छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

उदयपुर / रास– सगरमाथा लोकमार्गअन्र्तगत जलजले–गाईघाट सडकमा सोमवार दिउँसो अटो रिक्साको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–३ मोतीगडानजिकै सडक पार गर्ने क्रममा सदरमुकाम मोतीगडादेखि गाईघाटतर्फ जाँदै गरेको स१ह १२५३ नम्बरको अटो रिक्साको ठक्करबाट घाइते बनेकी सुनसरी बाराह क्षेत्र नगरपालिका–८ की ८० वर्षीया पदमलक्ष्मी श्रेष्ठको ज्यान गएको हो । उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

त्यसैगरी, चौदण्डीगडी नगरपालिका–२ बेल्टार झोडापाटामा सामान्य विवाद हुदा स्थानीय ४५ वर्षीय कैलाश सदाले सोही स्थानका ५५ वर्षीय महिनचन सदालाई दाउरा प्रहार गरी हत्या गरेको छ ।

दुवै जनासँगै बसेर मादक पदार्थ सेवन गर्ने क्रममा विवाद भएपछि उक्त घटना स्थानीयवासी केदार कटुवालले जानकारी दिए । घाइते महिनचनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जानकारी दिए ।

कंगो र सुडान भ्रमणबाट फर्किए प्रधानसेनापति क्षत्री

काठमाडौं, चैत्र २६ । प्रधानसेनापति राजेन्द्र क्षत्री एक साता लामो कंगो र दक्षिणी सुडान भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । शान्ति मिसन अन्तर्गत नेपाली सेना कार्यरत अफ्रिकी मुलुक कंगो र सुडानकोबाट सोमबार प्रधानसेनापति क्षत्री स्वेदश फर्किएका हुन । क्षत्री गत चैत्र १९ गते कंगो र दक्षिण सुडान भ्रमणमा गएका थिए । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले नेपाली कन्टिन्जेण्टको स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए । भ्रमणमा उनले त्यहाँका फोर्स कमाण्डरदेखि राष्ट्र संघका उच्च अधिकारीसँ पनि भेटर्वार्ता गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी ट्वीटरमा

काठमाडौं, चैत  २६ । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिनु भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डटअफएनपी (@PresidentofNP) रहेको छ । राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गर्नुभएको छ । राष्ट्रपति भण्डारीको पहिलो ट्वीटमा भनिएको छ “सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !” संसारका विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्न ट्वीटरको प्रयोग गर्दै आउनुभएको छ । सहजरुपमा जनतासँग संवाद गर्ने थलोका रुपमा ट्वीटरलाई लिइन्छ । “नागरिकसँग प्रत्यक्षरुपमा जोडिने लक्ष्यका साथ राष्ट्रपति भण्डारी पनि ट्वीटरमा जोडिनुभएको हो,” प्रमुख स्वकीय सचिव अधिकारीले भन्नुभयो ।

नेपाली जनताको शक्ति नै ओलीको कूटनीतिक सफलताको आधार : नेता भट्टराई

भक्तपुर । नेकपा एमालेका नेता निर्मल भट्टराईले वर्तमान सरकारले जनताको अपार समर्थन पाएको कारण नै एमालेका अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओलीको भारत भ्रमण इतिहासमै सबैभन्दा सफल भएको बताएका छन् । भक्तपुरमा आयोजित नेकपा एमालेको एक भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले अगाडि भने– ‘ओली नेतृत्वको स्थिर र शक्तिशाली सरकारको सामु भारतीय संस्थापन पक्ष पनि नतमस्तक बन्नुपर्ने अवस्था आयो र नेपाली जनताले शिर झुकाउनु परेन । सो भेलालाई सम्बोधन गर्दै नेकपा एमाले भक्तपुरका कार्यवाहक अध्यक्ष वचन देउजाले पार्टीले जनप्रतिनिधिलाई समयमै नियन्त्रण र निर्देशन नगरे स्थानीय तहमा अराजकता र भ्रष्टाचार बढ्ने खतरा रहेको बताए । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले जनप्रतिनिधिहरुले सम्बन्धित तहको पार्टी कमिटीको निर्णय बमोजिम चल्नुपर्ने बताए । उनले भने– ‘पार्टीको बलमा हामीले चुनाव जितेको हो, अहिले आफू खुशी चल्न मिल्दैन । भेलालाई स्थानीय नेताहरु विष्णु गुमाञ्जु र श्रीकृष्ण बासुले भुकम्पपीडित जनताका गुनासा नगरपालिकाले अविलम्ब सम्बोधन गर्नुपर्ने बताए ।

चट्याङ लागेर वृद्धको मृत्यु

मोरङ । जहदा गाउँपालिका–१ मा चट्याङ लागेर आज बिहान एक वृद्धको मृत्यु भएको छ । खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर सो गाउँपालिका वडा नं ३ का ६० वर्षीय रामु मरण्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो । मृतकको छातीमा चट्याङ लागेको प्रहरीको भनाइ छ । एउटा हातमा मरेको मुसा र अर्को हातमा कोदालो बोकेको अवस्थामा मरण्डीको शव फेला परेको प्रनाउ कोइरालाले जानकारी दिनुभयो । रासस

आगलागी हुँदा चार घर जलेर नष्ट

खोटाङ । आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेमा चार घर जलेर नष्ट भएको छ । स्थानीयवासी पदमराज राईको घरबाट सल्किएको आगोले आइतबार छिमेकी अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट भएको हो । आगलागीमा पदमराजको रु २४ लाख ३० हजार, अकिलराजको रु २५ लाख ७९ हजार, अगमराजको रु २४ लाख ५१ हजार, गमराजको रु २२ लाख ९६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै, गोठ जल्दा गमराजको तीन बंगुर, ११ बाख्रा र आठ पाठा, अकिलराजको एउटा बाख्रा र नौ पाठा, पदमराजको दुई वटा बंगुर र चार वटा बाख्रा र अगमराजको दुईवटा बंगुर जलेर मरेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । आगलागीबाट बिचल्लीमा परेका पीडितलाई आइतबार राति नै पाल, चामल, नूनतेल, तरकारी, चिउरा, चाउचाउलगायत प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताउनुभयो । यसअघि हलेसी बजारमा भएको आगलागीमा १३ घर क्षति भएको थियो । सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित जुरेथुम्का सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । शनिबार बिहानदेखि शुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो । डढेलो क्रमशः खनालबेँसी, ढकाल बेँसी र राईगाउँ हुँदै वनपालातर्फ फैलिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताउनुभयो । जिल्लाकै दोस्रो ठूलो सामुदायिक वनको पूर्वी जुरेथुम्काबाट शुरु भएको भीषण डढेलो क्रमशः पश्चिम जुरेथुम्कातर्फ फैलिँदै गएको छ । डढेलो निभाउने क्रममा स्थानीयवासी विप्लव राई घाइते भएका छन् । डढेलोमा परेर अनुहार पिल्सिएका राईलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको छ । पचास हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा लागेको डढेलोको धुवाँ टाढाटाढाबाट समेत देखिएको छ । शनिबार दिनभर २०० जना स्थानीयवासी भेला भएर निभाउने प्रयास गर्दा पनि डढेलो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले बताएका छन् । जंगल सकिएपछि मात्र डढेलो आफँै नियन्त्रणमा आउने अवस्था देखिएको छ । सुक्खा मौसम भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको हो । रासस

मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट, यस्तो भयो सहमति

काठमाडौं, चैत २६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एड्मिनिष्ट्रेसन ट्रेड एण्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ । सिंहदरबारस्थित मन्त्री यादवको सचिवालयमा आज भएको भेटवार्तामा मन्त्री यादव र प्रतिनिधिमण्डलबीच उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल भएको मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री यादवले नेपाल राजनीतिक संक्रमण अन्त्य भई आर्थिक समृद्धि र विकासको मार्गमा अगाडि बढेको बताउनुभएको थियो । उहाँले चीनको आर्थिक विकासमा आफूलाई खुशी लागेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि पनि सहयोग गर्न आग्रहसमेत गर्नुभयो । मन्त्री यादवले गत वर्ष नेपाल सरकारको आपूर्ति मन्त्रालय र चीनको स्टेट एड्मिनिष्ट्रेसन फर इन्डस्ट्री एण्ड कमर्शबीच भएको उपभोक्ता अधिकार संरक्षणका विषयमा भएको सम्झौतालाई कार्यान्वयनमा गर्ने विषयलाई जोड दिनुभयो । उपभोक्ता हितका विषयमा दुई देशबीचका कानून विषयका जानकारी आदानप्रदान गर्ने र बजारलाई स्वास्थ्य बनाइराख्न निरन्तर छलफल हुनुपर्ने मन्त्री यादवले बताउनुभयो । त्यसैगरी चिनियाँ उपमन्त्रीले चीन–नेपालबीच हजारौँ वर्षको मित्रवत् सम्बन्धलाई विस्तार गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले दुई देशबीचको सहकार्यले एक अर्काको भाग्य निर्माण हुने भन्दै आफ्नो देशले नेपालसँगको सम्बन्धलाई विशेष जोड दिएको बताउनुभयो । उहाँले बजार नियमन र उपभोक्ताका विषयमा दुई देशबीच सहकार्य गरेर अगाडि बढ्ने र त्यस क्षेत्रमा नेपाललाई सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

भक्तपुरमा ९ दिन ८ रातसम्म मनाइने बिस्केट जात्राको तयारी पूरा

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न आज बिहान यहाँ विशाल सद्भाव एवं शान्ति र्याली प्रदर्शन गरिएको छ । यसवर्षको बिस्केट जात्रा २८ गते तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ र आगामी वैशाख ५ गते गहिटी पुर्याएर सम्पन्न हुनेछ । बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्ते ढुङ्गा हान्ने र झगडा गर्ने कार्य हुन नदिन आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा ¥याली निकालिएको छ । ¥यालीले तौमढीबाट शुरु भई नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । स्थानीय बासिन्दा, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, राजनीतिक दल, नागरिक समाज, स्थानीय विभिन्न क्लबका प्रतिनिधि, विद्यार्थी, स्काउट सुरक्षाकर्मीका तीनवटै निकाय, सञ्चारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधि ¥यालीमा सहभागी थिए । तौमढीमै आएको समापन भएको शान्ति ¥यालीपछि सम्बोधन गर्दै प्रजिअ पोखरेलले ऐतिहासिक एवं सांस्कृतिक महत्वको जात्रालाई शान्तिपूर्ण रुपमा मनाउनु पर्ने र ढुङ्गा हान्नेलाई प्रशासनले कुनै हालतमा नछाड्ने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताउनुभयो । उहाँले यसवर्ष जात्रालाई शान्ति पूर्ण बनाउन ३४ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गरिएको, जात्रामा एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी खटाउने, मदिरा बिक्री वितरणमा रोक लगाइने र झगडा गर्ने एवं ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गरिने बताउनुभयो । त्यसैगरी भोलिबाट शुरु हुने बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले जात्राको आवश्यक सबै तयारी पूरा गरेको बताउँदै जात्रा १ बजेबाटै सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । रासस

मदिरा ओसारपसारमा स‌ंलग्न ६ जना पक्राउ

राजविराज । नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बाट आइतबार साँझ पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले अवैध रुपमा मदिरा ओसारपसार गर्ने क्रममा भारतको मधुवनी बस्ने ३१ वर्षीय वीरेन्द्र साह, २५ वर्षीय बैजु मण्डल, २५ वर्षीय सुरेन्द्र यादव, २० वर्षीय मुकेश मण्डल, १८ वर्षीय पवनकुमार यादव र सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बस्ने ४२ वर्षीय पुतौल सिंह भन्ने सन्तोषकुमार सिंहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो । भारतीय नम्बरको मोटरसाइकलमा मदिरा राखी भारततर्फ निकासी गरिरहेको अवस्थामा सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ स्थित रामप्रसाद सिंहको घरमा ठूलो परिमाणका विभिन्न ब्राण्डका मदिरा भण्डारण गरिराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका मदिरा करीब रु ६ लाख मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मानिससहित मदिरालाई राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । रासस

सिन्धुपाल्चोकमा बोलेरो र बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

मेलम्ची, चैत २६ । सिन्धुपाल्चोकमा गए राति बोलेरो र बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको इप्रका मेलम्चीले जानकारी दिएको छ । आइतबार बेलुका ८ बजे मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा१८च ४६९९ नम्बरको बोलेरो गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा परी ३५ वर्षीय चालक मेलम्ची नगरपालिका–९ ज्यामिरेका सुरेश तामाङ, ज्यामिरेकै ४२ वर्षीय मोती अधिकारी र १२ वर्षीय बालक कमल स्याङ्बोको घटनास्थलमा नै मृत्यु भएको मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताए । बढी लोड बोकेका कारण मोडमा ब्रेक नलागेर गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । त्यस्तै हेलम्बु गाउँपालिका–१ तिम्बुमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाडौँबाट हेलम्बुको तिम्बुका लागि छुटेको बा२ख ६३६५ नम्बरको हेलम्बु यातायातको बस गएराति दुर्घटना भएको हो । राति १० बजेतिर तिम्बु बसपार्क नजिकै दुर्घटना भएको हो । दुर्घटनामा बसका सहचालक इन्द्रावती गाउँपालिका–३ बाँडेगाउँका महेन्द्र भुजेलको मृत्यु भएको छ भने चालक फरार रहेको प्रहरीले जनाकारी दिएको छ । बसमा सवार अन्य चार जना घाइतेलाई उपचारका लागि आइतबार राति नै धुलिखेल अस्पताल लगिएको छ भने घटनाको अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

यो वर्ष २२६ आरोही सगरमाथा चढ्दै

काठमाडौं, चैत २५ । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ४५ समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिने ४५ मध्ये २३ वटा समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गएका छन् । सगरमाथा चढ्न मात्रै २३ समूहका २२६ आरोहीले आरोहणको अनुमति लिएको विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सगरमाथा, अन्नपूर्ण, आमादब्लमलगायत हिमाल आरोहणमा स्वदेशी तथा विदेशी आरोही गएका छन् । विभागले आरोहणका लागि अहिलेसम्म ३८ जना सम्पर्क अधिकृत खटाइसकेको छ । छ हजार ५०० मिटर माथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । महानिर्देशक भट्टराईले आरोही धमाधम गन्तव्यतर्फ जान थालेका छन् । यो याममा अझै थुप्रै आरोही हिमाल चढ्न आउने अनुमान गरिएको छ ।

यातनाको क्षतिपूर्ति माग्दै प्रहरीविरुद्ध मुद्दा

बाँके, चैत्र २५ । प्रहरीले हिरासतमा शारिरीक र मानसिक यातना दिएको भन्दै बाँकेको भुजाईगाँउका एक युवाले आइतबार मुद्दा दायर गरेका छन् । भुजाईगाँउका भुविन थापाले यातनाको क्षतिपूर्तिबापत एक लाख रुपैयाँ क्षतिपूर्ति माग्दै बाँके जिल्ला अदालतमा आज मुद्दा दायर गरेका हुन् । मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँके र सोही कार्यालयका असाई राजेन्द्र पुजारालाई विपक्षी बनाइएको छ । फिरादपत्रमा यातना क्षतिपूर्ति मुद्दामा यातनाको कारणले पुग्न गएको क्षति र भविष्यमा पुग्न जाने क्षतिको समेत यथोचित मूल्यांकन र विचार गरी यातनासम्वन्धि क्षतिपूर्ति ऐन २०५३ को दफा ३(१) बमोजिम एक लाख रुपैयाँ अर्थात् हदैसम्मको क्षतिपूर्ति माग गरिएको छ । साथै, कुटपिट तथा यातनामा संलग्न प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली २०४९ बमोजिम हदैसम्मको कारवाहीको माग गरिएको छ । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को कानूनी सहयोगमा मुद्दा दर्ता गरिएको थर्ड एलायन्सका नेपालगंज प्रमुख आलम खानले बताउनु भयो । मोबाईल चोरीको अभियोगमा पक्राउ परेका थापालाई हिरासतमा दिइएको यातनाका कारण हिप पुरै निलडाप परेको छ भने हिडडुल गर्न समेत समस्या भएको छ । भने यातनाका कारण, छाती, ढाड र खुट्टामा पनि चोट लागेको छ । मुद्दा दर्ता गराउन थर्ड एलायन्सका प्रमुख आलम खान र अधिवक्ता विश्वजीत तिवारी बाँके जिल्ला अदालत गएका थिए ।

काठमाडौं–सुर्खेत हवाई उडानको भाडा निर्धारण

काठमाडौं, चैत्र २५ । काठमाडौं–सुर्खेत सिधा हवाई सेवाका लागि भाडादर तोकिएको छ । लामो समयदेखि अवरुद्ध काठमाडौं–सुर्खेत हवाई सेवा केही दिनअघिदेखि सुचारु भएको हो । कर्णाली प्रदेशलाई हवाइमार्गबाट काठमाडौंसँग जोड्न केही समय पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पहल गरेका थिए । नयाँ भाडादर अनुसार काठमाडौंबाट सुर्खेत सात हजार पाचँ सय र सुर्खेतबाट काठमाडौं सात हजार चार सय भाडादर कायम गरिएको छ। यसअघि सुर्खेत काठमाडौं सिधा हवाई सेवा नहुँदा सेवाग्राहीले सास्ती भोग्दै आएका थिए । सुर्खेतबात काठमाडौ जादाँ वा काठमाडौंबाट सुर्खेत जादा यात्रुले नेपालगञ्जसम्म हवाई सेवा उपयोग गर्दथ्ये । तर सिधा हवाई सेवा शुरु भएपछि यात्रा सहज र छिटो भएपनि यात्रुले मंहगो भाडा तिर्नु पर्ने भएको छ । अहिले बुद्ध एयरले र नेपाल एयरलाइन्सले काठमाडौं–सुर्खेत सिधा हवाई सेवा शुरु गरेका छन् ।

सम्वन्ध विच्छेदका मुद्दा ह्वात्तै बढे

वागलुङ । जिल्लामा पछिल्लो समय सम्बन्ध बिच्छेदका घटनाहरुमा बृद्धि भएको छ । लोग्ने वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै सम्बन्ध बिच्छेदका घटना पनि बढेक ेतथ्याङ्कले देखाएको छ । नेपालको महिलामैत्री कानूनले पनि सम्वन्ध बिच्छेदका घटनाहरु बढ्नुमा सहयोग पुगेको दाबी गरिएको छ । यसरी सम्वन्ध बिच्छेदका घटनाहरु दिनप्रतिदिन बढ्दै जाँदा समाज अराजकतातिर जाने खतरा बढेको जानकारहरु बताउछन् । वागलुङ जिल्ला अदालतमा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सर्वाधिक सम्वन्ध बिच्छेदका मुद्दा परेको छ । अदालतका अनुसार उक्त समयमा सम्वन्ध बिच्छेदका ७६ मुद्दा परेको हो । महिलाका तर्फबाट ७४ र पुरुषका तर्फबाट २ सम्वन्ध बिच्छेदका मुद्दा दायर भएकोमा सबै फछ्यौट भएको अदालतले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा यो संख्या अझै बढ्ने बताइएको छ । वागलुङ जिल्ला अदालतबाट प्राप्त तथ्यांक अनुसार गत आबको जिम्मेवारी सरेको १२७ र यहि चैत १९ गतेसम्म परेका २७५ गरी जम्मा ४०२ मुद्दाहरुमा २१० फछ्यौट भएका छन् । तथ्यांक अनुसार २ वर्ष नाघेको एउटा मुद्दा फछ्यौट हुन बाँकी रहेको छ । फौजदारीतर्फ गत आबबाट सरेको १७ र हालसम्म परेको ६२ गरी जम्मा ७९ मुद्दाहरुमध्ये ४० फछ्यौट भएका छन् । भने देवानीतर्फ गत वर्षको जिम्मेवारी सरेको ६४ र हालसम्म परेको ८७ गरी १५१ मुद्दाहरुमा ५९ थान फछ्यौट भएका छन् । यसैगरी देवानी फौजदारीतर्फ गत आवको बाँकी ४६ र हाल सम्म परेको १२५ समेत जम्मा १७१ मध्य चैत १९ गतेसम्म ११० फछ्र्यौट भएको तथ्यांकले देखाएको छ । जिल्ला अदालतबाट गत चैत १९ गते सम्ममा १५ जबरजस्ती करणी र कर्तव्य ज्यान सम्वन्धी ४ मुद्दा फछ्यौट भएको श्रोतले बतायो । श्रोतका अनुसार घरेलु हिँशाका ७, बहु बिबाह ४, अंश सम्वन्धी ४७ मुद्दा छिनिएको छ ।

सांसदलाई प्रमुख तीन विद्यार्थी संगठनको पत्र

काठमाडौं, चैत्र २५ । शिक्षा ऐनको नवौं संशोधनलाई दशौं संशोधन मार्फत अविलम्ब सच्याउन माग गर्दै आएका प्रमुख तीन विद्यार्थी संगठनले संसदलाई पत्र लेखेका छन् । एमाले, कांग्रेस र माओवादी केन्द्र निकट क्रमशः अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले शिक्षा ऐनको नवौं संशोधनमा भएको ‘त्रृटी’ लाई दशौं संशोधन मार्फत सच्याउन आग्रह गर्दै आइतबार संघीय संसदका सदस्यलाई पत्र पठाएका हुन । फास्ट ट्रयाकबाट शिक्षा ऐनको दशौं संशोधन ल्याई नवौं संशोधनलाई खारेज गर्न ती विद्यार्थी संगठनले सांसदहरुले पत्रमा भनेका छन् । नवौं संशोधनले शिक्षक लाइसेन्स लिएर शिक्षकको जागिर खाने प्रतिक्षामा बसेकालाई अन्याय गरेको ती संगठनहरुको दाबी छ । पत्रमा अनेरास्ववियुकी अध्यक्ष नविना लामा, नेविसंघ अध्यक्ष नैनसिंह महर र अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङको हस्ताक्षर छ ।

ढिस्काले पुरिएर एक महिलाको मृत्यु

मोरङ । लेटाङ नगरपालिका–९ बस्ने २४ वर्षीया भगिमाया दुलालको आज बिहान माटाको ढिस्काले पुरिएर मृत्यु भएको छ । घर नजिकै बारकोठे खोल्सीमा रातो माटो खन्ने क्रममा माथिबाट झरेको माटाको ढिस्काले पुर्दा उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । रासस