सेयर बजारमा २.२६ प्रतिशतको वृद्धि, कारोबार सवा ५ अर्ब नाघ्यो
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २.२६ प्रतिशत बढेको छ।अघिल्लो कारोबार दिनको तुलनामा ४५.६९ अंक बढेको नेप्से परिसूचक २०६४ अंकमा पुग्यो।
यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २५ करोडको भयो। सबै क्षेत्रका सूचकहरु बढेका छन् ।बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ। जीवन र निर्जीवन बीमा सबैभन्दा धेरै बढे।
आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो।हिमालयन लघुवित्तको ८.४, माउन्टेन हाइड्रो नेपालको ७.९, रुरुको ७.४, रिभरफल्स पावरको ७.१ तथा एनआईसी एसिया बैंकको ६.९ प्रतिशत मूल्य बढ्यो।
माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो। पिपुल्स पावरको ७.७, बाराही हाइड्रोपावरको ६.३, गुराँस लघुवित्तको ५.२, दोल्ती पावरको ३.९ प्रतिशत मूल्य घट्यो।कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, फस्र्टमाइक्रोफाइनान्स, हिमालयन लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेको छ।
दोस्रो पटक प्रतिनिधिसभा बैठक स्थगित, साढे ४ बजे बस्ने
काठमाडौँ ।संसदीय छानबिन समितिका लागि कार्यविधि तय गर्ने विषयमा सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबिच कुरा नमिल्दा प्रतिनिधि सभा बैठक दोस्रो पटक सरेको छ।
राष्ट्रिय सभा बैठक नबसिकनै स्थगित
काठमाडौं। संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।सोमबार दिउँसो सवा १ बजे बस्ने गरी राष्ट्रिय सभा बैठक स्थगित भएको हो । यसअघि आइतबार दिउँसो सवा १ बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै दिउँसो सवा ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । राष्ट्रिय सभाका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक जेठ ७ गते सोमबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको उल्लेख छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा आइपर्ने कार्य जटिलता हटाउन ऐन संशोधन गर्नुपर्ने बताएकी छन्।सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा खड्कालाई दोस्रो पटक अध्यक्ष पदमा नियुक्त गरेको हो। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। दुई वर्षअघि अध्यक्ष हुँदादेखि नै नेपाली पत्रकारितालाई अगाडि बढाउन थुप्रै जटिलता रहेको बताउँदै आएको अध्यक्ष खड्काको भनाइ छ। ती जटिलता हटाउन सबैभन्दा पहिला १७ वर्ष पुरानो समितिको ऐनलाई संशोधन गर्नुपर्नेमा उनले जोड दिइन् ।त्यस्तै, समितिले मिडिया अनुगमन गर्न पाउने तर, सुनुवाइ गर्न नपाउने ऐनगत व्यवस्थाले गर्दा प्रभावकारी काम हुन नसकेको अध्यक्ष खड्काले बताइन्। उनका अनुसार सीमित स्रोत र साधनमा समिति सञ्चालन गर्नुपर्दा थुप्रै कठिनाइ आएका छन्। ‘कानूनी जटिलता र सीमित स्रोतसाधनको समस्या हटाएर समिति अगाडि बढाउने योजनामा छु’, उनले भनिन्, ‘अनुगमन र सुनुवाइ दुवै अधिकार समितिमै हुनुपर्छ ।’
अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-१२ घर भएका ३२ वर्षीय सचिन रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले ना।५ ख ४०५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । त्यस्तै, बाँकेको खजुरा गाउँपालिका-३ एक नम्बर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय रोहित सुनार, २२ वर्षीय आशिष सुनार र २६ वर्षीय सचिन सिङ क्षेत्री रहेका छन् ।इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मिस नेपाल पिसको उपाधि नर्स विधी लम्साललाई
काठमाडौँ । काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को शिर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाईपछि पार्दै उनले बेष्ट पर्सनालिटी सहित उपाधि चुमेकी हुन् । लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन् । हाइकिङ रुचि भएकी लम्साल सकारात्म उर्जाका साथ नर्सिङ अगाडि बढाउने बताउँछिन् । विजेता लम्सालले मिस ग्लोवलमा नेपालको प्रतिनिधित्व गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । एनक्लेक्स नेपाल प्रायोजन रहेको प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिसा पराजुली फस्ट रनरअप र सामाखुसी निवासी पला रेग्मी सेकेन्ड रनरअप भए । मस्ट इन्टेलेक्च्युअलको टाइटल समेत हात पारेकी पराजुली चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा साइकियाट्रिक नर्सिङमा मास्टर अध्ययनरत छिन् । विनायक कलेज अफ हेल्थ साइन्सबाट पिसिएल नर्सिङ उत्तीर्ण रेग्मीले मस्ट चार्मिङको टाइटल समेत प्राप्त गरेकी छन् । तीनै विजेताले उपाधिका साथमा बिभिन्न गिफ्ट हात पारेका छन् । नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा.सुवास आचार्य, डा. सुजिता हिराचन, डा. स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक रहेको प्रतियोगीतामास्पेसल अवार्ड नर्स विथ व प्रपोज मोनिका थापा मगर, मस्ट फोटोजेनिक र बेस्ट स्किनसदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्ट दिव्या बम ठकुरी बने । ‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तर दाइत्व बोध गराउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यातना पाण्डेले बताइन् ।
माइतीघर एकल प्रदर्शन गरिरहेका चपागाईंलाई सुन्न पुगिन शिक्षामन्त्री
काठमाडौं । विगत पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईंंका कुरा सुन्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ आइतबार माइतीघर मण्डला पुगेकी छिन् । त्यहाँ उनले आन्दोलनरत चापागाईंंका कुरा सुनेपछि अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमति पत्र आवश्यक रहेको बताएकी छिन्। उनले अटिजम काउन्सिलरहरूको लागि इजाजतपत्रको व्यवस्था गर्न मन्त्रालय लागिरहेको बताइन्। अनुमति पत्र भएपछि मात्रै विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले त्यस काममा आवश्यक कदम चालिरहेको पनि उनको भनाइ छ। आन्दोलनरत नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्यका नेत्र चापागाईंले आधारभूत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउन माग गरे। उनले विद्यार्थीको खाजा खर्च १५ रुपैयाँ रहेकोमा बढाएर ५० बनाउनुपर्ने, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनुपर्ने मागसहित विगत पाँच दिनदेखि उभिएर विरोध जनाइरहेका छन् ।
प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । आइतबार बिहान ११ बजेका निम्ति बोलाइएको बैठकको समय सारिएको हो । बैठक आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
फेरि बढ्यो काठमाडौंमा प्रदूषण
काठमाडौं । गएको साता घटेको काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा शनिबारदेखि फेरि बढेको छ। आइतबार काठमाडौंका तीन स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) आइतबार १०० भन्दा माथि छ। वातावरण विभागको रेकर्डमा बिहान ११ः३० बजे ललितपुरको भैँसेपाटीको एक्यूआई सबैभन्दा धेरै १६७ मापन भएको छ। यस्तै, शंखपार्कको एक्यूआई १५१, खुमलटारको एक्यूआई १०३ र भक्तपुरको एक्यूआई ८७ मापन भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानको एक्यूआई १०२ देखि १९७ सम्म मापन भएको छ। गएको साता काठमाडौंका अधिकांस स्थानमा एक्यूआई ५० भन्दा तल झरेको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार वायु स्वस्थकर हुन एक्यूआई ५० भन्दा कम हुनुपर्दछ। १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ। वायुमा खराब ग्यास तथा कणहरूको मात्रा (पीएम २.५, पीएम १०) लगायतका आधारमा एक्यूआई मापन गरिन्छ।
संसदीय समितिको ‘टीओआर’मा गृहमन्त्री लामिछानेको नाम अनिवार्य गर्न कांग्रेसको सुझाव
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिको कार्यक्षेत्राधिकार ‘टीओआर’मा गृहमन्त्री रवि लामिछानेको नाम अनिवार्य गर्न सुझाव दिएको छ । आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय पदाधिकारी बैठकले संसदीय समितिको ‘टीओआर’ निर्माण समितिका सदस्य जीवन परियारलाई लामिछानेको नाम नराख्दासम्म सहमति नजनाउन सुझाव दिएको हो ।
नेपाल र चीनबीचको टिपताला नाकामा नेपालतर्फबाट गाडी पुग्यो
काठमाडौं । नेपाल र चीनबीचको टिपताला नाकासम्म नेपालतर्फबाट पनि गाडी पुगेका छन्। टिपताला नाका पाँच हजार एक सय मिटरको उचाइमा रहेको ताप्लेजुङस्थित नेपाल र चीनको सीमाक्षेत्र हो। फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा रहेको टिपताला नाकासम्मको सडक चौडा गरिएपछि शुक्रबार एक्स्काभेटर र ट्रयाक्टरनाकासम्म पुर्याइएको छ। चीनतर्फबाट भने पाँच वर्षअघि नै टिपताला नाकासम्म गाडी आउने गरेका थिए। फक्ताङलुङ गाउँपालिका– ७ का वडाध्यक्ष छेतेन शेर्पाले भने पहिले नाकाबाट बोकेर सामान ल्याइन्थ्यो । यहाँको सामान पनि बोकेर पठाउनुपर्दथ्यो । अब त गाडीमा ल्याउन पाइने भयो । त्यसका लागि सरकारले नाका खोल्न पहल गरोस् । गत चैतमा सदरमुकाम फुङलिङबाट ओलाङचुङगोलासम्म गाडी पुगेपछि तमोर करिडोर आयोजनाले टिपताला नाकासम्मको २४ किलोमिटर सडक स्तरोन्नति (पहिरो हटाउने, सडक चौडा गर्ने) काम गरेको हो। सडक स्तरोन्नति गरिरहेको एलाइट जेभी कम्पनीका साइट इन्चार्ज राजीव लामिछानेका अनुसार तमोरको किनार भएर टिपताला गाडी पुगेका हुन्। ओलाङचुङगोलादेखि टिपताला नाकासम्मको २४ किलोमिटर सडक तीन करोड खर्चेर चार वर्ष घि नै ट्र्याक खुलेको थियो। नाका बन्द हुनु (कोभिड)अघि तिब्बतको रिगुबाट गाडीमा ल्याएको खाद्यान्नलगायतका सामग्री टिपताला नाका झारिन्थ्यो। त्यसपछि भने चौँरी र भरियामार्फत बोकेर ओलाङचुङगोलासम्म ल्याएर स्थानीयले उपभोग गर्दथे। तर, अहिले गाडी टिपताला नाकासम्मै पुगे पनि नाका भने खुलेको छैन। अब चीनसँगको नाका खुलेपछि स्थानीयलाई सहज हुने फक्ताङलुङ गाउँपालिका– ७ का वडाध्यक्ष छेतेन शेर्पाले बताए। ‘पहिलो नाकाबाट बोकेर सामान ल्याइन्थ्यो। यहाँको सामान पनि बोकेर पठाउनुपर्दथ्यो,’ उनले भने, ‘अब त गाडीमा ल्याउन पाइने भयो। त्यसका लागि सरकारले नाका खोल्न पहल गरोस्।’ चीन र भारतसँग जोड्ने तमोर करिडोरअन्तर्गतको टिपताला नाका रणनीतिक महत्वको नाका हो। टिपतालाबाट विराटनगरस्थित रानी भन्सारको दूरी करिब दुई सय ९२ किलोमिटर छ।
गृहमन्त्रीको जवाफ संसदमा सुन्ने विपक्षी दलहरुको निर्णय
काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो। गृहमन्त्रीले जवाफ दिइसकेपछि त्यसमा चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने नेपाली कांग्रेसले जनाएको छ । विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए। सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको थियो । कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् । गतिरोध अन्त्यको प्रयासमा शनिबार बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुको संयुक्त बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो। तर संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लागेको छैन्। कार्यादेश टुंगो लगाउन एमाले नेता एवम् कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ। कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।
संसद् बैठक अगाडि प्रतिपक्षी दलहरू छलफलमा
काठमाडौं । संसद् बैठक बस्नुअघि प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नेपाली कांग्रेससहित प्रतिपक्षी दलको बैठक बसिरहेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जानकारी दिए। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका प्रतिपक्षी दलका नेताहरू सहभागी छन्। सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । सोही क्रममा बिहीबार संसद् बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेलाधकेल भएपछि प्रतिपक्षी दलहरू एकठाउँमा उभिएका हुन् । उनीहरूले सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।
सुनचाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि गत साताको बिहीबार जेठ ३ गते एक लाख ४० हजार रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ४० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । गत बिहीबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँ हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।
सहकारी प्रकरणको छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी
कार्यदलमा कानूनमन्त्री पदम गिरीको संयोजक,सदस्यहरुमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहेका छन् ।
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब २८० को संख्यामा खासगरी बिस्केक र वरपर रहेका नेपाली हाल सकुशल रहेको र स्थिति सामान्य नहुञ्जेलसम्म निवासरघर बाहिर ननिस्कन आग्रह छ”, भनेको छ । तावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +९२५१२६१०३२१ (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ । बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ । रासस

