किसानले भुक्तानी नपाए पूर्व–पश्चिम राजमार्ग बन्द गर्ने चेतावनी

नवलपरासी । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड भुक्तानी पाएका छैनन् ।

जिल्लाका तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी पाउन बाँकी छ । उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार चिनी उद्योगले हालसम्म करीब रु २५ करोड भुक्तानी गरेका छन् ।

पश्चिम नवलपरासीका किसानले भुक्तानी नपाए पूर्व–पश्चिम राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् । पटक–पटक भुक्तानीका लागि माग गर्दैआए पनि उद्योग सञ्चालकले दिन नमानेको तथा सरकारले समेत पहल नगरेको किसानको गुनासो छ ।

“भुक्तानी नदिँदा आन्दोलनको बाटो रोज्न बाध्य भएका छौँ,” अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष दूधनाथ गुप्ताले भन्नुभयो ।

उद्योग सञ्चालकले चिनी बिक्री नभएका कारण भुक्तानी दिन नसकिएको बताउँदै आएका छन् । तीनवटा उद्योगले १६ लाखभन्दा बढी क्विन्टल उखु क्रसिङ गरी चिनी उत्पादन गरेका छन् । भुक्तानी नपाउँदा जिल्लाका करीब १० हजार किसान मारमा परेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले दुई महिनाअघि उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारवाही गर्न निर्देशन दिनुभएको थियो ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सबै उद्योगका सञ्चालकसँग समन्वय गरी भुक्तानीका लागि पहल गरिने बताउनुभयो ।

उत्पादन भएको चिनीको उचित मूल्य नपाएका कारण बिक्रीमा समस्या भएको उद्योग सञ्चालकले बताएका छन् । भुक्तानी नपाउँदा जिल्लामा हरेक वर्ष उखु उत्पादन घट्दो छ । दुई वर्षअघि २५ लाख क्विन्टल उखु उत्पादन भएको जिल्लामा गत वर्ष २० लाखमात्र उत्पादन भएको थियो । यस वर्ष १६ लाख क्विन्टल उखु उत्पादन भएको समितिले जनाएको छ । रासस

चिठ्ठाको नाममा करोडौ‌ ठग्ने ४ युवक पक्राउ

पर्सा । चिठ्ठाको बहानामा सर्वसाधारणलाई ठग्ने चार युवकलाई पक्राउ गरी आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । चिठ्ठा तथा विभिन्न योजनाको बम्पर उपहार परेको भन्दै कर बापतको रकम बैंक खाता र आइएमआइमा जम्मा गर्न लगाई सर्वसाधारणलाई ठगी गरेको उनीहरुलाई पक्राउ गरिएको हो । वीरगञ्ज महानगरपालिका– १८ नगवाका अक्षयकुमार चौरसिया, वडा नं १६ का युवराज पासवान, वडा नं १९ का वीरनारायण चौरसिया र वडा नं २ छपकैयाका राहुलकुमार राउतलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । वीरगञ्जका एक व्यक्तिलाई २५ लाख भारतीय रुपैँयाको चिठ्ठा परेको भन्दै करबापत रु एक लाख माग गरी रकम झिक्ने क्रममा चारैजनालाई वीरगञ्जको भेडियाहीबाट पक्राउ गरिएको हो । पक्राउ परेका युवाबाट प्रहरीले रु एक लाख पाँच हजार, ठगीमा प्रयोग भएका चार थान मोबाइल, आइएमआइको सातवटा भौचर, विभिन्न बैंकका एटिएम कार्डलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी संगठित ठगी मुद्दा चलाउने तयारी भइरहेको उपरीक्षक ढकालले बताउनुभयो । रासस

दुई महिनाभित्र स्मार्ट लाइसेन्स समस्या अन्त्य हुने यातायात विभागको दाबी

काठमाडौं, जेठ २९ । यातायात व्यवस्था विभागले आगामी दुई महिनाभित्र स्मार्ट लाइसेन्स ( सवारी चालक अनुमतिपत्र) वितरणको समस्या समाधान हुने गर्ने दाबी गरेको छ । पछिल्लो समय विभागले ट्राइल पास गरेर पनि महिनौं वितिक्दासम्म स्मार्ट कार्ड वितरण गर्न सकेको छैन । अहिले लाखौं मानिसहरु प्रतिक्षारत छन् । चारवटा नयाँ प्रिन्टर ल्याएको विभागले अब २ सिफ्टमा काम गरी प्रिन्ट हुन बाँकी सबै लाइसेन्स प्रिन्ट गरेर दुई महिनाभित्र वितरण गरिसक्ने दाबी गरेको हो । विभागमा अहिलेसम्म चारवटा मेसिनले मात्रै लाइसेन्स प्रिन्ट गरिररहेका थिए । अब आठवटा मेसिनबाट लाइसेन्स प्रिन्ट गरेर दुई महिनाभित्रै सबै प्रतीक्षारत सेवाग्राहीलाई हस्तान्तरण गरिसक्ने विभागका प्रवक्ता तुल्सीराम आर्यालले बताए । अहिले ट्रायल पास गरेका र नवीकरणका लागि आवेदन दिएका करीब तीन लाख सेवाग्राही लाइसेन्स कुरिरहेका छन् । सरकारले २०७२ मंसिर २० देखि स्मार्ट कार्डको रुपमा वितरण थालेको थियो । पुरानालाई लाइसेन्स वितरण गरिसकेपछि ट्रायल परीक्षा उत्तीर्ण गरेर राजस्व जम्मा गरेपछि तत्कालै सम्बन्धित सेवाग्राहीले पाउने गरी कार्यालयमा स्मार्ट कार्ड उपलब्ध गराउने दावी प्रवक्ता आर्यालले गरे ।

अाज दिउँसो ४ बजे सिंहदरबारमा प्रधानन्यायाधिश सिफारिश गर्न बैठक

काठमाडौं । तीन महिनादेखि रिक्त प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्ने भएको छ। दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्ने भएको हो । प्रधानन्यायाधीशका लागि योग्यता पुगेका कायममुकायम प्रधानन्यायाधीश दीपककराज जोशी, न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको नाम र अभिलेख न्यायपरिषद्ले संवैधानिक परिषद्मा पठाएको पनि झण्डै तीन महिना भयो । गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ । त्यसयता कायममुकायम प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व गरिरहेका छन् ।

अब नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआइजी

काठमाडौं, जेठ २८ । सरकारले नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआईजी रहने व्यवस्था गरेको छ । यसअघि नेपाल प्रहरीमा १६ र सशस्त्रमा ९ एआईजी थिए । बैठकले नेपाल प्रहरीमा ३ हजार सय १ नयाँ दरबन्दी सिर्जना गर्ने स्वीकृति पनि दिएको छ । अहिले प्रहरीमा ७२ हजार ७ सय ४४ दरबन्दी छन् । स्वीकृत दरबन्दी थपिँदा प्रहरी सख्या ७५ हजार ८ सय ४५ पुग्नेछ । मन्त्रिपरिषदको आईतबार बसेको बैठकले पहरीमा प्रादेशिक तहमा जाँदा सख्या अपुग हुने भएपछि नयाँ दरबन्दीका लागि स्वीकृति दिएको हो । कान्तिपुरमा खबर छ ।

के राजपा सरकारमा आउला ?

काठमाडौं, जेठ २८ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधान संशोधनको प्रतिबद्धतासहित राष्ट्रिय जनता पार्टीलाईसमेत सरकारमा सहभागी गराउने पहल थालेको छ । त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल सूरु भएको छ । ससद्मदमा विश्वासको मत दिएलगत्तै सघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सूरु भएको थियो । तर संविधान सशोधनमा कुरा नमिल्दा फोरम र राजपा झन्डै तीन महिना सरकारमा सहभागी नभई बसेका थिए । कान्तिपुरमा खबर छ ।

लगानी बोर्डकाे उपाध्यक्षमा अर्थमन्त्री

काठमाडौं, जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गर्नुभएको छ । बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम अर्थमन्त्रीलाई उक्त पदमा यही जेठ २५ गते नियुक्त गर्नुभएको लगानी बोर्डको कार्यालयले आज जनाएको छ ।

जथाभावी वन फँडानी गर्दा पहिरोको जोखिम बढ्दै

ललितपुर । जथाभावी रुख काट्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ । दुर्गम जिल्लाका धेरै ठाउँमा पहिरोको जोखिम रहेको विभागका उपमहानिर्देशक प्रदीप थापाले बताउनुभयो । खुकुलो माटो भएका ठाउँमा बाटो खन्दा वर्षामा आउने पहिरोले स्थानीयवासी हैरान छन् । उहाँले भन्नुभयो, “प्राविधिक अध्ययनका आधारमा चट्टान कडा भएका ठाउँमा मात्रै बाटो खन्नुपर्छ ।” गलत ठाउँमा बाटो खन्दा बाटोमात्रै होइन सिङ्गो बस्ती नै पहिरोको जोखिममा परिरहेको छ । स्थानीय निकायमा जनप्रतिनिधि आएपछि अधिकांशले सडक विस्तारलाई प्राथमिकतामा राखेका छन् । नयाँ सडक बनाउँदा प्राकृतिक प्रकोपको जोखिम नहुने गरेर योजना बनाउनुपर्नेमा उपमहानिर्देशक थापाले जोड दिनुभयो । पहिरोका कारण वर्षाको समयमा सडक बन्द हुने हिउँदमा मात्रै चलिरहेका छन् । कतिपय स्थानमा खेतीयोग्य माटो बगाएर लैजाँदा उत्पादन कम भएको छ । कुलो सिँचाइलगायतका संरचना पनि पहिरोका कारण मासिएका छन् । उहाँले भन्नुभयो, “अरु क्षति त छँदैछ सिङ्गो मानवबस्ती नै बगाउने जोखिम हुन्छ ।” पहिरोको जोखिम भएको भिरालो जग्गामा रुख बिरुवा रोप्नुपर्ने भए पनि पहिरोको जोखिम भएका ठाउँमा रुख बिरुवाको कमी छ । रासस

बल्ल बसपार्कले जग्गा पाउने भयो

उदयपुर । उदयपुर जिल्लाको पूर्वी व्यापारिक केन्द्रका रुपमा रहँदै आएको चौदण्डी गढी नगरपालिकास्थित बेल्टार बजारमा बसपार्कको नाममा जग्गा नभएका कारण यहाँ सञ्चालन हुने सवारी साधन अस्तव्यस्त थियो । विसं २०५४ देखि बेल्टार बजार क्षेत्रबाट अन्यत्र क्षेत्रसम्म आवतजावत गर्न औपचारिकरुपमा यातायातका साधन सञ्चालन भए पनि स्थायी बसपार्क नहुँदा बजारको जग्गामा नै अस्थायी बसपार्क सञ्चालन गर्दै आउनु परेको थियो । अहिले केही स्थानीयवासीले बसपार्कको नाममा जग्गा प्रदान गर्ने र नामसारीसमेत गरिदिने भएपछि अब स्थायी बसपार्क बन्ने चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईले बताउनुभयो । शहरी डिभिजन कार्यालयले गतवर्ष नै बेल्टार बजारमा बसपार्क निर्माणका लागि नगरपालिकासहित मिलेर रु ४० लाख विनियोजन गरेको र यस वर्ष पनि रु २० लाख विनियोजन गरेकामा जग्गा नभएका कारण बसपार्क निर्माण हुन नसकेको उक्त कार्यालय इन्जिनियर ब्रह्मादेव चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “विगतदेखि नै बसपार्क निर्माण गर्ने लक्ष्य भए पनि स्थायी जग्गा नहुँदा योजना असफल भएको थियो तर यसपटक जग्गादाता भेटिएका कारण अब बसपार्क निर्माण हुन्छ ।” विसं २०५४ मा नै बसपार्कका लागि तत्कालीन बेल्टार गाउँपालिका–६ का काशीनाथ र जनकप्रसाद सेँढाईले सात कट्ठा जग्गा बसपार्कका लागि प्रदान गर्ने विषयमा सहमति भएपनि कार्यान्वयन भएको थिएन अहिले भने सहमति भएकाले र नगरपालिकाले उहाँहरुलाई सम्मान गर्ने र बसपार्कको नाममा आएको जग्गामा बसपार्क निर्माण गर्ने तयारी भइरहेको नगरपालिकाका पदाधिकारीले बताए । स्थायी बसपार्क निर्माण पछि यहाँबाट सुनसरी, चतरा, गाईघाट, सिन्धुली हुँदै हेटौँडा भएर राजधानी काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गमा पूर्वी क्षेत्रबाट सञ्चालन हुने यातायातका साधनलाई समेत पार्किङ गर्न सहज हुने यातायात व्यवसायी केशव मगरले बताउनुभयो । रासस

दूध ट्याङ्कर त्रिशूलीमा खस्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आज बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका वडा नं ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ४१५५ नंको दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खसेको हो । घाइते हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ७ बस्ने ३४ वर्षीय हरि सिलवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार घाइते सिलवालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने ट्याङ्कर निकाल्ने कार्य जारी रहेको छ । खसेको ट्याङ्कर खाली रहेको प्रहरीले जनाएको छ । रासस

ठेकेदारको चरम लापरबाही, करेन्ट लागेर दुई बिद्यार्थी गम्भीर घाइते

दोलखा, जेष्ठ २७ । दोलखाको जिरी नगरपालिका वडा नम्वर १ श्यामामा जलविद्युत आयोजनको प्रसारण लाइनबाट करेन्ट लागेर दुई विद्यार्थी गम्भीर घाइते भएका छन्। स्थानीय गर्जाङढुंगा माविमा अध्ययन गरि घर फर्किने क्रममा शुक्रबार जिरी नगरपालिका २ भष्मे निवासी निमावाङछु शेर्पाकी १६ वर्षीया छोरी दालमु शेर्पा र सोही स्थानका मंगले शर्पाका १३ वर्षीय छोरी विकु शेर्पा करेन्ट लागेर गम्भिर घाईते भएका हुन्। विद्यालय गएर घर फर्किदै गर्दा जिरी नगरपालिका वडा नम्वर १ र २ को सिमानामा पर्ने रावुटार सामुदायिक वन क्षेत्र नजिकै उनीहरुलाई करेन्ट लागेको स्थानीय बिशाल खड्काले जानकारी दिए । श्यामामा केही महिना अघि मात्रै निर्माण सम्पन्न भएको गर्जाङ भ्याली हाईड्रोपावरबाट उत्पादित विजुलीको प्रसारण लाईन बिच्छ्याउदा चरम लापरवाही भएकै कारण सो दुर्घटना भएको स्थानीयको भनाइ छ। घाइते विद्यार्थी दुबैको जिरी अस्पतालमा उपचार भैरहेको छ।

पत्रकार तथा लेखक मैनालीको ‘देखेको देश’ विमोचन

काठमाडौं, जेठ २७ । पत्रकार तथा लेखक मोहन मैनालीको ‘देखेको देश’ पुस्तकको विमोचन भएको छ । बिभिन्न ३६ वटा निबन्ध समेटिएको पुस्तकको शनिबार विमोचन गरिएको हो । पुस्तक विमोचन गर्दै लेखक तथा वनस्पति विज्ञ डा. तिर्थ बहादुर श्रेष्ठले देशका बारेमा थाहा नभएका कुराहरु जान्नका लागि पुस्तक उपयोगी रहने बताउनुभयो । विभिन्न ठूला विकासका आयोजना तथा निकुञ्ज विस्तारका क्रममा विस्थापनमा परेका परिवारका भोगाईलाई पुस्तकमा मर्मस्पर्सी रुपमा प्रस्तुत गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा पुरानो पदमपुरबाट विस्थापित भएर नयाँ पदमपुरमा राखिएका परिवारले पहिलेको ठाउँका नातेदार, आफन्तबाट टाढा हुँदा चन्द्र सूर्यको प्रकाश नफेरिए पनि बाँकी सबै फेरिएको कुरालाई भावनात्मक रुपमा उठान गर्दै सामाजिक परिवेश दर्शाएको छ । पुस्तकले समग्र सामाजिक परिवेश, शैक्षिक अवस्था, विदेशमा भासिएकाको कथाहरु पनि उठान गरेको छ । सपनामाा देखेको रेल्वे र विपनामा हराएको सडक शीर्षकमा नेपाललाई छिमेकी देशले सपना देखाएर कसरी नचाइरहेको छ भन्ने कुरा घतलाग्दो यथार्थको रुपमा छर्लङ्ग देखाइएको छ । तेह्रथुममा जन्मिएका मैनालीले पत्रकारीता गर्दा घुम्ने क्रममा देखेका र भोगेका कुरालाई लिपीबद्ध रुपमा पुस्तकमा प्रस्तुत गर्नुभएको छ । पहाड चिरेर बनाइएका बाटोले पारेको वातावरणीय प्रभाव तथा समसामयिक विषयवस्तुलाई पुस्तकमा रोचक रुपमा उठान गरिएको छ ।

बिप्लवका कार्यक्रता र प्रहरीविच झडप, प्रहरी जवान घाइते

चितवन, जेठ २७ । बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार प्रतिरोधका क्रममा ढुङ्गा लागेर प्रहरी जवान इसु मियाँ धोबी घाइते हुनुभएको हो । उहाँको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । धोबीको टाउकामा चोट लागेको आचार्यले बताउनुभयो । सो क्रममा बिसी भाग्न सफल भएको र उनका अंगरक्षक वीरबहादुर तामाङलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण दिन नसकिएको आचार्यले बताउनुभयो । प्रजिअ जितेन्द्र बस्नेतले बिसीका अंगरक्षकले इँट्टा प्रहार गरेपछि बिसी भाग्न सफल भएको र प्रहरी जवान घाइते भएको बताउनुभयो । रासस

पशुपतिमा पाँच हजार विरुवा रोपिने

काठमाडौ, जेठ २७ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरुभएको छ । सो अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने बताइएको छ । अभियानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले शुभारम्भ गर्नुभयो । अभियान शुभारम्भसँगै मृगस्थली जंगल क्षेत्रमा वेलपत्र, लोठसल्लो, चिलाउने, लप्सी, पारिजातलगायत जातका २५० वृक्षरोपण गरिएको पशुपति विकास कोषका सदस्यसचिव डा. प्रवीण ढकालले जानकारी दिनुभयो । रोपिएका बिरुवा हुर्काउन पनि कोषले मानिस खटाउने भएको छ । एउटा बिरुवा हुर्काउन रु ११ हजार ११४ खर्च लाग्ने उहाँले बताउनुभयो । पशुपति क्षेत्रमा श्रद्धालु भक्तजनले जन्मदिन, वैवाहिक वर्षगाठलगायत शुभ अवसरमा वृक्षरोपण गरी हुर्काउन चाहेमा त्यो अवसर प्रदान गर्ने कोषले निर्णय गरेको छ । यसै हप्ता युरेशिया रेयुकाईले ३०० बिरुवा रोप्न स्वीकृति लिएको कोषले जनाएको छ । रासस

भारतीयसहित चार जनाविरुद्ध लागूऔषध मुद्दा

नवलपरासी, जेठ २७ । पश्चिम नवलपरासीमा लागूऔषधसहित पक्राउ परेका एक जना भारतीय नागरिकसहित चारै जनालाई प्रहरीले मुद्दा दर्ता गरी थप कारबाही पक्रिया अघि बढाएको छ । गत जेठ २४ गते अवैध लागूऔषधसहित पक्राउ परेका चारै जनालाई कानूनअनुसार लागूऔषधअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाएको हो । पक्राउ पर्नेहरुमा जिल्ला म्याग्दी मल्कवाङ घर भएका २२ वर्षीय कुमार छन्त्याल र जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका–१९ बस्ने २२ वर्षीय अशोक परियार, जिल्ला नवलपरासी रामग्राम नपा–९ कमैनी बस्ने २५ वर्षीय दुर्योधन कुशवाहा र भारत उत्तरप्रदेश जिल्ला महाराजगञ्ज थाना निपोनिया बस्ने ३५ वर्षीय रमेश चन्द रहेका छन् । प्रहरीले सन्त्याल र परियारलाई लागुऔषधसहित रामग्राम नपा–३ रामखण्ड पुल क्षेत्रबाट रंगेहात पक्राउ गरेको हो भने कुशवाहा रामग्राम नपा–३ बाट र चन्द्रलाई पाल्हिनन्दन गाउँपालिका–५ चमन टोला क्षेत्रबाट रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले सन्त्याल र परियारको साथबाट डाइजापाम २५ एम्पुल, फेनराजन २५ एम्पुल, नुर्फिन २५ एम्पुल र नाइट्राभेट १० लेखिएको पाँच पातामा प्रतिपत्ता ३० ट्याब्लेटको दरले १५० ट्याब्लेट लागुऔषध बरामद गरेको थियो भने कुशवाहा र चन्दका साथबाट नुर्फिन ५० एम्पुल, डाइजापाम ५० एम्पुल र फेनरागन ५० एम्पुल लागुऔषधसमेत बरामद गरेको थियो । गोप्य सूचनाका आधारमा पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता) पश्चिमले जनाएको छ । यसैगरी, प्रतिबन्धित लागुऔषधसहित एक जनालाई प्रहरीले पूर्वी नवलपरासीबाट शनिबार पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयित्रिवेणी गाउँपालिका–७ ब्यारेज पुल क्षेत्रबाट प्रहरीले रुपन्देही तिलोत्तमा नपा–१ बस्ने २२ वर्षीय मनिष थापालाई पक्राउ गरेको हो । प्रहरीले थापाका साथबाट नोट्रोजेपाम ट्याब्लेट ३० र स्पास्मो प्रोक्सभोनप्लस क्याप्सुल ७२ वटा गरी कूल १०२ वटा लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आइरहेका अवस्थामा थापालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा निजको साथबाट सो लागुऔषध बरामद भएपछि थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता) पूर्वले जनाएको छ । -रासस

भरुवा बन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित पक्राउ

म्याग्दी, २७ जेठ ।  म्याग्दीको मंगला गाउँपालिका–२ हिदीबाट शनिबार भरुवा वन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरी सहायक निरीक्षक सहितको टोलीले शंकास्पद व्यक्तिको घरमा चेकजाँच गर्ने क्रममा हिदीका ३५ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको हो । पुनको घरमा लुकाइराखेको बिना लाइसेन्सको अवैध एक नाले भरुवा बन्दुकसहित दुर्लभ जनावरको मासु फेला पारेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक दीपक महत क्षेत्रीले जानकारी दिनुभयो । पुनलाई भरुवा बन्दुक र वन्यजन्तुको मासुसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । -रासस