यस्तो हुनेछ आज दिनभरको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । 

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।


आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। 

देशको पहाडी भू-भागका थोर स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा एक(दुई स्थानमा मेघगर्जन/चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बुद्धको अस्तुधातुलाई रामग्राम नगर परिक्रममा

काठमाडौँ । २५६८ औँ बुद्ध जयन्तीको अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले श्रीलंकाबाट ल्याएको गौतम बुद्धको अस्तुधातु सहितको धातुजात्रा निकालिएको छ । कोलिया गणराज्यको राजधानी पण्डितपुरबाट बुद्धको एकमात्र सिंगो अस्तधातु रहेको रामग्राम स्तूपसम्म करिब १५ किलोमिटर लामो धातुजात्रा निकालिएको हो । श्रीलंकाबाट ल्याइएको बुद्धको अस्तुधातुलाई हात्तीमा राखेर नगरका विभिन्न स्थान परिक्रमा गराई सर्वसाधारणलाई दशर्नको व्यवस्था मिलाइएको थियो । गत वर्ष प्रधानमन्त्रीको उपस्थितिमा रथ सहितको धातुजात्रा गरिएको र यो वर्ष पनि स्थानीय तह आफैले अपनत्व लिएर धातुजात्रा आयोजना गरिएको नगर प्रमुख धनपत यादवले बताए । लुम्बिनी विकास कोषले रामग्राम सहितका अन्य बुद्ध स्थलको विकासमा आवश्यक चासो नदिएको भन्दै स्थानीय तह आफैँले पुरातात्त्विक वस्तु र स्थलको संरक्षणमा लागि परेको हो । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा रामग्राम स्तूपमा अस्तुधातु सहितको कार्यक्रम भएको थियो । बुद्ध जयन्तीको अवसरमा नगरपालिकाले सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ ।

विद्युत महशुल वृद्धि फिर्ता लिन माओवादीको केन्द्रको आग्रह

गल्याङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बुटवल पावर कम्पनीको सिफारिसमा विद्युत नियमन आयोगले अन्यायपूर्ण ढंगले आँधिखोला वितरण केन्द्रका ग्राहकहरुका लागि विद्युत महशुल बढाएको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज माओवादी केन्द्रका जिल्ला अध्यक्ष लोकेन्द्र तारामु मगरले प्रेस विज्ञप्ति जारी गर्दै आम जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने गरि गरिएको शूल्क बृद्विको निर्णय तत्काल फिर्ता लिन विद्युत नियमन आयोगलाई आग्रह गरेका छन्।  साथै, उनले शुल्क बृद्धि विरुद्व संयुक्त संघर्ष समिति गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सक्रीय सहभागीता जनाउने जानकारी गराउँदै आन्दोलनबाट हुन सक्ने क्षतिको जिम्मेवारी बुटवल पावर कम्पनी र विद्युत नियमन आयोगले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।  

महिला एसिया कप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। क्यानले बिहीबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।  एसियाली क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा क्यानले नेपाली टोली घोषणा गरेको हो । उक्त प्रतियोगिता आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलंकामा हुँदैछ।  उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स छन्। त्यस्तै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।  यस्तो छ नेपाली टिम   इन्दु बर्मा, सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, खुसी डंगोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार, लक्ष्मी साउद यशोदा विष्ट, कीर्तिका मरासिनी, सोनी पाख्रिन, राजमति ऐरी, हेलिशा गुरुङ, सम्झना खड्का, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, संगीता राई, आरती महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, करुणा भण्डारी, पुजा महतो, अस्मिना कर्माचार्य र डोली भट्ट 

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि हुँदै

काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको बिहीबार उनको गृहनगरमा अन्त्येष्टि गरिने भएको छ । बाँध उद्घाटन गरी फर्कने क्रममा आइतबार देशको उत्तरपश्चिम हिमाली क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीय रायसीसहित इरानी  विदेशमन्त्री र अन्य छ जनाको मृत्यु भएको थियो । उनको अन्तिम विश्रामस्थल उत्तरपूर्वी शहर मशादमा रहेको एक महत्वपूर्ण शिया समाधिस्थल इमाम रेजाको पवित्र दरगाहमा हुनेछ । मशाद रायसीको जन्मस्थल हो ।  इरानी सञ्चारमाध्यमले बुधबार सार्वजनिक गरेको तस्बिरमा मशादका अधिकारीहरू अन्त्येष्टिको अन्तिम दिनको तयारी गरिरहेको देख्न सकिन्छ ।  अन्त्येष्टिको तयारी भइरहँदा इरानको दोस्रो ठूलो सहर मशादस्थित इमाम रेजा दरगाहको वरिपरि रायसी, कालो झण्डा र शिया प्रतीकहरूको ठूलो फोटोहरू राखिएको छ । राजधानी तेहरानमा बुधबार दिवंगत राष्ट्रपति रायसीलाई अन्तिम श्रद्धाञ्जली दिन ठूलो भीड जम्मा भएको थियो । इरानी अधिकारी र सञ्चारमाध्यमले रायसीलाई ‘शहीद’ को संज्ञा दिएका छन् ।

सी चिनफिङद्वारा शान तोङ प्रान्तीय रचाउ शहरको निरीक्षण

बेइजिङ । मे २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शान तोङ प्रान्तीय रचाउ शहरको निरीक्षण गरेका छन्।  उनले रचाउ बन्दरगाह र समुद्री तटको हरित सडकको निरीक्षण गर्दै रचाउ शहरले बन्दरगाहको स्मार्ट तथा हरित निर्माणलाई अगाडि बढाएको, बाह्य खुलापनलाई विस्तार गरेको र समुद्र तटको पर्यावरणीय सँरक्षण बढाएको, र जनताको जीवनयापन गुणस्तरलाई उकासेको अवस्थाबारे जानकारी लिए।

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएन : सांसद राणा

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले दिगो विकासले लिएको लक्ष्यअनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकी छन् । बुधबारदेखि सुरु ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिनको ‘जलवायु न्याय, समानता र स्थानीय आवाजः लिङ्ग र युवा’ विषयक सत्रमा उनले दिगो विकासको सम्बन्धमा संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा दिगो विकासको लक्ष्य सन्तोषजनक नरहेको बताएकी हुन् ।  जलवायुले ल्याएको चुनौती पहिल्याएर उनीहरूको क्षमता बढाउनुपर्नेमा उनको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी नीति कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा उनले जोड दिइन् । “स्थानीयस्तरका ज्ञानलाई प्रयोग गरेर जलवायुसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ, राजनीतिक सहमति जुटाउनुपर्छ”, उनले भनिन्, “जलवायु परिवर्तनसम्बन्धी सम्झौता कानुनीरूपमा नै बाध्यकारी प्रावधान ल्याउनुपर्नेछ ।” पछिल्लो समय पृथ्वीको तापक्रम पनि दिनानुदिन बढिरहेको र यसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी परिरहेको उनको भनाइ छ । “जलवायु परिवर्तनको प्रभावका कारण प्रकोप बढेर हिमताल फुट्ने जोखिम बढेको छ”, राणाले भनिन्, “जलवायु न्यायका कुरा गर्दा हिमाली क्षेत्रका महिलाले वातावरण जोगाउन खेलेको भूमिका महत्त्वपूर्ण छ, उहाँहरूले हिमालका हरेक कुनाकाप्चामा जोखिमका बाबजुद अघि बढेर जैविक विविधता संरक्षणमा भूमिका निर्वाह गरिरहनुभएको छ ।” उनले जलवायुका कारण हिमाली क्षेत्रका महिलाले भोगेको समस्या सम्बोधन हुनेगरी काम गर्नुपर्ने बताइन्  । रासस

बलिउड अभिनेता शाहरुख अस्पताल भर्ना

काठमाडौं । बलिउडका बादशाह भनिने शाहरुख खान अस्पताल भर्ना भएका छन् । शाहरुख खान अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  शाहरुख खान आफ्नो आईपीएल टीमलाई समर्थन गर्न अहमदाबाद गएका थिए । त्यहाँ उनको स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको एनडीटीभीले जनाएको छ ।  शाहरुखलाई गर्मिका कारण डिहाइड्रेसन भएको समाचारमा उल्लेख छ । 

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । किरणकुमार श्रेष्ठको दुई कार्यकाल सकिएपछि खनाललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । १६ वर्षअघि खनाल राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरेका थिए । बैंकले सीईओको आवेदन खुला गरेपछि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये पाँचजनाको नाम सर्ट लिस्टमा परेको थियो । 

ट्रायल सेन्टरहरूमा एडिटिटी प्रणाली कार्यान्वयन गर्न विभागको आग्रह

काठमाडौँ । यातायात व्यवस्था विभागले अटोमेटेड ड्राइभिङ टेस्ट ट्र्याक (एडिटिटी) प्रणाली कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । ट्रायल सेन्टरहरूमा एडिटिटी प्रणाली जडान गर्न विभागले बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको हो । यातायात व्यवस्था कार्यालयहरूले लिने ट्रायल परीक्षामा परीक्षार्थी उत्तीर्ण भए पनि अनुत्तीर्ण हुने गरेको र अनुत्तीर्ण पनि उत्तीर्ण भएको गुनासो सेवाग्राहीबाट आएपछि ट्रायल परीक्षालाई पारदर्शी र गुनासोरहित बनाउन एडिटिटी प्रणाली कार्यान्वयन गर्न विभागले भनेको हो । ‘ट्रायल परीक्षाको नतिजा कुनै व्यक्ति विशेषले नभई प्रविधिले वैज्ञानिक तवरले निर्धारण गर्न ट्रायल परीक्षा सञ्चालनको अनुमति प्रदान गर्दा, अनुमतिपत्रको नवीकरण गर्दा एवं रोकिएको ट्रायल परीक्षा पुनः सुचारु गर्दा अटोमेटेड ड्राइभिङ टेस्ट ट्र्याक ९एडिटिटी० प्रविधि जडान गर्ने ट्रायल सेन्टरलाई मात्र अनुमतिपत्र, नवीकरण तथा पुनः ट्रायल परीक्षा सुचारु गराउने अनुमति प्रदान गर्न विभागको मङ्गलवारको निर्णयअनुसार अनुरोध छ,’ विभागको निर्णयपत्रमा उल्लेख छ । विश्वका अधिकांश मुलुकहरूले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाको दौरान परीक्षार्थीको पासरफेलको अवस्था मानवीय मूल्यांकन (ह्युमन जजमेन्ट)बाट निर्धारण नगरी ट्रायल सेन्टरमा जडान भएका उच्च प्रविधियुक्त क्यामेरा ९हाई डेफिनेसन इन्टेलिजेन्ट क्यामेरा० एवं आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) प्रविधिद्वारा वैज्ञानिक ढंगले निर्धारण गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै विभागले यातायात कार्यालयलाई पनि यस्ता प्रविधि प्रयोग गर्न अनुरोध गरेको हो । राष्ट्रिय सतर्कता केन्द्रलाई बोधार्थ दिएर विभागले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालयहरू एकान्तकुना, ठूलोभर्याङ, भक्तपुर, चाबहिल र चितवनलाई बोधार्थसहित कार्यार्थ दिएको छ । यसअघि सतर्कता केन्द्रले गरेको छानबिनमा काठमाडौँ उपत्यकाका ट्रायल सेन्टरहरूले मापदण्ड पालना नगरेको पाइएको थियो । सतर्कताको निर्देशनपछि ट्रायल सेन्टरहरूले मापदण्ड अनुसारको ट्रायल स्पट निर्माण गर्दै छन् ।

बेलायतमा आमनिर्वाचन ४ जुलाईमा

काठमाडौँ । बेलायतमा आउँदो ४ जुलाईमा आम निर्वाचन हुने भएको छ ।प्रधानमन्त्री ऋषि सुनकले हिजो बुधवार  साँझ आमनिर्वाचनको मिति प्रस्ताव गर्दै बेलायतीहरूले निर्वाचनमा आफ्नो भविष्य रोज्न सक्षम हुने आशा व्यक्त गरेका छन्। प्रधानमन्त्री सुनकले प्रस्तावित मिति राजा चाल्र्स तृतीयसमक्ष प्रस्तुत गरेर स्वीकृत भएपछि निर्वाचन अगाडि बढ्नेछ । बेलायतमा निर्वाचन कहिले हुने हो भनेर चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले मिति नै  घोषणा गरिदिएका हुन् । 

सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुद्ध जयन्तीले सबैलाई मानव कल्याण, शान्ति, सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।   बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी दाजुभाइ एवं विश्वभर रहेका बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै उनले बुद्धका दर्शन, शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन् ।   “ मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु बुद्धप्रतिको साँचो सम्मान हुनेछ”, उनले सन्देशमा भनेका छन्– “बुद्ध जन्मस्थल लुम्बिनी नेपालको हुनु नै हाम्रो लागि  गौरवको विषय हो, बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनीलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गरी विश्वभरका बौद्ध धर्मावलम्बीलाई नेपाल भित्र्याउन सके यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि ठूलो योगदान हुनसक्छ ।” यसैबीच, अध्यक्ष दाहालले किरात समुदायको पर्व उँभौलीका अवसरमा बेग्लै शुभकामना सन्देश जारी गरी यो पर्वले सबै वर्ग, लिङ्ग र समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनसहित राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सकोस् भन्ने कामना  गरेका छन् ।  सन्देशमा उनले भनेका छन्, “उभौली  पर्वले सांस्कृतिक एवं सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।” सन्देशमा उनले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त स्वाधीन राष्ट्र भएको र संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको उल्लेख गरेका छन् । 

उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडबाड तथा पर्वहरुले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सहयोग गर्ने बताएका छन् ।  किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले पर्वहरुले सामाजिक एकतासँगै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि भूमिका खेल्ने बताएका हुन् ।  “हाम्रा पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउँछ भन्ने विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत् भनेका छन्, “उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक साँस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।” किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूले यो पर्वलाई भव्यरूपमा मनाउने गर्दछन् । जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँगै जंगली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वका रूपमा मनाइन्छ ।  वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस् भन्ने कामना गरेर तथा प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गरेर यो पर्व मनाउँदछन् ।  साथै विभिन्न परम्परागत नृत्य गर्दै र मीठा परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा छ । रासस

भारतसँगका पर्साका सीमानाका बन्द

वीरगन्ज । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो ।  वीरगन्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने उनले जानकारी दिए ।  “दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो”, उनले भने । पर्साको १०७ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । रासस

किराँत समुदायको उँभौली पर्व आज

काठमाडौँ।  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ। 

सहकारी अपचलन प्रकरण : कार्यदलको बैठक बस्दै

काठमाडौं ।सहकारी अपचलन  प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)बारे छलफल गर्न कार्यदलको बैठक आज बस्दै छ। बैठक दिउँसो तीन बजे सिंहदरबारस्थित कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको कार्यदल सदस्य जीवन परियारले जानकारी दिए।सहकारी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्ष छानबिन समिति बनाउन सहमत भए पनि कार्यक्षेत्रबारे टुंगो लागेको छैन । विपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेकाले नामै तोकेर समिति बनाउनु पर्ने अडान लिएको छ भने सत्ता पक्ष मुद्दा केन्द्रीत समिति बनाउने अडानमा रहँदा  समाधान निस्कन सकेको छैन । सत्ता पक्ष र विपक्षी दल आआफ्नै अडानमा रहँदा कांग्रेसको नाराबाजी र अवरोधकाबीच संसदको काम कारबाहि अगाडि बढेको छ । सहकारी ठगी प्रकरणमा समस्या समाधानका लागि संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ । जसमा कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल सदस्य छन् । यस्तै, बैठकमा नेपाली कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुँदै आएका छन् ।