चिनी उद्योगको ढोकामा धर्ना

बर्दिवास । मुलुकमा ११औँ गणतन्त्र दिवस उत्सव मनाइरहँदा महोत्तरी जिल्लाका उखु किसान भने आफ्नो उत्पादनको मूल्य माग्दै चिनी उद्योगको ढोकामा अझै धर्ना जारी राख्न बाध्य छन् ।

जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इन्डिष्ट्रिज (एभरेष्ट चिनी उद्योग) ले उखुको भुक्तानी नदिएपछि किसान आफ्नो उत्पादनको मूल्य माग गर्दै धर्नामा बस्न बाध्य भएका हुन् ।
उद्योगमा गत मंसिरमा उखु क्रसिङ सञ्चालन भएपछि अहिलेसम्म उखुको मूल्य नपाएकाले जेठ ६ गतेदेखि धर्ना शुरु गरेका हुन् । उत्पादनको माग्दै धर्नामा बस्नु परे पनि स्थानीय प्रशासनले कुनै वास्ता नगरेको सम्बद्ध किसानको गुनासो छ ।

‘देशभरि नै आज गणतन्त्र दिवसको उत्सव मनाइँदै छ रे’ उखुको मूल्य देउ भन्दै उद्योगको ढोकमा धर्ना बसेका उखु उत्पादक कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहाले भन्नुभयो, “हामी किसानले भने यो राष्ट्रिय पर्वका दिन उखुको मूल्य देऊ भन्दै धर्नामा बस्नु परिरहेछ ।”

उद्योगले सधैँजसो कहिले मूल्यमा र कहिले भुक्तानीमा बखेडा गर्दै आएको किसान बताउँछन् । “उखु तयार भइसकेको हुन्छ, उद्योगले कहिल्यै ठीक समयमा मूल्य निर्धारण गरिदिँदैन, मूल्य निर्धारणका लागि पनि वर्षेनी झमेला हुँदै आएको छ”, संघका सचिव जयराम भारतीले भन्नुभयो, “उखु उद्योगलाई दियो, भुक्तानीमा उही बखेडा छ, उत्पादनको मूल्य समयमा नपाए हामीले कसरी घरपरिवार धान्ने ?”

मूल्य निर्धारणदेखि भुक्तानीसम्म निकै भुक्तमान खेप्नु परेको सम्बद्ध किसानले बताए । “हाम्रो उत्पादन (उखु) जति गुलियो छ, पीडा चाहिँ ठीक उल्टो त्यति नै तितो छ” भारतीले लामो श्वास लिँदै भन्नुभयो, “खेती गर्ने बेलादेखि उखु खरिद केन्द्र र उद्योगको ढोकासम्म उखु आपूर्तिका लागि पूर्जी लिनसमेत आन्दोलन नगरी सुनुवाइ गरिँदैन ।”

आफ्नो उत्पादनको सुपथ मूल्य नपाउँदा पारिवारिक आवश्यकता पूरा गर्न आपूmहरु ऋणमा डुबेको किसानहरू बताउँछन् । “हामीले आफ्नो उत्पादनको सुपथ मूल्य माग्दै आन्दोलन गर्नु पर्ने ?” उखु किसान रामपरी देवीले स्थानीय प्रशासन र उद्योग प्रशासनको हेलचेक्रयार्इंप्रति जङ्गिँदै भन्नुभयो, “अब त मूल्य पाउन पनि वार्ता चाहियो रे !” पछिल्लो पटक किसानको धर्ना आन्दोलन १० दिन पुगेपछि उद्योगका वाणिज्य प्रबन्धक रामचरण कापरले वार्तामा आउन भन्दै पत्र दिएको बारे रामपरी देवीले भन्नुभयो, “हामीले दिएको उखुको पैसा मागेको त हो नि ! थपक्क पैसा दिनु क्या, अब केको वार्ताको नाटक नि !”

उद्योगका वाणिज्य प्रबन्धकले वार्ताको पत्र दिएको संघका अध्यक्ष कुशवाहाले पनि पुष्टि गर्नुभयो तर किसानको भुक्तानीका लागि अब वार्ताको जरुरी नभएकाले आपूmहरु धर्ना नछाड्ने कुशवाहाको भनाइ थियो । स्थानीय प्रशासनदेखि प्रदेश सरकारसम्मलाई भुक्तानी दिलाउन पहल गरिदिन पटक पटक आग्रह गर्दासमेत कहीँ कतैबाट वास्ता नपाइएको आम उखु किसानले गुनासो गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भने किसानले पहिलेदेखि नै आपूmले भुक्तानीका लागि उद्योग प्रशासन र किसानबीच निरन्तर समन्वय गरिरहेको बताउनुभयो । “मैले उद्योग प्रशासन र किसान प्रतिनिधिबीच भुक्तानी प्रक्रिया सहज बनाउन प्रत्यक्ष पहल गर्दै आएको छु, दुवै पक्षसँग ताजा सम्पर्कमा छु” प्रजिअ श्रेष्ठले भन्नुभयो, “खासगरी उद्योग प्रशासनलाई तत्काल किसानको माग सम्बोधन गर्न अहिले भर्खरै पनि भनेको छु ।”

यसैगरी आफ्नो उत्पादन बजार गएर भुक्तानी पाउन थालेपछि किसानको भुक्तानीसँगसँगै दिइँदै आइएको उद्योग प्रशासनले जनाएको छ । यसपालि पनि किसानको भुक्तानीका लागि तालिका नै बनाएर किस्तामा भुक्तानी गरिँदै आइएको वाणिज्य प्रबन्धक कापरले बताउनुभयो । “किसानले आफ्ना समस्या बताउनुभएको छ” कापरले भन्नुभयो, “उद्योग किसानका मागप्रति गम्भीर छ, हामी बसेर कुराकानी गरौँ भनेर प्रस्ताव गरेका छौँ, तत्काल समस्या सल्टाउँछौँ ।”

महोत्तरी, धनुषा, सर्लाही र रौतहटका गरी २५ हजारभन्दा बढी उखु किसानले दिएका उखुको रु एक अर्ब ७८ करोड ९९ लाख ७२ हजार ६५७ भुक्तानी दिन बाँकी छ । यसपालिको जम्मा रु दुई अर्ब २२ करोड भुक्तानी पाउनु पर्नेमा रु ४४ करोडमात्रै भुक्तानी पाइएको अध्यक्ष कुशवाहाले बताउनुभयो ।

समयमा मूल्य नतोकिनु, भुक्तानीमा हैरानी हुन थालेपछि यस क्षेत्रमा प्रमुख बालीका रुपमा रहेको उखुखेती विगतको वर्षभन्दा झण्डै ५० प्रतिशतले घटेको अध्ययनले देखाएको छ । रासस

गणतन्त्र र सगरमाथा दिवस गुगलको विशेष डुडलमा

काठमाडौं, जेठ १४ । सर्च इञ्जिन गुगलले नेपालको गणतन्त्र दिवस र सगरमाथा दिवस (एभरेष्ट डे) को अवसरमा विशेष डुडल सार्वजनिक गरेको छ । गुगलले बनाएको डुडलमा हिमालको चित्रलाई बीचमा राखेर ध्वजापतका फहराइएको छ । गुगलले विशेष दिन र अवसरहरुमा यस्ता डुडल सार्वजनिक गरेर ती दिनलाई महत्व दिने गरेको छ । मे २९ तारिखमा तेन्जिङ नार्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथामा पहिलो पटक पाइला राखेका थिए ।

मास हिस्टेरियाका कारण विद्यालय नै बन्द

स्याङ्जा , जेठ १५ । विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ । सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २१ जना किशोरीमा मास हिस्टेरिया देखिएपछि आज विद्यालय बन्द गरिएको छ । “विशेष गरी छात्राले टाउको दुख्यो भन्ने, रुने कराउने र चक्कर लागेर ढल्ने समस्या देखियो” विद्यालयका प्रधानाध्यापक खगेन्द्र ढुंगानाले भन्नुभयो, “यस्तो समस्या देखिएपछि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट आएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।” आइतबार पनि दुई÷तीन जना विद्यार्थीमा यस प्रकारको लक्षण देखिएको विद्यालयले जनाएको छ ।   “यो यौवनावस्थामा प्रवेश गर्न लागेका विशेष गरी किशोर किशोरीमा देखा पर्ने एक प्रकारको मनोवैज्ञानिक समस्या हो”, वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव देवेन्द्रप्रसाद भट्टराईले भन्नुभयो । उहाँले भन्नुभयो, “एउटालाई भएपछि डर, त्रासबाट एकपछि अर्कोमा देखा पर्दै जाने मास हिस्टेरिया फेरि पनि देखिन सक्ने भएकाले विद्यालयका शिक्षक तथा विद्यार्थीलाई परामर्श दिएका छौँ ।” आज पनि विद्यालयमा मास हिस्टेरियासम्बन्धी समस्या नदेखियोस् भन्नका लागि एकदिन विद्यालय बन्द गरिएको प्रधानाध्यापक ढुंगानाले बताउनुभयो । रासस

दुर्लभ सालकको खपटासहित दुईजना पक्राउ

इलाम, जेठ १५ । सालकको खबटासहित दुई जनालाई प्रहरीले देउमाई नगरपालिकाको मंगलबारे बजारबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–४ का २८ वर्षीय सन्तोष मगर र संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान–१५ तुलसीपथ अस्थायी बसोबास गर्दै आएका ५० वर्षीय किफुर्वु भोटे रहेका छन् । मंगलबारेबाट इलामतर्फ आइरहेको मे ९ प २९०९ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल सवारको झोलाबाट प्रहरीले आइतबार दुर्लभ सालकको खपटा बरामद गरेको थियो । उनीहरूको साथबाट ४.२ किलोग्राम सालकको खपटा बरामद गरेको जिप्रका इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उनीहरूमाथि प्रहरीले अनुसन्धान थालेको छ ।   बलात्कार आरोपमा आठवर्ष कैद यसैबीच, १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इलाम नगरपालिका–९ का २० वर्षीय सुरेन्द्र सार्कीलाई जिल्ला अदालत इलामले सोमबार आठ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको इजलासले जबर्जस्ती करणी महलको ३ (२) बमोजिम आठवर्ष कैद र रु १० हजार पीडितका नाममा क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो । सार्कीले पीडित बालिकालाई घुमाउन लैजाने बहानामा एक वर्ष अघि होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।  

दार्चुलाको पानी, परिक्षणका धनगढी लगियो

दार्चुला, जेठ १५ । पानीमा हुने भौतिक, रासायनिक र जैविक प्रदूषणको मात्रा परीक्षणका लागि जिल्लामा रहेका छ वटा पानी मुहानबाट क्षेत्रीय पानी प्रयोगशाला, धनगढीमा पानी लगिएको छ । जिल्लाको चमेलिया नदी, मालिकार्जुन गाउँपालिकामा रहेको पनेबाज मुहान, महाकाली नगरपालिकाको वडा नम्बर ७, धापमा रहेको पानी मुहान, वडा नम्बर ५, गल्फैमा रहेको पानी मुहान, गोकुलेश्वर बजारमा उपभोग भइरहेको पानी र जिल्ला सदरमुकाम खलंगामा उपभोग भइरहेको पानीको नमूना परीक्षणका लागि धनगढी लगेको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय दार्चुलाका सव डिभिजन प्रमुख प्रकाशबहादुर रावलले जानकारी दिनुभयो । क्षेत्रीय पानी प्रयोगशाला, धनगढीका केमिष्ट (रसायन शास्त्री) कृष्ण पौडेलले परीक्षणका लागि सोमबार जिल्लाका छवटा पानी मुहानबाट पानीको नमूना लगिएको बताउनुभयो । चमेलियाको पानी कुणी र कुष्काडाका बासिन्दाका लागी लिफ्ट प्रणालीबाट बस्तीमा पु¥याइने हुँदा उक्त पानी परीक्षण गरिन लागेको उहाँले बताउनुभयो । पनेबाजमा रहेको पानी फोहर भएका कारण परीक्षणका लागि पानी प्रयोगशालामा लगिएको हो । सो ठाउँमा रहेको पानी मुहानबाट रातो रङको पानी आउने गरेको स्थानीयले बताएका छन् । यस्तै, अन्य ठाउँमा रहेका मुहानको पानीमा जैविक, रासायनिक र भौतिक प्रदूषणको मात्रा कति छ भन्नेबारे परीक्षण गरिने क्षेत्रीय पानी प्रयोगशाला, धनगढीका केमिष्ट पौडेलले जानकारी दिनुभयो । परीक्षणका लागि जिल्लाबाट लगिएका छवटा पानी मुहानको पानीमा प्रदूषणको मात्रा बढी देखिए उक्त ठाउँमा पानी प्रशोधन केन्द्र स्थापना गरी पानीलाई शुद्धीकरण गरिने सव डिभिजन प्रमुख रावलले बताउनुभयो । जिल्लाबाट परीक्षणका लागि लगेको पानी ४८ घण्टापछि परीक्षण हुने पानी प्रयोगशाला धनगढीका केमिष्ट पौडेलले जानकारी दिनुभयो । जिल्लामा अहिले ९२ प्रतिशत धरधुरीले मात्रै धाराको पानी प्रयोग गरिरहेका छन् । जिल्लाका सबै घरधुरीमा शुद्ध पानी पु¥याउने उद्देश्यले यस आवमा विभिन्न ठाउँमा गरी छ करोड ५४ लाख ४९ हजार लागतमा ८७ वटा खानेपानीका योजना निर्माणाधीन अवस्थामा रहेको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय, दार्चुलाका सव डिभिजन प्रमुख रावलले जानकारी दिनुभयो । अहिले जिल्लाका आठ प्रतिशत नागरिक कुवा, खोला तथा तलाउको पानी पिउन बाध्य छन् । रासस

प्रदेश नं ५ मा सार्वजनिक विदा

काठमाडौं, जेठ १५ । आज गणतन्त्र दिवसको दिन प्रदेश नं ५ का १२ जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । गणतन्त्र दिवसको बिदा कटौती गरेकोमा चर्को आलोचना भएपछि प्रदेश ५ को सरकारले १५ गते बिदा दिने निर्णय गरेको हो । प्रदेश ५ को सरकारले तीन दिनसम्म दिपावली गरेर गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ । सार्वजनिक बिदाका कारण सरकारी काम प्रभाबित भएको भन्दै केन्द्र सरकारले यस वर्षदेखि बिदा कटौती गरेको हो । विभिन्न चाडपर्व तथा दिवसमा दिइँदै आएको बिदा कटौँती भएको छ । तर प्रदेश सरकारले केन्द्र सरकारको निर्णय बिपरित कटौँती गरिएका दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । यसअघि प्रदेश दुर्इमा केन्द्र सरकारले कटौती गराएको बिदा हटाएर थप सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । आज अरु जिल्लामा भने सार्वजनिक बिदा नहुने बताइएको छ ।

बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने

काठमाडौँ, जेठ १५ । चिकित्सकीय क्षेत्रका अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने भएका छन् । हाडजोर्नीसम्बन्धी चिकित्सकको छाता संगठन एओ अलायन्स फाउण्डेशनले काठमाडौँमा हालै आयोजना गरेको दुई दिने प्रशिक्षणमा चिकित्सकले वर्षौं मिहिनेत गरी गरेका अनुसन्धानको चोरी हुने क्रम बढिरहेकाले यस्ता कार्य रोक्ने विषयमा छलफल भएको थियो । बौद्धिक चोरीको विषयमा दण्डीत हुनेदेखि सम्बन्धित व्यक्तिलाई कलोसूचीमा राख्न सकिने कानूनी व्यवस्था भए पनि कार्यान्वयन फितलो भएका कारण अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्ने विषयमा चिकित्सकले हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता गरेका हुन् । कार्यक्रम संयोजक डा रमेशप्रसाद सिंहले चिकित्सकले विभिन्न विषयमा वर्षौं लगाएर गरेको अनुसन्धानलाई कपि पेष्ट (जस्ताको तस्तै सार्ने) चोरी गरी अरुले तथ्यांक राख्ने क्रम बढेकाले यसको अन्त्यका लागि एकबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । जेठ ११—१२ गते भएको प्रशिक्षणमा चिकित्सकले अनुसन्धानका क्षेत्रमा के कस्तो आचारसंहिता अपनाउनु पर्छ भन्ने र अनुसन्धानको डाटा चोरेर सम्बन्धित ठाउँमा बुझाउने गरेका कारण अनुसन्धानमा उठ्ने प्रश्नका विषयमा छलफल भएको थियो । बौद्धिक चोरीलाई रोकेर नयाँ सिर्जनात्मक अनुसन्धानमा चिकित्सक लाग्न प्रेरित गर्ने उद्देश्य राखिएको प्रशिक्षणमा प्रशिक्षण दिन भारतबाट दुई, स्वीजरल्याण्डबाट एक र पाकिस्तानबाट एक गरी चारजना विज्ञको टोली नेपाल आएको थियो । रासस

‘मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो, के गराैं ?’

बुटवल, जेठ १४ । “मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो के गरौं ?” प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीले बाटोमा हिँड्दा हिँड्दै सोध्ने गरेको यो एउटा सामान्य तर विडम्बनापूर्ण प्रश्न हो । “हामीले यस्तो अप्ठ्याराका बीच काम गरिरहेका छौं,” मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकसय दिनमा सम्पादन भएका मुख्य कामका विवरण सार्वजनिक गर्न आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भन्नुभयो । कानूनको अभाव, भौतिक पूर्वाधारको अभाव र जनशक्तिको अभाव भएपनि अप्ठ्याराको सामना गरेर काम गर्दैआएको जानकारी दिँदै उहाँले भन्नुभयो – “प्रदेश सरकार अलमल र द्विविधामा छैन ।” मुख्यमन्त्री पोखरेलले अगाडि भन्नुभयो – “प्रदेशको विकासको अवधारणामा हामी स्पष्ट छौं । अहिले विकासको अवधारणामा काम गरिरहेका छौं, अर्को वर्ष योजनामा काम गर्छौं । संवैधानिक अधिकार र दायित्वको हिसाबले जुन काम भएको छ, त्यो अत्यन्तै कम हो ।” प्रदेश सरकारप्रति जनताको अपेक्षा धेरै भएको भन्दै मुख्यमन्त्री पोखरेलले जिल्लामा रहेका कार्यालयलाई प्रदेश सरकारको इकाइको रुपमा रुपान्तरण गरिने जानकारी दिनुभयो । उहाँले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा पहिरो लाग्ने समस्याको दिगो समाधान खोज्न छलफल भइरहेको पनि जानकारी दिनुभयो । प्रदेश नं ५ को मा २०७४ फागुन ३ गते सरकार गठन भएको थियो । मुख्यमन्त्री पोखरेलले प्रदेशमा तीन हजार जनशक्ति आवश्यक भएको उल्लेख गर्दै भन्नुभयो – “केन्द्रीय सरकारले कस्तो जनशक्ति पठाउँछ, त्यो हेर्छौं र छ महिनापछि प्रादेशिक लोकसेवा आयोग निर्माण गरेर काम अघि बढाउँछौं ।” प्रदेश सरकार गठन भएको छोटो समयमा प्रादेशिक जग निर्माणका लागि प्रदेशको स्थितिपत्र तयार पार्ने काम सम्पन्न भएको र भौतिक संरचना र स्रोत जुटाउन भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको संयोजकत्वमा समिति बनाइएको जानकारी पनि उहाँले दिनुभयो । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले संविधानमा व्यवस्था गरिएअनुरुप कर्मचारी समायोजन र प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नभएका कारण प्रदेश सरकारलाई पूर्ण क्षमतामा काम गर्न कठिनाइ भएको बताउनुभयो । लुम्बिनी क्षेत्रमा पर्यटकको बसाइँ लम्ब्याउन, लुम्बिनी सर्किटमा मोनोरेल सञ्चालन गर्न र प्रदेशभित्रका पर्यटकीय क्षेत्रमा होमस्टे प्रवद्र्धन गर्न सम्भाव्यता अध्ययन भइरहेको प्रदेश सरकारले जनाएको छ । त्यस्तै, प्रदेशमा नयाँ औद्योगिक क्षेत्र विस्तारका लागि सम्भाव्यता अध्ययन, रासायनिक बिषादीको विकल्पसम्बन्धी अध्ययन, प्रदेशभित्र सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति तथा वर्तमान अवस्थाको अध्ययन गरी प्रतिवेदनसमेत तयार भएको बताइएको छ । आइटी पार्क निर्माणका लागि अध्ययन गर्ने र कपिलवस्तुको जगदीशपुर ताल संरक्षणका लागि जैविक विविधतायुक्त उद्यान बनाउने कार्ययोजना तयार पार्ने काम पनि प्रदेश सरकारले सम्पन्न गरेको छ ।

युट्युब च्यानल सञ्चालनमा युवापुस्ताको बढ्दो आकर्षण

भीमदत्तनगर । सामाजिक सञ्जालको सदुपयोगसँगै दुरुपयोग पनि भएको खबर त सबैले सुने-देखेकै छौँ । अझ युवापुस्ता बढी संख्यामा यसको प्रयोगकर्ता रहेका छन् । पछिल्लो समय कञ्चनपुरमा फेसबुक, ट्विटरसँगै शहरी क्षेत्रमा बसोबास गर्ने युवा युट्युब च्यानल सञ्चालनमा ल्याएर यहाँको पर्यटन प्रर्वद्धनसँगै लोकसंस्कृति र विभिन्न प्रकारका कार्यक्रमलाई प्रचारप्रसार गरिरहेका छन । छ महिनादेखि भीमदत्तनगरका युवा व्यापारी करनसिंह पालले ‘खोज टिभी’ युट्युब च्यानल सञ्चालनमा ल्याउनुभएको छ । उहाँले उक्त च्यानलमार्फत यहाँको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, लिंगा, एशियाकै दोस्रो लामो महाकाली नदीमा अवस्थित झोलुङ्गे पुल तथा यहाँ हुने मेला÷महोत्सवका साथै डोट्याली हास्य भिडियोसमेत खोज टिभी च्यानलमा अपलोड गर्ने गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघ कार्यसमिति सदस्यसमेत रहनुभएका पालले च्यानल हेर्ने र सस्क्राइबरको संख्या बढेसँगै गगुलले युट्युबलाई विज्ञापन उपलब्ध गराएर रकमसमेत दिने गरेको बताउनुभयो । “युट्यब च्यानलका पनि निश्चित मापदण्ड र परिधि छन्”, उहाँले भन्नुभयो, “मापदण्ड च्यानलले पूरा गरेपछि गुगल युट्युबले विज्ञापन उपलब्ध गराउनेदेखि विज्ञापन हेरेअनुसारको रकमसमेत दिन्छ ।” पालले आफूले अपलोड गरेको ‘चट्ट, चट्टन, आँखामा बट्टन’ डोट्याली कमिडी भिडियो सबैभन्दा बढी हेरिएको बताउनुभयो । “त्यो भिडियो हाम्रो च्यानलमा एक लाख २६ हजार पटक हेरिएको छ,” उहाँले भन्नुभयो, “अरूका गीत पनि च्यानलमा राख्न सकिन्छ, गायक र निर्माताको अनुमति आवश्यक हुन्छ ।” जिल्लाका पर्यटकीय क्षेत्रको भिडियो र विभिन्न कभर भिडियोसमेत बनाएर च्यानलमा हाल्ने गरिएको छ । अरूको म्युजिक भिडियो बिनाअनुमति हाले कपिराइटमा मुद्दा लाग्छ । निजी च्यानल बनाएर सञ्चालन गर्ने युवाको संख्या वृद्धि हँुदै गएको छ । युट्युब च्यानल सञ्चालन गर्न जिमेल एकाउन्ट आवश्यक पर्छ । “च्यानल बनाउन केही समय लाग्दैन”, पाल भन्नुहुन्छ, “अरू सामाजिक सञ्जालमा लत पार्नुभन्दा फुर्सदमा च्यानल सञ्चालन गर्नु बेस छ ।” पालले सञ्चालनमा ल्याएका च्यानलका विभिन्न पर्यटकीय तथा मनोरन्जनात्मक भिडियो करीब ६ लाखभन्दा बढीले हेरिसकेका छन् । भीमदत्तनगरका फोटोग्राफर पुष्पराज भट्टले ‘किङ्ग टिभी २४’ सञ्चालन गरेका छन् । उहाँले सञ्चालन गरेको ११ महिनामै गुगल युट्युबबाट १०७ अमेरिकी डलर पहिलो पटक प्राप्त गर्नुभएको छ । गुगल युट्युबले च्यानलमा विज्ञापनमार्फत १०० डलरभन्दा बढी रकम जम्मा हुनासाथ च्यानल सञ्चालकको खातामा रकम हाल्छ । यहाँस्थित फोटो स्टुडियोमा आबद्ध भएर भिडियो सम्पादनमा व्यस्त रहने भट्टले फुर्सदको बेला विभिन्न नेपाली गीतको कभर भिडियोसमेत बनाएर च्यानलमा हाल्ने गरेका छन् । उहाँको च्यानल हालसम्म १० लाख ६० हजार पटक हेरिएको छ । ‘चरी चट्ट परी’ बोलको गीतको कभर भिडियो बनाएर आफ्नो च्यालनमा अपलोड गरेका भट्टले उक्त गीतको कभरभिडियो तीन लाख ९५ हजार पटक हेरिएको बताउनुभयो । “च्यानल राम्रो चलाउन सके आम्दानी पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “देश–विदेशसम्म यहाँको सम्भावना उजागर गर्ने दरिलो माध्यम हो, युट्युब च्यानल ।” स्थानीय स्तरमा बन्ने गरेका म्युजिक भिडियो पनि च्यानलमार्फत प्रचार प्रसारका लागि आउने क्रम जारी छ । यहाँका मेला÷महोत्सवमा कलाकारको सांगीतिक प्रस्तुतिसमेत सहमति लिएर छायाकंन गरेर च्यानलमा हाल्दा हेर्नेको संख्या गरेको भट्ट बताउनुहुन्छ । “वैदेशिक रोजगारमा रहेकाहरुले युट्युब च्यानल बढी हेर्छन्”, उहाँले भन्नुभयो, “यो च्यानल मनोरञ्जनात्मक र सन्देशमूलक भएकाले उपयोगी बन्दै गएको छ ।” त्यसका साथै आफूसित भएको विभिन्न कला, सीप र क्षमता देखाउने माध्यमका रुपमा पनि निजी च्यानल बनाएर प्रचार÷प्रसार गर्न सकिने उहाँको भनाइ छ । “धेरैलाई त यहाँ च्यानल सञ्चालन राम्रो भए पनि रकम पनि पाउछ भन्ने थाहा छैन”, भट्टले भन्नुभयो, “च्यानल चलाएर रकम पाउने भीमदत्तनगरमा थौरी व्यक्ति छन् ।” त्यसैगरी, यहाँका स्थानीय पत्रकार सुरेश भट्टले पनि ‘साझा आवाज’ नामक युट्युब च्यानल विगत ६ महिनादेखि सञ्चालनमा ल्याएका छन् । प्रदेश नं ७ का कलाकारको स्टेज कार्यक्रमलाई उहाँले भिडियो कैद गरेर च्यानलमा बढी मात्रामा अपलोड गर्नुहुन्छ । “समाचार पनि मैले भिडियोसहित च्यानलमा हालेको छु”, भट्टले भन्नुभयो, “युट्युब च्यानल पनि सञ्चारको एउटा महत्वपूर्ण माध्यम बनेको छ ।” उहाँले अपलोड गरेको एउटै भिडियो एक लाख पटकसम्म हेरिएको छ । च्यानलहरु युवा पुस्ताले बढी हेर्ने गरेका छन् । इन्टरनेट आवश्यक भएकाले यसको पहुँच सबैका लागि सहज भने छैन । रासस

सांकेतिक भाषाको बृहत् शब्दकोष बजारमा

काठमाडौँ । नेपालमा पहिलो पटक बहिरा व्यक्तिहरुका लागि सांकेतिक भाषाको बृहत् शब्दकोष बजारमा आएको छ । अष्ट्रेलियन दूतावासको सहयोगमा एक हजार १९८ पृष्ठको त्यस बृहत् शब्दकोशमा चार हजार ३०० संकेतका अक्षर तथा चित्र समावेश रहेको छ । राष्ट्रिय बहिरा महासंघले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शब्दकोश विमोचन गर्नुभयो । सोही अवसरमा उहाँले मोबाइल एप्लिकेशन, भिडियो तथा महासंघको वेबसाइटको पनि शुभारम्भ गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले नेपाल सरकार अपांगता भएका व्यक्ति तथा बालबालिकाका लागि अभिभावक भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै ७५३ स्थानीय तहमा सांकेतिक भाषाको प्रयोगको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । नयाँ संविधानमा अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले केही समयमा नै राष्ट्रिय सभामा बहिरा व्यक्तिको प्रतिनिधित्वको व्यवस्था गर्ने तयारी गरिरहेको स्पष्ट पार्नुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अपांगता भएका व्यक्तिको समग्र विकासका लागि सरकार अघि बढिरहेको बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिले पनि क्षमता प्रदर्शन गर्न सक्ने चर्चा गर्दै सरकारले त्यस्तो क्षमता प्रदर्शन गर्ने वातावरण बनाउने बताउनुभयो । राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले देशमा प्रजातन्त्र ल्याउन अपांगता भएका व्यक्तिको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै देशको विकासका लागि पनि आफनो क्षमता प्रदर्शन गर्न सक्ने बताउनुभयो । रासस

साहित्यकार रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना

काठमाडौं, जेठ १४ । सरकारले प्रसिद्ध साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । शनिबार राति बसेको मन्त्रिपरिषद बैठकले रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । रिमाल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । छन्दमा कविता लेख्ने परम्परालाई तोडेर गद्यमा लेख्ने थालनी गरेकाले उनी क्रान्तिकारी कविका रूपमा परिचित छन् । रिमालको ‘आमाको सपना’ कविता संग्रहले २०२० सालको मदन पुरस्कार पाएको थियो । उनको ‘मसान’, ‘यो प्रेम’ नाटक पनि चर्चित छन् । १९७४ जेठ १८ गते काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको निधन २०३० साल कात्तिक ८ गते भएको थियो ।

महाकाली नदीमा साहसिक जलयात्राका लागि अध्ययन

कञ्चनपुर, जेठ १४ । भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ) का लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ । महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि नगरपालिकाले ¥याफ्टिङ कम्पनीबाट सम्भाव्यता अध्ययन गराएको छ । महाकाली नदीको बहुप्रयोग योजना अन्तर्गत भीनपा–९ मा ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । गत वर्षको स्थानीय तह निर्वाचनमा महाकाली नदीको बहुप्रयोग भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको चुनावी एजेण्डा थियो । नगर प्रमुख विष्टले नदीको बहुप्रयोगको एजेण्डाअनुसार ¥याफ्टीङ सञ्चालनका लागि तयारी अघि बढाएका हुन् । नगर प्रमुख विष्टले धार्मिक पर्यटनलाई मध्यनजर गरी ब्रह्मदेवदेखि भित्री मधेशको फर्सवानसम्म ¥याफ्टिङ सञ्चालन गरिने बताउनुभयो । भीनपाले पर्यटन मन्त्रालयलाई ¥याफ्टिङ सञ्चालन सहयोगका लागि यसअघि नै पत्र पठाएको थियो । कैलालीको कर्णाली ¥याफ्टिङ एण्ड एडभेन्चर प्रालि भीनपाको सहयोगमा ¥याफ्टिङ सञ्चालनका लागि इच्छुक देखिएको छ । कम्पनीका सञ्चालक देवराज जैशीले भारतीय कम्पनीसित सहकार्य गरी छिट्टै ¥याफ्टिङ सञ्चालनको तयारी गरिने बताउनुभयो । जैसीको कम्पनीले अहिले कर्णाली, भेरी, सेती, सानो भेरी, ठूलो भेरी, हुम्ला कर्णाली, डोल्पा कर्णाली, त्रिशूली नदीमा ¥याफ्टिङ सञ्चालन गर्र्दै आएको छ । ब्रह्मदेव उत्तरको गाउँ मुसेट्टी नजिक त्रिशूलीबाट तीन वटा ¥याप गरी ब्रह्मदेवसम्म पुग्न सकिने जैसीले बताउनुभयो । महाकाली नदीको मौनताको दृष्य समेत पर्यटकलाई देखाउने गरी ¥याफ्टिङको तयारी गरिएको हो । महाकाली नदीमा फिसिङका लागि विदेशी आउने गरेका छन् । सरकारले महाकालीसहित सेती र कर्णालीमा ¥याफ्टिङका लागि अनुमति दिएको छ । रासस

बर्ड फ्लु भित्रीन नदिन काभ्रेमा उच्च सतर्कता

बनेपा, जेठ १४ । चितवनका केही फार्मका कुखुरा र काठमाडौंका हाँसमा बर्ड फ्लुको संक्रमण देखा पारेपछि काभ्रे जिल्लामा उच्च सतर्कता अपनाइने भएको छ । जिल्लास्तरिय बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक)को आइतबारको बैठकले यस्तो निर्णय गरेको हो। काभ्रे हुँदै कुखुरा र अण्डाको ओसारपसार भइरहेकाले रोग भित्रन नदिनका लागि यस्तो निर्णय गरिएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा। नारायण श्रेष्ठले जानकारी दिए । ‘काभ्रेको बाटो हुँदै पूर्वी तराईका कुखुरा र अण्डा काठमाडौं उपत्यकासम्म ओसारपसार हुने गरेको छ । त्यस्तै, चितवनबाट काठमाडौं हुँदै अण्डा र कुखुरा काभ्रेसम्म आउने गरेकाले रोग सहजै नभित्रियोस भनेर सतर्कता अपनाउन सरोकारवालालाई अनुरोध गरेका छौं,’ उनले थपे । नागरिक दैनिकमा समाचार छ ।

अवकाशका लागि नाम दिएका कर्मचारीले फिर्ता लिन पाउने

काठमाडौँ, जेठ १४ । स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन फिर्ता लिन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले संघीय संसद्मा पेश भएको सरकारको आर्थिक वर्ष २०७५÷०७६ नीति तथा कार्यक्रमलाई संसद्बाट सर्वसम्मतरुपमा पारित गराउन सहयोग गर्ने सांसदहरुलाई धन्यवाद दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रसिद्ध साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको सूचना प्रविधि राज्यमन्त्री एवं सरकारका प्रवक्ता बाँस्कोटाले बताउनुभयो । बैठकले नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच श्रम समझदारीपत्रलाई नवीकरण गर्ने निर्णय गरेको छ भने श्रम नियमावली–२०७५ लाई स्वीकृत गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो । सरकारले विसं २०७४ साउन ८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं ६ को चारकिलो भन्ने स्थानमा पहिरो हटाउनेक्रममा निधन भएका चारजना प्रहरीका परिवारलाई जनही रु १० लाख आर्थिक सहयोग दिने पनि निर्णय गरेको छ । साथै, बैठकले शिक्षाको अधिकारसम्बन्धी विधेयक र संघीय शिक्षा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिनुुभयो । रासस

प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत फेला

नुवाकोट, जेठ १४ । प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छे गाउँपालिका–२ का विष्णुमाया मगर नुवाकोटको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् । काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर सो नरपालिकाकै ‘‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएकि हुन् । साँझ खाना खाएर सुतेकी उनी अबेरसम्म नउठेपछि सँगै आएका उनका प्रेमी ३१ वर्षका लवटले प्रहरीलाई खबर गरेका थिए । घटनाको सम्बन्धमा प्रहरीले लवट र होटल सञ्चालक बद्री गुरुङलाई नियन्त्रणमा लिएर कारबाहीको लागि अनुसन्धान शुरु थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । । रासस

गणतन्त्र दिवसमा प्रदेश ५ मा सार्वजनिक बिदा

रुपन्देही, जेठ १३ । प्रदेश नं ५ का १२ जिल्लामा जेठ १५ गते गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिइने भएको छ ।  गणतन्त्र दिवसको दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक तथा कानून मन्त्रालयले आज सूचना प्रकाशन गरी जानकारी दिएको छ । गणतन्त्र दिवसको अवसरमा सोमबारदेखि तीन दिनसम्म विभिन्न संघ, संस्थाको समन्वयमा विभिन्न कार्यक्रम आयोजना हुने पनि बताइएको छ । प्रदेश नं ५ मा रुपन्देही, नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, बाँके, बर्दिया, रोल्पा, दाङ, पूर्वी रुकुम, कपिलवस्तु र प्यूठान पर्दछन् ।