कोशी प्रदेश सभा : विनियोजन विधेयकमाथि छलफल हुँदै
काठमाडौं । कोशी प्रदेश सभाको बैठकमा आज ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुँदै छ।
दिउँसो २ बजे बोलाइएको बैठकमा आइतबार पेश भएको सिद्धान्त र प्राथमकितामाथि सांसदले धारणा राख्ने र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयले जनाएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सिद्धान्त र प्राथमिकता पेश गरेका थिए। बैठकमा नेपाली कांग्रेसतर्फका सबै प्रदेशसभा सदस्य उपस्थित थिएनन्।
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल जेठ १४ गते सोमबार सन् २०२४ मे २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०४ पैसा र बिक्री दर १६९ रुपैयाँ ८० पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
चितवनमा ठोक्किए चार सवारीसाधन, एकजनाको मृत्यु, २२ घाइते
चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गएराति चार सवारीसाधन एकै ठाउँमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार घाइतेमध्य ८ जनाको अवस्था गम्भीर र बाँकीको मध्यम रहेको छ । गएराति साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकैपटक ठोक्किएका थिए । दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चारजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
हैदराबादलाई हराउँदै कोलकाता आईपीएल च्याम्पियन
काठमाडौं ।फाइनलमा सनराइजर्स हैदराबादविरुद्ध आठ विकेटको सहज जित निकाल्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ। आईपीएलको इतिहासमा कोलकाताको यो तेस्रो उपाधि हो। यसअघि कोलकाता सन् २०१२ र २०१४ को संस्करणमा च्याम्पियन बनेको थियो। आइतबार चेन्नाईमा जारी खेलमा हैदराबादले प्रस्तुत गरेको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। कोलकाताको जितमा वेन्कटेस ऐयरले सर्वाधिक अविजित ५२ रन बनाए। उनले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरे। ओपनर रहमनुल्लाह गुबर्जले ३९ रन थपे। हैदराबादका कप्तान प्याट कुमिन्स र सहबाज अहमेदले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङमा आएको हैदराबादले १८=३ ओभरका सबै विकेट गुमाएर ११३ रनमात्र बनाएको थियो । आईपीएलको इतिहासमा फाइनलमा बनेको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो । हैदराबादका कप्तान प्याट कुमिन्सले सर्वाधिक २४ रन बनाए । आइदेन मार्करमले २०, हेनरिक क्लासेनले १६ र नितिश कुमार रेड्डीले १३ रन थपे । हैदराबादलाई कमजोर योगफलमा रोक्न कोलकाताका आन्द्रे रसेलले तीन विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले समान दुई विकेट लिँदा वैभव अरोरा, सुनिल नारिन र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।
यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मूलुकमा हाल स्थानीय वायुको प्रभाव र पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा साधारणतया बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । यस्तै देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। आज दिउँसो बागमती, मधेश, कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५३ मिनेटमा हुनेछ ।
सुनको मूल्य स्थिर, यस्तो छ मूल्य
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वर्षाका कारण काठमाडौँमा उडान अवतरण प्रभावित
काठमाडौँ । काठमाडौँमा प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको छ । अहिले नेपाली आकाशमा स्काईअप एयरलाइन्स, विमान बङ्गलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज होल्ड भइरहेका छन्। आन्तरिक उडानका जहाज समेत होल्ड गरिएको छ । काठमाडौँमा आज बिहानैबाट मौसम प्रतिकूल बनिरहेको छ।अहिले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ ।
प्रतिनिधिसभा बैठक, नीति कार्यक्रम पारित गर्ने तयारी (प्रत्यक्ष प्रसारण)
काठमाडौं। प्रतिनिधिसभा बैठक एक घण्टा ढिलोगरी सुरुभएको छ। आजको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो विरोध जारी राखेको छ।
श्रीमतीसँग झगडा हुँदा श्रीमान्ले आफ्नै शरीरमा लगाए आगो
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–७, स्थित तरकारी बजारमा एक पुरुषले श्रीमतीसँग झगडा हुँदा आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएका छन्। श्याम कृष्ण श्रेष्ठको घरमा डेरा गरी बस्ने पर्सा वीरगञ्ज महानगरपालिका–२७ का ३५ वर्षीय अरूणकुमार यादवले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार श्रीमतीसँगको विवादका क्रममा उनले शरीरम आगो लगाएका हुन् । उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पठाइएको र शिर मेमोरियल अस्पतालले थप उपचारका लागि शनिबार राति करिब साढे १० बजे बोर्न अस्पताल कीर्तिपुर रिफर गरेको छ। प्रहरीले यादवकी श्रीमती उषादेवी यादवलाई नियन्त्रणम लिएको छ। जुम्ल्याहा छोरीसहित उषालाई नियन्त्रणमा लिएर पनौती सेफ हाउस पठाइएको वाग्मती प्रदेश कार्यालयले जनाएको छ।
काठमाडौंका यी स्थानमा पाँच दिन चार घण्टा विद्युत् अवरुद्ध हुने
काठमाडौं । काठमाडौं केही स्थानमा पाँच दिन दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ। कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि सेवा अवरुद्ध हुन लागेको हो।
आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार
वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले राससलाई बताए । धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका उनले बताए । ूयी औजार तथा उपकरणको मूल्य भने निर्धारण गरिसकेका छैनौँ”, उनले उपकरण उपयोगी हुने विश्वास व्यक्त गर्दै भने । इन्जिनियर साहले तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताए । केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ । हाल केन्द्रमा १५ जना कार्यरत छन् । सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाईसञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो । रासस
कोरोनाको ‘केपी’ भेरियन्ट सङ्क्रामक तर कम खतरनाक
काठमाडौं । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ। सरुवा रोग विशेषज्ञ डा.सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ पुष्टि भएको थियो। ‘यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन,’ उनले भने, ‘तर दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्दछ।’ कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रुप लिने सक्ने भएकाले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने उनको भनाइ छ। ‘केपी.१’ १२ जनामा, ‘केपी.२’ १७ जनामा, ‘केपी.३’ र ‘केपी.४’ एक/एकजनामा देखिएको थियो।
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ः३० बजे बैठक बस्न लागिएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट गत जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफलको त्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपछि राष्ट्रियसभा अध्यक्षले नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । यस्तो छ सम्भावित कार्यसूची
सहकारी ठगीविरुद्ध काँग्रेसको विरोध प्रदर्शन आज
काठमाडौँ । सहकारी ठगीविरुद्ध विपक्षी दल नेपाली काँग्रेसले आज विरोध प्रदर्शन गर्दै छ।सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप लगाएर कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै संघीय संसद्मा निरन्तर अवरोध गर्दै आएको काँग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको हो । पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको काँग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटिएका छन् ।उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा आइतबार काठमाडौंमा गृहमन्त्री लामिछानेको रवैयाविरुद्ध विरोध प्रदर्शन गरिने काँग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए । काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई भव्य बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरेका छन् । प्रदेश सभापति बानियाँका अनुसार सरकारद्वारा सहकारी ठगीलाई संरक्षण, संसद्भित्र सत्तापक्षका नेताहरूको धम्कीपूर्ण अभिव्यक्ति, संसदीय चरित्र र अभ्यासको विरुद्ध कांंग्रेसले प्रदर्शन गर्न लागेको हो । सहकारीको बचत अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको काँग्रेसले बजेट अधिवेशन सुरु भएयता संघीय संसद्का सबै बैठकमा अवरोध गर्दै आएको छ ।
गुजरातमा आगलागी, नौजनाको मृत्यु, घाइतेको उपचार हुँदे
नयाँ दिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा कम्तीमा नौजनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका इन्डिया टुडेले जनाएको छ । यो घटना गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अरू साहसिक खेलजस्ता मनोरञ्जन गतिविधिको हब ‘टीआरपी गेमिङ जोन’मा भएको बताइएको छ । उक्त घटनामा घाइते भएका सबैजनालाई आवश्यक उपचारका निम्ति स्थानीय अस्पतालमा लगिएको छ । आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । टीआरपी गेमिङ जोनभित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अरू केही व्यक्ति भग्नावशेषमा फसेका हुन सक्ने स्थानीय अधिकारीले बताए। घटनापछि राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल लगायतले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा कायम गरिएको छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ७५पैसा र बिक्रीमा १४४ रुपैयाँ ४० पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५पैसा तोकिएको छ। हेर्नुहोस् विनिमय दर

