आइपिडिएफ र सिल्क रोड बीच सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । नेपालमा स्थापना भएर अन्तर्राष्ट्रिय परियोजनाको विकासका लागि कार्यक्रम गर्दै आएको संस्था इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम (आइपिडिएफ) र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबीच ९ वटा मुख्य परियोजनाको अनुसन्धान तथा विकास गर्नेनिर्माण गर्ने सम्झौता सप्पन्न भएको छ ।
दुई संस्था विच ९ वटा महत्वपूर्ण परियोजनाको खोज, अनुसन्धान, लगानी सम्मेलन तथा परियोजना विकास गर्ने उद्देश्यले सम्झौता गरिएको हो । नयाँ सम्झौतापत्र अनुसार आपसी समझदारी तथा सहयोगमा दुई संस्था बीच शैक्षिक अनुसन्धान, नवप्रवर्तन, औद्योगिकीकरण, पर्यटन पुर्वाधार विकास, यातायात पुर्वाधार विकास, लगानी र ब्यापारको प्रवर्धन, सांस्कृतिक आदानप्रदान, चुनौती र संभावनामा सहकार्य, आर्थिक सहायता तथा साजेदारीका लागि परियोजना हरुको विकास गरिनेछ ।
कार्यक्रमलाई सम्वोधन गर्दै बुढानिलकण्ठ नगरपालिका नगरप्रमुख मिठाराम अधिकारीले इतिहास देखि चल्दै आएको नेपाल र चीन बीचको दौत्य सम्वन्धलाई नयाँ स्वरुपबाट परिभाषित गरी सहकार्यको यात्रा अगाडि बढाउनु पर्ने बिचार व्यक्त गरेका थिए। बागमती प्रदेश सांसद जयराम थापाले समग्रतामा नेपाल र चीनबीचको सांस्कृतिक सहकार्य र विकासमा सहकार्य गर्न आफु इच्छुक रहेको विचार ब्यक्त गरे। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले मुख्यत उद्यमशीलता विकास, फोहोरमैला ब्यवस्थापन र पर्यटन विकासमा सहकार्य गरेर कार्य गर्ने बिषयमा जोड दिए ।
चिनियाँ प्रतिनिधिले आईपिडिएफका प्रतिनिधिहरुसंग सल्लाह तथा बुढानिलकण्ठ नगरपालिका र चिनको १० वटा नगरपालिका संग भगेनी सम्बन्ध कायम गरि अध्यन अबलोकन सहित एक बिज्ञ टोलि छिट्टै चिनको निमन्त्रणामा भ्रमण गर्ने गरि तय गरिएको आइपिडिएफका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगानाले जानकारी गराए । बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, बागमती प्रदेश सांसद जयराम थापा, बुनपा प्रमुख प्रशाशकीय अधिकृत तुल्सीराम अर्यालको सहजीकरणमा आइपिडिएफ र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबीच सम्झौता सम्पन्न गरिएको हो ।
परियोजनाको विकास र विस्तारमा बुढानिलकण्ठ नगरपालिकाले सहजीकरण र सहयोग गर्ने प्रतिवद्धता जनाइएको थियो । आइपिडिएफका केन्द्रीय अध्यक्ष् मुकुन्द ढुंगाना , महासचिव कमल कार्की, सदस्य सचिव द्रोण पराजुली र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाका तर्फबाट महासचिव होङ होङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
डीबी क्षेत्री माओवादी केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा दवर बहादुर क्षेत्री (डीबी क्षेत्री) मनोनीत भएका छन् । पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) को वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो । प्रवासमा रहेर उनले पार्टीका लागि खेलेको भूमिकालाई उच्च मूल्यांक गर्दै केन्द्रीय सदस्यमा मनोनीत गरिएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ। ओमानलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका क्षेत्री प्रवासमा पार्टीको संगठन विस्तारमा सक्रिय हुँदै आएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेता समेत रहेका उनी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहितका लागि सक्रिय रहँदै आएका छन् । उनले श्रमिकको पक्षमा काम गर्नका लागि विगतमा हजारे अभियान समेत सञ्चालन गरेका थिए ।
कीर्तिपुरमा बस दुर्घटना त्रिविका प्राध्यापकको निधन
काठमाडौँ । कीर्तिपुरमा बस दुर्घटना भएको छ । दिउँसो भएको दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी)दिनेशराज मैनालीले बताए। प्रा.डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन्। दुर्घटनामा परेर अरू ३ जना घाइते भएका छन्। घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा घाइते भएका छन्। उनीहरूको ट्रमा सेन्टरमा उपचार हुँदै छ।
जापानी विदेशमन्त्री कामिकावा र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट
काठमाडौं ।जापानी विदेशमन्त्री योको कामिकावाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटका लागि कामिकावा प्रधानमन्त्री कार्यालय सिंहदरबार आएकी थिइन् । भेटका क्रममा दुई देशबीचको मित्रता र आपसी हितका विषयमा छलफल भएको बताइएको छ । जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज नेपाल आएकी हुन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाल भ्रमणमा आएकी हुन् ।
उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार ऐनको दफा १३ को (५) लाई संशोधन गर्न अनुकूल देखिएकाले यो निर्णय गरिएको हो । सो दफामा प्रदेश विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रष्टी)को पदावधि निर्धारणका विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको उनले बताए । उनका अनुसार संरक्षक समितिमा मनोनीत भएका संरक्षण समिति (बोर्ड अफ ट्रष्टी)का पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा २ जनाको पदावधि २ वर्ष, ३ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था रहेको छ । उक्त व्यवस्थालाई संशोधन गरी समितिमा मनोनीत भएका पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा ५ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको उनले बताए । ऐन बमोजिम सदस्यहरूको पदावधिको गणना संरक्षक समितिको पहिलो बैठक बसेको मितिबाट प्रारम्भ भएको मानिने व्यवस्था रहेको छ । बैठकको निर्णयअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले उक्त अध्यादेश जारी गर्नेछन् भने संसद् अधिवेशन आह्वान गरी प्रदेशसभा बैठकमा अध्यादेश पेस गरिने छ । उक्त अध्यादेश जारी भएको ६० दिन भित्र प्रतिस्थापन विधेयक ल्याएर संसद्बाट पारित गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद् बैठकले आगलागीमा परेर निधन भएका ३ जनालाई जनही १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषमार्फत आगलागी नियन्त्रणको क्रममा मृत्यु भएका ललितपुरका २ र रामेछापका एक परिवारलाई एकरएक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
वैशाख २६ पछि मात्रै एमालेले सोडारीलाई विश्वासको मत दिने
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको मत नदिने भएको छ । वैशाख १५ गते भएको बझाङ प्रदेशसभा १ को निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका दमनबहादुर भण्डारी बुवाको किरियामा रहेकाले २६ गतेयता उनी प्रदेश सभामा आउँदैनन् । सोही कारण तत्काल विश्वासको मत दिन नसकिने एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बताएका छन् ।
फुलबारी साँस्कृतिक कार्यक्रम–२०२४ सम्पन्न
दोहा, कतार । फुलबारी रेष्टुरेन्टले आयोजना गरेको फुलबारी साँस्कृतिक कार्यक्रम–२०२४ भब्य रुपमा सम्पन्न भएको छ । मानव सेवा आश्रमको सहयोगार्थ “फुलबारी रेष्टुरेन्टको चाहना, नेपाली कला र संस्कृतिको जगेर्ना” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रम शुक्रबार भब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमको उदघाट्न गर्दे नेपाली राजदुतावास कतारका नियोग उप–प्रमुख कुमार राईले नेपाली कला र संस्कृतीको मुख्य खम्बा भनेको लोक गित संगित भएकोले सबैले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । राईलले आफ्नो मौलिक लोकगित र संगितलाई माया गरेर प्रवासमा रहेर पनि विभिन्न कार्यक्रम आयोजना गरेर नेपाली दाजुभाई तथा दिदिबहिनिहरु सहभागी हुने अवसर दिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले विदेशी भुमिमा रहेर पनि आफ्नो कला र संस्कृतिलाई गायन तथा नृत्य मार्फत जगेर्ना गरिरहेका कलाकारहरुलाई सबैले माया र हौसला दिनुपर्ने भन्दै एनसीसी कतारले सदैव कतारमा रहेका कलाकारलाई प्राथमिकतामा राख्ने बताए। साथै उनले सचेतनामुलक तथा नेपाली मौलिक कला संस्कृतिको जगेर्ना गर्ने खाले कार्यक्रममा एनसीसीले सदैव साथ सहयोग गर्ने बताए। दुई शो मा भएको कार्यक्रमका मुख्य आर्कषक लोकप्रिय लोक तथा दोहोरि गायक पशुपति शर्माका दर्जन बढि गितमा दर्शक झुमेका थिए। शर्माले लोकप्रीय गितहरु खाडि तिरै भेटौला, लुटन सके लुट सके, स्याङजा जाने बाटोमा तनँहु लगाएतमा दर्शकहरुलाई भरपुर नचाएका थिए । कार्यक्रमममा नेपाल देखी आएका चर्चित मोडल तथा डान्सर करिश्मा ढकाल र सविता भुसालले पनि आफ्नो प्रस्तुती राखेका थिए ।नेपाल देखी आएक कलाकार सँगै गैरआवासीय नेपाली तारा –४ का विजेता रुस्तम तामाङ, नृत्य विधामा प्रथम निरु श्रेष्ठ, एनआरएनए द सिङगर सिजन १ की फाइनलिस्ट गुना मगर लगाएत एक दर्जन कलाकारले गायन, नृत्य र हास्य व्यङग्य प्रस्तुती दिएका थिए । कार्यक्रमको अन्त्यमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष समेत रहेका पशुपति शर्मा र प्रतिष्ठानको शाखा कतारका कलाकार रश्मी विश्वकर्मा लगाएतले प्रस्तुत गरेको लाईभ दोहोरी पनि दर्शकको आर्कषण बनेको थियो । सनैयामा स्थीत फुलबारी रेष्टुरेन्टको सभाहलमा रेष्टुरेन्टका सञ्चालक श्याम प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका संयोजक रोशन अर्यालले स्वागत गरेका थिए भने औपचारीक कार्यक्रमको सहजिकरण दिप जंग शाह र सास्कृतिक कार्यक्रमको सञ्चालन भानु शर्माले गरे थियो।
जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा
काठमाडौं। जापानका विदेशमन्त्री खामिखावा योकोले वसन्तपुरको भ्रमण गरेकी छिन्। नेपालको औपचारिक भ्रमणका लागि आइतबार दिउँसो काठमाडौँ आएकी उनी अपराह्न वसन्तपुरमा पुगेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आएकी हुन्। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।
मेयर कप अन्तर विद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक
चितवन। भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने मेयर कप अन्तर विद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक भएको छ । सह-आयोजक तथा प्राविधिक सहयोगी संस्था चितवन जिल्ला फुटबल संघले बैशाख २८ देखि हुने लिगको तालिका सार्वजनिक गरेको हो । लिगमा भरतपुर महानगरपालिका भित्रका २४ विद्यालय सहभागी छन् । जसमा सामुदायिक र संस्थागतबाट समान १२/१२ विद्यालय रहेका छन् । सहभागी २४ विद्यालयलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा दुई सामुदायिक र दुई संस्थागत विद्यालयलाई राखिएको छ । सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । ६ समूहबाट समूह विजेता मध्य उत्कृष्ट ४ विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्ने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । बाँकी २ समूह विजेता र ६ समूह उपविजेता गरी ८ टोली प्रि(क्वाटरफाइनल प्रवेश गर्नेछ । लिगको उद्घाटन बैशाख २८ गते भरतपुर ७ कृष्णपुरको मिनी रंगशालामा हुनेछ । उद्घाटन खेलमा दिउसँसो ४स्३० बजे समूह ए मा रहेका स्टेप बाई स्टेप ईंग्लिश बोर्डिङ स्कुल र ओम शानति एकेडेमी भिड्नेछन् । कृष्णपुरसँगै भरतपुर १९ स्थित शारदानगर मावि शारदानगर र भरतपुर २४ पटिहानीस्थित अमर माविको मैदानमा खेलहरु हुनेछन् । तीन सातासम्म चल्ने लिगको फाइनल खेल जेठ १९ गते हुनेछ । चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले ग्रासरुटदेखि नै फुटबल बिकासका लागि यो लिग महत्त्वपूर्ण कदम हुने बताए । होम एण्ड अवेको आधारमा नेपालमा नै पहिलो पटक यस किसिमको स्कुल लिग आयोजना गरिएको उनको भनाइ थियो । मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी)ले स्कुलस्तरका खेलाडीहरुलाई खेल्ने अवसर प्रदान गर्नका लागि लिग आयोजना गरिएकोले यसमा आफ्नो संस्था जोडिएको बताए । फुटबलमा स्कुल स्तरदेखि नै खेलाडीहरुलाई अवसर दिन सके भविष्यमा राम्रो नतिजा आउन सक्ने उनको भनाइ थियो । यसैबीच सोही कार्यक्रममार्फत प्रशिक्षकहरुलाई नियुक्तिपत्र पनि प्रदान गरिएको छ । लिगमा सहभागी हुने १२ सामुदायिक विद्यालयका लागि १२ जना प्रशिक्षक नियुक्त गरिएको छ । उनीहरुलाई नियुक्तिपत्र प्रदान गरिएको हो । नियुक्त भएका प्रशिक्षकहरुले आइतबारबाट नै आफ्नो जिम्मेवारी सम्हाल्ने खेल संयोजक एवं चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलेले बताए । नियुक्त भएका प्रशिक्षकहरुलाई महानगरले नै सेवा सुविधा उपलब्ध गराउनेछ ।
जलवायु परिवर्तनको असरसँग जुध्न एसियाली विकास बैङ्कले नेपालमा सहयोग बढाउने
काठमाडौं ।दातृ संस्था एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ। एडिबीको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी टिबिलिसीमा रहेका नेपालका अर्थसचिव मधुकुमार मरासिनीसँगको ‘साइड लाइन’ वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाएका हुन्। त्यसअघि सचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेकाले त्यससँग जुध्न सहयोग बढाउन प्रस्ताव गरेका हुन्। सो क्रममा अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताए। भेटका क्रममा सचिव मरासिनीले विकास वित्तको कमी पूरा गर्न थप सहयोगका लागि पनि आग्रह गरे। त्यस्तै उनले अर्थमन्त्री वर्षमान पुनका तर्फबाट अध्यक्ष मासात्सुगुलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन्। जवाफमा अध्यक्ष मासात्सुगुले एडिबीले नेपाललाई प्राथमिकतामा राखेकाले उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएका छन्। नेपाली प्रतिनिधिको टोलीले सोही क्रममा एडिबी उपाध्यक्ष इङ्गमिङ्ग याङ्गसँग पनि भेट गरेको थियो। त्यस क्रममा नेपालमा निजी क्षेत्रको विकास, निजी लगानी विस्तार, पोर्टफोलियो कार्यान्वयनमा सुधार, पाइपलाइनमा रहेका विकास आयोजना मुख्य गरी जलाशययुक्त दुधकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना र बजेटरी सहायताका कार्यक्रमहरू समयमै सम्पन्न गर्नेबारे सहमति भएको अर्थ मन्त्रालय सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिए। उनका अनुसार सहुलीयतपूर्ण स्रोत परिचालन बढाउन कार्यान्वयन क्षमतामा सुधार गर्नुपर्ने तथा जलवायु वित्तमा पहुँच बढाउन दुवै पक्षले सहकार्य गर्ने समझदारी भएको थियो। उपाध्यक्ष याङ्गले विश्व बैङ्गसँगको सहकार्यमा तयार भइरहेको कन्ट्री साझेदारी फ्रेमवर्क अन्य मुलुकका लागि समेत नमुना हुन सक्ने बताए।
माओवादीका विभागीय प्रमुखहरूले दिए अर्थमन्त्रीलाई सुझाव
काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको दल माओवादी केन्द्र सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् । माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पुनलाई आइतबार विभिन्न विभागका प्रमुखसँग छलफल गरेका हुन्। मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुन् ।कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरे । बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक÷सामाजिक रुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरुले सुझाए। कार्यक्रममा अर्थमन्त्री पुनले सहभागितामुलक रुपमा बजेट निर्माण गरिने बताए। गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने उनको भनाइ थियो। आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाए।
काठमाडौंका यी स्थानमा ३ बजेसम्म विद्युत बन्द
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गरी काठमाडौंको कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो । प्राधिकरणका अनुसार यी स्थानमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।
गायिका रचना रिमालले सन्दीपबारे भनिन् -'दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ'
काठमाडौं ।गायिका रचना रिमालले उच्च अदालत पाटनलाई क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा पठाएपछि छिटो निर्णय दिन आग्रह गरेकी छन् । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेसी तोकिएपछि हेर्न नमिल्नेमा राखेसँगै उनले सो आग्रह गरेकी हुन् । अमेरिका र वेस्टइन्डिजमा हुने टी(२० विश्वकपका लागि नेपाली टोलीको अन्तिम सूची सार्वजनिक भइसकेको अवस्थामा सन्दीपबारे रचनाको यस्तो भनाइ आएको हो । यदि उच्च अदालतले सन्दीपको मुद्दामा चाँडो फैसला दिए विश्वकप खेल्न सक्ने सम्भावना जीवितै छ । त्यसका लागि जिल्ला अदालतबाट दोषी ठहर सन्दीपलाई उच्च अदालतले निर्दोष रहेको फैसला दिनु पर्ने हुन्छ । सन्दीपको मुद्दामा उच्चले ढिलाइ गरिरहेका बेला रचनाले दोषी भए कानुन अनुसार सजाय दिन भनेकी छन् । यद्यपि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गौशाला २६ उपनामकी युवतीलाई बलात्कार गरेको प्रकरणमा दोषी ठहर गरिसकेको छ । ‘दोषी भए कानुनअनुसार सजाय देऊ’, उनले सन्दीपलाई फेसबुकमा मेन्सन गर्दै लेखेकी छन्, ‘निर्दोष भए विश्वकप खेल्न देऊ।’ रचनाको यो भनाइ अदालतले सन्दीपको मुद्दा पटक पटक हेर्न नमिल्नेमा पठाइरहेका बेला आएको हो । उच्चमा सन्दीपको मुद्दाको छिनोफानो दिन जिल्लामा जस्तै ढिलाइ हुन थालेको छ । जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको फैसलाप्रति अहसमति जनाउँदै सन्दीपले गरेको पुनरावेदनमा आइतबार सुनुवाइको पेसी तोकिएको थियो । तर न्यायाधीशद्वय को इजलासमा तेस्रो नम्बरमा रहेको यो मुद्दा हेर्न नमिल्नेमा परेको थियो ।
ग्वार्कोमा आगलागी नियन्त्रणमा : एकै परिवारका पाँचजना घाइते, तीन जनाको अवस्था गम्भीर
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेहरूमा सञ्जय गिरी उनकी श्रीमती रूपासहित १५ वर्षीय छोरा नित, आठ वर्षीया छोरी प्रिया र तीन वर्षीया छोरी एलिसा छन् । किस्ट अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । घाइतेमध्ये तीन बालबालिकाको अवस्था गम्भीर रहेको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। आगलागी नियन्त्रणमा लिइएको छ । आगो निभाउन पाँच दमकल प्रयोग गरिएको एसपी सुवेदीले बताए ।
सिटिईभिटिमा आन्दोलनरत कर्मचारी र परिषद् कार्यालयबीच छ बुँदे सहमति
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कार्यालयमा क्रियाशील नेपाल राष्ट्रिय कर्मचारी संगठन र परिषद् कार्यालयबीच सहमति भएको छ । परिषद् कार्यालय र नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रतिनिधिहरुबीच भएको छलफल पश्चात छ बुँदे सहमति भएको हो । कर्मचारीहरुले मिति २०८००/०९।२६ गते विभिन्न माग पेश गरेर आन्दोलन गरेका थिए । यी हुन् सहमतिका बुँदा १. पदपूर्तिको कार्यलाई यथाशीघ्र अघि बढाउने सम्बन्धमा परिषद व्यवस्थापनले आवश्यक प्रक्रिया पूरा गरी १५ दिनभित्र विज्ञापन प्रकाशन गरिनेछ । २.परिषद् सेवामा लामो समयसम्म एउटै कार्यालयरमहाशाखामा कार्यरत कर्मचारीहरुलाई आवश्यकताका आधारमा अन्य महाशाखाहरुमा सरुवा गर्ने कार्यको शुरुवात गरिएको र परिषद् कार्यालयबाट तयार गरिएको कर्मचारी सरुवा तथा जिम्मेवारी सम्बन्धी मापदण्ड २०८१ अनुसार कार्यहरु १० दिनभित्र शुरु गरी कार्यान्वयनमा ल्याउने । ३.सेवा करारमा कार्यरत कर्मचारीहरुलाई महंगी भत्ता उपलब्ध गराउने सम्बन्धमा आगामी परिषद्को बैठकमा प्रस्ताव पेश गरिने र सेवा करारमा कार्यरत कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सम्बन्धमा गठित कार्यटोलीले दिएको सुझाव अनुरुप कार्य प्रक्रिया अगाडि बढाइने । ४.आगामी शैक्षिक सत्रबाट परिषदका आआंगिक शिक्षालयमा स्वास्थ्य तर्फका नर्सिङ्ग, मिडवाइफरी, फार्मेसी लगायतका कार्यक्रमहरु संचालनको लागि आ.व. २०८१/०८२ को परिषद्को बजेट निर्माणमा समावेश भई पेश भएको र शिक्षालयहरुमा नचलेका कार्यक्रमहरु बन्द गरी स्वास्थ्यका कार्यक्रमहरु संचालन गर्नका लागि कार्यटोली बनाई असार मसान्तभित्र कार्य सम्पन्न गर्ने । ५. स्तर निर्धारण तथा सम्बन्धन महाशाखामा पेश भएका प्रस्तावहरुका सम्बन्धमा सो महाशाखाले हालसम्म गरेका कार्यहरुको तालिका सहितको विवरण निर्देशक बैठकमा प्रस्तुत गर्ने र प्रस्तावहरुको दर्ता प्रक्रिया अनुसार कार्य सम्पन्न गर्ने । ६. नेपाल राष्ट्रिय कर्मचारी संगठनले जारी राखेका सबै कार्यक्रमहरु हाललाई स्थगन गर्ने । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी रोहबरमा गरिएको सहमतिपत्रमा नेपाल राष्ट्रिय कर्मचारी संगठन तर्फबाट नेपाल राष्ट्रिय कर्मचारी संगठन प्रा.शि. तथा व्या.ता.परिषद्का अध्यक्ष तेजबहादुर खत्रीले र कार्यालयको तर्फबाट सदस्य सचिव महेश भट्टराईले हस्ताक्षर गरेका छन् ।
सुनको मूल्य स्थिर, कति छ नेपाली बजारमा मूल्य
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार गत हप्ता शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी तोलामा १६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

