बेवारिसे अवस्थामा एक युवकको शव फेला

धनकुटा । स्थानीय फोहर विसर्जनस्थल छेउमा आज बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ ।

शव धनकुटा नगरपालिका ६ का ३० वर्षीय राजेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो ।

श्रेष्ठको अनुहार र शरीरमा गम्भीर चोट रहेका कारण हत्या भएको आशंकामा धनकुटा नगरपालिका–६ निवासी मृतकका भाइ ईश्वर, भिनाजु अनिल डंगोल र धनकुटा नगरपालिका– २ घर भएका रुमबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । शव परीक्षणका लागि धनकुटा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

माेदीलार्इ जनकपुरमा १२१ किलोका तीनवटा माला

जनकपुरधाम, वैशाख २८ । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरधाममा १२१ किलोको माला लगाई दिएर नागरिक अभिनन्दन गरिएको छ । शुक्रबार जनकपुर उपमहानगरपालिकाद्वारा रंगभूमि मैदानमा आयोजित कार्यक्रममा तीनवटा १२१ किलोको माला लगाई नागरिक अभिनन्दन गरिएको हो । प्रधानमन्त्री मोदीलाई २ नं प्रादेशिक सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोका तीनवटा माला लगाएर अभिनन्दन गरिएको हो । प्रधानमन्त्री मोदीको स्वागतका लागि बनाइएको स्वागतद्वारमा मोदीको तस्वीरसहितको व्यानर झुण्ड्याईएको छ । स्वागतका लागि जनकपुर विमानस्थलदेखि मुरली चोक, विश्वकर्मा चोक, भ्रमरपुर चोक, रामानन्द चोक र जानकी मीन्दरसम्म दर्जनौं स्वागतद्वार निर्माण गरिएको छ ।

चेपाङहरुले घडेरी पाउँदा खुशीको कुनै सीमा नै छैन

चितवन । बाँदर लड्ने ठाडो भिरमा खोपेर बनाइएको घर । वर्षांैदेखि बस्दै आएपनि २०७२ सालको विनाशकारी गोरखा भूकम्पले त्यही पूरै घर भत्कायो । अन्यत्र जाने विकल्प नभएपछि विकट काउलेस्थित हेप्चेकको पखेरोमै दुःखजिलो गरेर ओत लाग्ने झुप्रो घर बनाएर बसेको तीन वर्ष भएको छ । हावाहुरी र मेघ गर्जंदा गाउँले डराएरै बस्थे । ‘डरैडरमा बित्यो,’ तुलबहादुर चेपाङ मुहार उज्यालो पार्दै भन्नुहुन्छ, “अब घडेरी पायौं, खुसी भा छ सर ।” सरकारले नजिकै रहेको दुम्किम भन्ने गाउँमा घडेरी उपलब्ध गराएपछि यहाँका चेपाङहरुमा खुशीको सीमा छैन् । विसं २०७२ वैशाख १२ गतेको ‘गोरखा विनाशकारी भूकम्प’ आउदा सोही गाउँकी उजेलीमाया चेपाङले जंगलबाट ल्याएको घाँस बिसाउन मात्रै के भ्याउनुभएको थियो, एक्कासि जमिन हल्लियो । डाँडो फनफनी घुमेको महसुस भयो । आँखै अगाडि क्षणभरमै आफ्नो ओत लाग्ने घर ध्वस्त भयो । उनी जस्तै हेप्चेकका बुद्धबहादुर चेपाङको घर पनि त्यसैगरी क्षणभरमै ध्वस्त भयो । ‘जमिन नै कमजोर भयो, डाँडो नै चर्केको थियो, तुलबहादुरले भन्नुभयो, “अझै पनि झरि, बादल हुँदा डरलाग्छ बस्दैन ।” जब गड्याङगुडुङ हुन्छ उक्त गाउँका बासिन्दा अहिले पनि त्रासमै छन् । यो तीन वर्ष यस्तै गरेर बिताए । भूकम्पपछिको महिनौंसम्मको रात उनीहरु घरमा बसेनन् । नजिकैको दुम्किममा गएर बास बसेको अनुभव उजेलीमायालाई छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको विज्ञ समूहले हेम्चेकको स्थलगत अध्ययन गर्दा सो क्षेत्र जोखिम भनेर बस्ती सार्ने निर्णय गरेको थियो । सामान्यतयाः ३० डिग्रीभन्दा बढी ठाडो जग्गामा बस्न मिल्दैन । उनीहरुको गाउँ छङ्गाछुर भिर देखिन्छ । विगतमा ठूलो प्रयास गर्दा पनि बस्ती सर्न नसकेका उनीहरुका लागि खुसीको परिणाम मिल्यो । नजिकै रहेको सुरक्षित स्थान दुम्किममा पीडितमध्ये आठ घरले जग्गा प्राप्त गरेका छन् । जोखिममा रहेका ११ घरमध्ये एक घर सम्पर्कमा आएको छैन । भूकम्पपीडित कालु चेपाङ र बोमबहादुर चेपाङले नजिकै घुर्केस भन्ने स्थानमा जग्गा खोजेका छन् । अन्य होमबहादुर चेपाङ, रामबहादुर चेपाङ, तुलबहादुर चेपाङ, बलवान चेपाङ, थाकु चेपाङ, बुद्धबहादुर चेपाङ, भगवान चेपाङ र उजेली चेपाङको परिवार दुम्किममा स्थानान्तरण हुने भएका छन् । उनीहरुका लागि पुनःनिर्माण प्राधिकरणले प्रतिघडेरी अधिकतम रु दुई लाख दिन्छ । घर निर्माणका लागि सरकारबाट रु तीन लाख आउँछ । आगामी असार मसान्तसम्ममा उनीहरुले जग तयार गरे भने दोस्रो किस्ताबापतको रकम पाउँछन् । स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै दुम्किममा आइपुगेका उनीहरुलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका प्रमुख पुष्कर पोखरेलले जग्गा पक्का भएको खबर सुनाउँदा उनीहरु हर्षित भए । घर पाउने पक्का भएपछि भूकम्पपीडित तुलबहादुरले हर्षित हुँदै भन्नुभयो, “अब छिट्टै घर बनाउने र बस्ने हो ” चितवनको विकट क्षेत्र इच्छाकामना गाउँपालिका–२ हेच्चेकको जोखिम क्षेत्रका आठ घर भूकम्पपीडितले सुरक्षित स्थानमा जग्गा प्राप्त गरेपछि बिहीबारदेखि जग्गाधनी पूर्जाका लागि उनीहरुले प्रक्रिया शुरु गरिसकेका छन् । चितवनको राप्ती नगरपालिकाको एसिखाई र तापाङका १३ घरलाई स्थानान्तरणका लागि जग्गा उपलब्ध गराइसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका शाखा प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो । उनीहरुले जग्गाधनी पूर्जासमेत प्राप्त गरिसेका छन् । पूजालिंँदै स्थानीयवासी विविमाया चेपाङले भन्नुभयो, “घर बनाएर बस्ने हो सर खशी भा छ ।” यता इच्छाकामना–४ तीनघरेका पाँच घर पीडितलाई लेवाटारमा जग्गा उपलब्ध गराइएको छ । जिल्लाका अन्य क्षेत्रमा स्थानान्तरणका लागि आवश्यक प्रक्रिया चलिरहेको छ । इच्छाकामनाका अन्य धेरै पीडित राहत लिने प्रक्रियामै रहेको गाउँपालिकाको भूकम्प पुनःनिर्माणका स्रोत व्यक्ति राजन घिमिरेले बताउनुभयो । जिल्लामा जोखिम क्षेत्र पहिचान भएका कूल १०२ घर स्थानान्तरण गर्नुपर्नेमा अहिलेसम्म ३५ घरका लागि पैसा आएको छ । २१ घरले जग्गाका लागि रकम प्राप्त गरिसकेको र अन्यको प्रक्रियामा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । इच्छाकामना गाउँपालिकाका ८३, राप्ती नगरपालिकाका १८ र कालिका नगरपालिकाका एक घर स्थानान्तरण गर्नुपर्नेछ । चितवनमा सात हजार ३३५ बढी भूकम्पपीडित भए पनि घर निर्माणको किस्ता वितरणको काम इच्छाकामना गाउँपालिकाबाहेक अन्य नगर र महानगरमा सुस्त छ । रासस

प्रधानमन्त्रीद्वय ओली र मोदीले गरे जनकपुर–अयोध्या सिधा बस सेवाको शुभारम्भ

जनकपुरधाम, वैशाख २८ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयक्त रुपमा हरियो झण्डा देखाएर नेपाल–भारत मैत्री बस सेवा जनकपुर–अयोध्या–जनकपुरको शुभारम्भ पनि शुभारम्भ पनि  गरेका छन्। त्यसअघि जनकपुरमा मोदीलाई नेपालका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका हुन्। विमानस्थलबाट मोदी सिधै राजजानकी मन्दिर पुगेका थिए । त्यहाँ उनलाई प्रधानमन्त्री केपीशर्मा ओलीले स्वागत गरे । त्यपछि मोदीले मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चना गरे । जनकपुरको जानकी मन्दिरमा पूजा अर्चनापछि बोल्दै प्रधानमन्त्री मोदीले नेपाल, प्रदेश सरकार, मन्दिर व्यवस्थापन समिति तथा आफ्ना समकक्षी केपी ओलीलाई धन्यवाद ज्ञापन गरे। सम्बोधनका क्रममा मोदीले अयोध्या र जनकपुरको परापूर्वकालदेखि नै सम्बन्ध रहिआएको स्मरण गरे। जनकपुर उपमहानगरपालिकाले प्रधानमन्त्री माेदीलार्इ गर्ने नागरिक अभिनन्दन कार्यक्रम शुरु भएकाे छ।

भारतीय प्रधानमन्त्री मोदीबाट जानकी मन्दिरमा विशेष पूजा सम्पन्न

जनकपुरधाम, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आज जनकपुरधामस्थित जानकी मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चना गर्नुभयो । मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुनुहुन्छ । षोडशोपचार विधिबाट गरिने पूजामा पञ्च आहुति, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शङ्गारका सामग्री अर्पण गरिने चलन छ । ईश्वर अवतार महामानवका रूपमा भएको भावभूमिमा सीतालाई सुशील पुत्री, धीर गम्भीर राजकुमारी, आज्ञाकारी शिष्या, अनन्त सखी, मर्यादित पत्नी, मृदुभाषणी गरिमामयी कुलवधु, प्रकृति स्वरूपा सबल नारी , संकटका बेला स्मरणीय चरित्र, ममतामयी माता तथा देवतुल्य भएकी कारण सीतालाई पूज्यनीय र अनुकरणीय मानिएको छ । यस सन्दर्भमा एक पटक भारतीय समाजवादी नेता चन्द्रशेखर जनकपुरधाम आएका बखत आयोजित अभिनन्दन कार्यक्रममा भावविभोर भई जानकीको वन्दना गर्दै भगवान् रामलाई पुरुषार्थको प्रेरणा जानकीबाट नै प्राप्त भएको प्रसङ्गले पनि अनन्य भावलाई स्पष्ट गर्छ । सनातन संस्कृतिको विशिष्ट तत्वका रूपमा सम्पूजित जानकी माताको दर्शन सन्दर्भमा यसअघि भारतीय राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जेल सिंह र प्रणव मुखर्जीले पनि धर्ती पुत्री जानकीको पूजाआराधना गरेको देखिन्छ । जनकपुरधाम मिथिलाका राजा जनकको घर र जानकीको जन्मस्थल भएकाले विदेह परम्पराको निरन्तरताका रूपमा विशिष्ट पाहुनालाई षोडशोपचार विधिबाट पूजा अर्चना गराइने परम्परा छ । जनक वंशको नामबाट यस नगरको नाम जनकपुरधाम रहन गएको हो र पौराणिककालमा मिथिला प्रदेशको राजधानी रहेको थियो । जानकी मन्दिरलाई माता जानकीको निवासस्थल मानिएको छ । धार्मिक मान्यताअनुसार जानकी मन्दिरको प्रधान गर्भगृह माता जानकीको कोहवर छ जहाँ जानकी र राम शयन गर्नुहुन्छ । मुगल, हिन्दू र मैथिल वास्तु शैलीको अनुपम संगमबाट बनेको सो मन्दिर वास्तु कलाकारिताको विलक्षण सम्पदा मानिन्छ । नौलखा, जानकी भवन, शीशमहल र नेपालको ताजमहल भनेर सो मन्दिर प्रख्यात रहेको छ । सो मन्दिरमा महात्मा सुरकिशोर दास र ओरछा नरेश तथा महारानीले प्रतिष्ठापित गरेका सीतारामका मूर्तिहरू रहेका छन् । मूर्तिलाई चाँदीको पाताले मोडिएको रथ आकार झैँ भान हुने विशाल एवं कलात्मक सिंहासनमा आकर्षक ढंगले सजाएर राखिएका छन् । भगवान् सीतारामका मूर्तिहरू राखिएको कोठामा बस्ने मूलद्वार पनि चाँदीले नै मोडिएका छन् । यसको अगाडि सानो जगमोहन छ । गर्भगृहको मूलद्वारसँगै जोडिएर यसको दुवैतिर दायाँ बायाँ स–साना बरण्डा बनाइएका छन्, जसलाई मिथिला वास्तुकलाको विशेषताका रूपमा लिइन्छ । गर्भगृह प्रवेश गर्ने मूलद्वारको दुवैतर्फको भित्तामा जीवनगाथासँग सम्बन्धित चित्रहरूले जीवन्तता दिन खाजेको जस्तो लाग्छ । भगवान् सीतारामको सिंहासनको पछिल्लो भागमा अष्ठकुञ्ज नामक आठ कोठा छन् । यी कोठामध्ये दुई कोठा पाताल जाने बाटो भएको बताइन्छ । अन्य कोठा भगवान्को शयन र स्नानका लागि प्रयोग गरिन्छ । जानकी मन्दिरमा कलाकारको मीठो सपना बोलेको देखिन्छ । यो मन्दिर किल्ला आकारको छ र चारैतिर साना–ठूला गुम्बज र बुर्जाहरूले घेरिएको छ । सो मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको र ५० फिट अग्लो छ । यसमा साठी कोठा रहेका छन् । मन्दिरको भव्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक रहेको छ भने जगमोहन मन्दिरको चारैकुनामा तीन–तीन वटाका दरले बनाइएका १२ वटा कलात्मक बुर्जाहरूका साथै अन्य साना–ठूला बुर्जा र गुम्बजमाथि रहेका सुनौला गजुरहरू, फराकिलो परिसर र प्रवेशद्वारका दुवैतिर र माथि बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यतालाई अझ बढाएको छ । सो मन्दिरको निर्माण मध्य भारतका ओरछा टिकमगढका महाराजा प्रतापसिंहका पत्नी वृषभान कुँवरीले पुत्र प्राप्तिको खुशियालीमा विसं १९६७ माघ २८ गतेमा निर्माण गराएकी थिइन् । सो मन्दिरको निर्माणमा त्यसबेलाको ब्रिटिस महारानीका चाँदीका सिक्काहरू ३–४ लाख खर्च भएको भनिए पनि मन्दिर बनाउन शुरूमा नौ लाख संकल्प गरिएको भनिन्छ । यो मन्दिर बनाउन जम्मा रु १५ लाख खर्च र १२ वर्ष लागेको बताइन्छ । जानकी मन्दिरलाई नौलखा मन्दिर पनि भनिन्छ । यस सन्दर्भमा यो पनि भनाइ रहेको छ कि महाराजा र महारानी जानकी मन्दिर बनाउन जति पनि खर्च गर्न तयार थिए । इकाइमा सो रकम भन्नु पर्दा नौ नै भन्नु परेकाले नौ लाख भनिएको हो । हिन्दू बाङ्मयमा अनुपम, विलक्षण, आश्चर्यजनक वास्तु, भवन, इमारतलाई सबैभन्दा उत्तम दर्जाको इकाइमा भन्नु पर्दा नौ भनिने हुँदा यस मन्दिरले वास्तुकलाको सर्वोत्कृष्ट कला प्रस्तुत गरिएकाले नौलखा भनिएको भन्ने मान्यता पनि पाइन्छ । सो मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि बनाइएका पत्थरका सिंहका मूर्ति पनि आकर्षक रहेको छ । यस कलात्मक पत्थरमा कलात्मक ढंगबाट रोमनमा एसपी लेखिएको देखिन्छ । जानकी मन्दिरमा पूजाअर्चनाका लागि आउँदा भारतीय प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री मोदी मन्दिर परिसरमा रहेको शालिग्राम मन्दिरमा पूजाअर्चना र अखण्ड सीताराम भजनमा स्तुति गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोशन दासले मैथिल संंस्कृतिअनुसार स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले गरे समकक्षी मोदीलाई जनकपुरमा स्वागत

काठमाडौं, वैशाख २८ । नेपालको दुई दिने राजकीय भ्रमण जनकपुर आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समकक्षी केपी शर्मा ओलीले रामजानकी मन्दिरमा स्वागत गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा पूजा सुरु गरेका छन्। भारतको एयर इण्डियाको विमानबाट जनकपुर विमानस्थलमा आइपुगेका मोदी त्यहाँबाट उच्च सुरक्षाकासाथ जानकी मन्दिरमा पुगेका हुन्।

दुलही जस्तै चिटिक्क सभागृह, प्रधानमन्त्री मोदीको अभिनन्दनको तयारी पूरा

काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नगरवासीका तर्फबाट अभिनन्दन गरिने स्थल राष्ट्रिय सभागृह चिटिक्क पारेर सिङ्गारिएको छ । सधैँ सार्वजनिक यातायातका साधन खचाखच रहने प्रदर्शनी मार्गमा अहिले अत्यन्तै कम संख्यामा सवारीसाधन चलेका छन् । सभागृहको प्रवेशद्वारमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो राखिएको छ । सभागृहमा पनि रंग लगाइएको छ भने फूलको साजसज्जा त्यत्तिकै आकर्षक छ । यी सबै दृश्य हेर्दा लाग्छ यो हिजोको सभागृह होइन । त्यसैगरी, स्वागतद्वारको दायाँबायाँ प्रशस्तै संख्यामा नेपाल र भारतका झण्डा टाँगिएको छ । सभागृह मात्र होइन मोदीको स्वागतका लागि उहाँ नेपाल रहँदाको समयमा आउने र जाने सबै स्थान सफा र व्यवस्थित नै रहेको छ । सडकको छेउछाउमा रंग लगाउने, झण्डा राख्ने, स्वागतद्वार निर्माण गर्ने काम पनि सँगै सकिएको छ । विमानस्थल, गौशाला, त्रिपुरेश्वर, जमल, नयाँ बानेश्वर, कोटेश्वर, हायात होटलको आसपासलगायत प्रधानमन्त्रीले आवत जावत गर्ने स्थानमा साजसज्जाको काम पनि सकिएको छ । दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री आज नेपाल आउन लाग्नुभएको छ । प्रधानमन्त्री मोदीको स्वागतका लागि कामपाका तर्फबाट कुनै कसर बाँकी राखिएको छैन, कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । अभिनन्दनको सबै तयारी सकियो प्रधानमन्त्री नरेन्द्र मोदीका लागि नागरिक अभिनन्दन गर्नका लागि सबै तयारी पूरा भएको कामपाले जानकारी दिएको छ । भ्रमणका लागि आज नेपाल आउनुहुने प्रधानमन्त्री आज पहिलो दिन प्रदेश नं २ को जनकपुर र काठमाडौँ तथा दोस्रो दिन मुक्तिनाथको दर्शन तथा जोमसोमको भ्रमण गर्नुहुनेछ । त्यसपछि काठमाडौँ फर्केपछि उहाँ भारतीय राजदूतले आयोजना गर्ने दिवा भोजमा सहभागी भई अपराह्न कामपाले आयोजना गर्ने नागरिक अभिनन्दनमा सहभागी हुने कार्यतालिका रहेको छ । आचार्यले भन्नुभयो, “सबै तयारी पूरा भएको छ, प्रधानमन्त्रीको स्वागतका लागि हामी आतुर छौँ ।” प्रधानमन्त्री २ः४५ बजे सभागृहमा पुग्ने भएपनि कामपाले अन्य अतिथि तथा पाहुनालाई दुई बजेभित्रै हलमा राखिसक्ने समयतालिका रहेको छ । ५३२ सिट क्षमता भएको सभागृहको हलमा ५५० जनासम्म हुनसक्ने कामपाले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री दुईदिने राजकीय भ्रमणमा नेपाल आउनलाग्नुभएको हो । उक्त कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री, सांसद्, कामपाका जनप्रतिनिधि, कामपाका उच्च पदका कर्मचारी र कूटनीतिक नियोगका प्रमुखको सहभागिता हुनेछ । कामपाका प्रमुख शाक्यले नागरिकका तर्फबाट नागरिक अभिनन्दन र महानगरका तर्फबाट कलात्मक साँचो हस्तान्तरणसँगै उपहार दिने तयारी रहेको छ । उपहार के दिने भन्ने बारे अहिलेसम्म टुङ्गो लागेको छैन । साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने हो ।

बलात्कारको चार दिनमा नै गर्भ रहेको पाइएपछि

रौतहट, वैशाख २७ । चन्द्रनिगाहपुरमा बैशाख २० गते बलात्कारको सिकार भएकी किशोरीमा घटनाको चार दिनपछि स्वास्थ्य परीक्षण गराउँदा गर्भ रहेको पाइएपछि प्रहरी समेत आश्चर्यमा परेको छ । सर्लाही हरिवन-११ का मुकेश दास र रिजवान अन्सारीले बलात्कार गरेको भन्दै किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा किटानी जाहेरी दिएका थिए । त्यसअघि नै प्रहरीले दुबैजनालाई पक्राउ गरिसकेको थियो । बलात्कारको जाहेरीपछि ईलाका प्रहरीले किशोरीको स्वास्थ्य परीक्षण गराइएको थियो । त्यस क्रममा गर्भवती भएको रिपोर्ट आएको डिएसपी शान्तिराज कोइरालाले बताए । ‘हामीले किशोरीलाई यसअघि कसैसित यौन सम्पर्क भएको थियो कि थिएन भनेर सोध्यौ,’ उनले भने, ‘कसैसित थिएन । थाहा भएन । भन्ने जवाफ दिएपछि आश्चर्यमा परेका छौं ।’ चिकित्सकले गर्भवती भएको बताएपछि प्रहरीले किशोरीलाई पटक पटक सोधपुछ गरेको थियो । सिन्धुलीबाट हरिवन बजारस्थित दिदीको घरमा आएकी किशोरी साँझ घर फर्कने क्रममा बसपार्कमा दुई युवकले भेटेर घर पुर्‍याइदिने भन्दै रौतहट ल्याएर बलात्कर गरेको प्रहरीसमक्ष बयान दिएकी छिन् । किशोरीलाई उद्धृत गर्दै प्रहरीले भन्यो, ‘मोबाइल किनिदिने भन्दै झुक्याएर ल्याएका रहेछन् । शकिद पार्कमा गलत हर्कत हुन थालेपछि प्रहरीलाई खबर गरको हो । पक्राउ परेका युवकले बा२५प १३७८ नम्बरको मोटरसाइकलमा ल्याएर पार्कभित्र लगेका थिए । चन्द्रपुरमा दासले आफूलाई एक पटक जबरजस्ती यौन सम्पर्क गरेको किशोरीले प्रहरीसमक्ष बताएकी छिन् । पक्राउ परेकाहरुले बलात्कार नगरेको दाबी गर्दै आएको प्रहरीले जनाएको छ । घटना अनुसन्धान भइरहेको प्रहरीले जनायो । पक्राउ परेका दुबैलाई करणीमा मुद्दा चलाइएको छ ।   कान्तिपुरबाट  

आइतबार उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, वैशाख २७ । सरकारले आगामी आइतबार (वैशाख ३० गते)काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुने भएकोले सरकारले उपत्यकामा बिदा दिने भएको हो। उपत्यकाबाहेक अन्यत्र भने बिदा नहुने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जनाएका  छन् । सरकारले १४ चैत ०७४ मा नेपाल राजपत्रमा निकालेको सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रालगायत चार वटा जात्रा लाग्ने दिन काठमाडौं उपत्यकामा बिदा दिने उल्लेख गरेको छ। सरकारले १०४ दिन बिदा कटौती गर्दै ८९ दिन बिदा दिने निर्णय गरेको भए पनि जात्रा लाग्ने चार दिन भने बिदा कटौती गरेको थिएन।

काम नसकिँदा विद्युत् खेर जाँदै

पाँचथर । थपिएको समयमा पनि काबेली करिडोर विद्युत् प्रसारण लाइनको काम नसकिँदा उत्पादन भएको विद्युत् खेर जाने अवस्थामा पुगेको छ । प्रसारण लाइनको काम समयमा नसकिँदा १५ मेगावाट क्षमताको हेवा ‘ए’ जलविद्युत् आयोजनाको ३३ केबिएबाट पाँच मेगावाट मात्र केन्द्रीय प्रसारणमा जडान हुँदैछ । यही प्रसारणबाट २२ मेगावाटको तल्लो हेवा, २५ मेगावाटको काबेली बी–१ तथा १० मेगावाटको इवा खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । उत्पादन गरेर विद्युत् प्रसारण लाइनमा हाल्ने अवस्था नरहेको तल्लो हेवा जलविद्युत् आयोजनाको माउण्टेड हाइड्रोपावर कम्पनीका अध्यक्ष सीताराम तिम्सिनाले बताउनुभयो । आयोजनाको काम अन्तिम चरणमा छ । करिडोरको थपिएको काम २०७५ वैशाख १० गते सकिएको छ । फागुनमा विद्युत् प्रसारण लाइन काबेली करिडोरको अनुगमनमा आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार कम्पनीलाई थपिएको समयसिमामा जसरी पनि काम सक्न निर्देशन दिनुभएको थियो । दोस्रो पटक थपिएको म्यादमा पनि काम सकिएको छैन । पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ र इलाममा उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न १३२ केबिए प्रसारण लाइनअन्तर्गत इलामको सोयाकदेखि पाँचथरको अमरपुरसम्मको काममा ढिलाइ भएको हो । आर्थिक वर्ष २०६६÷६७ देखि करिडोरको काम शुरु भएको थियो । आव २०७१÷७२ भित्र सक्ने शुरुवाती योजना थियो । दोस्रो पटक थपिएको म्यादमा पनि काम नसकिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताउनुभयो । भारतीय ठेकेदार कम्पनीले राम्रोसँग काम नगर्दा तथा निर्माण क्षेत्रमा भएको समस्या सुुल्झाउन नसक्दा थपिएको समयमा काम नसकिएको हो । इलामको सिद्धिथुम्का र चमैतामा स्थानीयवासीको अवरोध कायमै छ । प्रसारणलाइन रु एक अर्ब ३० करोडमा ठेक्का लगाइएको थियो । रासस

प्रदेश नं ७ लाई देशकै नमूना बनाउँछु : सभामुख थापा

बझाङ । भेटघाटका लागि गृहजिल्ला बझाङ पुग्नुभएका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बझाङ शाखाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सभामुख थापाले जनतामुखी बजेट ल्याइने बताउनुभयो । “गाउँको विकास भए मात्र देशको विकास हुन्छ । हिजो सिहंदरबारको मुख ताकेर बसेका जनतालाई अहिले गाउँगाउँमा अधिकार दिइएको छ । विकास अल्पकालीन हैन दीर्घकालीन हुनुपर्छ,” उहाँले भन्नुभयो । सभामुख थापाले भन्नुभयो, “जेठको पहिलो साता बजेट अधिवेशन हुँदैछ, पश्चिम सेती, अपर सेतीलगायत युवालाई आत्मानिर्भर हुने खालका योजना ल्याउन पहल गर्नेछु ।” बझाङको विकासका लागि ग्रामीण भेगमा बनेका सडकको स्तरोन्नति, केन्द्रीय प्रसारणलाइन जोड्ने चैनपुर ताक्लोकोट सडकखण्डको सुरुङमार्ग हिउँ जम्ने ठाउँमा निर्माण गर्ने र सदरमुकाम चैनपुरलाई नमूना सदरमुकाम बनाउन बजेट विनियोजन गर्ने उहाँको भनाइ छ । साइपाल गाउँपालिकाबाट हुने जडीबुटीको अवैध चोरी–निकासी रोक्न स्थानीय सरकारले पहल गर्नुपर्ने थापाले बताउनुभयो । विकासका लागि तेरो मेरो हैन हामी सबैको हो भन्ने भावना सबैमा जाग्नु आवश्यक रहेको उहाँको भनाइ थियो । रासस

डोल्पाका दुई वडालाई पूर्ण खोप घोषणा

। यहाँको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने वडा नं १ र २ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । नगरका दुई वडामा भएका ८१ जना बालबालिकाले जन्मदेखि दुई वर्षसम्म लगाउनुपर्ने ११ प्रकारका खोप पूरा गरेका आधारमा पूर्ण खोप वडा घोषणा गरिएको स्थास्थ्य चौकी त्रिपुराकोटका प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । पूर्ण खोप वडा घोषणासँगै दिगोपना पनि आवश्यक भएको स्वास्थ्य चौकी प्रमुख तुलबहादुर श्रेष्ठले बताउनुभयो । सरकारको खोप तालिकाअनुसार कुनै पनि गाउँ क्षेत्र भित्रका दुई वर्षसम्मका बालबालिकालाई जन्मदेखि दुई वर्षसम्म ११ वटा खोप पूरा गरेपछि मात्रै पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गर्न मिल्ने प्रावधान छ । त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा आयोजित कार्यक्रममा नगर प्रमुख ओमबहादुर बुढाले अहिले पूर्ण खोप घोषणा गरेर मात्रै नहुने र यसलाई निरन्तर रुपमा सर्वसाधारणको घर–घरमा पुगेर खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नगरका विभिन्न विद्यालयका अध्ययनरत विद्यार्थीले जनस्वास्थ्य शिक्षासम्बन्धी चेतना फैलाउने नृत्य, सडक नाटक र कविता प्रस्तुत गरेका थिए । साबिकको त्रिपुराकोट गाविसका नौ वडाका नौ जना स्वास्थ्य स्वयम्सेविकालाई सम्मानितसमेत गरिएको थियो । रासस

म्याग्दीको मराङ सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ सडक सञ्जालमा जोडिएको छ । मालिका गाउँपालिका–७ को अर्कलादेखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेँसीमा पु¥याइएको हो । गाउँपालिका र जिल्ला समन्वय समितिद्वारा सञ्चालित अर्कला–बेँसी सडक आयोजनाअन्तर्गत बेँसीसम्म सडक मार्ग पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले बताउनुभयो । दुई ठाउँमा करीब २०० मिटर पहाडी मार्ग खोल्न बाँकी भए पनि तीन ठाउँमा डाइभर्सन बनाएर बेँसीसम्म जिप, ट्याक्सी, मोटरसाइकल, माइक्रोबस, ट्र्याक्टर चल्न सक्नेगरी सडक पु¥याइएको अध्यक्ष पुनले बताउनुभयो । आगामी असार महिनाभित्र बाँकी रहेको चट्टानी पहाडमा बाटो बनाइसक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको उहाँको भनाइ थियो । विसं २०७० मा अर्गला पुगेको सडकलाई थप तीन किलोमिटर विस्तार गरेर बेँसीसम्म पु¥याइएको छ । सडक सञ्जालमा जोडिएपछि आवतजावत गर्न, बिरामीलाई अस्पताल पु¥याउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी तथा गाउँमा उत्पादन भएको कृषिजन्य वस्तुको निकासीमा सहज भएको वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । “बेँसीबाट हिँडेर अर्कला पुग्न भिर, खोल्सा र जंगलको बाटो एक घण्टाभन्दा धेरै पैदल हिँड्नुपथ्र्याे” वडाध्यक्ष सुवेदीले भन्नुभयो, “अहिले दश मिनेमै पुगिन्छ । ढुवानी भाडा घटेको छ । स्थानीयवासीलाई आवतजावतमा सुविधा पुगेको छ ।” उक्त सडकबाट धौलागिरि गाउँपालिकाको मराङ, मल्कवाङ र रघुगंगा गाउँपालिकाको कुइनेखानी गाउँका ६०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । आयोजनाका प्राविधिक कृष्ण रायका अनुसार पछिल्लो चार वर्षयता उक्त सडक निर्माणमा रु तीन करोडभन्दा बढी खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा धौलागिरि गाउँपालिकाले रु ९० लाख र जिल्ला समन्वय समितिले कृषि सडक आयोजनाअन्तर्गत रु ७५ लाख विनियोजन गरेका छन् । गत वर्ष जिल्ला समन्वय समितिले दुई वटा शीर्षकमा रु एक करोड, विसं २०७३ मा रु साठी लाख र विसं २०७२ मा रु १५ लाख विनियोजन गरेको थियो । सडक डिभिजन कार्यालयले करीब ४० मिटर पहाड फुटाएर मार्ग खोल्न गत वर्ष करीब रु डेढ करोडमा शुरु गरेको काम यस वर्ष योजनाले निरन्तरता नपाएपछि रोकिएको छ । चट्टानी पहाडयुक्त कठिन भूगोलमा सडक निर्माण गर्दा धेरै समय र लगानी भएको प्राविधिक रायले बताउनुभयो । अक्करे भिर छिचोलेर गाउँमा सडक र गाडी आउँदा खुशीले गद्गद भएको बेँसीका चूडामणि सुवेदीले बताउनुभयो । धौलागिरि गाउँपालिकाका अध्यक्ष रेशम छन्त्यालले मार्गमात्र खोलिएको सडकको विस्तार, स्तरोन्नति, मोटरेबल पुल निर्माणका साथै मराङका अन्य बस्ती, मल्कवाङसम्म सडक विस्तार गर्न प्राथमिकता दिइने बताउनुभयो । रासस

अख्तियार हेटौँडा कार्यालयमा एक हजार ५७ उजुरी

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक हजार ५७ उजुरी परेका छन् । कार्यालयले आज यहाँ आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यालयमा परेका उजुरीमध्ये ३९८ वटा उजुरी फछ्र्यौट भइसकेको सो अवसरमा जानकारी दिइयो । ६६१ उजुरी फछ्र्याैट हुन बाँकी रहेका छन् । कार्यालयका प्रमुख श्यामराज अधिकारीका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी धनुषामा १७९ वटा उजुरी परेकामा ५७ वटाको फछ्र्यौट भइसकेका छन् । सबैभन्दा कम काठमाडौँ, रसुवा, धादिङ र रामेछापमा रहेको छ । जहाँ एक÷एक वटा उजुरी परेका छन् । कार्यालयले हेर्ने १९ जिल्लामा महोत्तरीमा १६७, सर्लाही १५०, सिन्धुली ३४, दोलखा दुई, सिन्धुपालचोक दुई र काभ्रे दुई वटा उजुरी परेका छन् । यस्तै मकवानपुर ५७, रौतहट १५९, बारा १५५, पर्सा ११४ र चितवनमा ३२ वटा उजुरी परेको तथ्याङ्कले देखाएको छ । मन्त्रालय मातहतका कार्यालय हेर्ने हो भने सबैभन्दा बढी शिक्षा मन्त्रालय अन्तर्गतका कार्यालयको ४०३ वटा उजुरी परेका छन् भने सबैभन्दा कम खेलकूद, निर्वाचन आयोग र वाणिज्य मन्त्रालय अन्तर्गतका एक÷एक वटा उजुरी रहेका छन् । गृह मन्त्रालय अन्तर्गतका १५, सिँचाइ मन्त्रालयअन्तर्गत २९, ऊर्जा मन्त्रालय अन्तर्गतका नौ, अर्थ मन्त्रालय अन्तर्गतका दुई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका कार्यालका १८ वटा उजुरी रहेका छन् । यसैगरी शहरी विकासमा १३, वन तथा भूसंरक्षण मन्त्रालयका कार्यालयको ४१, कृषि विकासमा २७, भूमिसुधार तथा व्यवस्था मन्त्रालय मातहतका कार्यालयका ४० महिला, बालबालिका तथा समाज कल्याण कार्यालयको दुई, संघीय मामिला तथा स्थानीय विकासअन्तर्गत ३७९, स्वास्थ्य तथा जनसंख्या अन्तर्गतका ४९, उद्योग अन्तर्गतका १५, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका दुई, खानेपानी तथा सरसफाइ अन्तर्गतका ६ र पशुपक्षी मन्त्रालय अन्तर्गतका चार वटा उजुरी परेका छन् । कार्यालयले चालु आर्थिक वर्षमा चार वटा स्टिङ अपरेशन गरेको सो अवसरमा जानकारी दिइएको थियो । सो क्रममा जिल्ला शिक्षा कार्यालय रौतहटका सब–इन्जिनियर ललनकुमार सिंह, जिल्ला अस्पताल गौर रौतहटका हेल्थ असिस्टेन्ट अधिकृत प्रवीनकुमार झा, ट्राफिक प्रहरी जवान मोतीकुमार श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरण कलैया बाराका इञ्जिनियर रतनेशकुमार चौधरीलाई घूससहित पक्राउ गरिएको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा रु ४५ लाख २७ हजार २३० असुल उपर गरिएको छ । अहिले कार्यालयमा विस्तृत अनुसन्धानअन्तर्गत ११० वटा उजुरी परेकामा ९५ वटा फछ्र्यौट भएको उहाँले बताउनुभयो । सो अवसरमा कार्यालयका शाखा अधिकृत विकास विकले भ्रष्टाचार नियन्त्रणमा आयोगका भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

मापदण्डविपरीत बालगृह सञ्चालन

रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिकामा मापदण्ड विपरीत बालगृह सञ्चाल भइरहेको छ । नगरपालिका–१ बागबजारमा ‘नरसिङ हिमालय अनाथ’ नामको बालगृह न्यूनतम मापदण्ड पनि पुरा नगरेर सञ्चालन भइरहेको हो । बालगृह सञ्चालका लागि न्युनतम मापदण्ड पनि पुरा नगरेको जिल्ला बाल अधिकार अधिकृत मानबीर ओलीले बताउनुभयो । मापदण्ड पुरा गरेर बालगृह सञ्चालन गर्न मुसिकोट नगरपालिकाले पटक–पटक निर्देशन दिंदा पनि अटेर गरेको उहाँको भनाइ छ । बालगृह सञ्चालनका लागि दर्ता नै नगरेको आधारभुत भौतिक पूर्वाधार नभएको, बालबालिकालाई खुवाइने खाना गुणस्तरीय नभएको, सरसफाई तथा बसाइको राम्रो व्यवस्था नभएको उहाँको भनाइ थियो । साथै बालगृह कसरी सञ्चालन भएको छ र यसको आयस्रोत के हो ? भन्नेसमेत नखुलेको मुसिकोट नगरपालिकाकी उप–प्रमुख प्रेमकुमारी सुनार केसीले बताउनुभयो । बालगृह संञ्चालक बिवेक बुढाले आफुहरुले दिएको निर्देशनलाई पनि अटेर गरेकाले कानुनी कार्बाही गरिने अधिकृत ओलीले बताउनुभयो । बालगृहमा अहिले ३३ बालबालिका छन् । बालगृहमा आमाबाबु नभएका टुहुरा बालबालिकालाई राख्नुपर्ने कानूनी व्यवस्था भएपनि २९ ती बालबालिकाका आमाबाबु रहेको उहाँले जानकारी दिनुभयो । बालगृह सञ्चालकले यो भन्दा केहि वर्ष पहिले रुकुम पूर्वको तकसेरामा पनि मापदण्ड पुरा नगरी सञ्चालित बालगृहबाट बालबालिका जिल्ला बाहिर लैजाँदै गर्दा केहि बर्ष पहिले प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस

सन्नी लियोनीको एप, के के छ यसमा ?

करियरको शुरुवात पोर्न मुभीबाट गरेर लामो समय त्यसै क्षेत्रमा सक्रिय रहेर केही वर्षअघि मात्र बलिउड प्रवेश गरेकी सन्नी त्यसयता लगातार व्यस्त छिन् । सन्नी लियोनी अभिनयका साथै प्रोडक्सन र ब्रान्डमा समेत काम गर्छिन् । सन्नीले केही समयअघि आफ्नो सौन्दर्यसम्बन्धी ब्रान्ड ‘स्टारस्ट्रक’ बजारमा ल्याएकी थिइन्, जसको पहिलो चरणको उत्पादन बजारमा आइसकेको छ । यसबाहेक सन्नी एप निर्माणको अर्को तयारीमा जुटेकी छिन् । अत्याधुनिक उक्त एपलाई सन्नी चाँडै बजारमा पठाउने तयारीमा छिन् । यो नयाँ एपमा प्रयोगकर्ताहरूले कसरी आकर्षक देखिन सकिन्छ भनेर आफूलाई एपमा दाँज्न सक्नेछन् । सन्नीले भनेकी छिन्– उनले यो एपका लागि लामो तयारी गरेकी थिइन् । श्रृंगार प्रसाधन खरिद गर्ने क्रममा हामी सधैं भ्रममा रहन्छौं, सन्नीले भन्छिन्— यो एपमा हाम्रो स्किनमा कुन कलर राम्रो देखिन्छ, कुन लिपिस्टिक खरिद गर्नु उपयुक्त हुन्छ जस्ता धेरै कुरा हेर्न सकिनेछ । युवतीहरूका लागि यो एप निकै उपयोगी हुने अनुमान गरिएको छ । हाल सन्नी एक तमिल चलचित्रमा काम गरिरहेकी छिन्, जसमा उनले राजकुमारीको भूमिका निर्वाह गरेको बताइएको छ ।