हिँसा नियन्त्रण गर्न अचम्मको जुक्ति ; जनताका हतियार किन्दै प्रहरी !

वासिङटन, पुस ११ । हिंसात्मक घटनाहरू बढ्दै गएपछि संयुक्तराज्य अमेरिकाको बाल्टिमोर प्रहरीले अचम्मको जुक्ति निकालेको छ । प्रहरीले आमजनतासँग रहेका रकेट लन्चर समेतका झण्डै दुई हजार थान हातहतियार खरिद गरेको हो ।

गत साता सञ्चालित तीन दिने अभियानका क्रममा गैरकानुनी समेतका हातहतियार खरिद गरिएको प्रहरीले जनाएको छ । यस सहरमा लगातार चार वर्षदेखि बर्सेनि ३०० जनाभन्दा बढी व्यक्तिको एकअर्का विरुद्ध आक्रमणबाट मृत्यु भएको छ ।

एकजना प्रहरी प्रवक्ताले प्रहरी अधिकृतहरुले एक हजार ८६० वटा हातहतियार सङ्कलन गरेको जानकारी दिए । नगरका मेयरले ट्वीट गरी एउटा रकेट लन्चर समेत बरामद भएको जनाएका छन् ।

अधिकारीहरूले ठूलो म्यागजिन लाग्ने हतियारको २५ डलर, ह्यान्डगन र राइफलको १०० डलर, अर्ध स्वचालित राइफलको २०० डलर र स्वचालित राइफलको ५०० डलर दिने घोषणा गरेका थिए ।

बाल्टिमोर नगर परिषदका अनुसार यो अभियानका लागि दुई लाख ५० हजार डलर बजेट व्यवस्था गरिएको थियो । तर स्थानीय “बाल्टिमोर सन” अखबारले उक्त कार्यक्रम समय, रकम र स्रोतको बर्बादी भनी टिप्पणी गरेको छ ।

प्रहरी प्रमुख गेरी गटलले नगर निवासीसँग बन्दुक नै नभएको अवस्थामा बन्दुकको प्रयोगबाट हुने हत्या र हिंसात्मक घटनाहरुमा स्वतः कमी आउने बताए ।

स्वास्थ्य अधिकारीहरुका अनुसार, संयुक्तराज्य अमेरिकामा सन् २०१७ मा हातहतियारको प्रयोगबाट झण्डै ४० हजार मानिसको मृत्यु भएको थियो ।

अमेरिकी संविधानको दोस्रो संशोधनले मानिसलाई हतियार राख्न पाउने अधिकार दिएको छ, र अमेरिकी एक तिहाई घरपरिवारमा हातहतियार रहेको छ ।
पछिल्लो पल्ट विद्यालयलाई समेत बन्दूकधारीहरूले सजिलै निसाना बनाउन थालेपछि बन्दूक राख्न पाउने या नपाउने भन्ने बहस फेरी सुरु भएको छ । अमेरिकामा बन्दुक अधिकार पक्षधर राष्ट्रिय राइफल संघले हतियार राख्न पाउनु जनताको संविधान प्रदत्त अधिकार भएकाले यस माथि कुनै पनि प्रकारको रोक लाग्न नहुने जिकिर गर्दै आएको छ ।

स्वयम् राष्ट्रपति ट्रम्प हतियार राख्न पाउनुपर्ने विचारका समर्थक हुन् । एजेन्सी

एकै रुखमा डेढ लाखको एभोकाडो

धनकुटा, पुस ११ । धनकुटाका एक कृषकले एउटै बोटबाट एक लाख रुपैंयाँ भन्दा बढीको एभोकाडो बेचेका छन् । धनकुटा नगरपालिका वडा नम्बर ४ स्कुल डाँडाका कृषक राजकुमार तामाङ्गको बारीमा लगाएको करिब २५ वर्षे पुरानो बोटमा एक लाख रुपैंयाँभन्दा बढीको एभोकाडो फलेको हो । उनको यस बोटमा करिब १० क्विन्टल भन्दा बढी एभोकाडो फलेको छ । अहिले कृषकले बारीमै प्रतिकिलो १ सय ५० रुपैंयाँभन्दा बढी पाउने गरेका छन् । यसरी यस बोटबाट करिब एक लाख पचास हजार रुपैंयाँ आम्दानी हुन्छ । गत बर्ष नै तामाङले यस बोटको फल एक लाख रुपैंयाँमा ठेक्का लगाएका थिए । इमेजखबरबाट  

विद्युतीय सञ्चारमाध्यम बर्गीकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं, पुष १० । विद्युतीय सञ्चारमाध्यमको वर्गीकरण मापदण्डसम्बन्धी अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव, सूचना तथा प्रशारण विभागका महानिर्देशक तथा काउन्सिलका सदस्य–सचिव बालकृष्ण घिमिरे र निर्देशक, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरु सुभेच्छा विन्दु तुलाधर, गोपाल बुढाथोकि र चेतनाथ धमला, काउन्सिलका मुख्य अधिकृत झविनद्र भुसाल, सामुदायिक रेडियो प्रशारक संघ अकोरावका अध्यक्ष र महासचिव, पत्रकार महासंघको सदस्य, प्रेस चौतारीका अध्यक्ष, स्वतन्त्र पत्रकारलगायत रेडियो, टेलिभिजन र अनलाइनका प्रतिनिधि तथा सरोकारवाला पक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा काउन्सिलका उप–प्रशासकीय अधिकृत तथा विद्युतीय सञ्चार÷डिजिटल माध्यम उपसमितिका सचिव रामशरण बोहराले विद्युतीय सञ्चारमाध्यमको वर्गीकरण मापदण्ड (प्रस्तावित मस्यौदा) २०७५ को २६ बुँदे मस्यौदा प्रस्तुत गरे । मस्यौदा प्रस्तुत गर्दै उनले विद्युतीय संचारमाध्यमको वर्ग विभाजन, वर्गीकरणमा पर्न आवश्यक न्यूनतम आधार, अंक विभाजन, मूल्यांकन लगायतका बिषयमाथि प्रकाश पारे । छलफलमा वरिष्ठ पत्रकार डा. सुरेश आचार्यले रेडियोको हकमा ३६५ दिन नै प्रशारण गर्नुपर्ने प्रावधान राख्नुपर्ने सुझाव दिए । उनले छापामाध्यम र डिजिटल माध्यम फरक÷फरक भएकाले सोहीअनुरुपकै प्रावधान ल्याउनुपर्ने धारणा राखे । पत्रकार अजय बाबु शिवाकोटीले विद्युतीय सञ्चारमाध्यम वर्गीकरण सम्बन्धी मस्यौदामा आचारसंहितासम्बन्धी अंकभार २५ लाई घटाएर ५ मा झानुपर्ने तर्क गरे । उनले हुवहुको प्रावधान कतिको उपयोगी हो भन्दै राससलगायत एजेन्सीका समाचार राख्दा हुवहुमा पर्ने कि नपर्ने भन्दै प्रश्न गरे । नेपाल प्रेस सोसाइटीका उपाध्यक्ष केशवराज अर्यालले अनलाइन बर्गीकरणसम्बन्धी ल्याइएको मापदण्ड नियन्त्रणमूखी भएको धारणा राखे । उनले साना मिडियाहरुले सबै ठाउँमा संवाददाता राख्न नसक्ने भन्दै मूल्याङ्कन र त्यसको अंकभारमा हेरफेर गर्नुपर्ने बताए । अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले अनलाइन बर्गीकरण किन र केका लागि गर्नुपर्ने भन्दै प्रश्न राखे । अनलाइनका पनि विभिन्न विधा हुने भन्दै बर्गीकरण गर्दा कुन विधालाई के आधारमा विभाजन गर्ने हो त्यसमा स्पष्टता आउनुपर्नेमा जोड दिए । उनले समाचार संख्याको आधारमा भन्दा पनि मौलिकतामा अंकभार राख्नुपर्ने बताए । क्रान्तिकारी पत्रकार संगठनका महासचिव हिम विष्टले रेडियोको हकमा अनुमति लिँदा कुन–कुन क्षेत्रसम्म प्रशारण पुर्याउने भनेर लिइएको हो, त्यसलाई आधार मान्नुपर्ने बताए । उनले रेडियोले प्रशारण गरेको सामग्री र नेटवर्कले तयार पारेको सामग्री केलाई आधारमान्ने भन्ने कुरा स्पष्ट हुन नसककेको बताए । पत्रकार महासंघका सदस्य लेखनाथ न्यौपानेले अनलाइन बर्गीकरणको मापदण्ड नियन्त्रणमूखी नभएर सुहाँउदो हुनुपर्नेमा जोड दिए । हुवहुको प्रावधान नै त्रुटिपूर्ण भएको भन्दै उनले डेटलाइनको परिभाषा अनलाइनको हकमा स्पष्ट नभएको बताए । सामुदायिक सूचना नेटवर्क अकोरावका महासचिव गोविन्द देवकोटाले रेडियोलाई बर्गीकरण गर्नुको उद्देश्यमा स्पष्ट हुन नसकेको धारणा राखे । उनले दुर्गम तथा भौगोलिक हिसाबले पछि परेका स्थानबाट सञ्चालन भएका र सुगम स्थानबाट सञ्चालन भएका रेडियोहरुलाई बर्गिकरण गर्दा दुर्गम भेगबाट सञ्चालनमा आएकालाई प्रोत्साहन गर्नसक्नुपर्ने बताए । क्रन्तिकारी पत्रकार संघका अध्यक्ष इन्द्र राउतले विद्युतीय सञ्चारमाध्यम बर्गीकरण गर्दा साना मिडियालाई निचोर्ने तथा ठुलालाई संरक्षण गर्ने खालको आउन नहुने तर्फ सजग रहनुपर्ने बताए। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले अनलाइनहरु धेरै हुनु सकारात्मक पक्ष भएता पनि सबै अनलाइनहरुलाई एउटै खाडलमा राखेर हेर्न नहुनेमा जोड दिए । उनले बर्गीकरणको सिद्धान्त मुख्यतः २ वटा हुने भन्दै भ्युअर बढाउने नाममा अतिरञ्जित गरेर लेख्नु गलत प्रवृति भएको स्पष्ट पारे । बानका अध्यक्ष गोपाल झाले अनलाइनहरुको बर्गीकरण गर्दा होसियार हुनुपर्ने अन्यथा एकै ब्यक्तीले २ वटा अनलाइन संञ्चालन गरेर लोककल्याणकारी विज्ञापनबाट मात्रै गुजरा चलाइरहने तर्फ सचेत हुनुपर्ने आवश्यकता औल्याए । उनले राज्यले लोकल्याणकारी विज्ञापनबाट माछा दिएपनि आफै मारेर खान सक्ने नबनाएको गुनासो गरे । नेपाल मिडिया सोसाइटिका सिइओ उज्वल राज गौतमले टेलिभिजनको बर्गीकरणमा पनि विषयगत टेलिभिजनहरु बढ्दै गएकाले प्रस्तावित मस्यौदामा पुनर्विचार गर्नुपर्ने तर्फ सुझाए । रेडियो नेपालका अनलाइन प्रमुख रमेश पौडेलले जिम्मेवार र व्यवसायिक पत्रकारिता फरक भएकाले सबैलाई एउटै डालोमा राखेर भन्दा पनि फरक किसिमले प्रावधान ल्याउनुपर्ने बताए । कार्यक्रममा संञ्चार मन्त्रालयका उपसचिव मुकुन्द शर्माले विद्युतीय सञ्चारमाध्यम वर्गीकरणको उद्देश्यबारे भनाई राखे । सूचना तथा प्रशारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले विद्युतीय सञ्चारमाध्यमको बर्गीकरण मापदण्डसम्बन्धी उठेका प्रश्नको जवाफ दिए । त्यस्तै प्रेस काउन्सिलका सदस्य तथा विद्युतीय सञ्चार÷डिजिटल माध्यम उपसमितिका सदस्य गोपाल बुढाथोकीले छलफलमा उठेका प्रश्नहरु निकै उपयोगी भएको भन्दै लोककल्याणकारी विज्ञापन काउन्सिलले दिने नभएर मन्त्रालयले नै दिने गरेको स्पष्ट पारे । उनले यो छलफल काउन्सिलको लागि निकै उपयोगी भएको र यसकै आधारमा मापदण्ड थप परिस्कृत गरिने बताए ।

ओली वंश समाजको सुप सम्मेलन सम्पन्न

धनगढी, पुष १० । ओली वंश समाजको सुदूरपश्चिम प्रदेश स्तरीय सम्मेलन नयाँ कार्यसमिति चयन गर्दै आज मंगलबार कैलालीकाे धनगढीमा सम्पन्न भएको छ । सम्मेलनबाट गणेशराज ओलीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नवगठित समितिको अपाध्यक्षमा नरबहादुर ओली, महासचिवमा सोमान ओली चयन भएका छन् । त्यसैगरि सदस्यहरूमा डम्मरबहादुर ओली, सुनिलकुमार ओली, कृष्ण ओली, पदम ओली र भुपेन्द्र ओली चयन भएको नवनिर्वाचित अध्यक्ष गणेशराज ओलीले बताए । ओली बंश समाजका केन्द्रीय अध्यक्ष हरी ओलीको सभापतित्वमा भएको सम्मेलनको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य कमला ओली रहेकी थिइन् । सो सम्मेलनमा प्रदेश नम्वर ५ का प्रदेश सभा सदस्य उत्तमकुमार ओली, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले मन्तव्य राखेका थिए । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा रहेका ओली बन्धुहरू सहभागी रहेको सो सम्मेलनले ओली वंशको प्रचारप्रसार तथा नौ वटै जिल्लामा ओली वंशको समिति गठन गर्ने लगायतका निर्णय गरेको अध्यक्ष गणेशराजले जानकारी दिए ।

‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान सञ्चालन

म्याग्दी, पुष ९ । मङ्गला गाउँपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन दिई व्यावसायिक रुपमा कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान सञ्चालन गरेको छ । गाउँपालिकालाई प्राङ्गारिक खेतीको केन्द्र बनाउन गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शौचालयको पिसाब संकलन गरी आइतबारदेखि विद्यालयस्तरमा नै ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान थालिएको हो । सो गाउँपालिकाको वडा नं ५ अर्मनस्थित शिशुकल्याण माविमा अगुवा कृषक, शिक्षक, विद्यार्थी र जनप्रतिनिधिको रोहवरमा उक्त अभियान शुरु गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । “जङ्गलमा खेर गएको वनमारा, बजार क्षेत्रबाट सङ्कलन गरिएको सड्ने फोहर, पातपतिङ्गर र पिसाब मिलाएर जैविक मल उत्पादन गरी बिक्री गर्ने गरी अभियान सञ्चालन गरेका हौँ,” उनले भने । तरकारी खेतीमा रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै उर्वराशक्ति बढाउन कृषि विज्ञ वीरेन्द्रप्रकाश पोख्रेलले कृषकलाई अनुरोध गरे । सो अवसरमा जिल्लामा मानवमूत्र सङ्कलनको अवस्था, यसबाट आयआर्जन, कृषकको जीवनस्तरमा आउने परिवर्तन लगायतका विषयमा तयार पारिएको वृतचित्र प्रदर्शन गरिएको थियो । मङ्गलाका कृषकले मानवमूत्र सङ्कलन गरेर तरकारी खेतीमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । हरेक किसानलाई पिसाबबाट आम्दानीको हिसाब गर्ने बनाएर उनीहरुको आर्थिक स्थितिमा सुधार ल्याउन अभियान सञ्चालन गरिएको अध्यक्ष रोकाले बताए । उनले सार्वजनिक स्थान र विद्यालयका शौचालमा पिसाब सङ्कलन गर्न मिल्ने गरी पूर्वाधार निर्माण गरिने जानकारी दिए । त्यसैगरी गाउँपालिकाले सानो लगानीमा समेत पर्याप्त आम्दानी गर्न मिल्ने क्षेत्रको पहिचान गरिरहेको छ । कृषकलाई उक्त अभियानका लागि साथ दिनसमेत अनुरोध गरिएको छ । मानव मलमूत्रसँगै पशु मलमूत्र पनि सँगसँगै सङ्कलन गरी भकारो सुधार कार्यक्रमलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । रासस

विद्युतसेवा सुचारु

बाजुरा, पुस ७ । गत मङ्सिर २५ गतेबाट अवरुद्ध त्रिवेणी साना जलविद्युत् सेवा शुक्रबार रातिबाट सञ्चालन भएको छ । २०० किलोवाट क्षमताको मेसिनको बेरिङमा आएको खराबीका कारण विद्युत् सेवा अवरुद्ध भएको थियो । करीब तीन दशकअघि विसं २०४६ मा निर्माण भएको साना जलविद्युत्को मेसिन पुरानो र जीर्ण भएका कारण बारम्बार समस्या आउने गरेको व्यवस्थापक दयाराम पण्डितले जानकारी दिए । हाल त्रिवेणी साना जलविद्युत् केन्द्रले १८०० बढी सेवाग्राहीको घरमा विद्युत् सेवा प्रवाह गरेको छ । नेपाल विद्युत् प्राधिकरणको नाममा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्र विगत १० वर्षदेखि त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएको छ ।

छुरा प्रहार गरी बाबुको हत्या

उर्लाबारी, मंसिर २८ । मोरङको विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा एक युवकले छुरा प्रहार गरी बाबुको हत्या गरेका छन् । छुरा प्रहारबाट ५० वर्षीय शशी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति मण्डलकी जेठी श्रीमतीका छोरा २५ वर्षीय आकाश र कान्छी श्रीमतीका छोरा २२ वर्षीय चुनुबीच घरायसी विषयमा भएको विवाद चुलिँदा चुनुले बाबुको हत्या गरेको बताइएको छ । छुरा प्रहारबाट गम्भीर घाइते शशीलाई उपचारका लागि नोबेल अस्पताल लगिएको र सो क्रममा बिहीबार राति उहाँको मृत्यु भएको हो । छुरा प्रहारबाट दाजु आकाशसमेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ । अभियुक्त चुनुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । रासस

मन पराएको केटासँग विवाह गर्छुभन्दा आमाले नै छोरीको हत्या गरिन् !

धनुषा, मंसिर २१ । आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेकी छन् । आफ्नी १६ वर्षीया छोरी सोनीकुमारी मण्डलको हत्या गरेको आरोपमा पक्राउ गरी उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । सोनीले आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको कुरामा विवाद बढ्दै जाँदा उनकी आमा राजकुमारीले रिसमा आएर आफ्नै छोरीको घाटी थिची हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । घटनामा परिवारका अन्य सदस्यकोसमेत संलग्नता हुनसक्ने भएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । रासस

राज्यमन्त्री चौधरीको घुडाको सफल शल्यक्रिया वीर अस्पतालमा

काठमाणडौ,मंसिर ३।कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीको घुडाको सफल शल्यक्रिया वीर अस्पतालको ट्रमा सेन्टरमा भएको छ । हिड्दा हिड्दै घुडा लक हुने समस्याले ग्रसित मन्त्री चौधरीले डाक्टरहरुको सल्लाहमा शल्यक्रिया गराएकी हुन । ट्रमा सेन्टरका वरिष्ठ डा.बिनोद सेरचनको टिमले सफल शल्यक्रिया गरेको राज्य मन्त्री चौधरीको स्वकीय सचिव ङामुङहाङ्ग मेनाङ्गबोले जानकारी गराएका छन्। घुडा ठोकिएर घुडाको लिगामेन्ट भित्रको कुरकुरे हाड च्यातिएकाले घुडा लक हुने गरेको डा बिनोद सेरचनले जानकारी दिएका छन्। हाल मन्त्री चौधरीको अवस्था सामान्य रहेको र २/३ दिन पछी अवस्था हेरेर डिस्चार्ज दिने डा सेरचनले बताएका छन ।

ईन्जिनियररिङ एसोसिएसनको सचिव पदमा लड्दै भट्ट

धनगढी, मंसिर ३ । नेपाल ईन्जिनियररिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिवमा लोकतान्त्रीक समूहबाट इन्जिनियर रोशन भट्टले उम्मेद्वारी दिएका छन् । विगत ७ बर्षदेखि निर्माण र ईन्जिनियररिङ क्षेत्रमा सक्रिय रहेका भट्टले यही मंसिर २८ गते हुने गइरहेको र्निवाचनमा नेपाल ईन्जिनियरिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिब पदका लागि  उम्मेद्वारी दिएका हुन् । ईन्जिनियरिङ शिक्षालाई गुणस्तरी बनाउन, प्रदेशको विकासमा ईन्जिनियरिङ समुदायको सहाकर्य गर्न, ईन्जिनियरिङको हकहितका लागि सरकारसँग समन्वय गरि सुरक्षित र मर्यादित पेशा बनाउन सचिव पदमा उम्मेद्वारी दिएको भट्टले बताए । धनगढीको स्टेपिङ बोर्डिङबाट एसएलसी तथा नेपाल ईन्जिनियरिङ कलेज भक्तपुरबाट ईन्जिनियरिङ गरेका भट्ट राजेन्द्र निर्माण सेवाको प्रमुख कार्यकारी अधिकृत र आर।वि कन्सलटेन्सीको प्रबन्ध निर्देशक छन् । त्यस्तै, जिल्ला र प्रदेश निर्माण व्यावसायी संघको प्राविधिक सल्लाहाकार भट्ट नेपाल ईन्जिनियरिङ एसोसिएसन धगढीको च्याप्टरको पूर्व उपाध्यक्ष भइसकेका छन् । नेपाल ईन्जिनियरिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिवमा उम्मेद्वारी दिएका भट्टले यसअघि विभिन्न संघ सस्थामा रहेर सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएका छन् ।

तिलकसिंह पेलाले गाए ‘मोरा साँवरा…!’

काठमाडौँ, कार्तिक २७ । लामो समय संगीत बजारबाट टाढा रहेका गायक-सङ्गीतकार तिलकसिंह पेलाले ‘प्रीत लगा के गयो रे…’ बोलको हिन्दी भाषाको गीत रेकर्ड गराएका छन् । ५० को दशकमा ‘आँसु’ गीती एल्बममा संग्रहित ‘लुकाउन खोज्दा पनि…’, ‘कुल्चेर मेरो फूल..’ जस्ता गीत गाएर चर्चामा आएका गायक तिलकसिंह पेला लामो समय शास्त्रीय संगीतको साधनामा व्यस्त रहेपछि ओझेलमा रहेका थिए । लगभग दुई दशकपछिको मौनता तोड्दै उनी फेरि नेपाली सांगीतिक बजारमा आउने तयारीमा जुटेका हुन् । मङ्गलबार राजधानीको अनामनगरस्थित म्युजिक नेपालको स्टुडियोमा पेलाले दुई गीत रेकर्ड गराए । उनले ‘निर्जन किनारसँग…’ र ‘प्रीत लगा के गयो रे मोरा साँवरा…’बोलका दुई गीत रेकर्ड गराएका छन् । यी दुवै गीतको रचना कृष्णसिंह पेलाले गरेका हुन् भने संगीत रचना गायक स्वयंको रहेको छ । दुबै गीतको संगीत एरेन्जको काम भने रिदम कँडेलले गरेका हुन् ।

बालिका बलात्कार आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

धनगढी, कार्तिक २५ । कैलालीको धनगढीमा पाँच वर्षीया बालिका बलात्कार आरोपमा एकजना वृद्ध पक्राउ परेका छन् । साेही उप–महानगरपालिका-४ कि ५ बर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा उदयपुर गाईघाट ४ स्थायी घर भएका ६८ बर्षिय स्पन्दन राई पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शनिबार साँझ पक्राउ गरेको हो । केहि समय देखि धनगढीमा आफन्तको घरमा बस्दै आएका राईले शनिबार घरमा कोही नभएको समयमा बालिकालाई करणी गरेको आरोप लागेको छ । पीडित परिवारले प्रहरीलाई उजुरी गरेपछि प्रहरीले वृद्धलाई पक्राउ गरेको थियो । अहिले बालिकाको स्वास्थ्य परिक्षण गरिएको र त्यसको रिर्पोट नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभूषण तिमिल्नेसाले बताए ।

सांसदको गुनासो– राज्यले दिएको तलबले जीवनयापन गर्न गाह्रो

काठमाडौं, कार्तिक २५ । तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेको बेला राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने गरेको उनीहरु गुनासो गर्न थालेका छन् । अधिकांश सांसदले सचिवायले उपलब्ध गराएको खर्च कम भएको गुनासो गरेका छन् । प्रत्यक्ष निर्वाचितको तुलनामा समानुपातिक सांसदको खर्च अलि कमी हुने गरको छ । तर समानुपातिक सांसद भए पनि जनतासँग बढी घुलमिल गर्ने र जनताको समस्या सुन्नेको खर्च बढी हुने गरको छ । नेपाल समाचारपत्रबाट

२ सय दिन अगावै काम सक्ने ठेकेदारलाई ४४ लाख पुरस्कार

बझाङ, कार्तिक २५ । तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशनमा सूची तयार पारिएको छ । तर, बझाङमा भने यो सूचीसँगै ठेकेदारलाई सम्मान पनि गरिएको छ । बझाङका निर्माण व्यवसायी दल विष्ट तोकिएको समयअगावै काम पूरा गर्दा सम्मानित भएका हुन् । उनलाई स्थानीयवासीसँगै सरकारी कार्यालयले पनि सम्मान गरेका हुन् । निर्माण–व्यवसायी विष्टले बिकोई बिल्डर्स प्रालिमार्फत बझाङमा निर्माणको काम गरेका थिए । उनले बाउली गाड र सेतीनदीमा तटबन्ध निर्माणको काम तोकिएको समयभन्दा अगाडि नै पूरा गरेका हुन् । त्यस्तै, जिल्ला मालपोत कार्यालय र जिल्ला हुलाक कार्यालयको भवन पनि ठेक्काको म्यादअघि नै सम्पन्न गरेका छन् । ३ वर्षयता बझाङमा निर्माणको काम राम्रोसँग र छिटो पूरा गरेकाले उनलाई सम्मानित गरिएको जनाइएको छ । ‘धेरै निर्माण–व्यवसायीले ठेक्का ओगट्ने र काम नगर्ने गरेका थिए, मैले समयभन्दा अगाडि नै काम सम्पन्न गरेँ,’ निर्माण–व्यवसायी विष्टले भने, ‘यो सम्मानले अरू योजनाको कामलाई पनि तीव्रता दिन हौसला मिलेको छ ।’ अहिले ठेक्का पाएका योजनाहरू पनि तोकिएको समयभन्दा अगाडि नै सम्पन्न हुने गरी काम भइरहेको उनको भनाइ छ । उनले चैनपुर रिङरोड, जिल्ला अदालतदेखि चौराहसम्मको सडक र जिपपार्कदेखि जिल्ला प्रहरी कार्यालयसम्मको सडकको कालोपत्रेको काम गरिरहेका छन् । यस्तै, बझाङकै मटेला स्वास्थ्य चौकी ठेक्का पनि बिकोइ बिल्डर्समार्फत उनले नै गरिरहेका छन् । यी सबै गरी ३ करोड ७६ लाखका योजना छन् । नयाँ पत्रिकाबाट

दिल्लीबाट ४० नेपाली युवतीको उद्धार

बाँके, कार्तिक १९ । भारतबाट ४० जना नेपाली युवतीको उद्धार गरिएको छ । राजधानी नयाँ दिल्लीमा बेचिएका तीन जनासहित ४० जना नेपाली युवतीको उद्धार गरी सोमबार नेपाल ल्याइएको हो । उद्धार गरिएकामध्ये तीन जनालाई नयाँ दिल्लीको जीबी रोडबाट उद्धार गरिएको हो । अन्य ३७ जनालाई भने अवैध बाटो हुँदै खाडी मुलुक लैजान लागिएको अवस्थामा दिल्लीसँग जोडिएको उत्तरप्रदेशको गाजियाबादबाट उद्धार गरिएको हो । माइती नेपाल, माइती इण्डिया र भारतीय राजदूतावासले भारतीय सुरक्षा निकायको समन्वयमा युवतीहरुको उद्धार गरेका हुन् । सोमबार दिउँसो नेपालगञ्ज आइपुगेका उनीहरुमध्ये १५ जनालाई राजधानी पठाइएको र २१ जनालाई झापा पठाउने तयारी गरिएको माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाले जानकारी दिए ।

धनगढी उपमहानगरद्वारा तिहार तथा छठ मिलन कार्यक्रमको आयोजना

धनगढी,१९ कातिक । कैलालीको धनगढी उप-महानगरपालिकाको आयोजनामा पत्रकारसँंगको दिपावली तथा छठ मिलन कार्यक्रम सोेमबार सम्पन्न भएको छ । तिहारको पूर्व सन्ध्यामा उपमहानगरपालिकाले पत्रकारसँग शुभकामना आदानप्रदान गर्ने उद्देश्यले दिपावली तथा छठ मिलन कार्यक्रम आयोजना गरेको हो ।   कार्यक्रममा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले पत्रकार नै समाजका पहरेदार भएको बताए । उनले उपमहानगरपालिकाले सञ्चालन गरिरहेका हरेक गतिविधीको निगरानी गरिदिन पत्रकारसँग आग्रह गरे । ‘धनगढी बजारमा मात्रै नभएर अन्य वडामा पनि हामीले थुप्रै काम गरेका छौं । भएका कामको बारेमा तपाइँहरु रचनात्मक सुझाव दिनुस् ।’ नगर प्रमुख वडले भने   कार्यक्रममा बोल्दै उपमहानगरपालिका उपप्रमुख सुशिला मिश्र भटट्ले संघियता नौलो ब्यबस्था भएकाले जनप्रतिनिधी र कर्मचारी सिक्दै अगाडि बढिरहेको बताइन् । उप प्रमुख भट्टले आफुहरु रचनात्मक काम गर्न लागि परेको बताइन् । उनले मिडियाको साथ सहयोगबाट मात्रै धनगढीलाई समृद्ध नगर बनाउन सकिनेसमेत बताइन् ।   नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाहले बिशिष्ट किसिमका योजना बनाएर अघि बढे मात्रै नगरको विकास सम्भव हुने बताए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपसभापति उमिद बागचन्दले धनगढी उपमहानगरपालिका सूचनाको हकमैत्री बन्दै गएको बताए ।   नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगत साउँदले तिहारको मुखमा पत्रकार मिलन कार्यक्रम राखेर उपमहानगरपालिकाले राम्रो सुरुवात गरेको बताए । डब्लुडब्लुजे कैलालीकी अध्यक्ष उन्नती चौधरीले उपमहानगरपालिकाले आफ्ना गतिविधीमा महिला पत्रकारसँग सधै समन्वय गरेर गैरहेको बताइन् ।