स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न हामी तयार छौँ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न सरकार तयार रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको ‘मेक इन नेपाल स्वदेशी समिट २०२४’ मा बोल्दै मन्त्री भण्डारीले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने बताए । “स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न हामी तयार छौँ । बजेजमा उद्योग क्षेत्रमा के गर्न सकिन्छ भनेर हामी अर्थमन्त्रीसँग छलफल गर्नेछौँ,” मन्त्री भण्डारीले भने, “स्वदेशी सामान गरिद गर्न परिसंघले आग्रह गर्दै आएको छ । त्यसमा सरकार सकारात्मक छ ।”


जिडिपीमा उद्योगको योगदान बढाउन सरकार तयार रहेको पनि मन्त्री भण्डारीले बताए । “उद्योग क्षेत्रको योगदान जिडिपीमा घट्दै गएको छ,” मन्त्री भण्डारीले भने, “जिडिपीमा उद्योग क्षेत्रको योगदान बढाउन ठूलो परिवर्तन आवश्यक छ । यसमा सरकारले आवश्यक सहजीकरण गर्नेछ ।”

अहिलेका रूग्न उद्योग सरकारले चलाउने हो वा के गर्ने भनेर बहस आवश्यक रहेको उनले बताए । सरकारले उद्योगलाई सहजीकरण गर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ । अहिले कानुन उद्योगमैत्री बन्दै गएको बताए ।

घट्यो पेट्रोलियम पदार्थको खपत

काठमाडौं। बजारमा पेट्रोलियम पदार्थको खपत घटेको छ । नेपाल आयल निगममा गत आवको तुलनामा चालु आवको नौ महिनामा डिजेल चार प्रतिशत, मटितेल ११ प्रतिशत र खाना पकाउने एलपी ग्यास ५.३३ प्रतिशतले कमी आएको हो । पेट्रोलको खपत १.६१ प्रतिशत र हवाई इन्धनको खपत १७.६७ प्रतिशतले बढेको निगमले तथ्याङ्क छ। विद्युतिय गाडि, चुलोको प्रयोग बढेसँगै डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको खपतमा कमी आएको हो ।बजारमा माग कम हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको हो । इन्धनको खपत कम हुँदा आयातमा समेत कमी आएको छ ।

सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ । सोमबार निर्वाचन आयोगबाट राजनीतिक दल दर्ताको प्रमाणपत्र पाएपछि बसेको संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो । आइतबारमात्र तत्कालीन जनता समाजवादी पार्टी नेपालका सात सांसदको समर्थनमा पार्टी विभाजन भएर नयाँ दल दर्ता भएको हो । 

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख २५ गते मंगलबार सन् २०२४ मे ७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ६१ पैसा र बिक्री दर १४४ रुपैयाँ २५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६४ पैसा र बिक्री दर १६८ रुपैयाँ ३९ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

देशका यी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही गण्डकीका केही साथै वाग्मती र कोसी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको विभागले बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको  छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशमा आर्थिक मन्दी छैन, व्यावसायिक आत्मबल कमजोर भएको हो  : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा अहिले आर्थिक मन्दी नरहेको बताएका छन्। लोकान्तर सञ्चार प्रालिको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित आर्थिक बहसमा गभर्नर अधिकारीले व्यवसायीहरूमा आत्मबल कमजोर भएको बताएका हुन् । अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक रहेकाले बताउँदै उनले देशमा बाहिर चर्चामा भएजस्तो मन्दी नरहेको बताए । “अर्थतन्त्रका सूचकहरूले हामी अप्ठेरोमा नरहेको देखाउँछन् । हाम्रो चालु खाता बचतमा छ,” उनले भने, “विदेशी मुद्रा सञ्चिति झन्डै १४ महिना धान्ने छ । बाह्य क्षेत्र पनि कम्फर्ट छ ।” उनले भुइँचालो, कोभिडजस्तो अवस्थामा पनि बैंकिङ क्षेत्रमा धेरै समस्या नआएको बताए । अप्ठेरो अवस्थालाई पनि बैंकिङ क्षेत्रले धान्दै आएको भन्दै गभर्नर अधिकारीले अहिले रिकभरीमा समस्या हुँदा पनि वित्तीय संस्थाहरूको स्वस्थतामा कुनै समस्या नरहेको बताए ।   “अहिले हाम्रो अर्थतन्त्रमा कुनै क्राइसिस छैन,” उनले भने, “कोही उद्योगी र व्यापारीको आत्मविश्वासमा कमी आएको हुन सक्छ । हामीले धेरै अप्ठेरो अवस्था पार गरेर यहाँसम्म आएका हौँ ।” अहिलेको अवस्थामा माग घटेकोले केही दबाब सिर्जनाको अवस्था रहेको बताए ।

गण्डकीमा एमालेका २ मन्त्री थप

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिमण्डल विस्तार गरेका छन्। विश्वासको मत लिएको भोलिपल्टै उनले मन्त्रिमण्डल विस्तार गरेका हुन्। मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थपेका हुन्। अधिकारीले यसअघि आफू पहिलोपटक मुख्यमन्त्री बन्दा मन्त्री बनेका दुवैजनालाई दोहोर्‍याएका छन् । कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दास मन्त्री नियुक्त भएका हुन्। गुरुङले ऊर्जा र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । गुरुङ यसअघि कृषि र सुन्दास अर्थमन्त्री थिइन्।

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक सेवा सुरु

काठमाडौं। राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिकरुपमा आजबाट सेवा सुरु गरेको छ । आज काठमाडौंमा आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रिता पोखरेलले आजबाट औपचारिकरुपमा सेवा सुरु भएको जानकारी दिए।  “हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानुनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ”, उनले भने । उनले केही समयपछि चालक र यात्रुको बिमा पनि गरिने बताए। राइडरहरुले सेवा उपयोग गरे बापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्नेसमेत जानकारी दिए।  कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा काठमाडौँ, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने कम्पनीको भनाइ छ । कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलको भनाइ छ । इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिकरुपमा नेपालमा सुरु गर्न पाउँदा हर्षित रहेको बताए । उनले भने, “हाम्रो लागि नेपाली बजार अत्यन्तै महत्त्वपूर्ण छ र हाम्रा सेवाहरूले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।” रासस

नयाँ दल दर्ताको निवेदन अवैधानिक भएको जसपाको जिकिर

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टी विभाजनका लागि दिइएको निवेदनलाई अवैधानिक भनेको छ । आइतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको थियो । आज, सोमबार जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका हुन् । ‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई अवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ ।’

पाँच वर्षपछि युरोप भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ पाँच वर्षपछि युरोपको सद्भावना भ्रमणमा निस्केका छन् । चीन र बेल्जियमबीच आर्थिक तनाव बढिरहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी युरोप भ्रमणमा निस्किएका हुन्। उनले सोमबार फ्रान्स पुगेर समकक्षी इम्यानुअल म्याक्रोँ र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोनडिअरसँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी सर्बिया र हंगेरी जाने कार्यक्रम छ । सर्बिया र हंगेरी रूसलाई सहयोग गरिरहेका युरोका देश हुन् । चीनका राष्ट्रपति सी तीन उद्देश्यले युरोप भ्रममा निस्किएको विज्ञहरुको मत छ । पहिलो, युरोप र चीनबीच रूस(युक्रेन युद्धपछिको सम्बन्ध सुधार । दोस्रो, आर्थिक तथा सुरक्षासम्बन्धी एजेण्डामा छलफल र तेस्रो सर्बिया र हंगेरीसँग चीनको समेत बलियो सम्बन्ध रहेको सन्देश प्रवाह । भूराजनीतिक मामिलाका जानकार म्याट जेरासिमले अलजजिरासँग भनेका छन्, ‘सीले युरोप पुगेर सम्बन्ध सुधारसँगै  आर्थिक र सुरक्षा मामिलामा युरोपियन चासोलाई सम्बोधन गर्न खोजेका छन् । सर्बिया र हंगेरीसँग आफ्नो पनि राम्रो सम्बन्ध रहेको सन्देश उनले दिन चाहेका छन् ।’ बेइजिङ र पेरिसले कुटनीतिक वर्षगाँठको ६ दशक समेत मनाउँदैछन् । विश्व सुरक्षा मामिलामा दुई युद्धका कारण चुनौती थपिएको अवस्थामा सी युरोपतर्फ निस्किएका हुन् । सीको भ्रमणमा अन्तर्राष्ट्रिय संकटबारे छलफल हुने फ्रान्सका अधिकारीहरूले बताएका छन् । ‘दुई मुलुकबीच अर्न्तराष्ट्रिय संकट, मध्यपूर्व र रूस(युक्रेन युद्धका सवालमा छलफल हुनेछ’, फ्रान्सेली पक्षको भनाइ उद्दृत गर्दै अलजजिराले लेखेको छ। म्याक्रोँ युरोपको सुरक्षामा सबैभन्दा प्रखर रूपमा अघि सरिरहेका छन् । उनले सीलाई रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न दबाबका लागि आग्रह गर्ने अपेक्षा राखिएको छ । यस युद्धले युरोपको अस्तित्वमा चुनौती थपेको म्याक्रोँले इकोनोमिस्टसँगको कुराकानीमा भनेका छन् । ‘यो युद्ध रूसले जितेको अवस्थामा युरोप सुरक्षित हुनेछैन । रूस यहीसम्म रोकिन्छ भन्ने के सुनिश्चितता छ रु युक्रेनलाई हमला गरेको रूसले मोल्डोभमा, रोमानिया, पोल्याण्ड वा लिथुआनियालाई उसै छोड्ला र ?’ म्याक्रोँको प्रश्न थियो । यो भेटमा युरोपेली युनियनले युद्धबारे मात्रै नभएर चीनले विद्युतीय सवारी साधनमा दिएको अनुदानले थपेको चुनौतीबारे समेत छलफल गर्नेछ । चिनियाँ घरेलु अनुदानले युरोपेली कम्पनीहरूले बजारमा प्रतिस्पर्धा गर्न चुनौती थपिने भएकाले यसमा छलफल हुने भएको हो । सी युरोप जानुअघि विदेश मन्त्रालयका प्रवक्ता ली जिआनले युरोपसँग रणनीतिक तथा आर्थिक साझेदारीका लागि रचनात्मक छलफल हुने बताएका थिए। ‘हामी फ्रान्स र समग्र युरोपसँग रणनीतिक साझेदारीको पक्षमा छौँ । आपसी हित तथा विश्व शान्तिका  लागि दीर्घकालीन सहकार्यको प्रस्ताव सहित राष्ट्रपति भ्रमणमा निस्किनुभएको छ’, उनले भनेका थिए। सोमबार म्याक्रोँले समकक्षी सी र चिनियाँ फर्स्ट लेडी पेङ लीयुआनलाई राजकीय भोजमा सरिक गराउनेछन् । त्यसपछि मंगलबार उनले  हिमाल दृश्यावलोकनका लागि लाने कार्यक्रम छ। त्यसपछि उनी सर्बिया पुग्नेछन्। सर्बिया युरोपेली युनियनको सदस्य राष्ट्र भने होइन। सर्बियामा चीनको ठूलो लगानी रहेको छ। मे ८ मा सीले हंगेरीको बुडापेस्ट पुगेर युरोपको यात्रा अन्त्य गर्नेछन् । उनले त्यहाँ राष्ट्रपति भिक्टर ओरबानसँग भेट गर्नेछन्। हंगेरीले लिएको नीतिबारे युरोपेली युनियनका सदस्यहरूले प्रश्न उठाइरहेका छन् । मस्को र बेइजिङसँग हंगेरीको हिमचिमबारे प्रश्न उठ्ने गरेको छ । अझ उसले सुरक्षा सहकार्य सम्बन्धमा मस्को र बेइजिङसँग सहमति गरेपछि युरोपेली युनियनमा हंगेरीप्रति असन्तुष्टि बढ्दै आएको छ । हंगेरी बीआरआईमा समेत संलग्न राष्ट्र हो । युरोप भ्रमणका दौरान मानवअधिकारका सवालमा पनि छलफल हुनेछ । करिब १० लाख तिब्बती बालबालिका शिक्षाबाट बञ्चित भएको उइगुर समुदायप्रति दमन भएको लगायतका विषयमा पनि छलफल गर्ने तयारी युरोपेली आयोगको छ । विशेषगरी रूस युक्रेन युद्ध रोक्नका लागि थप पहल लिन म्याक्रोंले दबाब दिनसक्ने अपेक्षा राखिएको छ ।

हिरासतमुक्त भए नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले

काठमाडौँ । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले हिरासतमुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले आवश्यक परेका बेला उपस्थित हुने गरी हाजिरी जमानतमा छाड्ने निर्णय गरेपछि हिरासतबाट मुक्त गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्रोतले जानकारी दिएको छ । मानव बेचबिखनको आरोपमा फरार रहेकाहरूलाई खोजी गर्ने क्रममा उनलाई ब्युरोले २८ चैतमा पक्राउ गरेको थियो । स्रोतका अनुसार, घलेविरुद्ध २०७३ सालमै मुद्दा दर्ता भइसकेको थियो ।

कतार एयरवेजको जहाजमा धुवाँ देखियो

काठमाडौं । काठमाडौंबाट कतारका लागि उड्न लागेको कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ । विमानको पुच्छरमा धुवाँ देखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए ।  उड्नका लागी पुसब्याक गर्दा धुवाँ देखिएपछि चेकजाँच गरिएको उनले बताए । उनका अनुसार जहाजमा अरू समस्या केही छैन, जहाज दोहा उड्ने तयारीमा छ ।

एकीकृत समाजवादी संसदीय दलको बैठक जारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको सकर हलमा सुरु भएको हो।    बैठकमा संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुने बताइएको छ। संसद्को वर्षे अधिवेशन वैशाख २८ गतेबाट सुरु हुँदैछ । 

पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा चलाउन प्रमाण नै छैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचल्ने भएको छ।जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले उनीसहित ५ जनाविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएपछि मुद्दा नचलाउने निर्णय गरेको हो। निर्णय अनुसार सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टङ्कबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अलि कार्कीविरुद्ध मुद्दा नचल्ने भएको हो। अनुसन्धानको क्रममा बुझिएको प्रमाणका आधारमा मुद्दा चलाउनुपर्ने आधारहरु नदेखिएकाले यो निर्णय गरिएको वकिलको कार्यालयको भनाई छ।साथै मृतकका परिवारले समेत तात्कालिन समयमा आफुहरुले मुद्धा दायर गर्दा पञ्चा सिंहलाई पनि घटनामा संलग्न भनि मुछेको भएपनि सो घटनामा उनको संलग्नता नरहेको बयान दिएका छन् । कालिकोटमा २६ फागुन २०६५ मा राजबहादुर मल्लको खुकुरी प्रहार गरी हत्या भएको थियो। यो प्रकरणमा १५ वर्षपछि अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जी जारी गरेको थियो।

काठमाडौँमा पम्पबाट पानी तान्दा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका-६ साँखुमा पम्पबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।काभ्रे मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट बस्ने ३० वर्षीया मिनिषा कोइरालाको सख्वाँ डेरीमा करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।  विद्युत् सट भई अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि

काठमाडौं । बालबालिकाको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को छैटौं संस्करणको उपाधि निहारा तामाङ तथा अदिती बाह्रकोटी  (जुनियरतर्फ) ले जितेका छन् । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्स प्रालि, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको यो प्रतियोगितामा डेनिषा श्रेष्ठले फस्ट रनर्स अप, आर्या कोइरालाले सेकेण्ड रनर्सअप, दिबिया कोङ्ग्रेनले थर्ड रनर्सअप तथा छिरिङ लामाले फोर्थ रनर्सअपको उपाधि जितेका छन् । प्रतियोगितामा आर्या कोइरालाले मोस्ट पपुलर अवार्ड जितिन् भने आईएमई पे पब्लिक च्वाइसको अवार्ड बालिकातर्फ दिबिया कोङ्ग्रेन तथा बालकतर्फ स्पर्श मिश्र गराचले जिते । प्रतियोगितामा स्पर्श मिश्र गराच तथा मिरन श्रेष्टले लिटिल स्टारको उपाधि समेत जिते भने मिर्जन श्रेष्ठले लिटिल प्रिन्स तथा श्रीया कटुवालले लिटिल प्रिन्सेसको उपाधि जितिन् । प्रतियोगिताका अन्य शीर्षक उपाधितर्फ मिर्जन श्रेष्ठले मोस्ट क्यूट, आर्या कोइरालाले बेस्ट वाक, डेनिषा श्रेष्ठले बेस्ट स्माइल, अदिति बाह्रकोटीले बेस्ट स्पिच, मिरन श्रेष्ठले बेस्ट सिंगर, छिरिङ लामाले मोस्ट स्मार्ट, स्पर्श मिश्र गराचले मोस्ट हेण्डसम, दिबिया कोङ्ग्रेनले मोसट इलिगेन्ट, निहारा तामाङले मोस्ट ट्यालेन्टेड, श्रीया कटुवालले मोस्ट फोटोजेनिक तथा डेनिशा श्रेष्ठले फेसबुक स्टारको उपाधि जित्न सफल भए । प्रतियोगितामा कलाकार गोपाल ढकाल, शिशिर खाती, सामाजिक अभियन्ता सबित बज्राचार्य, डिजाइनर ज्वालाराज पोखरेल, कलाकार अनुपम श्रेष्ठ तथा मोडल अपेक्षा शेरचन निर्णायकको रुपमा रहेका थिए ।