१० हजार लिटर घरेलु मदिरा नष्ट

लहान, असार २१ । प्रहरीले सिरहाको लहान नगरपालिका– ५ मा ठलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट पारेको छ ।

अवैधरुपमा घरेलु मदिरा उत्पादन गरी बिक्रीवितरण गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले १० हजार लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

लहान नगरक्षेत्रमा अवैध मदिराका कारण दिनहुँ समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसा र अकालमै मृत्यु हुनेलगायतका घटनामा वृद्धि भएपछि प्रहरीले नगरक्षेत्रभित्र अवैध मदिरा उत्पादनमा कडाइ गरेको छ ।

लहान नगरपालिका वडा नं ५ धाती टोलको हरेक घरमा आधुनिक तरिकाबाट अवैध मदिरा उत्पादन भइरहेको सूचना पाएपछि छापामारी मदिरा उत्पादन गर्ने सामग्री र तयारी अवस्थामा राखिएको हजारौँ लिटर मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

नेकपाको बैठक बस्दै

काठमाडौं, असार २० । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज विहान बस्दै छ । एकीकरणपछि पार्टीको तेस्रो सचिवालय बैठक आज बस्न लागेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। भातृ संगठनको एकीकरण, बिधानको निर्माण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

विश्वकपमा सट्टेबाजी खेलाउने सात लाखसहित पक्राउ

काठमाडौं, असार १९ । महानगरीय प्रहरी परिसर काठमाडौंले रसियामा जारी विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले कामनपा–१५ बज्र होटल नजिक बसेर सट्टेबाजी खेलाउँदै गरेका काठमाडौँ म्हैपीका २२ वर्षीय प्रकट महर्जन, रामघाट बस्ने २२ वर्षीय रेजिन महर्जन र चागल बस्ने २५ वर्षीय सुजेन शाहीलाई रु छ लाख ९९ हजार नगदसहित सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले उनीहरुले विश्वकप फुटबलमा रकम बाजी राख्न लगाई खेल खेलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिनुभयो । प्रहरीले उनीहरुसँग रु छ लाख ९९ हजार नगद र चार थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका तीनैजनासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।

राज्यमन्त्री चौधरीको गृह जिल्ला खुल्ला दिशामुक्त

सुनसरी, असार १९ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरीलाई खुला दिशामुक्त जिल्ला घोषणा गरेकी छिन । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (D-WASH -CC) सुनसरीद्वारा आयोजित कार्यक्रममा सुनसरीलाई खुला दिशामुक्त जिल्ला घोषणा गरेकी हुन । ‘सुनसरी जिल्लाबाट खुला दिशालाई बिदाबारीः पूर्ण सरसफाइको यात्रा जारी’ मुल नाराका साथ आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै अब हामी सबै जना चर्पी अनिवार्य प्रयोग गर्छौ । खुला दिशा पिसाव गर्दा बर्सेनी कैंयौको झाडापखलाबाट ज्यान समेत गएको र अब देखि हामी सचेत भैइसकेकाले चर्पी प्रयोग गर्छौ। रोग बाट आफु बच्ने अरुलाइ बच्चाउने अभियानमा हामी सबै लाग्छौ राज्यमन्त्री चौधरीले भनिन । यस अघि नै सुनसरीका १२ वटै स्थानीय तह खुला दिशामुक्त घोषणा भर्इ सकेको छ । आफू, आफ्ना परिवार र आफ्नो समाजलाई सचेत गराउदै सफा पानी पिउने सल्लाह पनि दिइन । भूमिमा देखिएको समस्या हल गर्न भुमि निति बनिरहेको बताउनु भयो ।अब देखी कुनै बहना वा कारण देखाएर हामी जमिन बाझो नराखौ । यस्ले हाम्रो देशको उत्पादनमा ह्रास ल्याउछ । यो सम्बन्धी मन्त्रालयले कडा कानुन बनाइ रहेको मन्त्री चौधरीले बताइन ।मोहियानी समस्या समाधान गर्न मन्त्रालयले इकाई गठन गरि सबै जिल्लाको माध्यम बाट निवेदन लिइरहेको र मोहि समस्या बाट पीडितहरुले निवेदन दर्ता गर्नु पर्ने बताइन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सिताराम मेहता ,१ नं प्रदेश बन मन्त्री जगदीश कुसयेत ,१ नं प्रदेशको प्रतिपक्ष दलका नेता राजिव कोइराला ,जिल्ला प्रशासन कार्यलय प्रमुख प्रेमप्रसाद उप्रेती र खानेपानी बिभागका उपमहानिर्देशक समेतले शुभकामना मन्तव दिएका थिए । कार्यक्रममा स्थानीय तहका मेयर, अध्यक्षको पनि उपस्थित थियो । अभियानमा सफल पार्न सहयोग गर्ने संघ, संस्थाका प्रतिनिधिहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।

५० बढी गाउँ बाढीको उच्च जोखिममा

महोत्तरी, असार १९ । जिल्लाका आठ नगरपालिका र दुई गाउँपालिकाका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा परेका छन् । विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण जलेश्वर, बर्दिवास, औहरी, भंगहा, लोहारपट्टी, बलवा, गौशाला र मटिहानी नगरपालिका तथा पिपरा र सोनमा गाउँपालिकाका ५० भन्दा बढी गाउँ डुबानको उच्च जोखिममा रहेका छन् । ती विभिन्न नगरपालिका तथा गाउँपालिका भएर बग्ने रातु, मरहा, जंघा, विग्ही, कुटमेश्वरीलगायतका नदीमा बाढीको पानीको सतह तीव्ररुपमा बढिरहेका कारण कुनै पनि बेला नदीको पानी गाउँ बस्तीमा पसेर दर्जनौँ गाउँ डुबानमा पार्नसक्ने खतरा बढेको स्थानीयले बताएका छन् । त्यस्तै, ती नगरपालिका र गाउँपालिकाका प्रमुखले समेत लगातारको वर्षाका कारण यसपालि पनि ठूलै बाढी आउन सक्ने संकेत देखिएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्नुभएको छ । यता जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि अहिलेसम्म जिल्लामा कुनै अप्रिय घटना नघटेको तर बाढीको खतरा रहेको जनाउँदै जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको छ । -रासस

राष्ट्रियसभा स्थगित

काठमाडौं, असार १७ । राष्ट्रियसभाको बैठक विशेष कारणवश अपरान्ह ५ बजेसम्मका लागि स्थगन भएको छ । १ बजे बैठक बस्ने कार्यसूची थियो ।

चन्द्रागिरिका स्थानीयले यसरी मनाए राष्ट्रिय धान दिवस

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय धान दिवसको उपलक्ष्यमा विभिन्न स्थानमा कार्यक्रम आयोजना गर्दै गर्दा राजधानीको चन्द्रागिरिमा भने फरक तरिकाले धान दिवस मनाईएको छ । काठमाडौंको मुख्य नाका जोड्ने सडकखण्ड अन्तर्गत चन्द्रागिरि १२ गुर्जुधारामा स्थानीय सहभागी भएर स्थानीयबासी र केही युवाहरूको अगुवाईमा सडकमै धान रोपेर आन्दोलन गरेका हुन । सांकेतिकरूपमा सरकारलाई सडक निर्माण गर्न नसकेको प्रति विरोध गर्दै युवाहरुको एक समूहले सडकमै धान रोपेर सरकारमाथि प्रश्न खडा गरिदिएका छन् । अहिले काठमाडौंका धेरैजसो सडकहरुमा धान रोप्ने खेतका फाँटहरु बनेका छन् । युवाहरुले धुलो काठमाडौंलाई अब हरियाली बनाउन पनि धान रोपाई गर्न आवश्यक रहेका बताएका थिए । चन्द्रागिरिका स्थानिय रामनारायण घिमिरेले निर्माण कार्य तीन वर्ष बितिसक्दा पनि सडक निर्माण नहुँदा धुवा धुलोको सास्ती खेपिरहनुपरेको कारण उक्त सडकमा धान रोपाई गर्न बाध्य भएको बताए । राष्ट्रिय धान दिवसको अवसर पारेर उनीहरुले सडकको वर्षौं बितिसक्दा पनि सडक निर्माण कार्यमा दिलाई तथा धुवाधुलोले आक्रान्त बनेपछि उनीहरूले व्यङग्यात्मक धान रोपाई आयोजना गरेका हुन् । पटक–पटक आन्दोलन गर्दा पनि सडक नबनेपछि र धुवाधुलोले आक्रान्त बनेपछि ठेकेदार र सरकारलाई ध्यानाकर्षण गराउन उनीहरुले सडकै धान रोपेर सांकेतिक विरोध जनाएका हुन् । पानी परे हिलो, घाम लागे धुलो हुने गरेको र अत्याधिक धुलोको कारण जनस्वास्थ्यमा असर पर्दै गएपछि केही स्थानीयहरु आक्रोशित बन्दै आइरहेका छन्। नागढुङ्गादेखि कंलकीसम्म चालकलाई सडकमा सवारी साधन चलाउन सडकको अवस्थाको कारण एकदेखि दुई घण्टा पार गर्ने लाग्ने गरेको छ । आन्दोलनका अगुवा उत्तम कार्कीले वर्षायाम शुरु भएसँगै त्यस सडकको दुर्दशा हुन थालेपनि र सडक निर्माणको जिम्मा पाएको सैलुङ्ग कन्टक्सनले विभिन्न कारण देखाई जनताको जनस्वास्थ्य माथि खेलवाड गरेको प्रति आफुहरूले विरोध गर्ने बाध्य भएको बताए । सो सडकखण्डबाट दैनिक हजारौंले यात्रा गर्ने हुँदा सास्ती व्यहोर्दै आईरहेका छन् । सडकमा धान रोपिसकेपछि उनीहरुले सामूहिक दही–चिउरा खाएका थिए ।

एकै घरमा ११ जनाको शव फेला

एजेन्सी । भारतको उत्तर दिल्लीको एक इलाकामा एकैसाथ ७ महिलासहित ११ जनाको शव फेला परेको छ । दिल्ली स्थित सन्तनगरको गुरुगोविन्द सिंह हस्पिटल नजिकको २ नम्बर गल्लीमा ११ व्यक्तिको शव फेला परेको हो । घटनामा १० जनाको शव आँखामा पट्टी बाँधेको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भातीय अनलाइन नवभारत टाइमस्का अनुसार, अधिकांश व्यक्तिको शव हात, खुट्टा बाँधिएको र केहीको मुखमा पट्टी बाँधिएको अवस्था फेला परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको सुरक्षा अधिकारीले जनाएका छन् । अधिकारीका अनुसार घटना सामूहिक आत्महत्या या हत्या भएको भन्नेबारे तिव्र अनुसन्धान भइरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार, तत्काल हत्या तथा आत्म हत्या के भएको हो भन्नेबारे भन्न सकिने अवस्था छैन । अधिकांशले यति ठूलो संख्यामा शव फेला पर्नु आत्म हत्या हुन नसक्ने आंकलन गरेका छन् । सामूहिक हत्या नै भएको हुन सक्ने भारतीय अनलाइन नवभारत टाइम्सले जनाएको छ ।

यी नदीमा भिषण बाढी आउनसक्ने, सचेत रहन आग्रह

काठमाडौं, असार १७ । मनसुन सक्रिय भएकाले बाढीको खतरा हुने भएकाले सचेत रहन जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । आइतबार रोमबार चुरे तथा महाभारत शृङ्खला भएर बग्ने प्रायः सबै खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो । गोरखा, धादिङ, लमजुङ तथा कास्कीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने जोखिम पनि हुन सक्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ । विशेष गरी बागमती र नारायणी नदीको तटीय क्षेत्रका बासिन्दा सचेत हुनु पर्ने देखिएको छ । यस्तै कन्काई, कोशी, कमला, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीसहितका सबै मुख्य नदीमा पानीको बहाव बढ्दै गएको छ । सोमबार बिहानैसम्म सचेत हुन आग्रह गरिएको छ ।

प्रदेशमा बेग्लै प्रहरी !

काठमाडौं, असार १७ । प्रदेश २ ले आफ्नो प्रदेशका लागि बेग्लै प्रहरी भर्नासम्बन्धी कानूनको तयारी गरेको छ । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा प्रस्तुत गरेका छन् । प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षाको विषय प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने हुनाले प्रदेश प्रहरी सेवासम्बन्धी कानून व्यवस्था गर्न विधेयक पेस गरिएको छ । प्रदेशमा पनि प्रहरी महानिरीक्षक पदको व्यवस्था छ । अन्नपूर्ण पोष्टमा खबर छ ।

सडक दुर्घटनाः १८ को मृत्यु, १४ घाइते

चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् । स्थानीय अधिकारीले दुर्घटना र यसबाट भएका हताहतको शनिबार जानकारी दिएका छन् । स्थानीय समयनुसार शुक्रबार बेलुका ८ः४१ मा दुर्घटना भएको थियो । तिव्रगति आएको बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् । घाइते भएकालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । -रासस

ट्रान्समिटर पड्किएर दुई जनाको मृत्यु

नेपालगन्ज, असार १६ । बाँकेको राप्तीसोनारी गाउँपालिका ६ लक्ष्मीपुरमा विद्युत ट्रान्समिटर पड्किएर करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङका अनुसार शनिबार करबि बिहान ३ बजेतिर हाइभोल्टेज आएर ट्रान्समिटर पड्किँदा स्थानीय सुरेश चौधरी र टीकाराम चौधरीको मृत्यु भएको हो। स्थानीय तीला शाही, कमला बुढाथोकी, दिनेश बुढाथोकी घाइते भएका छन्। शाहीको नेपालगन्जमा उपचार भइरहेको छ। ट्रान्समिटर पड्केपछि सो वडाका अधिकांश मिटर जलेको स्थानीयले बताएका छन्।

विदेशबाट फर्केको युवाहरुलाई फुलमालाले स्वागत गर्छौ : राज्यमन्त्री चौधरी

धनकुटा, असार १६ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले धनकुटाको पाख्रीबास अनुसन्धान केन्द्रको अनुगमन गरेकी छिन । शनिबार अनुसन्धान केन्द्रका कर्मचारीहरुसँगको ब्रिफिङमा उनले भनिन् ‘नयाँ नयाँ अनुसन्धान दिनुस हामी किसानमा पुर्याउछौ ।’ अब बिदेशबाट फर्केर आएका सबै युवाहरूलाई कृषि क्षेत्रमा लाग्न आफू र कृषि मन्त्रालय फुलमालाले स्वागत गर्ने बताइन । सरकारले बिना धितो दिइने ऋण बिदेश बाट फर्केका युवाहरूलाई १०लाख र पढेका युवाहरूलाई ७ लाख रकम कृषि क्षेत्रमा नै लगाउनेमा आफू बिश्वस्त रहेको बताइन । अनुगमनको क्रममा माटो परीक्षण ल्यब,टिसु कल्चर ल्याब,प्याथोलोजी ल्याबको निरीक्षण गरेकी थिइन । बोयर क्रस बाख्रा, पाख्रीबासमा पहिलो पटक गिरिराज कुखुराको परिक्षण गरेको र पाख्रीबासको कालोबुङ्गुर जुन अहिले धराने कालो बुङ्गुर भनेर चिन्निन्छ यो अहिले २५ औं पुस्तामा चलिरहेको छ । थोपा सिचाइ माध्यम बाट गोल भेडा ,अलैंची ,चिया ,फलफूलमा आरु,आल्चा ,किबि ,परिक्षण भैरहेको सबैको अनुगमन राज्य मन्त्री चौधरीले गरेको अनुसन्धान केन्द्रका प्रमुख हरिकुमार प्रसाइले बताए । अनुगमन पछि राज्यमन्त्री चौधरीले स्थानियहरु सङ्गको छ्लफलमा हामीले अनुसन्धान गरेको बालीहरु,विभिन्न किसिमका पशुपन्क्षिहरु लाई किसानमा पुर्याएको खण्डमा आर्थिक बृध्दि गर्न सकिने बताएकी छिन । कार्यक्रममा राज्यमन्त्री चौधरीले अब किसानहरुले गर्व गर्ने दिन आउने बताउनु भयो। ‘अब किसान भएर हेपिनु पर्दैन,’ उनले भनिन् ।

बाबुराम भट्टराईको धान दिवस

गोरखा । शुक्रबार असार १५ अर्थात् धान दिवसको अवसरमा देशभर रोपाईंका कार्यक्रम भए । विभिन्न कार्यक्रममा नेताहरुले समेत सहभागिता जनाए। केही नेता लामो पाइन्ट लगाएरै हिलोमा पसेर दुई गाँज धान रोपेर फर्किएका छन्। केही नेता भने दिनभर रोपाईंमा सक्रिय छन्। पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई भने गोरखामा आयोजित एक रोपाईं कार्यक्रमको हली र बाउसे बनेका छन्। आजको अन्नपूर्णमा प्रकाशित समाचार अनुसार गोरखाको सिरानचोक गाउँपालिका ५ मा आयोजित रोपाईं कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री भट्टराई गृहजिल्ला आएका हुन्। उनी रोपाईं कार्यक्रममा सहभागी भएका मात्र छैनन्। अन्य हली र बाउसे बराबर काम गरिरहेका छन्। अन्य नेताजस्तो पाइन्ट सुर्किएर बाबुराम हिलोमा पसेनन्। उनी टिसर्ट र कट्टु लगाएरै हिजोमा काम गरिरहेका छन्। बाबुरामले रोपाईं कार्यक्रमको उद्घाटन मात्र गरेनन्। अनौ समातेर केही सियो खेत हिल्याए। बाउसेसमेत बनेका बाबुरामले केहीबेर रोपाहारसँगै पुगेर बिउसमेत काढ्न भ्याएका छन्। यसरी बाबुराम सक्रिय भएर भइरहेको रोपाइको आयोजना सिरानचोर गाउँपालिका र नयाँ शक्ति गोरखाले संयुक्त रुपमा आयोजना गरेको हो।  

विषालु च्याउ र साेयाविन खाँदा १५ जना बिरामी

झापा । विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा छ जना बिरामी परेका हुन् । जंगलबाट टिपेर ल्याएको विषाक्त च्याउ पकाएर खाँदा प्रेम किशान दर्जी, उनकी श्रीमती सुशीला दर्जी, आमा लीलामाया दर्जी, ज्वाइँ प्रकाश दर्जी र दुई छोराछोरी बिरामी परेका छन् । उनीहरुको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैगरी कचनकवल गाउँपालिकामा सोयाविन र आलु मिसाएको तरकारी पकाएर खाँदा ‘फुड पोइजन’ भएर बिहीबार दिउँसोे नौजना बिरामी परेका छन् । उनीहरुको पनि मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बिरामी पर्नेहरुमा कचनकवल गाउँपालिका – ७ बालुवाडीका २८ वर्षीया शर्मिला तामाङ, २४ वर्षीया मञ्जु राई, ३५ वर्षीय राजा तामाङ, २८ वर्षीय अञ्जन राई, ३२ वर्षीय सीता तामाङ र २६ वर्षीय दिलु लिम्बू रहेका छन् । त्यस्तै सात वर्षीय उदय राजवंशी, आठ वर्षीय जयप्रकाश राजवंशी पनि बिरामी परेका छन् । दश वर्षीय विक्रम राजवंशी उपचारपछि घर फर्किएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जबेगुले बताउनुभयो । स्थानीय पदमबहादुर तामाङको खेतमा काम गर्न गएका वेला खाजा खाएलगत्तै उल्टी आउने, रिङ्गटा लाग्ने, टाउको र शरीर दुख्ने भएपछि उपचारका लागि उनीहरुलाई मेची अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । रासस

तीस किलो यार्सागुम्बा निकासी

दार्चुला, असार १५ । यस वर्ष हालसम्ममा दार्चुला जिल्लाबाट ३० किलो यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट ३० किलो यार्सागुम्बा निकासी पूर्जी दिइएकोमा सोही मात्रामा निकासी भएको सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिनुभयो । प्रति निकासी पूर्जीको रु २५ हजारका दरले रु ७ लाख ५० हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । दार्चुलाको यार्सागुम्बा छिमेकी राष्ट्र चीन, भारत, हङकङ, अमेरिका, सिङ्गापुरलगायतका देशमा निर्यात गरिन्छ । अपिनाम्पा संरक्षण कार्यालयबाट हरेक वर्ष व्यवसायीले वैधानिक रुपमा निकासी पूर्जी लिने गरे तापनि अवैधानिक रुपमा सयौँ किलोग्राम बराबरको यार्सागुम्बा निकासी हुने गरेको छ । त्यसबाट संकलन हुने लाखौँ राजस्व छली हुँदै आएको अधिकांश सरोकारवालाको भनाइ छ । प्रदेश नम्बर ७ का दुई पहाडी जिल्ला दार्चुला र बझाङका उच्च हिमाली भेगबाट वर्षेनि ठूलो परिमाणमा यार्सागुम्बा सङ्कलन हुने गरेको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई यस वर्ष ८२० किलोग्राम यार्सागुम्बा निकासी गर्ने गरी विभागले कार्ययोजना स्वीकृत गराएको छ । गतवर्ष निर्धारण गरिएको लक्ष्यभन्दा बढी यार्सागुम्बा उत्पादन भए पछि यस वर्ष निकासी दर बढाएको हो । गतवर्ष अपिनाम्पा संरक्षण क्षेत्रले रु ३७ लाख ५० हजार रुपैयाँ राजस्व गुमाएको थियो । दार्चुलामा यस वर्षको हालसम्ममा चार क्विन्टल ५० किलो यार्सागुम्बा संकलन भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । -रासस