रातो मत्स्येन्द्रनाथको रथ आज जाउलाखेल लगिँदै

ललितपुर । लगनखेलको थटिटोलमा रहेको रातो मत्स्येन्द्रनाथको रथलाई आज जाउलाखेल लगिँदैछ ।

रथलाई आजै जाउलाखेल पुर्याएपछि चौथो दिन ९आइतबार० भोटो जात्रा हुने ज्योतिषहरूको भनाइ छ ।

मत्स्येन्द्रनाथ जाउलाखेल पुगेपछि मात्रै भोटो जात्रा हुने दिनको टुङ्गो लाग्ने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केही समस्या आइपरेन र रथ आजै पु¥याउन सकियो भने भोटो जात्रा आइतबार हुनेछ ।” रथ पुगेको दिनका हिसाबले चौथो दिनमा भोटो देखाइने परम्परा छ ।

यस वर्ष अघिल्ला वर्षहरुभन्दा पहिले नै रथलाई जाउलाखेल लग्न लागिएको, सबै कुरा राम्रो भएको र साइत चाँडो निस्केकाले वैशाख महिनामा नै भोटो जात्रा हुन लागेको हो । उहाँ भन्नुहुन्छ, “कुनै–कुनै वर्षमा लामो समयसम्म साइत आउँदैनथ्यो यो वर्ष चाँडो निस्कियो ।

कारणबस रथ आज साँझ पुगेन भने जुन दिन पुग्छ त्यसको चौथो दिन भोटो जात्रा हुनेछ । विगतका कतिपय वर्षमा रथ ढल्कँदा जाउलाखेल नपुगी बीचमा रोकिएको थियो । उहाँ भन्नुहुन्छ, “हुन त नगरको भित्री भागमा भन्दा बाटो ठूलो छ तैपनि जाउलाखेल नपुगी भन्न सकिँदैन ।”

आगामी जेठ २ गतेबाट महिनाभर मलमास छ । मलमास अवधिभर रथ तान्नु शुभ मानिँदैन ।

मत्स्येन्द्रनाथको पुल्चोकबाट गाबहाल–मंगलबजार हुँदै लगनखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भनिन्छ । त्यस्तै, थटिटोलबाट जाउलाखेलसम्मको यात्रालाई सप्तग्राम जात्रा पनि भनिन्छ । यसलाई सात गाउँको जात्रासमेत भनिन्छ । उहाँ भन्नुहुन्छ, “यसलाई नगरभन्दा बाहिरी भेगका बासिन्दाको जात्रा पनि मानिन्छ ।” पहिले थानकोट, कीर्तिपुरलगायतका स्थानका बासिन्दा रथ तान्न आउने गर्थे ।

मत्स्येन्द्रनाथको जात्राका बेला भोटो प्रदर्शन गरिने परम्परा छ । सरकारले भोटो जात्राका दिनमा सार्वजनिक बिदासमेत दिँदै आएको छ । कथनअनुसार नागराजा कर्कोटककी श्रीमतीलाई आँखाको रोग लागेपछि उपचारका लागि नागले एक किसानलाई बोलाए । नागले जसरी भए पनि आफ्नी श्रीमतीको रोग निको पार्नै पर्ने नपारे अनिष्ट हुने बताएपछि वैद्य सङ्कटमा परे ।

किसानले नागकी श्रीमतीको रोग नै पत्ता लगाउन नसकेपछि हात माड्दै बसिरहे । हात माडेका हुनाले यसबाट मयल निस्कियो । उनले त्यही मयललाई औषधि भनेर नागलाई दिए । त्यो औषधिको प्रयोगपछि नागकी श्रीमतीको रोग निको भयो ।

रोग निको पारिदिएपछि नागराजाले खुशी हुँदै आफूले लगाइराखेको रत्नजडित भोटो किसानलाई दिए । किसानले सधैँ नै त्यो भोटो लगाएर हिँड्थे । एक दिन किसानले खेतमा भोटो फुकालेर काम गर्दा एउटा भूतले भोटो चोरेर लगेछ । केही समयपछि भएको एक जात्रामा भूत र किसान पनि आएका रहेछन् ।

जात्रामा भूतले त्योे भोटो लगाएर आएको थियो । भोटो देखेपछि किसान र भूतबीच भोटोको स्वामित्वबारे भएको विवादले झगडाको रुप लियो । केही गरी पनि झगडा साम्य नभएपछि निर्णयका लागि उनीहरु मत्स्येन्द्रनाथकहाँ पुगे । मत्स्येन्द्रनाथले जसले प्रमाण ल्याउनसक्छ उसैलाई दिने भत्रे निर्णय गरे । तर दुवैले प्रमाण जुटाउन नसकेपछि भोटो मत्स्येन्द्रनाथले नै राखे । उहाँ भन्नुहुन्छ, “त्यसैबेला देखि प्रत्येक वर्ष यो कसको भोटो हो रु प्रमाण सहित उपस्थित होउन भन्ने उद्देश्यले चारैतर्फ भोटो देखाउने चलन चल्दै आएको हो ।”

मत्स्येन्द्रनाथको महास्नानबाट शुरु हुने जात्रा भोटो देखाएसँगै टुङ्गिन्छ । मत्स्येन्द्रनाथलाई महिला र पुरुष दुवै रुपमा मानिने भएकाले हिन्दू धार्मिक परम्पराअनुसार ब्राह्मणबाट महिला र पुरुषलाई गरिने दशकर्म गरिन्छ । बौद्ध धर्मअनुसारका सबै कर्म बज्राचार्यले गर्छन् । विधिवत् रुपमा दश कर्म सकिएपछि मात्रै रथारोहण गराई रथयात्रा शुरु हुन्छ ।

पुल्चोकबाट गाबहाल, गाबहालबाट मंगलबजार, मंगलबजारबाट लगनखेलसम्म त्रिलोक भ्रमण सकिएपछि रातो मत्स्येन्द्रनाथको जाउलाखेल भ्रमण हुने गरेको छ । यसलाई दक्षिणागमनसमेत भनिन्छ । जोशी भन्नुहुन्छ, “मत्स्येन्द्रनाथ दक्षिणायन हुँदा बुंगमती र उत्तराणायन हुँदा पाटन बस्नुहुन्छ ।”

जाउलाखेल पुगेको चौथो दिन पनि भोटो जात्रा देखाइन्छ । त्यही साँझमा खटमा राखेर मत्स्येन्द्रनाथलाई बुुङ्मती नै फर्काइन्छ । रासस

दाताको भरमा २२ शिक्षकलाई तलब

सुरुङ्गा, वैशाख २३ । कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी अभाव भएर दरबन्दी कटौती होला भन्ने चिन्ता छ तर, कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयलाई आएका विद्यार्थीलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ । कनकाई मावि सुरुङ्गामा नेपाली माध्यमका अलावा विगत आठ वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन हुँदैआएको छ । यसप्रति आकर्षित भएर त्यस क्षेत्रका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेपछि विद्यार्थी व्यवस्थापनमा समस्या भएको हो । विद्यालयको क्षमता एक हजार ५०० भए पनि हाल दुई हजारभन्दा बढी विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । क्षमताभन्दा बढी विद्यार्थी भएर विद्यालयले विद्यार्थी थेग्न नसक्दा विगतका वर्षदेखि नै प्रवेश परीक्षा लिन थालेको छ । सुरुङ्गामा रहेका नाम चलेका निजी विद्यालय पशुपति, हरिकुल, प्यारागन, देवकोटा, झापा मेरिगोल्डलगायतमा अध्ययनरत विद्यार्थी ती विद्यालय छाडेर सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन् । निजी विद्यालयबाट मात्रै यो वर्ष झण्डै ३०० विद्यार्थी आएका छन् । यो शैक्षिकसत्रका लागि कनकाई माविमा भर्ना हुन ३०० भन्दा बढीले प्रवेश परीक्षा दिएकामा १९५ जना मात्र उत्तीर्ण भएको विद्यालय स्रोतले जनाएको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप लागिरहेका बेला कनकाई माविमा भने विद्यार्थी थेग्न नसकेर विद्यालय प्रशासनलाई समस्या भएको विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद तिम्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विद्यालयमा विद्यार्थीको चाप अधिक रहेकाले वर्ग विभाजन गर्नुपरेको छ ।” विद्यार्थीको चापका कारण खानेपानी र शौचालयको समस्या चर्केको छ । विज्ञान समूहका कक्षाबाहेक कक्षा ११ र कक्षा १२ का कक्षाहरु बिहानीसत्रमा सञ्चालित छन् । बाँकी एक हजार ७०० भन्दा बढी विद्यार्थीको दिवासत्रमै पठनपाठन हुने भएकाले बसाइ व्यवस्थापन, खानेपानी र शौचालयको समस्या बढ्दै गएको छ । कनकाई माविमा कक्षा ८ मा मात्रै २०० जना विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई चार वटा वर्गमा राखेर पठनपाठन गराइँदै आइएको छ । त्यस्तै कक्षा ९ मा छ वटा वर्ग छन् भने कक्षा १० मा पाँच वटा वर्ग बनाएर विद्यार्थीलाई राखिएको छ । प्रत्येक वर्गमा ५० भन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । तल्लो कक्षाको तुलनामा माथिल्लो कक्षामा विद्यार्थीको चाप अधिक रहेकाले पठनपाठनमा समस्या रहेको विद्यालयका अर्का सहायक प्रधानाध्यापक कर्णबहादुर डाँगीले बताउनुभयो । कनकाई माविमा ४२ जनाको दरबन्दी छ । दरबन्दीमा रहेका शिक्षकबाट मात्र विद्यालय सञ्चालनमा समस्या भएपछि निजी दरबन्दीमा २२ जना शिक्षकलाई राखिएको छ । शिक्षकलाई तलब खुवाउन समस्या भएर पटक–पटक सरकारको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमले बताउनुभयो । विसं २०१५ मा स्थापित कनकाई मावि त्यस क्षेत्रको पुरानो विद्यालय हो । उक्त विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन शुरु भएपछि विद्यार्थीसँगै अभिभावकको समेत चहलपहल बढेको छ । कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट र ६ देखि १२ कक्षासम्म नेपाली र अंग्रेजी माध्यमका अलग–अलग वर्गमा पठनपाठन भएपछि अभिभावकको रुचि सामुदायिक विद्यालयतर्फ गएको हो । शिक्षकलाई तलब खुवाउन दाताको भर विद्यालयको आन्तरिक स्रोतबाट राखिएका २२ जना शिक्षकलाई तलब खुवाउन अहिले विद्यालय प्रशासनलाई धौ–धौ छ । विद्यालयको जग्गाबाट रु २१ हजार आम्दानी भए पनि मालपोत नै रु एक लाखभन्दा बढी तिर्नुपरेपछि विद्यालय प्रशासनलाई समस्या छ । त्यसका अलवा विद्यालयको अन्य कुनै स्रोत नभएकाले शिक्षकलाई तलब खुवाउन दाताको भर पर्नुको विकल्प नरहेको विद्यालयका प्रधानाध्यापक निर्मलकुमार खतिवडाले बताउनुभयो । विद्यार्थीका अभिभावकबाट सहयोग जुटाएर शिक्षकलाई तलब खुवाउनुपर्ने अवस्था हुँदा पनि सम्बन्धित निकायले विद्यालयलाई नहेरेको बताइएको छ । कनकाई माविको विद्यालय हाताभित्र छ बिगाह १५ कट्ठा जमिन छ भने बाहिर विद्यालयको नाममा ५२ बिगाह जमिन भए पनि लाभ लिन सकिएको छैन । विद्यालयको नाममा रहेको धेरैजसो जग्गा नदी किनारमा छ, जहाँ बर्खे बाली लगाउन समस्या छ । लिजमा लिएकाहरुले हिउँदे बालीका रुपमा खरबुजा, काँक्रा लगाउने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले विद्यालयको जग्गाबाट प्राप्त आम्दानीभन्दा बढी मालपोत, राजश्व तिर्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने र यसका लागि कनकाई नगरपालिका, नागरिक समाज र जग्गा कमाउनेहरुले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । नमूना विद्यालयको चर्चामा कनकाई झापाका साविककै सात वटा निर्वाचन क्षेत्रमा एक–एक वटा र बिर्तामोड नगरपालिकामा रहेको महेन्द्ररत्न मावि अनारमनीलाई नमूना विद्यालय बनाउन शिक्षा मन्त्रालयले प्रस्ताव गरेको छ । प्रस्तावसहित शिक्षा मन्त्रालयले बजेट खाका अर्थमन्त्रालय पठाएको छ । शिक्षा मन्त्रालयले उनीहरुबाट भौतिक, प्रशासनिक, व्यवस्थापकीय र सुशासनसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना पनि माग गरिसकेको छ । मन्त्रालयको मागसँगै भौतिक नक्साङ्कनसहितको कार्ययोजना मन्त्रालयलाई बुझाइएको छ, जसमा कनकाई मावि पनि समावेश छ । नमूना विद्यालयको चर्चासँगै निकट भविष्यमा शैक्षिक गुणस्तर अझ सुध्रने अपेक्षाले अभिभावकको रुची सामुदायिक विद्यालयप्रति बढेको बताइन्छ । नमूना विद्यालयका लागि कनकाई माविले रु एक अर्ब ३१ करोडको योजना पेश गरेको विद्यालयका आधारभूत इञ्चार्ज खेमराज भट्टराईले बताउनुभयो । शिक्षकका छोराछोरी पनि कनकाई मै कनकाई माविका शिक्षकहरु स्वयंले आफ्ना नानीहरुलाई आफैँ अध्यापन गर्ने विद्यालयमा भर्ना गरेका छन् । यो क्रम केही वर्षअघिदेखि नै शुरु भएको हो । अंग्रेजी माध्यममा पठनपाठन शुरु भएपछि सोही विद्यालयबाट विगतमा शिक्षक तीर्थराज खरेल, चन्द्रप्रसाद पोखरेल, शारदा पाठक, गोपीकृष्ण भट्टराई, चन्द्रप्रसाद शिवाकोटी र जिवेन्द्र घिमिरेका छोराछोरीले एसएलसी उत्तीर्ण गरिसकेका छन् । हाल सहायक प्रधानाध्यापक डाँगी, शिक्षकहरु तीर्थराज खरेल, चन्द्रप्रसाद पोखरेल, जानुका चम्लागाईका नानीहरु र शिक्षक विक्रम बानियाँकी बहिनी अध्ययनरत छन् । शिक्षक र अभिभावकको विद्यालयप्रति यति धेरै आकर्षण हुँदा पनि कतिपयमा शैक्षिक गुणस्तरमा शंका रहेको पाइन्छ । यसमा व्यवस्थापन समितिका पदाधिकारीहरु पनि छन् । निजी स्रोतका शिक्षकका आफ्नै समस्या कनकाई माध्यमिक विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षक आफूहरु समस्यामा रहेको बताउँछन् । निम्न माध्यमिक तहमा नियुक्त भएर पनि मावि तहमा अध्यापन गराइरहेको र योग्यता पुगेर पनि सेवा सुविधामा विद्यालयले नहेरेको अंग्रेजी माध्यमतर्फ सामाजिक विषयका शिक्षक राजेन्द्र खनालले बताउनुभयो । समान कामका लागि सेवा सुविधामा विभेद हुन नहुने उहाँहरुको भनाइ छ ।

वाम-एकता चाडैं: पूर्व प्रधानमन्त्रीहरू

काठमाडौँ । एमाले र माओवादीबाट प्रधानमन्त्री भइसकेका तीन नेताले दुई पार्टीबीच चाँडै एकता हुने बताएका छन् । एकताको काम अन्तिम अवस्थामा पुगेकाले चाँडै त्यसले मूर्तरूप लिने उनीहरूको भनाइ छ । कार्ल मार्क्स जन्म द्वि–शतवार्षिकी समारोहलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उनीहरूले एकता अनिवार्य भएकाले यसलाई छिटो टुंग्याइने दाबी गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टीबीचको एकता नभए मुलुक पुन: अस्थिरताको राजनीतिक भुमरीमा फस्ने भएकाले छिटो एकता प्रक्रिया टुंग्याउन लागेको बताएका छन् । कपितय बुद्धिजीवी र विदेशीका अनुमानलाई गलत साबित गर्दै दुई दल छिट्टै एक बन्ने उनले दाबी गरे । दाहालले केही दिनभित्रै पार्टी एकताको विषयमा स्पष्ट धारणा बाहिर आउने बताए । एकतासम्बन्धी विवाद अन्त्य गर्न केही दिनयता प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र दाहालबीच निरन्तर छलफल चलिरहेको छ । छलफल करिब सहमतिनिकट पुगेको छ । अध्यक्ष दाहालले एकतापछि कम्युनिस्ट पार्टी झन् शक्तिशाली हुने र समृद्धिको दिशामा सफलता हासिल गर्ने बताए । तर दुई पार्टी एक हुने भएकाले अब फरकफरक मनोविज्ञान बोकेर बस्न नहुने दाहालको भनाइ थियो । ‘अब पार्टी नै एकता हुने भएपछि पुरानो आग्रह पूर्वाग्रहमा बस्नु हँुदैन रूपान्तरण हुन आवश्यक छ,’ उनले भने । एमाले र माओवादीबीच एकता भएपछि अन्य स–साना कम्युनिस्ट घटक पनि मिल्न आउने दाहालको दाबी थियो । कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए । मुलुकमा समाजवादको आधारशिला खडा गर्न एकता अनिवार्य रहेको र त्यो कामले अब पूर्णता पाउन लागेको खनालको भनाइ थियो । एमालेका अर्का वरिष्ठ नेता माधव नेपालले पनि पार्टीहरूबीच एकतामा कुनै अन्तरविरोध नरहेकाले चाँडै त्यसले पूर्णता पाउने बताए । नेपाललाई शान्तिपूर्ण रूपमा रूपान्तरण र समृद्धिका लागि पनि एकता अनिवार्य रहेको उनले उल्लेख गरे । कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव घनश्याम भुसालले कम्युनिस्ट एकता अनिवार्य भएको धारणा राखे । नेता भुसालले माक्र्सवाद, समाजवाद, लोकतन्त्र र समृद्धि लगायतका विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए । कार्ल मार्क्स जन्मेको २ सयौं वर्ष पुगेको अवसरमा माक्र्सवादी दर्शनको प्रवर्द्धन गर्ने प्रयोजनका लागि नेता भुसालको संयोजकत्वमा गत वर्ष नै समिति बनेको थियो । उक्त समितिले शुक्रबार र शनिबार दुईदिने गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा एमाले, माओवादीलगायत मार्क्सवादी विचाराधारामा विश्वास गर्ने दलका नेता, कार्यकर्ता र शुभेच्छुक सहभागी छन् । मे ५ मा मार्क्सजन्मेको २ सय वर्ष पुग्दै छ । यस अवसरमा एमाले केन्द्रीय समितिकै तर्फबाट राजधानीको गौशालामा अर्को छुट्टै कार्यक्रम गरिंदै छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी ओलीलगायत एमालेका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन् । कान्तिपुर

विद्यालयको बसको ठक्करबाट बालिकाको मृत्यु

विराटनगर । मोरङको रङ्गेली नगरपालिका २ मा बिहीबार साँझ विद्यालयको बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । सोही नगरपालिका–३ बस्ने विनोद कार्कीकी तीन वर्षीया छोरी सुजिका कार्कीको मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । ठक्कर दिने धनपालथानस्थित एक अंग्रेजी बोडिङ स्कूलको को १ ख २७८१ नम्बरको सो बस सहित चालक इलाका प्रहरी कार्यालय रङ्गेलीको नियन्त्रणमा रहेका छन् । रासस

छिमेकीलाई दिसा खुवाएको भन्दै महिला पक्राउ

सुर्खेत । सुर्खेतमा अन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिला पक्राउ परेकी छन् । बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन् । गाउँमा सलामीले मदिरा सेवन गरी गाली बेइज्जती गरेको भनी थापाले प्रहरीचौकीमा उजुरी गरेकी थिइन् । प्रहरीले थापा र सलामी दुवै पक्षलाई झिकाइ वडा नं ५ का वडाध्यक्ष दिल मसाङ्गीको रोहवरमा छलफल गर्दा अबीरको टीका लगाएर सलामीसँग मिलापत्र गर्छु भन्दै प्लाष्टिकमा लुकाई ल्याएको दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले जानकारी दिनुभयो । प्रहरी कार्यालय बड्डीचौरमा मिलापत्रको छलफलका क्रममा दिसा खुवाएपछि सलामीले प्रहरीमा उजुरी दिएको र त्यसैको आधारमा थापालाई पक्राउ गरिएको चतुर्वेदीले बताउनुभयो । प्रहरी कार्यालयमा दिसा खुवाउने थापालाई थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । बड्डीचौर प्रहरीले चौकीमै दिसा खुवाएपछि विवाद बढ्दा थापा र सलामीको पक्षलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइएको थियो । रासस

अध्यक्ष तिमिल्सिना र बेलायतका राजदूतबीच भेट, के भयो कुरा

काठमाडौं, वैशाख २० । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसबीच शिष्टाचार भेटघाट भएको छ । अध्यक्षको कार्यकक्षमा बिहीबार उहाँहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध र बेलायती संसदीय प्रतिनिधिमण्डलले आइतबारदेखि गर्ने नेपाल भ्रमणबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेलायतबीचको कूटनीतिक सम्बन्ध र दुई देशबीचको साझेदारीबारेमा स्मरण गर्दै दुई देशका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एकअर्काको स्वतन्त्रता, स्वाधीनता र परस्पर सहयोगमा आधारित रहँदै आएको बताउनुभयो । बेलाबेलामा हुने उच्चस्तरीय भेटघाट नै दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको उल्लेख गर्दै उहाँले नेपालको संसद् र बेलायतको संसद्बीच पनि सुमधुर सम्बन्ध रहेको चर्चा गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसद् दुई सदनात्मक रहेको हुँदा दुबैको भूमिकाबारे जानकारी गराउँदै बेलायती प्रतिनिधिमण्डलको नेपाल भ्रमणले दुई देशका सदनबारे अनुभव आदानप्रदान हुँदा दुवै पक्ष लाभावित हुने विश्वास व्यक्त गर्नुभयो । “दुई दिनपछि २३ वैशाखमा बेलायती संसदीय प्रतिनिधिमण्डलले नेपालको सद्भावना भ्रमण गर्दैछ भन्ने खबर प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “यसले मलाई खुशी बनाएको छ र सोको तयारी सचिवालयले गरी रहेको छ, हामी उहाँहरुलाई स्वागत गर्न तत्पर छौँ ।” अध्यक्ष तिमिल्सिनाले नेपालको भौतिक एवं आर्थिकलगायत विकासका हरेक आयाममा बेलायतको सहयोग उल्लेखनीय रहेको र यसप्रकारको सहयोग निरन्तर रहने नेपालको अपेक्षा रहेको बताउँदै ब्रिटिस गोर्खाले बेलायतको सेनामा रहेर गरेको योगदानले दुई देशको सम्बन्धलाई थप मजबुद बनाउन सहयोग गरेकाले सबै सेनालाई समान व्यवहार हुनुपर्ने धारणा राख्नुभयो । भेटमा बेलायती राजदूत मोरिसले दुई देशको सम्बन्ध मजबुद बनाउन बेलायत तत्पर रहेको उल्लेख गर्दै आगामी दिनमा पनि विकासमा साझेदारी गर्न बेलायत तयार रहेको छ भन्नुभयो । आइतबारदेखि हुने बेलायती प्रतिनिधिमण्डलको भ्रमणमा संसदीय अभ्यासबारेको अनुभव साटासाटले दुबै देशको सम्बन्ध थप मजबुद बनाउने बताउनुभयो ।

खोलाले जीप बगाउँदा तीनको मृत्यु

बझाङ, वैशाख २० । बझाङको झोताबाट चैनपुर जादै गरेको से १ ज ८२० नंको जीप जयपृथ्वी नगरपालिका ७ सुवेडाको चौठा खोलाले बगाउँदा तीन जनाको मृत्यु भएको छ । बुधबार राति भिषण वर्षापछि एक्कासी आएको बाढीले जीपलाई बगाएको थियो । मृत्यु हुनेमा खप्तड छान्ना २ घर भै चैनपुरमा कस्मेटिक पसल गर्दै आएका ३१ वर्षीय अम्मराज बन, केदारस्यु १ का २४ वर्षीय असु ओड, र जीप चालक बैतडी घर भै हाल कञ्चनपुर दोधाराका २६ वर्षीय रमेश चन्द रहेका छन । जिप खोलाले बगायर झण्डै ५० मिटर तल खोचमा पुरिएको अवस्थामा भेटिएको छ । दुर्घटना बुधबार राति ८ बजे भएको भएपनि अफ्ठ्यारो भिर र जीप भलले पुरिएकाले बिहीबार अपरान्ह साढे २ बजे मात्र शव निकालिएको छ ।

अाजदेखि सार्वजनिक यातायात बन्द

दाङ । यहाँका विभिन्न यातायात समितिले आजदेखि गाडी सञ्चालनमा रोक लगाएका छन् । रात्रि सेवाका काउन्टर खुलेका छैनन् भने खोलिएका काउण्टरमा टिकट काट्न बन्द गरिएको तुलसीपुर जिप तथा माइक्रो मिनीबस व्यवसायी समितिका डिलक्स काउण्टर इन्चार्ज राजु योगीले बताउनुभयो । सरकारले आगामी असारदेखि समितिहरू नवीकरण नगर्ने तथा समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोधमा उत्रिएका समितिहरूले आजदेखि नै आफ्नो यातायात सेवा रोकेका हुन् । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका डायल इञ्चार्ज मोहन पुरीले आजदेखि नै लामो दूरीका सम्पूर्ण सेवा बन्द गरिएको बताउनुभयो । “भोलिदेखि हाम्रा बसहरू ग्यारेजमा थन्किन्छन्, त्यसैले आजैदेखि हामीले लामो दूरीका बस सञ्चालनमा रोकेका हौँ,” डायल इञ्चार्ज पुरीले भन्नुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलनका कार्यक्रमअनुसार आन्दोलन गर्ने समितिहरुले बताएका छन् । त्यस्तै ढुवानी व्यवसायीले पनि हिजोदेखि नै टोकन बन्द गरेका छन् । आन्दोलनका कार्यक्रमअन्तर्गत टोकन लिएकाहरुले ढुवानी गर्ने र अन्य गाडीहरु भने बन्द गरिएको राप्ती अञ्चल संयूक्त ट्रक यातायाता व्यवसायी समितिका प्रशासनिक सचिव उमेशचन्द्र मजगैयाँले जानकारी दिनुभयो । “छोटो दूरीका गाडी आफूखुशी सञ्चालनमा आएका छन् । दाङमा ढुवानी र यात्रुवाहक सवारीका साधनगरी करीब एक हजार गाडी रहेका छन् । रासस

अझै दुर्इ दिन बदली र वर्षा हुने : मौसमविद्

काठमाडौँ । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने क्षणभरमै बदली तथा वर्षा भइरहेको छ । विगत चार-पाँच दिनदेखि प्री–मनसुनी गतिवविध सक्रिय रहेको तथा स्थानीय वायुसँगै बाहिरी मौसमी प्रणालीको पनि प्रभावले बदली र वर्षा गराएको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । “अहिले भइरहेको मौसमी गतिविधि स्थानीय वायुसँगै बाहिरी (वायु) मौसमी प्राणलीको पनि प्रभाव रहेको छ । पूर्वी र मध्य क्षेत्रमा बंगालको खाडीको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावका साथै स्थानीय रुपमा न्यून चापीय प्रणालीको विकासले एक हप्तादेखि मौसमी गतिविधि बढेको हो, यो अझै एक÷दुई दिन जारी रहन्छ,” उहाँले भन्नुभयो । महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । आज सबैभन्दा बढी भैरहवामा ६५, वीरेन्द्रनगरमा ३१, ओखलढुंगामा २०, दीपायलमा १७, ताप्लेजुङ र दाङमा समान ११ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा सबैभन्दा कम एक मिलिमिटर वर्षा भएको छ । अहिले पनि अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षा भइरहेको माहाखाले जनाएको छ । मौसमविद्का अनुसार सामान्यतः प्री मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्म मानिन्छ । कहिलेकाहीँ यो तलमाथि पनि हुनसक्छ । प्रीः मनसुन –मार्च, अप्रिल र मेलाई मानिन्छ । अक्टोबर र नोभेम्बरलाई पोष्ट मनसुन तथा डिसेम्बर, जनवरी र फेब्रुअरी विन्टर सिजन यसरी वर्षमा चार सिजन बाँडिएको हुन्छ। प्रीःमनुसनको समयमा दिउँसो घाम लाग्ने साँझपख र राति हावाहुरी, चट्याङसहित वर्षा हुने गर्छ । खासगरी यसको प्रभाव पहाडी क्षेत्रमा बढी पर्छ । यसलाई सहयोग गर्न बंगालको खाडीको जलवास्पयुक्त हावा देशको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने र कहिलेकाहीँ पश्चिमी वायुको प्रभावले गर्दा विमान वा दिउँसोपख बदली र वर्षा गराउने हुन्छ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २७ र न्यूनतम १६ डिग्री सेल्सियस रहेको छ । रासस

किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा गोमा

खोटाङ । किरात राई पत्रकार संघको तेस्रो जिल्ला अधिवेशनले गोमा राईको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति सर्वसहमतिले अध्यक्ष चयन गरेको छ सो संघकोे हिजो सम्पन्न अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा काजनश्री राई, सचिवमा गोपाल राई, सहसचिवमा सुनिता राई र कोषाध्यक्षमा रमिला राई तथा सदस्यहरूमा शर्मिला राई, टिवन राई, महाशेर राई, योगिन राई र सन्देश राई छानिएका छन् । संघको केन्द्रीय सभासद्मा रामधन राई, संगीता राई, डिएम चाम्लिङ र राजेन्द्र राई तथा सल्लाहकारमा उजुर राई, डम्बरसिं राई, भीम राई, उमेत राई, दमन राई र सइन्द्र राईलाई चयन गरिएको छ । रासस

मानव बेचबिखनमा संलग्नताको अारोपमा पक्राउ

भीमदत्तनगर । दुई बालकलाई विभिन्न प्रलोभन देखाएर पश्चिमी नाका भएर भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट मानव बेचबिखनमा संलग्नताको आरोपमा ललितपुरको बागमती गाउँपालिका–११ का ४८ वर्षीय शिवप्रसाद गौतमलाई पक्राउ गरेको छ । अभियुक्त गौतम विरुद्ध मानव बेचबिखन मुद्दामा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले गौतमलाई १३ र १४ वर्षीय दुई बालकलाई मःम बनाउने काम र कम्प्युटर कोर्स सिकाइदिने प्रलोभन देखाएर भारत लैजाने क्रममा गत सोमबार पक्राउ गरेको थियो । भीमदत्तनगरको बसपार्कस्थित एक होटलमा एकरात बसेपछि अर्को दिन भारतीय नम्बरको जिपमा दुई बालकलाई भारत लैजाँदै गरेको अवस्थामा सोधपुछ गर्दा उक्त घटनाको रहस्य खुलेको हो । प्रहरीले दुबै बालकलाई आफन्तको जिम्मा लगाएको छ । रासस

अटेर गरी बालविवाह गर्ने जोडी प्रहरी खोरमा

रोल्पा । रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेका छन् । बालविवाहविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रममा जुटेका अभियानकर्ताले नै विवाहस्थलबाटै पक्राउ गरी कानून कार्यान्वयनका लागि प्रहरीलाई सहयोगसमेत गरेका छन् । बुधबार रोल्पा नगरपालिका–२ ह्वालीमा बालविवाह गरिरहेको एक जोडीलाई विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरी कानूनी उपचारसमेत थालनी गरेको छ । रोल्पा नगरपालिका– २ का १७ वर्षीय राजकुमार खड्काले सोही नगरपालिका–१ हरिगातिनाकी १७ वर्षीया किशोरीसँग बालविवाह गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । स्थानीय बालविवाह न्यूनीकरण सञ्जालले उमेर नपुग्दै विवाह नगर्न पटकपटक सम्झाउँदासमेत नमानेपछि प्रहरीमा उजुरी गरिएको थियो । बालविवाह हुन थालेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि अदालतसमक्ष पेश गरेका छौँ, प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले भन्नुभयो । मुलुकी ऐन बिहेवारी महलअन्तर्गत उनीहरुलाई कारबाही हुन्छ फुँयालले भन्नुभयो । बालविवाह गर्ने र गराउने दुवैलाई कानूनी कारबाही गर्ने व्यवस्था भएकाले दुलाहाकी आमा दिलसरी खड्कालाई समेत प्रहरी हिरासतमा राखिएको बताइएको छ । विवाह भोजमा संलग्नलाई पनि सोधपुछका लागि बोलाइने प्रहरी नायब उपरीक्षक फुँयालले बताउनुभयो । जिल्लामा बालविवाह भइरहेका बेला प्रहरी र नागरिकको सम्बन्धबाट बालविवाह रोक्न गरिएको यो पहिलो कानूनी प्रयास हो । यसले जिल्लामा दिनानुदिन घटिरहेका बालविवाहका घटना रोक्नसमेत मद्दत गर्ने बताइएको छ । सरकारी गैरसरकारी क्षेत्रबाट बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयास भए पनि यसले निरन्तरता पाइरहनु दुःखद् भएको महिला अधिकारकर्मी तीर्था आचार्यको भनाइ छ । बालविवाह न्यूनीकरणका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी रहेको आचार्यको भनाइ छ । रासस

जोखिममा पत्रकार, प्रेस स्वतन्त्रता उल्लंघन पाँच वर्षयताकै उच्च

काठमाडौं, बैशाख २० ।  विश्व प्रेस स्वतन्त्रता दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा वैज्ञानिक संगठन युनेस्कोको सिफारिसमा सन् १९९३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने घोषणा गरेसँगै विश्वभर यो दिवस मनाउन थालिएको हो । विण्डहोक डिक्लेरेशन भएको दिन पारेर दिवस मनाउने गरिएको हो । दिवसको अवसरमा यस वर्षको नारा किपिङ्ग पावर इन चेक : मिडिया, जस्टिस एण्ड द रुल अफ ल अर्थात, “शक्तिको निगरानी र नियन्त्रण ः सञ्चार, न्याय र विधिको शासन” तय गरिएको छ । प्रेस स्वतन्त्रताका लागि कानुनी वातावरणलाई बलियो बनाउने, प्रेस स्वतन्त्रताको ग्यारेन्टिका लागि न्यायीक निकायको भूमिकालाई थप आकृष्ट गर्ने, पत्रकारमाथि हुने हिंसा र दबाबलाई क मगर्ने तथा कानुनी शासनका लागि प्रेसको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यो वर्षको नारा तय गरिएको हो । यसैगरी दीगोविकास, चुनावका बेला, परादर्शीता, उत्तरदायित्व तथा कानुनी राज्यको स्थापनका लागि प्रेसको भूमिकालाई पनि यो वर्ष थप जोड दिइएको संयुक्त राष्ट्रसंघले जनाएको छ । दिवसको अवसरमा शुभकामना सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले विश्वका सबै सरकारलाई प्रेस स्वतन्त्रतालाई थप प्रभावकारी बनाउन तथा पत्रकारको सुरक्षाको वातावरण बनाउन आग्रह गरेका छन् । प्रेस स्वतन्त्रता सत्यको पक्षमा उभिनु रहेको उनले बताएका छन् । यसैबिच ञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकारिताको व्यावसायिक अभ्यासका क्रममा एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति जीवन उत्सर्ग गर्ने सम्पूर्ण सञ्चारकर्मीहरुप्रति उच्च सम्मानसहित श्रद्धाञ्जलिका साथै सम्पूर्ण पत्रकार र विश्वभर छरिएर रहेका सबै सञ्चारकर्मीप्रति शुभकामना व्यक्त गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस–२०१८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत शर्त भएको र आधुनिक सभ्य समाजमा प्रेस जगत् र तिनको स्वतन्त्रताको महत्व सर्वोपरी रहेको उल्लेख गरेका छन् । यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना पछिल्लो पाँच वर्षकै उच्च देखिएको छ । फ्रिडम फोरमले एक वर्ष (मे २०१७ देखि अप्रिल २०१८) सम्म गरेको मिडिया अनुगमनपछिसार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदनमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना सन् २०१३ पछिकै उच्च रहेको पाइएको छ । प्रतिवेदनअनुसार सन् २०१३ मा १३१ प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएकामा त्यसपछिका वर्षमा केही कमी देखिए पनि मे २०१७ देखि अप्रिल २०१८ सम्म ६६ वटा घटना भए, जसबाट २०० भन्दा बढी सञ्चारकर्मीहरू प्रभावित भएका छन् । प्रतिवेदनअनुसार सन् २०१४ मा ५२, १५ मा ४१, १६ मा ५९, १७ मा २९ र १८ मा ६६ वटा घटना भएका छन् । तीनै तहको निर्वाचन यसै वर्ष सम्पन्न भएसँगै राजनीतिक गतिविधिमा तीव्रताका कारण सन् २०१६–१७ भन्दा झण्डै दोब्बर घटना २०१७–१८ को वर्षमा घटेको प्रतिवेदनमा जनाइएको छ । अघिकांश प्रेस स्वतन्त्रता उल्लंघनका घटना राजनीतिक मामिलासँग जोडिएका छन् । अघिल्लो वर्ष प्रेस स्वतन्त्रता उल्लंघका २९ घटना भएका थिए । यस वर्ष घटेका ६६ घटनामध्ये १४ आक्रमण, आठ पक्राउ, १३ हातपात, १४ ज्यान मार्ने धम्की, १६ वटा अवरोध र एउटा घटना तोडफोडका छन् । प्रेस स्वतन्त्रताविरुद्ध घट्ने घटनाहरूमा विशेष सरकारी कर्मचारी, राजनीतिक कार्यकर्ता, सुरक्षा निकायका व्यक्तिहरूको संलग्नता रहेको प्रतिवेदनमा जनाइएको छ । उल्लंघनका घटनामा सुरक्षा तथा सार्वजनिक निकायका कर्मचारीको संलग्नता बढी देखिएकाले उनीहरूले पत्रकारको हक र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने प्रतिवेदनले औँल्याएको छ । सार्वजनिक सरोकार, भ्रष्टाचारजन्य क्रियाकलाप, चुनाव तथा सोको मतगणना, राजनीतिक दलका प्रदर्शन, तस्करी तथा अपराधजन्य विषयको समाचार संकलनका क्रममा पत्रकारमाथि धम्की तथा आक्रमणका घटना भएका छन् । राजनीतिक दलले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न बारम्बार मौखिक प्रतिबद्धता जनाए पनि उनीहरूको स्वतन्त्रता विरोधी क्रियाकलापका कारण सञ्चारकर्मी अभिव्यक्ति स्वतन्त्रता उपभोगबाट वञ्चित रहेको देखिएको छ । यसैगरी, नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनसम्बन्धी ६२ वटा घटना भएका छन् । महासंघको सञ्चार अनुगमन इकाइका अनुसार गिरफ्तारी १६, बेपत्ता एक, अपहरण÷अवरोध छ, आक्रमण १७ दुर्व्यवहार÷धम्की १९ र नीतिगत बन्देजमा तीनवटा घटना रहेका छन् । दक्षिण एसियामा ३३ पत्रकार मारिए अन्तर्राष्ट्रिय पत्रकार महासंघले बुधबार सार्वजनिक गरेको मिडिया प्रतिवेदनअनुसार दक्षिण एसियामा मात्र गएको एक वर्षमा ३३ जना सञ्चारकर्मी मारिएका छन् । मारिएका सबै पत्रकार आफ्नो कार्यक्षेत्रमै मारिएका छन् । प्रतिवेदनअनुसार मारिनेमध्ये २२ जना अफगानिस्तान, सातजना भारत र चार जना पाकिस्तानका छन् । माल्दिभ्स, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र बंगलादेशमा मारिएका पत्रकारका परिवारले न्यायसमेत नपाएको उल्लेख छ । पत्रकार सुरक्षाका दृष्टिकोणले विश्वमै दक्षिण एसिया खतराको क्षेत्रमा रहेको र यो लज्जास्पद भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघले जनाएको छ । दक्षिण एसियाली मुलुकमा पत्रकारविरुद्धको दण्डहीनता मौलाए भएपनि यसको अन्त्यका लागि ती मुलुकका सरकारहरूले कुनै ठोस कदम नचाल्दा पत्रकारिता क्षेत्र नै असुरक्षित बन्दै गएको प्रतिवेदनमा औँल्याइएको छ । -देशसन्चारबाट

श्रीमान भेट्न आएकी युवती होटलमा मृत्त भेट्टिइन्

नुवाकोट, वैशाख १८ । बाजुराको स्वामीकात्तिक गाँउपालिका–४ की लक्ष्मी नाथ आज विदुर नगरपालिका–२ स्थित डाइमण्ड होटलमा मृत्त अवस्थामा भेट्टिएकी छिन् । नुवाकोट सिटी अस्पतालमा अहेब पदमा कार्यरत श्रीमान नविन नाथलाई भेट्न चार दिनअघि यहाँ आएकी २४ वर्षीया लक्ष्मी अपराह्न होटलको कोठामा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो । होटलमा बस्ने क्रममा आफूसँग सामान्य विवाद भएकाले बाथरुमको धारोमा सलको पासो लगाएर आत्महत्या गरेपछि आफूले त्यहाँबाट उनको शव निकालेर कोठामा राखेको श्रीमान नविनले प्रहरीलाई बताएका छन् । घटना शंकास्पद रहेको भन्दै प्रहरीले नविनलाई नियन्त्रणमा लिएको छ । लक्ष्मीको माइतीपक्ष डडेल्धुरबाट आउनेक्रममा रहेकाले शव घटनास्थलबाट उठाउन बाँकी छ ।

फोरम नेपालकाे ८७ सदस्यीय समाजवादी ट्रेड यूनियन महासंघ घोषणा

काठमाडौं, वैशाख १८ । संघीय समाजवादी फोरम नेपालको श्रमिक संगठन समाजवादी लोकतान्त्रिक टे«ड यूनियन महासंघको एकीकरण घोषणा भएको छ । राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघ स्वतन्त्र र समाजवादी टे«ड यूनियन महासंघ नेपालबीच महासंघ एकीकरण भयो । मंगलबार राजधानीमा आयोजित एक समारोहमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले श्रमिक हकहित र संरक्षणको लागि संघर्षरत समाजवादी टे«ड यूनियन महासंघ एकीकृत भएको घोषणा गरेका हुन् । एकीकरणपछिको ट्रेड यूनियन महासंघको अध्यक्षको जिम्मेवारी नवराज दाहालले पाएका छन् । महासंघको सहअध्यक्षमा जोगीलाल यादव, वरिष्ठ उपाध्यक्षमा अर्जुन लम्साल छन् । उपाध्यक्षमा विन्देश्वर राय यादव, सुनितादेवी बराल, प्रेम भुजेल, सपना अर्याल र हेमन्त माण्डव छन् । त्यस्तै, महासचिवमा डिबी सरोज राई रहेका छन् । उपमहासचिवमा हरिश दाहाल, दयाराम राई, शैलेन्द्र बैद्य र बलराम चौधरी चुनिएका छन् । सचिवमा यज्ञकुमार राई, कुलमाया गोले, बासुदेव यादव, गोपाल राई, राजेन्द्र भुषाल र रामविलास यादव छन् । शोभा मण्डललाई कोषाध्यक्षको जिम्मेबारी दिइएर सत्तासी सदस्यीय टे«ड यूनियन महासंघ एकीकरण घोषणा भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको विशिष्ठ अतिथिमा पार्टीका वरिष्ठ नेता अशोक कुमार राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठको उपस्थिति थियो ।

बलात्कृत हुनेमा २५ प्रतिशत १० वर्षमुनिका बालिका

काठमाडाैं, वैशाख १८ ।  बलात्कारका कुल घटनामध्ये करिब ६० प्रतिशत पीडितहरू १६ वर्षमुनिका बालिका हुने गरेको प्रहरीको आँकडाले देखाएको छ। तिनमध्ये १० वर्ष मुनिका पीडितको सङ्ख्या उल्लेख्य रहेको छ। केन्द्रीय बाल कल्याण समितिले गत हप्ता प्रकाशित गरेको एउटा अध्ययन प्रतिवेदनले गत चार महिनामा दर्ता भएका बलात्कारका घटनामध्ये एकतिहाइ पीडितहरू १० वर्ष मुनिका बालिका भएको देखाएको छ। बलात्कार लगायतका यौनजन्य हिंसा अपरिचितभन्दा पनि परिचित व्यक्तिबाट धेरै हुने गरेको अधिकारकर्मीहरूले बताएका छन्। परिवारमा कलङ्क लाग्ने डर र कतिपय अवस्थामा सङ्कोचका कारण बालिका बलात्कारका सबै घटनाहरू अझै बाहिर आउन नसकेको उनीहरूको बुझाइ छ। शिकार पछिल्लो समय बलात्कार लगायतका यौनहिंसाका घटनाबारे प्रहरीमा उजुरी गर्ने क्रम बढेको देखिएको छ। प्रहरीसँग भएको तथ्याङ्कले बालिकामाथि बढी यौन हिंसा हुने गरेको सङ्केत गर्छ। गत साता केन्द्रीय बाल कल्याण समितिले सार्वजनिक गरेको प्रतिवेदनले पनि त्यही देखाएको समितिका कार्यकारी निर्देशक तारक धितालले बताए। उनले भने, “गएको चार महिनामा भएका बलात्कारका घटनामा ३१ प्रतिशत १० वर्ष मुनिका बालिकाहरू परेको देखिएको छ। सबैभन्दा धेरै अथवा ६२ प्रतिशत ११ देखि १५ वर्षका बालिकाहरू यस्तो घटनाको सिकार भएको भेटिएको छ। यौन दुर्व्यवहार गर्न साना बालिकाहरूलाई बढी सिकार बनाइएको यसले देखाएको छ।” तथ्याङ्क प्रहरी तथ्याङ्कका अनुसार गत वर्ष ११ सय ३१ वटा बलात्कारका घटना दर्ता भएका थिए। त्यसमध्ये २११ वटा मुद्दा १० वर्ष मुनिका बालिकामाथि बलात्कार भएको भनी दर्ता भएको थियो। यस्तै ४४४ बलात्कारका घटना ११ वर्ष देखि १६ वर्ष उमेरसम्मका बालिका र ८८ वटा १७ देखि १८ वर्षका किशोरीमाथि भएको भनी दर्ता भएको नेपाल प्रहरीले जनाएको छ। बालअधिकारकर्मी सुम्निमा तुलाधरका अनुसार बालिकामाथि हुने अधिकांश यौनहिंसा उनीहरूले चिनेजानेकै मानिसबाट हुने गरेको छ। पीडक “हाडनाता करणीसम्बन्धी बलात्कारहरू १२.५ प्रतिशत हुने गरेको पाइएको छ। यस्तै ७० प्रतिशत भन्दा बढी पीडकहरू बालिकाले कुनै न कुनै रूपमा चिनेका व्यक्ति हुने गरेका छन्,” तुलाधरले बताइन्। बलात्कारका हिंसामा पर्नेमध्ये उल्लेखनीय सङ्ख्यामा विभिन्न प्रकारका अपाङ्गता भएका बालिका हुने गरेको राष्ट्रिय अपाङ्ग महासङ्घकी उपाध्यक्ष टीका दाहालले बताइन्। पीडकलाई पहिचान गर्न नसक्ने, आफ्ना अभिव्यक्ति स्पष्ट राख्न नसक्ने र सजिलै भाग्न नसक्ने जस्ता कारणले अपाङ्गता भएका महिलालाई पीडकले लक्षित गर्ने गरेको दाहाल बताउँछिन्। यस्ता थुप्रै घटना अझ बाहिर आउन नसकेको दाहालले बताइन्, “यो अरूको पनि चासोको विषय नहुने अनि परिवारले पनि हामीले यसविरुद्ध लड्न समय दिन सक्दैनौँ वा प्रमाण जुटाउन सक्दैनौँ भन्ने खालका सोच राख्ने गरेका कारण पनि कतिपय घटना बाहिर नआएको भेटिएको छ।” लुकाउने चलन कलङ्कको डरले बलात्कार र अन्य यौनहिंसाका घटना लुकाउने चलन समाजमा अझै पनि रहेकोले प्रहरीको तथ्याङ्कले देखाएकोभन्दा अझ धेरै बलात्कारका घटना भएका दाहाल बताउँछिन्। सहमतिमै बालिकासँग शारीरिक सम्पर्क भए पनि कानुनी दृष्टिकोणमा त्यो अपराध हुन्छ। त्यसैले स्वास्थ्य परीक्षणद्वारा १६ वर्ष मुनिका बालिकासँग स्थापित यौनसम्बन्धलाई बलात्कार भनेर पुष्टि गर्न अलि सजिलो छ, अधिवक्ता इन्दु तुलाधारले भन्छिन्। तर त्यसका लागि चाहिने प्रमाण भने समयमै जुटाउनुपर्ने उनको भनाइ छ। “बलात्कार भएको घटना लुकाउन खोज्ने वा मिलाउन कोसिस गर्ने, समयमै प्रहरीकोमा नपुर्‍याउने र प्रमाण लोप हुनसक्ने अवस्थाजस्ता केही व्यवहारिक कठिनाइहरू छन्।” सजाय दश वर्षमुनिका बालिकालाई जबर्जस्ती करणी गरेको प्रमाणित भएमा १० देखि १५ वर्ष सम्म जेल सजाय हुने व्यवस्था कानुनमा छ। त्यसैगरी १० देखि १४ वर्ष मुनिका बालिका र १४ देखि १६ वर्ष मुनिका बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा दोषीलाई क्रमश: १२ र १० वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ। यस्ता घटना न्यूनीकरण गर्न सरकारको तर्फबाट प्रयास गरिएको भए पनि त्यो पर्याप्त नभएको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक धितालले बताए। “यौनहिंसालाई न्यूनीकरण गर्न भनी सरकारले विभिन्न कार्यक्रमहरू गरिरहेको छ। तर यस्ता हिंसा बढी हुने क्षेत्रहरू विश्लेषण गरेर लक्षित कार्यक्रमहरू सञ्चालन हुनुपर्ने आवश्यकता देखिएको छ।” बलात्कारजस्तो हिंसाको छाप पीडित बालिकाको जीवनभरि बाँकी रहने र त्यसको दुष्परिणाम पीडितले मात्र नभई उसको सन्तानले पनि परोक्ष रूपमा भोग्नुपर्ने हुनाले त्यसको रोकथामका लागि सामाजिक अभियान चलाउनु अहिलेको ठूलो आवश्यकता रहेको भनाइ विज्ञहरूको रहेको छ। साथै पीडितहरूलाई मनोपरामर्शको व्यवस्था गर्न पनि मागहरु उठेका छन्। बीबीसी