गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान

कुवेत सिटी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबार गाजामा इजराइल–हमास युद्ध, बन्धकहरूको फिर्ता र घेरामा परेको प्यालेस्टाइन क्षेत्रमा मानवीय सहायतामा ‘वृद्धि’ तुरुन्त रोक्न आग्रह गरेका छन्।

“तुरुन्त मानवीय युद्धविरामका लागि म विश्वको आह्वानलाई दोहोर्‍याउँछु, सबै बन्धकको बिना शर्त रिहाई र मानवीय सहायतामा वृद्धि होस”, कुवेतमा अन्तर्राष्ट्रिय दाता सम्मेलनलाई गर्नुभएको भिडियो सम्बोधनमा उनले भने, “तर युद्धविराम सुरुआत मात्र हुनेछ, यो युद्धको विनाश र आघातबाट फर्किन धेरै समय लाग्नेछ ।”

गाजामा इजराइली आक्रमण आइतबार पनि जारी रहेको छ । सहरको पूर्वी क्षेत्रहरूमा सैन्य घुसपैठका बारेमा अन्तर्राष्ट्रिय आलोचनाका बाबजुद इजराइलले रफाहका लागि निकासी आदेश विस्तार गरेपछि प्रभावकारीरूपमा मुख्य सहायता क्रसिङ बन्द भएको छ ।

“गाजामा युद्ध भयानक मानवीय पीडाको कारण बन्दै गएको छ भने जीवनलाई तहसनहस बनाएको छ । त्यस्तै पारिवारिक विखण्डनलाई बढाएको छ । युद्धले ठूलो सङ्ख्यामा मानिसहरूलाई घरबारविहीन, भोक र आघातमा पारेको छ”, महासचिव गुटरेसले भने।

कुवेतमा अन्तर्राष्ट्रिय इस्लामिक परोपकारी संस्था (आइको) र राष्ट्रसङ्घको मानवीय समन्वय संस्थाले आयोजना गरेको सम्मेलनको उद्घाटन समारोहमा उनको उक्त टिप्पणी आएको हो ।

शुक्रबार गाजाको रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिए ।

इजराइलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व हमलापछि गाजाको सबैभन्दा रक्तपातपूर्ण युद्ध सुरु भयो । हमासको आक्रमणमा एक हजार एक सय ७० भन्दा बढी मानिसको मृत्यु भएको इजराइली आधिकारिक तथ्याङ्कले बताएको छ ।

हमासलाई समाप्त पार्ने वाचा गर्दै इजरायलले जवाफी आक्रमण सुरु गर्दा गाजामा ३४ हजार नौ सय ७१ भन्दा बढीको मृत्यु भएको छ । यसमा अधिकांश महिला र बालबालिका रहेका हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस/एएफपी

कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ।  कांग्रेसले सोमबार दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ। यस्तै, सोमबार नै दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो।  बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ। 

एक्यान गण्डकी प्रमुखमा अनिल, कास्की सभापतिमा विवेक

पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ गण्डकी प्रमुखमा सिए अनिल लामिछाने चयन भएका छन्। संघको शनिबार गण्डकी प्रमुख र कास्की कार्यसमितिको अधिवेशन भएको हो। एकाउन्टेन्ट्स संघको गण्डकी प्रमुखमा अनिल निर्विरोध चयन भए भने विवेक श्रेष्ठको नेतृत्वमा जिल्ला कार्यसमिति कास्की बनेको छ। समितिको उपसभापतिमा दीपक भुर्तेल, सचिवमा सागर आचार्य र कोषाध्यक्षमा पुरोचन उदास चयन भए।    समितिको सदस्यमा समिप भर्ती थकाली, प्रकाश पौडेल, सरोज पराजुली, उभेककुमार श्रेष्ठ र सविना महर्जन छन्। नेपालभरिको चार्टर्ड एकाउन्टेन्ट्सहरुको अधिवेशन शनिबार भएको हो। २०३४ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको ११ वटा जिल्ला समिति र उपात्यका विशेष प्रदेश समितिसहित ८ वटा प्रदेश समिति छन्। गण्डकीमा ७५ जना चार्टर्ड एकाउन्टेन्ट्स छन्।

जसपा नेपालले निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ ।  उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएर अशोक राईको नेतृत्व जसपा गठन भएको छ । सो जसपालाई निर्वाचन आयोगले मान्यता पनि दिइसकेको छ।त्यो मान्यता कानुन विपरीत रहेको भन्दै जसपा नेपालले सर्वोच्चमा आजै रिट दायर गर्न लागेको  पार्टी निकट एक अधिवक्ताले बताए। उनले भने, ‘सबै तयारी पुरा भएको छ, अब दर्ता गराउन मात्र बाँकी छ, सम्भवतः आजै रिट दायर हुन्छ ।' हाल संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा निर्वाचन आयोगले अवैधानिक रुपमा दल दर्ता गरेको आरोप जसपा नेपालको रहेको छ। 

बत्तीसपुतलीमा युवकको हत्याको कारण -'कुम ठोक्किनू'

काठमाडौं। काठमाडौंको बत्तीसपुतलीमा सामान्य विवादबीच मोरङका २४ वर्षीय शम्भु धिमालको हत्या गरिएको खुलेको छ। शनिबार राति बत्तीसपुतलीको मुख्य सडकमा उनीमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो। हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चारजना नै १७ वर्षमुनिका किशोर छन्। घटना हुँदा शम्भुसँगै उनका एक साथी समेत रहेका प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ। विपरीत दिशाबाट आउँदै गरेका चारमध्ये एक किशोरसँग शम्भुको कुम ठोक्किएको थियो। सोही विषयमा विवाद हुँदा अर्का एक किशोरले आफ्नो साथमा बोकेको चक्कुले अन्धाधुन्ध प्रहार गरेर हत्या गरेको खुलेको घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ। चार किशोरमध्ये तीनजनाले मदिरा सेवन गरेको समेत खुलेको छ। उनीहरू बत्तीसपुतलीकै स्थानीय हुन्। उनीहरू कक्षा–९ र १० मा अध्ययनरत विद्यार्थी रहेको खुलेको प्रहरीले जनाएको छ।

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँ बढेर कारोबार भएको हो। आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।  चाँदीको मूल्य भने १० रुपैयाँले घटेर कारोबार भएको छ। शुक्रबार प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ७२५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । 

सल्यान कुपिण्डेमा एक दम्पती मृत फेला

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका एक दम्पती मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन् । श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए। कार्कीका अनुसार श्रीमती कमलाको शव माथिल्लो तलामा घाटी काटिएको अवस्थामा फेला परेको र श्रीमान मनोत तल्लो तलामा झुण्डिएको अवस्थामा फेला परेका छन्।  प्रहरी प्रमुख कार्कीकै नेतृत्वमा घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

चितवनमा अज्ञात समूहद्वारा स्कुलबसमा आगजनी

काठमाडौं । चितवनमा अज्ञात समूहले एक स्कुल बसमा आगजनी गरेको छ।भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलनजिक हेभन बोडिङ स्कुलको प्रदेश–०६००१ क ०००४५ नम्बरको बसमा आइतबार बिहान आगजनी गरेका हुन्। चितवनका डीसपी भेषराज रिजालका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ। बस जलेर पूर्ण रूपमा क्षति भएको छ। 

डा. गोविन्द केसीले सुरू गरे बाइसौं पटक अनशन, यस्ता छन् ४ माग

काठमाडौं । डाक्टर गोविन्द केसीले शनिबारदेखि बाइसौं अनशन सुरू गरेका छन्।विभिन्न चार माग राखेर शनिबार अपराह्न ४ बजेदेखि उनले सत्याग्रह सुरू गरेका हुन्। 'अन्तिम अल्टिमेटमको अवधिमा पनि हाम्रा मागहरू सम्बोधन नभएको हुनाले आज २०८१ वैशाख २९ गते ४ बजेदेखि बाइसौं सत्याग्रह सुरू गर्ने घोषणा गर्दछौं' पत्रकार सम्मेलन गर्दै उनले भने। यस्ता छन् माग १.सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरून्त राजीनामा। निष्पक्ष रूपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस्। २.सबै नेपालीलाई गुणस्तरीय साथै निस्शुल्क औषधि उपचारको व्यवस्था गरियोस्। ३.जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा  सुधार र सबैको समान पहुँच सम्बन्धी ( गेटामा तुरून्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेस प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज रप्रतिष्ठान तुरून्त निर्माण गर्न, विश्वविद्यालय र  स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन तुरून्त पारित गर्न लगायत सबै सम्झौताहरू कार्यान्वयन गर्न र, ४.कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ।

तत्कालीन ओली सरकारलाई कारबाही गर्नुपर्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले यो सरकारले तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन्। उनले भनेका छन्,‘झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट)अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चका संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ।’ उनले अब त्यहाँ कि चिया बगान हुने कि त त्यो जग्गा सरकारको हुने उनले बताए। उनका अनुसार यो जग्गा अहिलेको अवस्थामा १० अर्ब भन्दा धेरै मूल्यको रहेको छ। ‘अब तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनुपर्छ यो सरकारले,’उनले भनेका छन्,‘जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृयाबाट बैना फिर्तामा जानु होला तपाईंहरूको जग्गा प्राप्तिको बाटो सकिएको छ।’ देशको अरबौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल भएको भन्दै उनले कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई धन्यवाद दिए। ‘धन्न तपाई जस्तो कोहि हुनुहुन्छ र सरकारी सम्पत्ति बचेको छ,’उनले उल्लेख गरेका छन्।

वैवाहिक बलात्कारको आरोप : गायक रवि ओडले गरे आत्मसमर्पण

काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनी बिहीबार कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशीले जानकारी दिए। नेपाल आइडल सिजन– २ का विजेता कञ्चनपुरको कृष्णपुर नगरपालिकाका बासिन्दा ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २० गते प्रहरीमा उजुरी दिएकी थिइन्। श्रीमतीको उजुरीपछि प्रहरीले जिल्ला अदालतबाट गायक ओडविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। आत्मसमर्पण गरेका ओडलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए।

काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या, चारजना पक्राउ

काठमाडौं  । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ।  गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो। धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरे जानकारी दिए। उनको हत्याको कारण भने खुलेको छैन। धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख ३० गते आइतबार सन् २०२४ मे १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ शून्य पैसा र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं ।संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हलमा बस्ने छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

उपत्यकासहित विभिन्न भागमा वर्षा, दिनभर बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा भइरहेको छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिनभरी नै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने बागमती, गण्डकी, कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर १६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४४ मिनेटमा हुनेछ।

दाङमा दुई महिलाको हत्या

घोराही । घोराही उपमहानगरपालिका-१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।  हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।  प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या भएको खबर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझ्ने काम भइरहेको बताए । उनका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।