एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बोलाएको छ। अध्यक्ष माधवकुमार नेपालले दिउँसो साढे १२ बजे बस्नेरी बैठक बोलाएका हुन्।
बैठकमा महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका हुन्। बैठकले मधेश प्रदेशमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने विषयमा समेत निर्णय लिनेछ।
मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ। त्यसैले केन्द्रका गठबन्धन दल एमाले-माओवादीले ले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता हुन आग्रह गरेका छन्। एकीकृत समाजवादीले त्यहाँ नयाँ सरकार गठन हुँदा सम्मानजनक स्थान पाउनुपर्ने माग राखेको छ।
हेर्नुहोस् सोमबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल जेठ २१ गते सोमबार सन् २०२४ जुन ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर र कतारी रियालको मूल्य तीन दिनदेखि स्थिर छ । युरो र बेलायती पाउण्डको मूल्य भने बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ४८ पैसा र बिक्री दर १४५ रुपैयाँ १३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ५६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
आज पनि बस्दै प्रतिनिधिसभा बैठक, बजेटमाथिको छलफल जारी रहने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा हिजोबाट सुरु भएको आगामी आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि आज पनि छलफल जारी रहने छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९–८० पेश गर्ने कार्यसूची रहेको छ। आइतबारको बैठकमा विभिन्न दलका सांसदहरुले बजेटमाथि आआफ्नो धारणा राख्दै मिश्रित प्रतिक्रिया दिएका छन् । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ।
यस्तो हुनेछ आजको मौसम
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागले दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका एकदुई स्थानमा हावाहुरीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस र गण्डकी प्रदेशको थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । नेपालमा अहिले स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम–उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
मेयर कप फुटबल : नारायणी नमूना र अमर माविसेमिफाइनलमा
भरतपुर । नारायणी नमूना मावि र अमर मावि भरतपु महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न प्रतियोगिताको क्वाटरफाइनलमा जित हात पार्दै नारायणी नमूना र अमर माविले सेमिफाइनलमा स्थान बनाएको हो । आजको पहिलो खेलमा नारायणी नमूनाले ग्रीनल्याण्ड पब्लिक स्कुललाई टाइब्रेकरमा ४(२ ले हरायो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको हो। नारायणी नमूनाका गोलरक्षक किशोर हमाल म्यान अफ दि म्याच भए । उता आजै सम्पन्न दोस्रो खेलमा लक्ष्मी माविलाई अमर माविले २-० ले हरायो। उसको जितमा कप्तान वसन्त कुमालले ४१ औं र पुकार महतोले ६१ औ गोल गरे । अमर माविका रितेश सुनार म्यान अफ दि म्याच भए। प्रतियोगितामा मंगलबारबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछन् । पहिलो सेमिफाइनलमा मंगलबार आदिकवि भानु मावि र विश्वप्रकाश मावि भिड्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा बुधबार नारायणी नमूना र अमर मावि भिड्नेछन् ।
एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, भारतबाट सबैभन्दा धेरै
काठमाडौँ । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्। सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो। सन् २०२३ को मेमा ७७ हजार सात सय तीनजना विदेशी पर्यटक नेपाल आएका थिए। कोभिड–१९ महामारीपूर्व ७८ हजार तीन सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। तुलनात्मक रुपमा सबैभन्दा धेरै भारत र अमेरिकाबाट पर्यटक भित्रिए पनि चीनबाट भने अपेक्षित रुपमा पर्यटक आएका छैनन् । विगतका महिनामा झै यो पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार दुई सय ८८ जना पर्यटक नेपाल भित्रिएका छन्। सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट आठ हजार तीन सय ८१ जना पर्यटक नेपाल आएका छन्। संयुक्त राज्य अमेरिकाबाट आठ हजार पाँच सय २७ पर्यटक नेपाल भित्रिएका छन्
१३.५१ अंकले बढ्यो नेप्से
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १३.५१ अंकले बढेर बन्द भएको छ । परिसूचक ०.६५ प्रतिशतले बढेर २०८३.०४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यस दिन कारोबारमा आएका मध्ये १७४ कम्पनीको सेयर मूल्य बढेको छ । ६१ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर छ । चार अर्ब ३१ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार, मल्टिपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ९.१३ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ मध्ये लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह छ । यो समूहको परिसूचक ६.५६ प्रतिशतले बढेको छ ।
गृहमन्त्रीको निलम्बन माग गरिएको रिट न्यायाधीश श्रेष्ठको इजलासमा
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ। सहकारीको बचत अपचलनमा लामिछानेलाई ‘क्लिन चिट’ दिइएको महान्यायाधिवक्ता कार्यालयको पत्र असंवैधानिक र गैरकानुनी भएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । रिटमा उनले सहकारीको बचत अपचलनबारे अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव पर्ने भन्दै गृहमन्त्रीबाट लामिछानेलाई निलम्बन गर्न प्रधानमन्त्रीका नाममा अन्तरिम आदेश पनि माग गरेका छन्। महान्यायाधिवक्ता कार्यालय र लामिछानेलाई विपक्षी बनाइएको रिट यही जेठ १६ र १७ गते लगातार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा पेसी चढेको थियो। न्यायाधीश पोखरेलले अधिवक्ता हुँदा लामिछानेविरुद्ध कायम नै नरहेको नागरिकता प्रयोग गरी सांसद बनेको भन्दै दायर रिटमा उनका तर्फबाट बहस गरेका थिए। लामिछानेले अमेरिकाको राहदानी साथमै राखेर नेपाली राहदानी समेत बनाएको रिटमा पनि पोखरेलले नै बहस गरेका थिए। त्यही कारण निवेदकले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए। सदन र सडकमा समेत सहकारीको बचत अपचलनमा लामिछाने संलग्न रहेको आरोप लाग्न थालेपछि उनले महान्यायाधिवक्ता कार्यालयसँग आफूमाथि कतै उजुरी वा अनुसन्धान छ? भन्दै सूचना मागेका थिए। त्यही सूचना माग गरेका आधारमा महान्यायाधिवक्ता कार्यालयले ‘कतै पनि उजुरी र अभियोजन नरहेको’ भनेर उनलाई पत्र दिएको थियो। रिटमा उक्त पत्र रद्द गरी छानबिनको माग गरिएको छ। छानबिनमा शक्तिको दुरुपयोगबाट प्रभावित पार्न सक्ने हुँदा निलम्बनका निम्ति प्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अन्तरिम आदेश पनि माग गरिएको छ। यसअघि, लामिछानेविरुद्ध अधिवक्ता भट्टराईले दायर गरेको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो।दरपिठविरुद्धको निवेदनमा सुनुवाइ गर्दै जेठ १० गते न्यायाधीश टेकप्रसाद ढुंगानाका इजलासले दरपिठ आदेश खारेज गरेपछि १४ जेठमा रिट दर्ता गरिएको थियो।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठक आज बिहान ११ बजेबाट सुरु भएको हो । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। त्यसपछि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।
विश्वकप उद्घाटन खेल : क्यानडाविरुद्ध अमेरिकाको शानदार जित
काठमाडौं । आइसीसी टी२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ।आइतबार बिहान सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७ दशमलव ४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो। अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ रन बनाए। यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ६१ र निकोलस क्रितोनले ५१ रन बनाएका थिए। त्यस्तै श्रेयस मोभ्भाले १६ बलमा ३२ रन अविजित बनाएका थिए। जितपछि समुह ए मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ। अब अमेरिकाले दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ।
उत्तरी शान्सीको लोक संस्कृतिको बेइजिङ प्रस्तुतीमा नेपाली राजदूत श्रेष्ठ सहभागी
बेइजिङ । मे ३१ तारिखदेखि तीन दिन बेइजिङमा उत्तरी शान्सीको सुन्दर नगरी युलिनको लोकगीत र अन्तर्राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा आदानप्रदान तथा प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रमा नेपाल, लेसोथो, रोमानिया, इक्वेडर, बुर्किना फासो, कोटे डी आइवर, सेन्ट्रल अफ्रिकन रिपब्लिक, साथै बेल्ट एन्ड रोड इनिसिएटिभको एशिया प्रशान्त कोर समूहका कूटनीतिज्ञ, अमूर्त सांस्कृतिक सम्पदाका उत्तराधिकारीहरू र विश्वविद्यालयका प्राध्यापकहरू सहभागी थिए। अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदाको सो भेलामा सांस्कृतिक सम्पदाको सहयोग, संरक्षण र सम्पदाको बारेमा छलफल गर्न स्वदेश र विदेशबाट पाहुनाहरूलाई एकसाथ आमन्त्रण गरिएको थियो। कार्यक्रममा, रूस र युलिनका संगीतकर्मीहरुले पस्तुति गरेका थिए । मञ्चको सजावट र कलाकारको बेजोड प्रस्तुतीले पाहुनाहरूलाई तुरुन्तै उत्तरी शान्सीको स्थानीय स्वादले समृद्ध वातावरणमा पुर्याएको आयोजकले जनाएको छ। यस्ता प्रदर्शनीहरूले परम्परागत संस्कृतिको प्रचारप्रसारमा नयाँ जीवन्तता दिने गरेको विश्वास रहेको छ । कार्यक्रममा सहभागी चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले भने, “मलाई आजको प्रदर्शनीको प्रस्तुति शैली निकै मन पर्यो।मैले पहिले देखेको अन्य प्रदर्शनी भन्दा यो फरक थियो । जुन पर्दशनीले उत्तरी शान्सी लोक गीतहरूको ऐतिहासिक विकासलाई प्रदर्शन गर्न प्रविधिको प्रयोग गरेको महशुस मैले गरे। म भविष्यमा नेपालको सांस्कृतिक सम्पदा र उत्तरी शान्सीबीचको गहिरो आदानप्रदानको हुने अपेक्षा गर्दछु, हाम्रा दुई क्षेत्रहरूबीचको मैत्रीपूर्ण अन्तरक्रियालाई थप प्रवर्द्धन गर्न जरुरी छ । बेल्ट एण्ड रोड एसिया-प्यासिफिक कोर ग्रुप समितिका सल्लाहकार डिग्बी जेम्स वेनले भने, “केही वर्ष पहिले युलिनको भ्रमण गर्न पाउँदा मलाई खुशी लागेको थियो। त्यहाँका जनताहरू सहृदयी छन्, खाना स्वादिष्ट छ, र मलाई सबैभन्दा बढी प्रभावित गरेको स्थानीय याङ्को प्रदर्शन र लोक गीतहरू थिए। आज फेरी यस्तै प्रस्तुति देखेर नाचगानमा सामेल नभै रहन सकिन । उत्तरी शान्सीको संस्कृति साँच्चै मनमोहक छ।" यसप्रकारका सांस्कृतिक र साङ्गितिक सम्पदाहरुको प्रदर्शनीले संस्कृतिको अन्वेषण,अभ्यास र अन्तर्राष्ट्रियरुपमा आदानप्रदानमा योगदान पुर्याउने बताइएको छ ।
पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे सडकखण्ड अवरुद्ध भएको छ। मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। शनिबार साँझ पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो खसेको हो।पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ। दिउँसो सवा एक बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसपछि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदार भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज (आइतबार)अमेरिकी डलर एकको खरिद दर १३३.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८५ रुपैयाँ रहेको छ ।त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२७ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.२७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०६ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ रहेको छ ।
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गरेका थिए ।
काठमाडौंसहित यी स्थानमा वर्षाको सम्भावना,यस्तो हुनेछ आजको मौसम
काठमाडौं । हाल नेपालमा स्थानीय, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा हुनेछ ।

