जनमुखी विकासका लागि प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गर्नुपर्ने बताएका छन् । 
 
सभामुख घिमिरेले १७औँ गणतन्त्र दिवस–२०८१ को अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । 
 
“शासन व्यवस्थाहरूमध्ये सबैभन्दा उत्तम गणतन्त्रमा जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका पक्षमा एकाकार हुन आह्वान गर्दछु”, सन्देशमा भनिएको छ, “यसै कुरालाई हृदयंगम गरेर सम्पूर्ण राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखेको छु ।”
 
लोकतान्त्रिक गणतन्त्रको जगमा लामो समयसम्मको राजनैतिक अस्थिरता एवं संक्रमणपछि मुलुकमा लोकतान्त्रिक पद्धतिबाट संविधान निर्माण भई कार्यान्वयनमा आइसकेको उनले बताएका छन् । 

नयाँ संविधान बमोजिम २०७४ र २०७९ सालमा तीनवटै तहका निर्वाचन सम्पन्न भएको, गणतन्त्रले नेपालको राजनीतिक प्रणाली र शासन व्यवस्थामा धेरै परिवर्तन ल्याएको भए पनि जनताको जीवनमा भने अझै गुणात्मक अन्तर ल्याउन अझै बाँकी रहेको सन्देशमा उल्लेख छ । रासस
 

क्यान महासंघका महासचिव अधिकारी ‘आईसीटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मानित

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ । सोमवार चन्द्रलोक फाउन्डेशनले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले अधिकारीलाई यो अवार्डले सम्मान गरेका हुन् ।  आईसीटी क्षेत्रको विकास र विस्तारमा अधिकारीले पुर्‍याएको योगदानलाई कदर गर्दै यो अवार्ड दिइएको आयोजकले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका निवासी चिरञ्जीवी अधिकारी साइबर सुरक्षा र नेटवर्किङका विशेषज्ञ हुन् । प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका उनले इन्फर्मेसन सेक्युरिटी, आईटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्वपूर्ण विषयमा काम गरेका छन् । अधिकारीले आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । साथै सूचना प्रविधि सम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आएका छन् । उनका राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रिकाहरूमा दर्जनौं लेख तथा अन्तर्वार्ता प्रकाशित छन् ।  त्यस्तै साइबर सुरक्षाको शिक्षा र जागरूकता बढाउने गरी उनी देशभरि आयोजित गरिएका ५०० भन्दा बढी कार्यक्रममा सक्रिय सहभागी भएका छन् ।  क्यान महासंघमा महासचिवको भूमिकाका अतिरिक्त अधिकारी नेपालको आईसीटी क्षेत्रका केही प्रमुख संस्थाहरूका प्रेरणादायी व्यक्तित्व समेत हुन् । उनी इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट) र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई)का संस्थापक अध्यक्ष हुन् । त्यसैगरी, उनी नेपालको चर्चित साइबर सुरक्षा कम्पनी वनकभर प्राइभेट लिमिडेटका प्रबन्ध निर्देशक पनि हुन् । त्यस्तै उनी सफ्टवेयर कलेज अफ आईटी एन्ड ईकमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्ट जस्ता शैक्षिक संस्थाहरूमा शिक्षण भूमिमा समेत रहेका छन् । आईसीटी एक्सिेलेन्स अवार्ड २०२४ बाट सम्मानित भएपछि अधिकारीले यो क्षेत्रमा अझ सक्रिय भएर लाग्न थप प्रोत्साहन मिलेको बताएका छन् ।

बढुवा भएका चार डीआईजीलाई दर्ज्यानी चिह्न

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका चार डीआईजीले दर्ज्यानी चिह्न लगाएका छन्। गृहमन्त्रीस्तरको निर्यणअनुसार जेठ १३ मा बढुवा भएका डीआईजी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा। मनोजकुमार केसी र राजन अधिकारीले दर्ज्यानी चिह्न लगाएका हुन् । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले सोमबार उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।  उनीहरूसँगै गृह मन्त्रालय सचिवस्तरको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक भगवानप्रसाद कुशवाहले समेत दर्ज्यानी चिह्न लगाएका छन् । 

यी पाँच स्थानीय तहको बेरुजु शून्य

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा पाँच स्थानीय तहको बेरुजु शून्य देखिएको छ । काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याकवरक, ताप्लेजुङको पाथीभरा याकवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजु शून्य देखिएको हो । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९र८० मा ती स्थानीय तहको बेरुजु नभएको उल्लेख छ । कार्यालयका अनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये मध्ये ७ सय ४६ स्थानीय सरकारको लेखापरीक्षण गरिएकामा पाँच तहका शून्य बेरुजु देखिएको छ । महाभारत गाउँपालिकामा उक्त आवमा रु। एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरीक्षण भएको थियो । अघिल्लो आव अर्थात् ०७८/७९ मा गरिएको लेखा परीक्षणमा शून्य दशमलव २६ प्रतिशत बेरुजु देखिएको थियो । जिल्लामा महाभारतपछि पनौती नगरमा कम देखिएको छ । उसको शून्य दशमलव २२ प्रतिशत बेरुजु देखिएको हो । पनौती नगरको रु २ अर्ब ६६ करोड लेखापरीक्षण भएको थियो ।

बीपीसीले अस्वाभाविक रुपमा महसुल वृद्धि गरेपछि स्याङ्जा र पाल्पाका स्थानीय आन्दोलित

काठमाडौं । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा उत्पादन केन्द्र रहेको बुटवल पावर कम्पनी ९बीपीसी० ले पछिल्लो समय कसैसँग पनि समन्वय र छलफल नगरी महशुल बढाएको भन्दै स्थानीय उपभोक्ताहरु संयुक्त संघर्ष समिति बनाएर विरोधमा उत्रिएका छन् ।  सोमबार काठमाडौंमा संयुक्त संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी बुटवल पावर कम्पनी आयोजना प्रभावित क्षेत्रका जनताको ढाड सेक्ने गरी गरेको मूल्यवृद्धिविरुद्ध सशक्त संघर्षमा उत्रिने बताएको हो ।  बीपीसीएलले सामाजिक उत्तरदायित्वअन्तर्गतका कुनै पनि काम नगरेको संघर्ष समितिले बताएको छ । बीपीसीएलको आयोजना प्रभावित क्षेत्र पाल्पा र स्याङ्जाका विभिन्न स्थानीय तहहरु रहेका छन् ।  संयुक्त संघर्ष समितिका अध्यक्ष श्यामप्रसाद बस्यालले बीपीसीएलले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई थाहै नदिई महशुल बृद्धि गरेको बताए ।  विद्युत महशुल बृद्धि ४५ देखि ६५ प्रतिशतसम्म रहेको उनको भनाइ छ ।  स्थानीयहरुको उपभोक्ताहरुको ढाड सेकिने गरी मूल्यवृद्धि भएको उनको भनाइ छ । 

एकीकृत समाजवादीको सचिवालय बैठकले गर्यो पाँच निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को  ८३ औं सचिवालय बैठक सम्पन्न भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले संसदको गतिरोध अन्त्य गर्नका लागि गरिएको संवादबारे छलफल गरेको छ।  बैठकले केन्द्रीय कमिटीको आठौं बैठकले दिएका सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको दस्तावेज मातहत कमिटीलाई पठाउने निर्णय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकले कृष्ण नेपालीलाई मुस्ताङ र अमरराज शर्मालाई स्याङ्जाको इन्चार्ज बनाउने निर्णय पनि गरेको छ।  महाधिवेशनका लागि प्रतिनिधि छनोटबारे आगामी सचिवालय बैठकले निर्णय गर्ने भएको छ। अर्वन एण्ड रुलर डेभलपमेन्ट, पोलिसी, प्लानिङ, अनुभव आदान प्रदान गर्ने, कार्यक्रममा पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा सात जना नेताको टोली जेठ १६ गते पाँचदिने चीन भ्रमणमा जाने निर्णय भएको खतिवडाले बताए।  

नेपाल टेलिकमले ल्यायो ‘रिपब्लिक डे अफर’

काठमाडौं। नेपाल टेलिकमले कम्पनीले गणतन्त्र दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘रिपब्लिक डे अफर २०८१’ अफर सार्वजनिक गरको छ। टेलिकमले आजदेखी लागु हुने गरी अफर योजना ल्याएको हो।  यस अन्तर्गत रु ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।  यसैगरी डाटा प्याकेज अन्तर्गत रु.१११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु.१९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु.२९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु। ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।  यही अफर अन्तर्गत रु.७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।  आगामी जेठ १६ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।

टिओआरमा सहमति खोज्न दुवै पक्ष आन्तरिक छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर) बारे बालुवाटारमा बिहान बसेको बैठक निष्कर्षविहीन भएपछि अबको रणनीति तय गर्न सत्तापक्ष र विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन्। सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएपछि सत्तारूढ दलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एंव रास्वपा सभापति रबि लामिछाने बालुवाटारमै छलफलमा जुटेका छन् भने कांग्रेसका हालका पदाधिकारी र पूर्व पदाधिकारीहरू बूढानीलकण्ठमा जुटेका छन् । त्यसपछि साँझ ५ बजे तीन शीर्ष नेताहरूबीच वार्ता हुने भएको छ। प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच वार्ता हुने भएको हो।  सोमबार बिहान सत्तारूढ दल र विपक्षी दलका नेताहरूसँग छुट्टाछुट्टै र संयुक्त रूपमा प्रधानमन्त्रीले गरेका छलफल दुवै पक्ष आफ्नो अडानबाट पछि नहट्दा निष्कर्षमा पुग्न सकेन। कांग्रेसले गृहमन्त्री लामिछानेको नाम टिओआरमै किटेर जानुपर्ने अडान छाडेन भने सत्तारूढ दलहरू त्यसमा तयार छैनन्।  आफ्नो मागअनुसार टिओआर बनाएर छानबिन समिति गठन नभएसम्म सदन नखुलाउने कांग्रेसको अडान छ, जसकारण आगामी आर्थिक वर्षको बजेट कसरी आउने भन्नेमै अन्योल कायम छ। यद्यपि सरकारले सदनबाटै बजेट ल्याउने बताएको छ । सरकारलाई जेठ १५ अर्थात् भोलि बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ। प्रधानमन्त्री प्रचण्डले आज सहमति जुट्ने विश्वास नीति तथा कार्यक्रम पारित गर्दाको संसद् बैठकमा व्यक्त गरेका थिए । सोही अनुसार सहमति कायम गर्न प्रधानमन्त्री प्रयासरत छन् ।

११ दिनदेखि एक्लै उभिएका नेत्र र सरकारबीच पाँचबुँदे सहमति (पत्रसहित)

काठमाडौं । विभिन्न माग राख्दै एक्लै उभिएर विरोध प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिका अध्यक्ष नेत्र चापागाईं र सरकारबीच सहमति भएको छ। उनी माइतीघर मण्डला सडक पेटीमा जेठ २ गतेदेखि एक्लै उभिएर शान्तिपूर्ण विरोध गरेका थिए। उनी त्यसरी विरोध प्रदर्शन गरेको ११ दिनपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती माग पूरा गर्ने प्रतिबद्धता जनाएको हो। शिक्षामन्त्री सुमना श्रेष्ठ प्रदर्शनस्थलमै  पुगेर चापागाईंलाई भेटेकी थिइन्। त्यस्तै केही समयअघि शिक्षा मन्त्रालयमा पनि चापागाईंले उभिएरै वार्ता गरेका थिए। इसिडी शिक्षक शिक्षिकाको योग्यता, सुविधा अन्तर्राष्ट्रिय मापदण्डअनुसार युगानुकूल बनाउनुपर्ने,दिवा खाजा प्रतिविद्यार्थी ५० रुपैयाँ पुर्‍याउनुपर्ने लगायत माग राखेर उनी एक्लै उभिएका हुन्। नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिले हिजो (आइतबार) मन्त्रालयसँग विभिन्न पाँचबुँदे सहमति भएको जनाएको छ।  ती सहमतिहरू यस्ता छन्   

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ। यादवले अशोक राई नेतृत्वको समूहलाई दलको मान्यता नदिन मागसहित दायर गरेको रिट सोमबार प्रधान्यायाधी विश्वम्भरप्रासाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो। यसअघि जेठ ८ मा न्यायाधीश मुसलमानले नै सुनुवाइ गर्दै यादवले दायर गरेका दुईवटा रिटको सुनुवाइ एकै ठाउँ राख्न आदेश दिएका थिए। सोमबार यादवले दायर गरेका दुवै रिट सुनुवाइका लागि २६ औँ र २७ औँ नम्बरमा पेशी चढाइएको थियो।इजलासको अन्तिम नम्बरमा रहेको रिट हेर्न नभ्याइनेमा परेको हो।

अफगानिस्तानमा बाढीका कारण १६ जनाको मृत्यु

काबुल । अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा हालै आएको बाढीमा १६ जनाको मृत्यु भएको टोलो न्यूजले जनाएको छ । प्रभावित प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार बाढीमा पाँच सय घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ । टोलो न्यूजकाअनुसार बाढीले डान्ड–ए–घोरी, दोसी, पुल–ए–खुमरी सहर, मध्य बदख्सानको मोरचक र यी प्रान्तका अन्य भागहरूमा असर पारेको स्थानीय अधिकारीहरूले बताएका छन् । बाघलान प्रहरी कमान्डका प्रमुख अब्दुल गफुर खादेमले आइतबार राति बाढी आउँदा बाघलान प्रान्तको दोसी जिल्लाको लारखाब क्षेत्रमा व्यापाक क्षति भएको बताएका छन् । उनका अनुसार लर्खाबमा तीन बालबालिका एक महिला र दुई पुरुषसहित पाँचजनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घरहरू ध्वस्त भएका छन् ।  तालिबानद्वारा बदख्सानमा प्राकृतिक विपद् व्यवस्थापनका प्रमुख मोहम्मद कामगरलाई उद्धत गर्दे बाढीका कारण एकै परिवारका दश जनासहित एघार व्यक्ति घाइते भएको टोलो न्यूजले जनाएको छ । यसैबीच, बाढीका कारण सम्पत्ति गुमाएका धेरै परिवारहरूले सहायताको आगमनमा ढिलाइ भएको भन्दै सरकारको आलोचना गरेका छन् । पीडित परिवारले सरकार र सहायता निकायबाट तत्काल सहयोगको माग गरेका छन् । अफगानिस्तानका विभिन्न भागमा गएको हप्तामा आएको विनाशकारी बाढीमा तीन सयभन्दा बढीको मृत्यु भएको छ । बाढीले सयौँ आवासीय घरहरू ध्वस्त पारेको छ र हजारौँ हेक्टर कृषि जग्गामा क्षति पु¥याएको छ । राससरएएनआई

गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।  महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्रीमाथि कुनै पनि मुद्दामा कुनै पनि अदालतमा अभियोजन नभएको भन्दै पत्र लेखेका थिए । रिटमा सो पत्र खारेजी गर्न माग गरिएको घिमिरेले बताए। साथै अनुसन्धान प्रक्रियामा गृहमन्त्रीले अनुचित प्रभाव पार्न सक्ने भन्दै अनुसन्धान प्रक्रिया चलिरहेका बेला उनलाई निलम्बन गर्न माग गरिएको छ । यो रिटमा जेठ १६ गतेका लागि पेशी तोकिएको छ ।

टिओआरबारे प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफल गर्दै

काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणको विषय झन् पेचिलो बनेको छ । सत्तारुढ र विपक्षी दल आ–आफ्नै अडानमा कायम रहँदा सदनको गतिरोध अन्त्य हुन सकेको छैन । सोमबार बिहान बालुवाटारमा सत्ता र विपक्षी दलका शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष टुंगिएको छ । सोही विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीच सोमबार अपरान्ह ३ बजे छलफल गर्ने तय भएको छ । तीन नेताबीच छलफल हुन लागेको एक नेताले जानकारी दिए।

कार्यादेशबारे आन्तरिक छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको कार्यादेशबारे आन्तरिक छलफल गर्न वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।  बैठकले पछिल्लो राजनीतक परिस्थितिबारे साझा धारणा बनाउने बताइएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका नेताहरूसँग बालुवाटारमा भएको छलफलपछि कांग्रेसले आन्तरिक गर्न लागेको हो। 

गण्डकी सरकार विरुद्धको मुद्दामा आज अन्तिम बहस हुँदै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा अन्तिम बहस हुँदैछ। सो मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा हेर्दाहेर्दैमा रहेको छ।  नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो सातादेखि बहस भइरहेको छ। सो मुद्दामा रिट निवेदक र सरकारी पक्षले बहस गरिसकेका छन् भने विपक्षी र जवाफी बहस मात्र बाँकी छ।  जवाफी बहस सकेपछि सर्वोच्चले आजै निर्णय दिने छ।  मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएकाले बदर हुनुपर्ने माग रिटमा गरिएको छ। ६० सदस्य प्रदेशसभामा ३० जनाले मत दिएको तर सभामुखले बहुमत भएको भनी व्याख्या गरेकाले उक्त निर्णय बदर हुनुपर्ने माग रिटमा गरिएको छ।  रिटमा मुख्यमन्त्री अधिकारीको विश्वासको मत मत बदर भएपछि अर्को उपधारा अनुसार आफू मुख्यमन्त्री हुने भएकाले त्यस्तो आदेश पनि जारी हुनुपर्ने जिकिर रिटमा गरिएको छ ।  सो मुद्दामा जेठ ८ गतेदेखि बहस सुरु भएको थियो भने जेठ ९ गते सरकारका तर्फबाट बहस भएको थियो।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं ।स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँमा बढेर करोबार भएको हो। सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको हो। आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भएको छ। सोमबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको छ। आइतबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।