रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न सुरु गरिएको छ।

पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पु¥याइएको हो।

बैशाख १२ गतेबाट शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ मा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो। 

रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पु¥याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख २९ गते शनिबार सन् २०२४ मे ११ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ शून्य पैसा र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

आजदेखि चार दिन काठमाडौंका यी स्थानमा दैनिक ६ घण्टा बिजुली नहुने

काठमाडौं । आजदेखि काठमाडौंका विभिन्न स्थानको विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि सोमबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै, जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । शनिबारदेखि सोमबारसम्म काठमाडौंको पाटीचोक, अमरज्योति, पुरानो हेल्थपोस्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतम गाउँ, असनटार, कंकाली, पहेँलो गुम्बा, गोदामचोक, महाँकाल, सीताराम स्कुल, पद्यमा तेस्रो, फस्कु, जयन्ती गाउँ, रामकोट, पुरीगाउँ, दर्शनखोला, दहचोक, भीमढुंगा, खड्का गाउँ, खत्री गाउँ र छत्रे देउराली क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । यसैगरी, सशस्त्र प्रहरीको गेट, शालिकचोक, एलआरआई, खड्का गाउँ, न्युडाइमन्ड, पुरानो हिमशिखर, पिलबोट, थानकोट, डाँडा कारखान, मितेरीचोक र पञ्चकन्या स्कुल क्षेत्रमा पनि बत्ती जानेछ । त्यसैगरी पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँ गाउँ, किटनी भन्जयाङ, बाइछाप, यातायात, दाउरा डिपो, हाइभिजन कोलोनी, पशुविकास र सिर्जना चोक क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै, जेठ २ गतदेखि ४ गतेसम्म थानकोट फिडर अन्तर्गतको पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँ गाउँ, किटनी भन्ज्याङ, बाइछाप, यातायात, दाउरा डिपो, आइभिजन कोलोनी, पशुविकास, सिर्जना चोक क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यसैगरी, बलम्बु फिडर अन्तर्गत पर्ने कलंकी, ढुंगेअड्डा, आर्केट कोलोनी, तीनथाना, नैकाप, विष्णुदेवी, बोसीगाउँ, हरियाली, सतुंगल, नयाँ नैकाप, चुनदेवी र प्रगति नगर क्षेत्रमा बत्ती जाने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

तीन प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।आज बिहान सूर्योदय ५ बजेर १७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४४ मिनेटमा हुनेछ ।

जेलबाट रिहा भए केजरीवाल

नयाँ दिल्ली । सर्वोच्च अदालतले अन्तरिम जमानत दिएपछि भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा भएका छन्।सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको थियो। न्याधिश सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो। उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो । उनी ५० दिनपछि रिहा भएका छन् । तिहाड जेलमा रहेका केजरीवालले जेलबाट बाहिर निस्केसँगै आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफु तानाशाहीविरुद्ध लडिरहेको बताए । साथै उनले भोलिदेखि आफ्ना चुनावी प्रचारको कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

सहकारी ठगी प्रकरणमा रबिले सत्ताको दुरुपयोग गरे  : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।संसद बैठक चल्न नदिने कुरामा आफू नभई सरकार र यसको कामकारबाही जिम्मेवार रहेको महामन्त्री थापाको जिकिर थियो । शुक्रबार प्रतिनिधि सभा बैठकको शुभारम्भमा बोल्दै महामन्त्री थापाले कांग्रेसले लगाएको आरोप गलत सावित गर्न उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने आफूहरुको मागलाई इन्कार गरेर सरकार र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि आफूहरुलाई हेप्न खोजेको भन्दै आपत्ति पनि जनाए। उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले त्यहाँको जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको दाबी समेत गरे । उनले सरकार र सत्तारुढ दलहरुकै नेतृत्वमा छानविन समिति बनाउने भएकाले त्यसमा डराउनुपर्ने कुनै कारण नभएको पनि बताए। महामन्त्री थापाले सो प्रकरण ढाकछोपका लागि रबि लामिछानेले कहिले प्रधानमन्त्री त कहिले प्रहरीलाई बोल्न लगाएको आरोप लगाए । साथै उनले सो प्रक्ररणमा महान्यायाधिवक्ताको कार्यालयलाई समेत दुरुपयोग गरेको जिकिर गरे ।

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिश

मोरङ । हिक्मत कुमार कार्की नेतृत्वमा गठन भएको कोशी प्रदेश सरकारले बैशाख ३१ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहिवार पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद बैठकले बैशाख ३१ गते बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको हो । यसैगरी कोशी प्रदेश सरकारको प्रवक्तामा मन्त्री राम बहादुर मगरलाई तोक्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले पूर्व मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यको संयोजकत्वमा ७ सदस्यीय संघियता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकिकृत अध्ययन कार्यदल निर्माण गर्ने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री राम बहादुर मगरले जानकारी दिए।

राष्ट्रिय सभा बैठकमा आज यस्तो कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र जानकारी गराउने सम्भावित कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नेछन्। गत वैैशाख १६ र १७ गते भएको लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यो अध्यादेश जारी गरेका थिए।

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुईजना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जनालाई पक्राउ गरेको छ।  विशेष सुराकीका आधारमा महानगरीय अपराध महाशाखाले उनीहरूलाई गएराति पक्राउ गरेको हो। बुटवल घर भएका उनीहरू दुवै ११ किलो सुन तस्करीमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  यसबारे बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। 

काठमाडौँका यी स्थानमा चार दिन हुनेछ विद्युत् अवरुद्ध

काठमाडौँ ।नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नयाँ कन्डक्टर तार जडान गर्न लागेकोले विद्युत् अवरुद्ध भइरहेको छ।  आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजनाले स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाईनको पुरानो तारलाई बदली गर्ने कार्य गर्न लागिएको हुँदा बैशाख २९ र ३१ गते हसनटार फिडर, खड्का गाउँ फिडर र थानकोट फिडरमा विद्युत् अवरुद्ध हुने जनाएको छ।  त्यसैगरी जेठ २ र ४ गते थानकोट फिडरसँगै बलम्बु फिडरमा पनि विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ। यी स्थानमा तोकिएको दिनमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ। 

आज अक्षय तृतीया  सर्बत र जौको सातु खाने दिन

काठमाडौं । आज वैशाख शुक्ल तृतीयाको दिन अक्षय तृतीया पर्व मनाइँदैछ ।यस दिनमा हिन्दु धर्मावलम्बीहरुले ब्रह्मा, विष्णु, महेश्वरको आह्वान गरेर घडामा सर्बत र जौको सातु आदि वस्तु दान गर्ने परम्परा छ । शीतलता प्रदान गर्ने यस्ता वस्तुहरु दान गर्नाले अक्षय फल प्राप्त हुने मान्यता रहेको छ ।गर्मीको मौसम भएको हुनाले आज बाटो हिँड्ने बटुवालाई सर्बत र सातु खुवाउने चलन पनि रहेको छ । यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ।  ज्योतिषका अनुसार अक्षय तृतीयाको दिन सनातन धर्ममा आस्था राख्ने मानिसले सुन चाँदीका गरगहना किन्ने गरेको बताउँछन् । ज्योतिष शास्त्रका अनुसार राशि अनुसार किनमेल गरेमा लक्ष्मीको कृपा प्राप्त हुने जनविश्वास रहेको छ ।   

कांग्रेस संसदीय दलको बैठक बस्दै, देला त संसद् चल्न ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको छ । बैठक आज बिहान साढे ८ बजेका लागि बोलाइएको छ।  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकले पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ। कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ। यसअघि बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो। पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बिहीबारको बैठक स्थगित गरिएको थियो।

देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।  हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरी सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश र बागमती  प्रदेश लगायत देशको पहाडी भू(भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

कोसीका मुख्यमन्त्री कार्कीले लिए शपथ, मन्त्रिपरिषद्‌मा दुई मन्त्री नियुक्त

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।‌ प्रदेश प्रमुख परशुराम खापुङले उनलाई शपथ गराएका हुन्।  एमाले संसदीय दलका नेता कार्कीलाई बिहीबार प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।‌ उनलाई समर्थन गर्ने ५२ जना सांसदले सनाखत गरेका थिए। मुख्यमन्त्री कार्कीले बिहीबार नै मन्त्रिपरिषद् विस्तार गरेका छन्। एमालेबाट रामबहादुर मगर र माओवादी केन्द्रबाट गणेश उप्रेती लाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । मगर इलाम र उप्रेती मोरङबाट निर्वाचित सांसद हुन्। दुई दलले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरी वैशाख ७ गते प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गरी विश्वासको मत लिन भनेका थिए।‌ तर, कार्कीले संकल्प प्रस्तावको संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै विश्वासको मत लिएनन्। उनले सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई बङ्गुरको पाठा वितरण

चितवन।  भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रमलाई तीव्र पारेको छ । २०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो बर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी दिइन्। अभियानकै क्रममा बिहीबार पनि भरतपुर महानगरपालिका–२८  का जागृति कोशिस कृषक महिला समुहका २० जनालाई बङ्गुरका पाठा वितरण गरिएको हो। निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न ८४ वटा पाठा वितरण गरिएको हो । जसमध्ये ४ वटा बङ्गुरको भाले पाठा वितरण गरिएको हो। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो । यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ । भरतपुर महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष दण्डपाणि रिजालले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बंगुर वितरण गरिएको बताइन्। उनले बंगुरलाई ५ गुणाले वृद्धि गर्न सुझाव पनि दिइन्। बंगुरको पाठा पाएपछि समूहकी सदस्या मिना बोटेले महानगरले बंगुर दिएर व्यवसायीक कृषक बनाउनतर्फ अग्रसर गरेकोमा खुसी व्यक्त गरिन् । निर्वाहमुखी कृषि कर्म गर्ने कृषकलाई महानगरको यो सहयोगले जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास मेयर दाहालले व्यक्त गरिन् । आगामी दिनमा पनि महानगरले यस्ता कार्यक्रम ल्याएर अति विपन्न परिवारलाई जीविकोपार्जन गर्न प्रोत्सहान गर्नुपर्ने उनको भनाइ छ । बंगुरका पाठा पाउनेहरु बोटे र दलित समुदायका रहेका छन् ।  

जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्छ : प्रमुख रेनु दाहाल

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्ने बताएकी छिन्।भरतपुर वडा नम्बर २५ ले आयोजना गरेको जेष्ठ नागरिक र एकल महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले जेष्ठ नागरिकसँग रहेका राम्रा ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्न सके जेष्ठ नागरिकप्रतिको सम्मानमा कमी नआउने उल्लेख गरेकी हुन् ।  कार्यक्रममा वडा नम्बर २५ का ३०० जनाभन्दा बढी जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरिएको थियो । हिजोका दुःख संघर्ष अहिलेका पीडिले थाहा नपाउदा अहिलेको पुस्ताले जेष्ठ नागरिकलाई गर्ने सम्मानमा कमी आएको उनको भनाइ थियो । आगामी दिनमा जेष्ठ नागरिकलाई आदार सम्मान गरी पालपोषण गर्ने छोरा बुहारी, छोरा छोरीलाई यस्तै कार्यक्रम आयोजना गरी सम्मान गर्नुपर्नेमा जोड दिइन् । नेपालमा पनि बुवा–आमालाई अहिले पनि भगवानकै ठाँउमा राखेर पुज्नेहरु छन्–मेयर दाहालले भनिन् ।  तर, केही व्यक्तिहरुले भने वृद्धि बुवा–आमालाई वृद्धआश्रममा गएर छाड्ने परिपाटी दुखद भएको बताइन् । बुवा–आमालाई हामीले सम्मान दिएनौ भने हाम्रा सन्ततीले त्यही सिको गर्ने उनको भनाई थियो । ‘मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत १६ हजार बढी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण भएको छ,उनले भनिन्,‘अब घर–घरमै पुगेरसम्बन्धित रोगको औषधि वितरण गर्नेछौ । यो नै महानगरको जेष्ठ नागरिकप्रतिको सम्मान हो ।’ जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनको विकास गर्न जरुरी रहेको उनले बताइन्।जेष्ठ नागरिकको सम्मानको लागि महानगरपालिकाले नीतिगत निर्णय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाएको मेयर दाहालले उल्लेख गरिन्। बुवा–आमालाई हेला–होचो गर्ने अवस्थालाई न्युनिकरण गरी सबै घरमा खुसीयाली ल्याउन महानगरपालिकाले प्रयास गरिरहेको उनले औल्याइन् । समाजमा देखिएका गलत सोच र विकृतिलाई निरुत्साहित गर्दै सुन्दर र सुसंस्कृत सहर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने प्रमुख दाहालको भनाई थियो । कार्यक्रममा भरतपुर २४ नम्बरका अध्यक्ष रामु गोदार, वडा नम्बर २५ का अध्यक्ष छविलाल सापकोटा, प्रभात माविका प्रधानध्यापक होमनाथ भण्डारीले मन्तव्य व्यक्त गरेकी थिइन्।