मध्य तथा सुदूरपश्चिममा अझै वर्षा हुने, बाढी र पहिरोबाट ११७ जनाको मृत्यु

काठमाडौं, असोज ११ । मुलुकको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै केही दिन वर्षा हुने सम्भावना रहेको हो । विभागका महानिर्देशक डा ऋषिराम शर्मा नेपालले पश्चिमी भागमा अझै पनि पानी परिरहेको बताए ।

 

पछिल्लो समय सुदूरपश्चिम तथा मध्यपश्चिममा परेको वर्षाका कारण सोही क्षेत्रका विभिन्न भाग डुबानमा समेत परेका छन् । विगतका वर्षको तुलनामा यस वर्ष धेरै वर्षा भएको विभागले जनाएको छ । नेपालमा पाँच महीनाको अवधिमा भारी वर्षा, बाढी र पहिरोका कारण ११७ जनाको ज्यान गएको छ ।

 

नेपाल सरकार गृहमन्त्रालय राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार वैशाखदेखि भदौसम्म भारी वर्षा, बाढी र पहिरोका कारण उनीहरुको ज्यान गएको हो ।

 

जसमा पहिरोका कारण ८३, बाढीका कारण १७ र भारी वर्षाका कारण १७ को ज्यान गएको छ भने १८३ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये ५९ पुरुष र ५८ महिला रहेका छन् । केन्द्रका अनुसार ३१० पहिरो, ८० बाढी र २४७ पटक भारी वर्षा भएको छ ।

 

यस्तै, बाढीमा तीन र पहिरोमा दुई हराइरहेका छन् । बाढीका कारण एक हजार ७८ परिवार, पहिरोका कारण ७३५ र भारी वर्षाका कारण ३५३ घरपरिवार प्रभावित भएको केन्द्रले जानकारी दिएको छ ।

 

यसैबीच, गृहमन्त्री रामबहादुर थापाले मङ्गलबार राष्ट्रियसभाको बैठकमा वैशाखदेखि भदौ १७ सम्म मुलुकका विभिन्न भागमा एक हजार ५८४ दुःखका घटना भएको बताउनुभएको थियो । उहाँले सोही बैठकमै ४४५ घटना बाढी र पहिरोका कारणमात्र भएको संसद्लाई जानकारी गराउनुभएको थियो ।

 

सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल नेपालको भू–धरातल कमजोर भएको कारण धेरै बाढी, पहिरो र भूक्षय हुने गरेको बताए । चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरोको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ । वर्षात्को पानी रोक्ने रुख कटान हुँदा सोझै जमीनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको छ । -रासस

मेयर नगरपालिका कार्यालयमै हेर्छन् शिक्षकको हाजिरी !

खोटाङ, असोज ६ । भदौ १ गते जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित भए ।   नगरपालिकाबाटै निगरनी हुने गरी जडान गरिएको ई हाजीरीका माध्यमबाट विद्यालयमा एकैसाथ तीन शिक्षक अनुपस्थित देखिएपछि मेयर दिपनारायण रिजालले तत्काल फोन गरेर शिक्षकको अनुपस्थितिबारे सोधखोज गरे ।   तर विद्यालयका प्रधानाध्यापकबाट कोही पनि शिक्षक बिदामा नबसेको जवाफ आयो । मेयर रिजालले नामै उल्लेख गरेर तीन शिक्षक अनुपस्थित रहेको देखिएको बताएपछि भने ती शिक्षक विद्यालयमा नआएको पुष्टि भयो ।   विद्यालयलयमा शिक्षकको उपस्थितिलाई नियमित गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपलिकाले अनलइनमार्फत शिक्षकको ई हाजीरी ट्रयाकिङ सुरु गरेपछि विद्यालय अए नआएको थाहा पाउन सहज भएको छ । नागरिक दैनिकमा खबर छ ।

मुख्यमन्त्री राउतद्वारा राहत प्रदान

राजविराज, असोज ५ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बेमौसमी रुघाखोकी र ज्वरोबाट ज्यान गुमाएका परिवारलाई राहतस्वरुप जनही रु दुई लाख प्रदान गरेका छन् । रुघाखोकी र ज्वरोबाट ज्यान गुमाएका सप्तरी कञ्चनरुप नगरपालिकाका चार परिवारलाई उहाँले मुख्यमन्त्री राहत कोषबाट सो रकम प्रदान गरेका हुन् । कञ्चनरूप नगरपालिका–७ का १४ वर्षीय दिवस बस्नेत, वडा नं ३ का १४ वर्षीय किशोर राम, वडा नं ९ का १४ वर्षीय अमोदकुमार राम र वडा नं. ४ की ५० वर्षीया भालसर देवी सरदारको भाइरल ज्वरोका कारण मृत्य भएको थियो । ज्वरो र रुघाखोकीका बिरामी बढ्दै गएपछि कञ्चनरुप तथा हनुमाननगर कङ्कालनी नगरपालिका क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनमा रहेको सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए । यस्तै प्रकोप नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयले उपलब्ध गराइएको रु १५ लाखको चेकपनि पनि मुख्यमन्त्रीले हस्तान्तरण गर्नुभयो । त्यस्तै ज्वरो तथा रुघाखोकीकै कारण महादेवा गाउँपालिका–१ का ८ वर्षीय महफुल आलमकोे पनि ज्यान गएको छ । भदौ २४ देखि कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरमार्फत २४ जनाको रगत र र्याल परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । जनस्वास्थ्य कार्यालयका प्रमख निरञ्जन यादवका अनुसार उक्त परीक्षणपछि एक जनामा स्वाइन फ्लू र चार जनामा हङकङ फ्लूको भाइरस फेला परेको जानकारी दिए । स्वास्थ्य परीक्षणका क्रममा कञ्चनरुप नगरपालिका–७ का हरिलाल साहलाई स्वाइन फ्लूको सङ्क्रमण देखिएको बताइएको छ । यसैगरी मधेश आन्दोलनका घाइते सप्तरी राजविराज नगरपालिकाका भुवनेश्वर मण्डल बेलचनलाई पनि रु एक लाख ५० हजार बराबरको चेक औषधि उपचार खर्चबापत भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदान गरे । सो अवसरमा मुख्यमन्त्री राउतले स्वास्थ्य जाँचका लागि अस्पताल आउने बिरामीलाई कुनै किसिमको कमी हुन नदिन स्वास्थ्यकर्मीलाई निर्देशन दिए । “स्वास्थ्य जाँच गराउन अस्पतालमा आउने बिरामीलाई तपाईंहरुबाट कुनै किसिमको कमी नहोस्”, उनले भने, “यदि यस्तो भए ठीक हुँदैन् ।” कञ्चनरुपमा देखिएको सिजनल फ्लू नियन्त्रण गर्न सफल भएकामा स्वास्थ्यकर्मी, नागरिक समाजका अगुवा, नगरप्रमुख, प्रजिअ सुरक्षा निकायलगायत सबैलाई उनले धन्यवाद समेत व्यक्त गरे । रासस

प्रहरीले समात्यो लुटेरा

महोत्तरी, असोज ३ । व्यापारीहरूलाई लुटपाट गरेको आरोपमा प्रहरीले चार लुटेरा समातेको बताएको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा सोनमा गाउँपालिका–११ का ३० वर्षीय रामभरोसकुमार यादव रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । लुटेराले मनरासिसवा नगरपालिका–२ इटहर्वाका व्यापारी विनोद चौधरीसँग रहेको रु पाँच लाख लुटेका थिए । उनीहरू घरबाट महोत्तरीको गौशाला जाँदै गरेका यादवलाई गौशाला नगरपालिका–८ स्थित मरहा खोला नजिक पेस्तोल देखाउँदै नगद लुटेर भागेका थिए । पर्सा प्रहरी चौकीले चारै जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट बा२३प ४६०४ नं को पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ ।

पानी छोएको भन्दै वडाध्यक्षबाटै कुटिए दलित युवा

सर्लाही, असोज ३ । पानी छोएको निहुमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएको छ ।   सर्लाहीको विष्णु गाउँपालिका-२ का वडाध्यक्ष सञ्जय साहमाथि कारवाहीको माग गर्दै मगलबार सघर्ष समितिले पजिअ द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय दलित युवा अजय रामलार्य दलित भएर पानी छुने भन्दै वडा कार्यालयमै कुटपिट गरेका थिए ।   घटनाको भोलिपल्ट युवाले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलगवामा गएर लिखित उजुर गरे । तर, घटना भएको एम महिनासम्म पनि प्रहरीले दोषीमाथि कुनै कारवाही नगरेपछि सघर्ष समितिले घटनाप्रति चासो देखाएको हो । नयाँ पत्रिकामा खबर छ ।

लखेट्दै लगेर बलात्कार !

म्याग्दी, असोज ३ । चार जना किशोर किशोरी जिल्लाको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए ।   हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोका कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राति करिब ८ बजे अन्नपूर्ण गाउँपालिका ६ घारको धरमपानी खोला नजिकको मुना बाल विकास भवन नजिकै ओराल्यो ।   ठाउँ एकान्त थियो । रात परीसकेकाले उनीहरु अलमलमा परे । बास खोज्दै गर्दा गाँजा, चुरोट तान्दै गरेका तीन युवा प्रकाश छिनाल, अर्जुन परियार र नवीन परियारको नजर १५ बर्षीया किशोरीमाथि पर्यो ।   उनीहरुले अपरिचित बालिकाहरुलाई जिस्काउँदै हातपात गरे । आक्रमण हुन थालेपछि बालबालिका मोटरबाटो हुँदै आएको बाटो भाग्न थाले । युवाले भवानीथानसम्म लखेटे । सडकमा बत्ती थिएन । भाग्दै गरेकी १५ बर्षीया किशोरीलाई मुख थुन्दै एकान्ततिर लगे ।   ८ः२० तिर बिजुली आयो । बत्तीको उज्यालोले बाँकी तीन बालबालिकामा साहस आयो । उनीहरु स्थानीयको घरमा पुगे । रातको समयमा रुदै कराउँदै आएका अपरिचित किशोरकिशोरी देखेपछि स्थानीय लीलबहादुर खड्काले सोधीखोजी गरे । उनीहरुले आफूहरुमध्ये एक जनालाई तीन युवाले मुख थुनेर अपहरण गरी लगेको बताए ।   त्यसपछि अरु स्थानीय भेला भए र बालिका खोज्दै हिँडे । उनीहरुले सडक मुनिको एक खाली गोठमा बालिका रोएको सुने । उनीहरु त्यहाँ पुग्दा बालिका बलात्कृत भइसकेकी थिइन् । तीन जनामध्ये नवीन र अर्जुन भागेको स्थानीयले देखे । तत्काल घार प्रहरी चौकीमा खबर गरे । प्रहरीले बालिका उद्धार गरी चौकी लैजाने क्रममा बाटोमै बलात्कारमा संलग्न युवालाई पक्राउ गरी चौकी पुर्यायो ।

सेवा सुविधा नपाए बैठक नचलाउने कर्मचारीको चेतावनी

काठमाडौं, भदौ ३० । संघीय संसद् सचिवालयका कर्मचारीहरुले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् ।   यसअघि दिँदै आएको सबैखाले सेवा सुविधा गत साउनदेखि कटौती गरेपछि कर्मचारी र सचिवालयबीच दूरी बढेको हो । २०७४ माघ ७ गतेसम्म कर्मचारीलाई बिहान र बेलुका गरी ३ घण्टा बढी समय खटाइने गरिएको थियो ।   त्यसबापत उनीहरुले बिहानको साढे २ सय र साँझ पनि त्यति नै अतिरिक्त रकम पाउने गरेका थिए । शनिबार र बिदाको दिन आएर काम गरेबापत दैनिक ७ सय रुपियाँ दिएर प्रोत्साहित गर्ने गरिएको थियो । गत माघ ८ पछि यो सुविधा कटौती गरिएको छ ।   कर्मचारीले त्यसपछि १ सय २० प्रतिशत थप सुविधा मागेका थिए भने सचिवालयले ८० प्रतिशत सुबिधा थप गरिदिएको थियो । असार अन्तिमसम्म तलब बाहेक थप ८० प्रतिशत सुविधा पाइरहेका कर्मचारीलाई काम लगाएर पनि अहिले सुविधा नदिएपछि उनीहरु आक्रोशित भएका छन् ।   उनीहरुले अत्यावश्यक सेवा र जुनसुकै बेलामा पनि काम गर्नुपर्ने भएकाले अन्य कार्यालयको जस्तै सेवा सुविधा बढाउनु पर्ने भन्दै आवाज उठाउदै आएका छन् ।   संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्र महतले कार्यालय समयमा मात्र काम गर्नुपरे कुनै सुविधा नमागिने तर अतिरिक्त समयमा काल लगाउने हो भने तलबमा मात्रै काम गर्न नसकिने बताए ।   महतले धेरैजसो कर्मचारी टाढा बस्ने भएकाले बिहान बेलुका समितिका बैठक चलाउँदा पैसा नभए भोकै बस्नुपर्ने वाध्यता रहेको बताए । महतले आफ्नो व्यक्तिगत जीवन नभनी दिनरात सचिवालयकै काम गरे पनि मूल्यांकन नभएकोमा आपत्ति जनाए । नेपाल समाचारपत्रमा खबर छ ।

महफिल ए काव्य उपासनाको ३२ औं शृंखला सम्पन्न

काठमाडौं, भदौ २९ । १५३ औं मोती जयन्तीको अवसर पारेर ‘महफिल ए काव्य उपासना’को ३२ औं शृंखला सम्पन्न गरिएको छ । राजधानीको बबरमहलस्थित ‘ओलंपिया वर्ल्ड कलेज’को पुस्तकालय भवनमा सम्पन्न उक्त कार्यक्रममा नेपाली गजलका प्रवर्तक युवाकवि मोतीराम भट्टप्रति श्रद्धाञ्जलि अर्पण र रचनावाचन सहित मनाइयो । रसमय गजलहरूकाे तरन्नुममय वाचन सहित सम्पन्न जुकत कार्यक्रम काव्य उपासना परिवारका संरक्षक डा. कृष्ण जंग राणाको गजल वाचनबाट आरम्भ गरिएको थियो । कार्यक्रमका सहजकर्ता समेत रहेका डा सनतकुमार वस्तीले मोतीराम भट्टको गजल ‘पयरमा कडा चोट खाएर आएँ, म भन्दै थिएँ होश राखेर आए’ गाएर सुनाएका थिए । उक्त कार्यक्रममा नेपाली भाषाका अतिरिक्त हिन्दी र उर्दू भाषाका गजलहरू समेत वाचन र श्रवण गरिएका थिए । कार्यक्रममा उर्दू एकेडेमीका अध्यक्ष इम्तियाज वफा, प्रसिद्ध उर्दू शायर अब्दुल माेबिन खान, हिन्दी कवयित्री डा श्वेता दीप्ति, बहुभाषी साहित्यकार गाेपाल अश्क, नेपाली गजलस्रष्टाहरू भुवन निस्तेज, दिग्गज द्याैराली, अम्बु बिहानी, रमेश रसिक पाैडेल, डा जीवन अधिकारी एवं कविहरू प्रा तीर्थराज वन्त, प्रकाशप्रसाद उपाध्याय, मदनराज थापा, रमेशानन्द वैद्य, राधेश्याम ढकाल, मनाेजराज सुवेदी, महेश प्रसाद रिजाल, तपेन्द्र क्षेत्री अादिले रचना वाचन गरेका थिए । कार्यक्रममा काव्य उपासनापरिवारका सल्लाहकार डा काशीनाथ न्याैपाने, पत्रकार राजेश खनाल, विनीता अधिकारी, विमर्श कंडेल, दीक्षा अधिकारी, चीजन भट्टराई, माधुरी वि क अादिको उपस्थिति रहेको थियो । काव्य उपासना परिवारले हरेक महिनाको अंतिम शुक्रवार नियमित रूपमा गजलवाचनको कार्यक्रम राख्दै आएको छ ।

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक रूपमा सञ्चालित

चितवन,  भदौ २९ । आज बिहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रूपमा  सञ्चालनमा आएको छ । निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका–२९ जुगेडीमा पहिरो खसेका कारण आज बिहान ११:५० बजे पहिरो खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले पहिरो पन्छाउने र यातायात सुचारु गर्ने काम भइरहेको छ  ।

मध्यरातमा नौ महिने शिशु चोरी, सात घण्टापछि धान खेतमा फेला !

कञ्चनपुर, भदौ २९ । कञ्चनपुर पुनर्वास नगरपालिका-५ का बेलुदेवी बिष्टका नौ महिने छोरी सरस्वतीलाई चोरीएको सात घण्टापछि प्रहरीले फेला पारेको छ ।   सोहि नगरपालिका-८ ‘क’ गाँउमा तीज मनाउन माईती आएका बेला आमासँंगै राति सुतेकी सरस्वतीलाई अज्ञात महिलाले मध्यराति १ बजेको समयमा चोरेर लगेका हुन् ।   शिशु चोरी भएको खबर पाउनासाथ स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीय बासिन्दाले खोजतलास गर्दा माईती घरभन्दा डेढ किलोमिटर टाढा धान खेतमा रुँदै गरेको अवस्थामा बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।   नगरपालिकाका नगर प्रमुख जीवन थापासहितको उपस्थितिमा शिशुलाई उनका आफन्तकोमा जिम्मा लगाइएको उनले बताए ।   शिशुको शरीरमा स-साना फोका देखा परेपछि उपचारका लागि उनलाई सेती अञ्चल अस्पतालमा पठाइएको र त्यहाँबाट शिशुलाई बाल कान्ती अस्पताल काठमाडौँमा लग्ने कुरा बुझिएको प्रहरी उपरीक्षक कडायतले बताए । शिशु चोरी गर्नेको खोजतलास जारी रहेको पनि उनले बताए । -रासस

सोह्र लाख बालबालिका आफ्नै श्रमले पेट पाल्छन्

काठमाडौं, भदौ २९ । सरकारले वाल श्रम रोक्न चलाएको सरकारी अभियान नारामा मात्र सिमित भएको छ । ८० लाख बालबालिकामध्ये सरकारी तथ्याङक अनुसार १६ लाख बालबालीकाहरु जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन् ।   वाल अधिकारसम्बन्धी महासन्धि, सन् १९८९ ले १८ वर्ष उमेर सम्मको व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ भने बालबालिका सम्बन्धी ऐन, २०४८ ले १६ बर्ष सम्मको व्यक्तिलाई वालवालिका मानेको छ ।   महिला बालबालीका तथा जेष्ठ नागरीक मन्त्रालयले बालबालीका शिर्षकमा यस आर्थिक वर्षमा मात्रै ३ करोड ४३ लाख रुपैंया बजेट बिनीयोजन गरेको छ । यस्तै केन्द्रिय बाल कल्याण समितीसंग वालवालिकाकै लागि खर्च गर्न भनेर छुट्याइएको ९ करोड रुपैंया बजेट छ ।   मन्त्रालयको वालवालीका हेर्ने शाखा अधिकृत इन्दीरा आचार्यका अनुसार बिनीयोजीत बजेट सडक बालबालीका व्यवस्थापन, ऐन नियम तर्जुमा, बाल सुधार लगायत शिर्षकमा खर्च हुने गरेको छ । बजेट पर्याप्त भए पनि बालबालीकाको क्षेत्रमा समुचित प्रयोग भएको देखिएको छैन । नेपाल समाचारपत्रमा खबर छ ।

अब सुत्केरीले एक बर्षसम्म बिदा पाउने

काठमाडौं, भदौ २९ । सुत्केरी महिलाले अब एक बर्षसम्म बेतलबी बिदा पाउने भएका छन् ।   संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपूग भए चिकित्सकको सिफारिसमा बढीमा एक बर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो । कान्तिपुरमा खबर छ ।

चाडपर्वले छोएन मालढुङ्गाका माझीलाई

पर्वत । शहर बजार जताततै तीजको रौनकले छपक्कै छोपेको छ । दैनिकजसो दर खुवाउने, खाने, मेला महोत्सव गर्ने, शुभकामना आदानप्रदान गर्ने लगायत कार्यक्रमले भ्यार्इनभ्याइ छ । कुश्मा नगरपालिका–१ पाङको माझी बस्तीका चन्द्रकुमारी माझीलाई भने तीजको कुनै वास्ता छैन । उहाँ लगायत माझी बस्तीका महिला तथा पुरुष कालीगण्डकी किनारमा बालुवा छान्नमै व्यस्त छन् । “दिनभर बालुवा नछाने भोकै बस्नु पर्छ,” चन्द्रकुमारीले भने, “हाम्रा लागि वर्षभरिका सबै दिन उस्तै हुन् । फुर्सद र धन भए पो चाडपर्व ।” पोखरा–बागलुङ राजमार्गअन्तर्गतको कालीगण्डकी किनारमा करीब १५० माझी परिवारको बसोबास छ । पोखरा–बागलुङ सडक निर्माणका क्रममा २०४८ सालमा धादिङ, गोरखा र तनहुँलगायतबाट आएका उनीहरु यही छाप्रो बनाएर बसेका हुन् । उनीहरूसँग न त लालपूर्जा छ न गाँसको नै ठेगान । राजमार्गको काम सकिएपछि माझी बेरोजगार बनेका हुन् । “उर्लेको कालीगण्डकीमा जोखिम मोलेरै बालुवा निकाल्नु पर्ने बाध्यता छ,” स्थानीयवासी कला माझीले भने । नियमित आम्दानीको स्रोत नभएपछि बालुवा निकाल्ने र गिट्टी कुट्नु बाहेक अन्य विकल्प नभएको उहाँको भनाइ छ । वर्षाका बेला कालीगण्डकीको भेलले बगाउने बालुवा किनारमा थुपारेर हिउँदभर बेच्ने उनहरुको मुख्य पेशा हो । “बर्खामा बाढी आउँदा बालुवा निकाल्नै सकिन्न,” कलाले भने, “बालुवा नछाने भोकभोकै बस्नु पर्छ ।” महिला बिहानैदेखि बालुवा निकालेर नदी किनारमा थुपार्छन् । केहीले बङ्गुर र कुखुरा पालेका छन् । कुश्मा, बागलुङ र बेनीका निर्माण व्यवसायीले माझीबाट प्रतिट्याक्टर रु तीन हजारदेखि रु पाँच हजारमा बालुवा खरदि गर्छन् । व्यवसायीले सो बालुवा बजारमा रु १० हजारसम्ममा बिक्री गर्छन् । बालुवा बिक्रीमा व्यवसायीले लगाएको एकाधिकारकै कारण श्रमिकले सिधै बिक्री गर्न पाउँदैनन् । यहाँका बालबालिकाले पढ्न पाएका छ्रैनन् । विसं २०६३ मा स्थापना गरिएको विद्यालयमा ३ कक्षासम्म मात्र पठनपाठन हुन्छ । उपल्लो कक्षा पढ्न बागलुङ सदरमुकाम पुग्नु पर्छ । त्यहाँसम्म दैनिक आउजाउ गर्दा रु २० बस भाडा तिनुपर्छ । भाडा तिर्न नसक्दा कतिपयले छोराछोरीलाई विद्यालय पठाउने गरेका छैनन् । रासस

कैलालीको बीउ देशभर बिक्री

कैलाली, भदौ २६ । जिल्लाको जानकी गाउँपालिका-४ मुनुवास्थित एक सहकारीले उत्पादन गरेको बीउ मुलुकका विभिन्न जिल्लामा बिक्री वितरण हुन थालेको छ । बीज वृद्धि कृषक सहकारी संस्था मुनुवाले गत आवमा झण्डै दुई हजार क्विन्टल धानको बीउ मुलुकका अन्य जिल्लामा बिक्रीका लागि पठाएको हो ।   सहकारीले सो परिमाणको बीउ बिक्री गर्न कञ्चनपुर, बर्दिया, बाँके, चितवन, बुटवल, दाङ, सुर्खेत, दैलेख, डोटी र डोल्पा पठाउँदै आएको छ । सो सहकारीले गहुँ, मसुरो, तोरी र केराउको बीउसमेत उत्पादन गर्दै आएको छ ।   सहकारीका अध्यक्ष रामफल बडायकका अनुसार ८० हेक्टर जमीनमा धान, ९० हेक्टरमा गहुँ, चार हेक्टरमा मसुरो, १० बिघामा तोरीको बीउ तथा एक हजार ८०० क्विन्टल गहुँकको बीउ उत्पादन गरेको छ । गहुँको बीउ अन्य जिल्लामा बिक्री गरिँदै आएको छ । ‘हाम्रो बीउले किसानको विश्वास जितेको छ,’ अध्यक्ष बडायकले भने । चार वर्षअघिसम्म ४०० क्विन्टल बीउ उत्पादन हुने गरेको थियो । अहिले गहुँ र धान पाँच हजार क्विन्टलसम्म उत्पादन हुन्छ ।   सहकारीसँग दुई ग्रेडिङ मेशिन, एक हजार आठ क्विन्टल क्षमताको एउटा तथा पाँच÷पाँच सय क्विन्टल क्षमताका दुई गोदाम रहेको छ । कृषि व्यापार आयोजना प्याक्ट र कृषि विकास कार्यालयले एउटा÷एउटा तथा अर्को गोदाम रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोगमा निर्माण गरिएको हो ।   हाल सो सहकारीमा ५४ कृषक आबद्ध छन् । कृषकले एक बिघादेखि पाँच बिघासम्ममा खेती गर्दै आएका छन् । विसं २०५७ मा ५४ कृषकको समूहले बीउ उत्पादन थालेको हो । विसं २०६२ सालमा दर्ता भएको उक्त सहकारीले बीउ उत्पादनसँगै कृषकलाई व्यावसायिकसमेत बनाएको छ । रासस

बैतडीमा बस दुर्घटना, १९ जना घाइते

बैतडी, भदौ २६ । बस दुर्घटनामा परी सोमबार १९ जना घाइते भएका छन् । महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना६ख ७४२० नं को बस तथा बैतडीको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ७५४७ नं को बस महाकाली राजमार्गअन्तर्गत सतबाँझ-गोकुलेश्वर सडकखण्डको बांगाबगरमा ठोक्किँदा दुर्घटना भएको हो ।   दुर्घटनामा गम्भीर घाइते दार्चुलाको मार्मा गाउँपालिका-३ का २७ वर्षीया मनिषा विष्ट, उनका श्रीमान ३३ वर्षीय पदम विष्ट, ३० वर्षीय सुरेन्द्र विष्ट, मार्मा-६ का २४ वर्षीय धनबहादुर नाथ र डडेल्धुरा अमरगढी नगरपालिका-६ का ४० वर्षीय रामबहादुर खड्कालाई उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । अन्य घाइतेको दार्चुलाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । -रासस

दश लाखको धनमाल लुट्ने तीन जना पक्राउ

बर्दिवास, भदौ २६ । चोरी डकैतीमा संलग्न तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका-१३ का अजमल अली शेष, इसुन घिसिङ र रमेश लामा रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।   उनीहरुले गत शनिबार भङ्गाहा नगरपालिका-६ जमुनियाँका अर्जुन भुजेलको घरबाट १० लाख रुपैयाँ बराबरको धनमाल लुटपाट गरेका थिए । बन्दुक, खुँडा, खुकुरी, भाला र विष्फोटक पदार्थसहित पुगेका तीनै जनाले खुकुरी तथा गोली प्रहार गरी भुजेलसहित पाँच जनालाई घाइते बनाएका थिए ।   घाइतेको काठमाडौँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ गरिएकाहरुको बयानका आधारमा अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -रासस