरिकले माग गर्दै आएका थिए । त्यही विषयलाई लिएर दुईसाताअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको ध्यानाकर्षण गराउनाका साथै निजी कम्पनीसँग पनि पहल गर्नुभएको थियो । उहाँहरुकै सहमतिमा हवाई उडान सेवा जोडिएको छ । परीक्षण सेवा गरिएको हवाईको सुर्खेत–काठमाडौँ भाडादर कति भन्ने अहिले कायम नगरिएको जनाइएको छ । रासस

चट्याङ लागेर एकको मृत्यु

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–२ घैराङमा चट्याङ लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा घैराङका ४० वर्षीय श्यामबहादुर विक रहेका छन् । घरमा सुतिरहेका वेला मंगलबार राती चट्याङ पर्दा गम्भीर घाइते भएपछि उपचारका क्रममा गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । चट्याङबाट घरमा सामान्य क्षति पुगेको छ । रासस

प्रहरीमाथि खुकुरी प्रहार

झापा । झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन्। भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुईजना प्रहरी गम्भीर घाइते भएका छन् । राईलाई वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ । राईको खुकुरी प्रहारबाट महेशपुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी जवान पूण्यप्रसाद पोखरेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । खवासको टाउकोमा र पोखरेलको देब्रे हात र टाउकोमा गम्भीर चोट लागेको छ । घाइते प्रहरीको मेची अञ्चल अस्पातल भद्रपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ । रासस

दुर्गम गाउँ पुगेर मन्त्री बिना मगरले भनिन्– ‘गाउँमै सुविधा पुर्याउन काम गर्छु’

कञ्चनपुर । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कञ्चनपुरको दुर्गम लालझाडी गाउँपालिकामा पुगेर खानेपानी मन्त्री बिना मगरले गाउँमै सुविधा पुग्ने गरी काम गर्ने बताउनुभएको छ । गाउँपालिकाले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले लालझाडीका समस्याबारे आफू जानकार रहेको बताउनुभयो । ‘बाटोघाटो, नदी कटान, हात्ती आतंक लगायतका समस्या यो गाउँपालिकामा छन्,’ उहाँले भन्नुभयो– ‘समस्या समाधान हुने गरी पहल गर्छु ।’ ठुला समस्या समाधानका लागि गुरुयोजना नै बनाएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री बनेपछि पहिलो पटक गाउँपालिकामा पुग्नुभएकी मन्त्री मगरलाई गाउँपालिका अध्यक्ष मदनसेन बडायक लगायतका जनप्रतिनिधि र कर्मचारीले स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बडायकले कञ्चनपुरको महिला नेता मन्त्री बन्नु एेतिहासिक सफलता भएको बताउनुभयो । संघीय सरकारमा रहेर काम गर्नुहुने आशा उहाँले व्यक्त गर्नुभयो । गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शेरसिंह बुढाले मन्त्री मगरसामु माग पत्र वाचन गर्नुभएको थियो । आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन भइरहेको स्तन तथा पाठेघरको मुखको क्यान्सर जाँच शिविर र मतदाता भेटघाटका क्रममा मन्त्री मगर लालझाडी पुग्नुभएको हो। मन्त्री बिना मगरको पहलमा क्रान्तिकारी महिला सञ्जालले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिरहेको छ । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका पुनर्वास र बेलौरी नगरपालिका तथा बेल्डाडी गाउँपालिकामा शिविर सञ्चालन भइसकेको छ । लालझाडी गाउँपालिकामा शिविर सम्पन्न भएपछि समस्या देखिएका महिलालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल र क्यान्सर अस्पतालमा रेफर गरिएको शिविर संयोजक सरु अधिकारीले बताउनुभयो । शिविरमा सयौं महिलाले स्वास्थ्य जाँच गरिरहेका छन् ।

त्रिवि सुधारका लागि उपकुलपति समक्ष क्रान्तिकारीको १६ बुँदे माग

काठमाडौं, चैत्र २० । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय सुधारका लागि उपकुलपति तिर्थ खनियाँलाई १६ बुँदें मागपत्र बुझाएको छ । शैक्षिक कार्यतालिका अनुसार कक्षा सञ्चालन र नतिजा प्रकाशित गरिनुपर्ने, प्रत्येक विभागमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, हरेक विभागको पुस्तकालयमा पाठ्यक्रमसँग सम्बन्धित पर्याप्त पुस्तक, कम्युटर र इन्टरनेट तथा कक्षामा प्रोजेक्टरको माध्यमबाट पठनपाठन सञ्चालन गरिने व्यवस्था गरिनुपर्ने लगायतका १६ बुँदे माग राखेको छ । मागपत्र बुझ्दै उपकुलपति खनियाँले विषयहरु व्यवहारिक र महत्वपूर्ण रहेको बताए । उनले त्रिविको आफ्नो आम्दानी नभएकोले सेमेष्टर सञ्चालनमा कठिनाइ आएको बताएका छन् । पुसमा सम्पन्न भएको प्रथम सेमेष्टरको परीक्षा फल अहिलेसम्म सार्वजनिक नभएको बारे विद्यार्थीहरुले प्रश्न राख्दा चाँडै नतिजा सार्वजनिक गर्ने प्रतिवद्धता जनाए । महेश श्रेष्ठ, संघर्ष दाहाल, हेमराज शर्मा लगायतले खनियाँसमक्ष मागपत्र बुझाएका थिए । क्रान्तिकारी मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकटको विद्यार्थी संगठन हो । त्रिवि सुधार्नुपर्ने क्रान्तिकारीको माग यस्तो छः १. शैक्षिक कार्यतालिका अनुसार कक्षा सञ्चालन र नतिजा प्रकाशित गरियोस् । प्रत्येक विभागमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरियोस् । २. हरेक विभागको पुस्तकालयमा पाठ्यक्रमसँग सम्बन्धित पर्याप्त पुस्तक, कम्युटर र इन्टरनेट तथा कक्षामा प्रोजेक्टरको माध्यमबाट पठनपाठन सञ्चालन गरिने व्यवस्था गरियोस् । ३. हरेक सेमेस्टरका विद्यार्थीलाई स्थलगत कार्य गराउने व्यवस्था अनिवार्य लागू गरियोस् । ४. सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेको प्राध्यापकलाई मात्र सो विषयको अध्यापन गराउने व्यवस्था कडाइकासाथ लागू गरियोस् । ५. विज्ञान संकायका सबै विभागमा आवश्यक प्रयोगात्मक सामग्री उपलब्ध गराइयोस् । ६. प्राध्यापक तथा कर्मचारी कार्यालय समयमै कार्यालयमा उपस्थित भइ आफ्नो जिम्मेवारी पूरा गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गरियोस् । ७. हरेक विभागको पुस्तकालय हप्ताको ६ दिन खोल्ने व्यवस्था गरियोस् । ८. त्रि।वि। केन्द्रिय पुस्तकालय हरेक दिन कम्तिमा १२ घण्टा खुल्ला रहने व्यवस्था गरियोस् । र त्रिवि केन्द्रिय पुस्तकालयको आवश्यक भौतिक संरचना नेपाल सरकारकै लागतमा तत्काल निर्माण थालनी गरियोस् । ९. छात्रारछात्रवासमा बस्न बनाइएको मापदण्ड कडाइका साथ लागू गरियोस् र नतीजा प्रकाशनमा समावेशीको सिद्धान्तलाई आत्मसात् गरियोस् । विद्यार्थी संगठनहरुलाई दिइएको अघोषित भागवण्डा तत्काल खारेज गरियोस् । १०.छात्रारछात्रवासमा इन्टरनेटको व्यवस्था, फोहोर व्यवस्थापन, विजुली बत्तिको व्यवस्था, झ्याल ढोकाको मर्मत सम्भार तथा निर्माण, सफा पिउने पानीको व्यवस्था गरियोस् । ११. विद्यार्थीको लागि खेलकुद सामग्रीहरु उपलब्ध गराउँदै खेलकुद प्रतियोगीता सञ्चालन गरियोस् । १२. हरेक विभाग अन्तर्गत कम्तिमा एक फोहोर राख्ने बास्केटको व्यवस्था गरियोस् । शौचालय, कक्षा कोठाका झ्याल–ढोकाको मर्मत तथा निर्माण गर्नुका साथै उच्छृंखल तथा अनैतिक काम क्रियाकलाप नियन्त्रण गरियोस् । १३. त्रिवि परिसरलाई काँडेतार वा पर्खाल लगाएर घेरियोस् । त्रिवि परिसरभित्र सार्वजनिक तथा अनावश्यक निजी सवारी साधन प्रवेशमा रोक लगाइयोस् । १४. हेल्थ सेन्टरलाई व्यवस्थित गरियोस् । १५. डिर्पाटमेन्ट अघिको खाली जग्गामा बगैंचा निर्माण गरियोस् । १६. विभिन्न विभागले लिँदै आएको अतिरिक्त शुल्क खारेज गरियोस् ।

सुवेदीको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, चैत २० । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगिनी यशोदा सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज उहाँले ट्वीटमार्फत शोकसन्देश जारी गर्दै सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । “कलाकार मदनकृष्णको सफल कलायात्रा र समाजसेवाकी अनन्य सहयोगी स्व सुवेदीप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु”, उहाँले भन्नुभएको छ, ‘शोकमा पर्नुभएका मदनकृष्ण र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ सतसठ्ठी वर्षीया सुवेदीको सोमबार राति निधन भएको थियो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

निगमले २ वाइड बडी बोइङ र ६ वटा ट्वीनअटर विमान किन्ने

काठमाडौं, चैत २० । नेपाल वायुसेवा निगमले आन्तरिक र बाह्य उडानका लागि आठवटा विमान खरिद गर्ने भएको छ । आन्तरिक उडानका लागि छ वटा ट्वीनअटर र बाह्य उडानका लागि दुईवटा२ वटा वाइड बडी विमान खरिद गर्न लागेको हो । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारले पुराना जहाज प्रतिस्थापन गर्दै नयाँ विमान खरिद गर्न लागिएको जानकारी दिए । फान्सको कम्पनीसँग खरिद सम्झौता भएको वाइडबडी विमान आगामी जेठसम्म आइपुग्ने पनि उले बताए । अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दुवैतर्फ विमान थप्दै निगमको आय बढाउदै लैजाने नीति रहेको बताउँदै उनले एयर बस खरिद गर्न प्रक्रिया सुरु गरिसकेको पनि जानकारी गराए ।

संसद्को पहिलो अधिवेशन अन्त्य

काठमाडौं, चैत २० । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।

मन्त्री विश्वकर्माले भने -स्काउट अब राजनीति हस्तक्षेप मुक्त हुन्छ

काठमाडौं, चैत २० । नेपाल स्काउटका प्रमुख स्काउट एवम् युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाल स्काउट संगठन गैरराजनैतिक, सामाजिक उद्देश्य बोकेको विशुद्ध शैक्षिक अभियान भएकोले सोही अनूरुप राजनीति हस्तक्षेपबाट मुक्त भएर चल्नुपर्ने बताएका छन् । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा मंगलबार आयोजित छलफल कार्यक्रममा अधिकाँश वरिष्ठ स्काउट गुरु एवम् पदाधिकारीहरुले नेपाल स्काउट पछिल्लो समयमा राजनीति हस्तक्षेपबाट मुक्त हुन नसकेको गुनासो गरेपछि प्रमुख स्काउटको हैसियतमा मन्त्री विश्वकर्माले सो कुरा बताएका हुन । प्रमुख स्काउट विश्वकर्माले नेपाल स्काउटको प्रमुख स्काउटको हैसियतमा शपथ लिएका थिए । उनलाई नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले नेपाल स्काउटको स्कार्फ लगाइदिएका थिए । नेपाल स्काउटको प्रमुख स्काउटको हैसियतमा दिक्षा लिएपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले स्काउट संगठन यसको विशुद्ध उद्धेश्य र मर्म अनूरुप चल्न जरुरी रहेको कुरामा जोड दिएका थिए । ‘अब नेपाल स्काउट लोकतान्त्रिक मुल्य मान्यता र संस्थागत ढंगबाट चल्ने कुरामा सबैजना ढुक्क हुनुस्’ मन्त्री विश्वकर्माले भने ‘यहाँ राम्रो काम गर्नेलाई मात्रै छुट हुन्छ, नराम्रोलाई होइन ।’ विगत केही समयदेखि राजनैतिक हस्तक्षेपका कारण धुमल्लिएको स्काउट संगठनलाई यसको मुल मर्म अनुसारसञ्चालनका लागि स्काउटमा आवद्ध सबै पदाधिकारीहरुले स्काउट पोशाकको मर्यादा कायम राख्न पनि मन्त्री विश्वकर्माले आग्रह गरे । देशको विकास, समृद्धि र सुशासनको लागि वर्तमान प्रधानमन्त्री लागि पर्नुभएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले विगतको जस्तो कुनैपनि क्षेत्रमा अस्थिरता र अन्यौलता नहुने पनि स्पष्ट पारे । अस्थिर सरकारका कारण विगतमा हरेक क्षेत्रमा राजनैतिक हस्तक्षेप बढेको थियो’–मन्त्री विश्वकर्माले भने, ‘अब त्यो क्रमशः अन्त्य हुन्छ । ’ नेपालको संविधान अनुसार मुलुक संघीय संरचनामा गईसकेकोले सोही अनुसार स्काउटको ऐन बनाउन युवा तथा खेलकूद मन्त्रालयले आवश्यक प्रकृया अगाडि बढाइसकेको पनि मन्त्री विश्वकर्माले बताए । नेपाल स्काउटको तेस्रो राष्ट्रिय ज्याम्बोरी (वृहत स्काउट भेला) सकभर जेठको पहिलो साता गर्न उपयुक्त हुने गरि कार्यक्रम तय गर्न पनि नेपाल स्काउटका पदाधिकारीहरुलाई उनले सुझाव दिए । त्यस अवसरमा युवा तथा खेलकूदमन्त्रालयका सचिव महेश दाहाललेविगतको तुलनामा नेपाल स्काउटको नाम र प्रतिष्ठामाकमी आएकोप्रति चिन्ता व्यक्त गर्दै यसको शाखलाई उँचो राख्न सबै स्काउटहरु लाग्नुपर्ने बताए । उनले नेपाल स्काउटका कार्यक्रमलाई अन्तराष्ट्रिय जगतमा प्रर्वद्धन गर्नुपर्ने, पुर्वाधारको विकासमा जोड दिनुपर्ने, संघीय संरचना अनुसार स्थानीय र प्रादेशिक तहमा स्काउट विकास र विस्तार गर्नुपर्ने बताए । प्राकृतिक विपत्तिमा उद्धारको लागि अघि बढ्ने हातहरु सबैभन्दा पहिला स्काउटहरुको हुनुपर्ने उल्लेख गर्दै सचिव दाहालले यसका लागि हरेक स्थानीय तहमा महिला र पुरुष स्काउटलाई उद्धारसम्वन्धि आवश्यक तालीम दिनुपर्ने बताए । नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले नेपाल स्काउटको विगतदेखि वर्तमानसम्मका विवरण प्रस्तुत गर्दै आफुसहितको समिति नेपाल स्काउटमा दिगो विकास, सुशासन र राजनीतिमुक्त संगठन बनाउन निर्वाचन गर्ने उद्धेश्यले आएको प्रष्ट पारे । यसैविच वर्तमान तदर्थ कार्यसमितिले ककनीस्थित नेपाल स्काउटको अन्तराष्ट्रिय तालीम केन्द्रमा तेस्रो स्काउट ज्याम्बोरी आयोजना गर्न लागेको , प्रदेश संरचना अनुसारको ऐन बनाउन सातैवटा प्रदेशका वरिष्ठ स्काउटरहरुबाट सुझाव संकलन कार्य गरेको, नेपाल स्कउटको लक्ष्य २०२० अनुसार मुलुकभर स्काउटको संख्या र संगठन विस्तार गर्दै लगेको बताए । सो अवसरमा नेपाल स्काउटका पुर्वप्रमुख आयुक्त श्रीराम लामिछाने, वरिस्ठ स्काउट गुरु प्रा.गोविन्द नारायण ज्या–पू, राष्ट्रिय तदर्थ समितिका सल्लाहकार डा.रविन्द्रप्रसाद पाण्डे, सदस्य रामकुमार भण्डारी, पार्वती गिरी, स्काउट गुरु हरि बहादुर श्रेष्ठ, तरुण रञ्जन दत्तलगायतले नेपाल स्काउटलाई राजनीतिबाट मुक्त राख्न सरकारी तवरमा आवश्यक पहल गर्नुपर्ने माग राखेका थिए । उनीहरुले नेपाल स्काउटको ऐन जतिसक्दो चाँडो संशोधन गरेर संघीय संरचनाअनुसार स्काउट पदाधिकारीहरको निर्वाचनको लागि बाटो खोल्न मन्त्रीसमक्ष आग्रह पनि गरेका थिए ।

सूर्यविनायक नगरपालिकाबाट घरदैलो व्यवसाय दर्ता

भक्तपुर । सूर्यविनायक नगरपालिकाले घरदैलो व्यवसाय दर्ता अभियान शुरु गरेको छ । नगरपालिकाले जनप्रतिनिधिसहित कर्मचारीको चारवटा टोली बनाएर व्यवसाय दर्ता अभियान शुरु गरेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । नगरपालिकाभित्र सञ्चालनमा रहेका तर दर्ता नभएका व्यवसायलाई दर्ता गर्ने र करको दायरामा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरेको जानकारी दिंदै उहाँले भन्नुभयो– “पसल, उद्योग तथा व्यवसाय दर्ता नगरी सञ्चालन भएका छन्, कतिपय दर्ता भएकाले पनि नियमित नवीकरण गरेका छैनन्, व्यवसायलाई दर्ता गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने तथा करको दायरामा ल्याउने हाम्रो अभियान हो ।” सूर्यविनायक चोकका व्यवसायीको व्यवसाय दर्ता गरेर प्रमाण वितरण गर्दै नगर प्रमुख थापाले उद्घाटन गर्नुभएको अभियान नगरपालिकाको १० वटै वडामा सञ्चालन भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत दिपेश खड्काले जानकारी दिनुभयो । सूर्यविनायक नगरपालिकालाई हरेक क्षेत्रबाट उत्कृष्ट बनाउने लक्ष्यका अभियान शुरु गरेको उहाँले बताउनुभयो । नगरपालिकाका प्रशासन शाखाका पुष्कर बरालले नगरपालिकाले एकैदिन १०० वटा व्यवसाय दर्ता गरेको जानकारी दिँदै यो अभियान नगरपालिका क्षेत्रभित्रका सबै व्यवसाय दर्ता गरेपछि मात्रै सम्पन्न हुने बताउनुभयो। व्यवसायीको सहजताका लागि टोलीले घरदैलोमै पुगेर व्यवसायको सबै प्रक्रिया पुर्याएर त्यही दर्ता गरी प्रमाणपत्र दिने गरिएको छ । आगामी असार मसान्तसम्म नगरको आन्तरिक आम्दानी रु आठ करोड पुर्याउने लक्ष्यका साथ अभियान सञ्चालन भएको हो । रासस

प्लाष्टिकका भाँडाका कारण गुणस्तरहीन दूध खान बाध्य

ललितपुर । ग्रामीण क्षेत्रमा दूध ढुवानीका लागि प्लाष्टिकका भाँडा प्रयोग गर्दा उपभोक्ता गुणस्तरहीन दूध खान बाध्य छन् । दूध प्लाष्टिकका भाँडामा राख्दा त्यसको स्वाद बदलिने पशु उत्पादन निर्देशनालयमा कार्यरत डा.सुरेन्द्र झा बताउनुहुन्छ । किसानले दूध दुहुँदादेखि संकलन हुने ठाउँ हुँदै शहरी क्षेत्रसम्म ल्याउनका लागि प्लाष्टिकको भाँडा प्रयोग हुने गरेको छ । पछिल्ला वर्षहरुमा निर्देशनालयले प्लाष्टिकका भाँडा प्रयोग नगर्न-नगराउन अभियान चलाएको छ । एक दशकयता यस क्षेत्रमा केही सुधार भइरहेपनि पर्याप्त छैन । उहाँ भन्नुहुन्छ, ‘दूध गोठबाट ओँठसम्म पुग्दा प्लाष्टिकको भाँडा कतै पनि प्रयोग नै नगर्न÷नगराउन भने सकिएको छैन ।’ दूध ढुवानीमा प्लाष्टिकको भाँडाको प्रयोग गर्मी महिनामा अझै नराम्रो हुने जानकारी दिंदै झा बताउनुहुन्छ, ‘प्लाष्टिकका भाँडामा लामो समयसम्म राख्दा दूध चाँडो फाट्छ ।” बजारसम्म पुग्न लामो समय लाग्ने दुर्गम ठाउँमा दूध बाटोमा नै बिग्रँदा संकलकसमेत घाटा व्यहोर्न बाध्य हुने गरेका छन् । प्लाष्टिकका भाँडा कम मूल्यमा र सहज रुपमा पाइने हुँदा दूध दुहुन किसानले र ढुवानी गर्न संकलकले यसको बढी प्रयोग गर्दै आएका हुन् । सरकारले किसानका क्षेत्रमा काम गर्ने सहकारीमार्फत प्लाष्टिकका भाँडा हटाउन अनुदान सहयोगका कार्यक्रमसमेत गर्दै आएको छ । रासस

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं, चैत्र २० । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले स्वचालित मूल्य प्रणालीअनुसार निगमले पेट्रोल, डिजल र मट्टितेलमा २र२ रुपैयाँ मूल्यवृद्धि गरेको हो । मंगलबारदेखि लागु हुने नयाँ मूल्यअनुसार पेट्रोल १०५ रुपैयाँ भएको छ भने , डिजल र मट्टितेल ८५ रुपैयाँ पुगेको छ। निगमका अनुसार पेट्रोलमा ३ रुपैयाँ १० पैसा र डिजेल तथा मट्टिटेलमा ९६ पैसा घाटा भएको छ। निगमलाई अब पाक्षिक नाफा २० करोड ३० हजार रुपैयाँ हुने अनुमान गरिएको छ। भारतभन्दा नेपालमा पेट्रोल २३ रुपैयाँ ६४ पैसा र डिजेल २७ रुपैयाँ ५८ पैसा सस्तो छ।

विभेद हटाउन सहभोज गराउँदै स्थानीय सरकार

दैलेख । हिमालय आधारभूत विद्यालय, तीजडाँडामा दलित भान्सेले पकाएको विद्यालयको दिवा खाजा नखाने भनी गत महिना उत्पन्न विवाद सहभोजपछि समाधान भएको छ । विवाद समाधान भएपछि पनि अझै केही बालबालिकाले दिवा भोज नखाएको भन्ने गुनासो आएपछि स्थानीय सरकारले विभेद हटाउनका लागि वडाध्यक्ष रंग तामाङको नेतृत्वमा सहभोजको आयोजना गरेको थियो । प्रजिअ विश्वराज न्यौपाने सहभोजका लागि स्थानीय तह, जिल्ला समन्वय समिति, विद्यालयका शिक्षक र अभिभावक तथा जिल्लास्तरमा रहेका अधिकारकर्मी सहितको टोली लिएर विद्यालयमा पुग्नुभएको थियो । विद्यालयमा सबै मिलेर भोजन तयार पारेर सबैले संयुक्त रुपमा भोजन ग्रहण गरे । विवाद भएको विद्यालय (चामुण्डाको तीजडाँडास्ती) मा औपचारिक कार्यक्रम पनि सम्पन्न भयो । जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जातीय विभेद हटाउन र व्यावहारिक परिवर्तनका लागि सहभोज आयोजना गरिएको बताउदै कानूनले दण्डित गरेका विषयबारे नागरिकले बुझ्नुपर्ने र विभेद गर्न नहुने सुझाव दिनुभयो । जिससका उपप्रमुख लक्ष्मीकुमारी शाहले सभ्य नागरिकको बसोवास भएका ठाउँमा जातीय विभेद, छाउपडीप्रथा लगायत समस्या हुनु दुःखदायी घटना भएको बताउनुभयो । चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले छाउपडीप्रथा, बालविवाह जस्तै नगर क्षेत्रमा जातीय विभेद समस्या पनि रहेको अवस्थामा यस्ता विकृति रोक्न समुदायको अग्रसरता जरुरी रहेकामा जोड दिनुभयो । प्रजिअ न्यौपानेले विभेद गर्ने अभिभावक वा जो कोहीलाई कारबाही हुने चेतावनी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगबहादुर तारामीले व्यवहारमै परिवर्तन गर्नुपर्ने कतिपय कुरीति र कुसंस्कारका लागि अझै गाउँगाउँमा बहस र पैरवी हुनुपर्ने बताउँदै जनप्रतिनिधि र अधिकारकर्मीले यसबारे जनचेतना अभियान फैलाउन योजना निर्माण गरेर लाग्नुपर्ने सुझाव दिनुभयो । रासस

मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण

नवलपरासी । बर्दघाट नगरपालिकास्थित विपन्न मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । नगरपालिका–५ स्थित जीतपुर डण्डा खोलामा बस्दै आएका १० घर विपन्न मुसहर समुदायलाई घर निर्माण गरी हस्तान्तरण गरिएको हो । नेपाल विद्युत् प्राधिकरण भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनको आर्थिक सहयोगमा आयोजना प्रभावित विपन्न समुदायलाई घर निर्माण गरिएको हो । रु ३० लाखको लागतमा एसके निर्माण सेवाले घर निर्माण गरी हस्तान्तरण गरेको नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । चार महिना लगाएर तयार गरिएको सो बस्तीमा सामूहिक शौचालय तीन र एक धारा पनि जडान गरिएको छ । घर निर्माण गरेसँगै १० घरपरिवारका ६० जना लाभान्वित भएका छन् । यसअघि जीर्णावस्थामा रहेका कच्ची घरमा बस्दै आएकामा नया“ घर प्राप्त गर्दा स्थानीयवासी खुशी भएका छन् । “धेरै समस्या थियो, बर्खामा पानीले गर्दा बस्नै सकिँदैनथियो, नया“ घर पाएका छांैँ, निकै खुशी लागेको छ”, स्थानीयवासी बुद्ध मुसहरले भन्नुभयो । प्राधिकरणको हाइटेन्सन लाइन प्रभावित व्यक्तिलाई सहयोग प्रदान गर्ने कार्यक्रमअन्तर्गत वातावरण तथा सामाजिक अध्यन केन्द्रको संयोजनमा घर निर्माण गरी हस्तान्तरण गरिएको विभागका इञ्जिनीयर हर्ष श्रेष्ठले बताउनुभयो । रासस