विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी तीव्र

काठमाडौं, असार ४ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मनसुनको सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारका सरोकारवाला मन्त्रालय, प्रदेशस्तरका मन्त्रालय र स्थानीय सरकार आपसमा समन्वय गरी विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहने निर्णय गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३ बमोजिम प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेशका मुख्यमन्त्रीसहित आज सिंहदरबारमा बसेको बैठकलेसरोकार भएका सबै मन्त्रालयले समयमा आवश्यक पर्ने अत्यावश्यक उपभोग्य वस्तु, उपकरण, औजार, डुङ्गा, औषधिलगायत पर्याप्त व्यवस्थासहित विपद्को पूर्वतयारी तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकले बाढीपहिरो, आगलागी, भूकम्प, महामारीजस्ता विपद्का घटना र सोबाट हुने क्षतिका सम्बन्धमा जनचेतना फैलाउनाका साथै सम्भावित जोखिम न्यूनीकरणका लागि सबै मन्त्रालय, प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकाय सबैले समन्वय गरी आआफ्नो कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

सबै जिल्ला विपद् व्यवस्थापन समितिले आआफ्ना जिल्लामा रहेका स्थानीय विपद् व्यवस्थापन समितिलाई समन्वय गरी विपद्पूर्व, विपद् र विपद्पछि स्वतः परिचालन हुन अनुरोध गर्ने र सो कार्यका लागि नेपाल रेडक्रसलगायत मानवीय सहायतामा काम गर्ने गैरसरकारी संस्थाले आवश्यक सहयोग पु¥याउने निर्णय गरेको छ ।

नेपाली सेनाले विपद्मा हुने जनधनको क्षति ध्यानमा राखी तत्काल परिचालन हुन सक्ने गरी प्रदेश नं १ मा इटहरी, प्रदेश नं ४ पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा हेलिकप्टरसहितको खोज उद्धार टोली तयारी अवस्थामा राख्ने निर्णय आजको बैठकले गरेको छ ।

परिषद्को बैठकले मनसुनमा हुन सक्ने सम्भावित सडक अवरोधलाई तत्काल समाधान गर्न हेभी इक्युपमेन्टसहितको आवश्यक जनशक्ति रणनीतिक स्थानमा राख्न आवश्यक व्यवस्था भौतिक योजना तथा निर्माण मन्त्रालय र अन्य सम्बद्ध निकायले मिलाउने निर्णय गरेको छ ।

बैठकले विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति, २०७५ र विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (२०१८–२०३०) लाई परिमार्जनसहित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ५ को (क) बमोजिम स्वीकृति गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले जल तथा वर्षा मापन केन्द्रमा रहेका उपकरणलाई चालू अवस्थामा राख्ने, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन उक्त विभागबाट प्राप्त हुने सूचनालाई मोबाइल सेवा प्रदायक नेपाल टेलिकमलगायत अन्य सेवा प्रदायक र सञ्चारमाध्यममार्फत जनसमक्ष पु¥याउने व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने जिम्मा बैठकले दिएको छ ।

यसैगरी प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सबै प्रकृतिका विपद् पूर्वतयारीका लागि आश्यक सामग्री तथा औजार खरिद गरी विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने र सोका लागि आवश्यक स्रोतसाधनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा गठित प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिलाई शीघ्र पूर्णता दिई क्रियाशील बनाइने, प्रदेशस्तरमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति गठन गरिने तथा स्थानीय निकायका प्रमुखको संयोजकत्वमा स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति गठन गरी ती समितिलाई क्षमता, स्रोतसाधन र अधिकारसहित सक्रिय बनाइने निर्णय बैठकले गरेको छ ।

सरकारी निकाय, राजनीतिक दल एवं सोसँग सम्बन्धित संगठन, गैरसरकारी संघसंस्था एवं निजी क्षेत्र र नागरिकको समेत सहभागिता एवं सहकार्यमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णयसमेत बैठकले गरेको छ ।

विकासका लागि अवरोध भएका र प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेका मानव बसोवास एवम् बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकतापूर्वक अगाडि बढाइने निर्णय बैठकले गरेको छ ।

सरकार मधेशप्रति अनुदार भएको आरोप

काठमाडौं, असार ३ । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ । आइतबार विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै सांसद दुर्गाबहादुर रावलले सरकार नीति, विधि र थितिअनुसार नचलेको आरोप लगाउनुभयो । सांसद राजकिशोर यादवले सरकार मधेशसँग अनुदार भएको, सिरहा जिल्लालाई सौतेनी आमाको व्यवहार गरेको तथा आफ्नै दलका सांसदलाई पनि धेरै नबोल्नू भनी दिएको निर्देशन अधिनायकवादको चरित्र भएको बताउनुभयो । सांसद विमलप्रसाद श्रीवास्तव, घनश्याम खतिवडा, विमला नेपाली, रेनुका गुरुङ र बिनादेवी बुढाथोकीले महिला हिंसाका घटना बढेको, सरकारसँग ग्रामीण विकासको ठोस नीति नभएको, वनविनाश नरोकिएको, नदीनाला प्रदूषित हुँदै गएको तथा चोरी शिकारी बढ्दै गएको बताउनुभयो । सांसद लीलानाथ श्रेष्ठ र तिलबहादुर महतले कर्णाली प्रदेशलाई केन्द्रीय सरकारले उपेक्षा गरेको बताउनुभयो ।

३९ घण्टापछि ४ जनाको सकुशल उद्धार

संखुवासभा । निर्माणाधीन बहुचर्चित जलविद्युत्त आयोजना अरुण–३ को सुरुङ खन्ने क्रममा बेपत्ता भएका चार जनाको जीवितै उद्धार गरिएको छ । संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा अरुण–३ को सुरुङ खन्ने क्रममा बेपत्ता भएका उनीहरुलाई आईतबार बिहान ११ बजे ३९ घण्टापछि उद्धार गरिएको हो । ४ जनाकै जीवितै उद्धार भएपछि सबै जना खुशी भएका छन् । गत शुक्रबार राति पौने ९ बजेको समयमा सुरुङ प्रवेशमार्गमा ढिस्को झरेपछि ढिस्कोले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदार बेपत्ता भएका उनीहरुको जिवितै उद्धार गरिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले बताए । उद्धार हुनेमा कालीकोट सिउना गाउँपालिका–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्डका ५५ वर्षीय बुधन मुण्डा र भारत विहारका ४५ बर्षीय नन्द किशोर रहेका थिए ।

पानीको बहाव बढेपछि र्याफ्टिङ प्रभावित

पर्वत । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन शुरु भएकाले र्याफ्टिङ प्रभावित बनेको हो । विगतका वर्षमा कालीगण्डकी नदीमा अंग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्याफ्टिङ) सहज रूपमा सञ्चालन गरिए पनि यसवर्ष वर्षातको समय छिटो शुरु भएका कारण र्याफ्टिङ सञ्चालन गर्न नसक्दा पर्यटकलाई फर्काउनुपर्ने अवस्था आएको स्थानीय र्याफ्टिङ व्यवसायी होमबहादुर पुनले जानकारी दिनुभयो । “अघिल्लो वर्ष जुन महिनाको १५ सम्मर्याफ्टिङ गर्न सकेका थियौँ”, उहाँले भन्नुभयोे, “यस वर्ष जुन महिनामा कुनै पनि कम्पनी कालीगण्डकी नदीमा नआएको उहाँले बताउनुभयो । छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको स्विसा र्याफ्टिङ एण्ड ट्रेकिङ टुरिजम कम्पनी पोखराका सञ्चालक देव रेग्मीको भनाइ छ । लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । र्याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको आकर्षण पनि बढ्दै गएको छ । सिजनको बेला कालीगण्डकी नदीमा अहिले दैनिक दुई÷तीन समूहमा पर्यटक आउने गर्दछन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढेको रेग्मीको भनाइ छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुंगादेखिबाट शुरु हुने ¥याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरूको अवलोकन र प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्ट्रेलिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ । रासस

सवारी दुर्घटनाबाट ५ को मृत्यु

काठमाडौं, असार ३ । मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ५ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७४-७५ वैशाख मसान्तसम्म २ हजार ९७ जनाको दुर्घटनामा मृत्यु भएको छ । ९ हजार ५० वटा दुर्घटनामध्ये ६ हजार ९ सय ९२ वटा चालकको लापरबाहीले भएको प्रहरी तथ्यांकमा छ । हालसम्मको तथ्यांक विश्लेषण गर्ने हो भने, अघिल्लो वर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या एक प्रतिशतले घटेको छ । तर, दुर्घटना हुने प्रवृत्तिमा फरक आएको देखिँदैन । कान्तिपुरमा खबर छ ।

एसईईको नतिजा असार १० भित्र

काठमाडौं, असार ३ । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा असार १० गतेभित्र प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारी गरिरहेको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीले यो वर्षको परीक्षाफल १० गतेभित्र गर्ने गरी तयारी गरेको जानकारी दिनुभयो । यस बर्ष प्राविधिक धारको पनि एकै पटक नतिजा सार्वजनिक गर्ने तयारी पनिकाले जनाएको छ । प्राविधिक धार अन्तर्गत करिब ८ हजार विद्यार्थीले परीक्षा दिएका छन् । पनिकाले यो वर्ष आइभीआर, एसएमएस र वेवसाइटमार्फत परीक्षाफल हेर्ने व्यवस्था गरेको छ । सरकारले कक्षा १०को परीक्षा प्रदेश तहलाई संचालन गर्ने अधिकार दिएपछि यो परीक्षाफल केन्द्रबाट संचालन गर्ने अन्तिम हुनेछ । यो वर्षको परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागि रहेका छन । परीक्षा चैत ८ गतेबाट संचालन भएको थियो ।

जिशिकाद्धारा मनपरी बजेट निकासा

काठमाडौं, असार ३ । तत्कालिन जिल्ला शिक्षा कार्यालय काठमाडौंलगायत ३२ जिल्ला शिक्षा कार्यालयले मनपरी बजेट निकासा गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ५५ औं बार्षिक प्रतिवेदनमा ती जिल्ला शिक्षा कार्यालयले तलबभत्तामा पाउनेभन्दा २ करोड ५५ लाख ५१ हजार रुपैयाँ बढी निकासा गरेको पाइएको छ । काठमाडौं, बारासमेत ३१ जिल्ला शिक्षा कार्यालयले सेवानिवृत्त र बिदा बसेका शिक्षकका लागि तलबभत्ताबापत १ करोड ८६ लाख ८५ हजार निकासा दिएको देखिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

आज तपाइको दिन कस्तो रहला ? राशिफलले यस्तो भन्छ

वि.सं २०७५ साल असार ३ गते, आइतबार। इश्वी सन् २०१८ जुन १७ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– चतुर्थी, १६ः२४ बजे उप्रान्त पञ्चमी। मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। बृष-इ, उ, ए, ओ, बा, बि, बु, बे, बो जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। दाजुभाइमा असमझदारी बढ्न सक्छ। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ। मिथुन-का, कि, कु, घ, ङ, छ, के, को, ह आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। बोली(व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले भने फाइदा दिलाउनेछ। तार्किक क्षमता बढ्नेछ भने कूटनीतिक प्रयत्नले लक्ष्यमा पुर्याउन सक्छ। कर्कट-हि, हु, हे, हो, डा, डि, डु, डे, डो तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। कन्या-टो, प, पि, पु, ष, ण, ठ, पे, पो व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। तुला-र, रि, रु, रे, रो, ता, ति, तु, ते अवसर प्राप्त भए पनि पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्ला। ठूलो भागको मोहले समस्या निम्त्याउन सक्छ। तापनि, मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। बृश्चिक-तो, ना, नि, नु, ने, नो, या, यि, यु काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। धनु-ये, यो, भ, भि, भु, ध, फा, ढ, भे आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ। मकर-भो, ज, जि, खि, खु, खे, खो, गा, गि घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। कुम्भ-गु, गे, गो, सा, सि, सु, से, सो, द ब्त्रगबचष्गकपरिस्थितिवश चिताएको काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ। मीन-दि, दु, थ, झ, ञ, दे, दो, च, चि स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। -नेपालीपात्रो

संयुक्त बैठक भोलि

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक यही असार ३ गते आइतबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले संयुक्त बैठक आह्वान गर्नुभएको हो । रासस

जाजरकोटमा बालविवाह न्यूनीकरण वर्ष मनाइँदै

जाजरकोट । बिहे गर्ने उमेर नपुग्दै ७४ प्रतिशत बालविवाह हुने जाजरकोटलाई यो वर्ष बालविवाह न्यूनीकरण वर्षको रुपमा मनाइने भएको छ । सामाजिक दबाब बढाउन बालविवाह गर्ने र गराउनेलाई सामाजिक बहिष्कार समेत गरिने निर्णय गरिएको छ । चितारा युवा संरक्षक मञ्च नामक एक गैरसरकारी संस्थाले आफ्नो २१ आंै वार्षिकोत्सवको अवसरमा २०७५ साललाई बालविवाह न्यूनीकरण गर्ने वर्षको रुपमा मनाउने निर्णय गरेको हो । स्थानीय तहमा रहेका महिला विकास शाखा, विद्यालय र अन्य सरोकारवाला सबैलाई साथमा लिएर यो वर्ष बालविवाह न्यूनीकरण अभियानकै रुपमा लाग्ने संस्थाका अध्यक्ष रामजंग शाहले बताउनुभयो । उहाँले भन्नुभयो–“एकै पटक बालविवाह अन्त्य गर्न नसके पनि जनचेतनाका माध्यमबाट जिल्लाभर अभियान छाड्ने छांै र धेरै हदसम्म बालविवाह न्यूनीकरण हुनेछ ।” बालविवाह न्यूनीकरणका लागि संस्थाका कार्यसमिति सदस्य, साधारण सदस्य र कर्मचारीले सात बुँदे साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । आफ्नो घरपरिवारमा बालविवाह पूर्ण रुपमा निषेध गर्ने, बालविवाहको भोज, निम्ता, जन्ती र बाजा वहिष्कार गर्ने, बालविवाहलाई बढावा दिने तथा प्रोत्साहित गर्ने कुनै पनि काम नगर्ने, समुदायमा बालविवाह न्यूनीकरणका लागि पैरवी गर्ने, कार्यक्रम सञ्चालन गर्ने जस्ता प्रतिबद्धता गरिएको छ । कार्य योजनामा बालविवाह न्यूनीकरणका लागि विद्यालय अभियान, किशोरकिशोरी कार्यक्रम, आमसञ्चारका माध्यमबाट जनचेतना फैलाउने, बालविवाह गर्नेलाई सामाजिक वहिष्कार गर्ने जस्ता दबाबमूलक कार्यक्रम समेत अभियानमा समेटिने पाँच तारा युवा संरक्षक मञ्चकी बाल अधिकृत अञ्जु भट्टराईले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा, जिल्ला प्रहरी प्रमुख रवीन्द्रबहादुर सिंह लगायतका सरोकारवालाले पनि बालविवाह न्यूनीकरणको अभियानमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । नायिका रेखा थापाले निर्माण गरिरहेको बालविवाहमा केन्द्रीत मालिका चलचित्रको समेत केही समय अघि जाजरकोटमै छायाङ्कन गरिएको थियो । आगामी लक्ष्मीपूजामा रिलिज हुने मालिकाले पनि बालविवाह न्यूनीकरणमा सघाउ पु¥याउने कार्यकारी निर्माता नरबहादुर कार्कीको दाबी छ । महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ । रासस

यन्त्रमा च्यापिएर मृत्यु

लहान, असार २ । सिरहाको मिर्चैयास्थित चिप्स उद्योगको यन्त्रमा च्यापिएर गए राति एक कामदारको मृत्यु भएको छ । मिर्चैया नगरपालिका– ५ स्थित जयश्री बजरंग चिप्स उद्योगमा काम गर्ने क्रममा स्थानीयवासी ६० वर्षीय लक्ष्मण साफीको मृत्यु भएको र शव परीक्षणका लागि लहानस्थित रामप्रसादउमा स्मारक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । रासस

कैलालीका केही क्षेत्रमा रेलमार्ग बनाउन कठिन

काठमाडौं, असार १ । प्रस्तावित पूर्व पश्चिम-रेलमार्ग अन्तर्गत कैलाली जिल्लाका केही क्षेत्रमा रेलमार्ग बनाउन कठिन हुने भूभाग फेला परेको रेल विभागका अधिकारीहरूले बताएका छन्। बुटवलभन्दा पश्चिम खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भइरहँदा कैलालीको शिवगंगा र चौमाला क्षेत्रको जमिन मुनि निकै पानी रहेकाले त्यसले ठूलो प्रविधिक चुनौती सृजना गर्न सक्ने बताइएको छ। पूर्व-पश्चिम रेलका लागि हाल २५ किलोमिटर क्षेत्रमा रेलको लाइन निर्माण गरिरहेको रेल विभागले बुटवलदेखि कन्चनपुरको गड्डाचौकीसम्मको झन्डै ४ सय किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाउने काम गरिरहेको छ। त्यसका लागि रेखाङ्कन सकेर हाल माटो परीक्षण भइरहेको रेल विभागका अधिकारीको भनाइ छ। यसरी माटो परीक्षण गर्दै जाँदा कैलालीमा रेलमार्ग बनाउन कठिन हुने जमिन फेला परेको बिहीवारमात्रै उक्त क्षेत्रबाट काठमान्डू फर्किएका विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले बताए। प्राविधिकहरूका अनुसार उक्त क्षेत्रमा विगतमा पूर्व पश्चिम सडक अन्तर्गत पुल बनाउँदा पनि समस्या उत्पन्न भएको थियो। तर रेलमार्गको कुनै पनि एउटा क्षेत्रमा समस्या देखिँदा त्यसको असर सबैतिर पर्ने भएकाले विभागका प्राविधिकहरुले अब विकल्पको खोजी गर्नु पर्ने बताएका छन्। त्यसका लागि केन्द्रीयस्तरमा विभिन्न निकायसँग छलफल गरेर समाधान निकालिने उपाध्यायले बताए। -बीबीसी

विश्वकप हेरेर फर्किदा पहिरोले बगाउँदा एकजना बेपत्ता

ताप्लेजुङ, असार १ । विश्कप हेरेर सदरमुकामबाट घर पर्किने क्रममा पहिरोले बगाउँदा एक जना वेपत्ता भएका छन् । बेपत्ता हुनेमा इलाम घर भइ ताप्लेजुङको पाथीभरमा मोटरसाइकिल वर्कशपमा काम गर्ने २६ वर्षका सनम राई रहेका छन् । तीन दिनदेखि परेको अविरल वर्षाका कारण पहिरोले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गेनेन्द्र बहादुर बस्नेतले बताए । विश्कप हेरेर राती ११ बजे घर पर्किने बेला मोटरसाइकलसहित उनलाई पहिरोले बगाएको प्रहरीले जनाएको छ । मोटरसाईकल पहिरो गएको ठाउँभन्दा तल भेटिए पनि राई भने फेला नपरेका डिएसपी बस्नेतले जानकाी दिए ।

तीन वर्षमै विवाह !

रौतहट, असार १ । जिल्लाको चन्द्रपुर नगरपालिका–८ का अनिल मल्लिकलाई पत्नीको नाम थाहा छ तर चिन्दैनन् । ६ वर्षीय नाबालक अनिलको विवाह भएकै तीन वर्ष बित्यो । पत्नीको नाम पनि अभिभावकले घोकाएर स्मरण भएको हो । उनलाई पत्नी माइतमा छिन् भन्ने पनि अभिभावकले सिकाए । उनी भन्छन्, ‘मेरी पत्नी किरणदेवी हो, उनी माइतमा छिन् ।’ तीन वर्षको हुँदा अभिभावकले पथरा टोलकी किरणसँग उनको विवाह गरिदिएका हुन् । उनका बाबु बुधनले परम्परागत शैलीमा छोराको विवाह गरेको भनी दंग छन् । तर, नाबालकको विवाह किन गरिदिएको भन्ने प्रश्नमा रेडिमेड जवाफ छ- परम्परा ! गरुडा नगरपालिका–५ महमदपुरकी १० वर्षीया सञ्जुदेवीलाई पनि पतिको नाम मात्र थाहा छ । दुई वर्षअघि रुपौलिया गाउँमा विजय मल्लिकसँग उनको विवाह भएको थियो । त्यसपछि पतिको अनुहार नदेखेकी सञ्जु भन्छिन्,‘केटो कस्तो छ, के गर्छ ? केही थाहा छैन ।’ तराईको सीमान्तकृत समुदायमा पर्ने डोम जाति सीमित जिल्लामा छन् । परम्परागत रूपमा बाल विवाह गराउने यो जाति राज्यले दिएको नारा विवाहबारी २० वर्षपारि भन्नेसँग बेमतलवी छ, राजधानी दैनिकमा खबर छ ।

स्थानीय तह धमाधम उपसचिव तहका कर्मचारी फिर्ता गर्दै

काठमाडौ, असार १ । स्थानीय तहमा कर्मचारी अभाव भइरहेका बेला केही स्थानीय तहले केन्द्रबाट पठाइएका कर्मचारी धमाधम फिर्ता गर्न थालेका छन्। उपसचिव तहका कर्मचारी फिर्ता गरी ती स्थानीय तहले प्रशासकीय अधिकृतका रूपमा विद्यालय निरीक्षक र नायब सुब्बासरहका कर्मचारीलाई जिम्मेवारी दिन थालेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनियमितता ढाक्न स्थानीय तहले कर्मचारी फिर्ता पठाएको आशंका गर्दै यसलाई गम्भीर रुपमा लिएको छ। रौतहटको राजपुर नगरपालिकाका मेयर मा।सकिल अख्तरले केन्द्रबाट पठाइएका प्रशासकीय अधिकृत गोपालमान श्रेष्ठ नगरपालिकामा आवश्यक नरहेको भन्दै मन्त्रालयमा निवेदन पठाएका छन्। यस्तै, मुगुको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले पनि मन्त्रालयबाट खटिएका उपसचिव पीताम्बर सारुलाई केन्द्रमै राख्न आग्रह गरेका छन्। उपचसचिव तहका कर्मचारी नगरपालिकामा आवश्यक नभएको उनले मन्त्रालयमा पठाएको निवेदनमा उल्लेख छ। उक्त नगरपालिकामा विद्यालय निरीक्षक (विनि) ललितजंग मल्लले निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन्। नगरपालिकामा कर्मचारी अभाव भएपछि मुगु जिल्ला प्रशासनले तत्काल काम चलाउन विनिलाई खटाएको हो। हुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले पनि केन्द्रबाट खटिएका प्रशासकीय अधिकृत विष्णुकुमार भट्टराईको काज फिर्ता गरी सहयोग गर्न उल्टै मन्त्रालयलाई आग्रह गरेका छन्। उक्त गाउँपालिकामा नायबसुब्बा खडानन्द चौलागाईं निमित्त प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्। रौतहट यमुनामाई गाउँपालिकाका अध्यक्ष चन्द्रिका मुखियाले पनि शाखा अधिकृत पुष्करचन्द्र घिमिरेलाई मन्त्रालयमै फिर्ता पठाएका छन्। अधिकृत घिमिरे गाउँपालिकालाई आवश्यक नभएको अध्यक्ष मुखियाले मन्त्रालयलाई लेखेको चिठीमा उल्लेख छ। गाउँपालिकामा नायबसुब्बा शिवपूजनप्रसाद यादव निमित्त प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्। मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहले कर्मचारी फिर्ता गरेको विषयलाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताए। उनले भने,‘यो गम्भीर विषय हो। उहाँहरूलाई मन्त्रालयले पठाएको कर्मचारी फिर्ता गर्ने अधिकार छैन।’ नागरिकमा खबर छ ।

फेरि दुई राप्रपाबीच एकीकरण प्रक्रिया सुरु

काठमाडौं, असार १ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच पार्टी एकीकरणको प्रक्रिया सुरु भएको छ । राप्रपाको पार्टी एकीकरणका लागि वार्ता गर्न गठित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ नेतृत्वको समिति र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाबीच बिहीबार भएको भेटवार्तामा दुई पार्टीबीच एकता प्रक्रिया सुरु गर्ने सहमति बनेको हो । अध्यक्ष राणाको महाराजगन्जस्थित निजी निवासमा भएको वार्तामा पार्टी टुक्रिएकै बिन्दुबाट पुनः एकीकरणका लागि प्रक्रिया सुरु गर्न दुवै पक्ष सहमत भएको राप्रपा वरिष्ठ उपाध्यक्ष तामाङले जानकारी दिए । ‘हामी पार्टी एकीकरण गर्ने प्रस्ताव लिएर राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति राणाको निवासमा पुगेका थियौँ,’ उनले नयाँ पत्रिकासँग भने,‘हामीले राखेको प्रस्ताव उहाँले सहर्ष स्विकार्दै पार्टी टुक्रिएकै बिन्दुबाट एकीकरणको प्रक्रिया सुरु गर्न आफू र आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।’ एकीकरण कसरी गर्ने, पद बाँडफाँड, एकीकृत पार्टीको विधान कस्तो बनाउने भन्ने विषयमा दुई पार्टीको वार्ता समितिले छलफल गरी निष्कर्ष निकाल्ने तयारी छ । राप्रपा प्रजातान्त्रिकले पनि पार्टी एकीकरणका लागि वार्ता गर्न पार्टीका वरिष्ठ उपाध्यक्ष दीपक बोहरा संयोजक र उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री सुनील थापा सदस्य रहेको समिति बनाएको छ । राप्रपाले तामाङको नेतृत्वमा उपाध्यक्ष टंक ढकाल, महामन्त्री राजेन्द्र लिङ्देन रहेको समिति बनाएको छ । तामाङले राणासँग भएको सहमतिअनुरूप दुई पार्टीका वार्ता समिति बसेर पार्टी एकीकरण गर्ने भन्ने विषयमा मार्गचित्र तय गर्ने बताए । नयाँ पत्रिकामा खबर छ ।