ग्यास बोकेको बुलेट दुर्घटना, हाई अलर्टमा प्रहरी

दमौली, वैशाख १२ । पृथ्वी राजमार्गको दमौली डुम्रे सडकखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज बिहान ग्यास बोकेको एउटा बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

दुर्घटनामा बुलेटका चालक र सहचालक गम्भीर घाइते भएका छन् ।

भारतको हल्दीबारीबाट कास्कीको गगनगौडाको शक्ति ग्यास कम्पनीका लागि १८ टन खाना पकाउने एलपी ग्यास बोकेको एम एल ओ वान ए ए ओ वान ओ वान नं को बुलेट दुर्घटना हुँदा भारत घर भएका चालक २२ वर्षीय छोटुलाल रुमार र सोही ठाउँका सहचालक २१ वर्षीय नितेशकुमार गम्भीर घाइते भएको प्रहरी उपरीक्षक उमेरराज जोशीले बताउनुभयो ।

घाइते दुवै जनाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । शक्ति ग्यास बोकेको उक्त बुलेट आफैँ अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

बुलेट दुर्घटना भएको ठाउँमा अहिले सुरक्षाकर्मी तैनाथ गरिएको छ । ग्यास पड्कन सक्ने अवस्थालाई मध्यनजर गरी त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो ।

स्थानीय बासिन्दालाई घरदेखि पर बस्न र सलाई, लाइटरजस्तो प्रज्वलनशील वस्तु प्रयोग नगर्न आग्रह गरिएको बताइएको छ । त्यहाँ वरिपरि आगो नबाल्न र घरदेखि टाढा बस्न बस्तीमा सर्कुलर गरिसकेको प्रहरीले जनाएको छ ।

हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर व्यास नगरपालिकाको बारुण यन्त्र तयारी अवस्थामा राखिएको छ भने सो क्षेत्रको विद्युत् लाइन काटिएको प्रहरीले जनाएको छ ।

कास्कीको गगनगौडास्थित शक्ति ग्यास कम्पनीबाट प्राविधिकको टोलीसमेत ग्यास निकाल्न घटनास्थलतर्फ गइसकेको छ । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै त्यस क्षेत्रका बासिन्दालाई सजक र सतर्क गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा र प्रहरी उपरीक्षक जोशीको टोलीले घटनास्थलमा पुगेर निरीक्षण गरी त्यहाँको बस्तुस्थितिबारे जानकारी लिइएको बताइएको छ । (फाइल फाेटाे)

रातो मच्छिन्द्रनाथको रथयात्रा चलिरहँदा ललितपुर नगर नै जात्रामय

ललितपुर । रातो मच्छिन्द्रनाथको रथ यात्रा चलिरहँदा सिङ्गो नगर क्षेत्र जात्रामय बनेको छ । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मच्छिन्द्रनाथको जात्राको अवधिभर विभिन्न स्थानमा रथलाई तानेर पु¥याइन्छ । मच्छिन्द्रनाथको विभिन्न कर्म भइरहँदादेखि नै विभिन्न जातीय समूह जात्राको तयारीमा लाग्छन् । रथयात्रामा पनि उनीहरुका फरक–फरक भूमिका रहेको छ । मच्छिन्द्रनाथको तीन लोकको यात्राअन्तर्गत आजबाट पाताल लोकको भ्रममण शुरु भएको छ । आज रथ सुन्धाराबाट हिँडाए पनि आजै पुग्ने टुङ्गो नहुने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउनुहुन्छ । रथ तानेर आज पु¥याउन नभ्याउँदा भोलिसम्ममा पु¥याउनुपर्छ । उहाँ भन्नुहुन्छ, “आज वैशाख शुक्ल अष्टमीका दिनमा सुन्धाराबाट हिँडाउनुपर्ने भए पनि आजै पुग्ने निधो हुँदैन ।” सुन्धाराबाट हिँडाए पनि राति नपुगे बीचमा कतै अड्याएर राखिने उहाँले बताउनुुभयो । पाताल लोकको रथयात्रा मानिने सुन्धारादेखि लगनखेलसम्मको रथ यात्रा कृषक ललित रथचक्रको स्मरणमा हुन्छ । यसलाई ललितपुरवासीको जात्रा मानिन्छ । बिहीबारबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु भएको हो । पुल्चोकबाट बिहीबार रथलाई गाबहाल पु¥याइएको हो । शुक्रबार गाःबहालबाट मंगलबजारको चारदोबाटो पु¥याइएको थियो । रथलाई विभिन्न स्थानमा परिक्रमा गराउने क्रममा शनिबार सुन्धारा लगिएको थियो । ज्योतिष दैवज्ञ जोशीले त्यही दिन सुन्धारावासी र त्यस वरपरको भेगमा छोयलाबु हुने गरेको बताउनुभयो । कुनै बाधा नपर्दा षष्टीका दिन साँझसम्ममा सुन्धारा पु¥याइने गरिन्छ । उहाँ भन्नुहुन्छ, “सप्तमी तिथिमा (आइतबार) सुन्धारामा मूल जात्रा सम्पन्न भइसकेको छ ।” मंगलबजारको चार दोबाटो (दरबार क्षेत्र जाने चोक) मा पहिले ठूलो खोला रहेको कथन छ । हक नामक खोलामा मच्छिन्द्रनाथको धोती फेराइन्थ्यो । अहिले खोला नभए पनि धोती वा रुमाल फेराउने चलन छ । उहाँ भन्नुहुन्छ, “पञ्चमीका दिनमा गाःबहालबाट हिँडाएर मंगलबजार आसपास नै अड्याउने गरिन्छ ।” पुल्चोकबाट गाबहालसम्मको मच्छिन्द्रनाथको यात्रालाई स्वर्ग लोकको यात्रासमेत भनिन्छ । यो रथयात्रा गुरु बन्दुदत्त बज्राचार्यको नाममा हुने गरेको छ । यसलाई कान्तिपुरवासीको जात्रा मानिन्छ । पहिले काठमाडौँवासीले नै यस खण्डमा रथ तान्ने गर्दथे । गाःबहालबाट सुन्धारासम्मको मत्यलोकको भ्रमण भनिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउनुहुन्छ । यसलाई भक्तपुरवासीको जात्रा मानिन्छ । राजा नरेन्द्रदेवको स्मरणमा यो रथ यात्रा हुने गरेको छ । पहिले भक्तपुरवासी रथ तान्ने आउने गरेको उहाँ बताउनुहुन्छ । अहिले रथयात्रा भर ज्यापु समाज ललितपुरले रथ तान्ने जिम्मेवारी लिएको छ । उहाँ भन्नुहुन्छ, “अहिलेसम्म पनि यहाँसम्मको रथ यात्रालाई भक्तपुरपुरवासीकै जात्राका रुपमा मान्निछ ।” रथलाई लगनखेल पु¥याएको दिन भूतबलि हुने गरेको छ । दशमीका दिन भ्याउँदा त्यही दिन र नभ्याउँदा एकादशीका दिन रथलाई थटी टोलमा पु¥याइन्छ । थटी टोलको मूल जात्रा सकिएको भोलिपल्ट याक मिसा भुजा (एकल महिलाले रथ तान्ने) दिन पर्छ । इटी टोलमा पुगेपछि भने ज्योतिषले दोस्रो चरणको साइत हेरेर मात्रै जावलाखेल पु¥याउने दिनको टुङ्गो लाग्छ । जावलाखेल पुगेको चार दिन पनि भोटो जात्रा सकिन्छ र खटमा राखेर मच्छिन्द्रनाथलाई बुुङ्गमती नै फर्काइन्छ । मच्छिन्द्रनाथको जात्राका बेला भोटो प्रदर्शन गरिने परम्परा छ । सरकारले भोटो जात्राका दिनमा सार्वजनिक बिदासमेत दिँदै आएको छ । कथनअनुसार नाग राजा कर्कोटककी श्रीमतीलाई आँखाको रोग लागेपछि उपचारका लागि नागले वैद्य काम गर्दै आएका एक किसानलाई बोलाए । नागले जसरी भए पनि आफ्नी श्रीमतीको रोग निको पार्नैपर्ने नपारे अनिष्ट हुने बताएपछि वैद्य सङ्कटमा परे । उनले नागकी श्रीमतीको रोग नै पत्ता लगाउन नसकेपछि हात माड्दै बसिरहे । हात माडेका हुनाले यसबाट मयल निस्कियो । उनले त्यही मयललाई औषधि भनेर नागलाई दिए । त्यो औषधिको प्रयोगपछि नागकी श्रीमतीको रोग निको भयो । रोग निको पारिदिएपछि नाग राजाले खुशी हुँदै आफूले लगाइराखेको रत्नजडित भोटो किसानलाई दिए । किसानले सधैँ नै त्यो भोटो लगाएर हिँड्थे । एक दिन किसानले खेतमा भोटो फुकालेर काम गर्दा एउटा भूतले भोटो चोरेर लगेछ । केही समयपछि भएको एक जात्रामा भूत र किसान पनि आएका रहेछन् । जात्रामा भूतले त्योे भोटो लगाएर आएको थियो । भोटो देखेपछि किसान र भूतबीच भोटोको स्वामित्वबारे भएको विवादले झगडाको रुप लियो । केही गरी पनि झगडा साम्य नभएपछि निर्णयका लागि उनीहरु मच्छिन्द्रनाथकहाँ पुगे । मच्छिन्द्रनाथले जसले प्रमाण ल्याउनसक्छ उसैलाई दिने भत्रे निर्णय गरे । तर दुवैले प्रमाण जुटाउन नसकेपछि भोटो मच्छिन्द्रनाथले नै राखे । उहाँ भन्नुहुन्छ, “यो कसको भोटो हो भन्ने साङ्केतिक प्रश्नमा चारैतर्फ भोटो देखाउने चलन रहेको छ ।” मच्छिन्द्रनाथको महास्नानबाट शुरु हुने जात्रा भोटो देखाएसँगै टुङ्गिन्छ । मच्छिन्द्रनाथलाई महिला र पुरुष दुवै रुपमा मानिने भएकाले हिन्दू धार्मिक परम्पराअनुसार ब्राह्मणले महिला र पुरुषलाई गरिने दशकर्म गरिन्छ । बौद्ध धर्मअनुसारका सबै कर्म बज्राचार्यले गर्छन् । विधिवत् रुपमा दशकर्म सकिएपछि मात्रै रथारोहण गराई रथायात्रा शुरु हुन्छ । रासस

साङ्घातिक हमलाको विरोध गर्दै बन्द गरेको नगरपालिकामा अाजदेखि काम सञ्चालन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको प्रमुख मदनसुन्दर श्रेष्ठमाथि शनिबार साँझ उहाँकै निवासमा भएको साङ्घातिक हमलाको विरोध गर्दै बन्द गरिएको नगरपालिकामा आजबाट काम सञ्चालन भएको छ । मध्यपुरथिमि नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाले संयुक्त विज्ञप्तिमार्फत नगरप्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेलार्ई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै आइतबारबाट जिल्लाका सबै नगरपालिकाका काम ठप्प पार्ने निर्णय गरेको थियो । यद्यपि सधैँ काम रोक्दा सेवाग्राही मर्कामा पर्ने भएकाले सेवाग्राहीलाई ध्यानमा राख्दै आजबाट नगरपालिकाको काम नरोक्ने निर्णय सहित सबै नगरपालिकाले काम सञ्चालन गरेको मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो । आक्रमणकारीलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै जनप्रतिनिधिको सुरक्षा माग गरिएको उहाँले बताउनुभयो । यता प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल समक्ष जिल्ला समन्वय समिति, तीन वटा नगरपालिकाका कार्यालयका प्रतिनिधिले आक्रमणकारीलाई कारवाही गर्न, नगरपालिकामा सुरक्षा व्यवस्था गर्न र जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । जिल्ला समन्वय समितिले पत्रकार सम्मेलन नै गरेर प्रमुख श्रेष्ठमाथिको सांघातिक आक्रमणको घोर निन्दा गर्दै २४ घण्टाभित्र आक्रमणकारीलाई पक्राउ गर्न माग गरेको हो । जिसस प्रमुख नवराज गेलालले दिनदहाडै प्रमुखकै घरमा पुगेर उहाँको निजी सवारी साधन तोडफोड गर्दै प्रमुखमाथि सुनियोजित रुपमा आक्रमण भएको बताउँदै आक्रमणकारीलाई पक्राउ गरी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाउन माग गर्नुभयो । पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले निरङ्कुश पञ्चायती व्यवस्था र १० वर्षे जनयुद्धमा समेत प्रभाव नपरेको भक्तपुरमा अहिले राजनीतिमा दरार ल्याउने, नगरपालिका र पार्टीमा फुट ल्याउने तत्वबाट श्रेष्ठमाथि आक्रमण भएको आशंका गर्दै जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर्न माग गर्नुभयो । प्रमुख जिल्ला अधिकारी पोखरेलले भने श्रेष्ठमाथिको आक्रमण आतंककारी गतिविधिको एउटा नमूना भएको बताउँदै दोषी कानूनी कारवाहीबाट कुनै हालतमा उम्कन नसक्ने बताउनुभयो । उहाँले आक्रमणकारी छिट्टै पक्राउ हुने र सुरक्षा व्यवस्था कडा पार्ने बताउनुभयो । यता नेकपा (एमाले) भक्तपुरजिल्ला कमिटीले पनि प्रेस विज्ञप्ति जारी गर्दै एमाले भक्तपुर जिल्ला कमिटी सचिवालय सदस्य एवं एमाले मध्यपुरथिमि नगर संयोजकसमेत रहनुभएका श्रेष्ठमाथि भएको आक्रमणको निन्दा गर्दै आक्रमणकारीलाई कारवाहीको माग गरेको छ । एमाले जिल्ला अध्यक्ष बचन देउजाले आक्रमणकारीलाई २४ घण्टाभित्र पक्राउ गरी कारवाही नगरे कडा आन्दोलन गर्ने बताउनुभयो । त्यस्तै नेपाली काँग्रेस मध्यपुर नगर समितिले पनि नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनले पनि दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ । रासस

चिट्ठा परेको भन्दै ‘इमो’ मार्फत रकम ठगी

नुवाकोट । नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिट्ठा’ परेको भन्दै सामाजिक सञ्जाल ‘इमो’ मार्फत यहाँका एक युवा ठगिएका छन् । टेलिकमको सिमकार्ड प्रयोगकर्ताबीच गोलाप्रथामार्फत छनोट हुँदा विजेता बनेको भन्दै ‘इमो’मार्फत ठगले तार्केश्वर गाउँपालिका–१ दाङसिंहका लोकबहादुर तामाङलाई फोन गरी विभिन्न बहाना बनाएर रु दुई लाख ९० हजार ठगेको हो । उनन्तीस वर्षीय तामाङलाई चिट्ठामार्फत रु २५ लाख विजेताको छनोट भएको भन्दै यही वैशाख ३ गते इमोमा हिन्दी भाषामा बोल्ने पुरुषले खबर गरेका थिए । त्यसलगत्तै विजेता भएको रकम जतिसक्दो चाँडो दाबी गर्न दबाब दिँदै त्यसका लागि राजश्वबापत शुरुमा रु ४० हजार मागेको थियो । ठगले रु २५ लाखको चिट्ठासहित थप रु पाँच लाख बोनस रकमसमेत पाएको भन्दै नक्कली चेक बनाएर इमोमार्फत फोटो पठाउँदै अतिरिक्त रकम आइएमई गरी पठाउन भनेअनुसार तामाङ र उहाँको भाइ महेन्द्रबहादुरले रु दुई लाख ९० हजार पठाएपछि मात्र आफू ठगिएको महसुस गरेका छन् । उनीहरुले यही वैशाख ५ गते दुई पटक रु ४० हजार, रु ७५ हजार र ६ गते रु एक लाख रु ७५ हजार इमोमार्फत फोन गरी आफ्नो नाम विजयकुमार र नेपाल टेलिकमको ‘उच्च अधिकृत’ भन्ने व्यक्तिले भनेअनुसार आइएमई गरेका हुन् । त्यो रकम काठमाडौँ ठेगाना भएका प्रकाश थिङ, प्रेमकुमार गिरी र तेजेन्द्र खड्काको नाममा पठाएको लोकबहादुरले बताउनुभयो । “रु २५ लाख पाउने लोभमा विभिन्न बहाना बनाएर रकम मागेपछि होला भनेर दियौँ ।” लोकबहादुरले भन्नुभयो, “हिन्दी भाषामा इमोमार्फत कुरा गर्ने मान्छेको नाम नेपाल टेलिकम नाम रहेको, त्यहाँ टेलिकमको लोगो प्रयोग गरिएको, चेक तयार भएको भन्दै फोटोसमेत पठाएकाले विश्वास गरेका थियौँ, अहिले बर्बाद भयौँ ।” ‘इमो’बाट फोन गरी रकम ठग्नेविरुद्ध पीडित युवाले आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे पनि रकम काठमाडौँमा पठाएको र अन्तर्राष्ट्रिय गिरोहमार्फत भएको हुनसक्ने भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत न्यायको अपिल गर्न सुझाव दिएको प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो । सामाजिक सञ्जाल फेसबुक, भाइबर, इमोलगायतका माध्यममार्फत ठगहरुले विभिन्न प्रलोभन देखाएर रकम ठगी गर्ने स्वदेशी एवं विदेशी गिरोह सक्रिय भएकाले त्यसतर्फ सचेत हुन मोबाइल फोन प्रयोगकर्तालाई प्रहरीले अनुरोध गरेको छ । रासस

४ दशकपछि फेरि शुरु भयाे बागमती यात्रा

काठमाडौं । ४ दशकपछि बाग्मती यात्रा सोमबारदेखि शुरु भएको छ । बाग्मती नदीको कटुवाल दहदेखि बाघद्वारसम्मको १८ कोशको यात्रा ४ दशकपछि शुरु भएको छ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको यो यात्रा एक साता सम्म जारी रहनेछ । १७ दिनसम्म बाग्मती नदीको किनारै किनार गरिने यात्रा यसपाली भने ७ दिनमा समापन गर्ने लक्ष्य राखेको छ । धार्मिक रुपमा महत्व रहेको बाग्मती नदी मानब सभ्यता संग पनि जोडिएकाले यसको संरक्षणका लागि वैदिक र तान्त्रिक दुवै बिधिबाट यात्रा सुरु गरिएको यात्राका संयोजक तथा पशुपति आगमघरका पुजारी मदन भट्टले बताए । पहिलो दिन सोमबार बिहान पशुपतिनाथबाट सुरु गरिएको यात्रा कार्यबिनायक र दक्षिणकाली गोपालेश्वरको पूजा गरी कटुवाल दहमा पुगेर त्यहा ध्वजा कलश स्थापना गरिनेछ । पहिलो दिन कटुवालदहको यात्रा गरी त्यही शिखर नारायणमा बास बस्नेछ । दोस्रो दिन सुन्दरीघाट बल्खुमा स्नान गरेर टेकु दोभानमा पञ्चलिंगेश्वर र पचली भैरबको पुजा गर्दै बाटोमा पर्ने २७ तीर्थस्नान गरेर शंखमुलमा बिश्राम लिइनेछ । तेस्रो दिन शंखमुलबाट प्रयागघाटमा स्नान गरी बाटोमा पर्ने ४० भन्दा बढी तीर्थस्नान गर्दै कोटेश्वर महादेबको पूजा गरीनेछ । यसरी नै ७ दिनसम्म कोटेश्वर महादेव , गुहेश्वरी , सुन्दरीजल , बुढानिलकण्ठ, बज्रयोगिनी हुदै चागुनारायण , शंखतीर्थ , गुहेश्वरी , मृगेश्वर बिरुपाक्ष हुदै अन्तिम दिन रुद्रगाडेश्वर पुगेर बाग्मती यात्रा समापन हुनेछ । यो अबधिभर बाग्मती नदीको आसपासका करीब १ सय ७० तीर्थस्नान गरिनेछ । यो यात्रामा सहभागीहरुले जमिन , हीरा, मोती लगायतका बिभिन्न द्रब्य सामग्री दान दिने गर्छन ।

ठिमीको जुवाखालबाट सात जना पक्राउ

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारबाट जुवातास खेल्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बालकुमारी वन नजिकै तीनतले घरमा डेरा गरी बस्ने ३४ वर्षीय कुमार कार्कीले दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापामारी कार्कीसहित जुवातास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको हो । जुवातास खेल्दै गर्दा १३ थान तास, रु ७२ हजार ३०० नगद, ४०० भारु, तीन अमेरिकी डलरसहित उनीहरुलाई पक्राऊ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिनुभयो । रासस

आगलागीको जोखिम कम गर्न अग्नि रेखा निर्माण

बाँके । गर्मीयाम शुरु भएसँगै आगलागीको जोखिम कम गर्न बाँके राष्ट्रिय निकुञ्जले १४० किलोमिटर क्षेत्रमा अग्नि रेखा निर्माण गरेको छ । निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने महादेवा, कोहलपुर, चिसापानी, मुगुवा र खैरी खोलालगायतको क्षेत्रमा अग्निरेखा निर्माण गरिएको बाँके निकुञ्जले जनाएको छ । दाङको अमिलिया क्षेत्रको चुरे जंगलमा आगो फैलिएकाले बाँके निकुञ्जमा पनि आगलागी फैलिन सक्ने जोखिम बढेको छ । चुरे क्षेत्रमा बाक्लो मात्रामा बाबियो खर भएकाले आगो छिटो फैलिन सक्ने खतरा बढेको छ । निकुञ्जमा आगलागी हुन नदिन स्थानीयवासी, सुरक्षाकर्मी, वन कर्मचारी सबै एक भएर तयारी गरिएको निकुञ्जका सहायक संरक्षक अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो । रासस

ट्रक र मोटरसाइकल ठोक्किदाँ चालकको मृत्यु

भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा आज बिहान रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । यहाँको कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म१क १३९ नंको ट्रकमा पछाडिबाट से४त ८०२४ नंको मोटरसाइकल ठोक्किएको थियो । ट्रकमा ठक्कर दिँदा मोटरसाइकल चालक कैलालीको साविक दुर्गौली गाउँपालिका–१ का ५२ वर्षीय लिखराम चौधरीको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले जानकारी दिनुभयो । ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि धनगढी पु¥याइएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार बर्दियाको राजापुरका २५ वर्षीय प्रवीन चौधरी सामान्य घाइते भएका छन् । घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस

टेम्पो चलाएर मासिक ५० हजार कमाइ

झापा । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्कनुभएका अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँँदा अर्काको मजदूरी गरेर जवानी बिताउनुभएका उहाँ अब स्वदेशमै रहेर सफल व्यवसायी बन्नु भएको छ । बीस महिनाअघि स्वदेश फर्कनुभएका उहाँ अहिले टेम्पो चलाउन व्यस्त हुनुहुन्छ । झापाका ग्रामीण क्षेत्रदेखि सहरका गल्ली गल्लीमा उहाँ टेम्पो गुडाउनुहुन्छ । टेम्पो चलाएरै उहाँले विदेशको भन्दा राम्रो कमाइ गरिरहनुभएको छ । पहिले नै यो काम थाल्नु भएको भए त्यतिका वर्ष विदेशमा पसिना बगाउनु पर्ने थिएन कि भन्ने पछुतो पनि उहाँलाई लाग्ने गर्दछ । पुनः विदेश फर्किने सोचका साथ छुट्टीमा घर आउनुभएका घिमिरेले एकाएक गाउँघरमै बसेर कुनै व्यवसाय गर्ने उत्साह बढेर गयो । पहिले त के व्यवसाय गर्ने भन्ने निर्णय गर्न गाह्रो भयो तर पछि टेम्पो किनेर चलाउने निधो गर्नुभयो । सुरुमा एउटा टेम्पो किन्नुभयो । बजाज कम्पनीको टेम्पो किनेर चलाउन सुरु गर्नुुभएका उहाँले सोही टेम्पोको कमाइले चार महिनाअघि पुनः अर्काे टेम्पो किन्न सफल हुनुभयो । दैनिक दुई हजार माथि कमाई हुन थालेपछि उहाँको विदेशप्रतिको मोह टरेर गयो । घरमै बसिबसी मासिक रु ५० हजार माथि कमाई गर्न थालेपछि १७ वर्ष विदेशमा श्रम र पसिना बगाएका नेपाल नेपाल फर्कनुभएका उहाँलाई अहिले नेपाल स्वर्ग झैँ लाग्न थालेको छ । बिहान आठ नबज्दै टेम्पो लिएर निस्किनुभएका उहाँ बेलुका घर फर्कदा कम्तीमा पनि दुई हजार रुपैयाँ कमाई गरेर मात्रै फर्कनु हुन्छ । खर्च कटाएर मासिक रु ५० हजारमाथि कमाई गर्न थालेपछि घिमिरे यतिबेला दङ्ग मात्र हुनुहुन्न, भविष्यमा यसलाई अझ बढाउँदै लैजाने योजना बुन्न थाल्नुभएको छ । घिमिरेकी श्रीमती रञ्जनाका दुवै मृगौला खराब छन् । १५ महिनादेखि उहाँकी श्रीमती बिरामी परेपछि श्रीमतीको औषधि उपचारका लागि उहाँले १० लाख रुपैयाँ खर्च गरिसक्नुभएको छ । त्यति ठूलो खर्च गर्नसक्ने औकात उहाँलाई टेम्पोकै कमाइबाट सम्भव भएको हो । ‘‘यति व्यवसाय नगरेको भए त आज साहूसँग चर्को ब्याजमा ऋण लिनुपर्ने वाध्यता हुने थियो’’ उहाँ भन्नुहुन्छ । घिमिरेले श्रीमतीको उपचार अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिरहनुभएको छ । उहाँले १० वर्षीया छोरीलाई निजी विद्यालयमा भर्ना गराउनुभएको छ । छोरीको अध्ययनका लागि आवश्यक पर्ने खर्च समेत टेम्पोबाटै जुटाउनुभएको छ । मृगौला खराबीका कारण विरामी श्रीमतीको रेखदेसँगै घरमै बसेर टेम्पो चलाएको भरमा मनग्य आम्दानी गर्न थालेपछि उहाँलाई घर खर्च टार्न कुनै समस्या छैन । स्वदेशमा रोजगारी पाइएन भनेर विदेसिने युवाको संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा अर्जुनधाराका पौडेल प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँजस्ता धेरैले अहिले यही टेम्पो कुदाएरै जीवन निर्वाह गरिरहेका छन् भने भाडामा टेम्पो चलाउँदै आएका कतिपयले आफैँ टेम्पो किनेर मनग्य आम्दानी गरिरहेका छन् । झापाका सडकमा अहिले झण्डै तीन हजारभन्दा बढी टेम्पो गुड्ने गरेका छन् । पछिल्लो समय हलुका सवारीका रुपमा लोकप्रिय बनेको तीन पाङ्ग्रे टेम्पो धेरैको यातायातको साधन बनेको छ । रासस

छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भित्र देखिएका असहमतिलाई अन्त्य गरी छिमेकीबीच सुमधुर सम्बन्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । संघीय संसद् सचिवालयले आज आयोजना गरेको ‘सार्कको प्रभावकारिता र क्षेत्रीय गोष्ठी’ नामक पुस्तकको सार्वजनिक गर्दै उहाँले सार्क राष्ट्रबीच देखिएका असमझदारीलाई न्यूनीकरण गरी आपसी विश्वास, सहयोग र सहकार्यका सुमधुर सम्बन्ध बनाउनुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ, छिमेकीसँग झगडा भएमा राम्ररी सुत्न सकिँदैन, छिमेकीसँग विश्वासिलो, सुमधुर सम्बन्ध जरुरी छ ।” उहाँले मुलुकको शान्ति र समृद्धिका लागि छिमेकीसँग नेपालको सम्बन्ध सधैँ सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो । नेपाल सार्कको संस्थापक र सक्रिय सदस्य रहेको र सार्क मुलुकको स्रोत र साधनको विकास गर्न सार्कको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालले सार्कको अध्यक्षता गरिरहेको छ, अहिले केही राष्ट्रबीच असमझदारी भएको छ, राष्ट्रबीच आपसी वातावरण अनुकूल पार्न जरुरी छ ।” प्रधानमन्त्री ओलीले सार्कजस्ता राष्ट्रबीच कहिलेकाहीँ आपसमा मतभेद, असमझदारी भए पनि त्यसलाई घटाएर लगी फलदायी बनाउनुपर्नेमा जोड दिनुभयो । सार्कको प्रभावकारिता र क्षेत्रीय सम्मेलनका संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सार्कको आवश्यकता सबै राष्ट्रमा भएको र सबै राष्ट्रले आपसमा मिलेर लाभान्वित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पुस्तकका रुपमा सार्वजनिक गर्न केही ढिलाइ भए तापनि धेरै मेहनत गरेर निकै उपयोगी पुस्तकका रुपमा प्रकाशन गरेको जानकारी दिनुभयो । सभामुख कृष्णबहादुर महराले नेपालले सार्क राष्ट्रको अध्यक्षता गरिरहेको उल्लेख गर्दै दुई÷दुई वर्षमा हुनेपर्नेमा ढिलाइ भएकोप्रति दुःख व्यक्त गर्दै सार्कलाई क्रियाशीलरुपमा अगाडि बढाउनुनपर्ने धारणा राख्नुभयो । पुस्तकका सम्पादक लालबाबु यादवले सार्कको दुईदिने गोष्ठीमा भएका सम्पूर्ण गतिविधि सबै राष्ट्रलाई उपयोगी हुने तरिकाले पुस्तकका रुपमा प्रकाशन गरेको बताउनुभयो । कार्यक्रममा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेस नेत्री सुजाता कोइराला, सार्क सचिवालयका महासचिव अम्जाद हसैनको उपस्थिति थियो । पुस्तकमा जनतादेखि जनतासम्मको सम्बन्धलाई अगाडि बढाउने, वैदेशिक रोजगार, आर्थिक विकास तथा संस्कृतिको विकासलगायतका गोष्ठीमा प्रस्तुत विषयवस्तुलाई समावेश गरिएको उल्लेख छ ।

डिजेल र पेट्रोल अभाव हुँदा सेवाग्राही मारमा

दैलेख । दैलेखमा पेट्रोलियम पदार्थ डिजेल र पेट्रोलको अभाव भएको छ । अहिले डिजेल र पेट्रोल अभावले यातायात सेवाग्राही मारमा परेका छन् । पेट्रोलियम पदार्थको मूल्य बढाउनका लागि अभाव सिर्जना गरेको सेवाग्राहीको गुनासो छ । पटक–पटक मूल्य बढाउँदा समेत तेल अभाव हुनु नेपाल आयल निगमको गैर जिम्मेवारीपूर्ण काम भएको यातायात सेवाग्राही मधु ढकालले बताए । ‘तीन दिनभन्दा बढी भइसक्यो ।’ उनले भने– ‘अझैसम्म डिजेल, पेट्रोल पाइएको छैन ।’ दैलेख आयल ट्रेडर्सका सञ्चालक शान्तिप्रसाद शर्माले एकसाता अघि तेल माग गरी पठाउँदा समेत अहिलेसम्म आइनपुगेको बताए । ‘डिमाण्ड पठाएको एक साता बितिसक्यो ।’ उनले भने– ‘नेपाल आयल निगम नेपालगञ्जले वेवास्ता गरेकाले अभाव भएको हो ।’

पैदलयात्रुको ज्यानै जाने गरी ठक्कर दिएपछि चालकविरुद्ध मुद्दा

भक्तपुर । भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–९ अरनिको राजमार्गस्थित नलिनचोक बाँसघारीमा पैदल यात्रुको ज्यान जाने गरी ठक्कर दिएर फरार ट्रक चालकलाई प्रहरीले पक्राउ गरी आजै ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ । यही वैशाख १ गते राति बा४ख २९३४ नंको ट्रकले ठक्कर दिँदा स्थानीयवासी ४८ वर्षीय रामहरि भुजेलको मृत्यु भएको थियो भने सवारीसहित चालक फरार भएका थिए । चालक नुवाकोट, बेलकोट नपा–१२ घर भई काठमाडाँै बालाजु बस्ने ५१ वर्षीय मोहनबहादुर अधिकारीलाई भनपा–१ सल्लाघारीस्थितबाट पक्राउ गरी आज ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिनुभयो । रासस

रानीपोखरीः रु साढे दुई करोड व्यर्थ खर्च

काठमाडौँ । रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म रु दुई करोड ५० लाख सकिएको छ । विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि रु ११ करोड ६० लाख ७३ हजार ९०० लाग्ने अनुमान भए पनि करीब रु सात करोडमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाका लेखा अधिकृत श्याम पाण्डेले जानकारी दिनुभयो । स्थानीय बासिन्दा, पुरातत्व विभाग र कामपाबीच कुरा नमिल्दा हालसम्म निर्माण गरिएका सबै संरचना भत्काउने तयारी भएको छ । यस किसिमको तयारीसँगै हालसम्म करीब रु दुई करोड ५० लाख खेर गएको छ । विसं २०७३ वैशाख १० गतेदेखि वल्र्डवाइड कँडेल केएन केजी जेभीले पुनःनिर्माण शुरु गरेको थियो । कामपाले भने आगामी जेठ १गतेदेखि हालसम्म प्रयोग भएको आधुनिक निर्माण सामग्री हटाई पुनःनिर्माणको काम शुरु गर्ने जनाएको छ । जेभिका निर्देशक अर्जुन कँडेलका अनुसार सम्झौतानुसार पहिलो चरणको पर्खाल लगाउने काम सकिएको छ । उहाँले भन्नुभयो, “अन्य काम शुरु गर्न नपाउँदै विभिन्न विवादका कारण काम रोकियो ।” स्थानीय बासिन्दाले भने नागरिकबाट लिइएको कर कामपाले खेर फालेको आरोप लगाएका छन् । दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराइएको इतिहासमा उल्लेख छ । रासस

डोटीमा जीप दुर्घटना हुँदा पाँचको मृत्यु

डोटी । डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाटामा मृत्यु हुनेमा शिखर नगरपालिका–८ लाटामाडौँकी ३५ वर्षीया झाकरी भुल र नगरपालिका–३ की २८ वर्षीया धौलीदेवी भुल छन् । यसअघि शिखर–३ जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय सुरज भुलको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा घाइते रहेका १४ जनामध्ये एक जनाको नेपालगञ्ज र १३ जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । शनिबार अपराह्न दिपायलबाट शिखर–३ जोरागाउँ जान लागेको ग १ ख ५२७५ नंको बोलेरो जीप दुर्घटना भएको थियो । रासस

‘आत्महत्या’ रोग जस्तै गरी देखापर्न थालेकामा चिन्ता

बैतडी । यस जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ । यसमा महिला १२ र पुरुष १४ जना छन् । झुण्डिएर देहत्याग गर्नेको संख्या अधिक छ । यो अवधिमा २० जनाले झुण्डिएर र ६ जनाले विष सेवन गरेर देशत्याग गरेको प्रहरी तथ्याँकमा उल्लेख छ । आत्महत्या गर्ने १३–४५ वर्ष उमेर समूहका रहेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पछिल्लो चार वर्षको तथ्याँकले आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको देखाउँछ । आर्थिक वर्ष २०७१-७२ मा १६ जनाले आत्महत्या गरेकामा २०७२÷७३ मा २९ जनाले आत्महत्या गरेको देखिएको छ । यस्तै, आर्थिक वर्ष २०७३-७४ मा आत्महत्या गर्नेको संख्या बढेर ३६ पुगेको छ । मानवीय इच्छा र आँकाक्षाहरु अनगिन्ती हुने र ती पूरा नहुँदा निराश भएर आत्महत्याको बाटो रोज्ने विज्ञहरु बताउँछन् । बैतडीमा आत्महत्याको गर्नेको आँकडा डरलाग्दो रहेकाले यसलाई न्यून गर्न सचेतना कार्यक्रमको सञ्चालन गर्नुपर्ने आवश्यकता छ । आत्महत्याका घटनामा कमी ल्याउन प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । आत्महत्याको घटना कुनै एक व्यक्ति वा निकाय लागेर मात्र नियन्त्रणमा आउन नसक्ने र यसका लागि सबै पक्षको सहयोग चाहिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी बताउनुहुन्छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माका अनुसार जिल्लाका विभिन्न विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्न प्रहरी युनिटहरु खटाएइका छन् । आत्महत्याका घटना बढ्दै जानाको मुख्य कारण मानिसको व्यस्त जीवनशैली र तनावलाई मानिन्छ । तनावग्रस्त मानिसमा घोरिने, चिट्चिट पसिना आउने, बेलाबेलामा झस्किने, कसैसँग कुरा गर्न नचाहने, बहकिने, एकान्तमा बस्न मन पराउने, लागुपदार्थ सेवन गर्नेलगायतका लक्षण देखा पर्छ । त्यस्ता व्यक्तिलाई समयमै सम्झाइबुझाई गर्नुपर्ने र एक्लै यताउति जान नदिने प्रहरीको सुझाव छ । यसका साथै प्रेममा धोका, पारिवारिक कलह, कमजोर आर्थिक स्थिति, मानसिक रोग, मादकपदार्थ सेवनको लत पनि आत्महत्याका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थी आत्महत्याको घटना कम गर्न विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्ने बताउनुहुन्छ । आत्महत्या एक रोग जस्तै गरी देखा पर्न थालेको उहाँको मूल्याँकन छ । रासस

निर्धन उत्थान बैंकले सदस्य तथा अभिभावकको लागि वित्तीय साक्षरता तालिम सम्पन्न

काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ३७ जना ग्राहक सदस्यहरु तथा ग्राहक सदस्यहरुका अभिभावकहरुको सहभागितामा २०७५ वैशाख ७ गते दुर्गम बझाङ जिल्लाको चैनपुरमा ‘वित्तीय साक्षरता तालिम’ सम्पन्न गरेको बैंकका चैनपुर शाखाका प्रमुख गौतम ज्ञान थापाले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु गौतम ज्ञान थापा, चक्रबहादुर साउद, लक्ष्मीप्रसाद रेग्मी रहेका थिए । यस तालिममा सहभागीहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन (बचत भिडियो), कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता (कर्जाको भिडियो), वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च (बजेट भिडियो), जोखिम व्यवस्थापन, बिमा, विप्रेषण सेवा, व्यवसायिक योजना, व्यवसायिक योजना बनाउँदा ध्यान दिनुपर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा बैंकका सेवाहरु कर्जा, बचत, बिमा, विप्रेषणको बारेमा जानकारी हासिल गरेको बारेमा शाखा प्रमुख थापाले बताएका थिए । शाखा प्रमुख थापाले एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताएका थिए । बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका चैनपुर शाखाका प्रमुख थापाले बताएका थिए। तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा बैंकको चैनपुर शाखाका प्रमुख थापाले प्रकाश पार्नुभएको थियो । बैंकले सातवटै प्रदेशका देशभरीका ७७ वटै जिल्लाहरुमा १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पु¥याई रहेको छ । यस निर्धन उत्थान बैंकले ८,०९१ जना ग्राहक सदस्यहरुलाई ब्यावसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने योजना रहेको छ । यसको साथै थप ६०० जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम, थप ७५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । यसका साथै विभिन्न प्रकारका सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, सचेतनामूलक तालिमहरु समेत प्रदान गर्दै ग्राहकहरुको आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । यस बैंकले देशको दुर्गम जिल्लाहरुको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई विभिन्न प्रकारका तालिम प्रदान गर्दै आइरहेको छ, साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइरहेको छ । यो निर्धन उत्थान बैंक लिमिटेड देशको सातवटै प्रदेशका ७७ वटै जिल्लाहरुको शाखा सञ्जाल रहेको नेपालको एकमात्र सबैभन्दा ठूलो राष्ट्रियस्तरको लघुवित्त संस्था हो । बैंकले २०७४ फागुन मसान्तसम्ममा ३,०७,००९ घरपरिवारहरुमा सेवा पुर्याइरहेको छ । बैंकले २०७४ फाल्गुण मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १४ अरब २५ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ५९ करोड बचत परिचालन गरेको छ । स्थानीय बुद्धिजीवी तथा समाजसेवी नवराज विष्टले समापन कार्यक्रममा आफनो मन्तव्य दिएका थिए । वित्तीय साक्षरता तालिमले विपन्न परिवार आर्थिक विकास गर्न सघाउ पुग्ने जानकारी गराएका थिए । यस तालिमले विपन्न परिवारलाई अगाडि बढन सहयोग गर्ने जानकारी गराएका थिए । बैंकले यस भेगका गरीब विपन्नहरुलाई घरदैलो सेवा दिई गरीबको उत्थानमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरेका थिए । स्थानीय बुद्धिजीवी तथा समाजसेवी विष्टले सहभागीहरुलाई तालिममा सिकेका कुराहरु ब्यवहारमा लागू गर्न सुझाएका थिए । यस तालिमको संचालन बैंकका सहायक लक्ष्मी प्रसाद रेग्मीले गरेका थिए ।