शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसंघको सम्मान
न्यूयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति सेनाका भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन्।
अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको यो पदक संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरेका हुन्।
त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवंगत भएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे। गत अक्टोवर १३ मा कङ्गोमा राईको निधन भएको थियो।
सन् १९४८ मा इजरायल–अरब युद्धविराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक परिचालन गर्ने निर्णय भएको दिन ३० मेलाई अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवसका रूपमा मनाइने गरेको छ।
नेपाल राष्ट्रसंघीय शान्ति सेनामा सर्वाधिक सैनिक परिचालन गर्ने मुलुकमध्येको एक हो। छ हजारभन्दा बढी नेपाली शान्ति सेनामा परिचालन भएका छन्।
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा
गण्डकी । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन्। गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन्। यसअघि पनि उनी आयोगको उपाध्यक्ष नियुक्त भएका थिए। दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जीआईईएस)मा आवद्ध छन्। उनलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराए । रासस
नेपाल प्रहरीका २२९ हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस (नामावलीसहित)
काठमाडौं । नेपाल प्रहरीका २२९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस भएका छन् । बिहीबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकको निर्णय अनुसार उनीहरू वरिष्ठ हवल्दार पदमा बढुवाको लागि सिफारिस गरिएको हो। नामावली
बस्दै छ चार संसदीय समितिको बैठक, हुनेछ यी ऐजेण्डामा छलफल
काठमाडौँ । संघीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिहरूको बैठक आज बस्न लागेको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै,राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ । सो बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ । त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १ बजे बस्दैछ । सो बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनको कार्यान्वयन अवस्था र स्थलगत अध्ययन अवलोकन अनुगमनबाट देखिएका विषयहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयका अनुसार आजै बिहान साढे १० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको पनि बैठक बस्दैछ । बैठकमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं असर न्यूनीकरणका उपायहरू तथा सगरमाथा क्षेत्रमा देखिएका समस्या,चुनौती र अवसरबारे छलफल हुनेछ ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी लगायत पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू/भागका एक(दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौंमा चल्यो हावाहुरी
काठमाडौं । काठमाडौंमा बिहीबार साँझ हावाहुरी चलेको छ । काठमाडौंका विभिन्न स्थानमा हावाहुरी चलेको हो । हावाहुरी चले पनि वर्षा भने भएको छैन । अहिले कोसी, मधेस, वाग्ममती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षाको भैरहेको छ ।
राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ(आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र घानाका गैरआवासीय राजदूत डा।विनफ्रेड नी ओकाइ हामोण्ड, गणतन्त्र बुल्गेरियाका गैरआवासीय राजदूत निकोलेइ यानकोभ, इरिट्रियाका गैरआवासीय राजदूत अलेम वल्डेमारियम र गणतन्त्र फिलिपिन्सका गैरआवासीय राजदूत जोसेल फ्रान्सिसीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। समारोहमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिए। नवनियुक्त राजदूतहरुलाई लाजिम्पाटस्थित दुसित पिन्सेस होटलदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो । रासस
सन्दीपलाई भिसा दिन फेरि अस्वीकार
काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ।टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो। नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए।सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो।
त्रिवि क्रिकेट मैदानमा ६० करोडको संरचना बन्ने
काठमाडौं। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले त्रिवि मैदानको अहिलेको अवस्था र तत्काल स्तरोन्नति गर्नुपर्ने विषयमा विस्तृत रूपमा जानकारी गराए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा करिब ६० करोड रुपैयाँको संरचना बन्ने भएको छ ।बिहीबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मैदानको अवलोकन गर्दै मैदान परिसरमा ६० करोडको संरचना बन्ने जानकारी दिएका हुन् । मन्त्री श्रेष्ठले विशेषगरी दर्शकको सुरक्षा प्रमुख रहेकाले यसलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए। गेट, शौचालय र खानेपानीजस्ता सुविधालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । उनले मैदान स्तरोन्नतिका लागि क्यान प्राविधिक पक्षमा जानकार भएकाले सम्पूर्ण योजना बनाएर राष्ट्रिय खेलकुद परिषदमा पठाउन पनि क्यानलाई निर्देशन दिए। त्रिवि क्रिकेट मैदानको अनुगमन टोलीमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ पनि थिए ।
चिनियाँ राष्ट्रपति सीद्वारा मध्यपूर्व शान्ति सम्मेलन गर्न आह्वान
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले इजरायल र हमासबीचको युद्धबारे बिहीबार एक शान्ति सम्मेलनका लागि आह्वान गरेका छन्। उनले यस क्षेत्रसँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले आयोजित एक भेलामा अरब नेताहरूलाई सम्बोधन गरेका हुन्। राष्ट्रपति सीले यसै साता इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसी, इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान र अन्य केही अरब नेताहरूलाई स्वागत गर्न लागेका छन् । चीनले लामो समयदेखि मध्यपूर्वबाट कच्चा तेल आयात गर्दै आएको छ, र हालैका वर्षहरूमा आफ्नो प्रभाव विस्तार गर्न खोजेको छ। चीनले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा आफ्नो प्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकाभन्दा बढी तटस्थ भूमिका निर्वाह गरेको छ र इजरायलसँग राम्रो सम्बन्ध कायम राख्दै दुई राष्ट्र समाधानको वकालत गरिरहेको छ । चीनले आफ्नो ‘बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर इनिसियटिभ’मा मध्यपूर्वलाई एक प्रमुख विन्दुको रूपमा औंल्याएको छ। यो विदेशमा आफ्नो देशको प्रभाव विस्तार गर्ने सीको प्रयासको मुख्य आधार हो। प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै सीले इजरायल–हमास द्वन्द्व समाधानका लागि ‘व्यापक’ शान्ति सम्मेलनको प्रस्ताव गरेका छन्।
फेसबुक निर्देशनकै भरमा नागरिकलाई सडकमा उभ्याउन मिल्दैन : सभापति खतिवडा
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मापसे गर्यो यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको भएको टिप्पणी गरेका छन्।सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानूनी राज्य कसैको सनकका भरमा नचल्ने बताए। उनले भने, ‘हामीले संविधान निर्माण गर्यौँ। सबै जात, धर्म र वर्गको अधिकार पनि स्थापित गरेका छौँ।कानुनी राज्यको परिकल्पना पनि गरेका छौँ। कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन।’ अहिले सडकमा केही मान्छेहरूलाई कुनै मन्त्रीको निर्देशनमा कुनै उपप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुका ठिंग्याएर बिनाकानून राख्ने प्रवृत्ति गलत भएको बताए। उनले भने, ‘मापसे गर्यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको हनन हो।यो बारेमा छलफल अगाडि बढाउनुपर्ने जरुरी हामीले देखेका छौँ।अहिले कानूनी राज्य भनेको राणा शासन होइन।फेसबुकबाट निर्देशन दिने अनि कानून विपरीत नागरिकलाई सडकमा उभ्याउने काम गलत छ। यो पद्धतिविरुद्ध हामीले आवाज उठाउनुपर्नेछ। हामी यसबारेमा बैठक राख्छौँ।’ गृहमन्त्री लामिछानेको निर्देशनमा मापसे गरेका र सडक नियम मिचेकाहरूलाई कारबाही स्वरूप ट्राफिक स्वयमसेवकका रूपमा परिचालन गर्न निर्देशन दिएका थिए।
प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल
काठमाडौं । गृह मन्त्रालयले प्रहरीको उमेर हद अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्री स्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्यसचिव छन् । समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरू समेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।
बजेटबारे आएका प्रतिक्रियाले साँच्चै म सर्प्राइजमा छु : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् । बजेट सन्तुलन र व्यवहारिक आएको भन्दै निजी क्षेत्र अरू विज्ञ तथा राजनीति पार्टी र तिनका नेताहरूले समेत तारिफ गरेकाले आफू साँच्चै सर्प्राइज भएको बताए । 'बजेट के हुने हो? सांसदबाटै आउने हो कि अध्यादेशमा जाने हो? ठुलो चिन्ता थियो । तर, सांसदबाटै ल्याउन पाइयो । खुसी कुरो हो । बजेट सांसदभन्दा बाहिरबाट ल्याउने कुरा राम्रो थिएन । यसमा प्रधानमन्त्री ज्यूले ठुलो कसरत गर्नुभयो र वातावरण सहज भयो । यसका लागि म प्रधानमन्त्री ज्यूलाई र सम्पूर्ण राजनीतिक पार्टीहरूलाई धन्यवाद दिन चाहन्छुु ' अर्थमन्त्री पुनले भने । बिहीबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले बजेटले केही करका दर वृद्धि गरेकाले स्वार्थ समूह निजी क्षेत्रले मन दुखाए पनि सकेसम्म सन्तुलित र सर्वस्वीकार्य बजेट बनाएको दाबी गरे । बजेटले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने गरी एकीकृत गरिएको अर्थमन्त्री पुनले बताए ।
विराटनगरमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोशी प्रदेशको विराटनगर पुगेका छन् ।सरकारले आजदेखि सुरु गर्ने ‘श्रमाधान रोजगार मेला’मा सहभागी हुन् प्रधानमन्त्री विराटनगर पुगेका छन् । विराटनगर एयरपोर्टमा ओर्लिए लगत्तै प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारे। बिहीबार बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पारेको प्रचण्डको भनाइ थियो। ‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो। तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ’, बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रचण्डले भने। उनले मधेसमा पनि समीकरण भन्दा बाहिर कोही नहुने उनको दाबी थियो। ‘समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को बन्दैन। अहिले हाम्रो जेछ त्यही हुन्छ’, प्रचण्डले भने। अर्को प्रसंगमा प्रचण्डले बजेटमा कोशी प्रदेशलाई प्राथमिकता दिइएन भनेर प्रचार गरिए पनि त्यसमा कुनै सत्यता नरहेको जिकिर गरे। ‘यसमा गलत प्रचार भएको छ। तर, कोशीलाई आवश्यकताअनुसार पर्याप्त बजेट र कार्यक्रम आएको छ’, प्रचण्डले भने, ‘कम भयो भन्ने कुरा सही होइन। बजेटमा जति आएका छन् त्यतिमात्रै पनि होइन । वक्तव्यमा सबै कुरा आएका पनि हुँदैनन्।’ उनले आगामी आर्थिक वर्षको बजेटमा धेरै कुरा नयाँ आएको उल्लेख गर्दै प्रचण्डले कृषि दशकको कुरा आफैँमा नयाँ कुरा भएको बताए। यस्तै रोजगारी सिर्जना गर्ने जस्ता विषय पनि बजेटमा आएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो आर्थिक स्थिति र राजनीति परिस्थिपित हेर्दा सन्तुलित बजेट आएको छ।’ उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको गतिविधिप्रति आफूलाई सञ्चारकर्मीको धारणा जान्न मन लागेको समेत बताए।
परीक्षा बोर्डको सदस्यसचिवमा जंगबहादुर अर्याल नियुक्त
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन्। बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अर्याललाई बोर्डको सदस्यसचिव नियुक्त गरेकी हुन्। अर्याल यसअघि बोर्डको प्रशासन महाशाखा प्रमुख थिए। सदस्य सचिवमा नियुक्त भएपछि उनले अध्यक्ष र बोर्डका अन्य पदाधिकारीसँग मिलेर विभिन्न कार्यक्रम दृढतापूर्वक कार्यान्वयन गर्ने जानकारी दिए। यसअघिका बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालको कार्यकाल सकिएपछि सदस्यसचिव पद रिक्त थियो।
प्रधानमन्त्री र नेता खनालबीच
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो। प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच झन्डै १ घण्टा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेता खनालले देशको पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको प्रतिक्रिया बताएका छन्। सरकार परिवर्तनको चर्चाका बीच नेता खनाल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्। हिजो साँझ मात्र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा भेटवार्ता गरेका थिए।

